दुई सय तीन म्यादीले राजीनामा दिए

नुवाकोट, जेठ २९ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् ।

सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २०३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन् ।  स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको जिल्लाका म्यादीलाई सेवा निरन्तरता दिन नचाहेमा राजीनामा दिन पाउने व्यवस्था गरेकाले जागिर छाड्न चाहनेको राजीनामा स्वीकृत गरिएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

वैशाख ३१ को निर्वाचनलाई लक्षित गरी नुवाकोटमा ७७२ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । पहिलो चरणमा यही जेठ १७ गतेसम्म दिएको नियुक्त पूरा भएकाले निर्वाचन सुरक्षापछि समसामयिक सुरक्षा व्यवस्था मजबुद बनाउन प्रहरीलाई सहयोग पु¥याउन म्यादीलाई परिचालन गरिएको छ ।

म्यादीलाई नेपाल प्रहरीको जवानसरहको सुविधा उपलब्ध गराए पनि उनीहरुलाई प्रहरीको सहयोगीमात्र रहने जिम्मेवारी दिइएको छ । बाँकी रहेको प्रदेशमा स्थानीय तह निर्वाचन गराउन नुवाकोटबाट प्रहरी निरीक्षकसहित १५३ जना प्रहरी अन्यत्र गएकाले म्यादी प्रहरीको परिचालन सुरक्षा व्यवस्था सतर्कताका लागि बाध्यता बनेको छ ।

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

रत्ननगर (चितवन), जेठ २१ । चितवनको माडीमा पिकनिक खान गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । शनिबार साथीहरुसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिखा परियार र सात वर्षीया दीपिका सुनारको पानीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पानीमा डुबेर गम्भीर बनेका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । दिनेश परियारकी छोरी दीपशिखा र दुर्गा सुनारकी छोरी दीपिका साथीहरुसँग पिकनिक खान गएका थिए । सो क्रममा नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेको प्रहरीले जनाएको छ । डुबेर बेहोस अवस्थामा उद्धार गरिएका उनीहरुमध्ये दीपिकाको चितवन मेडिकल कलेजमा र दीपशिखाको स्थानीय मेडिकलमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

पत्रकार उपचार कोषलाई गिरीले दिए १ लाख १ हजार

बिर्तामोड, जेठ २१ । झापा बुट्टाबारी निवासी समाजसेवी मानबहादुर गिरी तथा परिवारले पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । अर्जुनधारा–११ बुट्टाबारीका ९३ बर्षीय मानबहादुर तथा छोराबुहारी कृष्णकुमार र शान्तिकुमारी (मधु)ले शनिवार उक्त रकम पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । पत्रकार महासंघ झापाले एक करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको महासंघका सहसचिव तथा कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिए । भोजपुरको दिलपा नाम्दालुङमा जन्मिएका मानबहादुरले सामाजिक तथा धार्मिक क्षेत्रमा उल्लेख्य सेवा र सहयोग गर्दै आएका छन् । उनले दशनामी समाज झापाको भवन निर्माणका लागि बुट्टाबारीमा चार कठ्ठा जग्गा दान गरेका छन् । त्यस्तै विराट–भरत विश्रान्ति बृद्धाश्रमका लागि १० लाख रुपैयाँको गाडी सो विश्रान्तिका अध्यक्ष रहेका उनका जेठा छोरा हर्कलाल गिरीलाई हस्तान्तरण गरेका छन् । उनले हल्दिवारीको कृष्ण मन्दिर निर्माण, अनारमनी पब्लिक क्याम्पस, भोजपुरको सिद्धकालीदेवीको मन्दिर जाने बाटोको सिढी निर्माण, भोजपुरको दिलपास्थित अन्नपूर्ण उच्च माविमा उल्लेख्य सहयोग गरेका छन् । त्यस्तै श्रीमती भगवती गिरीको स्मृतिमा देवी मावि र कान्छा छोरा कुमार गिरीको स्मृतिमा चारपानेस्थित संस्कृत विद्यालयमा २ लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । गिरीले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले मुलुक परिवर्तन र नागरिकलाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिन सबैमा आग्रह पनि गरेका छन् । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघ तथा कोषका सदस्य बिनोद सापकोटाले जानकारी दिए । कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने कोषका संयोजक गिरीले जानकारी दिए ।

