सेयर बजार र कारोबार रकम दुवैमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार र कारोबार रकम दुवैमा गिवरावट आएको छ । उक्त दिन बजार ९.७४ अंकले घटेको हो ।

जार बजार परिसूचक २१५३.३२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बिहीबार फाइनान्स, हाइड्रोपावर बाहेक सबै समूह राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकम पनि गिरावट आएको छ । आज ८ अर्ब ९ करोड १४ लाख ६३ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख २९ हजार ८९३ कित्ता सेयर किनबेच भएको छ । यो बुधवारको तुलनामा कमी हो । बुधवार ९ अर्ब बढीको सेयर कारोबार भएको थियो ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो। आजको बैठक नियमित हो । सधै बिहिबार बस्ने नियमित बैठक असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गर्नु अघिल्लो दिन आज बैठक बसेको हो ।

महंगो ब्रान्डका बोतलमा नक्कली मदिरा बेच्नेहरू पक्राउ गरी सार्वजनिक

काठमाडौं । विभिन्न ब्रान्डका नक्कली मदिरा बनाई बिक्री गर्ने समूहलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौंमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली मदिरा बनाई बिक्री भइरहेको सूचनामा आधारमा काठमाडौं थलीस्थित एक घरमा छापा मार्दा प्रहरीले विभिन्न ब्रान्डका नक्कली मदिरासहित ९ जनालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछापका मनोज खत्री, विनोदकुमार कार्की, मोहन खड्का, गौरव तामाङ, मोहन खड्का, रोशन कार्की, महेश खत्री, मनिष खत्री र सुमन नगरकोटी रहेका छन् । पक्राउ परेकामध्ये अधिकांश यसअघि पनि नक्कली मदिरा बनाएको अभियोगमा पक्राउ परेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए । उनीहरूबाट खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन ब्राण्डको मदिरा, मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजस्व विभागको अन्त शुल्कको स्टिकरहरू, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरू बरामद भएको घिमिरेले बताए । उनीहरूले चिनी र पानी मिलाएर पकाउने त्यसपछि अल्कोहल मिसाएर बजारमा प्रचलित दरभाउभन्दा कम मूल्यमा नक्कली मदिरा बिक्री गर्ने खुलेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले बजार पठाउन तयारी अवस्थामा राखिएका विभिन्न ब्रान्डका मदिराहरू समेत बरामद गरेको छ ।

शिवानासँग लगनगाँठो कस्दै देउवा पुत्र जयवीर

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर र कभर गायिका शिवानाले माघ २१ गते लगनगाँठो कस्ने भएका छन् । उक्त मितिमा यी दुईको वैवाहिक समारोह तय भएको छ । गत जेठको पहिलो साता यी दुईबीच पारिवारिक उपस्थितीमा इन्गेजमेन्ट भएको थियो । अहिले विवाहको तयारी तीव्ररुपमा चलिरहेको जनाइएको छ । २८ वर्षिय जयवीर देउवा र आरजुका एक्ला छोरा हुन् । शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् । यी दुबैजना लामो समयदेखि प्रेम सम्बन्धमा छन् । शिवाना कभर गायिका समेत हुन् ।

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठकले पार्टी सचिवालयको बैठकको निर्णय अनुमोदनका एजेन्डा तय गर्ने भएको छ । बैठकमा सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट, समसामयिक विषय तथा संगठन अद्यावधिकलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ । बैठकमा नियमावली, आचारसंहिता, घरदैलो कार्यक्रमको रिपोर्ट, ऐनको संशोधन प्रस्तावको तयारी, महाधिवेशनमा जिम्मेवारीलगायत विषयमा पनि छलफल हुने बताइएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

हल्लाको पछि नलागौं, मेलम्चीको सफा पानी प्रवाह हुन्छ : खानेपानी मन्त्रालय

काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा रहेको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेको छ । मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै मन्त्रालयले भ्रममा नपर्न अपिल गरेको छ । “मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ,” मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए तापनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुन्छ ।” खानेपानीको गुणस्तरमा शंक नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ । मन्त्रालयले मेलम्ची खानेपानी सर्वसुलभ रूपमा सबै उपत्यकावासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न मन्त्रालय प्रयत्नशील रहेको पनि स्पष्ट पारेको छ । मेलम्ची खानेपानीको नयाँ पाइप लाइन परीक्षण सम्पन्न भएका स्थानहरूमा नयाँ वितरण सञ्जालबाट र परीक्षण नभएका स्थानहरूमा पुरानै वितरण सञ्जालबाट वितरण भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपालले दिगो विकासबारे तेस्रो राष्ट्रिय स्वेच्छिक समीक्षा गर्दै

