मदिरा सेवन गरेका बोहोराको लडेर मृत्यु

बागलुङ्ग फागुन २३ । बागलुङ्गको बुर्तिबाङ्गमा हिड्ने क्रममा बाटोबाट लडेर एक जनाको ज्यान गएको छ । बुर्तिबाङ्गको वडा नं.६ पुर्कोटका ५० वर्षीय मनबहादुर बोहोराको बाटोबाट २३ मिटर तल खसेर कटुसको बोटमा अल्झिएको अबस्था सव भेटिएको प्रहरीले जनाएको छ ।

हिजो राति आफ्नो घरभन्दा झण्डै एक किलोमिटरमाथि पर्ने छिमेकी गोपाल कुँवरको घरमा श्रीमतीसँगै गएका बोहोरा राति अबेरसम्म खानपिन गरेर घर फर्किने क्रममा लडेका ईलाका प्रहरी कार्यालय बुर्तिबाङ्गका प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माले जानकारी दिए ।

अबेरसम्म बसेर मदिरासमेत पिएका उनी राति २ बजे श्रीमतीसँगै फर्किने क्रममा श्रीमती अघिअघि र उनी पछिपछि भएको अवस्थामा छोडिएका र अँध्यारोमा गोरेटो बाटो छोडेर बुर्तिबाङ्ग पुर्कोट सडकतिर लागेर अचानक लडेको हुनसक्ने प्रहरीको अनुमान छ ।

राति घर नपुगेका बोहोरालाई खोजी गर्ने क्रममा दिउसो लडकेको अबस्थामा सव देखेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।
उनको सव पोष्टमार्टमको लागि बुर्तिबाङ्ग प्रथमिक स्वास्थ्य केन्द्रिमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मधेस जान समस्या भएको भन्दै ओलीले गरे गृहमन्त्रीलाई फोन

काठमाडौं, फागुन २२ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई जान समस्या भएको भन्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग सुरक्षा माग गरेका छन् । तराईँमा असुरक्षा बढ्दै गएपछि अध्यक्ष ओलीले गृहमन्त्री निधिसँग विहान फोन वार्ता गरेका हुन् । ओलीले सुरक्षा ग्यारेन्टी गर्न र मधेसमा सुरक्षा दिन आग्रह गरेका हुन् । तराईमा मेची–महाकाली अभियानको सुरुवात गरेको एमालेले अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा फागुन २३ गते राजविराजमा कार्यक्रम गर्न लागेको छ तर, सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला प्रवेश गर्नै नदिने अडान सहित आन्दोलन घोषणा गरेपछि अध्यक्ष ओलीले तराईँ जान समस्या भएको भन्दै गृहमन्त्रीसँग सुरक्षा व्यबस्थाबारे चासो लिएका हुन् । सप्तरीमा एमालेका अध्यक्षलाई जिल्ला प्रवेश गर्न नदिने भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । मोर्चाले कञ्चनपुरमा समेत लाठी जुलुस प्रदर्शन गरिने जनाएको छ । राजविराज लगायतका विभिन्न सहरमा विरोध प्रर्दशनका लागि मोर्चाले गाउँ-गाउँबाट कार्यकर्ताहरु ओसारिरहेको छ । एमालेको जनसभा हुने अघिल्लो दिन राजविराजमा मोर्चाका कार्यकर्ताले प्रदर्शन जारी राखेका छन् । मधेसी मोर्चाले दिएको जानकारीअनुसार सोमबार एमालेले सप्तरीमा गर्न लागेको सभालाई ध्यान दिँदै जिल्लाका विभिन्न स्थानमा लाठी जुलुसको आयोजना गरिएको छ । सुनसरीबाट सप्तरी जिल्लामा प्रवेश गर्ने सीमास्थलमा रहेको भारदहमा सोमबार बिहानै लाठी जुलुस प्रदर्शन गरिने मोर्चाले जनाएको छ । त्यस्तै रुपनीमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ । त्यसैगरी पूर्व–पश्चिम राजमार्गबाट राजविराजतर्फ मोडिने हनुमाननगरमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ । एमालेले दिउँसो राजविरोधमा आयोजना गरेको जनसभालाई लक्षित गर्दै राजविराजमा समेत लाठी जुलुस निकालिने मोर्चाले जनाएको छ । एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई रोक्नका लागि मधेसी मोर्चाले सोमबार बिहानैदेखि जिल्लाभर लाठी जुलुस प्रदर्शन गर्ने घोषणा गरेको हो । सम्भावित मुठभेडलाई मध्यनजर गर्दै एमालेले राजविराजको कार्यक्रमस्थल हेरफेर गरेको छ । एमाले मधेस र मधेसीविरोधी पार्टी भएकाले जनताले प्रतिकार गर्ने मोर्चाका नेताहरुको अभिव्यक्ति पछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष अोलीले सुरक्षा थ्रेट रहेको बताएका छन् । संविधान संशोधनको विरुद्धमा रहेको एमाले र अध्यक्ष अोलीलाई मोर्चाले राजविराजमा वा सप्तरीमा कुनै कार्यक्रम गर्न नदिने चेतावनी दिएका थिए । मधेसविरोधी ओलीलाई सप्तरीमा कार्यक्रम गर्न दिँदैनौं, निषेध, प्रतिकार जे जे गर्नुपर्छ गर्छौं भन्ने भनाइ सार्वजनिक भएपछि अोलीले गृहमन्त्रीसँग सुरक्षा माग गरेका हुन् । नेकपा एमालेले राजविराजको राज रंगशालामा सोमबार गर्ने भनेको जनसभा सारिएको छ । एमाले नेता गोविन्द न्यौपानेका अनुसार रंगशालाको कार्यक्रम सारेर औद्योगिक क्षेत्रभित्र गर्ने निर्णय भएको छ । मधेसी मोर्चाले राजविराजमा एमालेको मेचीमहाकाली अभियानअन्तर्गत घरदैलौ अभियानलाई विथोल्न लाठी जुलुस निकालेको थियो । आज अाइतबार पनि मोर्चाले लठ्ठी जुलुश प्रदर्शन गरेको छ । शनिबार मात्रै अभियानलाई सफल बनाउन हिडेका एमालेका नेतालई मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका थिए ।  

