प्याब्सक अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित
काठमाडौं। निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)को अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिबार भएको संस्थाको पाचौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडा, महासचिवमा सुदिप काफ्ले चयन भए ।
यस्तै, उपमहासचिवमा राजु पुडासैनी, सचिवमा लक्ष्मी गुरूङ, कोषाध्यक्षमा राजेश्वर तिवारी र सहकोषाध्यक्ष होम लक्ष्मी गुरूङ चयन भए । २०६१ सालमा स्थापित यो संस्थाले विद्यार्थीको पढाइ, शिक्षक, सञ्चालक र प्रधानाध्यापकको क्षमता विकास तथा अधिकारका क्षेत्रमा काम गर्ने गर्दछ ।
पाकिस्तानी आरोही नैला कैनी सगरमाथाको चुचुरोमा
काठमाडौं । दुई आरोही आज बिहान सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गरेका हुन् । त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन् । दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए । कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रिय पर्वतारोहीबाट भएको बताए । उनका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथ कोल र आसपास छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिवारबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । यति बेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही प्रतीक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् ।
भत्किएको पुलमुनि सांसद गौतमको अनशन
काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा कांग्रेस नेता सञ्जयकुमार गौतमले आमरण अनशन थालेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइमन्त्री गौतम बर्दियाको विकासका लागि भन्दै १५ बुँदे मागसहित भत्किएको पुलमुनि शनिबार साँझदेखि अनशनमा बसेका हुन्। जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि उनी नदी तटमा अनशन बसेका हुन्। जब्दीघाटको भत्किएको पुल हटाएर तुरुन्त नयाँ पुल निर्माण गर्नुपर्ने गौतमको पहिलो माग छ। बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा भत्किएको थियो।
७० सालको फैसला देखाउँदै बाबुरामको चेतावनी – ‘मानहानिको मुद्दा लाग्ला’
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रका लागि लडेका अगुवा नेताहरूलाई सामाजिक सञ्जालमार्फत सराप्ने र चरित्र हत्या गर्ने क्रम बढेको भन्दै आपत्ति जनाएका छन्। केही नेता बिग्रिए भन्दैमा सबैलाई एउटै डालोमा हालेर गाली नगर्न उनले सम्बन्धित पक्षलाई सचेत गराएका छन्। अन्यथा मानहानि मुद्दा लगाइने चेतावनीसमेत डा. भट्टराईले दिएका छन्। ‘केही आँप कुहिए भन्दैमा सबै कुहिएका हुँदैनन्। अनि विश्वमा र इतिहासमा सुशासन र समृद्धि समावेशी र सहभागितामूलक लोकतन्त्रमा मात्रै हासिल हुन्छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो सत्यलाई नबुझेर वा बुझ पचाएर केहीले संघीय लोकतान्त्रिक गणतन्त्रका संस्थापक सबै अगुवाहरूलाई सोलोडोलो सराप्ने र सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने गरेका छन्, त्यो गम्भीर छ।’ यस क्रममा उनले २०७० सालमा तत्कालीन एमाओवादी नेतृ हिसिला यमीबारे गलत कुरा लेख्दा ‘क्राइम टुडे’ पत्रिकाविरुद्ध मानहानिको मुद्दा जितिएको फैसलासमेत सार्वजनिक गरेका छन्। ‘क्रान्तिकालमा कसरी टाउकाको मूल्य तोकिएको थियो र शान्तिकालमा मिडियामार्फत अनर्गल चरित्रहत्या हुँदा अदालतले मानहानिको मुद्दा जिताएको थियो भन्ने तिनले सम्झनु बेस हुनेछ’, डा. भट्टराईले लेखेका छन्, ‘हल्लामा नकुदौँ, सत्यतथ्य बुझौँ।’ केही आॅप कुहिए भन्दैमा सबै कुहिएका हुॅदैनन्।अनि विश्वमा र इतिहासमा सुशाशन र समृद्धि समावेसी र सहभागितामूलक लोकतन्त्रमा मात्रै हासिल हुन्छ।यो सत्यलाई नबुझेर वा बुझ पचाएर केहीले संघीय लोकतान्त्रिक गणतन्त्रका संस्थापक सबै अगुवाहरूलाई सोलोडोलो सराप्ने र सामाजिक संजाल मार्फत… pic.twitter.com/7DmEE302BS — Baburam Bhattarai (@brb1954) May 13, 2023
ह्वाटसएप थप्यो मेसेज सम्पादन गर्न सकिने फिचर
काठमाडौं । सामाजिक सञ्जालमध्ये अत्याधिक प्रयोग हुने ह्वाट्सएपले मेसेज इडिट विकल्पको परीक्षण सुरु गरेको छ । यो पछिल्लो समय व्यापक प्रयोग गरिने मेसेज प्लेटफर्ममध्ये एक हो। पछिल्लो समय मेटाले यसमा निरन्तर नयाँ सुविधा थप्ने काम गरिरहेको छ। मेटाले अब ह्वाट्सएपमा मेसेज इडिट विकल्पको परीक्षण सुरु गरेको छ। सन् २०१६ मा यस्तै फिचर टेलिग्रामले ल्याएको थियो। छिट्टै ह्वाट्सएपका सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने तयारी गरिएको इडिट विकल्प अहिले बीटा परीक्षण प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ। डब्लूएबेटाइन्फोमा आफूले पठाएका मेसेज सम्पादन गर्ने सुविधा प्रदान गरिएको छ। परीक्षणका क्रममा रहेको यो फिचर एन्ड्रोइड बिटा परीक्षकहरूका लागि सम्पादन बटन रोल आउट गर्न सुरु गरिएको छ। व्हाट्सएपले यो हप्ताको सुरुमा व्हाट्सएप वेबमा सम्पादन सुविधा ल्याएको थियो, अब कम्पनीले यसलाई एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि पनि ल्याइरहेको छ। चाँडै सबै प्रयोगकर्ताका लागि ल्याउने तयारी गरिएको यो फिचरमा ओभरफ्लो मेनुअन्तर्गत नयाँ सम्पादन बटन देख्न सकिनेछ। जसमार्फत प्रयोगकर्ताहरूले आफूले सम्पादन गर्न चाहेको सन्देशमा लामो प्रेस गरेर शीर्ष दायाँ कुनामा तीनवटा थोप्लाहरूमा ट्याप गरी इडिट गर्न सक्नेछन्। तर तपाईंले पठाएको मेसेज इडिट गरिएको जानकारी भने मेसेज पठाएको व्यक्तिले थाहा पाउन सक्नेछन्।
भ्रष्टाचारको गन्धमात्रै आए कारबाही : मन्त्री मोदी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्धमात्रै आए पनि कारबाही हुने चेतावनी दिएका छन् । प्रेस सेन्टर नेपाल काठमाडौंको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले सो कुरा बताएका हुन् । मन्त्री मोदीले भने, ‘विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालय मातहतका कर्मचारीहरु हुनुहुन्छ, मैले सबैलाई भनेको छु, भ्रष्टाचारको गन्धमात्रै आएको खण्डमा पनि कारबाही हुन्छ ।’ भ्रष्टाचारलाई निर्मूल पारी सुशासन कायम गर्नेगरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको भन्दै उनले भ्रष्टाचारको गन्धमात्रै आउने काम देखिए कारबाही गर्ने बताएका हुन् । मन्त्री मोदीले अहिलेको सरकारको प्राथमिकता भनेकै सुशासन कायम गर्ने भएकाले कर्मचारीहरुबाट त्यसको कार्यान्वयन हुनुपर्ने बताए । ‘प्रधानमन्त्रीज्यूको पहिलो मिसन भनेको सुशासन हो । सामाजिक न्याय, सुशासन र विकास र समृद्धि अहिलेको सरकाको मुख्य मिसन हो । यसबाहेक कुरामा ध्यान दिएको खण्डमा सबैलाई जुनसुकै हदसम्मको कारबाही हुन्छ ।’ आफूले सम्हालेको मन्त्रालयमा सुशासनसँग जोडिएका दूरगामी महत्वका कामहरु अगाडि बढाएको बताउँदै उनले भने, ‘संघीय निजामती सेवा ऐन ल्याउने र सुशासन कायम गर्ने विषय नै मेरो पहिलो प्राथमिकताको विषय हो, अहिले हामी निमित्तको शासन हटाउने काममा लागेका छौँ ।’ उनले कसैको सोर्सफोर्स नसुनीकन बढुवा भएका उपसचिवहरुलाई स्थानीय तहमा खटाएको समेत बताए ।
दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु
धनगढी । दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहारको धमालेक सल्याड भीरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२४ घण्टामा ३७ कोरोना संक्रमित थपिए, १४ निको
काठमाडौं । नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ४१४ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ३७ जनाको नतिजा पोजिटिभ आएको हो । २४७ नमुनाको पीसीआर परीक्षण गर्दा ११ र दुई हजार १६७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो । यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर १४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार ५९ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
मन्त्री रिजालले गरे उदयपुर सिमेन्ट उद्योगको अनुगमन तथा निरीक्षण
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अनुगमन तथा निरीक्षण गरेका छन्। मन्त्री रिजालले आज उद्योगको प्लान्ट तथा खानि क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन्। उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले रिजाललाई प्लान्ट तथा खानि क्षेत्रको स्थलगत जानकारी गराएका थिए। अनुगमनका क्रममा मन्त्री रिजालले उद्योगको खानि विभागमा कार्यरत कर्मचारीहरूलाई भेटेका थिए । कर्मचारीहरूले मन्त्रीसमक्ष आ–आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए। अनुगमन तथा निरीक्षणमा आफ्नो मुख्य उद्देश्य नै कर्मचारीको भावना बुझ्ने रहेको बताउँदै रिजालले यथाशीघ्र सबै समस्याको समाधानका लागि आफू अग्रसर रहने बताए।
एमालेलाई सांसद सापकोटाको चुनौती – ‘रायमाझीलाई कानुनी दायरामा बुझाउनुस्, त्यसैमा कल्याण छ’
काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौं रकम ठगी गर्ने टोपबहादुर रायमाझीलाई कानुनको दायरामा बुझाउन चुनौती दिएका छन् । प्रतिनिधसभाको बजेट अधिवेशनको पहिलो बैठक नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने विषयले तताएको छ । त्यसै क्रममा एमालेका सांसदहरूले नक्कली भुटानी शरणार्थीमात्रै नभई अरु विषय पनि छानबिन गर्नुपर्ने बताएका थिए । उक्त कुराको जवाफ दिँदै सापकोटाले भने, -‘प्रमुख प्रतिपक्षका साथीहरूले छापामार शैलीमा केही कुरा राख्नुभयो । प्रमुख प्रतिपक्ष साँच्चै भ्रष्टाचारीहरूलाई कारबाही गर्नका लागि इमानदार हो भने तपाईंहरू विषयान्तर नगर्नुस् । प्रधानमन्त्रीले बोलेका कुराहरूलाई खिसिट्युरी गरिराख्नुभएको छ, तपाईंहरूलाई नै त्यसले नांगो बनाइरहेको छ । इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर तपाईंहरूले कानुनको दायरामा बुझाउनुहोस्, त्यसैमा तपाईंहरूको कल्याण छ ।’ एमालेका सांसदहरूले नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा संलग्न आफ्ना सांसद तथा सचिव रायमाझीलाई पक्राउ पुर्जीसमेत जारी भइसकेको अवस्थामा विषयान्तर गर्न खोजेको सापकोटाको भनाइ छ । उनले एमालेले उक्त प्रकरणलाई विषयान्तर गर्न खोजेको र सदन कब्जा गर्न खोजेको बताए । ‘विषयान्तर र खिसिट्युरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्ने शैली छ । यसले तपाईंहरूलाई राजनीतिक ढंगले प्रस्तुत गरेन,’ उनले भने ।
