‘पत्रकारिताको भाषामा सरलताको अभाव’
ललितपुर, फागुन १९ । पत्रकारिताको भाषामा सरलताको अभाव हुन थालेको बताइएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर उपमहानगरपालिकाको संयुक्त सहयोगमा बुधवार आयोजित पत्रकारिता तालिममा पत्रकारहरुले भाषालाई पनि महत्व दिनुपर्ने बताइएको छ ।
तालिममा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्माले समाचार मात्र कमी नभई भाषा पनि कमी हुन थाललेको चर्चा गरे । श्रोत नै उल्लेख नगरी लाजमर्दो तरिकाले समाचारहरु कपी भइरहेको उनको भनाई छ । उनले अहिले पत्रकारहरुले मिहिनेत गर्न छोडेको भन्दै दुःख ब्यक्त गरे । ‘अनलाइनमा हालेको समाचार श्रोत नै नखुलाई हुबहु पत्रिकामा आउछ’ शर्माले भने ‘यो भन्दा लाजमर्दो अरु के हुन्छ ।’ अहिले समाचार लेख्ने पत्रकारहरुको कमी भएको चर्चा गर्दै पत्रकार महासंघले पनि दक्ष पत्रकार उत्पादन गर्नुपर्ने बताए ।
ललितपुर उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरतमणी पाण्डेले स्थानीय निकायले जनस्तरमा गरिरहेका कामहरुको प्रभावका बारेमा खवरदारी गर्ने कामम मिडियाको प्रभावकारी भूमिका जुरुरी रहेको चर्चा गरे । ‘हामीले गरिरहेका काम कहाँ के नपुग छन् तपाइहरुले आलोचनात्मक कुराहरु जनतामा ल्याइदिनुहोस’ उनले भने ‘यसले गर्दा हामीलाई प्रभावकारी ढंगले काम गर्न अझ सहज हुनेछ ।’
उनले मिडिया र पत्रकारहरुको लागि उप–महानगरपालिकाले सस्थागत रुपमा पत्रकार महासंघबाटै काम अगाडी बढाउने बताए । ‘हामी मिडिया र पत्रकारको लागि पनि सहयोग गर्न चाहन्छौं, त्यो हाम्रो योजनामै रहेको छ’ उनले भने ‘त्यो सवै काम हामी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघबाटै गर्न चाहन्छौं ।’
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपानेले आफुहरुको पहिलो जोड आफ्ना सदस्य पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नु रहेको बताए । ‘हामी निर्वाचित भएर आएदेखी नै हामीले पत्रकारको क्षमता अभिबृद्धिलाई पहिलो एजेन्डा बनाएको थियौं’ उनले भने ‘पत्रकार आफनो पेशमा दक्ष हुने हो भने पत्रकारमाथीका आक्रमण कम गर्न सकिन्छ ।’
तालिममा भाषा विज्ञ शरदचन्द्र वस्ती, त्रिभुुवन विश्वविद्यालय पत्रकारिता विभागका उपप्राध्यापक श्रीराम पौडेल लगायतले प्रशिक्षण दिएका थिए । एकदिने सो तालिममा ललितपुरमा क्रियाशील ५५ जना पत्रकारहरु सहभागी थिए ।
भूकम्प प्रभावितलाई घडेरी किन्न रकम दिने प्राधिकरणको तयारी
काठमाडौं, फागुन १८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण बस्ती नै सार्नुपर्ने अवस्थाका भूकम्प प्रभावितलाई घडेरी किन्न निश्चित रकम दिने तयारी गरेको छ । देशका कतिपय जिल्लामा २०७२ सालमा गएको भूकम्पले बस्तीनै जोखिमपूर्ण बनेपछि प्राधिकरणले ती ठाउँबाट अन्यत्र बस्ती सार्न प्रभावितलाई घडेरी किन्न निश्चित रकम दिने तयारी गरेको हो । दुई-चार घर भएका ठाउँका बस्तीले आफूलाई पायक पर्ने स्थानमा बस्न सक्ने भन्दै प्राधिकरणले त्यसका लागि कम्तिमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म घडेरी बापत रकम दिने तयारी भईरहेको पुनर्निर्माण प्राधिकरणका प्रमुख