बनेपामा बस दुर्घटना, ३८ घाइते

बनेपा, २१ जेठ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा२ख ६४४१ नंको बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
घाइते भएका अधिकांशको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सो गाडीमा करिब ४५ जना यात्रु सवार थिए ।

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

रत्ननगर (चितवन), २१ जेठ । चितवनको माडीमा पिकनिक खान गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । शनिबार साथीहरुसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिखा परियार र सात वर्षीया दीपिका सुनारको पानीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पानीमा डुबेर गम्भीर बनेका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । दिनेश परियारकी छोरी दीपशिखा र दुर्गा सुनारकी छोरी दीपिका साथीहरुसँग पिकनिक खान गएका थिए । सो क्रममा नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेको प्रहरीले जनाएको छ । डुबेर बेहोस अवस्थामा उद्धार गरिएका उनीहरुमध्ये दीपिकाको चितवन मेडिकल कलेजमा र दीपशिखाको स्थानीय मेडिकलमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

कैलालीमा गंगादशहरा मेला शुरु

कैलाली, जेठ २१ ।  कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको प्रसिद्ध धार्मिक स्थल बेहडा बाबामा आजदेखि गंगा दशहरा मेला सुरु भएको छ । मेला भर्नका लागि नेपालका विभिन्न ठाउँ सहित भारतबाट दर्शनार्थीहरु आएका छन् । मेला व्यवस्थापन समितिका अध्यक्ष खेम चन्दले मेलामा दर्शनार्थीहरु आउने क्रम जारी रहेको बताए । झण्डै २५० वर्ष इतिहास रहेको बेहडा बाबामा भारतबाट सबैभन्दा बढी श्रद्धालुहरु तीर्थका लागि आउने गरेका छन् ।

मादी नदीमा पौड़ी खेल्न गएका बालक बेपत्ता

दमौली, २० जेठ । तनहुँको व्यास नगरपालिका वडा नं १० बोटेगाउँ नजिकै मादी नदीमा पौडी खेल्न गएका एक बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । डुबेर बेपत्ता हुनेमा १२ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । दुईजना साथीसँग पौडी खेल्न गएका ती बालक नदीमा डुबेर बेपत्ता भएका हुन् । अर्का एक बालकलाई भुमरीमा घुमाइरहेका बेला पवित्रा बोटेले उद्धार गर्नुभएको थियो । दुई सयभन्दा बढी स्थानीय बासिन्दा र प्रहरीले बेपत्ता ती बालकको खोजी गरिरहेको व्यास नपा वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । सागर चण्डीदेवी राष्ट्रिय मावि, कुमालटारीमा कक्षा ६ मा पढ्ने विद्यार्थी हुन् । रासस –––––

बीस दिनदेखि वृद्ध बेपत्ता

गौशाला, जेठ १५ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ डाम्हीमडै बस्ने एक वृद्ध २० दिनदेखि बेपत्ता भएका छन् । वैशाख २५ गते भतिजीको बिहे हेर्न घरबाट धनुषाको जनकपुरधामस्थित मसालाकटेजमा गएका ७० वर्षीय महेन्द्र ठाकुर बिहे कार्यक्रमबाटै अचानक हराएका छन् । भतिजीको बिहे चलिरहेकै बेला राति ३ बजेतिर वृद्ध ठाकुरले विवाह स्थलको छेउमै रहेको गाउँले छिमेकीको घरमा सुत्न भनी गएकोमा उनी हालसम्म फेला नपरेको निजका भतिजा अनिल ठाकुरले बताउनुभयो । बिहेको भोलिपल्ट बिहानै उनको खोजी हुँदा उनी छिमेकीको घरमा नपुगेको सुनेपछि आफन्त सबैले खोजबिन गर्दा उनी जनकपुरको कुनै पनि ठाउँमा फेला नपरेको साथै गाउँमा समेत नआएपछि उनलाई खोज्न स–परिवार, आफन्त सोही दिनदेखि चिन्तित भएको उनका नाति सन्तोष ठाकुरले बताउनुभयो । बीस दिनदेखि उनका घरका सबै सदस्य, छिमेकी, आफन्त सबैले उनलाई महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिन्धुली र भारतका सीतामढी, मधुबनी जिल्लाको प्रत्येक गाउँठाउँ पुगिसके पनि उनको कुनै अत्तोपत्तो नलागेको परिवारजनले बताएका छन् । वृद्ध ठाकुरका परिवारजनले महोत्तरीको सञ्चारकर्मी समक्ष उनी हराएकोबारे समाचार प्रकाशन प्रसारण गरेर उनको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

