प्रभावकारी वन्दै चुरे संरक्षण कार्यक्रम

डडेल्धुरा,फागुन २० । डडेल्धुरामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी वन्दै गएको छ । जिल्लाको भित्रिमधेस क्षेत्रमा सात वर्षदेखि सञ्चालन भइरहेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा बाढीपहिरो नियन्त्रणदेखि बायो इन्जिनियरिङ, पानीका मुहान संरक्षण, सिँचाइका लागि पोखरी निर्माण गर्ने काम भइरहेको छ ।

जिल्ला भूसंरक्षण, जिल्ला वन, जिल्ला पशु सेवा कार्यालयले भित्री मधेसको परशुराम नगरपालिका र आलिताल गाविसमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम संचालन गर्दै आइरहेका छन् । भित्रिमधेस क्षेत्रका चुरे क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएपछि स्थानीयवासीलाई बाढीपहिरोको जोखिमबाट समेत राहत मिलेको जोगवुढा पुन्तुराका डम्बर कामीले बताउनुभयो ।

चुरे क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट सिँचाइका लागि पोखरी, कुलो मर्मत, खानेपानी निर्माण गर्ने काम भइरहेको छ । कबुलियती वन, बाँस खेती गरेर आयआर्जन गर्नमा सहयोग पुगेको परशुराम नगरपालिका, शीर्षका स्थानीयवासी निशा नाथले बताउनुभयो । रकम छरिएर आउँदा सोचेअनुसार कार्यक्रम सफलरुपमा कार्यान्वयन गर्न समस्या आउने गरेको सरकारी अधिकारीको भनाइ छ ।

चुरेमा थुप्रै बजेट छरिएर आउने कारणले पनि पहिरो र बाढीबाट बचाउने कार्यमा ढिलाइ भएको उनीहरुको भनाइ छ । यो आर्थिक वर्षमा मात्रै भित्री मधेसको चुरेक्षेत्रमा तटबन्ध निर्माणका साथै जैविक (बाँस र अन्य बिरुवा) को तटबन्ध लगाउने कार्यसमेत भएको र जैविक तटबन्धले बाढीपहिरोको जोखिम घटाई पानीका मूलसमेत सरंक्षण गर्ने कार्य भइरहेको जिल्ला वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत केशव पुडासैनीले जानकारी गराउनुभयो ।

पछिल्लो समयमा डडेल्धुरा जिल्लामा ३८ हजार चारसय ८९ हेक्टर क्षेत्रफलमा चुरे क्षेत्र फैलिएको समेत सहायक अधिकृत पुडासैनीले जनाउनुभएको छ । चुरे संरक्षणका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यका साथै बोटबिरुवा संरक्षण र नर्सरी बनाउने, मूलहरुको सदुपयोग गर्ने जस्ता कार्य तीव्रगतिमा भइरहेका छन् । रासस