डा। गोविन्द पोखरेलले जानकारी दिए । देशभर विभिन्न ठाउँमा गरी करिब १ हजार घर भएका जमिन भूकम्पले बस्नै नमिल्ने गरी भत्किएको छ । सामूहिक बस्ती रहेका ठाउँको हकमा भने सरकारले निश्चित कार्यविधि बनाउने पोखरेलको भनाई छ । यस्तै प्राधिकरणले पहिलो किस्ताको रकम पाएर सरकारी मापदण्डअनुसार घर निर्माण गरेका भूकम्प प्रभावितलाई छिट्टै दोस्रो किस्ताको रकम उपलब्ध गराउने जनाएको छ । पहिलो किस्ताको रकमबाट घर बनाउन सुरु गरेकाको घर इन्जिनियरले अध्ययन गरी दोस्रो किस्ता पाउन योग्य ठहर भएलगत्तै उनीहरुलाई दोस्रो किस्ताबापतको रकम दिने प्राधिकरण प्रमुख पोखरेलले बताए । प्राधिकरणले अहिलेसम्म ९० प्रतिशतभन्दा बढी भूकम्प प्रभावितसँग अनुदान सम्झौता भइसकेको जनाएको छ । किस्तामा दिने रकम वितरण गरेपछि उनीहरुलाई सहुलियत ऋण दिन पनि सरकारले आवश्यक तयारी अघि बढाएको प्राधिकरणको भनाई छ । तर, सम्झौता भए पनि कानुनी जटिलताका कारण घर बनाउन नमिल्ने तथा सम्झौता नभएकाको समस्या पनि छिट्टै टुंग्याउने प्राधिकरणको भनाई छ । सुकुम्बासीका नाममा गुठीको जग्गा, सार्वजनिक जग्गा हडपेर घर बनाएका, नक्सापास नगरेका, बनजंगल अतिक्रमण गरेर बसेका भूकम्प प्रभावितसँग अनुदान सम्झौता हुन सकेको छैन । किस्ता रकम वितरण गरेपछि भूकम्प प्रभावितलाई सहुलियतपूर्ण ऋण दिन आवश्यक तयारी अघि बढाइएको प्राधिकरणको भनाई छ ।
सकेट बम फेला
राजविराज, फागुन १८ । सप्तरीको राजविराज–५ स्थित रुपनी रोडको छेउमा एउटा विद्यालयको परिसरभित्र सकेट बम फेला परेको छ । राजविराज–५ रुपनी रोडमा नै पर्ने लक्ष्मी इङ्गलिस बोर्डिङ स्कुल परिसरभित्र आज विहान सो बम फेला परेको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । त्यहाँ फेला परेको बमलाई निष्क्रिय पार्नका लागि राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए। यसैबीच, बम फेला परेको ठाउँमा जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहको पर्चा फेला परेको प्रहरीले बताएको छ । यसअघि मङ्गलबार पनि राजविराज–९ स्थित पिसजोन बोर्डिङ स्कुलको छेउमा बम फेला परेको थियो । बढी मूल्यमा पेट्रोल बेच्ने कारबाहीमा यसैबीच, सप्तरीको देउरीभरुवा–४ स्थित किराना पसलमा बढी मूल्यमा पेट्रोल बिक्री गर्ने व्यवसायी लक्ष्मी यादवलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । केही दिनदेखि सप्तरी जिल्लाको सहरी तथा ग्रामीण बजारमा पेट्रोलियम पदार्थको अभाव भएको परिस्थितिमा व्यवसायी यादवले डिजेल तथा पेट्रोलसमेत राखी बढी मूल्यमा प्रतिलिटर रु एक सय ५० को दरले बिक्री–वितरण गरी कालोबजारी गर्दै आएको फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीनायब उपरीक्षक दानबहादुर कार्कीले बताए । साथै, उनको किराना पसलबाट ४५ लिटर पेट्रोल र चार लिटर डिजेलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि कालोबजारी मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य थालिएको प्रहरीनायब उपरीक्षक कार्कीले जानकारी दिए ।
सुनकुमारीका श्रीमानले सफाइ पाए, बहिनीलाई १० वर्ष कैद
