राप्रपालाई मोहनविक्रमको प्रहारः राजतन्त्र फर्काउने सपना नदेख

काठमाडौँ, चैत ७ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनको दिशामा लैजाने बताउनुभएको छ ।

आज प्रेस विज्ञप्ति प्रकाशित गरी उहाँले राप्रपाको विधानमा उल्लेखित राजतन्त्रको पुनःस्थापना र धर्म निरपेक्षता संविधान विपरीत भएकाले नीतिगत रूपमा हामीले उक्त अवधारणालाई गलत मान्दछौँ र त्यसको कडा शब्दमा विरोध गर्दछौं भन्नुभयो ।

कुनै पनि राजनीतिक पार्टीले बेग्लै मत राख्न पाउने वा सङ्घर्ष गर्न पाउने अधिकार संविधानमा सुरक्षित भएकाले राप्रपाले आफ्नो विधान वा घोषणापत्रमा के राख्दछ भने त्यसलाई गलत भन्न मिल्दैन, उहाँले विज्ञप्तिमा भन्नुभएको छ — राप्रपाको विधानमा राखेका विषयलाई हटाउनका लागि निर्वाचन आयोगले दिएको निर्देशन गलत भएको ठहर आफ्नोे पार्टीको छ ।

सरसफाइमा सहभागी नभए दुई सय जरिमाना !

पर्वत, चैत ६ । सरसफाइमा सहभागी नहुनेलाई पर्वतमा दुई सय रुपैयाँको जरिमाना तोकिएको छ । जिल्लाका विहादी गाउँपालिका–२ बर्राचौरमा चलेको सरसफाइ अभियान जिल्लाकै नमुना अभियानका रुपमा स्थापित हुँदै गएको छ । गाउँको सरसफाइका लागि गाउँले आफैले नीति नियम बनाएर सरसफाइमा अग्रसर हुन थालेपछि नमुना सरसफाइ गाउँको परिचय पाउने भएको हो । विगत केही बर्ष अघिसम्म स्वच्छ र सुरक्षित खानेपानीबाट बञ्चित बनेका बर्राचौरबासीहरु अहिले सुरक्षित खानेपानीको उचित व्यवस्थासँगै सरससफाइमा समेत सक्रिय रुपमा लागि परेका छन् । बर्राचौरका बासिन्दाहरुले गाउँमा गठित गाउँ खानेपानी तथा स्वच्छता समन्वय समिति र वडा नागरिक मञ्चको पहलमा गाउँमा सरसफाइको अभियान सञ्चालन भएको छ । अहिले गाउँमा प्रत्येक महिनाको १५ र ३० गते सरसफाइका लागि प्रत्येक घरबाट एक जना सदस्य जाने गर्छन् । यसरी सञ्चालन भएको अभियानमा सहभागी नहुनेलाई जरिवाना तोकिएको गाउँ खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति बर्राचौरकी सदस्य गौरादेवी पौडेलले बताए । ‘गाउँको प्रत्येक टोल टोलबाट स्थानीय अभियन्ताको अगुवाइमा सरसफइमा निस्किएर सार्वजनिक स्थल तथा बाटोघाटोको सरसफाइ गर्ने गरेका छौँ’ उहाँले भन्नुभयो ‘अभियानका क्रममा सहभागी नभएका घरधुरीबाट दुईसय रुपैयाँको दरले जरिवाना उठाउछौँ ।’ यसरी संकलन भएको जरिवानाबाट अभियानमा सहभागी हुने सरसफाइ अभियन्ताहरुलाई खाजा नास्ता उपलब्ध गराउने गरेको उनले बताए ।

