उच्चस्तरीय छानबिन टोली महोत्तरीमा

गौशाला, चैत १३ । पछिल्लो समयमा मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुबारे सोधपुछ तथा उजुरी सङ्कलन गर्न उच्चस्तरीय छानबिन आयोग टोली महोत्तरी आइपुगेको छ ।

तराई, मधेस र थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानबिन आयोग शनिबार यहाँ पुगेर काम थालेको हो र आइतबार पनि महोत्तरीका पीडितसँग सोधपुछ तथा उजुरी सङ्कलनका काम गर्ने छ ।

संविधान जारी हुनुपूर्व र जारी भएपछि मधेस तथा थरुहटमा भएका आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनी तथा मानवअधिकार हननका घटनाबारे जानकारी लिन, पीडित परिवारको समस्या बुझ्न तथा घटनास्थलको स्थलगत निरीक्षण गर्न अध्यक्ष लालसहित आयोगका सदस्य सूर्यप्रसाद कोइराला, नवराज ढकाल, सुखचन्द्र झा, सुजन लोकचनसहित आयोगका कर्मचारी अहिले महोत्तरी जिल्ला दौडाहामा छन् ।

शनिबारदेखि सुरु भएको स्थलगत निरीक्षण चैत १४ गतेसम्म जारी रहने तथा यस क्रममा महोत्तरीमा भएका मानव अधिकार हननसम्बन्धी घटनाको अध्ययन, प्रमाण तथा उजुरी सङ्कलन एवम् सरोकारवालासँग छलफल गरिने आयोगका अध्यक्ष गिरीशचन्द्र लालले बताउनुभयो ।

आयोगका अध्यक्ष लालका अनुसार आयोगमा अहिलेसम्म एक हजार ३०० उजुरी दर्ता भइसकेका छन् । सयौँ उजुरी अझै पनि दर्ता हुन बाँकी रहेको उहाँले स्वीकार गर्नुभयो ।

अन्तक्र्रियामा सहभागी सहिद परिवार, घाइते तथा मोर्चा सम्बद्ध राजनीतिक दलका नेताले आयोगको कामकाजबारे प्रश्न उठाएका थिए । दोषीमाथि कारबाही हुनुपर्ने माग पीडित परिवारले राखेका थिए ।

