नेपाल टेलिकममा फेसबुक चलाउन रोक

काठमाडौँ, वैशाख १२ । यही वैंशाख १ गतेदेखि नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित डोमिनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ ।

यहाँ मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरकारका वेबसाइट जिएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न सकिने जानकारी दिए ।

कम्पनीले आफ्ना सेवालाई ग्राहकमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको उल्लेख गर्दै प्रमुख पर्यटकीयस्थल मुगुको रारा ताल क्षेत्रमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त क्षेत्रमा सेवा प्रदान गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना तथा सञ्चार क्षेत्रमा पहुँच बढ्ने र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।

कम्पनीले यही वैशाखदेखि आफ्नो कार्यालय समयमा ‘फेसबुक’ चलाउन नपाइने व्यवस्था गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । उनले आगामी आवमा चौथो पुस्ताको इन्टरनेट सेवालाई विस्तार गरिने, पुराना प्रणालीलाई नयाँमा स्थानान्तरण गरिनेजस्ता कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो ।

माओवादी केन्द्रबाट शिखर नगरपालिका मेयरमा माधव रोश्यारा

डोटी, वैशाख १२ । डोटी जिल्लाको शिखर नगरपालिकामा माओवादी केन्द्रले युवा नेता माधव रोश्यारालाई नगर प्रमुखको उम्मेदवारका रुपमा अगाडि सारेको छ । लामो समयदेखि माओवादीको राजनीति गर्दै आएका रोश्यारा पछिल्लो समयमा भने पर्यटन र सामाजिक क्षेत्रमा सक्रिय छन् । रोश्याराको लोकप्रियता देखेर उनलाई मेयरको उम्मेदवार घोषणा गरेको बताइन्छ । “आफ्नो क्षेत्रका लागि केही गरौं भन्ने सोच हो” रोश्याराले एभरेष्टदैनिकडटकमसँग भने, “व्यक्तिगत जीन्दगी भन्दा आफू जन्मेको, हुर्केको ठाउँका लागि केही गर्नुपर्छ भन्ने सल्लाह भयो । त्यसै पनि सुदूरपश्चिम राज्यबाटै ठगिएको, हामीले नै केही गर्नुपर्छ भन्ने सोचेर उम्मेदवार भइयो ।” सुदूरपश्चिम राज्यको नजरमा जहिल्यै पनि उपेक्षित भएपनि यहाँको प्रचुर श्रोत र साधनलाई भरपुर उपयोग गरी आर्थिक समृद्धि गर्न सकिने परिकल्पना रोश्याराले गरेका छन । “पर्यटनको विकास अहिलेसम्म हुन सकेको छैन । न त यसको गुरुयोजना नै बनेको छ ।” उनले भने, “नगरको विकासका लागि जिल्लाको र क्षेत्रको पनि विकास हुनुपर्छ । मैले सबैसँग समन्वय गरेर नमूना नगर, जिल्ला र क्षेत्र बनाउने संकल्प बोकेको छु ।” शिखर नगरपालिकामा कांग्रेसबाट सिताराम जोशी, राम रोकाया र एमालेबाट शेर बहादुर मल्ल सम्भावित उम्मेदवारका रुपमा रहेका छन् । “प्रतिष्पर्धि साथीहरुले समेत मलाई सहयोग गर्छन् भन्ने आशा लिएको छु । हामी सबैको उद्देश्य नै हाम्रो नगरपालिका र जिल्लालाई समृद्ध बनाउनु हो ।” रोश्यारा बताउँछन् । नगरपालिकामा विजय भएमा नगरपालिकाको समग्र विकासको गुरु योजना तयार गरी सोही अनुसार नमूना नगर बनाउने उनले बताए । मुख्य कुरा युवाहरुलाई रोजगारी, शिक्षामा सहज पहुँच, अरुसँग प्रतिष्पर्धा गर्न सक्ने क्षमताको विकास, स्वास्थ्यमा पहुँच, बाटोघाटोलगायतका विकास रहेको उनले बताए । नगरपालिकाभित्रको श्रोतहरुको उपयोग र जिल्लासँग समन्वय गरी पाँच वर्षमा शिखर र डोटी जिल्लालाई नै नमूना जिल्ला बनाउने अभियान रहेको उनको दावी छ । राजधानीमा पर्यटन व्यवसायमा नाम कमाएका रोश्यारा जनयुद्दकालदेखि नै माओवादीसँग जोडिएका हुन ।

