रामेछापमा बाढी: पुल र घर बगाउँदा २ जनाको मृत्यु, ३ बेपत्ता

रामेछाप, साउन १ । रामेछापको लिखु गाउँपालिका वडा नम्बर ७ खिम्ती नदीमा शनिबार राति आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ । भने अन्य तीन जना वेपत्ता भएका छन् । बाढीमा परी छ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाढीमा परी ७५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको छ । घाइतेहरुको उद्धार कार्य भइरहेको जनाइएको छ । बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल र दुईवटा घर बगेको प्रहरीले जनाएको छ । बगाएको घरमा कति जना थिए त्यसबारे एकिन जानकारी छैन ।

शनिबार दिउँसो देखि खिम्ती क्षेत्रमा लगातार वर्षा भइरहेका छ । बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि घतना लगत्तै पुग्ने प्रयास गरे पनि अहिलेसम्म सम्भव भएको छैन । प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेलसहितको टोली खिम्तीतर्फ गएको छ ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जिल्ला सदरमुकामबाट तीनै सुरक्षा निकाय उद्धार कार्यका लागि परिचालन गरिएको बताएका छन् ।

अस्थायी शिक्षक विज्ञापनबारे पुनरुत्थान पार्टीको यस्तो माग

काठमाडौं । अस्थायी शिक्षकलाई स्थायी गर्न अन्तिम अवसरको रुपमा खुलेको शिक्षक विज्ञापनलाई शिक्षा ऐन अनुसारको पहिलो विज्ञापनमा रुपान्तरण गर्न माग गरिएको छ । अस्थायी शिक्षकको अधिकारका लागि निरन्तर क्रियशील रहँदै आएको पुनरुत्थान पार्टी नेपालले अहिलेको शिक्षक विज्ञापनलाई शिक्षा ऐनको संशोधन २०६३ अनुसार पहिलो विज्ञापन बनाउन माग गरेको हो । शनिवार शिक्षा पत्रकार समूहमा पत्रकार सम्मेलन गर्दै पार्टीका उपाध्यक्ष शरदकुमार मिश्रले सवैखाले अस्थायी शिक्षकहरुलाई परीक्षामा सहभागी गराउन माग गरे । शिक्षा ऐन २०२८ को २०६३ को संशोधनको दफा ११ च को थप गरिएको उपदफा (१क) ले ’पहिलो विज्ञापन’को व्यवस्था गरेको साथै, शिक्षा मन्त्रालयले सर्वोच्च अदालतमा २०७४ जेठ ९ गते पठाएको जवाफीपत्रमा ’पहिलो विज्ञापन’ हालसम्म नभएको भनी स्वीकार गरेकाले अहिलेकै विज्ञापनलाई ’पहिलो विज्ञापन’ मान्नुपर्ने मिश्रले जिकिर गरे । ‘ऐनमा र शिक्षक सेवा आयोगको नियमावलीमा समेत पहिलो विज्ञापनमा सवैखाले अस्थायी शिक्षकहरुलाई सहभागी हुन पाउने व्यवस्था छ’ –मिश्रले भने ‘मन्त्रालयले ’पहिलो विज्ञापन’ नै नभएको भन्दाभन्दै आयोगले सर्वोच्च अदालतमा ’पहिलो विज्ञापन’ भइसकेको भन्ने जवाफ पठाउँदै तालिम, लाइसेन्स, सेवा निरन्तरता, शिक्षा विषय नभएको भन्दै शिक्षकहरुलाई परीक्षाबाट बञ्चित गर्ने कुचेष्टा गरेकोछ ।’ यदी ‘पहिलो विज्ञापन’ नै नभइसकेको हो भने बाजुराका टीकाबहादुर घर्ती, कास्कीका टेकनाथ गौतमलगायत जो उमेरहदका कारण अवकाश भए उनीहरुलाई परीक्षापछिको सुविधा पाउनुपर्ने अन्यथा सवै अस्थायी शिक्षकहरुलाई परीक्षामा सहभागी हुनदिनुपर्ने मिश्रले जिकिर गरे । २०७३ कै विज्ञापनलाई नै ‘पहिलो विज्ञापन’ मानी शिक्षकलाई स्थायी नगराइए जस्तोसुकै कदम उठाउन पनि तयार रहेको चेतावनी दिँदै मिश्रले अस्थायी शिक्षकको न्यायका लागि पार्टीले सेनाको सहयोग लिएर ठूला पार्टी र सहमतिकर्ता विरुद्ध उत्रनसक्ने बताए । कार्यक्रममा ज्ञानोदय मावि बाफलका अस्थायी शिक्षक गोविन्द भण्डारीले स्नाकोत्तर आफुलाई पाठ्यक्रम विकास केन्द्रले सामाजिक विषय विज्ञ बनाएको, पुस्तक लेख्न लगाएको तर आयोगले भने तालिम नलिएको भन्दै परीक्षामा सहभागी हुनै अयोग्य घोषित गरिदिएको बताए । सेना पुलिसमा परीक्षा र भर्ति भएपछि तालिम लिनुपर्ने भएपनि शिक्षकमा रहेकोे तालिम नभए परीक्षा नै दिन नपाउँने अन्यायपूर्ण व्यवस्था परिवर्तन हुनुपर्ने उनले बताए । अधिवक्ता कोषराज काफ्लेले सहमति गर्नेहरुलाई ‘शिक्षकका दलाल’ को सङ्ज्ञा दिँदै कोही नागरिक खाना खाऊ र कोही भोकै बस भनेर (अनुपात मिलाउने) सहमति गर्नु खतरनाक भएको बताए । शिक्षक नेताहरुले आन्दोलन गर्ने, फेरी कोही शिक्षकलाई आन्तरिक र कोहीलाई खुला परीक्षामा भिड्न लगाउने गरी सहमति गरेर अस्थायी शिक्षकहरु प्रति घात गरेको दाबी गरे । सवै अस्थायी शिक्षकहरुलाई परीक्षाको मौका र परीक्षा पछिको सुविधा उपलब्ध नगराए राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, शिक्षामन्त्रीलगायतलाई नै बर्खास्त गर्नेगरी कानूनी लडाइ लड्ने काफ्लेले स्पष्ट पारे । सामुदायिक विद्यालय शिक्षक युनियनका अध्यक्ष सूर्यप्रसाद तिवारीले अस्थायी शिक्षकहरु प्रतिशत, समयसीमा र प्रकारका आधारमा वर्र्गीकरण गर्दै तीनखाले विज्ञापन गरिनु र अनुपातमा आधारित विज्ञपनमा अस्थायी शिक्षक नेताहरुले सहमति गर्नु लाजमर्दो विषय भएको बताए । आफुहरुले अदालतमा मानहानीको मुद्दा दायर गरेर अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको वार्ता र सहमतिको प्रयास स्थगित गराएको भन्दै तिवारीले यदी वार्ता प्रक्रिया पुनः अगाडी बढएर अस्थायी शिक्षक माथि विभेदपूर्ण सहमति गरिए र्वाामा सहभागी कर्मचारी र शिक्षकहरुलाई भौतिक आक्रमण गर्ने चेतावनी दिए । लोकप्रिय प्रावि रिठ्ठेशाखा, बुङ्दिकाली नवलपरासीका अस्थायी शिक्षक पुष्पराज चौधरीले आफुले परीक्षाको फारम भरेर प्रवेशपत्र लिइसकेको अवस्थामा आयोगले परीक्षा दिन नपाउने निर्णय गरेको बताए । “यसले अस्थायी शिक्षकको हालसम्मको योगदान, योग्यता र सर्वोच्च अदालतको परमादेशको धज्जी उडाएको छ” चौधरीले भने ।

राजपा र साझा पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, असार ३१। राष्ट्रिय जनता पार्टी (राजपा) र साझा पार्टी नेपाल औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएका छन । शनिबार बसेको आयोगको बैठकले राजपा र साझा पार्टीको दल दर्ता गर्ने निर्णय गरेको हो । स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गरेको राजपाले प्रदेश केही सय अघि मात्र प्रदेश नम्बर २ को चुनाव लागि निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएको थियो । राजपाले चुनाव चिन्ह छाता मागे छ तर आयोगले यसबारेमा भने कुनै निर्णय नभएको जनाएको छ ।

गरिबले सित्तैमा बस चढ्न पाउने !

