आजदेखि निर्वाचन आयोगले पायो पूर्णता

काठमाडौँ, फागुन ५ । प्रमुख दलहरुबीच जेठभित्रै चुनाव गराउने तयारी भइरहेका बेला निर्वाचन आयोगले आज पुर्णता पाएको छ । संवैधानिक परिषदले सिफारिस गरेका तीन जना आयुक्तहरुले आज पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पुर्णता पाएको हो ।

राष्ट्रपति भवन शीतल निवासमा बिहान ११ बजे बिशेष कार्यक्रमबीच आयुक्तमा नियुक्त भएका ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार साहले पद तथा गोपनियताको सपथ लिए । तीनैजनाले आजै पदभार सम्हाल्नेछन् ।

दलीय भागबण्डाका आधारमा संवैधानिक परिषद्ले गत माघ १४ गते उहाँहरुको नाम आयुक्तमा सिफारिस गरेको थियो । पौडेल कांग्रेस, दाहाल एमाले र शाह नेकपा माओवादी केन्द्रको सिफारिसमा आयुक्त नियुक्त भएका हुन् ।

संसदीय सुनुवाई समितिले तीनै जनालाई निर्वाचन आयुक्तमा गत मंगलवार सर्वसम्मत अनुमोदन गरेको थियो । आयोगमा यसअघि प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्मामात्र कार्यरत थिए । आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित ५ जना पदाधिकारी रहने संवैधानिक व्यवस्था छ ।

आयोगले मतदानका लागि आगामी जेठ १ र २१ गतेको मिति तोक्न सरकारलाई सिफारिस गरेको छ । सरकारले यसअघि नै जेठमा निर्वाचन गर्ने गरी तयारी थाल्न आयोगलाई लिखित पत्राचार गरेपनि मिति भने घोषणा भएको छैन ।

३५ करोडकाे लाेभमा गुम्याे जीवनभरको कमाइ

काठमाडौं, फागुन ५ । डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जालमात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५ करोड कमाउन खोज्दा उनले दुई करोडको घर गुमाएका छन् । दक्षिण कोरियामा १७ वर्षदेखि काम गर्दै आएका गुरुङले विदेशकै कमाइले पोखरामा घर किनेका थिए । तर, रातारात करोडौँ कमाउन खोज्दा एकैपटक उनको वर्षौँको कमाइ गुमेको हो । ८६ करोड रुपैयाँको चिट्ठा परेको भन्दै एक युवकले उनको एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । उनको दुई करोड पर्ने घरसमेत अर्कैको हातमा पुगेको छ । लमजुङ घर भई महाराजगन्ज बस्ने सोयम ‘यमराज’ गुरुङले आफूलाई ८६ करोडको चिट्ठा परेको र त्यसको ३५ करोड रुपैयाँ दिने भन्दै उनको घरसमेत बेच्न लगाएर एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । सोयमलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । वृत्तका प्रमुख डिएसपी गोविन्द पुरीका अनुसार सोयमले आफू अन्तर्राष्ट्रिय फेसन डिजाइनर भएको भन्दै भ्रममा पारेर ठगी गरेका हुन् । अमेरिकाको अन्तर्राष्ट्रिय फेसन डिजाइनसम्बन्धी प्रतिस्पर्धामा आफू प्रथम भएको र ८६ करोड रुपैयाँ आउने भन्दै सोयमले बेलबहादुरलाई झुक्याएका थिए । सो पैसा नेपाल ल्याउन आफूलाई खर्च अभाव भएको भन्दै नाटकीय शैलीमा सोयमले ठगी गरेका हुन् । सोयमले दुई करोड सहयोग गरे ३५ करोड रुपैयाँ दिने बताएपछि बेलबहादुर लोभिएका थिए । सोहीअनुसार पोखरास्थित दुई करोड पर्ने घर गत असोजमा बिक्री गरी बेलबहादुरले सोयमलाई पैसा दिएका थिए । तर, सोयमले चिट्ठा परेर फेसन डिजाइनको प्रतिस्पर्धा जितेको कुरा गलत भएको र पैसा पनि फिर्ता नगरेपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । दुई साताअघि सोयमलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए । –नयाँ पत्रिका दैनिकबाट

