एकै वर्षमा ७७ हजारले हवाईमार्ग प्रयोग गरे

चितवन, चैत १६ । पछिल्लो समय भरतपुरबाट काठमाडौँ हवाईमार्ग प्रयोग गरी आवतजावत गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

सन् २०१६ मा ७७ हजार ८०५ जनाले भरतपुर–काठमाडौँ हवाईमार्ग प्रयोग गरेका छन् । भरतपुर विमानस्थलका अनुसार सन् २०१४ यता हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि हँुदै गएको छ ।

सन् २०१४ मा चितवनबाट काठमाडौँ हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्या २७ हजार ९४० जना तथा सन् २०१५ मा २८ हजार ५९१ जनाले हवाईमार्गको प्रयोग गरेका थिए । सन् २०१७ को जनवरी र फेब्रुअरीमा मात्रै १५ हजार ९३४ जनाले सो हवाईमार्गको प्रयोग गरेका छन् ।

सन् २०१४ मा भरतपुरदेखि काठमाडौँको हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिकको सङ्ख्या सात हजार १४४ तथा काठमाडौँदेखि भरतपुरसम्म पाँच हजार १८७ विदेशी नागरिकले हवाईमार्ग प्रयोग गरेका भरतपुर विमानस्थलले जनाएको छ । सन् २०१५ मा भरतपुरदेखि काठमाडौँसम्म हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिकको सङ्ख्या चार हजार १७९ र काठमाडौँ–भरतपुर हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिक दुई हजार ८८९ रहेका थिए ।

पछिल्लो समय चितवनमा जग्गाको कारोबारमा वृद्धि, नारायणगढ–मुग्लिन सडकखण्ड मर्मतमा भएको ढिलाइलगायत कारणले हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायको भनाइ छ ।

अहिले भरतपुर– काठमाडौँ– भरतपुरका लागि वुद्ध एयरको छवटा, यति एयरको तीनवटा र सिम्रिक एयरले एउटा उडान भर्दै आएको छ । तर पनि यात्रुले समयमा टिकट नपाउने समस्या भने अझै उस्तै छ । चितवन घुम्नका लागि आउने विदेशी पर्यटक बढी मात्रामा हवाईमार्गको प्रयोग गर्ने गर्दछन् ।

१७ जिल्लाका भूकम्पपीडितले अब ५० हजार पाउने

काठमाडौं, चैत १६ ।भूकम्पबाट तुलनात्मक रूपमा कम क्षति पुगेका १७ जिल्लाका पीडितले पनि अब पहिलो किस्तास्वरूप घर बनाउन ५० हजार रुपैयाँ पाउने भएका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार पहिलो चरणमा १७ जिल्लाका १५ हजार ७ सय ४३ घरधुरीलाई पहिलो किस्ता वितरण गर्न लागिएको छ । अति प्रभावित १४ जिल्लामा जस्तै १७ जिल्लामा पनि बैंक खातामार्फत पहिलो किस्ता रकम भुक्तानी हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता सहसचिव यमलाल भुसालले बताए । ‘सम्बन्धित जिल्लामा पहिलो किस्ता वितरणका लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर काम अघि बढिरहेको छ,’ भुसालले भने, ‘कुन ठाउँमा कुन बैंक सहज हुन्छ भन्ने कुरा गाउँपालिका र नगरपालिकाबाट सिफारिस आएपछि नेपाल बैंकर्स संघसँगको सहकार्यमा बैंक तोकेर खाता खोल्ने व्यवस्था मिलाउँछौँ ।’ प्राधिकरणले बैंकको टुंगो लाग्नेबित्तिकै रकम वितरण सुरु गर्ने जनाएको छ । ‘यही दिन सुरु गर्ने भन्ने त टुंगो लागेको छैन, बैंकको टुंगो लाग्नेबित्तिकै पैसा वितरणको काम अघि बढाउनेछौँ,’ भुसालले भने, ‘१४ जिल्लाको अनुभवबाट पाठ सिकेर हामी अघि बढ्छौँ ।’ पुनर्निर्माण प्राधिकरणले गरेको वर्गीकरणअनुसार लमजुङ, चितवन, तनहुँ, खोटाङ, स्याङ्जा, पाल्पा, बागलुङ, गुल्मी, सोलुखुम्बु, कास्की, पर्वत, म्याग्दी, अर्घाखाँची, नवलपसारी, भोजपुर, धनकुटा र संखुवासभाका भूकम्प पीडितले अब पैसा पाउने छन् । यी जिल्लाका पीडितलाई तत्काल ७८ करोड ७१ लाख रुपैयाँ वितरण हुनेछ । प्राधिकरणका अनुसार हालसम्म लाभग्राहीका रुपमा ६ लाख २६ हजार प्रभावितको पहिचान भएको छ । यसमध्ये पाँचलाख ६० हजार परिवारसँग अनुदान वितरण सम्झौता सम्पन्न भएको छ । तीमध्ये पाँचलाख ४० हजार परिवारले पहिलो किस्ता पाएका छन् । त्यस्तै एकहजार आठसय परिवारले दोस्रो किस्ता रकम पाएका छन् । धनकुटादेखि अर्घाखाँचीसम्मका भूकम्पपीडितलाई पहिलो किस्ता रकम दिने तयारी २१ हजार गुनासा सम्बोधन हुने : पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको मंगलबारको बैठकले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये ११ जिल्लाबाट प्राप्त २० हजार नौ सय ६७ गुनासोलाई सम्बोधन गर्ने निर्णय गरेको छ । त्यसमध्ये पाँच हजार सात सय ५९ घरधुरी लाभग्राही सूचीमा समावेश भएका र तथ्यांक प्राप्त नभएका पाँच हजार सात सय ८६ को पुनः सर्वेक्षण गर्ने निर्णय भएको प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालले बताए । त्यस्तै थप दुई हजार तीन सय ६१ घरधुरीको स्थलगत सर्वेक्षण गरिने उनले बताए । लाभग्राही सूचीमा नपर्ने देखिएका सात हजार ६१ घरधुरीको स्थलगत निरीक्षणबाट निक्र्योल निकालिने उनले बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।  

