हत्या गरी पुरेको अवस्थामा युवतीको शव फेला

भक्तपुर, फागुन २१। नगरकोट नगरपालिका–११ मुहान पोखरीमा पुरेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

अन्दाजी २० वर्षकी पहिचान खुल्न नसकेकी युवतीको पुरेको शवको हात देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।

अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् । उनले युवतीको हत्या गरी शव त्यस स्थानमा ल्याएर फालेको हुन सक्ने बताए ।

बस भित्रै जलेर एक जनाको मृत्यु

दाङ, फागुन २१ । दाङको घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर ज्यान गएको छ । घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना ३ ख ९०२२ नम्बरको बसमा शुक्रबार राति आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर ज्यान गएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर ज्यान गएको हुन सक्ने अनुमान प्रहरीको छ । ज्यान जानेमा अन्दाजी २५ वर्षीय व्यक्ति रहेका छन् । उहाँको अनुहार, हातखुट्टा एवम् शरीरका विभिन्न भाग जलेकाले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ । उनको शव स्वस्थ्य परीक्षणका लागि राप्ती उप–क्षेत्रीय अस्पताल घोराहीमा लगिएको छ । आगो लागेको बस भने घोराही–११ रतनपुर निवासी लक्ष्मण डिसीको रहेको प्रहरीले जनाएको छ । रासस

शनिबारदेखि क्यान्सरका बिरामी र कुरुवालाई निःशुल्क बस (रुटसहित)

भक्तपुर, फागुन २१ । क्यान्सरका रोगको परीक्षण एवं उपचारका लागि अस्पताल आउन सहज बनाउने उदेश्यले भक्तपुर क्यान्सर अस्पतालले शनिबारदेखि क्यान्सरका बिरामी तथा कुरुवाका लागि निःशुल्क बस सेवा सुरु गरेको छ । अस्पतालले दुईवटा बसबाट बिहान साढे पाँच बजेदेखि राति साढे ८ बजेसम्म बिरामीका लागि सेवा दिने अस्पताल प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए । बस सेवा लिन बिरामी वा बिरामीका कुरुवाले अस्पतालको कार्ड भने अनिवार्य रुपमा साथमा लिनु पर्नेछ । भक्तपुर क्यान्सर अस्पतालबाट जाने बस सल्लाघारी हुँदै ठिमी, जडिबुटी, कोटेश्वर मुनीभैरव मन्दिर अगाडिबाट फर्केर फेरि अस्पताल फर्कनेछ । त्यसैगरी अर्को बस भक्तपुर क्यान्सर अस्पतालबाट ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, माईतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, फेरि टेकु फर्केर त्रिपुरेश्वर, वीर अस्पताल, लैनचौर, लाजिम्पाट, टिचिङ्ग अस्पताल, चक्रपथ, नारायणगोपाल चोक, चाहविल, मित्रपार्क, गौशाला, एयरपोर्ट, सिनामंगल, कोटेश्वर, जडिबुटी, ठिमी, सल्लाघारी हुँदै अस्पताल आइपुग्नेछ । फाइल तस्वीर

