राजपाले सरकारबाट समर्थन फिर्ता लिने !

काठमाडाैँ, असार ११ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ ।
बर्तमान सत्ता गठबन्धनसँग दुई पटक तीन बुँदे सहमति भएपनि कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त आन्दोलन गर्ने तयारीमा जुटेको छ ।

राजपाका प्रवक्ता कृष्णा सिंहले असार १४ गते पछि सरकारबाट समर्थन फिर्ता हुने बताएको नेपाल समाचारपत्रमा खबर छ ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

लहान, असार १० । सिरहाको मिर्चैया नगरपालिका– ३ राघोपुरस्थित डुमरीनहर सडक खण्डमा आज बिहान अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स.१.त ४७३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सनाखत हुन नसकेका अन्दाजी १८ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । सडक छेउमा अनियन्त्रित भई ट्याक्टर पल्टिँदा किचेर युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार सारदा उमाशङ्कर स्मारक अस्पातलमा पठाइएको छ, भने फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अठचालिस गाविस खाद्य असुरक्षाको उच्च जोखिममा

काठमाडौँ, असार १० । हिमाली र उच्च पहाडी छ जिल्लाका ४८ गाविस (तत्कालीन) खाद्य असुरक्षाको उच्च जोखिममा देखिएका छन् । खाद्य सुरक्षा सञ्जालले विस्तृत अध्ययन गरी धादिङका ५, गोरखाका ११, कालिकोटका ३, मुगुका १०, हुम्लाका १० र बाजुराका ९ं गाविसलाई उच्चतम् खाद्य असुरक्षित अवस्था (चरण–३) मा वर्गिकरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित सञ्जालमा उपसंयोजक स्थानीय विकास अधिकारी र सदस्यमा कृषि विकास कार्यालय, भू–संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, नेपाल खाद्य संस्थान, खाद्य सुरक्षासँग सम्बन्धित कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस, खाद्य सुरक्षासँग सम्बन्धित गैरसरकारी संस्थालगायतका प्रतिनिधि रहने व्यवस्था छ । सञ्जालमा वरिष्ठ कृषि विकास अधिकृत सदस्य सचिवका रुपमा रहने प्रावधान छ । यो तथ्याङ्क नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप) अन्तर्गत ७५ मध्ये (काठमाडौँ बाहेक) ७४ जिल्लामा गठन भएका जिल्ला खाद्य सुरक्षा सञ्जालका बैठकको नतिजामा आधारित छ । सो तथ्याङ्कको विस्तृत विवरण शुक्रबार सार्वजनिक गरिएको हो । कृषि विकास मन्त्रालयले कार्यान्वयन गरिरहेको नेक्सापमा संयुक्त अधिराज्य बेलायत सरकारको सहयोगमा विश्व खाद्य कार्यक्रमले प्राविधिक सहयोग गरिरहेको छ । सर्वेक्षण मूलतः २०७३ साल मङ्सिरदेखि फागुनसम्मको अवधिलाई समेटेर गरिएको हो । जुन आर्थिक वर्ष २०७३÷७४ को दोस्रो त्रैमाासिक अवधि हो । सञ्जालले ती गाविसमा करिब ८७ हजार १०० मानिस उच्चतम् खाद्य असुरक्षित अवस्थामा रहेका र खाद्य तथा गैर खाद्य आवश्यकता पूरा गर्न उनीहरुलाई बाह्य सहायताको आवश्यकता रहेको पनि उल्लेख गरेको छ । चरण– ३ त्यस्तो अवस्था हो जसमा सामान्य अवस्थाको भन्दा खाद्य उपभोग अभाव उच्च हुन्छ र घरधुरीले न्यूनतम खाद्य वस्तुको आवश्यकता परिपूर्ति गर्नका लागि जीवनयापनका साधन द्रुततरगतिमा नगुमाई प्राप्त गर्न सक्दैनन् । सञ्जालले ती जिल्लामा यो अवस्था आउनुका कारणमा