डेढ आनामै सात-आठ तले घर

काठमाडौं, बैसाख १२ ।  काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ । तर, सबै अग्ला भवन मापदण्डअनुसार बनाइएका छैनन् । सम्भावित दुर्घटनाको ख्यालै नगरी थोरै जग्गामा ठुल्ठूला भवन बन्दै गरेका छन् । जसले गर्दा ती भवनवरपरका बासिन्दा त्रासमा बाँच्न बाध्य छन् । आजको नयाँ पत्रिकामा खबर छ । असन असनको गल्ली निकै साँघुरो छ । खचाखच घरहरू छन् । स्थानीय किरण श्रेष्ठको घरको टुप्पो टाढैबाट देखिन्छ । धरहराको झल्को मेटाउने उक्त घर बनेको जमिन भने एक आना मात्रै छ । नियमअनुसार १२ फिटसम्मको चौडा घर तीन तलाभन्दा अग्लो बनाउन पाइँदैन । वा, घरको चौडाइको साढे दुई गुणाभन्दा अग्लो घर निर्माण गर्न नपाइने प्रावधान छ । किरण श्रेष्ठको परिवार सो घरमा बस्दैन । घरको भुइँतलामा इलेक्ट्रोनिक्स पसल गरेर बस्ने राजेन्द्र श्रेष्ठले भने, ‘उहाँ त बानेश्वर बस्नुहुन्छ । एक–एक महिनामा आउनुहुन्छ, अनि भाडा जम्मा गरेर हिँड्नुहुन्छ ।’ राजेन्द्र १२ वैशाख ०७२ मा भूकम्प गएको दुई महिनापछि पुनः त्यही घरमा पसल गर्न आएका थिए । उनी भन्छन्, ‘यति ठूलो घरमा बस्न त कहाँ मन हुन्छ र ? पेटका लागि भए पनि ज्यान धरापमा राखेर व्यापार गरिरहेका छौँ ।’ किरणका अर्का छिमेकी ओमकृष्ण श्रेष्ठले पहिले निकै डर लाग्ने भए पनि पछिल्लो समय भने भूकम्पको भय कम हुन थालेको बताए । ‘साइडमा अरू घर जोडिएका कारण अलि कम रिस्क छ । तर, छेउमै यति अग्लो घर भएपछि डर त लागिहाल्छ नि,’ उनले भने । असनका गल्लीमा सानो क्षेत्रफलको जमिनमा दर्जनौँ अग्ला घर बनेका छन् । स्थानीय शान्तराम मानन्धरको घर ठडिएको जग्गा पनि साढे एक आनाभन्दा बढी छैन । तर, उनको घर सात तला अग्लो छ । त्यही घरको छेउमा मुन्नाकुमार गुप्ता फेन्सी पसल सञ्चालन गरेर बसेका छन् । जमलबाट असनतर्फ छिर्नासाथ रातो पेन्टिङ गरेको नौ तले अग्लो घर देखिन्छ । जुन घरको जमिन डेढ आनाभन्दा बढी छैन । तर, उनको घरछेउमै भूकम्पले छियाछिया पारेको अर्को माटोको तीनतले घर छ । माटोको घरमा ‘आरआर सु सेन्टर’ सञ्चालन गरेर बसेका राजन सुवेदीले भने, ‘यति अग्लो घर किन बनाइस् भनेर भन्न नमिल्ने, जति डर लागे पनि चुपचाप बस्नुको विकल्प छैन हामीसँग ।’ उनका अनुसार त्यही अग्लो घरका कारण एकातिरको जमिन पनि भासिएको छ । सुन्धारा सुन्धारामा एउटा नौतले भवन छ । टेकप्रसाद गौचनको सो भवन करिब साढे दुई आनामा मात्र निर्माण भएको छ । १२ वैशाख ०७२ मा जब भूकम्प गयो, दुई महिना गौचनको घरमा कोही पनि बसेनन् । त्यसको केही समयपछि गीता श्रेष्ठले जोखिम मोलेर निकुट होटेल सञ्चालनमा ल्याएकी थिइन् । ‘अहिले पनि चार तलाभन्दा माथि कोही पनि बस्दैनन्,’ उनी भन्छिन्, ‘पहिले हामी पनि यो घरको नवौँ तलामा बस्थ्यौँ । अहिले भने तीन तलामा बस्दै आएका छौँ ।’ सुन्धारामै रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी तथा प्रशिक्षक बालगोपाल महर्जनको घर पनि उस्तै छ । उनको घर झट्ट हेर्दा बाँसुरीजस्तो देखिन्छ । निकै सानो क्षेत्रफलमा बनेको महर्जनको घर सात तला अग्लो छ । उनकै घरछेउको उत्रै जग्गामा उत्तिकै अग्लो घर बनेको छ । तर, महर्जनको घरमा रेस्टुरेन्ट र फेन्सी पसल निर्धक्क चलेका छन् । सो घरको भुइँतलामा जुत्ता पसल गर्ने विनय महर्जन भन्छन्, ‘भूकम्प गएको एक महिनापछि मात्र यहाँ आएका हौँ । अहिले भने त्यति डर छैन ।’ न्युरोड न्युरोडमा अवस्थित बाराही ज्वेलर्स रहेको घर पनि उस्तै छ । सात तला अग्लो सो घर निकै सानो क्षेत्रफलमा बनेकोे छ । घरका छेउछाउमा थुप्रै घर टाँसिएर बनेका छन् । बागबजार बागबजारमा बाँसको झल्को दिने आठतले घर छ । उक्त जग्गाको क्षेत्रफल डेढ आनाभन्दा बढी देखिँदैन । होचा घरहरूबाट घेरिएको छ, त्यो बाँस घर । सो घरको छेउमै बस्ने देवी अर्यालले भनिन्, ‘छेउमै यति अग्लो घर हुँदा डर त निकै लाग्छ । तर, के गर्नु, हामीले भनेर नहुने ।’ भूकम्प गएपछि उनी दुई महिनासम्म तराई गएर बसिन् । उनी भन्छिन्, ‘के गर्नु, पैसा हुनेहरूले जे मन लाग्यो त्यही गर्छन् । घरवालालाई पनि डर र छिमेकीलाई पनि ।’ गोंगबु गोंगबुमा भूकम्पले ठूलो क्षति पु¥यायो । दर्जनौँ घर भत्कन पुगे । तर, अझै पनि गोंगबुमा सानो क्षेत्रफलमा अग्लो घर बनाउने क्रम रोकिएको छैन । पश्चिमाञ्चल दोहोरी साँझ रहेको ६ तले भवनमा डराई–डराई फेन्सी पसल राखेका छन् रविन तामाङले । भूकम्प गएको पाँच महिनापछि मात्र उनले पसलको सटर खोलेका थिए । उनी भन्छन्, ‘अग्लो घर भएका कारण अर्को घरमा सरौँ जस्तो त हुन्छ । तर, आठ लाख रुपैयाँ हालेर पसल किनेको छु, कसरी अर्को ठाउँमा जानू ?’ दीपज्योतिस्थित १३ नम्बर टोलको ३९८ नम्बरको घर पनि उस्तै अग्लो छ । नौतले उक्त भवन भूकम्पले समेत चर्किएको थियो । तर, त्यही भवनमा मनकुमारी परियारले होटेल गरी बसेकी छन् । उनलाई डर त छ, तर पनि उनी त्यही घरमा व्यवसाय गर्न बाध्य छिन् । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । उपत्यकामा यसरी मापदण्डविपरीत घर निर्माण गर्नेको संख्या सयौँ छ । भूकम्पताका महानगरपालिकाले मापदण्डविपरीतको घर भत्काउने बताए पनि ऊसँगै त्यस्ता घरहरूको तथ्यांकसमेत छैन । काठमाडौंका जोखिमयुक्त साढे तीन हजार घर जस्ताको तस्तै भूकम्प गएलगत्तै काठमाडौं उपत्यकामा जोखिममा रहेका भवन भत्काइपाऊँ भन्दै उजुरी संकलन गरिएको थियो । तर, उजुरी संकलन गरिए, त्यस्ता घर भत्काइएन । घर भत्काउन धेरै उजुरी काठमाडौं महानगरपालिकामा परेको थियो । महानगरको तथ्यांकअनुसार त्यसवेला जोखिमयुक्त घर भत्काइपाऊँ भन्दै तीन हजार पाँच सय ३८ उजुरी परेका थिए । ती सबै उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरियो । तर, प्रशासनले कुनै पहल गरेन । काठमाडौं महानगरपालिकाका अधिकृत डा. उत्तरकुमार रेग्मीले उजुरी संकलन गरिएको, तर घर भत्काइएको घटना थाहा नभएको बताए । ‘महानगरपालिकाभित्रको उजुरी संकलन मैले नै गरेको हुुँ । ती उजुरी सिडिओ कार्यालयमा पेस गरिएका पनि हुन् । तर, त्यसमा कारबाही अघि बढाइएको मलाई सम्झना छैन,’ उनले भने ।

