स्वस्थानी व्रत साङ्गे

काठमाडौँ, माघ २८ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी व्रत कथाको आजबाट साँगे गरिएको छ । श्री स्वास्थानीको पूजाआजा गरी आजबाट स्वास्थानी साँगे गरिएको हो ।

व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बस्नुका साथै हरेक दिन स्वस्थानी कथावाचन र श्रवण गरेका थिए ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार बसी स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पार्वतीले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेकाले परम्परागत रूपमा सो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

काठमाडौंको साँखुस्थित शालीनदीमा आज भक्तजनहरुको अत्याधिकै घुँइचो लागेको थियो ।

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

पाल्पा, माघ २८ । स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार जिल्लामा ११ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, पाल्पाले जनाएको छ । निर्वाचन कार्यालयमा दर्ता भएका दलहरुमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन् । त्यसैगरी नेकपा (माले) जनसमाजवादी, सङ्घीय समाजवादी फोरम नेपाल, नेकपा (माक्र्सवादी) र नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी रहेका छन् । यी दर्ता भएका दलले मात्र स्थानीय निकायको निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ । अहिले पनि विभिन्न पार्टीले दल दर्ताका लागि कार्यालयमा अनुरोध गरेपनि दर्ता समय सकिएकाले दर्ता प्रक्रिया रोकिएको छ । फाइल तस्वीर

हिमालय एयरलायन्सको काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु

काठमाडौँ, माघ २८। निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गर्नुभयो । नेपाल–चीन संयुक्त लगानीको उक्त विमान सेवाले एअरबस–३२० विमानबाट उडान थालेको हो । आजको उडानमा विमानका सबै सिट भरिएका उक्त एअरलाइन्सले जनाएको छ । क्वालालम्पुरको प्रथम उडानबाट मन्त्री शाही, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, यहाँस्थित मलेसियाली राजदूतावासका कार्यवाहक प्रमुख फादिल इस्माइललगायत २० जनाको उच्चस्तरीय प्रतिनिधिमण्डल मलेसियाली राजधानीतर्फ प्रस्थान गरेको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्स र नेपाली प्रतिनिधिमण्डललाई टुरिजम मलेसियाका विशिष्ट पदाधिकारी तथा पर्यटन व्यवसायीले आजै विशेष स्वागत गर्ने कार्यक्रम रहेको उक्त एअरलाइन्सले जनाएको छ । मन्त्री शाहीले आफ्ना मलेसियाली समकक्षीका साथै त्यहाँका उच्च अधिकारीहरुसँग द्विपक्षीय हित तथा पर्यटन प्रवद्र्धनबारे छलफल गर्नुहुनेछ । मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातलगायत नेपाली प्रतिनिधिमण्डलले आजै साँझ क्वालालम्पुरमा आयोजना हुने विशेष समारोहमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धनका सम्बन्धमा जानकारी दिने कार्यक्रम छ । प्रथम उडानका अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उक्त एअरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले मङ्गलबार र शनिबारबाहेक सातामा पाँच दिन काठमाडौँ–क्वालालम्पुर उडान हुने जानकारी दिँदै त्यसबाट नेपाल र मलेसियाबीचको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ–क्वालालम्पुर दुईतर्फी उडानमा यात्रीले करबाहेक रु २५ हजार तीनसय ७५ मा टिकट खरिद गर्न सक्नेछन् । उक्त विमान सेवाले कतारको दोहा, श्रीलङ्काको कोलम्बो उडान थालिसकेको छ भने आगामी फागुन १३ गतेदेखि म्यान्माको पुरानो राजधानी याङ्गुनलाई पनि काठमाडौँसँग सिधा उडानबाट जोड्नेछ । रासस

