अघिल्लो भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माण गर्छौं : प्रधानमन्त्री
पुस १८, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७२ सालमा गएको महाभूकम्प र त्यसपछि आएका पटकपटकमा भूकम्पबाट शिक्षा लिएर पुनर्निर्माणको काम गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।
बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी बृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘प्रभावित क्षेत्रमा क्षतिको आंकलन तथा आवश्यकता पहिचानको काम करिब करिब सम्पन्न भएको छ। यसका आधारमा उपयुक्त कार्ययोजना तय गरी प्रदेश र स्थानीय तहको अगुवाइ तथा तीनै तहको समन्वयमा पुन निर्माणको कार्य प्रारम्भ गर्नेछौँ। हामीले घरहरू मात्रै बनाएर पुग्दैन, त्यहाँ सार्वजनिक संरचनाको पुनर्निर्माण तथा आर्थिक, सांस्कृतिकसहित समग्र पुनर्निर्माणको योजना बनाएर अघि बढ्ने योजना हुनुपर्दछ।’’
पुनर्निर्माणको काम अघि बढाउँदा कर्णाली र सुदूरपश्चिमका जनताको सामाजिक, सांस्कृतिक पहिचान र संस्कृतिको सम्मानका साथै उनीहरूसँगको छलफल र सहमतिका आधारमा निर्णय गर्ने र विपत् व्यवस्थापनमा स्थानीय तहको क्षमता अभिवृद्धि हुने गरी कार्ययोजना बनाउन प्रधानमन्त्रीले निर्देशन दिए।
यसैगरी पुनर्निर्माणको कार्यमा स्थानीय स्रोतसाधनको उपयोग र परिचालन, सीप विकास तथा रोजगारी सिर्जनाको अवसर, मौलिक तथा भूगोल र जलवायु अनुकूल बस्ती विकासलाई समेत विशेष ध्यान आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘‘२०७२ को गोरखा र सिन्धुपाल्चोकको भूकम्पको अनुभवबाट पाठ सिक्दै नेपाललाई कसरी विपत् र जलवायु परिवर्तन उत्थानशील बनाउने भन्ने चुनौती हाम्रासामु छ। हामी २०७२ मा गठन गरिएको पुनर्निर्माण प्राधिकरण जस्तो छुट्टै निकाय बनाउने बाटोमा जाँदैनौं। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अझै सशक्त बनाउन ऐन परिमार्जन गरेर भए पनि यसलाई साधनस्रोत सम्पन्न गरेर र यस प्राधिकरणको सांगठनिक संरचनालाई मजबुत बनाएर यसैमार्फत पुनर्निर्माणको काम अघि बढाउँछौं।’’
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र श्रीलंकाली राजदूतबीच भेटवार्ता
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, विकासमा भरतपुर र श्रीलंकाबीच गर्न सकिने सहकार्यबारे छलफल भएको थियो । महानगरपालिका प्रमुख रेनु दाहालले मित्र राष्ट्र श्रीलंका र नेपालबीच लामो समयदेखि कुटनीतिक सम्बन्ध कायम रहेको उल्लेख गरिन् । प्रमुख दाहालले दक्षिण एसियाली सहयोग संगठन सार्कको दुई सदस्य राष्ट्र रहेको स्मरण गरिन । भरतपुरले थालेको भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन श्रीलंकाको रचनात्मक सुझाव र सहयोगको अपेक्षा पनि गरिन। भेटवार्तामा नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाले भरतपुर र श्रीलंककाको कोलोम्बु सहरबीच भगिनी सम्बन्ध स्थापनाका लागि सकारात्मक रहेको र यसका लागि पहल थाल्ने बताए । राजदूत पाथिरानाले भरतपुर र श्रीलंकाले शिक्षा, स्वास्थ्यलगायतका विषयमा दुई देशबीच सहकार्य गरी अगाडि बढ्न सकिने उल्लेख गरे । भरतपुरमा निर्माणधीन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा आवश्यक प्राविधि सहयोगका लागि श्रीलंका इच्छुक रहेको राजदूत पाथिरानाले बताए । राजदूत पाथिराना सोमबार नै रंगशालाको अवलोकन गरे । रंगशाला निर्माणका लागि राजदूत पाथिरानाले अलि बढी चासो देखाए ।भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन श्रीलंकाबाट पर्यटकलाई भरतपुर पठाउन सक्दो सहयोग गर्ने पनि बताए। कार्यक्रममा श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्र, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, उपसचिव उपेन्द्र पौडेल, उपनिर्देशक जगन्नाथ अर्यालको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा सार्वजनिक विदा नदिन र बालबालिका प्रयोग नगर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक विदा नदिन तथा बालबालिकाहरुलाई समेत सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिएका छन् । रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक विदा दिएको समाचार आएपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम सचिवालयले प्रधानमन्त्रीको निर्देशनवारे जानकारी गराएको हो । प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको विदा रद्ध गरेको छ । आफू सहभागी हुने अन्य कार्यक्रममा पनि सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन रहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
