सुनकुमारीका श्रीमानले सफाइ पाए, बहिनीलाई १० वर्ष कैद

रोल्पा, फागुन १८ । श्रीमान् र बहिनीको कुटपिटबाट हत्या गरिएको भनिएकी थबाङ, रोल्पाकी सुनकुमारी नेपालीका श्रीमानले अदालतबाट सफाइ पाएका छन् भने सुनकुमारीकी (सानीआमाकी छोरी) बहिनीलाई जिल्ला अदालत रोल्पाले १० वर्षका लागि कैद हुने गरी फैसला गरेको छ।

वि.सं २०७३ असोज २५ गते विजयादशमीको टीकाको दिनमा सुनकुमारीको घरमा भोजभतेर भइरहेको बेला रातको करिब १२ बजे सुनकुमारी र जालकुमारीका बीचमा सामान्य विवाद परेपछि जालकुमारीले सुनकुमारीलाई लछारपछार गरेर पटकपटक मसला पिस्ने सिलौटोमा सुनकुमारीको टाउको बजारेर कुटपिट गरेको र सोही चोटबाट सुनकुमारीको मृत्यु भएको पुष्टि भएपछि जालकुमारी नेपालीलाई १० वर्ष कैद हुनेगरी फागुन ३ गते फैसला भएको जिल्ला अदालत रोल्पाका न्यायाधीश कमलप्रसाद ज्ञवालीले राससलाई मंगलबार जानकारी दिए ।

उनका अनुसार मृतक सुनकुमारीको हत्यामा संलग्न रहेको भनिएका अर्का प्रतिवादी (सुनकुमारीका श्रीमान्) ध्रुव नेपालीले मृतक सुनकुमारीलाई कुटपिट गरेको पुष्टि नभएको हुँदा ध्रुव नेपालीले सफाइ पाएका हुन् ।

जिल्ला न्यायाधीश ज्ञवालीका अनुसार नियतवश कसैको ज्यान लिएमा जन्मकैद हुने व्यवस्था भए पनि जालकुमारी नेपालीले आवेशमा आएर घटना घटाएको हुँदा १० वर्ष कैद सजाय तोकिएको हो । मृतकका श्रीमान् ध्रुव नेपाली र बहिनी जालकुमारी नेपालीले सुनकुमारी नेपालीलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी घाइते बनाई उपचारका क्रममा सुनकुमारीको मृत्यु भएको अभियोगमा दोषीउपर कारबाहीका लागि जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता भएको थियो ।

घटना घटेको करिब एक महिनापछि कात्तिक २७ गते भैरहवाको शिक्षण अस्पतालमा उपचारका क्रममा सुनकुमारीको मृत्यु भएपछि पीडक जालकुमारी नेपाली र धुव्र नेपालीलाई कारागार कार्यालय रोल्पामा थप अनुसन्धानका लागि थुनामा राखिएको थियो ।

अदालतको फैसलाअनुसार जालकुमारी नेपालीले फागुन ३ गतेदेखि १० वर्ष कैद सजाय भोग्नेछिन् । काक्री, रुकुम माइत भएकी जालकुमारीका श्रीमान् घटना घट्ने समयमा रोजगारीका लागि साउदी अरबमा थिए भने जालकुमारी भने करिब ६ महिनादेखि ७ वर्ष, ४ वर्ष र ३ वर्षका छोराछोरीलाई पढाउने बहानामा थबाङमा डेरा लिएर बस्दै आएकी थिइन् ।

मन्त्रीपरिषदको बैठक सम्पन्न

काठमाडौं, फागुन १७ । नेपाल सरकार मन्त्रीपरिषदको नियमित बैठक सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदनमाथि सुझाव दिन बनेको कार्यदलको म्याद तीन दिनका लागि थप गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकले बन सुरक्षाका लागि ७०० जना नेपाली सेनालाई काजमा खटाउने निर्णय गरेको छ । बैठकले नेपालको स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व बैंकले दिने १५ अरब ९३ करोड ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । त्यसरी नै बैठकले सरकार र निजी क्षेत्रको सहभागितामा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको छ । बैठकले बाँकेमा सुशील कोइराल प्रखर क्यान्सर अस्पताल स्थापना गर्ने, विद्यमान बजेटको सीमाभित्र रहेर विभिन्न कार्यक्रमहरुमा आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने निर्णय भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।