मानवतस्करीको ट्रान्जिट बन्दै दक्षिणपूर्वी एसिया

काठमाडौं, फागुन ५ ।  अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोपलगायत विकसित राष्ट्र पुर्‍याइदिने प्रलोभनमा पारी मानवतस्कर र गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्‍याएर अलपत्र छाड्ने गरेको भेटिएको छ । नेपालीलाई ती राष्ट्रसम्म पुर्‍याउन उनीहरुले दक्षिणपूर्वी एसियालाई ‘ट्रान्जिट’बनाइरहेको समेत खुलेको छ ।  दक्षिणपूर्वी थुप्रै एसियाली राष्ट्रले नेपाललाई सहज रुपमा ‘भिसा’दिँदै आएका छन् । दक्षिणपू्र्वी एसियाली केही राष्ट्रले नेपालीलाई सुशल्क‘अनअराइभल’ भिसा दिँदै आएका छन् त केहीले निःशुल्क । मानवतस्करले यही सुविधाको फाइदा उठाउँदै नेपालीलाई सहज रुपमा ती देश पुर्‍याइ मोटो रकम असुलेर अलपत्र छाड्ने गरेको पाइएको छ ।  ‘मानवतस्करले कैयौ नेपालीलाई पर्यटक भिसामा दक्षिणपूर्वी एसियाली राष्ट्र ल्याई अमेरिका,अष्ट्रेलिया,क्यानडा,दक्षिण कोरिया,जापान,युरोप लगायत देशको भिसा लगाई ती राष्ट्रमा पठाइदिने प्रलोभनमा पाी ठग्दै आएको देखिएको छ ।’ थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले भने,‘तस्करहरुले दक्षिणपूर्वी एसियालाई ट्रान्जिट बनाएको देखिन्छ जसका कारण धेरै नेपाली यहाँ आइपुगेर ठगिने र अलपत्र पर्ने क्रम बढिरेहेको छ ।’ तस्करहरुले नेपालीसँग ८ देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेका छन् । मोटो रकम असुलेपछि भने अलपत्र छाडेर तस्करहरु भाग्ने गरेका छन् । नागरिक दैनिकबाट

१७ गतेदेखि पुराना गाडी चलाउन नपाइने

काठमाडौं, फाल्गुन ४ । फागुन १७ देखि सरकारले मुलुकभरबाट २० वर्षे पुराना ५ हजारभन्दा बढी सार्वजनिक सवारी साधनलाई हटाउने भएको छ । जसअनुसार उपत्यकाभित्रैैत्राट २५ सय र बाहिर त्यति नै संख्यामा सार्वजनिक गाडी विस्थापित हुने यातायात व्यवस्था विभागले जनाएको छ । विभागले २० वर्षे पुराना गाडी सडकमा गुडे र नगुडेको निगरानी गर्न विभागका निर्देशक चन्द्र फुँयालको संयोजकत्वमा ट्राफिक प्रहरीसमेत सम्मिलित १४ सदस्यीय निरीक्षण तथा अनुगमन समिति गठन गरेको छ । प्रत्येक क्षेत्रको यातायात अंचल कार्यालयलाई मापदण्डविपरीत चल्ने गाडीको निगरानी तथा अनुगमन गर्न निर्देशन दिइसकेको विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । २०७१ फागुन १८ मा राजपत्रमा प्रकाशित गरी सरकारले आगामी फागुन १७ देखि २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ ।

प्रेम प्रस्ताव अस्वीकार गर्दा छतबाट हामफालेर आत्महत्या

चितवन, फागुन ४ । प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् । प्रणय दिवसका दिन बेलुका फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा उनले युवतीले प्रस्ताव अस्वीकार गरेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन् । ‘कक्षा ९ मा पढ्दै आएकी ती किशोरी बसेको घरमा पुगेर प्रेम प्रस्ताव राखेको र उनले प्रस्ताव अस्वीकार गरेपछि तीनतले घरको छतबाटै हामफालेर आत्महत्या गरेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताएका छन् । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटना मङ्गलबार बेलुकाको भए पनि अहिलेसम्म शव अस्पतालमै रहेको र दुई पक्षबीच छलफल गरेर शव परिवारलाई बुझाइने बताइएको छ । अर्जुन श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएकी ती किशोरी भेट्न विकल त्यहीँ पुगेका थिए ।

