सरकारको ध्यान अब गेम चेञ्जर ठूला जलविद्युत आयोजनामा : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारले गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको बताएका छन् ।
सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत, बंगलादेश र चीनसमेत हाम्रो विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा लागेको बताएका हुन् ।
बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने र स्रोतको अभाव हुन नदिने स्पष्ट गर्दै उनले तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १०,८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरु भएको जानकारी दिए ।
त्यस्तै १,९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको जानकारी दिंदै प्रधानमन्त्री प्रचण्डले हाल कार्यान्वयनमा रहेको ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनालाई आफूले सिधै पनि सहजीकरण गरिरहेको र १,०६३ मेगावाट क्षमताको माथिल्लो अरूण आयोजनालाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको बताए ।
आउँदो दुईदेखि तीन महिनाभित्र टेस्टिङ कमिसनिङ भइरहेका थप आयोजनाहरूबाट करिव ५६४ मेगावाट उत्पादन थप हुने जानकारी दिंदै उहाँले हालसम्म ९,१६४ मेगावाटका जलविद्युत् आयोजनाको निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता सम्पन्न भएको र जसमध्ये यस वर्षमात्र करिव २२ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता सम्पन्न भएको स्पष्ट गरे।
‘सुनकोशी मरिन डाइभर्सन तथा कमला डाइभर्सन सिंचाइ आयोजनाहरूलाई समेत थप पानी उपलब्ध गराउन सक्ने ६७८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना पनि सरकारको प्राथमिकतामा छ’– प्रधानमन्त्री प्रचण्डले भने– ‘राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गरिँदैछ। प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट यस्ता आयोजनाहरूको नियमित अनुगमन गर्न मैले सुरु गरिसकेकोछु ।’
सरकारको एक वर्ष : जलवायु कूटनीतिमा नयाँ आयाम
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न कोप–२८ सम्मेलन अहिले नेपालमा चर्चाको विषय बनेको छ । हुन त हरेक वर्ष आयोजना हुने यस्ता कोप सम्मेलनको नेपालमा त्यति चर्चा भएको पाइँदैन तर यसपालिको कोप जलवायु परिवर्तनको सवालमा आफ्नो मुद्दासहितको दर्बिलो उपस्थितिले गर्दा पनि निकै चर्चा पाएको हो । कोपको चर्चा त संयुक्त रष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटरेसको अक्टोबर २०२३ मा नेपाल भ्रमणपश्चात् नै सुरू भएको थियो । महासचिव गुटरेसले उक्त सम्मेलनमा हिमाली तथा पर्वतीय मुलुकको मुद्दालाई आफ्नो भाषणको प्रमुख अंश बनाएका थिए र हिमाली तथा पहाडी मुलुकमा जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई सम्बोधन गरिनुपर्ने कुरा बताएका थिए । त्यस्तै कोप–२८ मा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेपालले शून्य बराबरको उत्सर्जन गरे पनि सबैभन्दा बढी प्रभावित भएको र यसपालि आफू ती निर्दोश जनता जो बिना कुनै कसुर जलवायु परिवर्तनको नकारात्मक असर खेपिरहेका छन् उनीहरुको आवाजलाई बुलन्द गर्न आएको बताउनुभएको थियो । यी दुई माथिका भनाइले के बताउँछ भने हिन्दूकुश हिमालय र त्यसमा आश्रित मान्छेहरू सङ्कटमा रहेको कुरा प्रष्ट हुन्छ । त्यसो त गुटरेस गत अक्टोबरमा नेपालको भ्रमणको क्रममा हिमालयमा जलवायु परिवर्तनको असरबारे सगरमाथा, अन्नपूर्ण र लुम्बिनीबाट विश्व समुदायलाई एकैपटक वक्तव्यमार्फत सन्देश दिएका थिए । त्यसले विश्व मानचित्रमा नेपाल र हिमालय शृङ्खलालाई विश्वभर चिनाउन सफल भएको छ । गुटरेसको भ्रमणपश्चात् नेपालमा जलवायु परिवर्तनको मुद्दाबारे नयाँ शिराबाट बहस सुरू हुन थाल्यो भने हिमालय शृङ्खलामा जलवायु परिवर्तनले पारेको असरबारे विश्वस्तरमा नै बहस तथा छलफलको विषय बन्न पुग्यो । नेपालमा पनि जलवायु परिवर्तनको मुद्दाको बहस परम्परागतभन्दा फरक तरिकाले सुरू हुन थाएको छ । कोपको पूर्वसन्ध्यामा सरकारले आयोजना गरेको जलवायु सम्मेलनले आफ्नो धारणालाई प्रष्ट पारेको छ । प्रधानमन्त्री दाहालले कोपमा आफूले कम विकसित