किसानका घरघरमा पोखरी

डोल्पा, माघ २६ । सिँचाइ सुविधा उपलब्ध गराउन किसानका घर घरमा पोखरी निर्माण गरिने भएको छ ।

जिल्ला कृषि विकास कार्यालयले केही हदसम्म भए पनि किसानको सिँचाइको समस्या कम गर्न उनीहरुलाई पोखरी निर्माणका लागि अनुदान दिन लागेको कार्यालयका योजना अधिकृत भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।

सो कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरेर वर्षादकोे पानी जम्मा गरी सिँचाइको सुविधा दिइने छ ।

यसवर्ष ७५ किसानलाई नमुनाको रुपमा प्रतिपोखरी रु १५ हजारका दरले रकम वितरण गरिने भट्टराईले बताउनुभयो ।

यहाँको कुल खेतीयोग्य जमिनको २० प्रतिशतमा मात्र सिँचाइको पहँुच पु¥याउन सकिएको कार्यालयले जनाएको छ ।

ताकमवासी घरघरमा खानेपानी पुर्याउने अभियानमा

म्याग्दी, माघ २६ । ताकम गाविसका सबै बस्तीमा सडक सञ्जाल विस्तार भएपछि यहाँका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा उपलब्ध गराउन जुटेका छन् । जिविसअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा रु दुई करोड ६७ लाख ८८ हजार ५५५ को लागतमा कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा ल्याउन लागिएको हो । आगामी वर्ष २०७४ चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ताकमको ३, ४, ५, ६ र ९ नं वडाका ३५६ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले बताउनुभयो । यसैगरी खानेपानी तथा सरसफाइ सवडिजिभन कार्यालयले ७ र ८ नं वडाका लागि यसवर्ष रु ७० लाखको ताकम खानेपानी आयोजना सञ्चालन गरेको छ । वडा नं १ र २ मा पर्ने धारापानीमा पनि यस वर्षदेखि नयाँ आयोजना सञ्चालन हुने कार्यालयले जनाएको छ । आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको तीनवटै आयोजनामार्फत मिटरसहितको निजी धाराबाट खानेपानी वितरण हुने जनाइएको छ ।   पर्याप्त स्रोत र व्यवस्थित संरचनाको अभावमा खानेपानीको समस्या झेल्दै आएका ताकमका बासिन्दा छिटो आयोजना सम्पन्न गर्नका लागि श्रमदानमा जुटेका छन् । एउटा घरबाट ६५ दिनका दरले श्रमदान गर्दैछौं’, उपभोक्ता गोपाल आचार्यले भन्नुभयो– ‘खानेपानी अभावको समस्या समाधानका लागि आयोजना लक्ष्यअघि नै सम्पन्न गर्ने तयारीमा छौं ।’ देवीस्थान र ताकम गाविसको सिमानामा पर्ने कोटखोला, देउबुजा र हटिमूलको मुहानबाट प्रतिसेकेन्ड चार लिटरका दरले पानी आपूर्ति गर्ने लक्ष्य रहेको कोतखोला तेस्रो आयोजनाको हालसम्म १५ प्रतिशतभन्दा बढी काम सकिसकेको छ । आयोजनाको १३ मध्ये सातवटा रिजर्भ ट्यांकी निर्माण र पाइपलाइन खन्ने काम तीव्र पारिएको परियोजनाका असिस्टेन्ट सव–इञ्जिनियर यामबहादुर हर्मेलले बताउनुभयो ।

कहाँ कहाँ छन् रामदेवका उद्योग र जग्गा–जमिन ?

