विदेश जान बिदाई गरेको दुइ दिनमै छोराको मृत्यु

सिन्धुली, बैसाख ८ ।  छोराले विदेशबाट पैसा कमाएर ल्याउला अनि दुःखका दिन सकिएला भन्ने ठानेका बालाबखर ८ धनुषाका रामबुझाम मण्डलको सपना अधुरै रह्यो । छोराले दुःख गरेर भए पनि पैसा कमाएर ल्याउला र साहुको ऋण तिरौंला भनेर वैदेशिक रोजगारीका लागि विदाइ गरिएको छोराको दुई दिनमै शव देखेपछि मण्डलको सपना मात्र अधुरो रहेन, सदाका लागि काख नै रित्तियो । उहाँको बुढेसकालाको सहारा नै गुम्यो ।

मलेसिया हिँडेका बालाबखर ८ धनुषाका सरोजकुमार मण्डलको बुधबार बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ पीपल भन्ञ्याङमा भएको बलेरो दुर्घटनामा मृत्यु भएपछि मण्डल परिवारमा यस्तो बज्रपात परेको हो । छोराको शव बुझ्न बिहीबार सिन्धुली अस्पताल आइपुग्नुभएका रामबुझम मण्डल घरी बर्बराउने, घरी अचेत हुनुहुन्छ । ‘छोरालाई हाँसीखुसी विदाइ गरिएको दुई दिनमै मुख देख्न पाइएन’, बर्बराउँदै उहाँले भन्नुभयो, ‘अब जिन्दगीका सबै सपना चकनाचुर भए ।’

कतारमा तीन वर्ष बसेर एक वर्षअघि घर आउनुभएका सरोज पुनः वैदेशिक रोजगारका लागि मंगलबार घरबाट विदा भएर काठमाडौं जानुभएको थियो । म्यानपावर कम्पनीले बुधबारको टिकट नमिलेर आगामी सोमबारका लागि मात्र टिकट हुने भनेपछि उहाँ फेरि घर फर्कंदै हुनुहुन्थ्यो । घर फर्कने क्रममा उहाँ चढेको बलेरो जिप सडकबाट २ सय मिटर तल खस्दा सरोजको घटनास्थलमै मृत्यु भयो ।

‘बुबा अचेत हुन थाल्नुभएको छ । घरमा आमा घटना थाहा पाएदेखि नै अचेत अवस्थामा हुनुहुन्छ’, मृतक सरोजका भिनाजु फूलमान मण्डलले दुखेसो पोख्दै भन्नुभयो ।’ सरोजसँगै वैदेशिक रोजगारीमा हिँडेका सोही ठाउँका जयकुमार यादवको पनि दुर्घटनामा मृत्यु भएको छ । उहाँको परिवारमा पनि रुवाबासी छ । सरोज र जयकुमारको घटनास्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख उमाशंकर पञ्जियारको भनाइ छ ।

‘साहुसँग ऋण काढेर विदेश हिँडेको झन्डै ज्यान गएन’, दुर्घटनाका गम्भीर घाइते राकेशकुमार यादवले भन्नुभयो, ‘सँगैका साथी गुमाउनुपर्‍यो । आफ्नो खुट्टा गुम्यो ।’ ‘बाँचेर पनि अब केही गर्न नसकिने भयो’, उहाँले भन्नुभयो । उहाँसँगै गम्भीर घाइते जितनाराण यादवको पनि अवस्था उस्तै छ । ‘एउटा खुट्टा तीन ठाउँमा भाँच्चिएको छ । शरीरभरि चोट लागेको छ ।

धन्न बाँचियो’, उहाँले भन्नुभयो । जितनारायण पहिलो पटक वैदेशिक रोजगारीका लागि मलेसिया जान लाग्नुभएको थियो । गाउँका सबै साथी विदेश जाने भनेपछि आफू पनि सँगै हिँडको उहाँले बताउनुभयो । मलेसियाका लागि बालाबखर ८ धनुषाका दसजना युवा एकै पटक घरबाट निस्केका थिए । उहाँहरू भनेको समयमा टिकट नपाएपछि थप दुई दिन घरमा बस्ने र सोमबार उड्ने गरी आइतबार काठमाडौं जाने तयारीका साथ बलेरो रिजर्भ गरी बुधबार घर फर्कंदै हुनुहुन्थ्यो ।

बलेरोमा सवार आठजना गम्भीर घाइते छन् । गम्भीर घाइतेमध्ये एकजनाको काठमाडौंमा र अन्य सातजनाको जनकपुरमा उपचारका लागि सिन्धुली अस्पतालले रेफर गरेको छ । बुधबार काठमाडौंबाट धनुषातर्फ आउँदै गरेको बा १ ज ५ नम्बरको बलेरो दुर्घटना भएको थियो ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

नेपाल कम्युनिस्ट पार्टीका २३ जना प्रहरी नियन्त्रणमा

चितवन, वैशाख ७ । नेपाल कम्युनिस्ट पार्टीले भरतपुरमा आयोजना गरेको निर्वाचन विरोधी सभामा प्रहरीले हस्तक्षेप गरी २३ जनालाई नियन्त्रणमा लिएको छ । कार्यक्रमका वक्ता पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले निर्वाचन विथोल्ने अभिव्यक्ति दिएलगत्तै प्रहरीले सभामा सहभागी हुन आएकालाई तितरवितर पारेको थियो । सभा बिथोल्ने क्रममा पार्टी भरतपुर महानगरपालिका–२५ का एरिया सेक्रेटरी कृष्णप्रसाद पौडेल घाइते भएका छन् । पार्टीले ठाउँ ठाउँमा टायर बाल्न थालेपछि रिजालचोकबाट सात, त्रिचोकबाट नौ, चौविसकोठीबाट चार तथा हाकिमचोक र विमानस्थलका बीचबाट तीन जना जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् । निर्वाचन विरोधी गतिविधि गर्ने जो कोहीलाई पनि नियन्त्रणमा लिइने उनले बताए । प्रहरीले भरतपुर क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा परेको छ ।

पहिरामा पुरिएर तीनको मृत्यु

कालीकोट, वैशाख ७ । स्थानीय लालीघाट बजारमा आज साँझ आएको पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको छ । पहिराले चियापसलमा चिया खान बसेका दुई र पसल सञ्चालकको मृत्यु भएको अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले जानकारी दिए । अहिले पनि पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । शव पहिराबाट निकाल्न नसकिएको र उनीहरुको सनाखत पनि हुन सकेको छैन ।

लोडसेडिङ अन्त्यको कथा सार्वजनिक

बैशाख ७ । लोडसेडिङमुक्त देश बनाउने अभियानका साथ निर्माण भएको फिल्म ‘उज्यालो नेपाल’ युट्युबमा सार्वजनिक भएको छ । नेपालमा लोडसेडिङका लामो मार खेप्नु परेको जनता तिनले पाएका दुःख पीडा र लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर निर्माण भएको यस फिलिममा उर्जामन्त्री जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई फिल्ममा देखाएको छ। कुलमान घिसिङ जस्तो इच्छाशक्ति बलियो भएको व्यक्तिको कारण उर्जा क्षेत्रमा भएको नाटकीय परिर्वतन र सकारात्मक प्रभाव नै फिल्मको मुख्य विषय भएको बताइएको छ । अभिनेता राजेश हमालले फिल्ममा मन्त्रीको भूमिका निभाएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन् । शुभ मिडिया होम प्रालिले निर्माण गरेको फिल्ममा अभिमन्यु निरवीको कथा रहेको छ । सरोज ओलीको निर्देशन रहेको यस फिलिममा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ । उक्त फिलिम हाल नेपाल टेलिभिजनमा प्रसारण भइसकेको छ ।

शाैचालयकाे ट्यांकीमा बालकको शव फेला

धनुषा, वैशाख २ । धनुषा जिल्लाकाे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा शनिबार आफ्नै घरको शौचालयको ट्याङ्कीमा आठ वर्षीय केशव राउतको शव फेला परेको प्रहरी सहायक निरीक्षक टीकप्रसाद बरालले जानकारी दिएका छन् । प्रहरीले शव भेटेलगत्तै बालकका बुबा देवनारायण र सौतेनी आमा रीनादेवीलाई नियन्त्रणमा लिएको छ । बालकको हत्या गरेको आशङ्का प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । छोरा हराएको भन्दै सौतेनी आमा रीनादेवीले बिहीबार वडा प्रहरी कार्यालय मुजेलियामा निवेदन दिएकी थिइन् । खोजतलासको क्रममा बालकको शव शौचालयको ट्याङ्कीमा फेला परेको हो ।

