पशुपति आश्रमलाई रु ५० हजार चन्दा

काठमाडौँ, वैशाख २३ । नवलपरासी प्रगतिनगर क्षेत्रमा २० वर्षदेखि हालसम्म रिक्सा चलाउँदै गर्नुभएका ओमलाल सापकोटाले पशुपति वैदिक आश्रम ट्रस्ट, देवचुली–१५, प्रगतिनगरलाई रु ५० हजार चन्दा दिनुभएको छ ।

हाल परिवारसहित देवचुली–१४, भगवती टोलमा डेरामा बस्दै आउनुभएका सापकोटाले पिता स्व रविलाल र माता भानुकलीको स्मृतिमा सो चन्दा दिनुभएको ट्रस्टका उत्तराधिकारी धर्मराज बरालले जानकारी दिनुभयो ।

आध्यात्मिक क्षेत्रमा रुचि राख्न थालेपछि अहिले आफूले सुखी जीवन बिताइरहेको सापकोटाले बताउनुभयो ।

गोर्खामा माओवादी केन्द्रको बिजयी सुरुवात

गोरखा, बैशाख २२ । गण्डकी गाउँपालिकामा माओवादी केन्द्रको विजयी सुरुवात भएको छ । गण्डकी गाउँपालिका केन्द्रको वडा नं ६ भुम्लिचोकमा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा सबिना सुनार निर्बिरोध निर्वाचित भएकी छिन् । अन्य दलले उम्मेदवारी नदिएपछि माओवादी केन्द्रकी सुनार निर्विरोध निर्वाचित भएकी हुन् ।

कार्लमाक्र्सको सिद्धान्तलाई आत्मसात् गरे कोही असफल हुँदैन : सञ्चारमन्त्री

काठमाडौँ, वैशाख २२ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले कार्लमाक्र्सको सिद्धान्तलाई आत्मसात् गरी अगाडि बढेमा कोही पनि असफल नहुने बताएका छन् । कार्लमाक्र्स द्विशतवार्षिकीको मूल समारोह समितिले आयोजना गरेको कार्लमाक्र्सको १९९औँ जयन्तीका सन्दर्भमा आयोजित युवाको दृष्टिमा कार्लमाक्र्स विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले व्यक्तिगत स्वार्थबाट माथि उठी सामाजिक हितका निमित्त सबैले काम गर्नुपर्ने विचार व्यक्त गरे । त्यस्तै आयोजक समितिका अध्यक्ष एवम् नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले माक्र्सवादको सिद्धान्त अत्यन्त राम्रो भएको विचार व्यक्त गर्दै युवापुस्ताले कार्लमाक्र्सलाई बिर्संदै गएको आभास भएकाले माक्र्सको ज्ञानको प्रचारप्रसार गर्न कार्यक्रमको आयोजना गरिएको बताए । अध्यक्ष भुसालले कार्लमाक्स ज्ञानको खानी भएको भन्दै समाजलाई माथि उठाउन माक्र्सको ठूलो योगदान रहेको टिप्पणी गरेका छन् । नेकपा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य रचना खड्काले युवाले आआफ्नो भूमिका निर्वाह गर्न जान्नुपर्ने भन्दै कार्लमाक्र्सको सिन्द्धान्त प्रेरणादायी भएको बताए । कार्यक्रममा गौतम राई ,अनिलकिशोर घिमिरे, रञ्जीत तामाङ, रामबाहदुर बुढा, उषाकिरण तिमिल्सिना, मदन अर्याललगायतले कार्लमाक्र्सको जीवनी तथा योगदानका बारेमा चर्चा गरेका थिए ।

