किन पक्राउ परे टुटलका संस्थापक शिक्षित भट्ट ?

काठमाडौं । राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले भट्टलाई पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले बताए। प्रहरीले उनलाई बिहीबार नै पक्राउ गरेको थियो।

नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टराई नियन्त्रणमा लिइएको एसएसपी खत्रीले बताए।

भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको थियो। सुरूमा पार्टनर रहेका व्यक्तिले उनीविरूद्ध मुद्दा हालेको एसएसपी खत्रीले बताए।

‘लगानी गर्दा सुरूमा दुई जनाले गरेको तर पछि भट्ट एक्लैले लिएको भन्दै उजुरी परेपछि हामीले उहाँलाई पक्राउ गरेका हौं,’ उनले भने।

जयशंकर र साउदद्वारा संयुक्त रूपमा त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन् । जयश‌कर र परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा पुस्तकालय उद्घाटन गरेका हुन् । आजै जयशंकरले भूकम्पपछिको पुनर्निर्माण परियोजना पनि उद्घाटन गर्नेछन् । हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै जयशंकरले उच्च राजनीतिक भेट गरेका थिए । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।  

राष्ट्रपति पौडेल आज तनहुँ जाँदै

तनहुँ। राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रवार गृह जिल्ला तनहुँ जान लागेका छन्। जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए । राष्ट्रपति बनेपछि पौडेलको दोसो पटकको गृह जिल्ला भ्रमणका हो । यस अघि असोज ६ गते सदरमुकाम दमौली स्थित जिल्ला सभा हलको उद्घाटनको लागि राष्ट्रपति पौडेल तनहुँ गएका थिए । राष्ट्रपति पौडेल जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

रोकिएन ध्रुर्वेको आतंक

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए । बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । उनले भने, “अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो ।” हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ । रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए । हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उनले जानकारी दिए । हात्तीलाई बस्ती पस्न नदिन स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उनले बताए । हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ । रासस

भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्दै जयशंकर, आजै भारत फर्कने

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले आज भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने भएका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार (हिजो) नेपाल आएका जयशंकरले आज भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्न लागेका हुन् । बिहान साढे ९ बजे जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आजै स्वदेश फर्किंदै छन् । जयशंकर मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ । हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।

निर्वाचन आयोगले फेर्‍यो निर्वाचन अधिकृत, को–कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत फेरिएका छन् । निर्वाचन अधिकृतमा नियुक्त भएका जिल्ला न्यायाधीश उच्च अदालतका न्यायाधीश नियुक्त भएपछि फेरिएका हुन् । निर्वाचन आयोगले पुस १२ गते कोशी प्रदेशका लागि दुर्गाप्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओमप्रसाद अर्याललाई अधिकृतमा नियुक्त गरेको थियो । पुस १८ गतेको न्याय परिषद्ले उनीहरूलाई उच्च अदालतको न्यायाधीश नियुक्तिको निर्णय गरेको थियो । त्यसपछि आयोगले जिल्ला न्यायाधीशहरूलाई अधिकृत तोकेको हो । आायोगका प्रवक्ता शालिग्राम शर्मा पौडेका अनुसार वाग्मती प्रदेशका लागि अधिकृत तोकिएका महेन्द्रबहादुर कार्कीले स्वास्थ्य समस्याका कारण काम गर्न नसक्ने जनाएपछि त्यहाँ पनि अधिकृत फेरिएको छ । आयोगका अनुसार अब कोशी प्रदेशमा मोरङका जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम, मधेशमा धनुषा अदालतका न्यायाधीश चित्रबहादु्र गुरुङलाई अधिकृत नियुक्त गरिएको छ । त्यस्तै, वाग्मतीमा जिल्ला न्यायाधीश श्रीप्रसाद सन्जेल, गण्डकीमा ऋषिराम आचार्य, लुम्बिनीमा कुलप्रसाद पाण्डेलाई निर्वाचन अधिृकत नियुक्त गरिएको छ । कर्णालीमा न्यायाधीश मनोज श्रेष्ठ, सुदूरपश्चिममा विष्णुप्रसाद अवस्थीलाई नियुक्त गरिएको पौडेलले जानकारी दिए ।

नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं। नेपाल र भारत सरकार दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरवारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले बिहीवार (आज) सम्झौतामा हस्ताक्षर गरेका हुन् । भारतीय विदेशी मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजाने गरी नेपाल र भारतबीच सहमतिपत्रमा हस्ताक्षर भएको बुझिएको छ । उर्जा मन्त्री शक्ति बस्नेतको उपस्थतिमा सहमति पत्रमा हस्ताक्षर भएसँगै भारतका सरकारी तथा निजी क्षेत्रका कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा विद्युत् खरिद बिक्री सम्झौता गरी बिजुली लिन सक्नेछन् । के के विषयमा हस्ताक्षर भयो भन्नेबारे नेपाल र भारतका परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको बैठकपछि सार्वजनिक गरिने ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।

नौं निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका थप नौ वटा निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालो सूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो । कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सो अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको म्याद दिएर स्पष्टीकरण मागिएको हो । कालोसूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौंसम्म हल्लायो

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । केन्द्रका अनुसार, यो ०७२ सालमा गएको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प हो ।

सुनको मूल्य एकैदिन तोलामा १३ सयले घट्यो

काठमाडौं । नेपाली बजार बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रधानमन्त्री सहायता कोषमा २८ करोड सङ्कलन

काठमाडौं । जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कूल रु २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ जम्मा भएको छ । उनले कूल एक सय १७ भन्दाबढी सङ्घसंस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको जानकारी दिए । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । उक्त भूकम्पबाट ६७ हजार बढी परिवार प्रभावित भएका छन् । भूकम्पप्रभावित क्षेत्रमा सरकारको सहयोगमा अस्थायी आवास निर्माण गर्ने क्रम जारी छ ।

भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीर : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरताका साथ लागेको बताएका छन्। जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. महतले प्राविधिक रुपमा ऐन कानुनले साधनस्रोत परिचालनमा केही जटिलता थपेको स्पष्ट पारे । ‘स्थानीय सरकारको प्रत्यक्ष निगरानी, प्रदेश सरकारको सहयोग र सहभागितामा योजना कार्यान्वयन भएको छ । पुननिर्माण दोस्रो चरणमा आउँछ, सरकारले तत्काल पीडित परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ’ मन्त्री डा.महतले भने, ‘विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखामार्फत् जिल्ला शाखाबाट वडा तहसम्म राहत पुर्याउने काम भएको छ । यद्यपि छिटो छरितो ढंगले राहत पुर्याउन केही समस्या आएका छन् ।’ मन्त्री डा.महतले सीमित बजेटभित्र काम गर्नुपरेको, तर विपद्मा हामीले अन्य आवश्यकतालाई कटौति गरेर पीडितको समस्या सम्बोधन गरेको बताए। उनले भूकम्प प्रभावित क्षेत्रका लागि सरकारले तत्काल १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकार, नागरिक समाज, निजी क्षेत्र, दातृ निकाय र आम नागरिकले जति सहयोग उपलब्ध गराए त्यो सहयोग पीडितसमक्ष पुग्ने क्रम जारी रहेको बताए । आफ्नो श्रोतबाहेक जे जति आवश्यकता पर्छ, त्यो अर्थमन्त्रालयले जुटाउने जानकारी दिंदै मन्त्री डा. महतले भने, ‘दातृ निकायसँग अन्तरक्रिया गरेका छौं । हामीले उहाँहरुलाई भनेका छौं, सुरुमा तपाईंहरुको सहयोग नपर्ला, हामी नै जुटाउन सक्छौं जस्तो लागेको थियो, तर प्रारम्भिक अध्ययनको नतिजा आएपछि हाम्रै श्रोतले पुग्ने देखिएन । तपाईंहरुको सहयोगको आवश्यकता छ । उहाँले सहयोगको तत्परता देखाउनु भएको छ । आपतकाल घोषणा गरे विश्व बैंकले सहयोग गर्न सकिने बताएको छ ।’ मन्त्री डा. महतले भने, ‘विपद् व्यवस्थापन विभागको आंकलनअनुसार ५५ करोड अमेरिकी डलर पुननिर्माणमा खर्च लाग्न सक्छ । अर्थात् ७५ अर्बभन्दा बढी रुपैयाँ पुनर्निर्माणका लागि जुटाउनुपर्ने हुन्छ । हाम्रो पूँजीगत खर्च नै ३ सय २ अर्ब हो । त्यसकारण बढीभन्दा बढी हामी विदेशबाट जुटाउने प्रयास गर्नेछौं ।’ कर्पोरेट खर्च पनि भूकम्प प्रभावित क्षेत्रमा खर्च गर्न हामीले निजी क्षेत्रसँग आग्रह गरेको मन्त्री डा। महतले बताउनुभयो । निर्माण, प्रविधि र ढाँचाका सम्बन्धमा विपद् विभाग र शहरी विकास विभागले काम गरिरहेको उनले बताए । भने, ‘अब बन्ने संरचना ठूलो भूकम्पको सामना गर्न सक्ने हुन्छ, वडामै प्राविधिकलाई खटाएर सुरक्षित घर निर्माणको व्यवस्था सरकारले गर्छ ।’

