नयाँ सदस्यता सूचि लुकाइएको भन्दै पत्रकार महासंघका ३ जना केन्द्रीय सदस्यद्वारा बिरोध

काठमाडौं, माघ २३ । नेपाल पत्रकार महासंघमा नयाँ थपिएका सदस्यहरुका बारेमा केन्द्रीय सदस्यहरुलाई जानकारी नदिएको भन्दै तीनजना केन्द्रीय सदस्यले सार्वजनिक वक्तव्य जारी गर्दै बिरोध गरेका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, दीपेन्द्र कुँवर, रोशन पुरी र माधव दुलालले संंयुक्त विज्ञप्ती जारी गर्दै नयाँ थपिएका सदस्यहरुको सूचि केन्द्रीय समितिको बैठकबाट पारित गराउनुपर्नेमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।

‘सामाजिक सञ्जालदेखि मञ्चहरुमा पत्रकार महासंघको सदस्यता गैर पत्रकार र गैर नेपालीले समेत पाएको भनेर चर्चा चलेको बेला यो विषय पारदर्शी ढंगले अघि बढ्नुपर्नेमा नेपाल पत्रकार महासंघको केन्द्रमा समेत यसलाई अपारदर्शी ढंगले भागबण्डाका रुपमा अगाडि बढाउने काम भैरहेको उनीहरुको आरोप छ ।’ छ । संयक्त विज्ञप्तीमा भनिएको छ– “को सदस्य बन्दैछ रु त्यो सिंगो केन्द्रीय समितिलाई थाहा छैन । सामान्यतः नयाँ बन्ने सदस्यको सूचि केन्द्रीय समितिमा पेश भएर पारित हुनुपर्ने हो । तर त्यो काम अहिलेसम्म पनि भएको छैन । र, यो पुरै नियोजित छ ।”

नेपाल पत्रकार महासंघको अधिवेशन पूर्व हुन लागेका जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पनि सदस्यताबारे केन्द्रीय सदस्यलाई जानकारी नदिनु गलत भएको भन्दै उनहिरुले तत्कालै नयाँ सदस्यबारे सबैलाई सार्वजनिक जानकारी दिन माग गरेका छन् ।

पुष २७ गतेको बैठकले नयाँ सदस्यताबारे सचिवालयमा छलफल गरी उपलब्ध केन्द्रीय समितिमा छलफल गर्ने निर्णय गरेको भएपनि त्यसको कार्यान्वयन नभएको संयुक्त वक्तव्यमा भनिएको छ, “समय घर्काउँदै हामीलाई असहमति राख्ने अधिकार पनि नदिने, सूचि पनि नदिने बरु चुनावको मिति नजिक ल्याएर थकाउने योजना बनाएको हाम्रो बुझाई छ
उनीहरुले भनेका छन्– गैरले सदस्यता नपाओस, श्रमजीवी पत्रकार बाहिर नपरोस, काम पारदर्शी ढंगले होस ।

स्थानीयवासीले लगाए गौशाला नगरपालिकामा ताला

महोत्तरी, माघ २५ । स्थानीयवासीले महोत्तरीको गौशाला नगरपालिकामा तालाबन्दी गरेका छन् । कार्यकारी अधिकृतले मनपर्दी ढङ्गले कार्यालय सञ्चालन गरेको भन्दै उनीहरुले तीन बुँदे माग राख्दै कार्यालयको मूलढोकामा तालाबन्दी गरेका हुन् । गत माघ २० गते नगरपालिकाले निकालिएको बोलपत्रआह्वानको नतिजा पुनः परादर्शी ढङ्गले निकाल्नुपर्ने, प्रत्येक वडामा कार्यालय स्थापना गरी वडा सचिव खटाउनुपर्ने र कार्यालय प्रमुखले नियमित रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने माग स्थानीयवासीको छ । कार्यकारी अधिकृतसंग यी समस्या समाधानका लागि पटक पटक आग्रह गर्दापनि त्यसलाई बेवास्ता गरेकाले बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको नागरिक वडामञ्चका पूर्वअध्यक्ष नवीनकुमार साहले बताए । नगरपालिकाको मूलढोकामा तालाबन्दी भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