सिन्धुपाल्चोकमा महेश श्रेष्ठ विजयी

मेलम्ची, फागुन १८ गते । नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको दशौँ अधिवेशन हिजो राति अबेर सम्पन्न भएको छ । अधिवेशनमा भएको निर्वाचनमा सभापति पदमा महेश श्रेष्ठ ६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले सभापतिका प्रतिस्पर्धी युवराज पुरीलाई एक मत अन्तरले मात्र पराजित गर्नुभएको थियो । त्यसैगरी, खुला उपाध्यक्षमा ज्ञानेन्द्र तिमल्सिना ७१ मत, महिला उपाध्यक्षमा दुर्गा आचार्य ६५, सचिवमा दिनेश थापा ६५, खुला सहसचिवमा किशोर बुढाथोकी ७२, समावेशी सहसचिवमा केदार माझी ६८, खुला कोषाध्यक्षमा विदुर गिरी ६१ मतसहित निर्वाचित हुनु भएको छ । यस्तै, खुला सदस्यतर्फ आदित्य दाहाल ६०, सुरेश बुढाथोकी ६८, सुन्दर शिरिष ६१ तथा समावेशी सदस्यतर्फ सिर्जना बराल निर्विरोध, जनजातितर्फ नेत्र तामाङ ५७, महिला सदस्यतर्फ कमला तामाङ ५४ मतसहित निर्वाचित हुनु भएको जिल्ला निर्वाचन अधिकृत अमित घिमिरेले जानकारी दिनुभयो । रासस

सेफ्टी ट्याङ्की खन्दा सयौँ वर्ष पुराना मानव कङ्काल भेटियो

जुम्ला,  फागुन १८ । चन्दननाथ नगरपालिका–५ भारतीवाडा जुम्लामा सयौँ वर्ष पुराना मानव कङ्काल भेटिएका छन् । घरमुली शिवलाल डाँगीको घरको सेफ्टी ट्याङ्की खन्ने क्रममा मानव कङ्काल भेटिएका हुन् । ट्याङ्की खन्दाको छ फिट तल कङ्काल भेटिएका घरमूली शिवलाल डाँगीले जानकारी दिनुभयो । भेटिएका कङ्कालमा मानव खप्पर, हात खुट्टाको हड्डी लगायतका ३० वटा टुक्रा रहेको डाँगीले बताउनुभयो । “कृषि सुपरजोनको सेफ्टी ट्याङ्की, अमर सन्देश गेस्ट हाउस, जिल्ला प्रशासनको भवन निर्माणदेखि बजारका अधिकांश ठाउँमा मानव कङ्काल भेटिँदै आएका छन्”, उहाँले भन्नुभयो । भेटिएका यी कङ्काल आफूले सुरक्षित साथ बोरामा राखेको उहाँको भनाइ छ । इतिहासलाई केलाएर हेर्दा जुम्ला खलङ्गा सदरमुकाम तत्कालीन समयमा चिहानघाट थियो भन्ने कुरा स्थानीय बूढापाका बताउँछन् । उनीहरुका अनुसार हालको प्रतिष्ठान शिक्षण अस्पताल क्षेत्र पनि त्यतिबेलाको चिहानघाट भएको र पहिले यो भूमि पानीले डुबेको थियो । रासस

सेफ्टी ट्याङ्की खन्दा सयौँ वर्ष पुराना मानव कङ्काल भेटिए

जुम्ला, फागुन १७ । जुम्लाको एक घरमा सेफ्टी ट्याङ्की खन्दा सयौँ वर्ष पुराना मानव कङ्काल भेटिएका छन् । चन्दननाथ नगरपालिका–५ भारतीवाडामा शिवलाल डाँगीको घरको सेफ्टी ट्याङ्की खन्ने क्रममा सो मानव कङ्काल भेटिएको प्रहरीले बताएको छ । ट्याङ्की खन्दाको छ फिट तल कङ्काल भेटिएका घरमूली शिवलाल डाँगीले जानकारी दिए । भेटिएका कङ्कालमा मानव खप्पर, हात खुट्टाको हड्डी लगायतका ३० वटा टुक्रा रहेका छन् । कृषि सुपरजोनको सेफ्टी ट्याङ्की, अमर सन्देश गेस्ट हाउस, जिल्ला प्रशासनको भवन निर्माणदेखि बजारका अधिकांश ठाउँमा मानव कङ्काल भेटिँदै आएको उनले बताए । इतिहासलाई केलाएर हेर्दा जुम्ला खलङ्गा सदरमुकाम तत्कालीन समयमा चिहानघाट थियो भन्ने कुरा स्थानीय बूढापाका बताउँछन् । ।