अनेरास्ववियु केन्द्रीय सदस्य राईको निधन

काठमाडौँ, माघ २८ । नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको बिहीबार निधन भएको छ । यही माघ २५ गते भक्तपुरमा सडक दुर्घटनामा पर्नुभएका २७ वर्षीय राईको उपचारका क्रममा बिहीबार वीर अस्पतालस्थित ट्रमा सेन्टरमा निधन भएको हो । खोटाङ स्थायी घर भएका राई सङ्गठनको खोटाङ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य हुनुभएको थियो । उहाँको पार्थिव शरीरलाई आज पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने युवा सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो । रासस

प्रेस काउन्सिलले विधागत पत्रकारिताबारे नयाँ रणनीति ल्याउने

काठमाडौँँ,  माघ २८ । प्रेस काउन्सिल नेपालले विधागत (बिट) पत्रकारितामा देखिएका समग्र समस्याको पहिचान गरी नयाँ नीति तय गर्ने भएको छ । काउन्सिलले  बिहिबार आयोजना गरेको विधागत पत्रकारिता सम्बद्ध सङ्घ संस्थाका पदाधिकारी र प्रतिनिधिसँगको अन्तक्र्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले विधागत क्षेत्रमा रहेका पत्रकारको विद्यमान अवस्था, चुनौती र सम्भावनाको पहिचान गरी आवश्यक रणनीति बनाएर अगाडि बढ्ने जानकारी दिनुभयो । खास गरी विधागत पत्रकारितालाई व्यवस्थित, जिम्मेवार र जवाफदेही बनाउन त्यससँग सम्बन्धित सरोकारवालासँग काउन्सिलले पहिलो पटक छलफल गरेको अध्यक्ष कार्कीले बताउनुभयो । कार्यक्रममा ‘नेपाल फोरम अफ साइन्स’ जर्नालिस्टका अध्यक्ष छत्र कार्की, वैैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष निरञ्जन ज्ञवाली, नेपाल आर्थिक पत्रकार समाजका उपाध्यक्ष शिव बस्नेत, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल र शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहाल लगायतले विधागत पत्रकारितामा देखिएका विकृत्तिलाई हटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कृषि पत्रकार समाजका उपाध्यक्ष धनबहादुर मगर, नेपाल साहित्यिक पत्रकार सङ्घका उपाध्यक्ष नवराज पुडासैनी र विकास पत्रकार मञ्चका सचिव चन्द्रमणि भट्टराई लगायतले विधागत पत्रकारितालाई थप व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । ‘विधागत पत्रकारिता विशिष्ट आचारसंहिता’ बनाउनेसम्बन्धी काउन्सिलले छलफलसमेत अगाडि बढाउने भएको छ । कार्यक्रमका सहभागीले पत्रकारितामा अघोषित सिन्डिकेटको विकास भएको, उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन गर्न नसकिएको, विधागत पत्रकारितामा विज्ञ व्यक्तिको अभाव, तालिमको अभाव, नयाँ नीति र समन्वयको अभावलगायतका समस्या रहेकाले त्यसको समाधानका लागि विधागत पत्रकारिता सम्बद्ध सङ्घ संस्थासंग समन्वय गरेर अगाडि बढ्न प्रेस काउन्सिल नेपाललाई सुझाव दिएका थिए । रासस

