माघदेखि नयाँ बजेट निर्माणमा लाग्छौं : मुख्यसचिव अर्याल
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले आगामी माघदेखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट निर्माणको कामलाई सरकारले अघि बढाउने बताएका हुन् ।
मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रम र संघीयता कार्यान्वयनका लागि आवश्यक सुझाव सरकार दिन पनि सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गरे । उनले १६ औं योजनाको दस्तावेजलाई पूरा गर्ने कामलाई पनि सरकारले अघि बढाएको पनि बताए ।
मुख्यसचिव अर्यालले बजेट, नीति तथा कार्यक्रमबारे सुझाव दिँदा कारण खुलाएर दिन सम्बन्धित क्षेत्रका विज्ञहरुको ध्यानाकर्षण गराए ।
मुख्यसचिव अर्यालले संघीयतासम्बन्धि कानून निर्माणको काममा सरकार लागेपनि सोचेअनुसार काम हुन नसकेको स्विकार गरे।
झम्सीखेलमा प्रहरीले चलायो गोली, एकजना पक्राउ
काठमाडौं । प्रहरीले ललितपुरको झम्सीखेलमा गोली हानेर मंगलबार एकजनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा अविनाश राई छन् । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने प्रयास गरेपछि राईलाई गोली हानेर नियन्त्रणमा लिइएको उनले बताए ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दीपक बम र नीरक शाहीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमेरेका अनुसार विशेष अदालत काठमाडौंबाट भएको फैसला चित्त नबुझेका कारण मेकानिकल इन्जिनियर बमले तीन हजार रुपियाँ र विचौलिया शाहीले १० हजार ३६० रुपियाँ घुस लिएकोसम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुमथि कैद र जरिवाना हुन मागदाबी लिइएको आयोगले जनाएको छ ।
रामग्राममा प्रधानमन्त्री, विश्व शान्तिको कामना गर्दै विशेष शान्ति दीप प्रज्वलन
पश्चिम नवलपरासी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मङ्गलवार नवलपरासीको रामग्राम पुगेका छन् । त्यहा प्रधानमन्त्री प्रचण्ड विश्व शान्तिको कामना गर्दै भैरहेको विशेष शान्ति दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन् । रामग्राम स्तूप गौतमबुद्धको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो । यूनेस्को विश्व सम्पदा सूचीको सम्भावित सूचीमा रहेको रामग्राम स्तुपाको पुरातात्त्विक अन्वेषण र यसको विकास गर्नका लागि सरकारले गुरुयोजना बनाएर विकास गर्दै छ । मध्यान्ह १२ बजेर १२ मिनेटदेखि विश्व शान्तिको कामना गर्दै विशेष शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम भैरहेको छ । लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागी दूरदर्शी परियोजनाको शुभारम्भ गर्न प्रधानमन्त्री प्रचण्ड बिहान नौ बजे नै पश्चिम नवलपरासीको रामग्राम पुगेका हुन् । कार्यक्रमा प्रधानमन्त्री प्रचण्डसहित पर्यटन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्थानीय तहका जनप्रतिनिधि लगायत उपस्थित रहेका छन् ।
सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन तोलाको एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
भारतविरुद्ध ब्याटिङमा नेपाल
