निर्वाचन आचारसंहिताबारे संचारमाध्यमहरुबीच छलफल
काठमाडौं, वैशाख १९ । राजधानीमा स्थानीय तहको निर्वाचन आचारसंहिताको अनुगमन गर्ने सम्वन्धमा वृहत छलफल भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना गरेको उक्त छलफलमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सार्वजनिक सम्पत्ति तथा स्रोतसाधनको दुरुपयोग गर्ने प्रबृत्तिलाई निरुत्साहित पार्दै निर्वाचनलाई स्वच्छ, निश्पक्षरुपमा सम्पन्न गर्न प्रभावकारी अनुगमन र निगरानी गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
पूर्व प्र.नि.आ.उप्रेतीले देशभरका मिडिया खासगरी एफएम रेडियो तथा अनलाइनतर्फ काउन्सिल केन्द्रीत भई अनुगमन गरी गल्ती गर्ने र पीडित पक्ष दुवैलाई ठीक लाग्नेगरी कारवाही थाल्नुपर्ने, महिला, दलित र पिछडिएका वर्गको प्रतिनिधित्व हुनैपर्ने संविधानिक सुनिश्चिताले उम्मेदवारको ब्यक्तिगत चरित्र हत्या, लाञ्छना, भेदभाव हुनेगरी प्रकाशन÷प्रसारण हुन सक्नेतर्फ सचेत गराएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले मिडिया कोही कसैप्रति पूर्वाग्रही नहुन र सन्तुलन कायम राख्न मिडियाले जोड दिएका थिए ।
तस्विर रिपोर्ट : महेन्द्रराज सिंह, काठमाडौं
महानगर प्रमुखमा ज्ञवाली एमाले उम्मेदवार
चितवन, वैशाख १९ । नेकपा (एमाले) ले भरतपुर महानगरको प्रमुख पदमा पार्टीका केन्द्रीय सल्लाहकार देवी ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेको सोमबारको बैठकले भरतपुर महानगरको प्रमुखमा केन्द्रीय सल्लाहकार ज्ञवाली र उपप्रमुखमा चितवन जिल्ला कमिटी सदस्य दिव्य आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले जानकारी दिनुभयो । यसअघि गत वैशाख ९ गते एमाले चितवनले प्रमुखका लागि नेताहरु विजय सुवेदी, देवी ज्ञवाली, केशवलाल श्रेष्ठ तथा उमा कार्कीको नाम केन्द्रमा पठाएको थियो । ज्ञवाली पार्टीका केन्द्रीय सल्लाहकार, सुवेदी प्रदेश सदस्य हुनुहुन्छ भने श्रेष्ठ पूर्वमन्त्री भइसक्नुभएका नेता हुनुहुन्छ । विसं २०६४ को संविधानसभा निर्वाचनमा ज्ञवाली र सुवेदी दुवैजना उम्मेदवार हुनुभएको थियो । देवी ज्ञवालीसँग विगतको उपप्रमुख बनेको अनुभव छ । यसअघि एमालेले चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा संस्थापक नगरप्रमुख नारायण वन र उपप्रमुखमा विमला दुवाडीको टुङ्गो लगाइसकेको छ । यस्तै, खैरहनी नगरपालिकाको प्रमुखमा पूर्वसांसद लालमणि चौधरी र उपप्रमुखमा सुनिता थपलिया, राप्तीमा प्रभा बराल र इमानसिंह लामा, कालिकामा खुमनारायण श्रेष्ठ तथा कमला भट्टराई प्रमुख र उपप्रमुख उठाउने निर्णय गरेको छ । यसैगरी माडी नगरपालिकामा नादरमणि पौडेल र ताराकाजी महतोलाई उम्मेदवार बनाएको जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । यस्तै, ईच्छाकामना गाउँपालिकाको अध्यक्षमा नारायण अधिकारी र उपाध्यक्षमा जुनाराज भण्डारीलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ । नाम टुङ्गो लागेका उम्मेदवारहरु अहिले भोट माग्नमा व्यस्त छन् । माओवादी केन्द्रले भने भरतपुर महानगरमा रेणु दाहाललाई प्रमुखको उम्मेदवार छानेको छ ।
बाह्रै महिना गर्मी नहुने जेफाले: पर्यटकलाई आकर्षणको केन्द्र