रोल्पा, फागुन १८ । श्रीमान् र बहिनीको कुटपिटबाट हत्या गरिएको भनिएकी थबाङ, रोल्पाकी सुनकुमारी नेपालीका श्रीमानले अदालतबाट सफाइ पाएका छन् भने सुनकुमारीकी (सानीआमाकी छोरी) बहिनीलाई जिल्ला अदालत रोल्पाले १० वर्षका लागि कैद हुने गरी फैसला गरेको छ। वि.सं २०७३ असोज २५ गते विजयादशमीको टीकाको दिनमा सुनकुमारीको घरमा भोजभतेर भइरहेको बेला रातको करिब १२ बजे सुनकुमारी र जालकुमारीका बीचमा सामान्य विवाद परेपछि जालकुमारीले सुनकुमारीलाई लछारपछार गरेर पटकपटक मसला पिस्ने सिलौटोमा सुनकुमारीको टाउको बजारेर कुटपिट गरेको र सोही चोटबाट सुनकुमारीको मृत्यु भएको पुष्टि भएपछि जालकुमारी नेपालीलाई १० वर्ष कैद हुनेगरी फागुन ३ गते फैसला भएको जिल्ला अदालत रोल्पाका न्यायाधीश कमलप्रसाद ज्ञवालीले राससलाई मंगलबार जानकारी दिए । उनका अनुसार मृतक सुनकुमारीको हत्यामा संलग्न रहेको भनिएका अर्का प्रतिवादी (सुनकुमारीका श्रीमान्) ध्रुव नेपालीले मृतक सुनकुमारीलाई कुटपिट गरेको पुष्टि नभएको हुँदा ध्रुव नेपालीले सफाइ पाएका हुन् । जिल्ला न्यायाधीश ज्ञवालीका अनुसार नियतवश कसैको ज्यान लिएमा जन्मकैद हुने व्यवस्था भए पनि जालकुमारी नेपालीले आवेशमा आएर घटना घटाएको हुँदा १० वर्ष कैद सजाय तोकिएको हो । मृतकका श्रीमान् ध्रुव नेपाली र बहिनी जालकुमारी नेपालीले सुनकुमारी नेपालीलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी घाइते बनाई उपचारका क्रममा सुनकुमारीको मृत्यु भएको अभियोगमा दोषीउपर कारबाहीका लागि जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता भएको थियो । घटना घटेको करिब एक महिनापछि कात्तिक २७ गते भैरहवाको शिक्षण अस्पतालमा उपचारका क्रममा सुनकुमारीको मृत्यु भएपछि पीडक जालकुमारी नेपाली र धुव्र नेपालीलाई कारागार कार्यालय रोल्पामा थप अनुसन्धानका लागि थुनामा राखिएको थियो । अदालतको फैसलाअनुसार जालकुमारी नेपालीले फागुन ३ गतेदेखि १० वर्ष कैद सजाय भोग्नेछिन् । काक्री, रुकुम माइत भएकी जालकुमारीका श्रीमान् घटना घट्ने समयमा रोजगारीका लागि साउदी अरबमा थिए भने जालकुमारी भने करिब ६ महिनादेखि ७ वर्ष, ४ वर्ष र ३ वर्षका छोराछोरीलाई पढाउने बहानामा थबाङमा डेरा लिएर बस्दै आएकी थिइन् ।
आगोले जलेर कुमालको मृत्यु
चितवन, फागुन १८ । चितवनको भरतपुरमा आगोले जलेर एकजनाको मृत्यु भएको छ । गएराति करिब १२ बजेको समयमा भरतपुर उपमहानगरपालिका–११ स्थित अमन चोकनजिकै स्थानीयवासी नरबहादुर कुमालको घरमा विद्युत् सर्ट भई आगो लाग्दा सो घटना भएको हो । सुतिरहेका बेला आगलागी हुँदा आगोले जलेर करिब ५५ वर्षीय वीरबहादुर कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । आगो लाग्दा घरलगायत लत्ताकपडासमेत गरी करिब रु एक लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ । दमकलको सहयोगमा प्रहरी र स्थानीयवासीले आधा घन्टाको अन्तरालमै आगो निभाएका थिए ।
कुन सवारीसाधन २० वर्ष पुगेकाे हाे भन्ने विषयमा ट्राफिकलार्इ थाहा नहुँदा अन्यौलमा
