महाभियोग प्रस्ताव फिर्ता लिन पूर्वप्रधानन्यायाधीशको आग्रह

काठमाडौँ, वैशाख १८ । पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले आज संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक मूल्यमान्यताको जगेर्ना तथा स्वतन्त्र र सक्षम न्यायपालिकाको संस्थागत विकासका लागि महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन आह्वान गरिएको छ ।

संविधान प्रतिकूल कामकारबाही गरेको भनी अभियोग लगाउनुपर्ने उचित र पर्याप्त कारण देखिएको अवस्थामा पनि अत्यन्त सावधानीपूर्वक विशेष संवेदनशील भएर प्रक्रिया अपनाएको अनुभूति नभएको उल्लेख गर्दै विज्ञप्तिमा कानुनी राज्य र प्रजातन्त्रको संरक्षणका लागि नेपाली जनताको बृहत्तर हितलाई सर्वोपरि महत्व दिई राज्यका अङ्गबीच अनावश्यक प्रतिस्पर्धात्मक सोच नभएर सहकारिताको भावना उद्बोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “जनताको हकअधिकार संरक्षण गर्ने कार्यमा न्यायपालिका निरीह बन्यो भने प्रजातन्त्र कमजोर हुन्छ, राजनीतिक तहमा देखिएका यस प्रकारका क्रियाकलापबाट स्वतन्त्र, निष्पक्ष र स्वच्छ तवरले न्याय सम्पान गर्ने वातावरण बिथोलिने कुरा निश्चित नै छ ।”

निहित राजनीतिक स्वार्थ पूरा गर्ने अभिप्रायले प्रस्ताव ल्याइएको महसुस भएको तथा अस्पष्ट र निराधार आरोपका आधारमा प्रक्रिया अगाडि बढाउँदा न्यायपालिकाप्रतिको जनआस्था खल्बलिने, कानुनी राज्य धराशायी हुने र प्रजातन्त्र नै विशृङ्खलित हुने स्थिति आउने कुरा पनि विज्ञप्तिमा औँल्याइएको छ ।

प्रस्ताव फिर्ताको माग गर्दै आन्दोलन

अनेरास्ववियुले प्रधानन्यायशीश सुशीला कार्कीमाथि लगाइएको महााभियोग प्रस्ताव फिर्ताको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

सङ्गठनको सचिवालय बैठकले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भएको भन्दै प्रस्ताव फिर्ताको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी  दिइन् ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्न माग गर्दैै आज नागरिक समाज सञ्जालले पनि माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।