काठमाडौं, असार ३० । काठमाडौं महानगरपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र बाँड्ने भएको छ । सोही परिचयपत्रका आधारमा गरिबहरुले साझा बसमा निःशूल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइने भएको छ । यसअघि अपांग र वृद्ध/वृद्धाहरुका लागि मात्रै साझा यातायातमा निःशुल्क व्यवस्था गरिएको भएपनि अबदेखि नै गरिबहरुले पनि निःशुल्क यात्रा गर्न पाउने भएका छन् । महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले सो कुरा बताएका हुन् । मेयर शाक्यले आगामी आर्थिक वर्ष २०७४/ ७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा अब राजधानमा गरिवहरुले समेत निःशुल्क साझा चढ्न पाउने भएका हुन् ।

हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैद

ताप्लेजुङ, ३० असार । जिल्ला अदालत ताप्लेजुङले वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलाशले शाहीको हत्याका अभियुक्त लेमिक्वाखोला गाउँपालिकाका सवीन भनिने टेकबहादुर लिम्बूलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई आठ महिना कैद तथा प्रमाण नष्ट गर्न भूमिका खेलेका देउकला लिम्बू, रामबहादुर लिम्बू र रिया भन्ने सोनिसा लिम्बूलाई जनही रु २० जरिवानाको सजाय तोकिएको छ । गत पुस १७ गते इलाका वन कार्यालय, खोक्लिङमा कार्यरत वन रक्षक शाहीको हत्या भएको थियो ।

चुनावमा हराएकी महिलाको कङ्काल भेटियाे

इलाम, असार ३० । तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कङ्काल बिहीबार फेला परेको छ । चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको कङ्काल फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोलका धनबहादुर बोहराको अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थामा उनको कङ्काल फेला परेको प्रहरीले जनाएको छ । मृतकको खोजीका लागि बाबु लाखबहादुर फागोले असार १० गते जिल्ला प्रहरी कार्यालय इलाममा निवेदन दिएका थिए । घाँस काट्न जानेले कङ्काल भेटेपछि इलाका प्रहरी कार्यालय मङ्गलबारेमा खबर गरेको प्रहरी निरीक्षक अम्बरबहादुर निरौलाले बताउनुभयो । मृतकले लगाएको कपडा र चप्पलबाट उनको पहिचान भएको प्रनि निरौलाले बताए । उनको हत्या भएको हो या आत्महत्या भएको हो भन्ने बिषयमा छानबिन भइरहेको प्रहरी निरीक्षक निरौलाले बताए । कङ्काललाई डिएनए परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ ।

बाढी पीडित बालबालिकाकाे विजाेग

मोरङ, असार ३० । मोरङको डाइनिया क्षेत्रका बाढीपीडित बालबालिका अझै नाङ्गै हिँड्न बाध्य भएका छन् । गत वर्षको साउन १० गते मोरङको बक्राहा खोलामा आएको बाढीले बाँध भत्काएर गाउँ पस्दा खाद्यान्न, लत्ताकपडा र सबै घर बगाएको थियो । त्यसपछि विस्थापित भएका मोरङको डाइनिया–३ र ८ का १५० घरपरिवारका करिब २०० बालबालिकाको शरीरमा आङ छोप्ने लुगा नहुँदा नाङ्गै हिँड्न बाध्य भएका हुन् । डाइनिया गोविन्दपुर सडकखण्डको छेउको मुस्लिम बस्तीका बालबालिकालाई नाङ्गै हिँड्नु परेको उनीहरुका अभिभावक अस्गर अलीको भनाइ छ । ओढ्ने–ओछ्याउने नहुँदा बालबालिका निद्रा नलागेर रातभरि जाग्राम बस्ने गरेको पीडित उर्मिलादेवी राजवंशीको भनाइ छ । बाढीबाट विस्थापित गरेकै दिनदेखि वृद्धवृद्धा र बालबालिकालाई निक्कै समस्या भइरहेको पीडितको भनाइ छ । सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा सो क्षेत्रमै बसोबास गर्दै आएका छन् ।

ट्राफिककाे भत्ता काटिएपछि काठमाडौंमा सवारी जाम बढ्यो !

काठमाडौं, असार ३० । गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन । सवारीसाधन ब्यवस्थापनमा खटिएका उनीहरु चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका छन् । गल्ती गर्नेलाई चिट काटिहाले पनि तिनको अनुहार पहिलेजस्तो हँसिलो हुँदैन । केही साता अघिसम्म लेन मिच्नेलाई तत्कालै राकेर जरिवानाको चिट काट्ने ट्राफिकलाई अचेल लेन मिच्नु चालकको गल्ती लाग्न छाडेको छ । त्यस्तै सावरी चालक संग घुस लिएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ६६ ट्राफिक प्रहरीलाई कारबाही गरेको छ । एजुरीका आधारमा अनुसन्धान गर्दा तरकारीदेखि नगद घुस लिने गरेको पाईएपछि ४४ लाई नसिहत र २२ लाई निलम्बन गरेर जम्मा ६६ ट्राफिक प्रहरीलाई आन्तरिक कारवाही गरिएको महाशाखा प्रमुख तथा डिआईजी मिङ्मार लामाले जानकारी दिए ।

