इलाममा वाइसिएल एकता भेला

इलाम, फागुन १४। योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) इलामको जिल्ला एकता भेला सम्पन्न भएको छ ।

माओवादी केन्द्रका पोलिटव्युरो सदस्य धिरेन्द्र शर्मा रमणको आतिथ्यमा सम्पन्न एकता भेलाले प्रविण तिम्सिना इन्र्चाज रहने गरी जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ । समितिको सह–इन्र्चाजमा अग्नी तामाङ, राम राई, नरेश तामाङ, ताराबाबु सुवेदी रहेका छन् ।

त्यसै गरी पुर्नसंरचना अनुरुप अब बन्ने नगरपालिका र गाँउपालिकाहरुको सम्मेलन सम्पन्न गर्नका लागि संयोजकहरु पनि तोकिएका छन् ।

माइ नगरपालिकाको लागि दिनेश राई, देउमाइ नगरपालिकाका लागि भुपाल लिम्बु, इलाम नगरपालिकाका लागि बिक्रम लिम्बु, सुर्योदय नगरपालिकाका लागि सुवास ढकाल, चुलाचुली गाँउपालिका सन्तोष राई, फाकफोकथुम गाँउपालिकाका लागि इमराज लिम्बु, माङसेवुङ गाँउपालिका राजकुमार राई, रोङ्ग गाँउपालिका निर्मल तामाङलाई संयोजक तोकिएको छ ।

सन्दकपुर गाँउपालिकाको लागि भने संयोजक तोकिएको छैन । भेलाले आगामी चैत्र १० गतेभित्र सबै नगरपालिका र गाँउपालिकाको सम्मेलन सकेर चैत्र १९ गते जिल्ला सम्मेलन सक्ने निर्णय गरेको छ ।

लुटपाट गर्न खोज्ने चार युवक पक्राउ

मोरङ, फागुन १४ । मोरङको भातिगन्ज– २ स्थित भित्री सडकमा गएराति मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भातिगन्ज– २ बस्ने ३० वर्षीय पशुपति राजवंशी, ३० वर्षकै धनिराम राजवंशी, ३३ वर्षीय रमेश राजवंशी र २० वर्षीय श्रीनन्दन राजवंशी रहेका छन्। उनीहरुलाई वडा प्रहरी कार्यालय विराटनगर हाटखोलाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। सो समूहले विराटनगर –९ स्थित मेडिकल पसलबाट मोटरसाइकलमा घर फर्कने क्रममा भातिगन्ज– ४ बस्ने रोहित यादव र भरत यादवलाई लुटपाट गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस

विराट एक्स्पोअन्तर्गत माउन्टेन फ्लाइट सेवा

विराटनगर, फागुन १४ । पूर्वाञ्चलमा पहिलोपल्ट विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ । उद्योग सङ्गठन मोरङद्वारा विराटनगरमा आयोजित विराट एक्स्पो–२०७३ अन्तर्गत हिमाली क्षेत्रको अवलोकन गराएर पर्यटक क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य उद्देश्यका साथ तीन दिनका लागि सो फ्लाइट सेवा आजबाट सुरु गरिएको हो । यति एयरलायन्सको विमानबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा र गौरीशङ्कर हिमालको अवलोकन गराइने छ । उक्त विमानबाट दिनमा एकपल्ट १९ जना यात्रुले सो हिमाली क्षेत्रको अवलोकन गर्छन् । विराटनगर विमानस्थलबाट आज सुरु भएको पहिलो फ्लाइटबाट प्रजिअ यज्ञप्रसाद कोइराला, प्रहरी नायब महानिरीक्षक रमेश भट्टराई, पत्रकार महासङ्घ मोरङका अध्यक्षसहित १९ जना सहभागी भएका छन् । दिनमा एकपल्ट गरी तीन दिनसम्म जारी रहने सो सेवाका लागि प्रति यात्रुबाट रु नौ हजार रकम लिने गरिएको भविष्स श्रेष्ठले जानकारी गराए ।