काठमाडौं । यू–१९ एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । यूएईस्थित आईसीसी एकेडेमी ओभर–२ मा हुने खेलका निम्ति भएको टस जितेर भारतीय टिमले पहिले फिल्डिङको निर्णय गरेको हो । प्रतियोगितामा यसअघिका दुवै खेल हारेको नेपाल पहिलो जितको खोजीमा छ । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले हारेको थियो । दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित भएको थियो । समूह ‘ए’मा नेपालबाहेक बाँकी तीनै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आउँदो पुस १ गते हुनेछ । गएको अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा ठाउँ बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेको थियो ।
एउटै पुस्तामा लिम्चुङबुङ समृद्ध बनाउने महाअभियान : यस्ता छन् मुख्य मुद्धा
काठमाडौं । कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको पश्चिम-उत्तर हिस्सामा अवस्थित लिम्चुङबुङ गाउँपालिकाले एउटै पुस्तामा गाउँ समृद्ध बनाउने महाअभियानकाे सुरूवात गरेको छ । पालिका अध्यक्ष मेजर राईले एउटै पुस्तामा गाउँ समृद्ध बनाउने गरी महाअभियानको सुरुवात गरिएको जानकारी दिए । एउटै पुस्तामा गाउँ समृद्ध बनाउनका लागि पक्की सडक निर्माण, कृषिमा आधुनिकिकरण, शिक्षा र स्वास्थ्य क्षेत्रको स्तरउन्नति र पर्यटनको विकासको मुद्धा तय गरिएको र विकासका निम्ति तीनै मुद्धालाई प्राथमिकता दिइने उनले जानकारी दिए । बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गरि जम्मा ५ बटा वडाहरु रहेको गाउँपालिकाको कुल क्षेत्रफल १०६।८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११९९२ रहेको छ ।
लगानी सम्मेलन आयोजना हुनुअगावै ‘कन्ट्री रेटिङ’को काम गर्छौं : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनुअगावै ‘कन्ट्री रेटिङ’को प्रक्रिया सम्पन्न गर्ने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन भएको छलफलमा वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताएका हुन् । उनले नेपालमा लगानी गर्न आवश्यक पर्ने सबै खालका नीतिगत ऐन नियमहरू परिमार्जन गर्न सरकारले प्रमुख प्राथमिकता दिने बताए । उनले काम गर्ने प्रक्रियागत झन्झट, काम गर्ने कार्यशैली सम्मेलनअगावै परिवर्तन हुने उल्लेख गरे । सरकारले निजी क्षेत्रको लगानी ल्याउन कठिन भएपनि लगानी भित्र्याउन सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए । सम्पत्ति शुद्धीकरणसम्बन्धी बलियो कानुन बनाउनुपर्ने र अन्य कानुनमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । लगानी भित्र्याउनको लागि सरकार नीति र कानुनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको बताए ।
प्रताप सदाको घटनामा गम्भीर छानबिन गर्न माग
विराटनगर । कोसी प्रदेशसभा सदस्यहरूले विभिन्न निकायमा खाली पदमा नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका छन् । सोमबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले समसामयिक विषय उठान गरेका हुन् । नेकपा (एकीकृत समाजवादी)की सांसद खिनुलङ्वा लिम्बूले भनिन्, “भारतीय दूधजन्य उत्पादनले किसानलाई असर गरेको छ ।” दूधको मूल्य उधारो रहेको र किसानले क्रेताबाट नपाएको उनले बताइन् । नेकपा (एमाले)की सांसद गीतादेवी रेग्मीले उदयपुरको गाईघाटमा आगलागीबाट डेढ करोड रुपैयाँबराबरको क्षति भएको उल्लेख गरिन् । पीडितलाई क्षतिपूर्ति दिलाउन उनले सरकारसँग माग गरिन् । उनले