जसले विदेशमा कमाए, स्वदेशमा जमाए

झापा, वैशाख १८ । झापा मेचीनगर नगरपालिका–९ का युवा डिल्लीराम उप्रेती स्वदेशमा रोजगारको कुनै विकल्प नभएपछि कतार जानुभयो। नौ वर्षको लामो कतार बसाइँबाट उहाँले राम्रै कमाउनुभयो । तर, विदेशमा मात्रै बसेर हुँदैन, स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो र स्वदेश फर्किनुभयो । “लामो समय विदेश बसेँ, राम्रै कमाइ पनि भयो, घरजग्गा जोडेँ, परिवारको पालन पोषणमा पनि राम्रो गरेँ”, उहाँले भन्नुभयो – “तर, पैसाले मात्रै कहाँ मन मान्दोरहेछ, स्वदेशको माया र यहाँको हावापानीले यहीँ कुनै इलम गरौँ सोचेर अहिले कृषि पेसा अँगालेको छु ।” विसं २०६९ मा रु एक लाख ५० हजारमा खरिद गरेको डी एन्ड डी प्लान्टेक फार्ममा हाल रु एक करोडभन्दा बढी लगानी भइसकेको उप्रेतीले बताउनुभयो । होटल म्यानेजमेन्टमा क्याटरिङ कलेज अफ मुम्बाईबाट बिएचएम गर्नुभएका उहाँले कृषि व्यवसायबाटै आफ्नो पहिचानसहित मनग्य आम्दानी गरिरहनुभएको छ । मागुरमाडीस्थित उहाँको नर्सरी फार्म कुनै पर्यटकीय गन्तव्य नभइ देख्दा मनै लोभ्याउने आकर्षक कृषि उद्यम देख्न पाइन्छ । एक बिगाहा क्षेत्रफलमा कागती, तेजपत्तासहित मलेसियन साल, टिक, पाउलेनियालगायत विभिन्न २० प्रजातिका बोटबिरुवाको नर्सरी छन् । दुई लाख दाना कागती र करिब २५ हजार त्यसको बिरुवा बिक्री गर्नुभएका उप्रेतीले वार्षिक रु १२ देखि १५ लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँको फर्ममा कृषि फार्ममा चारजनाले रोजगारीसमेत पाएका छन् । उप्रेतीले नर्सरीसँगै गडँ्यौला मल उत्पादन, तरकारीखेती पनि गर्दै आउनुभएको छ । कृषिको अत्यन्तै ठूलो सम्भावना रहेको बताउँदै उहाँ भन्नुहुन्छ – “आफूसँग भएकै कुरालाई उपयोग गर्ने हो भने आम्दानीको धेरै स्रोत अपनाउन सकिन्छ ।” भर्खरै ४० मन जति काँक्रा बिक्री गरेँ, उप्रेतीले भन्नुभयो, “खेतीमा प्रविधि मिसाउने हो भने तीनगुणाभन्दा बढी प्रतिफल लिन सकिन्छ ।” झापासँगै छिमेकी जिल्ला मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङसम्म उप्रेतीले हुर्काएको बिरुवाको निर्यात भइरहेको छ । बिरुवा बेचिसकेपछि उहाँले प्राविधिक सहयोग पनि उपलब्ध गराउने गर्नुभएको छ । “दुई वर्षसम्म त्यसको रेखदेखको जिम्मा आफैँ लिन्छु”, उप्रेतीले भन्नुभयो – “त्यो बीचमा बिरुवा मरेमा अर्को बिरुवा उपलब्ध गराउने पनि गरिएको छ ।” वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार अहिले दैनिक एक हजार ५०० युवाले वैदेशिक रोजगारको बाटो रोज्ने गरेका छन् । कृषिलाई आधुनिकीकरण गर्न सके आम्दानीको दरिलो स्रोत खडा गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बन्नुभएको छ, डिल्लीराज उप्रेती ।

माटोको ढिस्कोले पुरिएर चारजनाको मृत्यु

सर्लाहीमा, वैशाख १७ । माटोको ढिस्कोेले पुरिएर सर्लाहीमा चारजनाको ज्यान गएको छ भने अन्य एकजना घाइते भएका छन् । घर पोत्ने माटो लिन गएका इश्वरपुर नगरपालिका–१४ को सागरनाथ जंगलमा गएका रामवतीदेवी, अभिषेकुमार महतो, अंशु कुमारी महतो र बवितादेवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ज्यान जाने चारै जना इश्वरपुर नगरपालिकाका हुन् । माटोको ढिस्कोले पुरेर घाइते भएकी रामरतीको जनकपुरमा उपचार भैरहेको छ ।

सप्तरीको सुरुङ्गामा सुमोको ठक्करबाट एकको मृत्यु

सप्तरी,  वैशाख १७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–७ मा भारतीय सुमोगाडीको ठक्करबाट  साँझ एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर ३० पी १२०० नंको सुमोगाडीले ठक्कर दिँदा सप्तरीको मल्हनवा–४ निवासी ४२ वर्षीय साइकलयात्री बद्री साहको मृत्यु भएको इप्रका, कडोरबनाले जनाएको छ । यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पिकअप भ्यान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ज ३४८९ नंको पिकअप भ्यानको टायर पञ्चर भई अनियन्त्रित भई सोही दिशाबाट जन्ती बोकेर आउँदै गरेको स१ज १३७ नंको बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो । पिकअप भ्यानमा सवार घाइतेहरुको धर्मेश्वर अस्पताल, ठेलियामा उपचार भइरहेको छ भने दुवै सवारी साधनलाई इप्रका, कञ्चपुरले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

