‘अर्थ बजेट’बाट रकम निकासापछि रोकिएको तलब पाउँदै प्रहरी

काठमाडौं । सरकारले ‘अर्थ बजेट’बाट रकम निकासा गरेपछि नेपाल प्रहरीले गएको वैशाखदेखि आउँदो असारसम्म नपाउने भनिएको तलबको समस्या समाधान भएको छ ।

बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या भएको थियो । रकम अभावमा उनीहरूलाई एकैपटक आउँदो साउनमा तलब दिइने यसअघि प्रहरी प्रधान कार्यालयले जनाएको थियो ।

नेपाल प्रहरीका सहप्रवक्ता एवं एसएसपी भूपेन्द्र खत्रीले तलबको समस्या समाधान भएको जानकारी दिए ।

चालु आर्थिक वर्षमा प्रहरी कर्मचारीको तलब १५ प्रतिशत बढाइएको थियो । तर, बढेको रकमबराबरको बजेट नआएकाले समस्या भएको थियो । रकम अभावमा चैत महिनाकै पनि सबै प्रहरीले तलब सुविधा पाएका थिएनन् ।

प्रहरीमा हाल ७९ हजार ५०० बढी दरबन्दी छ । ७७ हजारजना कार्यरत छन् । पछिल्लो समय सरकारका सबै सरकारी निकायमा २० प्रतिशत खर्च कटौतीको प्रभाव पनि प्रहरीमा परेको थियो ।

प्रहरी अधिकारीहरूका अनुसार खर्च कटौतीका कारण तालिमलगायत महत्त्वपूर्ण कामका लागि समेत बजेट अभाव हुन थालेको छ ।

प्रहरीमा गत वर्ष साउन १ गतेदखि नयाँ तलब स्केल लागु भएको थियो । हाल प्रहरी आईजीपीको तलब ६६ हजार ८६० रुपैयाँ छ । सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४८० रुपैयाँ तलब पाउँछन् ।

राप्रपाको केन्द्रिय समिति बैठक आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ । यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेश गरेको सांगठनिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ । अध्यक्षको राजनीतिक, महामन्त्रीको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता सगुन लावतीले जानकारी दिए ।

संसदीय समिति आजदेखि क्रियाशील हुँदै

काठमाडौं । प्रतिनिधिसभा गठन भएको ६ महिनापछि अर्थात् आजदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान ९ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए । उनको सुझावअनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । समितिका सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षता हाल तत् तत् समितिका ज्येष्ठ सदस्यले गर्ने छन्। समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची बनाइएको छ । प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा छन् । समितिको प्रमुख कार्य जिम्मेवारी भनेको सचिवालयमा दर्ता भई सभाले सैद्धान्तिक, दफावार छलफलका लागि पठाएका विधेयकलाई निष्कर्षमा पुर्‍याउनु रहेको छ । सभामा ठूलो सङ्ख्या हुने भएको र सबै काम गहिरोसँग अध्ययन तथा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन चुनौती खडा हुने भएकाले प्रभावकारी कार्यसम्पादन गर्न विश्वभर नै संसदीय समिति प्रणाली अभ्यासमा आएका हुन् । अधिकांश समिति करिब २५ सदस्यीय बनाइएको छ । नयाँ नियमावलीले साविकका केही समितिको नाम र कार्यक्षेत्रमा केही समान्य हेरफेर गरेको छ । सभाबाट गत वैशाख १५ गते ती समिति गठन भएको घोषणा भएको थियो । अघिल्लो कार्यकालमा प्रतिनिधिसभाका १० समितिमध्ये छ वटा समितिका सभापति महिला थिए । मुलुकका प्रमुख राजनीतिक दलबीच कुन समितिको नेतृत्व कसले पाउने भन्नेमा मोटामोटी सहमति भइसकेको बताइएको छ । विगतदेखि कै अभ्यास अनुरूप सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दलले प्राप्त गर्नेछ । विषयगत समितिका केही बैठकपछि समितिको नेतृत्व चयन प्रक्रिया हुने अनुमान गरिएको छ ।