प्रधानाध्यापकले रकम हिनामिना गरेको रहस्य खुल्यो

कालीकोट, माघ २७ । जिल्लाको पञ्चकोट आधारभूत विद्यालय फुकोटका प्रधानाध्यापकले छ वर्षको रु.२१ लाख ४१ हजार ६१४ हिनामिना गरेको रहस्य खुलेको छ । स्थानीय अभिभावकले विद्यालयका बारेमा पटकपटक हिसाब किताब माग गरेपछि अटेर गरेका निवर्तमान प्रधानाध्यापक चन्दाखर सञ्ज्यालले विगत २०६६ सालदेखि ०७२ सम्मको विद्यालयको छात्रवृत्ति, दिवा खाजा, निजी स्रोतका शिक्षकको तलब, महिला तथा दलित छात्रवृत्तिलगायतको रकम हिनामिना गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जसी रोकायाले बताउनुभयो । स्थानीय अभिभावकले विद्यालयका तत्कालीन प्रअ चन्दाखर सञ्ज्यालको छ महिनासम्मको तलब रोक्का गरेपछि जिल्ला शिक्षा कार्यालय कालीकोटमा दिएको निवेदनअनुसार जिल्ला शिक्षा कार्यालय कालीकोटका स्रोत व्यक्ति इन्द्रप्रसाद न्यौपाने संयोजक रहेको छानबिन समितिको टोलीले गरेको लेखा परीक्षणबाट सो रकम हिनामिना भएको पुष्टि गरेको हो । लामो प्रयासपछि विद्यालयका बारेमा चासो राख्ने अभिभावकको पहलमा हिसाब किताब गरिएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष कालीबहादुर महताराले बताउनुभयो । सञ्ज्यालले बेरुजु आएको रकम आफूले तलबबाट क्रमशः तिर्दै जाने सहमति भएको विद्यालयका प्रधानाध्यापक जयराज न्यौपानेले बताउनुभयो। सो विद्यालयका निजी स्रोतका तीन जना शिक्षकले चार वर्षसम्म पाउनु पर्ने तलब नपाए र चाहिएको बेला समस्या टार्नका लागि मात्र रकम पाउने गरेको बताएका छन् ।  यसअघि अख्तिायार अनुसन्धान आयोगले जिल्लाका सामुदायिक विद्यालयको आम्दानी र खर्चको विवरण जिल्ला प्रहरी कार्यालयबाट सङ्कलन गरेको भए पनि हालसम्म सो नतिजा आउन नसकेको बताइएको छ । कालीकोट जिल्लामा शिक्षा क्षेत्रमा व्यापक लापर्बाही बढेकोप्रति अभिभावक जुर्मुराउन थालेको अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष देवराज चौलागाईंले बताउनुभयो ।

प्रचण्डले घोषणा गरेको भोलीपल्ट चितवन लोडसेडिङमुक्त

काठमाडौं, माघ २७ । लामो समयदेखि बिजुलीको संकट झेलिरहेका चितवनवासीले अब लोडसेडिङको पीडा भोग्नुपर्ने छैन । काठमाडौं उपत्यका लोडसेडिङमुक्त भएको झण्डै तीन महिनापछि चितवन जिल्ला पनि लोडसेडिङमुक्त भएको छ । नेपाल विद्युत प्राधिकरणले विहीबारदेखि चितवनलाई लोडसेडिङमुक्त घोषणा गरेको हो । औद्योगिक फिडरमा पनि लोडसेडिङमुक्त गराउने प्रयास भइरहेको प्राधिकरण चितवनले जनाएको छ । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले प्रािधकरणको निर्देशन अनुसार विहीबारबाट लोडसेडिंग मुक्त कार्यान्वयन गरिएको बताए । टाँडीमा ५० लाख र भरतपुरमा ८८ लाख युनिट विद्युत मासिक खपत हुँदै आएको छ । भरतपुर प्राधिकरण अन्तरगत ६८ हजार ग्राहक छन् भने टाँडी अन्तरगत ५० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा बुधबार भएको कार्यक्रममा छिट्टै नै चितवन लोडसेडिङमुक्त गर्ने बताएका थिए । खिम्ती ढल्केबार प्रसारण लाइनको शुभारम्भ भएपछि पोखराको बिजुली राजधानीका जिल्लामा तान्नु नपर्ने अवस्था सिर्जना भएपछि पोखरा लगायतका अन्य जिल्लामा समेत लोडसेडिङ अन्त्य गर्ने र यही क्रमलाई अगाडि बढाउँदै पुरै देशमा बिजुलीको संकट हटाउने अभियानमा सरकार रहेको प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले जानकारी दिए ।

