कञ्चनपुरमा भारतीय नम्बर प्लेटका गाडी चलाउन प्रतिबन्ध

कञ्चनपुर, फागुन २७ । कञ्चनपुरमा स्थानीय प्रशासनले भारतीय नम्बर प्लेटका गाडी चलाउन रोक लगाएको छ । बिहिबार कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको ज्यान गएपछि स्थिति तनावग्रस्त भएको भन्दै प्रशहासन भारतीय नम्बर प्लेटका गाडी चलाउन प्रतिबन्ध लगाएको हो ।

भारतीय पक्षसँग आक्रोशित स्थानीय बासिन्दाले बिहीबार भारतीय नम्बर प्लेटका गाडीमा तोडफोड तथा आगजनी गरेपछि स्थानीय प्रशासनले स्थिति सामान्य नहुँदासम्म भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाएको हो ।

स्थानीय बासिन्दाले भारतीय नम्बर प्लेटका यूके ०४एफ ५६०९ र यूके ०६ डब्लु ००६२ नम्बरको मोटरसाइकल तथा डिएल ९ जी ४४६३ नम्बरको गाडीमा तोडफोड तथा आगजनी गरेकाले बिहीबार रातिदेखि नै भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।

यस्तै, भारतीय एसएसबीको ज्यादतीको विरोधमा शुक्रबार नेकपा माओवादी केन्द्रले ७ नम्बर प्रदेश बन्दको आह्वान गरेको छ । बन्दका कारण यातायात, कलकारखाना तथा शैक्षिक संस्था ठप्प भएका छन् ।

चिडियाघरमा बर्डफ्लु भेटियाे

इटहरी, फागुन २५ । पर्यटकीय क्षेत्र तालतलैयाको बाल उद्यान क्षेत्रभित्र रहेको चिडियाघरमा राखिएका पक्षीमा बर्डफ्लुको सङ्क्रमण भेटिएको छ । क्षेत्रीय प्रयोगशाला विराटनगर र केन्द्रीय प्रयोगशालामा मरेका पक्षीको परीक्षणबाट बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको जिल्ला पशु कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रमुख शिवनारायण महतोले यही फागुन २३ केन्द्रीय प्रयोगशालाले बर्डफ्लु भएको प्रमाणित गरेपछि सतर्कता अपनाइएको बताए । सङ्क्रमण मानिसमा सर्नबाट रोक्न कम्तिमा एक महिनाका लागि चिडियाघर बन्द गरिएको छ । मरेका पक्षीलाई सुरक्षित रुपमा गाड्ने काम पनि भइरहेको उनले जानकारी दिएका छन् । एक सातादेखि लगातार चरा मर्न थालेपछि बर्डफ्लुको आशङ्कामा बालउद्यान बन्द गरिएको थियो । संरक्षण समितिले चरा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयमार्फत मरेका पक्षी परीक्षणका लागि यही फागुन १९ गते क्षेत्रीय र केन्द्रीय प्रयोगशाला पठाएको थियो । तालतलैया विकास तथा संरक्षण समितिका महासचिव रमेश अधिकारीका अनुसार एक साताभित्र संरक्षित टर्की, मयुर, हुँचिल, राजहाँस, चरी बाघ, वन बिरालो र गिनी पिङ मरेका छन् । उक्त चिडियाघरमा दुर्लभ पक्षीसहित २२ प्रजातिका पक्षी संरक्षण गरेर राखिएको छ । तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले भने आफूहरुलाई पशु कार्यालयले बर्डफ्लु प्रमाणित भएको जानकारी नदिएको बताएका छन् ।

