महानिरीक्षकसम्बन्धी मुद्दाको सुनुवाइ ६ गते

काठमाडौँ, चैत ३ । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा आज अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६ गतेका लागि सुनुवाइ सारेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले विषय बस्तुको गाम्भीर्यताका कारण पूर्ण इजलासमा ६ गते पुनः सुनुवाइ हुने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

नेपाल प्रहरीका महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

मुख्य सचिव सुवेदीलाई कारवाही माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

काठमाडौं, चैत ३ । राष्ट्रिय कर्मचारी महासंघ नेपालले मुख्य सचिव सोमलाल सुवेदीलाई निलम्बन गर्न प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट कर्मचारी संगठनले बुधबार प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सो माग गरेको हो । केही दिनपहिले मन्त्रिपरिषद् बैठकले सुवेदीलाई एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको रुपमा पठाउने निर्णय गरेपछि कर्मचारी वृत्तबाटै चर्को विरोध सुरु भएको छ । मुख्यसचिव सुवेदी एडीबीमा जागिर खान जाने कुराले सिंगो कर्मचारीको अपमान भएको भन्दै महासंघले तत्काल निलम्बन गर्न ध्यानाकर्षणमार्फत माग गरेको हो । निगम पुँजीवादको प्रतिनिधित्व गर्ने संस्थमा जागिर खान जाने सुवेदीलाई राष्ट्रियता र सार्वभौमिकताको माया र रक्षाभाव नहुने भन्दै पलायनवादीको संज्ञा दिइएको छ । ‘राष्ट्रसेवक कर्मचारीलाई डीभी, पीआर तथा विदेशी स्थायी अनुमति पत्रलाई बन्देज गर्ने तर बहालवाला मुख्य सचिव आफैं पलायन हुने कार्यले निजामती प्रशासनको धज्जी उडाइएको छ’ महासंघका अध्यक्ष गोपालसिंह धामी र महासचिव अमर सिंह ओलीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ । महासंघले एडीबीमा सुवेदीले खाने जागिर सहसचिव स्तरको भएकोले सोही स्तरका कर्मचारीहरुबीच खुला प्रतिस्पर्धाबाट पठाउन माग गर्दै त्यसनिम्ति आवश्यक कानून बनाउन समेत प्रधानमन्त्रीसँग माग गरेको छ । संवेदनशिलता र गोपनियताको हिसाबले सुवेदीले एडीबीमा जागिर खाँदा राष्ट्रियता र सार्वभौमिकतामाथि घात हुने महासंघका अध्यक्ष धामीले अनलाइन डबलीसँग बताए । ‘नेपाल सरकारको सचिव तथा मुख्य सचिवबाट सेवा निवृत्त भएपश्चात ५ वर्षसम्म संवैधानिक, कुननीतिक तथा सरकारी बाहेक अन्यत्र नियुक्तिको लागि बन्देज गर्न निजामती ऐनमा अविलम्ब संशोधन गर्न माग गर्दछौं’ ध्याकर्षणपत्रमा भनिएको छ ।

निर्वाचन आचारसंहिता पालना गर्न आयोगले गरायो सचेत

काठमाडौं, चैत ३ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुकूलको आचरणमा रहन सम्बद्ध सबैमा पुनः अनुरोध गरेको छ । आयोगले विहीबार एक विज्ञप्ति जारी गरी आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको १९ बुँदे निर्देशन, सुरक्षासम्बन्धी चार बुँदे निर्देशन, निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ गत फागुन १८ गतेदेखि लागू भएको स्मरण गराउँदै सम्बद्ध सबैमा तिनको पालन गर्न आग्रह गरेको छ । साथै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने गराउन नेपाल सरकारका मन्त्रालय, निकाय, राजनीतिक दल एवम् सङ्घ संस्थालाई गम्भीर हुन अनुरोध गरेको हो । निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सञ्चालन गर्नु अपरिहार्य भएकाले निर्वाचन आचारसंहिता पालनालाई सम्बद्ध सबैले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै आयोगले आचारसंहिता उल्लङ्घन भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ ।

