कास्कीमा ६० प्रतिशत बढी मत खस्यो

कास्की, वैशाख ३१ । कास्की जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिएको छ ।

आजको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सुवेदीका अनुसार लगभग ७-८ सय मतदाता रहेको मतदान केन्द्रमा दिउँसो २ बजेपछि मतदाता आउने क्रम अत्यन्त न्यून भइसकेको छ ।

विभिन्न ९९ मुलुकका संघसंस्थामा साइबर आक्रमण

काठमाडौं, वैशाख ३० । युरोप, बेलायत, रुस, चीन, स्पेनलगायत विभिन्न ९९ मुलुकका विभिन्न संघसंस्थामा साईबर आक्रमण भएको छ । आक्रमणमा परेका कयौँ कम्प्युटर आफै लक हुने र खुल्नका लागी रकम माग गर्ने गरेको बीबीसीले उल्लेख गरेको छ । तीमध्ये बेलायत र स्कटल्याण्डको राष्ट्रिय स्वास्थ्य विभागको सेवा पूर्ण रुपमा प्रभावित भएको छ । बिरामीको अनलाईन रेकर्ड पहुँच बाहिर गएको बीबीसीले उल्लेख गरेको छ । अहिलेसम्म साईबर आक्रमणका ७५ हजार घटना भएको साईबर सुरक्षासम्बन्धी कम्पनी अभाष्टले जनाएको छ । बेलायतमा एक पछि अर्को गर्दै कम्प्यूटरले काम गर्न बन्द गरेपछि साइबर आक्रमणबारे खुलेको थियो । आक्रमणमा परेका कम्प्यूटरका प्रत्येक फाइल खुल्न अनलाईन प्रणालीबाट फिरौती तिनुपर्ने अवस्था रहेको साईबर विज्ञले बताएका छन् । निश्चित समयमा सो रकम भुक्तान नगर्दा रकम बढ्दै जाने गरेको छ ।

काफल बेचेर पढाइ खर्च जुटाउँदै

दाङ, वैशाख ३० । यहाँका बालबालीकाले काफल बेचेर पढाइ खर्च जुटाउन थालेका छन् । फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेका कपुरकोट गाउँपालिकाका उमेश पुनले बताउनुभयो । कक्षा ६ मा अध्ययन गर्ने पुन शनिबार तथा विद्यालय छुट्टी भएपछि काफल बिक्री गर्न गरेको बताउनुहुन्छ । “काफल बेचेर पढाइखर्च चलेको छ,” उहाँले भन्नुभयो । हाल स्थानीय तहको निवार्चनका कारण विद्यालय बन्द भएकाले यही मौका छोपेर काफल बिक्री गर्ने गरेको अर्का बालक खिमबहादुर वलीले बताउनुभयो । उहाँ जङ्गलमा गएर बिहान काफल टिप्ने र साँझ बिक्री गर्ने गर्नुहुन्छ । त्यस्तै धनवाङकी कमला पुन अरुसँग खरिद गरेर काफल बिक्री गर्नुहुन्छ । कक्षा ७ मा पढ्दै गरेकी पुनले रु ७० मा एक मानो काफल किनेर रु एक सयमा बिक्री गर्नुहुन्छ । “दैनिक रु तीन सयदेखि रु पाँच सयसम्म फाइदा हुन्छ,” उहाँले भन्नुभयो । काफल बिक्री गरी दैनिक रु चार सय भन्दाबढी आम्दानी गर्ने यमुना घर्तीले सो रकमले कापी, कलम किन्ने गरेको बताउनुभयो । उहाँ जस्तै अन्य बालबालिकाले काफल बेचेर मनग्य आम्दानी गदैआएका छन् ।