बालीनाली उत्पादनको हिसाबले हिउँदयामको रिक्त समय, खाद्य सञ्चितिमा गिरावट भई अल्पकालीन खाद्य अभावको अवस्था हुनु, भौगोलिक दुर्गमता, पशुजन्य र गैरकाष्ठ वन पैदावरबाट हुने आम्दानीमा आएको कमि र धादिङ एवम् गोरखामा भूकम्पले पारेको प्रभावलाई उल्लेख गरेका छन् । त्यस्तै तथ्याङ्कले १४ जिल्लाका थप १८३ गाविस र नगरपालिकालाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण–२) अवस्थामा वर्गीकरण गरेको छ । यसमा परेका गाविसमध्ये तीन चौथाई भन्दा बढी मध्य र सुदूरपश्चिम क्षेत्रका हिमाली र पहाडी जिल्लाका छन् । तथ्याङ्कअनुसार धादिङ र गोरखा जिल्लाका केही पकेटक्षेत्रमा खाद्य असुरक्षाको अवस्था अझै विद्यमान रहेको र मध्य तथा सुदूरपश्चिम क्षेत्रका केही जिल्लामा खाद्य सुरक्षा अवस्था २०७३ साल साउनदेखि कात्तिकको तुलनामा खस्किएको देखिएको छ । समग्रमा सञ्जालले चैत २०७३ देखि असार २०७४ को अवधिमा खाद्य सुरक्षा अवस्थामा सुधार हुने अनुमान गरेका छन् । हिउँदे बाली (गहुँ र जौ) चैत÷वैशाखमा भित्रिएसँगै घरधुरीले आफ्नै उत्पादनबाट खाद्य सञ्चितिको परिपूर्ति गर्नेछन् । पर्याप्त वर्षा तथा आवश्यक मलखाद र बीउविजनको उपलब्धताले गर्दा २०७४ सालको गहुँबाली उत्पादन राम्रो हुने देखिन्छ । गहँुबालीको दोस्रो प्रारम्भिक उत्पादन पूर्वानुमान २०७४ सालका अनुसार यसवर्ष करिब १८ लाख ३४ हजार २१२ मेट्रिकटन उत्पादन हुने देखिन्छ । यो आव २०७२÷७३ को तुलनामा १७ लाख ३६ हजार आठ सय उनन्चास मेट्रिकटन अर्थात् ५ दशमलव ६ प्रतिशतले बढी हो । तथ्याङ्कको प्रक्षेपण अनुसार, २०७३ साल चैतदेखि २०७४ असारको अवधिमा कुनै पनि गाविस गम्भीर खाद्य असुरक्षित (चरण–४) को अवस्थामा वर्गिकृत हुने छैनन् भने उच्चतम खाद्य असुरक्षित (चरण–३) अवस्थामा रहेका गाविसको सङ्ख्या पनि ४८ बाट घटेर ३१ मा झर्नेछ । मध्यमस्तरीय खाद्य असुरक्षित (चरण–२) अवस्थामा रहेका गाविसको सङ्ख्या पनि १८३ बाट १६९ मा झर्ने अनुमान गरिएको छ । सञ्जालले मनसुनी वर्षाका कारण दुर्गम क्षेत्रमा सडक तथा बाटोघाटो बिग्रन गई आपूर्ति व्यवस्थामा पर्नसक्ने सम्भावित प्रभाव बाहेक खाद्य सुरक्षालाई असर पार्ने किसिमका कुनै ठूलास्तरका प्रकोप र विपत्तिका घटनाका बारेमा अनुमान गरेका छैनन् । नेक्सापले हाल मुलुकभर काठमाडौँबाहेक ७४ जिल्लाको नियमित अनुगमन गर्दछ । सञ्जालहरुले एकिकृत खाद्य सुरक्षा चरण वर्गिकरण विधिको प्रयोग गरी प्रत्येक चौमासिकमा खाद्य असुरक्षाको गम्भिरताको वर्गिकरण गरेर त्यसको कारण पनि विश्लेषण गर्दछन् । सामान्यतयाः जिल्ला खाद्य सुरक्षा सञ्जालबाट प्राप्त नतिजालाई कृषि विकास मन्त्रालयको नियमित क्षेत्रीय समीक्षा गोष्ठीबाट प्रमाणित गरिन्छ । नेक्साप परियोजनाको अन्तिम मूल्याङ्कन युरोपियन युनियनले विगत २०१२ देखि २०१६ सम्म सञ्चालन गरिएको परियोजनाको मूल्याङ्कन गर्ने उद्देश्यले एक स्वतन्त्र मूल्याङ्कन टोलीको गठन गरेको छ । परियोजनाका थप साझेदार संस्थामा केन्द्रीय तथ्याङ विभाग, खाद्य तथा कृषि सङ्गठन, संयुक्त राष्ट्र सङ्घीय बालकोष, अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र र कृषि तथा जलवायु अनुसन्धान कार्यक्रम, कृषि तथा खाद्य सुरक्षा रहेका छन् ।

अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ

उदयपुर, असार १० । अमेरिकालगायत अन्य देश पठाउन सक्ने एजेन्ट भएको भन्दै उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आफ्नो स्थायी घरको ठेगानासमेत सत्य, तथ्य नबताएर फरक÷फरक स्थान बताउने र ठगी गर्दै हिँड्ने ३५ वर्षका सुप्पा तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कहिले आफ्नो स्थायी घर नुवाकोट– २ देउराली र कहिले पोखराको लेखनाथ नगरपालिका– ३ बताउने र भारतको हरियानासमेत घर बताउँदै हिँड्ने तामाङले त्रियुगा नगरपालिका– १२ का सानु श्रेष्ठको ज्वाइँलाई विदेश पठाउने भन्दै पहिला रु ३५ हजार पेस्की लिएर अन्य व्यक्तिसमेत खोजी दिन भन्दै ठगी गरेको प्रहरीले बताएको छ । श्रेष्ठले तामाङको गतिविधिमा शङ्का लाग्न थालेपछि प्रहरीमा निवेदन दिएर पक्राउ गराएपछि तामाङ ठग भएको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक दवीप्रसाद फागुले बताउनुभयो । केहि दिनअघि तामाङलाई श्रेष्ठको निवेदनको आधारमा प्रहरीले पक्राउ गरेपछि तामाङको साथबाट अमेरिकाको वाशिङ्टन डिसीको कृतिम परिचयपत्र, विभिन्न देशको कृतिम आवासीय परिचयपत्र र तारा एयरलाइन्सको कर्मचारीको कृतिम परिचयपत्र समेत पाइएको प्रहरीले जनाएको छ । हाल तामाङलाई अनुसन्धानपछि ठगी सम्बन्धित कानुनी कारबाही सुरु गरिसकिएको प्रहरीले बताएको छ ।

आठ जिल्लाका भूकम्पपीडितलाई ट्याक्सीको नम्बर प्लेट वितरण कार्य सकिँदै

काठमाडौं असार ९ । ८ वटा जिल्लाका ४ सय ९७ जना भुकम्पपीडितलाई सरकारले शनिबार ट्याक्सीको नम्बर प्लेट वितरण गर्दैछ । यातायात ब्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार शनिबार काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका पीडितलाई कोटाअनुसार ट्याक्सीको नम्बर प्लेट वितरण गरिने भएको छ । हिजो सिन्धुपाल्चोकका २ सय ५३, दोलखाका २ सय १४ र सिन्धुलीका ४६ गरी ५ सय १३ पीडित परिवारलाई ट्याक्सीको नम्बर प्लेट वितरण गरेको विभागले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष साउन भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी किन्न आवेदन माग गरेको थियो । १ हजार ५ सय ट्याक्सीका लागि १ लाख ४८ हजारभन्दा बढी आवेदन परेको विभागले जनाएको छ ।

निर्वाचनमा हेलिकप्टरबाट सुरक्षा गस्ती

तुलसीपुर (दाङ), असार १० । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिए ।