दलहरू मिलाउने जिम्मा नेपाली कांग्रेसकाे हाे : नेता आचार्य

काठमाडौँ, वैशाख १६ । नेपाली काँग्रेसका नेता महेश आचार्यले हिमाल, पहाड, मधेस मिलाउने मुख्य जिम्मा नेपाली काँग्रेसको रहेको बताएका छन् । संविधानको रक्षाका लागि तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताउँदै पूर्व अर्थमन्त्रीसमेत रहेका नेता आचार्यले सबै दललाई मिलाएर निर्वाचनमा लैजानु नै काँग्रेसको मुख्य चुनौती भएको बताए । नेपाली काँग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको भूमिका र चुनौतीहरु’ विषयक विचार गोष्ठीमा नेता आचार्यले काँग्रेसले स्थानीय तहका लागि ल्याएको घोषणापत्र समयअनुसार सान्दर्भिक रहेको बताए । उनले काँग्रेसको विचारको राजधानी विराटरनगर भएको भन्दै विराटनगरमा काँग्रेसलाई पहिलो पार्टी बनाउन कार्यकर्तालाई निर्देशनसमेत दिए । काँग्रेस नेता डा. मीनेन्द्र रिजालले सिंहदरबारको अधिकार गाँउगाउँसम्म पु¥याउने भएकाले स्थानीय तहको निर्वाचन चाँडो हुनुपर्ने बताए । उनले भने, “काँग्रेस नै निर्वाचनको बारेमा आशंका गरे निर्वाचन नचाहने तत्वलाई फाइदा पुग्छ त्यसैले निर्वाचनबारे आशंका नगरौँ ।” नेता डा रिजालले संविधान सबैको स्वीकार्य बनाउनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरेको बताए । काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले स्थानीय तहको निर्वाचन गरेर मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्नेमा जोड दिँदै स्थानीय तह बुझेका व्यक्तिलाई पार्टीले टिकट दिनुपर्ने बताए । सांसद अमृत अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बुझेको व्यक्तिलाई स्थानीय तहको उम्मेद्वार बनाउनुपर्ने बताए । काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले लामो समयदेखि हुन नसकेको निर्वाचन वैशाख ३१ मा हुन लागेको भन्दै निर्वाचनमा काँग्रेसलाई विजय गराउन सबै एकजुट हुनुपर्ने बताए ।

सल्यानमा माओवादी केन्द्रको उम्मेदवार टुंगो

सल्यान, वैशाख १६ । आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाका तीन नगरपालिकासहित सात गाउँपालिकाका लागि माओवादीले उम्मेदवारको टुङ्गो लगाएको हो । शारदा नगरपालिकाको प्रमुखमा महाधिवेशन आयोजक समिति सदस्य प्रमोद श्रेष्ठ र उपप्रमुखमा झरना बुढाथोकी, कुपिण्डे वनगाड नगरपालिकाको प्रमुखमा पार्टीका पोलिटब्युरो सदस्य तथा पार्टी अध्यक्ष कर्णबहादुर बुढाथोकी र उपप्रमुखमा मञ्जु यरी तथा बागचौर नगरपालिकाबाट प्रमुखमा लोकमान बुढाथोकी र उपप्रमुखमा कल्पना पुनलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्र सल्यानका इन्चार्ज नेवबहादुर कुँवरले बताए । यसैगरी दार्मा गाउँपालिकाको अध्यक्षमा महाधिवेशन आयोजक समिति सदस्य युवा नेता निमबहादुर केसी र उपाध्यक्षमा टीका वली, छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्षमा राधा शर्मा, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा अजय रोका र उपाध्यक्षमा लीलावती बुढा, कपुरकोट गाउँपालिकामा अध्यक्ष प्रकाश भण्डारी र उपाध्यक्ष एलिना राना तता ढोरचौर गाउँपालिकामा अध्यक्ष नरवीर चलाउने र उपाध्यक्षमा भूमि बुढाथोकीलाई उम्मेदवार बनाइएको छ । कुमाख मालिका गाउँपालिकाको अध्यक्षमा दिलमाया बुढा र उपाध्यक्षमा डिल्लीराज जैशी, कालीमाटी गाउँपालिकाको अध्यक्षमा पुरुषोत्तम भट्टराई र उपाध्यक्षमा प्रिति डिसीलाई उम्मेदवार बनाएको छ ।