राँगाको आक्रमणबाट महिलाको मृत्यु

लहान, फागुन १४  । राँगाको आक्रमणबाट गएराति सिरहाको औरही पिप्रा गाविसमा एक महिलाको मृत्यु भएको छ । छाडा छाडिएको राँगाको आक्रमणबाट औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा राँगाको आक्रमणबाट गम्भीर घाइते भएकी साहलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी सिरहाकै लहान नगरपालिका–१५ स्थित ढोढना खोलामा राँगाले आक्रमण गर्दा स्थानीय ४० वर्षीया अनिता चौधरी घाइते भएकी छन् । बजारबाट घर फर्कने क्रममा राँगोको आक्रमणबाट घाइते भएकी चौधरीको लहानस्थित फ्रेन्स मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा, आफन्तलाई ३० प्रतिशत छुट

विराटनगर (पानीट्याङ्की),  फागुन १४ । विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको सेवा सुविधा सार्वजनिक गरेको छ । केही दिनअघि आफ्नो वार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवा सुविधाबारे जानकारी सार्वजनिक गरेको हो । अस्पतालमा पाउने निःशुल्क सेवामा ओपिडी सेवा, एक्सरे, अल्ट्रासाउन्ड, बेड चार्ज, इसिजी आदि सेवा निःशुल्क छन् भने ल्याबमा हर्मोनल टेस्टबाहेकका अन्य सेवा निःशुल्क गरिएको छ । यस्तै पत्रकारका आमा, बुबा, छोराछोरी, श्रीमान्–श्रीमतीलाई ३० प्रतिशत छुटमा उपचार गर्ने अस्पतालले जनाएको छ । रासस

स्थानीय तह निर्वाचनको मतपत्र जनक शिक्षाले छाप्ने

काठमाडौँ, फागुन १४ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा छाप्ने भएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलगायतका पदाधिकारीले  शुक्रबार केन्द्रको स्थलगत निरीक्षण गरि मतपत्र छपाइलगायतको कार्यका विषयमा छलफल गरेपछि उक्त निर्णय गरेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्र छपाईका लागि आवश्यक पर्ने जनशक्ति, प्रेसको अवस्था तथा अन्य प्राविधिक तथा सुरक्षात्मक हिसाबले पनि केन्द्र नै उपयुक्त रहेको निष्कर्षका आधारमा मतपत्र छपाइको कार्य केन्द्रले नै गर्ने निर्णय गरिएको बताउनु भयो । आयोग पदाधिकारीले केन्द्रको सम्पूर्ण अवस्था एवम् छपाइको सम्पूर्ण कार्यका बारेमा समेत चासो राखेको र केन्द्रका पदाधिकारीले आयोगले दिने सम्पूर्ण जिम्मेवारी समयमा नै निर्वाह गर्ने वचन दिएका थिए । विसं २०३६ सालको जनमत सङ्ग्रहदेखि हालसम्मका सबै निर्वाचनको मतपत्र केन्द्रले नै छाप्दै आएको छ । रासस

स्थानीय निकायको सम्पूर्ण संरचना तय भएपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन सङ्घीय गठबन्धनको आग्रह

काठमाडौँ,  फागुन  १४। सङ्घीय गठबन्धनले गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको सङ्ख्या निर्धारण गरेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । गठबन्धनको शुक्रबार बसेको बैठकले सीमा निर्धारण आयोगले अहिलेसम्म पनि विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको सङ्ख्या र सीमा निर्धारण नगरेको अवस्थामा घोषित निर्वाचनको मिति आफैँमा जायज नभएको ठहर गरेको छ । सरकार आफैँले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नगरी निर्वाचन घोषणा गरिएकाले आफूहरुलाई मान्य नभएको समेत जनाएको छ । बैठकले गठबन्धनको आगामी कार्यक्रम तय गर्नका लागि सङ्घीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा वृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा ओम गुरुङ, डा विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती सदस्य हुनुहुन्छ । कार्यदलले एक हप्ताभित्रमा कार्यक्रम बनाई सङ्घीय गठबन्धनको बैठकमा प्रस्तुत गर्नेछ । कार्यदलले भावी कार्यक्रम तय गर्ने, समान धारणा भएका राजनीतिक दल तथा सङ्घ संस्थासँग आपसी समन्वय एवम् छलफल गर्ने गठबन्धनका प्रवक्ता डा ओम गुरुङले जानकारी दिनुभयो । गठबन्धनले सरकारलाई दिएको समर्थनका सम्बन्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित गठबन्धनमा आबद्ध संसद्मा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरी अर्को बैठकमा निर्णय गर्ने बताएको छ । रासस