भूकम्प गएको दुई बर्ष पुरा, टहरामै छन् पीडित

काठमाडौं, बैसाख १२ ।  दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेका सरकारले पुनर्निर्माणका लागि ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् । चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक विश्लेषण गर्दा भूकम्पपछिको पुनर्निर्माणमा सरकार असफल देखिएको छ । निजी आवास पुनर्निर्माणमा ९.५२ प्रतिशत, विद्यालय पुनर्निर्माणमा १४.४० प्रतिशत, स्वास्थ्य संस्था पुनर्निर्माणमा २१.५५ प्रतिशत, खानेपानी आयोजना पुनर्निर्माणमा ४.६८ प्रतिशत र पुरातात्विक सम्पदा पुनर्निर्माणमा १२ प्रतिशत मात्रै प्रगति देखिएको छ । प्राधिकरणलाई राष्ट्रिय योजना आयोगको महाशाखाका रूपमा सीमित गरिएका कारण पुनर्निर्माणले गति लिन नसकेको प्राधिकरणका अधिकारी स्विकार्छन् । पुनर्निर्माणमा शिथिलता आउनुमा प्राधिकरणका अधिकारी र सरकारी कर्मचारीबीच समन्वय अभावलाई मुख्य जिम्मेवार ठहर्‍याउने गरिएको छ । ‘लक्ष्य पूरा गर्न सकेका छैनौं’, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा स्विकार्नुभयो, ‘प्राधिकरणले नीति, बजेट र कार्यक्रम मात्रै बनाउँछ, समन्वयको चुनौती देखिएको छ ।’ निर्वाचन मिति घोषणासँगै ग्रामीण क्षेत्रका कर्मचारीलाई निर्वाचन आयोगका काममा परिचालन गरिएपछि पुनर्निर्माणको काममा थप शिथिलता आएको छ । एक वर्ष म्याद थप्नसक्ने व्यवस्थासहित पाँच वर्षका लागि गठन गरिएको प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले भन्नुभयो, ‘हामी ढिलो भएका छौं, जनशक्ति परिचालनसहितका उपाय खोजिरहेका छौं ।’ पोखरेलले ४० प्रतिशत भूकम्पपीडितले घर बनाएको दाबी गरे पनि सरकारले पहिचान गरेका पीडितको विश्लेषण गर्दा त्यो तथ्यांक सही सावित हुने देखिँदैन । सरकारले ३१ जिल्लामा सात लाख १७ हजार दुई सय ५१ भूकम्पपीडित पहिचान गरेको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा अनुदान सम्झौता गर्नेको संख्या पाँच लाख ६२ हजार दुई सय ७८ छ भने पहिलो किस्ताको रकम लिने पाँच लाख ४३ हजार ६ सय ६ जना मात्रै छन् । तीमध्ये घर निर्माण गर्न थाल्ने ४९ हजार ६ सय ८१ जना मात्रै छन् । घर निर्माण गर्न थालेकामध्ये ३४ हजार दुई सय ९४ जनाले दोस्रो किस्ताका लागि निवेदन दिएका छन् । तीमध्ये १४ हजार पाँच सय ५७ जना दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण भएका छन् । आफैं घर निर्माण गर्ने भूकम्पपीडितको संख्या १८ हजार ६ सय ३३ छ । जनशक्ति अभाव, ग्रामीण क्षेत्रमा अनुपयुक्त घरका डिजाइन, विकट ग्रामीण क्षेत्रमा प्राविधिक र कर्मचारी नपुग्नु, सरकारले दिएको अनुदानले घर बनाउन अपर्याप्त हुनु, थप रकम जुटाउन ऋणको सहज व्यवस्थापन नहुनु, पैसा कमाउन घरधनी स्वयं विदेश वा सहर पस्नुजस्ता कारणले अनुदान सम्झौता गरेर पहिलो किस्ताको रकम लिएकाले पनि घर निर्माण थालेको देखिँदैन । एक सय ३३ वटा पूर्ण क्षति र ६ सय १७ वटा आंशिक क्षति भएका पुरातात्विक सम्पदामध्ये बौद्धनाथ क्षेत्रबाहेक अन्यको पुनर्निर्माण पूरा भएको छैन । पाटन दरबार क्षेत्रका २८ वटा, वसन्तपुर दरबार क्षेत्रका १२ वटा, भक्तपुर दरबार क्षेत्रका १९ वटा, स्वयम्भू क्षेत्रका चारवटा, पशुपति क्षेत्रका २१ वटा, चाँगुनारायण परिसरका पाँचवटा सम्पदा पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ । पुनर्निर्माण