उपचार गर्न आएकी महिलामाथि गोलीप्रहार

विराटनगर, असार २९ । विराटनगरमा उपचारका लागि आएकी एक महिलामाथि गोलीप्रहार भएको छ । मुनाल पथमा आज बिहान अज्ञात व्यक्तिले उदयपुर बेलटार घर भएकी ४७ वर्षीया टिनादेवी विष्टमाथि गोली चलाएको हो । अज्ञात समूहको गोली प्रहारबाट ती महिला घाइते भएकी छिन् ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेको र उनको साथवाट नगद ११ हजार समेत लुटेर लगेको घाइते विष्टले बताइन् ।

घाइते विष्टको विराटनगरस्थित विराटन नर्सिङ होममा उपचार भई रहेको छ । विष्टको घुडामुनि समान्य चोट देखिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भई रहेको र अपराधीहरुको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।

भक्तपुरका अधिकांश पेट्रोल पम्प असुरक्षित

भक्तपुर, असार २९ । मध्यपुर थिमि–१ लोहकिल्थली मनहरा पुलसँगै रहेको सिद्धार्थ पेट्रोल पम्पमा गत असार १३ गते आगलागी हुँदा दुईजना घाइते भए । ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा ट्याङ्करको नोजल र ट्याङ्कीको पाइपको बीचको जोर्नीबाट अचानक आगोको झिल्को निस्केपछि पम्पमा आगलागी भएको थियो । आगलागीबाट सोही पम्पमा कार्यरत रामबहादुर तामाङको दाहिने कुहिना र दाहिने खुट्टा जलेको थियो भने सोही स्थानमा खुद्रा पसल गरी बस्ने प्रतिमा तामाङको अनुहार, ढाड, घाँटी पछाडिको भाग र दुवै खुट्टा जलेर घाइते भएकी थिइन् । ८ महिनाको गर्भवतीसमेत रहेकी तामाङको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी, मध्यपुर थिमि–३ चारदोबाटोस्थित साझा पेट्रोल पम्पको दुईतल्ले पक्की घरको भूमिगत कोठामा २०७२ माघ ५ गते आगलागी हुँदा सँगै रहेको गौरीशंकर ट्रेडर्स हार्डवेयरको करिब रु १० लाख बराबरको धनमाल जलेर क्षति भएको थियो । सो भवनमा रहेको टायर रिसोलिङ पसलको हावा भर्ने पाइप फुटेर अचानक आगलागी हुँदा तीनजना घाइते भएका थिए । भारतले लगाएको अघोषित नाकाबन्दीको समयमा भएको सो आगलागीका बेला साझामा पेट्रोल वितरण भइरहेको थियो । पम्प परिसरमा रहेको पसलमा आगलागी भएपनि समयमा नियन्त्रण भएकाले ठूलो क्षति हुनबाट जोगिएको थियो । भक्तपुरमा रहेका पेट्रोल पम्पहरुमा पटकपटक आगलागीका घटना हुँदा पनि पेट्रोल पम्पलाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यान जान सकेको छैन । पम्पको अति संवेदनशील क्षेत्रमा सुरक्षाको कुनै घेराबन्दी नहुनु, जोसुकै व्यक्ति सलाई, लाइटरजस्ता आगजनीजन्य वस्तु लिएर र धुमपान गरेर संवेदनशील क्षेत्रमा जानसक्ने वातावरण हुनुले भक्तपुरका पेट्रोल पम्पहरु जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेका छन् । पेट्रोलजस्तो अति प्रज्वलनशील पदार्थको कारोबार स्थल असुरक्षित र मापदण्ड विपरीत सञ्चालन भइरहँदा पनि त्यसलाई व्यवस्थित गर्नेतर्फ कसैको ध्यान गएको देखिँदैन । भक्तपुरमा सञ्चालित अधिकांश पेट्रोल पम्प मानव बस्तीको बीचमा रहेका छन् । थिमिको