आरआरमा अनेरास्ववियुको प्यानल विजयी

काठमाडौं, चैत १६ ।  उपत्यकाका विभिन्न प्रहरी युनिटका १० डिएसपीसहित ४८० सुरक्षाकर्मीको घेरामा रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियु चुनाव सम्पन्न भएको छ । मंगलबार दिनभर नेपाल प्रहरीका नौ डिएसपीसहित ३५० र सशस्त्रका एक डिएसपीसहित एक सय ३० गरी ४८० प्रहरी सुरक्षाका लागि खटिएका थिए । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीका अनुसार उपत्यकाका विभिन्न युनिटबाट ३५० नेपाल प्रहरी खटिएका थिए । एसएसपी जोशी आफैं पनि क्याम्पसको सुरक्षामा खटिएका थिए । परिसरका डिएसपी वसन्त रजौरेको अप्रेसन कमान्डमा ठूलो सुरक्षा घेरामा स्ववियु चुनाव सम्पन्न भएको थियो । बुथको सुरक्षादेखि विभिन्न तहमा गरी पद्मोदय मोडसम्म सुरक्षाकर्मी खटिएका थिए । यी हुन् चुनावमा खटिने डिएसपी : आरआरको चुनावमा सुरक्षाका लागि महानगरिय प्रहरी परिसरका अप्रेसन कमान्डर बसन्त रजौरे, सिंहदरबार वृत्तका मनोहार भट्ट, महाराजगन्ज वृत्तका गोविन्द पुरी, गौशाला वृत्तका नवराज कार्की, थानकोट वृत्तका कृष्ण पंगेनी, नगर प्रहरी इन्चार्ज रमेश थापा, बानेश्वर वृत्तका नारायण चिमोरिया, लैनचौर वृत्तका सोमन्द्रसिंह राठौर, बालाजु वृत्तका सन्तोष तामाङ फिल्डमा खटिएका थिए । बालाजुका डिएसपी तामाङको विद्यार्थीसँगको झडपमा औंलामा चोट लागेपछि उनको ठाउँमा महाराजगन्जका डिएसपी पुरी खटिएका थिए। त्यसैगरी, सशस्त्रका डिएसपी रविचन्द्र बज्राचार्य दिनभर चुनावमा खटिएका थिए । बेलुकीको मतगणनामा वौद्ध वृत्तका डिएसपी विपिन रेग्मी र स्वयम्भू वृत्तका डिएसपी कोमल शाहसमेत खटिएका थिए । ३५८१ मतदातामा १२७८ मत खस्यो : निर्वाचनमा एक हजार दुई सय ७६ मत खसेको छ । साँझ ५ बजेसम्मको मतदानको समयभित्र तीन हजार ५ सय ८१ मतदातामध्ये एक हजार दुई सय ७६ मात्र मत खसेको हो । निर्वाचन कमिटी प्रमुख प्रा. हरिप्रसाद पराजुलीले मत कम खस्नुमा धेरै कारण रहेको बताए । उनले सबै विद्यार्थी संगठनको सक्रिय सहभागिता नरहनु, बिहानको समयमा क्याम्पस बाहिर तनावको स्थितिलगायतका कारण कम मत खसेको बताए । चुनावमा पाँचवटा विद्यार्थी संगठन सहभागी भएका थिए । चारवटा संगठन एकल र एउटा संयुक्त प्यानल चुनावमा रहेको थियो । केही संगठनले चुनावमा भाग नलिने बताएका थिए। २३ फागुनमा चुनाव गर्ने तयारी भए पनि स्थानीय तहको चुनावको घोषणा भएकाले आचारसंहिता लाग्ने भन्दै रोकिएको चुनाव सर्वोच्च अदालतको आदेशपछि मंगलबार सम्पन्न भएको हो । आरआर क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले निर्वाचनको माग गर्दै रिट दायर गरेका थिए । अध्यक्ष पदका उम्मेदवार शाहीको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले घोषित निर्वाचन रोक्नुपर्ने कुनैे ठोस कारण नरहेकोे आदेश  दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निर्वाचन गर्न २ चैतमा अन्तरिम आदेश दिएको हो । गत १८ फागुनमा त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन नभएपछि आरआर क्याम्पसले २३ फागुनमा निर्वाचन गर्ने मिति तोकेको थियो । तर, स्थानीय तह निर्वाचन आचारसंहिताले रोक लगाएको भन्दै स्ववियु निर्वाचन स्थगित भएको थियो । विद्यार्थीहरू निर्वाचनमा मतदान गर्न सहभागी भए पनि प्रहरीको हस्तक्षेपले निर्वाचन स्थगित भएको थियो । आरआरमा अनेरास्ववियुको प्यानल नै विजयी : रत्नराज्यलक्ष्मी क्याम्पस (आरआरमा) मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । सभापतिमा विजयी तपेन्द्रबहादुर शाहीले ६९९ मत प्राप्त गरेका छन् । कुल एक हजार दुई सय ७८ मत खसेको थियो । सचिवमा नारायण शर्माले ६९६ र कोषाध्यक्षमा संगमप्रसाद देवकोटाले ७१० मत प्राप्त गरी विजयी भएका छन् । पदाधिकारीमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्रिविमा यो वर्षदेखि मिश्रित प्रणालीमा स्ववियु चुनाव भएको हो । समानुपातिकतर्फ अनेरास्ववियुले ७ सय ७७, नेविसंघले तीन सय ५०, अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)ले ५३, संयुक्त प्यानलले ५२, नेक्राविसंघले ५ र अनेरास्ववियु पाँचौँले ६ मत प्राप्त गरेका छन् । मतपरिणाम नमान्ने अनेरास्ववियु क्रान्तिकारीको घोषणा : माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले स्ववियु चुनावको परिणाम स्वीकार नगर्ने घोषणा गरेको छ । अध्यक्ष नरेन्द्र न्यौपानेले मंगलबार साँझ प्रेस विज्ञप्ति निकालेर एकतर्फ रूपमा स्ववियु चुनाव गरिएको आरोप लगाएका छन् । उनले धाँधली भएको र आचारसंहिताको उल्लंघन भएकोसमेत आरोप लगाएका छन् । ढुंगामुढा र प्रेट्रोल बमले क्याम्पस बाहिर त्रास : आरआर क्याम्पसमा मतदान सुरु भएदेखि नै तनाव सुरु भएको थियो । बिहान ८ बजेतिर स्ववियु चुनावको विरोधमा रहेको विद्यार्थी समूह र प्रहरीबीच झडप भएको थियो । ढुंगामुढा गर्नेक्रममा केही प्रदर्शनकारी विद्यार्थी र प्रहरीसमेत घाइते भएका थिए । झडपका क्रममा विद्यार्थीले घाइते भएको दाबी गरे पनि प्रहरीले भने विद्यार्थीहरू घाइते नभएको दाबी गरेको छ । आन्दोलनकारीले बिहान १० बजेतिर पेट्रोल बमसमेत हानेका थिए । पेट्रोल बम हानेको विषयमा कसैले पनि जिम्मेवारी लिएको छैन । महानगरीय प्रहरी परिसरका एसएसपी जोशीका अनुसार तीनवटा सिसिमा पेट्रोल बम प्रहार गरेका थिए । चुनावको विरोधमा रहेको पक्षले पेट्रोल बम प्रहार गरेको आशंका गरिए पनि त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जोशीका अनुसार मंगलबारको झडपमा डिएसपी तामाङ सहित तीन प्रहरी सामान्य घाइते भएका छन् । ‘प्रहरीले धेरै संयमित भएर काम ग¥यो, विद्यार्थी कोही पनि घाइते छैन,’ उनले भने । यो खबर आजको नयाँ पत्रिकामा छ ।  

