भूकम्प पीडितले राहत पाए

चितवन, भदौ ७ । जिल्लाका दुई हजार ४३५ जना भूकम्प पीडितले पहिलो किस्ताबापतको रकम बुझेका छन् ।

पहिलो किस्ताबापत प्रतिपरिवार रु ५० हजार भूकम्प प्रभावितलाई रहात रकम वितरण गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

जिल्लामा भूकम्पका कारण सात हजार ३३४ घर पूर्ण रुपमा र आंशिक रुपमा ५९४ घर क्षति भएका थिए । भूकम्पका कारण क्षति भएका घर परिवारको राहतको रकम वितरणको काम भइरहेको स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

पूर्णक्षति भएका घरका लागि राज्यले तीन किस्तामा तीन लाख र आंशिक क्षति भएका घरका लागि दुई किस्तामा रु एक लाख दिने गरेको छ ।

पहिलो किस्ताबापतको रकम दसँैअघि सबै भूकम्प प्रभावितलाई बुझाइसक्ने तयारी भएको उहाँले बताउनुभयो । अधिकारी सुवेदीकाअनुसार अहिले ६०१ जनाको राहात वितरणका लागि अन्तिम प्रक्रियामा पुगेको छ ।अन्य प्रभावितका लागि स्थानीय तहसँग समन्वय गरी सम्झौताको काम भइरहेको छ ।

जिल्लाको पहाडी क्षेत्र भूकम्पका कारण बढी प्रभावित भएको थियो । राहात रकम नपाउँदा भूकम्प प्रभावित अहिलेसम्म टहरामा रात बिताउन बाध्य छन् ।

जुवाडेबाट बरामिदत २१ हजार विद्यार्थीलाई

सिन्धुपाल्चोक, भदाै ७ । इलाका प्रहरी कार्यालय, मेलम्चीले जुवाडेबाट सोमबार बरामद भएको रु २१ हजार २०५ नगद मंगलबार साँझ फरक क्षमता भएका (अशक्त) विद्यार्थीको पठनपाठनका लागि सहयोग गरेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–४ मा जुवातास खेलिरहेको अवस्थामा नगदसहित पक्राउ परेका चारजना जुवाडेबाट उक्त रकम बरामद भएको प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए । इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीमा अध्ययनरत फरक क्षमता भएका १२ छात्रा र ६ छात्रको पठनपाठनका लागि विद्यालयका लेखापाल महेन्द्र सापकोटा र विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण गौतमलाई उक्त रकम हस्तान्तरण गरिएको हो । छात्राबासमा बस्दै आएका ती १८ विद्यार्थीको शिक्षाका लागि प्रहरीले वितरण गरेको रकमले निकै ठूलो राहत पुग्ने स्थानीय पत्रकार देवराज सुवेदीले जानकारी दिए  । पक्राउ परेका चारैजनालाई जुवातास नखेल्ने शर्र्तमा र खेलेको फेला परे कानूनबमोजिम कारबाही गरिने बताउँदै एकपटक सम्झाइबुझाइ छोडिएको प्रहरीले जानकारी दिएको छ ।