प्रस्तावित प्रधानन्यायाधीश पराजुलीविरुद्ध एउटा पनि उजुरी परेन

काठमाडौं, असार ३० ।  प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको १० दिनको समय सीमामा एउटा पनि उजुरी दर्ता भएन । समिति सचिवालयका अनुसार उजुरी दिने अन्तिम दिन बुधबारसम्म कुनै पनि माध्यमबाट पराजुलीविरुद्ध उजुरी नपरेको हो । समितिले प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइअघि सर्वसाधारणसँग समेत उजुरी माग्ने कार्यविधिअनुसार १० दिनको समय दिएर यही असार १९ देखि उजुरी माग गरेको थियो । एउटा पनि उजुरी नपरेपछि समितिले सुुनुवाइ प्रक्रिया अघि बढाउनेबारे प्रारम्भिक छलफलको बैठक शुक्रबार बिहान बोलाएको छ । शुक्रबारको बैठकले सुनुवाइको मिति तोक्नेछ । प्रस्तावित प्रधानन्यायाधीशको आइतबार सुनुवाइ गर्ने तयारी समिति सचिवालयले गरेको छ । समितिमा सुनुवाइपछि प्रस्तावित पदाधिकारीको नाम अनुमोदन हुने वा नहुनेबारे समितिले निर्णय लिनेछ । समिति सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबार बिहान सुनुवाइ प्रक्रिया अघि बढाउनेबारे बैठक बोलाइएको बताए । घिमिरेले भने, ‘उजुरी एउटा पनि परेको छैन, अबको सुनुवाइ प्रक्रियाबारे छलफल गर्न शुक्रबार बिहान ८ः३० बजे बैठक बोलाइएको छ । ’