भारतबाट नेपाल फर्कदा एक नेपाली हराए

कैलाली, माघ २७ । भारतको मुम्बईबाट घर फर्किने क्रममा अछाम जिल्ला पायल गाविस घर भई हाल अत्तरिया नगरपालिका–१३ बस्ने युवक वीरेन्द्र खत्री बाटोबाटै सम्पर्कविहीन भएका छन् । यही माघ २१ गते खत्री घर फर्किने क्रममा बाटोमा पर्ने भारतको लखिमपुर पुगेपछि आफू घर आउँदै छु भन्ने जानकारी दिउँसो फोनमार्फत घरपरिवारलाई दिएकोमा त्यसपछि भने सम्पर्कविहीन भएको खत्रीका परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो । धर्म खत्रीका २३ वर्षीय छोरा वीरेन्द्रलाई फेला पार्नु हुनेले नजिकको प्रहरी कार्यालय वा आफन्तलाई जानकारी गराई दिन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

खानेपानी गुणस्तर सुधारसम्बन्धी एकचालिस आयोजना सञ्चालन

काठमाडौँ, माघ २७ । खानेपानी तथा ढल निकास विभागले खानेपानी गुणस्तर सुधारसम्बन्धी ४१ आयोजना सञ्चालन गर्ने भएको छ । सबै जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ काम गरेको विभागले ३१ जिल्लामा गुणस्तर सुधारसम्बन्धी ४१ आयोजना सञ्चालन गर्न लागेको हो । विभागका उपसचिव अरुणकुमार सिम्खडाले ३१ जिल्लामा प्रशोधन केन्द्र स्थापना गरेर खानेपानीको सुधार गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शुद्ध खानेपानी सबैलाई खुवाउने उद्देश्यका साथ विभागले खानेपानी गुणस्तर कार्यक्रम सञ्चालन गरेको हो ।” यस्तै विभागले खानेपानी सुरक्षा योजना कार्यक्रम ७५ वटै जिल्लामा सञ्चालन गर्न लागेको छ । विभागले खानेपानी सुरक्षा योजनाअन्तर्गत शुद्ध खानेपानी उपयोग गर्नका लागि समूह बनाएर रेखदेख गर्नेछ । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सन् २०१७ को अन्त्यसम्म सबै नेपालीको घरघरमा आधारभूत खानेपानी पु¥याउने लक्ष्यअनुसार मन्त्रालयले काम गरिरहेको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सबै नेपालीलाई खानेपानी पु¥याउने उद्देश्यअनुसार मन्त्रालयले विभिन्न कार्यक्रम ल्याएको छ ।” खानेपानी सुरक्षा योजनाअन्तर्गत ४०० आयोजना रहेका छन् । यसका लागि सरकारले रु ४० करोड ५५ लाख बजेट विनियोजन गरेको छ ।