मृत मृगसहित दुई पक्राउ

पोखरा,  वैशाख १६। जिल्ला प्रहरी कार्यालय कास्कीले मृत मृगसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । माछापुच्छे गाउँपालिकाबाट पोखरातर्प ल्याउँदै गर्दा पोखरा–८ का जीवन गुरुङ र पोखरा–३ का विकास गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बा१७च २८७८ को जिपमा लुकाइछिपाइ ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका थिए । प्रहरीले मृत मृगलाई जिल्ला वन कार्यालयमा बुझाएको छ ।

महानगर प्रमुखमा उम्मेदवार बन्न उपप्राध्यापकबाट राजीनामा

पोखरा, वैशाख १६। स्थानीय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा उम्मेदवार बन्न देवराज चालिसेले उपप्राध्यापकवाट राजीनामा दिनुभएको छ । नेपाली काँग्रेसबाट प्रमुख उम्मेदवारको सिफारिसमा पर्नुभएका चालिसेले एक हप्ताअघि त्रिवि उपकुलपतिको कार्यालयमा राजीनामा दिएको पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख वसन्त पराजुलीले जानकारी दिनुभएको छ । उहाँ सो क्याम्पसमा राजनीतिशास्त्रमा प्राध्यापन गर्दै आउनुभएको थियो । काँग्रेस कास्कीले महानगरपालिका प्रमुखका लागि उहाँसहित ३३ जनाको नाम पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरिपठाएको जिल्ला सदस्य नवीन सिग्देलले बताउनुभयो ।

सम्वृद्ध नेपालका लागि उर्जामन्त्री शर्माको यस्ताे खाका

पोखरा, १५ वैशाख । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनपछि मुलुक शान्ति र एकताको बाटोमा अघि बढ्ने बताएका छन् । नेकपा माओवादी केन्द्र पोखरा–लेखनाथ महानगर कमिटीले शुक्रवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान संशोधनले असन्तुष्ट मधेसी र जनजातिका माग सम्बोधन भएपछि स्थानीय तहको निर्वाचन उत्सवमय हुने दाबी गरे । आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरवारको अधिकार गाउँ र नगरमा पु¥याउने उल्लेख गर्दै मन्त्री शर्माले जनताको प्रत्यक्ष मताधिकारपछि झण्डै २२ प्रकारका असीमित अधिकार जनताको घरदैलोमै पुग्ने बताए । भ्रष्ट्राचारको अन्त्य गरेर देशमा उज्यालो नेपाल अभियान सुरुवात गरेको प्रसङ्ग कोट्याउँदै उनले प्रत्येक घरबाट एक लाख लगानी गर्ने हो भने १० हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने जानकारी गराए । वैदेशिक रोजगारीमा गएका युवाहरुको एक महिनाको तलब खर्च गर्ने हो भने पाँचवटा ठूला आयोजना बनाउन सकिने बताउँदै मन्त्री शर्माले योजनाबद्ध विकासको थालनी गर्न सक्यौ भने १५ वर्षमै देशलाई समृद्धिको उचाइमा पु¥याउन सकिने दाबी गरे । नेता देव गुरुङले संविधान संशोधनबाट सवै दलको सहमति जुटाउनुपर्ने आवश्यकता औँल्याए । उनले सवै स्वामित्व हुन नदिने षड्यन्त्रले राष्ट्र कमजोर बन्ने बताए । कार्यक्रममा पार्टीका कास्की इन्चार्ज राजकाजी गुरुङ, महिला नेत्री गायत्री गुरुङ, पूर्व अध्यक्ष झलकपाणि तिवारीलगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरे । यसअघि पोखराको पृथ्वीचोकबाट सुरु भएको ¥यालीले नगरपरिक्रमापछि चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको थियो ।