भक्तपुरमा मेयरका लागि उम्मेदवारको लर्को, प्रत्याशीहरुबाट भोट माग्न सुरु

भक्तपुर, १३ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरका नगरपालिकामा मेयरका लागि उम्मेदवारको लर्को लागेको छ । जिल्ला तहदेखि केन्द्रीय तहसम्मका नेताकहाँ आफूले टिकट पाउनु पर्ने दाबी गर्दै विभिन्न दलका नेताहरु धाउन थालेका छन् । जिल्लाका चारवटा नगरपालिकामध्ये भक्तपुर नगरपालिकाको तुलनामा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा मेयरको उम्मेदवार बन्ने नेताको लर्को लागेको हो । भक्तपुरका चारवटा नगरपालिकामा मेयरको दाबी गर्ने नेताको सङ्ख्या सबभन्दा धेरै नेपाली काँग्रेसमा छ । मध्यपुरथिमि नगरपालिकामा काँग्रेसबाट मेयरका लागि अष्टकुमार कवेँको बढी चर्चा छ । काँग्रेस जिल्ला सभापतिको प्रत्याशी उम्मेदवार समेत भइसकेका कवँे विगतमा काँग्रेस मध्यपुरथिमि नगर समिति सभापति भएर योगदान पु¥याएको व्यक्तिका रुपमा काँग्रेसभित्र चर्चा चलेको छ । यही नगरपालिकामा हालका नगर समिति सभापति सुरेन्द्र श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, मुरारी आचार्य, केदार खड्का र गोकुल शर्माले आफू पनि काँग्रेसको तर्फबाट मेयरको उम्मेदवार रहेको बताएका छन् । यता, नेकपा (एमाले)का भने युवा नेता एवम् एमाले नगर कमिटीका अध्यक्ष मदनसुन्दर श्रेष्ठले मात्रै मेयरको उम्मेदवारको दाबी गर्नुभएको छ । पार्टीले समेत श्रेष्ठलाई उम्मेदवारका लागि अगाडि सारेको छ । युवा एवम् जुझारु नेताको रुपमा एमालेभित्र चिनिने श्रेष्ठले चुनावी तयारी गर्दै मत माग्ने कार्य सुरु गर्नुभएको छ । सूर्यविनायक नगरपालिकामा भने काँग्रेसका तर्फबाट मेयरका लागि निशान ढुङ्गेल, विष्णुराज कार्की, राजु खड्का, नारायणभक्त खाय्मली र सुशील बस्नेतले आफूलाई मेयरको उम्मेदवार भएको दाबी गर्नुभएको छ । मेयरको टिकट पाउन यीमध्ये ढुङ्गेल, कार्की र खड्का सबभन्दा बढी दौडधूपमा लागेको बताइन्छ । काँग्रेसका तर्फबाट आफू एकमात्र उम्मेदवार भएको दाबी गर्ने ढुङ्गेल अरुले टिकट नपाउने बताउनुहुन्छ भने विगतमा अवसर नपाएका, पार्टीमा धेरै योगदान पु¥याएका र जनतासँग बढी भिजेकाले आफूले टिकट पाउने पक्का भएको खड्का गर्नुहुन्छ । एमालेका तर्फबाट यस नगरपालिकामा शशीजङ्ग थापा, वासुदेव खड्का, राजकुमार जोशी र किरण थापाले मेयरको प्रत्याशीका रुपमा देखापर्नुभएको छ । यद्यपि, थापा र खड्कामध्ये एकजनाले टिकट पाउने एमाले स्रोतको दाबी छ । एमाले नेता कार्यकर्ता भने टिकट दिँदा आजीवन एमालेमा योगदान पु¥याएका र जनतासँग नजिक भएका व्यक्तिलाई टिकट दिनुपर्ने धारणा राख्छन् । त्यसैगरी, चाँगुनारायण नगरपालिकामा मेयरका लागि काँग्रेसका तर्फबाट कृष्णलाल भँडेल, सरु बानियाँ, जीवन खत्री, शिवहरि केसी र यादव अधिकारीले आफूलाई उम्मेदवार भएको दाबी गर्नुभएको छ । यसमध्ये भँडेल र बानियाँको चर्चामा छन् । भँडेलले भोट माग्न थालिसक्नुभएको छ । यस नगरपालिकामा एमालेको तर्फबाट भने एमाले केन्द्रीय सदस्य सोम मिश्र, हरिशरण लामिछाने, रमेश बुढाथोकी, दामोदर दङ्गाल र श्रीभक्त कासिछ्वाको नाम चर्चामा छ । राप्रपाबाट भने सूर्यविनायक