विप्लव माओवादी समर्थित विद्यार्थीले जलाए क्याम्पस प्रमुखको कुर्सी

दमक, फागुन ४ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) चुनावविरुद्ध क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला फुटाएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका विद्यार्थीले बुधबार दमक बहुमुखी क्याम्पस प्रमुख उत्तम भट्टराईको कुर्सी जलाएका छन् । क्याम्पस प्रमुखको कुर्सी जलाउनेहरु फरार रहेकोले उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । त्यसअघि बुधबार बिहान निर्धारित मितिमै स्ववियु चुनाव गराउन दबाब दिँदै विभिन्न पाँच विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला फुटाएका थिए । नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, वैद्य निकट अखिल क्रान्तिकारी र नयाँ शक्ति निकट विद्यार्थी युनियनले ताला फुटाएका थिए । यसअघि स्ववियु निर्वाचन पूर्ण समानुपाति प्रणालीमा गर्न माग राख्दै विप्लव निकट अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलगायतका विद्यार्थीले ६ दिनअघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

सेनाको सहयोगमा निर्मित सेवाश्रमको उद्घाटन

काठमाडौं, फागुन ४ । नेपाली सेना कल्याणकारी कोषको सहयोगमा जेपी प्रतिष्ठान (मैत्री सेवाश्रम) ले निर्माण गरेका ‘ज्येष्ठ नागरिक ग्राम’को आज एक समारोहबीच प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरे । राजधानी नजिकैको शङ्खरापुर नगरपालिका–४ स्थित लप्सेफेदीमा निर्माण गरिएका उक्त ग्राममा कोषको सहयोगमा १० वटा सुविधायुक्त भवन निर्माण भएका छन् । सो अवसरमा प्रधानसेनापति क्षेत्रीले प्रतिष्ठानले ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य, सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने परिकल्पनाका साथ अघि बढाएको कार्य सह्रानीय छ भने । सेवानिवृत्त, स्वतन्त्र र शान्तमय जीवनयापन गर्न चाहनेलाई प्राकृतिक स्वच्छ वतावरणमा निर्माण गरिएको सुविधा सम्पन्न यस आश्रमले ज्येष्ठ नागरिलाई पुर्याउने सेवा पुज्यनीय हुने विश्वास व्यक्त गर्दे उनले भने– ‘यस स्थानको ऐतिहासिक, पौराणिक र धार्मिक महत्व समेत रहेको छ ।’ प्रधानसेनापति क्षेत्रीले ‘अहोरात्र राष्ट्रसेवकको रुपमा खटिई सेवानिवृत्त सैनिक व्यक्ति पनि हिताधिकारी बन्ने यो कल्याणकारी कोषअन्तर्गतको परियोजनामा भएको हुँदा यो सेवा आश्रम र नेपाली सेनाबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।’ प्राकृतिक स्वच्छ वातावरणमा निर्मित आश्रमले ज्येष्ठ नागरिकको मन जित्न सफल हुने बताउँदै उनले प्रतिष्ठानको पवित्र र सुन्दर समाजको परिकल्पनामा नेपाली सेनाले हातेमालो गर्दै कल्याणकारी कोषको माध्यमबाट आबद्ध हुने अवसर पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा पूर्व सचिव माधव रेग्मीले समाज, राष्ट्र र दिनदुखीका लागि निःस्वार्थ काम गर्ने व्यक्ति समाजमा कमै हुने बताउँदै प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले गरेको काम सबैका लागि अनुकरणाीय रहेको छ भने । प्रतिष्ठानका अध्यक्ष दाहालले कुनै पनि व्यक्तिमा रहेको गुणबाट समाज लाभान्वित नभएसम्म त्यस गुणको कुनै अर्थ नरहने बताउँदै मैत्री सेवाश्रमलाई देशकै नमुना मात्र नभई अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र बनाइनेमा जोड दिए । प्रतिष्ठानले उक्त स्थानमा सेनाको सहयोगमा १०, सरकारको सहयोगमा सार्वजनिक निजी साझेदारीमा नौ र चन्दा सहयोग उठाएर ११ गरी जम्मा ३० वटा भवन निर्माण गरेको छ । सरकारको अनुदान सहयोगमा निर्मित साढे चारतले ज्येष्ठ नागरिक (जेरियाट्रिक) भवनको मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको थियो । नेपालमा पहिलोपटक सामाजिक, परोपकारी एवम् नवीनतम सोचअनुरुप ज्येष्ठ वा अवकाशप्राप्त नागरिकको स्वतन्त्र र शान्तमय जीवनयापनका लागि प्राकृतिमैत्री वासस्थल तथा प्रदूषणमुक्त आहारविहार, बुढ्यौली स्वास्थ्य उपचार र बौद्धिक दक्षता एवम् सम्पत्तिको सिर्जना गर्ने उद्देश्यले मैत्रीआश्रम निर्माण गरिएको हो । विसं २०६९ बाट निर्माण सुरु गरिएको मैत्री सेवाश्रम १० वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसको कुल लागत रु पाँच अर्ब लाग्ने र हालसम्म रु १८ करोड खर्च भएको प्रतिष्ठानका अध्यक्ष दाहालले जानकारी ए । सबै भवन ज्येष्ठ नागरिक र अपाङ्गमैत्री छन् । जम्मा सङ्ख्याको २५ प्रतिशत असक्त असहाय ज्येष्ठ नागरिकलाई निःशुल्क तथा अवस्था र आर्थिक हैसियतका आधारमा निश्चित रकममा आश्रममा बस्न सकिनेछ । मैत्री सेवाश्रममा सुविधा सम्पन्न अस्पताल, पुस्तकालय, योगा ध्यान केन्द्र र पुस्तकालय निर्माण गरिनेछ । यसैबीच प्रतिष्ठानले मैत्री आश्रममै यही फागुन ३ देखि ११ गतेसम्म ‘माता पिता भक्ति भूमि पुजन ज्ञान महायज्ञ’ आयोजना गरेको छ ।