प्रहरीमाथि जाइलाग्ने कांग्रेस नेता पक्राउ

नेपालगन्ज, फागुन १७ । बाँकेको बागेश्वरी बहुमुखी क्याम्पसमा मदिरा रक्सी खाएर आई प्रहरीमाथि नै जाइलाग्न खोज्दा कांग्रेसका एक नेता पक्राउ गरेका छन् । क्याम्पसमा सञ्चालक समितिको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका नेता कृष्ण कार्कीले मदिरा सेवन गरी आई त्यहाँ होहल्ला गरेको र प्रहरीमाथि पनि हातपात गर्न खोज्ने खोजेपछि इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो । सञ्चालक समितिका सदस्यसमेत रहेका कार्की रक्सी खाएर बैठककक्षमा सहभागी भएपछि विवाद उत्पन्न भएको थियो । उनी कांग्रेसको तर्फबाट कोहलपुर नगर विकास प्रमुखसमेत बनिसकेका छन् । उनी अहिले कांग्रेस अनुगमन तथा मूल्याङ्कन विभागमा छन् । कार्कीले क्याम्पसका प्राध्यापकलाई थर्काउन थालेपछि प्रहरीले बाहिर निकाल्न लाग्दा प्रहरीमाथी नै हातपात गरेपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

स्थानीय निकाय पुनः संरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप

काठमाडौँ, फागुन १७ । सरकारले स्थानीय निकायको सङ्ख्याका सम्बन्धमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका लागि स्थानीय निकाय पुनः संरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप्ने भएको छ। सत्तारुढ दल र मोर्चाका नेताहरुबीच संविधान संशोधन र स्थानीय निर्वाचनका सम्बन्धमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सो समझदारी भएको हो । स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनमा मोर्चा असन्तुष्ट भएपछि सरकारले स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सङ्ख्या थप्न सरकार सकारात्मक भए पनि संविधान संशोधन पारित नभएसम्म निर्वाचनमा जान मोर्चा तयार भएको छैन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन पारित हुने सम्भावना नभएकाले अन्य विषयमा मिलाउन आफूहरुले आग्रह गरेको बताए। उनले संशोधन र निर्वाचनबारे अन्य दलसँग थप परामर्श गरेर निर्णयमा पुगिने जनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, मोर्चाका नेता महन्थ ठाकुरलगायत सहभागी बैठकमा संशोधनबारे राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकसहित अर्को बैठक गरेर अघि बढ्ने समझदारी भएको छ । छलफलपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सकेसम्म संविधान संशोधन प्रस्तावलाई पारित गर्न र स्थानीय तहको निर्वाचनको तयारीमा पनि लाग्ने मागबमोजिम तराई–मधेसका जिल्लामा जनसङ्ख्याका आधारमा स्थानीय निकायको सङ्ख्या बढाउन कार्यदलको काम बाँकी रहेकाले अवधि थप्न लागिएको बताए सम्भवतः आजैको मन्त्रिपरिषद् बैठकले कार्यदलको अवधि थपको निर्णय गर्ने भुसालले जानकारी दिए । मोर्चाले स्थानीय तहलाई प्रदेशको मातहतमा राख्न माग गरेको छ भने अन्य दलले संविधानबमोजिम सो तह स्वायत्त रहेको अवगत गराएको छ । नेकपा एमाले लगायत विपक्षी दलले संविधान संशोधन राष्ट्रहित विपरीत भएको जनाउँदै पारित हुन नदिने अडान कायम राखेका छन् । मोर्चाका नेता ठाकुरले संशोधन पारित नभएसम्म निर्वाचनमा भाग लिनेबारे आफूहरुले नसोचेको बताए।

फेन्सी पसलमा आगलागी, २५ लाखको क्षति

धरान, फागुन १७ । भोलामान श्रेष्ठको घरको भूँइतलामा सञ्चालित फेन्सी पसलमा आगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ । धरान ४ छाताचोकस्थित काफ्ले स्टोरको ब्याग, जुत्ता, चप्पल भएको ठाउँमा मंगलबार आगलागी भएको थियो । आगलागीबाट पसलका सबै सामान जलेर नस्ट भएका छन् । पसलभित्रको विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको । एकसाता अघि लोडसेडिङको बेला इन्भर्टर सर्ट भएर धरान ६ निकेतन गल्लीस्थित एक पसलमा आगलागी हुँदा करिव ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो । फाइल तस्वीर