इनार सुक्न थालेपछि पानीको हाहाकार

बर्दिवास, चैत ३ । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा धमाधम इनार सुक्न थालेपछि खानेपानीको हाहाकार भएको छ । खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरीक्षेत्रको बर्दिवास नगरपालिकाका किसाननगर, बिजलपुरा, हात्तीलेट र पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर एवम् भङ्गाहा गाउँपालिकाका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि लाग्दो चैतमै खानेपानीको हाहाकार भएको छ । यसैसाता बर्दिवास नगरपालिकाको किसान नगरतर्फ मनहरीपुर बस्तीका ९० प्रतिशत इनार सुकिसकेका छन् । किसाननगरतर्फकै कृष्णपुर, प्रेमनगर र जुरेटोलका इनार पनि धमाधम सुकेपछि खानेपानीका लागि बयलगाडा जोतेर पानी लिन हिँड्नु परेको मनहरीपुरका गोपाल कार्कीले बताउनुभयो । पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यहाँका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेको सम्झदै भर्खरै बर्दिवास नगरपालिकामा गाभिएको पशुपतिनगरका पूर्व अध्यक्षसमेत रहनुभएका नथुनी महतोले पाँच वर्षयता वैशाखमा सुक्ने गरेका इनार यसपाली लाग्दो चैतमै सुकेको बताउनुभयो । आफ्ना वरपरका इनार धमाधम सुकेपछि यसक्षेत्रका बासिन्दा खानेपानीको जोहो गर्न टाढाटाढा पुग्नुपरेको छ । ‘नगरपालिका र अन्य सरकारी निकायले वास्ता गर्दैनन्’ मनहरीपुरकी गृहिणी मुना खत्रीले भन्नुभयो–, “पोहोर सालमात्र करिब रु चारलाख ऋण लिएर खनाइएको इनार यसपाली चैत लाग्दै सुक्यो, अब के गर्ने होला रु” सरदर ५० फिट गहिराइका ९० प्रतिशत इनार सुकिसकेका र केही सुक्न बाँकी इनारको पानी पनि धमिलिइसकेको मनहरीपुरका सर्वसाधारणले बताएका छन् । बस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभइ नुहाउनेसँगै बस्तुभाउलाई ख्वाउनसमेत निक्कै कठिन परेको भङ्गाहाका बासिन्दाको गुनासो छ । भङ्गाहाको करिब ५०० घरधुरी बसोवासको रामनगर गाउँमा ३० प्रतिशतभन्दा बढी इनार र चापाकल सुकिसकेका सो बस्तीका सामाजिक कार्यकत्र्ता हरिदेव साह बताउनुहुन्छ । इनार धमाधम सुकेपछि सिँचाइको अर्को विकल्प नभएका कारण बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगरका किसान भरतराज बरालले बताउनुभयो । खानेपानी र सिँचाइको समस्या बढेपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरी र भूमिगत नलकुप कार्यालयमा गुनासो गरेपनि केही वास्ता नगरिएको आम गुनासो छ । पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्न थालेको लामो समयदेखि चुरे संरक्षण र जलाधार संरक्षणका क्षेत्रमा चासोका साथ काम गर्दै आउनुभएका सामुदायिक विकास तथा पैरवीमञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । waterजिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेसँगै जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले भने खानेपानीको स्रोत सुकेका बस्तीमा तत्कालै खानेपानीको समुचित विकल्पको प्रबन्धका लागि सर्वे सुरु गरिएको जनाएको छ ।

दुई सय दुईजना विद्यार्थीले दिन पाएनन् एसईई परीक्षा

इलाम, चैत ३ । आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बिचमै विद्यालय छाडेका र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीहरूले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ । कार्यलयका अनुसार यसवर्ष नियमिततर्फ चार हजार ५६४ जना परीक्षार्थी सामेल हुने भएका छन् । एक्जाम्टेडतर्फ तीन सय १४ र आंशिकतर्फ (डी र इ ग्रेट ल्याउने) एक सय ५० जना गरी पाँच हजार ५२८ जना परीक्षार्थी सामेल भएका छन् । इलाममा यसवर्ष २६ वटा परीक्षा केन्द्र तोकिएका छन् । विद्यार्थी सङ्ख्या नपुगेका कारण यसपटक सातवटा परीक्षा केन्द्र कटौती गरिएको जिशिकाका प्राविधिक सहायक अम्बिका खनालले जानकारी दिइन । रासस

रेड पान्डाको छालासहित तीन पक्राउ

दाङ, चैत ३ । दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ वर्षीय पुनराज पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र क्षेत्रीय अनुसन्धान टोली सुर्खेतबाट खटिएको विशेष प्रहरी टोलिले बुधबार राति उनीहरुलाई घोराही उप–महानगरपालिका–४ कटुवा खोला नजिकबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । वन्यजन्तुको चोरी–सिकारी छाला बिक्री–वितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

चिन र नेपालको संयुक्त्त लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी

काठमाडौं, चैत ३ । चिनियाँ र नेपाली लगानीकर्ताले रु ५२ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका छन् । बेणीमनीपुरमा निर्माण हुँदै गरेको होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा स्थापना गर्न लागिएको उक्त उद्योगमा करिब रु ३६ अर्ब लगानी चीनको होङ्सी सिमेन्ट उद्योगको रहेको छ । उद्योगले दैनिक १२ हजार टन सिमेन्ट र क्लिङकर उत्पादन गर्ने लक्ष्य राखेको छ । सो उद्योगबाट करिब दुई हजार व्यक्तिले रोजगारी पाउने छन् । उद्योगले एक सय १५ बिघा जग्गा खरिद गरेर गत वैशाखबाट भौतिक पूर्वाधार निमार्णको काम थालेको हो । थप एक सय ५० बिघा जग्गा खरिद प्रक्रिया अघि बढाएको उद्योगले जनाएको छ । उदोगले ओपीसी (ढलानमा प्रयोग हुने सिमेन्ट) र पीपीसी (प्लास्टर र गारोमा प्रयोग हुने) सिमेन्ट उत्पादन गर्ने छ । रासस

राजधानीका ट्याक्सीमा प्रिन्टर मेसिन जडान

काठमाडौं, चैत २ । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ । विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य सुरु गरेको हो । विभागले हालसम्म काठमाडौं उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । उनले भने, ‘पछिल्लो एक हप्तामा तीव्रगतिमा काम भइरहेको छ, दैनिक एक सय ५० भन्दा बढी ट्याक्सीमा प्रिन्टर जडान गरेका छौं ।’ ट्याक्सी सञ्चालकले प्रिन्टर मेसिन जडान गर्दा पाँचदेखि आठ हजारसम्म खर्च लाग्ने गरेको छ । यस्तै विभागले आम ट्याक्सी चालकलाई आफ्नो ट्याक्सीमा प्रिन्टर जडान गर्न तथा सेवाग्राहीलाई बिल लिएर मात्र यात्रा गर्न जनचेतनामूलक कार्यक्रम समेत चलाएको छ । समयमा ट्याक्सीमा प्रिन्टर मेसिन जडान नगर्ने ट्याक्सी चालकलाई ट्याक्सी चलाउन रोक लगाउने समेत पुडासैनीले बताए । हाल काठमाडौं उपत्यकाभित्र दश हजारको हाराहारीमा ट्याक्सी रहेका छन् । महानिर्देशक पुडासैनीले विस २०७४ साउनसम्म उपत्यकाका सबै ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिने गरी विभागले काम गरिरहेको स्पष्ट पारे ।