नगरपालिका मेयरका लागि रामहरि थापा, रामेश्वर थापा, लवकुमार कार्की र प्रवीण ढुङ्गेल, मध्यपुरथिमिमा नरगोविन्द शङ्खदेव, चाँगुनारायणमा राप्रपा केन्द्रीय सदस्यद्वय यवती कार्की, रवीन्द्रप्रताप शाह र धनबहादुर लामा, भक्तपुर नगरपालिकामा राजेन्द्रप्रसाद लाखाले दाबी गरिरहनु भएको छ । नेपाल मजदुर किसान पार्टीमा भने भक्तपुरमा चैत्यराज शाक्य, मध्यपुरथिमिमा रमेश थापा श्रेष्ठको नाम चर्चामा आएका छन् । पार्टीले यसबारे आन्तरिक तयारी सुरु गरेकाले एकैपटक नाम बाहिर आउने जनाएको छ । यता, माओवादी केन्द्र र मालेले भने पार्टी निर्वाचनको आन्तरिक तयारीमा जुटेको तर कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा छलफल र बहस सुरु नगरिसकेको बताएका छन् । रासस

ड्रोनमार्फत धरान विमानस्थलको सर्भे सुरु

धरानमा निर्माण हुन लागेको विमानस्थलको ड्रोनमार्फत सर्भे सुरु गरिएको छ । पहिले ट्विनअटरजस्ता सानो विमान मात्र उडान तथा अवतरण गर्ने विमानस्थल बनाउने भनिए पनि अहिले ४२ सिट क्षमतासम्मका विमान उडान तथा अवतरण हुने गरी विमानस्थल बनाउन लागिएको हो । नागरिक उड्डयन प्राधिकरणले सर्भेका लागि जिम्मा दिएको रियल पाथ इन्जिनियरिङ कन्सल्टेन्टले धरान–१७ डाँडाघोपास्थित विमानस्थल निर्माणस्थलको सर्भेको काम गरेको हो । धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाका अनुसार ड्रोन प्रयोग गरेर जग्गाको तस्बिर लिने तथा टोपोग्राफिक नक्सा तयार पार्ने काम हुनेछ । प्राधिकरणले खटाएका पाँचजना प्राविधिकको टोलीले शुक्रबार र शनिबार सर्भे गरेको उपमहानगरपालिकाका सूचना अधिकृत एवं विमानस्थल निर्माण परियोजनाका संयोजक भक्तिराज शर्माले बताए । प्राविधिक टोलीले सर्भेको प्रतिवेदन प्राधिकरणलाई बुझाउनेछ । ड्रोन प्रयोग गर्दा थोरै समयमा धेरै र विस्तृत तथ्यांक आउने उनको भनाइ छ । प्राविधिक टोलीका उत्सव गौतमले ७० हेक्टर जमिनको टोपोग्राफिक र थ्रिडी मोडल तयार पारेर बुझाइने बताए । पछिल्लो समय भने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सर्भेका लागि भनेर दुई करोड रुपैयाँ बजेट छुट्याएको छ । ड्रोनले जग्गा कति चाहिने, कस्तो बनाउनेलगायतको अध्ययन गर्नेछ । रन–वे कतिको हुने, कति क्षमताको जहाज उडान तथा अवतरण हुन सक्छ भन्नेबारे सर्भेबाट जानकारी पाइने प्राविधिकले बताएका छन् । मध्यम खालको विमान उडान तथा अवतरण गर्न सक्ने विमानस्थल बनाउन करिब ४० बिघा जमिन चाहिने बताइएको छ । धरान उपमहानगरपालिकाले केही दिनअघि मात्रै जग्गा उपलब्ध गराउने भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लिखित जानकारी गराएको छ । मन्त्रालयले जग्गा व्यवस्थापन भए विमानस्थल बनाउन कुनै समस्या नभएको जानकारी दिँदै आएको छ । १३ वर्षअघि निजी कम्पनी यति इन्कर्पोरेट प्रालिले ट्विनअटर उडान तथा अवतरण गराउने योजनाका साथ २४ जना स्थानीयबाट करिब ६ बिघा सात धुर जग्गा खरिद गरेको थियो । ०६० सालमै जग्गा खरिद गरिए पनि विमानस्थल निर्माण भने अगाडि बढ्न सकेको छैन । विमानस्थल निर्माण नहुँदा स्थानीयले जग्गा फिर्ता गर्न मागसमेत गर्दै आएका थिए । नया पत्रिकाबाट

