मोबाइल पसलमा आगलागी, २ लाख क्षति

उर्लाबारी (मोरङ), ३ भदौ । सुन्दरहरैंचा नगरपालिका– ८ सलकपुरका विजय बरालका घरमा रहेको मोबाइल पसलमा गए राति आगलागी हुँदा करिब रु दुई लाख बराबरको क्षति भएको छ ।
सुन्दरहरैंचा– ५ घर भएका राम थापाले भाडामा लिएर सञ्चालन गरेको उक्त पसलमा राति ८ बजेतिर विद्युत् चुहिएर भएको आगलागीबाट थापाका विभिन्न किसिमका इलेक्ट्रोनिक्स सामान जलेको इप्रका बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । आगो प्रहरी चौकी विराटचोकबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस

एकद्वार प्रणाली लागू नगर्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ २ । बाढी पीडितलाई राहत वितरणमा एकद्वार प्रणाली लागू नगर्ने सरकारका नाम सर्वोच्च अदालतले आन्तरिम आदेश जारी गरको । अधिवक्ता सुनिलरञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । साथै बाढीपीडितलाई तत्काल राहत, उपचारको व्यवस्था गर्न पनि भनेको छ । केन्द्रीय दैवी प्रकोप उद्दार समितिले राहतमा एकद्वार प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

कुबेत जान लागेका चार किशोरीको उद्धार

कपिलवस्तु, भद्रौ २ । कपिलवस्तुको कृष्णनगरबाट चार युवतीलाई उद्धार गरिएको छ । कृष्णनगरमा मानव बेचबिखान विरुद्ध काम गर्दैआएको ‘के आइ’ नेपाल र नेपाल प्रहरीको सयुक्त गस्ती टोलीले नवलपरासीको कावासोतीका चेली कृष्णनगर सीमानाकाबाट भारत प्रवेश गरी कुबेत जान लागेका ती चेलीलाई उद्धार गरेको हो । नेपाल प्रहरी लिङेट र केआई नेपालको सयुक्त टोलीले दिल्ली जाने बस चढेका ती चेलीलाई सोधपुछ गर्दा कुबेतमा रहेको रीता मगरले भिसा पठाउने र दिल्लीबाट प्रस्थान गर्न सजिलो हुने भएकाले त्यसतर्फ जान लागेको बताएका थिए । सोधपुछका क्रममा रितासँग रहेको पासपोर्ट दिल्ली गएपछि कुरियर गरेर पठाइदिने उनीहरुले बताए् । महिनाको ४० हजार तलब हुने सपना बोकेका ती चेलीले त्यहाँसम्म पुग्न अनेकौँ बाधा सामना गर्नुपर्ने केआइ नेपाल कपिलवस्तुका जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिए । भारतको बाटो भएर जाँदा विभिन्न समस्या हुने भएकाले सीमामा रोक लगाउनुपरेको जानकारी दिँदै सीमा चौकीका प्रमुख सूर्य कुवारले उनीहरुलाई अहिले केआइ नेपालको संरक्षणमा राखिएको र अभिभावक आएपछि जिम्मा लगाउने तयारी भएको संयोजक केसर विश्वकर्माले जानकारी दिए । रासस

बाढीपीडितका लागि रकम हस्तान्तरण

भक्तपुर, भदौ २ । शुभनगर विकास समाजले बाढीपीडितका लागि रु ३० हजार रकम संकलन गरी सूर्यबिनायक नगरपालिकामार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटमा रहेको समाजले आयोजना गरेको राहत हस्तान्तरण तथा तीज कार्यक्रममा समाजको तर्फबाट संकलित रकम सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा व्यवस्थापिका–संसद्का सदस्य रामेश्वर ढुंगेल, उपप्रमुख बस्नेत, ललितकला एकेडेमीका कुलपति रागिनी उपाध्यायले तीजमा महिलाले शृृंगार र गहनामा खर्च गर्नभन्दा मानवीय सेवामा खर्च गर्नुपर्नेमा जोड दिए । समाजका सल्लाहकार एवं पत्रकार धर्मेन्द्र झा, पत्रकार गोपाल खनालले बाढीपीडित नेपालीजनको दुःखमा मलम लगाउने पहलस्वरुप राहत संकलन गरिएको बताए । रासस