नाम एउटै, ठाउँ बेग्लाबेग्लै

काठमाडौं, असार १० ।  त्रिपुरासुन्दरी नामको नगरपालिका डोल्पामा छ । त्रिपुरासुन्दरी नामकै गाउँपालिका धादिङ र सिन्धुपाल्चोकमा पनि छ । बागमती नगरपालिका महोत्तरीमा छ, सोही नाममा लतिलपुरमा र मकवानपुरमा गाउँपालिका छन् । त्रिपुरासुन्दरी र बागमती मात्रै होइनन, त्रिवेणी नगरपालिकाका रुपमा बाजुरामा छ भने सीमा जोडिएका रुकुम र सल्यानमा गाउँपालिकाका रुपमा छन् । ललितपुरमा जस्तै कैलालीमा पनि नगरपालिकाको नाम गोदावरी राखिएको छ । मायादेवी गाउँपालिका सिमाना जोडिएका दुई जिल्ला कपिलवस्तु र रुपन्देहीमा छन् । कालिकोटमा भएको कालिका गाउँपालिका पर्सामा पनि छ । रसुवामा पनि कालिका गाउँपलिका छ ।मुलुकभरिका ७४४ स्थानीय तहमध्ये नाम जुधेका दर्जनभन्दा बढी छन् । ललितपुरमा र धनकुटामा महालक्ष्मी नगरपालिकाको नाम जुधेको छ । लिखु गाउँपालिका पनि ओखलढुंगा, नुवाकोट र रामेछाप तीनवटै जिल्लामा छ । काठमाडौंमा तारकेश्वर नगरपालिका र नुवाकोटमा तारकेश्वर गाउँपालिका छ, अन्नपूर्ण पोस्टमा खबर छ ।  

प्रधानमन्त्रीका गाउँलेका कुरा: देउवाले देश बनाउन्या हुन्, हाम्ले गाउँ

काठमाडौं, १० असार ।  प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो । चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका माओवादी अध्यक्ष उम्मेदवार ईश्वरीदत्त भण्डारी आफूले पाउन सक्ने मतको हिसाब निकाल्दै थिए । यो वडामा २ हजार ८ सय मतदाता छन् । साविकको असिग्राम गाविस अहिले गाउँपालिका भइसकेको छ । यही असिग्राम गाउँको खोलापारि मटेलामा देउवाको पुख्र्यौली घर छ । देउवाका आफन्त त्यही बस्छन् ।डडेल्धुरा जिल्लाको यही गाउँपालिका वडा नम्बर १ मटेलामा हो, प्रधानमन्त्री देउवाको गाउँ । यो गाउँपालिकामा माओवादीका अध्यक्ष पदका प्रत्याशी भण्डारीले देउवाको वडाको हिसाब–किताब गर्दै थिए । गाउँलेहरु देउवा देश बनाउन लागेको र आफूहरु गाउँ बनाउन लागिपरेको बताउँछन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

नारायणगढ–मुग्लिङ सडक : राष्ट्रिय राजमार्ग दिनमा ६ घन्टा अवरोध

चितवन, असार १०  । नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति कार्य गत चैतमै सकिनुपर्ने थियो, तर अहिलेसम्म आधा मात्र काम भएको छ । दिनमा ६ घन्टासम्म अवरोध गरेर, दशौँ हजार यात्रुलाई अलपत्र पारेर निर्माण भइरहेको सडकमा जम्मा ५० कामदार कार्यरत छन् । राजधानीबाट पूरै देशलाई जोड्ने यो नै मुख्य सडक हो । स्तरोन्नतिमा ढिलाइ हुँदा दिनमा हजारौँ यात्रुले सास्ती बेहोर्नुपरिरहेको छ । यो सडकको स्तरोन्नति १० असार ०७२ मा सुरु भएको थियो । अहिलेसम्म आधा काम भएको छ, तर आगामी चैतमा सक्ने नयाँ लक्ष्य छ । सडक जम्मा ३३ किलोमिटर, ठेकेदार नेपाल र भारतका नारायणगढ–मुग्लिङ (स्तरोन्नतिसहित) सडकखण्डको कुल लम्बाइ ३३ किलोमिटर छ । सडकलाई तीन भागमा विभाजन गरेर विस्तार र स्तरोन्नति गरिँदै छ । पहिलो साढे १० किलोमिटर सडकको विस्तार भारतको बिएलए ग्रुप र नेपालको श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडाले गरिरहेका छन् । त्यस्तै, बीचको साढे १० किलोमिटरमा भारतको उडहिल कम्पनी र नेपालको लामा कन्स्ट्रक्सन संलग्न छन् । अन्तिम १२ किलोमिटरको काम भने भारतको सुप्रिम कन्स्ट्रक्सन र नेपालको रौटाहा कम्पनीले गरिरहेका छन् । तीनवटै खण्डमा भारत र नेपालका एक–एक निर्माण कम्पनीको ‘ज्वाइन्ट भेन्चर’मा सडक स्तरोन्नति भइरहेको छ । यति सुस्त गतिमा काम भइरहे पनि आयोजना प्रमुख चन्द्रनारायण यादवले भने निर्माण कम्पनीहरूले सन्तोषजनक काम गरिरहेको बताए । तर, उनका अनुसार नै अहिले यस सडकखण्डमा करिब ५० कामदार कार्यरत छन् । मंसिर–पुस(सिजन)मा भने दुई सय जनासम्म पुग्ने गरेको उनले जानकारी दिए । आयोजनामा डोजर तथा एक्साभेटर २१ वटा, ट्रिपर २४ वटा, ग्रेडर ६ वटा र रोलर ७ वटा प्रयोग गरिएको छ । ०७२ मा भएको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा निर्माणमा ढिलाइ भएको नारायणगढ–मुग्लिङ सडक आयोजना प्रमुख यादवको भनाइ छ । ‘यसबाहेक आयोजना विस्तारका लागि आवश्यक कामदार, कच्चा पदार्थ (ढुंगा, गिट्टी र बालुवा) अभाव तथा जग्गा प्राप्ति समयमा नहुँदा पनि ढिलाइ भएको हो,’ उनले भने ‘अर्कोतिर अप्ठ्यारो ठाउँमा एकैपटक धेरै कामदार परिचालन गर्न पनि नसकिने अवस्था छ।’ नयाँ पत्रिकामा खबर  छ ।  