काठमाडौंं । काठमाडौं महानगरापालीका प्रमुख बालेन साहले प्रमुख प्रशासकिय अधिकृत वसन्त अधिकारीलाई कार्यलय प्रवेशमा रोक लगाएका छन् । महानगरपालीकाको स्वास्थ्य विभाग तर्फका कर्मचारी नियुक्तिको विषयमा प्रमुख साह र अधिकारीबीच बिमति भए पछि उनलाई कार्यलय प्रवेशमा रोक लगाएका हुन्। मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका छन् । प्रमुख प्रशासकिय अधिकृत अधिकारीले भने अहिले सम्म कामनापा नै रहेको र बिदामा बसेको बताएका छन् । महानगरपालीका स्रोतका अनुसार मेयर साहले सोमबरबाट कार्यालयमा नआउन अधिकारीलाई निर्देशन दिएका थिए । महानगर प्रमुख साह अर्को प्रमुख प्रशासकिय अधिकृतको खोजिमा रहेका छन् ।
सुदूरपश्चिम विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको प्रदेश हो : मन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको स्थान रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित दृश्यमा खप्तड श्रृंखला २ को विमोचन कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले यस्तो बताए। उनले परिवेश, परिस्थितिको विकाससँगै सुदूरपश्चिममा पनि विकासका सम्भावनाका ढोकाहरु खुलेको बताए । परराष्ट्रमन्त्री साउदले जलविद्युत उत्पादन, कृषि, सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रका लागि पनि सुदूरपश्चिम क्षेत्र महत्वपूर्ण रहेको बताए। उनले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले पनि सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताए । मन्त्री साउदले अहिले पनि सुदूपश्चिमलाई आवश्यक विकास गर्न नसकिएको बताएका छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि मंगलबार दरखास्त आह्वान गरेको हो। प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय कानुन, कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको, नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको र उच्च व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने समितिले जनाएको छ।
बालकुमारी घटना : मृतकका परिवारले शव बुझ्नेसहित भयो चारबुँदे सहमति(सहमतिसहित)
काठमाडौं । ललितपुरको बालकुमारीमा भएको घटनामा मृतकका परिवारले शव बुझ्ने भएका छन् । प्रदर्शनमा मारिएका परिवार तथा आफन्त र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज गृह मन्त्रालयमा भेटघाट गरी शव बुझ्ने सहमति भएको हो । आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमति भएको छ । अछामका वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमतिमा हस्ताक्षर गरेका छन् । गत शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवकको मृत्यु भएको थियो । यस्तो छ चारबुँदे सहमति १.मृतकका परिवारलाई, परिवारका सदस्यहरूसँगको सल्लाहमा ११ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने । २।सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने ३.मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने ४.मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने ।
बालकुमारी प्रदर्शनमा मारिएकाका आफन्त र गृहमन्त्रीबीच भेटघाट, लिखित सहमति