भत्ता होईन, गास बास र कपासको ग्यारेन्टी गछौंः धुर्कोट गाउँ प्रमुख 

प्रेम सुनार गुल्मी, असार ३० । विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण सस्तो लोक प्रियता भएको भन्दै गुल्मीको धुर्कोट गाउँपालिका प्रमुखले जनताको दिर्घकालिन जिवन स्तर सुधार गर्न पहिला गास वास कपासको ग्यारेण्टी गर्ने गरी आफ्नो टिमले काम अगाडी बढाउने बताएका छन् । उनले धुर्कोट गाउँपालिकामा पदभार ग्रहण समारोहलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । बृद्ध भत्ता, एकल महिला भत्ता , अपाङ्गा भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता दिने हो भने महिनाभर कमसेकम ति वर्गलाई पुग्ने गरी दिनु पर्दछ , जो एक दम थोरै छ , पोखरेलले भने –‘ त्यो भन्दा पनि गरिव विपन्न जनता , घर छाउन नसकेर चुहिने खरको छाना मुनी बस्न बाध्य छन् र हिँउँदमा आगो लागीबाट ज्यान जोखिममा समेत पार्दै आएका छन यसर्थ हामीले दुई वर्ष भित्रमा धुर्कोट गाउँपालिका भित्र एउटा पनि खरले छाएको घर देख्न नपर्ने गरी काम गर्ने पहिलो निर्णय गरेका छौं । २०६४ को संविधान सभा चुनाव र २०७० को संविधान सभा चुनावमा देख्नु सुन्नु भएकै होला भोट माग्ने बेलामा ति खरका झुपडीहरुमा टिन लगाई दिन्छु नेताहरुले भनेकै थिए तर ति झुपडी जस्ताको त्यस्तै छन बरु दलहरुले यो चुनावमा ति झुपडीहरुमा झण्डा गाड्न मात्रै प्रतिष्पर्धा गरे , पोखरेलले भने तर हामी त्यस्ता खोक्रा सपना मात्रै बाँड्दैनौ , लेखेर राख्नु २ वर्ष पछि तपाई आउँदा एउटा पनि खरले छाएको घर देख्न पाउनु हुने छैन् । उनले त्यसका लागि १५ दिन भित्र प्रत्येक वडाका अध्यक्षहरुलाई खरले छाएका घरधुरी संख्याको विवरण तयारी गरी गाउँपालिका कार्यालयमा पठाउन निर्देशन दिएको समेत बताए । पहिलो बैठकले प्रविधी युक्त आधुनिक र व्यपसायीक कृषि प्राणाली अवल्वन गरेर जनताको जिवन स्तर उकास्ने , वैदेशिक रोजगारमा जाना बाट रोक्ने , त्यहाँको शिक्षा स्वास्थ्य , मोटरबाटो , खानेपानी र विद्युतीकरणको समस्या समधानका लागि आफुहरुले काम सुरु गरी हाल्ने बताए । त्यस्तै उपप्रमुख शिवबहादुर खत्रीले धुर्कोटवासी जनताका लागि आफुहरु निस्वास्र्थ सेवक भएर उहाँहरुले गरेको अपेक्षा अनुसारको सेवा दिने र ५ वर्षमा धुर्कोटलाई नमुना गाउँपालिकाका रुपमा विकासित गर्ने बताए । गुल्मीका अन्य क्षेत्रमा विद्युत सेवा पुगे पनि क्षेत्र नम्वर ३ को हाडहाडे लगायतका स्थानमा अहिले पनि विद्युत वल्न नसकेको , वाग्ला लगायतका स्थानमा मोटर बाटो , विद्युत र खानेपानीको त्यो हविगत देखेर आफुहरु गम्भीर भएकोले ति समस्या समधानमा आफुहरु लाग्ने उनको प्रतिबद्धत्ता थियो् । कार्यक्रमा प्रमुख अतिथी पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीले सवैलाई समेटेर अहिलेको युवा टिमले जनअपेक्षा अनुसारको काम गर्नेमा विश्वास व्यक्ति गरेका थिए । त्यस्तै गाउँ प्रमुखका निकटतम प्रतिद्धन्द्धी तथा नेकपा एमाले धुर्कोटका ईञ्जार्च कृष्ण घिमिरेले आफ्नो पार्टी वलियो प्रतिपक्ष भएकोले यसलाई साथ लिएर गए मात्रै धुर्कोटको विकास हुने दावि गरे । पदभार ग्रहण कार्यक्रम धुर्कोट गाउँपालिका प्रमुख होमनाथ काफ्लेको अध्यतामा सम्पन्न भएको थियो

प्रदेश नम्बर २ मा माओवादीले देखेको जित्ने आधार

काठमाडौं , असार ३० । नेकपा माओवादी केन्द्रले तेस्रोत चरणको निर्वाचनबारे रणनीति तय गर्न २ साउनमा केन्द्रीय सचिवालय बैठक डाकेको छ । बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचन समीक्षा, आगामी निर्वाचनको रणनीति र सांगठनिक संरचनाबारे छलफल हुनेछ । बैठकपछि पार्टीको सबै शक्ति प्रदेश नम्बर २ मा केन्द्रित गर्ने माओवादीले जनाएको छ । ‘अहिले केन्द्रीय सचिवालय बैठकको तयारी लागेका छौँ,’ प्रवक्ता पम्फा भुसालले भनिन्, ‘बैठकपछि मात्र उम्मेदवार छनोट हुन्छ र प्रदेश नम्बर २ मा निर्वाचनका गतिविधि बढाउँछौँ ।’ निर्वाचनका लागि अध्यक्ष प्रचण्डसहितका केन्द्रीय नेताहरू २ नम्बर प्रदेशमा जाने तयारीमा छन् । प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादवले निर्वाचन लक्षित गरेर साउन दोस्रो सातादेखि मधेसमा प्रशिक्षण चलाउने तय भएको बताए । पार्टीको सबै शक्ति लगाए प्रदेश नम्बर २ मा पहिलो वा दोस्रो शक्ति हुने माओवादीको अपेक्षा छ । ‘हामीले उम्मेदवार उठाउँदा सामाजिक सम्बन्ध राम्रो भएको र जित्ने सम्भावना भएकालाई प्राथमिकतामा राख्छौँ,’ नेता मणी थापाले भने, ‘पार्टीमा योगदान गरेको, परिवर्तनका लागि लडेको र समाजमा राम्रो छवि भएकालाई उच्च प्राथमिकता दिन्छौँ ।’ माओवादीले देखेको जित्ने आधार निर्वाचनमा माओवादीले तराई मधेसमा जित्ने बलियो आधार धेरै भएको प्रवक्ता भुसालले तर्क गरिन् । रामबहादुर थापा समूहलगायत अन्य साना समूहसँग पार्टी एकतापछि मधेसमा पार्टी बलियो भएको माओवादी नेताहरूको विश्लेषण छ । मधेसका हरेक मुद्दामा माओवादीको सद्भाव भएकाले मधेसी जनता आफ्नो पक्षमा आउने नेता यादवको तर्क छ । ‘हामीले अहिले पनि संविधान संशोधन सकेसम्म पास गराउने पक्षमा लागी रहेका छौँ,’ थापाले भने, ‘संविधान संशोधन पास वा फेल जे–जस्तो भए पनि अगाडि बढाएरै छाड्ने योजना छ ।’        