पत्रकार बोहराकी पत्नीलाई सहयोग

बाजुरा, माघ २५ । नेपाल पत्रकार महासङ्घ बाजुराले पत्रकार कर्णबहादुर बोहराकी श्रीमती ममताको उपचारका लागि रु १० हजार सहयोग गरेको छ । महासङ्घ सुदूरपश्चिम समन्वय समितिले जारी गरेको अभियानबाट सो सहयोग गरिएको महासङ्घ बाजुराका अध्यक्ष मदनराज जोशीले बताउनुभयो । ममताका दुवै मिर्गाैलाले काम नगर्ने भएपछि उपचारका लागि अभियान सुरु गरिएको सुदूरपश्चिम क्षेत्रीय संयोजक प्रकाशविक्रम शाहले जानकारी दिनुभयो । बोहराको उपचारका लागि हालसम्म रु चार लाख २३ हजार सहयोग जुटेको छ । रासस

गोठमा आगलागी, दुई बालबालिको मृत्यु

बागलुङ, माघ २५ । जिल्लाको अधिकारीचौर–३ घैयाखेत, बगाहस्थित गोठमा आगलागी हुँदा सोमबार एकै परिवारका दुई जना बालबालिका जलेर मुत्यु भएको छ । मृत्यु हुनेमा सात वर्षीय यमलाल विक र तीन वर्षीया सम्झना विक रहेका छन् । चुल्होमा बलिरहेको आगो एक्कासी खरले छाएको गोठमा सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । अभिभावक नभएका बेला गोठभित्र बसिरहेका दुवै बालबालिका जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो । मृतकका आमा पारु विक बिहानै घाँस काट्न बारीमा गएका बेला उक्त घटना भएको जनाइएको छ । विकका श्रीमान् ओमबहादुर विक भने रोजगारीका लागि विदेशमा रहेका छन् । विक बालबच्चासहित अस्थायी रुपमा उक्त गोठमा बस्दै आउनुभएको थियो । घटना भएको ठाउँ नजिकै बस्ती नभएकाले बालबालिकाको समयमै उद्धार हुन नसकेको जनाइएको छ । मृतक दुवै बालबालिकाको शव परीक्षणका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ । रासस

म महिलालाई सहयोग गर्छु : नेता सिंह

काठमाडौँ, माघ २४ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महिला सशक्तीकरणका आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । सांसद राज्यलक्ष्मी श्रेष्ठको सहयोगमा दक्ष जनशक्ति विकास केन्द्रले आयोजना गरेको दुईदिने महिला नेतृत्व विकास प्रशिक्षणको उद्घाटन गर्दै उनले सम्पूर्ण महिलालाई स्थानीय निकाय निर्वाचनमा होमिन आह्वान गर्दै गरेका हुन् । महिला वर्गलाई नेतृत्व तहमा पु¥याउन हरेक पुरुषले सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले उनीहरुलाई क्षमताअनुसार नेतृत्व दिन सक्नुपर्ने बताए । सांसद श्रेष्ठले सांसद विकास कोषबाट प्राप्त रकम महिला नेतृत्व विकासमा खर्चेको जानकारी दिँदै अवसरको खोजीमा रहेका नारीलाई आफूले सघाउने सन्दर्भमा कुनै कन्जुस्याईं नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

घुसलिँदै गर्दा इन्जिनियर रंगेहात पक्राउ

नुवाकोट, माघ २४। भूकम्प प्रतिरोधी निजी आवास निर्माण गराउन खटिएका एक इन्जिनियर घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । जिल्लाका बेलकोटमा खटिएका ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तवलाई भूकम्पपीडितसँग लिएको रु दुई हजार घुससहित प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं १ का श्रीवास्तव सहरी तथा भवन निर्माण डिभिजन कार्यालय, नुवाकोटमा करार सेवामा कार्यरत इन्जिनियर हुन् । श्रीवास्तवले बेलकोट–३ का बद्री तिवारीसँग रु दुई हजार घुस लिएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । तिवारीको निर्माणाधीन घर निजी आवास अनुदान कार्यविधिअनुसार नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले रु पाँच हजार घुस मागेका तर तिवारीले रु दुई हजारमात्र दिएको बताइएको छ । गाउँमा निर्माण हुने अधिकांश घर मापदण्डअनुसार निर्माण नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले सोही वडामा निर्माण भइरहेका केही घरधनीसँग पनि रकम मागेको गाउँलेले बताएका छन् ।

