‘निर्वाचनका लागि नयाँ शक्ति तयार’

काठमाडौं, माघ २२ । नयाँ शक्ति पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले नयाँ शक्ति पार्टी तीनवटै निर्वाच्नका लागि तयार रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार प्रस्तावित २ नं. प्रदेशको काठमाडौं सम्पर्क संयन्त्रको प्रथम भेलालाई सम्बोधन गर्दै उनले समग्र राजनीतिक मुद्दाहरु हल गरेर देशलाई समृद्धिको बाटोमा हिंडाउनुपर्ने भएकोले सबै आदिवासी, जनजाति, मधेशी, थारुलगायत सबै उत्पीडित समुदायहरुको हक, अधिकार सुनिश्चित हुनेगरी चुनावको मिति घोषणा गरेर देशलाई राजनीतिक निकास दिनुपर्ने बताए ।

नयाँ शक्ति पार्टीले तराई, मधेश, पहाड र हिमाल जोडेर मुलुकको राष्ट्रियता बलियो बनाउने बताउँदै उनले भने, ‘अब मधेश, तराई, पहाड, हिमालको एकतालाई कसैले तोड्न सक्दैन किनकि यो देशमा नयाँ शक्ति जन्मिइसकेको छ । यदि कसैले त्यो एकता ताड्न खोज्छ भने त्यो अब संभव छैन ।’

उनले पार्टी घोषणाको ७ महिनामा नै ७५ वटै जिल्लाहरुमा संगठन विस्तार गर्न नयाँ शक्ति सफल भएको पनि दाबी गरे ।

नयाँ शक्ति पार्टीका प्रदेश नं. २ का सहसंयोजक रामरिझन यादवले मधेशी समुदायलाई चकलेट र आइसक्रिम खुवाए जस्तो गरी व्यवहार नगर्न पुराना दलहरुलाई चेतावनी दिंदै मधेश र तराईको परिभाषा गर्न नसक्ने मान्छे देशको सरकारी हाकिम, मन्त्री, प्रधानमन्त्री बन्ने दुर्भाग्यको अन्त्य हुनुपर्ने बताए ।

त्यस्तै २ नं। प्रदेशकै संयोजक महेन्द्र पासवानले उत्पीडित समुदायको हक, अधिकारका लागि १० वर्ष जनयुद्ध लड्दासमेत धोका पाएको बताउँदै मधेशको मुक्तिका लागि स्वशासन र स्वायत्तता अनिवार्य रहेको बताए । उनले यो देश बन्नुमा मधेशको पनि उत्तिकै योगदान रहेको बताउँदै सबै जाति, वर्ग र समुदायको प्रतिनिधित्वका लागि नयाँ शक्तिले अवलम्बन गरेको तीन क्लस्टरको धारणा नै सबैभन्दा उत्तम भएको जिकीर गरे ।

नयाँ शक्ति पार्टीका ३ नम्बर प्रदेशका संयोजक गंगा नारायण श्रेष्ठले नयाँ शक्ति वर्तमानमा एउटा पार्टी मात्र नभएकोले यो समग्र देशको अवस्था परिवर्तनका लागि निर्माण भएको वैकल्पिक राजनीतिक शक्ति भएको बताए । उनले नयाँ शक्तिले अरु पार्टी र नेताहरुलाई गाली र आलोचना गरेर कसैको विज्ञापन नगर्ने भन्दै सिर्जनात्मक र सकारात्मक काम गरेर आफूलाई स्थापित गर्ने अभियानमा नयाँ शक्ति लागेको बताए ।

कार्यक्रममा नयाँ शक्तिका कार्यकारी समिति सदस्य विरेन्द्र पोखरेल, बाल्मिकी ठाकुर, कृष्ण कुमार गुप्तालगायतले बोल्दै नयाँ शक्तिले नै मुलुकलाई समृद्ध बनाउने बताए । २ नम्बर प्रदेश काठमाडौं सम्पर्क संयन्त्रको प्रथम भेलाले कृष्ण कुमार गुप्ताको संयोजकत्वमा १ सय ५१ सदस्यीय अन्तरिम प्रादेशिक परिषद् गठन गरेको छ ।

