स्वीमिङ पुलसहितको रिसोर्ट निर्माण सुरु

पर्वत, असार ५ । डेढ करोडको लागतमा धौलागिरि अञ्चलमा नै पहिलोपटक पर्वतमा स्वीमिङ पुलसहितको रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ ।

पर्वत सदरमुकाम कुश्मा बजारमा विभिन्न पेसा व्यवसाय गरी बस्दै आएका तीन जना युवाको सक्रियतामा कुश्मा नगरपालिका–४ छमर्केमा उक्त रिसोर्ट निर्माण सम्पन्न हुन लागेको हो ।

पछिल्लो समयमा युवा स्वरोजगार हुन नसकेपछि वैदेशिक रोजगारीलाई प्राथमिकता दिइरहेका बेला पर्वतका तीन युवाले रु.डेढ करोड लगानी गरेर रिसोर्ट निर्माण गरेका हुन् । ब्लु एञ्जल नाम दिएर निर्माण गरिएको उक्त रिसोर्टमा केही भौतिक संरचना र टायल बिछ्याउने काम मात्रै बाँकी रहेको छ ।

असारको दोस्रो साता सम्पूर्ण काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको सञ्चालक आलोक श्रेष्ठले जानकारी दिनुभयो ।

धौलागिरिका पर्वत, मुस्ताङ, बागलुङ र म्याग्दी जिल्लामध्ये पर्वतमा निर्माण भएको स्वीमिङ पुलसहितको रिसोर्ट यो नै पहिलो हो । रिसोर्ट सञ्चालनका लागि श्रेष्ठसँगै राजु शर्मा र विष्णुराज पुरीले लगानी गरेका छन् । यी तीनै जना युवा विगत केही वर्षअघि वैदेशिक रोजगारीमा साउदी, बेलायत, कोरियालगायतका स्थानमा बसेर फर्किसक्नुभएको हो ।

रिसोर्ट सञ्चालनका लागि करिब रु १५ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सात फिट गहिराइ, ७३ फिट लम्बाइ र ३२ फिट चौडाइ रहेको स्वीमिङ पुलसँगै बाल उद्यान, चाइल्ड स्वीमिङ पुलसमेत निर्माण गरिएको छ ।

पोखरा बागलुङ राजमार्ग नजिकै पर्ने उक्त रिसोर्ट विशेष गरी मुस्ताङको मुक्तिनाथमा जाने तीर्थयात्रीसँगै अन्य बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको सञ्चालक राजु शर्माले जानकारी दिनुभयो ।

मुक्तिनाथ पुग्ने भारतीय तथा स्वदेशी धर्मावलम्बीका लागि पर्वत ट्रान्जिट बनोस् भन्ने मुख्य ध्येयले रिसोर्ट निर्माण गरिएको शर्माले बताउनुभयो ।

गर्मीयामका लागि रिसोर्टबाट करिब ४०० मिटर टाढा रहेको दुलेपानी मुहानबाट पानीको प्रबन्ध गरिएको छ भने जाडो मौसममा तातो पानीको समेत छुट्टै पोखरी निर्माण गरिने शर्माले बताउनुभयो ।

पछिल्लो समयमा पर्वतमा समेत विभिन्न पर्यटकीय गन्तव्यहरु यान्त्रिक पुल, नेपालकै अग्ला तीन वटा झोलुङगे पुल, बञ्जिजम्पलगायतका स्थल रहेको र थप आकर्षण र त्यहाँ आउने पर्यटकलाई अत्याधुनिक सेवा दिन रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सञ्चालक विष्णुराज पुरीले बताउनुभयो ।

