पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

सुर्खेत, साउन २९ । अविरल वर्षासँगै पहिरोले घर बगाउँदा सुर्खेतमा तीनजनाको मृत्यु भएको छ ।

सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उहाँका १४ वर्षीय नाति विक्रम बुढा र १२ वर्षीय सरन बुढाको मृत्यु भएको छ । गएराती १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय, छिन्चुले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आज बिहान निकालेको छ ।

यता, रत्न राजमार्गको हर्रे–कोहलपुर सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन बन्द भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो गएको हो ।

सुर्खेत प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यात्रुको विचल्ली भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास बिहानैदेखि शुरु भएको छिन्चु प्रहरीले जानकारी दिएको छ ।

पोखरीमा डुबेर एकको मृत्यु

कपिलवस्तु, साउन २८ । कृष्णनगर नगरपालिका– ९ बहादुरगञ्जमा पोखरीमा डुबेर एक जनाको मृत्यु् भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीय गबी भन्ने शंखा मुराउ रहेको प्रहरीले जनाएको छ । मृतक मुराउ बहादुरगन्जस्थित नेपाली सेनाको ब्यारेक पछाडि रहेको पोखरीमा सिंगाडाखेती अवलोकनका लागि पुग्दा सो पोखरीमा डुबेर मरेको स्थानीयवासीले बताएका छन् । मुराउको शव परीक्षणका लागि शिवराज अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

गरिबीको रेखामुनि रहेकाको जीवनस्तर माथि उठाइने: मन्त्री बस्नेत

काठमाडौँ, साउन २८ । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गरिबीको रेखामुनि रहेकाकोे जीवनस्तर माथि उठाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले आज नयाँपाटीमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उहाँले भन्नुभयो – “देशभर दर्ता भएका ३४ हजार सहकारीमार्फत कार्यक्रम सञ्चालन गरी गरिबीका रेखामुनि रहेकाका २१ दशमलव ६ प्रतिशत नागरिकको जीवनस्तर माथि उठाइने छ ।” मन्त्री बस्नेतले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक समुन्नतिका कार्यक्रममार्फत गरिबी निवारण गरिनुपर्नेमा जोड दिदैं सहकारीलाई विश्वसनीय बनाउन शेयरधनी केही पनि होइनन्, सबै सञ्चालक हुन् भन्ने सोचलाई हटाउनुपर्छ भन्नुभयो । “लोकतान्त्रिक अभ्यास गरी सहकारी चलाइनुपर्छ, सहकारी डुबाउनेलाई रु एक हजार ५०० कारबाही गरेर उन्मुक्ति दिने विद्यमान कानूनी व्यवस्थालाई परिवर्तन गर्न सहकारी ऐन संशोधनको चरणमा छ”, उहाँले भन्नुभयो– “बचत र लगानीमा मात्र सहकारी सीमित हुँदा जनताको करोडौँ बचत थन्किएकाले उत्पादनमूलक काम गरी आयआर्जन वृद्धि गर्ने गरी नीति निर्माण गरिने छ ।” मन्त्री बस्नेतले बेरोजगार युवालाई उत्पादनशील काममा लगाई युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने योजना मन्त्रालयले ल्याउन लागेको जानकारी दिदैं हालसम्म सरकारले ३५ हजार युवालाई प्रतिव्यक्ति रु दुई लाखका दरले युवा स्वरोजगार कोषबाट रकम उपलब्ध गराएको बताउनुभयो । दशजना युवाले समूह बनाई रु दुई लाखका दरले रु २० लाख लिई उत्पादनमूलक काम गरे रोजगारीका लागि खाडी मुलुकको रापमा सेकिनु नपर्ने बताउँदै उहाँले मुलुकका २५ जिल्लामा गरिब पहिचान गरी परिचय पत्र वितरणको तयारीमा सरकार रहेको जानकारी दिनुभयो । मन्त्री बस्नेत बाँकी ५० जिल्लाका गरिब घरपरिवारको पहिचान पनि छिट्टै शुरु गरिने पनि बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकास निर्माणका काम आर्थिक वर्षको अन्तमा शुरु गर्दा विकास बजेट बालुवामा पानी खन्याएजस्तो भएकाले भदौदेखि नै काम गर्न लागिएको जानकारी गराउनुभयो । “नगरपालिकामा भदौदेखि नै विकास निर्माणका काम शुरु गरी फागुन मसान्तमै सम्पन्न गर्ने लक्ष्य लिएका छौँ, भदौमै काम शुरु गरी पूँजीगत बजेट फ्रिज हुन नदिने गरी काम गर्छौं”, उहाँले भन्नुभयो । कार्यक्रममा काँग्रेस गोकर्णेश्वर नगर समितिका सभापति श्रीकृष्ण ज्योति, काँग्रेस नेता लालबहादुर लामा, नगरपालिका वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुंगाना, नगर समिति सदस्य बालकृष्ण श्रेष्ठलगायतले नगरपालिकाको विकास निर्माणका काम भदौदेखि नै शुरु गरेर आव समाप्त हुने अन्तिम महिना भुक्तानी नदिने गरी नीतिगत व्यवस्था गर्न माग गर्नुभयो । सो अवसरमा नगर समितिका तर्फबाट मन्त्री बस्नेत र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, नगर परिषद् सदस्यलाई सम्मान गरिनुका साथै सफल कार्यकालका लागि बधाई ज्ञापन गरिएको थियो ।