महिलाको आयमूलक व्यावसायिकतामा जोड दिइने

काठमाडौँ, फागुन २२ । सरकारले प्रत्येक वर्षजस्तै यसवर्ष पनि प्रभावकारी तरिकाले एक सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवस (यस वर्ष फागुन २५) मनाउने तयारी गरेको छ । सो दिवसका अवसरमा मार्च ७ (फागुन २४) मा कपिलवस्तुबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम शुभारम्भ गरिने छ । करिब रु २५ करोडको कार्यक्रमले महिलालाई आयमूलक सीप दिने जनाइएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कुमार खड्काले महिलाको आर्थिक सबलीकरण गर्नका लागि आयमूलक सीप जरुरी भएको बताए । मन्त्री खड्काले महिलाको आयमूलक व्यावसायिकतामा जोड दिने यस वर्षको लक्ष्य रहेको जानकारी दिए । यस वर्षको नारी दिवसको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ भन्ने रहने छ । दिवस सफल पार्न मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहान भृकुटीमण्डपबाट पदयात्रा सुरु गरी सहिद ढोका हुँदै शान्तिबाटिका पुगेर समापन गरिनेछ ।

देशभित्रका खनिज उत्खनन गर्नुपर्ने

मोरङ, फागुन २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई एकताबद्ध हुन नदिने प्रयास भइरहेको बताएको छ । उर्लाबारी परोपकार सेवा केन्द्रको आज बिहान उद्घाटन गर्दै अध्यक्ष ओलीले केही तत्वले अहिले नेपाली समाजलाई एकता र विकासको गतिमा अघि बढ्न नदिने प्रयास गरेको बताए । पूर्वप्रधानमन्त्री ओलीले देशभित्रको खनिज पदार्थ छिमेकी रिसाउने डरले यसको उत्खनन हुन नसकेको बताउँदै अब यसको उत्खनन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । समाजसेवा देशका लागि गर्नुपर्नेमा जोड दिँदै नेता ओलीले विद्यालय, अस्पताल, वृद्धाश्रम निर्माणमा अब स्थानीयवासी नै अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा सेवा केन्द्रको निर्माणमा योगदान पु¥याउने स्थानीय समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो ।