उपप्रधानमन्त्री निधि र भारतीय राजदूत पुरी भेटघाट

काठमाडौं, चैत १६ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभसिंह पुरीबीच  भेटघाट भएको छ । गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो । भेटमा गृहमन्त्री निधिले नेपालमा हुन गइरहेको निर्बाचनमा लजिष्टिक सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराएका थिए । जबाफमा राजदूत पुरीले नेपालको संबिधानसभा निर्बाचनका बेला पनि भारत सरकारले लजिस्टिक सहयोग गरेको स्मरण गराउँदै आगामी निर्बाचनमा पनि सहयोग गर्ने उल्लेख गरे । सो भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने बिश्वास व्यक्त गरे । राजदूत पुरीले नेपाल–भारतबीचको सदियौं पुरानो घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए ।

कांग्रेसको आरोपः सरकारको अधिकारमाथि सर्वोच्चको हस्तक्षेप

काठमाडौं, चैत १६ ।  सत्ता साझेदार र संसद्भित्रको सबैभन्दा ठूलो पार्टी कांग्रेसले सरकारको कार्यकारी अधिकारमाथि सर्वोच्चबाट हस्तक्षेप भएको आरोप लगाएको छ । तीन दिनसम्म चलेको पार्टी केन्द्रीय समिति बैठकले पारित गरेको निर्णयमा सरकारले गरेको प्रहरी महानिरीक्षकको नियुक्ति बदर गर्ने सर्वोच्चको फैसलालाई हस्तक्षेपका रूपमा लिएको  छ  । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले आईजी नियुक्तिमा सर्वोच्चको फैसलाको विरोध गर्दै कार्यपालिकाको अधिकार खोस्नतर्फ सर्वोच्च उद्यत देखिएको निष्कर्ष निकालेको हो । ‘संवैधानिक सर्वोच्चता र बहुदलीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संसदीय प्रणालीको सिद्धान्त स्वीकार गर्दै नेपालको संविधानले कार्यकारिणी अधिकारको स्पष्ट व्यवस्था गरेको भए पनि प्रहरी प्रमुख नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले हालसालै गरेको निर्णयले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको नेपाली कांग्रेस महसुस गर्दछ’, बैठकको निर्णयमा भनिएको छ । सरकारले फागुन १ गते जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न गरेको निर्णय सर्वोच्चले बदर गरेको थियो । उक्त मुद्दामा सर्वोच्चले गठन गरेको बेन्चका विषयमा पनि यसअघि कांग्रेसका कतिपय नेताले गम्भीर असहमति राख्दै आएका थिए । बैठकले आसन्न स्थानीय निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा जिल्लालाई दिने निर्णय पनि गरेको छ । यसअघि केन्द्रले नै उम्मेदवार छान्ने भन्दै आएकोमा अब स्थानीय तहको सिफारिसमा जिल्लाले नै उम्मेदवार छान्ने निर्णय गरेको हो । आगामी वैशाख ३१ मा हुन लागेको स्थानीय निर्वाचनमा मधेसवादी दलहरूलाई पनि सँगै लिएर जान कांग्रेसले महतवपूर्ण भूमिका निर्वाह गर्ने भएको छ । संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव यथासक्य चाँडो सहमतिका आधारमा संशोधन गराएर निर्वाचनमा जाने निर्णय पनि कांग्रेसले गरेको छ । बैठक समापन गर्दै सभापति शेरबहादुर देउवाले आफूले पार्टीभित्र गुटउपगुट नहेरी सबैलाई न्याय गर्ने गरी काम गरेको बताएका थिए । सरकारले नियुक्त गर्ने चार महतवपूर्ण पदमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नियुक्त गरेका व्यक्तिलाई नै नियुक्ति दिएर पार्टीभित्रको गुटलाई नभई क्षमता र योग्यतालाई आधार बनाएको पनि देउवाले बताएका थिए । ‘मैले योजना आयोगमा स्वर्णिम वाग्ले, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा गोविन्द पोखरेल, भारतको राजदूतमा दीपकुमार उपाध्याय र न्यायपरिषद् सदस्यमा रामप्रसाद सिटौलालाई पुनर्नियुक्ति गराएको छु’, देउवाले बैठकमा भने, ‘मैले गुट वा आफ्नो मान्छे हेरेको भए त्यो नियुक्ति कसरी हुन्थ्यो ? ‘ उनले चुनावको वातावरण कांग्रेसका पक्षमा धेरै राम्रो भएको सूचना आफूसँग आएको भन्दै सबै एक भएर चुनावमा होमिनुपर्ने धारणा पनि बैठकमा राखेका थिए । देउवाले नेता रामचन्द्र पौडेलतर्फ संकेत गरी ‘साथीहरू देशबाहिर भएकाले बैठक नराखेको’ बताउँदै पत्र नै लेख्नुपर्ने त्यस्तो कारण के थियो भनेर प्रश्नसमेत गरेका थिए । नेता पौडेलले भने आफूले पत्रमा बैठक डाक्न माग गरेको उल्लेख गर्दै त्यसले पार्टीलाई चलायमान गराउन नै सहयोग गर्ने भन्दै अन्यथा लिन नहुने धारणा राखेका थिए ।पौडेलले पार्टीलाई कि पद्धति कि सहमतिमध्ये एउटा विधि अपनाएर अघि बढाउनुपर्ने धारणा पनि राखेका थिए । बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने राजदूत नियुक्तिमा पार्टीको आँच गिर्ने काम भएको धारणा राखेका थिए । ‘राजदूत नियुक्तिमा आशा लामाको नाम कसरी आयो’, सिंहले बैठकमा भने, ‘राजदूतमा फिर्ता गरे पनि त्यो घाटा तत्काल क्षतिपूर्ति हुने देखिएको छैन ।’उनले प्रहरी महानिरीक्षकमा मन्त्रिपरिषद्को निर्णय नै गलत भएको भन्दै त्यसको जिम्मेवार को भन्ने प्रश्न गरेका थिए । बैठकमा केन्द्रीय सदस्य पूर्णबहादुर खड्का, डिना उपाध्याय, बलबहादुर केसीलगायतले भने प्रहरी महानिरीक्षकको नियुक्तिको विषयमा सर्वोच्चको फैसला कार्यपालिकाको अधिकार खोस्ने गरी आएको भन्दै विरोध गरेका थिए । केन्द्रीय सदस्य एवं स्वास्थ्यमन्त्री गगन थापाले पार्टीले स्थानीय चुनावका लागि रणनीति नै बनाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । अनुशासनमा श्रेष्ठ र लेखामा यादव कांग्रेस बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजकमा गोपालमान श्रेष्ठलाई नियुक्त गरेको छ । त्यस्तै लेखा समितिको संयोजकमा चित्रालेखा यादवलाई नियुक्त गरेको छ । बैठकले विधानअनुसार उनीहरूलाई नियुक्त गरेको हो । यो खबर आजको अन्नपुर्णपोस्टमा छ ।