राष्ट्रहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित छन् अझै हिमालय क्षेत्र झनै बढी प्रभावित रहेको कुरालाई विशेष महत्वका साथ उठाउनुभएको थियो । उहाँले भन्नुभएको थियो, “जलवायु परिवर्तनबाट भएको असर कम गर्नका लागि आर्थिक सहायता वा वित्तको लागि हामीले सहयोगको याचना गर्ने हैन कि पाउने नैसर्गिक अधिकार हो ।” उक्त जलवायु सम्मेलनमा नेपालले जलवायु न्यायको आधारमा अनुकूलन, उत्थानशीलता र हानि तथा नोक्सानीमा प्रदान गरिने जलवायु वित्त अनुदान प्राप्ति तथा प्राप्तिको लागि जटिल प्रक्रियागत झन्झटलाई हटाएर सहज र सरलीकरण गरिनुपर्ने, जलवायु न्यायमा आधारित वित्तदाताहरू तथा महाशक्ति राष्ट्रहरूको इच्छा तथा अनुकूलतामा हैन कि नेपालको राष्ट्रिय हितमा हुनुपर्ने, पर्वतीय राष्ट्रमा जलवायु परिवर्तनबाट परेको असर र यहाँका जनताले भोग्नुपरेको त्रासदीको बारेमा विश्वको ध्यानाकर्षण गराउने कुराहरू प्रमुख रहेका थिए । यस परिवेशमा नेपालले कोपमा जानुअगावै आफ्नो तयारीको साथ प्रस्तुत गर्नको लागि विभिन्न फोरम तथा बैठकहरू आयोजना गरी आफ्ना मुद्दाहरूको बारेमा तयारी थालिएको थियो र परम्परागत तरिका र विधिलाई फेर्दै नयाँ ढङ्गले प्रस्तुत हुने योजनाको साथ प्रधानमन्त्री दाहालले कोपमा भाग लिनुभएको थियो । कोप–२८ मा नेपालको प्रस्तुति विगतको भन्दा फरक ढङ्गको हुने र यसलाई एउटा अवसरको रूपमा प्रयोग गर्ने प्रधानमन्त्रीले बताउनुभएको थियो । नेपालले कोपमा पहिलोपटक आफ्नै पभेलियन लियो र उक्त पभेलियनमा प्रधानमन्त्रीले उच्चस्तरीय गोलमेचको आयोजना पनि गर्नुभयो । उक्त गोलमेचको प्रमुख वक्ता राष्ट्रसङ्घका महासचिव, एण्डोराका प्रधानमन्त्री तथा अन्य देशका विशिष्ट अतिथिको उपस्थिति रहेको थियो । सो गोलमेचमा नेपालको हिमालयमा जलवायु परिवर्तनले पारेको असरका बारेमा छलफल भएको थियो र पर्वतीय मुलुकहरूमा जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरण गर्न तत्काल पहल गर्नुपर्ने कुरामा छलफल भएको थियो । नेपालको पभेलियनमा अन्य विषयमा पनि व्यापक छलफल भएको थियो । नेपालले आफ्नै पभेलियन लिएर कोपको अवधिभर आफ्नो प्रस्तुतिलाई बलियो बनाएको थियो । सम्मेलनमा प्रधानमन्त्रीले भन्नुभएको थियो, “जलवायु परिवर्तन प्रकृति र मानवताविरुद्धको युद्ध’ भएको र आफ्नो स्वार्थ पूरा गर्नका लागि हामी आफैँ र भावी पुस्तासँग समेत लडिरहेका छौँ र म यहाँ मेरो निर्दोष मानिसका लागि जलवायु न्यायका लागि उभिएको छु जो यस प्रकोपबाट पूर्ण पीडित छन् ।” सम्मेलनमा उहाँले तापक्रम वृद्धिले पर्वतीय देशहरू आक्रान्त भएका छन् र यसको असरले जनता र यस ग्रहलाई नै विश्वस्तरीय सेवा दिइरहेको हिमालयको पारिस्थितिकीय प्रणाली, जैविक विविधता, मानव सभ्यता र जनजीविकाको आधारलाई नै खल्बल्याएको उल्लेख गर्नुभयो । सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिवले सम्बोधन गर्ने क्रममा नै नेपालको हिमालय र अन्टार्टिकाको मुद्दालाई महत्वका साथ उठाएको र यसले पर्वतीय मुलुकहरूको मुद्दालाई अब सम्बोधन गर्नुपर्ने कुरालाई महत्वका साथ उजागर गरेका छन् । यसपालिको कोपमा नेपालले अन्तर्राष्ट्रियस्तरमा देशको अवस्थिति र जलवायु परिवर्तनले गर्दा उत्पन्न आक्रान्त अवस्थालाई दर्बिलो ढङ्गले प्रष्टसँग प्रस्तुत गर्न सकेको छ । नेपालले आफ्ना मुद्दाहरू परम्परागतभन्दा फरक ढङ्गले प्रस्तुत गरी जलवायु कूटनीति, जलवायु न्याय, जलवायु वित्त तथा वित्तमा सहज र सरल पहुँचको सन्दर्भमा नयाँ बहसको थालनी गरेको छ । नेपालले जलवायु न्यायको कुरालाई प्रखररूपमा राख्न सफल भयो, ‘याचना हैन अधिकार हो’ भन्ने कुरालाई राम्रोसँग स्थापित ग¥यो । अन्तर्राष्ट्रिय जलवायु परिवर्तन वित्तमा अल्पविकसित तथा गरिब मुलुकहरूलाई सरल, सहज पहुँचको विषयलाई प्रस्तुत ग¥यो । सबैभन्दा महत्वपूर्ण कुरा त नेपालको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय नीति तथा कुटनीति समुद्र तटीय देशहरूको अनुकूलतामा आफूलाई समाहित गर्दै उनीहरूको मुद्दामा सहमत जनाउँदै आएको थियो यो निरिहतालाई यसपालिको कोपले परिवर्तन ल्याएको छ । यसरी समुद्र तटीय देशहरूको अनुकूलतामा बरालिएको नेपालको जलवायु कूटनीतिलाई