लाइनमा बसेको बेला मतदाताको मृत्यु

दमक, असार १४ । मतदानका लागि लाइनमा बसेको अवस्थामा एक मतदाताको मृत्यु भएको छ ।

दमक नगरको सरस्वती मावि केन्द्रमा मतदान गर्न लाइनमा बसेका ८२ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको हो ।

नुहाउने क्रममा बेपत्ता

चितवन, असार ११ । नारायणी नदीमा डुबेर भरतपुर महानगरपालिका– २६ का १८ वर्षीय विशाल गुरुङ आज बिहान बेपत्ता भएका छन् । भरतपुर– १६ स्थित भङ्गेरी कटेजमा काम गर्ने गुरुङ बिहान ११ः३० बजे नुहाउन जाँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सांसद लिम्बूको निधन

काठमाडौँ, असार ११ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बूको अर्बुद रोगका कारण गए राति धरानमा निधन भएको छ । धनकुटास्थित साबिकको बूढीमोरङ गाविस– २, तुमबारीमा बुबा रविलाल याखा र आमा धनरानीबाट विसं २०१४ चैत ११ गते जन्मिनुभएकी लिम्बू त्यस क्षेत्रमा लोकप्रिय हुनाका साथै पार्टीकी प्रतिबद्ध नेत्री हुनुुहुन्थ्यो । विसं २०४९ मा उक्त गाविसको उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष निर्वाचित भएर जनताको सेवा गर्नुभएकी लिम्बूले २०५५ सालमा गाविस राष्ट्रिय महासङ्घको अध्यक्ष निर्वाचित भई देशभरका गाविसलाई नीतिगत नेतृत्व प्रदान गर्नुभएको थियो । विसं २०५३ देखि २०६१ सम्म तीन कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य र २०६२ मा कोसी अञ्चल समन्वय कमिटी सदस्य भएर पार्टीको जिम्मेवारी पूरा गर्नुभएकी लिम्बू २०६५ सालमा आठौँ राष्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य र २०७१ मा नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बन्नुभएको थियो । अखिल नेपाल महिला सङ्घका विभिन्न कमिटीमा रहेर काम गर्नुभएकी महिनले केन्द्रीय कमिटीको सचिव भएर पनि काम गर्नुभएको थियो । उहाँका पति, दुई छोरा र एक छोरी हुनुहुन्छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आजै बिहान धरान पुगेर दिवङ्गत लिम्बूको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि दिनाका साथै शोकसन्तप्त परिवारजनलाई समवेदना दिनुभएको छ । उहाँको आजै धनकुटाको मूलघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ । एमालेका महासचिव ईश्वर पोखरेलले आज शोक विज्ञप्ति जारी गरी लिम्बूको निधनबाट पार्टीले एक अनुभवी, अनुशासित र भरपर्दो नेता मात्र गुमाएको नभई जनताले असल जनसेवी अभिभावक गुमाएको जनाउनुभएको छ ।

अवैध काठ ओसारपसारमा संलग्न तीन पक्राउ

मेलम्ची, असार ११ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट अवैध काठ निर्यात गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । गएराति लुकाइ छिपाइ काठमाडौँ लैजाँदै गरेको एकसय क्युफिट काठसहित बा४ख २२७६ नं को मिनीट्रक इप्रका, मेलम्चीले नियन्त्रणमा लिएको हो । बिना इजाजतपत्र अवैध रूपमा काठ ओसारपसार गर्ने मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ट्रक चालक वीरबहादुर पाख्रिन, सहचालक रामकृष्ण रोक्कासहित सन्दीप रोक्का पक्राउ परेका हुन् । रातको समयमा अवैध रूपमा काठ निकासी हुँदै गरेको सूचनाका आधारमा इप्रका, मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानासहितको टोेलीले उक्त काठ बरामद गरेको हो । अवैध रूपमा चोरी निकासी हुने गरेको काठ, मदिराजन्य पदार्थ र लागुऔषधजस्ता गैरकानुनी वस्तुहरू पछिल्लो समय प्रहरीको सक्रियता बढेसँगै पक्राउ पर्न थालेका छन् । रासस