अछामका ३ तहमा काँग्रेस र माओवादीको तालमेल

अछाम, असार ५ । दोस्रो चरणको स्थानिय तहको निर्वाचन अन्र्तगत अछाममा सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच ३ तहमा तालमेल भएको छ । क्षेत्र नम्वर १ मा बान्नीगढी जयगढ गाँउपालिका र मेल्लेख गाँउपालिकामा यी २ पार्टीले तालमेल गरेका छन भने क्षे नम्वर २ को मंगलसेन नगरपालिकामा तालमेल भएको छ । बान्नीगढी जयगढ गाँउपालिकामा प्रमुखमा नेपाली काँग्रेसलाई माओवादीले सघाएको छ भने उप प्रमुखमा माओवादीलाई काँग्रेसले सघाएको छ । त्यहाँ प्रमुखमा काँग्रेसका राजेन्द्र खड्काले उम्मेद्धारी दर्ता गराएका छन भने उपप्रमुखमा माओवादी केन्द्रका लोकेन्द्र साउदले मनोनयन दर्ता गराएका छन । यस्तै मेल्लेख गाँउपालिका प्रमुखमा माओवादी केन्द्रका लोकबहादुर बोहरा (ज्वाला) लाई नेपाली काँग्रेसले सघाएको छ भने उपप्रमुखमा काँग्रेसका धनबहादुर शाहलाई माओवादी केन्द्रले सघाएको छ । यस्तै सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा माओवादी केन्द्रले काँग्रेसलाई मेयरमा सघाएको छ भने उप मेयरमा माओवादीलाई काँग्रेसले सघाएको छ । गठबन्धनका तर्फवाट मंगलसेनको मेयरमा काँग्रेसका चन्द्रप्रसाद ढुंगाना र उप मेयरमा माओवादी केन्द्रका रोहीना भण्डारीले उम्मेद्धारी दर्ता गराएका छन । स्थानिय पार्टीको माग र आवस्यकताका आधारमा जिल्लाका ३ वटै तहमा तालमेल गरिएको काँग्रेस माओवादीले प्रतिक्रिया दिएका छन । आफुहरु अलि कमजोर भएका स्थानिय तहमा तालमेल भएसंगै जित निश्चित भएको माओवादी केन्द्र र काँग्रेसको जिल्ला नेतृत्वले बताएका छन । अन्य एक दुई तहमा पनि पुनः तालमेलका लागि गृहकार्य भईरहेको माओवादी केन्द्रका जिल्ला संयोजक झपट साउदले बताए । जिल्लाका ४ नगरपालिका र ६ गाँउपालिका गरि सबै १० वटा तहमा नेकपा एमालेले भने एक्लै उम्मेद्धारी दर्ता गराएको छ । मुख्य निवार्चन अधिकृतको कार्यालय मंगलसैनले दिएको जाँनकारी अनुसार बिहान ८ बजेवाट मनोनयन दर्ता हुने भएपनि दलहरु ढिलोगरी आएको तैपनी सबै ठाँउमा उल्लासपूर्ण तवरले मनोनयन दर्ता कार्य भएको बताईएको छ । जिल्लाका १०वटै स्थानीय तहमा खुसीयाली पुर्वक मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस हरी शर्मा पंज्ञीनीले जानकारी दिए । यस्तै, जिल्लामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको र मनोनयन दर्ताको दिन कुनै पनि अप्रिय घटनाहरु नभएको प्रमुख जिल्ला अधिकारी शकर विष्टले बताए । अछाममा ४ नगरपालिका र ६ गाउँपालिका मा १८५ मतदान स्थल र १ लाख २७ हजार ७ सय ४२ मतदाता छन् ।