मोहन्याल गाविसमा सडकलगायतका पूर्वाधारको अभाव

धनगढी, फागुन ४ । द्वन्द्वकालमा कैलालीको मोहन्याल गाविसलाई चुरे क्षेत्रको राजधानी बनाउने आश्वासन पाएका स्थानीय जनता सडकलगायतका आधारभूत सेवा सुविधासम्म नपाउँदा अहिले निराश भएका छन् । आफू सत्तामा पुगेमा मोहन्याललाई चुरे क्षेत्रको राजधानी बनाउने आश्वासन तत्कालीन माओवादीले दिएकामा सत्तामा पुगेपछि उनीहरूले सबै कुरा बिर्सेका कारण स्थानीय जनता निराश बनेको गाविसका पूर्व अध्यक्ष खड्गबहादुर बुढामगरले बताए । कैलाली जिल्लाको विकट पहाडी क्षेत्रको मोहन्याल गाविस अहिलेसम्म सडक सञ्जालमा जोडिएको छैन । गाविसलाई सडक सञ्जालमा जोड्ने प्रयासस्वरुप २२ वर्ष अघि तराईको चौमालाबाट सडक निर्माण थालिए पनि अहिलेसम्म उक्त सडक निर्माण पूरा हुन सकेको छैन । चौमाला गाविसको चौमालाबाट मोहन्याल गाविसको मालिकासम्म सडक निर्माण कार्य विसं २०५१ मा सुरु गरिएकामा उक्त सडकको २१ किमी सडकको काम अझै अधूरो छ । मालिकादेखि कटुञ्जेसम्मको आठ किमी सडकको अवस्था पनि सुधार हुन सकेको छैन । मालिका नजिकै रहेको सिस्ने पहाडको चट्टान भत्काउन छुट्याइएको बजेट थोरै भएकोले यसवर्ष पनि मोहन्यालका बासिन्दाको सडकसँग जोडिने सपना अधूरै रहने देखिएको छ । सडक निर्माणको पहलस्वरुप दुई दशकदेखि जिल्ला विकास समितिको कार्यालयमा धाइरहेको भए पनि अझैसम्म सडक निर्माणका लागि उचित सुनुवाइ नगरिएको बुढामगरले बताए। स्थानीय पदम देउवाले विकासको पहिलो पूर्वाधार मानिने सडक निर्माणमा ध्यान नपुर्याउँदा यस क्षेत्रको समग्र विकासमा समस्या भएको बताएको छ । चुनावको समयमा दलका उम्मेदवारले मोहन्याललाई सडक सञ्जालसँग जोड्ने आश्वासन दिँदै मत माग्ने गरेकोमा चुनावपछि जित्नहरू पुनः फर्किएर नआउने गरेको गुनासो स्थानीयवासीको छ । हालै मोहन्याल गाविस पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भौगोलिक विकटताका कारण गाविसका जनताको जनजीवन अत्यन्त दयनीय र कष्टकर देखिएको बताए । जिल्ला विकास समिति कैलालीले यसवर्ष मोहन्याल सडकको निर्माणका लागि रु २५ लाख छुट्याएको बताइएको छ । धनगढीबाट झन्डै ६० किमीको दुरीमा रहेको यो गाविस क्षेत्रमा सडक सञ्चार लगायतका आधारभूत सुविधा अझै पुग्नसकेको छैन ।