माओवादी घोषणापत्र तयार

काठमाडौं, चैत  १५ ।  स्थानीय तहको वैशाख ३१ गते हुन लागेको चुनावमा सत्तारूढ माओवादी केन्द्रले आन्तरिक तयारी तीव्र पारेको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनका लागि मनाउन कोसिस गरिरहेको भए पनि माओवादी केन्द्रले आन्तरिक रूपमा भने चुनावी अभियान तीव्र पारेको हो। माओवादी केन्द्रले देव गुरुङको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ। अध्यक्ष प्रचण्ड चीन भ्रमण जानु अघिल्लो दिन प्रतिवेदन बुझाएर समितिले तल्लो कमिटीलाई पनि परिपत्र जारी गरिसकेको छ। माओवादीले स्थानीय तहको निर्वाचनका लागि कतिपय स्थानमा उम्मेदवार घोषणासमेत गरिसकेको छ। केन्द्रीय सदस्य मदन चुडालका अनुसार ‘दमक नगरपालिका र विराटनगर उपमहानगरपालिका लागि पार्टीले उम्मेदवार घोषणा गरिसकेको छ। माओवादीले दमक नगरपालिकाका लागि मेयरमा रेवतराज पुरी र उपमेयरमा शान्ति धिमाललाई चयन गरेको छ भने विराटनगरका लागि मेयर/उपमेयरमा क्रमशः भोगेन्द्र यादव र नमिता न्यौपानेको नाम घोषणा गरिसकेको छ। अब केही दिनमा इटहरी र धरानको मेयर र उपमेयर घोषणा हुने पनि चुडालले बताए। आन्तरिक रूपमा इटहरीका लागि भीम सुवेदी र धरानका लागि महेन्द्रविक्रम मेघाको टुंगो लागे पनि उपमेयर चयन हुन बाँकी भएकाले केही दिनमा त्यहाँको उम्मेदवार सार्वजनिक हुने नेताहरुले बताएका छन्। यसैगरी, अन्य गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका लागि प्रमुख/उपप्रमुख, वडा अध्यक्ष, सदस्य चयन गर्न धमाधम आन्तरिक बैठक सञ्चालन जारी रहेको संयोजक देव गुरुङले बताए। गुरुङको नेतृत्वमा गत फागुन २३ गते गठन भएको निर्वाचन परिचालन समितिले चुनावी प्रतिबद्धता, नीति तथा कार्यक्रम, उम्मेदवारका लागि मापदण्ड तयार गरेर केन्द्रीय कार्यालयमा बुझाइसकेको छ। ‘समितिले चुनावी प्रतिबद्धता, अन्तरपार्टी निर्देशिका, उम्मेदवार छनोट मापदण्ड एवं निर्णय विधि केन्द्रीय कार्यालयमा बुझाइसकेको छ’, गुरुङले नागरिकसँग भने, ‘त्यसरी बुझाएको निर्णयलाई तल्लो कमिटीमा पनि पुर्‍याइसकेका छौं। त्यहाँ अहिले छलफल चलिरहेको छ।’ उनका अनुसार समितिले बुझाएको प्रतिवेदनअनुसार स्थानीय तहका कमिटीहरूले बैठक आह्वान गरेर निर्णय गर्न थालिसकेका छन्। समितिको प्रतिवेदनअनुसार वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारको हकमा सम्बन्धित गाउँपालिका/नगरपालिका स्तरका समितिले टुंगाउनेछ। गाउँपालिका र नगरपालिकाको प्रमुख उपप्रमुख भने सम्बन्धित जिल्ला समितिले, उपमहानगरपालिकाको मेयर/उपमेयरको उम्मेदवारी प्रदेश कमिटीले र महानगरको मेयर/उपमेयर केन्द्रीय समितिले टुंग्याउने गरी उम्मेदवार छनोट विधि तयार गरिएको समितिका अर्का सदस्य गिरिराजमणि पोखरेलले बताए। ‘हरेक उम्मेदवारको निर्णय एक तहमाथिको कमिटीले गर्ने विधि बनाएर तलका कमिटीलाई पठाएका छौं। स्थानीय तहको उम्मेदवारमा केन्द्रीय हस्तक्षेप गर्न नहुनेमा समिति सचेत भई अन्तरपार्टी निर्देशिका पनि जारी गरिसकेका छौं’, पोखरेलले भने। त्यसो त माओवादी केन्द्रले २९ बुँदे चुनावी प्रतिबद्धता तयार पारी तल्लो कमिटीमा थप सुझावका लागि पठाइसकेको छ। गत ९ चैतमा तल्लो कमिटीमा पठाएका प्रतिबद्धता पत्रलाई सुझावसहित केन्द्रमा पठाउन एक साताको समय छुट्ट्याइएको छ। ‘चैत अन्तिम साताभित्र चुनाव घोषणापत्र प्रकाशित गरिसक्ने लक्ष्य लिएका छौं। त्यसमाथि स्थानीय तहले आफ्नै खालको छुट्टै चुनावी घोषणापत्र पनि जारी गर्न सक्नेेछ’, पोखरेलले भने। गत फागुन २३ गते गठन भएको समितिलाई उम्मेदवार छनोटको मापदण्ड बनाउन दुई साता समय दिइएको थियो। समितिले उम्मेदवार छनोटको हकमा २३ वटा मापदण्ड सर्तका रूपमा राखेको अर्का सदस्य मणि थापाले बताए। पार्टीप्रतिको इमानदारी र स्वच्छ छविलाई मुख्य मापदण्ड बनाइएको थापाले बताए। उनले नागरिकसँग भने, ‘स्थानीय तहमा उसको लोकप्रियता र नेतृत्व गर्ने क्षमतालाई पनि ख्याल गरिनेछ।’ उनका अनुसार स्थानीय तहको विकास गर्ने ‘भिजनरी नेता’ लाई पार्टीले उम्मेदवार छनोटका क्रममा प्राथमिकतामा राख्नेछ। यो खबर आजको नागरिक दैनिकमा छ ।

