मुग्लिन–पोखरा सडकखण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्रको तयारी

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिमखण्ड तनहुँको जामुनेदेखि पोखरासम्म आउँदो माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका निम्ति अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना पश्चिमखण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए ।

केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ । हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्र छ । सडक कालोपत्रका निम्ति करिब दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताए ।

उनले भने, “पुसको अन्तिम वा माघको सुरुदेखि कालोपत्र हुनेछ । त्यहीअनुसार अहिले काम भइरहेको छ ।” उनका अनुसार हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन् । त्यस्तै, आयोजनास्थलमा ४०० भन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ ।

सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं. २०७८ जेठ २ गते सम्झौता भई ०७८ भदौ १२ गतेदेखि काम सुरु गरिएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद वि.सं.२०८१ भदौसम्म छ । यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको थियो ।

पूर्वीखण्डमा भने काम तीव्र गतिमा अगाडि बढेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वीखण्डमा करिब ४५ प्रतिशत काम सकिएको । पूर्वीखण्डमा १२।५ किलोमिटर एकतर्फी र दुई किलोमिटर दुईतर्फी कालोपत्र सकिएको छ । यसअघि एकतर्फी कालोपत्र सकिएको ठाउँमा दुईतर्फी रूपमा कालोपत्र गर्ने काम भइरहेको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

यसअघि, आँबुखैरेनी गाउँपालिका–१, सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म ३.५ र बन्दीपुर गाउँपालिका–१, नाहालदेखि छिर्कनेसम्म ५.५ किलोमिटरखण्ड एकतर्फी कालोपत्र भइसकेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको उनको भनाइ छ । पूर्वीखण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ ।

पूर्वीखण्डको कामका निम्ति वि.सं. २०७७ माघ १७ गते सम्झौता भई ०७८ वैशाख २ गतेदेखि काम सुरु गरिएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद ०८१ वैशाखसम्म छ ।

वि.सं. २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडकसीमा दुईतर्फी २५ः२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस

सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

काठमाडौँ । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौं : सञ्चारमन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले छानबिन समितिको काम अन्तिम चरणमा रहेको जानकारी दिँदै समितिको प्रतिवेदन प्राप्त भएपछि मात्र बाँकी कारबाहीको प्रक्रिया अघि बढाउने बताएकी हुन् । उनले एनसेलको शेयर खरिद बिक्री प्रक्रिया अहिले स्थगित रहेको बताउँदै दूरसञ्चार ऐनको संशोधनका लागि मन्त्रालय तयारी सुरु गरेको जानकारी दिइन् । “अहिले समितिले छानबिन गरिरहेको छ । सरकारको कार्यदेशअनुसार समितिले काम अघि बढाइरहेको छ”, उनले भनिन्, “प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निर्णय गर्नेछ ।” गत मङ्सिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको शेयर खरिद बिक्रीका विषयमा अध्ययनका लागि पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिले एनसेलको हालै भएको भनिएको शेयर खरिद बिक्री र हस्तान्तरण सम्बन्धमा भए गरेका काम कारबाहीको विस्तृत अध्ययन गरी त्यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर, दूरसञ्चार नियमन र सञ्चालन सम्बन्धमा सुझावसहितको अध्ययन प्रतिवेदन बुझाउने छ । समितिले तत्काल चाल्नुपर्ने कदम तथा दूरसञ्चार क्षेत्रका लागि भविष्यमा गर्नुपर्ने सुधारका लागि पनि राय सुझावसहित ३० दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले निर्देशन दिएको थियो । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार ऐन, २०५३ र वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बीच एकरुपता नहुँदा अस्पष्टता देखिएको बताइन् । उनले एनसेलले शेयर खरिद बिक्रीका लागि प्राधिकरणसँग स्वीकृति नलिएको बताए । उनले भनिन्, “नेपाल बाहिर नै कारोबार भए पनि प्राधिकरणसँग स्वीकृति लिनुपर्छ । प्राधिकरणको विनियमावली, २०७६ को व्यवस्थाबमोजिम शेयर खरिद बिक्रीका लागि दुवै पक्षले निवेदन दिइ प्राधिकरणको स्वीकृतिपश्चात् मात्र कारोबार गर्नुपर्ने देखिन्छ, जुन ऐनसेलको हकमा भएको देखिँदैन ।” कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार टोकबहादुर विष्टले पनि यस विषयमा अनुसन्धान जारी रहेको बताइन् । समितिको बैठकमा समिति सदस्य सुमना श्रेष्ठ, छविलाल विश्वकर्मा, दीपा शर्मा, तोसिमा कार्की र बद्री पाण्डेलगायतले अन्तरसमिति समन्वय विना एनसेलको शेयर खरिद बिक्री प्रकरणमा छुट्टाछुट्टै बैठक एवम् निर्देशन जारी गरेकोप्रति असहमति जनाइन्। नियमनकारी निकाय हुँदाहुँदै छुट्टै समितिको गठन गरी छानबिन गर्नाले दोहोरोपनको समस्या सिर्जना हुनसक्ने भन्दै मन्त्रीसमक्ष जिज्ञासा राखेका थिए। एनसेलको ८० प्रतिशत स्वामित्व (शेयर) हस्तान्तरण सम्बन्धमा यसअघि नै सार्वजनिक लेखासमिति, अर्थसमिति र राज्यव्यवस्था तथा सुशासन समितिले छलफल गरेको थियो । मलेसियन टेलिकम कम्पनी एक्जियटा गु्रपले आफ्नो स्वामित्वको ८० प्रतिशत बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीसँगको शेयर बिक्रीका विषयमा नियमनकारी निकायले समयमा नै जानकार नभएकोप्रति समितिका सदस्यले आशङ्का व्यक्त गरेका थिए । रासस