डडेल्धुरा जीप दुर्घटनामा मृतक संख्या ६ पुग्यो, दुईको सनाखत

डडेल्धुरा, ४ फागुन । भागेश्वर गाविससबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप आज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक उक्त जीप दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परेर पाँच जनाको घट्नास्थलमा तथा एक जनाको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । दुर्घटनामा परेर भागेश्वर ८ का लक्ष्मण भट्ट र गणेश सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ४ जनाको सनाखत हुन सकेको छैन ।

डडेलधुरामा जीप दुर्घटना हुँदा पाँचको मृत्यु, ६ जना घाइते

डडेलधुरा, फागुन ४ । डडेलधुरामा आज मध्यान्ह भएको जीप दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ८३३ नम्बरको जीप अमरगढी ३ ठूलोखोलामा दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् । दुर्घटनाको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । दुर्घटनाका मृतकको सनाखत हुन सकेको छैन । तस्वीर सांकेतिक

साझाले उपत्यकामा रात्रीकालीन बस चलाउने, यस्तो छ समय र रुट

ललितपुर, फागुन ४ । साझा यातायातले राति काम गर्ने र अस्पताल जानेलाई लक्षित गरी उपत्यकाका पाँच रुटमा परीक्षणका रुपमा रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ। मङ्गलबार रातिदेखि अस्पताल क्षेत्रलाई मध्यनजर गर्दै लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल–वीर अस्पताल–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज–गङ्गालाल अस्पताल–बाँसबारी न्यूरो अस्पताल पुगेर सोही मार्गबाट लगनखेल फर्कने छ। दोस्रो रुट न्यूरोडस्थित नेपाल वायुसेवा निगम अघिबाट बानेश्वर–कोटेश्वरसम्म, तेस्रो रुट नेपाल वायुसेवा निगमबाटै कालीमाटी हुँदै कलङ्की, चौथो रुट न्यूरोडबाट ठमेल–सोह्रखुट्टे हुँदै नयाँबसपार्कसम्म र पाँचौँ रुट न्यूरोड गेटबाटै नयाँबानेश्वर–एयरपोर्ट–गौशाला हुँदै चाबहिलसम्म सञ्चालन सुरु भएको छ। रात्रिकालीन बस सेवा सञ्चालनका लागि जहाँबाट चढेर जहाँ झरे पनि रु २५ भाडा कायम गरिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। सेवा राति साढे आठ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। बसमा सिसीटिभी र टेलिभिजनको पनि व्यवस्था गरिएको साझा यातायातले जनाएको छ।

अपराधको राजनीतिकरण विष सरहः सर्वोच्च

काठमाडौं,फागुन ४ । सर्वोच्च अदालतले गम्भीर प्रकृतिका फौजदारी मुद्दाहरू जथाभावी फिर्ता लिएर ‘फौजदारी न्यायप्रणालीमा राजनीतीकरण गर्न नहुने’ मान्यता स्थापित गरेको छ । द्वन्द्वकालीन राजनीतिक प्रतिशोधका मुद्दाका नाममा धमाधम गम्भीर प्रकृतिका फौजदारी मुद्दाहरू फिर्ता लिने सरकारको निर्णयलाई गलत ठहर्‍याउँदै सर्वोच्चले ३९ वटा मुद्दा फिर्ता लिने सरकारी निर्णय उल्ट्याएको छ । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहित न्यायाधीशहरू सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको संवैधानिक इजलासले गम्भीर प्रकृतिका फौजदारी मुद्दाहरूलाई राजनीतिक संरक्षणका लागि फिर्ता गर्न नहुने ठहर्‍याएको हो । २०६८ फागुन १५ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट ३ सय ६७ जना प्रतिवादी रहेका ३९ फौजदारी मुद्दा फिर्ता लिने निर्णय गर्‍यो । कानुन मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको मुद्दा फिर्तासम्बन्धीे प्रस्तावमा भनिएको थियो, ‘२०५२ फागुन १ देखि २०६३ मंसिर ५ मा शान्ति सम्झौताको मितिको अघिसम्म द्वन्द्वको समयमा विभिन्न अदालतमा दायर भएका मुद्दाहरू शान्ति प्रक्रियालाई अघि बढाउन र शान्ति सम्झौताको व्यवस्था कार्यान्वयन गर्न फिर्ता लिन आवश्यक देखिएकाले ।’ मुद्दा फिर्ता लिने निर्णय भने सरकारले गोप्य राख्यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको उक्त मितिको मन्त्रिपरिषद् निर्णयमा ‘मुद्दा फिर्ता ’को विषय समावेश थिएन । फिर्ता हुने सूचीमा रहेका सबै मुद्दा सशस्त्र द्वन्द्वसँग सम्बन्धित थिएनन् । सरकारले मुद्दा फिर्ता लिनुको कारण र आधारबारे केही खुलाएको पनि थिएन । कतिपय त संगीन फौजदारी अभियोगका मुद्दाहरू थिए। कान्तिपुर दैनिकबाट

