विद्यालयलाई दश लाख सहयोग

म्याग्दी, फागुन ७ । म्याग्दीको देवीस्थानस्थित भिम माविलाई एकै परिवारले रु.१० लाखभन्दा बढी नगद सहयोग गरेका छन्। देवीस्थान–२ का धाजेन्द्र, विश्व, सुरेन्द्र र वीरेन्द्र तुलाचनले दिवङ्गत बुबा गङ्गाबहादुर तुलाचनको स्मृतिमा सो विद्यालयलाई रु.१० लाख २५ हजार सहयोग गरेको हो ।

विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा सहयोगदातालाई सम्मान गर्दैै स्थानीय तमबहादुर पुर्जाले तुलाचन परिवारको सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

उक्त सहयोग रकम कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गर्न परिचालन गर्ने विधालयका प्रअ डम्मरबहादुर घर्तीले बताउनुभयो ।

ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ महिलाको ज्यान गयो

काठमाडौं, फागुन ६ । काठमाडौंको बालाजु माछापोखरी सडकखण्डमा शुक्रबार मध्यान्ह १२ बजेतिर ना ५ ख ८४६५ नम्बरको ट्रकले बा ७७ प ३२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुई जनाको महिलाको ज्यान गएको छ । स्कुटर चालक, मकवानपुर मनहरीकी ३८ वर्षकी रीमाकुमारी राई र स्कुटर पछाडी बसेका धादिङ खाल्टेका ३५ वर्षकी सोनिया थापाको उपचारको क्रममा शिक्षण अस्पताल महारजगंजमा ज्यान गएको हो। ट्रक महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकोले खोजी भैरहेको प्रहरीले जनाएको छ । फोटोः नबराज भट्टको वालबाट

मानसरोवर क्याम्पसमा स्ववियु निर्वाचन नहुने !

हुम्ला, फागुन ६ । विद्यार्थी संख्या नपुगेपछि सिमकोटमा रहेको मानसरोवर बहुमुखी क्याम्पसमा स्तन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नहुने भएको छ । त्रिविले बिहिबार स्ववियु चुनावको नयाँ मिति फागुन १८ गतेलाई निर्धारण गरेको छ तर यस क्याम्पसमा विद्यार्थी भर्ना संख्या न्युन रहेकोले स्ववियु चुनाव नहुने भएको बताइएको छ । मानविकी र शिक्षाशास्त्र संकाय विषयमा अध्यापन हुँदै आएको यस क्याम्पसमा निर्वाचनका लागि आवश्यक गणपुरक संख्या नपुगेकाले निर्वाचन नहुने क्याम्पस प्रमुख बसन्त रोकायाले बताए । क्याम्पसमा जम्मा ६० जनामात्र विद्यार्थी भर्ना भएको जनाइएको छ । जिल्लाको एक मात्र सामुदायिक क्याम्पसमा स्नातक तहको तीनै तहमा भर्ना संख्या न्युन रहेकोले चुनाव हुने भएको हो । क्याम्पसमा एमाले अखिल, नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) गरी तीनवटा विद्यार्थी संगठन अस्तित्वमा रहेपनि उम्मेद्वार व्यक्तिको प्रस्तावक समर्थक संख्या नपुगेकोले निर्वाचन नहुने जनाइएको छ ।