मदिरा पिएर बालिका हत्या गर्ने पक्राउ

भीमदत्तनगर, भदौ २ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा १० वर्षीया बालिकाको हत्या गरी फरार रहेका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन् । भीमदत्त नगरपालिका मटेनाका १० वर्षीया बालिका शीतल विष्टको गत साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय गौताडी खोलामा बाढीमा बगेको भनी घटना मोड्न खोजेका स्थानीय ३० वर्षीय अभियुक्त हीरासिंह ऐरीलाई प्रहरीले हालै भारतको हरियाणाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको टोलीले अभियुक्त ऐरीलाई हरियाणास्थित आफन्तको डेराबाट नियन्त्रणमा लिई भीमदत्तनगर पु¥याएको छ । प्रहरीसमक्ष ऐरी बालिकाको घाँटी च्यापेर हत्या गरेको स्वीकारेका छन् । पक्राउ परेका अयिभुक्तसहित घटनाबारे बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले छिमेकमा खेल्न भनी गएकी बालिका विष्टलाई मादक पदार्थ सेवन गरेका अभियुक्त ऐरीले हत्या गरी राति नजिकैको खोलामा लगेर फालेको बताउनुभयो । “शुरुमा विष्टका आफन्तले खोलामा मृतावस्थामा भेटिएको भनी प्रहरीमा उजुरी दिए ।” प्रहरी उपरीक्षक चन्दले भन्नुभयो– “घटनास्थलको अनुसन्धान र शव परीक्षण रिपोर्ट हेर्दा हत्या भएको आशंकापछि हाम्रो गहन अनुसन्धान भयो र सफल पनि भयौँ ।” घटनाका बेला बालिकाको बगेर मृत्यु भएको हल्ला गरिएपनि शव परीक्षण रिपोर्टमा हत्या भएको हुनसक्ने भन्दै प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालेको थियो । हत्या गरिएका बालिकाका परिवारले ल्याएको उजुरीअनुसार प्रहरीले अभियुक्त ऐरी पक्राउ गर्नुअघि नै थप दुईजनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइसकेको थियो । रासस

बयालपाटा अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा सुरु

अछाम जिल्लामा संचालनमा रहेको बयालपाटा अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा सुरु भएको छ । सबै प्रकारका उपचार सेवा निशुल्क दिदैँ आईरहेको बयालपाटा अस्पतालमा विशेषज्ञ सहितको हार्डजोर्नी सेवा पनि सुरु भएको छ । हार्डजोर्नी विशेषज्ञ डा. मन्दिप पाठकले बयालपाटा अस्पतालमा सेवा दिन सुरु गरेका हुन् । सन् २००८ बाट अछामको साँफेबगरमा मेडिकल क्लिनिकबाट नै निःशुल्क प्राथमिक स्वास्थ्य सेवा सुचारु गरेको न्याय हेल्थ नेपालले हाल विभिन्न सेवाहरु निःशुल्क रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । सन् २००९ बाट न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालमार्फत आधारभुत सेवाहरु प्रदान गर्न सुरु गरेको थियो । हार्डजोर्नी सेवा निःशुल्क रुपमा अछाममै सुरु भएपछि यस क्षेत्रका जनतालाई शुल्क तिरेर धनगढी, नेपालगंज लगायतका टाढा ठाँउमा धाउनु पर्ने बाध्यता कम हुने भएको छ । यस क्षेत्रमा धेरैजसो बिरामीमा हार्डजोर्नी समस्या भएकाले पनि यो बिषयलाई प्राथमिकता दिईएको अस्पतालका मेडिकल निर्देशक डा. सन्तोष कुमार ढुंगानाले बताए । अस्पताललले हाल बाहिरंग सेवा, २४ सै घण्टा अन्तरंग, आकस्मिक, सुरक्षित गर्भपतन सेवा, प्रयोगशाला तथा एक्सरे सेवाहरु प्रदान गर्दै आईरहेको छ भने शल्यक्रिया मार्फत प्रसुती सेवा, हर्निया तथा हाईड्रोशिल र एपेन्दिसको आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरीहरु निःशुल्क प्रदान गर्दै आएको छ । इमेजखबरमा कल्पना बोहराको समाचार

