‘माथिको आदेश’ भन्दै नेपालीलाई भारत प्रवेशमा रोक

सुनसरी, फागुन २८ । सुनसरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीलाई भारत प्रवेशमा रोक लगाएको छ ।

कन्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली युवक गोविन्द गौतमको हत्याको सर्वत्र विरोध हुन थालेपछि एसएसबी सुनसरीबाट नेपालीलाई भारत प्रवेशमा रोक लागाएको हो ।

‘माथिको आदेश’ भन्दै दशगजा क्षेत्रमा खटिएका एसएसबीका जवानहरुले सुनसरीका सबै नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएका हुन् ।

साझा बसमा विप्लवका कार्यकर्ताले लगाए आगो

काठमाडौं, फागु्न २८ । नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्द अवज्ञा गरी प्रहरी राखेर सञ्चालित साझा बसमा आगजनी भएको छ । काठमाडौंको बालाजु बाइपासमा बा ४ ख ५६४८ नम्बरको बसमा आगजनी गरिएको हो । एअरपोर्ट–नयाँ बसपार्क रुटमा चल्ने साझा बस बाइपासमा रोकिराखेको अवस्थामा एक समुहले पेट्रोल छर्किएर आगो लगाएको सो समितिले जनाएको छ । आगलागीबाट बसको भित्रीभाग जलेर नष्ट भएको छ । प्रहरीले नै सुरक्षा दिएर सञ्चालन गरिएको साझा बसमा कसले आगो लगाएको नखुलेको समितिको भनाइ छ । बसका स्टाफ र सुरक्षा दिइरहेका दुई जना सुरक्षाकर्मी समेत खाना खान गएको अवस्था पारेर बसमा आगजनी गरिएको बताइएको छ । त्यसबेला बसमा केही यात्रु बसेको भए पनि उनीहरु भने ओर्लिन भ्याएका थिए । चन्द नेतृत्वको नेकपाले बन्दको आह्वान गरेकाले बसमा उनीहरुले नै आगो लगाएको हुनसक्ने प्रहरीले जनाएको छ । बसमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा निभाइएको छ ।

हिमपातका कारण जनजीवन प्रभावित

काठमाडौं, फागुन २८ । उच्च हिमाली भेगमा भारी हमपात भएको छ । बिहीबार बिहानैदेखि जुम्लामा वर्षा भएसँगै उच्च क्षेत्रमा हिमपात भएको हो । लगातारको हिमपातले जिल्लाको जनजीवन निकै प्रभावित भएको छ । हिमपातका कारण विद्यालयहरूमा बालबालिका आउन नसकेपछि पठनपाठन प्रभावित बन्न पुगेको छ । हिमपातले कर्णाली राजमार्गमा चल्ने छोटो तथा लामो दूरीका गाडीहरू सञ्चालन हुन सकेका छैनन् । बिहीबारदेखि नेपालगन्ज तथा सुर्खेतबाट हुने उडान सेवा पनि रद्द भएका छन् । हिमाली भेगको एक दुई ठाउँमा आज पनि ठूलो हिमपात हुने सम्भावना रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा गएरातीदेखि हल्का वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले मुलुकको मध्य र पश्चिमी क्षेत्रमा गएरातीदेखि वर्षा भएको महाशाखाले जनाएको छ । भारतीय भू–भागबाट बुधबार नेपाल भित्रिएको पश्चिमी वायु पुर्व सर्ने क्रममा शुक्रबार अधिकांश ठाउँको मौसम बदलिएर मध्य र पश्चिमी क्षेत्रहरुमा वर्षाको प्रभाव देखिएको महाशाखाले जनाएको छ । पश्चिमी वायूको प्रभाव अझै बाँकी रहेकाले भोलिसम्म मौसम बदलिने र हल्का बर्षा हुने महाशाखाको भनाइ छ ।

चट्याङ लागेर १० घाइते

पर्वत, फागुन २८ । चट्याङ लागेर फलेवास खानीगाउँमा गएराति १० जना घाइते भएका छन्। खानीगाउँ गाविसमा अविरल वर्षासँगै परेको चट्याङले वडा नं ३, ४, ५ र ६ का १० जान घाइते भएका हुन् । घाइतेको फलेवासमै रहेको धुलिखेल अस्पताल खानीगाउँमा उपचार भइरहेको छ। घाइतेको खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा चट्याङले पोलेको अस्पताल प्रमुख प्रशान्त गुप्ताले जानकारी दिए । उनका अनुसार केहीको अवस्था जटिल रहेको छ। पटक पटक परेको चट्याङले लागेर ठूलो सङ्ख्यामा घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। घाइतेको फलेवासमा रहेको प्रहरी चौकीका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