कञ्चनपुर घटनाप्रति सरकार गम्भिर हुन अावश्यक

प्रकाश उप्रेती चारआली, चैत ६ । कञ्चनपुर घटना राष्ट्रिय स्वभिमानप्रतिको प्रहार भएको ठहर गर्दै झापाको मेचीनगरको नव सृजनशील युवा समाजले उक्त घटनालाई सरकारले चासो दिन आग्रह गरेको छ । निर्दोष व्यक्ति गोविन्द गौतमलाई भारतीय एसएसवीले गोली हानेर हत्या गरेको १० दिन वितिसक्दा पनि सरकारले चासो नदेखाएकै कारण दोषीलाई कारवाही नभएको भन्दै समाजले आइतबार श्रद्धाञ्जलि सभाबाट सरकारलाई चासो दिन आग्रह गरेको हो । भारतले सीमा क्षेत्रमा लगाइएको नियम अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई उल्लङ्घन गरेको भन्दै नेपाल सरकारले नेपालको राष्ट्रिय स्वभिमानलाई अक्षुण राख्न नेपाली नागरिकको अधिकारप्रति जिम्मेवार बन्न समेत आग्रह गरेको छ । श्रद्धाञ्जलि कार्यक्रममा बोल्दै माओवादी केन्द्रका बद्री फुयाँलले एसएसवीले ठाडै नेपाली भूमीमा प्रवेश गरी सोझा नेपालीमाथि गरेको आक्रमण तथा हत्या नियोजित र नेपाल—भारत सीमाका अन्तराष्ट्रिय मूल्य मान्यतालाई नाघेको बताए । उनले सीमा क्षेत्रमा जस्तोसुकै घटना भए घटनाको प्रकृति हेरेर त्यसलाई नियन्त्रण लिन, साम्य पार्न गोली प्रहार गर्न पाइने व्यवस्था नभएकाले भारतले अन्तर्राष्ट्रिय क्षेत्रमा माफी माग्नुपर्ने बताए । भारतले विभिन्न बहानामा कहिले नेपालको सीमा अतिक्रमण, कहिले नेपालको स्वाधिनता, राष्ट्रियतामा आच आउने किसिमका गतिविधिका कारण नेपाल र नेपालीको सपना पूरा हुन नसक्ने फुयाँलको दावी थियो । कार्यक्रममा नेकपा एमालेका सुरेश बुढाथोकीले कञ्चनपुर घटनापछि सरकार निरीह बनेको आरोप लगाए । उनले नेपाली जनताले आफ्नो राष्ट्रको स्वभिमान बचाउन खोज्दा मृत्युबरण गर्दा समेत सरकार मौन हुनु, १० दिन वितिसक्दा पनि सत्यतथ्य छानविनका लागि भारत सरकारसँग समन्वय गर्न नसक्नुले सरकारले भारतप्रति लाचारीपन देखाएको उल्लेख गरे । नव सृजनशील युवा समाजका अध्यक्ष बद्री महतले अन्तराष्ट्रिय मूल्य मान्यता विपरीत भारतले नेपाली नागरिकलाई प्रहार गर्दै गोली बर्साउनुले नेपालको राष्ट्रिय स्वभिमानप्रतिको प्रहार भएको बताए । उक्त घटनाप्रति भारतले नेपालसँग माफी माग्नुपर्ने, मृतकका परिवारलाई न्याय दिलाई क्षतिपूति प्रदान गर्नुपर्ने र फेरि त्यस्ता घटना नदोहो¥याउन नेपाली राजनीतिज्ञहरु गम्भीर हुन जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा राप्रपा नेपालकी सविना वजगाई, नेपाली कांग्रेसका अर्जुन थेवे, माओवादी केन्द्रका कुमार भट्टराई, लक्ष्मण कार्की, निरु परियार, अवी चौधरी, युवराज न्यौपानेलगायतले घटनामा संलग्न एसएसवीलाई नियन्त्रणमा लिई दोषीमाथि कडा कारवाही गरी गोविन्द गौतमको परिवारलाई उचित न्याय र राहत प्रदान गर्नुपर्नेमा जोड दिए । स्वर्गीय गोविन्द गौतमको फोटो, प्ले—कार्ड र नेपाली राष्ट्रिय झण्डासहित चारआली चोकबाट इलामरोड र पूर्व–पश्चिम लोकमार्गमा खवरदारीका नारासहित ¥यालीपछि कोणसभामा परिणत भएको थियो । कार्यक्रममा चारआली क्षेत्रमा सञ्चालनमा रहेका प्रतिभा युवा क्लब, क्रेटिभ नेप्लिज युथ क्लब, चारआली जेसीज, ट्याक्टर संघ चारआली, होटल व्यवसायी संघ चारआलीलगायतका संघसंस्थाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रकाश उप्रेतीले गरेका थिए ।

विजुक्छेले भने, ‘वैदेशिक हस्तक्षेप नभए तोकिएकै समयमा चुनाव हुन्छ’

भक्तपुर, चैत ६ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वैदेशिक हस्तक्षेप नभए तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुने दाबी गरेका छन् । आइतबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले भने, ‘निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भएता पनि सम्भव भएका स्थानमा निर्वाचन गरिनुपर्छ र बाँकी रहेको स्थानमा पछि निर्वाचन गर्न सकिन्छ ।’ निर्वाचन आयोगले आचारसंहिता जारी गरेपनि ठूला दलहरुले त्यसको पालना नगरेको भन्दै आचारसंहिता लागू गर्ने तर्फ निर्वाचन आयोगको ध्यान जानु पर्नेमा जोड दिए । सरकारमा सामेल दल र प्रतिपक्षले विभिन्न बहानामा आचारसंहिता उल्लंघन गर्दा समेत निर्वाचन आयोगले केहि गर्न नसकेको उनको टिप्पणी छ । विजुक्छेंले सत्ता समिकरणमा फेरबदल आउन सक्ने सम्भावना समेत औंल्याए । नेपाली काँग्रेस र मधेसी दलहरु बीच सत्ता समिकरण हुन सक्ने बताउँदै विजुक्छेंले अवको सत्ता समिकरणमा एमाले र एमाओवादी एकातर्फ, काँग्रेस र मधेसी दलहरु अर्कोतर्फ भएर सत्ताको समिकरण हुनसक्ने बताए ।