चट्याङले लियाे चारकाे ज्यान

काठमाडौं, वैशाख २ । धनकुटा, इलाम र मकवानपुर जिल्लामा हुरीवताँससँगै चट्याङ्ग लाग्दा चार जनाको मृत्यु भएको छ । चट्याङ्गबाट एक बालकसहित दुई जना घाइते भएका छन । धनकुटाको खाल्सा छिन्ताङ सहिद भुमि गाउँपालिका–१ मा हुरीवताँससंगै परेको चट्याङले लागेर ३६ वर्षीय छत्रकुमारी राईको घटनास्थलमा नै मृत्यु भएको हो । चट्याङसँगै लागेको आगोका कारण राईको घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । धनकुटाकै साँघुरीगढी गाउँपालिका १० ताम्राङका २४ वर्षीय कृष्णा राईको पनि चट्याङले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै ईलामको देउमाई नगरपालिका–२ मा चट्याङ लागेर २३ वर्षीय सञ्जीव राईको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले मकवानपुरको बागमती गाउँपालिका ९ वेतिनीका २८ वर्षीय जयराम तितुङको घटनास्थलमा नै मृत्यु भएको हो । घरमा सुतिरहेको अवस्थामा हुरीवताँससंगै परेको चट्याङले जयरामको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले जयरामको २५ वर्षीया पत्नी मिश्रा तितुङ र १८ महिनाको बालक अनमोल घाइते भएका छन । यसैबीच, तीव्र हावा हुरीसँगै परेको पानीका कारण पुर्वका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

चट्याङबाट युवकको मृत्यु

इलाम, वैशाख २ । इलाम जिल्लाकाे  देउमाई नगरपालिका–२ मा एक युवकको शनिबार चट्याङ लागेर ज्यान गएको छ । घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको ज्यान गएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिएका छन् ।

साँझभन्दा बिहानको विद्युत् माग सम्बोधन जटिल

काठमाडौँ, वैशाख २ । साँझको समयजस्तै बिहान पनि विद्युत्को माग उच्च हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार साँझकै हाराहारीमा नै बिहान पनि विद्युत् माग बढी हुने गरेको र व्यवस्थापनका लागि उत्तिकै सचेतताको जरुरी रहेको छ । बिहानको समयमा प्रणालीमा कूल ८९५ मेगावाट विद्युत् माग हुने गरेको छ । साँझको समयमा करिब ९५० मेगावाटदेखि एक हजार २०० मेगावाटसम्म विद्युत् माग हुने गरेको छ । साँझको माग तलमाथि हुने भए पनि बिहानको माग भने एकैप्रकारको हुने पछिल्लो तथ्याङ्कले देखाएको छ । प्राधिकरणले साँझको माग व्यवस्थापनलाई समन्वय गरेर अगाडि बढाएको छ । तर बिहान उद्योग धन्दा, कलकारखाना तथा अन्य व्यावसायिक क्षेत्रमा समेत विद्युत् आपूर्ति गर्नुपर्ने हुँदा साँझ भन्दा बिहान बढी व्यवस्थापन गर्नुपरेको जनाएको छ । साँझ उद्योग धन्दालाई विद्युत् उपलब्ध गराइदँैन । साँझ ६ बजेदेखि १० बजेसम्म औद्योगिक कोरिडोरमा विद्युत् कटौती गरेर ग्रार्हस्थ प्रयोजनका लागि पठाइन्छ । तर बिहान ग्रार्हस्थ तथा औंद्योगिक फिडरमासमेत समान रुपमा विद्युत् जाँदा लोड व्यवस्थापनमा नयाँ अनुभव प्राप्त भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साँझको समय भन्दा बिहानको समयको माग व्यवस्थापन अनुभवका हिसाबले नयाँ एवम् जटिल छ । ‘‘तर प्राधिकरण जटिलताबाट नै अगाडि बढेको छ, हामी सफल भएका छौ’’ कार्यकारी निर्देशक घिसिङको भनाइ छ । कुल विद्युत् मागमध्ये दुई तिहाइ भन्दा बढी काठमाडौँ उपत्यकामा नै रहेको छ । यस्तै सहरी तथा औद्योगिक क्षेत्रको माग पनि कूलग्रार्हस्थ माग भन्दा बढी रहेको छ । भारप्रेषण केन्द्रकाअनुसार दिउँसो भने ८०० मेगावाटको हाराहारीमा माग रहेको छ । सामान्य अवस्थामा सात सय मेगावाट विद्युत् माग हुने गरेको छ । यस्तै प्राधिकरणको केन्द्रीयप्रसारण लाइनमा प्राधिकरणको आफ्नै उत्पादन ३३६ मेगावाट, आन्तरिक रुपमा प्रवद्र्धकबाट १९० मेगावाट, भारतबाट ३१४ मेगावाट उपलब्ध छ । प्राधिकरणको प्रणालीमा ३६० मेगावाट विद्युत् कम रहेको छ । प्राधिकरणको कूल ग्राहस्थग्राहक २७ लाख ९६ हजार ६२१ छन् । गैर व्यापारिक ग्राहक १७ हजार ७२३, व्यापारिक १७ हजार १९१, उद्योग ४३ हजार ६३९ र अन्य ग्राहक ९४ हजार ३९३ रहेका छन् । प्राधिकरणले तीन हजार ७४६ मेगावाट विद्युत् बिक्री गरेको छ । त्यसबाट रु ३२ अर्ब २१ करोड बराबरको आम्दानी गरेको जनाएको छ ।

एक करोडको अक्षयकोष स्थापना

बागलुङ, वैशाख २ । रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका- ५ र ६ बिहुँकोट्बासीले गाउँमा एक करोडको अक्षयकोष स्थापना गरेक छन् । शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले सो कोषको स्थापना गरिएको हो । काठेखोला गाउँपालिका– ५ मा एक कार्यक्रमबीच उक्त कोषको घोषणा गरिएको बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिए । सो अवसरमा अध्यक्ष सुवेदीले जापान समाज बिहुँकोटका अध्यक्ष गौरीशङ्कर शर्मालाई रु एक करोड बराबरको ‘चेक’ हस्तान्तरण गरे । जापानमा रहेका बिहुँकोटबासीबाट आर्थिक सहयोग जुटाएर सो कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए । ‘शिक्षा, स्वास्थ्यलगायत सामाजिक कार्यमा सघाउ पुर्‍याउन कोष स्थापना गरिएको हो’ अध्यक्ष सुवेदीले भने, ‘जापानमा रहेका सबै बिहुँकोटवासीको यसमा ठूलो योगदान छ ।” बिहुँकोटमा रहेको जापान समाज बिहुँकोटले अक्षयकोष सञ्चालन गर्नेछ । अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याज रकमबाट विभिन्न कार्य गरिने समाजका अध्यक्ष गौरीशङ्कर शर्माले बताए । काठेखोला गाउँपालिका– ५ र ६ लाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको जनाइएको छ । ‘बिहुँकोट क्षेत्रको विकासका लागि कोष रकम परिचालित हुन्छ’ अध्यक्ष शर्माले भन्नुभयो ‘शिक्षा, स्वास्थ्य र भइपरी आउने विपद् व्यवस्थापनमा पनि सहयोग गर्ने योजना छ ।’ कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले प्रवासमा रहेर पनि आफ्नो गाउँको विकासमा सक्रिय रहनु प्रशंसनीय कार्यभएको बताए । ‘आफ्नो जन्म गाउँ र स्वेदशको विकासमा लागि प्रवासमा रहेका नेपालीको ठूलो देन छ’ उनले भने, ‘यस्ता कल्याणकारी सामाजिक कार्यको सबै क्षेत्रले अनुसरण गर्नु आवश्यक छ ।’ रासस