ट्रक र बस ठोक्किदाँ ११ घाइते

चितवन, फागुन २८ । दारेचोक गाविस–३ कुरिनटारस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रक र बस ठोक्किँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको लु १ ख ८११८ नम्बरको ट्रक र मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना.६.ख २४७८ नम्बरको बस एकआपसमा ठोक्किँदा बसमा सवार ११ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारका लागि काठमाडौं र भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

हार्ने डरले प्रेस चौतारी षडयन्त्र बुन्न लागेको आरोप

काठमाडौ, फाल्गुन २७ । चैत्र १ गते हुन गइरहेको ललितपुर पत्रकार महासंघको अधिवेशनको पूर्वसन्ध्यामा बिभिन्न राजनीतिक दल निकट पत्रकार संघहरुबीच चुनावमा जित हासिल गर्न छिनाझपटका घटनाहरु हुन थालेका छन् । यसैबीच प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन र प्रेस सोसाइटीले आज एक संयुक्त वक्तव्य निकाली एमाले निकट प्रेस चौतारी नेपालले चुनावमा आफूहरु हार्ने देखेपछि अमर्यादित षडयन्त्र गर्ने प्रयास गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा हिजो मात्रै प्रेस चौतारीले विप्लव निकट क्रान्तिकारी पत्रकार संगठनसँग मिलेर प्रेस युनियन र प्रेस सोसाइटीका प्रतिनिधिहरुलाई झुक्याएर नेपाल पत्रकार महासंघ ललितपुरबिरुद्ध वक्तव्यवाजी गराएको उल्लेख छ । प्रेस चौतारीको अगुवाइमा जारी हिजोको वक्तव्यमा ललितपुर पत्रकार महासंघका अध्यक्ष लेखनाथ न्यौपानेले थुप्रैलाई कीर्ते सदस्यता प्रदान गरेको आरोप लगाइएको छ । महासंघको विधि विधान अनुसार नै ललितपुरमा सदस्यता वितरण तथा नवीकरण गर्ने काम भएको हुँदाहुँदै पनि त्यस्तो वक्तव्य जारी गर्नु र महासंघको कार्यालयमा तालाबन्दी गर्नु नितान्त अधिवेशन बिथोल्ने प्रयास मात्र भएको प्रेस सेन्टर, प्रेस युनियन र प्रेस सोसाइटीका पदाधिकारीहरु बताउँदछन् । हिजो जारी वक्तव्य षडयन्त्रमूलक भएको कुरा आज प्रेस युनियन र प्रेस सोसाइटीका आधिकारिक प्रतिनिधिहरुले प्रेस सेन्टरसँग अर्को संयुक्त प्रेस वक्तव्य जारी गर्नुले पुस्टि मिलेको पत्रकारहरु माझ चर्चाको विषय बनेको छ । प्रेस सोसाइटीका गणेश आचार्यले उनलाई हिजो झुक्याएर वक्तव्यमा हस्ताक्षर गराएको कुरा आज बाहिर प्रचारमा ल्याएका छन् । यस्तै गरी काठमाडौं पत्रकार महासंघको कार्यालयमा पनि विवादका कारणले भइरहेको तालाबन्दी अहिलेसम्म खुलेको छैन ।पत्रकारजस्तो राज्यको चौथो अङ्गका वौद्धिकहरुले देखाएको यस्तो हर्कतले गलत राजनीतिक संस्कारको प्रभावलाई प्रदर्शित गरेको छ ।

शनिरबार दिनभर पानी पर्ने मौसमविदको भनाई

काठमाडौं, फागुन २८ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा शनिबार पनि दिनभर पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव परेकाले शुक्रबारदेखि देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार गएको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३३ मिलिमिटर पानी परेको छ । अहिलेको यो प्रणाली निकै ठूलो भएकाले शसनबार एकैछिन खुलेपनि मौसम बदली भइ पानी पर्ने उनले जानकारी दिए । आइतबारदेखि मात्र मौसममा सुधार आउने उनले बताए ।