उपचारका क्रममा सुत्केरीको मृत्यु

पर्सा, फागुन २२ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । नगरदाहा गाविस–४ निवासी जवाहिर साह तुरहाकी २० वर्षीया श्रीमती चन्द्रज्योतिको उपचारका क्रममा मृत्यु भएको हो । उपक्षेत्रीय अस्पतालको प्रसूति केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको लापर्बाहीका कारण श्रीमतीको मृत्यु भएको श्रीमान् जवाहिरले आरोप लगाए । उहाँले राति करिब १ बजे श्रीमती चन्द्रज्योतिले पहिलो सन्तानका रुपमा घरमै छोरीलाई जन्म दिएको र सालनाल मात्र ननिस्किएका कारण नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा सञ्चालित एम्बुलेन्स मार्फत बिहान २ बजे उपक्षेत्रीय अस्पताल भर्ना गराइएपछि अस्पतालमा चिकित्सकको अनुपस्थितिले उपचार अभावमा उनकोे मृत्यु भएको जिकिर उनले गरे । “अस्पताल भर्ना गएको दुई घन्टासम्म चन्द्रज्योति पीडाले छट्पटिए पनि तत्काल कार्यरत स्वास्थ्यकर्मीले चिकित्सकलाई खबर नै नगरेका कारण उनको उपचार अभावमा मृत्यु भएको हो ” मृतकका आफन्तको भनाइ छ। उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साहले चन्द्रज्योतिको अत्यधिक रक्तस्राबका कारण मृत्यु भएको जानकारी दिए । उनले घरमा प्रसवका बेला सुत्केरीको शरीरबाट अत्यधिक मात्रामा रगत बगेको र अस्पतालमा भर्ना हुँदाँ स्वास्थ्य अवस्था गम्भीर भएपछि काममा खटिएका चिकित्सकले उपचारमा अपनाउनुपर्ने सबै उपाय अपनाए पनि उनको बिहान ४ बजे मृत्यु भएको जिकिर गरे । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । शव परिवारको जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

म्याग्दीमा पनि फस्टाउँदै छ हाउजिङ

म्याग्दी, फागुन २२ । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा हाउजिङ व्यवसाय फष्टाउँदै गएपछि सदरमुकाम बेनीबजार वरिपरिका खेतीयोग्य जमिन मासेरै प्लटिङ गर्ने क्रम बढेको छ । देशका अन्य सहरको तुलनामा म्याग्दीमा हाउजिङको विकास अझै भइनसके पनि त्यसको सम्भावना भने उच्च छ । जनसङ्ख्या र व्यावसायिक प्रतिष्ठाको क्रम बढ्दै गएपछि म्याग्दीमा पनि हाउजिङको आवश्यकता बढ्दै गएको सरोकारवालाले बताएका छन् । सदरमुकाम बेनी बजारमा बसोवास गर्ने करिब २० हजार मानिसमध्ये १३ हजार भन्दा बढी व्यक्ति ग्रामीण क्षेत्रबाट बसाइँसराई गरी आएका हुन् । उनीहरुले सदरमुकाम बेनी र नजिकका ठाउँमा घडेरी किनेर घर बनाउन थालेपछि हाउजिङ संस्कृति फस्टाउँदै गएको म्याग्दी उद्योग वाणिज्य सङ्घका सदस्य सुवीन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बेनी बजारमा मात्रै एक हजार ८०६ घर रहेका छन् भने तिनमा रु चार करोडसम्मका भवन तथा कम्प्लेक्स निर्माण भइसकेका छन् । हप्ताका औसत तीनवटा घरका नक्सा पास हुने गरेको बेनी नगरपालिकाले जनाएको छ । दसैँ तिहारजस्ता चाडवाडको समय तथा भदौदेखि मङ्सिरसम्ममा घरका नक्सा बढी पास हुने गरेको बेनी नगरपालिका हुनुपूर्व बेनीबजारलाई समेटेको अथुङ्गे गाविसको तथ्याङ्कमा उल्लेख छ । अहिले बेनी बजार र नजिकका बगरफाँट, बौर, अथुङ्गे, खबरा, सिङ्गालगायतका ठाउँमा घर निर्माण गर्ने क्रम बढेर गएको छ । जनसङ्ख्या वृद्धि र अव्यवस्थित बसोवास नियन्त्रण नहुँदा यहाँका खेतीयोग्य जमिन मासिँदै जान थालेको छ । बेनी बजारमा भाडामा घरका पुरै लता लिने क्रम पनि बढ्दै गएको छ । ग्रहाकले पहिला घरका कोठामात्रै भाडामा लिने गरेकामा विगत दुई वर्षयता घरका तला नै लिने क्रम बढेको म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ । कामकाजी व्यक्तिले कोठा  सट्टा तला नै लिन थालेपछि व्यवसायीहरुले पनि पाँच–छ तलाको घर बनाउन थालेका छन् ।