किशोरी हत्याको छानबिनमा अब सीआइबी

खोटाङ, फागुन २५ । तीन साताअघि लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रीता तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसकेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट टोली मगाइएको छ । गत माघ २६ गते छिमेकी गाविस सिम्पानी–७ स्थित कुसेऔंसी जंगलमा वीभत्स हत्या गरिएको अवस्थामा फेलापरेकी किशोरीको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता नलागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले सीआइबीको टोली मगाएको हो । अहिलेसम्मको अनुसन्धानबाट दोषी पत्ता लगाउने लक्ष्य पूरा हुने सम्भावना कम देखिएकाले सीआइबीको टोली पठाइदिन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले किशोरीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेको गुनासो बढ्दै गएपछि मानवअधिकार आयोगको टोलीलेसमेत स्थलगत अनुसन्धान थालेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा माघ २७ गते पाँचजना स्थानीयवासीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जिल्लास्थित अन्तरपार्टी महिला सञ्जाल तथा महिला अधिकारकर्मीले अहिलेसम्म दोषी पत्ता नलाग्नुमा प्रहरीकोसमेत मिलेमतो रहेको आरोप लगाएका छन् ।

दाइजो कम ल्याएपछि बोक्सीको आरोपमा घर निकाला

काठमाडौँ, फागुन २५ । राजधनीकै गोकर्णेश्वरमा एक युवतीलाई विवाहमा दाइजो कम ल्याएपछि बोक्सीको आरोपमा परिवारले घरबाट निकाला गरिदिएका छन् । यही फागुन १२ गते मात्रै वैवाहिक बन्धनमा बाँधिएकी गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह गएको दुई सातापनि वित्न नपाउँदै उनका परिवारले घरबाट निकालिदिएका हुन् । सोही नगरपालिकाको वडा नं १५ बेँसीगाउँमा दिनेश केसीसँग विवाह बन्धनमा बाँधिएकी भण्डारीलाई परिवारले दाइजो कम ल्याएको निहुँमा उनलाई बोक्सीको आरोप लगाई घर निकाला गरेका हुन् । भण्डारीले आज महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी दिएको प्रहरी सहायक निरीक्षक शुक्र राईले जानकारी दिए । केसी सैनिक जनसम्पर्क निर्देशनालयमा उपसेनानी पदमा कार्यरत छन् । दुवै पक्षलाई राखी आज वृत्त बौद्धमा छलफल गराइएको भएपनि दुवै पक्षले कानुनी प्रक्रियामा अघि बढ्ने सहमति जनाएकाले भण्डारीकी सासु राधिका केसीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मागी विवाह भएको दुई साता पनि नबित्दै राजधानीमै सेनामा कार्यरत उपसेनानी दर्जाका जिम्मेवार व्यक्तिले श्रीमतीलाई घर निकाला गर्नुलाई गम्भीर रुपमा लिइएको अधिवक्ता प्रदीप थापाले बताए ।

भारतबाट आउने हात्ती आतङ्कको चपेटामा स्थानीय

कपिलवस्तु, फागुन २५ । भारतीय जंगलबाट आउने हातीले आतङ्क मचाउँदा कपिलवस्तुवासी त्रसित बनेका छन् । कपिलवस्तुको गौतमबुद्ध साझेदारी वनमा आएको हात्तीले स्थानीय गुगौली, शिवगढी, गणेशपुरी, खुरुहुरिया, भगवानपुरलगायत गाविसका बासिन्दा त्रसित बनेका हुन् । हात्तीले गाउँ नजिकै आएर कराउने, किसानले लगाएको अन्नबाली नष्ट गर्ने गरेका करण स्थानीय बासिन्दा त्रसित भएको गौतमबुद्ध साझेदारी वनका अध्यक्ष जानकी यादवले जानकारी दिइन् । उनका अनुसार जङ्गलको छेउमा गरिएको तारबारसमेत तोडेर बच्चासहित आउने हात्तीले लाखौं मूल्य बराबरको धनमालको नोक्सान गर्ने गर्छन् । हात्ती गाउँमा पस्ने डरले गाउँलेले रातभर जाग्रम बस्ने गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट हात्ती आएको हुनसक्ने गौतम बुद्ध साझेदारी वनका वन रक्षकले बताएका छन् । भारतको जङ्गल हँुदै बच्चासहितको हात्ती आउने गरेकोे अनुमान छ । हात्तीको डरले घाँस दाउरा गर्नका लागिसमेत स्थानीयले जङ्गल जान छाडेको गुगौलीका हरिराम थारुले बताए ।  