स्थापना भएको १० वर्षमा एउटा कम्पनी संसारका ठूलाठूला कम्पनीहरुका लागि चुनौती बन्नसक्छ भन्ने कुरा कसैले सोचेका पनि थिएनन् होला । तर ९ वर्ष अघि स्थापना भएको पतञ्जली आयुर्वेद कम्पनी अहिले ठूला ठूला कम्पनीका लागि टाउको दुखाई बनेको छ । अहिले बिभिन्न टेलिभिजन कम्पनीहरुले योग गुरु रामदेवको ब्यानरदेखि उनका उत्पादनहरुको प्रचार गर्न थालेका छन् । रामदेवको कम्पनी सयौं हजार करोडको साम्राज्य बनाउन सफल भएको छ । सन् २०१५, १६ मा यो कम्पनीको कमाई ५ हजार करोड पुगेको थियो । सन् १६ मा यो झनै आकाशिएको अनुमान छ । वर्ष २०१६, १७ मा कम्पनीले १० हजार करोड कमाई गर्ने लक्ष बनाएको छ । विगत पाँच वर्षमा यो कम्पनीले कमाईमा दश गुणा छलाङ मारेको छ । यसका पछाडि कम्पनीको व्यापक बिस्तार गरिनु हो । कम्पनीले भारतका आसामदेखि उत्तराखण्ड र नेपालसम्म जग्गा लिएर उद्योग स्थापना गरेको छ । आसाम पतञ्जली आर्युवेदको आसामको तेजपुरमा हर्बर मेगा फूड पार्क रहेको छ । यसका लागि १ सय ५० एकड जमिन दिइएको छ । आसामका उद्योग मन्त्रीसँग रामदेवले थप ३३ एकड जमिनको माग गरेका छन् । १२ सय करोड रुपैयाँको यो पार्कमा वार्षिक १० लाख टन उत्पादन क्षमता हुने निर्माण संयन्त्र स्थापना गरिएको छ । यो यसैवर्ष मार्चमा पुरा हुने बताइन्छ । नोयडा उत्तर प्रदेश सरकारले गत वर्ष नोभेम्बरमा पतञ्जली आयुर्वेदलाई ग्रेटर नोयडामा २ हजार करोड रुपैयाको फूड पार्क बनाउने अनुमति दिएको थियो । यतिमात्रै होइन यो युनिटका लागि यमुन एक्सप्रेसमा ४ सय ५० एकड जमिन उपलब्ध गराउन समेत सरकार सहमत भएको छ । यो उद्योग पूर्ण क्षमतामा काम गर्न थालेपछि वार्षिक २५ हजार करोडको उत्पादन तयार गर्ने बताइन्छ । मध्य प्रदेश मध्य प्रदेशको धार जिल्लामा पतञ्जली आर्युवेदले ५ सय करोडको फूड प्रोसेसिङ यूनिट लगाइरहेका छ । यसका लागि शिवराज सिंह चौहानले उनलई ४ सय एकड जमिन दिन बताएका छन् । महाराष्ट्र नागपुरमा पतञ्जली मेगा फूड र हर्बल पार्कको आधारशील खडा गरिएका छ । यो फूड पार्क २ सय ३० एकडमा फैलिएको छ । पतञ्जली आयुर्वेदलाई मध्य र पश्चिमी भारतको बजारमा पुर्याउने यसको रणनीति छ । आन्ध्र प्रदेश पतञ्जलीले दक्षिण भारतको कृष्णापटनम पोर्ट वरिपरिको क्षेत्रमा उद्योग स्थापना गर्ने योजन बनाएको छ । यसका लागि नेल्लोर जिलाबाट कारोबार शुरु गरिने बताइएको छ । हालैमात्र रामदेव र बालकृष्ण उक्त औद्यौगिक क्षेत्रका निरिक्षण गरेर फर्किएका छन् । हरिद्वार अहिले भने सबैभन्दा ठूलो उद्योग इकाई हरिद्वारमा रहेको छ । पतञ्जली फूड एण्ड हर्बल पार्कमा बिभिन्न इकाईहरु काम गरिरहेका छन् । नेपाल नेपालमा समते पतञ्जलीले आफ्नो पाइला राखेको छ । हालैमात्र रामदेशले बारामा पतञ्जलीको उत्पादन हुने र सयौंले रोगजारी पाउने घोषणा गरेका थिए । स्कटल्याण्ड स्कटल्याण्डमा पतञ्जली योग ट्रष्टको एउटा आफ्नै आइल्याण्ड समेत रहेको छ । यूरोपमा यो कम्पनीको कारोबारलाई रेखदेख गर्न श्याम र सुनिता पोद्धारले लिटिल कम्ब्री आइल्याण्डलाई दान दिएका थिए । विविसीबाट