स्वास्थ्य उपचारका लागि एमालेका नेता अधिकारी बैंकक प्रस्थान

काठमाडौँ, चैत २ । नेकपा एमालेका नेता भरतमोहन अधिकारी स्वास्थ्य उपचारका लागि आज थाइल्यान्डको बैंकक जानुभएको छ । आन्द्रामा समस्या देखिएपछि उपचारका लागि बैंकक लगिएको अधिकारीका स्वकीय सचिव महेश विष्टले जानकारी गराउनुभयो । चिकित्सकको सल्लाहअनुसार पूर्व उपप्रधानमन्त्री अधिकारी आज बिहान ११ः३० बजे थाई एअरवेजमार्फत उपचारका लागि बैंकक जानुभएको हो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँको बैंककस्थित भेजथानी अस्पतालमा उपचार गरिने विष्टले बताउनुभयो । अधिकारीलाई आन्द्रामा समस्या भएर दिसा र पिसाब रोकिएपछि गत पुस महिनामा बल्खुस्थित बयोधा अस्पतालमा उपचार गरिएको थियो । “उपचारपछि घरमा आराम गर्नुभएको थियो”, उहाँले भन्नुभयो–“तर फेरि पनि समस्या देखिन थालेपछि उपचारका लागि बैंकक लगिएको हो ।” अधिकारीका साथमा धर्मपत्नी ओमकुमारी अधिकारी, छोरी नीमा अधिकारी र छोरीज्वाइँ सुदीप आचार्य जानुभएको छ । बैंककमा अधिकारीको आन्द्राको उपचार गर्नाका साथै हर्नियाको शल्यक्रिया गरिने स्वकीय सचिव विष्टले जानकारी गराउनुभयो । असी वर्षीय अधिकारी सांसदसमेत रहनुभएको छ । रासस

एसएसबीको गोली लागि मृत्यु भएको गौतमको पोष्टमार्टम रिपोर्ट सार्वजनिक, भारतले समेत मागेको थियो रिपोर्ट

भीमदत्तनगर, चैत २ । पाँच दिनअघि कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर अत्यधिक रक्तस्रावपछि निधन भएको शव परीक्षण रिपोर्टले देखाएको छ । कैलालीको धनगढीसित सेती अञ्चल अस्पतालमा गरिएको सहिद गौतमको शव परीक्षणमा शरीरको बायाँ भागमा गोलीले लागेर अत्यधिक रक्तस्राव भएकै कारण उहाँको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरीनायब महानिरीक्षक रोमेन्द्र सिंह देउजाले मृतक गौतमको शरीरमै गोली भेटिएको बताउनुभयो । “शरीरमा भेटिएको गोली शव परीक्षणका क्रममा झिकेर प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ”, प्रहरीनायब महानिरीक्षक देउजाले भन्नुभयो–“विधिविज्ञान प्रयोगशालाबाट गोली कुन हतियारको हो भन्ने पत्ता लाग्छ ।” प्रहरी केन्द्रीय कार्यालयअन्तर्गत रहेको विधिविज्ञान प्रयोगशालाका एक प्रहरी अधिकारीले गौतम हत्याको गोली प्रयोगबारे रिपोर्ट बनाएर सुदूरपश्चिम पठाइसकेको जानकारी दिनुभयो । उहाँले प्रयोगशालाबाट रिपोर्ट सार्वजनिक गर्न नमिल्ने बताउनुभयो । शवपरीक्षण रिपोर्ट जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । त्यसैगरी, घटनाकै दिन गत बिहीबार नेपाल तथा भारतीय पक्षबीच आनन्द बजारको सीमाक्षेत्रमा भएको झडपका क्रममा नेपाल प्रहरीका अधिकारीको हराएको एक थान पेस्तोल र सात राउन्ड गोली अझै भेटिएको छैन । सीमाक्षेत्रमा भारतीय पक्षले लखेट्ने क्रममा प्रहरी सहायक निरीक्षकको साथमा रहेको लोडेड चाइनिज पेस्तोल भाग्ने क्रममा हराएको प्रहरी स्रोतले जनाएको छ । तर प्रहरीले हराएको पेस्तोलबारे बाहिर खुलाएको छैन । पेस्तोल खोज्न प्रहरी छानबिन टोली लै गठन गरी परिचालन गरिएको छ । घटनापछि कञ्चनपुरको गड्डाचौकी, बेलौरी, आनन्दबजार क्षेत्रका नेपाल–भारत आवत–जावत गर्न नाका सहज बन्न सकेका छैनन् । गौतमको हत्यासँगै दुई दिनसम्म यहाँको स्थिति तनावग्रस्त बन्नुका साथै नेपाली पक्षले भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि आगजनी गर्न थालेपछि सीमानाकामा समेत आवागमनमा असहजता थपिएको थियो । स्थिति सामान्य बन्दै गइरहेको भएपनि भारतीय सुरक्षाकर्मीले सीमावर्ती भारतीय बनबासा बजारतर्फ नेपाली सवारीसाधन लैजान रोक लगाएका छन् भने भारतीय सवारीसाधन पनि भीमदत्तनगरतर्फ आउन सकेका छैनन् । गड्डाचौकी नाकामा भारतीय एसएसबीले सरसामान किनमेलका लागि नेपालीलाई साइकल र पैदलमा जान दिएको छ । सवारीसाधनमा रोक लगाएपछि दुवै देशका नागरिकलाई आवागमनमा असहज भएको छ । रासस

