चितवन क्षेत्र नं. २ मा विवाद हुँदा मतदान प्रभावित
चितवन । चितवन विवाद हुँदा दुई केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो ।
कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।
सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले बताए । यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो ।
बारामा हस्ताक्षर नभएको मतपत्रसहित जसपाका कार्यकर्ता पक्राउ
जनकपुरधाम । बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतदान जारी छ । एउटा मतदान केन्द्रबाट जनता समाजवादी पार्टी ९जसपा० का कार्यकर्ता पक्राउ परेका छन् । बाराको देवताल गाउँपालिका–७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट रामसागर यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँग दुई वटा मतपत्र भेटिएको हुनाले अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका यादवसँग मतदान अधिकृतको हस्ताक्षर नभएको दुई वटा मतपत्र भेटिएको थियो । उनी जिल्ला समन्वय समितिका सदस्यसमेत छन् । यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्रमा केही समय मतदान रोकिएको थियो । तर उनलाई प्रहरीले नियन्त्रण लिएर पुनः मतदान सुरु गरेका छन् ।
जोरधारामा बस दुर्घटना : एक महिलाको मृत्यु, १८ जना घाइते
पाल्पा । पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। घाइते १८ जनाको उद्धार गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको उनले बताए। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। बस भीरमा अड्किएको अवस्थामा छ। अन्य यात्रुको उद्धार भइरहेको छ। यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका ट्राफिक प्रहरीका सहायक हबल्दारको निधन
धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा म्भीर घाइते भएका ट्राफिक प्रहरीका सहायक हबल्दार जनक धामीको निधन भएको छ । बिहीबार साँझ धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा आफैंले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धामी गम्भीर घाइते भएका थिए। मेट्रो अस्पतालमा उपचाररत धामीको शनिबार राति मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र जोहोरीले जानकारी दिए । बिहीबार साँझ करीब ७ बजेको समयमा राजपुरमा सवारीसाधन चेकिङका लागि गइरहेका बेला गाईसँग ठोक्किएर धामी दुर्घटनामा परेका थिए ।
बारामा जसपा, एमाले र रास्वपाका उम्मेदवारले मत हाल्न नपाउने
बारा । बारा २ मा भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् । यादव सप्तरी–२ का मतदाता हुन् । त्यसै गरी पुरुषोत्तम पौडेल बारा–३ र रमेश खरेल काठमाडौँ–१ का मतदाता हुन् । बार २ मा ३४ जना उम्मेदवार छन् । जसमध्ये १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार आएको छ । भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुँदै आएको हो । पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। मुटुमा जमेको पानीमा संक्रमण फैलिए पछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनी बुधवार देखी त्यहाँ उपचाररत रहेका छन् । स्वास्थ्यमा सुधार आए पनि उपचार पछि कहिले स्वदेश फर्कने हो त्यो भने अझै टुंगो नलागेको दुतावास स्रोतले जनाएको छ ।
लामिछाने र न्यौपाने मताधिकार प्रयोग गर्नबाट बञ्चित
चितवन । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । लामिछाने रास्वपाबाट उम्मेदवार छन् भने न्यौपाने एमालेका उम्मेदवार हुन् । यस्तै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् । चितवनमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ।
उपनिर्वाचन : तीनवटै निर्वाचन क्षेत्रमा मतदान सुरु
काठमाडौं । उपनिर्वाचन अन्तर्गत देशका तीनवटै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ । सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको हो । प्रक्रियाको क्रममा कतिपयमा दुई–चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको उनले बताए । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका छन् । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । यहाँ रास्वपाबाट लामिछाने, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन् । त्यस्तै, तनहुँ–१ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त भएपछि सो स्थानमा पनि आज उपनिर्वाचन हुन लागेको हो । तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्बेन्द्र खनाल प्रतिस्पर्धामा छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार शान्तिपूर्णरूपमा मतदान भैरहेको छ । त्यस्तै, बारा–२ बाट निर्वाचित उपराष्ट्रपति बनेसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । यहाँ जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत उम्मेदवार छन् । तीनै निर्वाचन क्षेत्रमा निर्वाचनका कारण अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।
परराष्ट्रमन्त्री साउदसँग बेलायती राजदूतको भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । बिहीबार परराष्ट्र मन्त्रालयमा राजदूत पोलिटले मन्त्री साउदसँग भेटवार्ता गरेकी हुन् । उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन तथा आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नव नियुक्त परराष्ट्रमन्त्री साउदसँग यसअघि भारत, अमेरिकालगायत देशका राजदूतले भेटेरै बधाई दिइसकेका छन्।
सम्झौता कार्यान्वयन नभए सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी
काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरे काठमाडौंको फोहोर विसर्जन हुँदै आएको क्षेत्रका यी दुई पालिकाले १५ दिनभित्र यसअघि भएका सहमति र सम्झौताको कार्यान्वयन नभए फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् । धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामाले संयुक्त विज्ञप्ति जारी गर्दै गत जेठमा सरोकारवालासँग भएको सहमति र सम्झौता कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम दिएका छन् । यसैबीच प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरी मुआब्जा दिनुपर्ने, फोहोरमैलाका कारण न्यून प्रभाव पार्ने गरी फोहोरबाट निस्किएको लिक्विडको व्यवस्थापन गर्नुपर्नेलगायतका माग गरेका छन् । ककनी र धुनिवेशीका वडाहरूमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास तथा रोजगारीका योजनाहरू सञ्चालन हुनुपर्ने उनीहरूको माग रहेको छ । हेर्नुस ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले संयुक्त जारी गरेको विज्ञप्ति
झारफुकका नाममा यातना दिने माता थुनामा
भैरहवा । झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी माता (सोनिया रेश्मी)लाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा डेढ महिनाअघि माता भनिने सोनिया रेश्मीले बालिकालाई रोग निको पार्ने भन्दै झारफुकका नाममा यातना दिदा वडा नम्बर १० फुलबारी टोल निबासी १४ वर्षीया सीता ज्ञवालीको मृत्यु भएको थियो । जिल्ला अदालतले उक्त घटनामा संलग्न माता सोनियालाई थुनामा राख्न आदेश दिएको हो । सैनामैना नगरपालिका वडा नम्बर १० फुलबारी टोल निबासी १४ वर्षीया सीता ज्ञवालीको यातनाका क्रममा मृत्यु भएको थियो । घटना लगत्तै प्रहरीले मातासहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार जिल्ला अदालतले अरु १७ जनालाई भने धरौटी र साधारण तारेखमा छोड्न आदेश दिएको छ । प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेकी माता भनिने सोनियासहित बाबु तारा ज्ञवाली र आमा लिला छिमेकी तथा आफन्त गरी १८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।
कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
सुर्खेत । कर्णालीका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका हुन् । यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् । उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । २८ पुसका नेकपा एमाले–माओवादीबीचको सहमति अनुसार सो मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय गरेको थियो । तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटै मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै राज्यमन्त्री रहेकी विश्वकर्मा जलस्रोत तथा उर्जा मन्त्री बनेकी हुन् । बुधबार हुने भनिएको शपथ रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए। आज बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेको थियो।
भेरी नदीमा निर्माण भैरहेको बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु
सुर्खेत । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा दुई जना श्रमिकको मृत्यु भएको छ भने ८ जना घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ । रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईका अनुसार गम्भिर घाइते ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने तयारी भइरहेको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको ज्यान गयो
काठमाडौं । सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी गौशाला नगरपालिका ११ भरतपुर बस्ने २९ वर्षका श्रवणकुमार महतो र मोटरसाइकलमै सवार १२ वर्षका विक्रमकुमार महतो रहेको प्रहरीले जनाएको छ । आज बिहान सवा ७ बजे भएको दुर्घटनामा दुवै जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २–०३–००१ ख ८१५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
काठमाडौं । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख रुपैयाँ ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडित सम्पर्कमा आएका र उनीहरूले पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन् । कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा बुझाइसकेको छ । उनीहरूको मिलेमतोमा ०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायत जिल्लाका नागरिकाबट करोडौँ रकम ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । यसरी ठगीमा ८१ जना परेका छन् । अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ । पीडितले फाराम भर्न मात्र १५ देखि २० लाख रुपैयाँ तिरेको तथ्य प्रहरीले फेला पारेको थियो । रासस
सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेता आज बारा र चितवन जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेता आज बारा जाँदै छन् । बारामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर महागढीमाई जान लागेका हुन् । गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मत माग्नका लागि गठबन्धनमा रहेका प्रमुख दलका नेता बारा जान लागेका हुन् । बारा–२ मा आज बृहत् चुनावी सभा राखिएको छ । बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचनमा गठबन्धनबाट यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल लगायतका उम्मेदवार छन् । त्यसैगरी उनीहरूले आज नै तीन बजे चितवन क्षेत्र नम्बर २ को चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेताहरूले चितवनको पदमपुर क्यापस नजिक गठबन्धनको चुनावी सभामा संयुक्त सम्बोधन गर्नेछन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता जितनारायण श्रेष्ठको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू चितवन आउन लागेका हुन् । रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । उनको नागरिक्ता सम्बन्धि मुद्धामा अदालको आदेश पछि सो निर्वाचन क्षेत्र रिक्त हुन पुग्यो र अहिले उपनिर्वाचन हुन लागेको छ । रवि लामिछाने पनि पुनः निर्वाचनमा सोहि क्षेत्रबाट चुनाव लडेका छन् ।