शोभा सुन्दासबारेको विषय पनि उठाइन् । उनले भनिन्, “उर्लाबारीकी शोभा सुन्दासलाई विराटनगर, पुष्पलालचोकको वृद्धाश्रममा प्रवेश नदिनु भेदभाव हो ।” नेकपा (माओवादी केन्द्र)की गीता तिम्सिनाले प्रदेश निजामती ऐन पारित हुने अवस्थामा पुग्नु सकारात्मक भएको बताइन् । उनले भनिन्, “प्रदेश लोकसेवा आयोगको अध्यक्षको पद रिक्त भएकोले प्रक्रिया अघि बढाउनुपर्छ । सभामुख र रिक्त प्रदेशका पदपूर्ति हुनुपर्छ ।” एमाले प्रदेशसभा सदस्य तिलचन्द पाठकले विराटनगरको मेट्रो अस्पतालबाट मृत घोषित बिरामी जीवित नै फेला परेको घटनाबारे छानबिन हुनुपर्ने माग गरे । सुनसरीको इनरुवा नगरपालिका–३ का प्रताप सदा जीवित हुँदाहुँदै मृत घोषणा गरिएको पाठकले बताए । एमालेकै ललिता चौधरीले ग्रामीण भेगका विद्यालयमा प्राविधिक विषय पठनपाठन गर्नुपर्ने माग गरिन् । माओवादीकी सांसद सपना दर्जीले प्रताप सदाको घटनामा गम्भीर छानबिन हुनुपर्ने माग गरिन् । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएपछि यो घटनाको छानविन हुनुपर्ने माग उठेको हो ।
नेपाली युवामाथि गोली प्रहार घटनाको छानबिन गरिने
विराटनगर । भारतीय सीमावर्ती क्षेत्रमा नेपाली युवामाथि भएको गोली प्रहारको घटनाको छानबिन गर्न मोरङ प्रहरीले भारतीय प्रहरीसमक्ष समन्वय अगाडि बढाएको छ । मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको अनुसन्धान गर्न आग्रह गरेको जानकारी दिए । भारतीय सहर जोगबनी गएर फर्कंदै गरेका विराटनगर ८ मधुमाराका २८ वर्षे निर्दोष सङ्ग्रौलालाई भारतीय भूमिमा साँझ पौने ६ बजे गोली प्रहार भएको थियो । सङ्ग्रौलाको दाहिने तिघ्रामा गोलीको छर्रा लागेको र कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते युवा खतरामुक्त रहेको प्रवक्ता दाहालले जानकारी दिए । युवामाथि कसले किन गोली प्रहार ग र्यो भन्ने विषय अहिलेसम्म खुलिसकेको छैन । ‘भारतीय भूमिमा (दशगजा भन्दा करिब १५० मिटर पर) घटना भएकोले नेपाल प्रहरीले घटनाको अनुसन्धान गर्न मिलेन, हामीले भारतीय पक्षसँग समन्वय गरेर घटनाको बारेमा चासो लिएका छौं,’ प्रवक्ता दाहालले भने, ‘यो घटना भारततर्फ भएको हुँदा छानबिन र कारबाहीका लागि पीडितले भारतमै गएर जाहेरी दिनुपर्छ र उतैको प्रहरीले अनुसन्धान गर्नुपर्छ ।’ घाइते संग्रौलाको उपचारमा सहयोग गर्ने र भारतीय समकक्षीसँग समन्वय गर्ने काम मात्र नेपाल प्रहरीले गर्ने उनले जानकारी दिए। घाइते अस्पतालमा उपचाररत भएका कारण प्रहरीले बयान लिएर थप विवरण बुझिसकेको छैन । तर प्रहरी स्रोतका अनुसार घाइते युवा लागुपदार्थ प्रयोगकर्ता भएको र लागुपदार्थ सेवन गरी फर्किने क्रममा भारतीय युवाहरुसँग विवाद हुँदा गोली प्रहार भएको हो । घाइते युवाले पनि आफू पूर्व लागुऔषध प्रयोगकर्ता भएको स्वीकार गर्नुभएको छ । ‘म पूर्वलागुऔषध प्रयोगकर्ता हुँ तर अहिले प्रयोग गर्दिंन,’ घाइते सङ्ग्रौलाले भने ‘चिनी लिएर फर्किंदै थिएँ केही केटाहरुले यसलाई गोली हान्दिउँ भनेको सुनेपछि ल हान न त भनेको थिएँ हानी नै पो दिए ।’ सङ्ग्रौलामाथि जोगबनीस्थित रेल्वे स्टेसन उत्तरतर्फ गोली प्रहार भएको थियो । नेपालीहरुका लागि खुला आवतजावत गर्न नमिल्ने बाटो प्रयोग गरेर संग्रौला नेपालतर्फ आउँदै गरेको पाइएको छ । त्यसआधारमा पनि लागुऔषध प्रयोग गरेर फर्केको वा त्यस्ता साथीहरुको साथमा आउँदै गर्दा उक्त बाटो प्रयोग गरेको प्रहरीको अनुमान छ । नेपाल प्रवेश गर्ने मूल बाटो छोडेर अन्यत्रबाट हिँड्दा प्रहरीले नै शङ्कास्पद मानेको छ । सङ्ग्रौलामाथि भारतीय युवाहरुकै समूहले गोली प्रहार गरेको प्रहरीको अनुमान छ ।