व्यवस्थापिका संसदबाट तीन विधेयक स्वीकृत

काठमाडौँ, चैत ६ । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘तीन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयकमा पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक २०७३, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक २०७३ र उच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक २०७३ रहेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले ती विधेयक बैठकमा प्रस्तुत गरेका थिए । यसैगरी बैठकमा उप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले वस्तु विनियम बजारसम्बन्धी विधेयक २०७३ लाई प्रस्तुत गरेका थिए । संसद्को बैठक सोमबार अपराह्न १ बजे बस्नेछ ।

सर्वोच्चमा आईजिपी नियुक्तीसम्बन्धी मुद्दा भाेलि हेरिने

काठमाडौं, चैत ६ । नेपाल प्रहरीको महानिरिक्षक आइजिपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारी निर्णय बिरुद्ध परेका मुद्धामा सर्बोच्च अदालतको पूर्ण इजलासमा आज सुनुवाई शुरु भएको छ । इजलास भोली पुनः सुनुवाई हुनेगरी राखिएको छ । निवेदकका तर्फका कानुन व्यबसायीको बहस नसकिएपछि सो इजलासलाई भोलिसम्मका लागि राखिएको हो । आईजिपी नियुक्तिको बिरोधमा परेका दुईवटा रिट तथा एउटा निवेदन उपर प्रधानन्यायाधीश सुशीला कार्की सहितको पूर्ण इजलासमा सुनुवाइ भएको हो । इजलासमा रिट निवेदकका तर्फवाट आज कानुन व्यबसायीले बहस गर्दै पहिलो वरियताका नवराज सिलवाललाई नै महानिरिक्षक बनाउनुपर्ने तर्क गरेका छन् । प्रहरी महानिरिक्षकमा तेस्रो वरियताका चन्दलाई नियुक्त गरिएपछि दाबेदार डिआइजी सिलवाल लगायतले सरकारी निर्णय वदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । निवेदक पक्षको बहस सकिएपछि सरकारका तर्फबाट सहन्यायधिवक्ता र उपमहान्याधिवक्ताले बहस गर्नेछन् । यसअघि चैत ३ गते इश्वर प्रसाद खतिवडा र तेजवहादुर केसीको संयुक्त इजलासले महानिरिक्षक सम्बन्धी मुद्दा अब पूर्ण इजलासमा लैजाने निर्णय गरेको थियो । यसअघि प्रधानन्यायाधीश कार्कीको इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइपछि सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

चैत २८ देखि हुने बिस्केट जात्राका लागि तयारी सुरू

भक्तपुर, चैत ६ । आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको तयारी सुरु गरिएकाे छ ।  आगामी चैत २८ गतेदेखि सुरू हुने उक्त जात्रा  वैशाख ५ गतेसम्म चल्नेछ । जात्राको मुख्य आकर्षणका रुपमा रहेको लिङ्गो उठाउनका लागि गुठी संस्थान भक्तपुरले सूर्यविनायक नगरपालिकास्थित चित्तपोलको सल्लाघारी वनबाट करिब ५५ हात लामा दुई लिङ्गो भक्तपुर नगरपालिका–११ ल्येसिंखेल अर्थात् भेलुखेलस्थित जात्रास्थलमा ल्याई पुर्याएको छ । संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले लिङ्गो उठाउने क्रममा भाँंचिए अर्को प्रयोग गर्ने गरी दुईवटा ल्याइएको बताए । लिङ्गो नभाँचिए जगेडा रहेको लिङ्गो अर्को वर्ष प्रयोग गर्ने परम्परा छ । वैशाख सुरु हुनु चार दिनअघि सुरु हुने बिस्केट जात्रामा मसान्तको दिन अर्थात् यस वर्ष चैत ३१ गते डोरीको सहायताले हजारौँ जात्रालुले लिङ्गो तानेर उठाउने गर्छन् । सो लिङ्गोलाई प्रत्येक वर्षको नयाँं दिन अर्थात् वैशाख १ गते साँझ ढाल्ने गरिन्छ । जात्राका लागि अत्यावश्यक मानिएको भैरब र भद्रकालीको रथ निर्माणसमेत सुरु गरिएको छ ।