आज ३२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ६४ जनाको नमूना परीक्षण गरिएको थियो । ३ सय ४ जनाको पीसीआर र १ हजार ६ सय ६० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ सय ३३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
नक्कली नेपाली नागरिकता लिने १० भारतीय नागरिक पक्राउ
काठमाडौं । नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरूले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी दिए । उनले भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भिमपूरा थाना बेल्थरा रोड स्थायी घर भएकाहरूले झुटा विवरण पेस गरी नेपालको नागरिकता दिएको बताए। भारतीयहरूले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको उनले बताए। उनले पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेको बताए। बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता रहेको एसएसपी मनोज केसीले बताए। एसएसपी केसीले उनीहरूलाई शनिवार काठमाडौंको शंखमुल, कलंकी, बागबजार, गंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको बताए। नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरी बसेको उनले जानकारी दिएका छन्। भारतीयहरूले वंशजको आधारमा नै नागरिकता दिएर नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय समेत गर्दै आएको भेटिएको बताए। उनले प्रहरीले एउटै प्याटनमा सबै जिल्लाका एकैसाथ अनुसन्धान गरेर सार्वजनिक गरिएको बताए।
महिला हिंसाका पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसाका पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । गृह मन्त्रालयले आज आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा बोल्दै मन्त्री श्रेष्ठले ‘महिलामाथि हुने हिंसाका दोषीलाई कारबाही गर्दै पीडितलाई न्याय दिन सरकारले कुनै कसर बाँकी नराख्ने बताए । गृहमन्त्री श्रेष्ठले आफूले गृह मन्त्रालयमा पदभार ग्रहण गरेसँगै शान्ति सुरक्षा, अपराध नियन्त्रणसँगै महिला हिंसा अन्त्य र पीडकलाई कारबाहीको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै गल्ती गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउने बताए । पछिल्लो समय गृह मन्त्रालयले भ्रष्टाचारीविरुद्ध लिएको नीतिप्रति सकारात्मक टिप्पणी प्राप्त भइरहेको उनको भनाइ थियो । उनले पछिल्लो समय मुलुकका विभिन्न तहमा महिला सहभागिता बढ्नु खुशीको कुरा भएको बताए । उनले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय स्तरमा समिति बनाएर कार्यान्वयन गरिने स्पष्ट पारे ।
प्रतिनिधि सभाका सांसदको अब इलेक्ट्रोनिक हाजिरी हुने
काठमाडौं । प्रतिनिधि सभाका सांसदको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिएको छ । यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । प्रतिनिधि सभा कार्यव्यवस्था समितिको आजको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले जानकारी दिए। सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थित–अनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो । ई–हाजिरीको बारेमा राष्ट्रिय सभाको सिकाइ र अनुभव पनि लिएर अझै प्रभावकारी बनाउँ, कार्यव्यवस्था बैठकमा सभामुखले भनेका थिए, सदनमा माननीयहरूको उपस्थिति कमजोर छ । सांसद तलबभत्ता खान आए भन्ने आम बुझाइ छ । यो हाम्रो लागि राम्रो होइन । सबै दल र माननीयहरूको ध्यानाकर्षण गराउँछु ।