काठमाडौं । नेपालले आगामी असारभित्र दिगो विकाससम्बन्धी ‘राष्ट्रिय स्वेच्छिक समीक्षा’ प्रतिवेदन तयार पारी संयुक्त राष्ट्रसंघ ९यूएन० अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रिय योजना आयोगले मंगलबार काठमाडौंमा राष्ट्रिय स्वेच्छिक समीक्षा कार्यशाला आयोजना गर्दै विभिन्न क्षेत्रबाट सुझाव लिएको छ । दिगो विकास लक्ष्यका सम्बन्धमा नेपालले सन् २०२३ सम्म हासिल गरेका उपलब्धिको समीक्षा र अबको कार्यदिशाबारे राय–सुझाव लिइएको हो । यसअघि नेपालले पहिलोपटक सन् २०१७ र दोस्रोपटक सन् २०२० मा समीक्षा गरेको थियो । अबको ६ महिनाभित्र तेस्रोपटक समीक्षा गरिने आयोगले जनाएको छ । कार्यशालाको उद्घाटन शत्रमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले दिगो विकास लक्ष्य प्राप्तिमा नेपालले गरिरहेको काम र नतिजाको समीक्षा, अरू देशका राम्रा अभ्यास, विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय तथा सहाकार्य र राय सुझाव लिनका लागि कार्यशाला आयोजना गरिएको बताए ।

त्रिभुवन विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार चेकजाँचमा सोमबारदेखि सशस्त्र प्रहरी परिचालन गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय विमानस्थल भन्सारको नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको छ । भन्सारको सुरक्षालाई त्रुटि रहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी सहयोगीका रुपमा खटाइएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ गते यससम्बन्धी निर्णय गरेका थिए ।

ग्यास सिलिन्डर विस्फोट हुँदा एक गम्भीर घाइते

बिर्तामोड । बिर्तामोड नगरपालिका –७ गरामनीस्थित बेल्स मोडल स्कुलमा स्कुलको अतिरिक्त कार्यक्रममा बेलुन फुलाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । स्कुलले आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजन ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । उनलाई उपचारका लागि बीएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको विद्यालयका संस्थापक जय प्रसाईले जानकारी दिए । विद्यालय सजावटका लागि भारत सिलिगुडीको पार्टी डेकोरेशन सिलिगुडी भन्ने कम्पनीले ठेक्का लिएको थियो । कम्पनीले सहनीलाई कामदारको रुपमा खटाएको थियो । घाइतेको कम्मरमुनिको भाग क्षतविक्षत अवस्थामा छ । विस्फोटमा उहाँको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा एक विद्यार्थी सामान्य घाइते भएको जनाइएको छ । उक्त ग्यास सिलिन्डर पड्किँदा निस्किएको आवाजले सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत बिर्तामोड ७ बस्ने टीका तामाङकी छोरी १५ वर्षीया कुसुम तामाङको कानमा समस्या आएको छ । उपचारका लागि उनलाई पनि बीएण्डसी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । रुस युक्रेन युद्धमा लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको बताइएको छ । स्रोतका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर परिवारलाई प्राप्त भइसकेको छ। यसअघि रुसी सेनामा भर्ना भएका १० नेपालीको मृत्यु भइसकेको छ । योसँगै मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ । अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा पनि नेपाल सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । यसले गर्दा रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम रोकिएको छैन ।