फर्जी कागजातका आधारमा लिएको नागरिकता रद्द

नुवाकोट, असार ५ । जिल्लाको साविक साल्मे गाविस–८ का क्याट्रिना तामाङको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको छ । किस्पाङ गाउँपालिका–४ अर्थात् साल्मे गाविस–८ को ठेगानामा बाबु सेल्दोर्जे तामाङ र आमा मसिनो तामाङको छोरी भएर क्याट्रिना तामाङको नाममा नुवाकोट प्रशासनबाट जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर विश्वकर्माले जानकारी दिनुभयो । “तामाङको नागरिकतामा उल्लेख भएअनुसार बाबु-आमा नभएको र फर्जी कागजात बनाएर नागरिकताको प्रमाणपत्र लिएको पाइएपछि २०७३ माघ ११ गते जारी नागरिकताको प्रमाणपत्र रद्द गरिएको प्रशासकीय अधिकृत विश्वकर्माले बताउनुभयो । “स्थानीय क्षेत्रबाट मुचुल्का र गाविसको कार्यालयबाट समेत स्वीकृत लिएर आएपछि क्याट्रिना तामाङलाई नागरिकताको प्रमाणपत्र दिएका थियौँ ।” उहाँले भन्नुभयो “पेस भएको कागजात फर्जी र गैरकानुनी पाइएपछि नुवाकोट प्रशासनले रद्द गरी त्यसको जानकारी गृह मन्त्रालयमा समेत पठाएका छौँ ।” तामाङले प्राप्त गरेको नेपाली नागरिकताको आधारमा राहदानीको फारामसमेत भरिसकेकाले त्यसलाई पनि रद्द गर्न पराराष्ट्र मन्त्रालय, राहदानी विभागमा नुवाकोट प्रशासनले पत्राचार गरेको छ ।

स्थानीय तहका लागि तीन दर्जन नमुना कानुन

काठमाडौं, असार  ५ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको सञ्चालन तथा व्यवस्थापनका निम्ति हाल तीन दर्जन अलगअलग कानुन निर्माण गरिरहेको छ ।स्थानीय तहको कानुन बनाउने कार्यमा सहयोग गर्ने उद्देश्यले मन्त्रालयले एकसाथ तीन दर्जन कानुनको मस्यौदा बनाउन सुरु गरेको हो । मुलुक संघीय संरचनामा गएपछि ७ सय ४४ वटा अधिकारसम्पन्न स्थानीय तह गठन गरिएको छ भने ती स्थानीय तह सञ्चालनका लागि मन्त्रालयले सहजीकरण गर्न नमुना कानुन बनाइदिने कार्य अघि बढाएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए । स्थानीय तहले आफ्नो कानुन आफैं निर्माण गर्ने र संविधानले दिएको अधिकार अभ्यास गर्न सक्ने संवैधानिक व्यवस्था छ ।तर हाल भर्खर मात्रै स्थानीय तह गठन गरिएको र स्थानीय तह सञ्चालनका निम्ति सुरुवातदेखिकै सारा काम गर्नुपर्ने भएपछि मन्त्रालयले सहजीकरण गर्ने अभिप्रायले कानुन बनाइदिन लागेको तामाङले बताए । ‘हामीले बनाइदिने कानुन नमुना मात्रै हो,’ उनले भने, ‘तत्कालका लागि स्थानीय तहले निर्णय गरेर कार्यान्वयन गर्न सक्छ र पछि हेरफेर पनि गर्न सक्छ ।’ स्थानीय तह गठन भएपछि मन्त्रालयले सबभन्दा पहिला ‘स्थानीय शासन सञ्चालन ऐन’को विधेयक तयार पारेको थियो । तर सो विधेयक व्यवस्थापिका–संसद्मा पुगेर विचाराधीन अवस्थामा रोकिएको थियो । स्थानीय शासन सञ्चालन ऐन तत्काल पारित नहुने भएपछि सरकारले ‘स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश २०७४’ जारी गरी स्थानीय तह सञ्चालन अघि बढाएको थियो । तामाङका अनुसार हाल स्थानीय शासन सञ्चालन ऐनसहित तीन दर्जन अलगअलग कानुनको मस्यौदा बनाइएको छ । जसमध्ये केही कानुन स्थानीय तहलाई उपलब्ध गराइसकिएको राजधानी दैनिकमा खबर छ । यसैगरी,गाउँ सभा तथा नगर सभाको बैठक सञ्चालन तथा विधायन कार्यविधि, संघ, प्रदेश र स्थानीय तहको शासकीय प्रबन्धसम्बन्धी कानुन, गाउँपालिका तथा नगरपालिकाको कर लगाउनेसम्बन्धी कानुन, गाउँपालिका तथा नगरपालिकाका सञ्चित कोषबाट रकम खर्च गर्ने कानुन, राजस्व र व्यय अनुमानसम्बन्धी कानुन, गाउँपालिका तथा नगरपालिकाको सेवा प्रवाहका मापदण्ड, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको स्रोत पुस्तिका निर्माण कार्य पनि अघि बढाइएको छ ।  