विभिन्न पार्टी परित्याग गरी दुईसय माओवादी केन्द्रमा प्रवेश

सुनसरी, बैशाख २ । पूर्वको सुनसरीमा विभिन्न पार्टी परित्याग गरेर दुईसय बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सुनसरीको इनरूवा नगरपालिका वडा नं. १० (साबिक जल्पापुर गाविस) मा राप्रपा, एमाले, काँग्रेस र फोरमका दुई सय बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । स्थानीय लोकप्रिय नेता हाजी बेचु मियाँ, अलाउद्दीन मन्सुरी, रामपृत शर्मा र वसन्त सरदारलगायतको नेतृत्वमा विभिन्न पार्टीबाट सक्रिय स्थानीय नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सुनसरीको दक्षिणी भूगोलमा दैनिक दर्जनौ राजनीतिकर्मी माओवादी केन्द्रमा प्रवेश गर्ने क्रम जारी रहेको छ । अपेक्षाकृत कमजोर रहेको माओवादी केन्द्रको दक्षिणी भेगमा पार्टीबाट प्रवेश गर्ने बढेपछि उक्त क्षेत्र माओवादी केन्द्रको लागि राम्रो अवस्थामा पुगेको छ । कार्यक्रममा नव प्रवेशी बेचु मियाँले भने, ‘माओवादी आम पीडित जनताको पार्टी हो । यही कुरा अनुभूत भएर हामी ठूलो संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका हौं ।’ वसन्त सरदारले भने–‘दलित, मजदुर, किसानको मुद्दा सम्बोधन गराउन हामी जल्पापुरवासीहरू माओवादीमा प्रवेश गरेका छौं ।’ प्रवेश कार्यक्रममा माओवादी नेता डम्बर सुवेदी ‘हिमाल’, पप्पु मण्डल, जाकिर हुसैन, सुरेन्द्र कटवाल, ओके दाहाल, माया पोख्रेल, तोया गिरी, मुख्तार आलम, सुद्दीन मियाँ, सद्दाम हुसेन, जुमराती मियाँको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सांसद जाकिर हुसैनले भने, ‘सुनसरीको दक्षिण बेल्टमा हिजो माओवादी कमजोर हुँदा जनताको आवाजलाई दबाइएको थियो । अब, हामी मजबुत हुँदैछौं । अब जनताको आवाज मजबुत हुनेछ । जनताको कुरा हनमीले सम्बन्धित निकायसम्म पुर्याउने छौं ।

कैलालीमा माओवादी केन्द्रबाट छानिएका यी हुन् उम्मेदवार

धनगढी, वैशाख २ । निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा (माओवादी केन्द्र)ले कैलाली जिल्लाका केही स्थानीय तहमा प्रमुख तथा उपप्रमुखमा दलका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाएको छ । सोअनुसारस धनगढी उपमहानगरपालिका प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षेत्री, गोदावरी नगरपालिका प्रमुखमा गोकर्ण भट्ट र भजनी त्रिशक्ति नगरपालिका प्रमुखमा शेरबहादुर थारुलाई उठाउने निधो भएको माओवादी केन्द्र कैलालीका इन्चार्ज हरि चौधरीले बताए । यस्तै कैलारी गाउँपालिका प्रमुखमा लाधुराम चौधरी, बर्दगोरिया गाउँपालिका प्रमुखमा गणेश गिरी र जानकीनगर गाउँपालिकाको प्रमुखमा फूलराम चौधरीलाई उठाइने छ । जिल्लाका अन्य स्थानीय तहका प्रमुख उपप्रमुखलगायत पदमा भने टुङ्गो लगाउन बाँकी रहेको चौधरीले बताए । नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपालगायत दलले अहिलेसम्म कैलालीका स्थानीय तहमा उठाइने उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । काँग्रेसबाट धनगढी उपमहानगरपालिका प्रमुखमा युवा नेता कृष्णबहादुर महरा र नगर सभापति नृप ओड, नेकपा (एमाले)बाट दीपकप्रसाद देवकोटा, रणबहादुर चन्द र नारदमुनि राना, राप्रपाका तर्फबाट रोम स्वाँर, राजेश भण्डारी, पुष्करदत्त भट्ट र जनककुमारी कुँवरको नाम बढी चर्चामा छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख उपप्रमुखलगायत पदमा आकाङ्क्षी बढी देखिएपछि उम्मेदवार छनोट गर्न दललाई सकस परेको छ । उम्मेदवारका आकाङ्क्षीले टिकट हत्याउन आआफ्ना पक्षमा भित्रभित्रै सम्पर्क गर्न थालेका छन् । नयाँ संरचनानुसार कैलालीमा धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नपा, गौरीगङ्गा नपा, भजनी नपा, घोडाघोडी नपा, गोदावरी नपा र जोशीपुर गाउँपालिका, चुरे गापा, कैलारी गापा, मोहन्याल गापा, बर्दगोरिया गापा र जानकी गापा गरी १३ स्थानीय तहमा निर्वाचन हुन लागेको छ । सात नं प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी मतदाता (तीन लाख ९४ हजार ३२ मतदाता) भएको कैलालीमा वर्षायाममा नदी कटान, डुबान, उचित सडक, खानेपानी, विद्युत्, कृषिका लागि सिँचाइलगायत पूर्वाधारको ठूलो समस्या छ । सोबाहे मुक्तकमैया पुनःस्थापना, सुकुम्बासीको बसोबास पनि ठूलो समस्याका रुपमा रहेको छ । रासस

हिमाँचल ट्रेकिङ गएका नेपाली विद्यार्थीको कारुणिक वृत्तान्त-आँखैअगाडि दुई साथी गुमे