अबदेखि घलेगाउँमा पर्यटकले पालन गर्नुपर्छ १२ बुँदे आचारसंहिता

लमजुङ, माघ २४ । सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन गर्छ । पर्यटकले स्थानीय उत्पादन बाहेक गाउँमा उपलब्ध नहुने कुनैपनि कुरा माग गर्न पाउँदैनन् । स्थानीयवासीको क्षमताभन्दा बाहिरको कुनै पनि चिज लेनदेन गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ । बाल दुव्र्यव्यवहार, बाल तथा महिला बेचबिखन, यौनजन्य दुव्र्यवहार, लागुऔषध सेवन लगायतका क्रियाकलाप निषेध गरिएको छ । पर्यटकले स्थानीय समुदायमा कुनै असर गर्ने क्रियाकलाप गर्न नपाउने कुरा उल्लेख छ । स्थानीय कला, संस्कृति र सस्कारका साथै स्थानीय पर्यावरणमा असरपुग्ने कुनै पनि क्रियाकलाप गर्न पर्यटकलाई निषेध गरिएको छ भने उनीहरुले तोकिएका नियम पालना गर्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ ।

दुई हजार घुससहित पुनर्निर्माणमा खटिएका इञ्जिनियर पक्राउ

नुवाकोट, माघ २४ । भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा नुवाकोटको बेलकोटमा खटिएका इन्जिनियर घुससहित पक्राउ परेका छन् । रुपन्देही जिल्लाका सिर्दाथनगर नगरपालिका–१ का प्रविणकुमार श्रीवास्तव दुई हजार रुपैयाँ घुससहित सोमबार पक्राउ परेका हुन् । सहरी तथा भवन निर्माण डिभिजन कार्यालय नुवाकोटका करार सेवामा कार्यरत इन्जिनियर श्रीवास्तवले बेलकोट–३ का बद्री तिवारीसँग दुई हजार रुपैयाँ घुस लिएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । तिवारीको निर्माणाधिन घर निजी आवास अनुदान कार्यविधि अनुसार नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले पाँच हजार रुपैयाँ घुस मागेकोमा तिवारीले दुई हजार रुपैयाँ मात्र दिएको बताए । गाउँमा निर्माण हुने अधिकांश घर मापदण्ड अनुसार निर्माण नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले सोही वडामा निर्माण भइरहेका केही घरधनीहरुसँग पनि रकम मागेको गाउँलेको दाबी छ । ‘सरकारले दोस्रो किस्ता रकम दिने भनेपछि इन्जिनियरलाई पैसा दिएको हो, तिवारीले भने– ‘दोस्रो किस्ताको रकम आउँछ भने दुई पाँच हजार खर्च भएपनि होस् ।’ बेलकोटकै रामशरण ओलीले घर निर्माणको क्रममा जग खन्ने बेलादेखि इन्जिनियर श्रीवास्तवसँग सल्लाह गरेर अघि बढाइएको भएपनि अन्तिम पटक मापदण्ड नपुगेको बताउँदै आफूसँग पनि पाँच हजार रुपैयाँ घुस मागेको बताए । टोलभरी निर्माण भइरहेका घरधनीसँग जनही पाँच हजारको दरले रकम मागेपछि सोमबार बिहान गाउँ पुगेका इन्जिनियर श्रीवास्तवलाई गाउँलेहरुले समातेर प्रहरीको जिम्मा लगाएका हुन् । पक्राउ परेका श्रीवास्तवलाई कारवाहीको माग गर्दै बेलकोट गाविसका एक सयभन्दा धेरै बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी ऋषिराम कँडेलले पक्राउ परेका इन्जिनियर करार सेवामा रहेका र सरकारी कर्मचारीको अनुसन्धान प्रक्रिया प्रहरीमार्फत नभई सहरी तथा भवन निर्माण कार्यालयको सल्लाह अनुसार कारवाही प्रक्रिया अघि बढ्ने बताए ।