पत्रकार महासङ्घ कञ्चनपुर अध्यक्षमा अवस्थी

कञ्चनपुर, फागुन २५ । नेपाल पत्रकार महासङ्घ, कञ्चनपुर शाखाको अध्यक्षमा विष्णुदत्त अवस्थी निर्वाचित भएका छन्। पत्रकार महासङ्घ कञ्चनपुरको नवौँँ जिल्ला अधिवेशन तथा १७औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा अवस्थी निर्वाचित भएका हुन् । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लक्ष्मीराज जोशीद्वारा मङ्गलबार राति अबेर घोषित परिणामअनुसार अवस्थीले एकसय ३१ र उनका प्रतिद्वन्द्वी सुरेश सिंह धामीले एकसय चार मत ल्याएका छन्। मुख्य निर्वाचन अधिकृत जोशीका अनुसार उपाध्यक्षमा केशव सावद निर्वाचित हुनु भएको छ । महिला उपाध्यक्षमा दुर्गा उपाध्याय तथा सचिवमा अमरबहादुर चन्द निर्वाचित भएका छन् । यस्तै, खुल्ला सह–सचिवमा मोहन विष्ट, समावेशी सह–सचिवमा सङ्गीता शाही र कोषाध्यक्षमा चुडामणि अर्याल निर्वाचित भएका छन् । यस्तै, महिला सदस्यमा निर्मला बोहरा र दलित सदस्यमा सुरेन्द्र पाल्पाली निर्वाचित भएका छन्। खुल्ला सदस्यतर्फ ईश्वरदत्त बडू, कुन्दन पाण्डे, भाष्कर केसी, धनञ्जय अवस्थी, धर्मराज कठायत, रञ्जित लामा, वासुदेव धामी र वासुदेव भट्ट निर्वाचित भएका छन् । यसअघि समावेशी सदस्यमा पहिलाद राना र मधेसीमा रामदास राना निर्विरोध निर्वाचित भएका थिए । ३४ जना प्रदेश पार्षद पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ भने २० खुल्ला र ६ महिला केन्द्रीय पार्षदका लागि उम्मेदवारी दिएका ४५ जनामध्ये विजयी हुनेमा अधिकांश प्रेस सेन्टर नेपाल र प्रेस युनियनका उम्मेदवार रहेका छन् । निर्वाचनमा कुल दुईसय ६० मतदातामध्ये दुईसय ३७ ले सहभागिता जनाएका थिए ।