काठमाडौं। बालकुमारी प्रदर्शनमा मारिएकाका परिवार तथा आफन्त र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज गृह मन्त्रालयमा भेटघाट भएको छ। आजैको मन्त्रीपरिषद बैठकले घटना छानबिनका लागि उच्चस्तरीय समिति बनाएको र गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिको बैठकमा उच्चस्तरीय समितिको सुझाव तथा प्रतिवेदनबमोजिम दोषीलाई कार्वाही गरिने प्रतिबद्धता जाहेर गरेको परिस्थितिबीच उक्त भेटघाट भएको हो। मृतकहरूको गृह जिल्ला दैलेख र अछामका तथा आसपास जिल्लाका सांसद एवम् जनप्रतिनिधिसहित गृहमन्त्रालय आएका आफन्तलाई गृहमन्त्री श्रेष्ठले न्याय दिलाएरै छाडिनेमा आश्वस्त बनाए। त्यससँगै मृतकका परिवार र गृह मन्त्रालयबीच आज चारबुँदे लिखित सहमति समेत भएको छ। मृतकका परिवारका तर्फबाट अछामका विरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्की सांसद दीपकुमारी शर्मा रोहबर बसेका हुन्। चारबुँदे सहमति यस्तो छ: १) मृतकका परिवारलाई, परिवारका सदस्यहरूसँगको सल्लाहमा ११ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने। २) सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने। ३) मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने। ४) मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुन्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने।
प्रहरीले नियन्त्रणमा परेका सांसद र मन्त्री गृहमन्त्रीले छुटाए
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ जनमत पार्टीका नेता कार्यकर्ता छुटाउन प्रहरी कार्यालय पुगेका छन्। गृहमन्त्री श्रेष्ठ महेन्द्र पुलिस क्लब पुगेर सोमबार नियन्त्रणमा परेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित नेता कार्यकर्ता छुटाएका हुन्। सोमबार विहान ‘धोती दिवस’ मनाउन भन्दै निषेधित क्षेत्रमा जम्मा भएका सो पार्टीका अध्यक्ष सिके राउत र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवि सहित ५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई प्रहरीले महेन्द्र पुलिस क्लबमा लगेको थियो छुटाउन गृहमन्त्री श्रेष्ठ स्वंम उपस्थित भएका थिए ।
श्रम र यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकका निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले पुस १३ गते शुक्रबार इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जना नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताए । समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले घटना सम्बन्धित साना कर्मचारीमात्र निलम्बन पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरुको मनोबल नगिर्ने गरी समस्याको समाधान गर्न न्यायोचित समाधान गर्न प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई र गृह मन्त्रालयलाई निर्देशन दिने र उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायातमन्त्रीको भूमिकाको बारेमा शुद्ध छानबिन गर्न निर्देशन दिने र यस प्रकारका घटना अब आइन्दा नहोस् भनि सबै पक्ष सजग रहन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । सभापति खतिवडाले सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन पर्याप्त उपलब्ध गराउन पनि निर्देशन दिए ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा कुँवर
काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को अध्यक्षमा योगेन्द्रकुमार कुँवर चयन भएका छन् । जेटियुसीसीको यही पुस १४ र १५ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनले नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्षसमेत रहेका कुँवरलाई एक वर्षका लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो । यस्तै, महासचिवमा लालकुमार लामा र महिला संयोजकमा विष्णु थापामगरलाई चयन गरेको हो । जेटियुसीसीमा हाल नेपालमा मान्यता प्राप्त दश वटा ट्रेड युनियन महासङ्घ आबद्ध छन् । हरेक एक÷एक वर्षमा हुने जेटियुसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्दै आएका छन् । रासस
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पोखरा पर्यटन परिषद्लाई पर्यटन बोर्डको सम्मान
पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा पर्यटन परिषदलाई सम्मान गरेको छ । बोर्डको वार्षिकोत्सवको अवसरमा पोखराका दुईवटा संस्थालाई सम्मान गरिएको हो । परिषद सँगै माउण्ट कैलाश रिसोर्ट पनि सम्मानित भएको छ । उनीहरुले पोखराको पर्यटन विकासमा पुर्याएको योगदानलाई सम्मान गरिएको बोर्डले जनाएको छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र रिसोर्टका सञ्चालक नरेश भट्टराईलाई सम्मान गरे । पर्यटन परिषदले पर्यटन बोर्डको प्रबद्र्धनात्मक कार्यमा सहयोग, सहकार्य र साझेदारी गरेको थियो भने रिसोर्टले पर्यटकलाई स्तरीय सेवा प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ ।