चुनावी झडप रोक्न हवाइ फायर, २० जना घाइते

बझाङ,  असार १० ।  बित्थड चिर गाउँ पालिकाको कुनकुडामा कांग्रेस र एमाले समर्थकबीच झडप भएको छ । झडपमा दुवै पक्षका २० जनाभन्दा बढी घाइते भएका छन् । सुनकुडा क्याम्पसमा कांग्रेसको चुनावी शभा भइरहेको बेला एमालेको मोटर साइकल र्याली पुगेपछि झडप भएको हो । प्रहरीले हवाइ फायर गरेपछि स्थिति नियन्त्रणमा आएको कान्तिपुरमा खबर छ ।

सामूहिक बलात्कार गर्ने चार युवक पक्राउ

गौशाला, असार ९ । महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ मा एक युवतीलाई सामूहिक बलात्कार गरेका चारजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिल साह, २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पञ्जियार र २० वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । गत जेठ २८ गते राति करिब ८ बजेको समयमा औरही बजारबाट फुल्बरिया गाउँतिर एक्लै जाँदै गरेकी २१ वर्षीया एक युवतीलाई औरही बजारदेखि ९०० मिटर आँपको बगैँचामा ढुकेर बसेका चारैजना युवाले रोकेर खेतमा लगी पालैपालो जबर्जस्ती करणी गरेको प्रहरी उपरीक्षक लम्सालले बताए । सामूहिक बलात्कारमा संलग्न युवा सुनिल साहलाई प्रहरीले घटनाकै राति करिब १० बजे समातेको थियो भने अन्य तीनजना युवा फरार रहँदै आएकामा बिहीबार उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक लम्सालले बताए । सामूहिक बलात्कारमा संलग्न चारैजना युवालाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी जबरजस्ती करणी मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक लम्सालले बताए । घटना घटेलगत्तै प्रहरीले उद्धार गरेको पीडित युवतीलाई स्वास्थ्य उपचार गराई अभिभावकको जिम्मा लगाइएको र उनको अवस्था ठीक रहेको प्रहरीले जनाएको छ । रासस

घुस लिँदै गर्दा राजस्व अधिकृत पक्राउ

काठमाडौँ, असार ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा राजस्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई नियन्त्रणमा लिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले रु पाँच लाख ७० हजार घुस रकमसहित दुबैजनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । व्यापारीबाट नियन्त्रणमा लिइएका करलगायतका कागजात मिलाइ दिने प्रयोजनका लागि उनीहरुले घुस रकम माग गरेका थिए । नियन्त्रणमा लिएका दुबै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