फेसबुकबाट ठगिएला है ! चितवनमा ४७ लाख रुपैयाँ सहित ठगिइन न्यौपाने

चितवन, फागुन १९ ।  पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर, यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिँदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडितसमेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् । रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत ८ महिनाको अन्तरालमा रु ४७ लाख २८ हजार ठगिएको बताइन् । उनलाई ठगी गर्ने गिरोहका दुईजनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ठगी गरेको अभियोगमा कास्कीको ल्वांग गाविस–४ कि २६ वर्षीया कल्पना पौडेल र उनका श्रीमान् २७ वर्षीय इन्द्रप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो । अन्य तुलसीपुर, धरान, काठमाडौं बस्दै पैसा ठगी गर्ने गिरोहको खोजी कार्य भइरहेको उनले बताए । पक्राउ परेका व्यक्तिको खातामा न्यौपानेले पहिलो चरणमा रु एक लाख ७६ हजार पठाएकी थिइन् । फेसबुक चलाउँदै आएकी न्यौपानेलाई फेसबुककै माध्यमबाट उनीहरुले ठगी गरेका हुन् । साथी बनिसकेपछि नाटकीय ढंगले उनलाई ठगी गरेको प्रहरीले जनाएको छ । न्यौपानेको श्रीमान व्यवसायी हुन् । त्यही आधारमा ठगले प्रपन्च रची ठग्न सफल भएको प्रहरीको अनुमान छ । पटक–पटक गरी भारत बस्दै आएका एक व्यक्तिले उनलाई ‘फेसबुकको चिट्ठामा १० लाख मिलियन डलर पर्‍यो’ भन्दै ठगेको प्रहरी प्रमुख थापाले जानकारी दिए । थापाकाअनुसार न्यौपानेले विभिन्न ६ चरणमा गरी उनलाई पैसा पठाएकी थिइन् । आफूलाई रिर्जव बैंक अफ इन्डियामा काम गर्ने बताउने उनले आफ्नो खातामा पैसा नमागी विभिन्न स्थानमा रहेका व्यक्तिको खातामा पैसा माग्ने गरेको प्रहरीले बताएको छ । पोखरा, तुलसीपुर, धरान, काठमाडौंमा रहेका विभिन्न व्यक्तिको नाममा पैसा पठाउन भन्दै उनले सो रकम ठगी गरेको थापाले बताए । ठगी गर्ने व्यक्तिले न्यौपानेलाई नक्कली डेबिट इन्टरनेसनल कार्डसमेत पठाएर रु ५० लाख दिइ सकेपछि मात्र कार्डले काम गर्ने र १० लाख मिलियन डलर पाउने बताएको थापाले बताए । कार्डमा चिप्स नभएको थाहा भएपछि उनी ठगिएको थाहा भएको प्रहरीले जनाएको छ । ठगी गर्ने व्यक्तिको नाममा महिलाले पठाएको रकममध्ये रु ३५ लाख पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चालु आवको पछिल्लो तीन महिनामा ७९ ओटा लेनदेन तथा चेक वाउन्सका ठाडो उजुरी परेका छन् । जसमध्ये कमैमात्रको लेनदेन टुंगिएको छ । अधिकांश यस्ता कारोबार हुने गरेका विदेशमा बसेर आफन्तलाई वा साथी–भाइलाई विदेश लैजाने बाहनामा ठगी गर्ने गरेको प्रहरी उपरीक्षक थापाले बताए । यस्ता काममा संलग्नको खोजीलाई तीव्र पारिएको उनले बताए ।

हावा भर्ने ग्यास लिक हुँदा दुई बालक घाइते

डोटी, फागुन १९ । दिपायलमा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा खेलौनामा हावा भर्ने ग्यास लिक हुँदा दुई बालक घाइते भएका छन् । महोत्सवमा राखिएको स्टलमा खेलौनामा हावा भर्ने क्रममा आगो सल्केको र बालकको शरीरमा लाग्दा बालक घाइते भएका हुन् । घाईते हुनेमा ७ वर्षीय सन्तोस दमाई र ५ वर्षीय खगेन्द्र दमाई रहेको प्रहरीले जनाएको छ । घाईते दुवैको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । उक्त मेलामा केही दिनअघि मात्रै हावाले स्पिकर ढल्दा ६ वर्षीय निरज विक घाइते भएका थिए ।