अब कुनै समस्या छैन, घरदैलोमै अाएर वृद्धभत्ता दिइने

चौतारा, जेठ २१ । बैँकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बैँकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेको परिस्थितिलाई ध्यानमा राखी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङले वृद्ध वृद्धाको सुविधाको लागि घरघरमै गएर वितरण गरिने बताउनुभयो । केही जिल्लाका केही भष्ट गाविस सचिवले सामाजिक सुरक्षाभत्ता किर्ते गरी हिनामिना गरेका थिए । मृत्यु भएर एक दशक वितिसकेका कतिपय वृद्धवृद्धाको लगत कट्टा नगरी उनीहरुका नाउँमा निकासा भएको भत्ता खाने गरेको रहस्य खुलेपछि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैँक खाता खोलेर भत्ता वितरण गर्न तत्कालीन सबै जिविसलाई पत्राचार गरेको थियो । सोही निर्देशनको पालना गर्दै आव २०६९-७० देखि तत्कालीन चौतारा गाविसका वृद्धवृद्धाका लागि कृषि विकास बैंक चौताराबाट भत्ता वितरण गरिँदैआएको थियो । तत्कालीन गाविसलाई अन्य चार गाविसमा गाभेर चौतारा नगरपालिका कायम गरिएकामा हाल १० गाविस मिलाएर चौतारा साँगाचोकगढी नगरपालिका कायम गरिएको छ । नगरपालिका कायम गरिए पनि पहाडी क्षेत्रमा भौगोलिक कठिनाइले गर्दा सदरमुकामस्थित बैकमा खाता खोलेर भत्ता पाउन ज्यादै सास्ती खेप्नुपरेको पीडित वृद्धवृद्धाले दुःखेसो गर्न थालेका छन् । सुरुमा खाता खोल्न बोकिएर जानुपर्ने र भत्ता बुझ्न पनि पटक पटक बोकिएरै जानुपर्ने हुँदा उनीहरुका लागि त्यस्तो भत्ता निल्नु न ओकल्नु जस्तै भएको हो । “पहिले त सचिवले घरमै आएर भत्ता दिन्थे”, चौतारा साँगाचोकगढी नगरपालिका– ७ निवासी ८६ वर्षीया लीलामाया केसीले भन्नुभयो, “आफू हिँड्नै सक्तिन, बोकिएर जान पनि मान्छे कोही पाइँदैन । भत्ता पाएर पनि लिन जान नसकेपछि त्यस्तो भत्ता के काम लाग्यो र ?” आव ०७४-७५ को बजेट बक्तव्यमा पनि बैँकमार्फत भत्ता कारोबार गरिने उल्लेख छ । वृद्धवृद्धाको सुविधाका लागि जहाँजस्तो उल्लेख भए पनि आगामी आवदेखि घर घरमै गएर भत्ता वितरण गरिने नगर प्रमुख तामाङले दृढता व्यक्त गर्नुभयो । जनप्रतिनिधि निर्वाचित भएर आइसकेको हुँदा बडाध्यक्ष र सदस्यको सक्रियतामा भत्ता हिनामिना नहुने उहाँको विश्वास छ ।

बनेपामा बस दुर्घटना, ३८ घाइते

बनेपा, २१ जेठ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा२ख ६४४१ नंको बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । घाइते भएका अधिकांशको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सो गाडीमा करिब ४५ जना यात्रु सवार थिए ।