मोरङ, वैशाख १९ । मोरङ भन्नासाथ आमनेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मस्तिष्कमा उपस्थित हुन्छ । त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य, शिक्षा र सडकको पहुँच पुगेको छैनभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर उत्तरी मोरङको विकट पहाडी गाउँ सिंहदेवीका अधिकांश गाउँमा ६ महिना मात्र सडकको पहुँच पुग्छ । सडक, सञ्चार र सुरक्षाको व्यवस्था नभए पनि आन्तरिक र बाह्य पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ – उत्तरी मोरङको सिंहदेवी–५ स्थित जेफाले सामुदायिक होमस्टे । होमस्टेका लागि सुविधासम्पन्न पाँचवटा घर र सम्पूर्ण पूर्वाधार तयार भएपनि त्यहाँसम्म पुग्ने सडक, सञ्चार र सुरक्षाको व्यवस्था नहुँदा जेफाले ओझेलमा परेको हो । धनकुटाको भेडेटार र नाम्जेलाई बिर्साउने जेफाले सुगम जिल्लाको दुर्गम गाउँमा भएपनि यतिबेला पूर्वमा पहिलो रोजाइको गन्तव्य भएको छ । जेफालेमा निर्माण गरिएको भ्यू टावरबाट पूर्वाञ्चलका १६ वटै जिल्लाको अवलोकन गर्न सकिन्छ । त्यति मात्र होइन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण जेफालेबाट सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमाल पनि देख्न सकिन्छ । आकाश खुलेको बेला तराईका फाँटिला जग्गा, गाउँ सहरको मनोरम दृश्य देखिने जेफालेको भ्युटावर समुन्द्र सतहदेखि एकहजार नौसय ७० मिटरको उचाइमा रहेको छ । जिल्ला समन्वय समिति मोरङको रु ३६ लाख ५० हजार, धनकुटा जिविसको रु पाँच लाख, विराट पर्यटन केन्द्र, काँकडभिट्टाको रु २१ लाख र स्थानीयवासीको रु आठ लाख बराबरको जनश्रमदान गरी कुल रु ७० लाखमा भ्युटावरको निर्माण गरिएको हो । सिंहदेवीको बिहीबारे बजारबाट तीनसय मिटर उत्तर पुगेर एक हजारवटा सिँढी चढेपछि भ्युटावर पुगिन्छ । चारतले भ्युटावर बनेपछि सूर्योदय, सूर्यास्त, हिमाल, पहाड र तराईको दृश्यावलोकन गर्न आन्तरिक पर्यटक आउन थालेको जेफाले पर्यटन विकास समितिका सदस्य भीम ठकुरीले बताउनुभयो । धेरै सम्भावना हुँदाहुँदै पनि त्यहाँसम्म पुग्ने सजिलो मोटर बाटो, प्रहरी सुरक्षा र सञ्चारको व्यवस्था नहुँदा त्यहाँ पुगेका पर्यटकलाई असजिलो हुने गरेको छ । स्थानीयवासी मनोज अधिकारी भन्नुहुन्छ, “सञ्चारका लागि टेलिफोनको टावर, एउटा प्रहरी पोष्ट र सडकको व्यवस्था सरकारले गरिदिए जेफालेको पर्यटन प्रवद्र्धन आफैँ हुन्छ ।” पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको कोसीहरैचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्छ । छिनभरमा घाम झुलुक्क देखिन्छ अनि छिनभरमै पानी पर्न थाल्छ । बाह्रै महिना गर्मी नहुने जेफालेको मुख्य विशेषता नै चिसो मौसम भएको सदस्य ठकुरीले बताउनुभयो । भ्युटावरको दक्षिण पश्चिममा पाथिभरा देवीको मन्दिर रहेको छ जसले धार्मिक पर्यटकलाई पनि आकर्षित गर्ने स्थानीयवासी युवराज खड्काको भनाइ छ । जेफाले क्षेत्रमा मृग, हरिण, बँदेल, खरायो, लोखर्केजस्ता जङ्गली जनावर हेर्न पाइन्छ । जेफाले सामुदायिक वनले सो क्षेत्रमा सिकार गर्न बन्देज लगाएपछि जङ्गली जनावर, कालिजलगायत चराचुरुङ्गीले जेफालेको सुन्दरता अझ बढाएका छन् । छिनछिनमा कुहिरोले छोप्ने अनि छिनभरमा उघ्रने, पानी पर्ने, घाम देखिने जेफालेको मुख्य आकर्षण यति मात्र होइन । शान्त वातावरणमा उत्तरतर्फ बाह्रै महिना हरियो देखिने जङ्गलको थुम्कोमा भ्युटावर छ, त्यही डाँडाको काखमा