एक घरमा ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का

कालीकोट, जेठ १५ । जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउने प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनैपर्ने बताउनुभएको छ । नवनिर्वाचित प्रमुख विजयी भएपछि जिल्ला सदरमुकाम आइपुगेका प्रमुख बरालले सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै आफूले रास्कोट नगरको विकास गर्नका लागि अनिवार्य रुपमा पहिलो चरणमा हरियाली रास्कोटका लागि अघि बढ्ने बताउनुभएको छ । जिल्लाका विभिन्न निकायमा पहल गरेर आगामी तीनदेखि पाँच वर्षभित्र हरियाली रास्कोट बनेर छाड्ने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘‘अहिले ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माणका क्रममा थालेको वृक्षरोपण कार्यक्रमले स्थानीयस्तरमा प्रभाव कायम गरेको भन्दै जिल्ला वन कार्यालयलगायतका निकायसँग पहल गर्नेछु ।’’ उहाँले हरियाली रास्कोटमा सबैले साथ दिने विश्वास गर्नुभएको छ । यदि कसैले अटेर गरेमा सरकारी अनुदानसमेत रोक्का गनै सकिने बताउनुभएको छ । रास्कोटमा पहिलो चरणमा नगरबस सञ्चालनमा ल्याउने, एक सय वाट क्षमताको सामुदायिक रेडियो सञ्चालन गर्ने र एक किलोवाट विद्युत्समेत उत्पादन गर्ने योजना रहेको बरालले बताउनुभएको छ ।

जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान

बनेपा, जेठ १५ । बनेपा नगरपालिकामा रहेका जनआन्दोलनका गम्भीर घाइते तथा ज्यूँदो सहिद मुकेश कायस्थलाई आज सम्मान गरिएको छ । उहाँको निवास पुगेर गणतन्त्र दिवस आयोजक जिल्ला समितिबाट सम्मान गरिएको हो । बाह्र वर्षदेखि अर्धचेत अवस्थामा रहेका मुकेशलाई प्रम्ख जिल्ला अधिकारी शिवप्रसाद सिङ्खडा, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कोमल धमला र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो । सो अवसरमा मुकेशकी आमा मिरा कायस्थले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुका साथै नियमित जाँचका लागि चिकित्सकको व्यवस्था गर्न अनुरोध गर्नुभएको थियो । जनआन्दोलका क्रममा मुकेश प्रहरीको गोली लागेर गम्भीर घाइते हुनुभएको थियो । यसअघि प्रभातफेरी आयोजना गरिएको थियो ।

बस दुर्घटनामा एकको मृत्यु, दुई दर्जन यात्रु घाइते

लहान, जेठ १५ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेव चोकमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै दुई दर्जन यात्रु घाइते भएका छन् । विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना.४.ख ८०६२ नं.को बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको ना.१.ख ५०६७ नं.को बसले उछिन्ने क्रममा ठक्कर दिँदा ना.१.ख ५०६७ नंको बसका सहयोगी कटारी नगरपालिका–३ निवासी ३७ वर्षीय निलकमल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ । सो बसमा सवार सिन्धुली दुधौली नगरपालिका–७ निवासी चन्द्रबहादुर बुढाथोकी र उदयपुरको कटारी नगरपालिका–४ निवासी मिलन थापालगायत दुई दर्जन घाइतेको मिर्चैयास्थित मङ्गलम रेखा नर्सिङ होममा उपचार भइरहेकोे छ ।

चाँगुनारायण ७ मा कांग्रेस विजयी

भक्तपुर, जेठ १५ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी भएका छन् । उनले १ हजार ७१ मत प्राप्त गरेर विजयी बनेका छन् भने उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गरेका थिए । त्यसैगरी, दलित महिला सदस्यमा कांग्रेसकै मनिता नेपाली ९८९, खुल्ला सदस्यतर्फ सहबुद्ध श्रेष्ठ ८९० र रमेश लामा ८८० मत ल्याएर विजयी भए । महिला सदस्यमा भने एमालेकी दुर्गा लामिछाने थापाले ८९० मत ल्याई विजयी बनेकी छिन् । दुर्गाले ८९० मत प्राप्त गरिन् भने रामलक्ष्मीले ८८४ मत प्राप्त गरिन्।

महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्छु: प्रमुख जिसी

पोखरा, जेठ १५ । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । दशौँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्र मूल समारोह समिति पोखराले आज यहाँ आयोजना गरेको समारोहमा पद बहाली गरेपछिको पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख जिसीले १० दिनभित्र सुखी र समृद्धि महानगर बनाउन परिणाम निस्कने गरी कामको सुरुवात गर्ने दृढता व्यक्त गर्नुभयो । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै उहाँले बेथितिको अन्त्य र बदमासी गर्नेलाई कारबाही गरेर महानगरलाई अधिराज्यकै एक सुरक्षित सहर बनाउनेतिर अघि बढिने धारणा राख्नुभयो । क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन अमूल्य योगदान पुर्याउने वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्रलाई संस्थागत गर्ने पहिलो खुट्किलोका रुपमा रहेका स्थानीय तहको निर्वाचनका कार्यक्रम अघि बढेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले महानगरवासीलाई शान्ति सुव्यवस्था र सेवा प्रवाहमा परिवर्तनको प्रत्याभूति हुने गरी काम हुनुपर्नेमा जोड दिनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जनप्रतिनिधिहरुले जनभावनाअनुसार काम नगरेपछि आउने आवधिक निर्वाचनमा पराजित गराउने जनताको मताधिकार भएकाले सबै जनप्रतिनिधिले इमान्दारिताका साथ काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यालयमा आउने सेवाग्राहीले छिटोछरितो सेवा पाउन सकेमा मात्रै जनतामा परिवर्तनको अनुभूति भई गणतन्त्रको संस्थागत हुँदै जाने धारणा राख्नुभयो । गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक बलराम ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष वामदेव ढुङ्गाना र आदर्श समाज संस्थाकी अध्यक्ष विजयलक्ष्मी कोइरालाले गणतन्त्र दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो । सो उपलक्ष्यमा विभिन्न महानुभावले रक्तदानसमेत गर्नुभएको थियो ।

गणतन्त्र दिवसको अवसरमा कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

पर्वत, जेठ १५ । गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वत जिल्ला कारागारमा रहेको कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समिति पर्वतको व्यवस्थापन तथा पर्वतस्थित पाँचवटै लायन्स क्लबको सहयोगमा आँखा परीक्षण गरिएको हो । कारागारामा रहेका अधिकांश कैदीबन्दीको आँखा तथा स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । कारागारमा रहेर बन्दी जीवन बिताइरहेका ८७ जनाको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको हो । सात जना महिला र ८० जना पुरुषको आँखालगायत अन्य स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लबका अध्यक्ष विषमकुमार श्रेष्ठले जानकारी दिनुभयो । परीक्षणका क्रममा मोतियाबिन्दुका बिरामी भने भेटिएका छैनन् । उनीहरुलाई ११ वटा चस्मासमेत निःशुल्क वितरण गरिएको थियो । आँखा बिरामीको परीक्षण हिमालय आँखा अस्पताल पोखराका डाक्टर र अन्य स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पर्वतका चिकित्सकद्वारा गरिएको बताइएको छ ।

आपराधिक घटनामा संलग्न छ जना पक्राउ

चितवन, जेठ १५ । चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जना गरी छ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । यही जेठ १२ गते नारायणगढका २८ वर्षीय विजय भुजेललाई धारिलो हतियार प्रहार गरेर फरार हुँदै आएका भरतपुर–१ का २७ वर्षीय राजकुमार गुरुङ र सोही ठाउँका २८ वर्षीय सुरेश सिलवाल पक्राउ परेको प्रहरीले जनाएको छ । भुजेलको अहिले पनि गम्भीर अवस्थामा भरतपुरमा उपचार भइरहेको छ । यस्तै चितवनको रामपुरस्थित मकैवाली अनुसन्धान केन्द्रको परिसरमा प्रहरी जवान आकाश पासवानमाथि हातपात गर्नेलाई समेत आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो घटनापछि फरार भएकामध्ये भरतपुर–१९ का विश्वजित राना, नीरज दाहाल, शक्तिमोहन गुरुङ र मिलन शाहीलाई पक्राउ गरिएको श्रेष्ठले आज जानकारी दिनुभयो । उनीहरुले गाँजा सेवन गरी बसेका सात जना व्यक्तिले घेरा हाली ढुङ्गा हानेर प्रहरीलाई घाइते बनाएका थिए । उनीहरुलाई केही सार्वजनिक (अपराध र सजाय) ऐन अन्तर्गत अनुसन्धान कार्य भइरहेको र अन्य फरारको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सघन कक्षसहितको सर्पदंश उपचार केन्द्र सञ्चालन