पारिवारिक घटना दर्तासम्बन्धी जनचेतनामुलका प्रदर्शनी

ललितपुर, फागुन २१ । जनचेतनाका अभावमा परिवारिक घटनाको दर्ता नगराउँदा सर्वसाधारणहरु राज्यले दिने सेवा सुविधाबाट वञ्जित हुनुपरेका घटनाहरु गाँउघरमा धेरै भेटिन्छ । यही पारिवारिक घटनाको दर्ताका बारेमा जनचेतना जगाउने उद्देश्यले मानव अधिकारका लागि महिला एकल महिला (डब्लुएचआर)ले जिल्लाको चौघरे गाविसमा जनचेतनामुलक एक दिने प्रदर्शनी सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै चौघरे गाविसका सचिव चित्रध्वज खड्काले सर्वसाधरणमा जनचेतनाको कमी हुँदा पारिवारिक घटना दर्ता नहुने गरेको बताए । उनका अनुसार मानिसहरु आवश्यक पर्दा मात्र घटना दर्ता गर्न आउने गरेको बताए । स्थानीय समुदायमा बालविवाह हुँदा समयमै विवाह दर्ता गर्न कानुनी जटिलता हुने र यसले दीर्घकालिन असर पर्ने उनले बताए ‘सानैमा विवाह दर्ता हुन्छ । कानुनले बालविवाहलाई मान्यता दिएको छैन्’, उनले भने, ‘विवाह दर्ता नहुँदा नागरिकता बन्दैन्, नागरिकता नबन्दा उनीहरुबाट जन्मिने सन्तानको जन्मदर्तामा समेत समस्या उत्पन्न हुने गरेको छ ।’ कानुनी प्रक्रिया नबुझ्दा समेत समस्या थप जटिल बन्ने गरेको उनले बताए । ‘हामीकहाँ विवाह दर्ता गर्न बच्चा जन्मिएपछि आउँछन्, त्यो पनि महिला एक्लै’, उनले भने, ‘श्रीमान विदेशमा हुन्छन्, महिला एक्लै विवाह दर्ता गर्न आँउदा कानुनले हामीलाई रोक लगाउँछ, त्यसपति बच्चाको पनि जन्मदर्ता हुँदैन् ।’ यो समस्याले बालबालिका विद्यालयमा भर्ना हुन समेत नपाउने गरेको उनको भनाई छ । कार्यक्रममा बोल्दै महिला बालबालिका कार्यालय ललितपुरकी अधिकृत शारदा विजुक्छेले समयमै पारिवारिक घटना दर्ता गराएर राज्यले दिने सुविधाको उपयोग गर्न आग्रह गरिन् । कार्यालयले एकल महिलाहरुका लागि रकम विनियोजित गरे पनि पारिवारिक घटना दर्ता तथा स्थानीय स्तरमा जनचेतना नहुँदा रकम खर्च हुन नसकेको बताइन् । कार्यक्रममा बोल्दै डब्लुएचआरकी कार्यक्रम प्रवन्धक उपाश्ना राणाले पारिवारिक घटना दर्ताको महत्त्व बुझाउनकै लागि डब्लुएचआरले गाँउ गाउँमा जनचेतनामुलक प्रदर्शनी गर्दै आएको जानकारी दिइन् । अक्सफार्मको सहयोगमा साझेदार संस्थाहरु डिप्रोक्स नेपाल, एनफो ‘वातावरण र स्वास्थ्य’को सहकार्यमा डब्लुएचआरले चौघरे गाविसमा एक दिने जनचेतना मुलक प्रदर्शनी गरेको हो । प्रदर्शनीमा स्थानीय महिला तथा विद्यालयका बालबालिकाहरुले प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीमा जनचेतना मुलक नाटक अनागरिक समेत देखाइएको थियो ।

चैत १ गते नेविसंघको अनसनपछि आयुर्वेद क्याम्पसमा स्ववियु निर्वाचन हुने

काठमाडौं, फागुन २१ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत १ हुने भएको छ। शुक्रबार क्याम्पसमा ५ विद्यार्थी सङ्गठनहरु बीच भएको छलफलबाट निर्वाचनको मिति पूनस् घोषणा भएको हो । फागुन १८ गते नै संचालन हुनुपर्ने स्ववियु निर्वाचनको कार्यक्रममा आफ्नो असन्तुष्टि व्यक्त गर्दै अनेरास्ववियु (नयाँ शक्ति) क्रान्तिकारी लगायतको प्यानलले फागुन १७ गते दिउँसो निर्वाचन समितिको कार्यलयको कोठामा तालाबन्दी गरेको थियो । नेपाल विद्यार्थी संघका समर्थित विद्यार्थीहरु प्रशन्न नेपाल र सुशान्त भण्डारी बिहानै देखि रिले अनसनमा बसेका थिए। निर्वाचनको मिति सार्वजनिक भए पश्चात् अनसन तोड्दै अनसनकर्ता प्रशन्न नेपालले स्ववियु निर्वाचन रोकिएका अन्य क्याम्पसहरुमा पनि पुनः निर्वाचन संचालन गर्न आह्वान समेत गरेका छन्।