काठमाडौं, बैसाख २ । साहसिक यात्रा (एडभेन्चर ट्रिप) अनुभवको मूल्य दुई साथीको ज्यानै गुमाएर चुकाउनुपर्ला भनेर यी विद्यार्थीले पक्कै कल्पना गरेका थिएनन्। रमाइलो गर्ने, घुम्ने, नयाँ ठाउँको मजा लिने अनि हिउँसँग खेल्ने भनेर गत साता तीनदिने ट्रेकिङका लागि हिमाँचल प्रदेशको कुल्लु गएका पाँच नेपाली युवामध्ये दुई जनाले ज्यानै गुमाउनुपर्‍यो। प्राकृतिक सुन्दरता, मनमोहक दृश्यावलोकन सँगै हिउँको मज्जा लिँदै रमाइलो गर्न हिडेका उनीहरुको एडभेन्चर जिन्दगीभरका लागि नमिठो संझनामा परिणत भयो। दुइ साथीलाइ गुमाउनुको पिडासँगै उनीहरुलाइ आफूले पाएको पूनर्जीवनको वास्तविकता पत्याउनै गाह्रो भइरहेको छ। यो खबर आजको अन्नपूर्णमा नयाँ दिल्लीबाट आशा थपलियाले लेखेकी छन्। हिमांचलको मणिकरण घाटीमा पर्ने रसौल–मलाना ट्रयाकमा हिडेका यी विद्यार्थीहरु रसौलटप भन्ने स्थानमा फँसेका थिए। पानी परेर चिसो भएको मौसममा हिमपात समेत भएपछि उनीहरु हराएका थिए। त्यसै क्रममा जीवन र मृत्युसँग पौँठेजोरी खेल्दै चम्पापुर कंचनपुरका संतोष ऐर र काठमाडौंका विप्रा पोखरेल सदाका लागि अस्ताए भने तीन जनाले पूर्नजीवन पाए। बाँचेका मध्ये एक अर्जुन मि श्र कुल्लुको जिल्ला अस्पतालबाट डिस्चार्ज भएर फर्किएपछि नयाँ दिल्लीको लक्ष्मीनगरमा पंक्तिकारसँग कुरा गर्न तयार भए। चार वर्षदेखि उत्तर प्रदेशको ग्रेटर नोयडाको आइआइएमटी इन्जिनियरिंग अन्तिम वर्षका छात्र अर्जुन मि श्र केहि महिना अघि मात्र हिमांचल प्रदेशको कुल्लुको ट्रेकिंगबाट फर्किएका थिए। ‘साथीहरुसँग फेरि जाने योजना बनायौं, मेरै नेतृत्वमा ट्रेकिङका लागि हिडेका थियौं। गाइड गर्न सक्छु भन्ने थियो। दिल्लीबाट कुल्लु हिडेका हामी मणिकरण ,खीरगंगा,रसौल हुँदै कसौलसम्म पुग्यौं,’ अर्जुनले भने। चैत १९ गते शनिबार राती साढे बाह्र बजे दिल्लीबाट हिडेका पाँच विद्याथी तीन दिनमा फर्किहाल्ने योजनामा थिए। तर, नियतीले अर्कै योजना बनाएको थियो उनीहरुका लागि। अर्जुनको अनुभव फेल खायो। ४ हजार फिटको उचाइमा रहेको रसौलबाट मलाना गाउँ तर्फ जाने क्रममा अचानक पानी पर्न थाल्यो। हिमपात पनि शुरु भयो। ‘हिडदै गयौं, हाम्रो अनुमानअनुसार तीन घंटामा मलाना पुगिसक्छौं भन्ने थियो। तर दुर्भाग्य सात बजेसम्म पनि हामीले बाटो फेला पार्न सकेनौं,’ उनले भने, ‘रसौलटप भन्ने ठाउँमा पुग्यौ, चारैतिर हिउँले पुरिएको छ, घुमिफिरी एउटै ठाउँमा पुग्थ्यौं। केहि बेरपछि हामीले चाल पायौं, बाटो भुल्यौ भनेर।’ हिउँको चिसोले उनको पैताला अझै लाटिएको छ। मोबाइलको चार्ज पनि सकिइसकेको थियो। संतोष (चिसोले कठाग्रिएर निधन भएका कन्चनपुर निवासी संतोष ऐर) को मोबाइलमा १५ प्रतिशत ब्याट्री रहेछ। त्यसैबाट उनीहरूले सय नम्बरमा प्रहरीलाइ फोन गरे। दिल्लीमा रहेका दाइ राजेश घिमिरेलाई फोन गरेर बाटो भुलेको र चाँडै उद्धार नभए नबाँच्ने बताए। ‘कहाँ छौं भन्ने पनि थाहा छैन। हिउँ पर्न रोकिएको थिएन, चिसोले कठाग्रिदै थियौं। बाँच्दैनौ भन्ने थियौँ, तैपनि एक अर्कालाइ हौसला दियौं,’ उनले भने। आफूसँग भएका लुगाफाटोदेखि कागज, मोबाइल चार्जर, यहाँ सम्म कि केहि नोट पनि जलाए उनीहरूले तातो पाउने आशमा। तर पनि चिसोलाई जित्न सकेनन्। राति साढे एघार बजेतिर फोनको ब्याट्री पनि सकियो। पाँचै जनाको एक अर्का भन्दा कुनै विकल्प थिएन। ‘एक अर्कालाइ घेरा पारेर म्युचुअल हिट ( शरिरको सामुहिक तापक्रम) लिइरहेका थियौँ, एकछिन त निदायौँ, बीचमा एकपटक निद्रा खुलेको थियो, साँस फेर्न गाह्रो भइरहेको थियो,’ उनले सम्झिए। विप्रा (काठमाडौंबाट चार्टड एकाउन्टेन्ट अध्ययनका लागि दिल्ली आएका विद्यार्थी विप्रा पोखरेल)ले ‘टुडे इज नट द डे, आइ एम गोइंग टु डाइ’ भनेको अर्जुन अझै सम्झन्छन्। बिप्राले त्यहीँ ज्यान गुमाए। ‘भोलिपल्ट बिहानको आठ नौ बजेको थियो होला, उठ्न खोजेँ, सकिनँ, आँखा खोल्नै सकिरहेको थिइन, हिउँमै लडे। त्यसपछि के भयो मलाइ थाहा छैन्,’ उनले भने। बाँचेका तीनमध्ये सबैभन्दा गम्भीर अवस्थामा थिए अर्जुन। उद्धार गरिएको १७ घण्टापछि उनको होस खुलेको थियो। बिस्तारै आँखा खोलेपछि चारैतिर डाक्टर देख्दा उनलाई कतै मृत्युलोकपछिको संसारमा छुकि जस्तो भान भयो। चिसोले जमेको शरीर र मस्तिष्क बिस्तारै सामान्य भइसकेपछि उनलाई आफू नमरेको विश्वास भयो। बाँचे भन्ने भएपछि ढुक्क भएर उनले फेरि आफूलाइ छाड्दिए र पूनः बेहोस भए।

चोक-चोकमा ट्राफिक प्रहरीले गर्छन् हर्न बजाउने सवारीसाधनको अनुगमन

काठमाडौं, बैसाख २ ।  सरकारले काठमाडौं उपत्यकामा शुक्रबारदेखि हनृ बजाउन निषेध गरेको छ । सवारीचालकले जथाभावी हर्न बजाएर ध्वनी प्रदुषण गरेको भन्दै हर्न बजाउन रोक लगाइएको हो । ट्राफि प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्ल अघिल्लो दिनको तुलनामा १ गते हर्न बजाउने सवारी साधनको संख्या न्यून भएको बताउँछन् । ‘चोक-चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले हर्न बजाउने, नबजाउने सवारीसाधन अनुगमन गरिरहेका छन् ।’ उनले भने ‘अघिल्ला दिनहरुमा जस्तो हर्न नबजाएको रिपोर्ट आइरहेको छ ।’ हर्न निषेध गरेसँगै अब सवारी चालकले जहाँ पायो त्यहीं हर्न बजाउने प्रवृत्ति अन्त्य हुने उनको विश्वास छ । चालकले ओभरटेक, यात्रु बोलाउन, अगाडीको गाडी हटाउन, साना सवारीलाई जिस्काउन, रमाइलो गर्ने बहानामा हर्न बजाउने गरेको उनले बताए । यो खबर आजको नागरिकमा खबर छ ।

प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्यमन्त्री थापाको रक्सी नखाने प्रतिबद्धता

काठमाडौं, बैसाख २ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ताथ स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिबद्धता जनाएका छन् । नयाँ बर्षको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री थापाले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा मन्त्रालयले स्वास्थ्यसम्बन्धी सचेतना बढाउन मेरो बर्ष नामक एप्स सार्वजनिक गरेको छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा  छ ।

नयाँ वर्षका उपलक्ष्यमा उज्यालो अभियानमा सहयोग

पोखरा,  वैशाख २ । पोखरा लेखनाथ महानगरपालिका–२१ स्थित पार्दीखोला युवा क्लबले नव वर्ष २०७४ का अवसरमा निःशुल्क एलइडी चिम वितरण गरेको छ । मुलुकले सुरु गरेको उज्यालो नेपाल अभियानमा सहयोग पुर्याउने उद्देश्यले रु २५ हजार बराबरका ९७ एलइडी चिम निःशुल्क वितरण गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण, पोखराका इलोक्ट्रोनिक इन्जिनियर पवन पौडेलले स्थानीयवासी ज्येष्ठ नागरिक सुन्दर विकलाई एलइडी चिम हस्तान्तरण गरेर सो कार्यक्रमको उद्घाटन गर्दै वातावरणमैत्री र खर्च कम हुने एलइडी चिम प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । गत सालको तिहारमा भैलो र देउसी खेलेर सङ्कलित रकमले फेदीपाटन र पिपलडाली टोल विकास संस्थाअन्तर्गतका एक सय पाँच घरमा एक महिनाभित्र पुरानाको सट्टा एलइडी चिम जडान गरिसकिने लक्ष्य रहेको क्लबका अध्यक्ष प्रताप पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्लबको सक्रियतामा रु एक लाख ८० हजारको लागतमा पार्दीखोलास्थित दम्सादी झोलुङ्गे पुलको मुखदेखि मास्पाटनसम्मको लगभग २०० मि लम्बाइको मोटर बाटोसमेत मर्मत गरी पुनः सञ्चालनमा आएको छ । पोखरासँग जोडिएर पनि विकास निर्माणको तुलनामा ओझेलमा परेको सो स्थानमा क्लबले यसअघि निःशुल्क स्वास्थ्य शिविर, खोप क्लिनिकलगायत विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबका सचिव टीकाराम पौडेलले जानकारी दिनुभयो । रासस