अखिल क्रान्तिकारीमा आवद्ध विद्यार्थी जाग्रीको होस्टेलमै घाँटी रेटेर हत्या

भीमदत्तनगर, साउन २८ । कन्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत् विद्यार्थीको शनिबार बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भर्त्सना गरेका छन् । बझाङ घर भइ हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बीएससी चौथो वर्षमा अध्ययनरत् विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो । मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर सन्चालन गर्दै आएको बुझिएको छ । प्रहरीले प्रारम्भिक चरणमा घटनाबारे सोधपुछ गर्न क्यान्टिनका कारिगरसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । विभिन्न विद्यार्थी संगठनका नेताहरुले सामाजिक सञ्जालमार्फत् घटनाको भर्त्सना गर्दै हत्यारा पत्ता लगाइ कारबाहीको माग गरेका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कैलाश चन्दले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । त्यसैगरी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष ओम बस्नेतले पनि घटनाको भर्त्सना गरेका छन् । त्यस्तै, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्र विष्टले संगठनका होनहार नेताको हत्याको गहन छानबिन हुनुपर्ने माग गरेका छन् । जाग्री नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध थिए । हत्याको समयमा होस्टलमा रहेका अन्य विद्यार्थीले घटनाबारे थाहा नभएको बताएका छन् । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ ।

४५ सालयताकै ठूलो वर्षा, जलमग्न बन्यो विराटनगर

विराटनगर, साउन २८ । पछिल्लो केही दिनयता देशभर अविरल वर्षा भइरहेको छ । धेरै ठाउँहरु डुबानमा परेका छन् । मानिसहरुमा मर्नेको संख्या बढीरहेको छ । हालसम्म दुई दर्जनबढीको ज्यन गइसकेको छ । त्यस्तै बिराटनगरमा ०४५ सालपछिको ठूलो पानी परेको छ । वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेका छन् । बाढीका कारण बिराटनगर विमानस्थल पनि डुवानमा परेको छ भने शनिबार बिहानैदेखी कुनै आन्तरीक उडानहरू हुन सकेका छैन । त्यस्तै बाढीले बिद्युत लगायत टेलिकम र खानेपानीमा समेत क्षती पूर्याएको कारण सबै सेवा ठप्प बनेको छ । भारी बर्षाले बाटो नै डुबेपछि मानिसहरू घरभित्रै थूनिन बाध्य भएका छन् । अतत्यावश्यक समानको अभावले थप संकट ल्याएको स्थानीयको भनाई छ ।