दुवै मिर्गाैला फेल भएकी मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

उर्लाबारी (मोरङ), २ भदौ । दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया मञ्जु धिमाललाई उर्लाबारी परिवार, हङकङले रु दुई लाख ८१ हजार आर्थिक सहयोग गरेको छ । धिमालको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले हङकङमा रहेका नेपालीले संकलन गरेको सो रकम बिहीबार बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ । उर्लाबारी परिवार हङकङका अध्यक्ष विकास लिम्बूले उक्त रकम मञ्जुकी आमा हेलेन धिमाललाई हस्तान्तरण गर्नुभयो । हङकङमा उर्लाबारी हङकङ परिवारका अध्यक्ष लिम्बूसहित सुष्मा वाइवा, लिलम भुजेल, प्रेमरोज राई, जितेन चोङबाङलगायतले त्यहाँ रहेका नेपालीसँग आर्थिक सहयोग संकलन गर्नुभएको थियो । हालसम्म विभिन्न संघसंस्था तथा सहयोगीदाताबाट धिमालको उपचारका लागि रु नौ लाखभन्दा बढी सहयोग जुटेको र बिरामीको उपचारमा सहजता हुँदै गएको मञ्जु धिमाल बचाऊ अभियानका सदस्य एवं सञ्चार क्लब उर्लाबारीका अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिनुभयो । छ महिनाअघि श्रीमान्को मृत्यु भएपछि दैनिक गुजारा गर्नसमेत सकस परिरहेकै अवस्थामा मिर्गाैलामा खराबी देखिएपछि मञ्जुमाथि थप पीडा थपिएको छ । दुई सन्तानकी आमासमेत रहेकी मञ्जुलाई उपचार खर्च जुटाउन र लालाबालाको पालनपोषण गर्न यतिबेला धौधौ परेको छ । उनको मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचार भइरहेको छ । रासस

बाढीले ह्युमपाइप बगाउँदा सडक अवरुद्ध

लहान, साउन २९ । चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले सुखीपुर नजिकै रहेको ह्युमपाइप बगाउँदा सिरहाको चिरोमाइल– बरियारपट्टी सडक अवरुद्ध भएको छ । बिहानदेखि नै सडक अवरुद्ध हुँदा उक्त क्षेत्रका सर्वसाधारणलाई पूर्वपश्चिम राजमार्गसम्म पुग्न कठिनाइ भएको छ । यसैगरी अविरल वर्षासँगै आएको बाढी नहरमाथिबाट बग्न थालेपछि लहान नगरपालिका– १ स्थित दलित बस्ती जलमग्न भएको छ । बाढीका कारण उक्त बस्तीका दश घर पूर्ण रुपमा भत्किसकेपछि घरमा रहेको खानेकुरासमेत जोगाउन नसकेको स्थानीयवासी गेना सदायले बताउनुभयो । वर्षाका कारण सिरहाका दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् । डिमा खोलाको पानी गाउँमा पस्दा कर्जन्हा गाउँपालिका– ६ गौताडीका दर्जन बढी घर डुबानमा परेका हुन् । लगातारको वर्षाका कारण बेचो खोलामा आएको बाढी कल्याणपुर नगरपालिका– ४ मा रहेका घरमा पसेको छ । वर्षाकै कारण सिरहाको सदरमुकामसहित मिर्चैया नगरपालिका र गोलबजार क्षेत्रसमेत जलमग्न भएका छन् । वर्षाका कारण सदरमुकामसहित जिल्लाका मिर्चैया, गोलबजार, लहान, पर्सा पोखरभिण्डा, सुखिपुरलगायत पनि जलमग्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अविरल वर्षाले बस्ती डुबानमा