साझा बस अब राती पनि पाईने

काठमाडौं, ४ फागुन । साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रीकालिन बस सेवा सुरु गरेको छ । साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एउटारएउटा बस सञ्चालनमा ल्याएको छ । साझाका अनुसार एउटा बस अस्पताल क्षेत्रलाई मध्यनगर गरि लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल– बीर अस्पताल–महारागञ्ज टिचिङ–बासबारी गंगालाल–न्युरो अस्पताल रुटमा सञ्चालनमा ल्याइएको छ । आजको कान्तिपुरमा खबर छ– बाँकी ४ वटा बस न्युरोडबाट नयाँ बानेश्वर–कोटेश्वर, मैतीदेवी–पुरानो बानेश्वर–गौशाला–चाबहिल, त्रिपुरेश्वर–कालीमाटी–कंलकी र ठमेल–सोह्रखुट्टे–नयाँ बसपार्क रुट सञ्चालन गरिएको छ । साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डले रात्रीकालिन सेवा भएकाले यात्रु जँहा झारे पनि २५ रुपैया भाडा लिइने जानकारी दिए । ‘बन्द, हडताल, चाडपर्व पनि बस सुचारु राखिनेछ,’ उनले भने । साझाले फागुन १ मा १० वटा डिलक्स र एउटा नमुना सेमी लो फ्लोर बस खरिद गर्न बोलपत्र आह्वान गरिसकेको छ । यी ११ बस ६ महिनामा खरिद गरेर सञ्चालनमा ल्याउने योजना रहेको जानकारी पाण्डेले दिए । ‘बस थप्नका लागि आर्थिक स्रोत जुटाउन काठमाडौं महानगरपालिकासँग थप ५ करोड रुपैयाको शेयर बिक्री गर्ने सम्झौता भएको छ’ उनले भने । यसअघि महानगरपालिकाले १० करोड रुपैया शेयर खरिद गरिसकेको छ । सेमी लो फ्लोर बस समथर सडकमा चल्छ । बस सममान्यतया अन्य भन्दा महंगो हुन्छ । बसमा चढ्न र ओर्लन अपांगता भएका व्यक्ति, अशक्त र बिरामीहरुलाई लिफ्टको जरुरत नपर्ने साझाले जनाएको छ । पछिल्लो समय सञ्चालनमा ल्याइएका अपांगमैत्री बस म्यानुअल लिफ्टको थियो । उपत्यका बाहिर लामो दुरीमा साझाका ६ वटा बस सञ्चालनमा छन् । काठमाडौ–९बागलुङ, बीरगञ्ज र भैरहवा चल्ने बसमा २० प्रतिशत भाडा छुट गरिएको छ । प्रमुख कार्यकारी अधिकृत पाण्डेले उपत्यकामा चल्ने बसमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था गर्न स्मार्ट ट्राभल कार्डको परीक्षण अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘सुरुमा लगनखेल–नयाँबसपार्क चल्ने १० वटा गाडीमा मेसिन जडान गरिनेछ,’ उनले भने, ‘सर्वसाधारणले केही दिनमै बस चढदा स्मार्ट कार्डबाट भाडा तिर्न सक्नेछन् ।’ यात्रुले बसको ढोकामा राखिएको डिभाइसमा कार्ड सेन्सर गराएपछि भाडाबापतको रकम आफैं काटिनेछ । कार्ड रिचार्ज गर्न सहचालकलाई रकम बुझाएर वा साझाको कार्यालयमा सम्पर्क गर्न सकिने साझाले जनाएको छ । भाडाबापत काटिएको रकम साझाको नेपाल राष्ट्र बैंकस्थित खातामा जम्मा हुनेछ ।