पाटन अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि विवाद

पाटन, माघ २२ । नवजात शिशुको मृत्यु भएपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच विवाद भएको छ । अस्पतालको लापरवाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि पाटन अस्पतालमा विवाद जन्मिएको हो । कास्की पोखराकी प्रमा थकाली श्रेष्ठको नवजात शिशुको शुक्रबार मध्यराति अस्पतालमै मृत्यु भएको घोषणा अस्पतालले गरेको थियो । आफन्तहरुले भने अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै सत्यतथ्य छानबीन गर्न माग गरेपछि विवाद चर्किएको हो । आफन्तहरुले मृतकको शव अहिलेसम्म बुझेका छैनन् । मृतक नाबालककी हजुरआमा अनिता धितालले अस्पतालले सुत्केरी हुँदादेखि अहिलेसम्मको रिपोर्ट उपलब्ध गराउन अस्पतालले नमानेको बताइन । पोखरा घइ भई हाल बसुन्धारा बस्ने प्रमाले अस्पताल भर्ना भएको गत माघ १७ गते दुई छोरा जन्माएकी थिइन् । उनको दुई नाबालकमध्ये पहिले जन्मेका बच्चालाई अस्पतालले शुक्रबार राति मृत्यु भएको घोषणा गरेको थियो । बालकलाई भएको समस्याबारे अस्पतालले बताउन नचाहे पनि उनलाई आइसीयूमा राखेर उपचार गराइएको थियो । मृतकका आफन्तले एन्टिवायटिक औषधि बढी खुवाएका कारण नाबालकको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुका अनुसार बच्चा जन्मेको १७ घण्टापछि औषधि दिइएको थियो । सामान्य प्रसुतीबाट जन्मेको बच्चाको मृत्यु हुन पुगेकाले सत्यतथ्य छानबिन गर्न मृतक नवजात शिशुका बुबा आशिष श्रेष्ठले माग गरे । उनकाअनुसार प्रमा थकाली पाटन अस्पतालमै चार महिनादेखि निरन्तर स्वास्थ्य जाँचमा थिइन् ।

संविधान संशोधन भएमात्र देशले निकास पाउँछः अध्यक्ष गच्छदार

सप्तरी, २२ माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधन भए मात्र देशले निकास पाउने बताउनुभएको छ । फोरम लोकतान्त्रिक नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “संविधान संशोधनविना निर्वाचन गर्न खोजिए मुलुकमा द्वन्द्व बढ्नसक्छ ।” अध्यक्ष गच्छदारले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन सम्भव छैन् भन्दै स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गरी मधेसी मोर्चालाईसमेत सहमतिमा ल्याएर निर्वाचनको मिति तोक्नुपर्ने बताउनुभयो । पूर्व मेचीदेखी पश्चिम महाकालीका जनताहरु अधिकारका लागि आन्दोलनरत छन्, उहाँले भन्नुभयो — संविधान कार्यान्यनका लागि ठूला दलले संविधान संशोधन पछि मात्र निर्वाचनको कुरा ल्याउनुपर्छ । अध्यक्ष गच्छदारले संविधान संशोधन नभए संविधान कार्यान्वन पनि नहुने बताउँदै तीन ठूला दलबीच देखिएको समन्वय अभाव र भेदभावले देश क्रमिक रुपमा द्वन्द्वमा फस्दै गएको तथा यसबाट आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत असर परेको धारणा व्यक्त गर्नुभयो ।