पत्रकार महासङ्घ बर्दियामा धिताल सभापतिमा निर्वाचित

गुलरिया (बर्दिया), फागुन २१ । नेपाल पत्रकार महासङ्घ बर्दियाको ११ औँ जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद धितालका अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा यादव आचार्य, महिला उपाध्यक्षमा मेनका चौधरी, सचिवमा भावुक योगी, सहसचिवमा प्रभु चौधरी र विष्णु अधिकारी तथा कोषाध्यक्षमा दीपक शर्मा चयन हुनुभएको छ । यसैगरी सदस्यमा सन्तोष पौडेल, लक्ष्मण ढुङ्गाना, शीतल थापा, दुर्गा आचार्य, दीपक श्रेष्ठ, कुसुम विक, ताराबहादुर सुनार, भीमउचै ठकुरी र सन्दीपकुमार वैश्य चयन हुनुभएको छ । अधिवेशनले केन्द्रीय सभासद्मा युवराज श्रेष्ठ, बद्री सिग्देल, कृष्णप्रसाद बस्याल (राकेश), विनयराज भण्डारी, मेघराज सिग्देल, निर्मल घिमिरे, सुशीला गिरी र गीता अधिकारी चयन गरेको निर्वाचन समितिका सदस्य सुभाष पोख्रेलले जनकारी दिनुभयो । यस्तै प्रदेश सभासद्मा कमल पन्थी, यज्ञ नेपाल, हरिवंश पाण्डे, मङ्गलराम चौधरी, अर्जुन आचार्य, यमनाथ घिमिरे, ज्योति पन्थी, विवेकराज भण्डारी, सञ्जय आचार्य र दिनेश यादव चयन हुनुभएको छ । रासस

नौमती जोगाउँदै मगर समुदाय

बागलुङ, फागुन २१ । यहाँका मगर समुदाय नौमती बाजाको संरक्षणमा जुटेको छ । मगर बाहुल्य गाउँमा मगर बाजाका संस्थागत समूह नै बनेका छन् । परियार समुदायमा बढी प्रचलित नौमती बाजा पछिल्लो समय जनजाति समुदायमा पनि चल्तीमा छ । नौमती बाजा कलासंस्कृतिको संरक्षणसँगै आर्थिकोपार्जनको समेत राम्रो माध्यम हुँदै गएको छ । विवाह, व्रतबन्ध, पूजा, अनुष्ठान जस्ता शुभकार्यमा नौमती बाजा बजाउने चलन छ । संस्कृति संरक्षणका लागि भकुण्डे जनजाति नौमती बाजा समूह बनाइएको समूहका अध्यक्ष तुलबहादुर थापाले बताए । वि.सं २०६८ मा गठित समूहमा अहिले १३ मगर कलाकार सदस्य छन् । “मगर कलाकार मिलेर समूह बनाएका हौँ, सुरुमा बाजा भाडामा लिएर बजाउन सिक्यौँ” थापाले भने– “अहिले हामीसँग आफ्नै बाजा छन्, समूहमा रु ७० हजार बराबरको कोष पनि छ ।” वि.सं २०७० मा रु एक लाख खर्चेर नौमती बाजा किनिएको हो । समूहको कोषमा रहेको पैसा बाजा संरक्षणका काममा खर्च गर्ने गरिएको छ । बिहे हुने महिनामा लगातार १४/१५ दिनसम्म बाजा बजाउन हिँड्ने गरेको अनुभव समूहका सचिव लालबहादुर थापाले सुनाए । भकुण्डे गाविसभित्र हुने विवाह, व्रतबन्धमा जाँदा पारिश्रमिक रु १५ हजार तथा सदरमुकाममा रु २० हजार लिने गरिएको सचिव थापाले जानकारी दिए । पोखरासम्म पुग्दा समूहले प्रतिदिन रु ३५ हजार पारिश्रमिकस्वरुप लिने गरेको छ । समूहले ठाउँ, दूरी र खर्च हुने दिनअनुसार पारिश्रमिक निर्धारण गर्ने गरेको छ । एकमुष्ठ आएको पारिश्रमिक समूहले वाद्यवादनमा खटिने कलाकारलाई न्यायोचित रुपमा वितरण गर्ने गरेको छ । केही रकम समूहको कोषमा पनि जम्मा गर्ने गरिएको छ । “बिहे, व्रतबन्ध धेरै पर्ने महिनामा त राम्रो कमाइ पनि हुन्छ” थापाले भने- “टाढा–टाढाबाट पनि मगर बाजाको माग आउने गरेको छ ।” थापाले कमाउने उद्देश्यले भन्दा पनि नौमती बाजा संरक्षणका लागि आफूहरु लागिपरेको बताए । उनका अनुसार अग्रज पदमबहादुर थापा र लालबहादुर थापाको प्रेरणाबाट भकुण्डेमा मगर नौमती बाजा सुरुआत गरिएको हो । भकुण्डे जस्तै जिल्लाका दमेक, हिल, अर्गललगायत मगर बाहुल्य गाविसमा नौमती बाजा संरक्षणको अभियान चलेको छ । जनजाति समुदायका कलाकार सङ्गठित रुपमै नौमती बाजाको संरक्षणमा क्रियाशील छन् । आफ्नो समुदायको पहिचानको उजागर तथा कला र सीपको प्रदर्शन गर्न पनि अभियानले सघाएको छ ।