आयोग कार्यालय जिल्ला तहसम्म हुनुपर्ने माग

बाजुरा, माघ २६ । दलित आयोगको कार्यालय जिल्ला तहसम्म पनि हुनुपर्ने बाजुराका दलित अगुवाले माग गरेका छन् । दलित समुदायको सहज पुहँच र सहभागिता रहने गरी केन्द्र प्रदेश र जिल्ला तहमा दलित आयोगको कार्यालय राखिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । व्यवस्थापिका-संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिको आयोजनामा मंगलबार सञ्चालन गरिएको राष्ट्रिय दलित आयोग विधेयक–२०७३ को छलफलमा सहभागीले सो कुरा बताएका हुन् । ऐन कानुन निर्माण भएपनि न्यायमा पहुँच अहिलेसम्म हुन नसकेकाले त्यसका लागि आयोगको कार्यालय जिल्ला तहमै राखिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय दलित आयोग विधेयक-२०७३ निर्माण उपसमिति संयोजक दुलारी हरिजनको अगुवाइमा आएको सांसदको टोलीले दलित समुदायका समस्या, वर्तमान अवस्था र संसद्मा पेस भएको विधेयकमा छुटेका र समेट्नु पर्ने विषयबारे सुझाव सङ्कलन गर्न कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता महेश शाही, नेकपा (एमाले) का काशी विक, नेपाली काँग्रेसका वीरबहादुर विक, माओवादी केन्द्रका बिनिता विक, पत्रकार प्रेम विकलगायतले विधेयकमा थप्नुपर्ने विषयबारे सुझाव दिएका थिए भने अन्य सहभागीले दलित समुदायले भोग्नुपरेका समस्या, दलित भएरै पनि सामाजिक सुरक्षा भत्ता नपाएको विषयलाई जोडदार उठाएका थिए । दलित भएर दोस्रो दर्जाको नागरिकका रुपमा हेरिएको र राजनीतिक दलका नेताले पनि भोटका लागि मात्र प्रयोग गर्ने गरेको प्रतापे आउजीले गुनासो गर्नुभयो । सांसद कमला घिमिरे सुवेदी र सांसद नरबहादुर थापा मगरले कार्यक्रमको उद्देश्यबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । आठ पृष्ठ लामो विधेयक सांसद चम्पा खड्काले प्रस्तुत गर्नुभएको थियो । विधेयकबारे सुझाव लिन टोली सप्तरी र बाजुरामा आएको हो । दलित समुदायका पीडा र गुनासा बढी भएको र राज्यको नजरभन्दा टाढा परेको जिल्लालाई रोजेर कार्यक्रम गरिएको उपसमिति संयोजक दुलारी हरिजनले बताउनुभएको छ । कार्यक्रममा दलित समुदायलाई सामाजिक सुरक्षा भत्ता नदिएको, स्थानीय प्रशासन र जिल्ला विकास समितिले कमजोरी गरेको जस्ता गुनासा आएपछि सांसद खडक बस्यालले तत्काल आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई दिनुपर्ने सेवा सुविधा उपलब्ध गराउनु निर्देशन दिनुभएको छ । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाही र स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले आफ्नो तहबाट कुनै कमजोरी नभई माथिल्लो निकायले नै अख्तियारी नदिएकाले समस्या भएको, त्यो सहज भए आफूहरु जुनसुकै बेला पनि दिन तयार रहेको बताउनुभयो ।

त्रिचन्द्रमा गुण्डागर्दी र भ्रष्टाचार हटाउने रावलको दावी, गंगालाल छात्रवृत्तिको घोषणा

काठमाडौं, २५ माघ । राजधानीको त्रिचन्द्र क्याम्पसमा गरीब तथा जेहन्दार विद्यार्थीलाई सहयोग गर्न छात्रवृत्तिको स्थापना गरिएको छ । अखिल क्रान्तिकारी त्रिचन्द्र क्याम्पस समितिको आयोजनामा भएको एक कार्यक्रममा अखिल (क्रान्तिकारी)बाट स्ववियुमा अध्यक्ष घोषणा गर्नुभएका केशव रावलले छात्रवृत्ति कोषको उद्घाटन गरेका थिए । वीर सहिद गंगालालको कलेजमा गंगालाललाई बिर्सिदै गएको आभास भएकोले त्रिचन्द्र क्याम्पसमा पढ्ने गरिव तथा जेहन्दार विद्यार्थी लाई छात्रवृत्तिको निम्ति गंगालाल मेमोरियल स्कलरसिप फन्डको स्थापना गरिएको रावलले बताए । कार्यक्रममा बोल्दै सभापतिका उम्मेद्वार रावलले पुस्तकालय तथा प्रयोगशालाहरुको यावत् समस्या समाधान गर्दै त्रिचन्द्रलाई नमुना कलेजको रुपमा विकास गर्ने घोषणा समेत गरे । आफूलाई विजयी गराएमा त्रिचन्द्रबाट भ्रष्टाचार र गुन्डागर्दी अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । त्रिचन्द्रमा व्याप्त भ्रष्टाचार र गुन्डागर्दी हटाउन आफ्नो उमेद्वारि रहेको रावलले स्पष्ट पारे । अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष क। मदन प्रभातको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रभातले अखिल (क्रान्तिकारी)ले त्रिचन्द्रमा आफ्नो झण्डा फरफराउने पक्का रहेको उद्घोष गरे । उक्त कार्यक्रममा बोल्दै बरिस्ठ साहित्यकार बलराम तिमल्सिनाले क्रान्तिकारी ले जिते मात्रै त्रिचन्द्र क्याम्पसको मुहार फेर्न सक्ने भएकोले केशव रावललाई अध्यक्षमा अत्याधिक बहुमतले बिजयी गराउन बिद्यार्थीलाई आग्रह गरेका थिए । अखिल (क्रान्तिकारी) को आयोजनामा भएको गजल प्रतियोगितामा ४७ जना गजलकारको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बरिस्ठ गजलकार तथा नाटककार पुरु लम्साल , उदयमान गजलकार कमल संघर्षले आफ्नो गजल सुनाएका थिए । गजल प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना लाई क्रमशः ३,००० , २,००० , १,००० र ५०० को साथमा गजलका कितावहरु प्रदान गरिएको थियो ।।

दृष्टिविहीन अमिटको सगरमाथा आरोहणका लागि सहयोग जुट्दै

म्याग्दी, माघ २६ । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका एक दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि सहयोग जुट्न थालेको छ । अपाङ्गता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पुर्याउन सक्छन् भन्ने उदाहरण पेस गर्न बागलुङ जिल्ला सर्कुवा–२ का अमिट केसीले सगरमाथा आरोहण गर्न लागेका हुन् । आरोहणका लागि एकलाख अमेरिकी डलर अर्थात् करिब रु एक करोड खर्च हुने भएपछि केसी यति बेला विभिन्न सङ्घ संस्थामा सहयोगका लागि दौडधुपमा व्यस्त छन् । केसीको सहयोगार्थ मङ्गलबार बेनीमा जिल्ला प्रशासन कार्यालय र म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहीन केसीले सरकारले समेत आरोहणको लागि स्वीकृति दिइसकेको जानकारी गराउँदै आरोहणको लागि आवश्यक पर्ने खर्च जुटाउन सक्दो सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले आगामी अप्रिल २ देखि जुन १० सम्ममा आरोहण गरिसक्ने गरी सरकारबाट आवश्यक प्रक्रिया पूरा गरी स्वीकृति लिइसकेको र आर्थिक सङ्कलनको लागि आफू सहयोगदाताको प्रतिक्षामा रहेको बताउनुभयो । केसीका अनुसार हालसम्म नेपाल सरकारले रु पाँच लाख सहयोग गरिसकेको छ भने लायन्स क्लबले समेत आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाइसकेको छ । केसीले सगरमाथा आरोहणको तयारीअन्तर्गत यस अघि २०७२ बैशाख ८ गते सोलुखुम्बु जिल्लामा रहेको आइसल्यान्ड पिक र २०७२ चैत ८ गते मेरापिक हिमाल आरोहण गरिसक्नुभएको छ । यसैबीच, केसीको सगरमाथा आरोहणमा सहयोग जुटाउनका लागि बेनीमा विभिन्न सरोकारवालालाई समावेश गरी एक समिति निर्माण गरिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, लायन्स क्लबको तर्फबाट चन्द्रकुमार केसी, ठाकुरप्रसाद शर्मा, ओमकुमारी शान्ति कोषका उपाध्यक्ष हरिकृष्ण गौतम, प्राध्यापक रेखाकौशल रेग्मी, पत्रकार कमल खत्री र अपाङ्ग सङ्घ म्याग्दीका सचिव सुरेन्द्र केसी रहनुभएको समन्वय समितिले केसीको सहयोगार्थ आर्थिक सङ्कलनमा सहयोग गर्ने जनाइएको छ । सोही अन्तक्र्रिया कार्यक्रमकै अवसरमा रु ५५ हजार आर्थिक सङ्कलन समेत भइसकेको र विभिन्न क्षेत्रबाट आर्थिक सङ्कलन गरी केसीको सगरमाथा आरोहणमा सहयोग गरिने समितिले जनाएको छ ।

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल घट्दै

लमजुङ, माघ २६ । पदयात्राको लागि उपयुक्त मौसम नभएपनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा निस्किएका छन् । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार पदयात्राको समय नमानिने डिसेम्बर र जनवरीमा पनि एक हजारभन्दा बढी विदेशी पर्यटक लमजुङ हुँदै आएको पाइएको छ । तथ्याङ्कअनुसार गत डिसेम्बरमा ६९८ जना विदेशी आएका थिए भने जनवरीमा ३७१ जना विदेशी पर्यटक अन्नपूर्ण पदमार्गमा आएका छन् । अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेबुअरीदेखि अप्रिलसम्म पदयात्राको राम्रो समयको रुपमा लिइन्छ । गत सेप्टेम्बरदेखि नोभेम्बरसम्म ११ हजार ५०४ जना पर्यटक पदयात्राका लागि आएका थिए । अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गरेको बताइन्छ । पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । पछिल्लो समय विभिन्न क्लब, तथा सङ्घसस्थामा आवद्ध भएका समेत बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा जाने गरेका छन् । लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भूलभूले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