सहमति कार्यान्वयन नभएको भन्दै लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलनमा

लुम्बिनी,  माघ २४ । लुम्बिनी विकास कोषका सेवा करार तथा ज्यालादारी कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् । गत पुस १४ गते लुम्बिनी विकास कोषको व्यवस्थापन पक्ष र आन्दोलनरत कर्मचारीबीच भएका सहमति कार्यान्वयन नभएको भन्दै कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीले शुक्रबारदेखि जारी राखेको आन्दोलनका कारण लुम्बिनी विकास कोषको दैनिक प्रशासनिक कामकारबाही ठप्प भएको छ । आन्दोलित कर्मचारीले स्थायी कर्मचारीलाई कार्यालयमा गएर कुनै पनि काम गर्न दिएका छैनन् । यसअघि पुस ३ देखि १४ गतेसम्म कर्मचारीले कोषको प्रधान कार्यालय अगाडि आमरण अनशनमा बस्दै कोषको काम कारबाही पूर्णरुपमा ठप्प पारेका थिए । कोषका सदस्यसचिव अजितमान तामाङलाई पदबाट बर्खास्त गर्नुपर्ने मागसहित विभिन्न पाँच सुत्रीय माग राख्दै आन्दोलित कर्मचारीको आन्दोलनलाई सम्बोधन गर्दै पुस १४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सदस्य सचिव तामाङलाई मन्त्रालयमा हाजिर गराइने र अन्य माग चाँडै नै सम्बोधन गर्ने गरी सहमति भएपछि त्यसबेलाको आन्दोलन टुङ्ग्याएको थियो । कर्मचारीको तर्फबाट आमरण अनशनमा बसेका कर्मचारी रवीन्द्रनाथ शुक्ललाई उपाध्यक्ष भिक्षु निग्रोध (सिद्धार्थ महर्जन)ले जुस पिलाएर आन्दोलन टुङ्ग्याउँदै कर्मचारीले राखेका अन्य मागका बारेमा कोषको कार्यकारिणी समिति बैठक बसेर टुङ्ग्याउँदै लगिने आश्वासन दिनुभएको थियो । कर्मचारीका अनुसार कोष व्यवस्थापनले आफूहरुसँग गरेको सहमतिअनुसार अहिलेसम्म एउटा बुँदाको मात्र कार्यान्वयन भएको छ । सहमतिअनुसार आन्दोलित कर्मचारीको बाँकी रहेको तलब भत्ता पाए पनि अन्य चार बुँदाको भने कार्यान्वयन हुन नसकेको कर्मचारीको आरोप छ । कोषका कर्मचारीको बढुवा, सेवा सुविधा वृद्धि, कोषमा कार्यरत करार, ज्यालादारी कर्मचारीलाई जागिरको सुनिश्चितता प्रदान गरी प्रक्रिया पु¥याएर स्थायी गरिनुपर्ने, कोषमा भइरहेको अनियमितता र भ्रष्टाचार अन्त्य गरी अनियमितता र दोषीमाथि मन्त्रालयले छानबिन गरिनु पर्ने माग कर्मचारीले राख्दै आएका छन् । कर्मचारीले विगत लामो समयदेखि नै आन्दोलन गर्दै आए पनि अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले कर्मचारीको आन्दोलनलाई छिट्टै सम्बोधन गर्ने गरी आफूले पहल गरिरहेको बताउनुभयो । उपाध्यक्ष निग्रोधले समस्या समाधानका लागि मन्त्री तथा कार्यकारिणी समितिसँग बैठक राखी छलफल गर्ने बताउनुभयो । रासस