जगुलु पम्प चाणक्य कलेज र विद्यालयसँग जोडिएको छ । पम्पमा हुने सानो दुर्घटनाले पनि मानवीयलगायत ठूलो क्षति हुनसक्ने खतरा रहेको छ । भक्तपुरमा सञ्चालित १८ वटा पेट्रोल पम्पमध्ये अधिकांश पेट्रोल पम्पमा सुरक्षाको बन्दोबस्त छैन । सशस्त्र प्रहरी बलले सञ्चालन गरेको गुह्येश्वरी फ्यूल स्टेसन, भक्तपुर फ्युल सेन्टर, न्यू महेश्वरी फ्युल स्टेसनलगायत केही पम्पमा मात्र सुरक्षाका लागि पर्खाल र गेटको व्यवस्था गरेको छ । थिमिको साझाले २०७२ साल माघको आगलागीपछि पम्प क्षेत्रभित्र जो कोही जान नसक्ने गरी बार लगाएको छ भने लोकन्थलीस्थित सिद्धार्थमा हाल बार लगाउने कार्य भइरहेको छ । पेट्रोल पम्प सञ्चालनसम्बन्धी पुरानो मापदण्ड र निर्देशिकामा एक पम्पदेखि अर्को पम्पको दूरी न्यूनतम ५०० मिटर हुनुपर्ने उल्लेख छ । तर भक्तपुरमा कतिपय पम्पको दुरी २०० मिटरको हाराहारीमा रहेका छन् । लोकन्थलीदेखि साँगा चोकसम्मको करिब १० किलोमिटर बाटोमा मात्र १५ वटा पम्प सञ्चालनमा छन् । निर्देशिकामा १० किलोका तीनवटा अग्नि नियन्त्रक ग्यास सिलिण्डर, न्यूनतम एक हजार लिटर पानी, बालुवा, साबेल, पिग, बाल्टिन लगायतका सामग्री हरदम तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरिएको छ । तर भक्तपुरका अधिकांश पम्पले त्यस्ता सामानको व्यवस्था गरेको पाइँदैन । बाग्मती अञ्चल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले पेट्रोल पम्प व्यवस्थित नभएको स्वीकार गर्दै नयाँ मापदण्डअनुसार पम्प सञ्चालन गर्न नसकिने बताए । नयाँ मापदण्डअनुसार पेट्रोल पम्प सञ्चालन गर्न पाँच रोपनी जग्गा, पानी ट्याङ्की, दुई शौचालय, एकवटा हात धुने बेसिन, २० देखि २२ फिटको जस्ताको छत बनाउनुपर्ने व्यवस्था गरेको जानकारी दिँदै खड्काले भक्तपुरमा सो सम्भव नभएको बताए । उनले नयाँ खोल्ने पम्पलाई भने नयाँ मापदण्डअनुसार मात्र खोल्न दिने तयारी भइरहेको बताए  । पम्प सञ्चालनमा लापरबाही गरेकै कारण सङ्घले नै हाल दुईवटा पम्प सञ्चालनमा रोक लगाएको पनि उनले जानकारी दिए  । वाणिज्य विभाग, नापतौल विभाग र आयल निगमले बेला बेलामा पम्पको अनुगमन गरे पनि नापतौल पुगे-नपुगेको र पेट्रोलियम पदार्थको गुणस्तरका बारेमा मात्र अनुगमन गर्ने गरेकाले पनि पम्प सञ्चालनमा सुरक्षाको बारेमा सञ्चालकहरुकै चासो कम भएको एक पम्प सञ्चालक नाम नबताउने सर्तमा बताए । उनले सम्बन्धित निकायले बेला बेलामा पम्पको सुरक्षा व्यवस्थाका बारेमा पनि अनुगमन गर्नुपर्ने बताए । यसैबीच, जिल्ला प्रशासन कार्यालय भक्तपुरले गत असार १४ गते आयल निगमलाई एक पत्र पठाई मध्यपुर थिमि–१, लोकन्थलीस्थित सिद्धार्थ पेट्रोल पम्पमा प्राविधिक निरीक्षण गर्न अनुरोध गरेको छ । गत असार १३ गते सो पम्पमा आगलागी भएर केही व्यक्तिसमेत घाइते भएपछि तत्काल पम्प सञ्चालनमा रोक लगाई निगमको प्राविधिक निरीक्षणको प्रतिवेदन आइसकेपछि मात्र सञ्चालन गर्न दिने सो पत्रमा उल्लेख गरिएको छ ।