कुटपिटबाट बालकको मृत्यु

लहान, असार ११ । झैझगडाका क्रममा अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा, लक्ष्मीपुरपतार गाउँपालिका–३ निवासी १३ वर्षीय सोनुकुमार साहको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्थानीय पोखरीमा पूजा गरी घर फर्कने क्रममा शुक्रबार कुटपिटबाट गम्भीर घाइते साहको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

चुरे विनाशले दर्जनौँ गाउँमा खानेपानीको हाहाकार

महेन्द्रनगर (धनुषा), असार ११ । चुरे विनाश, प्रचण्ड गर्मी र लामो समयदेखि वर्षा नहुँदा धनुषाको पूर्वपश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको ठूलो समस्या सिर्जना भएको छ । लामो समयदेखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि यस क्षेत्रमा पानीको समस्या भएको बताउँछन् जानकारहरु । नक्टाझिज, ढल्केवर, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा पानीको समस्या विकराल बन्दै गएको छ । मुहान धमाधम सुकेका छन् भने वनमा जतासुकै डढेलो देखिन्छ । सर्वसाधारण धारा र कुवामा रातभर लाइन बस्न बाध्य छन् । पानीको सतह भासिएका कारण इनार, बोरिङ, हातेपाइप, पोखरीलगायतका अधिकांश पानीका स्रोत सुकेको स्थानीयवासी बताउँछन् । “पिउने पानीको जोहो गर्न पनि मुस्किल पर्न थाल्यो”, पुष्पवलपुर–३ का हिरण लामाले भन्नुभयो – “नुहाउने र सरसफाइ त टाढाको विषय भयो ।” नुहाउनुपरे गाउँले तीन घन्टा टाढासम्म पुग्न बाध्य भएका छन् । लामाका अनुसार पानी अभावकै कारण खुला शौच बढेको छ । लुगा, धुन र नुहाउनका लागि नै भनेर कमला नदी पुग्नुपर्ने बाध्यता रहेको छ । कुवा, इनार र पानीको मुहान सुकेकाले पानीको अभाव छ । पानी नपरेकाले यस्तो समस्यामात्र छैन, आलुका बोटसमेत मर्न थालेका छन् । अर्कातिर कृषकले मकै छर्न पाएका छैनन् । “चैतको पहिलो सातामा मकै छर्नुपथ्यो, पानी नपरेकाले मकै छर्न पाएका छैनौँ”, लालगढ–६ का महेश बस्नेतले भन्नुभयो – “यो खडेरीले अनिकालमात्र होइन, रोगव्याधी पनि ल्याउँछ ।” पानीको अभावले किसानले यसक्षेत्रमा धानको बीउसमेत राख्न पाएका छैनन् । मधुवासामा पानीको मुहान सुकेपछि स्थानीय बासिन्दा खोलाखोल्सीको धमिलो दूषित पानी पिउन बाध्य भएका छन् । औरही, जलाद, बसही, चारनाथ खोलामा पूरै सुक्खा बालुुवाबाहेक केही देखिँदैन । अलिअलि पानी रहेको कुवामा पानी भर्न स्थानीयवासी घन्टौँसम्म लाम बस्न बाध्य छन् । स्थानीय अम्बिका लामाले भन्नुभयो – “खानेपानी लिन लामो समय लगाएर टाढा जानुपर्छ । दैनिकी निकै कष्टकर बनेको छ ।” रातु खोलामा वर्षौंदेखि क्रसर व्यवसायीले गर्दै आएको ढुङ्गा, बालुवा र गिट्टीको अवैध उत्खननले खानेपानीको मुहानमा गम्भीर असर परेपछि इनार सुकेको किसाननगरका स्थानीय गोपाल कार्कीले बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासङ्घ, धनुषाका अध्यक्ष सोमप्रसाद शर्माको अनुसार अत्यधिक चुरे दोहनले चुरे क्षेत्र विनाशका