नेपालको अनुकूलतामा ल्याउन यसपालिको कोपले महत्वपूर्ण भूमिका खेलेको छ । नेपाल तथा पर्वतीय मुलुकहरूको मुद्दालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । यसभन्दा पहिला पर्वतीय मुलुकहरूको मुद्दा अस्थायीरूपमा थियो तर यसपालिको कोपमा यस मुद्दालाई प्रमुखरूपमा उठानको लागि देशको तर्फबाट राम्रो पहल भएको छ । अतिकम विकसित राष्ट्रहरूको नाममा समुद्र तटीय देशहरुका मुद्दाहरूमा समाहित हँुदै आएको र सीमित स्वार्थ केन्द्रित सङ्घ, संस्था र व्यक्तिको कब्जामा रहेको नेपालको जलवायु परिवर्तनको मुद्दालाई यसपालिको कोपले समग्र देशको पक्षमा केन्द्रित गर्न सफल भएको छ । अन्यत्रै रुमलिएको वा बरालिएको नेपालको जलवायु कूटनीतिलाई अहिले राष्ट्र हितमा वा राष्ट्रको पक्षमा ल्याउन करिब सफलताको खुड्किलोतिर गएको छ । अब बाँकी नेपालको शासकीय प्रणालीले कोप–२८ को क्रममा लिइएको पहलकदमीबाट सकारात्मक परिणाम निकाल्नका लागि कस्तो भूमिका निर्वाह गर्दछ हेर्न बाँकी छ ।। (लेखक जलवायु परिवर्तनसम्बन्धी विषयका विज्ञ हुनुहुन्छ)
बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव
दमक । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई सोमबार बिहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारमा भएको लापरवाहीले उनको मृत्यु भएको भन्दै आफन्तहरु क्षतिपूर्ति र स्वास्थ्यकर्मीलाई कारबाहीसहित प्रदर्शनमा उत्रेका छन् । उपचारका क्रममा सोमबार विहान ल्याइएकी महिलाको साँझ मृत्यु भएको अस्पताल व्यवस्थापनले जनाएको छ । मृतकका छोराछोरीको पालनपोषण, शिक्षादिक्षाका लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफुहरुको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए । इमरजेन्सीमा भर्ना भएको बिरामीको दिनभर राख्दा समेत कुनै पनि रिपोर्ट नदिएको र उपचार नगरेको आरोप आफन्तले लगाएका छन् । रिपोर्ट नदिनु र उपचार नगर्नु लापरवाही हो, मृतकका भाइ बाँस्कोटाले भने । घटनाका विषयमा छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ । मृतकको शव अस्पतालको आइसियूमा रहेको जनाइएको छ । अस्पताल प्रवेशमा रोक लगाइएको छ । प्रहरीले सोमबार बेलुकादेखि नै अस्पताल परिसरमा सुरक्षा कडा बनाएको छ ।
परम्परा बोकेका समुदायको संरक्षण गर्नु सबैको दायित्व : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । २०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा एक शुभकामना व्यक्त गर्दै उनले ज्यापु समुदायको जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू, कला, कौशलले उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा पुर्याएको योगदान महत्त्वपूर्ण एवं प्रशंसनीय रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले विभिन्न जातजातिको मौलिक कला, संस्कृति र पर्वहरू नेपाली समाजका पुँजी रहेको बताउँदै नेपाली सभ्यताको विकास र उत्थानमा जातीय विविधताले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे । संविधानले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँका विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताएका छन् । उनले भने, “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।” त्यसैगरी, प्रधानमन्त्री प्रचण्डले किराँत जातिले मनाउने उधौली पर्वको शुभकामना दिदै यस्ता पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डद्धार व्यक्त शुभकामनामा भनिएको छ -‘नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ। लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो। राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहन्छ। यस्ता मौलिक चाडपर्वहरूले नेपालीहरूबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ। नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ। २१ औं शताब्दीमा नेपाली पहिचानसहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धता आजको आवश्यकता हो।’
नक्कली श्रम स्वीकृति बोकेका दुई महिलासहित ८ जना नेपाली मुम्बई विमानस्थलबाट पक्राउ