जिल्लाको एक मात्र मातृभूमि चिया बगान बसेको छ । जेफाले वरिपरिका कुनै पनि डाँडा रुखो छैनन् । अदुवा, अलैँची, अम्लिसो र चियाले भरिभराउ भएका डाँडा साँच्चिकै लोभलाग्दा देखिन्छन् । जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ । त्यहाँको प्राकृतिक सुन्दरता, वातावरणीय आनन्द तथा जेफाले डाँडाबाट देखिने दृश्यको प्रचार हुन सके बाह्य पर्यटकलाई समेत आकर्षण गर्न सकिने होमस्टे सञ्चालक उमा ठकुरीले बताउनुभयो । जेफालेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउन सक्ने व्यवस्था मिलाइएको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीले बताउनुभयो ।
पन्ध्र थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ
झापा, वैशाख १९ । झापाको मेचीनगर नगरपालिका–६ बाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको दार्जिलिङ जिल्ला खोरीबारी थाना गौरसिंहजोर–६ निवासी ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्परसहित सोमबार राति पक्राउ परेका हुन् । पूर्वी नाका काँकडभिट्टा भएर नेपालतर्फ आउँदै गरेका उनलाई चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मानव खप्परसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापाका २८सामुदायिक विद्यालयमा प्रयोगशाला
झापा, वैशाख १९ । झापाका २८ वटा सामुदायिक विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी प्रयोगशाला निर्माण गरिने भएको छ । शिक्षा मन्त्रालयले प्रयोगशाला निर्माणका लागि रु ४२ लाख प्रदान गरेसँगै झापाका २८ वटा सामुदायिक विद्यालयमा प्रयोगशाला निर्माण गर्न लागेको जिल्ला शिक्षा कार्यालय झापाका सूचना अधिकारी युवराज पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार प्रत्येक विद्यालयलाई रु एक लाख ५० हजारका दरले प्रयोगशाला निर्माणका लागि रकम प्रदान गरिनेछ । जिल्लास्तरीय प्राविधिक समितिका संयोजक उद्धव विष्टको अध्यक्षतामा बसेको बैठकले जिल्लाका २८ वटा विद्यालयलाई प्रयोगशाला निर्माणका लागि छनौट गरेको र रकम प्रदान गर्ने तयारी भइरहेको बताइएको छ । विद्यालयमा प्रयोगशाला निर्माण भएसँगै विज्ञान, गणित र अङ्ग्रेजी विषय पढ्ने विद्यार्थीका लागि सहज हुने बताइएको छ । झापाका खजुरगाछी मावि, खजुरगाछी, शान्ति आदर्श मावि शान्तिनगर, आदर्श मावि बुधबारे, भानु मावि शिवसताक्षी, बालकल्याण मावि मेचीनगर, सरस्वती मावि बाहुनडाँगी, सरस्वती मावि सुरुङ्गा, मोति मावि गौरादह, पथरिया मावि पथरिया, भानु मावि अर्जुनधारा, वीरअमरसिंह मावि चारपाने, पञ्चरत्न मावि जलथल, प्रगति मावि जुरोपानी, सहिद दशरथ चन्द्र मावि चारआली, वर्ने मावि शान्तिनगर, भृकुटी मावि कनकाई, वाणी मावि लखनपुर, ज्योति मावि तोपगाछी र जनता मावि बाहुनडाँगीलाई रकम प्रदान गरिने भएको छ । त्यस्तै, अर्जुनधारा संस्कृत मावि अर्जुनधारा, भगवती मावि शिवसताक्षी, नरेन्द्र जनता मावि तोपगाछी, त्रिभुवन मावि बुधबारे, मोहनमाया मावि बिर्तामोड, भानु मावि धरमपुर, फूलबारी मावि चकचकी, पञ्चरत्न मावि चारपाने र अरनिको मावि भद्रपुरलाई पनि रकम प्रदान गरिने भएको छ । सबै विद्यालयमा यसै शैक्षिकसत्रभित्र सुविधासम्पन्न विज्ञान, गणित र अङ्ग्रेजी प्रयोगशाला निर्माण गरिसक्ने जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले जानकारी दिनुभयो ।
यार्सागुम्बा व्यवस्थापन गर्न निर्देशिका जारी
काठमाडौँ, वैशाख १९। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्सागुम्बालाई व्यवस्थित गर्न ‘यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका–२०७३’ जारी गरेको छ । हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीलाई व्यवस्थित गराउनका लागि विभागको अग्रसरतामा वन तथा भूसंरक्षण मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका जारी गरिएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए। यार्सागुम्बा पाइने संरक्षित क्षेत्रमा कञ्चनजङ्गा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्ष, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र अपी नाम्पा वन्यजन्तु आरक्ष क्षेत्र रहेका छन् । निर्देशिकामा यार्सागुम्बा टिप्नका लागि संरक्षित क्षेत्रभित्रका जनतालाई रु पाँच सय, संरक्षित क्षेत्र बाहिरका सोही जिल्लाका व्यक्तिलाई रु एक हजार र जिल्ला बाहिरकालाई रु दुई हजार राजस्व तिनुपर्ने निर्देशिकामा उल्लेख छ । जेठको दोस्रो हप्तादेखि असार मसान्तसम्म पाइने यार्सागुम्बा टिप्नका लागि १६ वर्ष नाघेका व्यक्तिलाई मात्र स्वीकृति दिइएको छ भने सङ्कलन भएको यार्सागुम्बा बिक्री–वितरणका लागि सम्बन्धित कार्यालयको अनुमति लिनुपर्ने निर्देशिकामा जनाइएको छ ।
रूखले छेक्यो पेट्रोल पाइपलाइन
काठमाडौं, बैशाख १९ । पेट्रोलियम पाइपलाइनमा पर्ने रूख काट्न वन मन्त्रालयले स्वीकृति नदिँदा रक्सौल-अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण लम्बिने भएको छ। राष्ट्रिय प्राथमिकताको पाइपलाइन परियोजनाको बिचमा पर्ने करिब १३ हजार रूख काट्न नेपाल आयल निगमले आपूर्ति मन्त्रालयमार्फत वन मन्बालयमा प्रस्ताव पठाएको नागरिक दैनिकमा खबर छ। आपूर्तिले फाष्ट ट्रयाकबाट रूख काट्न अनुरोध गरे पनि वन मन्त्रालयले फेरि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ननिर्देशन दिएपछि थप डेढ वर्ष लम्बिने संकेत देखिएको छ।
राजपाको सरकारलाई फेरि समर्थन
काठमाडौं, बैशाख १९ । राष्ट्रिय जनता पार्टीले ‘बदलिँदो परिस्थितिको आँकलन गर्दै’ सरकारलाई समर्थन गर्ने भएको छ। राजपाको सोमबार राजधानीमा बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधन विधेयक परिमार्जन गर्न सरकार फेरि तयार भएको तथा सप्तरी घटनाका सहिद परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचारलगायत त्यसअघि गिरफ्तारलाई रिहाई आदिका लागि सहमत भएकाले यसअघिको समर्थन फिर्ताको निर्णय पुनर्विचार गर्ने निर्णय गरेको आजको कान्तिपुरमा खबर छ । राप्रपाको बहिर्गमनसँगै सरकारलाई संविधान संशोधनको लक्ष्यमा पुग्न बाधा अड्चन आउन सक्ने सम्भावना आँकलन गर्दै बैठकले सरकारलाई संसदमा विश्वासको मत आवश्यक परे सघाउने समेत निर्णय गरेको हो। बैठकले प्रधानन्यायाधीश सुशीला कार्की प्रकरणलाई चासोका विषय नबनाउने, संविधान संशोधनमै केन्द्रित हुने निर्णय पनि गरेको नेता सरतसिंह भण्डारीले बताए।
माओवादी केन्द्रबाट काठमाडौं महानगरकाे मेयरमा सर्वोत्तम डंगोलको उमेरदवारी
काठमाडौं, बैशाख १९ । नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरपालिकामा सर्वोत्तम डंगोललाई मेयरको उमेदवार बनाएको छ । माओवादी केन्द्रले उपमेयरमा सुशीला पौडेललाई उमेदवार बनाएको जनाएको छ । कांग्रेस, एमाले लगायतका दलले भने अहिलेसम्म उमेदवार टुंगो लगाउन सकेका छैनन् ।