भोजपुरमा अल्लोलाई बजार अभाव

भोजपुर, माघ २६ । भोजपुर जिल्लाको उत्तरी गाविस कुलुङ चौकीडाडाँका स्थानीयले उत्पादन गरेको अल्लोका विभिन्न सामग्रीले बजार नपाएको गुनासो गरेका छन् । भौगोलिक विकटताका बीच ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै सङ्कलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडालगायत विभिन्न सामग्री निर्माण गरेता पनि गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् । अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्ने, धुने लामो प्रक्रियाबाट सामग्री तयारी गर्नुपर्ने भएकाले लगानी धेरै लाग्ने गरेको तर बजार नजिकमा नहुँदा समस्या हुने गरेको अल्लो व्यवसायी मालती कुलुङले बताउनुभयो । उहाँले भन्नुभयो- ‘ब्याजमा ऋण काढेर सामान उत्पादन गर्छौं तर गाउँमा बजार छैन, भोजपुरबजार पुग्न एक दिन हिँडेर गाडी चढ्नुपर्छ, त्यो पनि उपभोक्ताले सस्तो मूल्यमा खोज्छन् ।’ यता अल्लोको धागोबाट बुनेको कपडा राम्रो भए पनि ज्यादै महँगो भएको नेपाली सेनामा कार्यरत जुम्लाका योगेश राउतले बताउनुभयो । अल्लोको सामग्री जिल्लामा केही कर्मचारीले मात्र खरिद गरेर आफ्नो व्यवसाय टिकाउन नसकिने व्यवसायी मीना कटुवालको भनाइ छ ।

आगलागीमा लाखौँको क्षति

धनुषा, माघ २६ । जनकपुरस्थित एक पसलमा गए राति आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । जनकपुरको मिल्स एरियास्थित ताज रुई सेन्टरमा गएराति आगलागी भएको हो । आगलागीबाट रु १३ लाखभन्दा बढीको क्षति भएको पीडित पसलेले जनाएका छन् । जनकपुर उपमहानगरपालिका पुल्चोक—१६ बस्ने मोहमद अयुव हुसेनले काठको घरमा सञ्चालन गरेको रुई पसलमा मङ्गलबार राति एक्कासि आगलागी भई सम्पूर्ण सरसामानसहित घर जलेर खरानी भएको छ । रुईको पसल भएकाले आगो एकै छिनमा पूरै घरभरि फैलिएपछि बारुणयन्त्र, प्रहरी, स्थानीय बासिन्दाले प्रयास गर्दा पनि समय मै निभाउने प्रयास असफल भएको थियो । काठको घरभित्र सञ्चालन गरेको पसलभित्र रहेको रुई, सिरक, तोसक, लत्ताकपडा, नगदलगायतका सम्पूर्ण सरसामानसहित घर जलेर नष्ट भएको छ । रेल्बे स्टेसन प्रहरी चौकीको इन्चार्ज प्रहरी सहायक निरीक्षक देवलाल यादवका अनुसार विद्युत् सर्ट सर्किट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

माओवादी नेता लोकेन्द्र विष्टले घर किन्न डेढ करोड उठाएको जनआस्थाको दावी

काठमाडौं, माघ २६ । माओवादी केन्द्रका नेता लोकेन्द विष्टले राजधानीमा घर तथा घडेरी जोड्न बिभिन्न व्यक्तिबाट डेढ करोड रुपैयाँ उठाएको जनआस्थाले दाबी गरेको छ । जन आस्था साप्ताहिकमा आज प्रकाशित समाचार अनुसार, नेता लोकेन्द्र विष्टले पेप्सीकोलामा घर किन्ने बेला नरेन्द्र गिरीसँग ३० लाख र अन्य व्यक्तिसँग गरी डेढ लाख उठाएका थिए । उनले घर किनेपछि पार्टीमा कुरा उठेपछि उनले पार्टी दक्षिणपन्थी भासमा जाकिएको भन्दै पार्टीबाट राजीनामा दिएको जनआस्थाको दाबी छ । पढ्नुस पुरै समाचार  