प्राधिकरणको पत्रकार सम्मेलन – ‘बाँकी बक्यौता उठाई छाड्ने, अन्य उद्योगहरूको पनि लाइन काट्दै जाने’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूबाट २०८० मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बक्यौताबारे जानकारी गराएको हो । ‘यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९ वटा ठुला उद्योगहरूको रहेको छ’, प्राधिकरणले बक्यौता रहेका अन्य उद्योगहरूको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीति रहेको पनि प्रस्ट पारेको छ । पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट केही उद्योगहरूको विद्युत् लाइन विच्छेद गर्न सुरु गरिएको जनाएको छ । तर, तत्कालीन मन्त्रिपरिषद्को २०७६ पौष २१ गतेको निर्णय बमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, उद्योग मन्त्री र सोही मन्त्रालयका सचिवहरूको बैठकले कोरोना भाइरसको कारण समग्र उद्योग व्यवसायमा परेको प्रभावलाई समेत ध्यानमा राखी डेडिकेटेड तथा ट्रङ्क महसुलसम्बन्धी विवाद भएका उद्योगहरूको सम्बन्धमा थप निर्णय नहुञ्जेल विद्युत् लाइन नकाट्ने र उद्योगहरूलाई साबिक बमोजिम नै सेवा सुचारु गराउन नेपाल विद्युत् प्राधिकरणलाई लेखी पठाउने भन्ने निर्णय प्राप्त भएपछि लाइन पुनः जोडिएको पनि जनाएको छ । विगतमा डेडिकेटेड फिडर एवम् ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको महसुल नतिरेका ग्राहकहरूको विद्युत् आपूर्ति विच्छेद गरिएपछि सार्वजनिक रूपमा भइरहेका टिका टिप्पणीप्रति प्रस्ट पार्न विद्युत् प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरेको हो ।

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला, सेनाले गर्यो डिस्पोज

बाँके । बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा उक्त सकेट बम फेला पारेको हो । खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको हो । अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृत पारिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