काँकडभिट्टा, जेठ १५ । झापाको कनकाईस्थित कोटीहोममा अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । यसअघि चारआलीस्थित नेपाली सेनाले आफ्नै परिसरभित्र सञ्चालन गरेको एउटा र दमकमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको अर्को सर्पदंश उपचार केन्द्र मात्र जिल्लामा थियो । सहारा नेपाल ९साकोस० र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको संयुक्त पहलमा कनकाई–४ कोटीहोमस्थित समर्पण भवनमा नयाँ उपचार केन्द्र स्थापना भएको हो । त्यसको नाम ‘कनकाई सहारा सर्पदंश उपचार केन्द्र’ राखिएको छ । आइतबार एक समारोहबीच झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले सो केन्द्रको सेवा शुभारम्भ गर्नुभयो । रु ६० लाखको लागतमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्रमा एकैपटकमा छ जनासम्म बिरामीलाई बेडमै राखेर उपचार गर्न सकिने व्यवस्था छ । झापाको चारआलीमा जनसहयोगमा भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको सर्पदंश उपचार केन्द्रको प्राविधिक व्यवस्थापन नेपाली सेनाले नै हेर्दै आएको छ । पूर्वी झापा, मेची अञ्चलका पहाडी जिल्ला र छिमेकी मुलुक भारतबाट समेत आउने सर्पदंशका बिरामीको उपचार त्यहाँ हुँदै आएको छ । यसैगरी, दमकमा नेपाल रेडक्रस सोसाइटीको स्थानीय शाखाले नै सर्पदंश उपचार केन्द्रको सम्पूर्ण जिम्मेवारी बहन गर्दै आएको छ । चारआली र दमकको माझमा पर्ने कनकाईमा सञ्चालन हुन थालेको उपचार केन्द्र अरु दुई वटा केन्द्रको तुलनामा बढी सुविधायुक्त रहेको छ । यहाँ अन्यत्र नभएको सघन उपचार कक्ष ९आइसीयु० समेतको व्यवस्था हुने भएको छ । कनकाईको उपचार केन्द्रमा पाँच जना कर्मचारी चौबीसै घन्टा ड्युटीमा बस्ने छन् । एन्टी स्नेक भेनम नामक उपचारमा लाग्ने औषधि भने जिल्ला जनस्वास्थ्य कार्यालय झापामार्फत सरकारले उपलब्ध गराउने कनकाई सहारा सर्पदंश उपचार केन्द्रका कार्यवाहक अध्यक्ष लीला चिमरियाले बताउनुभयो । झापामा वार्षिक दुई हजारको हाराहारीमा सर्पदंशका बिरामी उपचारका लागि चारआली र दमक पुग्ने गरेका छन् । वैशाखदेखि असोज महिनासम्म सर्पदंशका बिरामी धेरै हुने गरेको छ ।

कैलालीको घोडाघोडीमा बढ्यो चुनावी चहलपहल

कैलाली, जेठ १५ । दास्रो चरणको चुनाव नजिकिएसंगै कैलालीको घोडाघोडी नगरपालिकामा चुनावी चहलपहल बढिरहेको छ । विभिन्न राजनितिक दलहरु यतिबेला घर–घरमा पुग्न थालेका छन् । उम्मेदवार र नेताहरु मतदाताका घरघरमा गएर मत मागिरहेका छन् । मत माग्न जाने उम्मेदवारहरु विकास निर्माणका आश्वासन दिने गरेका छन् । स्थानीय बासिन्दा भने आश्वासन नेताका आश्वासनमा नलाग्ने बताउछन् । काम गर्ने उम्मेदवारलाई मात्र मत दिने स्थानीय बासिन्दाको भनाई छ । नगरपालिकाको बासिन्दा भए पनि विकास निर्माणका न्यूनतम पूर्वाधार नभएकाले नगरबासीको अनुभव नभएको स्थानीयको भनाई छ । आधारभूत पूर्वाधारको समेत विकास नभएकाले विकासप्रेमी नेतालाई मात्र जिताउनु पर्ने धारणा स्थानीयको छ । चुनाव जितेपछि थुप्रै काम गर्छु भनेर आश्वासन बाँड्ने भन्दा पनि काम गरेर देखाउनु पर्ने घोडाघाडी नगरपालिका–२, टनकपुरका स्थानीय धनबहादुर देउवा बताउँछन् । चुनाव जितेपछि सुकुम्बासीलाई लालपुर्जा दिने, नदी, खोलामा कल्भट हाल्ने, पुल–पुलेसा बनाइ दिने भन्दै नेताहरु मत मागिरहेका स्थानीय कमलप्रसाद तिवारी बताउँछन् । ‘अब नेताका आश्वासनमा होइन, काम गर्नेलाई जिताउनु पर्छ ।’ उनले भने । यसअघि कहिल्यै घरदैलोमा नआउने नेताहरु अहिले दिनैपिच्छे घरमा आउने गरेका घोडाघोडी नगरपालिका–८, तारानगरका पुष्पराज खनालले बतँए । ‘हाम्रो टोलको प्रमुख समस्या बाटोको हो । बाटो कालोपत्रे गर्नेलाई मत दिन्छौं ।’ टनकपुरका स्थानीय धनबहादुर देउवाले भने । नेताहरुले यसअघि पनि विकास निर्माण गर्ने आश्वासन विभिन्न राजनीतिक दलहरुले बाँडे पनि काम पुरा नगरेकाले नेताका आश्वासनमा विश्वास नलागेको बताउँदै स्थानीय पुष्पराज खनालले बताए ।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