इलाममा एकलाख ९३ हजार मतदाता, तीनहजार नयाँ थपिए

इलाम, माघ २७ । इलाममा एक लाख ९३ हजार पाँचसय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। यसमा ९९ हजार दुईसय सात पुरुष र ९४ हजार तीनसय ३९ महिला र दुईजना तेस्रोलिङ्गी छन्। कार्यालयले सञ्चालन गरेको एकमहिने मतदाता अद्यावधिक कार्यक्रममा दुईहजार नौसय ३९ जना मतदाता थपिएका हुन्। पुष पहिलो सातादेखि माघ दोस्रो सातासम्म सञ्चालन गरेको अद्यावधिक कार्यक्रममा एकहजार ६ सय ३८ पुरूष र एकहजार तीनसय एक महिला मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले जानकारी दिए। स्थानीय निकायको निर्वाचनको चर्चा चल्न थालेपछि छुटेका मतदाताले धमाधम नामावली दर्ता गराउन थालेपछि मतदाताको सङ्ख्या वृद्धि भएको हो। कार्यालयले पछिल्लो चरणमा जिल्लाका ४३ गाविस र तीन नगरपालिकामा मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो। जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र जिल्ला निर्वाचन कार्यालयबाट पनि नियमित नामावली दर्ता कार्य भइरहेको काफ्लेले जानकारी गराए। वैदेशिक रोजगारीमा गएका नागरिक मतदाता नामावली दर्ता गराउन छुटेका छन्। सरकारले निर्वाचन मिति घोषणा गर्ने चर्चा चलिरहेका बेला जिल्ला निर्वाचन कार्यालयले कर्मचारी व्यवस्थापनसँगै निर्वाचनको तयारीमा जुटेको समेत उनले बताए। । “आयोगले लिखितरूपमा पत्राचार र निर्देशन दिएपछि द्रुतगतिमा काम अघि बढ्छ”, जिल्ला निर्वाचन अधिकृत काफ्लेले भने, “अहिले पनि तयारीमा लागिरहेका छौँ।”

दुईसय २५ परिवारलाई कम्बल वितरण

गौशाला, माघ २७ । नेपाल–भारत महिलामैत्री समाज काठमाडौंले महोत्तरी जिल्लाको मटिहानी गाविसका २२५ परिवारलाई आज कम्बल वितरण गरेको छ। माघ अन्तिम साता लागिसक्दा पनि महोत्तरीमा जाडो कम नहुँदा जाडोबाट प्रभावित मटिहानीका २२५ विपन्न परिवारलाई समाजले कम्बल वितरण गरेको हो । मटिहानीस्थित राम उमाविको प्राङ्गणमा समाजकी केन्द्रीय अध्यक्ष श्रीमती चन्दा चौधरीले मटिहानी– १ देखि ९ सम्मका २२५ विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको हो । महोत्तरीमा अझै पनि कठ्याङ्ग्रिदो असहनीय जाडो भइरहेको बेला समाजले स्थानीयलाई कम्बल वितरण गरेकोमा स्थानीय खुसी देखिएका छन् ।

राप्रपाका अञ्चल सचिवसहित ६ जनाद्धारा पार्टी परित्याग

बिर्तामोड, माघ २६ । राप्रपा नेपाल समेतको एकीकरण भई बनेको पार्टी राप्रपाले प्रजातान्त्रिक मान्यताभन्दा बाहिर गएर काम गरेको भन्दै सो पार्टीको विभिन्न जिम्मेवारीमा रहेका झापाका छ जनाले पार्टी परित्याग गर्दै स्वतन्त्र बस्ने घोषणा गरेका छन् । सो पार्टीका मेची अञ्चल सचिव कुमार भट्टराई, झापा संगठन विभाग सचिव पदम प्रसाईं, पूर्व केन्द्रीय परिषद सदस्य तथा क्षेत्रीय सदस्य जगन्नाथ खनाल, झापा क्षेत्र नं. २ का उपाध्यक्ष रोशन विमली, जिल्ला सदस्य दुर्गा रिजाल, तेजबहादुर थापा र जिल्ला परिषद सदस्य खड्गप्रसाद ओडारीले बुधबार संयुक्त विज्ञप्ती जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । राप्रपाका पूर्व जिल्ला सभापति लक्ष्मीप्रसाद ओडारीले समेत यसअघि नै पार्टी परित्यागको घोषणा गरेको बताइएको छ । ‘राप्रपा नेपाल एकीकरणपछि राप्रपा भएको वर्तमान अवस्थामा पार्टीले राष्ट्र, राष्ट्रियता, हिन्दूत्व र प्रजातान्त्रिक मूल्य मान्यताभन्दा बाहिर गई काम गरेको हामीलाई महशुस भएको छ’– विज्ञप्तीमा भनिएको छ – ‘यस कुराले झापाका हामीसहित हजारौं इमान्दार कार्यकर्ता दुःखी भएका छौं ।’ उनीहरुले ०४६ सालदेखि राप्रपामा आबद्ध भई विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक सक्रिय भएको बताएका छन् । दोस्रो जनआन्दोलनपछि राप्रपा नेपालमा आबद्ध हुँदै संविधानसभा सदस्य निर्वाचनदेखि पार्टीका हरेक गतिविधिमा इमान्दारीपूर्वक आफूहरुले अग्रणी र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको अवस्थामा कार्यकर्ताको भावना विपरित पार्टी अघि बढेको उनीहरुको गुनासो छ ।