अज्ञात समूहद्वारा बस र ट्रकमा आगजनी

दमौली, वैशाख ३० । तनहुँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ । रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । आठ नौजनाको समूहमा आएका अपरिचित व्यक्तिले पार्किङ गरिराखिएको ना६ ख ३५२५ नं को बसमा आगो लगाएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । उक्त समूहले चालक र सहचालकलाई खुकुरी देखाई बाहिर निकालेर आगो लगाएको र त्यसको तीव्र खोजी भइरहेको जनाइएको छ । एक हप्ताअघि मात्रै अज्ञात समूहले निर्वाचन प्रयोजनका लागि ल्याइएको घिरिङ गाउँपालिकाको स्कार्पियो जिपमा आगजनी गरेको थियो । सो घटनामा शङ्कास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस्तै शुक्रबार राति नै तीन चारजनाको अज्ञात समूहले बन्दीपुर गाउँपालिका– १ स्थित बेलभन्ज्याङमा ना ३ ख ९११६ नं को ट्रकमा आगजनी गरेको छ । चालकलाई ट्रकमै राखेर उनीहरुले आगो लगाए पनि सिसा फोडेर उनी बाहिर निस्केको घटनास्थल पुग्नुभएका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए । शनिबार बिहान ५.१५ बजेतिर उक्त समूहले पेट्रोल छर्केर ट्रकमा आगजनी गरेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो । बन्दमा गाडी चलाएको भन्दै चालक र सहचालकलाई भाटाले समेत हानिएको थियो । चिनी बोकेर डुम्रेबाट पोखरा जाँदै गरेको उक्त ट्रकमा आगजनी भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । व्यास नगरपालिकाबाट लगिएको दमकल, प्रहरी र स्थानीय बासिन्दाले करिब चार घन्टा लागाएर आगो निभाएको प्रनानि पाण्डेले बताउनुभयो । वन कार्यालय नजिकै शङ्कास्पद वस्तु भोर्लेटार चोक र जिल्ला वन कार्यालय नजिकै आज बिहान शङ्कास्पद वस्तु भेटिएको छ । कपडाको डल्लो बनाएर इँट्टा राखिएको अवस्थामा उक्त वस्तु भेटिएपछि व्यास– ५ रामवाण गुल्मबाट गएको बम निष्क्रिय टोलीले उक्त वस्तु हटाएको प्रहरीले जनाएको छ ।

कैलालीमा विप्लवको पार्टीका ४ कार्यकर्ता पक्राउ

कैलाली, वैशाख ३० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ जना कार्यकर्ता आज कैलालीमा पक्राउ परेका छन् । प्रहरीले दुई जनालाई टीकापुर र दुई जनालाई धनगढीबाट आज बिहान समातेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बीरबहादुर बुढामगरले उनीहरुलाई शंकास्पद गतिविधि गरिरहेको र जबर्जस्ती बजार बन्द गराइरहेको अवस्थामा पक्राउ गरिएको बताए । धनगढीमा समातिएका जयबहादुर धानुक पार्टीको राष्ट्रिय युवा जनस्वयम्सेवक जिल्ला उपाध्यक्ष र राजु दाहाल एरिया कमिटी सदस्य हुन् । उनीहरुलाई प्रहरीले से५प २५७ नम्बरको मोटरसाइकलसहित समातेको हो । अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष झलक बिके र पार्टीका टिकापुर इञ्चार्ज नरेन्द्र बिके टीकापुरबाट पक्राउ परेका छन् । यसअघि धनगढीका दुई ठाउँमा सो पार्टीका कार्यकर्ताले प्रेसर कुकर बम राख्दै यातायात अवरुद्ध पारेका थिए । नेकपाले आव्हान गरेको आमहड्तालको मिश्रित असर देखा परेको छ । लामो दूरीका यातायात र मुख्य बजार बन्द भएपनि साना दूरी सवारी साधन र साना पसल खुलेका छन् । शनिबार भएकाले अधिकांश उद्योग तथा शिक्षण संस्था र सरकारी कार्यालय बन्द छन् ।