राममन्दिर पुनर्निर्माणका लागि ६६ लाख सङ्कलन

नुवाकोट, फागुन २५ । मुलुककै प्रसिद्ध नुवाकोट जिल्ला त्रिशूलीस्थित राममन्दिर पुनर्निर्माणका लागी लगाइएको ‘रामचरित मानस’मा करिब ६६ लाख रुपैयाँ बचत भएको छ । तेह्र दिन सञ्चालन भएको रामचरित मानस बाचनमा ७४ लाख ३३ हजार सङ्कलन भएको र आठ लाख ६० हजार खर्च भएकाले ६५ लाख ७३ हजार रकम मन्दिर पुनर्निर्माणका लागि बचत भएको राममन्दिर पुनर्निर्माण समितिका संयोजक धनबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार भगवान् रामको कथा वाचनका क्रममा चन्दा सहयोगबाट ७० लाख ९६ हजार, कलश यात्रामा सहभागी हुनेबाट तीनलाख चारहजार, टीकादक्षिणाबाट १३ हजार तीन सय र सङ्कलन भएको रकमलाई वित्तीय संस्थामा राखेर चार हजार एकसय ब्याज सङ्कलन हुँदा आम्दानी ७४ लाख ३३ हजार रुपैयाँ भएको छ। तेह्र दिनसम्म रामकथा वाचन गर्दा विभिन्न १९ शीर्षकमा आठ लाख ६० हजार खर्च भएकाले अब मन्दिर पुनर्निर्माणका लागि ६५ लाख ७३ हजार रुपैयाँ सङ्कलन भएको छ । संयोजक श्रेष्ठले भने, ‘भूकम्पले क्षति पुगेको राम मन्दिरको पुनर्निर्माणमा राज्य तथा सामाजिक संस्थाले बेवास्ता गरेपछि स्थानीयवासी आर्थिक सङ्कलन अभियानमा जुटेका हौँ ।’ बचत भएको रकम अहिले वित्तीय संस्थामा जम्मा गरेकाले अब पुनर्निर्माणतर्फ केन्द्रित हुने राम मन्दिर सञ्चालक समितिको सदस्य नारायण श्रेष्ठले जानकारी दिए । त्रिशूलीको पुरानो बजारस्थित पवित्र त्रिशूली नदी किनारमा रहेको भगवान् श्रीरामको मन्दिरलाई पूर्ववत् रुपमा नै निर्माण गर्न करिब एक करोड ३० लाख रुपैयाँ लाग्ने प्राविधिक अध्ययनमा देखिएको छ । पुनर्निर्माणका लागि स्रोत जुटाउन स्थानीयवासीले विभिन्न प्रयास जारी राख्दै आएका छन् ।

