सभापति देउवाले गरे कांग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन

गण्डकी । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन गरेका छन्। सभापति देउवाले पोखरा सभागृहमा प्रदेश सम्मेलनको उद्घाटन गरेका हुन्।

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारी उपस्थित छन्। बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।

सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताएका छन्।

श्रीलंकाका विदेश मन्त्री नेपाल आउँदै

काठमाडौं । श्रीलंकाका विदेश मन्त्री नेपाल भ्रमणमा आउने भएका छन्। विदेश मन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउन लागेका हुन्। उनी यही डिसेम्बर २० तारेखमा नेपाल आएर डिसेम्बर २२ मा फर्कने तालिका रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। नेपाल(श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेश मन्त्री साब्री नेपाल आउन लागेका हुन्।

कामको गति बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको गति बढाउन र नतिजा निस्कने गरी प्रभावकारी कार्य सम्पादन गर्न मुख्यसचिव र सचिवहरूलाई निर्देशन दिएका छन् । विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कामको गति बढाउन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले मुख्यसचिव डा वैकुण्ठ अर्याल र सचिवहरूलाई निर्देशन दिएका हुन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव र सचिवहरूलाई आवश्यक निर्देशन दिँदै नतिजामुखी काम गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘प्रधानमन्त्री कार्यालयका मुख्य डा बैकुण्ठ अर्याल र सबै सचिवलाई राखेर उहाँले अब कामको गति बढाउन भनेर भन्नुभएको छ’, आचार्यले भने, ‘कतिपय गर्न भनेका कामहरू पनि भएनन् । मन्त्रीलाई दिएका निर्देशन र निर्णय पनि पालना भएनन् । कामको गियर बढाउनुस् भनेर भन्नुभएको छ ।’ उनले आफूले पनि कामको गति बढाउने र त्यसका लागि १० बजे नै कार्यालय आएर काम सुरु गर्ने पनि उनको भनाइ थियो । सोही अनुसार मंगलबार प्रधानमन्त्री १० बजेअघि नै सिंहदरबारमा पुगेको आचार्यको भनाइ छ । प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोहीअनुसार आगामी साता सरकारको एक वर्ष पुग्दै छ । आफूले सत्ता सम्हालेको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्नेबारे छलफल भइरहेको समेत आचार्यले जानकारी दिए ।

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

रामेछाप । लिखुतामाकोशी गाउँपालिका–७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए । पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए । प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि यौन दुर्व्यवहार गरेका थिए ।

स्वास्थ्य बिमामा को–पेमेन्ट लागु गरिदै

काठमाडौं । स्वास्थ्य बिमाका बिरामीले लागत साझेदारी (को–पेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले आगामी १ माघदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी को–पेमेन्ट गर्न लागेको हो । बोर्डका अध्यक्ष डा.गुणराज लोहनीका अनुसार बिमा लागू भएका सबै अस्पतालमा को–पेमेन्ट लागू गर्न लागिएकोह हो । सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुने उनको भनाइ छ । बिमाको रकम बाँकी रहेको भन्दै बिमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि चिकित्सकलाई दबाब दिने गरेका छन् । को–पेमेन्ट लागू भएसँगै दबाब कम हुने अपेक्षासमेत गरिएको छ । को–पेमेन्ट लागू भएसँगै आवश्यकताअनुसार थप निजी अस्पताललाई समेत बिमामा समावेश गरिँदै छ । ‘उसले राज्यको आर्थिक भारलाई केही कम गर्छ । थप सेवा कहाँ आवश्यक छ हेरेर निजी र सामुदायिकलाई पनि दिने निर्णय गर्छौँ,’ उनले भने । उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, दमजस्ता रोगको नियमित खानुपर्ने औषधि तीन महिनाका लागि एकैपटक दिने व्यवस्था गरिएको लोहनीले जानकारी दिए । नेपालमा ३० लाख हाराहारी परिवार स्वास्थ्य बिमामा जोडिएको उनको भनाइ छ । ०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बिमा बोर्डले सञ्चालन गर्दै आएको छ । स्वास्थ्य बिमा ऐन, २०७४ जारी भई स्वास्थ्य बिमा नियमावली २०७५ समेत पारित भएर कार्यान्वयनमा आएको छ ।