मन्त्रीपदको लोभ नगरी ७ महिनामा बाहिरिए हितराज

काठमाडौं, फागुन २८ । हितराज पाण्डे (६२) । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोग मागेको क्षणभरमै मन्त्री त्याग्न सहमतमात्रै भएनन्, अर्को मन्त्रालयका लागि पाएको ‘अफर’समेत अस्वीकार गरे । ‘राष्ट्रिय राजनीतिमा सहमतिको वातावरणका लागि प्रधानमन्त्रीज्यूले सहयोग माग्नुभयो,’ पाण्डेले भने, ‘राजनीतिक समस्याको हल भएर देश अगाडि बढ्छ भने म तत्कालै मन्त्रीपद छाड्न सहमत भएँ ।’ उनलाई प्रधानमन्त्रीबाट पशुपन्क्षी वा बिनाविभागीय मन्त्रालयको प्रस्ताव पनि आयो । तर उनले त्यसलाई स्वीकारेनन् । त्यही बिहीबार नै कांग्रेसबाट पर्यटनमन्त्री रहेका जीवनबहादुर शाहीका स्थानमा राप्रपाका दिलनाथ गिरी मन्त्री भएर आए । तर शाहीले मन्त्री छाड्नुपरेन । उनले खानेपानी तथा सरसफाइ मन्त्रालयमा सरुवा पाए । आजको कान्तिपुर दैनिकमा खबर छ– ‘म काम गर्न मन्त्री भएको थिएँ, आफूले सक्दो गरेंँ । जागिर खानमात्र मन्त्री हुन चाहिन,’ उनले भने, ‘सांसद छँदैछु, पार्टीमा छँदैछु । त्यहाँबाट आवश्यक भूमिका खेल्ने नै छु ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता सम्हालेको ७ महिनामा मन्त्रिपरिषदबाट बाहिरिने पहिलो व्यक्ति बनेका छन्, पाण्डे । तर कुनै आरोप लागेर होइन, राम्रो काम गर्दागर्दै उनी बाहिरिनुपर्‍यो । कारण रह्यो, सत्तामा राप्रपा अध्यक्ष कमल थापाको आगमन । संघीयता विरोधी भनेर चिनिने थापाका लागि संघीयताका प्रमुख पक्षधर पाण्डेले संघीय मन्त्रालय छाड्नुपरेको हो । साउन ३० मा मन्त्रीपद बहाल गरेका पाण्डेले मन्त्रालय छाड्ने बेलासम्म संघीयता कार्यान्वयनको पक्षमा काम गरे । संविधान अनुसार स्थानीय तह पुनस्संरचनाको कामलाई टुंग्याए । तर दुर्भाग्य, स्थानीय तह पुनस्संरचनालाई बिहीबार टुंग्याएका पाण्डे अर्को दिन शुक्रबार त्यसलाई सार्वजनिक घोषणा गर्ने बेलामा भने थिएनन् । पुराना गाउँ विकास समिति अब नरहने र नयाँ संरचनाका ७४४ गाउँपालिकारनगरपालिकाको घोषणाको ऐतिहासिक अवसर पद सम्हालेकै दिन राप्रपा नेता थापाले पाए । मन्त्रालय स्रोतका अनुसार मन्त्री पाण्डे आफू हट्ने थाहा पाएपछि पुनःसंरचनाको काम टुंग्याउन बिहीबार दिनभर मन्त्रालयमा व्यस्त रहे । कर्मचारीहरुलाई तताइरहे । उनको चाहना थियो, आफूले छाड्ने दिन राजपत्रमा प्रकाशित गरेर त्यसको सार्वजनिक आफैले गर्ने । तर त्यो हुन सकेन । मन्त्रिपरिषदबाट निर्णय भइसकेको विषयमा कार्यदलमा रहेका एकजना मन्त्रीले थप हेरफेर गर्न चाहेपछि राजपत्रमा पठाउन ढिला हुनपुग्यो । ‘ती मन्त्रीको चाहना थियो, काठमाडौं उपत्यकाभित्र केही सिमाना हेरेफेर गरेर मात्र राजपत्रमा पठाऔं,’ स्रोतले भन्यो, ‘तर कार्यदल संयोजक पाण्डेले मन्त्रिपरिषदबाट निर्णय भइसकेको विषयमा कुनै हेरफेर नगर्ने बरु दुईजना मन्त्रीकै हस्ताक्षरमा राजपत्रमा पठाउने अडान लिइरहे ।’ पाण्डे आफ्नो अडानबाट टसमस नभएकै कारण कार्यदलका ती सदस्य अन्तिममा हस्ताक्षर गर्न राजी भए । तर त्यतिखेर ढिलो भइसकेको थियो । घडीले ५ बजाइसकेपछि मन्त्री पाण्डे मन्त्रालयमा बस्न रुचाएनन् । अरु दिन राति ११ बजेसम्म पनि मन्त्रालयमा काम गरेका उनी कार्यालय समय सकिए लगत्तै बाहिरिए । ‘आज म हट्दैछु भन्ने थाहा थियो, त्यसकारण पनि ५ बजेपछि मन्त्रालयमा बस्न उचित नलागेको हो,’ उनले भने, ‘स्थानीय तह पुनःसंरचनाको काम टुंग्याउनसकें, त्यसमा खुसी लागेको छ ।’ मन्त्रालयका एक सहसचिवकाअनुसार पाण्डेको निरन्तरको मिहेनतकै फलस्वरुप स्थानीय तह पुनःसंरचना कार्यान्वयनमा जानसकेको हो । स्थानीय तह पुनसंरचना आयोग सदस्य डा श्यामकृष्ण भुर्तेल स्थानीय तह पुनसंरचना कार्यन्वयनमा जानुमा पाण्डेलाई जस दिन्छन् । ‘पाण्डे कस्सिएर लागेका थिए, मन्त्रालय छाड्ने दिनसम्म पनि राजपत्रमा प्रकाशित गरेर कार्यन्वयनमा लैजाने जुन निर्णय लिए, त्यो प्रशंसनीय छ’, डा। भुर्तेलले भने । मन्त्रालयमा पाण्डेको सल्लाहकार रहेका माधव सापकोटाका अनुसार भोलि कुनै कारणले अन्तिम चरणमा पुगिसकेको पुनःसंरचना कार्यान्वयनमा ढिलाइ नहोस् भन्ने चिन्ता उनमा थियो । सिद्धान्ततः संघीयता विरोधी पार्टीका अध्यक्ष मन्त्री भएर आउने निश्चित भएपछि पाण्डेमा उक्त चिन्ता आउनु स्वाभाविक नै थियो । र उनी बिहीबार दिनभर मन्त्रालयमा बसेर सबै बाँकी काम सकेर ७४४ स्थानीय तहलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय गरे । राजपत्रमा प्रकाशित भएपछि ती नयाँ संरचना कार्यान्वयनमा आएको छ । ‘संविधान अनुसार नयाँ संरचना गठन हुन्छ कि हुँदैन, गठन भएछ भने कार्यान्वयनमा जान्छ कि जाँदैन, अनेकौ आशंका व्याप्त थियो,’ ती सहसचिवले भने, ‘तर मन्त्री पाण्डे संविधान र संघीयता कार्यान्वयनका लागि दृढनिश्चयमा हुनुहुन्थ्यो ।’ आयोगले गरेको पुनस्संरचनालाई लिएर मधेसी मोर्चाको विरोध त थियो नै, सत्तारुढ कांग्रेस र उनकै दलका सांसदहरु असन्तुष्ट थिए । तर, उनले सबैलाई समझदारीमा लिएर अघि बढ्न पटक—पटक प्रयत्न गरिरहे । पछिल्लो एक महिना यताको समय सांसदहरुसँगको छलफलमै बिताए, पाण्डेले । निर्णयप्रति दृढ र दबाब झेल्न सक्ने उनको विशेषता पनि पुनस्संरचना कार्यान्वयनमा जानुको प्रमुख कारण रहेको मन्त्रालयका अधिकारीहरुको अनुभव छ । जतिखेर फागुनभित्र स्थानीय निर्वाचन गर्ने कुरा थियो, त्यतिखेर उनले स्थानीय तह पुनस्संरचना आयोगलाई हरेक ढंगले सहयोग गरेर फागुन मसान्तभित्र प्रतिवेदन तयार पार्न लगाएका थिए । राजनीतिक सहमति नबनेका कारण प्रतिवेदन कार्यान्वयनमा भइरहेको ढिलाइलाई पनि उनले बिराम लगाए । प्रधानमन्त्रीलाई निरन्तर ताकेता गरेर मन्त्रालयमा थन्किएको प्रतिवेदन मन्त्रिपरिषदमा पठाए । मन्त्रिपरिषदले प्रतिवेदनमाथिको विवाद सुल्झाउन सुझाव दिन उनलाई नै जिम्मेवारी दियो । १५ दिनभित्रै उनले आफ्नो सुझाव बुझाए । पुनस्संरचनाको काममा पछिल्लो समय बिहान ९ बजेदेखि अबेर रातिसम्म मन्त्री स्वयं खटिने गर्थे । ठूला ‘प्रोफाइल’ भएका र उपप्रधानमन्त्रीको समेत जिम्मेवारी लिएका नेताहरु प्रकाशमान सिंह र कमल थापाले चलाएको मन्त्रालयको जिम्मेवारी पाण्डेलाई आइपुगेको थियो । ‘उहाँहरुको पार्टीमा पनि महत्त्वपूर्ण र अन्य मन्त्रालय समेतको जिम्मेवारी थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘धेरैपछि स्थानीयले फुल टाइमर मन्त्री पाएको थियो ।’ उनी घोत्लिएर काम गर्ने र समयप्रति इमानदार थिए । पाएको जिम्मेवारी समयमा सक्ने र अरुलाई दिएको जिम्मेवारी पनि त्यहीअनुसार होस् भन्ने उनको अपेक्षा रहन्थ्यो । तोकिएको समयमै कार्यक्रममा उपस्थिति हुने बानीले मन्त्रालयका कर्मचारीलाई बेला—बेला अप्ठ्यारो पाथ्र्यो । त्यतिमात्र होइन, कसैलाई समय दिइसकेपछि हरसम्भव उपाय गरेर पुग्ने उनको बानी देखियो । उनले बैतडीको सिद्देश्वर गाविसलाई बालमैत्री गाविस घोषणा गर्ने कार्यक्रमा जाने समय दिए । तर मौसमले साथ नदिएपछि बिहान ११ बजेको प्लेन उडेन, अपरान्ह ३ बजेको प्लेन नेपालगन्जको आकाशमा पुगेर फर्किएपछि उनी गाडीमा रातारात गएर भोलिपल्ट दिउँसो बैतडी पुगेका थिए । ‘हो, २१ घन्टाको जिप यात्राबाट बैतडी पुगेको थिएँ,’ पाण्डेले सुनाए, ‘कारण एउटै थियो, मैले समय दिएको थिएँ, मन्त्रीहरुले समय दिएपछि आउँदैनन् भन्ने मान्यता पनि तोड्नु थियो । जनप्रतिनिधिप्रति विश्वास बढाउनुथियो ।’ उनले प्रत्येक महिनाको १ गते सचिव, सहसचिवहरुसँग र १६ गते सम्पूर्ण कर्मचारीसँग गर्ने बैठकले मन्त्रालयले गर्नुपर्ने काममा सहजता ल्याएको थियो । कर्मचारीलाई अनुशासित बनाएको थियो । उनी आफ्ना निजी सचिवालयका कर्मचारीप्रति पनि त्यति नै सख्त हुन्थे । समयभन्दा पहिले वा अधुरो सूचना मिडियामा नजाओस् भन्नेतर्फ उनी सजग देखिन्थे । ‘आफूले गरेको काम मिडियामा आइहालोस् भन्ने उनमा कहिल्यै स्वार्थ देखिएन,’ निजी सचिवालयमा रहेका एक सहयोगीले सुनाए, ‘उहाँको जानकारीबिना कतै केही प्रचारबाजी गरिए जस्तो लाग्नासाथ उहाँको हप्की खानुपथ्र्यो ।’ मन्त्रालय स्रोतका अनुसार मन्त्री हुनासाथ पाण्डेले मुख्य रूपमा पुनःसंरचना, भूकम्पपछिको पुनर्निर्माण र विकास कामको अनुगमनमा विशेष जोड दिए । भूकम्पले प्रभावित १४ जिल्लाका स्थानीय विकास अधिकारी ९एलडीओ० र कार्यकारी अधिकृतलाई भूकम्प पीडितले राहत पाउन तिनको घर बनोस् भन्नेतर्फ निरन्तर निर्देशमात्रै गरेनन्, समस्या सुल्झाउन पनि अग्रसर भए । ‘उनले मन्त्रालयको कामलाई सही दिशामा ल्याउन खोजेकै हुन् । त्यसका लागि निरन्तर प्रयास गरे,’ मन्त्रालयका अर्का एक सहसचिवले भने, ‘हठात उनी हट्नुपर्दा धेरैलाई नमिठो लागेको छ ।’ कर्मचारी सरुवामा भने उनले अपजस नपाएका होइनन् । ‘तर सबै कर्मचारीको क्षमता मन्त्रीले चिन्ने होइन, कर्मचारी तहबाटै त्यस्तो सिफारिस पुग्ने हो,’ ती अधिकारीले भने, ‘उनको निर्णयबाट सबै खुसी नै हुने कुरा त भएन । कतिपय अवस्थामा उनको निर्णयप्रतिको अडानले पनि धेरैलाई आफूले चिताए जस्तो नभएको पनि हुनसक्छ ।’ जे होस्, उनी विवादरहित ढंगले मन्त्रालयबाट बाहिरिए । आर्थिक रूपमा पनि निष्कलंक रहे । बरु, गरेको कामको जश पाउने बेलामा उनी बहिरिनुपर्‍यो । उनी मन्त्री रहँदामात्रै होइन, पार्टीमा पनि पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकै कारण अध्यक्ष ‘प्रचण्ड’को नजिकका नेताका रूपमा चिनिन्छन् । त्यही निकटताको हकले नै हुनुपर्छ, प्रचण्डले उनलाई सहजै मन्त्रीबाट हटाएर थापालाई ल्याउन पाए । माओवादी ‘जनयुद्ध’ सुरु हुने वर्ष २०५२ माघ २८ गते पाण्डे गोरखा च्याङली गाविसको जीवन ज्योति माविको प्रधानाध्यापकबाट राजीनामा दिएर तत्कालीन नकेपा माओवादीको पूर्णकालीन सदस्य भएर ‘जनयुद्ध’मा होमिएका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी सबैजना पार्टीमा खटिए । उनले जेठा छोरा मिलन पाण्डेलाई त्यही युद्धमा गुमाएका छन् । पार्टीमा तल्लो तह हुँदै पोलिटब्युरो सदस्य र गतवर्ष संसदमा प्रमुख सचेतकको जिम्मेवारी पाएका पाण्डे दोस्रो संविधानसभामा गोरखा–२ बाट निर्वाचित सांसद हुन् । उनी ३ वर्ष पार्टीको मुख्य सचिव भएर पनि काम गरेका छन् । त्यस अवधिमा पार्टीलाई व्यवस्थित बनाउने, खर्च घटाउने, हेटौंडा महाधिवेशन र विराटनगर सम्मेलनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