झुक्यायो मौसमले

काठमाडौं, चैत १६ । बिहान काममा निस्कँदा रेनकोट र छाताविना हिँडेको मानिस साँझ घर फर्किंदा भिजेर घर पुग्छ । त्यही व्यक्ति भोलिपल्ट फेरि भिजिएला भन्दै रेनकोट र छाता बोकेर हिँड्छ, तर पानी पर्दैन । यो क्रम मार्च महिना सुरु भएसँगै सबैले भोग्दै आएका छन् । मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमानमा पनि फरक पर्दै आएको छ । मंगलबार बिहानपख खुलेको आकाश १० नबज्दै धुम्मिएको थियो । विभागले सोमबार गरेको पूर्वानुमानअनुसार मंगलबार केही स्थानमा छिटफुट वर्षा हुने देखिए पनि बुधबार भने ३२ मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । त्यो पनि अपराह्नपछि साँझसम्मै वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । यो कुन ठाउँमा हुने वर्षा हो भन्ने विषयमा महाशाखा मौसमविद्हरू नै अन्योलमा परेको देखिन्छ । केही मौसमविद् यो सामान्य प्रक्रिया भएको र अहिले मौसमले नै झुक्याएको बताउँछन् । मौसमविद्का अनुसार सामान्यतः मार्च अर्थात् फागुन–चैत मेघ गर्जनसहित वर्षात् हुने मौसम भए पनि पछिल्ला वर्षमा त्यस्तो वर्षा हुन छाडेको थियो । अघिल्ला वर्षको तुलनामा यस महिनामा बढी नै वर्षात् भएको छ । ‘वर्षात् मात्र होइन, लामो समयसम्म बदली गराउने प्रणालीको विकाससमेत गराएको छ,’ वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले भने, ‘मार्चको उत्तराद्र्धमा साताभन्दा बढी समयदेखि नेपालको मौसम बदलीसँगै वर्षा भएको छ, तर यसको प्रभाव पश्चिमी भेगमा त्यति छैन । खासगरी देशका पूर्वी र मध्य भेगमा बढी असर देखिएको छ ।’ मार्च महिना बढी पानी पर्ने समय भए पनि यस किसिमको निरन्तर प्रभाव अघिल्ला वर्षमा नभएको भन्दै उनले उपत्यकामा झन्डै दोब्बर वर्षा भएको बताए । सामान्यतः मार्चमा उपत्यकामा ३५ मिलिमिटर वर्षात् हुने गरेकामा मंगलबार ६५ मिलिमिटर वर्षात् भइसकेको छ । यो अझै केही दिन लम्बिने महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणका कारण मौसम बदलीसँगै वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले बताए । पश्चिम बंगाल र बंगलादेशमा न्यूनचापीय क्षेत्र रहिरहेका कारण त्यसको असर नेपालमा देखिएको छ । उक्त प्रणालीका कारण मेघ गर्जनसहितको असिना र वर्षा भएको छ । अर्कातर्फ वायुमण्डलका तल्लो सतहमा बंगालको खाडीबाट सामान्य खालको हल्का जलवाष्पयुक्त हावाको प्रवेशका कारण पनि मौसममा गडबडी आएको छ । जलवाष्पयुक्त हावा वायुमण्डलमा माथिसम्म जान नसकेका कारण दिन धुम्म हुने र राम्रोसँग वर्षात् गराउन नसकेको मौसमविद् अर्यालले बताए । ‘पश्चिमी वायुका साथै पूर्व र मध्य भागमा वायुमण्डलको तल्लो सतहमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रवेशले असर देखिएको छ,’ उनले भने, ‘तर यसको वायुमण्डलमा माथिसम्म प्रभाव छैन, जसका कारण पानी पर्न सकिरहेको छैन ।’ यस प्रणालीले मध्य र पूर्वी भागमा असर गरे पनि पश्चिमी भागमा खासै बदली हुने देखिँदैन । पूर्वी भागको तल्लो सतहमा सामान्य खालको न्यूनचापीय क्षेत्रको विकासले गर्दा बदली गराएको मौसमविद् अर्यालको भनाइ छ । उनका अनुसार पूर्वी र मध्य भेगमा अझै दुई–चार दिन बदलीसँगै वर्षात् हुनेछ । ती क्षेत्रमा मध्याह्नपछि यसको प्रभाव बढी देखिनेछ भने पश्चिमी पहाडी भेगमा सामान्य बदली रहनेछ । अहिले प्री–मनसुन पनि चलिरहेको छ । मार्च, अप्रिल र मे महिना प्री–मनसुन अवधि हुन् । जुन महिनाको पहिलो साताबाट मनसुन सुरु हुन्छ । मौसमविद् श्रेष्ठले लामो समयदेखि विकास भएको यो प्रणाली मध्य र पूर्वी भेगमा अझै दोहोरिने र यसले मेघ गर्जनसहित असिना पानी र हावाहुरी ल्याउने सम्भावना रहेको बताए । नेपालको पूर्वतिर सर्दै समाप्त हुनुपर्ने प्रणाली मध्य र पूर्वी भेगमा अडिएको छ, यसको असर बंगलादेशमा पनि बढी छ । ‘पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्र रहिरहेकाले यो प्रणाली लम्बिने देखिन्छ । यो सुक्खा मौसम हो, मनसुन सुरु भएपछि मात्र पानी पर्नुपर्ने हो, त्यसैले यो परिदृश्यलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ, यकिनचाहिँ अनुसन्धान नभई भन्न सकिन्न,’ मौसमविद् श्रेष्ठले भने, ‘नेपालको पूर्वी तथा मध्य भागमा अलि बढी पानी परेको देखिन्छ ।’ मौसममा आइरहेको फेरबदलले मानव स्वास्थ्यमा समेत असर पर्नसक्ने आँकलन गरिएको छ । यो खबर आजको राजधानीमा छ ।    

गाँजा तस्कर र प्रहरीबीच फायरिङ

हेटौंडा, चैत १६ । मनहरीमा मंगलबार गाँजा तस्कर र प्रहरी बीच फायरिङ भएको छ । पर्सा बन्यजन्तु आरक्षण हुँदै भारततर्फ गाँजा लगिरहेका तस्करलाई पछ्याउन खोज्दा उनीहरु फायरिङ गरेर भागेको प्रहरीले जनाएको छ । केही भरिया भने पक्राउ परेका छन् । जवाफी फायरिङ गरेपछि उनीहरु गाँजा र चरेशका बोरा छाडेर भागेका छन् । मनहरी ६ नयाँबस्तीमा फायरिङ भएको हो । तस्करहरुले ५-६ राउन्ड फायर गरेको प्रहरीले जनाएको छ । प्रहरीले ५ सय ६४ केजी गाँजा र ४५ केजी चरेश बरामद गरेको छ । यो खबर आजको कान्तिपुरमा छ ।