नेकपा माओवादी केन्द्रले गोरखामा छान्यो उम्मेदवार

गोरखा, वैशाख १५ । स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखा कमिटीले दुईवटा नगरपालिकासहित नौवटा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको नाम सार्वजनिक गरेको छ । सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज चूडामणि खड्का ‘प्रकाश’ले सो नगरपालिकाको प्रमुखमा कृष्णबहादुर रानालाई उम्मेदवार बनाउने पार्टीको सर्वसम्मत निर्णय भएको जानकारी दिए । उपप्रमुखमा भने कसलाई उम्मेदवार बनाउने भन्ने यकिन नभइसकेको तर चुनावी तालमेलका लागि नेपाली काँग्रेस, एमाले र राप्रपासँग छलफल भइरहेकाले बताए । पालुङ्टार नगरपालिकाको प्रमुखमा गुणराज देवकोटा र उपप्रमुखमा पम्फा बसेललाई उम्मेदवार उठाउने निर्णय भएको जनाइएको छ । यस्तै चुमनुब्री गाउँपालिकाको अध्यक्षमा लाक्पा डुण्डप लामा र उपाध्यक्षमा कुमारी गुरुङ तथा धार्चे गाउँपालिकाको अध्यक्षमा सूर्य गुरुङ र उपाध्यक्षमा आशा गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी नेत्री कमला नहर्कीले जानकारी दिए । सुलिकोट गाउँपालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, आरुघाट गाउँपालिकाको अध्यक्षमा जगन्नाथ खनाल र उपाध्यक्षमा अमृता लामा, भीमसेन गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बञ्जरा र उपाध्यक्षमा लीला श्रेष्ठ, सहिद लखन गाउँपालिकाको अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा देवकोटालाई उठाउने निर्णय भएको छ । गण्डकी गाउँपालिकाको अध्यक्षमा दीपक तिमिल्सिना र उपाध्यक्षमा पूर्णा थापा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल, सिरानचोक गाउँपालिकाको अध्यक्षमा नवराज पुडासैनीलाई उठाउने भएको छ भने उपप्रमुख तोक्न बाँकी छ । नेपाली काँग्रेस, नेकपा ९एमाले०ले भने अहिलेसम्म उम्मेदवारतय गर्न सकेका छैनन् । आकाङ्क्षी धेरै हुँदा सर्वसम्मत उम्मेदवार तय गर्न नसकिएको बताइएको छ । काँग्रेसले नगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्रमा नै छनोट गर्ने गरी गृहकार्य गरिरहेको छ भने एमालेले प्रदेश कमिटीबाट नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार तोक्ने बताइएको छ । गाउँपालिकामा भने सर्वसम्मत रुपमा उम्मेदवार तोकिएका छन् ।

भक्तपुरको चारवटै नगरपालिकामा काँग्रेसको तर्फबाट मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस

भक्तपुर, वैशाख १५ । आगामी निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ । नेपाली काँग्रेसको वडा तथा क्षेत्रीय समितिले आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएपछि नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिलाई उम्मेदवारको छान्न सकस भएको छ । नेपाली काँग्रेस चुनाव प्रचार समितिका संयोजक केदार खड्काका अनुसार भक्तपुर नगरपालिकामा प्रमुखका लागि नारायणप्रसाद तमखु र ऋषिकेशभक्त तिमिला तथा उपप्रमुखका लागि कोपिला कायस्थ र अम्बिकादेवी झाको नाम सिफारिस भएको छ । मध्यपुर थिमि नगरपालिकामा भने प्रमुखका लागि मात्रै अष्टकुमार कवेँ, सन्तोष भट्टराई, सुरेन्द्र श्रेष्ठ, केदार खड्का, मदनकृष्ण श्रेष्ठ, महेश श्रेष्ठ, गणेशमान चक्रधर, मुरारी आचार्य, गोकुल शर्मा र जीवन सिजापति गरी १० जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा उर्मिला वन, अञ्जना मढिकर्मी, भगवती अधिकारी, प्रमिला आचार्य, कमला कर्माचार्य (बस्नेत), लक्ष्मीशोभा प्रजापति र निर्मला थापा गरी सात जनाको नाम सिफारिस भएको छ । त्यसैगरी सूर्यविनायक नगरपालिकामा विष्णुराज कार्की, निशान ढुङ्गेल, उद्धव सिलवाल, राजु खड्का, सुशील बस्नेत, कृष्णमुरारी न्यौपाने, राजनकाजी त्वाती, शङ्कर केसी, कवीर राणा, रवि राणा, उपेन्द्रनन्दन तिमल्सिना, धर्मभक्त श्रेष्ठ, अच्युतप्रसाद मिश्र, भेषबहादुर कार्की, विदुरमान सिंह र नारायणभक्त खायमली गरी १६ जनाको नाम सिफारिस भएको छ । त्यसैगरी उपप्रमुखमा भने सङ्गीता थापा, कल्पना राजथला, सावित्री कार्की, गौरी खड्का खत्री, रिता खत्री कार्की, शोभा अधिकारी, विजयाशर्मा कोइराला, ललिता धिताल पोखरेल र रुपा भट्टराईको नाम सिफारिस भएर आएको छ । यता चाँगुनारायण नगरपालिकामा भने कृष्णलाल भँडेल, राजाराम खड्का, किरण न्यौपाने, जगन्नाथ कार्की, मनोजकुमार थापा, शिवहरि केसी, यादव अधिकारी, पुरुषोत्तम लामिछाने, शङ्करप्रसाद गौतम, जीवन खत्री, सम्पूर्ण रोक्का, टङ्कबहादुर कार्की, सुरेश श्रेष्ठ र उद्धव खड्का गरी १४ जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा भने राधा कार्की (सरु बानियाँ), रुपादेवी थापा, सावित्री लामिछाने, सङ्गीता फुयाल र सुभद्रा काफ्ले गरी पाँच जनाको नाम सिफारिस भएको छ । भक्तपुरका चार नगरपालिकामा चारवटा प्रमुख र चारवटा उपप्रमुखको उम्मेदवारका लागि नेपाली काँग्रेसबाट प्रमुखमा ४२ जनाको र उपप्रमुखका लागि २३ जनाको नाम सिफारिस भएको प्रचार संयोजक खड्काले जानकारी दिए । केही नाम वडा समितिबाट छनोट भई क्षेत्रीय समितिमा सिफारिस भएर क्षेत्रीय समितिमा पठाए पनि क्षेत्रीय समितिले भने अझै पनि उम्मेदवारको नाम छनोट गर्न सकेका छैनन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले १८ वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले उम्मेदवारको आकांक्षी धेरै भएकाले व्यवस्थापनमा केही कठिनाइ भएकोे बताए । जिल्लामा आएको नामवलीमध्येबाट जिल्ला सभापतिको संयोजकत्वमा जिल्ला सभापतिको प्रत्यासी उम्मेदवार अष्टकुमार कवेँ, सभासद रामेश्वर ढुङ्गेललगायतको जिल्लास्तरीय उम्मेदवार छनोट समितिले उम्मेदवारको नाम छनोट गर्ने सभापति थापाले बताए ।