काठमाडौं, फाल्गुन १८ । नेपाल सरकारले काठमाडौं उपत्यकामा २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा आजदेखि रोक लगाउने निर्णय गरेपनि कार्यान्वयनमा अन्योल देखिएको छ । यातायात व्यवस्था विभागले वातावरण प्रदुषण तथा ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै पुराना सवारी साधन सञ्चालनमा आजदेखि रोक लगाउने निर्णय भएको थियो । तर कार्यान्वयनकारी निकाय ट्राफिक प्रहरीले भने यसबारे आफुलाई स्पष्ट निर्देशन प्राप्त नभएको जनाएको छ । आफूहरुलाई कुन–कुन सवारी २० वर्ष पुगेका हुन् भनी पहिचान गर्नका लागि विभागबाट आवश्यक कागजात प्राप्त भइनसकेको भन्दै ट्राफिकले कुन आधारमा अघि बढ्ने भन्ने अन्योल रहेको जनाएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर चन्दले विभागबाट आवश्यक कागजात प्राप्त भएपछि समन्वय गरी सवारीसाधन सञ्चालनमा रोक लगाउने बताए । विभागले यसअघि नै पुराना सवारीको कर तिरेर कवाडी बनाउन सम्बन्धित सबैलाई अपिल गरेको थियो । पुराना सवारी चलाएको भेटिए नियन्त्रणमा लिएर सम्बन्धित सवारी धनीलाई पनि कारवाही गर्ने विभागले बताएको छ । विभागका अनुसार उपत्यकामा मात्र २ हजार ५ सयदेखि ३ हजारको संख्यामा २० वर्ष पुराना सवारीसाधन छन् ।
गाउँको विकासका लागि स्थानीय जनप्रतिनिधि आवश्यक– सागर
बागलुङ फागुन १८ । नेकपा माओवादी प्रस्तावित ढोरपाटन नगरपालिका अन्तरगत बोबाङ गाविसको वडा नं. १ देखि ५ सम्मलाई समेटेर प्रस्ताव गरिएको वडा पालिकाको सम्मेलन आज बोबाङको नौघरटोलामा भएको छ । सम्मेलनले लिङ्कन घर्तीको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तुलबहादुर बिक, सचिवमा सुर्जनकुमार विक, सहसचिव ओमबहादुर पुन र कोषाध्यक्ष खिमकुमारी घर्ती रहेका छन् । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोटिलव्युरो सदस्य तथा बागलुङ जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले दुर्गम गाउँको विकासका लागि जनताका निर्वाचित प्रतिनिधि चाहिने भन्दै अबको निर्वाचनबाट लामो समयदेखि खाली रहेको स्थानिय तहमा नेतृत्व आउने बताए । उनले एकात्मक र केन्द्रिकृत शासन प्रणाली हुँदा राज्यको पहुँचबाट बाहिर जस्तै रहेको पश्चिम बागलुङको बोबाङ पुर्वाधार विकासमा पछाडि परेको भन्दै संघियताको कार्यान्वयन पछि त्यसको अन्त्य हुने बताए । नेता सागरले स्थानिय तहमा बिपन्न नागरिकका सवालको मुद्धा उठाएको राजनितिक दल र नेता छान्नुपर्नेमा नागरिकलाई सचेत बनाउन कार्यकर्तालाई आग्रह गरे । सो अवसरमा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सेरमान घर्ती, ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवर, सहईन्चार्ज चन्द्र अर्याल, संयोजक भिम गौतम र जिल्ला सल्लाहकार भद्रमणी सुनारले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए । कार्यक्रममा नवगठित वडापालिका अध्यक्ष लिङ्कन घर्तीले अबको निर्वाचनमा स्थानिय रुपमा पार्टिलाई एक नम्बर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सम्मेलन लिङ्कन घर्तीको अध्यक्षता, खुमबहादुर विकको स्वागत र देवबहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो । आज बोबाङको वडा नम्बर–६ देखि ९ समेटिएको वडापालिकाको सम्मेलन हुने माओवादीले जनाएको छ ।
मन्त्रीपरिषदको बैठक सम्पन्न