नागरिकले महानगरसँग गरेका अपेक्षा पूरा हुनुपर्ने माग

काठमाडौँ, चैत ६ । स्थानीय निकाय कर्मचारी सङ्घ काठमाडौँ महानगर एकाइले काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेललाई १७ बुँदे सुझाव एवम् ध्यानाकर्षणपत्र बुझाउँदै महानगरको सार्वजनिक छवि सुधार गर्न नागरिकले महानगरसँग गरेका अपेक्षा पूरा हुनुपर्ने माग गरेको छ । युनियनका अध्यक्ष धर्मराज भट्टराई, नेपाल स्वतन्त्र यातायात मजदुर सङ्घका अध्यक्ष पवन भट्टराई र नेपाल सफाइ श्रमिक सङ्घका अध्यक्ष योगेश केसीले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापनपत्रमा संस्थागत सुदुढीकरण, सेवा प्रवाह व्यवस्थापन र जनशक्ति व्यवस्थापनलाई आधार बनाई काम गर्न आग्रह गरिएको छ । महत्वपूर्ण निर्णय लिँदा महानगरको व्यवस्थापन तह र क्रियाशील सङ्घसङ्गठनबीच संवाद र सामूहिक छलफलका माध्यमबाट हुनुपर्ने माग पनि गरिएको छ । युनियनले बुझाएको ज्ञापनपत्र बुझ्दै महानगरका कार्यकारी अधिकृत पौडेलले स्थानीय तहको निर्वाचन अघि र पछि दुई अवस्थालाई विश्लेषण गरेर सुधारका योजना बनाउनुपर्ने बताउनुभयो । युनियनका पूर्वअध्यक्ष शिवजी भट्टराईले भूकम्पले पुर्याएको क्षति व्यवस्थापनमा महानगरको नेतृत्वले अपेक्षाकृत विकास गर्न नसकेको आरोप लगाउनुभयो ।

निर्वाचन आयोगविरुद्ध राप्रपा उत्रियो अान्दाेलनमा

इटहरी, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आज त्यसविरुद्ध विरोध प्रदर्शन गरेको छ । पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा समेत गरेको छ । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्वमा निक्लिएको जुलुृसमा राप्रपाका नेता दिलनाथ गिरीले पार्टीको मुख्य प्रस्तावमा नै उल्लेख भएको संवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणा हटाइदिएकाले परिआएको बेला सरकारबाट पनि हट्न सक्ने जिकिर गर्नुभयो । राप्रपा निर्वाचनको पक्षमा रहेको र चाँडो र तोकिएकै समयमा निर्वाचन गराउनका लागि प्रतिबद्ध हुँदाहुँदै पनि आयोगले गलत नियत राखेर सो काम गरेको आरोप संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गिरीले लगाउनुभयो ।

विष्णुकुमारकाे हङकङ जाने सपना चक्नाचुर भयाे

धरान, चैत्र ६ । केही साता धरानमा बसेर सोमबारको उडानमा हङकङ फर्किन हवाइ टिकट काटिसकेका थिए, धरान–१२ बस्ने विष्णुकुमार लिम्बूले । धरान र इटहरीको बीचमा पर्ने सेउती पुल नजिकै कार दुर्घटनामा परी मृत्यु भएपछि उनको सपना अधुरै रह्यो । बा १५ च २०६१ नम्बरको कार सेउती मोडमा ब्रेक फेल भएर दुर्घट्ना लिम्बूको मृत्यु भएको हो । सात महिने छोरा, श्रीमती दिलकुमारी लिम्बूसहित उनका साथी धरान–१५ बूढासुब्बा चोकस्थित ताप्लेजुङ्ग सान्थाक्रा ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का सञ्चालक राजेन्द्र ल्वागुनसँग शनिबार झापाको माइधारमा पूजा गरेर धरान घर फर्किरहेको बेला कार दुर्घटनामा उनको मृत्यु भएको थियो । कारमा ल्वागुन र लिम्बूको परिवार चढेका थिए । ल्वागुन पनि व्यापारिक कारोबारका लागि लिम्बूसँगै हङकङ जाने तयारीमा थिए । कारमा सवारमध्ये ५ जना गम्भीर घाइते भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रहरी पोस्टका इन्चार्ज तिलक गिरीले बताए । गिरीका अनुसार ल्लागुनका श्रीमती सुशीला ल्वागुन र १० वर्षका छोरा निरज ल्वागुन, मृत विष्णुका श्रीमती दिलकुमारी लिम्बू र उनका र ७ महिने छोरा याङवुहाङ लिम्बू गम्भीर घाइते भएका छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको चिकित्सकले जनाएको छ । धरानतर्फ आउँदै गरेको कार बाँया पुलतिर मोड्न खोज्दा ब्रेक फेल भएको थाहा पाएपछि दाँयातर्फ मोडेर चारकोशे जंगलतिर ५० मिटरभित्र पुगेर रुखमा बजारिएको थियो । कार पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