स्वर्गद्वारीमा भक्तजनको घुइँचो

प्युठान, माघ २२ । ‘आफूले जे माग्यो, त्यही प्राप्त हुने’ जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ । खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानी–नजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण यहाँ आउँछन् । स्वर्गद्वारीमा फागुनदेखि असारसम्म नेपाली भक्तजन तथा वैशाख, साउन र माघमा भारतीय भक्तजनको भिड लाग्ने गरेको छ । नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको निकै घुइँचो लाग्छ । यहाँ पाण्डवहरु स्वर्ग जानुअघि आएको विश्वास गरिन्छ । कविशिरोमणि लेखनाथ पौड्यालले पनि यहाँ बसी कविता रचना गरेका थिए । मन्दिरका सहायक कोठारी प्रेम न्यौपानेले भन्नुभयो– “नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको धेरै भिड लाग्छ, नेपालीहरु दैनिक धेरै भए एक हजारदेखि १५ सयसम्म हुन्छ तर भारतीय भक्तजन दैनिक १० हजारदेखि १२ हजारसम्म आउँछन् ।” भारतीय भक्तजन आउने समयमा त्यहाँ अत्यन्तै थाम्नै नसक्ने गरी पूरै मेला लाग्ने गरेको छ । “बालबच्चा नभएकालाई बालबच्चा, उपयुक्त वरबधु, सम्पत्ति र आफूले चाहेको इच्छा पूरा हुने विश्वासका साथ नेपाली र भारतीय भक्तजन आउने गरेका छन्”,उहाँले थप्नुभयो । भारतीय भक्तजन प्रत्येकले एक माना चामल, रु ११ र नरिवल लिएर दर्शन गर्न आउँछन् । स्वर्गद्वारीमा वैशाख शुक्ल पूर्णिमा (स्वर्गद्वारीको स्थापना दिन–बुद्धजयन्ती), दशैंको कोजागत पूर्णिमा, शिवरात्रि, स्वर्गद्वारी प्रभुको जन्मदिन (पुत्रदा एकादशी), मार्गशुक्ल चौथी र लक्ष्मीपूजाको दिन भक्तजनको बढी भिड र विशेष मेला लाग्ने गर्छ । स्वर्गद्वारी, महाप्रभुले वि.सं १९५२ वैशाख शुक्ल पूर्णिमा दिनदेखि ठूलो हवन कुण्ड आश्रय लिएको स्थान हो । स्वर्गद्वारीमा खासगरी यज्ञशाला, पाठशाला र गौशाला छन् । यहाँ यज्ञशालामा २४ पुजारी, गौशालामा चार सय गाई र पाठशालामा सय विद्यार्थी छन् । यी सबैको सम्पूर्ण खर्च मन्दिरले व्यवस्थापन गर्नुपर्ने हुन्छ । स्वर्गद्वारी महाप्रभुको पालादेखि नै गाई पाल्ने गरेको र त्यही गाईका सन्तति नै अहिलेका गाई हुन् । खासगरी यज्ञले पूर्णता पाउनका लागि गाई पालिएको हो । यज्ञमा अघ्र्य र पञ्चामृतका लागि गाईको आवश्यकता पर्छ । दुई हजार १२१ मिटरको उचाइमा रहेको सो मन्दिरको आयस्रोतका रुपमा दाङ देउखुरीमा एक हजार ५० बिघा जग्गा छ तर स्थानीयवासीको अतिक्रमणका कारण प्रभावित भएको छ । “भक्तजनको भेटी र मन्दिरको जग्गा नै मन्दिरको आयस्रोत हो, सरकारले अतिक्रमण भएको जग्गाको संरक्षण गर्ने संयन्त्र बनाइदिए राम्रो हुने थियो”मन्दिरका सहायक कोठारी न्यौपानेले सरकारसँग आग्रह गर्नुभयो । मन्दिरमा मुख्य पुजारी युवराज पोखरेलसहित २४ जना ब्राह्मणले पूजा गर्नुहुन्छ । मन्दिरको व्यवस्थापन गर्नका लागि कर्मचारी एक सय ४१ जना छन् । गाईलाई घाँस काट्ने आदि काम हुन्छ । मन्दिरमा हरेक दिन वैदिक अखण्ड महायज्ञ हुने गर्छ । मन्दिरमा भक्तजनको सहजताका लागि केवलकार लैजाने पनि लक्ष्य छ । तर पक्की सडक पहिला निर्माण गर्नुपर्नेमा मन्दिर व्यवस्थापनको चासो छ । मन्दिरको वार्षिक आम्दानी रु दुई करोड २५ हजार छ भने खर्च वार्षिक रु दुई करोड ९६ लाख छ । मन्दिर मुस्किले चलिरहेको अवस्थामा मन्दिरको जग्गा सदुपयोग भएमा राम्ररी चल्ने विश्वास मन्दिर व्यवस्थापनको छ ।