व्यक्तिगत कारणले बालुवाटार छोड्न पर्यो– तिमिल्सिना

काठमाडाै‌ँ, चैत २ । प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयबाट राजीनामा दिएका मनहरी तिमिल्सिनाले व्यवहारिक जटिलताले बालुवाटार छोड्नुपरेको बताएका छन् । बालुवाटार छोडेको विषयमा बिभिन्न कोणबाट टिका टिप्पणी भएको भन्दै स्वकीय उपसचिव रहेका तिमिल्सिनाले यहाँहरुको विश्वासअनुरुप आफ्नो जिम्मेवारी पुरा गर्न नसकेकोमा दुखी र लज्जित भएको बताएका छन् । बालुवाटार छोड्नुमा कसैका दोष छैन शीर्षकमा विज्ञप्ती जारी गर्दै तिमिल्सिनाले लेखेका छन्– फागुन २७ गते व्यवहारिक जटिलताको कारण दर्साउँदै मैले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको थिएँ । मैले राजीनामा पत्रमा लेखेको थिएँ, ‘प्रस्तुत सम्बन्धमा व्यवहारिक जटिलताका कारण मैले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिवालयमा रहेर काम गर्न नसकेको कारण स्वकीय उपसचिव पदबाट राजीनामा दिएको छु । यहाँहरुको विश्वासअनुरुप आफ्नो जिम्मेवारी पुरा गर्न नसकेकोमा दुखी र लज्जित दुवै छु । आशा छ, यहाँहरुले मेरो बाध्यता बुझिदिनु हुनेछ ।’ केही दिनयता अखबारबाहेक सामाजिक सञ्जाल र अनलाइन मीडिया हेरेको छैन । तर, साथीहरुबाट सुन्दैछु, ‘पारिवारिक कारणले मनहरिले स्वकीय सचिवालय छोड्यो, चुनावको उम्मेदवार हुने तयारीका लागि बालुवाटार छोड्यो, प्रकाश दाहाल लगायतको दवावका कारण सचिवालय छोड्यो, आदि इत्यादी । तर, मेरो राजीनामासँग माथि उल्लेखित कुनै पनि अनुमानहरुको सम्बन्ध छैन र उम्मेदवार हुने विषयमा पनि अन्तिम निर्णयमा पुगिसकेको छैन । अरु कुनै पनि कारण छैन भने किन छोडिस् त ? प्रश्न जरुर उठ्छ । बिना जानकारी सचिवालय छोड्नैपर्ने के बाध्यता आइलाग्यो ? के तँलाई व्यक्तिगत निर्णयका आधारमा जिम्मेवारी छोड्ने छुट छ ? यस्ता अनेकौं प्रश्नहरुको कठघरामा पक्कै पनि म छु र मैले त्यसको चित्तबुझदो जवाफ दिनैपर्छ । म पूर्ण विश्वस्त छु, ‘सम्पूर्ण व्यवहारद्वारा नै मैले आफूलाई सही सावित गर्न सक्नुपर्छ र सक्नेछु । अनि, राजनीति र सामाजिक कर्महरुद्वारा जीवनलाई थप गतिशील बनाउनेछु।’ व्यक्तिगत जीवनमा केही व्यवहारिक जटिलताहरु थिए । जटिलताहरुको सहज निरुपणका लागि मलाई केही समयको जरुरत पर्दथ्यो । व्यस्त राजनीतिक कार्यसूचिमा मैले लामो बिदा लिनु पक्कै पनि राम्रो हुने थिएन । मैले सोचें, ‘जिम्मेवारीमा रहेर आफ्नो कर्तव्य पुरा नगर्नुभन्दा जिम्मेवारी छोड्नु नै उचित हुन्छ ।’ मैले सल्लाहमै जिम्मेवारी छोड्न चाहन्थें । तर, मलाई सजिलै उम्कन दिने कामरेडहरुको मनसाय र चाहना छँदै थिएन । परिस्थितिले पनि मेरो आवश्यकताकै माग गर्दथ्यो । त्यसैले मैले जिम्मेवार साथीहरुलाई पनि जानकारी नदिई आफ्नो निर्णय लिएको थिएँ । विश्वासपूर्ण जिम्मेवारी छोड्नु मेरै लागि पनि सुखद् कुरा थिएन । मेरो व्यक्तिगत चाहना पनि पक्कै त्यस्तो थिएन । यद्यपि, परिस्थितिको दवाव झेल्न म चुकें । त्यतिबेलै मैले अनुभूत गरेको थिएँ, मैले भूल नै गर्दैछु । तर, भूलले नै आगामी गन्तव्य र प्रतिकूलतालाई छिचोल्न सक्छ भने एकपटक जाने बुझेरै भूल गर्छु । अनि, म राजनीतिक जीवनमै क्रियाशील हुने संकल्पसहित राजीनामा दिने निर्णयमा