भुटानी शरणार्थीलाई उनीहरुकै देश फर्काउनुपर्छ-पराराष्ट्रमन्त्री महत

जेनेभा, फागुन १७ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालमा रहेका बाँकी भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने बताएका छन् । राष्ट्रसंघीय मानवअधिकार परिषदको ३४ औं उच्चस्तरीय सत्रमा सहभागी हुन हाल जेनेभामा रहेका मन्त्री महतले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटमा भुटानी शरणार्थी स्वदेश फर्किने वातावरण बनाउनुपर्ने बताएका हुन् । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तले पटकपटक शरणार्थीलाई नेपालमै पुर्नस्थापित गर्न आग्रह गर्दै आएपनि नेपालले भने ती शरणार्थीलाई स्वदेशमै फर्किनका लागि सहयोग गर्नुपर्ने अडान लिँदै आएको छ । भुटानी शरणार्थी मध्ये केही तेस्रो मुलुकमा पुनस्थापित भए पनि दश हजार भन्दा बढी शरणार्थी अझै नेपालमा रहेका छन् । मन्त्री महतले राष्ट्रसंघीय निकायले शरणार्थी आफ्नो देशमा नफर्किदाँसम्म तथा तेस्रो मुलुकमा पुनस्थापित नहुँदासम्म मानवीय सहायता उपलब्ध गराउने दायित्व निर्वाह गर्न आग्रह गरे । उच्चायुक्त ग्रान्डीले भने शरणार्थीलाई गर्दै आएको सहयोगको जिम्मेवारीबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री महतको भनाई उद्धृत गर्दै उनका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । मंगलबार साँझ ५ बजे सिंहदरबारबाट प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । पछिल्लो राजनीति अवस्था, राजनीतिक गतिरोधबारे सरकारले चालेको भूमिका, स्थानीय निकायको निर्वाचन लगायतका विषयमा विशेष पत्रकार सम्मेलन मार्फद सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत रञ्जित रायले बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल पुरा गरी दिल्ली फर्कन लागेका रायले बालुवाटारमा प्रधानमन्त्रीसँग औपचारिक बिदाइ भेट गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्रीले राजदूत रायको कार्यकाल प्रभावकारी र सन्तुलित रहेकोमा धन्यवाद दिँदै नेपाल र भारत बीचको सम्बन्ध थप गाढा र घनिष्ठ बन्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले रायको कार्यकालमा नेपालमा सञ्चालित विकास आयोजनाहरुको तिव्रता, दुई देशीय अनुगमन संयन्त्रको कार्यसम्पादनमा प्रभावकारिता, दुई देशबीच उच्चस्तरीय भ्रमण भएको बताउँदै आगामी दिन यसले थप तिब्रता पाउने विश्वास व्यक्त गरे । भेटमा राजदूत रायले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सकारात्मक सहयोग पाएकोमा खुसी व्यक्त गर्दै त्यसका लागि नेपाललाई धन्यवाद दिए । भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। ऋषिराज अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना लगायत उपस्थित थिए ।

सिँजा बहुमुखी क्याम्पसको सभापतिमा खत्री निर्विरोध

जुम्ला,  फागुन १७ । जुम्लाको सिँजास्थित सिँजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेवि सङ्घका अमरसिंह खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । सम्पूर्ण विद्यार्थी सङ्गठनको सहमतिका आधारमा सोमबार खत्री सभापतिमा निर्वाचित हुनुभएको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत नवीन शर्माले जानकारी दिनुभयो । त्यसैगरी, उपाध्यक्षमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका रवि बडुवाल र सचिवमा अखिल क्रान्तिकारीका तीर्थ तिरुवा निर्वाचित हुनुभएको अधिकृत शर्माले बताउनुभयो । यसैगरी, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सविता आचार्य, सहसचिवमा भुपिनन्द जैसी र सदस्य धनमान रोकाया र गोविन्द रोकाया निर्वाचित भएको स्ववियु निर्वाचन समितिले जनाएको छ । विसं २०६५ मा स्थापना भएको सिंजा बहुमुखी क्याम्पसमा ७७ जना विद्यार्थी रहेका थिए । खत्री सिंजा बहुमुखी क्याम्पस स्थापनाकालको पहिलो स्ववियु सभापतिमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित सभापति खत्रीले जनशक्ति र भौतिक पूर्वाधारको समस्या भएको यो क्याम्पसको उचित व्यवस्थापनका लागि पहल गर्ने बताउनुभएको छ । जुम्ला बहुमुखी क्याम्पसमा भने विद्यार्थी सङ्गठनको विवादका कारण आजका दिनसम्म चुनाव हुने वा नहुने भन्ने यकिन हुन सकेको छैन । रासस

