अर्थतन्त्र सुधार्न सरकार कार्ययोजनासहित अगाडि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ
तनहुँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्ने बताएका छन् ।
तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको उल्लेख गर्दै त्यसतर्फ सरकार गम्भीर रहेको बताए ।
“गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका काममा केही ढिलाइ भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्रको वर्तमान अवस्था, समस्या र समाधानका लागि ठोसरुपमा के गर्नुपर्छ त्यसतर्फ सरकारले प्रयास गरिरहेको बताए ।
ट्रकले लियो मोटरसाइकल चालकको ज्यान
उदयपुर । उदयपुरको गाईघाट बजारमा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक त्रियुगा नगरपालिका ११ साउनेका ४३ वर्षका तारिणी थापामगरको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ । आज बिहान त्रियुगा नगरपालिका ११ मा प्रदेश नं १–०५–००१ प ६१५९ नम्बरको मोटरसाईकललाई पश्चिम तर्फबाट आउँदै गरेको मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिने ट्रक चालक झापा कन्काई सुरुङ्ग नगरपालिका ६ का ३८ वर्षका भूपेन्द्र राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी (बलात्कार) को मुद्दामा आज सुनुवाइ हुने भएको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेको मुद्दाका लागि आजलाई पेसी तोकेको छ । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । यसअघि गत बुधबार चैत २२ गते लामिछानेको मुद्दा पेसीमा चढेपनि हेर्न नभ्याउने हुँदै सरेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा लामिछानेलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।
मलेसियामा एक नेपाली म्यानपावर व्यवसायीको संकास्पद मृत्यु
दोहा । मलेसियामा एक नेपाली म्यानपावर व्यवसायीको मृत्यु भएको छ । सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा न.५ निवासी रिन्जि सागर राईले मलेसियामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको छ । काठमाडौँको शान्तिनगरस्थित मार्भलस इम्प्लोईमेन्ट म्यानपावरका सञ्चालक रहेका केही दिनअघि मात्र मलेसिया पुगेका उनी निलाई भन्ने स्थानमा डोरीले पासो लगाएको अवस्थामा भेटिएका हुन् । यद्यपि उनको खुट्टा भुईँमै टेकिएर अडिएको र डोरी समेत कमजोर क्लिपमा अड्काइएको देखिन्छ । परिवारले आत्महत्या नभई हत्या हुन सक्ने शंका गरेका छन् । मृतक राईले मृत्यु हुनु अघि श्रीमती इन्द्रसुबा राईसँग फोनमा कुराकानी गरेका बताइएको छ । उनी पछिल्लो केही वर्षदेखि मनोरोग (डिप्रेसन) को सिकार भएको बताइएको छ । मलेसियन प्रहरीको समन्वयमा मृतकको शव अनुसन्धान र पोष्टमार्टमको लागि अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने नेपाली दूतावासले जनाएको छ।
मन्त्री आचार्यले पहिलाे महिनाको तलवबाट दिए सहिद परिवारलाई गाई उपहार