मधेसी मोर्चाले नमाने पनि जेठमा चुनाव हुने

काठमाडौं, फागुन ४ । प्रमुख दलका शिर्ष नेता जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्दोलनरत मधेसी मोर्चा सहमितमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन गरी अघि बढ्ने निष्कर्षमा पुगेका छन् । सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्ष उनीहरु पुगेका छन् । प्रमुख दल कांग्रेस,एमाले र माओवादीबीच मंगलबार शीर्ष तहमा छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन ८ भित्रै स्थानीय चुनाव मिति घोषणा गर्ने निश्कर्षमा पुगेको श्रोतको भनाइ छ । मधेसी मोर्चासँग एकपटक अन्तिम छलफल गरी चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री निकट श्रोतले बताएको छ । मंगलबार बिहान राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई बोलाई निर्वाचनबारे छलफल गरेकी थिइन् । नागरिक दैनिकबाट

साझाले रात्रीकालीन सेवा सुरु गर्ने

काठमाडौं, फगुन ४ । साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रीकालिन बस सेवा सुरु गरेको छ । साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एक – एक बस सञ्चालनमा ल्याएको छ । साझाका अनुसार एउटा बस अस्पताल क्षेत्रलाई मध्यनगर गरि लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल– बीर अस्पताल–महारागञ्ज टिचिङ–बासबारी गंगालाल–न्युरो अस्पताल रुटमा सञ्चालनमा ल्याइएको छ । बाँकी ४ वटा बस न्युरोडबाट नयाँ बानेश्वर–कोटेश्वर, मैतीदेवी–पुरानो बानेश्वर–गौशाला–चाबहिल, त्रिपुरेश्वर–कालीमाटी–कंलकी र ठमेल–सोह्रखुट्टे–नयाँ बसपार्क रुट सञ्चालन गरिएको छ । साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डले रात्रीकालिन सेवा भएकाले यात्रु जँहा झारे पनि २५ रुपैया भाडा लिइने जानकारी दिए । ‘बन्द, हडताल, चाडपर्व पनि बस सुचारु राखिनेछ,’ उनले भने । साझाले फागुन १ मा १० वटा डिलक्स र एउटा नमुना सेमी लो फ्लोर बस खरिद गर्न बोलपत्र आह्वान गरिसकेको छ । यी ११ बस ६ महिनामा खरिद गरेर सञ्चालनमा ल्याउने योजना रहेको जानकारी पाण्डेले दिए । ‘बस थप्नका लागि आर्थिक स्रोत जुटाउन काठमाडौं महानगरपालिकासँग थप ५ करोड रुपैयाको शेयर बिक्री गर्ने सम्झौता भएको छ’ उनले भने । यसअघि महानगरपालिकाले १० करोड रुपैया शेयर खरिद गरिसकेको छ । कान्तिपुर दैनिकबाट

अनशनकारीहरूको पक्षमा नयाँ शक्तिले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौँ, फागुन ३ । बृहत्तर जनकपुर क्षेत्रको विकासका लागि विभिन्न माग राखी विगत १३ दिनदेखि अनशनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै नयाँ शक्ति नेपालले आज एक विज्ञप्ति जारी गरेको छ । पार्टीको अनशनरत रामकुमार शर्मा तथा कलामुद्दिन राइनको मुद्दाप्रति सरकारले तत्काल सम्बोधन गर्नुपर्ने माग गर्दै सो विज्ञप्ति सार्वजनिक गरेको पार्टीका प्रवक्ता खिमलाल देवकोटाले बताएका छन् । अनशनकारी शर्मा र राइनलगायतको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भइसकेको भन्दै प्रवक्ता देवकोटाले माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत ध्यानकर्षण गराइएको बताए । नयाँ शक्तिले वार्ता र संवाद मार्फत जायज मागको सम्बोधन गर्नसमेत आग्रह गरेको छ ।