विद्युत खरिद सम्झौता (पीपीए) छुट्टै गर्ने निर्णय
काठमाडौं, बैशाख १९ । नेपाल विद्युत प्राधिकरणले एक घण्टादेखि माथको अर्धजलाशय (पिकिङ रन अफ दि रिभर) आयोजनाका लागि छुट्टै विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ। उर्जा मन्त्रालयले तोकोको अर्धजलाशयको पीपीए दरमा ४ देखि ६ घण्टामा पिकिङ दिनसक्ने आयोजनालाई मात्र दिने गरी दर तोकेकोमा मन्त्रालयसँग समन्वय गरी प्राधिकरण सञ्चालक समितिको ७५१ औं बैठकले एक घण्टादेखिकै दर निर्धारण गर्ने निर्णय गरेको आजको कारोबारमा खबर छ। अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने प्रर्वधक कम्पनीहरुले १ देखि २ घण्टासम्म पिकिङ दिने आयोजनालाई प्रतियुनिट ८.५० रुपैयाँ, २ देखि ३ घण्टाको प्रतियुनिट ८.८०, ३ देखि ४ घण्टाको ९.४० तथा ४ देखि ६ घण्टाको प्रतियुनिट १०.५५ रुपैयाँ पाउनेछन् ।
महाभियोग प्रस्ताव फिर्ता लिन पूर्वप्रधानन्यायाधीशको आग्रह
काठमाडौँ, वैशाख १८ । पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले आज संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक मूल्यमान्यताको जगेर्ना तथा स्वतन्त्र र सक्षम न्यायपालिकाको संस्थागत विकासका लागि महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन आह्वान गरिएको छ । संविधान प्रतिकूल कामकारबाही गरेको भनी अभियोग लगाउनुपर्ने उचित र पर्याप्त कारण देखिएको अवस्थामा पनि अत्यन्त सावधानीपूर्वक विशेष संवेदनशील भएर प्रक्रिया अपनाएको अनुभूति नभएको उल्लेख गर्दै विज्ञप्तिमा कानुनी राज्य र प्रजातन्त्रको संरक्षणका लागि नेपाली जनताको बृहत्तर हितलाई सर्वोपरि महत्व दिई राज्यका अङ्गबीच अनावश्यक प्रतिस्पर्धात्मक सोच नभएर सहकारिताको भावना उद्बोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “जनताको हकअधिकार संरक्षण गर्ने कार्यमा न्यायपालिका निरीह बन्यो भने प्रजातन्त्र कमजोर हुन्छ, राजनीतिक तहमा देखिएका यस प्रकारका क्रियाकलापबाट स्वतन्त्र, निष्पक्ष र स्वच्छ तवरले न्याय सम्पान गर्ने वातावरण बिथोलिने कुरा निश्चित नै छ ।” निहित राजनीतिक स्वार्थ पूरा गर्ने अभिप्रायले प्रस्ताव ल्याइएको महसुस भएको तथा अस्पष्ट र निराधार आरोपका आधारमा प्रक्रिया अगाडि बढाउँदा न्यायपालिकाप्रतिको जनआस्था खल्बलिने, कानुनी राज्य धराशायी हुने र प्रजातन्त्र नै विशृङ्खलित हुने स्थिति आउने कुरा पनि विज्ञप्तिमा औँल्याइएको छ । प्रस्ताव फिर्ताको माग गर्दै आन्दोलन अनेरास्ववियुले प्रधानन्यायशीश सुशीला कार्कीमाथि लगाइएको महााभियोग प्रस्ताव फिर्ताको माग गर्दै आन्दोलन घोषणा गरेको छ । सङ्गठनको सचिवालय बैठकले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भएको भन्दै प्रस्ताव फिर्ताको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिइन् । प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्न माग गर्दैै आज नागरिक समाज सञ्जालले पनि माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।
काँग्रेस पार्टी कार्यालयमा तोडफोड