विश्वकै सम्पत्ति: सेतो डङ्गुर गिद्ध

चितवन, फागुन २२ । सङ्कटापन्न अवस्थामा रहेको सेतो डङ्गुर गिद्ध संरक्षणको प्रयास सफल बन्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र सन् २००७ देखि प्रजनन केन्द्र स्थापना गरी सङ्ख्या बढाउन प्रयास हुँदै आएको छ । यसअघि गत वर्ष प्रजनन केन्द्रमा एउटा बच्चा कोरलिएको पनि बचेको थिएन भने यस वर्षको जनवरीयता नौ बच्चा कोरलिएको हो । दुई वर्षअघि एउटा बच्चा हुर्किएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार हाल प्रजनन केन्द्रमा २५ भाले र ३१ पोथी गिद्ध छन् । यस वर्ष १५ पोथीले फुल पारे पनि नौ बच्चा मात्र कोरलिएको छ । प्रजनन केन्द्रका चार खोरमा गिद्ध राखिएको छ । दुई खोर बच्चा कोरल्न र अन्य दुई खोर बच्चा नकोरल्ने गिद्धलाई राखिएको छ । सुरुआतमा देशका विभिन्न क्षेत्रबाट गिद्धका बच्चा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याइएको खड्काले बताउनुभयो । प्रजनन केन्द्रमा फुल नपारेका ११ पोथी गिद्धका जोडीमध्ये छ जोडीलाई नवलपरासीको नमुना सामुदायिक वनमा रहेको जटायु रेस्टुरेन्टमा छाड्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले हाल नौ बच्चा जन्मनु महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताउनुभयो । यहाँका छ जोडी र जटायु रेस्टुरेन्टका छ जोडीलाई ‘ट्याग’ लगाएर छाड्ने तयारी गरिएको छ । कमजोर र फुल नपारेका ती गिद्धलाई नियमित अनुगमन गरिने छ । गिद्धको सामान्य आयु ४० वर्ष हुन्छ । निकुञ्ज विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घको सक्रियतामा कसरामा गिद्धको सङ्ख्या बढाउने उद्देश्यले प्रजनन केन्द्र सञ्चालन हुँदै आएको छ । केन्द्रमा रहेका गिद्धलाई राँगाको मासु खुवाउने गरिन्छ । खड्काका अनुसार एउटा गिद्धलाई एक महिनामा दुई पटक गरेर सरदर ३० किलो मासु खुवाउने गरिन्छ । यो हिसाबले केन्द्रमा रहेका ५६ गिद्धलाई मासिक एक क्विन्टल छ सय ८० किलो मासु खुवाइँदै आएको छ । गिद्धका लागि एक भेटनरी चिकित्सक र तीन हेरालु राखिएको छ । गिद्ध संरक्षणका लागि दातासँग मिलेर सरकारले ठूलो रकम खर्च गर्दै आएको छ । हाल बच्चा कोरलेसँगै यसलाई सफलताका रुपमा विज्ञले लिएका छन् । खड्काले भारतमा पनि संरक्षण गरिएको तर यति ठूलो सफलता नमिलेको जिकिर गर्नुभयो । चरामध्ये गिद्ध अनौठो प्रजातिमा पर्छ । बच्चा कोरलेपछि पोथीले फुल पार्न चार वर्ष कुर्नुपर्छ । यसले वर्षमा एक पटक मात्रै फुल पार्छ । नेपाल बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिंडारीले विश्वबाटै लोप हुन लागेको गिद्धका नौ बच्चा कोरल्नुलाई निकै सफलताका रुपमा लिइएको बताउनुभयो । “संरक्षण गर्न नसकिएमा यो जातिको गिद्ध केही वर्षमै विश्वबाट लोप हुनेछ, यो उपलब्धि नेपालका लागि मात्रै नभएर विश्वका लागि नै हो ”, बिंडारीले भन्नुभयो ।