बैतडीको मल्लादेहीमा फलाम खानीको अध्ययन सुरु

बैतडी, फागुन ६। खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा रहेको फलाम खानीको प्रारम्भिक अध्ययन गरेकोे छ । दुई दिन लगाएर गरिएको अध्ययनले मल्लादेहीको अल्याडी क्षेत्रमा फलाम रहेको पुष्टि भएको अध्ययन टोलीमा संलग्न भूगर्भविद् सन्तोष ढकालले राससलाई जानकारी दिनुभयो । “सयौँ वर्ष पहिले पनि फलाम निकालिएको पाँचसयभन्दा बढी खाल्डा छन्”, उहाँले भन्नुभयो, “रातो रातो रङ्गको चटटनमा चुम्बक राख्दा फलाम तानिएकाले त्यहाँ फलाम रहेको पुष्टि हुन्छ ।” सयौँ वर्ष पहिले फलाम निकाल्ने गरेको र ती खाडल आठदेखि १० मिटर गहिराइमा रहेका समेत उहाँले बताउनुभयो । “खाल्डो पुरिन थालेका छन्”, भूगर्भविद् ढकालले भन्नुभयो, “बाहिरी आँखाले नदेखिने भएकाले थप अध्ययन गर्ने तयारी भएको छ ।” दुई दिनको प्रारम्भिक अध्ययनपछि फलाम खानी भएको प्रमाणित गरेर त्यस क्षेत्रको अन्य चट्टानको अध्ययनमा टोली लागेको विभागका अर्का भूगर्भविद् प्रकाश पोखरेलले बताउनुभयो । “एक किलोमिटर क्षेत्रमा सयौँको सङ्ख्यामा रहेका खाडल आधा पुरिएका छन्”, उहाँले भन्नुभयो, “पहिले फलाम निकाल्न प्रयोग भएका धेरै खाडल अहिले प्रयोगविहीन अवस्थामा छन् ।” खानी विभागले विभिन्न चरणका अध्ययन गर्ने लक्ष्य लिएकाले अर्को वर्ष यस क्षेत्रको जमिनमुनिको फलामको मात्रा पनि थाहा हुने दाबी गरेको छ । ती खाल्डाबाट आजभन्दा पचास वर्षअघि सम्म बैतडीको मल्लादेहीमा कुनै यान्त्रिक प्रयोग बिना, हातैले उत्खनन गरेर फलाम उत्पादन गरिएको भूगर्भविद प्रकाश पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बाजेको पालाका त्यही खानीबाट निकालेको फलामबाट बनेका भाँडाहरु भेट्टिए ।” उत्तरपट्टि फर्केको पाटोमा खानी रहेको बताउँदै भूगर्भविद पोखरेलले अध्ययनका क्रममा अल्याडी क्षेत्रमा एक ठाउँमा देखापरेको चट्टानमा फलाम खानी रहेको र बैतडीमा यस्ता धेरै खानी हुन सक्ने समेत बताउनुभयो । खानी विभागको टोली त्यही ठाउँमा शिविर बनाएर दुई दिन बस्यो र फलाम खानीको अध्ययन अघि बढाएको हो । भूगर्भविदले यो क्षेत्रमा खानी रहेको प्रमाणित भएपनि कच्चा पदार्थको मात्रा कति छ भन्ने अर्को विस्तृत अध्ययनपछि मात्र थाहा हुने बताएका छन् । खानी विभागले विभिन्न चरणका अध्ययन गर्ने लक्ष्य लिएकाले चैत महिनासम्म पुनः यस क्षेत्रको जमिनमुनिको फलामको मात्रा पनि थाहा हुने भूगर्भविद्ले दाबी गरेका छन् । आजभन्दा झन्डै पचास वर्षअघि सम्म बैतडीको मल्लादेहीमा कुनै यान्त्रिक प्रयोग बिना, हातैले उत्खनन गरेर फलाम उत्पादन गरिएको कुरा अहिलेसम्म सुन्नमा मात्रै आएको थियो । त्यही खानीबाट उत्खनन गरेको फलामबाट निर्मित केही घरेलु प्रयोजनका सामग्री देख्न पाइए पनि त्यसको ठोस प्रमाण केही थिएन । तर खानी तथा भूगर्भ विभागले केही दिनअघि गरेको अध्ययनपछि मल्लादेहीमा फलाम खानी रहेको प्रमाणित भएको छ । विस्तृत अध्ययन हुनुपर्ने माग झट्ट हेर्दा कुनै विद्रोही समूहको बङ्करजस्तै अनुमान गर्न सकिने ती गहिरा खाडल त्यही खाडल हुन् जहाँबाट सयौँ वर्षअघि स्थानीयवासीले फलामको धाउ निकाल्ने गर्दथे । जताततै खाल्डाखुल्डी देखिन्छन् । त्यहाँ ठूला खाल्डा खनिएका छन् । जयपृथ्वी बहादुरसिंह राजमार्गअन्तर्गत बैतडीको ढोल्यामोडबाट पुरचौडी हाट जाने कच्ची सडक हुँदै १७ किलोमिटर हिँडेपछि कोटिलाको रुइनचौर पुगेपछि पश्चिम हुँदै त्यहाँको प्रसिद्ध डिलासैनी मन्दिरलाई दायाँ पार्दै दक्षिणतर्फ लाग्यो भने एक घन्टामा मल्लादेहीमा रहेको उक्त फलाम खानीमा पुग्न सकिन्छ । स्थानीय बासिन्दाले पनि लामो समयदेखि फलामखानीको अध्ययनका लागि खानी विभागलाई गुहार्दै आएका थिए । अहिले आएर खानी तथा भूगर्भ विभागले प्रारम्भिक अध्ययन गरेको हो । खानी विभागको अध्ययनपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् भने प्रारम्भिक अध्ययन मात्रै नभएर यसको विस्तृत अध्ययन हुनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ । मल्लादेही–१ का रामबहादुर बोहराले त्यही खाल्डोबाट आफ्ना बाबुबाजेले फलाम निकालेको बताउनुभयो । “त्यसै खाल्डोबाट घरायसी हतियारले फलाम निकालेर हँसिया, बाउसो बनाएको अझै आफूलाई सम्झना छ”, उहाँले भन्नुभयो, “त्यही खानीबाट निकालेको फलाम मेरो घरमा अझै पनि छ ।” फलामको टुक्राले आगो बाल्ने गरेको समेत उहाँले बताउनुभयो । पुरचौडीको मल्लादेहीमा रहेको यो फलामखानीबारे पटकपटक आवाज उठाउँदै आएपनि यसका बारेमा खासै सुनुवाइ नभएको स्थानीयवासी जयबहादुर धामीले बताउनुभयो । “यस खानीको विस्तृत अध्ययन गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “यस क्षेत्रको आर्थिक समृिद्घका लागि यो खानी सञ्चालनमा आउनुपर्छ ।” खानी तथा भूगर्भ विभागको एक टोलीले बैतडीको जमाडीगाड र सुर्नयागाड नदी क्षेत्रलगायत मल्लादेही, कोटिला, भूमिराज, कुवाकोट, विजयपुर, शङ्करपुरमा भौगर्भिक सर्वेक्षण गरेको छ । भौगर्भिक सर्वेक्षणपश्चात् प्रारम्भिक प्रतिवेदन भूगर्वविद्ले खानी तथा भूगर्भ विभागमा बुझाउने भएका छन् । प्रारम्भिक प्रतिवेदन बुझाइसकेपछि भूगर्भविद्को टोली एक महिनापछि चैतमा फेरि भौगर्भिक सर्वेक्षणका लागि बैतडी आउने भएको छ । रासस फाइल तस्वीर