पत्रकार महासङ्घ सल्यानको अध्यक्षमा शर्मा

सल्यान, फागुन १४। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सल्यानको अध्यक्षमा प्रतीक इच्छुक शर्मा सर्वसम्मत चयन हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सल्यानको चौथो जिल्ला अधिवेशनबाट शर्मा निर्विरोध निर्र्वाचित हुनुभएको हो । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य समेत रहेका शर्मालाई जिल्लामा क्रियाशील चार पत्रकार सङ्गठनले स्वीकार गरेपछि उहाँ निर्वाचित हुनु भएको हो । उहाँ गोरखापत्र दैनिकसँग आबद्ध हुनुहुन्छ । यस्तै महासङ्घको उपाध्यक्षमा प्रेस युनियनबाट भरत बस्नेत, महिला उपाध्यक्षमा क्रान्तिकारी पत्रकार सङ्गठनबाट प्रगति गिरी, प्रेस चौतारीबाट सचिवमा शङ्कर केसीलाई निर्विरोध चयन गरिएको छ । यस्तै सहसचिवमा शिवलाल डाँगी, समावेशी सहसचिवमा भीमबहादुर परियार र कोषध्यक्षमा योगराज विश्वकर्मा निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत सिपी वलीले जानकारी दिनुभयो । यस्तै सदस्यमा खुल्लातर्फ भक्तबहादुर केसी, ईश्वरी केसी, वीरेन्द्र डिसी, टीका केसी, कृष्णबहादुर वली, पूर्णचन्द्र शर्मा चयन भएका छन् । यस्तै जनजाति सदस्यमा बुद्धिमान पुन, महिलातर्फ सरिता चलाउने, र अस्मिता गिरी सर्वसम्वत् चयन भएका छन् । अधिवेशनले केन्द्रीय पाषद्मा जीतप्रसाद आचार्य, चन्द्रकला बुढाथोकी, टेकराज शाही, रेशम डिसी, युवराज रेग्मी, सुरेश श्रेष्ठ, रमेश वली, जिकन विसी, डिल्लीराज रावत र पुरुषोत्तम गिरी चयन हुनुभएको छ । रासस

मतपत्र छाप्ने जिम्मा जनक शिक्षालाई

काठमाडौं, फागुन १३ । आगामी स्थानीय चुनावका लागि मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामाग्री केन्द्रलाई दिइएको छ । शुक्रबार निर्वाचन आयोगका पदाधिकारीहरुले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको भ्रमण गरी त्यसपश्चात मतपत्र छाप्ने जिम्मा दिइएको हो । जनक शिक्षा पनि मतपत्र छाप्न सकारात्मक देखिएपछि आयोगको टोली मेशिनको अवलोकन र लिखित प्रतिवद्धता लिन शुक्रबार भक्तपुरस्थित कार्यालयमा गई अवलोकन गरेको थियो । मतपत्र छाप्न आवश्यक पर्ने करिब सबै कागज समेत जनक शिक्षामा रहेको र मतपत्र छाप्नका लागि मेसिनको पनि अवलोकन गरी छपाइको काम जनक शिक्षालाई दिइएको सचिव गोपी मैनालीले जानकारी दिएका छन् । केन्द्रले पनि आगामी चुनावभन्दा अगावै मतपत्र छापेर दिने प्रतिवद्धता जनाएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले २०३६ सालमा भएको जनमत संग्रहदेखि निर्वाचनको मतपत्र छपाइ गर्दै आएको छ ।

बाबुरामको नयाँ शक्तिले भन्यो– ‘संविधान संशोधनपछि मात्र निर्वाचन’ !