कालीकोटमा १६ राजनीतिक दल दर्ता

कालीकोट, माघ २४। जिल्लामा क्रियाशील रहेका १६ वटा राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालय कालीकोटमा दल दर्ता गराएका छन् । निर्वाचन आयोगले दिएको दल दर्ताको तोकिएको समयमा कालीकोट जिल्लामा १६ दलले दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख धनबहादुर रावलले बताउनुभएको छ । संविधानसभाको निर्वाचनताका विभिन्न दलले जिल्लामा गतिविधि बढाए पनि सक्रिय भएर लागेका दलहरु १६ वटामध्ये राष्ट्र सेवक लोकतान्त्रिक पार्टी नयाँ दर्ता भएको र समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता नभएको र देशभक्त पार्टीले अधुरो प्रक्रियामा आएकाले फिर्ता पठाइएको बताउँदै निमित्त प्रमुख रावलले १६ वटा राजनीतिक दलको विवरण आयोगमा पठाएको बताउनुभएको छ । उहाँले निर्वाचन आयोगको निर्देशनअनुसार सूचना जारी गर्दा जिल्लामा क्रियाशील दलले मात्र जिल्ला निर्वाचन कार्यालय, कालीकोटमा दल दर्ता गरेको बताउनुभएको हो । दल दर्ता गर्नेमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा नेपाल, मधेसी जनाधिकार लोकतान्त्रिक पार्टी नेपाललगायतका दल रहेका छन् । रासस

एमाले वडा सदस्य सहित १ सय बढी माओवादी केन्द्रमा प्रवेश

चितवन, माघ २४ । नेकपा माओवादी केन्द्र कालिका नगरपालिका नगरस्तरीय एकता भेला सम्पन्न भएको छ । माओवादी केन्द्रका प्रमुख स्थाई कमिटी सदस्य विश्वभक्त दुलाल (आहुती)को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । सो अवसरमा बोल्दै आहुतीले आगामी चुनावका लागि सबै कार्यकर्ता तयारी अवस्थामा रहन निर्देशन दिए । नगर अध्यक्ष रामध्वज डल्लाकोटी (विवेक)को अध्यक्षतामा सम्पन्न भेलामा करिब १ सय बढी एमाले र काग्रेस परित्याग गरि आएका नयाँ कार्यकर्ताहरुलाई प्रमुख अतिथि आहुतीले रातो टिका लगाई प्रवेश गरेका थिए । कार्यक्रममा बाल्ने अधिकांश नवप्रवेशीहरुले देश निकासको एक मात्र विल्कप माओवादी रहेको भन्दै सबैलाई माओवादीमा समाहित गर्न आग्रह गरे । भेलामा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई, जिल्ला अध्यक्ष यमबहादुर परियार, सह–ईन्चार्ज कञ्चन खनाल, जिल्ला सदस्य संगिता भट्टराई लगायतले बोलेका थिए । यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ माधवपुरमा माओवादी केन्द्र प्रवेशको लहर चलेको छ । नेकपा एमाले वडा कमिटीका सदस्य जगतवहादुर विक, रमेश विखुसे, वलदिप बिसुखे लगायत ३० जना बढीलाई माओवादी केन्द्रका प्रमुख स्थाई कमिटी सदस्य विश्वभक्त दुलाल (आहुती)ले रातो टिका लगाई प्रवेश गराएका थिए । सो अवसरमा बोल्दै जगतवहादुर विकले एमाले राष्ट्रियताको पक्ष नभई देश विग्राने खेलमा लागेको भन्दै देश बनाउन माओवादी प्रवेश गरेको बताए । यसैविच माओवादी केन्द्र वडा १५ माधवपुरमा दिलबहादुर बुढाथोकीको संयोजकत्वमा २५ सदस्ययी नयाँ कार्य समिति चयन गरेको छ । जसको सह संयोजकमा सहसंयोजक चञ्चला घिमिरे र विनोद ढकाल रहेका छन् ।