सचिवहरुको विदेश सयर अाैधी ! खर्च बढी, उपलब्धि शून्य

काठमाडौं, असार २९ । पछिल्लो दुई महिनामा उच्च तहका सरकारी कर्मचारी सहभागी भएका विदेशका कार्यक्रममा राज्यको धेरै रकम खर्च भए पनि उपलब्धि भने ज्यादै न्यून रहेको पाइएको छ । अध्ययन भ्रमण, अवलोकन भ्रमण, अनुभव आदानप्रदान जस्ता विषयमा राज्य ढुकुटीबाट मोटो रकम खर्च गरेर सरकारका सचिवहरु संसारका िवभिन्न देशमा पुग्ने गरेका छन् । तर, उनीहरुको भ्रमण उपलब्धिमूलक हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत यसतो भ्रमण अझै केही साता हुनेछ । सरकारका एक सचिव मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल डेनमार्क र अमेरिका पुगेको, नागरिक दैनिकमा खबर छ । पछिल्लो दुई महिनामा एक हजार चार सय ४२ कर्मचारी करोडौं रुपैयाँ खर्चेर विदेश भ्रमणमा गएका छन् । मुलुक स्थानीय तहको चुनावमा होमिएको र आर्थिक वर्ष सकिनै लागेका बेला निजामति कर्मचारीको ठूलो समूह विदेश भ्रमणमा गएको हो ।

मेयर दिलबहादुर ऐर कुर्सीका कारण चर्चामा

कञ्चनपुर, असार २९ ।  जिल्लाको सबैजसो नवनिर्वाचित जनप्रतिनिधिले शपथसंगै पदभार ग्रहण गरिसकेका छन् ।  स्थानीय तहमा लामो समयपछि चुनिएका नेताले गर्ने हरे निर्णय चासोको विषय बन्दै छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर भने कुर्सीका कारण चर्चामा छन् । उनी नगरपालिकाले किनेको आरामदायी कुर्सीमा बस्दैनन् । बरु घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेका छन् । ‘१० बर्षदेखि यही कुर्सीमा बसेर जनताको सेवा गरे, ५ बर्षे कार्याकाल पनि यसैमा विताउँछु’, उनले सञ्चारकर्मीमाझ भने, – ‘म सामान्य जनताको छोरो उनीहरु सरह नै बस्न चाहान्छु ।’ आफुलाई कुर्सी मोह भन्दा जनताको सेवा गर्ने चाहना रहेको उनले बताए, कान्तिपुरमा खबर  छ ।

पेन्सनको लोभले राजीनामा नदिई एडीबीको जागिर खान गए मुख्यसचिव

काठमाडौं असार २९ ।  मुख्य सचिव सोमलाल सुवेदी निवृत्तिभरण (पेन्सन) बढाउनका लागि राजीनामै नदिईकन एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशक पदमा जागिर खान लागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ वर्ष सेवा गरेबराबरको पेन्सन बढाउने लोभमा आफ्नो पद अतिरिक्त समूहमा राखी एडीबीको ३ वर्षे जागिरमा जान लागेका हुन् । उनी साउन १ गतेदेखि पद सम्हाल्न एडीबीको मुख्यालय फिलिपिन्सको मनिला जाँदै छन्,  कान्तिपुरमा खबर छ । सुवेदीको पेन्सन बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषदसमेत सहयोगी बनिदिएको स्रोतले जनायो । देउवा र मन्त्रिपरिषद्ले एडीबीमा जागिर खान जान लागेका सुवेदीको राजीनामा माग्नुको सट्टा उनको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिदिएको छ ।

१० बर्षे रणनीतिक योजना प्रधानमन्त्री कार्यालयमै थन्किए

जुम्ला, असार २९ ।  कर्णाली विकासका लागि निर्माण भएको कर्णाली विकासको १० बर्षे रणनीतिक योनजाको मस्यौदा चार महिनादेखि प्रधानमन्त्री कार्यालयमा थन्किएको छ । दुई बर्ष लगाएर कर्णालाीलाई विकासको मुल प्रवाह ल्याउने महत्वकांक्षी योजना समेटिएको मस्यौदा विकास योजनाको बैठकबाट पारित हुनका लागि चार महिनादेखि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ, अन्नपुर्ण पोष्टमा खबर छ ।

५० लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौं, असार २८ । पाँचसय र एक हजारका करिब पचास लाख अबैध भारतीय नोटसहित राजधानीबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–८ का मानहादुर लामा र काठमाडौंको स्वयम्भूका अमित डंगोल छन् । उनीहरुले केही समय पहिल्यैदेखि भारतबाट पुराना पाँचसय र हजारका नोट नेपाल ल्याएर ठग्ने गरेको पाइएपछि पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले जनाएको छ । उनीहरुलाई मंगलबार सिआइबीले काठमाडौंको खुशिबुबाट ४९ लाख ५० हजार भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई कारबाहीका लागि राजश्व अनुस्न्धान विभाग पुल्चोक पठाइएको छ ।

नारायणगढ मुग्लिन सडकखण्डमा ठूलो पहिरो, हजारौं यात्रु अलपत्र

चितवन, असार २८ । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो भन्ने स्थानमा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । दिउँसो साढे ३ बजेदेखि पहिरो खसेको नारायणगढ–मुग्लिन सडकखण्डका इन्जिनियर शिव खनालले जानकारी दिएका छन् । पहिरो खस्ने क्रम जारी नै रहेकोले पहिरो खस्न रोकिएपछि मात्रै पन्छाउने काम सुरु हुने उनलेजानकारी दिएका छन् । खनालका अनुसार पहिरो पन्छाउनका लागि २ वटा डोजर तयारी अवस्थामा राखिएको छ । पहिरो झर्ने क्रम रोकिएपछि मात्रै पन्छाउने काम सुरु हुन्छ, उनले भने । पहिरो झरेर बाटो अवरुद्ध भएसँगै सयौं गाडी राजमार्गमा अलपत्र परेका छन् । असार २५ गते देखि सो खण्डमा राति गाडी चलाउन पनि निषेध गरिएको छ ।

शर्माको रिटमाथि सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं, असार २८ । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न परेको रिटमाथि कारण देखाउ आदेश जारि गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले शर्मालाई थुनामा राख्नुको कारण आगामी शुक्रबार पेश गर्न विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले शर्मालाई समेत अदालतमा उपस्थित गराउन आदेश दिएको छ । गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेकी थिइन ।

तिनाउ खोलामा शव भेटियो

पाल्पा, असार २८ । पाल्पाको तिनाउ खोलामा सनाखत हुन नसकेको एक महिलाको शव भेटिएको छ । तिनाउ गाउँपालिका– ५ जोरधाराको नयाँ बजारस्थित खोलामा शव भेटिएको प्रहरीले जनाएको छ । तिनाउ खोलाले आइतबार जिपसहित चार यात्रुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार जोरधारमा भेटिएको शव बेपतामध्येकै एक हुनुपर्ने अनुमान गरिएको छ । दुई महिला र दुई पुरुष तिनाउ खोलाको अम्लिहानमा बेपता भएका थिए । मङ्गलबार बिहान जिप भेटिए पनि अझै चारजना यात्रु मङ्गलबार साँझसम्म भेटिएका छैनन् । जोरधारको खोलामा भेटिएको शवको सनाखत हुनसकेको छैन । खोलामा भेटिएको शव ढुङ्गाको क्यापमा रहेकाले निकाल्न समस्या भएको प्रहरीले जानएको छ । प्रहरीले सोमबारदेखि नै तीन टोली चरचरे, झुम्सा र अमलेन क्षेत्रमा खोजीकार्य गरिरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश पण्डितले जानकारी गराउनुभयो । पाल्पा जिल्लाको माथागढी गाउँपालिका– ३ र तानसेन नगरपालिका– ९ स्थित अमलेनमा पुलबाट लु १ ज १७१२ नम्बरको जिप बाढीले बगाएको थियो । बेपता हुनेमा तानसेन नगरपालिका भुसलडाँडा बस्ने– २६ वर्षीय उषा श्रेष्ठ, माथागढी गाउँपालिका– १ का २३ वर्षीय तिलवीर गाहा, सोही स्थानका ४३ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुँवरमगरलाई गतआइतबार तिनाउ खोलाले बगाएको थियो ।