टेरियालाई गृह जिल्लामा भव्य स्वागत

तिलोत्तमा (रुपन्देही),  माघ २६ । भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ । टेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले उनको सम्मान गरेका हुन् । बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य कक्षा सुरुवात गरेकी टेरियाले सन् २०१४ मा भारतीय च्यानल जी टिभीबाट प्रसारण हुने ‘डान्स इन्डिया डान्स’को लिटिल मास्टर्स प्रतियोगितामा प्रथम भएकी थिइन् । उनले हालै मात्र कलर्स टिभीबाट प्रसारण भएको ‘झलक दिखला जा’ को उपाधि समेत प्राप्त गरेकी थिइन् । फाउन्डेसनका अध्यक्ष कृष्णबहादुर फौजामगरले टेरियाले उपाधि जित्दा स्वदेश तथा विदेशबाट नेपाली दाजुभाइ दिदीबहिनीले एसएमएस र अनलाइन भोट गरेर गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । सो अवसरमा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नेपाल र नेपालीको इज्जत विदेशी भूमिमा पुगेर राखेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले टेरियाको जित सबै नेपालीको गर्व र उपलब्धि रहेको बताउनुभयो । उहाँले नेपाली परम्पराका नृत्यलाई विदेशी भूमिबाट नृत्यको माध्यमबाट अझ प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी युवराज सुवेदीले टेरिया फाउन्डेसनसँग आवश्यक परे सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले जिल्ला विकास समितिले आवश्यक परेमा फाउन्डेसनलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यसैगरी, रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले टेरियालाई बधाई दिँदै फाउन्डेसनसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । रासस

बाघको आक्रमणबाट प्रहरी निरीक्षकसहित आठ घाइते

पर्सा, माघ २५। पर्साको महुवन गाविसमा जङ्गलबाट आएको एक बाघले आक्रमण गर्दा एक प्रहरी निरीक्षकसहित आठ जना घाइते भएका छन् । खेतमा काम गरिरहेका बेला अचानक जङ्गलबाट आएको बाघले आक्रमण गरेको थियो । पर्सा लखनपृर गाविस–९ का मोतीलाल यादव, आसमान राउत कुर्मी तथा रामनगरी–७ का महिन्दर सहनीलाई आक्रमण गरेको हो । बाघले आक्रमण परेपछि स्थानीय बासिन्दाले पर्सा प्रहरीलाई जानकारी दिएपछि अस्थाई प्रहरी चौकी महुवनका इन्चार्ज अरुण झा र इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चक्र शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले बाघलाई धपाउन खोज्दा बाघले प्रहरी निरीक्षक शाह र अरुण झालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ । यसैबीच, मानव वस्तीमा प्रवेश गरी सर्वसाधारणमाथि आक्रमण गर्ने बाघलाई आज अपरान्ह प्रहरीले गोली हानेर मारेको छ । बाघको आक्रमणमाबाट गम्भिर घाइते बनेका प्रहरी उपरिक्षकसहित अन्यलाई थप उपचारका लागि काठमाडौ लगिने भएको छ ।

पत्रकारितामा नयाँ विश्वविद्यालय आवश्यकः सञ्चारमन्त्री कार्की

काठमाडौँ, माघ २५ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेशामा नयाँ विश्वविद्यालयको आवश्यकता रहेको बताएकाछन् । कलेज अफ जर्नानिज्म एन्ड मास कम्युनिकेसन (सिजेएमसी)ले आयोजना गरेको आमसञ्चार पत्रकारिता विश्वविद्यालयको स्थापनार्थ अन्तक्र्रिया कार्यक्रममा नेता कार्कीले पत्रकारितामा जिम्मेवार र विशिष्ठ व्यक्ति सिर्जना गर्न नयाँ विश्वविद्यालय आवश्यक रहेको बताएका छन् । सञ्चारमन्त्री कार्कीले भने, “सञ्चार माध्यम विशिष्टीकृत बन्दै गएको छ, त्यसका लागि जिम्मेवार र विशिष्ठ व्यक्ति सिर्जना गर्न नयाँ विश्वविद्यालय आवश्यक छ ।” उनले विश्वविद्यालय स्थापना गरेर पत्रकारिता पेशालाई स्तरीय बनाउनुपर्नेमा जोड दिए । सञ्चारमन्त्री कार्कीले हुलाक सेवालाई सामुदायिक सूचना केन्द्रका रुपमा विकास गर्ने र त्यसमार्फत स्थानीय रेडियोको नवीकरण तथा अन्य सूचना सम्प्रेषणको काम गर्न सकिने बताएका छन् । प्रत्येक गाउँपालिकामा राम्रा पत्रकारको आवश्यकता रहेको उल्लेख गर्दै पत्रकारलाई आत्मरक्षाका विषयमा पोख्त बनाउनुपर्नेमा मन्त्री कार्कीको जोड थियो । उनले पत्रकारले विचार निर्माणका लागि महत्वपूर्ण कार्य गर्न सक्ने धारणा व्यक्त गरेका छन् । सञ्चारमन्त्री कार्कीले सञ्चार क्षेत्र पारदर्शी भएमात्र प्रजातन्त्र बलियो हुने विचार व्यक्त गरेका छन् ।