एकै घरका दुई बालकको डुबेर मृत्यु

रोल्पा, चैत १५ । घरबाट विद्यालय जान डिँडेका एउटै घरका दुई बालकको आज बिहान रुकुम र रोल्पाको सिमानामा रहेको बागतारे भन्ने स्थानमा तालमा डुबेर मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा रुकुम–७ धरमशालाका विष्णु बुढाकी ११ वर्षीया छोरी सपना बुढा र नौ वर्षीय छोरा जितमान बुढा रहेको थबाङ इलाका प्रहरी कार्यालका प्रहरी नायब निरीक्षक भीमबहादुर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार रुकुम घर भएका ती बालबालिका थबाङ, रोल्पास्थित वीर बलभद्र मावि थबाङमा नर्सरी र एलकेजीमा अध्ययनरत थिए । निर्माणाधीन सडकमा पिलर र ब्लक भिजाउनका लागि बनाएको तालमा उनीहरु डुबेका हुन् । प्रहरीका अनुसार बाटोमा डिँडिरहेको भाइ तालमा परेपछि तान्न खोज्दा दिदीको पनि तालमा डुबेर मृत्यु भएको हो । सपना र उनका ठूलो भाइ जितमान तालमा परेपछि उनका साना भाइ निर्मल कराइ कराइ रोएको देखि घर बनाउने काठ लिएर आउँदै गरेका छिमेकीले ताल फोरेर सपना र जितमानलाई बाहिर निकाल्न खोज्दा उनीहरुको मृत्यु भइसकेको थियो ।

पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेको घटनाप्रति फोटो पत्रकार क्लबको आपत्ति

काठमाडौं, चैत १५ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा फोटो खिच्दै गरेका फोटो पत्रकारलाई लक्ष्यित गरी पेट्रोल बम प्रहार गरेको घटना प्रति फोटो पत्रकार क्लवले विरोध गरेको छ । क्लबले मंगलबार विज्ञप्ति जारी गर्दै कान्तिपुर दैनिकका फोटो पत्रकार केशव थापा र अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेललाई लक्षित गरी बम प्रहार भएको घटनाप्रति भर्त्सना गरेको हो । प्रहरी र प्रदर्शनकारीबीचको ढुंगा हानाहानको फोटो सञ्चारमाध्यममा प्रकाशित भएपछि उनीहरुले फोटो पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गर्नु जनताको सूचना पाउने अधिकार समेत बन्चित गर्न खोजिएको फोटो पत्रकार क्लबको ठहर छ । विद्यार्थीको आक्रमणबाट फोटो पत्रकारद्वय थापा र पौडेललाई सामान्य चोट लागेको छ । क्लबले दोषीको छानबिन गरी कानुनी दायरमा ल्याइ कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । राज्यको चौथो अंग मानिएको सञ्चार श्रेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउने वातावरण वनाउन पनि फोटोपत्रकार क्लबले सम्बन्धित सबैमा आग्रह गरेको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायत सात विद्यार्थी संगठनको बहिष्कारका बीच मंगलबार आरआरमा स्ववियु चुनाव भइरहेको छ ।

पर्यटकीय क्षेत्र सहलकोट ओझेलमा

पाल्पा, चैत १५ । प्राकृतिक रुपमा निकै सुन्दर हरियाली डाँडाकाँडाले घेरिएको पर्यटकीय सहलकोट क्षेत्रमा भौतिक पूर्वाधारको विकास नहुँदा पर्यटकको आकर्षण बढ्न सकिरहेको छैन । सदरमुकाम तानसेनदेखि करिब ७२ किलोमिटर पूर्वमा अवस्थित सहलकोट क्षेत्र प्राकृतिक रुपमा भरिपूर्ण छ । भौतिक पूर्वाधार विकास नहुँदा सहलकोट ओझेलमा परिरहेको छ । पूर्व दक्षिणमा नवलपरासी, उत्तरमा कालीगण्डकी, तनहुँ, कास्की, लमजुङ, उत्तर पश्चिममा स्याङ्जा र पश्चिम सहलकोटको फेँदीमा रामपुर उपत्यका पर्छ । यहाँबाट धौलागिरि, माछापुच्छ्रे हिमाललगायत दृश्य अवलोकन गर्न सकिन्छ । यहाँको हरियाली वनपाखा, प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई मनमोहित पारिरहेको हुन्छ । सहलकोट क्षेत्रकै चिनारी जुरेलेक, घाँगी गुफा गरी यहाँ करिब ५० को हाराहारीमा गुफा रहेका छन् । तर प्रचारप्रसार भने हुन सकेको छैन । स्थानीयस्तरबाट केही प्रयास भए पनि यसको प्रवद्र्धनमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन । सुकेकोटमा रहेका गुफाका सम्बन्धमा सरोकारवाला नै बेखबर छन् । सुकेकोट क्षेत्रमा मात्रै मुख्य आठवटा र अन्य कयौँ गुफा भेटिएका छन् । सुकेकोट गाउँभन्दा तलको भागमा चमेरा गुफा रहेको छ । मगर भाषामा घिचिन ओडारका नामले पनि यो चिनिन्छ । यहाँ विभिन्न प्रजातिका चमेरा पाइने गर्छ । झन्डै पाँच सय मिटरको लम्बाइमा फैलिएको यस गुफाको मुहानबाट पसेर पुछारसम्मको भागमा निस्कन मिल्ने बनोट रहेको छ । गुफाभित्र विभिन्नखालका आकृति देख्न सकिन्छ । त्यस्तै चमेरा गुफाभन्दा केही तल घन्टी ओडार गुफा रहेको छ । एक ठाउँबाट पसेर अर्को ठाउँमा निस्कन मिल्ने घन्टी ओडार गुफाभित्र दुई लाम्चो आकारको ढुङ्गा रहेको छ । त्यस ढुङ्गामा हिर्काउँदा घन्टीको जस्तो आवाज निस्कने हँुदा यस गुफाको नाम घन्टी गुफा रहन गएको स्थानीयवासी श्यामप्रसाद सोती बताउनुहुन्छ । यहाँ आउने जो कोहीले पनि ढुङ्गा बजाउने गरेको पाइन्छ । गुफाको लम्बाइ करिब ३० मिटर रहेको छ । गुफाभित्र ५० जनाभन्दा बढी मान्छे बस्न मिल्ने अवस्था छ । फ¥याच पहार गुफा घिचिन ओडारको आडमा रहेको छ । यसमा पनि विभिन्न आकृति देख्न सकिन्छ । सुकेकोट गाउँभन्दा तल्लो भाग पहाडले घेरिएका कारण यहाँ असङ्ख्य मात्रामा विभिन्न गुफा रहेका स्थानीयवासी बताउँछन् । यस क्षेत्रमा पुरानो लाम पहाड गुफा, नाम्सु ख्वाच पहाड गुफा, करङ्चो हुल्मा गुफा, ख्वाच पहाड गुफा र चितुवा मिमडाँडा गुफा रहेको सोतीले बताउनुभयो । “गुफैगुफाले भरिपूर्ण रहे पनि विकासले गति लिन नसक्दा यस्ता पर्यटकीय गुफाको महत्व बढाउन सकिएको छैन,” उहाँले भन्नुभयो । सोतीले यहाँ रहेका अधिकांश गुफाभित्र पसेर अवलोकन गरिसकेको बताउनुभयो । प्रचारप्रसार हुन नसक्दा पर्यटकको आकर्षण बढ्न नसकेको उहाँको भनाइ छ । स्थानीयस्तरबाट नै गुफालाई महत्व नदिँदा ओझेलमा परेको स्थानीय बासिन्दा तिलवीर राना बताउनुुहुन्छ । ग्रामीण सडकमा सुधार नहुनु, गुफा क्षेत्रमा भौतिक पूर्वाधार विकास नहुनु र यहाँ रहेका पर्यटकीय गुफाको विषयमा स्थानीय बासिन्दा, स्थानीय निकाय मौन रहँदा सहलकोट क्षेत्र ओझेलमा परेको हो । सहलकोटको जुरेमा पनि आठभन्दा बढी गुफा भेटिएका छन् । भौतिक पूर्वाधार विकास भएको खण्डमा यस क्षेत्रलाई गुफैगुफाको गाउँका नामले देशमै पहिचान स्थापित गराउन सकिन्छ । जसले गर्दा भविष्यमा यहाँ दिनहुँ ठूलो सङ्ख्यामा पर्यटक भित्रिँदा गाउँमा आम्दानीको स्रोत पनि बढ्दै जानेछ ।