लहान, जेठ ७ । सिरहाको भगवानपुर गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । राति १० बजेतिर स१त २९७३ नंको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टरमा सवार भगवानपुर गाउँपालिका–५ निवासी १७ वर्षीय अमर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा ट्र्याक्टरमा सवार भगवानपुर गाउँपालिका–५ कै १६ वर्षीय शिवनारायण मण्डल गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका शिवनारायण र अमरलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै अमरको मृत्यु भएको इप्रका, लहानले जनाएको छ । घाइते शिवनारायणको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको छ ।

नदी र वन क्षेत्रबाट बालुवा, रोडा, ढुङ्गा झिक्ने कार्य बढ्यो

उदयपुर, जेठ ७ । उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा नदी तथा त्रियुगा नदीको मानव बस्ती क्षेत्र र वन जङ्गल क्षेत्रका अतिसंवेदनशील स्थानबाट अहिले केही ट्र्याक्टर व्यवसायी र केही लोडर सञ्चालकहरूले फेरि अवैध तरिकाले बालुवा, गिट्टी, रोडा र ढुङ्गा झिक्ने कार्य गर्न थालेका छन् । विगतमा पनि यी संवेदनशील स्थानबाट ट्र्याक्टर व्यवसायीले मनपरी ढुङ्गा, गिट्टी र रोडा अवैध तरिकाले झिक्ने र बिक्री गर्ने गर्दै आएका थिए । प्रहरी, प्रशासनको सक्रियतामा यो कार्य नियन्त्रण भए तापनि अहिले स्थानीय चुनावको मुखमा आएर प्रहरी प्रशासन तथा राजनीतिक दलको ध्यान अन्यत्र गएको मौका पारेर फेरि ट्र्याक्टर व्यवसायीले मनपरी तरिकाले ढुङ्गा, रोडा र गिट्टी निकाल्न थालेको स्थानीय भूपेन्द्र कार्कीले बताउनुभयो । अहिले गाईघाटको बरुवा नदीको पुल क्षेत्र र बरुवा नदीकै माथिल्लो ढिम्कीको अति संवेदनशील मानिएको जङ्गल क्षेत्रबाट गिट्टी रोडा र बालुवा मनपरी ढङ्गबाट अवैध तरिकाले निकाल्ने कार्य थालेको ढिम्कीका स्थानीय तेजबहादुर सार्कीले बताउनुभयो । यता गाईघाट बजारको त्रियुगा नदी किनारमा रहेको त्रियुगा बसपार्क र त्रियुगा पुल क्षेत्र अतिसंवेदनशील क्षेत्र मानिँदै आएको क्षेत्रबाट समेत रात्रिको समयमा ट्र्याक्टर व्यवसायीले मनपरी ढङ्गले गिट्टी, बालुवा र रोडा उत्खनन गरेर बिक्री गर्ने गरेको स्थानीयवासी सुरेन्द्र साह बताउनुहुन्छ । यी संवेदनशील स्थानका नदी क्षेत्रबाट गिट्टी, बालुवा तथा ढुङ्गा र रोडा उत्खनन गर्न नपाइने नियम जिल्ला विकास समिति, त्रियुगा नगरपालिका र प्रहरी प्रशासनले समेत लगाएको छ । स्थानीय प्रहरी, प्रशासन र सम्बन्धित निकायको ध्यान अन्यत्र हुन थालेको मौका छापेर ट्र्याक्टर व्यवसायी र केही तस्करले अहिले फेरि नदीका पदार्थजन्य वस्तु अवैध रूपमा उत्खनन गरेर चोरी गर्न थालेको स्थानीयवासीले नै बताउन थालेका छन् ।