रसुवा, वैशाख १८ । स्थानीय तहको निर्वाचनको विवादका कारण नेपाली काँग्रेस रसुवाको कार्यालयमा तोडफोड भएको छ । निर्वाचनको मनोनयपत्रको विवादका कारण हाकुका महिलाले नेपाली कांग्रेसको कार्यालय तथा स्थानीय नेता नेता चढेको गाडी तोडफोडमा समेत तोडफोड गरिदिएका हुन् । काँग्रेस रसुवाका नेता लामाकार्पु तामाङ चढेको जिपमा ढुङ्गा प्रहार गर्नाका साथै पार्टी फर्निचर र कागजपत्र फालेर कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट तामाङ चढेको गाडीको सिसा फुटेका छन् भने अन्य केही क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार तोडफोडमा संलग्न पाँच महिलालाई नियन्त्रणमा लिई छानबिन भइरहेको छ । पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन । पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा हाकुका साङतेम्बा तामाङले टिकट नपाएको झोकमा सो घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।
निर्वाचनमा सुरक्षाका लागि प्रहरी थप गरिने
काठमाडौ, वैशाख १८ । वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनमा शान्ति सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा गरी हालसम्म करिब चार हजार नौ सय प्रहरी तथा दुई सय २० सवारी साधन परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी कार्यालय विराटनगर तथा दिपायल, प्रहरी युक्ति महाविद्यालय जर्गाह र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट गरी प्रदेश नं ३, ४ र ६ मा पर्ने जिल्लामा चार हजार आठ सय ८७ प्रहरी थप मद्दतका लागि खटाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । गोरखामा पाँच सय ५५, बाग्लुङमा १०, नुवाकोटमा छसय १४, पर्वतमा २५, काभ्रेपलाञ्चोकमा छ सय ५१, सिन्धुपाल्चोकमा चार सय ५१, स्याङ्जामा ७०, म्याग्दीमा १२, धादिङमा तीन सय १३, लमजुङमा ८१, कास्कीमा ४०, चितवनमा ८१, तनहँुमा ८९, मकवानपुरमा ८०, रसुवामा १४, सुर्खेतमा तीन सय ९३, नवलपरासीमा पाँच, सिन्धुलीमा एक सय ३०, दोलखामा एक सय ८६, रामेछापमा एक सय २४, दैलेखमा एक सय ४२, कालीकोटमा एक सय १२, जुम्लामा २६, जाजरकोटमा ७२, सल्यानमा चार सय २५ र रुकुममा ५७ प्रहरी परिचालन गरिएको हो । निर्वाचनको घोषणा भएपछि प्रहरी प्रधान कार्यालयले केन्द्रमा केन्द्रीय निर्वाचन समन्वय कक्ष स्थापना गरी प्रहरी परिचालन गर्दै आएको छ । उक्त प्रदेशमा २२ हजार ६ सय १५ प्रहरी कर्मचारी तथा २२ हजार छ सय ९९ म्यादी प्रहरी खटाउने नीतिअनुरुप आवश्यकतानुसार थप खटाइँदै आएको उक्त कक्षले जनाएको छ ।
चार लाख बढी बक्यौता रकम असुल
बैतडी, वैशाख १८ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले समयमै विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटन थालेपछि रु चार लाखभन्दा बढी बक्यौता रकम असुल भएको छ । उक्त केन्द्रले तीन महिना वा सोभन्दा बढी विद्युत् महसुल नतिरेका कारण गत चैत २८ गतेदेखि हालसम्म ३० ग्राहकको लाइन काटेको हो । लाइन काटिएकामध्ये २३ जनाले विद्युत् महसुल बुझाएका र उनीहरुबाट रु चार लाख १५ हजार ६३३ बक्यौता रकम असुल गरिएको वितरण केन्द्रका लेखापाल उत्तम रेग्मीले जानकारी दिनुभयो । लाइन काटिनेमा सरकारी कार्यालय, निजी संस्था, गैरसरकारी संस्था, उद्योगधन्दालगायत छन् । विद्युत् महसुल तिर्न बाँकी रहेका ग्राहकको लाइन काटिने भएकाले समयमै विद्युत् महसुल तिर्न पनि वितरण केन्द्रले सबैमा आग्रह गरेको छ ।