महानिरीक्षक नियुक्तिमा विवाद: सर्वाेच्च अदालतमा सुनुवाई

काठमाडौं, चैत्र ६ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा भएको विवादपछि परेको दुईवटा रिट तथा एउटा निवेदन उपर सुनुवाई गर्न आजबाट प्रधानन्यायाधीश सुशीला कार्कीसहित ५ सदस्यीय बृहत पूर्ण इजलाश गठन भएको छ । इजलाशमा प्रधानन्यायाधीश कार्कीसहित, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य रहेका छन् । उक्त इजलाशमा तीनवटा मुद्दाको पेशी तोकिएको छ । जसमा अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिट र पछि दायर गरेको अर्को छुट्टै निवेदन तथा डिआइजी नवराज सिलवालले दायर गरेको रिट पेशी सूचीमा छ । सरकारले वरियता क्रममा तीन नम्बरमा रहेका डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेसँगै सर्वोच्चमा रिट परेपछि प्रधानन्यायाधीश सुशीला कार्कीले तत्काल सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकी थिइन् । त्यसयता नेपाल प्रहरीको प्रमुखको जिम्मेवारी प्रविधिक तर्फका एआइजी डा. दिनेशचनद्र पोखरेललाई तोकिएको छ । हालसम्म पनि उक्त अन्तरिम अादेशलाई नै निरन्तरता दिइएकाे छ । उक्त विवाद समाधानका लागि आजबाट सर्वोच्चमा सुनुवाई सुरु हुँदै छ ।

नयाँ वर्ष २०७४ को अवसरमा ‘गुराँस उत्सव’

बागलुङ, चैत ६ । नयाँ वर्ष २०७४ को अवसरमा यहाँ ‘गुराँस उत्सव’ हुने भएको छ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ । जिल्लाको पर्यटकीय लेक घुम्टेको प्रवद्र्धन र लालीगुराँस संरक्षणका लागि उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक दृष्टिकोणले महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवद्र्धनका लागि गुराँस उत्सवले टेवा पुग्ने ठानिएको छ । “घुम्टेमा गुराँस फुल्ने याममा पर्यटकको आकर्षण बढाउन गुराँस उत्सव गर्ने गरिएको छ”– अध्यक्ष बस्नेतले भन्नुभयो । उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झन्डोत्तोलन, ‘क्याम्प फायर’, मुख्य समारोह लगायतका कार्यक्रमको आयोजना गरिने भएको छ ।

अबको स्थानीय तहको चुनावमा मत खसाल्न युवाकाे अग्रसरता

इलाम, चैत  ६ । इलाम फाकफोकथुम गाउँपालिका–२ का सृजन शर्मा अहिले २० वर्षको हुनुभयो । अहिलेसम्म उहाँले कुनै पनि निर्वाचनमा मत खसाल्न पाउनुभएको छैन । उहाँ भन्नुहुन्छ – “२०७० सालको संविधानसभाको निर्वाचनमा मत खसाल्न पाइएन । अबको स्थानीय तहको चुनावमा भने मत खसाल्ने ठूलो रहर छ ।” शर्मालाई अबको चुनावमा दलभन्दा पनि व्यक्तिलाई हेरेर मत खसाल्न मन लागेको छ । उहाँ भन्नुहुन्छ – “देशमा विकास र समृद्धि आवश्यकता छ । त्यो व्यक्ति हामी आफैँले छनोट गर्नुपर्छ ।” स्थानीय निकायमा जनप्रतिनिधि भएको खण्डमा अहिले जस्तो एकैजना व्यक्तिले सबै गाविसको काम भ्याउनुपर्ने बाध्यता नहुने उहाँ बताउनुहुन्छ । यो चुनाव नयाँ गाउँपालिका र नगरपालिकाअन्तर्गत हुन्छ भन्ने सुनेको छु । चुनावको प्रत्यक्ष अनुभव बल्ल लिन पाइने भो । सोयाङकी सङ्गीता सञ्जेललाई पनि कतिबेला निर्वाचनको दिन आउला भन्ने खटपटी भइरहेको छ । अहिलेसम्म चुनावमा भोट खसाल्न नपाएको बताउँदै उहाँ भन्नुहुन्छ – “पहिलो संविधानसभाको निर्वाचनमा उमेर पुगेको थिएन । यसपटक त चुनावको राम्रै अनुभव लिन पाइने भो ।” उहाँले भन्नुभयो – “अबको चुनावमा गाउँघरको समस्या बुझ्नसक्ने नेतालाई भोट हालिन्छ ।” शर्मा र सञ्जेलमात्रै होइन् पहिलोपटक निर्वाचनमा भोट हाल्ने पर्खाइमा बसेका हजारौँ युवालाई चुनावी उत्साह जागेको छ । समयमै चुनाव भए देशमा विकास निर्माणको कामले गतिलिने र राजनीतिक स्थिरता कायम हुन्थ्यो भन्ने युवालाई लागेको छ । युवा नेताको ऊर्जा देश विकासमा खर्चने वातावरण बनाउनेमा युवावर्ग लागेका छन् । देशमा निर्वाचन भए रोजगारी खोज्दै युवा पलायन हुनुपर्ने दिन हराउँथ्यो कि भन्ने अधिकांश युवाको भनाइ छ । प्रायः यतिबेला सबै युवाको मनमा विदेश जानुपर्ने बाध्यताचाहिँ संविधान कार्यान्वयन नभएर हो भन्ने पाइएको छ । जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले गाउँ–गाउँमा सबै क्षेत्र निर्वाचन निर्धारण गरिएको बताउनुभयो । कार्यालयले जिल्लाका शिक्षक र सामाजिक परिचालकहरूलाई निर्वाचन शिक्षाबारे जानकारी दिएर निर्वाचन शिक्षाको प्रसारप्रचार गर्ने तयारी गरेको निर्वाचन अधिकृत काफ्ले बताउनुहुन्छ । आउँदो निर्वाचनका लागि इलाममा १७ वटा दल दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