क्यान्सरका कारण २ कैदीको मृत्यु

चितवन चैत १३ । भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ । यसरी मृत्यु हुनेमा सन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेल रहेको जेलर कमल काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गिरी फोक्सोको क्यान्सरबाट पीडित थिए । उपचार कै क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै थिए । विसं २०७० सालमा अदालतले उनलाई दोषी ठहर गर्दै २०८० साल माघ १८ गतेसम्मका लागि कैदको आदेश दिएको थियो । रामेछापमा कैद भुक्तान गरिरहेका उनलाई क्यान्सर रोग लागेपछि उपचारका लागि केही महिनाअघि चितवन ल्याइएको थियो । यसैगरी २०५४ फागुन १ गते जेल परेका ठगराजलाई २०७३ साल कात्तिक १ गते पाल्पा जेलबाट भरतपुर कारागारमा स्थानान्तरण गरिएको थियो । क्यान्सर रोगबाट पीडित पौडेलको शनिबार मृत्यु भएको भरतपुर कारागार प्रमुख कमलप्रसाद काफ्लेले जनाकारी दिनुभयो । पाँच वर्षको अवधिमा भरतपुर कारागारमा ३० जनाको मृत्यु भएको छ । रासस

मतदाता शिक्षाका लागि एक्काइस हजार कार्यकर्ता तयार गरिने

(प्रकाश सिलवाल) काठमाडौँ, चैत १२ । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशका आठ स्थानमा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत कुल २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने भएको छ । स्थानीय सरकारको नयाँ संरचना, समावेशी पद सङ्ख्यासहितको मतपत्रको ढाँचा र यसबारे आम जनतामा पर्याप्त जानकारी नहुँदा मतदाता शिक्षामा चुनौती देखिएको बेला आयोगले सो मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । झन्डै दुई दशकपछि हुन लागेको आगामी वैशाख ३१ मा हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारका रुपमा महिला सहभागिता ४० प्रतिशत हुने भएकाले आयोगले महिला केन्द्रित मतदाता शिक्षा कार्यक्रम अघि सारेको छ । स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदाता शिक्षित र सुसूचित हुनुपर्नेमा सचेत रहँदै आयोगले आज ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सुरु गरेको छ । प्रशिक्षण कार्यक्रम विराटनगर, सिन्धुली, हेटौँडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा एकैपटक सुरु भएको छ । मतदाता शिक्षामा महिला, दलित, सीमान्तकृत समूहबाट हुने उम्मेदवारी छनोट, उम्मेदवारी दर्तादेखि मतदानसम्मका कार्यका विषय समावेश छन् । प्रशिक्षकले ७४४ स्थानीय तहमा रहने अनुमानित २१ हजार मतदान केन्द्रमा खटिने मतदाता शिक्षा कार्यकर्तालाई जिल्लास्तरमा प्रशिक्षण दिनेछन् । जिल्लास्तरमा प्रशिक्षित मतदाता शिक्षा कार्यकर्ताले एक महिनासम्म मतदाताको घरघरमा गएर मतदाता शिक्षा प्रदान गर्ने निर्वाचन आयुक्त इला शर्माले जानकारी दिनुभयो । मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षित गर्न केन्द्रमा ३० जनालाई मुख्य प्रशिक्षक प्रशिक्षण तालिम दिइसकिएको छ । तीनसय ५० जनाले जिल्ला जिल्लामा गएर २१ हजार जना मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिएपछि उनीहरूलाई यही चैत २८ देखि एक महिनासम्म घरघरमा खटाइनेछ । जिल्ला निर्वाचन अधिकारी, सामुदायिक विद्यालयका सामाजिक शिक्षा अध्यापन गराउने माध्यमिक शिक्षक (महिला), जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति तथा जिल्ला समन्वय समितिका सामाजिक परिचालक गरी देशभरिका ३५४ जनालाई क्षेत्रीय प्रशिक्षक प्रशिक्षण दिइएको छ । गोदावरीमा आयोजित उक्त ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहालले संविधान जारी भएपछि नयाँ संरचनामा हुन लागेको स्थानीय तह निर्वाचनमा मतदाताका घरघरमा मतदाता शिक्षा कार्यकर्ता पु¥याउने बताउनुभयो । निर्वाचनमा समावेशीताको कोटा भएको तथा निर्वाचनमा भाग लिने दल र निर्वाचन चिह्न एवम् मतदान प्रक्रियाबारे मतदातालाई शिक्षित तुल्याउन आयोग लागेको हो । गाउँपालिका वा नगरपालिकाको वडा समितिका एकजना दलित महिलासहित दुई महिला वडा सदस्य हुनेछन् । आयोगले तालिमप्राप्त मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पुग्ने गरी खटाउने र यसका लागि ‘एक मतदान केन्द्र, एक मतदाता शिक्षा कार्यकर्ता’का लागि २१ हजार कर्मचारी परिचालन गर्नेछ । साथै, आमसञ्चार माध्यम एवम् सामाजिक सञ्जालबाट पनि निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश प्रकाशन तथा प्रसारण गरिनेछ । मतदाता शिक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्रीको उत्पादन गर्ने कार्य सुरु गरेको आयोगले नेपालमा बोलिने राष्ट्रभाषामध्ये १७ राष्ट्रभाषामा समेत मतदाता शिक्षा सामग्री तयारी गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । रासस