सुन्तली तामाङको बलात्कारपछि हत्त्या घटनामा डीएसपीसहित १२ प्रहरीमाथि कारवाही हुने

काठमाडौं, असार ३० । साँढे पाँच बर्षअघि १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संग्लन १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने भएको छ । घटनाका मुख्य अभियुक्त श्याम राउतलाई प्रहरीले असार ११ मा भारतबाट पक्राउ गरेर ल्याएपछि मुद्दा फेरि सतहमा आएको हो । अनुसन्धानमा प्रहरीले गम्भीर गल्ती गरेको भन्दै मध्य क्षेत्रिय प्रहरी कार्यालयले धनुषाका एसएसपी सुभाष चौधरीलाई घटना छानविनको जिम्मा दिएको थियो । उनले दिएको प्रतिवेदनका आधारमा विभागीय कारबाही प्रक्रिया अघि बढेको हो कांतिपुर दैनिकले उल्लेख गरे अनुसार मध्य क्षेत्रीय प्रहरी कार्यालय अन्र्तगतका ७ जनालाई स्पष्टीकरण लिएर कारबाही प्रक्रिया सुरु गरिसकिएको छ भने अन्य पाँचलाई विभागीय कारबाहीका लागि अनुसन्धान प्रतिवेदन र आवश्यक रायसहित प्रहरी प्रधान कार्यालयको कानून शाखामा पत्राचार गरिएको छ । समाचारमा अगाडि लेखिएको छः जिल्ला प्रहरी कार्यालय रामेछापका तत्कालीन प्रमुख डिएसपी सञ्जिव शर्मा दास र दुई ईन्सपेक्टरसहितका प्रहरीमाथि कारवाही हुँदैछ । मध्य क्षेत्रीय कार्यालयले भने कसैको ग्रेड रोक्का त कसैलाई नसिहतसम्मको कार्वाही गर्ने भएको छ । प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले विभागिय कार्वाहीका लागि प्रहरी प्रधान कार्यालयको कानून शाखामा पत्र आएको बताए । उनले भने, ‘कस्तो कार्वाही गर्ने भन्नेबारे कानून शाखाले निष्कर्ष निकाल्नेछ ।’ २०६८ माघ ५ मा रामेछापको तत्कालीन सैपु गाविस १ सिरीसे कवैटारकी सुन्तली तामाङको स्थानीय श्याम राउतले बलात्कार पछि हत्या गरेका थिए । घटनाको १५ दिनपछि भेटिएको सुन्तलीको शव भेटिएको थियो । शव पोस्टमार्टमका क्रममा सुन्तलीले लगाएको भित्री वस्त्रमा विर्य भेटिएको चिकित्सकीय जाँचमा पुष्टी भएको थियो । पक्राउ परेका अभियुक्त राउतले सुरुवाती बयानमा आफूले हत्या मात्रै गरेको बयान दिएका थिए । जबकि उनको बयान पोलीग्राफी टेस्टमा भने झुटो ठहरिएको थियो । प्रहरीले लिएको थप बयानमा भने उनले बलात्कार पछि हत्या गरेको स्वीकारिसकेका छन् । आफुले बलात्कार गरेको र हल्लाखल्ला हुने डरले हत्या गरेको बताएका छन् । घटनालगत्तै तत्कालिन डिएसपी संजिव शर्मा दासले उक्त मुद्धामाथि पक्षधरता लिएर अनुसन्धान प्रभावित पारेका थिए । प्रतिवेदनमा बलात्कारका पर्याप्त सबुत हुँदाहुँदै पनि डिएसपी शर्माले त्यसलाई नजरअन्दाज गरेको आरोप छ । त्यस्तै घटनाको ६ बर्षपछि २०७३ साउनमा जिल्ला प्रहरी कार्यालय रामेछापले यो तथ्यलाई लुकाएर अभियोगपत्र तयार पारी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । बलात्कारपछि हत्या भएको पर्याप्त प्रमाण हुँदाहुँदै पनि उक्त घटनाका मुख्य अभियुक्त राउतमाथि प्रहरीले कर्तव्य ज्यान मात्रै समेटेर मिसिल तयार पारेको थियो । लामो हदम्याद हुँदा हुँदै पनि अभियुक्तलाई पक्राउको न्युनतम प्रयास नगरी मुद्धालाई कमजोर बनाइएको निष्कर्ष प्रतिवेदनमा छ । यो मुद्दा जिल्ला अदालत रामेछापमा चलिरहेको छ । बलात्कारको पर्याप्त प्रमाण हुँदाहुँदै पनि हत्या मात्रै उल्लेख गरेर मुद्दा चलाइएकै कारण अभियुक्तले कम सजाय पाउने सम्भावना बढेको छ ।