विकास निर्माणको कार्यमा पुरुषभन्दा कम छैन महिला

म्याग्दी, चैत  ६ । अवसरमात्र पाउने हो भने विकास निर्माणका कार्यमा पनि महिला पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत पर्ने विकट नागी गाउँका महिलाले प्रस्तुत गरेका छन् । गाउँका महिलाले गाउँमा नै महिला समूह गठन गरी साझा विकास अवधारणाअनुसार रु दुई करोड लगानीमा सञ्चालन गरेको राम्चे खानेपानी तथा सरसफाइ उपभोक्ता आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सरकारले महिला, जनजाति र दलितलाई सामाजिक कार्यमा अगाडि ल्याउन विशेष प्रोत्साहन गर्ने भनेर आफ्नो नीति तथा कार्यक्रममा प्रस्तुत गरेको भए पनि विकास निर्माणका कार्यमा महिला सहभागिता अत्यन्त न्यून रहने गरेको अवस्थामा म्याग्दीका महिलाले भने त्यति ठूलो आयोजनाको जिम्मा आफूहरुले लिएर साहसिक काममात्रै गरेका छैनन् महिलाले चाहे भने असम्भव भन्ने केही कुरा छैन भन्ने तथ्यलाई पनि पुष्टि गरिदिएका सरोकारवालाहरुले बताएका छन् । महिलाको लक्षित वर्गमा छुट्टिने रकमले गाउँमा सानो रकमको सानो कार्यबाहेक अन्य कार्यमा सक्रिय नभएको अवस्थामा नागीमा भने महिलाको नेतृत्वमा राम्चे खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको आयोजनाका अध्यक्ष राममाया पुनले बताउनुभयो । जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय, म्याग्दीको पहलमा रु दुई करोड लगानीको राम्चे खानेपानी तथा सरसफाइ आयोजना राम्चेका महिलाकै नेतृत्वमा सम्पन्न हुन लागेकोे जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय, म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो । एघारजना महिलामात्र रहेको उक्त उपभोक्ता समितिले नागीमा सो आयोजना सुरु गरेपछि जिल्लाका अरु ठाउँमा पनि महिलाकै नेतृत्वमा उपभोक्ता समिति बन्ने क्रम सुरु भएको छ । उक्त खानेपानी आयोजना सम्पन्न भएपछि नागीका ३३७ जनसङ्ख्या प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । गत जेठ १ गतेदेखि निर्माण कार्य सुरु गरिएको उक्त आयोजनाको क्रमागत योजना भएकाले आगामी आवमा उक्त आयोजना सम्पन्न हुने जिल्ला खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय, म्याग्दीले जनाएको छ । यो वर्ष गाउँदेखि दुई किमी दूरीमा रहेको रातोझाप्रा खोलाको मुहानबाट गाउँसम्म पानी ल्याउने योजना रहेको छ भने आगामी वर्ष गाउँमा १० वटा धारा निर्माण गरी पानी वितरण लाइन निर्माण गरिने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