बहुविवाह गर्नेलाई महिनामात्रै सजाय !

काठमाडौं, फागुन ६ । नेपाली कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । यस्तो अपराध गर्नेलाई हदैसम्मको सजाय गर्नुपर्ने भन्दै विभिन्न समयमा महिला अधिकारवादीका आवाज निकै चर्को रूपमा सुनिन्छ । तर, व्यवस्थापिका संसद्को विधायन समितिमा भने महिला सांसदहरूसमेत बहुविवाह गर्नेलाई हदैसम्मको कारबाही गर्ने कानुन बनाउने पक्षमा देखिँदैनन् । मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्युनतम एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय गर्ने व्यवस्था छ । तर, यसलाई विस्थापित गर्न बनाइँदै गरेको देवानी संहितामा भने बहुविवाह गर्नेमाथि सजायको दायरा बढाइए पनि न्युनतम हद तोकिएको छैन । प्रस्तावित विधेयकमा अधिकतम पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानामात्र प्रस्तावित छ । सांसदहरूले यस सजायको न्यूनतम हद तोक्न गरेको आनाकानीले बहुविवाह गर्नेलाई तजबिजी अधिकार प्रयोग गरी एक महिनामा समेत छाड्न मिल्ने व्यवस्था गरिएको हो । कानुनमा सजायको व्यवस्था गर्दा न्यूनतम हद तोक्ने प्रचलनविपरीत बहुविवाह गर्नेलाई प्रभाव र पहुँचको आधारमा कम सजाय दिलाउ सकिने गरी न्यूनतम हद नतोकिएको हो । नयाँ प्रस्तावित व्यवस्थामा बहुविवाह गरेमा वा गराउने कार्य गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद हुने र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । न्यूनतम सजायको व्यवस्था नै नगरी पाँच वर्षसम्म कैदको व्यवस्था गरेकाले बहुविवाह गर्नेलाई एक महिनासम्म जेल राखेर पनि छाडिदिन मिल्ने विधायन समितिका सदस्य रामनारायण विडारीको दाबी छ । मुलुकी ऐनको यसअघिको व्यवस्थाभन्दा पनि कमजोर सजाय नयाँ प्रस्तावित विधेयकमा गरिएकोे भन्दै उनले विरोध गरेका छन् । राजधानी दैनिकबाट