मोरङ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले आफ्नो पहिलो महिनाको तलवबाट सहिद ईश्वर ढुंगानाको परिवारलाई गाई प्रदान गरेका छन् । सहिद ईश्वर ढुंगानाका दाजु मोहन ढुंगानाले उपहार स्वरुप गाई ग्रहण गर्दै मन्त्री आचार्यको मनोभावनाप्रति आभार व्यक्त गरे। कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री बनिसकेपछि आचार्यले पर्यटनको विकास र वातावरणीय तथा पर्यावरणीय विकासमा ध्यान दिनुका साथै मुख्यतः सुधारका कामलाई प्राथमिकतामा राखेका छन्। केहि दिन अघि मात्रै योजना सम्झौता समयसिमा र पर्यटनसँग सम्बन्धित योजना पनि वन डिभिजन कार्यालयमै सम्झौता गर्न मिल्ने खालको लोकप्रिय निर्णय गरेका थिए। उनले मन्त्रालयमा कुनैपनि गलत खालका गतिविधि भए तुरुन्त कारवाही हुने बताउँछन्। मंत्रालयका एक कर्मचारी भन्छन् “ प्राय जिल्लामा डिएफओ परिवर्तन भए तर पहिलो पटक पैसाको गन्ध आएन।” मन्त्री आचार्य अहिले नयॉ योजना बनाउन ब्यस्त छन्। केहि नयॉ गर्ने सुरसारमा उनको मन्त्रालय देखिन्छ। सहिद परिवारलाई पहिलो महिनाको तलवले गाई किनिदिएको प्रसंगमा उनले यसलाई सामान्य कुरा रहेको बताउँदै शहीद परिवारलाई हामी छौं भन्ने महसुस गराउनु आफ्नो कर्तव्य भएको विचार व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्ड भोलि सुदूरपश्चिम जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि सुदूरपश्चिम जाने भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री सुदूरपश्चिम जान लागेका हुन्। प्रधानमन्त्री भोलि बिहान महेन्द्रनगर पुगेर विभिन्न कार्यक्रममा सहभगाी हुनेछन् ।
शनिवार बालेनका धारावाहिक स्टाटस, अराजकता फैलाउने अभिव्यक्ति दिएकाे टिप्पणी
काठमाडौं । शनिवार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ३ वटा धारावाहिक स्टाटस लेखेपछि उनले दिएका सन्देशले तरङ्ग सिर्जना गरेको छ । उनले लेखेका सन्देशलाई राजनीतिक दलका नेताहरूले अराजकता फैलाउने अभिव्यक्ति दिएको आरोप लगाएका छन्। मेयर शाहले लेखेको पहिलो सन्देश राजनीतिक दलका नेताहरूप्रति लक्षित थियो । उनले कडा शब्द छनौट गर्दै लेखेका थिए–‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ यस्तै उनको दोस्रो सन्देश भने प्रहरीले महानगरपालिकाका फुटपाथ मिचेको बारेमा छ । शाहले महानगरपालिका भित्रका विभिन्न वडामा सडक अतिक्रमण गरी बनाइएको प्रहरी बिट हटाउन चेतावनी दिएका छन् । उनले ती प्रहरी बिटको फोटोसहित लेखेका छन्– ‘फुटपाथ सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनुपर्छ । कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामूलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ । राजदूतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ । कानुन सर्वसाधारण नागरिकका लागि र अरूका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’ त्यसैगरी उनको तेस्रो झटारो सरकारप्रति थियो । उनले भारत र चीनले बनाइदिएको सरकारको कुनै इज्जत नगर्ने भन्दै नेपाल कहिले स्वाधीन हुने भन्दै प्रश्न गरेका थिए । उनले लेखेका छन्– ‘भारत र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’ काठमाडौं महानगर प्रमुखको धारावाहिक रूपमा राजनीतिक दलका नेता र सरकार लक्षित यस्ता अभिव्यक्ति आउन थालेपछि दलका नेताहरूले टिप्पणी गर्न थालेका छन् । एमाले महासचिव शङ्कर पोखरेलले ट्विटरमार्फत बालेनको अभिव्यक्तिको विरोध गर्दै जिम्मेवारीमा बसेपछि जिम्मेवार र जबाफदेही हुनुपर्ने बताएका छन् । उनले भनेका छन्– ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जबाफदेही बन्नै पर्दछ ।’ यस्तै नेकपा एकीकृत समाजवादीका नेता डा.