विद्युतिय संरचना भूमिगत गरिँदै

काठमाडौँ, असार  ९ । काठमाडौँ उपत्यकाको सहरी सौन्दर्य बिगार्ने प्रमुख कारकका रुपमा रहेका विद्युतीय संरचना क्रमशः भूमिगत हुने भएका छन् । सरकारले सहरी सौन्दर्य बढाउने र विद्युतीय संरचनालाई क्रमशः भूमिगत गरेर सुरक्षित रुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ सो कार्ययोजना अगाडि बढाएको हो । संसारका धेरै जसो देशमा विद्युत् वितरण प्रणाली भूमिगत नै राखिएको छ । दुर्घटना कम गर्न र सहरी सौन्दर्य बढाउने लक्ष्यका साथ लामो समयदेखि चर्चा भए पनि काम अगाडि बढ्न नसकेको सन्दर्भमा पछिल्लो पटक ऊर्जा मन्त्रालयले पाइलट प्रोजेक्टका महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको विद्युतीय संरचना भूमिगत गर्न लागेको हो । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा विद्युत् प्रसारण वितरण कार्यदक्षता अभिवृद्धि आयोजनाअन्तगर्त विद्युत् प्रणाली भूमिगत गर्न लागेको हो । काठमाडौँ उपत्यकाभित्र महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको ११ केभी र ४०० भोल्ट विद्युतीय संरचना भूमिगत गर्न लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ । यस्तै एसियाली पूर्वाधार लगानी बैंकले समेत काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीको सुधार परियोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एसियाली पूर्वाधार लगानी बैंकले सो परियोजनामा रु १० अर्ब लगानी गर्ने प्रतिवद्धता जनाउनुभएको छ । विगत दुई दशकदेखि काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार हुननसक्दा प्राविधिक चुहावट बढेको, दुर्घटना तथा अन्य जोखिम बढेको र सहरी सौन्दर्यमा समेत समस्या उत्पन्न भएपछि सरकारले दातृ निकायको सहयोगमा विद्युत् वितरण प्रणालीमा सुधार गर्ने कार्ययोजना अगाडि बढाएको हो । विद्युतीय संरचना भूमिगत गर्नेलगायत क्षमता वृद्धि गर्ने कार्य समन्वयात्मक रुपमा अगाडि बढाउन गत वैशाख ३ गते नै तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले आवश्यक निर्णय गर्नुभएको थियो । मन्त्रिस्तरीय निर्णयका आधारमा ऊर्जा सचिव अनुपराज उपाध्यायको अध्यक्षतामा यही असार ६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विद्युतीय संरचना भूमिगत गर्न समन्वय समिति गठन गरेको छ । सो समितिमा राष्ट्रिय योजना आयोग, सहरी विकास मन्त्रालय, गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा सञ्चार, खानेपानी तथा सरसफाइ, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि रहनेछन् । सो समितिले वितरण प्रणाली सुदृढीकरण तथा विद्युतीय संरचना भूमिगत गर्न सडक खन्ने कार्य, भूमिगत कार्य सम्पन्न भएपछि सडकको मर्मत तथा कालोपत्र गर्ने कार्य सम्बन्धित आयोजनाले सडकको प्रचलित मापदण्ड बमोजिम गराउने र सो कार्यको प्राविधिक समन्वयको लागि सम्बन्धित निकाय संलग्न रहने गरी एक उपसमिति गठन गर्ने निर्णय भएको ऊर्जा मन्त्रालयका सहप्रवक्ता सागरराज गौतमले जानकारी दिनुभयो । सहप्रवक्ता गौतमले काठमाडौँको सहरी सौन्दर्य बढाउन, दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढेको जानकारी दिँदै विद्युतीय संरचना भूमिगत गर्ने कार्य जटिल भए पनि समयको आवश्यकता रहेको बताउनुभयो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले सबै प्राविधिक प्रक्रिया पूरा गरेर आगामी एक वर्षभित्र विद्युतीय संरचना भूमिगत गर्ने कार्य प्रारम्भ हुने बताउनुभयो । भारतमा सरकारी स्वामित्वको पावर ग्रिड कर्पोरेसनले पछिल्लो समय विद्युतीय संरचना भूमिगत गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाएको छ । चीन, अमेरिकालगायतका देशमा समेत विद्युतीय प्रसारण तथा वितरण प्रणाली भूमिगत गरिएको छ । रासस