महासंघमा पत्रकारको आमरण अनशन तोडियो

काठमाडौँ,फागुन १७। नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा यही फागुन ११ गतेदेखि दुई पत्रकारले जारी राखेको आमरण अनशन सोमबारदेखि तोडिएको छ । महासङ्घको गतिविधि राजनीतितर्फ बढी भएको र क्रियाशील पत्रकारलाई छाडेर अन्यलाई बढी प्राथमिकता दिएको तथा पाँचथर तथा इलाममा भएको जिल्ला अधिवेशन पारदर्शी नभएको जनाउँदै पत्रकारद्वय लवदेव ढुङ्गाना र प्रेम अधिकारी आमरण अनशनमा बस्नुभएको थियो । महासङ्घका पूर्वसभापतिद्वय किशोर नेपाल र डा सुरेश आचार्यको उपस्थितिमा महासङ्घ पदाधिकारी र अनशनरत पक्षबीच सहमति भएपछि पत्रकारद्वयको अनशन समाप्त भएको हो । सहमतिपत्रमा महासङ्घका तर्फबाट सचिव धर्मेन्द्र कर्ण र अनशनरत पत्रकारद्वय ढुङ्गाना र अधिकारीले हस्ताक्षर गर्नुभएको छ । महासङ्घ पाँचथर शाखामा भएको नयाँ सदस्यता तथा नवीकरणका सम्बन्धमा शाखा कार्यसमितिले सिफारिस गरेबमोजिम नै केन्द्रले स्वीकृत गर्नुपर्ने, जिल्लामा व्यक्त असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने, इलाम शाखाको असन्तुष्टि सम्बोधन गर्न महासङ्घ केन्द्रले संयन्त्र बनाई समाधान गर्र्नुपर्ने, ताप्लेजुङ शाखाको महाधिवेशन प्रक्रियाका बारेमा पनि केन्द्रीय संयन्त्रले नै समस्याको समाधान गर्नुपर्ने दुई पक्षबीच सहमति भएको छ । रासस