कारण पानीका मुहान सुक्न थालेकाले राजमार्ग आसपासका बस्तीमा पानीको हाहाकार नै मच्चिएको हो । हुनेखानेले त जारको पानी किनेर पनि तिर्खा मेटिरहेका छन्, नहुनेले घन्टौँ हिँडेर, लाममा बसेर पानीको जोहो गर्ने गरेका शर्माले बताउनुभयो । ढल्केवरका स्थानीय सञ्चारकर्मी विजय साहका अनुसार खानेपानीको अभावले कतिपय किसानले बाख्रा र गाईगोरुसमेत बेचिदिएका छन् । साहले भन्नुभयो – “दिनभर पिउन र खाना पकाउन आवश्यक पानीको जोहो गर्न हम्मे छ, गाई, बाख्रा पाल्नु कति समस्या होला आफैँ सोच्नुस् न ।” ग्रामीण क्षेत्रमा मात्र होइन लामो समयदेखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि जनकपुर उपमहानगरपालिकामा समेत भूमिगत पानीको लेयर हराउन थालेको छ । जनकपुरमा सय देखि २५० फिट मुनिसम्म गाडिएको हाते चापाकल सुक्न थालेको छ । माथिल्लो क्षेत्रमा पानी रिचार्ज हुन नपाउँदा तल्लोभेगमा भूमिगत पानीको लेयर हराउन थालेको राष्ट्रपति तराई मधेस संरक्षण विकास कार्यक्रमका महेन्द्रनगर युनिटका इन्चार्ज रामेश्वर पण्डितले बताउनुभयो । जिल्ला विकास समिति र संसदीय निर्वाचन क्षेत्र विकास कोषको अधिकांश रकम खानेपानी व्यवस्थापनमा खर्च हुने गरे पनि समस्याको स्थायी समाधान नदेखिएको उत्तरी भेगका बासिन्दाहरु बताउँछन् । गाउँ गाउँमा ठूला खानेपानी आयोजना निर्माण गरिदिन आमजनसमुदायको माग रहेको छ । उजाड बनाइँदै चुरे अत्यधिक मात्रामा वन फँडानी गरी काठ तस्करी हुन थालेपछि धनुषाको चुरे क्षेत्र अहिले उजाड देखिन थालेको छ । एक दशकअघिसम्म हराभरा रहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा पर्ने सपही भालुखोला चुरे क्षेत्र अहिले उजाड भएको छ । राजनीतिक सङ्क्रमणकालको फाइदा उठाउँदै प्रहरी र वन रक्षकको मिलेमतोमै काठ तस्करले यहाँबाट बहुमूल्य रुख कटान गरेपछि वन क्षेत्र घट्दै जानुका साथै उजाड भएको स्थानीयवासीले आरोप लगाएका छन् । गोदारका भोला साहले कहिलेकाहीँ वन कार्यालयका कर्मचारीहरु आए पनि तस्करको डरले भनाँै वा उनीहरुसँगको मिलेमतोले कसैले पनि रुख कटानमा रोक नलगाउने गरेको बताउनुभयो । जैविक विविधताले भरिपूर्ण मानिएको यस क्षेत्रलाई हराभरा बनाउन सरकारले पाँच वर्षयता राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रम लागू गरेको छ । यस कार्यक्रमअन्तर्गत धनुषामा यस वर्ष रु एक करोड ६८ लाखभन्दा बढी बजेट आए पनि कर्मचारीले कार्यसम्पादन गर्न नसकेपछि अहिलेसम्म झन्डै रु ५९ लाखमात्र खर्च भएको जिल्ला वन कार्यालय, धनुषाले जनाएको छ । सरकारले सामुदायिक वन तथा कबुलियत वन, वृक्ष सुधार तथा निजी वन कार्यक्रमलगायत वृक्षरोपणका लागि रु चार करोड ८५ लाखभन्दा बढी बजेट विनियोजन गरेको छ । आव सकिन अब दुई हप्ताको समय रहे पनि कर्मचारीको लापर्बाहीका कारण अहिलेसम्म २८ प्रतिशत रकममात्र खर्च भएको कोष लेखा तथा नियन्त्रण कार्यालय, धनुषाका प्रमुख डा वीरेन्द्रकुमार मिश्रले बताउनुभयो ।