पुगें । म जति समय बालुवाटार बसें । व्यक्तिगत जीवनमा कसैसँग नराम्रो भएन । मैले पनि आफ्नो औकातले भ्याएसम्मको जिम्मेवारीमा रहेर काम गरें । सचिवालय परिवारमा सबै साथी र कामरेडहरुको मप्रति असीम माया नै थियो । मेरा साना, ठूला समस्या र जटिलताहरुमा मैले उहाँहरुको साथ पाइरहें । उहाँहरुको छत्रछायाँ र विश्वासकै कारण मैले आफ्नो जिम्मेवारीलाई सहजतापूर्वक पुरा गर्न सकेको थिएँ । जोखबहादुर महरा, प्रकाश दाहाल र रमेश मल्लहरु प्रमूख स्वकीय सचिव र स्वकीय सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँहरु सबैको मप्रति सधैं ममता, विश्वास र मित्रवत् सम्बन्ध रह्यो । मेरो आठ महिनाको सहकार्यले भन्छ, ‘जोखबहादुर महरा एक आदर्श नेताको नाम हो ।’ उहाँको हमेशा चिन्ता प्रधानमन्त्री प्रचण्डको कार्यकाल कसरी सफल पार्ने ? जिम्मेवारीमा रहेको बेला नमूनायोग्य काम कसरी गर्ने ? धेरै राम्रो गर्ने परिस्थिति नभएपनि नराम्रोबाट कसरी जोगिने ? महरा सरको हमेशा चिन्ता हुन्थ्यो । अनि, उहाँका प्रत्येक व्यवहारले भन्थे, ‘महरा निश्चित समर्पण र संकल्पका लागि बालुवाटार छ र रहनेछ ।’ प्रकाश दाहालसँग मेरो सम्बन्ध निकै आत्मीय थियो । मलाई हेक्का छ, ‘उहाँ मनहरिले बालुवाटार छोड्ने निर्णयमा पुगोस् भन्ने कदापी चाहनु हुन्थेन ।’ मप्रति कुनै आशंका वा अविश्वास रहन्थ्यो भने व्यक्तिगत जीवनका असाध्यै सामान्य कुरा पनि आदान प्रदान पक्कै गर्नु हुन्थेन । म उहाँको लागि साँच्चिकै भाइ थिएँ । मप्रतिको व्यवहार सधैं आत्मीय नै थियो । व्यक्तिगत जीवनका साना ठूला समस्यामा पनि उहाँको बलियो साथ थियो । उहाँ मेरो जीवनको एक उत्प्रेरक हुनुहुन्थ्यो । समयको क्रममा विगतमा प्रकाश दाहालका केही प्राविधिक त्रुटीहरु भए । ती नियतजन्य मनस्थितिका उपज थिए वा परिस्थितिजन्य जटिलता ? अनि, उहाँको जीवनमाथि राजनीति गर्ने नियत नराखेको भए समस्याहरु सहजै सल्टन सम्भव थिएन ? मेरो विचारमा पक्कै सल्टन्थे । आज पनि ठान्छु, ‘प्रकाश दाहालको प्राविधिक त्रुटीलाई हतियार बनाइयो र उनीमाथि प्रहार गरियो, जुन आजसम्म पनि रोकिएको छैन ।’ मैले चिन्दा प्रकाश दाहाल एक सफल स्वकीय सचिवको नाम हो । समयको व्यवस्थापन, मानिसहरुको मनोविज्ञान अनुसार बहस अन्तरक्रिया, समयको मूल्याङ्कनका सन्दर्भमा प्रकाश दाहालको क्षमता अब्बल नै छ । व्यक्तिका केही व्यक्तिगत विशेषताहरु हुन्छन्, ती विशेषता प्रकाश दाहालमा पनि छन् । तर, असल साथीका लागि ज्यान दिने उहाँको स्वाभाव हामीजस्ता पछिल्ला पिँडीका लागि निकै प्रेरणादायक छ र हुनेछ । कतिपयले ठान्छन्, ‘प्रचण्डले आफ्नै छोरालाई स्वकीय सचिव बनाए ।’ तर, मेरो आठ महिनाको अनुभवले भन्छ, ‘प्रकाश दाहाल सचिवालयमा नभएको भए प्रचण्डको दैनिकी नै अस्तव्यस्त हुन्थ्यो ।’ आफू नराम्रो भएरै भएपनि प्रधानमन्त्रीको छवि बचाउन हरदम प्रयत्न गर्ने प्रकाशको म सम्मान गर्छु र गरिरहनेछु । यो अवधिमा प्रकाश दाहाल मात्र नभएर बिना मगरसँग पनि सङ्गत गर्ने अवसर मिल्यो । प्रकाश र बिना मगरबारे जति चर्चा र प्रचार गर्ने गरिएको छ, वास्तविकता त्यसभन्दा बिलकूल फरक पाएँ । जिल्लामा हुने साना ठूला घटनामा पनि बिना मगरको चासो रहँन्थ्यो । विकास र समाज सेवाको हुटहुटी देख्दा लाग्थ्यो, बिना मगरजस्ता नेतृहरु हुने हो भने सामाजिक विकास र राजनीतिक जागरणले उचाई लिन्थ्यो । तर, उहाँहरु थोरै पनि उठ्न खोज्दा विरोधीहरु अनेकौं बहानामा निरन्तर आक्रमण गरिरहेका छन् । सायद सोच्दा हुन्, ‘यिनीहरुलाई आक्रमण गरेर सिध्याउन सकिन्छ ।’ तर, उहाँहरुको मनोबल सामान्य चूनौतिसामू झुक्ने खालको मैले देखिनँ । सल्लाहकार टिममा मूख्यतः गोविन्द आचार्य दाजुसँग सङ्गत गर्ने अवसर मिल्यो । गोविन्द आचार्य निकै मिलनसार स्वाभावको हुनुहुन्थ्यो, हरेक विषयमा अरुका कुरा सुन्ने उहाँको स्वाभावले मलाई निकै नै आकर्षित गथ्र्यो । बरु, म बेलाबखत रिसाउने गर्थें । तर, प्रकाश दाहाल, गोविन्द आचार्यहरु हाँसेर टार्नुहुन्थ्यो । उहाँहरुको प्रेरणा नै मेरो कार्यकालका लागि निकै राम्रो उर्जा र प्रेरणा बनिरह्यो । आठ महिनाको अवधिमा प्रधानमन्त्री प्रचण्डको अनुहारमा कहिल्यै उन्माद देखिनँ । उहाँमा एक खालको गहिरो जिम्मेवारी बोध थियो । दुई अतिवादी प्रवृत्तिलाई सँगै लिएर संविधान कार्यान्वयनमा लाग्नु बाघ चराउनु बराबर थियो । तर, प्रचण्ड गल्नुभएन र थाक्नुभएन । उहाँको दैनिक व्यस्तता र कार्यसूचि देख्दा बरु हामी गल्थ्यौं । तर, उहाँले कुनै दिन सुस्केरा हालेको अनुभूति गरिनँ । यसपटकको कार्यकाल जसरी पनि फलदायी बनाउनुपर्छ भन्ने गहिरो जिम्मेवारी बोधसहित उहाँ खटिरहनु भएको छ । अनि, परिणाममा पनि सकारात्मक सङ्केतहरु देखा पर्दैछन् । माओवादी केन्द्र अहिले पहिलो पार्टीको रुपमा छैन । तर, देशलाई गति दिनसक्ने, जुनसुकै पात्र र प्रवृत्तिलाई मिलाएर राष्ट्रिय निकास दिनसक्ने नेता प्रचण्ड नै हो । राजनीतिक आस्था र संगठनमा बिमति होलान् । तर, विरोधीहरु पनि प्रचण्ड जत्तिको अर्को नेता नेपालमा छ भन्न सक्दैनन् । यहीँ संकल्प र गुणले म प्रधानमन्त्री प्रचण्डसँग प्रभावित छु । मेरो सहकार्यले भन्छ, ‘प्रचण्डको चेहरामा राजनीतिक निकास र आर्थिक विकासको संकल्प छ । अनि, आगामी पुस्ताले पुस्तौसम्म स्मरण गर्न योग्य काम गर्ने आकांक्षा छ ।’ मेरो राजीनामाको एक मात्र कारण म नै हुँ, अरु कुनै व्यक्ति वा संस्थामाथि आशङ्का र आरोपित गर्नु पूर्णतः निराधार छ । प्रष्ट रुपमा भन्न चाहन्छु, ‘मैले लिएको कदम मेरो रुचिको विषय पक्कै थिएन । त्यसमाथि स्वकीय सचिवालयबाट अलग रहँदैमा राजनीतिक जीवनबाट बिश्राम लिने वा सुस्ताउने पनि छैन । तर, व्यक्तिगत जीवनका जटिलताहरु निरुपण गर्न यसले सहजता पैदा गर्ने मेरो विश्वास हो, यसमा प्रगति हुने नै छ । म जहाँ रहेपनि माओवादी आन्दोलनमा छु । आफ्नो ठाउँबाट माओवादी आन्दोलन, यसको नेतृत्वको रक्षा गरी रहनेछु । माओवादी आन्दोलन र नेतृत्वको पक्षमा बोल्नेछु, लेख्नेछु र लड्नेछु । सचिवालयमा नभए पनि माओवादी आन्दोलनको निश्चित जिम्मेवारीमा छु र हुनेछु । आगामी जिम्मेवारी कसरी लिने ? आन्दोलनले ममाथि गरेको लगानीको कसरी सम्मान गर्ने ? त्यसमा गम्भीर छु र हुनेछु । अन्त्यमा, मेरो निर्णयको दोष कसैमाथि थोपर्ने, गलत प्रचारवाजी गर्ने कुरा भ्रामक हुन् । मेरो निर्णयको जिम्मेवारी मैले नै लिनुपर्छ र लिनेछु । अनि, माओवादी आन्दोलनलाई नयाँ उचाईमा उठाउन आफ्नो ठाउँबाट संकल्प गर्ने नै छु । २०७३।१२।०२