नोट साट्न नपाएसम्म ‘ताकेता’

नेपालका ब्यांक र सर्वसाधारणसँग रहेको भारतीय पुराना नोट सटही समस्या समाधान गर्ने उद्देश्यले आएको भारतीय टोली नेपालका ब्यांकको उपभोक्ता सम्बन्धी व्यवस्थाबाट सन्तुष्ट भएर फर्केको अधिकारीहरुले बताएका छन्। राष्ट्र ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्म ढुंगानाले ब्यांकको भन्दा पहिले सर्वसाधारणसँग रहेका पुराना भारतीय नोट साटिने बताए। तर नोट कहिले साट्न पाइने हो भन्ने निश्चित भइसकेको छैन। राष्ट्र ब्यांक र उसँग लाइसेन्स लिएका अन्य ब्यांकहरुसँग पौने नौ करोड भारतीय पुराना नोट रहेको बताइएको छ। ताकेता भारतमा स्वास्थ्य उपचार, तीर्थ यात्रा, घुमघाम या सभा सम्मेलनमा सहभागी बनेर फर्कने हजारौंसँग केही मात्रामा भारतीय नोट रहेको अनुमान गरिएको छ। भारतमा दुई महिना अघि नै कागजको खोष्टोमा परिणत भइसकेका त्यस्ता नोट साट्न नेपालको राष्ट्र ब्यांकले भारतीय अधिकारीहरुलाई बारम्बार ताकेता गर्दै आएको छ। साट्न नपाएसम्म ताकेता गरिरहने राष्ट्र ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्म ढुंगाना बताउँछन्। उनी भन्छन्, “समाधान ननिस्केसम्म यस्तै हो हामी ताकेता गरिरहन्छौं।” त्यस्ता पुराना नोट सटही गर्ने सुविधा पाउने वित्तिकै ब्यांकभन्दा पहिले सर्वसाधारणको पालो आउने निर्देशक ढुंगानाले बताए। भारतले दुई महिना अघि नै ब्यांकको नोट साट्न भनेको थियो। तर सर्वसाधारणको नसाटी ब्यांकको नसाट्ने भनेका कारण रोकिएको ढुंगानाले बताए। उनका अनुसार नेपालका ब्यांकको प्राविधिक व्यवस्थाबाट भारतीय टोली सकारात्मक भएर फर्केको छ। उपभोक्ताको जानकारी राख्ने नेपालको व्यवस्थाबाट भारतीयहरु सन्तुष्ट भएर गएको बताइएको छ। भारतीय टोलीसँग दुईदिनसम्म वार्तामा सहभागी रहेका ढुंगाना भन्छन्, “उनीहरुको खास कुरा भारतीयहरु आएर सटही लिन नसकुन् भन्ने हो। त्यसका लागि हामी पर्याप्त सावधानी अपनाउँछौं भन्ने कुरामा हामीले विश्वस्त बनाएका छौं।” नोट साट्ने बेलामा “मैले उल्लेख गरेको विवरण कुनै किसिमले गलत निस्क्यो भने मलाई कारवाही गरे हुन्छ” भन्ने कुरा स्वीकार गर्नुपर्नेछ। ढुंगानाले भने, “त्यस्तो पाइयो भने तीन गुणा जरिवाना र चारवर्ष सम्म कैद हाल्न पाउने व्यवस्था छ। त्यो व्यवस्था हामी कार्यान्वयनमा ल्याउँछौं।” करिब दुई महिनाको समय दिएर भारतमा ५०० र १००० रुपैयाँका पुराना नोट खारेज गर्ने र नयाँ नोट प्रचलनमा ल्याउने घोषणा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। गत डिसेम्बरको अन्त्यसम्ममा भारतीयहरुले आफ्ना नोट साट्न समय पाएका थिए। जानकारहरु भन्छन् नेपालका सर्वसाधारणको नोट साट्न नमाने भारतीय नोटप्रति रहेको विश्वास अझ बढी धरमराउनेछ।  बीबीसी नेपालीबाट साभार तस्वीर एपी