दुई बालक मृत फेला

इटहरी, असार ११ । सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ बूढीखोलाको पुल नजिकै आज बिहान स्थानीयवासीले दुईजना बालकको शव फेला पारेको इलाका प्रहरी कार्यालय, दुहवीले जनाएको छ । प्रहरीका अनुसार सुनसरीको लौकही घर भई हाल दुहवी–४ मा बसोबास गर्दै आएका दिदी भिनाजुको घरमा बस्दै आएका १४ वर्षीय आकाशकुमार साह र इटहरी खनार १४ घर भई हाल दुहवी–४ मा रहेको मावली घरमा बस्दै आएका ११ वर्षीय सजन चौधरी मृत अवस्थामा फेला परेका हुन् । उनीहरु दुवै शनिबार दिउँसो ४ बजेदेखि घर परिवार अर्थात् नातेदारबाट सम्पर्कविहीन हुन पुगेका थिए । दुवैलाई बूढीखोलाले बगाउँदै ल्याएको अवस्थामा शव देखिएको र उनीहरु शनिबार सम्पर्कविहीन भएका किशोरहरु भएको खुल्न आएको पनि इप्रका, दुहवीले जानकारी दिएको छ ।

सदरमुकाम भित्रै सडकको अवस्था विजोग: ट्याक्टरमा र्याली

प्रेम सुनार गुल्मी, असार–१० । चुनावताका नेताहरुले जति भाषण छाँटे पनि र गुल्मीको दुर्गम गाउँ सम्म सडक पुगेर स्तर बृद्धि समेत हुँदै गए पनि सदरमुकाम तम्घास भने बत्ति मुनीको अँध्यारो जस्तै बनेको छ । सदरमुकाम तम्घास त्यस माथी रेसुङ्गा नगरपालिका बनेको दुई वर्ष पुगे पनि यहाँका कैयौ भित्री सडकहरुमा एम्वुलेन्स आवज जावत गर्न समेत सक्दैनन् । अर्घाखाँचीको सिमना नेटा देखि तम्घास सम्म आउने सडक हिलोम्मे र ठाउँ ठाउँमा गाडी फँस्ने खाडलहरु भए पछि आज रेसुङ्गा नगरपालिका वडा नम्वर ७ नेकपा एमालेले ट्याक्टरमा चढेर ¥याली गरेको थियो । एमालेबाट वडा अध्यक्षका उमेदवार मोहनप्रसाद पाण्डेले २० वर्ष सम्म कांग्रेसले यहाँ शासन गरेको यहि हो पार ा? भन्ने प्रति प्रश्न गदै सदरमुकाम भित्रै एम्वुलेन्स पुग्ने बाटो छैन भन्दै कांग्रेस माथी आरोप थोपरे । रेसुङ्गा नगरपालिकाको सवै भन्दा नजिकको वडा नम्वर ७ का भुजेल खर्क , वेदुखर्क कुँडापानी लगायतका स्थानका वासीन्दाले २५ वर्ष अघि देखि खनेको वाटोमा अहिले सम्म एम्वुलेन्स सम्म आवत जावत गर्न सक्ने अवस्थाको वाटो रहेको भन्दै एमालले कांग्रेस विरुद्ध चुनावी मुद्धा बनाउँदै आएको छ । यता सदरमुकामबाटै प्युठान सम्म जोडिएको सवै भन्दा धेरै पछि खन्न सुरु गरिएको तम्घास खाम्सेपानी , अर्खले हुँदै प्युठान सडक खण्ड भने ग्रावेलिङ्ग गर्न सुरु गरिएको छ । पश्चि क्षेत्र नम्वर ३ तर्फका अधिकांस सडक पनि कतै कालोपत्रे त कर्त ग्रावेलिङ्ग गर्ने कार्य धमाधम सुरु भएको छ ।