भरतपुरमा पनि सञ्चालनमा अायाे फनपार्क

चितवन, फागुन १९ । जिल्लाको सहरी क्षेत्र कोलाहल बन्दै जाँदा यहाँका बासिन्दालाई फुर्सदको समयमा रमाउन सहयोग पुग्ने गरी निजी क्षेत्रबाट पहिलोपटक फनपार्क सञ्चालनमा ल्याइएको छ । भरतपुर उपमहानगरपालिका–९ शरदपुरमा पूजा फनपार्क सञ्चालनमा ल्याइएको हो । बालबालिका र युवालाई लक्षित गरेर फनपार्क सुरु गरिएको हो । करिब एक बिघा क्षेत्रफलमा रहेको फनपार्कमा महिला, पुरुष र बालबालिकाका लागि छुट्टाछुट्टै स्विमिङ पुलको व्यवस्था गरिएको छ। चितवनमा पार्कको अभाव भएकाले सबैको मनोरञ्जनका लागि फनपार्क सञ्चालन गरिएको सञ्चालक कृष्णप्रसाद देवकोटाले बताए । पार्कमा होटल, चिडियाघर, रेस्टुरेन्ट र रमणीय वातावरणको सुविधा रहेको छ । फनपार्कको आम्दानीको पाँच प्रतिशत भरतपुरमा रहेको आदर्श नारी गृहलाई सहयोग गर्ने देवकोटाले घोषणा गर्नुभयो । करिब रु चार करोडको लगानीमा फनपार्क सञ्चालन गरिएको उनले जानकारी दिए ।

विद्यालयमा अक्षयकोषका लागि युएईद्वारा पाँच लाख हस्तान्तरण

पाल्पा, फागुन १९ । पाल्पाली समाज युएईले विद्यालयमा अक्षयकोष स्थापनाका लागि पाँच लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ। गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न विद्यालयमा सो रकम अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गरेको छ । समाजले एक गाविस एक विद्यालयमा अक्षयकोष स्थापना गर्ने अभियानको दोस्रो चरणमा २० विद्यालयका लागि २५ हजार रुपैयाँका दरले अक्षयकोष रकम हस्तान्तरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको शैक्षिक विकासमा टेवा पु¥याउन जिल्लाका ६० गाविसका ६० विद्यालयमा अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ समाज अगाडि बढेको महासचिव वेदप्रसाद अर्यालले बताए । उनका अनुसार अहिलेसम्म २० गाविसका विद्यालयमा पुगेर अक्षयकोष रकम हस्तान्तरण गरि सकिएको छ । तीन चरणमा पूरा हुने गरी अक्षयकोष स्थापना अभियानमा प्रतिविद्यालय २५ हजारका दरले ६० विद्यालयमा १५ लाखको कोष स्थापना गर्ने समाजका खुमबहादुर आलेले बताए ।

विद्यालयलाई डेढ लाख सहयोग

गुल्मी, फागुन १९ । गुल्मीको एक विद्यालयलाई एकै व्यक्तिबाट डेढ लाखभन्दा बढीको आर्थिक सहयोग प्राप्त भएको छ । बुटवलमा बसोबास गर्दै आएका डा.प्रायश्चित श्रेष्ठले गुल्मीको जोहाङ–५ मा रहेको ज्ञानोदय निम्नमाविका लागि एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका हुन् । दोलखा जिल्ला निवासी डा.श्रेष्ठ लुम्बिनी अञ्चल अस्पतालका निवर्तमान अध्यक्ष समेत थिए । उक्त रकम श्रेष्ठले विद्यालयको स्वर्ण महोत्सवका अवसरमा प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । वरिष्ठ चन्दादाता डा. श्रेष्ठलाई विद्यालयले स्वर्ण महोत्सवका अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय एवम् गुल्मी क्षेत्र नं.२ का सांसद चन्द्र भण्डारीले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए ।

तीन क्याम्पसमा राप्रपाको विद्यार्थी सङ्गठन विजयी

काठमाडौं, फागुन १९ । कमल थापा नेतृत्वको राप्रपाको भातृ सङ्गठन राप्रविसले स्ववियु निर्वाचन २०७३ मा हालसम्म तीन ओटा क्याम्पसमा सभापति जीतेको छ । कपिलवस्तुको शिवराज–५ स्थित समयथान बहुमुखी क्याम्पसमा राप्रविसका नेता वासुदेव केसी सभापतिमा विजयी भएका छन् । यसैगरि अध्यक्ष कमल थापाको गृह जिल्ला मकवानपुरको वंशगोपाल बहुमुखी क्याम्पसमा लक्ष्मण पौडेल र कपिलवस्तुको आदर्श बहुमुखी क्याम्पसमा रजत गुप्ता राप्रविसंको तर्फबाट सभापतिमा विजयी भए। आदर्श बहुमुखी क्याम्पस कपिलवस्तुमै सचिवमा मार्शल आचार्य विजयी भएका छन । संगठन पाथीभरा क्याम्पस ताप्लेजुङ,तिला कर्णाली क्याम्पस कालीकोट,जलबिरे भ्याली क्याम्पस सिन्धुपाल्चोक,शिद्धज्योती शिक्षा क्याम्पस सिन्धुलीमा कोषाध्यक्ष पद जित्न सफल भएको राप्रविसका महासचिव राज बस्नेतले जानकारी दिए ।

भोजपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको मिश्रित नतिजा

भोजपुर, फागुन १९ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) चुनावको मतपरिणाम आउने क्रम जारी छ । यसैक्रममा भोजपुर बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुले सचिव बाहेकका पद जितेको छ । उक्त क्याम्पसले बिहिबार बिहान सार्वजनिक गरेको मतपरिणाम अनुसार एमाले अखिलका प्रकाशसिं राईले १ सय २७ मत ल्याएर जितेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट नेविसंघका टार्जन राईले १ सय १० मत ल्याए । सचिवमा भने अनेरास्ववियुका प्रताप तामाङलाई ९ मतले पराजित गर्दै नेवि संघका अनोज कार्की विजयी भए । उनले १ सय ३४ ल्याए । निर्वाचनमा जम्मा ३ सय ३० मत खसेको थियो ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानको तयारी पूरा

काठमाडौँ, फागुन १९  । नेकपा (एमाले)को यही फागुन २१ बाट सञ्चालन गर्ने मेची–महाकाली राष्ट्रिय अभियानको तयारी पूरा भएको छ । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेकोे अभियानका लागि नेपाली, मैथिली, थारू, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री तयार गरी पठाइएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता र केन्द्रीय नेता सहभागी हुने सो अभियान झापाको काकडभित्ताबाट सुरु भई कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ । नेता र कार्यकर्ताको सामूहिक आवास हुनेछ । पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय पार्टी कमिटीले सबै व्यवस्थापन गरिसकेको र सम्पूर्ण खर्च सम्बन्धित जिल्लाले व्यवस्थापन गर्ने बताउनुभयो । अभियानका क्रममा साना–ठूला गरी ३३ स्थानमा आमसभा, प्रतिजिल्ला २० देखि ५० हजार गरी कुल ५० लाख मानिसको सहभागिता हुने पार्टीको अपेक्षा छ । अभियानका लागि १० हजार स्वयम्सेवक, अलग्गै सांस्कृतिक टोली खटाइएको छ भने सोही क्रममा पार्टी प्रवेश, ज्येष्ठ कम्युनिस्ट सम्मान तथा आयोजना शिलान्यास हुने भट्टराईले जानकारी दिनुभयो । रासस

थापाथली इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै विजयी

काठमाडौं, फागुन १९ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउने क्रम जारी छ । अहिले भरखरै प्राप्त जानकारी अनुसार थापाथली इन्जिनियरिङ क्याम्पस थापाथलीमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्यानलै विजयी हासिल गरेको छ । उक्त क्याम्पसमा बुधबार स्ववियु चुनाव भएको थियो । अखिल क्रान्तिकारीबाट स्ववियु अध्यक्षका उम्मेदवार प्रज्ज्वल खत्री सहितको प्यानलै जितेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । जम्मा एकहजार त्रिचालिस मत खसेकाेमा खत्रीले चार सय एक ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेविसंघका विकास लामाले दुईसय ७३ मत ल्याए । यस क्याम्पसमा एमाले अखिल तेस्रो स्थानमा रहेको छ ।

‘पत्रकारिताको भाषामा सरलताको अभाव’