भरतपुरका सबै विद्यालयलाई नारायणी माविको जस्तै आर्कषण बनाउँछौं : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी माविको जस्तै आर्कषण बनाउनेतर्फ महानगरपालिकाको ध्यान रहेको बताएकी छन् । भरतपुर २५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय शोसीमा आयोजित विद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै देशमै पहिलो र दोस्रो स्थानमा नारायणी मावि हुनु भरतपुरको लागि गर्वको विषय भएको उल्लेख गरेकी हुन् । भरतपुर महानगरपालिकाको एक वडा विद्यालय एक नमुना विद्यालय, एक कक्षा कोठा एक शिक्षक ,स्वेमसेवक शिक्षा, दरबन्दी मिलन जस्ता कार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको बताइन् । प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयमा भईरहेको विद्यार्थीको संख्या वृद्धि नै यसको मानक भएको उनको भनाई थियो । अहिले विद्यार्थीको संख्या वृद्धि भएकाले धेरै जसो विद्यालयमा भवनहरु थप निर्माण गर्नुपर्ने अवस्था रहेको पनि जानकारी दिइन्। भरतपुरका २ हजार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । भरतपुरका ६ वटा विद्यालयमा अध्ययन गर्ने ईसिडीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख दाहालले वितरण गरिन् । भरतपुर वडा नम्बर २५ मा रहेको शोसी माध्यमिक विद्यालयका विद्यार्थीलाई सो सामाग्री दिएर कार्यक्रमको शुभारम्भ गरिएको हो । साझापुर माविमा ३५५ जना, शोसी माविमा ४३६ जना, हिमालय दण्डपाणी माविमा २७८ जना, मोहन माविमा ४१४, सिद्धि जनकल्याण आद्यारभूत विद्यालयमा १४५ जना र ईन्द्रपुरी माविमा १०० जनाले सो सामाग्री पाएका छन् ।

पूर्व गृहमन्त्री खाँणको बयान भोली पुन लिइने

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान भोली पुन लिइने भएको छ । आज सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि भोली पनि निरन्तर हुने भएको हो । आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा दर्जनौँ सवाल जवाफ भएका थिए ।

प्रहरीले संसद सचिवालयलाई दियो रायमाझी पक्राउ परेको जानकारी

काठमाडौं । प्रहरीले फरार एमाले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको सूचना संसद सचिवालयलाई दिएको छ। कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधि सभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ। प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सांसद पक्राउ परेको सूचना सभामुखले सदनलाई जानकारी दिनुपर्ने व्यवस्था छ। भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार भएका थिए। उनलाई आइतबार साँझ प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेका रायमाझी त्यसयता फरार थिए ।

रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानान्त्री टोपबहादुर रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । रायमाझीलाई सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएपछि म्याद थपका लागि अदालत लगेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार भएका थिए । उनलाई अनुसन्धानका लागि प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो । शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीपविरुद्ध वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो । उनका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।

आगलागीमा परेर बारामा एकै परिवारका ४ जना घाइते

बारा । बाराको आदर्श कोतवाल गाउँपालिका–१ च्युटाहास्थित एक घरमा आइतबार राती आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाइते भएका छन् । घाइते हुनेमा पतीपत्नी र दुई छोरा रहेका छन् । लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएका हुन् । उनीहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ । सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनीहरुलाई अस्पताल लगेका थिए । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागी हुँदा सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत जलेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पाण्डेकाअनुसार आगलागीबाट चार लाख १० हजार बराबरको क्षति भएको छ ।

पूर्वगृहमन्त्री खाँण बयानका लागि सरकारी वकिलको कार्यालयमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बयानका लागि सरकारी वकिलको कार्यालयमा लगेको छ । प्रहरीले सोमबार बयानका लागि खााणलाई काठमाडौंको बबरमहल स्थित सरकारी वकिलको कार्यालय लगेको हो ।पूर्वगृहमन्त्री खाँण सहित नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई आइतबार हिरासतमा राखेर अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको थियो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगीमा पक्राउ परेका मुख्य आरोपितहरुले खाँणको नाम लिएपछि उनको संलग्नाता रहेको भन्दै प्रहरीले खाँणलाई गत साता पक्राउ गरेको थियो । यही प्रकरणमा तानिएर फरार भएका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधमामन्त्री टोप बहादुर रायमाझीलाई प्रहरीले आईतबार राति पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजदेखि बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजदेखि बन्द भएको छ। आयोजना स्थलको मुहानमा आवश्यक मर्मत सम्भार गर्न दुई साताका लागि पानी वितरण बन्द गरिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। सामान्य बाढी आएका बेला पनि आयोजना सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो। गेट नम्बर–९ मा रहेको हेडवर्क्समा नयाँ सिलिन्डर जडान गर्नु पर्ने छ। त्यसका लागि पानीको प्रवाह नै बन्द गर्नु परेको कुँवरको भनाइ छ। यस्तै गेट नम्बर–१ मा पनि जाली राख्नुपर्ने उनले जानकारी दिए। गत वर्ष फलामको पाता राखेर पानी बन्द गरिएको थियो। ठूलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको हो। मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सञ्चालन गरिने आयोजनाले जनाएको छ।

नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक आज सुरु हुने भएको छ। बंगलादेशको ढाकामा आज सह–सचिवस्तरीय बैठकमा ऊर्जा व्यापारका विषयमा प्राथमिकताका साथ छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा ६ सय ८३ मेगावाटको जलाशययुक्त सुनकोशी तेस्रो आयोजना संयुक्त लगानीमा कसरी अघि बढाउने भनेर पनि छलफल हुने ऊर्जा मन्त्रालयले जनाएको छ। भोलि सचिवस्तरीय बैठक बस्नेछ। परराष्ट्रमन्त्री एनपी साउदको बंगलादेश भ्रमणका क्रममा आइतबार दुई देशका निजी क्षेत्रकाबीच पनि विद्युत व्यापारको विषयमा छलफल भएको थियो । मन्त्री साउदले प्रधानमन्त्री शेख हसिनासँग नै विद्युत व्यापारका बारेमा छलफल गरेका थिए।

नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

त्रिवेणी । नवलपरासी–(बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो । आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।

उद्योग मन्त्री रिजाल अनुुगमनमा, दबाबमा नपरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कसैको दबाबमा नपरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागको आज अनुगमन गर्ने क्रममा मन्त्री रिजालले कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् । सचिव, महानिर्देशक या स्वयम् म आफैँले पनि कुनै अनुचित काम गर्न दबाब दिए भने त्यो काम नगर्नुहोला,’ मन्त्री रिजालले भने । उनले सेवाग्राहीलाई झन्झटरहित सेवा उपलब्ध गराउन आग्रह गरे । मन्त्री रिजालले आजै खानी तथा भूगर्भ विभागको पनि अनुगमन गरे । देशलाई समृद्धि तर्फ लैजाने गरी उपलब्धिमूलक काम गर्न हौसला दिँदै उनले पारदर्शी भएर काम गर्न आग्रह गरे । ‘हामी त आउँछौँ जान्छौँ, तपाईँहरु स्थायी सरकार हो, हामीले त गाइडलाइन दिने हो, काम गर्ने तपाईँहरूले हो,’ मन्त्री रिजालले भने ।

५९ औँ विद्यार्थी दिवस : प्रचण्ड, माधव र विप्लव सहितका नेताले एउटै मञ्चबाट सम्वोधन गर्ने

काठमाडौं । ५९ औँ विद्यार्थी दिवसको अवसरमा पाँच विद्यार्थी संगठनले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्ने भएका छन् । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्ने भएका हुन् । विद्यार्थी संगठनले सोमवार राष्ट्रिय नाचघरमा  “विद्यार्थी दिवस र अबको बाटो “ विषयक कार्यक्रम आयोजना गर्न लागेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए। पराजुलीका अनुसार कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुनेछन् । विद्यार्थीहरुमा एकताको सन्देश दिन आफुहरुले संयुक्त कार्यक्रम गर्न लागेका छौँ पराजुलीले भने, पार्टी सडक र सत्तामा जहा भएपनी हामी सँगै छौ र सँगै हुनेछौ।

विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने

काठमाडौं। वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन्। भन्सार विभागले आइतबार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो। विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताए । उनका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन्। “श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ”, जारी सूचनामा भनिएको छ, “अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले एक थान मोबाइल फोन सेटको घोषणा भने भन्सार कार्यालयमा गर्नुपर्दैन।” यही वैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो। यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ मा विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान एक महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली एमडीएमएस लागू गर्दैछ। उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ। दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किंदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्नेछ हुन्छ। यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० लागू गर्ने तयारी गरेको थियो। प्राधिकरणले उक्त सिष्टम लागू गर्ने तयारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालका लागि उक्त काम रोकिएको थियो।

यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका राईविरुद्ध सात दिन म्याद थपेर अनुसन्धान हुँदै

काठमाडौं । खोटाङ जिल्ला अदालतले कृषी विद् मदन राईमाथि बाल यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको समय दिएको छ । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम) का संस्थापक  राईविरुद्ध बाल यौनदुरुपयोग कसुरमा अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप भएको हो । फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा खोटाङ प्रहरीले राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको थियो । अहिले म्याद थपेर अनुसन्धान भइरहेको छ ।