नयाँ नेपालमा पुरानो मधेस हुनुहुँदैन– भारतीय पूर्वराजदूत

काठमाडौं, फागुन ६ । नेपालका लागि भारतीय पूर्वराजदूत शिवशंकर मुखर्जीले नयाँ नेपालमा मधेस पुरानै रहोस् भन्ने मान्यता व्याप्त रहेसम्म नेपालमा प्रजातन्त्र संस्थागत नहुने चेतावनी दिएका छन् । जनकपुरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराजदूत मुखर्जीले अहिले नेपालको राजनीतिमा नयाँ नेपाल बनोस् भन्ने चाहना भए पनि मधेस पुरानै रहोस् भन्ने मानसिकता व्याप्त रहेको र त्यो कहिले सम्भव नहुने धारणा राखेका थिए । उनले वर्तमान राजनीतिप्रति इंगित गर्दै भने, ‘नेपालका जनतामा असन्तुष्टि व्याप्त छ । संविधानमा मधेसीमा मुद्दालाई सम्बोधन गरिएको छैन । यस्तो अवस्थामा नेपालमा लोकतन्त्र संस्थागत गर्न गाह्रो छ ।’ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि प्रमुख अतिथि र भारतीय राजदूत रञ्जित रेसमेत उपस्थित कार्यक्रमको आयोजना पृथकतावादी मधेस अभियानमा सक्रिय सीके राउत रिहाइका लागि लबिङ गर्दै आएका पूर्वराजदूत विजयलाल कर्णको संस्था जागृत नेपालले गरेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

राप्रपाको एकता महाधिवेशन आजदेखि, स्वीकार गर्‍यो संघीयता

काठमाडौ, फागुन ६ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रथम एकता महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो अडानबाट पछि हट्दै संघीयता स्वीकार गर्ने संकेत देखाएको छ । संघीयता वर्तमान राजनीतिक यथार्थ बनिसकेकाले यसको कार्यान्वयन गर्ने तथा हिन्दु राष्ट्र र राजतन्त्रबारे समुचित निर्णय लिने सहमतिसाथ पार्टीको चारदिने एकता महाधिवेशन आजबाट राजधानीको भृकुटीमण्डपमा हुँदैछ । राप्रपा अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा निर्विरोध निर्वाचित भइसकेका छन् । थापालाई अध्यक्ष पदमा निर्विरोध गराउन बुधबार अध्यक्ष पदका प्रत्यासी मानिएका पशुपति शमशेर जबरा तथा डा. प्रकाशचन्द्र लोहनीले संयुक्त हस्ताक्षर गरी समर्थनको प्रतिवद्धता जनाएका थिए ।