ललितपुर, फागुन १९ । पत्रकारिताको भाषामा सरलताको अभाव हुन थालेको बताइएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर उपमहानगरपालिकाको संयुक्त सहयोगमा बुधवार आयोजित पत्रकारिता तालिममा पत्रकारहरुले भाषालाई पनि महत्व दिनुपर्ने बताइएको छ । तालिममा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्माले समाचार मात्र कमी नभई भाषा पनि कमी हुन थाललेको चर्चा गरे । श्रोत नै उल्लेख नगरी लाजमर्दो तरिकाले समाचारहरु कपी भइरहेको उनको भनाई छ । उनले अहिले पत्रकारहरुले मिहिनेत गर्न छोडेको भन्दै दुःख ब्यक्त गरे । ‘अनलाइनमा हालेको समाचार श्रोत नै नखुलाई हुबहु पत्रिकामा आउछ’ शर्माले भने ‘यो भन्दा लाजमर्दो अरु के हुन्छ ।’ अहिले समाचार लेख्ने पत्रकारहरुको कमी भएको चर्चा गर्दै पत्रकार महासंघले पनि दक्ष पत्रकार उत्पादन गर्नुपर्ने बताए । ललितपुर उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरतमणी पाण्डेले स्थानीय निकायले जनस्तरमा गरिरहेका कामहरुको प्रभावका बारेमा खवरदारी गर्ने कामम मिडियाको प्रभावकारी भूमिका जुरुरी रहेको चर्चा गरे । ‘हामीले गरिरहेका काम कहाँ के नपुग छन् तपाइहरुले आलोचनात्मक कुराहरु जनतामा ल्याइदिनुहोस’ उनले भने ‘यसले गर्दा हामीलाई प्रभावकारी ढंगले काम गर्न अझ सहज हुनेछ ।’ उनले मिडिया र पत्रकारहरुको लागि उप–महानगरपालिकाले सस्थागत रुपमा पत्रकार महासंघबाटै काम अगाडी बढाउने बताए । ‘हामी मिडिया र पत्रकारको लागि पनि सहयोग गर्न चाहन्छौं, त्यो हाम्रो योजनामै रहेको छ’ उनले भने ‘त्यो सवै काम हामी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघबाटै गर्न चाहन्छौं ।’ नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपानेले आफुहरुको पहिलो जोड आफ्ना सदस्य पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नु रहेको बताए । ‘हामी निर्वाचित भएर आएदेखी नै हामीले पत्रकारको क्षमता अभिबृद्धिलाई पहिलो एजेन्डा बनाएको थियौं’ उनले भने ‘पत्रकार आफनो पेशमा दक्ष हुने हो भने पत्रकारमाथीका आक्रमण कम गर्न सकिन्छ ।’ तालिममा भाषा विज्ञ शरदचन्द्र वस्ती, त्रिभुुवन विश्वविद्यालय पत्रकारिता विभागका उपप्राध्यापक श्रीराम पौडेल लगायतले प्रशिक्षण दिएका थिए । एकदिने सो तालिममा ललितपुरमा क्रियाशील ५५ जना पत्रकारहरु सहभागी थिए ।

स्थानीय तहको निर्वाचन सुरक्षा योजना पारित

काठमाडौँ, फागुन १९ । केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३/७४ पारित गरेको छ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो । विसं २०७४ वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनमा सबै सुरक्षा निकायका गरी जम्मा दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा गृहमन्त्री निधिले निर्वाचनको आवश्यक तयारी पूरा गरी योजनाअनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, रक्षासचिव श्रीधर सापकोटा, नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी, नेपाली सेनाका उपरथी बलदेव महतलगायतको उपस्थिति रहेको थियो । रासस