जनमुक्ति पार्टीबाट अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ, फागुन २२ । राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो २५ औँ स्थापना दिवसका अवसरमा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार भेटघाटमा यही फागुन २३ देखि २५ सम्म हुने सम्मेलनमा देश तथा विदेशमा रहेको जनमुक्ति विचार भएका विश्वका २० देशका जनमुक्ति पार्टीमा आबद्ध व्यक्तिको उपस्थितिमा सम्मेलन हुने जनाइएको छ । पार्टीका अध्यक्ष टोप अस्लामीले जनमुक्ति विचारका पक्षधर सदियौँदेखि पीडित बनेको बताए । उहाँले सम्मेलनले वैदेशिक रोजगारमा रहेका लाखौं नेपालीका समस्या सम्बोधनका लागि आवाज उठाउने विश्वास व्यक्त गरे ।

छापा मारी बरामद गरेको मदिरा नष्ट

कलैया, फागुन २२ । बारा जिल्ला प्रसौनी गाविस– १, ३, ५ र ६ मा आज प्रहरी टोलीले पाँच जनाका घरमा छापा मारी बरामद गरिएको तयारी कच्चापदार्थ १३ हजार दुई सय २० लिटर मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ । प्रहरी चौकी गण्डकका प्रहरी सहायक निरीक्षक कुमार यादवको नेतृत्वमा रहेको टोलीले पाँच थान रक्सी बनाउने यन्त्र र दुुई थान ग्यास सिलिन्डर समेत नियन्त्रणमा लिएको छ ।

करिब पचास लाखको लागतमा सौर्य लिफ्टिङ खानेपानी निर्माण सुरु

स्याङ्जा, फागुन २२ । स्याङ्जाको माझकोट शिवालय गाविसको बुढाकोटमा सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण थालिएको छ । नेपाल सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा माझकोट शिवालय सौर्य लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको हो । गाउँभन्दा मुनि रहेको मूलबाट करिब तीन सय मिटरको उचाइमा पानी तानेर गाउँमा रहेको ट्याङ्कीमा सङ्कलन गर्ने योजना बनाएको खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष जमबहादुर गुरुङले बताए । पानीको सहजता भएपछि बुढाकोटका ३५ घरधुरी लाभान्वित हुनेछन् । २०७३ साल चैत मसान्तसम्म निर्माण कार्य सक्ने गरी सुरु गरिएको उक्त योजनाको रु ४९ लाख चार हजार एक सय लागत अनुमान गरिएको छ । खानेपानीको समस्या भएकै कारण यस ठाउँबाट बसाइँसराइ जाने गरेकामा अब भने गाउँमै खानेपानीको पहुँच पुग्ने भएपछि बसाइँसराइ रोकिने विश्वास लिएको समितिका कोषाध्यक्ष गुरुङले बताए । पिउने पानीका लागि त्यहाँका बासिन्दाले अहिले आधा घन्टादेखि एक घन्टासम्मको समय लगाएर एक गाग्री खानेपानीको जोहो गर्ने गरेका छन् ।

होलीको शुभारम्भमा आज बसन्तपुरमा चीर ठड्याइयो

काठमाडौं, फागुन २२ । आइतबार बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा वसन्तरपुर डबलीमा होलीको चीर ठड्याइएसँगै उपत्यकामा विधिवत रुपमा होली सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणीक तथा सांस्कृतिक महत्व रहेको छ । धार्मिक ग्रन्थका अनुसार– हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।