गर्नुपर्ने सात हजार नौ सय २३ वटा विद्यालयमध्ये जाइकाको सहयोगमा ६ वटा जिल्लामा निर्माण गर्नुपर्ने दुई सय ८३ वटा छन् । तीमध्ये ८३ वटा विद्यालय निर्माण भइरहेका छन् । एसियाली विकास बैंकले आठवटा जिल्लामा निर्माण गर्ने जिम्मा लिएका एक सय ६० मध्ये ४९ वटा विद्यालय भवन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ । विभिन्न गैरसरकारी संस्थाले निर्माण गर्ने जिम्मा लिएका एक हजार दुई सय ५० वटामध्ये तीन सय २५ वटा विद्यालय निर्माण सम्पन्न भएका छन् भने नौ सय २५ वटा निर्माण भइरहेका छन् । विद्यालय व्यवस्थापन समितिले जिम्मा लिएका आठ सय १६ वटा विद्यालय निर्माण सम्पन्न भएका छन् । हालसम्म एक हजार एक सय ४१ वटा विद्यालय निर्माण भएका छन् भने एक हजार ५९ वटा पुनर्निर्माण भइरहेका छन् । भूकम्पबाट पूर्णरूपमा चार सय ४० वटा, आंशिक रूपमा दुई सय १० वटा र दुई सय ७९ वटा सामान्य क्षति भएका स्वास्थ्य संस्थामध्ये हालसम्म दुई सयवटा मात्रै निर्माण पूरा भएका छन् । वीर अस्पताल र परोपकार प्रसूति गृह जाइकाको सहयोगमा निर्माण हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गोरखा, रसुवा, दोलखा र रामेछापका जिल्ला अस्पताल जर्मनीको केएफडब्ल्यूको सहयोगमा निर्माण भइरहेका छन् । नुवाकोट जिल्ला अस्पताल र नुवाकोटका १० वटा स्वास्थ्य संस्थाका प्रिफेब भवन कोइकाको सहयोगमा निर्माण भइरहेको छ । बाह्रबिसे स्वास्थ्यकेन्द्र अमेरिकी सहयोग नियोगको सहयोगमा निर्माण भइरहेको छ । भूकम्पबाट प्रभावित ३१ जिल्लामा पूर्ण र आंशिक रूपमा क्षति भएका सात हजार सात सय ४१ वटा खानेपानी आयोजनामध्ये तीन सय ६३ वटा मात्रै निर्माण पूरा भएका छन् । दुई हजार ६ सय ८८ वटा पुनर्निर्माण गर्नुपर्ने र तीन हजार सात सय ७६ वटा मर्मत गर्नुपर्ने सरकारी भवनमध्ये ५१ वटाको मात्रै निर्माणका लागि ठेक्का सम्झौता भएको छ । २९ वटाको टेन्डर आह्वान भएको छ । सेनाका ३३ वटा भवन निर्माण पूरा भएका छन् भने चालु आर्थिक वर्षमा ३७ वटा निर्माण पूरा हुनेछन् । सामान्य क्षति भएका नेपाल र सशस्त्र प्रहरीका पाँच सय ५० वटा भवन निर्माण भएका छन् । पुनर्निर्माणका लागि हालसम्म ३४ हजार दुई सय ४३ जना डकर्मीले तालिम लिएका छन् । निजी आवास, विद्यालय र विश्वविद्यालयका भवन, पुरातात्विक सम्पदा, सरकारी भवन र स्वास्थ्य संस्था पुनर्निर्माण गर्न मात्रै तीन खर्ब आठ अर्ब रुपैयाँ अभाव रहेको प्राधिकरणले जनाएको छ । जोखिमयुक्त भनी अनुमान गरिएका चार सय ७५ वटा बस्तीमध्ये तीन सय १७ वटाको मात्रै भौगर्भिक अध्ययन भएको छ भने एक सय ५८ वटा बस्तीको अध्ययन नै भएको छैन । अध्ययनबाट एक सय ११ वटा बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको छ । तथ्यांकमा पुनर्निर्माण भूकम्पपीडित पहिचान ७१७२५१ अनुदान लिएर, नलिईकन घर बनाउने ६८३१४ भूकम्पपीडित पहिचान ७१७२५१ अनुदान लिएर, नलिईकन घर बनाउने ६८३१४ ९.५२ प्रतिशत पुनर्निर्माण गर्नुपर्ने विद्यालय ७९२३ पुनर्निर्माण सम्पन्न भएका विद्यालय ११४१ १४.४० प्रतिशत क्षति भएका स्वास्थ्य संस्था ९२८ पुनर्निर्माण सम्पन्न भएका स्वास्थ्य संस्था २०० २१.५५ प्रतिशत क्षति भएका खानेपानी आयोजना ७७४१ निर्माण सम्पन्न भएका आयोजना ३६३ ४.६८ प्रतिशत क्षति भएका पुरातात्विक सम्पदा ७५० पुननिर्माण भइरहेका सम्पदा ९० १२ प्रतिशत यो खबर आजको अन्नपूर्ण पोस्टमा  छ ।