माडीका बस्ती डुबानमा, सडक बगाउँदा यातायात अवरुद्ध

चितवन, साउन २८ । बाढीका कारण चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका दर्जनाँै बस्तीका सयौँ घर डुबानमा परेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिनुभयो । उहाँले यहाँका तीन-चार सयभन्दा बढी घर डुबानमा परेको जानकारी आएकाले यस सम्बन्धी विवरण संकलन भइरहेको बताउनुभयो । मानवीय क्षति भने भएको छैन । माडीको वनकट्ठा, अमिलिया, सिमरा, धोवाह, रतनीका बस्ती डुबानमा परेका छन् । यहाँका ठाडा खोला र रिउ नदीमा बाढी आएको छ । उहाँकाअनुसार डुबानमा परेका बस्तीको बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ र अहिले जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकायसहितको उद्धार टोली माडी पुगेको छ । चितवनका प्रजिअ तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद भट्टले बस्ती र लगाइको बाली डुबानमा परेको जानकारी दिँदै डुबान क्षेत्रमा पुगेर विवरण संकलन गरी जोखिमा परेकाको उद्धार जारी रहेको बताउनुभयो । चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बाढीले ३०÷४० घरलाई पूर्णरुपमा क्षति पुर्याएको छ भने २०० जति घरमा आंशिक क्षति पुर्याएको जानकारी दिनुभयो । चितई खोला, बाँदरमुढे खोला र घाँगर खोलामा आएको बाढीले यहाँका विभिन्न क्षेत्रमा सडक भत्काएको छ । जसका कारण आज बिहानैदेखि भरतपुर– माडी ठोरी यातायात अवरुद्ध भएको स्थानीय पत्रकार गोविन्द न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार माडीका विभिन्न क्षेत्रका माछापोखरीमा समेत बाढीले क्षति पु¥याएको छ । माडीमा विद्युत् सेवा बन्द भएको आज २५ दिन पुगेको छ भने विद्युत् नहुँदा यहाँको फोन सेवासमेत प्रभावित भएको न्यौपानेले बताउनुभयो ।

जनमोर्चाले भन्यो, ‘अनियमिता गर्नेलाई किन कारवाही गरिएन ?

काठमाडौँ, साउन २८ । राष्ट्रिय जनमोर्चा नेपालले नेपाल आयल निगमको पछिल्लो जग्गा खरिदमा भएको घोटाला सम्बन्धमा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाएको छ । आपूर्ति मन्त्रालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष साध्यबहादुर भण्डारीले निगमले पेट्रोलियम पदार्थको भण्डार गर्ने नाममा झापा, सर्लाही, चितवन र रुपन्देहीमा जग्गा खरिद गर्दा सरकारी ढुकुटीको व्यापक हिनामिना गरेको बताए । ज्ञापनपत्रमा भनिएको छ– “सार्वजनिक लेखा समितिले छानबिन गरी व्यापक अनियमितता भएको ठहरसहित कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिइसकेको अवस्थामा मन्त्रालय मूकदर्शक भएर बस्नु भनेको गैरजिम्मेवारी हो ।” रासस

घर भत्किँदा तीन बालबालिकासहित ४ जना पुरिए

श्रावण २८, २०७४- राप्ती नदीमा आएको बाढीका कारण राप्ती सोनारी गाउँपालिका-४ वैजापुरमा एक घर भत्किँदा ४ जना पुरिएका छन् । स्थानीय कमीलाल थारुको घर भत्किएपछि उनका श्रीमती, तीन छोराछोरी पुरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी कृष्णबहादुर तामाङले जानकारी दिए । कांतिपुर अनलाइनका अनुसार घरले थिचिएको अवस्थामा तीन बालबालिकाको शव भेटिएको छ भने उनीहरुका आमाको अवस्था अझै अज्ञात छ । मृतक र वेपत्ताको सनाखत हुन सकेको छैन । त्यस्तै सोही गाउँमा एक पुरुषको शव फेला परेको छ । उनको पनि पहिचान हुन बाँकी रहेको एसपी तामाङले जनाए । अविरल वर्षाका कारण जिल्लाका सर्सासर्री, धामपुर, ट्रेपरी, राप्ती सोनारी पारी र डुढवा र नरैनापुर गाउँपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । त्यस्तै पूर्व-पश्चिम राजमार्गअन्तर्गत अगैगादेखि चार किमि पश्चिममा कल्भर्ट बगाउँदा यातायात ठप्प बनेको छ । बाँकैकै खजुरा गाउँपालिकाको पेडारी नालाको बाढी राजमार्ग भएर बगेपछि गाडी चल्न सकेका छैनन् । File photo