आज आठौँ राष्ट्रिय टोपी दिवस
काठमाडौं । आज आठौँ राष्ट्रिय टोपी दिवस मनाइँदैछ । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन यो दिवस मनाउने गरिन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवसको रुपमा मनाउन थालिएको हो । यस दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ। नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ। विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आआफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।
अवैध सुनबाट सरकारले पाँच वर्षमा करिब दुई अर्ब रुपैयाँ राजस्व संकलन
काठमाडौं । बितेको पाँच वर्षमा बरामद गरिएको अवैध सुनबाट सरकारले करिब दुई अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ । “अवैध सुनचाँदी बरामदतर्फको राजस्व संकलनतर्फ आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा सुनतर्फ करिब ८२ प्रतिशत र चाँदीतर्फ ३० प्रतिशतले कमी आएको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनानुसार, आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० को अवधिमा बरामद गरिएको अवैध सुनबाट एक अर्ब ९२ करोड १९ लाख ९५ हजार ९७२ रुपैयाँ राजस्व संकलन भएको छ । उक्त अवधिमा १८५.०१ केजी अवैध सुन बरामद गरिएको थियो । नेपाल प्रहरीले आर्थिक वर्ष २०७५र७६ मा ६०।९१ केजी, २०७६/७७ मा ३४.३६, २०७७/७८ मा ३७.७२, २०७८/७९ मा ३१.३७ र २०७९/८० मा २०.६५ केजी अवैध सुन बरामद गरेको थियो । गृहको प्रतिवेदनानुसार, आर्थिक वर्ष २०७५/७६ मा अवैध रूपमा बरामद सुनबाट ३० करोड १७ लाख ५७ हजार ३२७ रुपैयाँ राजस्व संकलन गरिएको थियो । यो रकम आर्थिक वर्ष २०७६र७७ मा २० करोड ३० लाख ५१ हजार १३२ रुपैयाँ थियो । आर्थिक वर्ष २०७७/७८ मा बरामद गरिएको अवैध सुनबाट सरकारले २७ करोड चार लाख २५ हजार २८१ रुपैयाँ राजस्व उठाएको थियो । आर्थिक वर्ष २०७८/७९ मा अवैध सुनबाट ९७ करोड ४७ लाख ३९ हजार ९८९ रुपैयाँ राजस्व संकलन गरिएको थियो । गत आर्थिक वर्ष २०७९र८० मा बरामद गरिएको अवैध सुनबाट सरकारले १७ करोड २० लाख २२ हजार २४३ रुपैयाँ राजस्व उठाएको थियो । गृहको प्रतिवेदनानुसार, पछिल्लो पाँच वर्षमा बरामद गरिएको अवैध सुनबाट सबैभन्दा बढी राजस्व आर्थिक वर्ष २०७८/७९ मा र सबैभन्दा कम २०७९र८० मा संकलन गरिएको देखिन्छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) प्रहरीले ९३.६ केजी अवैध सुन बरामद गरिसकेको छ । सुनको परिमाणले चालु आर्थिक वर्षमा तुलनात्मक रूपमा बढी राजस्व संकलन हुने देखिन्छ । अवैध सुनको कारोबारमा संलग्न रहेको आरोपमा बितेको पाँच आर्थिक वर्षमा ३७७ व्यक्तिलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अवैध सुनसहित ९४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
टाट पल्टिएको साउदीको कम्पनीले ५७१ नेपाली श्रमिकलाई बोलायो तलब लिन (सूचनासहित)
काठमाडौं । साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकलाई बाँकी तलब र सुविधा लिन बोलाएको छ। मोहमद अल मोजिल ग्रुप कम्पनी टाट पल्टिएर श्रमिकको पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेको थियो। यसअघि टाट पल्टिएपछि पारिश्रमिक लगायत सुविधा नदिई कम्पनीले कर्मचारी बिदा गरेको थियो। ५ सय ७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी छ। तर कम्पनीबाट पाउनु पर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली श्रमिकको सूची सार्वजनिक गर्दै सो कम्पनीले उनीहरुलाई बोलाएको हो। कम्पनीले नेपाली कामदारहरुसँग सम्पर्क गराई कम्पनीबाट पाउनु पर्ने सुविधा भुक्तानीमा सहजीकरण गरिदिन रियादस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरेको छ। दूतावासले सूचना जारी गर्दै उक्त कम्पनीबाट सुविधा लिन बाँकी नेपालीलाई आवश्यक विवरण भर्न सूचना जारी गरेको छ।