स्याङ्जामा काँग्रेस, एमाले परित्याग गरी पचास जना माओवादीमा केन्द्रमा प्रवेश

स्याङ्जा, फागुन २२ । नेकपा माओवादी केन्द्र वालिङ कमिटीद्वारा आयोजित सहिद बेपत्ता सम्मान कार्यक्रम तथा कार्यकता प्रशिक्षण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सहिद सप्ताहको अवसर पारेर स्याङ्जाको वालिङ सिटिहलमा आयोजीत कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज रामराज रेग्मीले स्याङ्जामा विस्तारै माओवादी केन्द्रको गतिविधि बढ्दै गएकाले अवको स्थानीय चुनावमा चमत्कारीक जित माओवादीको हुने स्पष्ट पारे । उनले सम्पुर्ण उत्पीडित वर्ग, गरीब वर्ग र सर्वहारा वर्गको मुक्ति माओवादीबाट मात्र सम्भव भएकाले माओवादीलाइ साथ दिन सवैसंग अपिल गरे उनले स्थानीय चुनाव भनेकै मितिमा हुने भएकाले सवै नेता तथा कार्यकर्ताहरुलाइ चुनावी गतिविधिमा सरिक हुन आग्रह गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य लोकबहादुर थापाले माओवादी पार्टी परिर्वतनका लागि जन्मिएको पार्टी भएको स्मरण गराउदै माओवादीका कारण देशमा प्रमुख परिर्वतन भएको विचार व्यक्त गरे । उनले जनजातीको माघ माओवादीले मात्र सम्वोधन गर्न सक्ने ठोकुवा गर्दै सम्पुर्ण जनतातीहरु माओवादीमा गोल्वन्द हुनुको विकल्प नभएको उल्लेख गरे । कार्यक्रममा अर्का पोलिट्व्युरो सदस्य शैलेन्द्र घिमिरेले माओवादीमात्र जनताप्रति उत्तरदायी भएको पार्टी भएकाले माओवादी हुनुमा सबैले गर्व गर्नुपर्नेमा जोड दिए । उनले माओवादी पार्टी न्याय सत्य र समानताको पक्षमा रहेकाले सधैभरी माओवादी यी तीन चिज प्राप्तिका लागि लडिरहने विश्वास व्यक्त गरे । कार्यक्रममा पोलिट व्युरो सदस्य पारष सर्मा, अखिल नेकपा महिला संघ (क्रान्तिकारी) स्याङ्जाकी जिल्ला अध्यक्ष कल्पना अर्याल, सहिद परिवारका सदस्य डिल्लीराम रिजाल लगाएतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस र अन्य दलबाट ५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन भने जनयुद्धको क्रममा सहिद तथा वेपत्ता भएका परिवारका सदस्यहरुलाइ सम्मान गरिएको छ । यसभन्दा अघि प्रमुख अतिथीबाट वालिङ नगरपालिका भकुण्डेमा रहेको नेकपा माओवादी केन्द्र वालिङ नगरपालीकाको पार्टि कार्यलय उद्घाटन गरीएको थियो। सोही अवसरमा नारायण अस्यालको अध्यक्षतामा ५१ सदस्यी वाइसिएल वालिङ नगर किमिटी गठन गरिएको छ ।जसको उपाध्यक्षमा ओमराज गुरुङ, सचिवमा अनिता गहतराज, सह–सचिवमा रोशन श्रेष्ठ, कोषाध्यक्षमा दिपक गुरुङ र वाँकी सदस्यमा रहेका छन । त्यस्तै भगवती पराजुलीको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) वालिङ नगर कमिटी गठन गठन गरिएको छ । जसको उपाध्यक्षमा जसमती गुरुङ, सचिवमा याम कला डुम्रे, सह–सचिवमा कल्पना पाराजुली, कोषाध्यक्षमा सुसिला डुम्रे र वाँकी सदस्यमा रहेका छन । त्यसैगरी श्याम विश्वकर्माको अध्यक्षतामा नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चा वालिङ नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा गव बहादुर विश्वकर्मा, सचिवमा थमन विश्वकर्मा, सह–सचिवमा गिर वहादुर नेपाली, कोषाध्यक्षमा राम वहादुर सार्की र वाँकी सदस्यहरु रहेका छन । त्यस्तै, चित्रबहादुर रेग्मीको अध्यक्षतामा ३३ सदस्यी अखिल नेपाल किसान संघ (क्रान्तिकारी) वालिङ नगर कमिटी गठन गरिएको छ । जसको सचिवमा कमल न्यौपाने, कोषाध्यक्षमा कमलापति डुम्रे र वाँकी सदस्यमा रहेका छन । त्यसैगरी खगिसा भुसाल संयोजक रहने गरी १२ सदस्यीय सहिद परिवार समाज र ख्याम प्रसाद तमु संयोजक रहने गरि अखिल नेपाल भुतपुर्व सैनिक संगठन वालिङ नगर किमिटी गठन गरिएको छ । त्यस्तै चेतबहादुर गुरुङको अध्यक्षतामा २९ सदस्यी तमु राष्ट्रिय मुक्ति मोर्चा वालिङ नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा चित्रबहादुर गुरुङ, सचिवमा हुम वहादुर गुरुङ, सह–सचिवमा वेल वहादुर गुरुङ, कोषाध्यक्षमा जुन प्रसाद गुरुङ र वाँकी सदस्यहरु रहेका छन । सोही अवसरमा मणी प्रसाद पाठक अध्यक्ष रहने गरी २१ सदस्यीय एकिकृत अखिल नेपाल शिक्षक संगठन वालिङ नगर कमिटी गठन गरिएको छ । जसको सचिवमा लोकराज कोइराला, कोषाध्यक्षमा यज्ञ डुम्रे र वाँकी सदस्यमा रहेका छन । त्यस्तै, लक्ष्मी रानाको अध्यक्षतामा २९ सदस्य मगर राष्ट्रिय मुक्ति मोर्चा वालिङ नगर किमिटी गठन गरिएको छ भने चिरञ्जीवी सुवेदी संयोजक रहने गरी घाइते अपाङग समाज वालिङ नगर कमिटी गठन गरिएको छ । नेकपा माओवादी केन्द्र वालिङ नगर कमिटिका सह–संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वालिङ नगर कमिटीका सह–इन्चार्ज निन्यानन्द तिवारीले गरेका थिए भने सञ्चालन नेकपा माओवादी केन्द्र वालिङका संयोजक प्रकास न्यौपाने (किरण) ले गरेका थिए ।