विद्युतीय यन्त्रबाट मतदान गर्न माग

काठमाडौँ, वैशाख २२ । दृष्टिविहीन नागरिकले यथाशक्य छिटो मतदान गर्न विद्युतीय यन्त्रबाट मतदान गराउने व्यवस्था गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन् । आयोगले दृष्टिविहीनका लागि स्थानीय तह निर्वाचनसम्वन्धी आयोजना गरेको प्रशिक्षणमा सहभागी दृष्टिविहीन नागरिकले यस्तो आग्रह गरेका हुन् । कार्यक्रमको शुभारम्भ गर्दै निर्वाचन आयुक्त नरेन्द्र दाहालले लोकतान्त्रिक सुविधानानुसार पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेकाले सक्रिय सहभागी हुन दृष्टिविहीन नागरिकसँग आग्रह गरे । आयोगका सचिव गोपीनाथ मैनालीले लोकतन्त्र भनेको आर्थिक, सामाजिक विकास पनि भएकाले मतदानमा कोही नछुटून् भन्ने आयोगको धारणा रहेको बताए । सहसचिव नवराज ढकालले नजिकका नातेदार वा मतदान अधिकृतको सहयोगमा दृष्टिविहीनले मतदान गर्ने व्यवस्था आयोगबाट हुने जानकारी दिए । अपाङ्गता भएका नागरिकका लागि १०० ¥याम्प निर्माण भएको र ज्येष्ठ नागरिकका लागि मतदानका लागि सहज वातावरण मिलाइएको पनि उनले बताए । नेपाल नेत्रहीन सङ्घका अध्यक्ष रमेश पोखरेलले देशभरि करिब दुई लाख दृष्टिविहीन रहेको जानकारी दिए । एकदिने प्रशिक्षण कार्यक्रममा २५ जिल्लाका ४१ जनाको सहभागिता थियो ।

घुस लिएको आरोपमा पक्राउ

कलैया, वैशाख २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले कलैयास्थित नापी कार्यालयका अमिन प्रेमचन्द्र झा र उनका सहयोगी नुर अहमदलाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रहरी निरीक्षक शिवन तामाङको नेतृत्वमा आएको टोलीले सेवग्राहीसँग घुस लिइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरी आयोगको हेटौँडास्थित क्षेत्रीय कार्यालयमा आवश्यक अनुसन्धान गरिरहेको आयोगले बताएको छ ।

४० तोला सुनसहित त्रिभुवन विमानस्थलबाट उपसचिव समातिए

काठमाडौं, वैशाख २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरेर ल्याउँदै गरेको अवैध ४० तोला सुनसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उपसचिव किशोर कुमार खत्री र अन्य दुई जना पक्राउ परेका छन् । कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं आएका मनिष रिमालले ल्याएको उक्त परिमाणको सुन खत्रीले रिसिभ गरी फर्किनेक्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । तस्कर रिमालले ल्याएको सुन खत्रीले विमानस्थलकै अध्यागमन बेल्टमानै रिसिभ गरेका थिए । शंका लागेपछि उनलाई पछ्याउँदै गएको टोलीले एक्स रे मेसिनसम्म पिछा गरेको थियो । खत्रीमाथि सुराकीको आधारमा पछ्याउँदा उनी पक्राउ परेका हुन् । विमानस्थलको एयर ट्राफिक कन्ट्रोल रुममा काम गर्ने उनी आठौं तहका कर्मचारी हुन् । उनीसँग विमानस्थलको सबै स्थानमा पुग्ने पास हुन्छ।

विप्लवका तीन कार्यकर्ता पक्राउ

दोलखा, वैशाख २२ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई पक्राउ परेका छन् । प्रहरीले उक्त पार्टीका तीन जनालाई पक्राउ गरेको हो । सदरमुकाम चरिकोटको एक चिया पसलबाट उनीहरुलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपर्नेमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) दोलखाका इन्चार्ज अर्जुन योगी, जिल्ला सेक्रेटरी राजन धनुके र सचिवालय सदस्य सरोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रहरी नायब उपरीक्षक रवीन कार्कीले बताए । निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको उनले बताए । प्रहरी नायब उपरीक्षक कार्कीले निर्वाचन बिथोल्नका लागि उम्मेदवारलाई धम्की दिने, पोस्टर टाँस्ने र सामाजिक सञ्जालमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको बताउँदै निर्वाचन नसकिउन्जेलसम्म उनीहरुलाई छाड्ने सम्भावना नरहेको भने । आसन्न निर्वाचन नेपाल देश र नेपाली जनताका लागि मान्य नभएको भन्दै उनीहरुले उम्मेदवारी दिएकालाई फिर्ता लिन पत्राचारमार्फत धम्की दिएको प्रहरीको दावी छ । उम्मेदवारी फिर्ता नलिए जनकारबाही गरिनेसमेत पत्रमा उल्लेख गरिएको जनाएकोे छ ।