फ्रिजर अभावले शिक्षण अस्पतालका शव गनाउन थाले

काठमाडौं, ६ फागुन । सनाखत नभएका शवको उचित व्यवस्थापन गर्न नसक्दा शिक्षण अस्पताल ९टिचिङ० परिसरमा दुर्गन्ध फैलिएको छ । शवको व्यवस्थापन गर्न राज्यले पर्याप्त जग्गा उपलब्ध नगराएको र फरेन्सिक मेडिसिन विभागसँग शव गाड्ने उचित स्थान नभएकाले शव कुहिएर दुर्गन्ध फैलिएको हो । दिउँसो घाम लागेको समयमा शवको दुर्गन्धले उपचारका लागि आएका बिरामी र तिनका कुरुवामा असर पुगेको फरेन्सिक मेडिसिन विभागका प्रा।डा। हरिहर वस्तीले जानकारी दिए । उनले अस्पतालमा मृत्यु भएका बिरामीको शवको व्यवस्थापन गर्ने निश्चित ठाउँ नभएका कारण पछिल्लो समय समस्या बढ्दै गएको बताए । शवलाई चिसो बनाएर राख्ने फ्रिजरको अभावका कारण फरेन्सिक मेडिसिन विभागलाई दैनिक काम गर्न कठिनाइ भएको छ । कम्तिमा पनि हरेक दिन १० वटा शव राख्नुपर्ने भएपछि ती शवको व्यवस्थापन गर्न गाह्रो भएको उनले बताए । विभागसँग भएका वर्षौँ पुराना फ्रिजरहरू पनि काम नलाग्ने अवस्थामा छन् । राज्यलाई फरेन्सिक मेडिसिन विभाग भए–नभएकोबारे जानकारी नहुँदा ३०औँ वर्ष पुराना फ्रिजरबाट काम चलाइरहेको वस्तीले बताए । विभागसँग भएका सातवटा शव राख्ने फ्रिजरमध्ये तीनवटा काम नलाग्ने अवस्थामा थन्किएर बसेका छन् । आवश्यक उपकरणको अभाव र राज्यको बेवास्ताले शव व्यवस्थापन गर्न विभागलाई थप समस्या देखिएको छ । नयाँ पत्रिका दैनिकबाट

केटी बेच्ने दुई दलाल पक्राउ, तीन किशोरीको उद्धार

बर्दिया, ५ फागुन । भारत हुँदै खाडी मुलुक विदेश लैजान लागिएका तीनजना किशोरीहरुसहित दुई जना केटी बेच्ने दलाललाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । कुबेत र दुबई पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ती दुईजनालाई पक्राउ गरेको हो । निःशुल्क भिसाको बहानामा भारत हुँदै कुबेत र दुबई लैजान लागिएका तीनजना नेपाली किशोरीलाई बर्दियाको कालिका र जमुनी नाकाबाट उद्धार गरेलगत्तै प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । मानव बेचबिखनको अभियोगमा बर्दिया मैनापोखर गाविस–९ की २८ वर्षीय शान्तिकुमारी थारु र सुर्खेत वीरेन्द्रनगर नगरपालिका घर भई हाल मैनापोखर–९ बस्ने डम्मर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । मानव बेचबिखनका प्रमुख नाइके जमुनी–१ का ४४ वर्षीय दुर्गा विक भनिने दुर्गाबहादुर सुनार फरार रहेको जिप्रका, बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए । इप्रका, मैनापोखरका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको कमाण्डमा रहेको टोलीले कालिका र जमुनीबाट गोरखाका तीनजना युवतीलाई उद्धार गरेको हो । गोर्खाका २५ वर्षमुनिका किशोरीलाई नेपाल–भारत सीमा पार गराएर दिल्ली हुँदै वैदेशिक रोजगारमा खाडी मुलुक लैजान लागेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । फरार विकले २० देखि २५ वर्ष उमेर समूहका युवतीलाई विभिन्न आश्वासन काठमाडौँ हुँदै बर्दिया पु¥याएको र पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकाको मामा होटलमा तीन दिन राखिएको युवतीले बताएका छन् । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