जिल्लामा छ दर्जन अपाङ्गमैत्री मतदान केन्द्र

धनकुटा, असार ११ । स्थानीय तहको चुनावमा अपाङ्गता भएकाहरुका लागि सहज मतदान गर्न जिल्लाका ६७ अपाङ्गमैत्री मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । धनकुटा जिल्लाका कुल १४३ वटा मतदान केन्द्रमा ६७ केन्द्र अपाङ्गमैत्री बनाइएको छ । जिल्लामा तोकिएका अधिकांश मतदानकेन्द्र विद्यालय र पुराना गाविसका भवनमा रहेका कारण कठिनाइ भएको जनाइएको छ । स्थानीय तहको निर्वाचनमा धनकुटा नगरपालिकामा थप दुई अपाङ्गमैत्री मतदान केन्द्र निर्माण गरिएको जिल्ला निर्वाचन कार्यालय, धनकुटाले जनाएको छ । तीन नगरपालिकासहित सात स्थानीय तह रहेको जिल्लामा ११७ मतदानस्थलमा १४३ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय, धनकुटाले जानकारी दिएको छ । जिल्लाको कुल ९५ हजार ३६७ जना मतदातामध्ये १७३ जना अपाङ्गता भएका मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा रहेको छ । अपाङ्गता भएकै कारण धेरै मतदाताले वञ्चित हुनुपरेको गुनासो आएपछि अपाङ्गमैत्री केन्द्र बढाउने क्रममा रहेको जिल्ला निर्वाचन कार्यालय, धनकुटाका प्रमुख प्रदीप साहले बताउनुभयो ।

गुल्मीमा वावु छोरा, दाजु भाई र मामा भान्जा विच कडा प्रतिष्पर्धा

प्रेम सुनार गुल्मी, असार–१० । चुनावी घर दैलो गर्ने क्रममा गुल्मीको छत्रकोट गाउँपालिकामा रोचक दृश्य देख्न पाईन्छ । त्यस गाउँपालिकाको वडा नम्वर ५ साविकको खज्र्याङ्ग गाविसमा काग्रेसबाट ५४ वर्षिय बिरबहादुर सोमै र राष्ट्रिय जनमोर्चाबाट २७ वर्षिय उनका छोरा प्रदिप सोमै खुल्ला सदस्यमा चुनावी प्रतिष्पर्धामा रहे पछि गाउँवासीले निकै रोचक रुपमा लिएका हुन् । वावु सोमैले आफुले २०३६ साल देखि नेपाली कांग्रेसको राजनीति गरेको र लामो समय सम्म समाज सेवा गरेकोले आफैले जित्ने दावि गर्दछन् । भारतिय सेनाबाट सुवेदार पदबाट पेन्सन निक्लेका उनले छोरा आफुलाई नसोधी एउटै पदमा उठे पनि उनको मौलिक हक भएको बताउँ छन् । छोरा सोमैले पनि त्यसलाई सामन्य रुपमा लिएको र आफुले वावुलाई पनि मत दिने वावुले पनि आफुलाई मत दिने अपेक्षा राखेका छन् । वावुले सहजै पत्रकार संग कुरा गर्न चाहे तर छोरा वावु विरुद्ध वोल्न डराएर दुई दिन सम्म पछ्याउँदा पनि आफुले घर दैलो गर्ने गरेको लोकेशन दिएनन र फोन पनि एक भन्दा बाँकी कल उठाएनन् । अन्तिममा वावु सोमैले आफैले फोन गरेर भने उठि हालिस के भो तनि बोल केहि हुन्न म उहाँलाई पठाई दिन्छु भने पछि वल्ला हर्दिनेटाको रुम्जाकोटमा छु आउनुस भनेर वोलाएर आफ्नो प्रतिकृया दिए । https://everestdainik.com/wp-content/uploads/2017/06/babu-bir-bdr-somai.compressed.mp4 त्यसो त सोही वडामा सहोदर दुई भाई पनि वडा अध्यक्षका उमेदवार रहेकाछन् । मामा भान्जा वडा अध्यक्षको प्रतिष्पर्धामा छन् । कांग्रेसबाट तुल्सीराम पन्त र एमालेबाट कृष्णप्रसाद पन्त वडा अध्यक्षका उमेदवर भएका हुन् । फेरी उनैका भानिज सरोज पाण्डे उर्फ कमल पाण्डे माओवादी केन्द्रबाट दुई मामाहरु विरुद्ध चुनावी मैदानमा उत्रिएका छन् । दुई भाई र मामा भान्जाहरु मध्येको जित हारलाई गाउँवासीले व्याग्र प्रतिक्षाका साथ लिएका छन् । सोही वडामा काकी भतिजी पनि महिला सदस्यमा उमेदवार बनेका छन् । कांग्रेसबाट तारा कुँवर महिला सदस्यमा उठेकी हुन भने एमालेबाट सोही पदमा उनकी भतिजी निर्मला झेडी उठेकुी हुन् । त्यस वडामा दलित महिला सदस्यमा पनि जेठानी देउरानी विच कडा प्रतिष्पर्धा रहेको छ । कांग्रेसबाट जेठानी सावित्रा बिक र माओवादी केन्द्रबाट उनकी देउरानी जमुना बिक प्रतिष्पर्धामा रहेका हुन् । खुल्ला सदस्यमा पनि त्यस वडामा काका भतिजा विच प्रतिष्पर्धा रहेको छ । एमालेबाट काका रामबहादुर कुँवर र माओवादी केन्द्रबाट उनका भतिजा कृष्ण कुँवर विच प्रतिष्पर्धा चलेको हो ।