चन्द्रागिरिमा जनमोर्चाबाट उपप्रमुख छनौट

काठमाडौँ, वैशाख १५ । राष्ट्रिय जनमोर्चाले चन्द्रागिरि नगरपालिकाको उपप्रमुखमा रोशन दानीलाई उठाउने भएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नगरपालिकामा आयोजित एक कार्यक्रममा उक्त दलका अध्यक्ष चित्रबहादुर केसीले दहचोक निवासी दानीलाई उपप्रमुख, वडा नं– १ को अध्यक्षमा धर्मराज दानी र वडा नं– ६ को अध्यक्षमा मनहरी बलामीको उम्मेदवारी सार्वजनिक गरिएको छ । उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्ष केसीले देश बिखण्डनतर्फ उन्मुख भइरहेकोले त्यसलाई रोक्न सचेत युवा एकजुट बन्नुपर्नेमा जोड दिए । पार्टीका चन्द्रागिरि नगरसमिति इन्चार्ज गणेश कुँवरकाअनुसार नगरपालिकाको अन्य पदका लागि उम्मेदवार छनौट गर्ने काम भइरहेको छ ।

दुई हप्तादेखि स्थानीयवासी अन्धकारमा

पाँचथर, १५ वैशाख । फिदिम नगरपालिका– १२ नागिनमा गत दुई हप्तादेखि बिजुली–बत्ती अवरुद्ध भएका कारण त्यहाँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । नागिनमा रहेको बिजुलीको टान्र्समिटर जलेपछी वडा नम्बर– १२ का करिब एक सय ५० भन्दा बढी घरका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन् । सो क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले हालसम्म पनि घरमा इनर्जी मिटर नदिएका कारण एउटा ठूलो पावरको मिटर मार्फत धेरै घरमा बिजुली बाल्दा टान्समिटर नै जलेको हुनसक्ने उपभोक्ताको अनुमान छ । सो टान्र्समिटर बनाएर ल्याउन समय लाग्ने भएकाले अझै केही दिन कुर्नुपर्ने प्राधिकरणले जनाएको छ । उपभोक्ताले फिदिम विद्युत् सहकारीको बेवास्ताका कारण अन्धकारमा बस्न बाध्य हुनुपरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । यता तीन दिनदेखि गएको बिजुली अहिलेसम्म पनि नआएका कारण फिदिम ७ र ८ रानिटारका १३ घरपरिबार अन्धकारमा रात बिताउनु परेको स्थानीयवासी राम बास्कोटाले बताए ।

माओवादी केन्द्र गोरखाले छान्यो उम्मेदवार

गोरखा, वैशाख १५ । स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र गोरखा कमिटीले दुईओटा नगरपालिकासहित ९ ओटा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको नाम सार्वजनिक गरेको छ । सदरमुकाममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज चूडामणि खड्काले गोरखा नगरपालिकाको प्रमुखमा कृष्णबहादुर रानालाई उम्मेदवार बनाउने पार्टीको सर्वसम्मत् निर्णय भएको जानकारी दिए । उपप्रमुखमा भने कसलाई उम्मेदवार बनाउने भन्ने यकिन नभइसकेको तर चुनावी तालमेलका लागि नेपाली कांग्रेस, एमाले र राप्रपासँग छलफल भइरहेको बताए । पालुङ्टार नगरपालिकाको प्रमुखमा गुणराज देवकोटा र उपप्रमुखमा पम्फा बसेललाई उम्मेदवार उठाउने निर्णय भएको जनाइएको छ । यस्तै, चुमनुब्री गाउँपालिकाको अध्यक्षमा लाक्पा डुण्डप लामा र उपाध्यक्षमा कुमारी गुरुङ तथा धार्चे गाउँपालिकाको अध्यक्षमा सूर्य गुरुङ र उपाध्यक्षमा आशा गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी नेत्री कमला नहर्कीले जानकारी दिइन् । सुलिकोट गाउँपालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, आरुघाट गाउँपालिकाको अध्यक्षमा जगन्नाथ खनाल र उपाध्यक्षमा अमृता लामा, भीमसेन गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बञ्जरा र उपाध्यक्षमा लीला श्रेष्ठ, सहिद लखन गाउँपालिकाको अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा देवकोटालाई उठाउने निर्णय भएको छ । गन्डकी गाउँपालिकाको अध्यक्षमा दीपक तिमिल्सिना र उपाध्यक्षमा पूर्णा थापा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल, सिरानचोक गाउँपालिकाको अध्यक्षमा नवराज पुडासैनीलाई उठाउने भएको छ भने उपप्रमुख तोक्न बाँकी छ । नेपाली कांग्रेस, नेकपा एमालेले भने अहिलेसम्म उम्मेदवार तय गर्न सकेका छैनन् । आकांषी धेरै हुँदा सर्वसम्मत् उम्मेदवार तय गर्न नसकिएको बताइएको छ । कांग्रेसले नगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्रमा नै छनोट गर्ने गरी गृहकार्य गरिरहेको छ भने एमालेले प्रदेश कमिटीबाट नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार तोक्ने बताइएको छ । गाउँपालिकामा भने सर्वसम्मतरुपमा उम्मेदवार तोकिएका छन् ।