नेपालमा ह्वात्तै बढे यौनकर्मी

काठमाडौं, फागुन ५ । नेपालमा पछिल्ला ६ वर्षमा यौनकर्मी महिलाको संख्या ह्वात्तै बढेको देखिन्छ । सन् २०१० मा नेपालमा करिब २८ हजार यौनकर्मी महिला रहेकोमा अहिले झन्डै दोब्बरले वृद्धि भई उक्त संख्या ५४ हजारको हाराहारीमा पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययन प्रतिवेदनमा दाबी गरिएको छ । विहीबार राजधानीमा प्रतिवेदन सार्वजनिक गर्दै महिला यौनकर्मी, तेस्रोलिंगी, पुरुष यौनकर्मी र समलिंगीहरुको संख्या बढेको दाबी गरियो । यस्तै, सुइबाट लागुपदार्थ लिने व्यक्तिहरुको संख्या पनि ३४ हजारको हाराहारीमा रहेको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ । देशका विभिन्न ४४ जिल्लामा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले यी सबै समूहका महिला, पुरुष तथा तेस्रो लिंगीहरु एचआइभी संक्रमणको उच्च जोखिममा रहेको बताए । अध्ययन प्रतिवेदनमा सबैभन्दा बढी यौनकर्मी महिला, पुरुष, तेस्रोलिंगी, सुइद्वारा लागुऔषध लिने व्यक्तिलगायतको समूह काठमाडौंमा रहेको देखाइएको छ । काठमाडौंपछि भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, बाँकेलगायतका जिल्लाहरुमा उनीहरुको संख्या बढी रहेको उल्लेख छ । राजनीतिक अस्थितारका कारण उब्जिएको बेरोजगारी समस्या, खुला सीमालगायतका कारणले यौनकर्मी महिला पुरुषको संख्या वृद्धि भएको निष्कर्ष अध्ययनको छ । कार्यक्रममा यस क्षेत्रसँग सम्बन्धित विज्ञहरुले यौनजन्य रोग सर्नेक्रमभन्दा यसबाट मृत्यु हुनेको संख्या दोब्बर रहेकोतर्फ सबैको ध्यानाकर्षण गराएका थिए ।

पश्चिमी वायुले बदली, तर पानी पर्दैन मौसमविद्

काठमाडौँ, फागुन ५ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आंशिक बदली भएको छ । उक्त वायुले बदली गराए पनि वर्षात् हुने सम्भावना नरहेको मौसमविद् सुभाष रिमालले राससलाई जानकारी दिए । “बुधबारदेखि सुरु भएको पश्चिमी वायुले दिउँसोको तापक्रममा कमी ल्याउनेछ, यो प्रणाली अझै दुई÷तीन दिन जारी रहन्छ” -उनले भने । मौसमविद् रिमालका अनुसार पश्चिमी वायुमा जलवाष्पको मात्रा कम भएकाले वर्षा गराउने सम्भावना नरहे पनि पहाडी भेगका केही स्थानमा छिटफुट वर्षात् हुने सम्भावना रहेको छ । भूमध्य सागरबाट विकसित भएको ठूलो वर्षा गराउने खालको यो बादल प्रणालीले अफगानिस्तान र पाकिस्तानमा प्रभाव पार्ने देखिए पनि नेपालमा आइपुग्ने टुक्राटाक्री बादलले वर्षा नपार्ने बताइएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम पाँच र अधिकतम तापक्रम २२ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोलुमा पाँच करोडको लागतमा बन्नेभयो बुद्धपार्क

सोलुखुम्बु, फागुन ५ । दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा निर्माण गरिने बुद्धपार्क पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले शिलान्यास गरेका छन् । केरुङ गाविसमा पर्ने पत्तालेमा बुद्धको मुर्ति स्थापनाका साथै बुद्धधर्म सम्बन्धि अन्य संरचना निर्माण गरी धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ निर्माण सुरु सो योजनाका लागि करिव रु.पाँच करोड लाग्ने पार्क व्यवस्थापन समितिले जनाएको छ । पूर्वमन्त्री केसीले सो पार्क तल्लो सोलुमा पर्यटक ल्याउन कोसेढुङ्गा सावित हुने उल्लेख गर्दै पार्कसँगै पत्तालेमा भ्यू टावर निर्माण, स्थानीय परिकार खुवाउने, शेर्पा संस्कृतिअनुसार स्वागत सत्कार गर्नेजस्ता कार्यक्रम गर्न सुझाव दिए । बुद्धपार्क निर्माण गर्न लागिएको पत्ताले क्षेत्रमा प्रसिद्ध गौरीटाप, चाँगेस्थान मन्दिर तथा दृष्यावलोकनका लागि प्रसिद्ध थालेडाँडा अवस्थित छ । थालेडाँडाबाट सगरमाथा गौरीशङ्करलगायत एक दर्जन बढी हिमाल प्रस्ट देख्न सकिन्छ । काठमाडौँबाट २४० किमी लामो सडक पार गर्न सकिने पत्तालेमा हिउँदमा बाक्लो हिमपातसमेत हुने भएकाले हिउँदमा हिउँ खेल्ने पर्यटकको समेत घुइँचो लाग्ने गरेको छ ।