वृद्धवृद्धालाई निःशुल्क एम्बुलेन्स सेवा

चितवन, साउन २७ । चितवनको देवघाटमा रहेका वृद्धवृद्धाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु भएको छ । मातृभुमी चितवन नामक संस्थाले सो सेवा सुरु गरेको हो । शुक्रबारदेखि सुरु भएको निःशुल्क एम्बुलेन्स सेवाको महेश आश्रमका प्रधानाध्यापक डा गुरुप्रसाद सुवेदीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा नेपाल प्रहरीका एआईजी रणबहादुर चन्द्र, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेल, सतनचुली बन समूहका अध्यक्ष लेठप्रसाद पौडेल, भरतपुर महानगरपालिका वडा–१ का सदस्य यमबहादुर रानालगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्ने बक्ताले मातृभुमी चितवनले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्स सेवाले वृद्धवृद्धाहरुलाई अस्पतालसम्म पु¥याउन सहज हुने बताए ।

करेन्ट लगाएर माछा मार्न खोज्दा मृत्यु

दाङ, साउन २४ । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ का २८ वर्षका हेमन्त केसीको करेन्ट लगाएर माछा मार्न खोज्दा मृत्यु भएको छ । सोमबार राति १२ बजेतिर तुल्सीपुरको ग्वारखोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा केसीको मृत्य भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । विद्युतको तार हुक गरी माछा मार्ने क्रममा केसीलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्य भएको  प्रहरीले जानकारी दिएको छ ।

कमल थापाको राप्रपा छोडिन रेखा थापाले

काठमाडौं । राप्रपामा फूट आएपछि हालैमात्र पार्टी प्रवेश गरेकी नायिका रेखा थापाले भने राणाको साथ दिएकी छिन् । केहि समयअघि माओवादी छाडेर राप्रपामा गएकी थापा अहिले पशुपति शम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक) पार्टीमा लागेकी छिन् । उता अर्की कलाकार कोमल वली भने कुन पार्टीमा जाने भन्ने सार्वजनिक भएको छैन । पार्टी फूटेकोमा भने उनले असन्तुष्टी व्यक्त गरेकी छिन् ।

सुरुङमा बाढी पस्दा २८ रोपनी खेत बगायो

पाँचथर, २४ साउन । निर्माणाधीन तल्लो हेंवा जलविद्युत् आयोजनाको सुरुङमा अविरल वर्षासँगै आएको बाढी पस्दो २८ रोपनी खेत बगाएको छ । बाढीले फिदिम नगरपालिका–४ का दिलकुमार यक्पाङदेन र हिलिहाङ गाउँपालिका–७, का लक्ष्मीकुमार तामाङका २८ रोपनी खेत बगाएको हो । सुरुङमा पसेको बाढीले जलविद्युत् आयोजनाको अडिट एरिया मुनि रहेको आफ्नो मात्र मात्र करिब २१ रोपनी खेत बगाएको यक्पाङदेनले बताउनुभयो । खोला पारी रहेको तामाङको खेत भने यक्पाङदेनको खेत बगाएर हेंवा खोला थुनिएका कारण बगाएको थियो । भर्खरै धान रोपेको खेत बगाएपछि यक्पाङदेन र तामाङ चिन्तित छन् । उनीहरुले आयोजना निर्माण कम्पनी माउन्टेन हाइड्रोले आफूहरुलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । पीडित यक्पाङदेनले भन्नुभयो, “हाम्रो वर्षभरि खाने खेत नै लग्यो, अब के खाएर बाच्नु ? ।” यसैबीच रानीटार र लुङरुपाको सिमाना भएर बग्ने आप्पा खोलामा रहेको मुहानमा बाढी पस्दा फिदिमवासी धमिलो पानी पिउन बाध्य छन् । यस्तै गएराति परेको अविरल वर्षाले पाँचथरको फिदिम नगरपालिकास्थित नाम्दुखोलाको पुल बगाउँदा रानीटार तथा लुङरुपा जान र फिदिमतिर आउने बाटो बन्द भएकोे स्थानीय वीरेन्द्र बास्कोटाले बताउनुभयो । रासस