जोखिम न्यूनीकरणका निम्ति हातेमालो गरौं : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पको जोखिम न्यूनीकरणका निम्ति तीनै तहका सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिम क्षेत्रमध्येमा पर्ने उनले उल्लेख गरे । २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संघीय सरकार पालिकाहरूलाई सामर्थ्यवान बनाउन मिलेर काम गर्न तयार रहेको बताए । सबै स्थानीय तहलाई आपत्कालीन कार्यसञ्चालनका निम्ति केन्द्र सरकारले औजार तथा उपकरण उपलब्ध गराउँदै आएको उनले उल्लेख गरे । विपद् व्यवस्थापनमा खटिने स्वंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको उनले जानकारी गराए । त्यसमा काठमाडौं महानगरपालिकाले पनि पहल लिएकामा उनले खुसी व्यक्त गरे ।

फेरि सर्वोच्च पुगेकी न्यायाधीश गिरीकी पत्नी आरती पक्राउ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ । मंगलबार सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा उनी गेटबाटै पक्राउ परेकी हुन् । प्रहरीले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो । रावलले गिरीमाथि यौनशोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । उनीहरूबीचको मुद्दा अदालती प्रक्रियामा छ ।

आज २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस : विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज नेपालमा २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विक्रम संवत १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आइएको छ । सरकारले सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षिता आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २०५५ साल माघ २ गतेदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउदैँ आएको छ । भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र सङ्घसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गर्दै आएका छन् । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नारा तय गरिएको छ । दिवसको अवसरमा आज प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा चन्द्रगिरीमा भूकम्प सुरक्षा दिवसको औपचारिक समारोह आयोजना हुने गृहमन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस्तै, ललितपुर र भक्तपुरमा पनि मूल समारोह आयोजना हुनेछ । दिवसलाई भव्य रुपमा सफल बनाउन गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्राधिकरणका अनुसार आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी पनि हुनेछ । दिवसको सन्दर्भमा गत पुस २८ देखि माघ १५ सम्म सरकारी निकाय, सङ्घसंस्थाहरूसँगको समन्वयमा विभिन्न कार्यक्रम निर्धारित रहेको प्राधिकरणले जनाएको छ । विक्रम संवत १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको ८ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति गरेको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार सो भूकम्पमा परी ८ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो । यस्तै, असी हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएका थिए । यसैगरी विसं २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पमा परी ८ हजार ६ सय ७० जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए । सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो । वरिष्ठ भूकम्पविद अधिकारीले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताए ।

माघे सङ्क्रान्तिलाई कुमाल जातिको राष्ट्रिय पर्व बनाउँन पहल लिन्छु : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले माघे सङ्क्रान्तिलाई कुमाल जातिको राष्ट्रिय पर्व भनि राजपत्रमा अंकित हुनुपर्ने बताएकी छिन्। कुमाल समाज नेपालले माघे सङ्क्रान्तिको अवसरमा भरतपुर–२८ गोलाघाटमा गरेको माघे सङ्क्रान्ति बृहत राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वमा प्रकाशित गर्न सक्दो पहल गर्ने उल्लेख गरेकी हुन् । कुमाल समुदायले उठाएको मागमा एकेवद्धता र समर्थन रहेको प्रमुख दाहालले प्रष्ट पारिन। प्रकृतिपूजाक कुमाल जातिले माघे संक्रान्तिलाई सबैभन्दा ठुलो पर्वका रुपमा मनाउदै आएकाले यसका लागि जोडदार आवाज उठाउन आवश्यक रहेको प्रमुख दाहालको भनाई छ । उनले कुनै पनि अधिकार स्थापित गर्न आ–आफ्नो ठाँउबाट जागरुक हुनुपर्ने र आवाजलाई बुलन्द पार्न आह्वानसमेत गरिन् । संघीय गणतन्त्रको स्थापनापछि राज्यको हरेक तह र निकायमा कुमाल समुदायको उपस्थिति रहेपनि यो प्रयाप्त नभएकाले पूर्ण अधिकार थप संघर्ष गर्न जरुरी रहेको उनले बताइन् । हिजोको दिनमा कुमालको छोरा छोरी राष्ट्रिय तहमा सांसद हुने कुरा दुरदराजको कुरा थियो, राष्ट्रको केन्द्रीय तहमा प्रतिनिधित्व गर्नुभएको छ, तर यो पुरा भएको छैन–उनले भनिन् । माघे संक्रान्ति पर्वलाई मगर, थारु, छन्त्याललगायतलाई समुदायको राष्ट्रिय पर्वका रुपमा नेपाल सरकारले घोषणा गरी राजपत्रमा प्रकाशित ग¥यो, तर, कुमाललाई त्यहाँ पनि कुमाल समुदायलाई ईङगित गर्न हुने थियो भनेर विगतदेखि कुमाल समुदाय माग गर्दै आएकी प्रमुख दाहालले बताइन्। माघे संक्रान्ति पर्वलाई राष्ट्रिय पर्वमा लाने विषयमा मन्त्रिपरिषद बैठकमा निर्णय गराएर राजपत्रमा प्रकाशित गराउने कुरामा जिम्मेवार र जोडदार ढङगबाट अघि बढ्ने उनको भनाई थियो । कार्यक्रममा नेपालका ७० जिल्लाबाट २० हजार जना कुमाल समुदायको उपस्थिति रहेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा एक लाख पर्यटक