हराएकी सत्र वर्षीया युवती मृत फेला

खोटाङ, माघ २७ । जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन् । मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा सिम्पानी–७ स्थित जङ्गलमा बुधबार दिउँसो मृत फेला परेकी हुन् । सिम्पानी बजारको एक होटलमा काम गर्दै आएकी रीता बेलुकी आफ्नो घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् । सिम्पानीस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी रीता बिहान काम गर्न होटल जाने र बेलुकी आफ्नो घर फर्कने गरेको उनका बुबा वीरबहादुर तामाङले जानकारी दिनुभयो । हराएकी रीताको खोजी गर्दा जङ्गल मडारिएको ठाउँ भेटिएको र उक्त ठाउँबाट करिब ४० मिटर तल उनलाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो । “घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कारपछि उनको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “रहस्यमय घटना भएका कारण थप अनुसन्धान भइरहेको छ ।” रीता एक महिनाअघि देखि मात्र सो होटलमा काम गर्दै आएकी बुबा वीरबहादुरले जानकारी दिनुभयो । मृतक युवतीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको प्रहरीले जनाएको छ । यसअघि गत शनिबार यौनसम्पर्क गर्न नमान्दा भोजपुरकी एक अविवाहित महिलाको हत्या गर्नमा संलग्न खोटाङका विवाहित पुरुष पक्राउ परेका छन् । भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको हत्या गरेर फाल्ने चिसापानी–४ का ४० वर्षीय रोहिन कार्की पक्राउ परेका हुन् । रासस

स्ववियुमा ‘सिण्डिकेटको कब्जा, पूर्ण समानुपातिक प्रणाली आवश्यक– ७ विद्यार्थी संगठन

काठमाडौँ, माघ २६ । विभिन्न साना दलनिकट सात विद्यार्थी सङ्गठनले आशन्न स्ववियु निर्वाचनमा पूर्ण समानुपातिक प्रणाली लागू गर्न माग गरेका छन् । ती सङ्गठनले त्रिभुवन विश्वविद्यालयको निर्वाचन प्रणाली, सिनेटमा भइरहेको ‘सिण्डकेट’ को खारेजी, फर्जी विद्यार्थी भर्ना रद्दबारे आफूहरुले यही माघ २१ गते बुझाएको ज्ञापनपत्रको सुनुवाई नभएकाले निर्वाचनको उचित वातावरण नभएको जनाएका हुन् । आगामी फागुन १४ गते स्ववियु निर्वाचन तोकिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी सङ्गठन, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, नेपाल विद्यार्थी मञ्च, अखिल क्रान्तिकारी, राष्ट्रवादी विद्यार्थी सङ्घले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी सो माग गरेका हुन् । रासस  