गर्मीले मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर

धनुषा, जेठ २१ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण धनुषासहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । गर्मीका कारण तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको जनजीवन निकै प्रभावित बनेको छ ।  गर्मीका कारण यस क्षेत्रका बजार दिउँसो सुनसान देखिने गरेका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ । जनकपुर अञ्चल अस्पतालका अनुसार अस्पतालमा दैनिक आउने बिरामीमध्ये झाडापखाला र गर्मीको कारण हुने विभिन्न किसिमका रोग नै बढी देखिएको छ । गर्मीका कारण बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय जान पनि गाह्रो हुन थालेको छ । अहिले बिहानको तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको छ भने दिउँसो यो बढेर ३९–४० डिग्रीसम्म पुग्ने गरेको छ ।  यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । बाहिर घाममा निस्किँदा अनिवार्य रुपमा छाताको प्रयोग गर्नुपर्ने र चिसो खानेकुराहरु काँक्रा, तरभुज खानुका साथै हरियो सागसब्जी र अत्यधिक मात्रामा पानी पिउनुपर्ने सल्लाह चिकित्सकले दिएका छन् ।

तीन दिनअघि बाढीको पूर्वसूचना पाउन सकिने

काठमाडौं, जेठ २१  । सरकारले बाढी आउनुअघि पूर्वसूचना दिने प्रविधि सुरु गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षदेखि बाढी आउनुभन्दा तीन दिनअघि पूर्वसूचना दिने प्रविधिको सुरुवात भएको हो । यसअघि पूर्वसूचना दिने प्रविधि एकदमै छोटो थियो । तर, भविष्यमा ठूलो बाढी आई असर पार्ने देखिएमा तीन दिनअघि नै पूर्वसूचना पाइने भएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी जलाधार क्षेत्रमा परेको पानीको आधारमा बाढीको तीन दिनअघि पूर्वअनुमान गर्न सकिने जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट विनोद पराजुलीले जानकारी दिए । ‘हामीले नदी वा खोलाको जलाधार क्षेत्रका ९० ठाउँमा वर्षा मापन गर्ने उपकरण राखेका छौँ,’ उनले भने, ‘सोही वर्षाको आधारमा बाढी कति ठूलोसम्म आउन सक्छ भन्ने अनुमान गर्न सक्छौँ ।’ बाढीले धेरै प्रभावित गर्ने नदी वा खोलाका जलाधार क्षेत्रमा वर्षा मापन केन्द्रले दिएको सूचनाका आधारमा तीन दिनअघिको सूचना दिइने भएको छ ।

रक्तदान जीवनदान कार्यक्रम

काठमाडौं, जेठ २१ । नेपाल माहेश्वरी परिषद् अन्र्तगत मेची देखि महाकालीसम्म रहेका स्थानीय संगठनहरु माहेश्वरी समाज काठमाडौं नक्साल, माहेश्वरी समाज विराटनगर, मेची माहेश्वरी सभा विर्तामोड, सुनसरी माहेश्वरी सभा इटहरी, सगरमाथा माहेश्वरी सभा लाहान एवं हनुमान नगर, बीरगञ्ज माहेश्री सभा बीरगञ्ज, मध्यमाञ्चल माहेश्वरी सभा नारायणघाट, लुम्विनी माहेश्वरी सभा भैरहवा, पश्चिमाञ्चल माहेश्वरी सभा धनगढी द्वारा २०७४ साल जेष्ठ २० गते शनिबार तदनुसार ३ जून २०१७ का दिन महेश नवमी पर्वको पावन अवसरमा “रक्तदान जीवनदान” कार्यक्रमको आयोजना भव्यताका साथ गरिएकोे छ । उक्त कार्यक्रमं मा सबै स्थानीय संगठन एवं त्यहा“ बसोवास गर्ने सम्पूर्ण महानुभावहरुको बाक्लो उपस्थिती थियो । नेपाल माहेश्वरी परिषद्को तर्फबाट सम्पूर्ण महानुभावहरु लाई हार्दिक धन्यवादृ ज्ञाापन ब्यक्त गरेको छ । उक्त कार्यक्रम मा ,देश भर कारीब ५०० पिन्ट रगत सन्कलन भएको जानकारी परिषद का प्रबक्ता बिमल राठी ले बताए ।

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

रत्ननगर (चितवन), २१ जेठ । चितवनको माडीमा पिकनिक खान गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । शनिबार साथीहरुसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिखा परियार र सात वर्षीया दीपिका सुनारको पानीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पानीमा डुबेर गम्भीर बनेका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । दिनेश परियारकी छोरी दीपशिखा र दुर्गा सुनारकी छोरी दीपिका साथीहरुसँग पिकनिक खान गएका थिए । सो क्रममा नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेको प्रहरीले जनाएको छ । डुबेर बेहोस अवस्थामा उद्धार गरिएका उनीहरुमध्ये दीपिकाको चितवन मेडिकल कलेजमा र दीपशिखाको स्थानीय मेडिकलमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