बर्ष २०७४ को राशीफल

काठमाडौं, बैसाख २ । वार्षिक भविष्यको चर्चा गर्दा जगलाग्नलाई पनि विचार गर्नुपर्ने हुन्छ । यस वर्षको जगलग्न कुम्भ हो । लग्नेश शनि एकादश स्थानमा आम्दानीको हिसाबले राम्रो भए पनि वर्षारम्भमा शनि वक्र्र भएकोमा लग्नमा केतु तथा सप्तममा राहु भएकाले पुँजी परिचालन अव्यवस्थित हुने, वैदेशिक व्यापार घाटा अप्रत्यासित रुपले बढ्ने, समाजमा अराजकता फैलिने संभावना रहन्छ । आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ । मेष मेष राशिलाई यस वर्ष अढैया शनिको प्रभाव केही समयको लागि हटेको अवस्था छ । वर्षारम्भको समय शुक्र, सूर्य, बुध तथा शनिसमेत अनुकूल रहेकोले आँटेका कार्य सफल हुनेछ । परि श्रमले केही लाभ पनि मिल्नेछ । व्यापारमा सफलता मिल्नेछ । नयाँ कामहरू पनि हात पर्नेछन् । अरूको विश्वास पनि जित्न सकिनेछ । जेठ ६ गतेदेखि पुनः अढैया शनि आरम्भ हुने, छैटा गुरु तथा साउन २१ बाट चतुर्थ भावमा राहु प्रवेश हुने हुँदा समय प्रतिकूल बन्नेछ । घरेलु समस्याले प्रशस्त मात्रामा सताउनेछ । नोकरी तथा राजनीतिमा ठूलो संकटको सामना गर्नुपर्नेछ । मित्रहरूले सहयोगको नाममा षड्यन्त्र गरेर फसाउन सक्नेछन् । परिवारहरू पूर्णरूपमा टेढिनेछन् । शत्रु प्रशस्त मात्रामा बढ्नेछन् । राज्यबाट समेत झुटा आरोप लगाउने प्रयत्न हुनेछ । तपाईंका राम्रै कुरालाई पनि बंग्याउने प्रयत्न गरिनेछ । धर्ममा मन नजाने, शरीरमा आलस्यताले डेरा जमाउने, सानो–सानो काम गर्न पनि आँट नआउने, आर्थिक अवस्था कमजोर रहने हुँदा मानसिक तनाव प्रशस्त मात्रामा बढ्नेछ । पेटका रोग र मिर्गौला रोगले सताउने सम्भावना रहन्छ । लेनदेनमा विवादको सामना गर्नुपर्ने, पढाइमा ढिलासुस्ती हुने, सन्तानहरूसँग विमति रहने भएकोले मन अशान्त रहनेछ । भदौ २१ देखि फागुन २५ सम्म सातौं गुरुको अनुकूल प्रभावले व्यापारमा सफलता, यात्रामा लाभ, धर्ममा रुचि बढाउने हुँदा काममा र पढाइमा अपेक्षित सुधार आउनेछ । भाग्यले पनि साथ दिनेछ । मंसिर १ गतेदेखि अढैया शनिले छोड्ने हुँदा आर्थिक कठिनाइमा कमी आउनेछ । लेनदेनको विवाद हटेर जाने, नोकारी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक हुने राज्यबाट लगाइएका झुटा आरोपहरू निराधार सावित हुनेछ । आफ्नो वर्चस्व बढ्दै जाने योग भएकोले महत्ववपूर्ण कामहरू मंसिर १ पछि फागुन २५ सम्म गरी सक्नु राम्रो हुनेछ । अन्य समय संयम भएर अघिबढनु राम्रो । जेठ, साउन, मंसिर, चैत्र महिना नराम्रो रहनेछ भने असार, असोज, कात्तिक, माघ, फागुन राम्रो रहनेछन् । वृष ग्रहगोचर यस वर्ष मध्य रहनेछ । वर्षारम्भमा अढैया शनिको प्रभावको साथै चतुर्थ राहुको प्रतिकूल प्रभावले समय प्रतिकूल रहनेछ । पारिवारिक समस्याले धेरै सताउनेछ । मित्रहरू मित्रका नाममा कलंक नै हुनेछन् । स्वास्थ्य कमजोर भएर काम गर्ने उत्साह पटक्कै हुनेछैन । मनमा द्विविधाले दरिलो डेरा जमाउनेछ, आर्थिक कठिानाइ प्रशस्त मात्रामा बढ्नेछ, विश्वास गरेकाले महत्ववपूर्ण समयमा धोका दिनेछन् । लेनदेनमा चर्को विवादको सामना गर्नुपर्नेछ । पेटको रोगले सताउनुको साथै आमा हुनेहरूका लागि स्वास्थ्य पनि खराब हुनेछ । घरझगडाले घरै छोड्ने स्थिति पनि आउनेछ । राजनीतिमा प्रशस्त संकटको सामना गर्नुपर्ला । नोकरीमा आउने समस्याले स्थानान्तरण हुने अथवा सेवाबाट वञ्चित हुनेसम्म अवस्था आउने सक्छ । शत्रुले खैरो खन्नेछन् । आफूले आफैंलाई अति कमजोर ठान्ने अवस्था आए पनि जेठ ७ गतेदेखि कात्तिक ३० सम्म अढैया शनिले छोड्ने र साउन २२ देखि राहु तृतीय हुने हुँदा समय बलियो हुनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने, नयाँ कामको अवसर प्राप्त हुनेछ । वैदेशिक कार्यमा सुधार आउने, यात्रा गर्ने अवसर मिल्ने, प्रेम गर्नेहरूको प्रेम जीवनयात्रामा रूपान्तरित हुने । नोकरी तथा राजनीतिमा आउने समस्यालाई सजिलै पार लगाइ गुमेको स्थान पुनः फर्काउन सक्ने, आम्दानीका अवसरहरू मिल्ने, सन्तान नहुनेलाई पुत्र लाभको योग, छात्रवृत्तिमा विदेश पढ्न जाने अवसर मिल्नेछ । भुलेका मित्रहरूले आफ्नो गल्ती महसुस गर्दै क्षमायाचनासहित सहयोगको तत्परता देखाउनेछ । घर तथा सवारी जोड्ने तरखरमा भए सजिलै प्राप्त हुने योग भए पनि भदौ २२ गतेबाट फागुन २५ सम्म गुरु षष्ठ स्थानमा, मंसिर १ देखि पुनः अढैया शनि प्रवेश हुने हुँदा महत्ववपूर्ण काम साउन २२ देखि भदौ २१ सम्म गर्नु बेस हुनेछ । जेठ, साउन, कात्तिक, फागुन, चैत्र महिना राम्रो र वैशाख, भदौ, पुस नराम्रो महिनामा पर्दछन् । मिथुन ग्रह गोचरले पूर्ण रूपमा साथ दिनेछ । वर्षारम्भमा ग्रह अनुकूल रहेकोले वर्षभरि नै अवस्था राम्रो बन्न सक्ने देखिन्छ । परिवारहरूको केही गुनासो रहनेछ । मित्रहरूले खासै सहयोग नगर्ने भएकोले सजक रहनुपर्ला । अरूको विश्वासमा भन्दा आफ्नो प्रयासमा काम अघि बढाउनु उचित हुनेछ । साउन २० सम्म तृतीय राहुले पराक्रमका साथै मनमा उमंग धेरै बढाउने हुँदा रोकिएका कामलाई पुरा गर्ने एवं आम्दानीका अवसरहरू धेरै मिल्नेछन् । सेवकहरूले जीउज्यान दिएर सेवा गर्नेछन् । दाजुभाइहरूमा मत रहने हुनाले टाढै रहनु होला । व्यापारीहरूको वैदेशिक व्यापारमा सोचेभन्दा बढी सफलता मिल्नेछ । राजनीतिमा पनि विदेशी मित्रहरूको सहयोगले अघि बढ्ने अवसर मिल्नेछ । नयाँ स्थान र मानको अवसर पनि प्राप्त होला । भदौ २२ देखि पढाइमा धेरै सफलता मिल्नेछ सन्तान नहुनेको पुत्र लाभको योग बन्नेछ । भएका सन्तानको प्रगतिले मनोवल बढ्नेछ । साहित्यकारहरूले राम्रो लेखरचना सिर्जना गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार पाउन सक्ने सम्भावना छ । पुराना प्रेमहरू विवाहमा परिणत हुनेछन् । नयाँ प्रेमको अवसर पनि मिल्नेछ । शत्रुलाई सजिलै परास्त गर्न सकिनेछ । कृषि व्यवसायीहरूले राम्रो लाभ पाउनेछन् । सिनेमा निर्माणमा संलग्नहरूका लागि यो वर्ष राम्रो अवस्था सिर्जना होला । शैक्षिक व्यवसायमा रहनेहरूले उन्नतिको फड्को मार्नेछन् । भदौ २० सम्म मित्रहरूसँग सजग रहनुहोला । साउन २२ पछि बोल्दा होस पुर्‍याउनु होला । जेठ ७ गतेदेखि कात्तिक ३० सम्म विपरीत लिंगीबाट सचेत हुनु राम्रो हुनेछ । पतिपत्नीमा विवाद हुन सक्ने भएकोले धैर्य धारण गरेर अघि बढ्दा वर्षैका सपनाहरू पूरा गर्न सकिने योग छ । वैशाख, भदौ, मंसिर, चैत्र, महिना शुभ रहनेछन् । जेठ, असोज, माघ महिना प्रतिकूल रहनेछन् । कर्कट यो वर्ष ग्रह गोचर मध्यम रहनेछ । वर्षारम्भमा ग्रह अनुकूल रहेकोले शत्रु नास हुनुका साथै मित्रहरूको सहयोगले अधुरा काम पूरा हुनेछन् । नयाँ काम पाउने योग छ । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगति सोचेभन्दा बढी नै मिल्नेछ । अरूको विश्वास पनि जित्न सकिनेछ । जोस र जाँगर बढ्नेछ । आम्दानीका अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन् । वैदेशिक कार्य र व्यापारमा सोचेभन्दा वढी सफलता रामै्र पाउने योगछ । वैवाहिक कुराहरूले उच्च स्थान पाउनेछ यो वर्ष । विपरीत लिंगी मित्रले प्रेमको प्रस्तावसँगै विदेश जान अनुरोध गर्नेछन् । गृह, रक्षा र सैन्य क्षेत्रमा हुनेहरूका लागि समय अनुकूल रहनेछ । बौद्धिक तथा लेखक वर्गले धार्मिक र सामाजिक क्षेत्रमा रामै्र फड्को मार्न सक्नेछन् । रचिएका कृतिले सम्मान पाउनेछ । शैक्षिक उन्नतिका लागि स्वदेश तथा विदेश दुवै अनुकूल रहनेछ । भदौ २१ देखि चतुर्थ गुरु तथा द्वितीय राहुले सोच्ने शक्तिलाई कमजोर बनाउने हुँदा घरेलु विवाद बढाउनेछ, बोल्न अलि विचार गर्नुपर्ला । धनको क्षति हुन सक्ने भएकोले धनको ढुकुटीमा कडा नजर राख्नुपर्नेछ । स्वास्थको ख्याल वर्षभरि नै गर्नुपर्नेछ । मुटु तथा मस्तिष्कमा पीडा सिर्जना हुनेछ । शत्रुले आफ्नो कमजोरी खोजिरहेका बेला मित्रहरूले गोपनियता भंग गरिदिनाले बिनाकारण फन्दामा पर्न सक्ने सम्भावना रहनेछ । पतिपत्नीबीच बढ्ने मतभेदले कार्यक्षेत्रलाई अस्तव्यस्त बनाउनेछ । नोकरीमा स्थानान्तरण र राजनीतिमा संकट पनि भदौ २२ देखि बढ्नेछ । महत्ववपूर्ण कामहरू त्योभन्दा पहिले नै गर्नु होला । निर्माण व्यवसायका व्यक्तिहरूका लागि ग्रहले वर्षभरिनै साथ दिनेछ । शैक्षिक व्यवसायमा लाग्नेले भने सबै निर्णय भदौ २१ भित्र गरी सक्नुपर्नेछ । वैशाख, जेठ, असोज, पुस महिना राम्रोमा पर्नेछ । असार, कात्तिक, फागुन महिना नराम्रो देखिन्छ । सिंह समग्रमा ग्रह गोचर राम्रो रहनेछ । वर्षारम्भलाई विचार गर्दा भाग्य चम्कने देखिन्छ । धार्मिक कार्यहरूमा निकै रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा ऐतिहासिक सफलता मिल्नेछ । बोलीको प्रभाव राम्रो रहेकोले अरूको मन जित्न सजिलै सकिनेछ । राज्यले सम्मान गर्ने, राजनीतिमा ऐतिहासिक सफलता मिल्ने योग छ । कूटनीतिक क्षेत्रमा राम्रो सफलता पाउने योग छ । नोकरीमा सम्मानयुक्त पदोन्नति र स्थानान्तरण हुनेछ । सैन्य क्षेत्रमा काम गर्ने वा सैनिकसँग काम लिनेहरूका लागि यो वर्ष निकै राम्रो रहनेछ । वैदेशिक कार्यमा सोचेजस्तै सफलता पाउनुहोला । निजी र देशको कार्यका लागि विदेश यात्रा हुने सम्भावना बलियो छ । व्यापार, व्यवसायमा राम्रै सफलता मिल्नेछ । पढाइमा उन्नति र बौद्धिक कार्यमा प्रगति सोचेभन्दा बढी नै होला । घरघडेरी र वहान जोड्ने अवसर मिल्नेछ । मित्रहरूले राम्रो सहयोग गर्नेछन,् परिवारबाट पनि सहयोगको अपेक्षा गर्न सकिन्छ । शत्रुमाथि ऐतिहासिक विजय गरेर विभिन्न बिघ्नबाधालाई चिर्दै अगाडि बढ्न ग्रहले साथ दिएको छ । तर मित्र र पारिवारिक सहयोगसहितको सफलता भने जेठ ६ गतेसम्म र मंसिर १ गतेपश्चात् मात्र मिल्नेछ । जेठ ७ गतेदेखि कात्तिक ३० गतेसम्म अढैया शनिको पुनः आरम्भ हुने भएकोले परिवारहरू टेढिएर घरेलु समस्याले सताउनेछ, मित्रले धोका दिनेछन् । आफूमा भएको आत्मविश्वास पनि घटेर जानेछ । राज्यबाट बिनाकारण आक्रमण हुनेछ । नोकरीमा अनायास समस्या, स्वास्थ्यमा संकट आउनुको साथै मुटु र मस्तिष्कमा समस्या आउन सक्छ । हाड, जोर्नी दुःखेर मनो बल घटाउनेछ । लेनदेनमा विवादको सामाना गर्नुपर्नेछ । राजनीतिमा आउने एकपछि अर्को समस्याले अगाडि बढ्नबाट वञ्चित गराउँला । महत्ववपूर्ण कामहरू जेठ ६ गतेअघि र मंसिर १ गतेपछि गर्दा बढी सफलता मिल्नेछ । साउन, मंसिर र चैत्र महिना अशुभ रहनेछन् । जेठ, असार, कात्तिक, माघ राम्रोमा पर्दछन् । कन्या वर्षारम्भको समय ग्रह प्रतिकूल रहनेछ । सुरुमै अशुभ समाचार सुनेर चिन्तित हुनुपर्ला, स्वास्थ निकै कमजोर रहनेछ । सानातिना काममा सफलता मिले पनि महत्ववपूर्ण काममा अवरोध आउनेछ । मित्रहरूले पटकपटक धोका दिनेछन् । परिवारहरू कुरै नबुझी टेढिनेछन् । वहानले पनि दुःख दिनेछ, अरूको काम धेरै गर्नुपर्ने जस नमिल्ने हुन्छ । धातुरोगले पेटको समस्याले प्रशस्त मात्रामा सताउनेछ । लेनदेनको विवादले प्रतिष्ठामा समेत आँच आउन सक्छ । झुटा आरोप राज्यले लगाउने, नोकरीमा समस्या सिर्जना हुनेछ । राजनीतिमा पाएको मान, पद गुम्न सक्ने योग भए पनि जेठ ७ गतेदेखि कात्तिक ३० सम्म अढैया शनिले छोड्ने, भदौ २१ मा गुरु द्वितीय स्थानमा प्रवेश हुँदा योबीचको समय निकै महत्ववपूर्ण रहनेछ । मनमा उत्साह र शरीरमा स्फूर्ति बढ्नेछ । सानै प्रयासले पनि ठूलो काममा सफलता हासिल गरिनेछ । आम्दानीको स्रोतहरू चौतर्फी जुट्नेछन् । नोकरीमा आउने समस्यालाई सजिलै किनारा लगाउन सकिनेछ । राजनीतिमा गुमेको आफ्नो स्थान र मान फर्काउन सकिनेछ । बोलीको प्रभावमा राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिहरूसँग गरिने अन्तरक्रियाले आफू र राष्ट्र दुवैको हित हुने ऐतिहासिक कार्य गरेर अघि बढ्ने अवसर मिल्नेछ । कूटनीतिक