तिनदिने पत्रकारिता तालिम सम्पन्न

ललितपुर, माघ २६ । नेपाल पत्रकार महासङ्घ ललितपुरको आयोजनामा ललितपुरको पाटनढोकामा भएको तीनदिने पत्रकारिता तालिम सकिएको छ । माघ २४ गतेदेखि सुरु भएको उक्त तालिममा ५१ जनाले पत्रिकारिता तालिम लिएका थिए । तालिममा प्रशिक्षक उजिर मगरले फिचर लेखन, शिव गाउलेले खोज पत्रकारिताबारेमा तालिम दिएका थिए । तालिममा सचेन रोक्का, प्रभुनरायण बस्नेत, प्रबेश सुवेदी लगायतले पत्रकारिता आचार सहिता, अनलाइन पत्रकारिता र बिकास पत्रकारिता तालिम दिएका थिए । तालिमको तेस्रो दिन पत्रकार महासङ्घ ललितपुरका सस्थापक अध्यक्ष धर्मरत्न शाक्यले सहभागीहरुलाई प्रमाणपत्र बितरण गद गरेका थिए । तालिमले रिपोर्टिङ गर्न सघाउ पुर्याएको तालिममा सहभागी सीतामैया श्रेष्ठले बताइन् । त्यस्तै तालिमबाट खोज पत्रकारिता गर्न र फिचर लेखनमा धेरै कुरा जानकारी पाएको प्रशिक्षार्थी प्रतीक्षा आचार्यले बताइन् । पत्रकारलाई बेला बेला तालिम हुनुपर्ने आवश्यकता लाई महसङ्घ ललितपुरले सुरु गरेकोमा प्रशिक्षक शिरोमणि ढुंगानाले प्रशंसा गरे । बिकास पत्रकारितालाई नेपालका मिडियाले बुझ्न नसकेको उनले बताए । बिकास पत्रकारितालाई हामीले राजनीतिमा प्रयोग गर्ने कोसिस गरेनौ समस्या यहि रह्यो उनले भने । जिबिस ललितपुरको सहयोगमा भएको तालिमबाट सहभागीको क्षमता अभिबृद्दी हुने अध्यक्ष लेखनाथ न्यौपानेले बिश्वास लिए । ‘सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ । जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिए पत्रकारिता गर्नुपर्छ’ प्रशिक्षक उजिर मगरले भने । ललितपुर जिल्ला उपत्यका भए पनि यसका दुर्गम गाउमा हुन नसकेको बिकास बारेमा समाचार बन्न नसकेकोमा उनले गुनासो गरे ।