कैलालीमा गंगादशहरा मेला शुरु

कैलाली, जेठ २१ ।  कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको प्रसिद्ध धार्मिक स्थल बेहडा बाबामा आजदेखि गंगा दशहरा मेला सुरु भएको छ । मेला भर्नका लागि नेपालका विभिन्न ठाउँ सहित भारतबाट दर्शनार्थीहरु आएका छन् । मेला व्यवस्थापन समितिका अध्यक्ष खेम चन्दले मेलामा दर्शनार्थीहरु आउने क्रम जारी रहेको बताए । झण्डै २५० वर्ष इतिहास रहेको बेहडा बाबामा भारतबाट सबैभन्दा बढी श्रद्धालुहरु तीर्थका लागि आउने गरेका छन् ।

मादी नदीमा पौड़ी खेल्न गएका बालक बेपत्ता

दमौली, २० जेठ । तनहुँको व्यास नगरपालिका वडा नं १० बोटेगाउँ नजिकै मादी नदीमा पौडी खेल्न गएका एक बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । डुबेर बेपत्ता हुनेमा १२ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । दुईजना साथीसँग पौडी खेल्न गएका ती बालक नदीमा डुबेर बेपत्ता भएका हुन् । अर्का एक बालकलाई भुमरीमा घुमाइरहेका बेला पवित्रा बोटेले उद्धार गर्नुभएको थियो । दुई सयभन्दा बढी स्थानीय बासिन्दा र प्रहरीले बेपत्ता ती बालकको खोजी गरिरहेको व्यास नपा वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । सागर चण्डीदेवी राष्ट्रिय मावि, कुमालटारीमा कक्षा ६ मा पढ्ने विद्यार्थी हुन् । रासस –––––

बीस दिनदेखि वृद्ध बेपत्ता

गौशाला, जेठ १५ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ डाम्हीमडै बस्ने एक वृद्ध २० दिनदेखि बेपत्ता भएका छन् । वैशाख २५ गते भतिजीको बिहे हेर्न घरबाट धनुषाको जनकपुरधामस्थित मसालाकटेजमा गएका ७० वर्षीय महेन्द्र ठाकुर बिहे कार्यक्रमबाटै अचानक हराएका छन् । भतिजीको बिहे चलिरहेकै बेला राति ३ बजेतिर वृद्ध ठाकुरले विवाह स्थलको छेउमै रहेको गाउँले छिमेकीको घरमा सुत्न भनी गएकोमा उनी हालसम्म फेला नपरेको निजका भतिजा अनिल ठाकुरले बताउनुभयो । बिहेको भोलिपल्ट बिहानै उनको खोजी हुँदा उनी छिमेकीको घरमा नपुगेको सुनेपछि आफन्त सबैले खोजबिन गर्दा उनी जनकपुरको कुनै पनि ठाउँमा फेला नपरेको साथै गाउँमा समेत नआएपछि उनलाई खोज्न स–परिवार, आफन्त सोही दिनदेखि चिन्तित भएको उनका नाति सन्तोष ठाकुरले बताउनुभयो । बीस दिनदेखि उनका घरका सबै सदस्य, छिमेकी, आफन्त सबैले उनलाई महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिन्धुली र भारतका सीतामढी, मधुबनी जिल्लाको प्रत्येक गाउँठाउँ पुगिसके पनि उनको कुनै अत्तोपत्तो नलागेको परिवारजनले बताएका छन् । वृद्ध ठाकुरका परिवारजनले महोत्तरीको सञ्चारकर्मी समक्ष उनी हराएकोबारे समाचार प्रकाशन प्रसारण गरेर उनको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