बिमस्टेकको भावी कार्यदिशा निर्धारण नेपालका लागि महत्वपूर्ण अवसर : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले बिमस्टेकको भावी कार्यदिशा तथा प्राथमिकताहरू निर्धारण गर्ने कार्य नेपालका लागि महत्वपूर्ण अवसर रहेको बताएका छन् । बिहीबार नीति अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित बिमस्टेकको भावी कार्यदिशा विषयक संवाद कार्यक्रममा उनले उनले यस्तो बताएका हुन् । यसैबीच नेपाल सदस्य रहेको संगठनलाई कस्तो बनाउने र उक्त संगठनबाट कसरी अधिकतम लाभ लिन सकिन्छ भन्ने विषयमा छलफल विमर्श तथा गृहकार्य हुनु जरुरी रहेको बताए । बिमस्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्र अन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा बिमस्टेक प्रकृयाले लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक इपीजी गठन भएकोसमेत जानकारी दिए । उनले नेपाल भूपरिवेष्ठित मुलुक भएकै कारण वैदेशिक व्यापार चुनौतिपूर्ण रहेको भन्दै चुनौतीहरूको सामना गर्न क्षेत्रीय संगठन भित्रको अर्थपूर्ण आवद्धताले सहयोग पुग्ने बताए।

थाईल्याण्डका राजदूत वलीले लिए शपथ

काठमाडौँ । थाइल्यान्डका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राजदूत वलीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । उक्त अवसरमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

नेपाल-ल्हासा सिधा उडान दोस्रो सेतु : मन्त्री किराती

काठमाडौं । चीन र नेपालको सम्बन्धमा नेपाल ल्हासा सिधा हवाई उडान दोश्रो सेतुकोरुपमा स्थापित भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् । बिहीबार हिमालय एयरलाइन्सको काठमाडौं ल्हसा उडानको उद्घाटन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् । मन्त्री किरातीले भने, ‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान ।’ तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरु घुम्न आउने गर्छन् । जसमध्ये ठूलो संख्यामा चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने गर्छ । जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने छ । नेपाल र चीनबीचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोशेढुङ्गाको काम गरेका छन् । पाँचौँ शताब्दीमा बुद्धभद्रले बुद्धसूत्रको अनुवाद गर्दै चीनमा बुद्धधर्मको प्रचार गर्ने काम गरे।सातौँ शताब्दीमा बेहुली बनेर तिब्बत गएकी राजकुमारी भृकुटीले नेपाली कला र संस्कृतिलाई तिब्बतभर छर्ने काम गरिन्। १३ औँ शताब्दीमा अरनिकोले चीनलाई कर्म थलो बनाएर नेपाली बास्तुकलालाई चीनमा परिचित गराए । चिनियाँहरुले नेपाललाई गौतम बुद्ध जन्मिएको देश र एक असल मित्र राष्ट्र भनेर मान्छ । नेपाल पनि एक चीन नीतिप्रति प्रतिबद्ध रहेको छ । कोम्निङ, बेइजिङ, सांघाई क्विङ्डाओ, चोङ्कुइङ, कोङ्मिङ पछि ल्हसामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो । यससंगै ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालयन एयरलाइन्स रहेको छ ।

पूर्वडिआइजी शाह जवानहरूको तलब–भत्ता भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाह प्रहरी जवानहरूको तलब–भत्तामा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका छन् ।उनी ‘छापामारको छोरो’ पुस्तकका लागि ०६३ मा मदन पुरस्कार विजेता समेत हुन् । मध्यक्षेत्रीय तालिम केन्द्र दुधौलीमा कार्यरत छँदा कार्यालय प्रमुख रहेका शाहले सइ दीपेन्द्रप्रसाद पनेरूसँग मिलेर दुई सय ४५ जवानको (प्रशिक्षार्थीसमेत)तलब–भत्तामा ३३ लाख ३८ हजार ८४ रुपैयाँ हिनामिना गरेको ठहर भएको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले गरेको फैसलामा उनीहरूले एक सय तीन जवानको ०७२ माघ र फागुनको तलब–भत्ताबाट ३१ लाख ८८ हजार ४६८ रुपैयाँ हिनामिना गरेका थिए । प्रहरी प्रधान कार्यालयले माघको तलब–भत्ता पाउने गरी ११ माघ ०७२ मा ती जवानको सरुवा गरेको थियो । त्यस्तै, एक सय ४२ नयाँ प्रशिक्षार्थी जवानको तलब–भत्तामा एक लाख ४९ हजार ६१६ रुपैयाँ हिनामिना गरेका थिए । ती जवानको ३ माघ ०७२ बाट तलब–भत्ता पाउने गरी नियुक्ति भएकोमा शाह र पनेरूले १ माघदेखिकै तलब–भत्ता निकालेर मासेको ठहर छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाह र पनेरूसँगै दुधौली तालिम केन्द्रकै तत्कालीन लेखा सहायक प्रहरी हवल्दार केशवसिंह ऐरी र जिल्लाको कोष तथा लेखानियन्त्रक कार्यालयका तत्कालीन लेखापाल सञ्जीव बिसंखेलाई पनि प्रतिवादी बनाएर २० फागुन ०७६ मा विशेषमा मुद्दा दायर गरेको थियो । झन्डै चार वर्षपछि आएको फैसलामा ऐरी र बिसंखेले भने सफाइ पाएको विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले बताए ।