अझै भुक्तानी भएन अपार्टमेन्टको बिमा दाबी

काठमाडौँ, माघ २६ । भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ । प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएका छैनन् । काठमाडौँ उपत्यकाका ५१ वटा अपार्टमेन्टमध्ये अधिकांशमा भूकम्पले क्षति पु¥याएको थियो । बिमा समितिका अनुसार निर्जीवनतर्फ रु १६ अर्ब ८२ करोडको दाबी परेकामा रु १२ अर्ब ७२ करोड भुक्तानी भएको छ । यो सबै व्यक्तिगत दाबी हो । बहुतले (अपार्टमेन्ट) घरमा बस्दै आएका व्यक्तिले भने पाएका छैनन् । अझै रु.चार अर्ब १० करोड भुक्तानी हुन बाँकी छ । बिमा समितिले विपत्तिमा परेका अपार्टमेन्टको बिमा भुक्तानी दिन नसकिएको स्वीकार गरेको छ । बिमा कम्पनी र बिमितबीचको सहमति महत्वपूर्ण भएको बिमा समितिका पूर्व अध्यक्ष प्रा डा फत्तबहादुर केसीले बताउनुभयो । बसुन्धराको पार्क भ्यू होराइजन, डिल्ली बजारको अपार्टमेन्ट, सानेपाको स्टाटस इन भिलेज, झम्सिखेलको अपार्टमेन्ट, सिटी भ्यू अपार्टमेन्ट, ओरियन्टललगायतका अपार्टमेन्टमा भुइँचालोले क्षति पुर्याएको छ । तीमध्ये केही मर्मत भइसकेका छन् भने केहीले पुनःसञ्चालनको अनुमति लिएका छन् । एउटै अपार्टमेन्टले फरक फरक बिमा कम्पनीसँग बिमा गरेको पाइएको र बिमा कम्पनीअनुसार फरक नीति हुने भएकाले पनि भुक्तानीमा समस्या देखिएको बुझिएको छ । बिमित भुक्तानी पाउन नसक्नुमा कम्पनी र बिमितबीचमा केही अप्ठ्यारा रहेको बताउनुहुन्छ, पूर्व अध्यक्ष केसी । उनीहरुबीच सहमति भएपछि सबै समस्याको हल हुन्छ । निर्जीवनतर्फको व्यक्तिगत सबै दाबीको भुक्तानी भइसकेको तर अपार्टमेन्टका केही जटिलता भएकाले बाँकी रहेको बुझिएको छ । विशालनगर पार्क भ्यूको शिखर इन्स्योरेन्सले बिमा गरेको थियो । भुइँचालोमा क्षति भएको उक्त अपार्टमेन्टको बिमा दाबी शिखरले सबै भुक्तानी गरिसकेको जनाएको छ । भुइँचालोबाट भएको क्षतिको भुक्तानीको युनाइटेड इन्स्योरेन्स कम्पनीबाट भने चुक्ता हुन बाँकी भएको जनाइएको छ । निर्जीवन बिमा गर्ने १७ मध्ये अधिकांशले कुनै न कुनै अपार्टमेन्टको बिमा गरेका छन् । सरकारले भुइँचालोपछि रातो र हरियो स्टिकर टाँस्दाका बखत ध्यान नपुग्दा पनि समस्या भएको हो । अपार्टमेन्टको बिमा गर्दा एक भाग एक कम्पनी र अर्को भाग अर्को कम्पनीसँग गर्ने गरेकाले पनि त्यसमा समस्या आएको हो । त्यसलाई सुल्झाउन आवश्यक छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंका अनुसार बिमा समितिले विपत्तिको समयमा भएका क्षतिका भुक्तानीलाई प्राथमिकता दिँदैआएको छ । सोहीअनुसार अधिकांश बिमितले भुक्तानी पाइसकेका छन् । निर्जीवन बिमालाई ग्रामीण जनता र भौतिक संरचनासम्म पु¥याउनुपर्ने उहाँको धारणा छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भुइँचालोबाट क्षति भएका सबै दाबीको भुक्तानी भइसकेको जानकारी दिनुभयो । उक्त कम्पनीमा ४६ वटा दाबी परेको थियो । दाबीको रु दुई करोड ४३ लाख भुक्तानी भइसकेको छ । बिमा क्षेत्र यतिका धेरै हुँदा पनि बिमक बढ्न नसक्नुका कारणबारे झा भन्नुहुन्छ, “बिमाका विषयमा आमजनतालाई बुझाउन सकिएन ।” हाल नौवटा जीवन बिमा कम्पनी र १७ वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा रहेका छन् । मुलुकको कुल जीवन बिमाको सात प्रतिशत र निर्जीवन बिमाको विविधीकरण हुन सकेको छैन । भुइँचालोसँग सम्बन्धित ३८० वटा बिमा दाबी परेको थियो । ती सबैले भुक्तानी पाइसकेका छन् । जीवन बिमा गर्नेको सङ्ख्या नै न्यून हुनु अहिलेको समस्या हो । बिमासम्बन्धी जनचेतना विस्तार गर्न नसकिएका कारण पनि यस क्षेत्रको विस्तार हुन सकेको छैन ।  सनराइज टावर धोवीघाट अपार्टमेन्टमा बस्न रुचाउने नेपालको पहिलो हेयर स्टाइलिस्ट नीलडेबिट कटुवाल भुइँचालोपछि आफ्नै घर बनाएर सर्नुभयो । उहाँले भन्नुभयो – “त्यो विपद्को समयमा मलाई धेरै त्रास भयो, त्यसपछि मेरो छोरा अपार्टमेन्टमा जान मानेन ।” भुइँचालोपछि अपार्टमेन्टको प्रयोगमा कमी आएको देखिएको छ ।