क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

तेह्रथुम, चैत १५ । जिल्ला कारागार तेह्रथुममा क्षमता भन्दा तेब्बर बढी कैदीबैदी छन् । कैदीबैदी बढी हुँदा उनीहरुले सास्तीसमेत भोगिराखेका छन् । पच्चीस जना .क्षमता भएका सो जिल्ला कारागारमा अहिले नौ महिला र दुई बालबालिकासहित ८७ जना कैदी र थुनुवा छन् । यसरी क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी राख्नुपर्दा उनीहरुको दैनिकी कष्टकर भएका छन् । शौचालय, भण्डार, भान्सा, आवास र खानेपानीलगायत क्रियाकलापमा उनीहरुले चर्को समस्या झेलिरहनु परेको कारागार प्रमुख उमेश घिमिरेले बताउनुभयो । कारागारमा ६९ जना कैदी र १७ जना थुनुवा रहकोपनि उहाँले बताउनुभयो । ‘२०२८ सालमा स्थापना भएको कारागारको भवनसमेत जीर्ण बनेको छ, अझ त्यसमाथि क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी भएपछि कसरी अटाउने होला ?’ उहाँले भन्नुभयो । कारागारको साढे चारदशक पुरानो भवन गतवर्षको भूकम्पले चर्काएको छ । भवन निर्माणका लागि गतवर्ष नै प्रक्रिया अघि बढाउन माग गरिएको भए पनि अहिलेसम्म कुनै प्रयास नभएको कारागार प्रमुख घिमिरेले बताउनुभयो । ‘यहाँको तथ्यगत विवरण हामीले पठाएका छौँ, निरन्तर रिपोटिङ र आवश्यक कागजात समेत पठाइरहेका छौँ, तर फाइल मन्त्रालयमै अड्किएको छ,’ उहाँले भन्नुभयो । ‘भवन चर्किएको छ, मर्मतको भरमा चलिरहेको भए पनि प्रकोपजन्य घटना घटे ठूलो क्षति पनि हुनसक्छ, प्रमुख घिमिरेले भन्नुभयो । ‘कैदीबन्दी बढी भएकाले शौचालय, भण्डार, भान्सा, खानेपानी लगायतको समस्या हुन्छ, उहाँले ‘२५ जना अटाउने ठाउँमा ८७ जना बस्नुपर्दा कस्तो होला भनी प्रश्न गर्नुभयो ? ’कारागारको व्यवस्थापनमा पटक÷पटक माग गरेपनि अझै सुनुवाइ नभएको प्रमुख धिमिरेले बताउनुभयो । जीर्ण र साँघुरो भवनमा जाडोका महिनामा सन्तोषजनक भए पनि गर्मी र बर्खाका महिनामा भने सास्ती हुने गरेका छन् । भवनको जस्तापाता फाटेर जताततैबाट पानी चुहिँदा बर्खाका तीन महिना बाल्टी थापेर सुत्ने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । अहिले पनि पानी पर्दा पानी चुहिएर बन्दीलाई सुत्ने व्यवस्था मिलाउन समस्या छ । कारागारको भवन निर्माण तथा स्थानान्तरणका लागि पटक÷पटक प्रयास भइरहे पनि गत वैशाख, भदौ र मङ्सिरमा पुनःस्थानान्तरणका लागि लेखापढी गरेर सम्बन्धीत निकायमा पठाएको प्रमुख धिमिरेले बताउनुभयो । ‘प्रमुख जिल्ला अधिकारीदेखि क्षेत्रीय प्रशासक, विभागका प्रमुख सबैलाई समस्या सुनाएको छु, उहाँले भन्नुभयोे, ‘कति पटक मानवअधिकारकर्मीले पनि कारागार स्थलगत निरीक्षण गरेर फर्केका छन् तर यहाँको अवस्था जस्ताको त्यस्तै छ ।’ तत्कालीन प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीको अगुवाइमा कारागार व्यवस्थापनका लागि म्याङलुङको खाद्य गोदाम आसपासको ९ रोपनी जग्गा दिइने सिफारिस गरिएको छ । तर अहिलेसम्म कुनै प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रलाई शिक्षकद्वारा पाँच लाख सहयोग