काठमाडौँ, फागुन १३ । नयाँ शक्ति पार्टीले संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने माग गरेको छ । स्थानीय निकायको टुङ्गो नलागेको र सम्झौताअनुसार संविधान संशोधन पनि नभएको अवस्थामा निर्वाचन हुन नसक्ने पार्टीले जनाएको छ । पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खिमलाल देवकोटाले मुलुक संवेदनशील अवस्थामा रहेको भन्दै निर्वाचनको आधार तयार पार्न सरकारसँग माग गरे । ‘देवकोटाले प्रश्न गर्दै भने– ‘संविधान संशोधन तथा स्थानीय निकायको टुङ्गो नलागी कसरी निर्वाचन हुन्छ ?’। राजनीति अत्यन्त तरल अवस्थामा पुगेको भन्दै निर्वाचनको वातावरण बनाउनुपर्नेमा उनको जोड दिए । यसअघि नै सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना नगरी निर्वाचनको मिति घोषणा गरिएकामा संयुक्त प्रेस विज्ञप्तिमार्फत विरोध जनाएका थिए । फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गरी संविधानका त्रुटिलाई सच्याएर मात्र निर्वाचनमा जानुपर्ने बताएका थिए । प्रवक्ता देवकोटाले ७० वर्षदेखि निरन्तर लडेर भएको प्राप्त उपलब्धि सङ्कटमा पर्न लागेको उल्लेख गर्दै भने– “करोडौँ रकम तिरेर लोकतन्त्र ल्याउने अवस्था छ, त्यसलाई बदल्न संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी बनाउनुपर्छ ।” नयाँ शक्ति निर्वाचनका लागि तयार भए पनि वातावरण नबनेको भन्दै उनले निर्वाचनको घोषणा निर्वाचन नगर्ने नियत वा सरकारको गठबन्धन लम्ब्याउने वा परिवर्तन गर्ने उद्देश्यले गरिएको आरोप लगाए । रासस

लागुऔषधसहित तीन पक्राउ

म्याग्दी, फागुन १३ । लागुऔषधसहित प्रहरीले म्याग्दीको सदरमुकाम बेनीस्थित बसपार्कबाट तीन जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा रुपन्देही खैरेनी– ४ का १८ वर्षीय अजय सेन्चुरी, २० वर्षीय राजु राना र पोखरा उप महानगरपालिका– १५ का २१ वर्षीय सोनम घताने रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए । गोप्य सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक धनबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीले लागुऔषध डाइजेपाम, फेनोरागन र टाइजेसिक सातरसात गरी २१ एम्पुल तथा पाँच मिलिको निडिल सिरिङ्ज– ३ थान र नगद ६ हजारसहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट अपराधजन्य गतिविधिमा प्रयोग भएका तीन थान मोबाइलसमेत फेला पारेको प्रहरीले जनाएको छ । रासस

तरकारी खेती गररै वार्षिक आठ लाख आम्दानी

पाँचथर, फागुन १३ । फिदिम नगरपालिका–२ का भवानीप्रसाद काफ्लेलाई अहिले तरकारी खेती गर्न भ्याई नभ्याई छ । उनले बारीमा अहिले १४ हजार काउलीका बिरुवा लगाइसकेका छन् । बेमौसमी तरकारी स्क्वास, फर्सी, काँक्रा लगाउन उनलाई हतारो भएको छ । विसं २०४७ देखि कृषि पेसा गर्दै आएका काफ्ले कृषि क्षेत्रमै महत्वपूर्ण योगदान पु¥याएको भन्दै विभिन्न निकायबाट सम्मानित पनि भइसकेका छन । कृषि क्षेत्रको आम्दानीबाटै उनले पक्की घर, घडेरी जोडिसके । तरकारी खेतीबाट वार्षिक रु आठ लाखसम्म आम्दानी गर्ने गरेको उनले बताए । “सरकारले कृषकलाई यथेष्ट मात्रामा अनुदान दिनुपर्छ,” काफ्लेले भने– “व्यावसायिक रुपमा लागेका कृषकलाई उत्साहित गर्न कृषिसम्बन्धी तालिम, उपकरण प्रदान गरे राहत हुने थियो ।” काफ्ले परिवारले वार्षिक रु ३० हजारमा १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेको छ । जिल्ला कृषि विकास कार्यालयले आवश्यक परामर्श, प्राविधिक सहयोग, औजारलगायत सामग्री उपलब्ध गराउँदै आएको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताए ।