काठमाडौं। चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जङ्गल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका हुन् । विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुका लागि बढी रुचाइने क्षेत्र पनि हो । यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् । यसैगरी, घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिश्रृप तथा उभयचर, बसार्इंसरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरू रहने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटक निकुञ्ज अवलोकन भ्रमण गरेको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जा पुनले पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका एक लाख बढी पर्यटकबाट निकुञ्जले १० करोडभन्दा बढी राजश्व सङ्कलन गरेको उल्लेख गरे । उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष तीन लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जा पुनले गत वर्ष तीन लाख पर्यटकबाट ३० करोड रुपियाँ राजश्व सङ्कलन गरेको जानकारी दिए। गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन वृद्धि हुने निकुञ्जको अपेक्षा छ । ‘‘चितवन राष्ट्रिय निकुञ्जको मङ्सिरसम्मको पर्यटन आगमनको तथ्याङ्क हेर्दा एक लाख बढी पर्यटक प्रवेश गरे। त्यसमा स्वदेशी तथा विदेशी पर्यटकहरु रहेका छन्। राजश्व आम्दानीको हिसावले चितवन राष्ट्रिय निकुञ्जले १० करोडभन्दा बढी राजश्व सङ्कलन भएको छ । गत वर्ष तीन लाख बढी पर्यटक चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए । जसबाट ३० करोड रुपियाँ राज्यलाई राजश्वको रुपमा आम्दानी भएको थियो । चितवन राष्ट्रिय निकुञ्ज विश्वमा जन्यजन्तु पर्यटकको लागि प्रसिद्ध छ । जैविक विविधता पनि राम्रो छ । प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरु अवलोकन गर्नसक्ने अवस्था छ ।,’’ वरिष्ठ संरक्षण अधिकृत पुनले भने, ‘‘चितवन राष्ट्रिय निकुञ्ज गैडाँ, बाघ, अन्य वन्यजन्तु र जङ्गल सफारीमार्फत अवलोकनका लागि आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज भित्र जङ्गली हात्तीहरुले आतङ्क मच्चाउने काम गर्छन् । तीनहरुबाट सजक सहज स्थानीयहरुलाई आग्रह गर्ने र हात्ती कुन क्षेत्रमा रहेको छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर निकुञ्जले काम गरिरहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा धुर्बे, रोनाल्डो, मकुना, यमगज र गोविन्दे लगायतका हात्तीहरु बाहिर देखिएका छन् ।’’ उनले निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरु अवलोकन गर्नसक्ने अवस्था रहेको बताए। उनले चितवन राष्ट्रिय निकुञ्ज गैँडा, बाघ, अन्य वन्यजन्तु र जङ्गल सफारीमार्फत अवलोकनका लागि आउने हात्ती कुन क्षेत्रमा छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर निकुञ्जले काम गरिरहेको बताए । उनले चितवन राष्ट्रिय निकुञ्जमा धुर्बे, रोनाल्डो, मकुना, यमगज र गोविन्दे लगायतका हात्तीहरु बाहिर देखिएको बताए।