संघीय संसद्को महासचिवमा पाण्डेयको नाम सिफारिस
काठमाडौं । संघीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ । यसअघि संघीय संसद्को महासचिव रहेका डा। भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । पाण्डेय प्रतिनिधिसभा सचिवका रूपमा नियुक्त भई कार्यरत छन् । डा। गौतमले अवकाशको समय नजिकिएपछि राजीनामा दिएका हुन् । नेकपा (एमाले) निकट गौतमले राजीनामा दिएपछि सोही पार्टीनिकट पाण्डेयलाई महासचिवमा नियुक्त गर्न सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सिफारिस गरेका हुन् ।
चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा सरकार लागेको बताएक छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद्मा संशोधनका विषयमा छलफल भइरहेको बताए । चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले गर्दा नेपालमा मेडिकल शिक्षा जुन ढङ्गले अघि बढ्नुपर्ने हो त्यो ढङ्गले अघि बढ्न नसकेको उनको भनाइ थियो । उनले भने, “संशोधनका विषयमा प्रधानमन्त्री ज्यू तयार हुनुहुन्छ । क्याबिनेटमा समेत यसका विषयमा छलफल अब सुरु हुन्छ ।” अहिलेसम्म ऐन संशोधनका विषयमा दुईपटकसम्म बैठक भइसकेको र संशोधनको प्रक्रियामा अघि बढेको उनले जानकारी दिए । चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको उनले बताए । चिकित्सा क्षेत्रमा २२ वर्षअघिभन्दा कम दरबन्दीले काम भइरहेको बताउँदै उहाँले यसलाई थप गरेर अघि बढ्ने बताए । उनले भने, “कुनै एक जना व्यक्तिले अनशन बस्छु भन्दैमा देशको हितका लागि हुने काममा राज्यले खुट्टा कमाउनु हुँदैन र कमाउँदैन । त्यहाँ भएका राम्रा कुराको कार्यान्वयन र नराम्रा कुराको सुधार एवं संशोधन गरेर अघि बढ्छौँ ।” यो ऐनलाई संशोधन गरेर गुणस्तरीय शिक्षा र शुल्क निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने कुरा गर्नुपर्ने उनले बताए । अहिलेको शिक्षा नीति केही खुकुलो हुनुपर्ने उनको भनाइ थियो । सरकारले अहिले एक सयदेखि तीन सय श्यया भएका अस्पताललाई नर्सिङ र प्यारामेडिकस पढाउने दिने र तीन सय श्ययाभन्दा माथि भएका अस्पताललाई एमबिबिएस पढाउन दिनेगरी खुकुलो पार्न लागेको उनले जानकारी दिए । सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर मेडिकल शिक्षा सञ्चालन गरिने मन्त्री बस्नेतले बताए । फरक प्रसङ्गमा मन्त्री बस्नेतले सूर्तीजन्य पदार्थमा लाइदै आइएको कर अब स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउने गरी काम भइरहेको जानकारी दिए । प्रधानमन्त्री सकारात्मक देखिनुभएको भन्दै उनले त्यसबाट उठेको रकमले अस्पतालको गुणस्तर वृद्धि र कर्मचारी व्यवस्थापन गरिने बताए ।
भारतीय भूमिमा विराटनगरका युवकमाथि गोली प्रहार