जसले विदेशमा कमाए, स्वदेशमा जमाए
झापा, वैशाख १८ । झापा मेचीनगर नगरपालिका–९ का युवा डिल्लीराम उप्रेती स्वदेशमा रोजगारको कुनै विकल्प नभएपछि कतार जानुभयो। नौ वर्षको लामो कतार बसाइँबाट उहाँले राम्रै कमाउनुभयो । तर, विदेशमा मात्रै बसेर हुँदैन, स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो र स्वदेश फर्किनुभयो । “लामो समय विदेश बसेँ, राम्रै कमाइ पनि भयो, घरजग्गा जोडेँ, परिवारको पालन पोषणमा पनि राम्रो गरेँ”, उहाँले भन्नुभयो – “तर, पैसाले मात्रै कहाँ मन मान्दोरहेछ, स्वदेशको माया र यहाँको हावापानीले यहीँ कुनै इलम गरौँ सोचेर अहिले कृषि पेसा अँगालेको छु ।” विसं २०६९ मा रु एक लाख ५० हजारमा खरिद गरेको डी एन्ड डी प्लान्टेक फार्ममा हाल रु एक करोडभन्दा बढी लगानी भइसकेको उप्रेतीले बताउनुभयो । होटल म्यानेजमेन्टमा क्याटरिङ कलेज अफ मुम्बाईबाट बिएचएम गर्नुभएका उहाँले कृषि व्यवसायबाटै आफ्नो पहिचानसहित मनग्य आम्दानी गरिरहनुभएको छ । मागुरमाडीस्थित उहाँको नर्सरी फार्म कुनै पर्यटकीय गन्तव्य नभइ देख्दा मनै लोभ्याउने आकर्षक कृषि उद्यम देख्न पाइन्छ । एक बिगाहा क्षेत्रफलमा कागती, तेजपत्तासहित मलेसियन साल, टिक, पाउलेनियालगायत विभिन्न २० प्रजातिका बोटबिरुवाको नर्सरी छन् । दुई लाख दाना कागती र करिब २५ हजार त्यसको बिरुवा बिक्री गर्नुभएका उप्रेतीले वार्षिक रु १२ देखि १५ लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँको फर्ममा कृषि फार्ममा चारजनाले रोजगारीसमेत पाएका छन् । उप्रेतीले नर्सरीसँगै गडँ्यौला मल उत्पादन, तरकारीखेती पनि गर्दै आउनुभएको छ । कृषिको अत्यन्तै ठूलो सम्भावना रहेको बताउँदै उहाँ भन्नुहुन्छ – “आफूसँग भएकै कुरालाई उपयोग गर्ने हो भने आम्दानीको धेरै स्रोत अपनाउन सकिन्छ ।” भर्खरै ४० मन जति काँक्रा बिक्री गरेँ, उप्रेतीले भन्नुभयो, “खेतीमा प्रविधि मिसाउने हो भने तीनगुणाभन्दा बढी प्रतिफल लिन सकिन्छ ।” झापासँगै छिमेकी जिल्ला मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङसम्म उप्रेतीले हुर्काएको बिरुवाको निर्यात भइरहेको छ । बिरुवा बेचिसकेपछि उहाँले प्राविधिक सहयोग पनि उपलब्ध गराउने गर्नुभएको छ । “दुई वर्षसम्म त्यसको रेखदेखको जिम्मा आफैँ लिन्छु”, उप्रेतीले भन्नुभयो – “त्यो बीचमा बिरुवा मरेमा अर्को बिरुवा उपलब्ध गराउने पनि गरिएको छ ।” वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार अहिले दैनिक एक हजार ५०० युवाले वैदेशिक रोजगारको बाटो रोज्ने गरेका छन् । कृषिलाई आधुनिकीकरण गर्न सके आम्दानीको दरिलो स्रोत खडा गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बन्नुभएको छ, डिल्लीराज उप्रेती ।
माटोको ढिस्कोले पुरिएर चारजनाको मृत्यु
सर्लाहीमा, वैशाख १७ । माटोको ढिस्कोेले पुरिएर सर्लाहीमा चारजनाको ज्यान गएको छ भने अन्य एकजना घाइते भएका छन् । घर पोत्ने माटो लिन गएका इश्वरपुर नगरपालिका–१४ को सागरनाथ जंगलमा गएका रामवतीदेवी, अभिषेकुमार महतो, अंशु कुमारी महतो र बवितादेवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ज्यान जाने चारै जना इश्वरपुर नगरपालिकाका हुन् । माटोको ढिस्कोले पुरेर घाइते भएकी रामरतीको जनकपुरमा उपचार भैरहेको छ ।