४२ मतदान केन्द्रमा नब्बे प्रतिशत मतदाता परिचयपत्र वितरण

रसुवा, वैशाख ३० । आइतबार हुने स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गर्न यहाँका ९० प्रतिशत मतदाताले आ-आफ्नो परिचयपत्र प्राप्त गरेका छन् । जिल्ला अदालतका स्रेस्तेदार एवम् सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ४२ मतदान केन्द्रमा मतदाताले आ-आफ्नो मतदान परिचय लिइरहेका छन् । पाँच गाउँपालिका रहेको जिल्लामा २७ हजार आठ सय ५४ मतदाता छन् । बाँकी १० प्रतिशत मतदाताले आजसम्म परिचयपत्र लिइसक्ने अपेक्षा राखिएको अधिकृत पौडेलले बताउनुभयो । पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड र उत्तरगयामा आठ आठ, पार्वतीकुण्डमा छ, नौकुण्डमा ११ र कालिकामा नौ मतदाता केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले बताउनुभयो ।

जेठ ३१ को चुनावमा सहभागि हुने राजपाको घोषणा

झापा,बैशाख ३०। मधेशवादी ६ वटा पार्टी एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए जेठ ३१को स्थानीय चुनावमा सहभागिता जनाउने घोषणा गरेको छ । संवाद समूह झापाको संयोजनमा बिर्तामोडस्थित सचिवालयमा शनिवार सम्पन्न छलफलमा राजपा झापाको अध्यक्ष मण्डलका नेताहरुले आफ्नो पार्टीले उठाउँदै आएको मुद्दा सम्बोधन भए स्थानीय चुनावमा जाने बताए । उनीहरुले चुनाव मुलुकको लागि अपरिहार्य भएको भन्दै बर्तमान सरकारले मधेशवादीको भावना सम्बोधन गर्ने विश्वास समेत व्यक्त गरे । उनीहरुले ४ बुँदे प्रतिबद्धता समेत व्यक्त गरेका छन् । शान्ति, सहमति, सहकार्य र गणतन्त्रको स्थायित्वको पक्षमा प्रतिबद्ध रहँदै पार्टीको कार्यक्रम र अभियानलाई शान्तिपूर्ण रुपमा अघि बढाउने उनीहरुको प्रतिबद्धता छ । त्यस्तै संविधान संशोधनमार्फत राजपा लगायतका दलले उठाएको मुद्दा सम्बोधन गरी दोस्रो चरणको स्थानीय चुनावमा मधेशवादी दलको सहभागिताको वातावरण बनाउन पनि माग गरेका छन् । राजपा झापाले दलहरुबीच सहमति, सहकार्य, एकताको राजीनितक संस्कार र संस्कृतिलाई बढावा दिई मुलुकलाई तत्काल निकास दिन माग समेत गरेको छ । राजपा नेपाल झापा अध्यक्ष मण्डलका संयोजक सूर्यनारायण गणेशले दलहरुबीच सहमतिको विकल्प नरहेको भन्दै बर्तमानमा देखिएका समस्या राजनीतिक तवरबाटै समाधान हुनुपर्नेमा जोड दिए । संविधान संशोधनमार्फत मधेशीको अधिकार सुनिश्चितसँगै भावना समेट्नुपर्ने उनले बताए । सरकार र चुनावको आफूहरु विरोधी नरहेको उनीहरुको भनाइ थियो । सद्भावना पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, मधेशी जनाधिकार फोरम गणतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टीबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी नेपाल बनेको हो । सो पार्टीले झापामा एकता घोषणा सभा गरिसकेको छ भने जेठ १ गते जिल्लाभर मोटरसाइकल ¥याली गरेर एकताको सन्देश दिने समेत जानकारी दिएको छ । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।

नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका बन्द

नवलपरासी,वैशाख ३०। स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ । निर्वाचन सुरु हुनुभन्दा २४ घन्टा अघि नवलपरासीको त्रिवेणी नाका आज बिहान ७ बजेबाट सिल (बन्द) गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । दुई देशका सुरक्षा निकायका प्रमुखको भारतका विहारमा भएको दुई पक्षीय सुरक्षा निकायको बैठकपछि सो सहमति भएको स्थानीय प्रशासनले जनाएको छ । पहिलो चरणमा नवलपरासीको प्रदेश नं ४ मा मात्र निर्वाचन हुँदैछ । तसर्थ प्रदेश नं ४ मा पर्ने नाका त्रिवेणी नाकालाई मात्र सिल गरिएको हो ।

सुनसरीकाे मधेली पूर्ण खोपमुक्त गाउँ घोषित

इटहरी, वैशाख ३० । सुनसरी जिल्लाको साविक मधेली गाउँअर्थात् गडी गाउँपालिकामा गाँभिएको उक्त गाउँलाई शुक्रबार पूर्ण खोपमुक्त गाउँ घोषित गरिएको छ । सुनसरीका सबै गाउँ तथा नगर र उपमहानगरलाई पूर्ण खोपमुक्त घोषणा गर्ने क्रममा शुक्रबर मधेली पूर्ण खोपमुक्त १६ औँ गाउँका रुपमा घोषित भएको हो । केही दिनअघि सुनसरीको श्रीपुर गाउँअर्थात् कोसी गाउँपालिकालाई १५ आँै पूर्ण खोपमुक्त गाउँ घोषित गरिएको थियो । स्थानीय विकास अधिकारी तुलसीप्रसाद श्रेष्ठले उक्त गाउँलाई पूर्ण खोपयुक्त घोषणा गर्नुहुँदै अन्य गाउँ तथा सहर पनि निकट समयभित्रमा नै पूर्ण खोपमुक्त बन्ने अन्तिम तयारीमा पुगिसकेको जानकारी दिए । त्यसैगरी युचेप नेपाल र रेस्टलेस डेभलेपमेन्ट नेपालको आयोजनामा सुनसरी जिल्लाका सबै गाउँ तथा नगर र बस्तीमा हुने बाल विवाह तथा घरेलु हिंसाका घटनालाई न्यूनीकरणका लागि सञ्चालित अभियानअन्तर्गत शुक्रबार मनदेखि मन जोड्ने यात्रा साङ्गीतिक अभियानको शुभारम्भ गरिएको छ । जिल्लाको सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा रहेको बबियाको सरस्वती जनता मावि मधेसाका सात सय ५० विद्यार्थीलाई सहभागी गराएर मनदेखि मन जोड्ने साङ्गीतिक अभियानको जनचेतना विस्तार गर्ने साङ्गीतिक कार्यक्रम मञ्चन गरिएको थियो । साङ्गीतिक कार्यक्रममा सहभागी भएका विद्यार्थी कलाकारले बाल विवाह हुँदाको अवस्था पीडा र त्यसले बालबालिकामा पार्ने सकारात्मक एवम् नकारात्मक असर अनि त्यसले समाजमा ल्याउने विकृतिलगायतका विषयमा प्रयोगात्मक रुपमा प्रदर्शित कार्यक्रमले सबैको मन छुने सन्देश दिने कार्य भएको थियो । युचेप नेपालका रविन घिमिरे रेस्टलेस डेभलपमेन्ट नेपालकी बिनिता श्रेष्ठ लक्ष्मी परियार अनुजा पोख्रेल विवेक चापागाईं अमृता उराव उमेश कार्की रविना चौधरी सुजता अधिकारीलगायतको नेतृत्वमा सो कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