एम्बुलेन्स निर्देशिका लागू हुँदै

काठमाडौँ, फागुन २५ । स्वास्थ्य मन्त्रालयले नियमन तथा नियन्त्रण गर्ने निर्देशिका नहुँदा एम्बुलेन्सको आयातदेखि सञ्चालनसम्म मनपरी भएको भन्दै ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३’ ल्याउन लागेको छ। मन्त्रिपरिषद् लगिएको निर्देशिका पारित भएपछि कार्यान्वयनमा आउने छ। नेपालमा एम्बुलेन्ससम्बन्धी छुट्टै निर्देशिका नभएकाले एम्बुलेन्स सेवालाई सरल, भरपर्दो र व्यवस्थित गर्न निर्देशिका आवश्यक भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले कति एम्बुलेन्स सञ्चालनमा छन् यकिन तथ्याङ्क नभएकाले निर्देशिका ल्याई चालु आर्थिक वर्षमा अहिले सञ्चालन रहेका सबै एम्बुलेन्स दर्ता गरिसक्नुपर्ने व्यवस्था गरेको छ । “मन्त्रालयले सरकारी, अर्धसरकारी, गैरसरकारी सङ्घसङ्गठन एवम् निजी क्षेत्रबाट सञ्चालित एम्बुलेन्स सेवामा जनताको पहुँच बढाई सेवामा गुणस्तर वृद्धि गरी एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका–२०७३ ल्याइएको हो”, स्वास्थ्यमन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले भने। निर्देशिकामा एम्बुलेन्सको पहिचान हुनेगरी आवाज र नीलो रङको सङ्केत बत्ती जडान गरिएको हुनुपर्ने, एम्बुलेन्समा फोर ह्विल ड्राइभ, सस्पेन्सन, को–चेन सिस्टम हुनुपर्ने, शब्द र सम्पर्क फोन नम्बर अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने मापदण्ड बनाइएको छ । ‘एम्बुलेन्सलाइ ‘क’, ‘ख’ र ‘ग’ गरी तीन वर्गमा छुट्याइएको छ । एम्बुलेन्सले कुन वर्गको हो स्पष्ट उल्लेख गर्नुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ । एम्बुलेन्स एकहजार सिसीभन्दा बढी क्षमताको हुनुपर्ने र चालकको पछाडि कुनै सिट राख्न नपाइने तथा मापदण्ड विपरीत निर्देशिका उल्लङ्घन गरी चलाइएको पाइएमा जफत गरिने निर्देशिकामा उल्लेख छ । त्यसैगरी, सरकारबाट राजस्व छुट सुविधामा प्राप्त एम्बुलेन्सले ‘नेपाल सरकारबाट राजस्व छुट प्राप्त एम्बुलेन्स’ भनी प्रष्ट देखिने गरी लेखेको हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ । निर्देशिकाले एम्बुलेन्सको चिह्न, चालकको योग्यता, पालन गर्नुपर्ने आचारसंहिता र एम्बुलेन्सको प्रकार पनि छुट्याएको छ । निर्देशिकामा एम्बुलेन्समा रातो, हरियो र पहेँलो रङको सम्मिश्रण हुनुपर्ने छ । ‘क’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग रातो रङ हुनुपर्छ भनिएको छ । त्यसबाहेक दायाँ–बायाँ भाग हरियो र पहेँलो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ । ‘ख’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग पहेँलो रङ हुनेछ । त्यसबाहेक देखिने भाग हरियो र रातो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ । ‘ग’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग हरियो हुनेछ । त्यसबाहेक देखिने भाग रातो र पहेँलो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ । एम्बुलेन्सको अगाडि–पछाडि टाढैबाट देखिने गरी ठूलाठूला अक्षरमा एम्बुलेन्स लेख्नुपर्ने छ । एम्बुलेन्समा साइरन, इमर्जेन्सी बत्ती, स्ट्रेचरका साथै वर्गअनुसार आवश्यक औजार राखेको हुनुपर्ने छ । एम्बुलेन्सलाई बिरामी ओसारपसारबाहेक अन्य प्रायोजनमा प्रयोग गर्न पाइने छैन । एम्बुलेन्स नेपाल सरकारको सवारी प्रदूषण मापदण्डभित्र रहेर सञ्चालन गर्नुपर्नेछ । एम्बलुेन्स नीलो रङको कम्तीमा ३० से।मी। लम्बाइको ‘स्टार अफ लाइफ’ सङ्केत चिह्न हनुपर्ने र यस्तो चिह्न दायाँ–बायाँ र पछाडि तीनतर्फ हुनुपर्ने, यसबाहेक सम्बन्धित संस्थाको चिह्न राख्न सकिने पनि उल्लेख छ । अन्य वाहनमा ‘स्टार अफ लाइफ’ सङ्केत चिह्न राख्न नपाइने निर्देशिकामा उल्लेख छ । हाल सेवा दिइरहेका वाहनको हकमा भने निर्देशिका जारी भएको आर्थिक वर्षभित्र सेवा अनुमति लिनुपर्ने छ । यसरी अनुमति लिएको एम्बुलेन्सले सेवाग्राही बिरामीको अभिलेख राखी प्रत्येक चौमासिक सकिएको ३० दिनभित्र जिल्ला स्वास्थ्य कार्यालयमार्फत चौमासिक प्रतिवेदन पेस गर्नुपर्ने छ । त्यसैगरी चालक प्रमाणपत्र तह पास भएको, पाँच वर्षको सवारी चालकको अनुभव प्राप्त गरेको, २५ वर्ष पूरा भएको र प्राथमिक उपचार तालिम प्राप्त गरेको हुनुपर्ने पनि निर्देशिकाले व्यवस्था गरेको छ ।