फागु पूर्णिमामा इच्छा विपरीत रङ दल्नेलाई कारवाही गरिने

काठमाडौं, फागुन २० । फागु पूर्णिमा पर्वमा अरुको इच्छा विपरीत जबरजस्ती रङ दल्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा महिला, बालबालिका लगायत बाटोमा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने जस्ता अव्यवहारिक कार्य नगर्न मन्त्रालयले सबैसँग अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जारी एक विज्ञप्ति जारी गर्दै त्यस्तो काम कोही कसैले नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न अनुरोध गरेको छ । मन्त्रालयको सूचना विपरीत कसैको इच्छा/स्वीकृतिबिना रङ दल्ने र लोला हान्ने काम गरे प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ । यस वर्ष पहाडी जिल्लामा यही फागुन २९ गते र तराईका जिल्लामा ३० गते फागु पूर्णिमा मनाइँदैछ ।

स्थानीय चुनावमा होमियो माओवादी, झापा उम्मेदवारी घोषणा

काठमाडौं, फागुन २० । स्ववियु निर्वाचन सकिएलगत्तै नेकपा माओवादी केन्द्र भने स्थानीय तह निर्वाचनको तयारीतर्फ लागेको छ । स्थानीय तह निर्वाचनको तयारी स्वरुप माओवादी केन्द्र झापाले उम्मेद्वार घोषणा गरेको छ । मधेसी मोर्चाले निर्वाचनमा भाग नलिने बताइरहेको अवस्थामा माओवादी केन्द्रले भने उम्मेदवारी घोषणा गरिसकेको छ । वैशाख ३१ मा हुने निर्वाचनका लागि माओवादीले दमक नगरपालिका प्रमुखमा रेवतीराज पुरी ‘गगन’ र उपप्रमुखमा शान्ति धिमालको नाम अघि सारेको हो । ७० बुँदे प्रतिबद्धता सहित गगन र धिमालको नाम सर्वसम्मत रुपमा अघि सारिएको माओवादीले बताएको छ । आफ्नो प्रतिवद्धता जनाउँदै गगनले दमकलाई नेपालको सुन्दर र समृद्ध शहर बनाउने बताएका छन् ।

नयाँ शक्तिका संयोजक भट्टराई भारत जाँदै

नयाँ दिल्ली, फागुन २० । पूर्व प्रधानमन्त्री एवंम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई भारत जाने भएका छन् । उनी फागुन २९ गते भारतको नयाँ दिल्लीमा आउने कार्यक्रम तय भएको नयाँ शक्ति पार्टीले जनाएको छ । भारतमा भट्टराई दश दिन बस्ने कार्यक्रम रहेको छ । फागुन २९ देखि चैत ७ गतेसम्म बस्ने कार्यक्रम तय भएको अन्तराष्ट्रिय नेपाली समाज नयाँ दिल्ली राज्य एन सी आर संयोजक रमेश शर्माले जानकारी दिए । भट्टराईको भारत भ्रमणको उद्देश्य पार्टीको संगठन विस्तार रहेको संयोजक शर्माले बताए । यद्यपी नेपालमा स्थानीय तहको चुनाव मिति घोषणा भइसकेपछि दश दिनसम्म भारत रहनुलाई अर्थपूर्ण रुपमाहेरिएको छ । भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताको प्रसङ्ग चलिरहेका बेला लामो समय उनी भारत रहने भएका छन् । नेपालमा संविधान स्रशोधनको विधेयक प्रक्रियामा लगेपनि त्यसबारे निर्णय भइसकेको छैन यस्तो बेला भट्टराई भारतबसाई अर्थपूर्ण रहने विश्लेषण गरिएको छ । नयाँ शक्ति स्थापना भएपछि भट्टराईको यो पहिलो भारत भ्रमण हो । यद्दपी मंसिर २६ मा आउने तय भएपनि अन्तिम समयमा उनी आएका थिएनन् । भारत भ्रमणलाई सफल बनाउन भट्टराईले पार्टीका विदेश विभाग प्रमुख नवराज सुबेदी र अन्तर्राष्ट्रिय केन्द्रीय परिषदका सदस्य कृष्ण राज गैरेसँग छलफल गरिसकेका छन् ।