कार्यमा असहजलाई सहज गरी कीर्तिमानी बन्ने अवसर पनि मिल्नेछ । पढाइमा उल्लेख्य सफलता मिल्नेछ । लेखन मंसिरमा उत्कृष्ट लेखक बन्ने अवसर मिल्नेछ । कानुन व्यवसायी र कानुनी अध्ययनकर्ताहरूका लागि राम्रो अवसर प्राप्त हुनेछ । अनायास आउने प्रेमको प्रस्ताव अप्रत्यासित रूपमा वैवाहिक बन्धनमा रूपान्तरित हुँदा हर्षित भइनेछ । गोपनीयता वर्षभरि नै अपनाउनु होला, शत्रुले तपाईंको छिद्र खोजिरहने भएकाले संयमित हुनु जरुरी छ । वैशाख, भदौ, पुस महिना प्रतिकूल हुनेछ भने आषाढ, साउन, मंसिर र चैत्र भने शुभ रहनेछ । तुला यो वर्ष ग्रहले मध्यम फल दिनेछ । वर्षारम्भको समय अनुकूल रहनेछ । बिदेसिएर भुलेका मित्रले याद गर्नेछन् । पढाइको सिलसिलामा वर्षको सुरुमै विदेशयात्रा हुन सक्छ । व्यापारमा पूर्ण सफलता मिल्नुको साथै भुलेका प्रेमीहरूले पुनः याद गर्नेछन् । लेखन मंसिरमा राम्रै सफलता मिल्नेछ । सिनेमा क्षेत्रका हस्तीको लागि ग्रहले साथ दिनेछ । कूटनीतिक क्षेत्रमा गरेका प्रयासहरू सकारात्क रहनेछन् । साउन २१ सम्म एकादश राहुको अनुकूलता प्रशस्त धन आर्जन हुनेछ । मनमा उत्साह र शरीरमा स्फुर्ति पनि बढ्नेछ । आँटेका काम धेरै पूरा हुनेछन् । अरूबाट प्रशंसा पाउनुहोला । विवाह नहुनेका विवाह लागि शुभ वर्षमै पर्दछ, सन्तानको योग पनि बलियो छ । घरजग्गा र सवारीसाधन जोड्ने अवसर मिल्नेछ । नोकरीमा पदोन्नति र राजनीतिमा प्रगतिको शुभ लक्षण देखिन्छ । जेठ ७ गतेदेखि कात्तिक ३० गतेसम्म समय प्रतिकूल रहनेछ । स्वास्थमा संकट आउनाको साथै काममा बिघ्नबाधा प्रशस्त मात्रामा आउनेछ । शत्रु सक्रिय हुन्छन् । मित्र तथा परिवारले सहयोगभन्दा बढी आक्रमण गर्नेछन् । पढाइमा अवरोध आउनेछ । बुद्धिले समयमा काम नगर्दा अरूबाट आलोचित हुनुपर्नेछ । हाडजोर्नीको समस्याले मनोबल कमजोर बनाउनेछ । अरूको काम धेरै गर्नुपर्ने, जस नपाउने भएकोले सचेत हुनुहोला । प्रेममा खटपट र पतिपत्नीबीचको विवादले दैनिकीमा अप्ठ्यारो बनाउनेछ । सन्तानसँगको विमतिले आफूलाई कमजोर बनाउनेछ । अनावश्यक परिआउने खर्चलाई धान्न हम्मेहम्मे पर्नेछ । त्यसैले महत्ववपूर्ण काम र निर्णयहरू यो बीचमा नगरी अरू समयमा गर्दा भने सहजसित अघि बढ्न सकिनेछ । जेठ, असोज, माघ महिना नराम्रो रहनेछ भने साउन, भदौ, पुस र चैत्र महिना शुभ रहनेछन् । वृश्चिक वर्षारम्भमा ग्रह सामान्य अनुकूल रहे पनि वर्षभरिको ग्रह गोचर प्रतिकूल रहने देखिन्छ । भदौ २१ सम्म गुरुको अनुकूलताले आर्थिक क्षेत्रमा सकारात्मक अवस्था रहनेछ । पढाइमा लाभ मिल्नुका साथै व्यापारमा सफलता प्राप्त होला । सन्तान पक्ष अनुकूल रहनुको साथै बोलीको प्रभावले मान्यजन आकर्षण हुने तथा बौद्धिकवर्गहरूको सहयोग, सद्भाव रहनेछ । स्वास्थ वर्षभरि नै प्रतिकूल रहनेछ । मनमा बिनाकारण त्रास सिर्जना हुनेछ, परिवारहरूको गुनासो दिनानुदिन बढ्दै जानेछ । मित्रहरूको आफूप्रति रहने नकारात्मक भावनाले सफलताका पाइलाहरू कुण्ठित हुनेछन् । शत्रुले खोइरो खन्ने र राम्रो कामलाई पनि नराम्रो बनाउने प्रयासहरू निरन्तर चालिरहनेछन् । अनावश्यक खर्च धेरै गर्नु पर्नेछ । नोकरीमा एकपछि अर्काे समस्या आइरहनेछ । राजनीतिमा झुटा लाञ्छना लगाएर पछि पार्ने खेलहरू प्रशस्तै हुनेछन् । मातापितासँगको सम्बन्ध पनि राम्रो हुने देखिन्न । उहाँहरूको स्वास्थमा पनि समस्या आउनेछ । भदौ २२ गतेपश्चात् गुरुसमेत प्रतिकूल हुने हुँदा समय झन् कठिन हुनेछ । खर्चको गति तीव्र हुनुको साथै गलत विचार प्रशस्त मात्रामा बढ्नेछन् । मुद्दामामिलाको सम्भावना पनि बलियो देखिन्छ । सन्तानसँग विमति हुनुका साथै एकसाथ वस्न गाह्रो हुने अवस्था आउनेछ । सानोसानो कामलाई पनि अघि बढाउने आँट आउने छैन । मनमा शंका उपशंकाले दरिलो डेरा जमाउनेछ । हाडजोर्नीको दुखाइ प्रशस्त मात्रामा बढ्नेछ । आर्थिक कठिनाइहरूले अस्तव्यस्त बनाउनेछ । पतिपत्नीबीच बढ्ने विवादले बिछोडको अवस्थासम्म सिर्जना गर्न सक्नेछ । धार्मिक क्षेत्रमा निराशिताले दरिलो डेरा जमाउनेछ । यो वर्ष अत्यधिक रूपले अध्यात्ममा जोेड दिनुहोला । धन माल हराउन सक्छ, सचेत हुनुहोला । असार, कात्तिक, फागुन महिना प्रतिकूल वैशाख, भदौ, असोज र माघ शुभ हुनेछन् । धनु ग्रह गोचर यो वर्ष मध्यम रहनेछ । सुरुमा ग्रहले साथ दिनेछ, मन चञ्चल भए पनि धैर्य गरेर अघि बढ्दा धेरै कार्यहरूमा सफलता मिल्नेछ । शत्रुसँगको प्रतिस्पर्धामा जित हासिल गर्न सकिनेछ । आम्दानीका अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन् । विवादको सामना गर्नु परे पनि आखिर सत्यले जित हासिल गर्नेछ । जोस र जाँगर बढ्नेछ । आँटेका कामहरू धेरै पूरा हुनेछन् । नयाँ कामको अवसर पनि मिल्नेछ । पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा राम्रै प्रगतिको योग छ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । वैदेशिक कार्यमा पूर्ण सफता मिल्नेछ । वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । सन्तान नहुनेका लागि सन्तान प्राप्तिको वर्ष हो । छात्रवृत्तिसहितको विदेश पढ्न जाने अवसर पनि पाउनुहोला । भूमि वहान जोड्ने तरखरमा हुनुुहुन्छ भने त्यसका लागि वातावरण अनुकूल रहनेछ । मित्र तथा परिवारका सहयोग चाहेजति नै मिल्नेछ । भदौ २२ देखि गुरुको अनुकूल प्रभावले मनमा प्रसन्नता बढाउनेछ । नोकरीमा भनेजस्तै स्थान मान पाउने योग छ । भुलेका मित्रहरूले याद गर्दै सहयोग गर्ने मनसाय राख्नेछन् । प्रेम गर्ने अवसर पनि मिल्नेछ, राजनीतिमा राज्यका ठूला हस्तीहरूले तपाईंको आवश्यकता महसुुस गर्नेछन् । कूटनीतिक कार्यबाट राष्ट्रको हित अन्तराष्ट्रको खुस निर्माण गरी आफूलाई ऐतिहासिक व्यक्तित्वमा स्थापित गर्न सफल हुनुहोला । साउन २२ देखि अष्टमा राहुले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्नेछ । आर्थिक कारोबारमा कठिनाइ उत्पन्न हुनेछ । धातुरोग, मिर्गौलासम्बन्धी समस्याले चिन्तित पार्न सक्छ । हड्डी, नसाको दुखाइ सही नसक्नु हुनेछ । मनस्थिति कमजोर हुने भएकोले धैर्यमा जोड दिनु उचित हुनेछ । पानी यो वर्ष धेरै पिउनुपर्ला । धार्मिक कार्यहरूमा खासै प्रगति देखिन्न । गोपनीयता अपनाउनु बेस छ । साउन, मंसिर र चैत्र महिना अशुभ एवं जेठ, असोज, कात्तिक र फागुन शुभ छन् । मकर वर्षारम्भमा ग्रह गोचर राम्रो रहे पनि शनिको प्रतिकूलताले खर्च, विवाद र चिन्ता बढ्ने योगछ । आम्दानीका मंसिरमा अवरोध सिर्जना गर्नेहरूदेखि सजग रहनुपर्ला । शत्रुले खोइरो खन्नेछन् । विश्वास गरेकाले धोका दिनेछन् । हड्डी र नसाको समस्या आउने प्रबल सम्भावना छ । जेठ ७ गतेपश्चात् कात्तिक ३० गते शनि र गुरुको अनुकूलताले भाग्य बलियो हुनुको साथै धार्मिक कार्यमा कीर्तिमानी काम गरेर बढ्दा सामाजिक कार्यमा सम्मान पाउनुहोला । पराक्रम बढ्नुको साथै अधुरा कामहरू पूरा हुने, नयाँ काम पाउने योग बलियो छ । आम्दानीका अवसर मिल्नुको साथै घरघडेरी, सवारीसाधन जोड्ने तरखरमा हुनुहुन्छ भने सहज हुनेछ । मित्रहरूबाट आर्थिक र बौद्धिक सहयोग पाउनुहोला । परिवारहरूको सहयोगले पढाइमा रुचि बढ्नुका साथै छात्रवृत्ति प्राप्त गरी परदेश पढ्न जाने अवसर मिल्नेछ । लेखनमा लाग्नेहरूका लागि यो समय अनुकूल रहनेछ । साहित्य, कलामा लाग्नेहरूका लागि समय राम्रो छ । व्यापार, व्यवसायमा सोचेजस्तै सफलता मिल्नेछ । वैवाहिक कुरा पनि अघि बढ्नेछ । ठूला व्यक्तिसँग अन्तरक्रिया गर्दै बौद्धिक विकास गर्ने अवसर मिल्नेछ । साउन २२ पछि राहु अष्टम भावबाट हट्ने हुँदा स्वास्थमा सुधार आउनेछ, लेनदेनका कठिनाइ पनि हटेर जानेछन् । सातौं राहुले पतिपत्नीबीचको सम्बन्धलाई भने कमजोर बनाउनेछ । नोकरीमा पदोनन्ति र इच्छित स्थानान्तरणको योग छ । राजनीतिमा उच्च पद प्राप्तिको अवसर मिल्नेछ तर त्यसका लागि जेठ ६ गतेपश्चात् प्रयास गर्दा सहजसँग सफलता मिल्नेछ । महत्ववपूर्ण निर्णयहरू भदौ २१ गतेभित्र गर्नुपर्ला । मंसिर १ गतेदेखि पुनः शनि साढेसाती आरम्भ हुने भएकोले अस्वस्थता, खर्च, विवाद र चिन्ता बढ्ने योग भएकोले संयम हुनुहोला । वैशाख, भदौ, पुस खराब महिना र असार, कात्तिक, मंसिर, चैत्र शुभ हुनेछन् । कुम्भ ग्रह गोचर यस राम्रो रहे पनि भदौ २१ सम्म अष्टम गुरुले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने, वाणी अशुद्ध र धन नास हुनेछ । काममा अवरोध आउने, मनमा अशान्ति सिर्जना हुने योगछ । कुरा काट्नेहरू बढ्नेछन् । विश्वासमा धोका हुने भए पनि शनिको अनुकूल प्रभाव वर्षभरि नै रहनेछ । साउन २२ मा राहु षष्ट भावमा जाने, भदौ २२ देखि गुरु पनि अनुकूल भएकोले समग्रमा वर्ष राम्रो रहनेछ । शत्रुमाथि ऐतिहासिक विजय हासिल गर्दै आफ्नो लक्ष्यमा पुग्न सफल हुनुहोला । आँटेका अधिकांश काम पूरा हुनेछन् । मनमा हर्ष र शरीर स्फुर्ति प्रशस्त मात्रामा बढ्नेछ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । विदेशयात्रा र वैदेशिक व्यापारमा लाभ प्रशस्तै हुने देखिन्छ । आम्दानीका नयाँ स्रोतहरू जुट्नेछन् । नोकरीमा चाहेअनुसारै स्थानान्तरण हुनेछ । राजनीतिमा गुमेको स्थान पुनः प्राप्ति गर्ने वातावरण बन्नेछ । भाग्य बलियो हुनेछ । धार्मिक कार्यहरूमा मन जानेछ । शैक्षिक सफलताले मन प्रसन्न रहनेछ । सन्तान नहुनेका लागि भदौ २२ पछि समय अनुकूल हुनेछ । घरघडेरी र सवारीसाधन जोड्ने अवसर पनि मिल्नेछ । राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा गरिएका कूटनीतिक प्रयासहरू प्रशंसनीय हुनेछन् । विद्वान्हरूको छत्रछायामा रहेर ऐतिहासिक काम गर्नै अवसर मिल्नेछ । बोलीको प्रभावमा अरूको मन सजिलै जित्न सकिन्छ । वैवाहिक बन्धनमा बाँधिने सम्भावना बलियो छ । आफूलाई भुलेका मित्र र बिदेसिएर टाढिएका मित्र तथा परिवारजनहरूले याद गर्दै सहयोगको हात अघि बढाउनेछन् । वैशाख, साउन, मंसिर, पुस महिना शुभ र जेठ, असोज, माघ महिना अशुभ हुनेछन् । मीन वर्षको आरम्भमा ग्रह गोचर राम्रो रहनेछ । व्यापारमा उन्नति गर्ने अवसर मिल्नेछ । यात्राका अवसरहरू प्रशस्त मात्रामा जुट्नेछन् । प्रेम गर्ने अवसर पनि मिल्नेछ, वैवाहिक बन्धनमा बाँधिन बलियो सम्भावना छ । बोलीको प्रभाव बढ्नुको साथै कूटनीतिमा आफ्नो वर्चस्व बढाउन सफल हुनुहोला । पतिपत्नीबीच सुमधुर सम्बन्ध गाँसिनेछ । वैदेशिक कार्यमा ठूलै फड्को मार्ने अवसर मिल्नेछ । आम्दानीको स्रोतहरू प्रशस्त मात्रामा जुट्नेछन् । शत्रु पराजय हुनुको साथै मित्र तथा परिवारको सहयोग पनि अपेक्षित पाउनुहोला । घरघडेरी र सवारीसाधन जोडने अवसर मिल्नेछ । नोकरीमा पदोन्नति र लाभप्रद स्थानान्तरण हुने योग छ । राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । पदक प्राप्तिको सम्भावना छ । साउन २२ बाट पञ्चममा राहु प्रवेश हुने र भदौ २२ देखि गुरु अष्टमा हुने भएको हुँदा समय प्रतिकूल हुनेछ । धातु र मिर्गौलासम्बन्धी रोगले सताउनेछ । तत्पश्चात् वर्षभरि नै सजग रहनुपर्ला, आपसी विश्वासमा ह्रास आउने, मन अशान्त हुने, आर्थिक संकट बढ्ने, नगद कारोबार गर्दा अनावश्यक विवादमा फस्ने सम्भावना रहन्छ । पढाइमा मन नजाने, सन्तानसँग मतभेद हुने, शत्रुले आक्रमण गर्ने अवस्था सिर्जना होला । सही कार्यलाई समेत गलत बनाउने प्रयत्न हुनेछ । नोकरीमा संकट आउने, राजनीतिमा झुटा आरोप लाग्न सक्ने बलियो सम्भावना छ । यो स्थितिमा आफन्तहरूले समेत साथ नदिन सक्छन् । वैदेशिक र कूटनीतिमा समेत रहेको छाप हट्न सक्छ । सोच्ने शक्तिमा कमी आउनुको साथै निर्णयको अभाव पनि देखिन्छ । महत्ववपूर्ण निर्णयहरू भदौ २२ पूर्व नै लिनु बेस हुन्छ । जेठ, भदौ, पुस, माघ महिना शुभ र असार, कात्तिक, फागुन, महिना अशुभ हुनेछन् ।