भारी हिमपातबाट जुफाल विमानस्थल ठप्प

डोल्पा, फागुन २७ । भारी वर्षासँगैको हिमपातले जुफाल विमानस्थलमा हवाइसेवा ठप्प भएको छ । आज बिहानदेखि नै जिल्लाभर सुरु भएको भारी हिमपात अझै जारी छ । विमानस्थलमा नेपालगन्जबाट हुने सम्पूर्ण उडान ठप्प भएको छ । अहिले विमानस्थलमा डेढ फिट हिउँ जमिसकेको र हिमपात अझै जारी रहेको विमानस्थल सुरक्षा चौकीले जनाएको छ । यातायातको एक मात्र विकल्पका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावतका लागि समस्या उत्पन्न भएको छ । त्यस्तै दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा समेत कठिनाइ भएको छ । भारी वर्षातका कारण उक्त विमानस्थलमा बिहीबार पनि उडान/अवतरण हुन सकेको थिएन । रासस फाइल फोटो

भारतीय प्रहरीले नेपाली हत्या गरेकोबारे भारत सरकारसँग कुराकानी भइरहेको गृहमन्त्रीको दाबी

काठमाडौं, फागुन २७ । उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले कञ्चनपुरमा भारतीय सशस्त्र सिमा बल (एसएसबी)ले चलाएको गोलीले नेपाली मारिएको घटनाबारे भारतीय सरकारको ध्यानाकर्षण गराइएको दाबी गरेका छन् । शुक्रबार व्यबस्थापिका संसदको बैठकमा कञ्चनपुर घटनावारे सांसदहरुले जवाफ मागेपछि बोल्दै गृहमन्त्री निधिले गोलीकाण्डबारे आफु र परराष्ट्रमन्त्रीले भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग टेलिफोनमा कुराकानी गरेको जानकारी दिए । भारतीय पक्षले घटनाको अनुसन्धान गरेर जानकारी गराउने बताएको उनको भनाई छ । मन्त्री निधिले मृतकलाई शहिद घोषणा गरिसकेको भन्दै परिवारलाई १० लाख रुपैयाँ राहत उपलव्ध गराउने बताए । बिहिबार कञ्चनपुरको पुनर्वास ८ अानन्द बजारमा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई गोली प्रहार गर्दा गोबिन्द गौतमको ज्यान गएको थियो ।