बेनी बजार संरक्षण आयोजना सुरु

म्याग्दी, ६ चैत । म्याग्दी सदरमुकाम बेनीबजार संरक्षणका लागि नदी नियन्त्रण आयोजना सुरु भएको छ । कालीगण्डकी र म्याग्दी नदीको कटान नियन्त्रण गरी बेनी बजारलाई सुरक्षित बनाउने उद्देश्यले रु एक करोड २० लाख लागतको आयोजना निर्माण सुरु भएको हो । कालीगण्डकी नदी किनारमा पक्की र म्याग्दी नदी किनारमा मेसिनरी पर्खाल लगाउने काम सुरु भएको जलउत्पन्न प्रकोप नियन्त्रण सवडिभिजन कार्यालय बागलुङले जनाएको छ । यसवर्ष कालीगण्डकी किनारमा ६२.५ मिटर पक्की पर्खाल निर्माण गर्न रु ७५ लाखमा सम्झौता गरेको विकास निर्माण सेवाले काम सुरु गरेको छ । ७.४० मिटर अग्लो पर्खाल बनाइने सवडिभिजन प्रमुख इञ्जिनियर खगेन्द्र भट्टचनले बताउनुभयो । म्याग्दी नदी किनारमा ७२ मिटर लम्बाइ र पाँच मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गर्न रु ४६ लाख २० हजारमा पोखराको बिजी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ । आगामी असारअघि नै काम सम्पन्न गर्ने विकास निर्माण सेवाका सञ्चालक दिनेश केसीले बताउनुभयो । कालीगण्डकी किनारमा गतवर्ष रु एक करोड ८८ लाखको लागतमा १२४.५ मिटर र त्योभन्दा अघिल्लो वर्ष ६३ मिटर पक्की पर्खाल निर्माण भएको थियो । यसैगरी सिँचाइ मन्त्रालयले बेनी बजार संरक्षण कार्यक्रमको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको छ । अर्थमन्त्रालयमा पेस गरिएको डिपिआर स्वीकृत भएपछि बहुवर्षे ठेक्कामार्फत काम अघि बढाइने इञ्जिनिर भट्टचनले बताउनुभयो । आर्थिक वर्ष २०७६÷७७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाका लागि रु ५३ करोड बजेट प्रस्ताव गरिएको छ । बेनी बजार नदी कटानका हिसाबले देशमै जोखिमयुक्त सहर मानिन्छ । यसअघि नदी किनारमा तारजाली ग्याविन भरेर पर्खाल लगाउँदै आए पनि कटानको दिगो नियन्त्रणका लागि दुई वर्षअघि गुरुयोजना तयार गरी पक्की पर्खाल लगाउन थालिएको थियो । बेनी बजारस्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की पर्खाल लगाउने गरी बहुवर्षे योजना सञ्चालन गरिएको छ । नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलिङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना बनाइएको छ ।