अदालतको आदेशको ठाडो उल्लङ्घन

इटहरी, माघ २४ । बराहक्षेत्र–४ का पुष्प बस्नेतले आठ वर्षअघि प्रेमविवाह गरेर विवाह गरी ल्याएको श्रीमती ममता कार्कीलाई घर प्रवेश गर्न नदिई अर्कै श्रीमती विवाह गरेको विषयमा जिल्ला अदालत सुनसरीले घर बस्न दिएको आदेशको बस्नेत परिवारले ठाडो उल्लङ्घन गरेका छन् । जिल्ला अदालत सुनसरीले गरेको निर्णय पालना गर्न प्रहरीलाई दिएको आदेशको समेत उचित व्यवस्थापन हुन नसकेपछि पीडित ममताले आफ्नो घरमा बस्नका लागि प्रयत्न गर्दा श्रीमान् पुष्प तथा उनको ससुरा यज्ञबहादुर बस्नेत, सासू र परिवारका अन्य सदस्यसमेत घरमा ताला लगाएर फरार भएका छन् । चतरा बयरवन बजारमा रहेको घरमा पारालिगलका महिला नेत्री तथा छरछिमेक सञ्चारकर्मी र प्रहरी समेतको टोली ममतालाई विवाह गर्ने बस्नेतको घर पुग्दा घरमा भित्रबाट छिड्किनी लगाएको अवस्था पाइएकाले पीडित ममताले बाहिरी ढोका खोलेर घर प्रवेश गरे पनि परिवारका आधिकारिक मानिस फेला नपरेपछि समाज र प्रहरीले समेत ममतालाई आधिकारिक रुपमा जिम्मा लगाउन नसकेको पीडित ममताले बताउनुभयो । अदालतको आदेश आउनुअघि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले प्रतिमहिना १५ हजार खान लाउन दिनु भनेर कागजात गरी मिलापत्र गरेको र केही दिन प्रहरी हिरासतमा बसेर एकआपसमा मिल्ने सहमतिमा छाडिएका पुष्प बस्नेत लगायतका परिवारका मानिस अदालतको आदेशपछि घरमा ताला लगाएर भाग्नुले सो घटनामा बस्नेत परिवारले अदालतको आदेशलाई समेत चुनौती दिएर ममतालाई अन्याय गरेको स्थानीयवासीको भनाइ रहेको छ । उता इलाका प्रहरी कार्यालय चतराका प्रहरी नायब निरीक्षक रामदेव चौधरीले अदालतको आदेश भए पनि आफूहरुले कसैको घर तोडफोड गरेर मानिस बसाउन नमिल्ने बरु हामीले अदालतको आदेश मुताविक बस्नका लागि समाज राखेर छलफल गर्न सक्ने बताउनु भयो । एक वर्षको छोरीको आमासमेत भएकी ममतालाई पुष्प बस्नेतले विदेशबाट आएर काठमाडाँैमा २ वर्ष राखेर घर आएपछि घरमा बाबुआमाको दबाब झेल्न नसकेपछि कान्छी श्रीमती विवाह गरेको पाइएकाले यसमा परिवारका सबैको झालझेल रहेकाले यो घटनामा बस्नेत परिवारका सबै कानुनको दृष्टिमा कार्वाहीयोग्य रहेको पनि पारालिगलकी महिला नेत्री मीना राईले बताउनुभयो । रासस

पुराना गाडी गुडाउन पाउनुपर्ने माग !

काठमाडौँ । यही फागुन १७ गतेदेखि २० वर्ष पुराना यातायातका साधन राजधानीबाट हटाइने सरकारको निर्णयको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासङ्घले विरोध गरेको छ । महासङ्घले आज एक पत्रकार सम्मेलनको आयोजना गरी २० वर्ष पुराना यातायातका साधनमाथि रोक लगाउने सरकारी निर्णय मजदुरको हकमा नभएको जनाएको हो । कार्यक्रममा नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओमप्रकाश विश्वकर्मा, नेपाल शिवसेना पार्टीका अध्यक्ष माधवप्रसाद भण्डारी, नेपाल यातायात महिला चालक समूहकी अध्यक्ष मीना चन्द ठकुरी लगायतले सरकारले गरेको निर्णयले मजदुरको गाँस खोस्ने, पुराना गाडी विस्थापित गरेर नयाँ गाडी खरिद गर्ने नाममा कमिशन कुम्ल्याउनतिर लागेको आरोप लगाए। महासङ्घले उठाएका मागमा हिन्दू सेना नेपाल, स्वरोजगार यातायात सङ्घ, हिन्दू जागरण युवा सङ्घलगायत संस्थाले ऐक्यबद्धता जनाएका छन् । रासस