चुनाव लड्न अस्पताल विकास समितिबाट राजीनामा

काठमाडौँ, २ असार । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनमा उम्मेदवारी दिन केही महिनाअघि नियुक्त भएका अस्पताल विकास समितिका अध्यक्षले राजीनामा दिन थालेका छन् । स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखामा अहिलेसम्म पाँच अध्यक्षले राजीनामाका लागि पत्र बुझाएका छन् । मन्त्रालयले विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा रिक्त पदमा करिब तीन महिनाअघि अध्यक्ष नियुक्त गरेको थियो । विभिन्न उपमहानगरपालिका, महानगर र गाउँपालिकामा प्रमुख र अध्यक्षमा लड्न उम्मेदवारीको टिकट पाएपछि अध्यक्षबाट राजीनामा आइरहेको महाशाखा प्रमुख भोलाराम श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन आयोगले उम्मेदवारी दर्ता दुई दिन थप गरेकाले निवेदन अझै आउन सक्ने बताइएको छ । मन्त्रालयमा भोजपुर जिल्ला अस्पतालका गजेन्द्र कार्की, मेहलकुना अस्पताल सुर्खेतका चित्रबहादुर रेग्मी, सिन्धुली जिल्ला अस्पतालका विनोदकुमार खड्का, नरदेवी आयुर्वेद चिकित्सालय काठमाडौँका खेमराज सुवेदी र महाकाली अञ्चल अस्पतालका भोजराज बोहराले अध्यक्षबाट राजीनामा दिइएको पत्र बुझाउनुभएको छ । रासस

बाख्रा चराउन हिँडेका दुई बालिकाको पानीमा डुबेर मृत्यु

पर्सा, २ असार । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । गाउँपालिका–४ सोनवर्षाको कंन्चनपुर गाउँमा रहेको खाल्डोमा जमेको पानीमा अपराह्न डुबेर दुवै बालिकाको मृत्यु भएको हो । बाख्रा चराउन घरबाट निस्किएका कन्चनपुर निवासी नारायण पासवानकी १० वर्षीया छोरी उषाकुमारी पासवान र स्थानीय दरोगा पासवानकी ९ वर्षीया छोरी राधिकाकुमारी पासवानको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कन्चनपुर गाउँभन्दा एक किमी बाहिर सडक निर्माणका लागि खनिएको खाल्डोमा राति परेको वर्षाको पानी जमेको र सोही पानीमा दुवै बालिकाहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँले मृतक बालिकाको शवपरीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याउने तयारी भएको बताउनुभयो । रासस

राजपाका १५ कार्यकर्ता पक्राउ

बिराटनगर, २ असार । प्रहरीले क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरमा तालाबन्दी गर्न गएका राजपाका १५ जना नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । शुक्रवार तालाबन्दी गर्न गएका राजपाका राधे कामत, मोहमद काबिर, मुन्नी कर्ण लगायतलाई पक्राउ गरेको हो । पूर्वघोषित कार्यक्रम अनुसार निर्वाचन कार्यालयमा ताला लगाउन गएका थिए

सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी घोषणा

सुरुङ्गा(झापा), २ असार । सङ्घीय समाजवादी फोरम नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा विर्तामोड नगरपालिकाका प्रमुखसहितका पदमा उम्मेदवारी घोषणा गरेको छ । सो पार्टीले आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी नगरभित्र रहेका सडकको स्तरोन्नती गर्ने, मापदण्ड पूरा भएका सडकको कालोपत्रे गर्ने, नगरमा कृषि, पशुपालन, फलफूलमा आधारित व्यावसायिक खेतीको विकास र विस्तार गर्ने तथा उन्नत बीउबीजनका लागि कृषि सामग्री र बजारको व्यवस्था गर्ने लगायतका ११ बुँदे प्रतिबद्धतासहित नगरप्रमुखलगायत पदका लागि उम्मेदवारी घोषणा गरेको हो । विर्तामोड नगरपालिकाको प्रमुखमा पदमबहादुर तामाङ र उपप्रमुखमा चीजा राईलाई उम्मेदवार बनाएको सो पार्टीका वैकल्पिक केन्द्रीय उपाध्यक्ष कृष्णउदाश भरतले बताउनुभयो । यसैगरी विर्तामोड नगरपालिकाका वडा अध्यक्षहरुमा क्रमशः वडा नं– १ मा रिनामाया तामाङ, ३ मा हरिनारायण चौधरी, ४ मा रामनारायण चौधरी, ५ मा तीलबहादुर राई, ६ मा वीरेन मेचे र वडा नं. १० मा लक्ष्मी देवानलाई उम्मेदवार बनाइएको उहाँले जानकारी दिनुभयो । सो अवसरमा पार्टीका वैकल्पिक केन्द्रीय उपाध्यक्ष भरतले भन्नुभयो–“नगरमा रहेका नगरवासीलाई निःशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्थासहित सर्वसुलभ स्वास्थ्य बिमा सबैको गर्ने र घर÷घरमा रोजगारीको अवसर सिर्जना गर्दै समृद्ध विर्तामोड निर्माणका लागि पार्टीले उम्मेदवारी दिएको हो ।” रासस

आधा बजेट खर्च गर्नै बाँकी

काठमाडौं – चालू आर्थिक बर्ष सहिन एक महिना पनि बाँकी छैन । तर सरकारले आधाभन्दा केही बढीमात्र बजेट खर्चन सकेको छ । खर्च गर्ने क्षमतामा ह्रास आएका कारण सरकारले जेठ मसान्तसम्ममा कुल विनियोजित बजेटको ५७.६४ प्रतिशतमात्र खर्च गरेको महालेखा नियन्त्रक कार्यालय (मलेनिका) ले जनाएको  कारोबारमा खबर छ । जेठ मसान्तसम्म ६ खर्ब ४ अर्ब ६४ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक बर्षमा सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

दुर्घटनामा दुई जनाको मृत्यु

लमजुङ,  असार २ । मनाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । माथिल्लो मनाङबाट लमजुङ आउँदै गरेको ग१ज ६६०२ नम्बरको जिप मनाङको नेस्याङ गाउँपालिका स्थित पिसाङनजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप दुर्घटनामा मृत्यु हुनेमा रुकुम जिल्लाको कात्री गाविसका २५ वर्षीय विक्रम बुढा रहेका र एक जना अन्दाजी २२-२३ वर्षका युवकको घटना स्थलमै मृत्यु भएको र सनाखत हुन नसकेको प्रहरी निरीक्षक अर्जुन गहतराजले बताए । उनका अनुसार घाइते भएका १० जनालाई उपचारका लागि सदरमुकाम चामेस्थित चामे जिल्ला अस्पतालमा ल्याई उपचार भइरहेको छ । घाइतेहरू विभिन्न जिल्लाका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनाका चालक भने फरार रहेका छन् ।

सङ्घीय समाजवादीले उम्मेदवार टुङ्गो लगायो

पाँचथर, असार २ । सङ्घीय समाजवादी फोरम नेपालले पाँचथरका सातवटा गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ । पाँचथरको फिदिमस्थित पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी टुङ्ग्याएको हो, जसअनुसार फिदिम नगरपालिकाको प्रमुखमा विष्णुकुमार लावती र उपप्रमुखमा भावना इङवालाई उम्मेदवार बनाइएको छ । यस्तै, फालेलुङको अध्यक्ष पदमा जनम राई, उपाध्यक्ष पदमा सङ्गीता थाम्सुहाङ, याङवरकमा अध्यक्ष भरत राई र उपाध्यक्षमा सिर्जना सेलिङलाई उम्मेदवार बनाएको छ । यसैगरी, हिलिहाङ गापाको अध्यक्ष पदमा सुरेन्द्रप्रसाद सुहाङ, उपाध्यक्ष पदमा दिलमाँया लोवालाई उम्मेदवार बनाएको छ । यस्तै, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा रामकुमार तुम्याङ नेम्बाङ, उपाध्यक्षमा शान्ति लिम्बू आङदेम्बे, कुमायक गाउँपालिका उपाध्यक्षमा सूर्य साङपाङ, मिक्लाजुङको अध्यक्षमा सन्देश राईलाई उम्मेदवार बनाएको छ । यस्तै, तुम्बेवामा भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाउन नसकिएको पार्टीका जिल्ला अध्यक्ष डिएम आङदेम्बेले बताए । उम्मेदवारको घोषणापछि बोल्दै पार्टीका केन्द्रीय महासचिव रणध्वज कन्दङवाले अहिलेको सङ्घीय संरचनाप्रति आफ्नो पार्टीको विमति रहेता पनि आफ्नो पार्टी संवैधानिक पार्टी भएकाले जनतामा जानुपरेको बताए ।