धौलागिरि पदमार्गको नक्सा तयार

म्याग्दी,  चैत ६ । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै विभिन्न निकाय र सङ्घसंस्थाको आर्थिक सहयोगमा नक्सा तयार गरिएको हो । म्याग्दीमा हालै सञ्चालनमा आएको धौलागिरि सेन्चुरी पदमार्ग अन्तर्गत कुइनेमङ्गलेबाट सुरु भई मल्कबाङ, मुदी, गुर्जा र रुकुमको सिस्ने तथा डोल्पा जोड्ने गरी तयार गरिएको हो । पदमार्गका अनुसन्धानकर्तासमेत रहनुभएका पर्वतारोही खत्रीले कालीगण्डकीदेखि पश्चिममा भेरी नदीसम्मको धौलागिरि रेञ्जमा रहेका हिमशृङ्खलालाई समेटेर विभिन्न पर्यटकीय पदमार्ग पहिचान गरिएको बताउनुभयो । उहाँका अनुसार, उक्त पदमार्गको नक्सा जिल्ला विकास समिति रुकुम, नेपाल पर्वतारोहण सङ्घ, म्याग्दीको धौलागिरि गाउँपालिकामा समावेश भएको साविकको गुर्जा गाविसको आर्थिक सहयोगमा हिमालय म्याप हाउसले तयार गरेको हो । खत्रीले तयार गरेको पदमार्गको नक्साङ्कनअनुसार पश्चिम धौलागिरि पदमार्गको केन्द्रबिन्दु म्याग्दीको गुर्जालाई मानिएको छ भने ट्रान्स धौलागिरि पदमार्गको सुरुवात विन्दु म्याग्दी सदरमुकाम बेनीलाई मानिएको गाउँ पर्यटन विकास समिति गुर्जाका संयोजक झकबहादुर छन्त्यालले बताउनुभयो । पदमार्गको नक्साङ्कनअनुसार तल्लो ट्रान्स धौलागिरि पदमार्गमा भ्रमणमा जाने पर्यटक मुस्ताङको लेतेबाट सुरु गरी फेदी–म्याग्दीको कुइनेमङ्गले हुँदै मुदीको खिबाङमा पुगेर माथिल्लो पश्चिम धौलागिरि पदमार्गमा जोडिन्छन् । यस पदमार्गमा हालै म्याग्दी उद्योग वाणिज्य सङ्घले सञ्चालनमा ल्याएको धौलागिरि सेन्चुरी पदमार्ग हुँदै भ्रमणमा पुगेका पर्यटकलाई समेत कुइनेमङ्गले हुँदै पश्चिम धौलागिरि पदमार्गको भ्रमणमा लैजान सकिने सम्भावना रहेको छ । धेरै पहिले म्याग्दीको गुर्जाका सर्वसाधारण रुकुम र डोल्पा आवतजावत गर्ने गरेको आधारमा त्यसै रुटमा थप अनुसन्धान र स्थलगत अवलोकन गरी उक्त पदमार्गको पहिचान गरिएको हो । चार वर्षको अध्ययन अनुसन्धानबाट पहिचान गरिएको यस पश्चिम धौलागिरि पदमार्गलाई मुख्यतः उचाइका आधारमा तीन चरणमा विभाजन गरिएको छ । माथिल्लो भेगलाई समावेश गरिएको टे«कले उच्च हिमाली क्षेत्र र हिमालका आधार शिविरहरुलाई छोइएको छ भने तल्लो भेगलाई समावेश गरिएको ट्रेकलाई पहाडि भूगोल र हिमालको दृश्यावलोकन गर्न सकिने गरी नक्साङ्कन गरिएको छ । पुथा र चुरेन हिमाललाई समेटिएको पदमार्गलाई माथिल्लो पश्चिम धौलागिरि नामाकरण गरिएको छ । यो पदमार्गको सुरुवात विन्दु म्याग्दीको गुर्जा पुगेर त्यहाँबाट चुरेन र पुथा हिमालको बेस क्याम्प पुगेर त्यहाँबाट इच्छाअनुसार डोल्पा, रुकुम र ढोरपाटन आरक्ष क्षेत्रमा पुगेर पदयात्रा अन्त्य गर्न सकिने पर्वतारोही खत्रीले बताउनुभयो । त्यसैगरी तल्लो धौलागिरि ट्रेकमा दरबाङ, मुना, लुलाङ हुँदै गुर्जा पुगेर एकराते, फलियाघर, रुकुमको वारमीपारमी, दोगाडी खोला, मैकोट अथवा सिस्ने बस्ती हँुदै स्यार्पू तालमा पुगेर यात्रा टुङ्गिने गरी नक्साङ्कन गरिएको छ । चौथो विकल्पका रुपमा पहिचान गरिएको ढोरपाटन कल्चरल ट्रेकअन्तर्गत गुर्जा हँुदै गुर्जाघाट, रुघाचौर, मैकोट, रन्मा, अर्जल हुँदै सिस्नेको चारगाउँ निस्कने गरी पदमार्गको पहिचान गरिएको छ । ‘‘धेरै वर्ष पहिले गुर्जाका स्थानीय बासिन्दाले नुन लिनका लागि प्रयोग गरेको गुर्जा–डोल्पा पैदल मार्गलाई नै आधार बनाएर दुवैतर्फका हिमाली भूगोललाई समोश गरी पश्चिम धौलागिरि पदमार्ग पहिचान गरिएको हो” – खत्रीले भन्नुभयो । पदमार्गमा मनोरम हिमशृङ्खला, थरिथरिका जङ्गली फूल, जडीबुटी, चराचुरुङ्गी, हिमाली र जङ्गली जनावर, प्राकृतिक भू–बनोट प्रमुख आकर्षण रहेका छन् भने क्षेत्री, दलित, मगर र छन्त्याल समुदायको मौलिक कला संस्कृतिसमेत थप आकर्षण हुनेछन् । सडक सञ्जालले नछोएको र भविष्यमा समेत प्रत्यक्ष प्रभाव पार्न नसक्ने गरी पहिचान गरिएको पदमार्ग भएकाले प्राकृतिक सौन्दर्यतामा रमाउन खोज्ने पर्यटकका लागि यो पदमार्ग उत्तम मानिने छन्त्यालको दाबी छ । कालीगण्डकीदेखि पश्चिम भेगमा रहेका हिमाललाई एकीकृत रुपमा प्रचारप्रसार गर्ने लक्ष्यसहित एकीकृत रुपमै पदमार्गको पहिचान गरिएको उहाँले बताउनुभयो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका साथै उत्तरगङ्गा करिडोर बन्न सक्योे भने यस क्षेत्रको पर्यटन विकास हुने उहाँको विश्वास छ ।