बाग्लुङ ताराखोलामा माओवादी वडा सदस्य निर्विरोध

बाग्लुङ, वैशाख १२ । बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नं. ४ मा माओवादी केन्द्रकी उम्मेदवार निर्विरोध निर्वाचित भएकी छिन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, उक्त वडामा दलित महिला सदस्य पदको निर्वाचनमा माओवादी केन्द्रकी धनमाया कामी निर्वाचित भएकी हुन ।

वैशाख २५ गतेदेखि मुग्लिन सडक खण्ड २४ सै घण्टा सञ्चालनमा

चितवन, वैशाख २२ । पृथ्वी राजमार्गअन्तर्गतको नारायणगढ–मुग्लिन सडक खण्ड यही वैशाख २५ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । मर्मतका लागि अहिले दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइएको भए पनि स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै वैशाख २५ गतेदेखि आगामी जेठ ३ गतेसम्म आवतजावत सुचारु गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको हो । यो समयमा सडक मर्मतको कार्य स्थगित गरिने र यातायात सुचारु गरिने आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

श्रीमती र सासूमाथि खुकुरी प्रहार गर्ने प्रहरी नियन्त्रणमा

राजविराज, २२ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका–५पिपरास्थित माइतीमा बस्दै आएकी आफ्नी श्रीमती र सासूलाई एक व्यक्तिले खुकुरी प्रहार गरी घाइते बनाएको छ ् । जिल्लाको सप्तकोसी नगरपालिका–७ ओद्राह टोल बस्ने ५० वर्षीय बहादुर सदाले रिसइबीका कारण मादक पदार्थ सेवन गरी माइतीमै बस्दै आएकी श्रीमती माहादेवी सदा र सासू हसनीदेवी सदालाई खुकुरी प्रहार गरी घाइते बनाएको हो । खुकुरी प्रहारबाट महादेवीको टाउकामा गम्भीर चोट लागेको छ भने हसनीदेवीको घाँटी काटिएको छ । घाइते दुवैजनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता खुकुरी प्रहार गर्ने सदालाई स्थानीय फत्तेपुर प्रहरी चौकीले पक्राउ गरी अनुसन्धान थालेको छ । रासस