विजय पौडेल उनको अभिव्यक्तिको टिप्पणी गर्दै ट्विटरमा लेखेका छन्– ‘काठमाडौँका मेयर बालेन साहको अभिव्यक्तिले अराजकताको सीमा नाघ्दै छ । सरकार गम्भीर बनोस् । सिंहदरबारका सबैलाई खाल्टोमा पुर्ने भनिएको लगायतका अभिव्यक्ति आपत्तिजनक छन् ।’ सामाजिक सञ्जालमा राजनीतिक दलका नेता कार्यकर्ताले उनको अभिव्यक्तिप्रति आपत्ति जनाइरहेका बेला उता धरान उपमहानगरपालिका मेयर हर्क साङपाङ् राईले भने समर्थन गरेका छन् । मेयर राईले लेखेका छन्– ‘मेयर बालेन झुकेगा नहि, अब भष्टचारको पोकोलाई तह लगाउनै पर्छ ।’ उनले दिएको अभिव्यक्तिको सामाजिक संजालमा समेत समर्थन भन्दा बढी विरोध भएको छ ।उनको अभिव्यक्तिलाई लिएर मेयर जस्तो जिम्मेवार पदमा बसेको मान्छेले दिने अभिव्यक्ति जिम्मेवार हुनुपर्ने लगायतका सुझाबसहितका कमेन्ट तथा स्टाटसहरु आइरहेका छन् । शुक्रवार महानगरपालिकाले काठमाडौंको तीनकुने नजिकै रहेको गैरी गाउँको सुकुम्वासी बस्ती हटाउन डोजर लगेका थिए तर सुकुम्वासी आन्दोलनमा उत्रिएपछि महानगर पछि हटेको थियो । मेयर शाहले बागमती नदी किनारमा बसेका सुकुम्वासीलाई हटाउन सहयोगका लागि सरकारलाई पटक–पटक आग्रह गरिरहेका छन् । तर सरकारले भने उनको आग्रह अनुसार भन्दापनि सुकुम्वासीलाई व्यवस्थापन पछि मात्रै डोजर लगाउन उपयुक्त हुने आसय व्यक्त गरेको छ । यसअघि पनि उनले थापाथलीस्थित बागमती नदी किनारमा बसेका सुकुम्वासी बस्ती हटाउन अघि सर्दा केही नगर प्रहरी घाइते भएका थिए । सुकुम्वासी बस्ती हटाउन सरकारको सहयोग नपाएपछि उनी आक्रामक अभिव्यक्ति दिन थालेका छन् ।
ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना
काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा आज दिउँसो हेलिकप्टर दुर्घटना भएको छ । धुम्बाराहीस्थित अस्पतालबाट छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको हो । चिकित्सकलाई लिएर बिरामी लिन चितवन जानका लागि अवतरण हुन लागेको हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको बताइएको छ । दुर्घटनामा परेको हेलिकप्टरका पाइलट सकुशल छन् भने हेलिकप्टरको पछाडिको पंखा खुस्किएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
संस्थाको विकासमा जनशक्तिलाई प्राथमिकता दिन जोड
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनका बोल्ने वक्ताहरुले संस्थाको विकासमा जनशक्ति नै महत्वपूर्ण विषय भएको बताएका छन् । महासम्मेलनको तेस्रो दिनको पहिलो सेसनमा विश्वमा कामको शैलीमा भइरहेको परिवर्तन र संस्थाको विकास विषयमा धारणा राख्दै वक्ताहरुले संस्थाको विकासका लागि जनशक्तिलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नु पर्ने धारणा राखे । ‘विश्वमा बदलिंदो कार्य वातावरणः संस्थागत सफलताको आधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै बैंकर अनिल केशरी शाहले कुनै पनि संस्थामा जनशक्तिको भूमिका महत्वपूर्ण हुने भएकोले संस्थाको संस्थागत विकासको लागि जनशक्तिलाई प्रविधिसँगै सीप सिकाउनमा जोड दिनु पर्ने बताए । संस्थाको जति ठूलो ब्राण्ड भए पनि जनशक्ति सिपयुक्त र क्षमतावान भएन भने संस्थाले प्रभावकारी पफर्मेन्स गर्न नसक्ने बताए । ‘संस्थाको मुल स्रोत भनेको जनशक्ति हो । जनशक्तिमा लगानी गर्नपछि हट्नु हुँदैन । कर्मचारीलाई गाली गरेर संस्थाको विकास हुँदैन । टीमलाई कसरी मोटिभेट गर्यो भने प्रतिफल निस्कन्छ, त्यसतर्फ ध्यान दिनु पर्छ,’ उनले भने । उनले विश्वमा प्रविधिमा भइरहेको परिवर्तनलाई बुझेर र त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने बताउँदै संस्थामा उमेरले कुनै ‘म्याटर’ नराख्ने धारणा राखे । आजको संसार अवसर र प्रतिस्पर्धाको भएको बताउँदै सीप विकास, नेटवर्क विस्तार र सकारात्मक सोच राखेर अगाडि बढ्नु पर्ने धारणा राखे । यस्तै, छलफलमा राष्टिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रमा सबैको आकर्षण हुने किसिमले काम गर्न आवश्यक रहेको बताए । उनले सहकारीमा ठूलो नेटवर्क रहेको बताउँदै सो नेटवर्कको सही किसिमले सदुपयोग गरेर काम गर्नु पर्ने उनको भनाइ छ । ‘अब सहकारीबाट सिकेर अरु ठाउँमा जाने होइन, अरु ठाउँबाट सिकेर सहकारीमा आउने वातावरण सिर्जना गर्नु पर्छ, नेटवर्कको अधिकत प्रयोग गर्नु पर्छ, अहिलेको समस्या हाम्रो कारणले मात्रै होइन, यो विश्वव्यापी कारणले हो, सहकारीमा क्षमता विकास गर्नु पर्छ,’ उनले भने । यस्तै, कार्यक्रममा भिजिनरी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्र गुरुङले जुन रफ्तारमा संसारमा परिवर्तन भइरहेको छ सोही रफ्तारमा हामी पनि परिवर्तन हुनु पर्ने बताए । उनले सिक्ने र बुझ्ने मात्रै नभइ हरेक विषयलाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने धारणा राखे । छलफल कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका नेशनल प्रोजेक्ट संयोजक प्रकाश शर्माले दिनप्रतिदिन काम गर्ने शैली पविर्तन भइरहेको बताउँदै हामी पनि त्यसममा अभ्यस्त हुँदै जानु पर्ने बताए । काम लिने र काम गर्नेबीचको सम्बन्ध पनि प्रगाढ हुनु आवश्यक रहेको उनको भनाइ छ । ‘काम गर्नेले पनि संस्था आफ्नै हो भन्ने किसिमको अपनत्व महसुस गर्नु पर्छ, नेतृत्वले पनि सोही किसिमको व्यवहार गर्नु पर्छ, तब मात्रै संस्थाको विकासमा महत्वपूर्ण योगदान पुग्छ,’ उनले भने । छलफल कार्यक्रमको चेयरको रुपमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल रहेका थिए । उनले पनि विश्वमा कामको शैलीमा परिवर्तन भइरहेकोले संस्थामा काम गर्ने जनशक्तिको विकासमा ध्यान दिनु पर्ने धारणा राखे । उनले क्षमतावान र सीपयुक्त जनशक्तिलाई संस्थामा टिकाउनका लागि संस्थाले सोही किसिमको सहज वातावरण सिर्जना गर्नु पर्ने बताए । छलफल कार्यक्रममा सहभागीहरुले पनि वत्ताहरुसमक्ष आफ्ना जिज्ञासा राखेका थिए । उनीहरुले संस्थागत विकास र जनशक्तिको क्षमता अभिवृद्धि विषयसँग सम्बन्धित भएर आफ्ना जिज्ञासाहरु राखेका थिए ।
वायुसेवा निगमको संरचनागत सुधारका लागि पूर्वगभर्नर क्षेत्रीको संयोजकत्वमा समिति गठन
काठमाडौं । नेपाल वायु सेवा निगमको संरचनागत र व्यवस्थापकीय सुधार गर्न पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा सदस्यमा क्याप्टेन ओम गुरुङ, चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द, सञ्चारकर्मी टीकाराम राई र सहारा न्यौपाने रहेका छन् । समितिलाई निगमको अहिलेको संरचना र व्यवस्थापकीय पक्षलाई अध्ययन गरी सिफारिस गर्नको लागि अनुमति दिइएको मन्त्री सुदन किराँतीले बताएका छन् ।
कारागार गएको डेढ महिनामै थुनुवाको मृत्यु