पोखरा विमान दुर्घटनाको एक वर्ष

पोखरा । माघे संक्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा, फूलबारीस्थित घरमा व्यस्त थिइन् । श्रीमान् त्रिभुवन पौडेल कामविशेषले काठमाडौंमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौंमै मनाउने योजना भए पनि माघे संक्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो घर आउने जानकारी प्रतिभालाई थियो । तर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेलको योजना सायद त्यस्तो थिएन । परिवारलाई ‘सप्राइज’ दिन रुचाउने पौडेलले दिउँसोको नभई बिहानै घर पुग्ने ‘योजनाअनुसार’ विमानको टिकट काटेका थिए । उनले टिकट काटेको यति एयरलाइन्सको (एन–एएनसी एटीआर–७२ विमान त्यसै दिन बिहान १०ः५७ बजे विमानस्थलनजिकैको नयाँगाउँस्थित सेती खोचमा खस्यो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए । दुर्घटनासम्बन्धी समाचार, तस्बिर र भिडियो समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती हुँदा पनि प्रतिभालाई श्रीमान् त्यही विमानमा सवार थिए भन्ने हेक्का थिएन । “उहाँ (श्रीमान् पौडेल) हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ,” प्रतिभाले भनिन्, “आज घर आउन पाउँदिनँ भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर हुन्छ भनेका दिन पनि छिट्टै घर आएर सरप्राइज दिनुहुन्थ्यो ।” दुर्घटना भएको आज एक वर्ष बित्यो, तर प्रतिभालाई एउटा कुरोले अहिले पनि सोचमग्न बनाएको छ । “त्यो बेला त्रिभुवन काठमाडौं जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन,” प्रतिभाले श्रीमान् काठमाडौं जानुअघिको दिन सम्झँदै भनिन्, “सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ ।” प्रतिभाको काँधमा श्रीमान् गुमाउनुको पीडासँगै छोरा र परिवारको पनि जिम्मेवारी छ । त्यसैले छोरा इभानकै निम्ति भए पनि उनी आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयासमा छिन् । इभान अहिले पाँच वर्षमा प्रवेश गर्दै छन् । अटिजम भएकाले छोराको नियमित उपचार गराइरहनुपर्छ । छोरालाई निको पारेर उनीबाटै श्रीमान्को सपना पूरा गर्ने अठोट पनि प्रतिभासँग छ । “म आफ्नो भविष्यबारेमा अहिले केही भन्न सक्ने अवस्थामा छैन ।” दुर्घटना भएयता न सरकार न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ । “अरूका लागि त्यो दुर्घटना एउटा दुःखलाग्दो घटना मात्रै होला, तर हाम्रा लागि त जीवन सकिएजस्तो अन्धकार भएको छ,” प्रतिभाले पीडा सुनाइन् । सोही दुर्घटनामा ज्यान गुमाएका पत्रकार अनिल शाहीकी श्रीमती रेनु गुरुङ पनि त्यो दिन भुलाउन सकिरहेकी छैनन् । “भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उहाँको प्रतीक्षा गरिरहेकी थिएँ,” उनले भनिन्, “तर, त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।” गुरुङले श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आएकी छन् । अनिल रेडियो एपोस्टलका प्रबन्धक थिए भने दुबईमा आईटीसम्बन्धी व्यापारको तयारीमा पनि जुटेका थिए । त्यति बेला दुई साताअघि दुबईबाट नेपाल आएका उनी तत्काल कामविशेषले केरला पुगेका थिए । अनिलले आफू पोखरा आउनेबित्तिकै सपरिवार दुबई घुम्न जाने योजना बताएका थिए । प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो । मदनकाजीले कान्छा छोरा डा. सुशील श्रेष्ठ, बुहारी डा.सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए । सन्तान गुमाउनुको पीडाबाट मनदकाजी अझै बाहिर निस्कन सकेका छैनन् । “मानवीय त्रुटिका कारण भएको दुर्घटनाका दोषीले सजाय पाउनैपर्छ,” उनले भने । घटना भएकै दिन गठित दुर्घटना जाँचबुझ आयोगले गएको पुस १२ गते सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिलाई कारक मानेको थियो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो । प्रतिवेदनमा पाइलटले ‘फ्लेप लिभर’ तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र त्यसले गर्दा विमान ‘फिदर कन्डिसन’मा गएपछि अगाडिको ‘मोसन’ विमानले नपाएकाले दुर्घटना भएको उल्लेख छ । आयोगले आउँदा दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ । राससबाट