भक्तपुर, साउन २९ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न बस्तीहरु डुबानमा परेका छन् । वर्षासँगै  हनुमन्ते खोला र मनोहरा खोलामा आएको बाढी बस्तीभित्र पसेपछि डुबानमा परेको हो । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको सूर्यविनायक बाराही स्थान आसपासका बस्ती र भूकम्पपीडितको टहरामा बाढी पसेको स्थानीयवासी भरत श्रेष्ठले बताउनुभयो । भूकम्पपीडितको टहरामा बस्ती पसेपछि उनीहरु आफन्तकामा आश्रय लिन गएका छन् । त्यस्तै हनुमन्ते खोलामा आएको बाढीले बालकोटको खोला आसपासको बस्ती पनि डुबानमा पारेको छ । यता बालकोट हाइटमा सातवटा घर डुबानमा परेको सूर्यविनायक नगरपालिका–२ बंगलामुखी मार्गका पुरण न्यौपानेले जानकारी दिनुभयो । मनोहरा खोलामा आएको बाढीले लोकन्थली जडीबुटी क्षेत्रमा रहेको सुकुम्वासी बस्तीलाई समेत डुबानमा पारेको छ । करिब २० घर डुबानमा पर्दा सुकुम्वासीमा त्रास बढेको स्थानीयवासी रामबाबु मगरले जानकारी दिनुभयो । यता भक्तपुरको बालकोट र ललितपुरको सिमानामा पर्ने गोदावरी खोलामा आएको बाढीले आसपासमा बनेका नयाँ बस्तीलाई डुबानमा पारेको छ । कतिपय बन्दै गरेको घरको निर्माण सामग्री बाढीले बगाएको र नयाँ बस्तीमा खोला पसेपछि खोला किनाराका बस्तीका बासिन्दा त्रासमा बस्नुपरेको बालकोट–२ का रामशरण थापाले जानकारी दिनुभयो । यता, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले भने बस्ती डुबानमा परेको र उद्धार गर्नुपर्ने अवस्थाका बारेमा जानकारी नआएकाले उद्धारमा प्रहरी नखटिएको प्रतिक्रिया दिनुभएको छ ।

राजमार्ग अवरुद्ध, राहत र उद्धारमा समेत कठिनाइ

धादिङ, साउन २९ । पाँच दिनदेखि लगातारको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा पहिरो गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ खण्डमा गएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ । धादिङबँेसी–काठमाडाँै यातायात पहिरोका कारण अबरुद्ध भएकाले पहिरो पन्छाएपछि एकातर्फी यातायात सञ्चालनमा ल्याइएको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनुभयो । गजुरी गाउँपालिकाको गौदीमा,बेनिघाट रोराङगाउँपालिका अन्तर्गत जवाङमा र ज्यामिरेघाटमा आएको पहिरोले यातायत सेवा अवरुद्ध भएको छ । प्रहरीकाअनुसार पृथ्वीराजमार्गको साना÷साना पहिरोको संख्या २० भन्दा बढी रहेको र सो पहिरो हटाउने कार्य भइरहेको छ । आज बिहान जोगिमाराको जावाङमा सडक माथिबाट आएको पहिरोले बा १३ च ७१४९ न.ं को जिपलाई पुरेपनि यात्रुभने सुरक्षित रहेका छन् । यसैगरी उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको हिन्दूङमा पहिरो जाँदा बिचल्लीमा परेका ३४ परिवारलाई दुई दिनदेखि राहत सामग्री पु¥याउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । पैदलमार्गबाट सो स्थानमा जान तीन दिन लाग्ने र पैदलमार्गसमेत पहिरो आएर जान नसकिने भएको उद्धार तथा राहत सेवा उपलब्ध गराउन नसकिएको हो । हिन्दूङ गाउँमा ९६ घर रहेपनि ३४ परिवालाई तत्काल राहत दिनुपर्ने गरी जिल्लाविपद् व्यवस्थापन समितिले निर्णय गरेको छ । रेडक्रसले अन्तर्राट्रिय गैरसरकारी संस्थाको सहयोगमा गैर खाद्यान्न सामग्री पु¥याउन तयारी गरेपछि हेलिकप्टरको अभावमा लान नसकिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपसभापति नारायण तिमल्सिनाले बताउनुभयो । उत्तरी धादिङको पैदलमार्ग समेत अवरुद्ध पहिरोले उत्तरी धादिङ जोडने पैदल मार्ग अवरुद्ध भएको छ । चार दिनदेखिको लगातार वर्षाका कारण पैदल मार्ग अवरुद्ध भएपछि उत्तरको झार्लाङ, लापा, सेर्तुङ र तिप्लिङमा आवतजावत बन्द भएको छ । दुई दिनअघि हिन्दूङगाउँमा खसेको पहिरोका कारण उद्धारमा कठिनाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । सदरमुकामबाट तीन दिनको पैदलदुरीमा रहेको हिन्दूङगाउँवासी दुई दिनदेखि नै गाउँ छाडेर अन्यत्र बसेकाले राहतको प्रतिक्षामा रहेको सोही स्थानका धनसिं तामाले टेलिफोनबाट जानकारी दिनुभयो । सदरमुकामबाट हिँडेर जानेबाटोको ठाउँ÷ ठाउँमा पहिरो गएको छ । लपाफेदी, धार्ना, डुन्डुरे, सेर्तु, स्याम्बोफोमा पहिरोले मानिस हिँड्न मिल्ने अवस्था छैन । पहिरो गएको स्थानमा वैकल्पिक बाटो नभएको र पानी नरोकिएसम्म पैदलमार्ग बनाउन नसकिने सेर्तुका विजय तामाले बताउनुभयो ।