चितुवाको आक्रमणबाट चार जना घाइते

मोरङ, फागुन ५ । मोरङ राजघाटमा आज चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन्। घाइते हुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टंकलाल धिमाल र ५० वर्षीय खुसीलाल धिमाल तथा सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेका कर्मचारी ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय वीरबहादुर कटवाल रहेका छन् । राजघाट–१ अठियाबारीस्थित नगेन्द्र लिम्बूको सिसौघारीमा लुकेर बसेको चितुवाले एक्कासी आक्रमणगर्दा उनीहरु घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । हलो जोतेर डोरी लिन जाँदा चितुवाले आफूलाई एक्कासी आक्रमण गरेको घाइते टंकलालले बताए । टंकलाललाई चितुवाले टोकेको खबर पाएपछि घटनास्थल पुगेका खुसीलाललाई पनि चितुवाले आक्रमण गरेका थिए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। चितुवालाई नियन्त्रणमा लिन सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेबाट घटनास्थलमा पुगेका कर्मचारीद्वय न्यौपाने र कटवाललाईसमेत चितुवाले आक्रमण गरेर समान्य घाइते बनाएको प्रहरीले जनाएको छ । अहिले चितुवालाई मानववस्तीमा पस्न नदिनका लागि सुरक्षाकर्मीको टोलीले सुरक्षाघेरा बनाएका छन् भने विशेषज्ञसहितको वनरक्षक टोलीले उक्त चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरी निरीक्षक थापाले बताए ।

हुम्लावासीलाई बंगलादेशले दिएको खाद्यान्न कसले पार्यो गायब !

हुम्ला, फागुन ५ । सदरमुकाम सिमिकोटदेखि दक्षिण भेगका बराई, रेडिकोट, मेल्छाम, सर्किदेउ, श्रमस्ग, दर्मा र मिमी गाविसमा बासिन्दालाई दिने भनिएको कामका लागि खाद्यान्न अझैसम्म पाएका छैनन् । गत वर्ष परेको खडेरीका कारण बङ्गलादेश सरकारबाट नेपाल सरकारलाई राहत स्वरुप आएको सो खाद्यान्न कर्णाली अञ्चलका केही जिल्लामा बितरण गरिएपनि ती गाविसका बासिन्दालाई भने वितरण गरिएको छैन । मिमि गाविसका कृषक लक्ष्मीप्रसाद चौलागाईंले गुनासो गर्दै भने- ‘अाफूहरुले विद्युत् बाटोघाटोसमेतको कार्य सम्पन्न गरिसक्दा पनि अहिलेसम्म केही खाद्यान्न पाइएको छैन ।’ नेपाल खाद्य संस्थान हुम्ला शाखाका प्रमुख नारायणसिंह केसीले सो भेगका लागि अहिलेसम्म खाद्यान्न नआएको र आएपछि मात्र वितरण गर्ने जानकारी दिए । जडीबुटीबाट औषधि बनाइ उपचारमा व्यस्त अजवीर शाही हुम्ला जिल्लाको दक्षिणी भेगमा पर्ने मेल्छाम गाविस–७ बस्ने अजवीर शाहीले जडीबुटीबाट औषधि बनाई मानिस र पशु समेतको औषधि तयार गरी उपचार गर्दै आउनुभएको छ । उनले कमलपित्त, दम, खोकी, टाउको दुख्ने, हात खुट्टाको भाँचिए पनि हुम्लामै निःशुल्क उपचार गराउँदै आएको राससलाई बताए । खाद्यान्नका लागि भीड खाद्यान्नका लागि गत मङ्गलबारदेखि कर्मचारी, शिक्षक, विद्यार्थी, सङ्घ संस्था समेतका पदाधिकारीको बिहानदेखि जिल्ला प्रशासन कार्यालयमा खाद्यान्न सिफारिसको लागि घुइँचो लागेको छ । हुम्लामा खाद्यान्न मौज्जात रहे पनि कर्मचारीले बाहिरबाट आएको मैदाका साथै स्थानीय खाद्यान्न जुटाई गुजारा गर्न बाध्य भएका छन् । हिमपात नहुँदा विद्युत् भार कटौती बढ्यो यस वर्ष पर्याप्त मात्रामा हिमपात नहुँदा जिल्लाको सदरमुकाम सिमिकोट हिल्दुम साना जलविद्युत् वितरण केन्द्रको पानीको मुहान सुकेकाले अधिकांश समय विद्युत् भार कटौती हुन थालेको छ । विद्युतभार कटौतिका करण पहिलेकै जस्तो सल्लाको दियालो बाल्न बाध्य स्थनीय पीडित व्यक्तिले यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सोही अवसरमा नजिकिदै गरेकोे प्रवेशिका परीक्षाको तयारी गरिरहेका विद्यार्थी पनि प्रभावित भएको निवासी छात्रा विमला सिंहले दुखेसो पोखे ।