भारतले स्थानीय चुनावको विरोध गरेको छैन, चुनाव हुनुपर्छ-राजदूत उपाध्याय

काठमाडौं, फागुन २० । भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपालको चुनावलाई लिएर भारतको कुनै पनि असन्तुष्टि नरहेकोे स्पष्ट पारेका छन्।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदूत उपाध्यायले भने,‘भारतले चुनावको कुनैपनि विरोध गरेको छैन । नेपालको संसद र मन्त्रिपरिषदले गरेको निर्णयलाई अरुलाई दोष दिएर हामी उम्कन मिल्दैन। त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाल मुक्त हुनुपर्छ र स्थानीय तहको निर्वाचन हुनैपर्छ। भारतले नेपालमा हुन लागेको चुनावको अहिलेसम्म कुनै विरोध गरेको छैन र म सँगपनि कुनै असहमति व्यक्त गरेको छैन।’ उनले लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव भएको जिकिर गर्दै भने-‘अब चुनाव हुनुपर्छ। त्यो आफैंले गर्ने हो। भारतलाई दोष दिएर हामी उम्कन मिल्दैन।’ साक्षात्कारमा बोल्दै राजदूत उपाध्यायले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणपनि छिट्टै हुने विश्वास दिलाए। उनले भने– ‘राष्ट्रपतिको भारत भ्रमणको लागि दुवै तर्फ प्रयत्नशील छौं। गृहकार्य अन्तिम चरणमा पुगेको छ, भ्रमण मिति छिट्टै घोषणा हुन्छ।’ नेपाल–भारत सम्बन्धमा अहिले कुनैपनि समस्याहरु नरहेको स्पष्ट पारे। उनले भने,‘सबै खाले चूनौतिहरु समाधान भैरहेको छन्। यो सकारात्मक कुरा हो।’ उनले नेपालमा लोडेसेडिङ अहिले नहुनुमा पनि भारतको ठूलो हात रहेको स्पष्ट पारे। उनले अन्तरदेशीय प्रशारण लाईन निर्माण भैसकेकोले भारतबाट ल्याईएको विजुली काठमाडौंसम्म ल्याउन सकिएको बताउँदै यसले लोडसेडिङ कमी गर्न ठूलो भूमिका निर्वाह गरेको विश्वास दिलाए। उनले भने-‘अन्तरदेशीय प्रशारण लाईन निर्माण भएकोले हामीले विजुली पाएका छौं। अहिले हामीले थप १२० मेगावाट विजलुी माँगेका छौं।’ उनले विजुली उपलब्ध गराएकोमा मित्रराष्ट्र भारतलाई धन्यवाद दिनुपर्ने बताए। उनले अघि थपे,‘भारतकै कारणले नेपालमा लोडसेडिङ अन्त्य हुँदै गैरहेको छ। यो कुरा सबैलाई थाहा छ।’ त्यस्तै उनले नेपालमा ग्यास तथा पेट्रोलियम पदार्थ लाईन बसेर लिने झन्झटलाई मध्यनजर गर्दै आईओसी र एनओसीवीच सम्झौता हुन गइरहेको पनि बताए। उनले भने,‘प्रबन्धन त हामीले गर्ने हो नि।’

राजविराज विमानस्थल असारमै सञ्चालनमा आउने

सप्तरी, फागुन २० । राजविराज विमानस्थल निर्माण हुने म्याद आगामी मङ्सिरसम्म रहे पनि असारभित्रै तयार हुने भएको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार राजविराज विमानस्थलकै सभाहलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बनाउने समयसीमा मङ्सिरसम्म भए पनि असारभित्रै विमानस्थलको रनवे तयार भइसक्ने जानकारी गराइयो । समितिका सभापति प्रभु साहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विमानस्थल निर्माण कार्यका प्रमुख रामएकवाल महतोले असारभित्रै जहाज उड्ने योग्य विमानस्थल बनाइसक्ने जानकारी दिए । अहिले द्रुत गतिमा काम भइरहेको बताउँदै उनले असारसम्म परीक्षण उडान गरिसक्ने बताए । विमानस्थलको १५ सय मिटर लामो र ३० मिटर चौडाइ भएको रनवे निर्माण कार्य भइरहेको बताउँदै उनले यो विमानस्थल विराटनगरको जस्तै रहने बताए। ३० करोड ३० लाख रुपैयाँमा रनवे बनाउने काम भइरहेको जानकारी गराउँदै विमानस्थललाई सञ्चालन गराउनका निम्ति बजेटको कुनै अभाव नरहने विश्वास पनि उनले व्यक्त गरे । समितिका सभापति प्रभु साहले आफू नेतृत्वको समितिले राजविराज विमानस्थलको निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताउँदै बजेटको कुनै अभाव हुन नदिने बताए । उनले विमानस्थल निर्माण भए पनि विमानस्थलसँगै रहेको कुनौली सडक र हुलाकी सडक चार लेनको बनाउन पनि आग्रह गरे । कार्यक्रममा सप्तरी क्षेत्र नं २ का सांसद अमर मण्डल, क्षेत्र नं ३ का समानुपातिक सांसद जितेन्द्रनारायण देवसहित अधिकांश सदस्य सांसदको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीले कुनै पनि बहानामा विमानस्थलको निर्माण कार्य रोकिन नहुने भन्दै आफूहरुबाट सक्दो सहयोग गरिने बताए ।