नयाँ शक्ति ललितपुरको युवा अभियान संयोजकमा घिमिरे

ललितपुर, फागुन २५ । नयाँ शक्ति नेपाल ललितपुरको राष्ट्रिय युवा अभियान ललितपुरको संयोजकमा राघव घिमिरे चयन भएका छन् । मंगलबार लगनखेलमा भएको भेलाबाट घिमिरेको नेतृत्वमा सहसयोजकहरु संगीत लामा, सुफेस अधिकारी र सन्दिप महर्जन चयन भएका हुन् । प्रभास महर्जन,सानू थापा,हरि हुमागाइ,बुद्ध लामा,कवि माली,नातुनध्वज थापा सहितको १० सदस्यीय कार्यालय टीम बनेको नयाँ शक्ति नेपाल ललितपुरका संयोजक रोशन पोखरेलले जानकारी दिए । युवा अभियानले चैत्र १९ गते राष्ट्रिय युवाको अधिवेशन गर्ने निर्णय गरेको छ । अबको युवा संगठनले सामाजिक न्याय ,उत्पादन उन्मुख नीति कार्यक्रम बनाउने बेरोजगारलाई कसरी रोजगारी बनाउन सकिन्छ भन्ने अनुसन्धान गर्न परिचालन गरिने नयाँ शक्ति पार्टीका संयोजक पोखरेलले बताए । उक्त कार्यक्रममा विशिष्ट अतिथिमा राष्ट्रिय युवा अभियानका केन्द्रीय युवा परिषद् गोपाल न्यौपाने रहेका थिए ।

सप्तरी गोलीकाण्डमा मृत्यु हुनेकाे संख्या तीन पुग्याे

काठमाडौ, फागुन २३ । सप्तरीमा मधेसीमोर्चा र प्रहरीको झडपमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोर्चाका कार्यकर्ता २१ वर्षीय सन्जन मेहताकाे घटनास्थलमै मृत्यु भएकाे हाे भने अन्य दुइ जना अानन्द साह र पिताम्बर यादवकाे भने उपचारका क्रममा मृत्यु भएकाे बताइएकाे छ । झडपमा अन्य तीन दर्जन भन्दा बढी घाइते भएका छन् । एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजमा भएको कार्यक्रमलाई विथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले पेट्रोलबम प्रहार गरेको र सभास्थलमा अभद्र व्यवहार गर्दै प्रदर्शन गरेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीको भनाइ छ । त्यसक्रममा प्रहरीले केही सेल हवाई फायरसमेत गरेको थियो भने लाठीचार्ज पनि गरेको थियो । एमालेको अभियानलाई असफल बनाउनका लागि प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच विहानैदेखि झडप भइरहेको थियो । स्थिति विहानैदेखि तनावग्रस्त थियो । कार्यक्रम सकिएपछि उनीहरुबीच पुनः झडप भयो । सोही क्रममा प्रहरीले गोली चलाउँदा एककाे घटनास्थलमै र अन्य दुइकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।

राजविराजमा दुईको मृत्युपछि फोरम नेपालले डाक्याे आपतकालिन वैठक

काठमाडौं, फागुन २३ । राजविराजमा प्रहरीले चलाएको गोलीबाट दुईजना मधेसीमोर्चाका कार्यकर्ताको मृत्यु भएपछि संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाले आपतकालिन वैठक डाकेकाे छ । काठमाडौको तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालय बैठक बस्न लागेको हो । एमालेको मेची–महाकाली अभियान अन्तरर्गत सप्तरीमा भएको कार्यक्रम विथोल्न उत्रिएका मधेसीमोर्चा र प्रहरीबीच भएको दोहोरो झडपमा रञ्जन मेहता र मलेठ-४ का पिताम्बर यादवको मृत्यु भएको हाे

९९ किलो चरेससहित दुई भारतीय पक्राउ

चितवन, फागुन २३ । नारायणगढ–मुग्लिन सडकखन्डअन्तर्गत् चितवनको कविलासबाट प्रहरीले झण्डै एक क्वीन्टल चरेससहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । भारतीय नम्बरको टाटासुमो गाडीमा राखेर लगिँदै गरेको ९९ किलो चरेस चितवन प्रहरीले पक्राउ गरेको हो । जुगेडीमा गाडी चेकजाँचका क्रममा उक्त चरेस फेलापरेको चितवन जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् । पक्राउ पर्नेमा भारत, कठियामठियाका गाडीचालक सुधन साह र रक्सौल कोईरियाका आदित्य साह रहेका छन् । उनीहरुलाई सोमबारै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुका साथै जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद लिइएको छ । विशेष सुराकीको आधारमा उक्त चरेस नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