पुरानो बानेश्वरमा ढिस्कोले पुरिएका मजदुरको उद्धार

काठमाडौं । काठमाडौँको पुरानो बानेश्वरमा ढल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका मजदुरको उद्धार गरिएको छ । मंगलबार मध्यराति ढल बनाउने क्रममा बानेश्वरबाट सेतोपुलतर्फ जाने सडकमा ढिस्को खसेर २५ वर्षीय योगेन्द्र लिम्बु पुरिएका हुन् । पाँचथरको फिदिम नगरपालिका–१२ घर भएर गौशाला बस्ने योगेन्द्रलाई तत्काल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । प्रहरी कन्ट्रोलमार्फत मजदुर पुरिएको खबर आएपछि प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेवे नेतृत्वको टिम उद्धारमा खटिएको थियो । उद्धारपछि उनको पुरानो बानेश्वरस्थित फ्रन्टलाईन अस्पतालमा उपचार भइरहेको छ । मध्यराति पौने १२ बजे प्रहरी पुग्दा योगेन्द्र लिम्बु पूर्णरुपमा पुरिएको अवस्थामा भेटिएको एसएसपी खत्रीले जानकारी दिए ।

यी हुन् प्रधानमन्त्री प्रचण्डका महत्त्वपूर्ण घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् र सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले एक वर्षमा गरेका कामहरुसँगै आफ्ना केही विश्‍लेषण, केही समीक्षा, केही अनुभूति र केही संकल्प जनतासमक्ष राखेको बताए । सो क्रममा प्रधानमन्त्रीले केही महत्त्वपूर्ण घोषणाहरू समेत गरेका छन् । यस्ता छन् प्रधानमन्त्री प्रचण्डको सम्बोधनमा समेटिएका महत्त्वपूर्ण घोषणाहरू – पूर्वनिर्धारित र अपरिहार्यबाहेक प्रधानमन्त्री कुनै पनि कार्यक्रममा नजाने । – पूर्वाधार आयोजनामा कम्तीमा दुई ‘सिफ्ट’मा काम गर्ने व्यवस्था मिलाउने र ‘ब्यारेक मोडल’मा लैजाने । ‘८० को दशक तीव्र विकासको दशक’ घोषणा गर्ने । – यसै आर्थिक वर्षभित्र मुलुकको सार्वभौम साख मूल्यांकन (सोभरेन कन्ट्री रेटिङ) गर्ने । – कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुख फिर्ता बोलाउने । – बजेटका सिद्धान्त र प्राथमिकता फागुनभित्रै पेस गर्ने । – उद्योग दर्तालाई सहजीकरण गर्न एकद्वार प्रणालीलाई एक महिनाभित्र पूर्ण कार्यान्वयनमा ल्याउने । – लगानीबोर्डको कार्यालयलाई थप अधिकारसम्पन्न बनाउने । – भैरहवा र पोखरा विमानस्थललाई सार्वजनिक–निजी साझेदारी अवधारणामा अघि बढाउने । – किर्तिपुर क्रिकेट मैदान निर्माणको काम सार्वजनिक–निजी साझेदारअन्तर्गत अघि बढाउने, मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना बनाउने । – विश्वविद्यालयलाई राजनीतिक भागबण्डाबाट मुक्त बनाउने । – आगामी शैक्षिक वर्षदेखि सूचनाप्रविधिको माध्यमबाट विज्ञान, गणित र अंग्रेजी विषयको पठनपाठन सुरु गर्ने । – सरकारी अस्पतालमा नर्सिङ, प्यारामेडिक्सलगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने । – बीमाको हालको रकमको दायरा बढाउने, हाल सञ्चालित सबै निःशुल्क कार्यक्रमलाई एकीकृतरूपमा स्वास्थ्य बिमामा आबद्ध गर्ने । – सबै प्रकारका कृषि अनुदानलाई यसै आर्थिक वर्षभित्र एकीकृत गरी आगामी वर्षदेखि किसानको सूचीकरणका आधारमा अनुदान तथा मल वितरण सुरु गर्ने । – प्रमुख खाद्यान्न तथा तरकारीमा ‘उत्पादनमा आधारित अनुदान प्रणाली’ लागू गर्ने । – दूध किसानको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी गर्ने । – कृषि लगानी दशक (विस २०८१–२०९१) घोषणा गर्ने । – आगामी असार मसान्तसम्म ३० वटा प्रयोगशालासहितको एकीकृत कृषि तथा पशुसेवा केन्द्रको निर्माण सम्पन्न