दुर्घटनामा वृद्ध महिलालको मृत्यु

मलेखु (धादिङ), असार २८ । त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत सल्यानटार– २ सानागाउँमा जिपको ठक्करबाट आज एक वृद्ध महिलाको मृत्यु भएको छ । सल्यानटार स्थित सानागाउँमा ना १ ज ४२०० न को जिप पछाडि हटाउने क्रममा ठक्कर दिँदा ६० वर्षीया मङ्गली कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि सवारी चालकलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

साझा यातायातको निःशुल्क यात्रा, ज्येष्ठ नागरिक उत्साही

काठमाडौँ, असार २८ । रामेछापका ७५ वर्षीय दुर्गाप्रसाद घिमिरे थापाथलीबाट जाउलाखेल जाँदा साझा यातायातमा चढ्नुभयो । उहाँले बस भाडा दिँदै गर्दा साझा यातायातले भाडा नै लिएन । आफूजस्ता ज्येष्ठ नागरिकका लागि साझा यातायातले पूरै भाडा छुट गरेको छ भन्ने कुरा दुर्गाप्रसादलाई थाहा नै थिएन । “एक दिन म थापाथलीबाट साझा यातायातमा जाउलाखेल जाँदै थिए, तर भाडा दिएको त मलाई नै फिर्ता दियो, त्यसमा ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरेको रहेछ, खुशी लाग्यो”– उहाँले भन्नुभयो । विगत चार वर्षदेखि नयाँ बानेश्वरस्थित सडक विभाग नजिकै धर्ना बस्दै आउनुभएका सिन्धुलीका ८२ वर्षीय नारायणप्रसाद पोखरेलले साझा यातायातमा भाडा छुट दिएकोप्रति खुशी व्यक्त गर्नुभयो । पोखरेल नयाँ बानेश्वरबाट जडीबुटी जाँदा साझा यातायातले भाडा लिएन । काठमाडौँ महानगरपालिकाको सहकार्यमा साझा यातायातले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई काठमाडौँ उपत्यकाभित्र निःशुल्क यात्राको व्यवस्था गरेको साझाका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्वअन्तर्गत ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको परिचयपत्र, अपाङ्गता भएका व्यक्ति (‘क’ र ‘ख’ वर्गमा पर्ने) दृष्टिविहीन (ह्वाइलचियरको प्रयोग गर्ने) लाई साझा यातायातको झाडामा छुट दिन सुरू गरिएको हो । सुन्धारा नजिकै सडकमा गीत गाएर आफ्नो गुजारा चलाउँदै आएका दृष्टिविहीन धीरेन राईले साझाले दृष्टिविहीनलाई भाडा निःशुल्क गरेकोमा खुशी व्यक्त गर्नुभयो । काठमाडौँ उपत्यकामा चल्ने अन्य सार्वजनिक यातायातमा गत वर्षदेखि ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट गर्ने व्यवस्था लागू हुँदै आएको छ । “ज्येष्ठ नागरिकको हकमा सरकारले केही गरेको छ, तर गर्नुपर्ने अझै धेरै छ, ज्येष्ठ नागरिकका लागि काम गर्ने सरकारलाई हामी धन्यवाद दिन चाहान्छौँ”–विगत पाँच वर्षदेखि नयाँ बानेश्वरमा धर्नामा बस्दै आउनुभएका महाप्रसाद पराजुलीले भन्नुभयो । अग्रज समाज नेपालका अध्यक्षसमेत रहनुभएका पराजुलीले साझामा भाडा निःशुल्क गर्नु प्रशंसायोग्य भएको बताउनुभयो । अहिले ज्येष्ठ नागरिकले रु दुई हजार वृद्धाभत्ता (सामाजिक भत्ता) पाउँदै आएका छन् । त्यसैगरी ज्येष्ठ नागरिकले परिचयपत्रको आधारमा सार्वजनिक यातायातामा र सरकारी अस्पताल (स्वास्थ्य उपचारमा) मा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकले सरकारले दिँदै आएको मासिक रु दुई हजार वृद्ध भत्तालाई बढाउनुपर्ने, स्वास्थ्य र यातायातमा दिइएको ५० प्रतिशत छुटको व्यवस्थालाई जिल्ला–जिल्लामा कार्यान्वयन गर्नुपर्ने माग राखेर विगत पाँच वर्षदेखि महाप्रसाद पराजुलीले धर्ना बस्दै आएका छन् । धर्र्ना बस्ने ज्येष्ठ नागरिकमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्राललयका उपसचिव मीरा शेरचनाका अनुसार विगत दुई वर्षदेखि ७५ वटै जिल्लामा रहेका महिला बालबालिका कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिँदै आएको छ । उहाँका अुनसार हालसम्म करिब तीन लाख ज्येष्ठ नागरिकले परिचयपत्र पाइसकेका छन् । धर्नामा बस्ने ज्येष्ठ नागरिकमध्ये धेरै जना आफन्त नभएका, छोरा बुहारीले वृद्धाश्रम र सडक छेउमा बेवारिसे अवस्थामा छोडिदिएका, आफन्तले घरबाट निकालिदिएका विभिन्न दलका नेता, सरकारी कर्मचारी र राज्यका जिम्मेवार निकायमा रहनुभएका व्यक्तिका आमाबाबु सहभागी हुनुहुन्छ । अध्यक्ष पराजुलीले सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मात्र वृद्ध भत्ता दिने गरेको हुँदा ६० वर्षदेखि नै दिन सुरु गर्नुपर्ने माग गर्नुभयो । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या करिब २२ लाख रहेको छ ।