रत्ननगरमा माओवादी केन्द्रको घरदैलो र कोणसभा

सुजिता हमाल चितवन, बैशाख २० । यहि बैशाख ३१ गते हुने निर्वाचनलाई लक्षित गरी नेकपा माओवादी (केन्द्र) रत्ननगरले नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो तथा कोणसभा गरेको छ । माओवादी केन्द्रबाट रत्ननगरको प्रमुखका उम्मेदवार पूर्ण अम्गाई सुबोध र उपप्रमुख पदकी उम्मेदवार संगिता भट्टराई,माओवादी केन्द्र रत्ननगरका नगर ईन्चार्ज कन्चन खनाल, नेकपा माओवादीका केन्द्रिय सदस्यहरु र वडाका वडाध्यक्ष तथा सदस्यहरु सहित सयौं कार्यकर्ताहरुको सहभागितामा घरदैलो कार्यक्रममा गरिएको हो । वडा नं १३ जयमंगलामा आज विहान कोणसभालाई सम्वोधन गदै माओवादी केन्द्रबाट रत्ननगरको प्रमुखका उम्मेदवार सुबोधले माओवादी केन्द्र जिताउन आग्रह गदै केन्द्रले नगरलाई ‘नमूना नगर बनाउने प्रतिबद्धता जनाए । रत्ननगर नगरपालिकाको विकासका लागि माओवादी केन्द्र लागिपर्ने बताए । माओवादी केन्द्रको जितले मात्र वडा र नगरको समुन्नत विकास हुने दावी गरिन् । यस्तै उपप्रमुख पदकी उम्मेदवार संगिता भट्टराईले माओवादी केन्द्रको विकासले मात्र नगरको पर्यटन, औद्योगिक क्षेत्र लगाएतको विकास र व्यवस्थापन हुने बताए । रत्ननगर वडा नं १३ का वडा अध्यक्षका उम्मेदवार हरि खड्काको नेतृत्वमा जयमंगला,वैरिया मा.वि.डाँडा गाँउ लगाएको क्षेत्रमा घरदैलो तथा कोणसभा गरिएको थियो । त्यस्तै रत्ननगर नगरपालिका वडा ८ चित्रसारी र आसपासका क्षेत्रमाओवादी केन्द्र नगर ईन्चार्ज कन्चन खनालको नेतृत्वमा घरदैलो कार्यक्रम गरिएको छ । माओवादी केन्द्रका प्रमुख र उपप्रमुखका उम्मेदवार सहित वडा अध्यक्षका उम्मेदवार, वडा सदस्यका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर मतदातासंग भोट मागेका थिए । घरदैलो कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार झगेरु महतो,वडा सदस्यहरु,माओवादी केन्द्रका केन्द्रिय सदस्य विजय हमाल,वाइसीएलका प्रकास पराजुली लगाएतको सहभागिता रहेको थियो ।

विप्लव माओवादीले गाडे मेयरको घरमा कालो झण्डा

चितवन, वैशाख २० । स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवारहरुको घरमा बुधबार कालो झण्डा गाडेका छन् । आज मध्यान्ह १ बजेतिर विप्लब नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा गाडेका हुन् । पार्टीका एक नेताका अनुसार उम्मेदवारहरु रेणु दाहाल, देवी ज्ञवाली र दिनेश कोइरालाको घरमा कालो झण्डा गाडिएको छ । राप्ती नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार किरण ओली र माओवादी केन्द्रका मेयर उम्मेदवार रामचन्द्र पाठकको घरमा झण्डा गाडिएकोमा तत्कालै निकालिएको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले बताए । चितवनमा विप्लव माओवादीका नेताकार्यकर्ताले स्थानीय तहको निर्वाचनमा सहभागी नहुन भन्दै सबै उम्मेदवारलाई चिठी नै पठाएका थिए ।

चार लाख घुससहित दुई जना रंगेहात पक्राउ

काठमाडौँ, २० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा नौकुण्ड गाउँपालिका–१ र २ को कार्यालयको संयुक्त जिम्मेवारी निर्वाह गर्दै आएका वडा सचिव राजेन्द्रकुमार आचार्य र सोही कार्यालयका कार्यालय सहयोगी श्लोक लामालाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय बासिन्दालाई केरुङ नाका भई चीन प्रवेशका लागि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा लिनका लागि आवश्यक पर्ने सिफारिसका लागि सेवाग्राहीसँग सचिव आचार्यले रु एक लाख तिस हजार र कार्यालय सहयोगी लामाले रु तीन लाख बीस हजार घुस लिँदै गरेको अवस्थामा धुन्चेस्थित गोसाइकुण्ड गाँउपालिका–६ को कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

दलित महिला सदस्य निर्विरोध

दोलखा, वैशाख २० । स्थानीय निकायको निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार निर्विरोध भएका छन् । वैत्यश्वर गाउँपालिकाको वडा नं १ मा काँग्रेसको तर्फबाट दलित महिला उम्मेदवार बन्नुभएका ठूली कान्छी विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको हो ।