‘न्यायाधीशको प्रमाणपत्र सुरक्षित’

काठमाडौँ,  वैशाख १२। न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश एवम् परिषद्का सदस्य गोपाल पराजुलीको सबै शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि सुरक्षित रहेको जनाएको छ । परिषद् सचिवालयका प्रवक्ता निर्मला पौडेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा सो सम्बन्धमा परिषद्मै नबुझी समाचार आएकाप्रति असन्तोष व्यक्त गरिएको छ । विज्ञिप्तमा भनिएको छ, “न्यायाधीशको व्यक्तिगत अभिलेख राख्ने न्याय परिषद् सचिवालय हो, सचिवालयको कुनै आधिकारिक व्यक्तिलाई सम्पर्क नगरी समाचार तयार पारेको हुँदा समाचारमा कुनै सत्यता नभएको हुँदा यसबाट भ्रममा नपर्न सबैलाई जानकारी गराउछौँ ।” आगामी दिनमा न्यायालय, न्यायाधीश, स्वतन्त्र न्यायपालिकामा आँच आउने र न्याय सम्पादनको कार्यमा नै गम्भीर असर पर्ने गरी यस्ता समाचार प्रकाशन नगर्न र समाचार प्रकाशन गर्नुपूर्व सचिवालयसँग सम्पर्क गरेर मात्र सत्य समाचार सम्प्रेषण गर्न परिषद्ले अनुरोध गरेको छ । रासस

समान र समतामूलक शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौँ, वैशाख १२ । सबै बालबालिकाले समान र समतामूलक रुपमा शिक्षा पाउनुपर्ने आवाजसहित शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले मुलुकभरी शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु गरेको छ । एनसिइ नेपालले यहाँ आज पत्रकार सम्मेलन गरी संविधानको मौलिक हकका रुपमा रहेको माविसम्म निःशुल्क शिक्षाको सुनिश्चितताका लागि केन्द्र, प्रदेश वा स्थानीय सरकारले कुल बजेटको २० प्रतिशत शिक्षामा विनियोजित गरी सुशासन कायम हुनुपर्ने भन्ने आवाजसहित देशभर आजबाट एकसातासम्म अभियान मनाइने घोषणा गरेको हो । यो अभियानले यसप्रति सरकार र सम्बद्ध निकायलाई जवाफदेही र उत्तरदायी बनाउने अपेक्षा लिएको छ । विश्वव्यापी कार्य सप्ताहलाई यस वर्ष दिगो विकासको लक्ष्य नं ४ मा रहेका शिक्षामा जवाफदेही बनाउने र नागरिक सहभागिता भन्ने मूलभाव रहेको छ । सन् २०१५ मा नेपाललगायत विश्वका अधिकांश राष्ट्रले दिगो विकास लक्ष्य तथा सन् २०३० सम्मको शिक्षाका लागि कार्यढाँचा कार्यान्वयनका निम्ति प्रतिबद्धता जनाएकाले त्यसलाई पछ्याउँदै यो सप्ताह मनाइएको हो । शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिइ) ले नेपालसहित करिब १०० मुलुकमा एकैसाथ यो सप्ताह मनाउन सुरु गरेको छ । अभियानअन्तर्गत नागरिक धर्ना, सार्वजनिक बहस, आमसञ्चार परिचालन, राजनीतिक दललाई ज्ञापनपत्र बुझाउनेजस्ता कार्यक्रम तय गरिएको एनसिइ नेपालका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासङ्घका महासचिव तीलल कुँवर, अभिभावक सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सरिता अर्याल, सामुदायिक विद्यालय राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापा लगायतले अभियानमा आफूहरुको सहभागिता रहने जनाउनुभयो । रासस

एमालेकै समर्थनमा परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव पारित हुन्छः नेता रिजाल