राजनीतिभन्दा कृषि प्यारो

रोल्पा,  माघ २२ । दशवर्ष लामो सशस्त्र द्वन्द्वमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेसिए । त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीति र व्यवसाय गर्दै आउनुभएको छ । शान्तिकालमा नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष बन्नुभएका धबाङ–३ रोल्पाका ४२ वर्षीय ऋषिराम रोका अलैँची बिरुवा उत्पादन व्यवसायबाट वार्षिक रु १५ लाख बढी आम्दानी गर्न सफल हुनुभएको छ । तत्कालीन युद्धका बेला छापामार रहनुभएका उहाँ नर्सरी उत्पादन गरेर मनग्य आम्दानी गर्नुहुन्छ । पाँच वर्षअघि धबाङबाट सदरमुकाम लिबाङ आउनुभएका उहाँले नर्सरीबाट अलैँचीको बिरुवा उत्पादन गरी बिक्री गर्ने पेसा अँगाल्नुभएको हो । उहाँले गत वर्षसम्म अर्काको जग्गा भाडामा लिई नर्सरी स्थापना गर्नुभएको थियो । यो साल भने आफैँ जग्गा खरिद गरी व्यवसाय गरिरहनुभएको छ । उहाँले अलैँची बिक्रीबाट आएको मुनाफाले जग्गा खरिद गर्नुभएको हो । सहोदर दाइ मूलबहादुरसँग साझेदारीमा सो व्यवसाय गर्दै आउनुभएका उहाँको नर्सरीमा देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, कान्वातु, अलैँची, किबी, राई खनियोलगायत प्रजातिका बिरुवा छन् । आफ्नो नर्सरीमा तयार भएका बिरुवा जिल्लामा मात्र होइन अन्यत्र पनि माग बढ्दो छ । “सल्यान, प्युठान र दैलेखलगायत जिल्लाबाट समेत बिरुवाको माग हुँदै आएको छ” ऋषिराम भन्नुहुन्छ, “मैले उत्पादन गरेका अलैँचीका बिरुवा रोल्पामै खपत भइरहेको छ । बाहिरको माग पु¥याउनै सकिएको छैन ।” उहाँले जिल्ला कृषि विकास कार्यालय रोल्पाबाट अलैँची नर्सरीका लागि अनुदान प्राप्त गरी व्यवसाय सुरु गर्नुभएको हो । उहाँको नर्सरीमा उत्पादित बिरुवा जिल्ला कृषि विकास कार्यालयले नै खरिद गर्छ । उहाँ अहिले नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सदस्य समेत हुनुहुन्छ । कृषि पेसालाई पहिलो र राजनीतिलाई दोस्रो प्राथमिकतामा राखेको बताउँदै उहाँ भन्नुहुन्छ, “विगतमा राजनीति प्यारो लागे पनि अहिले भने कृषि प्यारोे लाग्छ ।” रोल्पाका किसान अलैँची खेती गर्न आकर्षित हुँदैछन् । जिल्लाको पूर्वोत्तर गाविसको भूबनोट अलैँची उत्पादनका लागि राम्रो रहेकोे वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ बताउनुहुन्छ । थोरै लगानीबाट धेरै आम्दानी हुने तथा धेरै किसानको आकर्षण समेत रहेका कारण जिल्लामा अलैँचीलाई उदीयमान बालीका रुपमा लिइएको छ । प्रधानमन्त्री आधुनिक कृषि विकास परियोजनामा समेत रोल्पालाई अलँैचीको ब्लक विकास गर्ने तथा पकेट क्षेत्रको विकास गर्ने कार्यक्रम रहेको श्रेष्ठ बताउनुहुन्छ । अलैँचीलगायत भिन्न प्रजातिका बिरुवामा कृषकलाई बिरुवा उपलब्ध गराउँदा ५० प्रतिशत अनुदान दिइँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

वर्षातको पानी सङ्कलन आयोजना संचालन

काठमाडौँ, माघ २२ । खानेपानी तथा ढल निकास विभागले खानेपानी समस्या समाधानका लागि वर्षात् पानी सङ्कलन आयोजना सञ्चालन गर्न लागेको छ । खानेपानीको अति समस्या हुने क्षेत्रको पहिचान गरी त्यहाँका बासिन्दालाई पानी खुवाउने उद्देश्यका साथ वर्षातमा परेको पानी पोखरी बनाएर सङ्कलन गर्न लागिएको हो । विभागका उपसचिव अरुणकुमार सिम्खडाले पोखरी बनाएर जलाशययुक्त खानेपानी आयोजना सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “खानेपानी अति दुःख हुने स्थानमा यो आयोजना लक्षित गरेका हौं ।” विभागले हाल भक्तपुरको महादेवखोला र दाङको पाटुखोलामा वर्षात् पानी सङ्कलनका लागि पोखरी निर्माण गरेको छ भने अरु स्थानमा अध्ययन गरेको छ । विभागले नागरिकका घर घरमा खानेपानी पु¥याउन तराई क्षेत्रमा डिप बोरिङ तथा पहाडी क्षेत्रमा खोलाबाट मोटरमार्फत पानी तान्ने प्रक्रियालाई अगाडि बढाएको छ ।