स्थानीय चुनाव हुने भएपछि गाविस सचिव उत्साहित

पोखरा, फागुन १३ । स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि कास्कीका अधिकाँश गाविस सचिव उत्साहित भएका छन् । झन्डै उन्नाइस वर्षपछि स्थानीय तहको निर्वाचन हुने भएपछि जनप्रतिनिधिको भूमिकासमेत निर्वाह गर्दै आएका गाविस सचिव अब आपूmहरुको जिम्मेवारीको बोझ हट्ने विश्वास लिएका छन् । विसं २०५४ मा स्थानीय निकायको निर्वाचन भएको र २०५९ मा म्याद सकिएपछि सबै स्थानीय निकाय जनप्रतिनिधिविहीन भएका थिए र ती निकायको जिम्मेवारी गाविस सचिवको काँधमा आइपरेको थियो । यही फागुन ९ गते बसेको मन्त्रिपरिषदको बैठकले आगामी वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि गाविस सचिवले अब आपूmहरुले बोक्दै आएको गरुङ्गो भारी बिसाउन थालेको भान भएको टिप्पणी गरेका छन् । पुरुन्चौर गाविसका सचिव हरिप्रसाद अधिकारीले स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधि निर्वाचित भएर आएमा गाविस सचिवको कार्यबोझ घट्ने बताए । स्थानीय तहमा जनप्रतिनिधि आएपछि कामको जिम्मेवारी बाँडिन्छ, उनले भने– जनप्रतिनिधि आइसकेपछि गाविस सचिवले तोकेको जिम्मेवारीलाई सहज ढङ्गबाट अगाडी बढाउन सकिन्छ । कालिका गाविस सचिव शोभाखर ढकालले जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्थानीय जनताले बढी सेवा सुविधा पाउन सक्ने बताउँदै जनप्रतिनिधि नभएको अवस्थामा सचिवले पनि जनतालाई सक्दो सेवा त पु¥याएकै थियो तर जनप्रतिनिधि र निजामती कर्मचारीले दिने सेवा सुविधामा फरक पर्छ भने । उनले जतिसक्दो छिटो स्थानीय तहको निर्वाचन हुनुपर्ने माग गाविस सचिवको रहेको बताए । ल्वाङघलेल गाविसका सचिव टीकाराम आचार्यले दुई दशकसम्म स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जति विकास हुनुपर्ने हो, त्यो हुन नसकेको बताए । धम्पुस गाविसका सचिव विष्णुप्रसाद अधिकारीले पनि जतिसक्दो छिटो स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आउँदा राम्रो हुने उनको विचार थियो । जिल्ला निर्वाचन कार्यालय कास्कीले सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि यसका लागि आवश्यक तैयारीलाई तीव्र पारेको छ । निर्वाचनलाई नै मध्यनजर गरी कार्यालयले गत पुस १० गतेदेखि माघ १५ गतेसम्म फोटोसहितको नयाँ मतदाता नामावली सङ्कलन कार्य सम्पन्न गरेको छ । कार्यालयले जिल्लाका दुई नगरपालिका र ३२ गाविसमा ६ वटा मतदाता नामावली सङ्कलन टोली खटाएर चार हजार ३८३ जना थप मतदाताको नाम सङ्कलन गरेको कार्यालयका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए । तीमध्ये दुई हजार ३१९ पुरुष र दुई हजार ६६ महिला छन् । मृत्यु भएका, दोहोरो नाम भएका, त्रुटी सच्चाउने र बसाइँसराइ भएका मतदाताको अद्यावधिक गर्ने काम पनि सुरु गरेको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि जिल्लाका राजनीतिक दललाई निर्वाचन कार्यालयमा दर्ता गराउन गरेको आह्वानअनुसार जिल्लामा २३ वटा राजनीतिक दलले नाम दर्ता गराएका छन् । स्थानीय तह पुनःसंरचना आयोगले पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका समेटेर पोखरा महानगरपालिका बनाउन तथा ३२ वटा गाविसलाई मिलाएर रुपा, मादी, माछापुच्छे र अन्नपूर्ण गाउँपालिका बनाउन सिफारिस गरिसकेको छ ।