एक घरमा ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का

कालीकोट, जेठ १५ । जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउने प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनैपर्ने बताउनुभएको छ । नवनिर्वाचित प्रमुख विजयी भएपछि जिल्ला सदरमुकाम आइपुगेका प्रमुख बरालले सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै आफूले रास्कोट नगरको विकास गर्नका लागि अनिवार्य रुपमा पहिलो चरणमा हरियाली रास्कोटका लागि अघि बढ्ने बताउनुभएको छ । जिल्लाका विभिन्न निकायमा पहल गरेर आगामी तीनदेखि पाँच वर्षभित्र हरियाली रास्कोट बनेर छाड्ने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘‘अहिले ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माणका क्रममा थालेको वृक्षरोपण कार्यक्रमले स्थानीयस्तरमा प्रभाव कायम गरेको भन्दै जिल्ला वन कार्यालयलगायतका निकायसँग पहल गर्नेछु ।’’ उहाँले हरियाली रास्कोटमा सबैले साथ दिने विश्वास गर्नुभएको छ । यदि कसैले अटेर गरेमा सरकारी अनुदानसमेत रोक्का गनै सकिने बताउनुभएको छ । रास्कोटमा पहिलो चरणमा नगरबस सञ्चालनमा ल्याउने, एक सय वाट क्षमताको सामुदायिक रेडियो सञ्चालन गर्ने र एक किलोवाट विद्युत्समेत उत्पादन गर्ने योजना रहेको बरालले बताउनुभएको छ ।

जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान

बनेपा, जेठ १५ । बनेपा नगरपालिकामा रहेका जनआन्दोलनका गम्भीर घाइते तथा ज्यूँदो सहिद मुकेश कायस्थलाई आज सम्मान गरिएको छ । उहाँको निवास पुगेर गणतन्त्र दिवस आयोजक जिल्ला समितिबाट सम्मान गरिएको हो । बाह्र वर्षदेखि अर्धचेत अवस्थामा रहेका मुकेशलाई प्रम्ख जिल्ला अधिकारी शिवप्रसाद सिङ्खडा, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कोमल धमला र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो । सो अवसरमा मुकेशकी आमा मिरा कायस्थले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुका साथै नियमित जाँचका लागि चिकित्सकको व्यवस्था गर्न अनुरोध गर्नुभएको थियो । जनआन्दोलका क्रममा मुकेश प्रहरीको गोली लागेर गम्भीर घाइते हुनुभएको थियो । यसअघि प्रभातफेरी आयोजना गरिएको थियो ।

बस दुर्घटनामा एकको मृत्यु, दुई दर्जन यात्रु घाइते

लहान, जेठ १५ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेव चोकमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै दुई दर्जन यात्रु घाइते भएका छन् । विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना.४.ख ८०६२ नं.को बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको ना.१.ख ५०६७ नं.को बसले उछिन्ने क्रममा ठक्कर दिँदा ना.१.ख ५०६७ नंको बसका सहयोगी कटारी नगरपालिका–३ निवासी ३७ वर्षीय निलकमल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ । सो बसमा सवार सिन्धुली दुधौली नगरपालिका–७ निवासी चन्द्रबहादुर बुढाथोकी र उदयपुरको कटारी नगरपालिका–४ निवासी मिलन थापालगायत दुई दर्जन घाइतेको मिर्चैयास्थित मङ्गलम रेखा नर्सिङ होममा उपचार भइरहेकोे छ ।

चाँगुनारायण ७ मा कांग्रेस विजयी

भक्तपुर, जेठ १५ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी भएका छन् । उनले १ हजार ७१ मत प्राप्त गरेर विजयी बनेका छन् भने उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गरेका थिए । त्यसैगरी, दलित महिला सदस्यमा कांग्रेसकै मनिता नेपाली ९८९, खुल्ला सदस्यतर्फ सहबुद्ध श्रेष्ठ ८९० र रमेश लामा ८८० मत ल्याएर विजयी भए । महिला सदस्यमा भने एमालेकी दुर्गा लामिछाने थापाले ८९० मत ल्याई विजयी बनेकी छिन् । दुर्गाले ८९० मत प्राप्त गरिन् भने रामलक्ष्मीले ८८४ मत प्राप्त गरिन्।