घुस लिने नासु रंगेहात पक्राउ

इटहरी, वैशाख २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले कोसी अञ्चल यातायात व्यवस्था कार्यालयका नायब सुब्बा विनोद दाहाललाई सेवाग्राहीबाट रु आठ हजार घुस लिँदालिँदैको अभियोगमा नियन्त्रणमा लिएको छ । सेवाग्राहीबाट घुस लिइरहेका बेला आयोगका ओम खनालको नेतृत्वमा पुगेको टोलीले उनलाई थलोबाटै पक्राउ गरेको अभियोग लगाइएको छ । घुस लिने बहानामा उनले तीन दिनदेखि सेवाग्राहीको काम रोकेको बताइएको छ । अभियुक्त दाहालमाथि आयोगको टोलीले सोधपुछ र अनुसन्धान गरिरहेको आयोगका पूर्वाञ्चल प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

जुुत्ता मर्मत गर्ने मतदाताको कामलाई सम्मान गर्ने उम्मेदवरलाई भोट दिने

लोकेश धामी कैलाली, बैशाख २५ । ‘हामी रहरले होईन, करले चर्को घाम सहेर श्रम गर्छौ । त्यसकारण, श्रमजिवीहरुको कामलाई सम्मान गर्ने उम्मेदवारले हाम्रो भोट पाउनेछन् ।’ सडक छेउमा बसेर दिनभरी जुत्ता, चप्पल सिलाईको काम गर्ने कर्णबहादुर मगरातीको यो भनाइसंग सोही पेशामा संलग्न अरुको भनाइ पनि मिल्दोजुल्दो छ । स्थानीय तह निर्वाचनको देशव्यापी उल्लास छाएको खबरसंग धनगढीका यी श्रमजिवीहरु अनविज्ञ छैनन् । निर्वाचनको उत्साह बढेसंगै भोट दिनका लागि उनीहरुले कामको सम्मान गर्ने उम्मेदवारको खोजी समेत गर्न थालेका छन् । धनगढीमा राजनीतिक दलका सभा, भेला प्रायः पार्क चौक स्थित सडकमा हुने गरेको छ । सोही आसपास सडक छेउमा वर्षदिन गुजारी रहेका यी श्रमजिवी वर्ग दलहरुको एजेण्डा र दृष्टिकोणलाई नजिकबाट नजर अन्दाज गर्दै आएका छन् । अधिकांश दलका कुरा बुझेकाले राम्रो गर्ने व्यक्तिलाई नै भोट दिने विगत २२ वर्षदेखि जुत्ता, चप्पल सिलाईको काम गर्दै आएका जयबहादुर बयलकोटीको भनाइ छ । उनी भन्छन्–‘यति लामो समयपछि स्थानीय तहको चुनाव हुन गइरहेको छ । त्यसैले भोट नहाल्ने भन्ने त कुरै आउँदैन । राम्रो गर्नेले नै हाम्रो भोट पाउनेछन् । कामदारका समस्या बुझ्ने व्यक्तिलाई भोट दिने हो ।’ आवधिक भए पनि विविध कारणले मुलुकमा झण्डै १९ वर्षसम्म स्थानीय तहको चुनाव हुन सकेको थिएन । लामो अन्तरालपछि चुनाव हुने सुनिश्चितताले श्रमिक वर्गमा उमङ्ग समेत ल्याएको छ । चुनाव हुने निश्चित भएसंगै खुशी लागेको र कामदारहरुको समस्या समाधान हुने अपेक्षा गरिएको कर्णबहादुरले बताए । ‘सबै तह, तप्काका व्यक्तिलाई खुशी लागेको बेला हामी पनि खुशी हुनु स्वभाविक हो’, उनले अगाडि थपे–‘किनभने, हामीले छानेको जनप्रतिनिधि स्थानीय तहमा पुगेमा हाम्रो पेशा व्यवस्थित हुनेमा हामी आशावादी छौं । हामीले गरिरहेको कामले सम्मान पाउने अपेक्षा गरेका छौं ।’ जुत्ता, चप्पल मर्मत तथा सिलाईको काम गर्ने श्रमिक वर्गमा प्रायः दलित समुदायका व्यक्तिहरुको संलग्नता रहेको छ । टन्टलापुर घाम होस वा शरिर कठ्याङ्ग्रिने चिसो । जुनसुकै वातावरणीय अवस्थासंग जुधेर यो वर्ग श्रम गरिरहेका देखिन्छन् । तर, मामको लागि सडक छेउमा काम गर्नु परेकाले ट्राफिक प्रहरी लगायत विभिन्न व्यक्तिबाट दुःख पाएको अनुभव उनीहरुसंग ताजै छ । ‘हामीले धेरै दुःख पाउँदै आएका छौं । त्यसकारण, जसले हामीलाई माया गर्छ, हाम्रो पीडा बुझ्छ । उसैलाई भोट दिन्छौं’, बृद्ध अमर जैरु भन्छन्–‘अहिलेसम्म हामीले छायाँ पनि पाएका छैनौं । जसले हामीलाई छायाँ दिन्छ । निर्वाचनमा हामीले उसैलाई माया गर्ने हो ।’ सडक छेउमा बसेर यस प्रकारको श्रम गर्ने यो वर्गका मतदाताहरु प्रायः अति विपन्न परिवारका छन् । आफ्नो पुर्खौली पेशामा सक्रिय उनीहरु दिनभरी अरुको जुत्ता, चप्पल चम्काउँछन् । तर, उनीहरुको आर्थिक अवस्था भने कहिल्यै चम्कन सकेको छैन । परम्परागत निर्वाहमुखी पेशाले परिवारको गुजारा मात्रै चलेको छ । चुनावका बेला गरिबमाथि दया गर्नेहरु धेरै देखिने तर, यथार्थमा ठग्ने काममात्रै गर्दै आएकाले यसपालिको चुनावमा कामको सम्मान गर्नेलाई भोट दिने निधो गरेको १४ वर्षदेखि पुर्खौली पेशा गर्दै आउनु भएका भीम सार्कीले बताए । ‘चुनावको बेला यसो गर्छौ, उसो गर्छौ भनेर धेरैले भन्छन् । तर, चुनावपछि फर्केर हेर्दैनन्’, उनले भने–‘यसपालि राम्रो व्यक्ति जितन भन्ने चाहना हो । भोट पनि राम्रोलाई नै दिनेछौं ।’ सरकारले प्रदेश नम्बर ७ मा दोस्रो चरण अन्तर्गत जेठ ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि तय भएको मिति यो प्रदेशका लागि ठीक एक महिना पछाडि सरेपछि मतदाताहरुलाई राम्रो उम्मेदवार छान्ने थप मौका मिलेको छ । राजनीतिक छत्र छायाँबाट टाढा रहेका यी श्रमिक वर्गले स्थानीय तहको चुनावमा दल भन्दा पनि व्यक्तिलाई हेर्ने निचोडमा पुगेका छन् । ‘भोट माग्न जुनसुकै दलका आऊन, यस पटक राजनीतिक दल हेरिन्न’ सार्कीले भने–‘राम्रो व्यक्ति हेरेर अमूल्य मत दिने र जिताउने हो ।’ कैलालीमा मुक्त कमैया लगायत दलित, पिछ्डा वर्गका व्यक्तिहरु प्रायः मजदुरी गरेर गुजारा गर्दै आएका छन् । मजदुरीले जीवन धान्ने यस्ता श्रमिकहरु स्थानीय तहको निर्वाचनमा योग्य, सबैको समस्या बुझ्ने र त्यसलाई समाधान गर्दै समृद्धितिर दो¥याउने उम्मेदवार जितुन भन्ने अपेक्षा गरिरहेका छन् ।