जेठ १६ गते नै बजेट खर्च गर्ने अख्तियारी

काठमाडौँ, चैत २ । राष्ट्रिय योजना आयोगले नयाँ आर्थिक वर्षको नीति तथा योजना एवं बजेट कार्यान्वयन गर्न जेठ १६ गते नै खर्च गर्न अख्तियारी दिने भएको छ। संविधानमा जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी प्रावधान रहेको छ । पुँजीगत खर्चमा सुधार ल्याउन आयोगले सो प्रावधान पहिलो पटक कार्यान्वयनमा ल्याउन लागेको हो । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सो जानकारी दिँदै मन्त्रालयका पुँजीगत खर्च ९५ प्रतिशतसम्म माथि पु¥याउन जेठ १६ मा नै बजेट खर्च गर्न अख्तियारी दिने प्रावधान ल्याउने बताए । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चुनिई स्थानीय तह सञ्चालन हुने हुँदा आयोगले अति महत्वाकाङ्क्षी रुपमा सो पुँजीगत खर्च हुने प्रक्षेपण गरेको हो । उनले भने, “मन्त्रालयका पुँजीगत खर्च गर्ने क्षमता बिस्तारै सुधारोन्मुख छ, अहिले नै आत्तिनुपर्ने छैन, विगत वर्षको भन्दा धेरै राम्रो छ ।” भूकम्प एवम् नाकाबन्दीका कारण गत वर्ष सरकारको पुँजीगत खर्च अत्यन्तै खराब देखिएको थियो । उपाध्यक्ष डा.श्रेष्ठले राष्ट्रिय गौरव र जलाशययुक्त जलविद्युत् आयोजनामा खर्च वृद्धि गराउन आयोगले समन्वयात्मकरुपमा काम गरिरहेको जानकारी दिए । सो अवसरमा समितिका सभापति रवीन्द्र अधिकारीले योजना आयोगले खुद्रा–मसिना योजनामा भन्दा दूरगामी प्रभाव पार्ने योजना तयार तथा कार्यान्वयनमा ध्यान दिन आग्रह गरे । उनले भएका योजनाको कार्यान्वयन पक्ष अत्यन्त फितलो रहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै निरन्तर अनुगमनको खाँचोसमेत औँल्याए । सांसद गणेश पहाडीले पहुँचको भरमा योजना छनौट नगर्न र जनताका आवश्यकताबाट छनौट भई आएका योजनालाई योजना बैंक स्थापना गरी क्रमशः कार्यान्वयन गर्न सुझाव दिए । सांसद रामकुमार भट्टराईले प्रधानमन्त्री, मन्त्री र पहुँचवालाको भरमा योजना आयोगले योजना छनौट गर्दा कार्यान्वयन पक्ष फितलो बनेको हो भने । सांसद रामचन्द्र पोखरेलले सङ्घीयतामा योजना आयोगको भूमिका कस्तो रहने हो भन्ने प्रश्न गर्दै स्थानीय तह, प्रदेश र केन्द्रीय तहमा आयोगको संरचना तयार गर्न सुझाव दिए । सांसद सीता गिरी ओलीले सम्पन्न गर्न रु पाँच करोड लाग्ने योजनालाई बर्सेनि पाँच लाख विनियोजन गर्ने आयोगको परम्परा विकासमा बाधक बनेको बताए । सांसद प्रकाश शर्मा पौडेल र चीनकाजी श्रेष्ठले ठूला योजनामा बजेट खर्च हुन नसकेका कारण साना योजना अधुरो बनेको हो भने । सांसद शान्ता मानवीले योजनाका लागि योजना र अनुगमनका लागि अनुगमन बन्ने परम्परालाई अन्त्य गर्न जोड दिए भने सांसद रञ्जना सरकारले प्रदेशमा बजेट तयार गर्दा विस्तृत अध्ययन गर्न सुझाव दिए ।

कर्मचारी युनियनको अध्यक्षमा धौभडेल

भक्तपुर, चैत २ । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) जिल्ला कार्यसमिति भक्तपुरको मंगलबार भएको सातौं जिल्ला अधिवेशनबाट विजयप्रसाद धौभडेल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा टेकेन्द्रप्रसाद ढकाल, महिला उपाध्यक्षमा मुना कोइराला, समावेशी उपाध्यक्षमा राधेश्याम कर्माचार्य, सचिवमा सूर्य पौडेल, सहसचिवमा जगदीश थापा, कोषाध्यक्षमा नेत्रबहादुर कटुवाल र सदस्यमा विष्णुप्रसाद हुमागाईं, धनञ्जय अर्याल, अशोककुमार पन्त, नातिभाइ नायजु, केदार गिरी, बटु खड्का, कविता भण्डारी र सम्झना न्यौपानेलाई चयन गरेको छ । यसैगरी समितिको केन्द्रीय सभासदमा पार्वती आले, युगलकिशोर न्यौपाने, यादवप्रसाद मिश्र र श्रीराम लम्साल चयन भएका छन् भने कार्यसमितिका थप दुईजना सदस्य पछि मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष धौभडेलले बताए । यसअघि जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता कमला पन्तले स्थानीय निर्वाचन तोकिएकै मितिमा हुने भएकाले निर्वाचनलाई सफल पार्न सबै लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, नेता गणेशमान चक्रधर, युनियनका महासचिब जितबहादुर भडेल, केन्द्रीय सदस्य शान्ता अर्याल, युनियन (सङ्घ) का निवर्तमान जिल्ला अध्यक्ष श्रीराम लम्साल लगायतले निर्वाचनलाई सफल पार्न नेपाली काँग्रेस अग्रसर रहेको बताएको थियो ।

स्थानीय तह निर्वाचनका लागि करिब २१ हजार मतदान केन्द्र

काठमाडौँ, चैत २ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुनगइरहेको स्थानीय तहको निर्वाचन गराउन करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन गराउनका लागि अहिले मतदान केन्द्र छनोट कार्य भइरहेकाले करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी भएको बताए । उनले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्लास्थित सुरक्षाप्रमुख, जिल्ला निर्वाचन कार्यालय, सम्बन्धित नगरपालिका तथा गाउँपालिकाका प्रमुख र राजनीतिक दलका प्रतिनिधिलाई मतदान निर्धारण गर्न दिएको बताए । ‘अहिले जिल्लामा मतदान केन्द्र निर्धारण गर्ने कार्य भइरहेको छ’ उनले भने– ‘यही १० गतेसम्म सबै निर्वाचन कार्यालयलाई मतदान केन्द्र निर्धारण गरेर हामीलाई पठाउन भनेका छौ ।’ उनका अनुसार मतदातालाई पायक पर्ने, भीड नहुने र सुरक्षित ठाउँलाई मतदान केन्द्र निर्धारण गर्न आयोगले निर्देशन दिएको छ । सरकारले स्थानीय तहको सङ्ख्या निर्धारण गरेपनि आयोगले मतदान गर्नका लागि मतदान केन्द्र तोक्न निर्देशन दिएको हो । स्थानीय तहको निर्वाचन बिहान– ७ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोगका सहसचिव समेत रहनुभएका शर्माले जानकारी गराए ।

