फागुन १५ गते चार कम्युनिस्ट पार्टीले एकताको कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीबीचे पार्टी एकताका लागि आगामी फागुन १५ गते संयुक्त बैठक बोलाइएको छ ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौंमा बसेको ती पार्टीहरुका बैठकले एकताको ठोस कार्यक्रम निर्माण गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकले देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गम्भिर अवस्थामा रहेको निष्कर्ष निकालेको छ ।

‘नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ’बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । विप्लव नेतृत्वको नेकपा,ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेकपा समाजवादी माओवादीबीच पार्टी एकताको पहल भएको हो ।

टर्कीका भूकम्प पीडितलाई नेपालको सहयोग

काठमाडौं। टर्की र सिरियाका भूकम्प पीडितलाई नेपालले राहत सामग्री पठाएको छ । नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री पठाएको जनाएको छ । टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६।४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसको सोही दिन दिउँसो पुनः ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । टर्की र सिरिया क्षेत्रमा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रबिन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरूले जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन् । भूकम्पमा परी आज (बिहीबार) बिहानसम्म १५ हजार ३८३ जनाको मृत्यु भइसकेको छ । साथै, नेपाल सरकारले भूकम्पबाट नराम्रोसँग प्रभावित भएको टर्की र सिरिया क्षेत्रमा मिडिकल टिम सहित सहयोग पठाउने तयारी गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशसभा बैठक ४ः०० बजे पुनः बस्ने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको सुदूरपश्चिम प्रदेशसभाको बैठक आज दिउँसो १ः०० बस्ने कार्यतालिका थियो । सो बैठक विशेष कारण स्थगित भएको र आजै दिउसो ४ः०० बजे बस्ने गरि तोकिएको जनाएको छ । यसअघि हिजो दिउँसो १ः०० बजे बस्ने कार्यतालिका रहेको प्रदेशसभा बैठक स्थगित भई आज दिउसो १ः००बजेका लागि तोकिएको थियो । मुख्यमन्त्री रावललाई विश्वासको मत प्राप्त गर्न सुदूरपश्चिम प्रदेशमा ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ जना आवश्यक पर्छ । यहाँ काँग्रेस १९, एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७, नेकपा एस ४ , राप्रपा १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य रहेका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ः०० बजे बस्दै

काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ः०० बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपतिको निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।

टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउने ११ हजार बढी

एजेन्सी । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघेको छ।टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या ८,५७४ पुगेको छ। सिरियामा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भइरहेको छ तर त्यहाँ २२६२ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यम र सहायता संस्थाहरूले जनाएका छन्। उद्दारमा सहयोग गरिरहेका संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन्। अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको हो । सर्वाधिक प्रभावित टर्कीका सहरहरूमध्ये एकमा भूकम्पका कारण भत्किएका आवासीय भवनहरूमा बस्ने पीडितका आफन्त नै अङ्कुशलगायत विभिन्न औजार लिई उद्धार कार्यमा खटिएका छन्। टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसको केही घण्टापछि ७.५ म्याग्निट्यूडको भूकम्प गएको थियो ।

गाई चोरेको आरोपमा विवाद : सप्तरीमा भारतीयले चलाए गोली

राजविराज । सप्तरीमा बुधबार दिउँसो गोली चलेको छ। हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाढामा भारतीयले गोली चलाएका हुन्। गाई हराएको विषयमा नेपाली र भारतीयबीच विवाद हुँदा भारतीयले गोली चलाएको सप्तरी प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले बताए। गाई चारेको आरोपमा स्थानीय नेपालीले भारतीय नागरिक जावेदलाई पक्राउ गरेर नेपालतर्फ ल्याएर सोधपुछ गरेका थिए। उनलाई नेपाल ल्याएपछि २५–३० जना भारतीय नेपाल आएर ३ राउण्ड कटुवा पेस्तोलबाट फायर गरेका थिए। गोली चलाएपछि नेपाली भागेका थिए भने भारतीयले आफ्ना नागरिक लिएर फर्किएका थिए। गोलीको छर्रा लागेर स्थानीय ६२ वर्षीय महेन्द्र पासवान घाइते भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। घुँडामुनि गोली लागेका उनी सामान्य छन्। उपचारमा जान मानेका छैनन्। घटनास्थलमा प्रहरी पुगेर फर्किएको एसपी कार्कीले बताए।

प्रधानमन्त्री प्रचण्ड र बेलायतका रक्षामन्त्री एण्ड्रयू मोरिसनबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर मोरिसनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौं : उपविदेशमन्त्री न्युल्याण्ड

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन्। सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएकी हुन्। उनले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) परियोजनामार्फत सहयोग गरिरहेको पनि बताइन् । उनले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साईबर क्राइमका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिवद्धता जनाइन् । उनले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हीतका विषयमा निरन्तरता दिने प्रतिवद्धता जनाइन् । उनले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पु¥याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताइन् । उपविदेशमन्त्री न्युल्याण्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको बताइन् । सो अवसरमा उपविदेशमन्त्री न्युल्याण्डले पाटन दरबार स्क्वायरको समेत अवलोकन गरेकी छन्। आज नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्। नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