काठमाडौं, फागुन १७ । नेपाल सरकार मन्त्रीपरिषदको नियमित बैठक सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदनमाथि सुझाव दिन बनेको कार्यदलको म्याद तीन दिनका लागि थप गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकले बन सुरक्षाका लागि ७०० जना नेपाली सेनालाई काजमा खटाउने निर्णय गरेको छ । बैठकले नेपालको स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व बैंकले दिने १५ अरब ९३ करोड ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । त्यसरी नै बैठकले सरकार र निजी क्षेत्रको सहभागितामा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको छ । बैठकले बाँकेमा सुशील कोइराल प्रखर क्यान्सर अस्पताल स्थापना गर्ने, विद्यमान बजेटको सीमाभित्र रहेर विभिन्न कार्यक्रमहरुमा आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने निर्णय भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।
सिन्धुपाल्चोकमा महेश श्रेष्ठ विजयी
मेलम्ची, फागुन १८ गते । नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको दशौँ अधिवेशन हिजो राति अबेर सम्पन्न भएको छ । अधिवेशनमा भएको निर्वाचनमा सभापति पदमा महेश श्रेष्ठ ६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले सभापतिका प्रतिस्पर्धी युवराज पुरीलाई एक मत अन्तरले मात्र पराजित गर्नुभएको थियो । त्यसैगरी, खुला उपाध्यक्षमा ज्ञानेन्द्र तिमल्सिना ७१ मत, महिला उपाध्यक्षमा दुर्गा आचार्य ६५, सचिवमा दिनेश थापा ६५, खुला सहसचिवमा किशोर बुढाथोकी ७२, समावेशी सहसचिवमा केदार माझी ६८, खुला कोषाध्यक्षमा विदुर गिरी ६१ मतसहित निर्वाचित हुनु भएको छ । यस्तै, खुला सदस्यतर्फ आदित्य दाहाल ६०, सुरेश बुढाथोकी ६८, सुन्दर शिरिष ६१ तथा समावेशी सदस्यतर्फ सिर्जना बराल निर्विरोध, जनजातितर्फ नेत्र तामाङ ५७, महिला सदस्यतर्फ कमला तामाङ ५४ मतसहित निर्वाचित हुनु भएको जिल्ला निर्वाचन अधिकृत अमित घिमिरेले जानकारी दिनुभयो । रासस
सेफ्टी ट्याङ्की खन्दा सयौँ वर्ष पुराना मानव कङ्काल भेटियो
जुम्ला, फागुन १८ । चन्दननाथ नगरपालिका–५ भारतीवाडा जुम्लामा सयौँ वर्ष पुराना मानव कङ्काल भेटिएका छन् । घरमुली शिवलाल डाँगीको घरको सेफ्टी ट्याङ्की खन्ने क्रममा मानव कङ्काल भेटिएका हुन् । ट्याङ्की खन्दाको छ फिट तल कङ्काल भेटिएका घरमूली शिवलाल डाँगीले जानकारी दिनुभयो । भेटिएका कङ्कालमा मानव खप्पर, हात खुट्टाको हड्डी लगायतका ३० वटा टुक्रा रहेको डाँगीले बताउनुभयो । “कृषि सुपरजोनको सेफ्टी ट्याङ्की, अमर सन्देश गेस्ट हाउस, जिल्ला प्रशासनको भवन निर्माणदेखि बजारका अधिकांश ठाउँमा मानव कङ्काल भेटिँदै आएका छन्”, उहाँले भन्नुभयो । भेटिएका यी कङ्काल आफूले सुरक्षित साथ बोरामा राखेको उहाँको भनाइ छ । इतिहासलाई केलाएर हेर्दा जुम्ला खलङ्गा सदरमुकाम तत्कालीन समयमा चिहानघाट थियो भन्ने कुरा स्थानीय बूढापाका बताउँछन् । उनीहरुका अनुसार हालको प्रतिष्ठान शिक्षण अस्पताल क्षेत्र पनि त्यतिबेलाको चिहानघाट भएको र पहिले यो भूमि पानीले डुबेको थियो । रासस
सेफ्टी ट्याङ्की खन्दा सयौँ वर्ष पुराना मानव कङ्काल भेटिए