गर्ने । – मध्यपहाडी लोकमार्गलाई सूचना महामार्गका रूपमा विकास गर्ने । – आगामी चैतभित्र सबै केन्द्रीयस्तरका सरकारी कार्यालयमा सूचना प्रविधिमा आधारित एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने । – प्रधानमन्त्रीको अध्यक्षतामा तत्कालै शासकीय सुधार आयोग गठन गर्ने । – निजामती सेवा कानुन र सार्वजनिक खरिद कानुन संसद्को आगामी हिउँदे अधिवेशनबाट पारित गर्ने । – भूमि ऐन र वन ऐनमा रहेको विरोधाभाष हटाउने । – आम सहमतिमै शान्तिप्रक्रियाका बाँकी काम सक्ने । – कार्बन उत्सर्जन घटाउन र जलवायु वित्त परिचालन गर्ने दायित्व पूरा गर्न विश्व समुदायलाई घच्घच्याउन अन्तरमन्त्रालय संयन्त्र र विज्ञसम्मिलित अन्तर्राष्ट्रिय वार्ता टोली बनाउने । – कार्बन व्यापारमा पहुँच र जलवायु परिवर्तनसम्बन्धी हरित जलवायु कोष, हानी र नोक्सानी कोषलगायतमा नेपालको पहुँच बढाउन र छिटो सहयोग प्राप्त गर्न नियमित ‘लबिइङ’ गर्ने । – मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरी जलमा पुर्‍याउने । – दलित विकास प्राधिकरणका लागि पहल गर्ने । – विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्ने । – माघ मसान्तभित्र सबै जिल्ला प्रशासन कार्यालयमा थप जनशक्तिको व्यवस्था गरी राष्ट्रिय परिचयपत्र र राहदानी प्राप्त गर्ने समयावधि छोट्याइने । – अनलाइनबाटै राहदानी वितरण गर्ने व्यवस्था गर्ने । – वैदेशिक रोजगारीको प्रक्रियालाई पूर्ण अनलाइन गरी बैंकिङ प्रणालीसँग जोड्ने । – आगामी चैतभित्र सबै सरकारी कार्यालय, संस्थान र प्रतिष्ठानमा कार्यरत करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरिसक्ने । – कम्पनी रजिष्ट्रारको कार्यालयलाई पूर्ण स्वचालित प्रणालीमा लैजाने । – जाजरकोट भूकम्पबाट प्रभावितका लागि एक महिनाभित्र अस्थायी पुनःनिर्माणको काम सम्पन्न गर्ने । – औषधिमा आत्मनिर्भर बन्न नेपाल औषधि लिमिटेडमार्फत पहिलो चरणमा २० प्रकारका औषधि उत्पादन गर्ने । – उद्यमशीलता विकासका लागि एकीकृत रणनीति बनाउने । – यसै आर्थिक वर्षभित्र योग्यता पुगेका ‘स्टार्टअप’लाई पाँच वर्षका लागि दुई प्रतिशत ब्याजदरमा ५० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाउने । – संघीयता कार्यान्वयनमा देखिएका गाँठा तत्काल फुकाउने । – संघ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपन र अस्पष्टता हटाउन कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जन गर्ने । – कमजोर कार्यसम्पादन भएका मन्त्रीलाई हटाउने । – नेपालबाट बंगलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न नेपाल–भारत–बंगलादेश त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने । – तीन वर्षभित्र सम्पन्न गर्ने गरी १० हजार आठ मेगावाट क्षमताको कर्णाली–चिसापानी जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गर्ने । – अबको दुईदेखि तीन महिनाभित्र करिब पाँच सय ६४ मेगावाट विद्युत् उत्पादन गर्ने । – राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनामा एआई जडित ड्रोन प्रविधिबाट अनुगमन गर्ने र प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट यस्ता आयोजनाको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने । – दुई अंकको आर्थिक वृद्धिको लक्ष्य राख्ने र त्यसका लागि नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्ने