मनाङमा भारी हिमपात, जनजीवन प्रभावित

मनाङ, फागुन २७ । नेपालकै महत्वपूर्ण मानिएको अन्नपूर्ण पदमार्ग यतिखेर पूरै सेताम्मे भएको छ। गत मङ्गलबारदेखि हिउँ पर्न सुरु भए पनि मनाङको एक दुई स्थानमा हल्का देखिएको थियो। तर बिहीबारको हल्का वर्षासँगै भएको हिमपातले आज मनाङ जिल्ला पूरै प्रभावित भएको छ। हिमपातका कारण यस क्षेत्रमा सवारी साधन चलेका छैनन् भने मानिस घरभित्रै बस्न बाध्य भएका छन्। यसरी निरन्तर रुपले हिमपात हुँदा आन्तरिक तथा बाह्य पर्यटकसमेत अलपत्र परेका छन्। रासस

फागुमा यस्तो छ ट्राफिक प्रहरीको रणनीति

काठमाडौँ, फागुन २७ । आइतबार उपत्यकाभित्र मनाइने फागुपूर्णिमा (होली) का लागि ट्राफिक प्रहरीले विशेषसुरक्षा योजना ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब मिङमार लामाले भने फागुका दिन प्रहरीले सवारी दुर्घटना नियन्त्रण गर्न नयाँ रणनीति बनाएको छ । सवारी नियम उल्लङ्घन गर्नेका सवारी साधन नियन्त्रणमा लिइने तथा कागजात फिर्ता गर्नका लागि एक घन्टाको अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था बनाएको लामाले बताए। उपत्यकाका ५३ स्थानमा ट्राफिक प्रहरी अधिकृतको कमाण्डमा कम्तीमा तीन जना ट्राफिक प्रहरी खटाई जाँचको व्यवस्था मिलाइएको छ। होलीका दिन उपत्यकाभित्र जम्मा १२ सय १४ प्रहरी खटाइने छन्। मापसे गरी सवारी चलाउने, तीब्र गतिमा सवारी चलाउने, हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी चलाउने, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा गर्ने, ठूलो हर्न बजाउने, ठूलो आवाज निकालेर सवारी चलाउने, जिकज्याक गरी चलाउने, मोटरसाइकललाई मोडिफाई गरी चलाउने तथा अन्य गम्भीर खालका लापरबाही गरी सवारी चलाउने व्यक्तिलाई लक्षित गरेर अभियान सञ्चालन गरिएको डिआइजी लामाले बताए। गत वर्षको होलीमा ट्राफिक नियम उल्लङ्घन गरी चलाइएका १९ सय ३७ सवारीलाई नियन्त्रणमा लिइएको थियो।

गौतम हत्यामा भारतीय पक्षसँग क्षतिपूर्ति माग्नुपर्छः एमाले

काठमाडौँ, फागुन २७ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले आफ्नो पार्टीको सप्तरीमा भएको शान्तिपूर्ण कार्यक्रममा गरिएको सुरक्षा हस्तक्षेप र कञ्चनपुरमा भारतीय सुरक्षा बलबाट भएको गोली प्रहारका घटनाका सम्बन्धमा सरकारले सदनलाई स्पष्ट पार्न माग गरे । बैठकमा उपाध्यक्ष रावलले सरकारले नेपाली सीमामा सुरक्षा दिन नसकेको र विदेशी सुरक्षाकर्मीले आफ्ना नागरिकमाथि आक्रमण गर्दा सामान्य वक्तव्य दिएर लाचार प्रदर्शन गरेको आरोप लगाउँदै त्यस घटनामा भारतले क्षतिपूर्ति दिनुपर्छ भनेर सरकार बोल्न सक्नुपर्ने बताए । यही फागुन २६ गते कञ्चनपुरको आनन्दबजारस्थित सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको थियो । उनले सो घटना भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको भन्दै शान्तिपूर्ण मेची महाकाली राष्ट्रिय अभियानका क्रममा फागुन २३ गते सप्तरीको राजविरामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको विरोध हुनु र प्रहरीबाट बल प्रयोग गरिएकामा विरोध गरे । नेता रावलले आजबाट हेटौँडामा सुरु हुने पार्टीको अभियानमा कुनै वितण्डा नमच्चाउन र सुरक्षा दिन सरकारसँग माग गरे ।