एक भारतीय युवक चार लाख नगदसहित पक्राउ

पर्सा, वैशाख २० । पर्सा जिल्लामा मङ्गलबार बैंकबाट झिकिएको रु चार लाख लुट्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने क्रममा प्रहरीले भारत विहार जलपाई थान, राजगन्ज ग्राम पञ्चायत आश्रमपुर गाउँ निवासी २० वर्षीय अमिर गवालालाई पक्राउ गरेको हो । बाराको कलैया उपमहानगरपालिका–१६ धर्मनगर निवासी जटाशङ्कर साहले दिउँसो सिटिजन्स बैंकको आप्mनो खाताबाट झिकेको रु चार लाखलाई गवालले खोसी भाग्न लाग्दा काममा खटिएको प्रहरी टोलीले रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँले घरायसी कामलाई रकम झिकी बैंकबाट निस्किन लागेका साहलाई धक्का हानी रकम लुटेर भाग्न खोज्दा प्रहरीले गवालालाई लखेटर पक्राउ गरेको बताउनुभयो । पक्राउ परेका भारतीय नागरिक गवालालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । भारतीय नागरिक गवालामाथि लुटपाट मुद्दा चलाउने तयारीमा प्रहरी रहेको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

रोल्पामा शिक्षकले टिपी ट्यापको प्रयोग सिके

रोल्पा, वैशाख २० । पानीको अभाव भएको ठाउँमा साबुनपानीले हात धुनका लागि उपयोगी हुने टिपी ट्याप (तिर्तिरे धारो) प्रविधिबारे लिबाङमा शिक्षकलाई तीन दिनसम्म अभ्यास गराइएको छ । जिल्ला समन्वय समितिअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा लिबाङ स्रोत केन्द्रस्तरका प्राथमिक तहका शिक्षकका लागि आयोजना गरिएको पूर्ण सरसफाइ अभिमुखीकरण कार्यक्रममा शुक्रबारदेखि आइतबारसम्म सो अभ्यास गराइएको जिल्ला समन्वय समिति रोल्पाका सरसफाइ फोकल पर्सन दामोदरप्रसाद सुवेदीले आज जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला खुला दिसामुक्त भइसकेपछि पूर्ण सरसफाइ गतिविधि सञ्चालन गर्न जिल्लामा विभिन्न किसिमका कार्यक्रम आयोजना भइरहेका छन् । यसअन्तर्गत विभिन्न क्षेत्रमा अभिमुखीकरण, अध्ययन अवलोकन भ्रमण, बहस पैरवी, बैठक छलफललगायत क्रियाकलापअन्तर्गत पूर्ण सरसफाइमा विद्यालयको महत्वपूर्ण भूमिका हुने भएकाले शिक्षकका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । विद्यालयले नेतृत्व गरेर सञ्चालन गर्ने सरसफाइ क्रियाकलाप अत्यन्त प्रभावकारी हुने भएकाले प्रावि तहका शिक्षकका लागि यो अभिमुखीकरण थालिएको थियो । कार्यक्रममा जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना, नेपालको सरसफाइ गुरुयोजना, पूर्ण सरसफाइका विभिन्न सूचक, चर्पी प्रयोग र त्यसमा सुधार गर्नुपर्ने पक्ष, पानी र यसको सदुपयोगलगायत विभिन्न विषयमा जानकारी गराइएको जिल्ला परियोजना अधिकृत भोलानाथ आचार्यले जानकारी दिनुभयो । कूल ४८ जनाभन्दा बढीको सहभागिता भएको कार्यक्रममा शौचालयको प्रयोगमा प्रयोगकर्ता मैत्रीलगायत पानीको अभाव भएको ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराई, स्थानीय विकास अधिकारी सुशील वैद्य, जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेल, खानेपानी तथा सरसफाइ सबडिभिजन प्रमुख भोलाप्रसाद थापा, जिविसका वास फोकल पर्सन सुवेदी, परियोजनाका जिल्ला परियोजना अधिकृत भोलानाथ आचार्य, जिससका दीपक डिसी, खानेपानी कार्यालयका डिल्लीराज न्यौपानेलगायतले तीन दिनसम्म प्रशिक्षण दिनुभएको आयोजकले जनाएका छन् ।