मुआब्जा माग्दै मध्यपहाडी सडक विस्तारमा अवरुद्ध

त्रिशूली, चैत २ । पुष्पलाल मध्यपहाडी लोकमार्गको नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म विस्तारको क्रममा मुआब्जा नदिएको भन्दै स्थानीयवासीले अवरोध पुर्याएका छन् । सडक विस्तारको क्रममा मुआब्जा नदिई सडक छेउका बस्ती हटाउन लागेको भन्दै स्थानीयवासी सङ्घर्ष समिति गठन गरी विरोधमा उत्रिएका छन् । सडक विस्तारले १०० भन्दा बढी घरपरिवार सुकुम्बासी हुने भन्दै मध्यपहाडी लोकमार्गलाई वैकल्पिक स्थान हुँदै विस्तार गर्नुपर्ने सङ्घर्ष समितिका संयोजक नारायण अधिकारीले बताए । “विनाशकारी भूकम्पबाट पीडित बासिन्दामध्ये पहाडी सडक विस्तारले पीडित मात्र नभई सुकुम्बासी हुने भएका छन् ।” सङ्घर्ष समितिका संयोजक अधिकारीले भने– “भएको जग्गा सडकको अतिक्रमणमा परी विस्थापित हुन लागेकाले बाध्य भएर आफ्नो सम्पत्तिमा अधिकार र हक सुनिश्चित गर्न सडक विस्तारलाई अवरोध पुर्याएका हौं ।” पुष्पलाल–मध्यपहाडी लोकमार्गको विस्तारको क्रममा नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म सडकको लागि छुट्टाउनुपर्ने जग्गा समेत अन्योल रहेको अधिकारीको गुनासो छ । सडकको दायाँबायाको क्षेत्रफल १५ मिटर वा २१ मिटर तथा २५ मिटरसम्मको चर्चा चलेको र सम्बन्धित कार्यालयबाट आधिकारिक सूचना जारी नहुँदा सडक छेउका बासिन्दा आवास निर्माण गर्न अन्योल भएको संघर्ष समितिले जनाएको छ । जिल्लाको गङ्गटेदेखि ढिकुरेसम्मको मध्यपहाडी सडक क्षेत्रमा पर्ने स्थानीयवासी मिलेर गठन गरेको सङ्घर्ष समितिले फागुन दोस्रो साता नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाएर समस्या समाधानको लागि पहल गर्न आग्रह गरे पनि बेवास्था गरेको गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा सडक विस्तारले पीडित हुने बासिन्दाले आयोजना विस्तारमा वैकल्पिक स्थान खोज्नुपर्ने, विस्तार नै गर्नुपर्ने भएमा मुआब्जा दिनुपर्ने भन्दै माग सम्बोधनको गर्न गरेको आग्रहको बेवास्ता भएकाले सडक विस्तारमा अवरोध गर्न बाध्य भएको संघर्ष समितिका सदस्य प्रकाश अधिकारीले बताए । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सडकको साविकको विदुर नगरपालिका, सामरी, कल्याणपुर, खानीगाउँ, थानसिङ, महाकाली, सूर्यमतिलगायतका गाविसमा सीमाङ्कन अझै अन्योल रहेको छ । सिन्धुपाल्चोकबाट नुवाकोट हुँदै धादिङतर्फ जाने मध्यपहाडी सडकले नुवाकोटको साविकको एक नगरपालिका र १२ गाविस हुँदै सञ्चालन हुने बताए पनि त्यो प्रारम्भिक अध्यनन भनेर उल्लेख गरिएको छ । अहिलेको योजना अनुसार जिल्लाको तलाखु, लिखु, महाकाली, भदु्रटार, सुनखानी, थानापति, थानसिङ, सूर्यमति, खानीगाउँ, चारघरे, विदुर नगरपालिका, कल्याणपुर र सामरी गाविस हुँदै धादिङ प्रवेश गर्ने बताइएको छ ।

राज्यमन्त्री खड्काद्वारा मेलम्चीको प्रगतिबारे रातारात अनुगमन

काठमाडौँ,चैत २। खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे रातारात अनुगमन गर्नुभएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय–२ लाई उपत्यकाभित्र खोपानीको पाइप बिच्छ्याउने काम दिए पनि तीव्र गतिमा काम गर्न नसकेको जनगुनासो आएपछि राज्यमन्त्री खड्का मङ्गलबार राति १० बजेदेखि ११ः३० बजेसम्म अनुगमनमा निस्कनुभएको हो । राज्यमन्त्री खड्काले कान्तिपथ, लाजिम्पाट र पानीपोखरीमा भइरहेको मेलम्ची खानेपानीको कामको बारेमा जानकारी लिनुभएको थियो । कान्तिपथको कालोपत्र गर्ने जिम्मा रमन कन्टक्सननलाई दिइएको छ भने पानीपोखरीको पाइप बिच्छ्याउने काम आयोजना आफैँले गरिरहेको छ । मेलम्चीले भत्काएको बाटो समयमा कालोपत्र नहुँदा उपत्यकाको धुलोको मात्रा अत्याधिक बढेको भन्दै उहाँले चाँडो कालोपत्र गर्र्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “दसैँ अगाडि नै काठमाडौँवासीलाई पानी खुवाउँछौँ भनेर मन्त्रालय लागिरहेको छ तपाईंहरु चाँडो काम गर्नुहोस् ।” हालसम्म मेलम्चीको टनेल खन्ने काम २७ किलोमिटरमध्ये २३ किलोमिटर, मुख्य पाइप बिच्छ्याउने काम ६१ किलोमिटरमध्ये ४१ किलोमिटर र शाखा पाइप बिच्छ्याउने काम ६७० किलोमिटरमध्ये ५५० किलोमिटर बिच्छ्याइसकिएको आयोजनाका प्रमुख तिरेशकुमार खत्रीले जानकारी दिनुभयो । रासस