काठमाडौँ, वैशाख १२ । नेपाली काँग्रेका नेता मीनेन्द्र रिजालले नेकपा एमालेकै समर्थनमा परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव पारित हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो – “सरकारले हालै अघि सारेको नयाँ संशोधन प्रस्ताव एमालेकै समर्थनमा संसदबाट पारित हुन्छ ।” नेता रिजालले ‘एमाले पनि यो प्रस्तावलाई समर्थन गर्छ भन्दै मलाई लाग्छ यो प्रस्ताव एक हप्ताभित्रै सर्वसम्मतीले पारित हुन्छ बताउनुभयो ।’ “चुनावको मिति तय भैसक्यो, अब मिति तलमाथि हुनु हुँदैन् तर बजेटबाट निर्वाचन प्रभावित हुने एमालेको आशङ्कालाई मेटाउन बरु सरकारले असार १५ मा बजेट ल्याए हुन्छ, यसका लागि दलहरुबीच घनिभूत छलफल तथा सहमति हुनु आवश्यक छ” उहाँले भन्नुभयो – “बजेटको मिति सार्नका लागि संविधान संशोधन गर्नुपर्ने भएकाले त्यसतर्फ कसरी अघि बढ्न सकिन्छ भनेर दलहरुबीच गृहकार्य भइरहेको छ ।” अर्को प्रसङ्गमा नेता रिजालले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) कै गठबन्धन कायम रहने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले संविधान कार्यान्वयनका चरणमा रहेकाले सबै राजनीतिक दललाई निर्वाचनको घेराबाट बाहिरिन दिन नहुने बताउँदै चुनावअघि नै संविधान संशोधन प्रस्ताव दुई तिहाइबाट पारित हुने स्पष्ट पार्नुभयो । नेकपा (एमाले)का नेता वंशीधर मिश्रले नेकपा एमालेको दुई चरणको निर्वाचनमा कुनै मतैक्य नरहेको बताउँदै चुनावअघि बजेट ल्याउन नहुने बताउनुभयो । नेकपा (माले) का महासचिव सिपी मैनालीले संविधान संशोधन प्रस्तावमा भएका नकारात्मक बँुदामा नेकपा मालेको विरोध रहेको र त्यो नसच्याएसम्म मालेले यसको पक्षमा मतदान नगर्ने धारणा व्यक्त गर्नुभयो । रासस

सबैको सहभागिताको निर्वाचनले प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउँछ : नेता राणा

काठमाडौँ, वैशाख ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले सबैको सहभागितामा हुने स्थानीय तहको चुनावले प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउने बताएका छन् । पार्टीको कामपा वडा नं ८ इकाइ समितिले पशुपतिस्थित भुवनेश्वर मन्दिरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता राणाले निर्वाचनमा मधेसी मोर्चा सहभागी हुन लागेकोमा त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । मुलुकमा करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सबै दलको सहभागिताले प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउने उनले बताए । नेता राणाले केन्द्रको अधिकारलाई स्थानीय तहका जनतामा पु¥याएर उनीहरुलाई अधिकार सम्पन्न गराउनका लागि आसन्न चुनाव निर्धारित समयमा नै गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले मुलुकको विकासका लागि कृषि, पर्यटन र ऊर्जाका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउँदै स्थानीय तहको चुनावमा स्थानीय विकास तथा पूर्वाधार निर्माणका विषयमा प्राथमिकता दिएर घोषणापत्र ल्याउन लागिएको जानकारी दिए । समितिका अध्यक्ष हरिशरण राजभण्डारीले हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल तथा विभिन्न पर्यटकीय सम्पदा रहेको उक्त क्षेत्रमा भूकम्पले धेरै क्षति पु¥याएकाले त्यसको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याए ।

माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस

नुवाकोट, वैशाख ११ । स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले जिल्लाका गाउँपालिका र नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । माओवादी केन्द्रले विदुर नगरपालिका प्रमुखमा लीलानाथ न्यौपाने र उपप्रमुखमा सुभद्रा नेपाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै लिखु गाउँपालिका अध्यक्षमा धर्मराज अधिकारीलाई सिफारिस गरिएको छ । नयाँ नगरपालिका बेलकोटगढी उपप्रमुखमा कविता ढुङ्गाना उम्मेदवार बन्ने पक्का भएको छ । सबै गाउँपालिका र नगरपालिकाका उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको माओवादी केन्द्रका जिल्ला संयोजक हिरानाथ खतिवडाले बताए ।

नयाँ शक्तिबाट प्रमुख र उपप्रमुखका उम्मेदवार सिफारिस

पोखरा, वैशाख ११ । नयाँ शक्ति पार्टी नेपालले पोखरा–लेखनाथ महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोट गरेको छ । पोखरा लेखनाथ महानगरमा आज बसेको वैठकले सर्वसम्मत रुपमा हेमबहादुर थापा, जितबहादुर तमु (मामा) र नारायणहरि तिवारीलाई तथा उपप्रमुखमा कमला रानाभाट र लक्षी खाती परियारलाई सिफारिस गरेको हो । मदन केसीको संयोजकत्वमा देवी सुवेदी, दुर्गा गुरुङ, शम्भु खाती परियार, खड्ग गुरुङ सदस्य रहेको समितिले उक्त निर्णय गरेको हो । यस्तै नेपाली काँग्रेस लुम्ले गाउँ कार्यसमितिले पत्रकार राजबहादुर गुरुङलाई कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा उम्मेदवारीका लागि सिफारिस गरेको छ ।