सञ्चार ग्राममा बन्यो ‘पत्रकार स्मारक’

काठमाडौँ, माघ २३ । प्रेस काउन्सिल नेपालले सञ्चार ग्रामस्थित आफ्नो कार्यालय भवन अगाडि ‘पत्रकार स्मारक’ स्थापना गर्ने भएको छ । कलम चलाएर पत्रकार वर्गले समाज र राष्ट्रलाई पु¥याएको विशिष्ट योगदानको कदर गर्दै यस्तो स्मारक निर्माण गर्न लागिएको हो । यसले दिवङ्गत पत्रकारप्रति सम्मान र सङ्घर्षशील पत्रकारलाई प्रोत्साहन गर्ने काउन्सिलको भनाइ छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले भने– “सामाजिक रुपान्तरणका लागि पत्रकारले निभाएको भूमिकालाई झल्काउन पत्रकारले प्रयोग गर्ने डायरी, कलम र सहिद पत्रकारको टाउकाको प्रतिकृतिसहित स्मारक बनाइँदै छ ।” सोही स्थानमा २०६८ सालमा पनि पत्रकार स्मारक थियो । पहिला काठको र त्यसभित्र कागज हालेर कलम, डायरी र सहिद पत्रकारका टाउकाको प्रतिमूर्तिसहितको स्मारक बनाइएको थियो । सो स्मारक पुरानो भएर ढलेपछि पुनः स्टेनलेस स्टिलको स्मारक निर्माण गर्न लागिएको हो । स्मारकको निर्माण यही पुस पहिलो सातादेखि थालिएको हो र फागुनको पहिलो सातासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्मारकको सम्पूर्ण बनोट स्टेनलेस स्टिलको हुनेछ । स्टिलको यस्तो स्मारक (स्तम्भ) नेपालमै पहिलो भएको मूर्तिकार राजु पिठाकोटेको दाबी छ । “सामान्य अर्थमा यो स्मारकले एक पत्रकारको मृत्यु भएपनि सयौँ पत्रकारको जन्म हुन्छ भन्ने सन्देश दिन्छ तर, यसलाई सञ्चार जगत्ले आ–आफ्नै ढङ्गले बुझ्न सक्छ”– मूर्तिकार पिठाकोटेले भने । ते¥ह फिट उचाइ, ९ फिट लम्बाइ र ५ फिट चौडाइमा निर्माण भइरहेको उक्त स्मारकको अगाडितर्फ प्रेस काउन्सिलको लोगो राखिएको छ । स्मारकको तौल सात सय केजी रहेको छ । स्मारक निर्माणमा करिब पाँच लाख लाग्ने अनुमान गरिएको छ । बुटवल, पोखरा, हेटौँडालगायत मुलुकका विभिन्न स्थानमा पिठाकोटेले मूर्तिहरु बनाइसकेका छन् । पत्रकार स्मारक रहेको काउन्सिल कार्यालयको अगाडिपट्टि कवि शिरोमणि लेखनाथ पौडेल, नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका मूर्ति रहेका छन् । “यो स्मारकले एक पत्रकार मरे हजारौँ पत्रकार जन्मिन्छन् र निरन्तर लेख्न सक्छन् भन्ने पनि हो”–काउन्सिलका अधिकृत दीपक खनालले भने ।