मुलुकी ऐन विस्थापन गर्न बनेको विधेयक समितिबाट पारित

काठमाडौं, फागुन १८ । विधायन समितिले मुलुकी ऐनलाई विस्थापन गर्दै देवानी र फौजदारी कानुनलाई संशोधन गरी संहिताकरण गर्न बनेको विधेयकलाई बुधबार पारित गरेको छ । उक्त विधेयकमा मुलुकी देवानीसंहिता, मुलुकी देवानी कार्यविधिसंहिता, मुलुकी फौजदारीसंहिता, मुलुकी फौजदारी कार्यविधिसंहिता र फौजदारी कसुरमा दन्ड–सजाय निर्धारण ऐनको मस्यौदा प्रतिवेदन समेटिएको छ । व्यवस्थापिका–संसदमा केही दिनभित्रै छलफलका लागि प्रस्तुत् गरिने उक्त विधेयक परित भएपछि ऐनका रुपमा २०७५ साल वैशाख १ गतेदेखि लागू हुनेछ । सो ऐन लागू भएपछि एक सय ६५ वर्ष पुरानो ‘मुलुकी ऐन’का साथै अन्य १३ ऐन खारेज हुने समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए । ऐन प्रारम्भ भएपछि देवानीतर्फ अहिलेसम्म नभएको दुष्कीर्ति, अनुचित आर्थिक समृद्धि, विवाहवारी, सम्बन्धबिच्छेदजस्ता विषयमा नयाँ व्यवस्था कायम हुनेछ । त्यस्तै, फौजदारीतर्फ खासगरी दन्ड–सजायमा फेरबदल भइ बाँचुन्जेल कैदमा बस्नुपर्ने व्यवस्था लागू हुनेछ । अपहरण र जबर्जस्ती करणीपछि कसैको ज्यान मार्ने काम गरेमा वा वायुयान अपहरण तथा पेयपदार्थमा विष मिसाएर धेरैको ज्यान लिनेलाई पनि आजीवन कारावासको सजाय भोग्नुपर्ने प्रावधान विधेयकमा प्रस्ताव गरिएको छ । संहिताकरण लागू भएपछि फौजदारी कसुरमा एउटा फैसलाबाट कसुरको निर्धारण गर्ने तथा अर्को फैसलाबाट जरिवानाको अंक र सजायको अवधि तोकिने छ । व्यवस्थापिका–संसद मातहतको ४३ सदस्यीय विधायन समितिले डेढ वर्षदेखि निरन्तर रुपमा काम गरी विधेयकलाई बुधबार अन्तिमरुप दिएको हो ।

समयथान क्याम्पसमा राप्रविसंघका बासुदेव केसी विजयी

कपिलबस्तु, फागुन १८ । जारी स्व्वियू निर्वाचनमा राष्ट्रिय प्रजान्त्र पार्टी निकट राप्रविसंघले सभापति पदमा विजय हासिल गरेको छ । संगठनका केन्द्रीय महासचिव राज बस्नेतले दिएको जानकारी अनुसार, राष्ट्रिय प्रजातान्त्रिक विद्याथी संगठनले कपिलवस्तुको समयथान बहुमुखी क्याम्पसमा अन्य विद्यार्थी संगठनहरुको संयुक्त प्यानललाई हराएर सभापतिमा विजय भएका हुन । उक्त क्याम्पसमा अनेरास्ववियू र अन्य विद्यार्थी संगठनले संयुक्त प्यानलबाट चुनाव लडेका थिए ।