शुल्क वृद्धिविरुद्ध विद्यार्थी संगठन आन्दोलनमा

काठमाडौँ, वैशाख ११ । निजी विद्यालयले बढाएको शुल्क फिर्ता नगरेको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । अनेरास्ववियु केन्द्रीय कार्यालयमा आज बसेको संयुक्त विद्यार्थी सङ्गठनको बैठकले जिल्ला शिक्षा कार्यालय घेराउदेखि निजी विद्यालयमा तालाबन्दी गर्नेजस्ता आन्दोलनको कार्यक्रम घोषणालगायतका कार्यक्रमहरु सार्वजनिक गरेको छ । अभिभावकको ढाडसेक्नेगरी वृद्धि गरिएको शुल्क सरकारले फिर्ता गराउन बेवास्ता गरेकाले आन्दोलन गर्नुपरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताएकी छिन् । वृद्धि शुल्क फिर्ता गर्नका लागि सरकारलाई तीन दिने अल्टिमेटन दिइएकोमा पनि सरकारले वेवास्ता गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनले बताइन् । सार्वजनिक कार्यक्रम अनुसार बुधबार देशभरिका जिल्ला शिक्षा कार्यालयमा घेराउ गर्ने, बिहीबार चर्को शुल्क लिने निजी शैक्षिक संस्थाको लेखा र प्रशासनमा तालबन्दी गर्ने र शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनको केन्द्रीय र जिल्ला कार्यालयमा तालाबन्दी गरिनेछ । त्यस्तै आन्दोलन अवधिभरी संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट स्कुलको शुल्क अनुगमन गरिनेछ । बैठकमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु क्रान्तिकारीका सचिवालय सदस्य डिबी साउद, अनेरास्ववियु पाँचौँका अध्यक्ष धनश्याम मिश्र, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लबजु, नेत्रविक्रम चन्द निकट अखिल क्रान्तिकारी महासचिव दीपेन्द्र चलाउने, अखिल छैटौँका अध्यक्ष विमल पोखरेललगायत सहभागिता थियो ।

‘पछिल्लो राजनीतिमा भ्रष्टाचार मौलायौ’

काठमाडौँ, वैशाख ११। नागरिक समाजका अगुवा तथा पत्रकारले मुलुकमा पछिल्लो राजनीतिमा भ्रष्टाचार मौलाएकोमा दुःख व्यक्त गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको ‘नेपालमा राजनीतिक भ्रष्टाचारको व्यापकता’ विषयक अन्तक्र्रियामा उनीहरुले पछिल्लोपटक राजनीतिक क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार मौलाउँदै गएको हुँदा सो क्षेत्र पारदर्शी र जवाफदेही हुनुपर्ने धारणा व्यक्त गरे । व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार बढ्दै गएकाले सबैभन्दा पहिला राजनीतिक स्थिरता कायम गर्नुपर्ने आवश्यकता औल्याए । पत्रकार हरिबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक दलका नेताले नीति नियम, कानुनमै भ्रष्टाचार गर्न मिल्नेगरी निर्माण गरेको बताए । टिप्पणीकर्ताद्वय वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली र वरिष्ठ पत्रकार युवराज घिमिरेले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरेको खण्डमा मात्र देशको विकास हुनसक्ने विचार व्यक्त गरे । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष हरि अर्यालले सबैभन्दा बढी राजनीतिक क्षेत्रमा नै भ्रष्टाचार भएकाले हरेक राजनीतिक दलका नेताले आफ्नो सम्पत्ति र पार्टीमा रहेका खर्च सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए । रासस

राजनीतिक दलका कारण लोकतन्त्र ओझेलमा : पूर्व राष्ट्रपति यादव

काठमाडौँ, वैशाख ११ । पूर्व राष्ट्रपति डा रामवरण यादवले राजनीतिक दलहरुको खिचातानीका कारण जनआन्दोलनबाट प्राप्त भएको लोकतन्त्रलाई अझै संस्थागत गर्न नसकिएको बताएका छन् । युवा संसद् नेपालको आयोजनामा ‘युवा सार्क क्षेत्रीय सम्मेलन’को उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले ७० वर्षको उपलब्धिबाट आएको लोकतन्त्र राजनीतिक दलहरुको राजनीतिक खिचातानीका कारण अझै ओझेलमा परेको बताए । सबै मिलेर लोकतन्त्रको संस्थागत गर्नु आजको आवश्यकता भएको उनले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा असन्तुष्टि पक्षलाई समेट्ने प्रयास गरेकोप्रति प्रशंसा गरेका छन् । उनले संविधान घोषणा आफ्नै पालामा भएको भन्दै संविधान जारी गर्दा छुटेका समुदायलाई समेटेर निर्वाचनमा जान राजनीतिक दललाई आग्रह गरे । यादवले तीनै तहको निर्वाचन गरेर देशमा शान्ति, स्थिरता कायम गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्टे साम्स र नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदलगायतले सार्क क्षेत्रको विकासमा युवाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै युवालाई पनि सार्कले उचित स्थान दिनुपर्ने बताए । बुधबारसम्म चल्ने सम्मेलनमा सार्क देशका दिगो विकासका समस्याका बारेमा छलफल गरिनेछ ।