रामेछाप । जिल्ला कारागार रामेछापमा एकजना थुनुवाको मृत्यु भएको छ । कारागारमा रहेका लिखु तामाकोशी गाउँपालिका ३ स्वाँराका ५२ वर्षका बिरे दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । दर्जीले आफुलाई एक्कासि पेट दुखेको र चक्कर लागेको बताएपछि उपचारका लागि जिल्ला अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला कारागार रामेछापले जानकारी दिएको छ । दर्जी गत फागनु ४ गते कर्तव्य ज्यान सम्बन्धी मुद्धामा पूर्पक्षका लागि कारागार चलान भएका थिए । उनको कारागारमा गएको डेढ महिनामै मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका र रूरूबीच भगिनी सम्बन्ध स्थापना
चितवन । भरतपुर महानगरपालिका र रूरू गाँउपालिका बीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई पालिकाले शुक्रबार रुरु क्षेत्रमा एक कार्यक्रमका बीच सम्झौता गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रूरू गाँउपालिका प्रमुख यदु ज्ञावालीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रमणीय तथा धार्मिक क्षेत्रको पहिचान बनाएको रूरू गाउँपालिकासँग भगिनी सम्बन्ध कायम गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस्ता सम्बन्धहरूले जनस्तरको सम्बन्धलाई सुदृढ गर्ने विश्वास गरिन । भरतपुर महानगरपालिकाले विदेशका विभिन्न देशका सहरहरूसँग भगिनी सम्बन्ध कायम गरी दुई पक्षिय हितमा काम गरिरहेको बताउदै अब देशका विभिन्न पालिकाहरूसँग भगिनी सम्बन्ध कायम गर्ने नीति लिए बमोजिम रूरू गाँउपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको उल्लेख गरिन । आगामी दिनमा अन्य पालिकाहरूसँंग पनि सम्झौता गर्दै जाने बताउँदै यस्ता सम्बन्धले जनस्तरको सम्बन्ध विकासका साथै समग्र विकासमा सहकार्य गर्न सकिने बताईन । अनुभ आदान–प्रदानका साथै गराई र भोगाईहरूको आदान प्रदानले कार्य क्षेत्रमा आईपर्ने समस्याहरू समाधान गर्न सहयोग पुग्ने बताईन् । प्रमुख दाहालले रूरू गाउँपालिकाको समग्र विकासमा भरतपुर महानगरपालिकाको सधै साथ र सहयोग हुने बताउदै रूरू पालिकाबाट समेत सोही अपेक्ष लिएको बताईन् । मध्य नेपालको सुन्दर सहर सभ्य र सुसंस्कृत भरतपुर महानगर र धार्मिक एवम् संस्कृत रूरू गाउँपालिका बीच भगिनी सम्बन्ध कायम भएसँगै दुई स्थान बीच धार्मिक सॉस्कृतिक आर्थिक एवम् बहुपक्षिय आयामहरूमा दुई पक्षिय सहयोग आदान प्रधान हुने बताईन् । भरतपुर महानगरपालिका विकास र समृद्धिको नयाँ आयम कायम गर्दै गैरहेको छ भने रूरू गाउँपालिका धार्मिक संस्कृतिक विकासका साथै ग्रामिण विकासमा अग्रसर हुँदै आईरहेको छ । यस सम्बन्ध कायम भएसँगै दुई तह बीच एक आपसका असल अभ्यासहरूलाई सिकाईको अवसर समेत हुने छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का जनसम्पर्क विज्ञ वुद्धि जिसीले भरतपुर महानगरपालिका र रूरू गाउँपालिका बीच भगिनि सम्बन्ध कायम गरेकोमा दुवै तहलाई धन्यवाद दिदै विकास र सुसासनको केन्द्र बन्दै गएको भरतपुरबाट रूरू गाउँपालिकाले लाभ हाँसिल गर्ने विश्वास व्यक्त गरेका थिए । सो अवसरमा रूरू पालिकाका प्रमुख यदु ज्ञावालीले भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरी सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै दुई पालिकाको समग्र विकासमा सहकार्य गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । कार्यक्रममा रूरू गाउँपालिकाकी उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
आर्थिक रुपमा कमजोर वायुसेवा निगमको अवस्था अध्ययन गर्न समिति गठन
काठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को संरचनागत र व्यवस्थापकिय पक्षको अध्ययन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीका अनुसार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रवहादुर क्षेत्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा ओम गुरुङ्ग (क्याप्टेन) टिकाराम राई (सञ्चारकर्मी), पियस आनन्द (वरिष्ठ चार्टड एकाउन्टेन्ट) र सहारा न्यौपाने रहेका छन् । निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्न अध्ययन समितिले अध्ययन प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्नेछ । आर्थिक रुपमा निक्कै कमजोर रहेको निगमले जहाज खरिदबापतको करिब ५० अर्ब ऋणभार बहन गरिरहेको छ ।
बानेश्वरमा फेरिपनि आत्मदाहको प्रयास
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा फेरि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । नयाँ बानेश्वरस्थित ट्रलीबस स्टेसन नजिक ५० वर्षका प्रेम लामाले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हन् । ती व्यक्तिको प्रहरीले तत्काल उद्दार गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । उनलाई परिवार बोलाई जिम्मा लगाउने काम भइरहेको छ । आत्मदाहको प्रयास गर्नुमा पारिवारिक कारण रहेको देखिएको प्रहरीले जनाएको छ । यसअघि पनि बानेश्वरमै शरीरमा पेट्रोल छर्किएर आगो लगाएर आत्मदाह प्रयास गरेका इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको थियो । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।
नीतिगत समस्या समाधान गर्न प्रतिवद्ध : आपूर्तिमन्त्री रिजाल
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापनमा देखिएको नीतिगत समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताएका छन् । राष्ट्रिय विज्ञापन सघं नेपालको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले विज्ञापनसम्वन्धी नीति बनाएर नै सहयोग गर्ने बताए । उनले विदेशी सामान नेपालमा विक्रि हुने गरेपनि यसको विज्ञापन भने नगरेकाले यसलाई कानुनी दायरामा ल्याएर नेपालमा विज्ञापनमार्फत प्रचारप्रसार गराउन सरकारले सहयोग गर्ने बताए । मन्त्री रिजालले गत असोजमा गठित तदर्थ समितिका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले देशभरका विज्ञापन एजेन्सीको हितमा काम गरिरहेको बताए । उनले भने हामीले छोटो समयमा नै हाम्रो सदस्य एजेन्सीको समस्यालाई समाधान गर्न कुनै कसर बाँकी राखेका छैनौँ ।
माधव नेपाल भन्छन् : मिटरब्याज पीडितको अवस्था विकराल छ
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिटरब्याज पीडितहरुको अवस्था विकराल रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । समाजवादी सहकारी सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रममा समेत मिटरब्याजलाई सम्बोधन गरिएको बताए । नेता नेपालले सहकारीले आममानिसको हितमा काम गर्नुपर्ने उल्लेख गर्दै यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरुप सहकारी निजी र राज्य सम्मिलित तीन खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडी सारेको बताए । उनले समाजमा छरिएका स–साना पँुजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुेपर्नेमा जोड दिए ।