मुम्बई । नक्कली श्रम स्वीकृति बोकेको पाइएपछि भारतमा दुई महिलासहित आठ जना नेपाली नागरिक पक्राउ परेका छन् । उनीहरूलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । मुम्बई हुँदै कुवेत र यूएई जान लागेका उनीहरूको साथमा रहेको श्रम स्वीकृति नक्कली रहेको अध्यागमनका कर्मचारीहरूले पत्ता लगाएका थिए । पक्राउ पर्ने दुई महिलामा २२ वर्षीया माइली बोमजन र ३२ वर्षीया भगवती डांगी रहेका छन् । उनीहरूलाई शनिबार पक्राउ गरिएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । अध्यागमनका अधिकारीहरूलाई शङ्का लागेर उनीहरूको दस्ताबेज जाँच गरिएको थियो । उनीहरूको साथमा रहेको दस्ताबेजबारे नेपालको श्रम मन्त्रालयसँग बुझ्दा त्यो नक्कली रहेको पुष्टि भएको साहर प्रहरी थानाका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार मन्त्रालयले ईमेलमार्फत ती दस्ताबेज नक्कली रहेको जवाफ पठाएको थियो । प्रहरीका अनुसार उनीहरू दलाललाई १५ लाख बुझाएर वैदेशिक रोजगारीका लागि यूएई जान लागेका थिए । आठ जनालाई भारतीय पेनल कोडको फरक–फरक धारामा ठगीको मामिलामा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
आरती साह हत्या प्रकरणमा पति मोतीबाबु पक्राउ
काठमाडौं । धनुषाकी आरती साह हत्या प्रकरणमा अभियुक्त बनाइएका आरतीका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ। साहलाई प्रहरीले आज सोमबार बिहान जनकपुरधामको सगुन होटेलबाट पक्राउ गरेको हो। सो प्रकरणमा गत मंसिर २० गते सर्वोच्च अदालतले गरेको फैसलामा आरतीका पती साहलाई पक्राउ गर्ने आदेश दिइएको थियो। गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरती साहको हत्या भएको भन्दै आरतीका माइती पक्षले जाहेरी दिएका थिए। सो घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै माइती पक्षले लामो समयदेखि काठमाडौंस्थित माइतीघरमा धर्ना दिँदै आएका थिए।
नेपालमा डिजिटलाइजेशनको विकल्प छैन : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताएका छन् । नेपाल क्लियरिङ हाउसको राजधानीमा सम्पन्न १५ औं वार्षिकोत्स्व समारोहमा उनले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनेदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरु हटाउँदै लैजाने बताए । उनले डिजिटलाइजेशनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने दाबी गरे । नेपालमा डिजिटलाइजेशन प्रणालीको बिस्तार बढीरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने गभर्नर अधिकारीले बताए । आम नागरिकहरु पनि चाँडोभन्दा चाँडो डिजिटल पेमेण्टमा जानुपर्ने बताउँदै उनले फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताए । गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरु लाग्ने हो भने अरु मुलुकले झैँ समग्र अर्थतन्त्रलाई डिजिटलाइजेशन गर्न सकिने बताए ।
मोटरसाइकललाई ठक्कर दिएर दुईजनाको मृत्यु भएपछि बसमा आगजनी
काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका गाउँपालिका–३, बोहोरेटारमा आज बिहान बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाइदिएका छन् । सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटनापछि आक्रोसित भएका स्थानीयले बिहान १० बजेपछि बसमा आगो लगाएका हुन् । घटनापछि स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । घटनास्थलबाट शव उठाएर अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो । विपरीत दिशाबाट आइरहेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई वाग्मती प्रदेश ०१–००६ ख ४५९३ नं को बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बक्यौता नतिर्ने थप दुई उद्योगको काटियो बिजुली
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ। बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो। प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ तिर्न बाँकी छ। त्यस्तै सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी छ। प्राधिकरणले शनिबार पनि बक्यौता नतिर्ने चार उद्योगको बिजुली काटेको थियो। जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको पनि बिजुली काटेको हो।