भूकम्प प्रभावितलाई घडेरी किन्न रकम दिने प्राधिकरणको तयारी

काठमाडौं, फागुन १८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण बस्ती नै सार्नुपर्ने अवस्थाका भूकम्प प्रभावितलाई घडेरी किन्न निश्चित रकम दिने तयारी गरेको छ । देशका कतिपय जिल्लामा २०७२ सालमा गएको भूकम्पले बस्तीनै जोखिमपूर्ण बनेपछि प्राधिकरणले ती ठाउँबाट अन्यत्र बस्ती सार्न प्रभावितलाई घडेरी किन्न निश्चित रकम दिने तयारी गरेको हो । दुई-चार घर भएका ठाउँका बस्तीले आफूलाई पायक पर्ने स्थानमा बस्न सक्ने भन्दै प्राधिकरणले त्यसका लागि कम्तिमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म घडेरी बापत रकम दिने तयारी भईरहेको पुनर्निर्माण प्राधिकरणका प्रमुख डा। गोविन्द पोखरेलले जानकारी दिए । देशभर विभिन्न ठाउँमा गरी करिब १ हजार घर भएका जमिन भूकम्पले बस्नै नमिल्ने गरी भत्किएको छ । सामूहिक बस्ती रहेका ठाउँको हकमा भने सरकारले निश्चित कार्यविधि बनाउने पोखरेलको भनाई छ । यस्तै प्राधिकरणले पहिलो किस्ताको रकम पाएर सरकारी मापदण्डअनुसार घर निर्माण गरेका भूकम्प प्रभावितलाई छिट्टै दोस्रो किस्ताको रकम उपलब्ध गराउने जनाएको छ । पहिलो किस्ताको रकमबाट घर बनाउन सुरु गरेकाको घर इन्जिनियरले अध्ययन गरी दोस्रो किस्ता पाउन योग्य ठहर भएलगत्तै उनीहरुलाई दोस्रो किस्ताबापतको रकम दिने प्राधिकरण प्रमुख पोखरेलले बताए । प्राधिकरणले अहिलेसम्म ९० प्रतिशतभन्दा बढी भूकम्प प्रभावितसँग अनुदान सम्झौता भइसकेको जनाएको छ । किस्तामा दिने रकम वितरण गरेपछि उनीहरुलाई सहुलियत ऋण दिन पनि सरकारले आवश्यक तयारी अघि बढाएको प्राधिकरणको भनाई छ । तर, सम्झौता भए पनि कानुनी जटिलताका कारण घर बनाउन नमिल्ने तथा सम्झौता नभएकाको समस्या पनि छिट्टै टुंग्याउने प्राधिकरणको भनाई छ । सुकुम्बासीका नाममा गुठीको जग्गा, सार्वजनिक जग्गा हडपेर घर बनाएका, नक्सापास नगरेका, बनजंगल अतिक्रमण गरेर बसेका भूकम्प प्रभावितसँग अनुदान सम्झौता हुन सकेको छैन । किस्ता रकम वितरण गरेपछि भूकम्प प्रभावितलाई सहुलियतपूर्ण ऋण दिन आवश्यक तयारी अघि बढाइएको प्राधिकरणको भनाई छ ।

सकेट बम फेला

राजविराज, फागुन १८ । सप्तरीको राजविराज–५ स्थित रुपनी रोडको छेउमा एउटा विद्यालयको परिसरभित्र सकेट बम फेला परेको छ । राजविराज–५ रुपनी रोडमा नै पर्ने लक्ष्मी इङ्गलिस बोर्डिङ स्कुल परिसरभित्र आज विहान सो बम फेला परेको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । त्यहाँ फेला परेको बमलाई निष्क्रिय पार्नका लागि राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए। यसैबीच, बम फेला परेको ठाउँमा जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहको पर्चा फेला परेको प्रहरीले बताएको छ । यसअघि मङ्गलबार पनि राजविराज–९ स्थित पिसजोन बोर्डिङ स्कुलको छेउमा बम फेला परेको थियो । बढी मूल्यमा पेट्रोल बेच्ने कारबाहीमा यसैबीच, सप्तरीको देउरीभरुवा–४ स्थित किराना पसलमा बढी मूल्यमा पेट्रोल बिक्री गर्ने व्यवसायी लक्ष्मी यादवलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । केही दिनदेखि सप्तरी जिल्लाको सहरी तथा ग्रामीण बजारमा पेट्रोलियम पदार्थको अभाव भएको परिस्थितिमा व्यवसायी यादवले डिजेल तथा पेट्रोलसमेत राखी बढी मूल्यमा प्रतिलिटर रु एक सय ५० को दरले बिक्री–वितरण गरी कालोबजारी गर्दै आएको फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीनायब उपरीक्षक दानबहादुर कार्कीले बताए । साथै, उनको किराना पसलबाट ४५ लिटर पेट्रोल र चार लिटर डिजेलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि कालोबजारी मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य थालिएको प्रहरीनायब उपरीक्षक कार्कीले जानकारी दिए ।