विराटनगर । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार गरिएको छ । घटनामा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन् । कोसी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार साँझ विराटनगर–१६, दशगजानजिकै भारतीय क्षेत्रमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको बताइएको छ । उनी खाद्यसामग्री किन्न जोगबनी गएको भन्ने बुझिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रञ्जनकुमार दाहालले बताए । रेल्वे स्टेसनतिर समूहमा रहेका ६ युवासँग जम्काभेट भएको र सोही क्रममा वादविवाद हुँदा आफूमाथि गोली प्रहार गरिएको संग्रौलाले बताएका छन् । कोसी अस्पतालका मेडिकल अफिसर डा। तुलसी गोइतले संग्रौलाको तिघ्रामा गोलीजस्तो वस्तु एक्सरेका क्रममा देखिएको बताए ।
नेपाली विद्यार्थी नेताहरू अखिल भारत विद्यार्थी परिषद्को अधिवेशनमा सहभागी, क्रान्तिकारीले उठायो सिमा मुद्धा
नयाँ दिल्ली । भारतीय जनता पार्टीको विद्यार्थी संगठन अखिल भारत विद्यार्थी परिषदको अमृत महोत्सव एंव ६९ औं अधिवेशनमा नेपाली विद्यार्थी संगठनहरूले पनि सहभागिता जनाएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित सो अधिवेसनमा नेपाली विद्यार्थी नेताहरूले सहभागीता जनाउँनुका साथै नयाँ पुस्तामा मित्रवत सहकार्यबारे महत्त्वपूर्ण छलफल गरेको माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पञ्चा सिंंहले एभेष्ट दैनिकलाई जानकारी दिइन् । सो क्रममा नेपाली विद्यार्थी नेताहरूले अखिल भारत विद्यार्थी परिषदको ६९ औंं अधिवेशनबाट निर्वाचित अध्यक्ष ,महासचिवलाई नेपाली ढाका टोपि लगाइदिएर बधाई तथा कार्यकाल सफलताको शुभकामना गरेका थिए । नेपाली विद्यार्थी नेताहरू बिजेपिको मुख्यालयमा विदेश विभागका नेतासँग छलफलको क्रममा नेपाली विद्यार्थी नेताहरूले भारतमा विद्यार्थी संगठनको अधिवेशनमा सहभागी हुनुका साथै भारतीय जनता पार्टी मुख्यालयमा बिजेपि विदेश विभाग, राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख पनि अन्तर्क्रिया गरे । अन्तर्क्रियाका क्रममा क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले विजेपी भारतको रुलिङ पार्टी हुनुको नाताले नेपाल भारत सिमा समस्या हल गर्नको भुमिका निर्वाह गर्नुपर्ने धारणा राखिन । त्यसका अतिरिक्त विद्यार्थी नेताहरूले भारतले स्टार्टप क्षेत्रमा गरेको उल्लेख्य प्रगतिकाबारेमा छलफल गर्नुका साथै ज्ञान साझेदारी छलफल गरेका थिए । कार्यक्रममा नेपाल विद्यार्थी संघका सभापति डुजाङ शेर्पा, अखिलका अध्यक्ष समिक बडाल, अखिल(क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह लगायतका विद्यार्थी नेताहरू सहभागी भएका हुन्।
विपीनको खोजी गर्न : नेपालको आग्रह, इजरायली उच्च अधिकारीको प्रतिबद्धता
काठमाडौं । हमासद्वारा गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँगको भेटमा इजरायली उच्च अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाएका हुन् । इजरायलको प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र इजरायली डिफेन्स फोर्सका कोअर्डिनेटरसँगको भेटमा रिजालले विपीनको खोजीका लागि नेपालले इजरायल सरकारबाट निर्णायक भूमिकाको अपेक्षा गरेको बताएकी थिइन् । जवाफमा उनीहरूले विपीनको रिहाइमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
बाह्रवटा कम्पनी कालोसूचीमा (सूचीसहित)
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा राखिएका व्यवसायीरआपूर्तिकर्ता कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