जनकपुरको विकासका लागि सत्याग्रह

जनकपुर, माघ २२ । आधुनिक जनकपुर निर्माण सन्दर्भमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य कलामुद्दिन राईनले आज तेस्रो दिन पनि जनक चोकमा सत्याग्रह जारी राखेका छन् । यसअघि सोही विषयमा धनुषा र महोत्तरीबाट ‘जनताको साझा सवालमा एकता गरौँ, विकास र आर्थिक समृद्धिसहितको आधुनिक जनकपुरको निर्माण गरौँ’ भन्ने नारा लेखिएको कपडामा एक लाख हस्ताक्षर सङ्कलन गरी जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्य गरिए पनि कुनै पहल नभएका कारण आमरण अनशन गरिएको जनाइएको छ । जनकपुरमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकरण, मठमन्दिरका जग्गाको समुचित व्यवस्थापनलगायत सात सूत्रीय माग पनि अघि सारिएको छ । आधुनिक जनकपुर निर्माणका लागि परिषद्का अध्यक्ष शर्माको संयोजकत्वमा विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, युवा सङ्घर्ष समिति, नागरिक समाज, राष्ट्रिय मुस्लिम गठबन्धनलगायत धार्मिक तथा सामाजिक सङ्घसंस्थासमेत रहेको १०१ सदस्यीय आधुनिक विकास निर्माण समिति पनि गठन गरिएको छ ।

थापा निर्विरोध निर्वाचित

हेटौँडा, माघ २२। राप्रपाका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं ३ बाट पार्टी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी क्षेत्रीय सदस्यमा क्षेत्र नं १ बाट सांसद गणेश थापा, केन्द्रीय सदस्य नवराज विष्ट र प्रलिता थापा निर्विरोध निर्वाचित हुनु भएको छ । क्षेत्र नं २ बाट पनि केन्द्रीय सदस्य राजाराम बर्तौला, क्षेत्र नं ३ बाट केन्द्रीय सदस्य दीपक सिंह र मधु अधिकारी क्षेत्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी क्षेत्रीय अध्यक्षमा क्षेत्र नं १ बाट राजाराम अर्याल, क्षेत्र नं २ बाट प्रमोदलाल श्रेष्ठ, क्षेत्र नं ३ बाट धु्रव सन्जेल र क्षेत्र नं ४ बाट गोविन्द रिजाल निर्विरोध निर्वाचित हुनुभएको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

अबैध सुनसहित एक पक्राउ

काठमाडौं, माघ २२ । अवैध रुपमा भन्सार छली लैजान लागेको भनिएको ९९ ग्राम सुनसहित प्रहरीले तेह्रथुम श्रीजङ्गका यादवप्रसाद दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरेको छ । विमानस्थलको सवारी बिसौनीस्थलमा विदेशबाट आएका नेपाली यात्रुका साथबाट सुनको चार थान बेरुवा औँठी सङ्कलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । सो सुनको बजारमूल्य करिब रु चार लाख ६८ हजार छ । रासस

सबै जातजातिको भावनालाई समेट्न संविधान संशोधनको प्रस्ताव ल्याइएको होः सभापति देउवा