कोरियामा प्रेस सेन्टर शाखा गठन

सोल, फागुन नेकपा माओवादी केन्द्र समर्थित पत्रकारहरुको छाता संगठन प्रेस सेन्टरले दक्षिण कोरियामा पनि शाखा गठन विस्तार गरेको छ । सोलमा आयोजित पहिलो भेलाबाट भोज रानाको नेतृत्वमा १२ सदस्यीय प्रेस सेन्टर कोरियाको गठन गरिएको हो । उपाध्यक्षमा पुरुषोत्म गौतम र सचिवमा कृष्ण भट्टराई चयन भएका छन् । सेन्टरले कोरियामा चाँडै आफ्नो छुट्टै मिडिया सञ्चालन गर्ने जानकारी समेत गराइएको छ । सेन्टरले कोरियाका सामाजिक समस्यासँग हातेमालो गर्दै मजदुरहरुको पक्षमा कलम चलाउने प्रतिबद्धता अध्यक्ष रानाले गरे । भेलामा नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष खगेन्द्र बुढामगर, वरिष्ठ उपाध्यक्ष इश्वर कुमार कठायत, महासचिव गोविन्द गौतम लगायत मञ्चका संरक्षक र सल्लाहाकारको उपस्थितिमा सेन्टरको नेतृत्व चयन गरिएको थियो ।

१३ लाख भक्तजनले पूजा गर्ने गरी पशुपतिनाथमा महाशिवरात्री तयारी

काठमाडौँ, फागुन ५। यही आउँदो फागुन १३ गते महाशिवरात्रीको पावन अवसरमा श्री पशुपतिनाथ क्षेत्रमा विशेष तयारीका लागि उपसमिति गठन गरिएको छ । यस दिन पशुपति क्षेत्र विकास कोषअन्तर्गत श्रीपशुपतिनाथको दर्शनका लागि देश–विदेशबाट आउने भक्तजनहरुको लागि आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । विगतका वर्षमा मूल समारोह समिति गठन गर्ने गरिए पनि यस वर्ष कोषले मुख्य व्यवस्थापनको काम गर्र्ने गरी उपसमिति गठन गरिएको हो । महाशिवरात्रिका लागि देशका विभिन्न भाग र भारतबाट समेत गत माघ २७ गतेदेखि नै साधुसन्त आउन थालेका छन् । ‘ यस वर्ष १३ लाख भक्तजनले पूजा एवम् दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिँदैछ, गत वर्ष १२ लाख भक्तजनले महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गरेका थिए’– उनले भने । यसवर्ष फागुन १३ गते शुक्रबार महाशिवरात्रि पर्व परेको छ । रासस