लाखे नाच प्रतियोगितामा त्रिशूली लाखे समूह पहिलो

नुवाकोट, साउन २९ । नेवार समुदायको परम्परागत लाखे नाचको संरक्षण र प्रचारका लागि भन्दै नुवाकोटको बट्टार बजारमा आयोजित संगम लाखे नाच प्रतियोगितामा त्रिशूली लाखे समूह पहिलो भएको छ । संगम बचत तथा ऋण सहकारी संस्थाले १३ औँं वार्षिकोत्सवका अवसरमा शनिबार सञ्चालन गरेको प्रतियोगितामा पीपलटार लाखे समूह कोलनी दोस्रो तथा गंगटे लाखे समूह तेस्रो भएका छन् । प्रतियोगितामा बट्टार लाखे समूह र विदुर लाखे समूहले सान्त्वना पुरस्कार हात पारेका छन् । प्रतियोगितामा बगुवा लाखे समूहले उत्कृष्ट मुखुण्डोको पुरस्कार पाएको छ । प्रतियोगितामा पहिलो हुनेलाई रु २० हजार, दोस्रो हुनेलाई रु १० हजार, तेस्रो हुनेलाई रु पाँच हजार र सान्त्वना हुनेलाई रु दुई हजार नगदसहित पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा नौ समूहले सहभागिता जनाएका थिए । विजयीलाई विदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले पुरस्कार वितरण गर्दै नेवार समुदायको लाखे नाच सबै नेपालीको पहिचान जनाउने संस्कृति भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले जिल्लामा नेवार समुदायको बस्ती बाक्लो भए पनि लाखे नाचको प्रचलन सदरमुकाम र वरपर मात्र सीमित हुन थालेकाले नाचको महत्व दर्शाउनका लागि पनि प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो । नेवार संस्कृतिविद् नरेन्द्र प्रधानले जिल्लामा लाखे समूह २० भन्दा धेरै भए पनि अहिले प्रतियोगितामा थोरै मात्र सहभागी भएको बताउँदै लाखे नाच सञ्चालन गर्न खर्चिलो भएकाले नाच प्रदर्शन कम हँुदै गएको बताउनुभयो । “सरकारी तवरबाट लाखे नाच संरक्षणको कुनै कार्य नभएपछि एउटा संस्थाले यसलाई प्राथमिकता दिनु राम्रो हो” उहाँले भन्नुभयो, “संस्कृति संरक्षणमा सबै संघसंस्था र व्यक्ति सक्रिय हुनुपर्छ ।” जिल्लामा बट्टार, बेत्रावती, देवीघाट, त्रिशूली, दुईपीपल, नुवाकोट, खरानीटार, रालुका, तारुकालगायत स्थानमा गाईजात्राका अवसरमा लाखे नाच प्रदर्शन गरिन्छ । पछिल्लो समय भने नाच लोपोन्मुख अवस्थामा रहेको छ ।

बाढीका कारण दुईको मृत्यु

चितवन, साउन २९ । अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार इच्छाकामना गाउँपालिका– ३ स्थित कोराक खोलाले बगाएर स्थानीयवासी २२ वर्षीय समनबहादुर प्रजाको मृत्यु भएको हो । शनिबार साँझ खोलाले बगाएर बेपत्ता भएका उनको शव आज बिहान फेला परेको उहाँले बताउनुभयो । त्यसैगरी राप्ती नगरपालिका– ८ स्थित पम्फाखोलाले बगाएर ल्याएको स्थानीयवासी अन्दाजी ४० वर्षीया महिलाको शव खोलाबाट निकाल्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । ती महिलाको सनाखत हुन सकेको छैन । वर्षा जारी रहेपछि भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख र दलका प्रतिनिधिसहितको आजको बैठकले जिल्लाको वस्तुस्थितिका बारेमा तीन समूह बनाएर तत्काल अनुगमन गर्ने निर्णय गरेको प्रहरी प्रमुख थापाले बताउनुभयो । प्रमुख दाहालको नेतृत्वमा पश्चिम चितवन, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीको नेतृत्वमा पूर्वी चितवन र जनस्वास्थ्य प्रमुख विजयकुमार झाको नेतृत्वमा सौराहा क्षेत्रको अनुगमन गर्ने निर्णय भएको छ । सो अवसरमा दाहालले बाढीबाट प्रभावितको उद्धार र राहतका लागि जुट्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनाका साथै दलका प्रतिनिधिलाई सो कार्यमा सहयोग पुर्याउन आग्रह गर्नुभएको थियो । जिल्लाका राप्ती, बूढीराप्ती, रिउ, लोथर, कयरलगायत खोला बढेर बस्तीमा पसेसँगै जनजीवन प्रभावित भएको छ । तीन दिनदेखि जिल्लामा अविरल वर्षा भइरहेको छ ।