नयाँ शक्तिमा ठूलो विद्रोह, ७० जना केन्द्रीय नेताहरु समानान्तर पार्टी गठन गर्दै

काठमाडौं, फागुन २० । अन्य राजनीतिक पार्टीहरुले केही गर्न सकेनन् भन्दै वैकल्पिक शक्तिको दावीका साथ स्थापना भएको नयाँ शक्ति नेपालमा ठूलो विद्रोह हुने भएको छ । पार्टीको संगठनात्मक र वैचारिक कार्यशैली र पद्धतीसँग असन्तुष्ट भएका देशभरीका नेता तथा कार्यकर्ताहरुले पार्टी छोड्ने तयारी गरेका छन् । नयाँ शक्ति समानान्तर पार्टी कमिटिका नामबाट उनीहरुले नयाँ शक्ति छोडेर वैकल्पिक शक्ति निर्माण गर्ने भएका छन् । “बाबुरामजीले पार्टीलाई पुरानै कम्युनिष्ट शैलीमा चलाउन खोज्नुभयो, हरेक कुरामा केन्द्रीकरण भयो ।” नयाँ शक्ति नेपालका अन्तरिम परिषद सदस्य चन्द्रदेव ओझाले एभरेष्टदैनिकडटकमसँग भने, “अहिले आएर स्थानीय निर्वाचनको समेत बिरोध गर्न थालेपछि हामीले पार्टी छोड्ने निर्णय गरेका हौं ।” असन्तुष्ट परिषद सदस्यहरुले लोकतन्त्रलाई मजबूत पार्न स्थानीय निकायको चुनाव गर्नुपर्ने धारणा राखेका छन् । “चुनाव भनेको लोकतन्त्रको मुख्य आधार हो, बिभिन्न पक्षका असन्तुष्टि संविधान संशोधनमार्फत हल गर्न सकिन्छ, त्यसका लागि समय पनि छ ।” ओझाले भने, “तर बाबुरामजी चुनाव भाँड्ने र देशलाई अराजकतातर्फ लैजाने योजनामा हिँड्नुभयो । संगठनात्मक कार्यशैलीमा त पहिलादेखि नै हाम्रो असन्तुष्टि थियो, अहिले कार्यदिशा र वैचारिक कुरामा पनि असहमति भयो ।” असन्तुष्ट अन्तरिम सदस्यहरुले संयोजक बाबुरामसँग यसबारेमा पटकपटक कुरा गरेपनि बाबुरामले सच्चिन नमानेपछि नयाँ पार्टी गठन गर्ने निश्कर्षमा पुगेको ओझाले बताए । ओझासँगै निर्मल भट्टराईलगायतले नयाँ पार्टीभित्रका सबै जिल्ला समितिहरुमा छलफल गरेर समानान्तर पार्टी निर्माण गर्ने अभियान थालेका हुन । उनीहरुले दावी गरे अनुसार, अहिले २० प्रतिशत भन्दा बढी अन्तरिम सदस्यहरु नयाँ पार्टीमा सहभागी हुने छन् । नयाँ पार्टीले चुनावका लागि मिल्न सक्ने पक्षहरुसँग वैचारिक छलफल चलाउने तर कुनै पार्टीमा विलय या एकता भने नगर्ने ओझाले बताए । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा ३ सय ७५ जना अन्तरिम परिषद सदस्य रहेका छन् । बाबुराम भट्टराईले संविधान संशोधन नगरी चुनाव गर्नु हुँदैन भनेर सघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर प्रेस विज्ञप्ती जारी गरेपछि पछिल्लो विवाद चुलिएको थियो । फोरमसँग पार्टीको विधानविपरित विज्ञप्ती जारी गर्नु, चुनावको आवश्यकता रहेको बेला यादवको बोलीमा बोली मिलाएर बाबुराम हिँड्नु पार्टीको मूल वैचारिक र सांगठिनक लाइन विपरित भएको भन्दै असन्तुष्टहरुले बिरोध गरेका थिए । यसअघि पनि बाबुरामसँग असहमति राख्दै नौ जना केन्द्रीय सदस्यहरु (अन्तरिम परिषद सदस्य)हरुले बाबुरामलाई पत्र बुझाएका थिए । पार्टी नेतृत्वले बारम्बार खबरदारी गर्दा पनि स्वेच्छिक ढंगले हिँडन खोजेपछि पार्टी नै छोड्नुको विकल्प नरहेको भन्दै असन्तुष्टहरुले देशैभरी छलफल चलाएरु पार्टी गठन गर्न खोजेको बताएका छन् । “हामीले यही २६ गतेभित्र समानान्तर नयाँ शक्ति पार्टीको राष्ट्रिय भेला राजधानीमा आयोजना गर्दैछौं ।” ओझाले भने, “त्यसअघि सबै जिल्लामा छलफल चलाइरहेका छौं । अधिकांश साथीहरु बाबुरामको कार्यशैलीको बिरोधमा छन् । सबैलाई समेटेर वैकल्पिक शक्तिको रुपमा अघि बढ्छौं ।”  