धनगढीमा पनि हर्न बजाउन नपाइने

कैलाली, असार २ । कैलालीको अत्तरिया बजारमा हर्न निषेधित क्षेत्र लागु भएको एक हप्तापछि धनगढी बजारमा पनि बिहीबारदेखि हर्न बजाउन नपाइने व्यवस्था लागुभएको छ । धनगढीको मुख्य बजार ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको बजार क्षेत्र, दक्षिणमा विद्युत् प्राधिकरण र उत्तरमा आयल निगम रहेको क्षेत्रसम्म हर्न निषेधित गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । प्रथम तह हर्न निषेधका लागि प्रचारात्मक अभियान चलाइने र त्यसपछि मात्रै कारबाहीको चरणमा जानेछ । इमर्जेन्सी अवस्थाबाहेकका सामान्य अवस्थामा हर्न निषेधित क्षेत्रमा हर्न बजाएमा ट्राफिक इसारा उल्लङ्घन गरेको कसुरमा रु ५०० देखि एकहजार ५०० सम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको ट्राफिक प्रहरी निरीक्षक पातलीले बताए  । बजारका मुख्य क्षेत्रमा रहेको बढ्दो ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नका लागि अत्तरियामा जेठ २५ गतेदेखि र धनगढीका केही क्षेत्रमा भने बिहीबारदेखि हर्न निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध

काठमाडौं, असार २ । सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको कारोबारमा खबर छ । मोटरसाइकलमा प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाइ छ । सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदूषण कम गर्न तथा स्वच्छ सहर बनाउन उपत्यकाको चक्रपथभित्र मोटरसाइकल लाउन रोक लगाउने विषयमा छलफल सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराइले जानकारी दिए ।

सिस्नु र गिठ्ठा खाएर बाँच्ने चेपाङ भन्छन: ज्यानै जालाजस्तो भो

काठमाडौं, असार २ । दक्षिणी धादिङको अति विकट ब्रुसबाङ गाउँमा उत्पादित अन्नले खान नपुग्ने भएपछि यहाँका चेपाङ समुदाय सिस्नु, गिठ्ठा र टाँकीको मुन्टाले छाक टार्न बाध्य भएका छन् । कन्दमूलमा बाँचेको बु्रसबाङलाई अब छाक टार्न पनि मुस्किल भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ मा पर्ने बु्रसबाङमा ३७ परिवार चेपाङको बसोवास छ । भीरमा रहेको खोरियामा निकै संघर्ष गरी छरेको मकैले ६ महिना पनि राम्रोसँग खान पुग्दैन । समय परेको वर्ष उत्पादन पनि ठिकै हुन्छ, नत्र खडेरीले बोट सुकेपछि उत्पादनै हुँदैन । उत्पादित अन्नले खान नपुग्ने भएपछि स्थानीय चेपाङ समुदाय जंगली कन्दमूल र सिस्नो तथा टाँकीको सहारा लिन बाध्य भएको बताउँछन् । नयाँ पत्रिकामा खबर  छ । राममाया चेपाङ बाबु–आमा र तीनजना बच्चालाई बिहान–बेलुकाको छाक टार्न मुस्किल भएको बताउँछिन् । घरछेउमा रहेको सिस्नोको बोटमा मुन्टा टिप्दै गरेकी चेपाङले भनिन्, ‘खाए पनि सिस्नो, नखाए पनि सिस्नो, बारीमा टिपे पनि सिस्नो, जंगल गए पनि सिस्नो, यही सिस्नु छ र हामी बाँचेका छौँ, नत्र के बाँचिन्थ्यो ।’ सिस्नो नपाएको खण्डमा उनीहरू टाँकीको मुन्टासमेत खाने गरेका छन् । महिनादिन भइसक्यो टाँकीको मुन्टा खाएको । बारीको डिलमा सिस्नु टिप्दै गरेकी दिलमाया चेपाङको पनि हाल उस्तै छ । चैतको मध्यतिरबाट लगातार बिहान गिठ्ठा, बेलुका सिस्नु खाएका उनीहरूले खाद्यान्न अपुगले बाँच्न गाह्रो भएको बताएका छन् । ‘अब त खोज्न जान नसक्ने गरी गलिसक्यौँ,’ दिलमाया चेपाङले भनिन्, ‘घरमा मकै पनि छैन, लगाएको ८ महिनामा पाक्ने मकैले आठजनाको परिवारलाई मुस्किलले चार महिनासम्म खान पुग्छ । मकै पाक्न कात्तिक पर्खनुपर्छ, कसरी बाँच्नु ?’  