स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन अाज सरकारलाई बुझाइने

काठमाडौं, फाल्गुन २२ । स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन अध्ययन गर्न गठित मन्त्रीस्तरीय कार्यदलले सरकारलाई आज प्रतिवेदन बुझाउँदै छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकमा संघिय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजकत्वको टोलीले तयार पारेको प्रतिवेदन पेश हुने मन्त्री पाण्डेले जानकारी दिए । कार्यदलले ७ सय ३८ स्थानीय तहको सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले स्थानीय तहको संख्या निर्धारण गर्न बनेको पुनरावलोकन समितीको प्रतिवेदनमाथि छलफल गर्दै आजै निर्णय गर्ने श्रोतले जनाएको छ । पुनरावलोकन कार्यदलले २ नम्वर प्रदेशका ८ र प्रदेश नम्वर १ र ४ का एकरएक जिल्लामा १९ तह थप गरि स्थानीय तहको संख्या ७ सय ३८ पुर्‍याउन सिफारिस गरेको हो । यद्यपी आयोगले तयार पारेको प्रतिवेदनमा सहमति जुट्ने सम्भावना भने कम छ । स्थानीय तहबारे आयोगको प्रतिवदेन सम्वन्धमा खोटाङ र नुवाकोट जिल्लामा देखिएको विवाद बारेपनि आजको मन्त्रीपरिषद बैठकले निर्णय गर्ने स्रोतले जनाएको छ ।

१६ लाख बढी बालबालिका खोप अधिकारबाट बञ्चित

काठमाडौं, फाल्गुन २२ । सरकारी स्वास्थ्यकर्मीको अवरोधका कारण राष्ट्रिय पोलियो खोप अभियान प्रभावित बनेको छ ।  काठमाडौं उपत्यकाका तीनसहित १५ जिल्लामा हिजोदेखि पोलियो थोपा खुवाउने २ दिने अभियान सुरु गरिएपनि सबै स्थानमा सहजरुपमा सञ्चालन हुन सकेको छैन । हिजो पोलियो थोपा खुवाउने कार्यक्रम सुरु नभएका र आंशिक रुपमा सञ्चालन भएका स्थानमा आज पनि पोलियो थोपा खुवाउने महाशाखाको अन्तर्गतको खोप शाखाका प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । खोप कार्यक्रम प्रभावित हुँदा १६ लाख बढी बालबालिका खोप अधिकारबाट वञ्चित भएका छन् । यसैबीच स्वास्थ्य मन्त्रालयले राष्ट्रिय पोलियो खोप अभियान प्रभावित पार्ने स्वास्थ्यकर्मीलाई कारबाही प्रक्रिया थालेको छ । स्वास्थ्यकर्मीको अवरोधका कारण हिजोबाट राष्ट्रिय पोलियो खोप अभियान प्रभावित भएपछि मन्त्रालयले सम्बन्धित जिल्लामा अवरोध गर्ने स्वास्थ्यकर्मीको सूची तयार गर्दै स्वास्थ्य सेवा ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडी वढेको स्वास्थ्य मन्त्री गगन थापालाई उदृत गर्दै उनका सहयोगी जीवन भण्डारीले जनाएका छन् ।मन्त्रालयले बिशेष रणनीतिका साथ लक्षित उपलब्धि हाशिल नभएसम्म आजदेखि खोप अभियान जारी राख्ने जनाएको छ । सम्बन्धित जिल्लामा स्वास्थ्यकर्मी काममा नफर्किएको खण्डमा बैकल्पिक स्वाथ्यकर्मीको व्यवस्था गरेर भएपनि खोप कार्यक्रम सफल बनाउने मन्त्रालयको तयारी मन्त्रालयको छ । हिजोदेखि काठमाण्डौ उपत्यकाका तीन सहित १५ जिल्लामा पोलियो थोपा खुवाउने कार्य सुरु गरिएपनि सबै स्थानमा सहज रुपमा सञ्चालन हुन सकेन । कपिलवस्तु, काठमाडौँ ललितपुर र बर्दिया जिल्लामा भने सहजरुपमा कार्यक्रम सम्पन्न भएपनि अन्य जिल्लामा भने आंशिक रुपमा पोलियो खुवाइएको छ । स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा ताला लगाई अवरोध गरेका कारण सप्तरीमा भने खोप कार्यक्रम सुरु नै हुन नसकेको बालस्वास्थ्य महाशाखाले जनाएको छ । फागुन पहिलो साताका लागि तय अभियान स्वास्थ्यकर्मीको आन्दोलन र तालाबन्दीका कारण १५ दिनपछि सारिएको थियो ।