काठमाडौँ,  माघ २२ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले परिकल्पना गरेको आगामी वर्षको माघ भित्रैमा तीन तहको निर्वाचन गरेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न अहिले सबैको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल सांस्कृतिक सङ्घको दोस्रो महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनको बाटोमा गइरहेको छ, सबै जातजातिको भावनालाई समेट्न संविधान संशोधनको प्रस्ताव ल्याइएको हो ।” सभापति देउवाले लोकतन्त्रलाई स्थायी बनाउन नेपाली काँग्रेको काँधमा ठूलो जिम्मेवारी रहेको बताउँदै संविधान सशोधनका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले अप्ठ्यारो पारिरहेको छ भन्नुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको मूल्य मान्यता, आदर्श र संस्कृतिका आधारमा नेपाली काँग्रेसको सङ्गठन चलाउनुपर्नेमा त्यसो हुन नसक्दा कार्यकर्ताको भावना कुडिएको बताउनुभयो । संविधान संशोधन गराउन काँग्रेस प्रतिबद्ध रहेको जनकारी गराउँदै उहाँले जनतालाई निर्वाचनतर्फउन्मुख गराउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । वरिष्ठ नेता पौडेलले नेताको भाषणभन्दा कलाकारलाई मञ्च दिँदा पार्टीको जनमत बढ्न जाने पक्षलाई आगामी दिनमा ध्यान दिइने बताउँदै हिमाल, पहाड र तराईलाई समेट्ने गरी पार्टीले देश अभियान सञ्चालन गर्नु आवश्यक छ भन्नुभयो । पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसले कस्ता मुद्दालाई अघि बढाउन आवश्यक छ भन्ने कुराको कलाकारले पहिचान गरेर सुझाव दिन आवश्यक रहेको बताउनुभयो । अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी वर्षको माघभित्र तीन तहकै निर्वाचनको जिम्मेवारी पूरा गरेर नेपाली राजनीतिलाई स्थायित्व दिनुपर्छ भन्नुभयो । केन्द्रीय सदस्य एनपी साउदले निर्वाचनका माध्यमबाट स्थानीय तहमा नेपाली काँग्रेसको उपस्थितिलाई बलियो तुल्याउन आवश्यक छ भन्नुभयो । अर्का केन्द्रीय सदस्य गुरु घिमिरेले कला र संस्कृतिका माध्यमबाट तराई–पहाडबीचमा भाइचारा र लोकतन्त्रको प्रवद्र्धन गर्नु उपयुक्त हुनेछ भन्नुभयो । केन्द्रीय सदस्य प्रदीप पौडेले कलाकारलाई साधना गर्नका लागि प्रोत्साहन गर्न राज्यको लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मीले आगामी निर्वाचनका लागि नेपाली काँग्रेसले नेतृत्व लिनुपर्ने भएकाले त्यसका लागि पार्टी एक ढिक्का हुनुपर्ने र सांस्कृतिक सङ्घको भूमिकालाई प्रभावकारी तुल्याउनुपर्ने बताउनुभयो । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत राजनीतिक व्यवस्थापनमा देखिएको चुनौतीको निकास दिन हम्मेहम्मे हुने कि भन्ने देखिएको धारणा व्यक्त गर्नुभयो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले राजनीतिक भित्र देखिएको असङ्गतिलाई हटाएर जनतामा सुशासनको प्रत्याभूति दिन आवश्यक छ भन्नुभयो । सङ्घका अध्यक्ष तीर्थ थापाले ‘समृद्धिका लागि हाम्रो अभियान समृद्धि, सुरक्षा र पहिचान’ मूल नारा रहेको तीनदिने महाधिवेशनले सङ्घ हाँक्न सक्ने नयाँ नेतृत्वको चयन गर्ने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन समारोहमा कलाकारले नेपाली काँग्रेसभित्र देखिएको गुटउपगुट तथा त्यसको अत्य गर्न प्रेरित गर्ने व्यङ्ग्यसहितको प्रहसन प्रस्तुत गरेका थिए । नेपालको विविधता झल्कने गीत सङ्गीत पनि समारोहमा प्रस्तुत गरिएको थियो । रासस

सेनाकाे रगत पसिनाले जोगिएको देश हाे : प्रधानसेनापति

काठमाडौं, माघ २१ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाले रगत–पसिना बगाएका कारण अहिलेसम्म देशको राष्ट्रिय अखन्डता बचिरहेको बताएका छन् । शुक्रबार कैलालीको धनगढीस्थित तेघरी व्यारेकमा सुदूरपश्चिम भेगीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति क्षत्रीले राज्य संकटमा पर्दा सेनाले रगत–पसिना बगाएकोले देशको अखण्डतामा आँच नआएको बताए । देश संकटमा पर्दा रगत–पसिना बगाएका भूतपूर्व सैनिकहरु आवश्यक परे फेरि पनि राष्ट्रसेवाका लागि तयार रहने उनले विश्वास व्यक्त गरे ।