मन्त्रिपरिषद् विस्तार, मन्त्री आचार्यले लिए शपथ
काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । यो मन्त्रालयको जिम्मेवारी यसअघि नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले सम्हालेका थिए। यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेल निकट मानिने आचार्य यसअघि सिँचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।
राष्ट्र र जनताको समृद्धिका लागि सिर्जनशील सामग्री उत्पादन र प्रकाशनमा जोड दिनुपर्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रको उत्थान र जनताको समृद्धिका लागि पत्रकारिताको माध्यमबाट सिर्जनशीलरुपमा सामग्री उत्पादन र प्रकाशनमा अझै मेहनत गर्न सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । गोरखापत्र दैनिकको १२३ औं तथा गोरखापत्र संस्थानको ६१ औं वार्षिकउत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले पत्रकारिता मार्फत सरकार र आमजनताका बिचमा सम्बन्धको जोड्ने काम गर्नु पर्ने बताउँदै पत्रकारिताका आधारभूत मूल्य मान्यतालाई आत्मसात गर्दै समग्रमा राज्यलाई नीति नियमलाई जनताबिच लैजानुको साथै जनताका आवश्यकता राज्यसम्म पुर्याउने काममा यसले आफ्ना उत्पादनहरु केन्द्रित गर्नुपर्ने आवश्यकता औल्याइन । मन्त्री शर्माले भनिन्, गोरखापत्र र संस्थानका अन्य प्रकाशन भावी पुस्ताका बौद्धिक सम्पत्ति हुन् । तिनको संरक्षणका लागि संस्थानले पुराना प्रकाशनको विद्युतीय अभिलेखीकरण गर्न सुरु गरेकोमा खुशी लागेको छ । यसलाई आम्दानी वृद्धिको स्रोत बनाउनतिर ध्यान दिन आग्रह गर्दछु । अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ् खरो रुपमा उतार्न यो संस्थाले अझ् जिम्मेवार, व्यवसायिक तथा विश्वसनीय भएर आफूलाई प्रस्तुत गर्नुपर्छ । त्यसका लागि म फेरि पनि दोहोर्याएर भन्न चाहन्छु– आन्तरिक ब्यवस्थापन बलियो बनाउनुपर्छ । यसमा कार्यरत सबै जनशक्तिलाई संस्थानप्रति अपनत्व कायम गराएर एकताबद्धता बनाउँदै परिचालन गर्न सक्नुपर्छ । उनले सूचना तथा सञ्चार प्रविधिको विकासले यसलाई विधागत र प्रविधिगत आधारमा अझ फराकिलो दायरामा विस्तार गरेको बताइन । मन्त्री शर्माले भनिन, नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको यस पत्रिकाको इतिहास जति गौरवशाली छ, वर्तमान र भविष्यमा त्यो प्रतिष्ठा कायम राख्नु चुनौतीको विषय हो । बजारमा प्रतिष्पर्धी मात्र होइन, अगुवा पत्रिकाको रुपमा स्थापित गर्न आन्तरिक व्यवस्थापन सवल बनाउन जरुरी छ । आर्थिक र जनशक्ति व्यवस्थापन दुबै हिसाबले आन्तरिक व्यवस्थापन सवल बनाउन सके गोरखापत्र संस्थानको भविष्य उज्यालो हुने उनको भनाई छ । मन्त्री शर्माले संस्थानको पुनरसंरचना जरुरी रहेको भन्दै गोरखापत्र संस्थानको संरचना गत अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको अवस्था र प्रतिफलको लेखाजोखा गर्नुपर्नेमा जोड दिइन । भूकम्पबाट क्षतिग्रस्त पुरानो मूल भवनको पुनरनिर्माण तथा लामो समयदेखि अल्झिएको बिनियावलीलाई चाँडो टुंगो लगाएर कर्मचारी वृत्ति विकासलाई सुनिश्चित गर्न मन्त्रालयबाट पनि पहल भइरहेको उनको भनाइ छ । मन्त्री शर्माले गोरखापत्र संस्थानमा कार्यरत संचारकर्मी तथा कर्मचारीहरुलाई विश्वासमा लिएर आन्तरिक समस्याका समाधानका लागि प्रभावकारी पहल गर्न व्यवस्थानलाई निर्देशन दिइन ।