निर्वाचनविरोधी नारा विप्लव माअाेवादी कार्यकर्ता पक्राउ

चितवन, वैशाख १५ । भरतपुर महानगरपालिका र तीनओटा वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर निर्वाचनविरोधी नारा लेख्ने एक व्यक्तिलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार बिहीबार राति भरतपुर महानगरपालिका, महानगरको वडा नम्बर–१, ५, १८ र १९ संयुक्त वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, कथित निर्वाचन बहिस्कार गरौं, जनसत्ता स्थापना गरौं’जस्ता नारा लेखिएका थिए । उक्त कार्यमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भरतपुर–१८ का तिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । थापाकाअनुसार श्रेष्ठले आफ्नो ना२प १४२४ नम्बरको मोटरसाइकलमा अर्का एक व्यक्तिलाई राखेर साइनबोर्डमा कालो पोत्दै हिँडेका थिए । प्रहरी प्रमुख थापाले निर्वाचनविरोधी अभियान हुन नदिन थप सुरक्षा सतर्कता अपनाइएको बताए ।

जहाँतही बाटो काट्नेलाई जरिवाना

काठमाडौँ, वैशाख १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई रु २०० जरिवाना गर्नेभएको छ । महाशाखाले आज आयोजना गरेको ‘बढ्दो सवारी साधन र दुर्घटना न्यूनीकरणको अभियान’मा उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदल यात्रु मरेको भन्दै यसको न्यूनीकरणका लागि आगामी जेठ १ गतेदेखि जरिवना गर्न लागेको हो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रहरी आयुक्त एवम् प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले राज्यले ट्राफिक क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । उनले भने, “जेब्राक्रसिङमा चालक र यात्रु दुबै सचेत भएमात्र दुर्घटनामा कमी आउँछ ।” प्रनाम भण्डारीले सडकमा छाडा गाईबस्तु छोड्दा धेरै दुर्घटना भएको भन्दै यसबारे सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले काठमाडौँलाई शान्त र सुन्दर सहर बनाउनका लागि महानगरपालिका लागिपरेको बताए । महाशाखाका प्रमुख मिङमार लामाले उपत्यकामा हुने दुर्घटनामध्ये अधिकांश मोटरसाइकल र स्कुटरबाट हुने भएकाले यसको न्यूनीकरणका लागि यो अभियान चलाएको बताए । उनले सडक सुरक्षासम्बन्धी उपत्यकाका २६ वटा सामुदायिक केन्द्रमार्फत आजैदेखि जनचेतना कार्यक्रम सञ्चालन गरिएको बताए । त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपाने, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष अजय राईलगायतले नियम सञ्चालनसँगै कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।