सरकारी बजेट,पार्टीको झण्डा, निर्वाचन अधिकृत ज्यू के हो यो फण्डा ?

भरत पाण्डेय गुल्मी । गुल्मीको सिर्सेनीमा जनता झुक्याउन एमाले कार्यकर्ताले एमालेले पार्टीको झण्डा राखेर डोजर चलाएका छन् । सिर्सेनी देउराली देखि पूर्कोटदह जोड्ने मोटरबाटोमा एमाले कार्यकर्ताले सूर्य चिन्ह अंकित झण्डा राखेर डोजर चलाएको हो । निर्वाचन आचारसंहित विपरीत एमालेले जनतालाई भ्रम पार्न यस्तो गरेको काँग्रेस माओवादी कार्यकर्ताले आरोप लगाएका छन् । ‘राज्यकोषको बजेट खर्च गर्ने अनि चुनावको बेला डोजरमा पार्टीको झण्डा प्रयोग गर्ने नौटंकी भएको छ’ नेपाली काँग्रेस पूर्कोटदहका कार्यकर्ता अमर थापाले भने ‘जनता झुक्याउन सरकारी बजेटको दुरुपयोग हुँदा पनि निर्वाचन कार्यालयले वास्ता गरेको छैन ।’ काम बाँकी हो ? एमालेले भने पहिल्यै खनिएको उक्त मोटरबाटोको सोहोर्नका लागि डोजर प्रयोग गरीएको बताएको छ । बाटो गाडी हिँड्न नमिल्ने भएकोले सोहोर्न थालिएको एमाले कार्यकर्ताले प्रतिकृया दिएका छन् । ‘अहिले डोजर ल्याएर सोहोर्ने काम गरीहालौँ पछि एमालेले जित्छ अनि बजेट दिएर तिरौँला भनेका छन्’ राप्रपाका कमल चन्दले भने ‘सरकारी बजेट खर्च गर्ने गरी यसरी जनता झुक्याउन पाईन्छ ?’

पहिरोको डरले हरायो निद्रा

कालीखोला (चितवन) , असार ११ ।  इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा व्यापार गरी सुदर्शन विष्टले जीवन चलाउँदै आएका छन् । सडकछेवैमा उहाँको सानो घुम्ती छ । जीवन चलाएको त्यही घुम्तीले जीवन नै लैजाला कि भन्ने डर छ उनी अन्नपूर्ण पोस्टमा खबर छ । असार ३ को पहिरोले उहाँको घुम्तीलाई क्षति पुर्‍यायो । पहिरोले ज्यानै लैजान्छ कि भन्ने डरमा बाँचिरहेका छन् उनी । कालीखोलामा प्रायः पहिरो गइरहने भएकाले सडकछेउका बस्ती जोखिममा छन् । पहिरोसँगै ढुंगा झरिरहने हुनाले त्रास बढेको गुनासो स्थानीयको छ ।  ‘कतिखेर के होला भन्ने थाहै हुँदैन’, उहाँले भन्नुभयो, ‘आकाश हेरेर सुत्नुपर्छ ।’ पहिरो खसेर विष्टको पसलमा क्षति पुर्‍यायो । करिब ३० हजार बराबरको क्षति भएको थियो । नारायणगढ-मुग्लिन सडकमा पहिरोको जोखिम निकै बढेको छ । त्यहाँका स्थानीयलाई कतिबेला के होला भन्ने डर छ । सडक फराकिलो बनाउने क्रममा चट्टान कटान हुँदा जोखिम बढेको उनीहरूको भनाइ छ । बस्ती अगाडि नै ठूला पहाड छ । बेला-बेलामा त्यही पहाडबाट पहिरो खस्ने गर्छ । पहिरोका कारण घन्टांै सवारी रोकिने गरेको उनीहरूको अनुभवन छ । ‘गत बिहीबार राति पहिरो पन्छाउन खटिएको प्रहरीको टोलीलाई पहिरोले बगाउँदा एक असईसहित दुई प्रहरीको मृत्यु भयो । दुई प्रहरी जवान अझै बेपत्ता छन् ।