सगरमाथा चढ्नेहरु अब निगरानीमा

काठमाडौँ, चैत १२ । सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको सङ्ख्या बढ्न थालेपछि सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ (जिपिएस) सिस्टममार्फत ट्याकिङ (निगरानी) गर्ने भएको छ । यसअघि विभिन्न मुलुकका आरोहीले झुटो विवरण पेस गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिने प्रवृत्ति बढेपछि पर्यटन विभागले सरोकारवाला निकायसँग छलफल गरी जिपिएस प्रणाली सुरु गर्न लागेको हो । अघिल्लो वर्ष भारतीय एक दम्पतीले सगरमाथा चढेको भनेर नक्कली फोटो पेस गरेपछि विवादमा आएको थियो । अघिल्ला आरोहणमा कतिपय मुलुकका आरोहीले यस्ता विवरण पेस गरेको हुनसक्ने अनुमान गरिएको छ । त्यसो त, यसअघि पनि अप्रेटरहरुले जिपिएस प्रणाली लागू गरेका थिए तर यो प्रणाली लागू गरे पनि नगरे पनि विभागले वास्ता गरेका थिएन । अब भने विभागले जिपिएस प्रणालीलाई अनिवार्य गर्न लागेको छ । पाँच वर्षयता कतिपय अप्रेटरले यो प्रणाली प्रयोग गर्दै आएका थिए । सुरुमा परीक्षणका लागि प्रयोग गर्ने र सरोकारवालासँग छलफल गरी उपयुक्त मानिएमा अर्को सिजनबाट सबै आरोहीलाई अनिवार्य रुपमा निगरानी गर्ने योजना बनाइएको विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले राससलाई जानकारी दिनुभयो । उहाँकाअनुसार, सगरमाथा आरोहणको यो मौसम स्प्रिङ (वसन्त ऋतु) मा कतिपय आरोही दलमा यो प्रणाली परीक्षणका रुपमा प्रयोग गरिनेछ । “पहिला अप्रेटरले अलिअलि प्रयोग गरेका थिए, तर यसका मोडेल फरक भएकाले सामान्यखालका मात्र प्रयोगमा थिए, अब यो जिपिएस डिभाइस आरोहीले खल्तीमा लिएर जान्छन् र आरोहणबाट फर्केपछि आरोहण प्रतिवेदनसँगै यो डिभाइस बुझाउनुपर्छ, त्यसपछि विभागले मेसिनमा अध्ययन गरी आरोहण टोली नेताको प्रतिवेदनअनुरुप मेसिनले देखाएमा मात्र आधिकारिक हुन्छ” – उहाँले भन्नुभयो । समान्यतः यस्ता डिभाइसको रु ३० हजार र रिडरको रु ६० हजार पर्छ । यो डिभाइसले आरोहीले कुन रुट प्रयोग गरेको छ, कति उचाइमा पुगे र कतिदिनमा आरोहण गरेर फर्किए भन्ने सबै विवरण राख्ने भएकाले यसबाट आधिकारिकता प्रदान गर्न विभागलाई सजिलो हुनुका साथै आरोहण सुरक्षाको सुनिश्चितता हुने विभागको बुझाइ छ । निमित्त निर्देशक ढकालले यस्तो प्रविधि अन्य विकसित देशहरुले पहिलादेखि नै प्रयोग गर्दै आएको र पर्यटन व्यवसायलाई विश्व्यापी रुपमा एकरुपतामा ल्याउन तथा गलत प्रवृत्तिलाई रोक्न यो प्रणालीको आवश्यकता देखिएको बताउनुभयो । जिपिएस निगरानी प्रणालीका लागि एउटा मोबाइल आकारको डिभाइस हुन्छ जसलाई आरोही स्वयम्ले बोकेर लैजानुपर्छ । पर्यटन विभागले उक्त डिभाइसमा आरोहीको नाम, ठेगानालगायतका सम्पूर्ण विवरण भरेर आरोहीलाई दिन्छ । आरोहण सकिएपछि डिभाइस आरोहीले विभागलाई फिर्ता गर्नुपर्छ जसलाई अर्को छुट्टै मेसिनले रिड गरिन्छ । त्यसमा आरोहीले के गर्दैछ, कुन दिशाबाट आरोहण गरेको, कति उचाइमा पुगेको लगायतका विस्तृत विवरण रेकर्ड भएको हुन्छ । त्यसका आधारमा आरोहण सफल भए नभएको पत्ता लगाउन सकिन्छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङछिरिङ शेर्पाले विगत पाँच वर्षदेखि अप्रेटरले जिपिएस प्रणाली चलाएको भए पनि प्रभावकारी नहुँदा अहिले पर्यटन विभागले अनिवार्य गर्न लागेको बताउनुभयो । यो प्रणालीले आरोहण क्षेत्रलाई सुरक्षित बनाउनुका साथै कुनै पनि घटना र विपत्को खण्डमा तत्कालै उद्धार गर्न सकिने उहाँले बताउनुभयो । अध्यक्ष शेर्पाले भन्नुभयो – “आरोहणमा आरोहीले ढाँट्नु हुन्न भन्ने नैतिकता हो तर कतिपयले ढाँट्ने गरेका छन्, कतिपय आरोही एक्लो हुने भएकाले पनि यस्ता घटना हुन्छन् तर जिपिएस लगेपछि कसैले ढाँट्न पाउँदैन ।” पहिला अरुले चलाए पनि हुन्थ्यो, नचलाए पनि हुन्थ्यो । यो प्रणालीबाट अब कोही आरोहीले ढाँट्न र झुटो विवरण पेस गर्न पाउँदैन, यसमा जहाँसुकै बसेर कम्प्युटरबाट आरोहीका सबै प्रकारका गतिविधिलाई सहजै निगरानी गर्न सकिन्छ । हिमाल आरोहणका क्रममा आरोही सही दिशामा गएको छ कि छैन या कुनै दुर्घटनामा परेको भए पनि यस यन्त्रमार्फत पत्ता लगाई उद्धार गर्न सहज हुनेछ । एनएमएको विवरणअनुसार हालसम्म सात हजार ७०० बढीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । व्यक्तिगत रुपमा मात्रै करिब चार हजारले आरोहण गरेका छन् । सबैभन्दा बढी २१ पटक आप्पा र फुर्वा टासी शेर्पाले सगरमाथाको आरोहण गरेका छन् । नेपालमा हाल पाँच हजार ८०० मिटर अग्ला ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएको छ । भूगर्भविद् स्व डा हर्क गुरुङको अध्ययन प्रतिवेदनअनुसार नौ लाख ५८ हजार मिटर अग्ला १७ हजार ९२ वटा हिमाल आरोहण योग्य छन् । एक हजार ३८९ हिमाल आरोहण खोल्न बाँकी छन् ।

खाडी रहेका नेपालीको अवस्था बुझ्न संसदहरु कतार पुगे

कतार, चैत १२ । नेपालबाट बैदेशिक रोजगारीमा खाडी पुगेका नेपालीहरुको अवस्था अध्ययन गर्न सांसदहरुको टोली कतार पुगेको छ । अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिका सभापती प्रभु शाहको नेतृत्वमा सांसदहरुको टोली साउदी अरब, कुबेतका नेपालीहरुसँग अन्तक्र्रिया सकेर शुक्रबार कतार पुगेको हो । कतारमा शाह सहितको टोलीमा कतारमा रहेका नेपालीहरुसँग छलफल गरेका छन् । समितिका सभापति शाहले नेपालबाट बैदेशिक रोजगारका लागि खाडी मुलुक आउनुपर्ने समस्या अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताए । उनले भने–‘नेपालमै रोजगारीको अवसर बनाउन सरकार लागिपरेको छ, दीर्घकालिन योजना सहित अध्ययन गरिएको काम सफल भएमा नेपाली रोजगारीका लागि भौतारिनु पर्दैन ।’ समितिले कतारमा नेपाली कामदारको समस्या बुझेर सरकारलाई जानकारी गराउने भएको छ । कतारमा रहेका नेपाली कामदारको समस्या समाधानमा पहल गर्ने शाहले बताए । समितिलाई यहाँ रहेका विभिन्न नेपाली संघ संस्थाले आजाद भिषालाई न्युनीकरण गर्नु पर्ने, परदेशमा बिचल्ली भएका कामदारलाई कल्याणकारी कोषबाट रकम उपलब्ध गराउनु पर्ने, बिमा लगायतका क्षतिपूर्ति समयमै उपलब्ध गराउनु पर्ने, फ्रि भिसा, फ्री टिकट कार्यान्वयन गर्न र दूतावासले कारवाही सिफारिस गरेका म्यानपावरलाई कारवाही गर्न माग गरेका छन् ।