पत्याउनुहुन्छ ! साउनकै पानी पिउँछन रैनादेवी माविका शिक्षक विद्यार्थी

पाल्पा, माघ २५ । असार साउनको आकाशे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला । पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी माविमा असार साउनको सङ्कलित आकाशे पानी अहिले शिक्षक विद्यार्थीले पिउँछन् । खानेपानीको चर्को समस्या रहेपछि आकाशे पानीमा निर्भर छन्, त्यहाँका शिक्षक र विधार्थी । वर्षाको पानी सकिएपछि चैत वैशाखपछि गाउँ चारेर ल्याएको एक ग्रागो पानी दिनभरी पिएर बस्नुपर्ने बाध्यता उनीहरुको छ । वर्षातको थोपा–थोपा पानी संकलन गर्न पाइने भएपछि यहाँका शिक्षक विद्यार्थी वर्षा हुन थालेपछि खुशी हुन्छन् । खानेपानीको चर्को समस्याका कारण विद्यालयले असार–साउनमा वर्षातको पानी संकलन नगरेमा उनीहरु पानी पिउनबाट वञ्चित हुन्छन् । विस २०२९ मा स्थापना भएको विद्यालयमा अहिले ४५० जना विद्यार्थी र १५ दरबन्दीका शिक्षक, एकजना बाल शिक्षिका, एक जना लेखापाल र एक जना परिचर लगायतले वर्षातमा सङ्कलन गरिएका पानी पिउँदै आएका छन् । कक्षा ८ मा अध्ययनरतले भुवनपोखरी गोखुङ्गाका सुरज नेपालीले विद्यालयमा वर्षातको समयमा सङ्कलित पानी पिउन बाध्य भएको बताउँछन् । पानीको मुहान नजिक नरहेपछि दैनिक पानी बोक्नुपर्ने बाध्यता हटेको छैन, पढाइ भन्दा पिउने पानीको समस्या यहाँ चर्को रहेको उनी बताउँछन् । आकासे पानी सङ्कलनका लागि विद्यालयले १५ हजार लिटरको ट्याङ्की राखिएका छन् । असार साउनमा सङ्कलित पानी फागुनमा आएर सकिन्छ । खानेपानीको समस्या बढ्दै गएपछि विधालयले अहिले दस हजार लिटरको ‘घँैटो’ निर्माण गर्न थालिएको छ । निर्माणाधिन घौंटो प्रयोगमा ल्याउन केहि महिना लाग्ने भएकाले यसपालि फागुनमा विद्यालयमा सङ्कलित पानी सकिनेछ, त्यसपछि पानीको चर्को अभाव हुने विद्यालयका प्राधानाध्यापक ऋषिराम पोखरेलले जानकारी दिए । विद्यालय नजिकको क्षेत्रमा खानेपानीको मुहान नहुनु र लिफ्ट मार्फत पानी तान्न नसक्दा विद्यालयमा वर्षाको थोपा थोपा पानी सङ्कलन गरी विद्यार्थीले पिउनुपर्ने अवस्था रहेको विद्यालयका प्राधानाध्यापक पोखरेलले बताए ।