आज देशभरका विद्यालयहरूमा ज्येष्ठ नागरिकसम्बन्धी विषय पढाउन निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो। सोही आधारमा शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको हो। आज देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले विभिन्न कार्यक्रमहरू आयोजना गर्दैछ। बालबालिकाहरूमा ज्येष्ठ नागरिकका बारेमा जानकारी गराउने उद्देश्यले अध्यापन गराइदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो। मन्त्रालयको अनुरोधमा केन्द्रलाई त्यसको व्यवस्था मिलाउन भनिएको शिक्षा मन्त्रालयकी शाखा अधिकृत उषा लामिछाने जानकारी दिइन्।

बालुवाटारमा समाजवादी मोर्चाको बैठक, चारै दलका शीर्ष नेता सहभागी

काठमाडौं । समाजवादी मोर्चाका नेताहरू छलफलमा जुटेका छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताबिच छलफल जारी छ । छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरू सहभागी छन् । सरकारको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेको दोस्रो दिन मोर्चाको बैठक बसेको छ ।

हाजिर नहुने २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदा समेत उपस्थित नहुने २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । बाटो म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारणसहितको स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको छ । अन्यथा प्रहरी नियमावली, २०७१ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो समय तल्लो तह प्रहरी जवानदेखि हवल्लारसम्मका प्रहरी कर्मचारी बिनासूचना सेवाबाट हट्ने क्रम बढेको छ ।