म्याग्दी, १५ चैत । राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा लाग्नुभएको अभियन्ता महावीर पुनलाई रिम स्रोत केन्द्र अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकले रु.पाँच लाख सहयोग गरेका छन् । स्रोतकेन्द्रअन्तर्गतका शिक्षकले आफ्नो पारिश्रमिकबाट गरेको सो सहयोग रकम स्रोतव्यक्ति भरतकुमार पुन र टिकोट माविका प्रधानाध्यापक प्रदीप पुनले अभियन्ता पुनलाई हस्तान्तरण गर्नुभयो । स्रोत केन्द्रअन्तर्गत १० वटा विद्यालयका ९२ जना शिक्षकले सो सहयोग गरेका हुन् । स्रोतकेन्द्रअन्तर्गतका विद्यालयमा इन्टरनेटसहित स्वास्थ्य सेवा विस्तारमा अभियन्ता पुनको महत्वपूर्ण भूमिका रहेको छ । सन् २००७ मा म्यागासेसे पुरस्कारबाट सम्मानित हुनु भएका पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि अभियान थाल्नुभएको छ ।

नगरपालिकाका इन्जिनियरलाई कार्यकक्षमै कुटपिट

गौशाला, चैत १५ । महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका इन्जिनियर शोभिन्द्र साहलाई सोमबार दिउँसो एक समूहले कार्यकक्षमै कुटपिट गरेको छ । इन्जिनियर साहका अनुसार उहाँ आफ्नो कार्यकक्षमा काम गरिरहेकै क्रममा स्थानीय नवीन साह, अजित चौधरी, सञ्जय बालग्वाल लगायतका व्यक्तिले आएर गाली, बेइज्जति गर्नुका साथै कुटपिट गरेका छन् । नगरपालिका क्षेत्रभित्र नगर विकास कोषको योजना र बजेट बाँडफाँडको टेन्डरसम्बन्धी सूचना प्रकाशन गरेको कुरालाई लिएर उनीहरुले इन्जिनियर साहलाई कुटपिट गरेको पीडित इन्जिनियर साहले बताउनुभएको छ । उनीहरुको कुटाइबाट इन्जिनियर साहलाई सामान्य चोटपटक लागेको छ भने उहाँको अवस्था सामान्य रहेको उहाँले बताउनुभएको छ । उहाँले आफूले कार्यालय प्रमुखको आदेशानुसार टेन्डरसम्बन्धी सूचना प्रकाशित गरेको र आफूलाई यसमा कसैले गाली, बेइज्जति र कुटपिट गर्नु गैरकानुनी भएको भन्नुहुँदै आफूलाई दुव्र्यवहार र कुटपिट गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्नुभएको छ । यता इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलसँग घटनाबारे जानकारी लिँदा उहाँले गौशाला नगरपालिकामा इन्जिनियर साहमाथि गाली बेइज्जति भएको, स्थानीय र इन्जिनियरबीच भनाभन् भएको बारे आफूलाई जानकारी भएको तर कुटपिट भएको बारे प्रहरी टोलीले केही नभनेको बताउनुभयो। साथै, उहाँले आफ्नो प्रहरी टोली घटनास्थल पुग्दा बादविवाद साम्य भइसकेको तथा उनीमाथि कुटपिट गर्ने समूह भागिसकेको बताउनुभयो ।

कडा सुरक्षाबीच आरआर क्याम्पसमा स्ववियु निर्वाचनको लागि मतदान सुरु

काठमाडौं, चैत १५ ।  रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्ववियू निर्बाचन आज म‌ंगलबार सुरु भएको छ ।   पटक पटक विवाद भएर स्थगित भएको आरआर क्याम्पसको निर्वाचन आज विहान ९ बजेबाट मतदान सुरु भएको हो । आरआर क्याम्पसमा एमालेनिकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ र माअोवादी निकट अखिल क्रान्तिकारी मुख्य प्रतिस्पर्धी छन् । निर्बाचनमा अनेरास्ववियुबाट टपेन्द्रबहादुर शाही, नेविसंघबाट उत्तम साउदको समूह चुनावी मैदानमा छ । नयाँ शक्ति पार्टी, वैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन संयुक्त प्यानल बनाएर अरबन्द्रि भट्टराईको नेतृत्वमा मैदानमा छ । निर्वाचन कार्यतालिका अनुसार अहिले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने बताइएको छ ।  क्याम्पस परिसरमा कडा सुरक्षा दिइएको छ ।आरआरमा करिव ३ हजार ५ सय बढी मतदाता छन् ।  

नियमावली रोकिए संघर्ष हुन्छः शिक्षा मन्त्री

लमजुङ, चैत्र १५ । शिक्षा मन्त्री धनिराम पौडेलले जुनकुनै हालतमा पनि शिक्षा नियमावली जारी गरिने बताएका छन् । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च, नेपालले आज लमजुङको वेसिशहरमा आयोजना गरेको “दिगो विकासका लक्ष्यहरु र स्थानिय तह” विषयक सांसद तथा सरोकारवालाहरु बीचको अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै शिक्षा मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । सवै प्रक्रिया पूरा गरेर क्याविनेटमा पुगेको शिक्षा नियमावली रोक्ने अधिकार कसैलाई नभएको भन्दै उनले यदि नियमावली जारी गर्न नदिने षड्यन्त्र कतैबाट भए संघर्ष हुने बताए । शिक्षा ऐनको आठौं संशोधनलाई कार्यान्वयन गर्न नियमावली ल्याउन लागिएको भन्दै उनले संघियताको मर्म अनुसार अर्को ऐन नबनेसम्मको लागि शिक्षा क्षेत्रको कामलाई अघि वढाउन नियमावली चाहिएको स्पष्ट पारे । उनले क्याविनेट पुगेको नियमावली जारी नभए अस्थायी शिक्षक, प्रारम्भिक वाल कक्षाका शिक्षिका र विद्यालय कर्मचारीको व्यवस्थापनमा समस्या बल्झिने बताए । शिक्षामन्त्री पौडेलले ७ सय ४४ वटा स्थानिय तह संचालनको विषयमा गंभिर बहस शुरु भएकको भन्दै दिगो विकास लक्ष्य प्राप्तीको लागि स्थानिय तहलाई सुदृढ बनाउनु पर्नेमा जोड दिए । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चकी महालक्ष्मी डिना उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा सभासदहरु भिष्मराज अधिकारी, लालबहादुर गुरुङ, लमजुङका निमित्त प्रमुख जिल्ला अधिकारी तिर्थ अधिकारी, जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमाल, महिला विकास अधिकृत विष्णुकुमारी लामिछाने लगायतले बोलेका थिए । कार्यक्रममा वक्ताहरुले सन् २०३० सम्ममा नेपालले दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने संभावना र चुनौतिहरुका विषयमा आआफ्ना धारणा राखेका थिए । नेपालले प्रतिवद्धता जनाएको दिगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार, नागरिक समाज, समुदाय र अन्य सरोकारवाला सबै लाग्नु पर्नेमा वक्ताहरुको जोड थियो ।