अब को होला मुख्य सचिव ?

काठमाडाैँ, असार ११ । सेवाअवधि बाँकी रहे पनि मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा हुँदै छन् । उनी १ साउनदेखि फिलिपिन्सको मनिलामा एडिबीको उपकार्यकारी निर्देशक हुँदै छन् । सुवेदीको बहिर्गमनपछि मुख्यसचिव बन्न १० जना सचिव प्रतिस्पर्धामा छन् । सरकारले सुवेदीलाई १ साउनदेखि काम गर्न जाने गरी स्वीकृति दिइसकेको छ । २० साउन ०७२ मा मुख्यसचिव भएका सुवेदीको कार्यकाल २० साउन ०७५ सम्म थियो । तामाङ मुख्यसचिव भइहाले पनि ५८ वर्षे उमेरहदका कारण २० मंसिरमा सेवानिवृत्त हुनेछन् ।‘म साउन १ देखि एडिबीको केन्द्रीय कार्यालय मनिलामा काम सुरु गर्छु,’ मुख्यसचिव सुवेदीले भने । तर, उनले राजीनामा कहिले गर्ने भन्नेबारे निर्णय लिइनसकेको बताए । अब मुख्यसचिव को हुन्छ ? यो प्रश्नको जवाफ धेरै हदसम्म सुवेदीले राजीनामा कहिले दिन्छन् भन्ने प्रश्नमा निर्भर हुनेछ । अहिले मुख्यसचिवपछि वरीयतामा सचिव धनबहादुर तामाङ छन् । सुवेदीले २८ असारअघि नै राजीनामा दिएमा र सरकारले सो मितिअघि नै स्वीकृत गरेमा तामाङ मुख्यसचिव हुने बाटो खुल्नेछ । तर, सुवेदीले राजीनामा ढिलो दिएमा अथवा ढिलो स्वीकृत भएमा तामाङको अवसर गुम्नेछ । किनकि पाँचवर्षे कार्यकालका कारण उनले २८ असारमा अवकाश पाउँदैै छन् । उनी ०६९ साल २८ असारमा सचिवमा वढुवा भएका हुन् । तर, मुख्यसचिव सुवेदीको राजीनामा २८ असारपछि आएमा भावी मुख्यसचिवका लागि वरीयताका आधारमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ प्रबल दाबेदार हुनेछन् । सुवेदी र श्रेष्ठमध्ये जो मुख्यसचिव भए पनि तीन वर्ष (पूर्ण अवधि) बहाल रहनेछन् । तर, मुख्यसचिव भएनन् भने पाँचवर्षे कार्यकालका कारण दुवैजना २ कात्तिकमा सेवानिवृत्त हुनेछन् । उनीहरू एकैदिन २ कात्तिक ०६९ मा सचिव भएका थिए । अझ उनीहरूभन्दा अगाडि अवकाश पाउनेमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र उपराष्ट्रपतिका कार्यालयका सचिव नारायणगोपाल मलेगो हुन् । मुख्यसचिव नभएमा क्षेत्री २ साउनमा र मलेगो १ भदौमा अवकाशमा जानेछन् । मुख्यसचिव भएमा पनि ५८ वर्षे उमेरहदका कारण क्षेत्री ८ कात्तिकमा र मलेगो भने १ भदौमा अवकासमा जानेछन् । तर, तामाङ मुख्यसचिव भए अहिलेका अन्य आकांक्षीमध्ये धेरैले मंसिरसम्म अवकास लिइसक्नेछन् । त्यसपछि बरियताका आधारमा गृहसचिव लोकदर्शन रेग्मीका लागि मुख्यसचिव बन्ने बाटो खुल्नेछ । यो अवस्थामा रेग्मीसँगै सचिवहरू ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारी पनि मुख्यसचिवको प्रतिस्पर्धामा रहनेछन् । रेग्मीलाई मंसिरपछि मुख्यसचिव बनाउनका लागि अहिले चार महिनाकै लागि भए पनि तामाङलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री देउवालाई निकटस्थले सुझाब दिइरहेको जानकार स्रोतहरू बताउँछन्, नयाँ पत्रिकामा खबर छ ।