कैलालीका १० तहमा एमाले उम्मेदवारकाे टुंंगो

लोकेश धामी कैलाली, बैशाख ११ । नेकपा एमालले कैलालीका १३ मध्ये १० वटा स्थानीय तहमा स्थानीय तहको लागि प्रमुख र उपप्रमुखको उम्मेदवार तय गरेको छ । एमाले प्रदेश नम्बर सातको बैठकले स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो । धनगढी उपमहानगरपालिका तथा गोदावरी नगरपालिका र लम्की–चुहा नगरपालिकामा उम्मेदवारको टुड्डो लाग्न बाँकी रहेको एमाले प्रदेश समितिका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए । धनगढी उपमहानगरपालिकामा उम्मेदवार एमाले स्थानीय समितिले छान्ने छ । कैलालीका बाँकी दुई नगरपालिकामा केही प्राविधिक कुरा मिल्न बाँकी रहेको उनले बताए । एमालेले टीकापुर नगरपालिकामा प्रमुखमा तपेन्द्र रावल तथा उपप्रमुखमा कमला केसीलाई उम्मेदवार बनाएको छ । भजनी नगरपालिकामा प्रमुखमा प्रदिप मल्ल र उपप्रमुखमा मधुमती चौधरी, घोडाघोडी नगरपालिकाको प्रमुखमा अमर साउँद र उपप्रमुखमा लक्षमी चौधरी तथा गौरीगड्डा नगरपालिकाको प्रमुखमा भीम देउवा र उपप्रमुखमा अञ्चला चौधरीलाई उम्मेदवार बनाउने निर्णय एमालले गरेको छ । यस्तै मोहन्याल गाउँपालिकाको प्रमुख नवलसिंह रावल, उपप्रमुख पुजा बुढा, चुरे गाउँपालिकाको प्रमुखमा धनबहादुर रोक्कामगर र उपप्रमुखमा दीपा साउँद, बर्दगोरिया गाउँपालिकाको प्रमुखमा कर्ण कुँवर र उपप्रमुखमा सावित्रा सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको सचिव सुवेदीले जानकारी दिए । यस्तै कैलारी गाउँपालिकाको प्रमुखमा रामप्रसाद चौधरी र उपप्रमुखमा झुमादेवी चौधरी, जानकी गाउँपालिकाको प्रमुखमा जगत चौधरी र उपप्रमुखमा गड्डा थापा तथा जोशीपुर गाउँपालिकाको प्रमुखमा प्रेमलाल चौधरी र उपप्रमुखमा गोमा आचार्यलाई एमालेले उम्मेदवार बनाएको छ । गोदावरी नगरपालिकाको प्रमुखका लागि हरिसिंह साउँद, कृष्णप्रसाद सुवेदी र खम्ब बुढा तथा लम्की–चुहा नगरपालिकाको प्रमुखका लागि महादेव बजगाई, रतन थापा र कर्ण जैसीको नाम सिफारिस भएर आएको सुवेदीले जानकारी दिए । प्रदेश समितिको बैठकले प्रदेश नम्बर ७ का ८८ वटा स्थानीय तहमध्ये ८२ तहमा उम्मेदवार टुड्डो लगाएको सचिव सुवेदीले जानकारी दिए । दार्चुला, बैतडी र बझाङका धेरै तहबाट निर्विरोध सिफारिस भएर आएका उनले बताए । उनले अधिकांश वडाहरुमा पनि जिल्ला समितिहरुले उम्मेदवार छनौट गरिसकेको बताए ।

३७ वर्ष कांग्रेसको राजनीति गरेका पूर्व सभापति माओवादी केन्द्रमा प्रवेश

रसुवा, वैशाख ११ । नेपाली काङ्ग्रेस धैबुङग गाउँ कमिटिका पूर्वसभापति टंक प्रसाद ढकाल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । औपचारिक कार्यक्रममा ढकाललाई माओवादी केन्द्र रसुवाका उपाध्यक्ष माधव लामिछाने “समिर” तथा जिल्ला कार्यालय सदस्य एबम उत्तरगया गाउपालिका प्रमुखका उम्मेदवार मेघनाथ घिमिरे ‘प्रभाकर’ले संयुक्त रुपमा खादा ओढाएर माओवादी केन्द्रमा प्रबेश गराएका थिए। कालिका गाउपालिका–२ कालिकास्थानका स्थाई बासिन्दा ढकाल ३७ बर्ष देखी नेपाली काङ्ग्रेसको राजनीतिमा सकृय रहेका अनुभबी र पाका नेता हुन् । स्थानिय माझ निकै लोकप्रिय ढकाल राजनीतिको अलवा समाजसेवीका रुपमा पनि परिचित छ्न् । निकै लामो समय राजनीति र समाजसेवामा लागेका ढकाल बिभिन्न सामाजिक संस्थाहरुमा समेत क्रियाशील छन् । पार्टी प्रबेश कार्यक्रममा बोल्दै ढकालले आफुले ३७ बर्ष सम्म नेपाली काङ्ग्रेसमा रहेर पार्टिका लागि काम गर्दा पनि उपयुक्त मुल्याङ्कन नभएको भन्दै इमान्दार र कृयाशिल सदस्यहरुलाई संरक्षण गर्ने सवालमा आफु माओवादीबाट प्रभाबित भएको बताए ।

जिप दुर्घटनामा एकको मृत्यु, अाठ घाइते

सोलुखुम्बु, वैशाख ११ । दूधकौसिका गाउँपालिका–८ देउसामा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । सोताङ गाउँपालिका–५ मसेदा निवासी ३० वर्षीया विष्णुमाया बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । दुई महिनाको शिशुसहित घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल फाप्लु ल्याइँदैछ। दूधकौसिका गाउँपालिका–८ दिप्लीघाटबाट कटारीका लागि छुटेको बा१२च ३६४७ नंको बोलेरो उकालोमा ब्रेकफेल हुँदा दुर्घटना भएको घटनास्थलबाट ट्राफिक प्रहरी इन्चार्ज भेषबहादुर थापाले जानकारी दिए । जिप सडकदेखि करिब ७० मिटर तल खसेको थियो ।