पुनर्वासमा फेरी दोहोरो झडप, एसएसबीले गोली चलाएपछि नेपाल प्रहरीबाट जवाफी फायर

कन्चनपुर, फागुन २७ । कन्चनपुरको पुनर्वास क्षेत्र फेरी तनावग्रस्त बनेको छ । भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट बिहिबार नेपालीको हत्या भएको बिरोधमा सर्वसाधारणहरुको बिरोध प्रदर्शनमाथि भारतीय प्रहरीले आज शुक्रबार समेत गोली प्रहार गरेपछि अवस्था झनै तनावपूर्ण बनेको हो । बिहानैदेखि हजारौं संख्यामा सीमाक्षेत्रमा जम्मा भएका नेपालीहरुले भारतीय ज्यादतीका विरुद्ध प्रदर्शन गरेपनि एसएसबीले ७ राउण्ड फायर गरेका थिए । नेपालीहरुलाई लक्षित गर्दै फायर गरेपछि सशस्त्र प्रहरीले समेत जवाफी फायर गरेको स्थानीय प्रेमसिंहले बताए । यसअघि बिहान भन्सार कार्यालयको ब्यारियर भत्काउँदै नेपालीहरुले भारतीय सीमा क्षेत्रमा प्रवेश गर्न खोज्दा झडप भएको थियो । बिहिबारको घटनाको बिरोध गर्दै माओवादी केन्द्रले ७ नं. प्रदेश बन्दको घोषणा गरेको छ । “भारतीय ज्यादतीविरुद्ध स्थानीय जनताहरुमा निकै आक्रोश देखिन्छ” माओवादी नेता रमेश भट्टले भने, “अवस्था जतिखेर पनि नियन्त्रणबाहिर जानसक्छ” भट्टका अनुसार सीमापारी रहेका भारतीय सुरक्षा बल नेपाली भूमिमा आएका छन् । बिहिबारको घटनापछि भारतको लखिमपुर खिरीका र कञ्चनपुर जिल्ला प्रशासनका अधिकारीबीच उक्त क्षेत्रमा देखिएको कल्भर्ट सम्बन्धी विवाद साम्य गर्नवार्ता भएपनि सथानीय जनताले बिरोध जारी नै राखेका छन् । उता भारतीय विदेश मन्त्रालयले भने घटना दुखद भएको भन्दै गोली प्रहारको विषयमा एसएसबीसँग जवाफ मागिएको बताएको छ ।

सीआईएन प्रतिष्ठान शाखामा पहिलो महिला अध्यक्ष

नेपाल पत्रकार महासंघ अन्तर्गत सीआईएन प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति चयन भएको छ । बिहिबार भएको शाखाको साधारणसभाले लक्ष्मी बस्नेतको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा उषा केसी, महिला उपाध्यक्ष गंगा तिमिल्सिना, सचिवमा राजन रुचाल, सहसचिवमा सुनिल राजभारत आउनु भएको छ । त्यस्तै कोषाध्यक्षमा संगीता रसाइली सर्वसम्मत हुनुभएको छ भने सदस्यहरुमा बाबुराम खड्का, ज्योति श्रेष्ठ, सूजना ढकाल, पवन शाही सदस्य हुनुहुन्छ । यस्तै साधारणसभाले सीआईएन शाखाबाट गोविन्द खड्का र लिलप्रकाश चन्द केन्द्रीय पार्षद चयन हुनुभएको छ भने प्रदेश पार्षदमा दीपक आचार्य र गीता चिमोरिया चयन हुनभएको छ । नेपाल पत्रकार महासंघ, प्रतिष्ठान शाखा संयोजक सुरज आचार्य र केन्द्रीय सदस्य रोशन पुरीको उपस्थितिमा कार्यसमिति चयन गरिएको हो । संयोजक आचार्यले यो पटक प्रतिष्ठान शाखामा बस्नेत पहिलो महिला अध्यक्ष भएको बताउनुभयो । यसअघि इलाम जिल्ला शाखामा कोकिला ढकाल पहिलो जिल्ला अध्यक्ष बन्नुभएको छ ।

मोर्चाले सप्तरीमा ज्यान गुमाउने चार जनाको शवयात्रा गर्ने

सप्तरी, काठमाडौं, फागुन २७ । संघीय गठबन्धन सहितको मधेसी मोर्चाले सप्तरीको मलेठमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका चार जनाको शवयात्रा गर्ने भएका छन् । गत सोमबार नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीमा भएको आमसभा विथोल्न खोजेको आरोपमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका चार जनाको शवयात्रा गर्ने मोर्चाले जानकारी दिएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा राखिएको चारै जनाको शवलाई अपरान्ह सप्तरी हुँदै जनकपुरसम्म शवयात्रा गरिने सद्भावनाका केन्द्रीय सदस्य योगेन्द्र यादवले जानकारी दिए। शवयात्रापछि अन्त्यष्टी गर्ने मोर्चाले तयारी गरेको छ । सप्तरी घटनामो विरोधमा मोर्चाले आज नेपाल बन्दको आयोजना गरेको छ । बन्दका कारण तराईका जिल्ला प्रभावित भएका छन् ।