प्लाष्टिकको चामलबारे अनुसन्धान शुरु, एक पक्राऊ, भोली रिपोर्ट आउने

काठमाडौं, असार २९ । बजारमा प्लाष्टिकको चामल बेचिएको चर्चा चुलिएपछि सरकारले यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चामलका बोरामा नक्कली प्लाष्टिकको चामल मिसावट गरी बेचिएको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परिक्षण अनुसन्धान शुरु गरेको हो । विभागले प्लास्टिक मिसिएको भनिएको चामलको ल्याब टेस्ट गरिरहेको छ । परीक्षणको रिपोर्ट भोली शुक्रबार आइसक्ने विभागले जनाएको छ । यसैबीच चामलमा मिसावट गरी बिक्री गरेको आरोपमा प्रहरीले सीतापाइलस्थित शेरचन ब्रदर्श प्राइभेट लिमिटेडका सञ्चालक टंकप्रसाद शेरचनलाई पक्राउ गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालभित्र रहेको एक नम्बर प्रहरी गणमा पकाइएको चामलमा प्लास्टिक मिसिएको आशंका उत्पन्न भएपछि परीक्षण अघि बढाइएको हो ।

चर्चामा मुख्यसचिव क्षत्रीः उर्जामा राधा ज्ञवालीले २६ करोड महँगोमा ठेक्का दिँदा गरेका थिए बिरोध

काठमाडौं, राजनीतिक र कर्मचारी वृत्तमा राजेन्द्र किशोर क्षत्री चर्चामा छन् । सरकारका मुख्य सचिव सोमलाल सुवेदीले काज विदा लिएर एशियाली विकास बैंकमा जागिर खान गएपछि सरकारले क्षत्रीलाई मुख्य सचिवमा बढुवा गरेको हो । त्यसो त क्षत्री सुवेदीपछि मुख्य सचिवको चर्चामा थिएनन् । तर सरकारले यसअघि उपराष्ट्रपतिको कार्यालय, उर्जा मन्त्रालय र सहरी विकास मन्त्रालयमा सचिवको रुपमा काम गरिसकेका र हाल गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव क्षत्रीलाई नै मुख्य सचिवमा बढुवा गरेपछि उनीबारे चर्चा शुरु भएको हो । एमालेबाट राधा ज्ञवाली उर्जा मन्त्री हुँदा भने क्षत्री चर्चामा थिए । उर्जामन्त्री ज्ञवाली र क्षत्रीबीच त्यतिखेर विवाद उत्पन्न भएको कुरा सार्वजकि भएको थियो । ज्ञवालीलाई सोलु कोरिडोरको प्रसारण लाइन ठेक्का प्रकरणमा अनुचित कार्य गरेको आरोपमा अख्तियारले समेत कार्वाही प्रक्रिया अगाडि बढाएको थियो । त्यतिखेर २६ करोड महंगो प्रस्ताव गर्ने मोहन इनर्जीलाई ठेक्का दिन तम्सिएपछि तत्कालिन सचिव तथा सञ्चालक समितिका सदस्य समेत रहेका राजेन्द्र किशोर क्षेत्रीले असहमति व्यक्त गरेका थिए । को हुन क्षत्री ? क्षत्री शाखा अधिकृतबाट सचिव बनेका हुन । शुरुमा उनले कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका थिए । २०४१ सालमा कानुनको शाखा अधिकृतबाट सरकारी सेवा सुरु गरेका क्षत्री २०४९ मा उपसचिव भएका थिए। २०५६ मा सहसचिव भएका उनको २०६९ साउनमा सचिवमा बढुवा भएको थियो। सुरुमा कानुन आयोगका सचिव बनेका क्षत्री पछि ऊर्जा मन्त्रालय, उपराष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सचिव भएका थिए। गोरखाको लिगलिगमा पुर्ख्यौली भएका क्षत्री अचेल काठमाडौं कलंकीमा बस्छन्। क्षत्रीले बेल्जियमको ब्रसेल्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका छन भने पूर्वाधार, विकास प्रशासन, ऊर्जा र जलस्रोतमा उनको विशेषज्ञता रहेको छ ।