धाइजनको सहिदमार्ग पुनः सूचारु हुने

झापा, फागुन १६ । निर्माणाधिन अवस्थामै अलपत्र परेको झापाको दुहागढी—६ धाइजनमोडदेखि दुहागढी—१ जोडिने सहिदमार्ग पुनः सूचारु हुने भएको छ । नव सृजनशील युवा समाजले स्थानीयबासी, निर्माण समिति र सम्बन्धित ठेकेदारसँग सोमबार आयोजना गरेको ‘समस्या र त्यसको सामाधान’ विषयक छलफल ठेकेदारले प्रतिबद्धता जाहेर गरेपछि उक्त मार्ग मंगलबारबाट सुचारु हुने भएको हो । सहिदमार्ग निर्माण निपरन्तर नहुँदा धुँलो र धुवाका कारण आफूहरुलाई समस्या परेको भन्दै स्थानीयबासीले चाडो निर्माण गरिदिन ठेकेदारलाई ध्यानाकर्षण गराका थिए । सोही क्रममा ठेकेदार ‘दीवा झापाली जेभी व्लिडर्स’ का प्रबन्ध निर्देशक शेरबहादुर थापाले काम सूचारु गर्दा स्थानीयको सहयोग भए मंगलबारबाटै कालोपत्रको काम सूचारु गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । २०७३÷०७४ मा सहिदमार्गको स्तरोन्नतिका लागि क्षेत्र नम्बर २ का सभाषदको सांसद विकास कोष र स्थानीय निकायको गरी ३ करोड १५ लाख निकासा भएपछि ०७३ साल बैसाखबाट उक्त बाटोको निर्माण सुरु गरिएको थियो । एक चरणको कामपछि ठेकेदारले बाटो निर्माणमा ससाना समस्या आएको भन्दै ठेकेदारले निर्माण रोकेको थिए । ५ किलोमिटर २ सय मिटर लम्बाई र ४० फुट चौडाई रहेको उक्त सहिदमार्गमा ‘डबल वेस सकेस डेसिङ’ को कालोपत्रे गरिने ठेकेदार थापाले भनाई छ । उनले मंगलबारदेखि बाटो खन्ने काम सुरु गर्ने र ३० डिग्री सेल्सियस मौसम भएपछि कालोपत्रे गरिने बताए । कार्यक्रममा रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सर्वसाधारणले ठेकेदारप्रति देखाएको सहानुभूतिलाई ठेकेदारले अनुशरण गर्दै चाडो भन्दा चाडो निर्माण सूचारु गर्न आग्रह गरेका थिए । प्रतिउत्तरमा कम्पनीका साइड इन्चार्ज मौसम थापाले बाटो निर्माण गर्दा सुरुदेखिको अवस्थाका विषयमा प्रष्ट पारेका थिए । कार्यक्रममा निर्माण समिति र स्थानीय नव सृजनशील युवा समाजले बाटो रेखदेख तथा अनुगमन गर्ने समेत निर्णय भएको छ । नव सृजनशील युवा समाजका अध्यक्ष बद्री महतले समयमै बाटो निर्माण नहुँदा धुलोका कारण स्थानीयवासी आक्रान्त बनेको ध्यानाकषर्ण गराउँदै निर्माणमा कुनै पनि समस्या आए स्थानीयको तर्फबाट ठेकदारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । त्यसैगरी अभिनारायण मैनाली, कृष्ण सुवेदी, गोपीराज मैनाली, सूर्य कडरिया, श्याम राजवंशीलगायतले समयमै बाटो निर्माण नहुँदा आफूहरु पीडित भएको भन्दै चाडो निर्माण गर्न ठेकदारलाई सुझाव दिएका थिए । बद्री महतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश उप्रेतीले गरेका थिए ।

प्रत्यक्ष राष्ट्रपति हुनुपर्ने भन्दै नयाँ शक्तिले गरायो ७५ हजारको हस्ताक्षर

ललितपुर, फागुन १६ । नयाँ शक्ति नेपाल पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थासहितको शासकीय स्वरुप हुनुपर्ने माग गर्दै सरकारलाई दबाब दिन ७५ हजार हस्ताक्षर संकलन गराएको छ । उक्त हस्ताक्षर फागुन २७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई बुझाइने नयाँ शक्ति नेपाल ललितपुरका संयोजक रोशन पोखरेलले जानकारी दिए । जिल्लामा माघ २ गतेदेखि शुरु भएको उक्त हस्ताक्षर अभियानको आज एक कार्यक्रमबीच लगनखेलमा समापन गरिएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक व्यवस्थापिका संसदको लागि दबाब दिन हस्ताक्षर अभियानमार्फद जनताको मत बुझ्ने काम भएको संयोजक पोखरेलले जानकारी दिए । एक महिना १४ दिनसम्म चलेको अभियान जिल्लाको सबै गाउँपालिका र नगर तथा उपमहानगरपालिकाको सबै वडाहरुमा गरिएको पोखरेलले बताए । उनले भने–‘आजसम्म ७५ हजार भन्दा बढी हस्ताक्षर सङ्कलन भैसकेको छ, फाल्गुन २७गते र्याली सहित गएर संकलन भएको उक्त हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेका छौं ।’ जिल्लाका दुर्गम गाउँदेखि शहरसम्मका जनता, सबै पार्टीका नेता, कार्यकर्ता सबैले आफ्नो पार्टीले उठाएको मागमा समर्थन जनाएको उनले दाबी गरे । विशेष गरेर युवाहरुले हाम्रो माग मन पराए ।

स्थानीय निर्वाचनका लागि एमालेद्वारा दल दर्ता

काठमाडौं, फागुन १६ । स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा नेकपा एमालेले दल दर्ता गराएको छ । पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा सोमबार गएको टोलीले आयोगमा दल दर्ता गराएको हो । सार्वजनिक विदाको दिन पनि निर्वाचन आयोगमा काम भइरहेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय चुनावको तयारीसँगै दल दर्ताको काम भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् । स्थानीय तहको चुनावमा भाग लिन राजनीतिक दलहरुका लागि आयोगले फागुन १८ गतेसम्मका लागि समय तोकेको छ ।