कांग्रेसका उम्मेदवारसहित ५४ जना माओवादीमा प्रवेश

बर्दिया, असार  ११ । बाँसगढी नगरपालिका वडा नं १ का नेपाली कांग्रेसबाट वडा सदस्यका उम्मेद्वार माओवादीमा प्रवेश गरेका छन् । शनिवार कांग्रेसबाट वडा सदस्यका उम्मेदवार खिम बहादुर भण्डारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । प्रचार सभाको अवसरमा प्रवेश गर्दै कांग्रेसबाट कुनै कामको आशा नगर्न उनले अपिल गरे । कार्यक्रममा ५४ जना कांग्रेस एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जोगिएला देउवाको साख ?

काठमाडौं, असार ११ । हरिया रुख र चारतारा अंकित झन्डा निकै बाक्लो गरी लगाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका बजारको शीरभरि टाँगिएका कांग्रेसका यी ‘ध्वजा–पतगा’हरुलाई हँसिया–हथौडा, सूर्य अनि गाई चिह्नअंकित रंगीन झन्डाले बेस्सरी जेलिदिएका छन् । यहीँबाट प्रष्ट हुन्छ, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई इतिहास दोहोर्याइरहन यसपटक त्यत्ति सजिालो छैन । देउवाको गृहजिल्ला हो, डडेल्धुरा । अरु पार्टीको आक्रामक चुनावी अभियानले त कांग्रेसको झन्डा जेलिइसकेका छन् । त्यसमा पनि अझै कांग्रेसभित्रै चुलिएर सतहमै पोखिएको असन्तुष्टिले देउवाको राजनीतिक साखमै चुनौती थपिदिएको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणका बेला डडेल्धुरा कांग्रेसभित्र असन्तुष्टि चुलिएर सडकमै पोखियो । अरु पार्टीभन्दा करिब एक महिना ढिला गरी उम्मेदवारको घोषणा त गरियो तर कांग्रेसका जिल्ला सभापति नै सडकमा देउवाविरुद्ध नाराबाजीमा उत्रिए । त्यसको परिणाम अझ मनोनयन दर्ताका क्रममा देखिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

कांग्रेस-माओवादीको चुनाव चिह्न एउटै !

काठमाडौं, असार ११ । अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर संयुक्त रुपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् । चार तहका दुई स्थानमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी तथा दुई तहका प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस हुने सहमति अनुसार उम्मेदवारी दर्ता गरेर यी दुवै पार्टीले निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । तर चारै तहमध्ये मालारानी गाउँपालिकामा भने कांग्रेस र माओवादीबीच गज्जबको तालमेल भएको छ । प्रमुखमा माओवादीबाट पदम क्षेत्री र उपप्रमुखमा कांग्रेसबाट शान्ता खनाल संयुक्त रुपमा चुनावी प्रचारप्रसारमा व्यस्त छन् । प्रमुख र उपप्रमुख मात्र होइन, वडा तहमा पनि कांग्रेस र माओवादी एक भएर एउटै चुनाव चिह्नमा चुनाव लड्दै छन् । ९ वटा वडा रहेको मालारानी गाउँपालिकामा तीन वडामा कांग्रेसको चुनाव चिह्न रुख र ६ वडामा माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडामा चुनाव लडेको अन्नपूर्ण पोस्टमा खबर छ ।