निर्वाचन प्रचार सामग्री बनाउन व्यवसायीलाई चटारो

काठमाडौँ, वैशाख २५ । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्रचारसामग्री बनाउन बागबजारका व्यवसायीलाई चटारो भएको छ । निर्वाचन आउन करिब एक हप्तामात्र बाँकी रहँदा उनीहरुलाई राजनीतिक दलको झन्डा, उम्मेदवारको नाम र फोटो अङ्कित टिसर्ट, टोपी, फ्याक्स बोर्ड बनाउन चटारो रहेको छ । बागबजारका आर्ट सेन्टर, स्क्रिन सेन्टरमा व्यवसायीहरुले रातदिन लगाएर निर्वाचन सामग्री बनाउन लागिपरेका छन् । बागबजारका सक्सेस आर्टका सञ्चालक रक्त खड्गीले एक हप्तादेखि निर्वाचनसम्बन्धी सामग्री बनाइरहेको बताए । उनले अहिले परिवारका अन्य सदस्यसहित २० जनाले झन्डा, टिसर्ट र टोपी बनाइरहेको बताए । “एक हप्तादेखि कामको चाप बढेको छ । राति ११ बजेसम्म सामग्री बनाउँछौँ” – उनले भने । अहिलेसम्म ५० हजार झन्डा, २० हजार टिसर्ट बनाइसकेका जानकारी उनले दिए । यस्तै बागबजारकै निवेश आर्टका सञ्चालक श्याम रञ्जीतकारले दैनिक दुई÷तीन सय झन्डा बनाउने गरेको बताए । उनले सबै पार्टीहरु झन्डा, टिसर्ट, टोपी र फ्लेक्स बनाउन आउने गरेको बताउँछन् । एउटा झन्डाको रु २५ देखि ११०, टिसर्टको २५०, टोपीको रु ५० देखि २५० मूल्य पर्ने गरेको छ ।

नवलपरासीमा म्यादी प्रहरीको मृत्यु

नवलपरासी, वैशाख २५ । नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । आइतबार राति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारकाक्रममा मृत्यु भएको जिप्रका, नवलपरासीले जनाएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोकिँदा सो दुर्घटना भएको हो ।

अब सुर्तीजन्य पदार्थको प्याकिङमा सबै भागमा चेतनामूलक चित्र राखिनुपर्ने

काठमाडौं, वैशाख २५ । सरकारले सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि प्याकिङमा शतप्रतिशत भागमा नै चेतनामूलक चित्र वा सन्देश राख्नुपर्ने नियम ल्याउने भएको छ । सोमबारदेखि काठमाडौंमा सुरु भएको सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणसम्बन्धी दक्षिण एसियाली तालिमको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले सन् २०१८ सम्ममा यो नियम लागू गरिसक्ने दाबी गरे । स्वास्थ्य मन्त्रालय र विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा दक्षिण एसियाली ८ राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सात दिनसम्म चल्ने तालिममा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन लागि सामूहिक प्रयासबारे छलफल हुने जनाइएको छ ।