२३ लाखले हेरे नारायणहिटी दरवार

काठमाडौँ, माघ २३ । नारायणहिटी दरबार सङ्ग्रहालयमा हालसम्म २३ लाख १५ हजार सात सय सात स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । नारायणहिटी दरबार सङ्ग्रहालय विसं २०६५ फागुन १४ गतेदेखि सर्वसाधारणका लागि खुलेपछि हालसम्म त्यहाँ अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक गरी २३ लाख १५ हजार सात सय सात जनाले उक्त संग्राहलयको अवलोकन गरिएको बताइएको छ । हरेक हप्ताको मङ्गलबार, बुधबार तथा सार्वजनिक बिदामा बन्द रहने यस सङ्ग्रहालयमा हालसम्म ११ लाख ३४ हजार सात सय ४६ सर्वसाधारण, नौ लाख ९५ हजार पाँच सय ४९ विद्यार्थी, एक लाख ३० हजार एक सय ८८ सार्क तथा चिनियाँ नागरिक र ५५ हजार दुई सय २४ तेस्रो मुलुकका पर्यटकले अवलोकन गरेको सङ्ग्रहालयका प्रमुख रोहितकुमार ढुङ्गानाले जानकारी दिएका छन् । स्वदेशी तथा विदेशी पर्यटकबाट सङ्ग्रहालयले हालसम्म रु १९ करोड ४७ लाख ८२ हजार नौ सय ८५ आम्दानीसमेत गरेको छ । सङ्ग्रहालय घुम्न आउने विद्यार्थीका लागि रु २०, नेपाली नागरिकका लागि रु १००, सार्क र चिनियाँ नागरिकका लागि रु दुई सय ५० र तेस्रो मुलुकका लागि रु पाँच सय शुल्क तोकिएको छ । सङ्ग्रहालयमा चालु आर्थिक वर्षको पुुस मसान्तसम्म मात्र १४ लाख आठ हजार आठ सय ३४ ले अवलोकन गरेकामा सर्वसाधारण ७७ हजार आठ सय आठ, विद्यार्थी ६० हजार चार सय ३४, सार्क तथा चिनियाँ पर्यटक ६ हजार सात सय ३४ र तेस्रो मुलुकका तीन हजार आठ सय ५८ रहेका छन् ।

२०७४ सालको पात्रो सार्वजानिक बिदा नराखी प्रकाशन हुने

काठमाडौँ, माघ २३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो ९पञ्चाङ्ग० विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ । समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि र कीर्ति गरी १३ वटा पञ्चाङ्गलाई स्वीकृति दिएको छ । समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई दिनुभएको जानकारीअनुसार गृह मन्त्रालयले विसं २०७४ मा दिइने बिदाको सूची उपलब्ध नगराएकाले आगामी वर्ष पनि पात्रोमा सार्वजनिक बिदा समावेश हुन नसकेको हो । नयाँ सालको नयाँ पात्रो यही माघ मसान्त सम्ममा प्रकाशन भइसक्ने छ । उहाँले भन्नुभयो, “यस वर्षका पञ्चाङ्गमा पनि मन्त्रालयले सार्वजनिक बिदाको सूची उपलब्ध गराउन ढिला गरेका कारण समितिले बिदा समावेश गरेको छैन, सार्वजनिक बिदा गृह मन्त्रालयले प्रकाशन गरेबमोजिम हुनेछ भन्ने सूचना राखिन्छ ।” समितिमा सरकारले नियुक्त गरेका विद्वान्को समूहले २०७४ सालमा पर्ने चाडपर्वको निर्णय गरेको हो । समितिको स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा चाडपर्व फरक पर्ने गरेकाले यससम्बन्धी कारबाहीका लागि गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाइएको छ । संस्कृति मन्त्रालय अन्तर्गतको समितिले प्रत्येक वर्ष प्रकाशन हुने पञ्चाङ्गको मस्यौदा हेरी स्वीकृत गर्ने गरेको छ । पञ्चाङ्गमा तिथि, बार, योग, करण र नक्षत्र गरी पाँच अङ्ग समावेश हुन्छन् । विसं २०७४ को संवत्सर साधारण नामको रहेको समितिले जनाएको छ । मन्त्रिपरिषद्को पुस अन्तिम साताको बैठकले सार्वजनिक बिदासम्बन्धी निर्णय गर्न समिति गठन गरेको छ । रासस