सूर्यदर्शन सहकारीकाे रकम हिनामिना कसरी जोडिए रवि लामिछाने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नाम पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी काण्डमा जोडिएको छ । सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९८ रुपैयाँ हिनामिनामा ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईसँगै लामिछानेको नाम जोडिएको हो । लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि ग्यालेक्सी टेलिभिजनमा प्रबन्ध निर्देशक थिए । प्रबन्ध निर्देशकबाट राजीनामा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरी अध्यक्ष बनेका हुन् । ग्यालेक्सी टेलिभिजन गोरखा मिडिया नेटवर्क प्रा.लि.ले सञ्चालन गर्दै आएको छ । ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष हुन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी ‘स्क्याम’ छानबिन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमा रवि लामिछानेले लिएको १ करोड रुपैयाँ पुलेसो ब्रिज० ऋण गोरखा मिडिया नेटवर्क प्रा.लि.ले पेस्की फर्छ्यौट गरेको उल्लेख गरिएको छ । प्रतिवेदनमा रवि लामिछानेको नाम एक ठाउँमा मात्र उल्लेख छ । उनले कुन मितिमा ऋण लिएका थिए भन्ने प्रतिवेदनमा भेटिँदैन । उनको नाममा रहेको पुलेसो ऋण गोरखा मिडिया नेटकर्व प्रा.लि.ले तिरेको भन्ने मात्र प्रतिवेदनमा उल्लेख छ । “रवि लामिछानेको नाममा पुलेसो कर्जा नं.११६–४४५६ खडा गरि खाता नं. ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको,” प्रतिवेदनमा जनाइएको छ । सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिन भएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले छानबिन अघि बढाएको थियो । प्रहरी कार्यालयले २०८० साउन ३० गते अनुसन्धानमा सहयोग गरिदिन भन्दै पोखरा महानगरपालिकालाई अनुरोधसहितको पत्र पठाएको थियो । पत्रको चलानी नं.१७४० रहेको छ । त्यसपछि पोखरा महानगरपालिकाले रकम हिनामिना सम्वन्धमा अनुसन्धानसम्बन्धी कार्यमा सहयोग पु¥याउन र प्राप्त विवरण बमोजिम प्रतिवेदन गर्न एफ.सी.ए. अनिल लामिछाने र सहकारी विज्ञ दिपकप्रकाश आचार्यलाई खटाएको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय अपचलन मुद्दा अघि बढाउन पोखरा महानगरपालिकासँग अनुसन्धान प्रतिवेदन मागेको थियो । “पोखरा महानगरपालिका सहकारी शाखाको २०८० भदौ १० को पत्र अनुसार लामिछाने एण्ड एसोसिएट्सका प्रोपाइटर सि.ए.अनिल लामिछाने र सहकारी विज्ञ दिपकप्रकाश आचार्यलाई नियुक्त गरिएकोले प्राप्त प्रमाणअनुसार प्रतिवेदन पेश गरिएको छ,” प्रतिवेदनमा भनिएको छ । अनिल लामिछाने र दिपकप्रकाश आचार्यले २०८० असोज १० गते सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको वित्तीय स्थितिका विषयमा विश्लेषणात्मक प्रतिवेदन बुझाएका थिए । उनीहरुले प्रतिवेदन तयार पार्दा आर्थिक वर्ष २०७८/२०७९ को संस्थाको प्राप्त लेखा परिक्षण गरिएको वित्तीय प्रतिवेदन, आर्थिक वर्ष २०७९/२०८० र २०८०/८१ को कारोवारको विवरण, संस्थाको प्राप्त लेखा प्रणालीसँग सम्बन्धित संस्थामा भएका कागजातहरु, पोखरा महानगरपालिका सहकारी शाखासँग भएका संस्थासँग सम्बन्धित कागजातहरु र जिल्ला प्रहरी कार्यलय कास्कीबाट प्राप्त गरेका र उपलब्ध गराएका कागजातहरुको अध्ययनरअनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/८१ को भदौ २१ गतेसम्म सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको कारोवार भएको देखिएको थियो । प्रतिवेदनमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका मुख्य जिम्मेवार सञ्चालक तथा कर्मचारीहरु हाल सम्पर्कमा नभएकाले स्थलगत निरीक्षणबाट प्राप्त प्रमाणहरु र अन्य उपलब्ध कागजातको सहयोगबाट अनुसन्धान गर्नपर्ने अवस्था भएकाले अनुसन्धानको निष्कर्ष शतप्रतिशत नहुन पनि सक्ने जनाइएको छ । “सहकारी संस्थाका मुख्य जिम्मेवार सञ्चालक तथा कर्मचारीहरु सम्पर्कमा आइ प्रमाणसहित खुलासा गर्दा कारोबारको यथार्थ विवरण पत्ता लाग्ने हुन सक्छ । मिति २०७६ मंसिर ३० गतेभन्दा अघिको कारोबारहरु प्रविष्ट गरिएको लेखा प्रणाली प्राप्त नभएकाले हामीले प्राप्त गरेका कागजात तथा विवरणहरु पूर्ण नहुन पनि सक्छन्,” प्रतिवेदनमा भनिएको छ । सहकारी ऐन २०४८ को दफा १२ को उपदफा (१) ले अधिकार प्रयोग गरी २०६५ असार १ गते बसेको पहिलो प्रारम्भिक भेलाले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था स्थापना गर्न समिति गठन गरेको थियो । त्यसपछि संस्थाले विभिन्न व्यक्तिहरुलाई ऋण उपलब्ध गराउँदै आएको छ । संस्थाको २०८० भदौ २१ सम्म प्रयोग गरेको कम्प्युटर लेखा प्रणालीको वासलात अनुसार संस्थाको कर्जा सापटी १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९०८ रुपैयाँ १८ पैसा देखिन्छ । तर कम्प्युटर लेखा प्रणालीकै कर्जा सूची अनुसार सदस्यहरुलाई प्रदान गरिएको कर्जा १ अर्ब ३१ करोड ५६ लाख ३७ हजार ४४५ रुपैयाँ ४९ पैसा देखिन्छ । “दुवैतर्फको विवरण अनुसार २ लाख ५४ हजार ५३७ रुपैयाँ ३१ पैसा फरक पर्न गएको छ,” प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा गोरखा मिडिया नेटवर्क प्रा।लि।ले दुई पटक पुलेसो कर्जा लिएको उल्लेख छ । गोरखा मिडियाले बिना धितो कर्जा लिएको छ । उक्त मिडियो पहिलो पटक अकाउन्ट नम्बर ११६–०००४३६४ मा १ करोड रुपैयाँ लिएको छ । गोरखा मिडिया नेटवर्क प्रा।लि।ले दोस्रो पटक एकाउन्ट नम्बर ११६– ०००४८०१ मा १ करोड ३० लाख ८९ हजार रुपैयाँ कर्जा लिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रतिवेदनमा रवि लामिछानेको नाममा पुलेसो कर्जा नं। ११६–४४५६ खडा गरि खाता नं. ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको उल्लेख छ । उक्त पेश्की फछ्यौट खाता नं. १०३९–०००६६७५७ बाट गोरखा मिडिया नेटवर्क प्रा।लि। ले गरेको छ । “पेस्की फछ्यौट गर्न कृतिम खाता प्रयोग गरी रकमान्तरण गरेको पाइन्छ । यस कारोबारमा संस्थाका पूर्व अध्यक्ष गिजेन्द्र बाबु राईको नामबाट देहाय बमोजिमको कारोबार भएको पाइन्छ,” प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सदस्य, गैरसदस्य, कृतिम सदस्यहरुका कुल १८ हजार ७०० वटा बचत खाता सञ्चालनमा रहेको जनाइएको छ । “कुल बचत खातामा जम्मा बचत १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८८९ रुपैयाँ २ पैसा रहेको पाइन्छ,” प्रतिवेदनमा उल्लेख छ ।