चुनाव घोषणापछि पाल्पामा उत्साह

रामपुर (पाल्पा), फागुन १३ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै जिल्ला सदरमुकाम तानसेनसँगै गाउँगाउँका जनता खुसी भएका छन् । सरकारले आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तहको चुनावको मिति घोषणा गरेलगत्तै यहाँका जनता उत्साहित भएका हुन् । गाउँदेखि जिल्ला सदरमुकाम तहसम्म चुनावको मिति घोषणा भएपछि खुसियाली छाएको छ । स्थानीय निकायको चुनाव भएपछि गाउँका विकास निर्माण तथा विभिन्न समस्याको अन्त्य हुनेमा यहाँका जनता आशावादी रहेका छन् । अहिले गाउँ, बजार, नगर, सदरमुकाम लगायतका स्थानमा चुनावको विषयमा चर्चा चल्न थालेको नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सचिव झपेन्द्र गहिरेले बताउनुभयो । अब हुने स्थानीय निकायको चुनावमा जनताले असल, कुशल, राजनीतिक व्यक्तिको छनौट हुने आशा लिएको रामपुरका स्थानीय बासिन्दा ओमप्रकाश रेग्मी बताउनुहुन्छ । तोकिएको समयमा जनताले असल नेतृत्वदायी व्यक्तिलाई छनौट गर्न पाउनुपर्ने र जिल्लामा क्रियाशील सबै राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, सरोकारवाला निकाय, जनताले यो चुनावलाई राम्रोसँग सम्पन्न गर्न राजनीतिकर्मीले आग्रहसमेत गर्न थालेका छन् । राजनीतिक चलखेल नभई तोकिएको मितिमा नै स्थानीय निकायको चुनाव सम्पन्न गर्न यहाँका जनताले अनुरोध गरेको सामाजिक व्यक्तित्व लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ । रासस