संरक्षित क्षेत्रको ३७ हजार हेक्टर जङ्गलमा आगलागी

काठमाडौँ, वैशाख २५ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत रहेको संरक्षित क्षेत्रमा यस वर्षमात्र ३७ हजार १५३ हेक्टरमा आगलागी भएको छ । विभागले दिएको जानकारीअनुसार यसवर्ष १२ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण तथा संरक्षण क्षेत्रको ३७ हजार १५३ हेक्टरमा आगलागी भएको हो । आगलागी हुनेमा सबैभन्दा बढी बाँके राष्ट्रिय निकुञ्जको जङ्गलमा छ हजार ८०० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ भने सबैभन्दा कमी मनास्लु संरक्षण क्षेत्रको जङ्गलमा पाँच हेक्टर क्षेत्रमा आगलागी भएको छ । यस्तै चितवन राष्ट्रिय निकुञ्ज ६५, बर्दिया राष्ट्रिय निकुञ्ज दुई हजार २६५, लाङ्टाङ राष्ट्रिय निकुञ्ज १५, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सात हजार ४५०, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज २३, मकालु वरुण राष्ट्रिय निकुञ्ज १३, रारा राष्ट्रिय निकुञ्ज सात, पर्सा वन्यजन्तु आरक्ष २५१, कञ्चनजङ्गा संरक्षण क्षेत्र २०० र अन्नपूर्ण संरक्षण क्षेत्रको ५९ हेक्टर क्षेत्रमा आगलागी भएको छ । विभागका महानिर्देशक मनबहादुर खड्काले यो वर्ष धेरै पानी परेकाले संरक्षित क्षेत्रमा आगलागी कमी भएको बताउनुभयो । उहाँले भन्नुभयो – “आगलागी थोरै भएको छ, क्षति भने अहिलेसम्म केही भएको छैन ।” महानिर्देशक खड्काले २० वटा संरक्षित क्षेत्र भए पनि १२ वटा संरक्षित क्षेत्रमा एकदमै थोरै मात्रामा आगलागी भएको बताउनुभयो । यस्तै वन विभागअन्तर्गत रहेको सामुदायिक तथा राष्ट्रिय वनमा भने यसवर्ष एकदमै थोरै मात्रामा आगलागी भएको छ । वन विभागका उपसचिव मोहन काफ्लेले दिएको जानकारीअनुसार सामुदायिक तथा राष्ट्रिय वनमा जम्मा दुई हजार हेक्टरमा आगलागी भएको छ । जङ्गलमा हुने आगलागीमध्ये ८० प्रतिशत आगलागी चैत र वैशाखमा हुने गरेको विभागले जनाएको छ ।

बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु

काठमाडौँ, वैशाख २५ । बौद्धनाथ क्षेत्र विकास समितिले २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु गरेको छ । बुद्ध जयन्तीको प्रवद्र्धन तथा बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउनका लागि काठमाडौँको बौद्धबाट गोर्खाको मनकामनासम्म सो दौड गरिएको समितिले जनाएको छ । दौडमा राष्ट्रियधावक रत्न तुलाधारका साथै जयराम लामा, दामोदर बुढा मगर, शेरबहादुर थारू, महेन्द्र गुवाजु, दिनेश महर्जन, तेन्जङ शेर्पा, नारायण नापित र दीपक शाक्य सहभागी हुनुहुन्छ । सो समूह आज गल्छी, मङ्गलबार मुग्लिन र बुधबार आबुँखैरेनी हुँदै मनोकामना पुग्नेछ । यहाँ आज आयोजित बिदाइ कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले बुद्धले मानव कल्याणका लागि विश्वमा शान्ति र नैतिकताको शिक्षा उपलब्ध गराएको बताउँदै सोही उपदेश फैलाउन गरिएको दौडको सफलताको कामना गर्नुभयो । उहाँले नेपाल र जापनाबीचको सदियाँै पुरानो सम्बन्धको स्मरण गर्दै एक सय वर्षअगाडि जापानी नागरिक इकाई कावागुची बौद्धमा आएको प्रसङ्ग सुनाउनुभयो । समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले सहभागीलाई राष्ट्रिय झन्डा र बौद्व झन्डा प्रदान गर्दै बुद्धले विश्वका मानवका लागि दिएको शान्ति तथा अहिंसाको सन्देशलाई विभिन्न गतिविधि गरी प्रवद्र्धन गर्नका लागि समिति क्रियाशील रहेको बताउनुभयो । सहभागीले दौडका क्रममा विभिन्न दातृ सङ्घ संस्थाले उपलब्ध गराएको आर्थिक सहयोग मनकामना मन्दिर जीर्णोद्धारका लागि हस्तान्तरण गरिनेछ । विश्व सम्पदामा सूचीकृत उक्त सम्पदा स्थलमा बुद्ध जयन्तीका दिन पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । यही वैशाख २७ गते बुद्धजयन्ती परेको छ ।