छाउगोठमा सुत्दा सर्पले लियो ज्यान

काठमाडौं, असार २४  । छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको छ। जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो। स्थानीय लैनचौर निवासी तुल्सी शाहीलाई बिहीबार राति छाउगोठमा सुतेको समयमा सर्पले टोकेको थियो। मध्यरातमा सर्पले टोकेपछि परिवारले धामी झाँक्रीमार्फत् उपचारको प्रयास गरेका थिए। तर, भरपर्दो उपचार नपाउँदा २२ वर्षीया तुल्सीको शुक्रबार मृत्यु भएको हो। गाउँमै रहेको मामाको घरमा रहेको छाउगोठमा सुतेकी तुल्सीलाई राति १० बजे सर्पले टोकेको थियो। सर्पले टोकेको करिब नौ घण्टापछि उपचारकै अभावमा तुल्सीकाे ज्यान गएको नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य केन्द्र पनि टाढा भएको र एम्बुलेन्स पनि नहुँदा उपचार नपाएरै शान्ताको मृत्यु भएको हो। जम्बुकाँध स्वास्थ्य चौकीमा कार्यरत अनमी कमला शाहीले उपचार अभावमै शान्ताको मृत्यु भएको जानकारी दिए । नगरपालिका भए पनि सो स्थानमा अहिले पनि छाउपडी प्रथा कायमै छ । घरभित्र पस्दा देउता रिसाउने र अनर्थ हुने अन्धविश्वासका कारण स्थानीयले महिनावारीको वेलामा महिलालाई सात दिनसम्म घरभित्र पस्न दिदैंनन् । यही अन्धविश्वासका कारण छोगोठमा सुतेकी तुल्सीको अकालमै ज्यान गुमेको हो । छापउडी विरुद्ध विभिन्न सरकारी तथा गैरसरकारी निकायले अभियान पनि संचालन गर्दै आएका छन् । तर, सबै अभियान प्रभावकारी हुन सकेका छैनन् । अहिले पनि प्रदेश ६ र ७ का जिल्लामा छाउपडी प्रथा कायमै रहेको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ  ।