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रबारदेखी सुरु भएको सुनुवाइ सोमबार सकिएसंगै अब उनीहरूको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो । न्यायपरिषद्को ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

मेरिटोक्रेसीका आधारमा उपकुलपति नियुक्त गर्छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वविद्यालयहरूमा हुने राजनीतिक नियुक्तिहरूमा राजनीतिक भागबण्डाको अन्त्य गरी मेरिटका आधारमा पदाधिकारीहरू नियुक्त गर्ने बताएका छन् । सोमबार दिउँसो त्रिपुरेश्वरमा आयोजित त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो घोषणा गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने“आजको यो दिक्षान्त समारोह नेपालको इतिहासमा मात्रै ऐतिहासिक बनेन, विश्व इतिहासमा नै दिक्षान्त समारोहको तमाम श्रृङ्खलामा एउटा रेकर्ड हुन गयो। म आज यस अवसरमा त्रिभुवन विश्व विद्यालयबाट नै राजनीतिक भागभण्डाको अन्त्य गर्ने मेरिटको आधार भिसी लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता तपाईहरूको अगाडि व्यक्त गर्दछु।” प्रधानमन्त्रीले अगाडि भने, “यसका निम्ति खुला प्रतिस्पर्धामा आउन देशभित्र र विश्वभरि रहेका विज्ञ नेपालीहरूलाई विशेष आव्हान पनि गर्दछु। राजनीति दलहरूलाई त्रिभुवन विश्वविद्यालयमा भागबण्डा होइन मेरिटको आधारमा नियुक्ति हुनका लागि अग्रसर हुन अपील गर्दछु।”

त्रिविको ४९ औं दीक्षान्त समारोह आज, एकैपटक धेरै विद्यार्थी दीक्षित हुनेमा वर्ल्ड रेकर्डलाई आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह सोमबार हुँदैछ। ७३ हजार सात सय ४९ जना विद्यार्थीमध्ये यसपालि दीक्षित हुनका लागि १२ हजार चार सय १५ जनाले फारम भरेका छन्। त्रिविले यसपटक दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने भएको छ।यसअघि पुल्चोक क्याम्पसमा दीक्षान्त समारोह हुँदै आएको थियो। ठाउँ साँघुरो भएकाले त्रिविले रंगशालामा दीक्षान्त समारोह आयोजना गरेको हो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरिक हुने कार्यक्रम रहेको छ । एकैपटक धेरै विद्यार्थी दीक्षित हुने भएकाले त्रिविले यसपटक गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा पनि आवेदन दिएको छ। त्यसका लागि गिनिज बुकका प्रतिनिधिहरू काठमाडौं आएका छन्। यसैबीच दीक्षान्त समारोहमा सहभागी हुने सभासद्, प्राध्यापकरकर्मचारी, अतिथि, अभिभावक र दीक्षित हुने विद्यार्थीहरूको सवारीसाधन व्यवस्थापनका लागि छुट्टाछुट्टै ठाउँ तय गरेको छ। पूर्व र उत्तर रूटबाट आउने सम्पूर्ण सवारीसाधनलाई टुँडिखेलमा पार्किङ गर्न भनिएको छ। त्रिपुरेश्वर कालीमाटी रूटबाट आउने सवारी साधनहरूलाई विश्व निकेतन स्कुलमा पार्किङको व्यवस्था गरिएको छ। पुल्चोकबाट आउने सवारीसाधनहरूलाई वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा पार्किङको व्यवस्था मिलाइएको छ। त्रिभुवन विश्वविद्यालयका पदाधिकारी एवं कर्मचारीहरूका लागि राष्ट्रिय खेलकुद परिषद्को कार्यालय परिसरभित्र पार्किङको बन्दोवस्त गरिएको छ।

यस्तो रहनेछ काठमाडौंको मौसम

काठमाडौं । काठमाडौंमा आज दिनभर मौसममा बदली हुनेछ । घाम लाग्ने र बदली हुने क्रम दिनभर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा आज बिहान ५ : ४५ बजेको तापक्रम ७.८ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १७ देखि १९ डिग्री सेल्सियससम्म रहने छ । काठमाडौंसँगै कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । कर्णाली र सदूरपश्चिम प्रदेशमा भने मौसम सफा रहनेछ ।