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा, फागुन २० । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृत्यु हुनेमा कोटगाउँ–७ रोल्पाका आइतेसिंह विक रहेका छन् । बिहीबार रोल्पाको घर्तीगाउँबाट माडिचौर आउँदै गरेको ना.३ त ६९८८ नंको ट्याक्टर कोर्चाबाङ–५ सिमखेतमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी घाइते भएका विकको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले पुष्टि गरे । शव परीक्षणका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको उनले बताए । प्रनाउ घर्तीमगरका अनुसार दुर्घटनामा परेको ट्र्याक्टर बाटोदेखि करिब ५० मिटर तल खसेको थियो । ट्याक्टरमा सवार सहचालक भने सकुसल रहेका छन् । अहिले ट्याक्टर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । रासस

सासंदहरुद्वारा राजविराज विमानस्थलको निरीक्षण

सप्तरी (राजविराज), फागुन २० । लामो समयपछि निर्माण कार्य सुरु भएको राजविराज विमानस्थलको व्यवस्थापिका–संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको एक टोलीले आज स्थलगत निरीक्षण गरेको छ । समितिका सभापति एवम् सभासद प्रभू शाहको नेतृत्वमा आएको टोलीले सप्तरीको रञ्जितपुरस्थित राजविराज विमानस्थलको अनुगमन एवम निरीक्षणपश्चात विमानस्थलको निर्माण र सञ्चालनबारे आवश्यक जानकारीसमेत लियो । सो अवसरमा विमानस्थल निर्माण कार्यका प्रमुख रामएकबाल महतोले असारभित्रै जहाज उड्न / अवतरण गर्नसक्ने बिमानस्थल बनाइने कार्य तीव्रगतिमा भइरहेको जानकारी दिनुभयो । उहाँले विमानस्थलको एक हजार ५०० मिटर लामो र ३० मिटर चौडा रनवे निर्माण कार्य भइरहेको बताउनुभयो । यो विमानस्थल विराटनगर जस्तै रहनेछ । रु ३० करोड ३० लाख मा रनवे बनाउने काम भइरहेको जानकारी गराउँदै उहाँले विमानस्थललाई सुचारु गराउनका निम्ति बजेटको कुनै अभाव नरहेको उल्लेख गर्नुभयो । समितिका सभापति एवम् सांसद साहले विमानस्थलको प्रतिवेदनसमेत सुनाउँदै आफ्नो नेतृत्वको समितिले राजविराज विमानस्थलको निर्माण कार्यलाई प्राथमिकतामा राखेको तथा त्यहाँ निर्माणमा बजेटको कुनै अभाव हुन नदिने बताउनुभयो । सगरमाथा अञ्चलको सदरमुकाम भएपनि राजविराजबाट जहाज नउड्नु बिडम्बना भएको बताउँदै आगामी वर्षदेखि यस विमानस्थलबाट जहाज उड्ने उहाँले दाबी गर्नुभयो । कार्यक्रममा समितिका सदस्य एवम् सप्तरी क्षेत्र नं २ का सांसद अमर मण्डल, क्षेत्र नं ३ का समानुपातिक सांसद जीतेन्द्रनारायण देवसहित अधिकांश सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीले कुनै पनि बहानामा विमानस्थलको निर्माण कार्य रोकिन नहुने भन्दै आफुहरुबाट सक्दो सहयोग गरिने बताउनुभयो । रासस