पहिलोपटक पतिपत्नीका नाममा संयुक्त जग्गाधनी पूर्जा

रुकुम, असार २३ । पैतृक सम्पत्तिमाथि पुरुषको मात्रै अधिकार रहेको हाम्रो समाजमा पहिलो पटक रुकुमको आठबिसकोट नगरपालिकाका एक जोडीका नाममा पहिलोपटक संयुक्त जग्गाधनी पूर्जा दिइएको छ । घर जग्गामा दुवैको समान अधिकार स्थापित गर्न आठबिसकोट नगरपालिका–११ का लालवीर कामी र विमला कामीले जिल्ला मालपोत कार्यालयमार्फत संयुक्त जग्गाधनी पूर्जा बनाएका हुन् । सरकारले केही वर्ष पहिलेदेखि नै संयुक्त जग्गाधनी पूर्जाको मान्यता दिए पनि यस जिल्लामा भने पहिलोपटक श्रीमान्को नाममा भएको जग्गा श्रीमान् र श्रीमतीको नाममा संयुक्त पूर्जा हुने गरी रजिस्टे«सन गरिएको छ । यहाँ पछिल्लो समय महिलाको नाममा जग्गा रजिस्टे«सन गर्नेको सङ्ख्यामा वृद्धि भए पनि अहिलेसम्म कसैले पनि संयुक्त जग्गाधनी पूर्जा बनाएको थिएन । लालवीर र विमलाले पहिलोपटक संयुक्त पूर्जा बनाएको जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी डिल्ली खड्काले बताए । सम्पत्तिमा पनि बराबर स्वामित्व बनाउन आफ्नो नाममा रहेको एक हजार वर्ग मिटर क्षेत्रफल जग्गालाई दुवैको नाममा पूर्जा बनाएको लालवीरले बताए । खाद्य सुरक्षित उत्थानशील समुदाय निर्माण परियोजनाअन्तर्गत समुदायमा गठन भएका महिला सशक्तीकरण केन्द्रमा भएको छलफलबाट आफ्नो नाममा पनि सम्पत्ति हुनुपर्ने आफूले थाहा पाएको विमलाले बताइन । आफ्नो नाममा पनि जग्गा हुँदा आफूले साँच्चिकै नयाँ जीवन पाएजस्तो अनुभूति गरेको पनि विमलाले बताउनुभयो ।

एमालेको विजय र्‍यालीको जीप दुर्घटना, २३ घाइते

झापा, असार २३। झापाको भद्रपुर नगरपालिका एमालेको विजयी र्‍यालीमा प्रयोग गरिएको जीप दुर्घटनामा हुँदा २३ जना घाइते भएका छन् । विजय र्याली लिएर भद्रपुरबाट पृथ्वीनगर जाँदै गरेको मे १ ज १२२४ नम्बरको जीप सगरमाथा–वालुवाडी सडकखण्डमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले जानकारी दिएका छन् । घाइतेहरुको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । ।

नागरिकले सही सूचना पाउँछन् : बास्कोटा

काठमाडौं, २३ असार । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले नागरिकले सूचना माग्दा नपाउने परिपाटीको अन्त्य भैसकेको बताएका छन् । ‘सूचनाको हक कार्यान्वयनका लागि पत्रकारको भूमिका विषयक’ अन्तरक्रिया कार्यक्रममा उनले गोपनीयताको नाममा सूचनाको हक कार्यान्वयनलाई कुण्ठित गर्न खोज्ने गलत प्रवृतिलाई पत्रकारले तोड्न सक्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ नेपाल एफ.एम प्रष्ठिान शाखाले आयोजना गरेको अन्तरक्रियामा प्रमुख आयुक्त बास्कोटाले पत्रकारले मौलिक हक अन्र्तगतको सूचनाको हक कार्यान्वयन नगर्न÷नगराउन खोज्नेलाई बाहिर ल्याउँदा राष्ट्रिय सूचना आयोग सदैब सहयोग र सहकार्य गर्न तयार रहने प्रतिवद्धता ब्यक्त गरे । तर आम–नागरिक नै सूचनाको हक सम्वन्धि व्यवस्थाबारे अनविज्ञ हुनु भनेको दुःखद भएको भन्दै उनले पत्रकारहरुले कम्तीमा संविधानले ग्यारेन्टी गरेका बृद्धबृद्धा, महिला, कृषक, ब्यावसायीका अधिकारबारे समेत सुसुचित गराउनुपर्ने आवश्यक्ता औल्याएका छन् । नेपालको संविधानले पत्रकारका लागि छुट्टै कुनै सुविधा दिएर सूचना पाउन सक्ने ब्यवस्था नगरेको भए पनि सूचना दिनेले एक जना पत्रकारलाई सुचना दिँदा लाखौँ नागरिकसम्म पुग्ने यथार्थ बुझ्नुपर्ने र त्यो अभ्यास सुरु भैसकेको बताए । तर अडियोमार्फत सूचना पाउन सक्ने ब्यवस्था नगरेकाले रेडियो पत्रकारहरुका लागि केहि अप्ठ्याराहरु रहेको बास्कोटाको स्विकार गरेका छन् । उनले भने ‘अडियोमार्फत सूचना पाउने ब्यवस्था छैन् । त्यसैले रेडियोबाट हेर्दा सूचनाको हक अपुरो रहेको बताए ।