८६ वर्षीय मिनबहादुरले सगरमाथा चढ्ने

काठमाडौँ, फागुन २३ । विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्न लागेका छन् । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी गराएका हुन् । सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लागेको बताएका छन् । सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्दा भूकम्पका कारण असफल भएका थिए त्यसपछि हाल उनलाई सगरमाथा आरोहणका लागि पठाउन लागिएको संयोजक घर्तीमगरले जानकारी दिए । आरोही शेरचनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताएका छन् । उनले भने, “म बुढो भए पनि मेरो आँट बुढो भएको छैन म सगरमाथा चढेरै छाड्छु ।” यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढेका थिए । सगरमाथा आरोहण गर्नका लागि उनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायत, गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायतलगायत सङ्घ संस्थाको सहयोग रहेको छ ।

स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, फागुन २३ । स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै अधिवक्ता चिरञ्जीवी रिजालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। स्थानीय तह पुनर्संरचना आयोगले निर्धारण गरेको ७ सय १९ संख्या नै कायम गर्न माग गर्दै रिजालले सोमबार सर्वौच्चमा रिट हालेका हुन्। संवैधानिक आयोगलाई दिइएको क्षेत्राधिकार मिचेर सरकारले निर्णय गरेको उनले रिटमा उल्लेख गरेका छन् । आइतबार राति ढिला बसेको मन्त्रिपरिषद् बैठकले बालानन्द पौडेल अध्यक्ष रहेको स्थानीय तह पुनर्संरचना सम्बन्धी आयोग स्थानीय तहको संख्या बढाएर ७ सय ४४ बनाउने निर्णय गरेको थियो ।

जनजाति महासंघको आन्दोलनमा गठबन्धनले सहयोग गर्ने

काठमाडौं, फागुन २३ । संघीय गठबन्धनले नेपाल आदिवासी जनजाति महासंघले ५ बुँदे माग राख्दै सुरु गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै महासंघको आन्दोलनलाई सक्रियताका साथ सहयोग गर्ने भएको छ । गठबन्धनका प्रवक्ता डा.ओम गुरुङले आइतबार चार बुँदे प्रेस विज्ञप्ती जारी गर्दै महासंघको आन्दोलनमा गठबन्धनको सहयोग हुने जनाएको हुन् । गठबन्धनले तराई मधेसमा जारी पहिचान र संघीयताविरोधी खबरदारी अभियान र भण्डाफोर आन्दोलनमा सहभागी हुन आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, थारु लगायत समुदायसँग अपिल समेत गरेको छ । गठबन्धनले काठमाडौंको शंखरापुर नगरपालिका कायम हुनुपर्ने पक्षमा महिनौंदेखि भइरहेको आन्दोलनमा पनि ऐक्यवद्धता जनाएको छ । गठबन्धनले छिटै अर्को बैठक बसी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरेको छ ।

एक सय बढी टहरा भत्काइयो

गौशाला, फागुन २३ । महोत्तरीको जलेश्वर नगरपालिकाले आइतबार जिल्ला सदरमुकाम जलेश्वरभित्रका १०० बढी घरटहरा भत्काएको छ । नगरभित्रको बाटो फराकिलो बनाउन नगरपालिकाको जग्गा अतिक्रमण गरी बनाइएको १०० पसल हटाएको हो । यता नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार नगरभित्रको अतिक्रमित जग्गा खाली गराएको बताए । यसरी नगरपालिकाले एकाएक व्यापारीको संरचना भत्काउन थालेपछि व्यापारीले नगरपालिकाको स्काभेटरलाई नगरपालिका कार्यालयकै अगाडि घेरेर सामान्य ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । व्यापारीले स्काभेटरमा तोडफोड गर्दा स्थिति तनावग्रस्त बनेपछि आईतबार साँझ सर्वदलीय समितिले नगरपालिका कार्यालय प्रमुख भानुभक्त बरालसँग वार्ता गरेका थिए । तर सो वार्ता निष्कर्षविहीन भयो । रासस