बलात्कारको आरोपमा शिक्षक पक्राउ

महोत्तरी, साउन २४ । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो । गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । औरहीकै स्थानीयबासी १४ वर्षीया बालिकालाई बन्धक बनाएर आरोपी शिक्षक महतोले केही दिनदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । एक वर्ष पहिले गाउँमै आरोपित शिक्षक प्रमोदले ती बालिकालाई ट्युसन पढाउने गरेको र त्यही समयदेखि बालिकालाई ललाइफकाई करणी गर्दै आएको इप्रका गौशालाले जनाएको छ । कक्षा ८ मा पढ्दै गरेकी ती बालिका साउन १७ गते साँझदेखि घरमा नभेटिएपछि अभिभावकले प्रहरीसमक्ष गुहार गरेका थिए । प्रहरीले अभिभावकको सहयोगमा बालिकालाई साउन २१ गते उद्धार गरी नेपाल ल्याएको थियो । बलात्कृत बालिकाको मेडिकल जाँच गराइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो । यता आरोपित शिक्षकमाथि जबरजस्ती करणी तथा जीउ मास्ने बेच्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

बालगोपालेश्वर मन्दिर यसवर्ष पनि प्रयोग गर्न नपाइने

काठमाडौँ, साउन २४ । सर्वसाधारणले यस वर्ष पनि रानीपोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिर प्रयोग गर्न नपाउने पक्का भएको छ । हरेक वर्ष तिहारमा भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुल्ने यस मन्दिरको निर्माण कार्य पूरा हुन नसक्दा मन्दिर प्रयोग गर्न नसकिने भएको हो । वर्षाैं पुरानो रानीपोखरी मन्दिर २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरलाई काठमाडौँ महानगरपालिकाले गएको भाइटीकामै प्रवेशका लागि तयार पार्ने भनेको थियो । लामो इतिहास बोकेको यो मन्दिरको पुनःनिर्माण सम्पूर्ण कामको जिम्मा शुरुमा काठमाडौँ महानगरपालिकाले लिएको भए पनि नियम विपरीत भएको भन्दै पुरातत्व विभागले करिब एक वर्षअघि नै मन्दिरको निर्माण कार्य रोक्न लगाइ आफूले गर्ने बताएको थियो । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार कामपाले नियम विपरीत निर्माण गरेको उक्त मन्दिर भत्काउने काम सकी हाल पुरातत्व विभागले नै निर्माण कार्य शुरु गरिसकेको छ । निर्माण कार्य पूरा गर्नका लागि करिब एक वर्षको समय लाग्ने पनि उहाँले जानकारी दिनुभयो । विभागले मन्दिरको जग राख्ने काम भइरहेको बताएको छ । अहिले कामपाले मन्दिर पुनःनिर्माण छोडेर पोखरी वरिपरिको पर्खाल लगाउने, पोखरी सफा गर्नेजस्ता सजावटका काम गरिरहेको छ । मन्दिरबाहेक अन्य पुनःनिर्माणको काम पनि गत असार मसान्तसम्ममा सक्नुपर्ने भएपनि हालसम्म सकिएको छैन । कामपाले रानीपोखरीको पुनःनिर्माण जिम्मा वल्र्डवाइड कँडेल केएनकेजी जेभी कम्पनीलाई दिएको थियो ।

सवारी दुर्घटनामा एकको मृत्यु

इनरुवा, साउन २४ । सुनसरी सदरमुकाम इनरुवामा सोमबार साँझ ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–८ कालीझोरा बस्ने ६२ वर्षीय केसीलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा–३ महेन्द्र चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २७४९ नंको ट्रकले ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक जिप्रका सुनसरीको नियन्त्रणमा रहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

सडक दुर्घटनामा घिमिरेको मृत्यु

काठमाडौँ, २४ साउन । कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ । आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ । रासस