दुई बृद्ध साढे ८ वर्ष जेल बसेपछि निर्दाेष ठहर

सोलुखुम्बु, फागुन १३। आफ्नो गल्ती बिना कसैले वर्षौंको जेल सजाय भोग्नुपर्यो भने उसले कस्तो महसुस गर्ला ? वर्ष हैन बिनाकसुर एकाध दिन जेल सजाय पाएमा पनि उसका लागि त्यो ठूलो घात हुन्छ । यस्तै घात सहिरहेका छन्, सोलुखुम्बु सोताङका दुई वृद्धहरु ७३ वर्षीय भूपध्वज बस्नेत र ६३ वर्षीय नइन्द्रबहादुर राईले । विसं २०६५ असोज १३ गते सोलुखुम्बुको सोताङमा लोकबहादुर विश्वकर्माको गोली हानी हत्या गरेकोे आरोपमा जेलमा रहेका उनीहरु गत बुधबार सर्वोच्च अदालतले निर्दोष रहेको फैसला गरेपछि बिहीबार जेलमुक्त भएका छन् । बिहीबार जेलमुक्त भएपछि दुई वृद्धले हत्यासँग कुनै सम्बन्धसमेत नभएका आफूहरुलाई अनाहकमा साढे ८ वर्ष जेल राखेको भन्दै दुखेसो गरे । कर्तव्य ज्यानको कसुरमा २०६५ साल कात्तिक ७ गते जिल्ला अदालत सोलुखुम्बुको आदेशमा दोषी ठहर्दै सोताङका दीपेन्द्र नाछिरिङ, केदार नाछिरिङसँगै भूपध्वज बस्नेत र नइन्द्रबहादुर राई पनि जेल चलान भए । दीपेन्द्र र केदार अदालतको आदेशमा मौन रहेपनि २० वर्ष कैद सजाय पाएका ७३ वर्षीय भूपध्वज र ६३ वर्षीय नइन्द्र राई न्यायका लागि पुनरावेदन अदालत राजविराज गए । पुनरावेदन अदालतले पनि भूपध्वजलाई ज्येष्ठ नागरिक भएबापत ५ वर्ष सजाय कम गर्नेबाहेक जिल्ला अदालतकै फैसलालाई सदर ग¥यो । पुनरावेदनबाट पनि न्याय नपाएको महसुस गरे । भरुवा बन्दुक प्रयोग गरी कर्तव्य गरिएको कसुरमा आफ्नो कुनै संलग्नता नरहेको भए पनि सजाय भोग्नुपर्दा छट्पटिएका भूपध्वज र नइन्द्र न्यायका लागि अन्तिम बिन्दु सर्वाेच्च अदालतको शरणमा पुगे । उनीहरुले सर्वाेच्च धाएको ४ वर्षपछि बुधबार फैसला भयो । सर्वाेच्चले निर्दाेष रहेको ठहर गरेपछि उनीहरु ८ वर्ष ६ महिना अनाहकमा जेल जीवन बिताएर बिहीबार बाहिरिएका छन् । सर्वाेच्चबाट न्याय पाएपछि खुसी हुँदै कारागारबाट बाहिरिँदा सोताङ–३ देउरालीका ७३ वर्षीय भूपध्वज बस्नेतले भन्नुभयो, “नखाएको विष लाग्यो, तैपनि नगरीकन भोग्नु परेको पापको छिटा जिउँदै हुँदा मेटिँदा खुसी छु ।” बस्नेतसँगै जेल परेका ६३ वर्षीय नइन्द्रबहादुर राइले गुमेको खुसी सर्वाेच्चले फेरि फर्काइदिएको बताउनुभयो । परिवारसँग बसेर आरामसाथ जीवन जिउने बेलामा अनाहक जेलको चिसो सहनु मात्र हैन अदालत धाउँदा रु १२ लाख सकिएको भन्दै भूपध्वजले प्रश्न गर्नुभयो, “हामीले अनाहकमा जेल बसेको र लागेको खर्च कसले बेहोर्छ ?” रासस

धादिङका तीनवटा क्याम्पसमा निर्वाचन भोलि

धादिङ, १३ फागुन । यही फागुन १८ गते स्ववियुको निर्वाचन हुने कार्यतालिका रहेकोमा धादिङमा निर्वाचन हुने आठवटा क्याम्पसमध्ये तीनवटा क्याम्पसमा फागुन १४ गते नै निर्वाचन हुनेभएको छ । यही फागुन १४ गते नै निर्वाचन गर्नेगरी विद्यार्थी सङ्गठनबीच सहमति भई निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको र निर्वाचनका लागि तयारी पूरा गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन समितिका संयोजक बद्री कोइरालाले बताए ।निर्वाचन हुने क्याम्पसमा धादिङबेसीस्थित नीलकण्ठ बहुमुखी क्याम्पस, गजुरीस्थित आदर्श बहुमुखी क्याम्पस र खानीखोलास्थित मच्छिन्द्र बहुमुखी क्याम्पस रहेका छन् । बाँकी पाँच क्याम्पसमा फागुन १८ गते नै निर्वाचन हुनेछ । संयोजक कोइरालाका अनुसार निर्वाचनमा नेवि सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले प्रतिस्पर्धा गरिरहेको र नीलकण्ठ क्याम्पसमा सातसय ७९, आदर्श क्याम्पसमा एकसय २६ र मच्छिन्द्र क्याम्पसमा ६३ जना विद्यार्थी मतदाता रहेका छन् । File Photo