प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार : गृहमन्त्री शर्मा

काठमाडौं, असार २९ । गृहमन्त्री जर्नादन शर्माले प्रजातन्त्र र कानुनी शानको मुख्य बाधक भ्रष्टाचार भएको बताएका छन् । सार्क गृहमन्त्रीस्तरीय बैठकलाई बिहीबार श्रीलंकाको राजधानी कोलम्बोमा सम्बोधन गर्दै गृहमन्त्री शर्मा भ्रष्टाचारले राजनीति, त्यससँग सम्बन्धित संस्थाहरु र राजनीतिक नेतृत्वमाथी समेत जनताको विश्वास गुम्ने अवस्था आएको बताए । अहिलेको आतंकवाद र आपराधिक क्रियाकलाप विरुद्ध उच्चतम प्रयास चाले पनि समस्या समाधानमा कठिनाइको भएको पनि उनले बताए । मन्त्री शर्माले भर्खरै नेपालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट देशमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक रुपान्तरण हुने दावी गरे । भव्य स्वागत सत्कारकालागि श्रीलंकाली सरकारलाईधन्यवाद दिँदै गृहमन्त्री शर्माले सार्कको महासचिव अहमद हुसेन बी सीयललाई बधाई दिएका थिए । मन्त्री शर्माको टोली शुक्रबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

नौ किलोमिटर चट्टान काटेर गाउँमा खानेपानी

रुकुम, असार २९ । वर्षौंदेखि खोलाको पानी खान बाध्य आठबिसकोट नगरपालिका–३ स्यालाखदीका ‍साविकको स्यालाखदी गाविस ३, ४ र ५० बासिन्दा गाउँमा खानेपानी आयोजना निर्माण भएपछि खुशी भएका छन् । खानेपानी आयोजनाको निर्माण थालिएको पाँच वर्षपछि गाउँका सबै भागमा नियमित पानी आउन थालेपछि अहिले स्थानीयवासी खुशी भएका छन् । एक वर्षसम्म गाउँमा एउटा पनि खानेपानीको धारा नहुँदा यहाँका बासिन्दा गाग्री डोकामा बोकेर गाउँभन्दा एकघण्टा दूरीको खोलाको पानी ल्याएर गुजारा चलाउने गरेकामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आव २०६८र६९ देखि स्यालाखदी पाटागाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत खानेपानी ल्याउने काम प्रारम्भ भएको थियो । गाउँ नजिकै मुहान नभएपछि खानेपानीका लागि गाउँभन्दा करिब नौ किमी टाढाको गाउँबाट खानेपानी ल्याइएको थियो । सो आयोजनाका लागि एक करोड १६ लाख ४७ हजार रुपैयाँ खर्च भएको कार्यालय प्रमुख विकेश बधानथाचेले जानकारी दिए। चौबीस किमी पाइपलाइन विस्तार गरिएको खानेपानी आयोजनाबाट गाउँका २०० भन्दा बढी घरधुरीलाई खानेपानीको सुविधा भएको उपभोक्ता समितिका अध्यक्ष कर्णनाथ योगीले जानकारी दिए। चट्टानमात्र भएकाले अधिकांश ठाउँमा फलामको जिआई पाइपको प्रयोग गरिएको छ । धेरै वर्षदेखि गाउँमा पानी ल्याइदिनका लागि विभिन्न निकायमा हारगुहार गर्दा पनि भिरालो र निकै अप्ठेरो जमिन भएका कारण निर्माण कार्यमा कसैले पनि चासो नदिएको उनको भनाइ छ । यसअघि सो आयोजनामा तत्कालीन जिल्ला विकास समितिलगायत अन्य निकायले काम शुरु गरेर र छोडिदिएको अध्यक्ष योगीले बताए ।