स्थानीय कमिटिले नै उम्मेदवार छनौट गर्ने एमालेको निर्णय

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३१ वैशाख हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन ‘प्लान’ अघि सारेको छ । स्थानीय तह निर्वाचनका लागि नेता कार्यकर्ता जिल्ला जिल्लामा परिचालन गर्ने र एकैसाथ निर्वाचनमा होमिने एमालेले निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा विहीबार बसेको स्थायी समिति बैठकले स्थानीय तहमा उम्मेदवार चयन गर्ने जिम्मा स्थानीय कमिटीलाई नै दिने निर्णय गरेको छ । एमालेको देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार सम्बन्धित जिल्ला कमिटीले पाएको छ । वडा, गाउँ र नगर कमिटीको सिफारिसमा वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी जिल्ला कमिटीले टुंग्याउने गरी अधिकार दिइएको छ । जिल्ला र प्रदेशमा विवाद देखिएमा भने केन्द्रले हस्तक्षेप गर्न सक्ने नीति बनाइएको छ । गाउँपालिका र नगरपालिकाको प्रमुख, उपप्रमुखको उम्मेदवारी तय गर्ने अधिकार भने सम्बन्धित प्रदेश कमिटीलाई दिइएको छ । उपमहानगर र महानगरपालिकाका उम्मेदवार चयन गर्ने अधिकार भने केन्द्रमा नै राखिएको छ । उपमहानगर र महानगरमा पार्टीको केन्द्रीय नेता नै उठ्ने भएकाले त्यसको अन्तिम निर्णय भने स्थायी कमिटीले नै गर्ने निर्णय गरिएको छ । नयाँ संरचनाअनुसार ७ सय ४४ वटा स्थानीय तहमा देशभर ६ हजार ६ सय ८० वडा रहेका छन् ।

टुइन्च मोटार, सकेट बम, पेस्ताेललगायत दर्जनौं हतियार फेला

भोजपुर, १२ चैत । उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभानेको मार्तेलमा दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला पारेको छ । टुइन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीयवासी आङगेलु शेर्पाको पुरानो घरमा भतिजा काजीले सरसफाइ गर्ने क्रममा बाकसमा हातहतियार फेला पारेपछि प्रहरीलाई जानकारी गराउनुभएको थियो । फेला पारिएका हातहतियार प्रहरी चौकी दोभानेको सुरक्षामा राखिएको छ । नेपाली सेनाको पूर्वी पृतना इटहरीबाट डिस्पोजल टोली घटनास्थलमा खटिएको जनाइएको छ । ती हतियार द्वन्द्वकालमा राखिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस

स्थानीय तहको चुनावमा नुवाकाेटमा २५१ मतदान केन्द्र

त्रिशूली, १२ चैत । स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा २५१ मतदान केन्द्र र १२८ मतदान स्थल प्रस्ताव गरिएको छ । जिल्लास्थित मतदान केन्द्र र स्थल सिफारिस समितिको बैठकले जिल्लामा उक्त परिमाणको मतदान स्थल र मतदान केन्द्र प्रस्ताव गरी स्वीकृतका लागी निर्वाचन आयोगमा पठाएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनुभयो । यसअघिको दोश्रो संबिधानसभाको निर्वाचनमा जिल्लामा ११५ मतदान स्थल र २३० मतदान केन्द्र रहेको थियो । बैशाख ३१ गते हुने भनिएको स्थानीयतहको निर्वाचनका लागि जिल्लामा १ लाख ८९ हजार ५ सय ९० जना मतदाता रहेका छन् । दोश्रो संबिधानसभाको निर्वाचनमा जिल्लामा १ लाख ५४ हजार ९ सय ९० जना रहेकोमा तीन वर्षको अवधिमा ३४ हजार ६ सय नयाँ मतदाता थप भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने !

काठमाडौं, चैत १२ । पुनर्निर्माणमा ढिलाइले नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को)ले सूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने जोखिम रहेको सरकारी अधिकारीहरूले नै बताएका छन् । ‘सम्पदा पुनर्निर्माणतर्फ काम नै नभएको होइन, तर जुन स्तरमा काम हुनुपर्ने थियो त्यो हुन सकेको छैन,’ महानिर्देशक दाहालले भने, ‘यसमा गति दिन नसक्ने हो भने युनेस्कोद्वारा खतराको सूचीमा राख्ने जोखिम छ ।’संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पुनर्निर्माण प्रक्रियामा रहेका सम्पदाबारे अनुगमन गर्न युनेस्कोको एक मिसन टोली अहिले नेपालमा छ । टोलीले दिने प्रतिवेदनका आधारमा विश्वसम्पदाको समीक्षा हुने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । सरकारले सुरु नै गरेन, निजी क्षेत्रले बनाइसक्यो पुरातत्व विभागका अनुसार अहिलेसम्म पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भएको सम्पदा बौद्धनाथ स्तुपा हो । यो स्तुपा मंसिर पहिलो सातादेखि सर्वसाधारणको अवलोकनका लागि खुला भइसकेको छ । पुरातत्व विभागको प्रत्यक्ष निगरानी रहनुबाहेक यसको पुनर्निर्माणमा सरकारी संलग्नता छैन । निजी क्षेत्र र सरोकारवालाले नै बौद्धनाथको पुनर्निर्माण गरेका हुन् । तर, यसबाहेक अन्य सम्पदा भने सरकारी संलग्नतामा पुनर्निर्माण हुँदै छ । विश्वसम्पदासहित विभिन्न मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदा पुनर्निर्माणको गतिबाट स्वयं सरोकारवाला निकाय सन्तुष्ट छैनन् । कतिपय मन्दिरका गेट, सत्तल, पाटी, छानाजस्ता संरचना निर्माण भइसकेको भए पनि मुख्य सम्पदाका मुख्य संरचनाको काम भने अगाडि बढ्न सकेको छैन । नयाँ पत्रिका दैनिकबाट

दुर्घटनामा घाइते भएकी एमाले सांसद दुलारीको मृत्यु

काठमाडौं, चैत ११ । नेकपा एमालेकी सांसद दुलारी देवीको निधन भएको छ । गत चैत ५ गते भारतको सीतामगढीमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएकी सांसद दुलारीको उपचारका क्रममा बिहीबार साँझ ललितपुरको बी एन्ड बी अस्पतालमा निधन भएको हो । सांसद दुलारीको शवलाई शुक्रबार अन्तिम श्रद्धाञ्जलिका लागि एमाले मुख्यालय धुम्बाराहीमा राखिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतले दुलारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए । अध्यक्ष ओलीले दुलारीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए । दुलारीप्रति श्रद्धाञ्जलि दिन उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलगायत मन्त्रीहरु एमाले पार्टी कार्यालय पुगेका थिए ।

प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

काठमाडौं, चैत ११ । प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जंगीअड्डामा शुक्रबार भेटवार्ता भएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जनरल चाङ र प्रधानसेनापति क्षत्रीबीच भएको भेटवार्ता दुबै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो । सो अवसरमा उनीहरुबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रक्षामन्त्री चाङको सम्मानमा सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेका थिए । उनले सो अवसरमा सम्मानगारतको निरीक्षणसमेत गरे । यसअघि, जनरल चाङ सैनिकमञ्च टुँडिखेल गइ त्यहाँस्थित वीर सैनिकको स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रदाञ्जलि व्यक्त गरे । छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ व्यक्तिहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले शुक्रबारै दिउँसो भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री खाँणसँग बिहीबार भएको भेटमा चिनियाँ रक्षामन्त्री चाङले नेपाल र नेपाली सेनालाई दिँदै आएको सहयोगको निरन्तरता हुने विश्वास दिलाएका थिए । चीन र नेपालबीच ‘नङ र मासु’कोजस्तै सम्बन्ध रहेकाले क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमासमेत यसले राम्रो प्रभाव पारेको जनाउँदै चाङले नेपालले एकचीन नीतिअन्तर्गत् उत्तरी सीमा सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गरेको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसलाई अझ प्रभावकारी बनाउन आवश्यक सहयोग बढाउने तत्परता चिनियाँ पक्षबाट व्यक्त भएको थियो । ‘हामी नेपालमा शान्ति, प्रगति र विकास भएको देख्न चाहान्छौं, हामी नेपालको हित चाहान्छौं, नेपाली जनताले चाहेजस्तो विकास होस् भन्ने हाम्रो सद्भाव रहेको’ कुरा रक्षामन्त्री चाङले सो अवसरमा उल्लेख गरेका थिए ।

ठूलो परिमाणमा डलरसहित त्रिभुवन विमानस्थलबाट भिक्षुहरू पक्राउ

काठमाडौं, ११ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अमेरिकी डलर सहित भिक्षुहरु पक्राउ परेका छन् । थाइ एयरबाट थाइल्याण्ड जान लागेका चार जना भिक्षुणीले झोलामा बोकेको २ लाख ८६ हजार अमेरिकी डलर प्रहरीले बरामद गरेको जनाएको छ । ती भिक्षुणीहरुको झोलामा संकास्पद देखिएपछि चेक गर्दा सो ठूलो परिमाणमा डलर बरामद भएको विमानस्थलका डीआइजी पंकज श्रेष्ठले जानकारी दिएका छन् । उनीहरुको साथबाट २ लाख ८६ हजार डलर र २ लाख ६८ हजार भारतीय मुद्रा भेटिएको हो । नेपालमा यति ठूलो परिमाणमा डलरको ओसारपोसार अवैध छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाख्रापालनका लागि नौ लाख सहयोग