परराष्ट्रमन्त्री डा. महत नेपाल फर्किए

काठमाडौँ, फागुन २१। स्विट्जरल्यान्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औँ सत्रमा सहभागी पश्चात परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज नेपाल फर्किएका छन् । सो सत्रमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री मन्त्री डा. महत यही फागुन १४ गते जेनेभा प्रस्थान गरेका थिए । मन्त्री महतले जेनेभामा उक्त सत्रलाई सम्बोधन गर्नुका साथै त्यहाँ पाँच दिनसम्म रहँदा विभिन्न देशका विदेशमन्त्री, मन्त्रीका साथै संयुक्त राष्ट्रसङ्घीय उच्च अधिकारीहरुसँग भेटवार्ता गरेको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई बताएका छन् । नेपालले आगामी सन् २०१८ देखि २०२० सम्मका लागि राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको छ । त्यहाँ रहँदा उनले मानवअधिकारको संरक्षण र सम्मानमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराउँदै सो पदमा मतदानका लागि विश्व समुदायसँग आग्रह गरेको उनले जानकारी दिए । नेता महतले स्विस विदेशमन्त्री डिडियर बुर्खाल्टरसँगको भेटवार्ताका क्रममा नेपाललाई पुनःनिर्माणका साथै अन्य क्षेत्रमा आर्थिक सहयोगका लागि आग्रह गरे । त्यसैगरी हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोले नेपाललाई जलविद्युत् उत्पादनका क्षेत्रमा रु एघार अर्बभन्दा बढी सहयोग गर्ने र प्रत्येक वर्ष १० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बताए ।

बर्डफ्लुको संक्रमण भएका हाँस कुखुरा भेटिए

पोखरा, फागुन २१ । पोखरा उपमहानगरपालिका वडा नं १८ खाल्टेमसिनामा दीपेन्द्र केसीले पालेका कुखुरामा पनि बर्डफ्लुको जिवाणु भेटिएको छ । यसअघि झण्डै एक हप्ताअघि साेही ठाउँमा मीना परियारको घरमा पालेको हाँसमा बर्डफ्लुको संक्रमण भेटिएको थियाे । एक साताभित्रै पोखराकै दुई स्थानमा बर्डफ्लुको संक्रमण भेटिएपछि पोखराको १ देखि १८ नम्बर वडाभित्र पंक्षी र पंक्षीजन्य पदार्थ ओसारपसारमा रोक लगाइएको छ । पशु सेवा कार्यालयले आज देखि १० दिन अर्थात आगामी फागुन ३० गतेसम्मका लागि ओसारपसारमा रोक लगाएको छ । जिल्ला एभियन ईन्फ्लुएन्जा प्राविधिक समितिको आज बसेको बैठकले संक्रमित क्षेत्रको चार किल्ला निर्धारण गरेपछि कार्यालयले सो क्षेत्रमा पंक्षीजन्य वस्तु ओसारपसारमा रोक लगाएको विज्ञप्ती मार्फत जनाएको छ ।