जापानमा भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो

टोकियो । जापानको इशिकावा प्रान्तमा सोमबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ । सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ । बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन । भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधबार बिहान ५.४ र मंगलबार साँझ पनि ४.६ म्याग्निच्युडका दुई ठूला पराकम्पन गएका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार भूकम्पीय तीव्रता स्केल ७ रहेको र जमिनमा उभिन कठिन भएको थियो । स्थानीय सञ्चारमाध्यममा आएका विवरणअनुसार इशिकावाका अधिकारीहरूले सरकारलाई विपद् तथा राहतको लागि ‘सेल्फ डिफेन्स फोर्स’का कर्मचारीहरू पठाउन आग्रह गरेका छन । भूकम्पका कारण स्थल यातायातको पहुँच टुटेका क्षेत्रहरूमा आपूर्तिहरू पुर्‍याउन हेलिकप्टर प्रयोग गर्ने तयारी गरेको सशस्त्र बलहरूले जनाएका छन् । क्षतिको रिपोर्टसँगै प्रभावित क्षेत्रमा मानिसहरू भत्किएका घरहरूमा फसेको तथा उद्धारको पर्खाइमा रहेको धेरै घटनाहरू आइरहेको नगरपालिका अधिकारीहरूले जनाएका छन् । जेएमएले भूकम्पपछि जापानी समुद्रमा राखिएका सुनामीसम्बन्धी सुचनाहरू हटाएको छ । यद्यपि मौसम अधिकारीहरूले अर्को दुई तीन दिनसम्म शक्तिशाली पराकम्पनहरू आउन सक्ने चेतावनी दिएका छन् ।

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (नामावलिसहित)

काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । उच्च अदालतमा रिक्त ४० जना न्यायाधीशमध्ये ३९ पदमा पदपूर्ति गरिएको हो । बुधबार बसेको परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।  

भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाडौं आउने, कम्तीमा दुई वटा सम्झौतापत्रमा हस्ताक्षर हुने

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार काठमाडौं आउने भएका छन् ।परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको हो । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी काठमाडौं आउन लागेका हुन् । बैठक पुस १९ र २० गते काठमाडौंमा बस्नेछ । परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेश मन्त्री जयशंकरले बैठकमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । काठमाडौंमा बिहीबार हुने नेपाल–भारत संयुक्त आयोगको बैठकपछि दुई देशका विदेशमन्त्रीको उपस्थितिमा ती सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । हस्ताक्षरको लागि तयारी गरिएको सम्झौतामा नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्नेसम्बन्धी सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)को बजेट सीमा पाँच करोडबाट २४ करोड रुपैयाँ पुर्‍याउनेसम्बन्धी सम्झौता छन् । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार बिहीबार नै तीन वटा अन्तरदेशीय विद्युत् प्रसारण लाइनको पनि उद्घाटन गरिने छ । रक्सौल–परवानीपुर, कुशहा कटैया र नौतनुवा– मैनिया विद्युत् प्रसारण लाइनको उद्घाटन परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमणका क्रममा भारतका विदेशमन्त्रीले जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नेछन् । भारतका विदेशमन्त्री जयशंकर शुक्रबार भारत फर्कनेछन् ।

प्रधानमन्त्री कपको च्याम्पियन एपीएफ

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । जितको लागि एक सय १५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश निर्धाीरतन २० ओभरमा चार विकेटको क्षतिमा एक सय तीन रनमा समेटिएको थियो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले ६२ रन बनाइन् । रुविनाले ५८ बलमा सात चौका र एक छक्काको सहयोगमा अर्धशतकीय रन बनाइन् । काजल श्रेष्ठले २२ रन जोडे। अन्य खेलाडीहरूले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा एपीएफकी करुणा भण्डारी र सिता रनामगरले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गर्एरेको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेले । उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिए । ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाए । बलिङतर्फ कोशीका अप्सरी बेगमले ह्याट्रिक गरे । उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिए । बेगमले पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन् । एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक एक विकेट लिइन् । उपाधिसँगै एपीएफले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ । उपपिवजेता कोशीले तीन लाख रुपियाँ प्राप्त गरेको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले पहिलो पटक महिला क्रिकेटको राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो । मूलपानी र कीर्तिपुरमा पुस ५ देखि सुरु भएको प्रतियोगितामा एपीएफ र सात प्रदेशगरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।