झापामा पाँचको मृत्यु

झापा, साउन २९ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण झापामा आजसम्म पाँच जनाको मत्यु भएको छ । नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन झापा शाखाका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं २ की ३५ वर्षीया धनमाया घोरसाइने र उहाँकी छोरी, सोही गाउँपालिका वडा नं ७ की कमला दर्लामी, शिवसताक्षी नगरपालिका–१ का लेखनाथ पाण्डे, केचनकवल गाउँपालिकाका वडा नं ३ का २२ वर्षीय राम राजवंशी छन् । त्यसैगरी झापाका कनकाई, विरिङ, रतुवा, अन्धुवा खोला, मेची र नन्दा खोलामा आएको बाढीका कारण एक हजार १९६ घर पविार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी नजिकै रहेका स्कुल, प्यार्टी प्यालेस र सार्वजनिक भवनमा राखिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । उहाँका अनुसार आज बिहानैदेखि झापाको भद्रपुर नगरपालिकास्थित भैसाबाडी, झापा गाउँपालिका र डाँगीबारीमा नेपाली सेनासहितको टोलीले डुङ्गाबाट बाढीपीडितको उद्धार भइरहेको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिन्धुली, साउन २९ । विपी राजमार्गअन्तर्गत गएराति सिन्धुलीको खुर्कोट–नेपालथोक सडकखण्ड अन्तर्गत रिठ्ठेभिर नजिक मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा धनुषाका २६ वर्षीय प्रदीप दुलाल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिनुभयो । काठमाडौँबाट धनुषातर्फ आउँदै गरेको दुलाल चढेको बा ४८ प ५६४६ नंको मोटरसाइकल शनिबार साँझ ६ः३० बजे तीव्रगतिका कारण दुर्घटनामा परेको थियो । सडकको छेउमा रहेको पिल्लरमा ठोक्किएर दुलाल सडकबाट ३५ मिटर तल खसेका थिए । मोटरसाइकल सडकमा नै रहेको प्रहरीले जनाएको छ । तीव्रगतिमा रहेको मोटरसाइकल ठोक्किँदा चालक दुलाल उछिट्टिएर तल खसेको प्रहरीको अनुमान छ । सडकबाट ३५ मिटर तल खसेका दुलाललाई प्रहरीले उद्धार गरी थप उपचारका लागि धुलिखेल लगेको थियो । उनको धुलिखेलमा उपचारका क्रममा गएराति ९ बजे मृत्यु भएको जिप्रका सिन्धुलीले जनाएको छ ।

खोलाले बगाउँदा बालिकाको मृत्यु

कैलाली, साउन २९ । कैलालीको टीकापुरमा खोलाले बगाउँदा शनिबार एक सात वर्षीय बालिकाको ज्यान गएको छ । टीकापुर नगरपालिका–९ की लाजुराम चौधरीकी छोरी सिर्जना चौधरीको खोलाले बगाउँदा ज्यान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तैरिरहेको अवस्थामा बालकको शव फेला

खोटाङ, साउन २९ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका सात वर्षीय रोविन राई मृत फेला परेका छन् । साउन २३ गतेदेखि हराएका राई सोही गाउँपालिका वडा नं ५ स्थित तापखोलामा मृत फेला परेका हुन् । माछा मार्न गएका स्थानीयवासीले बालकको शव खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको प्रहरीले जनाएको छ । साथीहरुसँग माछा मार्न गएका बालक ढुंगामा चिप्लिएर खोलामा बेपत्ता भएका थिए । बेपत्ता बालकको आफन्तले खोजी गरे पनि फेला पार्न सकेका थिएनन् ।