जनताकाे अधिकार गाैण रह्याे, पार्टी पत्रकारिता मौलायो : सञ्चारमन्त्री

काठमाडौं, माघ २१ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले पार्टी पत्रकारिता मौलाउँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने, ‘लोकतन्त्र, जनता, जनजीविका, भाषा, साहित्य, लोपोन्मुख जातजाति तथा पिछडिएका समुदायको अधिकारलाई गौण राखी पार्टी पत्रकारिता अगाडि देखिएको छ ।’ उनले सत्यतथ्यमा भन्दा आरोप–प्रत्यारोप गालीगलौज तथा व्यक्तिको चरित्र हत्या गर्नेतर्फ उन्मुख पत्रकारिताले समाजमा रचनात्मक प्रभाव नदेखिने उल्लेख गरे । वर्तमान सरकार स्वतन्त्र प्रेस, मानवअधिकारको रक्षा र जनतालाई सुशासन प्रदान गर्न कहीँकतै नचुकेको औल्याउँदै मन्त्री कार्कीले लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, नेपाल पत्रकार महासङ्घको आठ जिल्ला शाखा निर्माणमा प्रतिशाखा रु पाँच लाख वितरण, पत्रकारको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था लागू गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए । त्यस्तै उनले ३५ जिल्लामा सामुदायिक सूचना केन्द्र स्थापना गर्न सामुदायिक विद्यालयको छनौट, दूरसञ्चार पूर्वाधार, देशव्यापी ब्रोड व्यान्ड सेवा विस्तार, हुलाक, चलचित्र, मुद्रण र सार्वजनिक संस्थान, प्राधिकरण, समिति, बोर्डलगायतका कार्यकारी प्रमुखको नियुक्ति र मनोनयन प्रक्रिया अगाडि बढेको बताए ।

पर्यटन विकासले नयाँ फड्को मार्नेछ : प्रधानमन्त्री

काठमाडौ, माघ २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पर्यटन क्षेत्रले छिट्टै नयाँ फड्को मार्ने बताएका छन् । नेपाल पर्यटन व्यावसायी संगठनको राष्ट्रिय एकता भेलाको उद्घाटन गर्दे प्रधानमन्त्री प्रचण्डले पर्यटन क्षेत्रमा क्रान्ति नै ल्याउने गरी वर्तमान सरकारले काम अघि बढाइरहेकाले अब चँडै नै पर्यटन विकासले नयाँ फड्को मार्ने बताए । ‘नेपालको पर्यटन उद्योगको विकासका लागि सरकारले गरिरहेको तयारीले आगामी केही बर्षभित्रै पर्यटन उद्योगले नेपाललाई विश्वकै एक सम्वृद्ध राष्ट्रका रुपमा स्थापित गर्नेछ’ – प्रधानमन्त्री प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वदेखि पश्चिमसम्म रेलमार्ग, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्गको निर्माण अघि बढिरहेको बताउँदै चीनसँगका केरुङ, हिल्सा, कोरला, किमाथांका लगायतका नाका खोल्ने तथा केरुङदेखि काठमाडौं रेलमार्गको अध्ययन गर्ने काम अघि बढिरहेको जानकारी दिए । प्रधानमन्त्रीले सडक, रेल र हवाई मार्गको विस्तार एवम् नेपालभित्र भौतिक पूर्वाधारको विकासले पर्यटकहरुको बृद्धि हुने बताउँदै अव नेपाललाई एक बलियो, एकतावद्ध र सम्वृद्ध राष्ट्र बन्नवाट कसैले रोक्न नसक्ने स्पष्ट पारे । उनले देशलाई विखण्डन पार्ने, जाति र समुदायमा फूट ल्याउन खोज्ने एवम् मधेश, पहाड र हिमालमा द्वन्द गराउन चाहनेहरुको भण्डाफोर गर्नुपर्ने वताउँदै वर्तमान सरकार राष्ट्रिय एकता वलियो वनाएर सम्वृद्ध नेपाल निर्माणमा अघि बढेको बताए ।

सिके राउतलाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, माघ २१ । राज्यविरुद्ध संगठित अपराध गरेको आरोपमा पक्राउ परेका सिके राउतलाई १० दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ । बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई जिल्ला अदालत सिराहाले १० दिन थुनामा राख्न इलाका प्रहरी कार्यालय लाहानलाई आदेश दिएको हो । अदालतले हामीलाई राज्य विरुद्धका संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धानका लागि १० को म्याद दिए अनुसार कार्वाही हुने प्रहरीले जनाएको छ । संगठित अपराध अन्तर्गत मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । राउतविरुद्ध इलाका प्रहरी कार्यलय लहानले मुद्दा दर्ता गरेको छ ।