पत्रकार महासंघको चुनावका लागि ५ संगठनवीच कार्यगत एकता

बिर्तामोड, माघ २५। नेपाल पत्रकार महासंघ झापा शाखाको आसन्न १२ औं अधिवेशनको चुनावी मैदानमा जिल्लाका पत्रकारहरुको पाँचवटा क्रियाशील संगठनले कार्यगत एकता गर्ने घोषणा गरेका छन् । फागुन ७ गते हु्ने निर्वाचनका लागि पाँच संगठनबीच कार्यगत एकता गरी ‘व्यवसायिक पत्रकारको संयुक्त समावेशी प्यानल’ निर्माण गर्ने सहमति भएको आज सोमबार जारी संयुक्त विज्ञप्ति मार्फत् जनाइएको छ । नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईं, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष टिकाराम उप्रेती, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईं, संघीय प्रेस फोरम नेपालका केन्द्रीय सदस्य डिकेश लामा र आदिवासी पत्रकार संघ झापाका अध्यक्ष पुकार राजवंशीले ती संगठनहरुवीच कार्यगत एकता गर्ने सहमति गर्दै हस्ताक्षर गरेका छन् । स्वतन्त्र पत्रकारहरुको समूहले समेत उक्त वृहत प्यानलसंग कार्यगत एकता गरेको छ । उक्त पाँच वाहेक बाँकी रहेका पत्रकारका दुई संगठन प्रेस चौतारी र फोनिजलाई पनि कार्यगत एकताका लागि आह्वान गरिएको छ । ती दुई संगठनबीच पनि कार्यगत एकता भए झापामा यो पटक महासंघको नेतृत्व सर्वसम्मत चयन हुने प्रेस युनियन झापाका कृष्ण हुमागाईंले बताए । तीन वर्षअघि प्रेस युनियन, प्रेस सेन्टर, आदिवासी पत्रकार संघ र स्वतन्त्र पत्रकारको प्यानलमा यस वर्ष मिडिया नेपाल र संघीय प्रेस फोरम समेत समावेश भई बृहत एकता कायम भएको हो । सवै संगठनले उक्त प्यानलबाट उठाउने अधिकांश उमेद्वारको नाम टुंगो लगाइसकेको र एक÷दुई दिनमै नाम घोषणा गरिने बताएका छन् । तीन वर्षअघि निर्वाचित उक्त संयुक्त प्यानलको नेतृत्वले महासंघ झापा शाखामा रहेर पत्रकारको हितमा काम गर्दै पत्रकार महासंघको गरिमा र मर्यादा उच्च राख्न निर्वाह गरेको भूमिका सबै झापाली पत्रकारले उच्च मूल्यांकन गरेको विज्ञप्तिमा जनाइएको छ । तीन वर्षअघि गरिएका महत्वपूर्ण कार्यलाई निरन्तरता दिंदै थप उन्नत र नविनतम् कार्यका लागि बृहत संयुक्त प्यानल बनाइएको प्रेस सेन्टरका अध्यक्ष टिकाराम उप्रेती बताउँछन् । पत्रकार महासंघलाई साझा र समावेशी मात्र होइन, व्यवसायिक पत्रकारको क्षमता वृद्धि, पत्रकारको सुरक्षा प्रत्याभूति, श्रमजीवि ऐनको कार्यान्वयन, झापाका सञ्चार संस्थाको विकासमा सहकार्य गर्ने उद्देश्यले संयुक्त प्यानल निर्माण गरिएको बताइएको छ ।

अव्यवस्थित फुटपाथ व्यवसायले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

चितवन, माघ २५ । चितवनमा अव्यवस्थित फुटपाथ व्यवसायका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मुख्यगरी नारायणगढ बजार क्षेत्रमा अव्यवस्थित रुपमा फुटपाथ व्यवसाय सञ्चालन गर्दा पैदल हिँड्ने यात्रुसमेत प्रभावित भएको हालै गरिएको एक अध्ययनले देखाएको छ । जिल्लाको बजार तथा ट्राफिक व्यवस्थापनमा देखिएको समस्याबारे अध्ययनका लागि गठित कार्यदलले भरतपुर र नारायणगढ बजारमा अध्ययनमा क्रममा यस्तो समस्या बढेको जनाएको हो । कार्यदलका संयोजक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तले भन्नुभयो– ‘दुर्इवटै बजारका फुटपाथे व्यवसायले पैदलयात्रीमात्र होइन समग्र ट्राफिक व्यवस्थापनलाई नै असर परेको छ ।’ यही माघ १२ गते सरोकारवाला प्रतिनिधिको सहभागितामा पन्तकै नेतृत्वमा सो कार्यदल गठन गरिएको थियो । कार्यदलले स्थलगत रुपमा गरेको अनुगमनपछि प्रस्तुत गरेको प्रतिवेदन कार्यान्वयनका लागि प्रचारप्रसारसँगै सहभागितामूलक कार्यक्रम गरेर बजार व्यवस्थापन गर्न प्रहरी तथा स्थानीयवासी सक्रिय भएका छन् । जसअनुसार सडकपेटीको हकमा पैदल यात्रीलाई बाधा पर्ने कुनै पनि व्यापार–व्यवसाय गर्न नदिने, पसल बाहिरसमेत सामान राखेर बिक्री गर्ने कार्यमा रोक लगाउने, फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गर्ने, सडकपेटीको अतिक्रमण हटाउने निर्णय भएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । ट्राफिक व्यवस्थापनका लागि आजैदेखि अभियान सुरु भएको समेत उहाँले जानकारी दिनुभयो । यस्तै बजारक्षेत्रमा बैंक, बित्तीय संस्था र स्थानीय व्यवसायीकै सवारी साधन लामो समयसम्म पार्किङले समस्या भएको प्रतिवेदनमा उल्लेख छ ।