बाग्मति प्रदेशमा नवौं, आठौं र सातौं तहमा दरखास्त माग (सूचनासहित)
काठमाडौं । प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेश हेटौंडाले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ ज्येष्ठता र कार्य सम्पादनको मूल्यांकनबाट हुने बढुवा तथा खुलातर्फको दरखास्त आह्वान गरिएको छ । नवौं, सातौं र आठौं तहका पदहरूमा आवेदन माग गरिएको हो ।
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्रपतिको विश्वास
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डद्धारा ‘क्रिसमस डे’को शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उनले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्वास लिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले जारी गरेको सन्देशमा नेपालको संविधानले बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै मौलिक हकका रुपमा सुनिश्चित गरेको विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । २१औँ शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिंगो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको प्रधानमन्त्री प्रचण्डले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । प्रधामन्त्री प्रचण्डले राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षासहित क्रिसमस पर्वले संकीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति सबैलाई प्रेरित गर्दै आएको बताएका छन् । रासस
आज ‘क्रिसमस डे’ मनाइँदै
काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ । रासस
पाँच महिनामा देशको कुल निर्यातभन्दा ४१ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात
काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा देशको कुल निर्यातभन्दा ४१ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ । भन्सार विभागका अनुसार पेट्रोलियम आयात कुल निर्यातभन्दा ४१ अर्ब तीन करोड ४९ लाख ६३ अर्ब रुपैयाँ बढी छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले पाँच महिना (साउन–मंसिर) मा एक खर्ब चार अर्ब २४ करोड २३ लाख ९८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ । जबकि नेपालको पाँच महिनाको कुल निर्यात ६३ अर्ब मात्र छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले चालु आवको पाँच महिनामा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँको कुल निर्यात गरेको छ । चालु आवको पाँच महिनामा २८ अर्ब ५५ करोड ८६ करोड ८२ लाखको पेट्रोल, २० अर्ब ६५ करोड ५८ लाख ३० हजारको खाना पकाउने एलपीजी ग्यास आयात गरेको छ । यस्तै, ५३ अर्ब ९० करोड ३२ लाख ९२ हजारको डिजेल र एक अर्ब १२ करोड ४५ लाख ९३ हजार रुपैयाँको हवाई इन्धन आयात भएको तथ्यांकले देखाएको छ । सरकाले पेट्रोलियम पदार्थबाट मात्र ४० अर्ब ४५ करोड ९८ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपाल टेलिकमले ४० प्रतिशत लाभांश दिने
काठमाडौं। नेपाल टेलिकमले शेयरधनीहरुलाई प्रतिशत शेयर ४० रुपैयाँ ९४० प्रतिशत० नगद लाभांश दिने भएको छ । कम्पनीले पुस २९ गते, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। उक्त साधारणसभाले लाभांश पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्दैछ।
उच्च अदालतमा अटोमेसन शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले भने-‘अनियमितता भए सहने छैन’
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कुनै पनि प्रकारको अनियमितता भेटिए आफू कठोर बन्ने बताएका छन् । पेसी व्यवस्थापनका लागि आजदेखि उच्च अदालत पाटनमा नियमित अटोमेसन शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले उच्च अदालतका मुख्य न्यायाधीशहरूलाई पनि चनाखो भएर हेर्न निर्देशन दिएका हुन् । “मुख्य न्यायाधीशज्यूहरू आफ्ना नजिकका जिल्ला अदालतसम्म मुन्टो उठाएर हेर्नुस्, कमीकमजोरी घटाउन काम गर्नुस् । प्रविधिले सहजीकरण गर्ने हो, फैसला न्यायाधीशले नै गर्ने हो,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “हरेक दिन तपाईंहरूको रिपोर्ट आईटीमार्फत नै लिइरहेको छु । कहीँ कतै अनियमितता भएको भए म सहने छैन ।”