सकियो एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा

काठमाडौं । नेकपा एमालेल मंसिर १४ गते देखि सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सकिएको छ । आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको सिक्किमसँग जोडिएको पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झन्डा फहराएर यात्रा टुँग्गाएका हुन् । यसअघि मंसिर १४ गते ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएरै यो अभियानको थालनी गरेका थिए। आइतबार फिदिमबाट हेलिकप्टरमा चिवाभञ्ज्याङ पुगेका ओलीले सीमाक्षेत्रमा नेपालको झन्डा फहराएसँगै संकल्प यात्रा टुंगिएको हो। यात्रामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित थिए। बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन भएको हो। पाँचथरको यो भञ्ज्याङ भारतको सिक्किमसँग जोडिएको छ।

भारत र ओमानबीच आर्थिक अपराधविरुद्धको सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली । भारत र ओमानबीच आर्थिक अपराधविरुद्धको सम्झौतामा हस्ताक्षर भएको छ । ओमानका सुल्तान हैथम बिन तारिक अलको राजकीय भ्रमणका क्रममा शनिबार भारत र ओमानले संस्कृति, सूचना प्रविधि (आईटी) र वित्तीय अपराधविरुद्ध लड्ने विभिन्न क्षेत्रमा पारस्परिक सहयोगका निम्ति सम्झौतामा हस्ताक्षर गरेका छन् । भारत भ्रमणमा रहेका सुल्तानले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा दुई नेताबीच आपसी हितका विषयमा छलफल भएको बताइएको छ । द्विपक्षीय वार्तापछि दुई नेताबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ । दुवै पक्षले ओमान–भारत संयुक्त लगानी कोषको ३०० मिलियन अमेरिकी डलरको तेस्रो किस्ताको घोषणा गरेका छन् । सो कोष भारतीय अर्थतन्त्रको द्रुत वृद्धि हुने क्षेत्रमा लगानीलाई अगाडि बढाउन प्रयोग गरिनेछ । ओमानका सुल्तान तारिक शुक्रबार दिल्ली आइपुगेका हुन् । रासस/सिन्ह्वा

उच्च अदालतमा पुस ८ गतेपछि अटोमेसनको पूर्णाभ्यास गरिने

काठमाडौं । उच्च अदालतमा आजदेखि अटोमेसनमा पेसी तारिखको अभ्यास थालिएको छ । आजदेखि पेसी तारिख ओमेसनको अभ्यासका लागि गृहकार्य भएपनि प्राविधिक तयारी पुरा नहुँदा पूर्णाभ्यासका लागि पुस ८ गतेको समय तोकिएको छ । सर्वोच्चबाट पाइलट प्रोजेक्टका रूपमा अभ्यास थालिएको पेसी तारिख अटोमेसन चार महिनाको अभ्यासपछि उच्चमा गर्न लागिएको हो । सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यास सुरु भएको थियो । प्रधानन्यायाधीश नियुक्त भएको केही दिनमै विश्वम्भरप्रसाद श्रेष्ठले पेसी तारिख अटोमेसनमा तोक्ने प्रविधिको आरम्भ गरेका थिए । प्रधानन्यायाधीश श्रेष्ठले गत भदौमा पेसी तारिख ‘अटोमेसन’मा तोक्ने थालनी गर्दा नै सर्वोच्चमा पाइलट प्रोजेक्टमा सुरु भएको अभ्यास विस्तारित गर्दै लैजाने बताएका थिए । उनले पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यासले नागरिकमा न्यायालयप्रतिको विश्वास बढेर जाने विश्वास व्यक्त गरेका थिए । प्रविधिले विभेद नगर्ने र त्यो विश्वास सर्वसाधारणमा समेत पुग्दा सेवाग्राहीको न्यायालयप्रतिको विश्वास बढ्ने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलद्धारा विवाह पञ्चमीको शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको बताएका छन् m। विवाह पञ्चमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका हुन् । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको स्मरण समेत गरेका छन् । राष्ट्रपति पौडेलले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामना गरे । उनले मौलिक संस्कृतिको संरक्षण एवं संवर्द्धन गरी सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन विवाह पञ्चमीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।  