सरकारसँग विप्लव माओवादी आक्रोशित, आज राजधानीमा विरोध प्रदर्शन गर्ने

काठमाडौ, माघ २१। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले आज राजधानीमा विरोध प्रर्दशन गर्ने भएको छ । सरकारले अनावश्यक रुपमा आफ्नो पार्टी माथि निगरानी बढाउने तयारी थालेको भन्दै विरोध गर्न लागेको हो । शुक्रबार अपरान्ह ३ बजेपछि राजधानीको शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने तयारी भएको माओवादीले जनाएको छ । शान्तिपूर्ण कार्यक्रममा समेत प्रतिबन्ध लगाउने गरी सरकारले अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै त्यसको विरोधमा उत्रिन उसले पार्टीका जनवर्गीय संगठनलाई निर्देशन समेत दिएको छ । नेपाल प्रहरीले माओवादी कार्यकर्ताको गतिविधिमाथि निगरानी राख्न यसअघि नै देशभर सर्कुलर जारी गरिसकेको अवस्थामा हिजो सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकमा समेत माओवादी गतिविधिमाथि निगरानी बढाउने बारेमा छलफल भएको सूचना पाएपछि विप्लव माओवादी विरोधमा उत्रिन लागेको हो । राजधानीको शान्तिबाटिकाबाट सुरु हुने विरोध प्रदर्शन पुरानो बसपार्क, भद्रकाली, शहिदगेट, सुन्धारा, न्युरोड हुदै पुनः शान्तिबाटिकामा नै पुगेर सभामा परिणत हुनेछ । सभालाई नेकपा माओवादीका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

शाहीको हत्या आरोपी छ जनालाई थुनामा राख्न अदालतको आदेश

ताप्लेजुङ, माघ २१ । ताप्लेजुङको खोक्लिङमा गत महिना भएको वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका मुख्य अभियुक्त मानिने सबिन लिम्बूसहित ६ जना विरुद्ध जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेश जारी गरेको छ । महिना दिनअघि हत्या गरिएका वनरक्षक शाहीको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका सबिन लिम्बूसहित ६ जनालाई पुर्पक्षका लागि बिहीबार थुनामा राख्न आदेश जारी गरिएको हो । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले खोक्लिङ–८ का सबिनसहित दावा शेर्पा, चेतबहादुर गुरुङ, कृष्ण भनिने सार्के गुरुङ, नन्दराम गुरुङ र वीरबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको हो । सामुदायिक वनको स्रोत सर्वेक्षण गर्नका लागि बोलाएर वनरक्षकको हत्या भएपछि प्रहरीले मुख्य अभियुक्त भनिएका सबिनसहित १५ जनालाई निगरानीमा राखेर अनुसन्धान गर्दै आएको थियो । नियन्त्रणमा रहेका १५ जनामध्ये खोक्लिङ–८ का पूर्णबहादुर लिम्बूलाई भने सादा तारेखमा छाडिएको छ भने तोयानाथ लिम्बूलाई रु ५० हजार धरौटी माग गरेको जनाइएको छ । यस्तै, विष्णुुलाल भनिने हरि पन्त, दलबहादुर लिम्बू, पदम गुरुङ र लालबहादुर लिम्बूलाई जनही ३० हजार धरौटी माग गरिएको छ भने ताप्लेजुङ हाङदेवा–५ का रामबहादुर लिम्बू, ताप्लेजुङ नगरपालिका–६ का देउकला मादेन लिम्बू र रिया भनिने सोनिसा लिम्बूलाई जनही ४० हजार रुपैँया धरौटी माग गरेको अदालतले जनाएको छ । जाजरकोट जिल्लाको दशेरा गाविस–८ मा घर भई विगत दुई वर्षदेखि वनरक्षकमा कार्यरत रहेका शाहीको गत पुस १७ गते कार्यस्थलमा नै बीभत्स हत्या भएको थियो । खोक्लिङको ओइराखुस्थित बाघथला सामुुदायिक वन समूहले सामुुदायिक वनको स्रोत सर्वेक्षणका लागि जिल्ला वन कार्यालयलाई अनुरोध गरेपछि जिल्ला वन कार्यालयले वनरक्षक शाहीलाई सर्वेक्षणका लागि खोक्लिङ पठाएको थियो । निजी र सामुुदायिक वनका विषयमा भएको विवाद साम्य गर्न खोजिरहेका बेला सोही स्थानमा नै शाहीमाथि सबिन लिम्बूले नजिकै रहेका दावाको साथबाट खुकुरी झिकेर प्रहार गरेको प्रहरीको बुझाइ छ ।