अर्घाखाँचीमा बलात्कृत महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ बस्ने २१ वर्षीया युवतीमाथि करणी भएपछि उनको मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–१ को खरज्याङबाट कपडा सिलाई घर फर्कने क्रममा उनीमाथि करणी भएको प्रहरीले जनाएको छ । करणी गरेको आरोपमा सन्धिखर्क नगरपालिका–२ बस्ने २२ वर्षीय रमेश बिकलाई प्रहरीले पक्राउ गरेको छ । अशक्त अवस्थामा फेला परेपछि पीडित महिलालाई उपचारको लागि पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

मेलम्चीको पानी दसैँअघि उपत्यका नपुग्ने निश्चित

चौतारा, असार १ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काममा सुस्तता आएकाले निर्धारित समयभित्र पूरा नहुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकास्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये तीन किमी सुरुङ खन्ने काम अझै बाँकी भएकाले आगामी दशैँ अगाडि राजधानीवासीलाई पानी खुवाउन असमर्थ रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताउनुभयो । सुरुङ निर्माण गर्न अम्बाथानदेखि ग्याल्थुमसम्म १.५ किमी र ग्याल्थुमदेखि सिन्धुसम्म १.५ किमी गरी तीन किमी बाँकी नै भएको आयोजनाले जनाएको छ । सिन्धुको माथिल्लो भागमा कमसल चट्टान फेला परेकाले चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उपकार्यकारी निर्देशक दुवाडीले भन्नुभयो – “दैनिक १५ देखि बढीमा २३ मिटरसम्म मात्र सुरुङ खन्ने काम भएकाले दसैँको लक्ष्य भेट्न मुस्किल पर्ने देखिएको छ ।” काममा तीव्रता दिन बेलाबेलामा ठेकेदार कम्पनीलाई निर्देशन दिइए पनि उपकरणहरु बारम्बार बिग्रिरहने कारणले पनि काममा असर पर्न गएको आयोजनाले जनाएको छ । कमसल भूभाग भेटिएपछि ठेकेदार कम्पनीले वैकल्पिक उपायका लागि प्रस्ताव पेस गरेकामा हाल भइरहेको कामभन्दा २–३ मिटरभन्दा बढी नखनेर तुलनात्मक रुपमा डबल खर्च लाग्ने देखिएको हुँदा त्यसलाई अपनाउन नसकिएको उपकार्यकारी निर्देशक दुवाडीले जानकारी दिनुभयो । यो वर्षको वडादसैँ असोजको पहिलो सातादेखि सुरु हुने हुँदा दसैँ अगाडि पानी लान दैनिक ३५ मिटरका दरले सुरुङ निर्माण गर्नुपर्ने देखिएको हुँदा दसैँ अगाडि उपत्यकामा पानी पु¥याउन नसक्ने आयोजनाको धारणा रहेको छ ।