सिन्धुली, चैत ११ । सिन्धुलीमा बाख्रा पालनका लागि जिल्ला पशुसेवा कार्यालयले सहयोग स्वरुप नौ लाख आठ हजार रुपैयाँ प्रदान गरेको छ । रानीचुरी बाख्रा सोत केन्द्रलाई कार्यालयले सो सहयोग गरेको हो । पशुसेवा कार्यालयमा भएको एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले रानीचुरी बाख्रासोत केन्द्र समितिका अध्यक्ष रत्नबहादुर थापालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा साविकको रानीचुरी गाविसका १, २, ३ वडामा व्यावसायिक रुपमा बाख्रापालन गरी किसानलाई आत्मनिर्भर बनाउन सो सहयोग उपलब्ध गराएको कार्यालय प्रमुख रामकुमार कार्कीले बताए । समूहमा आवद्ध सदस्यले खोर निर्माण, औषधि व्यवस्थापन, उन्नत जातको बोका तथा न्यूनतम १० वटा माउ बाख्रा पाल्नुपर्ने उनले बताए ।

गिद्ध संरक्षणमा स्थानीयवासी

पाल्पा, चैत ११ । प्रकृतिको कुचिकारका रुपमा चिनिने लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणमा स्थानीयवासी जुटेका छन् । रामपुर नगरपालिका–८ खैरेनी सामुदायिक वनमा वर्षौंदेखि वासस्थान बनाएर बसोबास गर्ने गिद्धको सङ्ख्या घट्दै गएपछि यहाँका स्थानीयवासी संरक्षणका लागि अग्रसर भएका हुन् । कालीगण्डकीको तटमा अवस्थित करिब १८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वन क्षेत्रमा गिद्धको वासस्थान रहेको छ । वनभित्र रहेका सिमलका रुखमा गिद्धले गुँड बनाएर बस्दै आएका छन् । सो वन समूहका अध्यक्ष कृष्णप्रसाद अर्याल सिमलका रुख फँडानीमा वन समूहले प्रतिबन्ध लगाएर गिद्ध संरक्षण अभियानमा जुटेका बताए । “पहिला यहाँ चारसयदेखि पाँचसयको हाराहारीमा गिद्ध रहेका थिए, अहिले सङ्ख्या ह्वात्तै घटेर एकसय हाराहारीमा पुगेको छ,” उनले भने । स्थानीय बासिन्दा र वन समूहका उपभोक्ता मिलेर सिमलका रुख संरक्षण गर्न थालेपछि गिद्धको सङ्ख्या विस्तारै बढ्दै गएको अर्यालले बताए । स्थानीयवासीले जङ्गल फँडानी गरेपछि गिद्धको वासस्थान नै खलबलिँदा यसको सङ्ख्यामा कमी आएको हो । सो वनमा करिब एकसय ५० को हाराहारीमा साना ठूला सिमलका रुखमा गिद्धले गुँड बनाएर बसेका छन् । खैरेनी सामुदायिक वनले गिद्ध संरक्षणका लागि सिमलका रुख संरक्षण गर्नुका साथै गिद्धको आहारा व्यवस्थापनका लागि मरेका पशु परीक्षण गरेर मात्र सो वनमा फ्याँक्ने गरेका स्थानीयवासी एकराज अर्याल बताए । हिजोआज लोपोन्मुख अवस्थामा रहेका गिद्ध अवलोकनका निम्ति यस क्षेत्रमा विभिन्नस्थानबाट आन्तरिक पर्यटक दिनहुँ आउने गरेका छन् । नेपालमा पाइने नौ प्रजातिका मध्ये पाल्पामा चार प्रजातिका गिद्ध पाइने गर्छ । जिल्ला वन अधिकृत दधीलाल कँडेलका अनुसार यहाँ सुनगिद्ध, डँगर, हिमाली र सानो खैरो प्रजातिका गिद्धको बसोबास रहेको छ । मदनपोखराको अँधेरी छरछरे सामुदायिक वन र रामपुर नगरपालिकाको खैरेनी सामुदायिक वन क्षेत्रलाई गिद्ध संरक्षणको क्षेत्र घोषणा गरिएको छ । विसं २०६६ देखि जिल्ला पशुसेवा कार्यालयले डाइक्लोफेनिक नामक औषधि प्रयोगमा प्रतिबन्ध लगाएको छ । सो औषधि पशुमा प्रयोग भएपछि मरेका पशु गिद्धले आहारा सेवन गर्दा गिद्ध मर्न थालेपछि उक्त औषधिमा प्रतिबन्ध लगाएको वरिष्ठ पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाले बताए ।