सरकारको ध्यान अब गेम चेञ्जर ठूला जलविद्युत आयोजनामा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारले गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत, बंगलादेश र चीनसमेत हाम्रो विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा लागेको बताएका हुन् । बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने र स्रोतको अभाव हुन नदिने स्पष्ट गर्दै उनले तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १०,८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरु भएको जानकारी दिए । त्यस्तै १,९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको जानकारी दिंदै प्रधानमन्त्री प्रचण्डले हाल कार्यान्वयनमा रहेको ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनालाई आफूले सिधै पनि सहजीकरण गरिरहेको र १,०६३ मेगावाट क्षमताको माथिल्लो अरूण आयोजनालाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको बताए । आउँदो दुईदेखि तीन महिनाभित्र टेस्टिङ कमिसनिङ भइरहेका थप आयोजनाहरूबाट करिव ५६४ मेगावाट उत्पादन थप हुने जानकारी दिंदै उहाँले हालसम्म ९,१६४ मेगावाटका जलविद्युत् आयोजनाको निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता सम्पन्न भएको र जसमध्ये यस वर्षमात्र करिव २२ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता सम्पन्न भएको स्पष्ट गरे। ‘सुनकोशी मरिन डाइभर्सन तथा कमला डाइभर्सन सिंचाइ आयोजनाहरूलाई समेत थप पानी उपलब्ध गराउन सक्ने ६७८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना पनि सरकारको प्राथमिकतामा छ’– प्रधानमन्त्री प्रचण्डले भने– ‘राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गरिँदैछ। प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट यस्ता आयोजनाहरूको नियमित अनुगमन गर्न मैले सुरु गरिसकेकोछु ।’