जुम्ला, फागुन १७ । जुम्लाको एक घरमा सेफ्टी ट्याङ्की खन्दा सयौँ वर्ष पुराना मानव कङ्काल भेटिएका छन् । चन्दननाथ नगरपालिका–५ भारतीवाडामा शिवलाल डाँगीको घरको सेफ्टी ट्याङ्की खन्ने क्रममा सो मानव कङ्काल भेटिएको प्रहरीले बताएको छ । ट्याङ्की खन्दाको छ फिट तल कङ्काल भेटिएका घरमूली शिवलाल डाँगीले जानकारी दिए । भेटिएका कङ्कालमा मानव खप्पर, हात खुट्टाको हड्डी लगायतका ३० वटा टुक्रा रहेका छन् । कृषि सुपरजोनको सेफ्टी ट्याङ्की, अमर सन्देश गेस्ट हाउस, जिल्ला प्रशासनको भवन निर्माणदेखि बजारका अधिकांश ठाउँमा मानव कङ्काल भेटिँदै आएको उनले बताए । इतिहासलाई केलाएर हेर्दा जुम्ला खलङ्गा सदरमुकाम तत्कालीन समयमा चिहानघाट थियो भन्ने कुरा स्थानीय बूढापाका बताउँछन् । ।
प्रहरीमाथि जाइलाग्ने कांग्रेस नेता पक्राउ
नेपालगन्ज, फागुन १७ । बाँकेको बागेश्वरी बहुमुखी क्याम्पसमा मदिरा रक्सी खाएर आई प्रहरीमाथि नै जाइलाग्न खोज्दा कांग्रेसका एक नेता पक्राउ गरेका छन् । क्याम्पसमा सञ्चालक समितिको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका नेता कृष्ण कार्कीले मदिरा सेवन गरी आई त्यहाँ होहल्ला गरेको र प्रहरीमाथि पनि हातपात गर्न खोज्ने खोजेपछि इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो । सञ्चालक समितिका सदस्यसमेत रहेका कार्की रक्सी खाएर बैठककक्षमा सहभागी भएपछि विवाद उत्पन्न भएको थियो । उनी कांग्रेसको तर्फबाट कोहलपुर नगर विकास प्रमुखसमेत बनिसकेका छन् । उनी अहिले कांग्रेस अनुगमन तथा मूल्याङ्कन विभागमा छन् । कार्कीले क्याम्पसका प्राध्यापकलाई थर्काउन थालेपछि प्रहरीले बाहिर निकाल्न लाग्दा प्रहरीमाथी नै हातपात गरेपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
स्थानीय निकाय पुनः संरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप
काठमाडौँ, फागुन १७ । सरकारले स्थानीय निकायको सङ्ख्याका सम्बन्धमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका लागि स्थानीय निकाय पुनः संरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप्ने भएको छ। सत्तारुढ दल र मोर्चाका नेताहरुबीच संविधान संशोधन र स्थानीय निर्वाचनका सम्बन्धमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सो समझदारी भएको हो । स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनमा मोर्चा असन्तुष्ट भएपछि सरकारले स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सङ्ख्या थप्न सरकार सकारात्मक भए पनि संविधान संशोधन पारित नभएसम्म निर्वाचनमा जान मोर्चा तयार भएको छैन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन पारित हुने सम्भावना नभएकाले अन्य विषयमा मिलाउन आफूहरुले आग्रह गरेको बताए। उनले संशोधन र निर्वाचनबारे अन्य दलसँग थप परामर्श गरेर निर्णयमा पुगिने जनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, मोर्चाका नेता महन्थ ठाकुरलगायत सहभागी बैठकमा संशोधनबारे राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकसहित अर्को बैठक गरेर अघि बढ्ने समझदारी भएको छ । छलफलपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सकेसम्म संविधान संशोधन प्रस्तावलाई पारित