ऋण माग्दै कृषि तथा पशुपन्छी मन्त्रालयमा डिडिसीको निवेदन

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन कृषि तथा पशुपन्छी मन्त्रालयमा निवेदन दिएको छ । दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण लामो समयदेखि किसानको भुक्तानी गर्न नसकेको डिडिसीले सो भुक्तानीका लागि ऋणको आवश्यकता रहेको भन्दै कृषि मन्त्रालयमा निवेदन दिएको छ । डिडिसीका महाप्रबन्धक सञ्जीव झाका अनुसार डिडिसीसँग ७२ करोड रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको जानकारी कृषि मन्त्रालयलाई जानकारी गराएको छ । मौज्दात रहेको दुग्ध पदार्थ धरौटी राखेर ऋण उपलब्ध गराइदिन आग्रह गरिएको उनले बताए । त्यसबापत कम्तीमा ३० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराइदिन आग्रह गरिएको महाप्रबन्धक झाले बताए । केही दिनपहिले कृषिमन्त्री डा। वेदुराम भुसालले डेरी उद्योगीसँग छलफल गर्दै मौज्दातका आधारमा आफूले सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने र त्यसका लागि मौज्दातको तथ्याङ्क मन्त्रालयलाई उपलब्ध गराउन आग्रह गरेका थिए । डेरी उद्योगीसँग मौज्दात रहेको दुग्ध पदार्थ बैङ्कमा धरौटी राखेर ऋण उपलब्ध गराउन पहल गर्ने मन्त्री भुसालले आवश्वासन दिएका थिए। आग्रह गरेको दुई महिनाभन्दा बढी भइसक्यो तर हालसम्म निजी क्षेत्रका डेरी उद्योगीले तथ्याङ्क उपलब्ध नगराएको कृषि मन्त्रालयले जनाएको छ । डिडिसीबाहेकका कुनै पनि उद्योगीले मौज्दातको अवस्थाबारे तथ्याङ्क उपलब्ध नगराएको कृषि मन्त्रालयका एक अधिकारीले बताए। डिडिसीले मात्र किसानलाई भुक्तानी गर्न ७० करोड रुपियाँ बाँकी रहेको छ भने निजी क्षेत्रका कतिपय उद्योगीले पनि किसानको भुक्तानी दिएका छैनन् । किसानको भुक्तानी दिन कृषिमन्त्रीले उद्योगीलाई पटक पटक आग्रह गर्दै आएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन : दललाई आज चुनाव चिह्न प्रदान गर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको थियो । दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

सबै दल कूटनीतिक मर्यादाप्रति संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वैदेशिक हस्तक्षेप भए राष्ट्रिय सुरक्षामा चुनौती आउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकलनगरमा पार्टीनिकट राष्ट्रिय हित सुरक्षा विभागका प्रमुख पुष्पाकुमारी कर्ण नेतृत्वको टोलीले बुझाएको सुरक्षासम्बन्धी अवधारणापत्रसहितको दस्तावेज बुझेपछि अध्यक्ष नेपालले देशको स्वतन्त्रता तथा अखण्डतामा आँच आउन नदिन सबै दल कूटनीतिक मर्यादाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए । राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर छिमेकी मुलुकसँग पारस्परिक हितका पक्षमा कार्य गर्नुपर्ने बताउँदै उनले असंलग्न पञ्चशीलका आधारमा कूटनीतिक सम्बन्ध विकास गर्नुपर्ने बताए । विभागले राष्ट्रहित तथा सुरक्षाका निम्ति अवलम्बन गर्नुपर्ने महत्त्वपूर्ण नीति तथा कार्यक्रमलाई विभिन्न बुँदामा समावेश गरेर अवधारणासहितको दस्तावेज तयार पारेको हो । उक्त दस्तावेजमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्दै विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई सुझाइएको छ । नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षाका साथै आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गरी समतामूलक समाज निर्माण गर्न दस्तावेजले सहयोग गर्ने विभागका अध्यक्ष कर्णले जानकारी दिए । विभागले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, कूटनीति र परराष्ट्र नीतिका सम्बन्धमा, छिमेकी र अन्य मित्रराष्ट्रबीचको सम्बन्धमा, राष्ट्रिय हित, विकासका सम्बन्धमा र गैरआवासीय नेपालीका सम्बन्धमा महत्त्वपूर्ण सुझाव अवधारणापत्रमा समावेश गरिएको छ । रासस