बीबीसीको ‘डकुमेन्ट्री’ प्रतिबन्दविरुद्ध भारतीय सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । बीबीसीबाट निर्मित ‘इन्डियाः द मोदी क्वयस्चन’ भारतमा प्रत्यक्ष वा अप्रत्यक्षरुपबाट प्रदर्शन गर्न प्रतिबन्द लगाइएको विरुद्धमा भारतीय सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ पत्रकार तथा द हिन्दूका पूर्वसम्पादक एन राम, अधिवक्ता र नागरिक अधिकार अभियन्ता प्रशान्त भूषण र तृणमूलका कांग्रेसका सांसद महुआ मोइत्राले संयुक्तरुपमा रिट दायर गरेका हुन् । बीबीसी निर्मित डकुमेन्ट्रीमा सन् २००२ को गुजरातमा भएको विद्रोह र सोमा मोदीको भूमिका प्रशारण गरिएको छ । सो डकुमेन्ट्रीको प्रशारणमा रोक लगाउने कार्य भारतको संविधान प्रदत्त सूचनाको हकको प्रतिकूल भएको भन्दै सोमबार रिट दायर भएको हो । डकुमेन्ट्रीलाई सत्तामा बस्नेहरूलाई प्रतिकूल हुने आधारमा प्रतिबन्ध लगाउन नमिल्ने निवेदकको जिकिर छ । भारतमा प्रतिबन्द लगाइएको डकुमेन्ट्री विश्वविद्यालयका विद्यार्थीले अवैधानिकरुपमा हेरेको भन्दै विद्यालयले १० विद्यार्थीलाई निलम्बनसमेत गरेको हो ।

नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । सोमबार सेयर बजार नेप्सेमा उच्च अंकको गिरावट भएको छ। नेप्से परिसूचक ४१.०१ अंकले घटेर दुई हजार १२७.५२ बिन्दुमा कायम भएको छ । आज सेन्सेटिभ इन्डेक्स ७.३३, फ्लोट इन्डेक्स २.८६ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५९ अंकले घटेको छ । यसदिन २५६ कम्पनीका ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर खरिदबिक्री हुँदा तीन अर्ब ३० करोड २२ लाख एक हजार रुपैयाँबराबरको कारोबार भएको छ । आज नेप्सेका सबै उपसमूहको सूचकमा गिरावट आएको हो । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूह ३.६१ प्रतिशतले घट्दा फाइनान्स ३.४२ प्रतिशत, हाइड्रोपावर २.८९ प्रतिशत र निर्जीवन बिमा २.८५ प्रतिशतले घटेको छ । बाँकी उपसमूहको सूचकमा पनि एक प्रतिशतभन्दा धेरैले गिरावट आएको छ। बजार उच्च अंकले घटेपनि आज दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

नेत्रज्योति संघद्धारा नेपालगंजमा २ हजार ८६८ विद्यार्थिको निःशुल्क आँखा जाँच

काठमाडौं । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजको आयोजनामा बाँकेका विभिन्न ४ बिद्यालयका दुई हजार ८६८ जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क विद्यालय आँखा जाँच शिविर कार्यक्रम नेपालगंज महानगरपालिकाका ४ वटा सामुदायिक बिद्यालयमा सम्पन्न गरिएको हो । फुलटेक्रा माध्यामिक विद्यालयका ४०० जना, महेन्द्र माध्यामिक विद्यालयका ४०४ जना, युद्ध संस्कृत माध्यामिक विद्यालयका २१४ जना र धम्बोझि माध्यामिक बिद्यालयका १ हजार ८५० जना विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए । आँखा जाँच गरिएका विद्यार्थीहरु मध्यमा दृष्टिदोषको समस्या देखिएका ७१ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको सादिकले बताए । बिद्यालय बढ्ने विद्यार्थीहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा विद्यार्थीहरुको बिद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ भने दृष्टिदोषको समस्या देखिएका विद्यार्थीहरुलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

अमेरिकी उपविदेशमन्त्री न्युल्यान्ड र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । अमेरिकाका कुटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्त भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भेट भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । भेटमा नेपाल र अमेरिकाको द्धीपक्षीय सम्बन्धका बारेका छलफल भएको उनको सचिवालयले जनाएको छ । हिजो नेपाल भ्रमणमा आएकी उपविदेशमन्त्री भिक्टोरियाले प्रधानमन्त्री प्रचण्ड , कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरुसँग भेटघाट गरिसकेकी छन् ।

आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

काठमाडौं । पोखरामा आत्मदाहको प्रयास गरेका एक पुरुषलाई बचाउँदा घाइते भएकी संगीता सापकोटाको मृत्यु भएको छ । पोखरा १३ काहुँखोलामा आत्मादाह गर्ने प्रयास गरेका ४३ वर्षीय कृष्ण क्षेत्रीलाई बचाउन जाँदा सापकोटा गम्भीर घाइते भएकी थिइन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार घाइते ४० वर्षीय सापकोटाको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । क्षेत्री सापकोटाको घरमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका थिए । उनले आइतबार आफैंमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका थिए । क्षेत्रीको शरीरको २५ प्रतिशत भाग जलेको प्रतिष्ठानले जनाएको छ । आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन ।

मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो । यो नियमित बैठक हो । नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।

अमेरिकी उपमन्त्री नुल्यान्ड र कांग्रेस सभापति देउवाबीच भेट

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ । उनीहरुबीच पूर्वप्रधानमन्त्री देउवाको नीजि निवास धुम्बाराहीमा भेटवार्ता भएको हो । उक्त अवसरमा उनीहरुले दुई मुलुकबीचको बीचमा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास र सुशासनमा सहयोगलाई अझ सुदृढ बनाउने उपायहरुबारे छलफल गरेको देउवाले ट्वीटमार्फत जनाएका छन् । साथै, देउवाले नेपाललाई अमेरिकाको निरन्तर सहयोग दिएकोमा धन्यवाद दिँदै त्यो उच्च मूल्यवान रहेको पनि उल्लेख गरेका छन् ।

राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्दै निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आजको बैठकबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भैरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक गर्ने आयोगको तयारी छ । निर्वाचन आयोगले फागुन २५ वा २६ गते निर्वाचन तोक्ने तयारी गरेको हो ।