काठमाडौंका ४१ स्थानमा पिसाब घर बन्ने

  काठमाडौँ, असार ९ । काठमाडौँ महानगरपालिकाले विभिन्न ४१ स्थानमा पिसाब घर ९युरिनल० निर्माण गर्ने भएको छ । महानगरभित्र रहेका सार्वजनिक शौचालय अव्यवस्थित तथा फोहर भएर यात्रुले प्रयोग गर्न सक्ने स्थिति नरहेकाले महानगरपालिकाले व्यवस्थित र सफा शौचालय निर्माणको तयारीस्वरुप ४१ स्थानमा युरिनल निर्माण गर्न लागेको हो । महानगरपालिकाको कार्यभार सम्हाल्नुभएको केही दिनमै ‘क्लिन द सिटी’ अभियान सुरु गर्नुभएको महानगर प्रमुख विद्या सुन्दर शाक्यले अहिले व्यवस्थित शौचालय निर्माणको तयारी थाल्नुभएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । सडक यात्रुलाई लक्ष्य गर्दै चोकचोकमा युरिनल बनाउन लागिएको प्रवक्ता कार्कीको भनाइ छ । युरिनल निर्माणका लागि दुईवटा कम्पनीले आवेदन दिएका छन् । अहिले ती आवेदनको अध्ययन भइरहेका छ । कार्कीका अनुसार आवेदन दिएका कम्पनीहरुको अनुभव, कार्यदक्षतालगायतका पक्षको मूल्याङ्कन पछि उपयुक्त ठहरिएको कम्पनीलाई सो कामको जिम्मेवारी दिइने छ । महानगरपालिकाले उपत्यकाभित्र सार्वजनिक शौचालय निर्माणार्थ १०० स्थानमा सम्भाव्यता अध्ययन गरेको छ । घुम्ती शौचालय अव्यवस्थित र फोहर रहेको पाइएपछि हालै महानगरपालिकाले यस्ता शौचालय हटाएको थियो । यस्तो शौचालयको विकल्पमा महानगरपालिकाले १०० भन्दा बढी सार्वजनिक शौचालय निर्माणको तयारी थालेको हो । रासस

निर्वाचनसम्मलाई मदिरा प्रतिवन्ध

कञ्चनपुर, असार ९ । कञ्चनपुरका ६६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएको हुनाले त्यस क्षेत्रमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा मदिरा बिक्री वितरण, सेवन र ओसारपसारमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर दाहालले बताए । आपराधिक गतिविधि हुन सक्ने सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रका रुपमा रहेका छन् । असार ८ देखि १८ गतेसम्म मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध लगाउने जिल्लास्थित सर्वदलीय बैठकले निर्णय गरेको छ । यस अवधिमा मदिराको बिक्री वितरण, ओसारपसार र सेवन गरेको पाइए कानुन बमोजिम हदैसम्मको कारबाही हुने बताइएको छ । निर्वाचनमा हुन सक्ने अवाञ्छित क्रियाकलाप रोक्नका लागि मदिराको कारोबारमा प्रतिबन्ध लगाइएको हो ।

वर्षाका कारण घर भत्कियो

धुलिखेल, असार ९ । मुसलधारे पानी परेका कारण काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं ५ का डोल्मो लामाको घर आज भत्किएको छ । बिहीबार राति परेको मुसलधारे पानीले घरको जगसम्म भिजेर माटो गलेका कारण घर भत्किएको पीडित लामाले बताएका छन् । “राति ठूलो पानी परेर घरको जगसम्म पानीले भिजेर गलेको रैछ, बिहान घर ढल्न थालेको भन्दै गाउँले सबैलाई टेको थाप्नका लागि सहयोग गर्नुप¥यो भन्दै बोलाउनुभएको थियो” – स्थानीय काल्साङ लामाले भन्नुभयो – “हामी पुग्दा घर भत्किसकेको रहेछ ।” लामाकाअनुसार घर भत्किँदा अन्नपात र भाँडाकुँडा सबै पुरिएको छ । घरको एकपट्टिको सबै भाग भत्किएका कारण करिब रु तीन लाख बराबरको क्षति भएको लामाले बताउनुभयो । रासस