गर्न र स्थानीय तहको निर्वाचनको तयारीमा पनि लाग्ने मागबमोजिम तराई–मधेसका जिल्लामा जनसङ्ख्याका आधारमा स्थानीय निकायको सङ्ख्या बढाउन कार्यदलको काम बाँकी रहेकाले अवधि थप्न लागिएको बताए सम्भवतः आजैको मन्त्रिपरिषद् बैठकले कार्यदलको अवधि थपको निर्णय गर्ने भुसालले जानकारी दिए । मोर्चाले स्थानीय तहलाई प्रदेशको मातहतमा राख्न माग गरेको छ भने अन्य दलले संविधानबमोजिम सो तह स्वायत्त रहेको अवगत गराएको छ । नेकपा एमाले लगायत विपक्षी दलले संविधान संशोधन राष्ट्रहित विपरीत भएको जनाउँदै पारित हुन नदिने अडान कायम राखेका छन् । मोर्चाका नेता ठाकुरले संशोधन पारित नभएसम्म निर्वाचनमा भाग लिनेबारे आफूहरुले नसोचेको बताए।
फेन्सी पसलमा आगलागी, २५ लाखको क्षति
धरान, फागुन १७ । भोलामान श्रेष्ठको घरको भूँइतलामा सञ्चालित फेन्सी पसलमा आगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ । धरान ४ छाताचोकस्थित काफ्ले स्टोरको ब्याग, जुत्ता, चप्पल भएको ठाउँमा मंगलबार आगलागी भएको थियो । आगलागीबाट पसलका सबै सामान जलेर नस्ट भएका छन् । पसलभित्रको विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको । एकसाता अघि लोडसेडिङको बेला इन्भर्टर सर्ट भएर धरान ६ निकेतन गल्लीस्थित एक पसलमा आगलागी हुँदा करिव ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो । फाइल तस्वीर
भुटानी शरणार्थीलाई उनीहरुकै देश फर्काउनुपर्छ-पराराष्ट्रमन्त्री महत
जेनेभा, फागुन १७ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालमा रहेका बाँकी भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने बताएका छन् । राष्ट्रसंघीय मानवअधिकार परिषदको ३४ औं उच्चस्तरीय सत्रमा सहभागी हुन हाल जेनेभामा रहेका मन्त्री महतले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटमा भुटानी शरणार्थी स्वदेश फर्किने वातावरण बनाउनुपर्ने बताएका हुन् । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तले पटकपटक शरणार्थीलाई नेपालमै पुर्नस्थापित गर्न आग्रह गर्दै आएपनि नेपालले भने ती शरणार्थीलाई स्वदेशमै फर्किनका लागि सहयोग गर्नुपर्ने अडान लिँदै आएको छ । भुटानी शरणार्थी मध्ये केही तेस्रो मुलुकमा पुनस्थापित भए पनि दश हजार भन्दा बढी शरणार्थी अझै नेपालमा रहेका छन् । मन्त्री महतले राष्ट्रसंघीय निकायले शरणार्थी आफ्नो देशमा नफर्किदाँसम्म तथा तेस्रो मुलुकमा पुनस्थापित नहुँदासम्म मानवीय सहायता उपलब्ध गराउने दायित्व निर्वाह गर्न आग्रह गरे । उच्चायुक्त ग्रान्डीले भने शरणार्थीलाई गर्दै आएको सहयोगको जिम्मेवारीबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री महतको भनाई उद्धृत गर्दै उनका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्ने
काठमाडौं, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । मंगलबार साँझ ५ बजे सिंहदरबारबाट प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । पछिल्लो राजनीति अवस्था, राजनीतिक गतिरोधबारे सरकारले चालेको भूमिका, स्थानीय निकायको निर्वाचन लगायतका विषयमा विशेष पत्रकार सम्मेलन मार्फद सम्बोधन गर्न लागेका हुन् ।