बर्दियाबाट गिद्ध  हराए

बर्दिया, भदौ ७ – आहारा प्रजातिको कमी, बासस्थानको कमी तथा घरपालुवा पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोगका कारण बर्दियाबाट गिद्ध हराउन थालेका छन् । गाउँघरमा फालिएका सिनो खाएर नष्ट गर्दै वातावरण स्वच्छ पार्ने भएकाले गिद्धलाई प्रकृतिको कुचीकार पनि भनिन्छ । नेपालमा हाडफोर, सेतो गिद्ध, डंगर, सानोखैरो गिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध संकटापन्न अवस्थामा पाइन्छन् । केही दशकअघि बर्दियामा प्रशस्त मात्रामा पाइने गिद्ध हिजोआज फाट्फुट मात्र देखिने गरेका छन् । आहारा प्रजातिको कमीलगायत गिद्धको बासस्थान मानिने ठूला सिमलका वृक्ष विनाश भएपछि गिद्धको संख्या जिल्लामा कमी भएको संरक्षणकर्मी बताउँछन् । नेपालमा नौ प्रजातिका गिद्ध पाइने नेपाल गिद्ध संरक्षण अभियानका सदस्य सचिव रामबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार हाडफोर, सेतो गिद्ध, डंगर, सानोखैरो गिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध नेपालमा पाइन्छन् । डंगर गिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध, लामोठुँडे गिद्ध, अति संकटापन्न अवस्थामा रहेको उहाँँले बताउनुभयो । त्यस्तै, सेतो गिद्ध, हिमाली गिद्ध पनि संकट उन्मुख छन् । डाइक्लोफेनेक नामक औषधि प्रयोगबाट मृत्यु भएका पशुलाई गिद्धले खाएपछि मिर्गौला फुटेर मर्ने तथा प्रजनन क्षमता ह्रास हुने हुँँदा गिद्ध लोप भएको वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । नेपालमा प्रशस्त पाइने गिद्ध सन् २००६ मा एक हजार २०० जोडीमात्र भेटिएका थिए । अहिले नेपालका करिब ६४ जिल्लामा डाइक्लोफेनेक मुक्त घोषणा भइसकेपछि गिद्धको संख्या १२ हजारको हाराहारीमा पुगेको शाहीको भनाइ छ । बसाइँ सर्नेक्रममा बर्दियामा हिजोआज फाट्टफुट्ट मात्र गिद्ध देखिने गरेका छन् । प्रकृतिको कुचीकार मानिने गिद्ध संरक्षण गर्नुपर्छ भन्ने भावना समुदायमा जागृत नहुँदा समस्या परेको हो । पहिले पहिले बर्दियामा प्रशस्त गिद्ध देखिन्थे, उहाँले भन्नुभयो, “आहाराको कमी तथा बासस्थान विनाशका कारण हिजोआज कम देखिन थालेका छन् ।” जनचेतनासँगै यसको संख्या वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । चरा संरक्षणमा सरकार उदासीन भएकाले पनि समस्या चुुलिएको हो, उहाँले भन्नुभयो– डाइक्लोफेनेक मुक्त भएपछि औषधि बिक्री वितरण र प्रयोग गरेको पाइएमा तीन वर्ष कैद र रु २५ हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

बाढि पिडितका लागी एक लाखको चेक हस्तान्तरण

यूराशिया रेयूकाई, नेपालले प्राकृतिक प्रकोपमा परेकाहरुलाई निरन्तर राहत बितरण कार्य गर्दै आईरहेको छ । यसै क्रममा हालसालै तराईका बिभिन्न क्षेत्रमा गएको बाढी र पहिरोबाट ठुलो जनधनको क्षति भएकोमा यूराशिया रेयूकाई नेपालबाट स्थानिय स्तरमा बिभिन्न किसिमका सहयोगहरु संचालन गर्दै आईरहेको छ । बाढी पिडितका लागी थप सहयोगी हात बढाउन नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा जम्मा हुने गरी  एक लाख मात्र को चेक नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रीमति भवानी राणाज्यूलाई हस्तान्तरण गरीएकाे छ । चेक बुझदै महासंघका अध्यक्ष राणाले यूराशिया रेयूकाई नेपालले सहयोगी हात बढाउने क्रममा चेक हस्तान्तरण गरेकाेमा धन्यबाद ज्ञापन गरिन ।

पहिरो प्रभावित फालेलुङमा एकीकृत बस्ती निर्माण गरिने

पाँचथर, भदौ ७ । पहिरोबाट प्रभावित पाँचथरको फालेलुङ गाउँपालिका, वडा नम्बर ३ मा अब एकीकृत बस्ती निर्माण गरिने भएको छ । सुरक्षित बसोबास गर्ने व्यवस्था मिलाउन भन्दै एकीकृत बस्ती निर्माण गर्ने निर्णय गरिएको जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए । जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले फालेलुङ–३ को खोलाघारी, खोलागाउँ, विकटे, माङलेबुङका पहिरोबाट विस्थापित भएका ११३ परिवारका लागि एकीकृत बस्ती बसाउने निर्णय गरेको हो । अहिले पनि वर्षात् नरोकिएको हुँदा त्यस भेगका स्थानीय छिमेकीको घर तथा विद्यालयको प्रांगणमा बस्न बाध्य छन् । अहिलेसम्म त्यस भेगका ७२ परिवारले मात्रै राहत पाएको स्थानीय बताउँछन् । अझै ४१ परिवारले राहत पाउन सकेका छ्रैनन् । त्यस क्षेत्रमा जिल्ला दैविप्रकोप उद्धार समिति र केन्द्रीय दैविप्रकोप उद्धार समितिबाट आगामी सोमबार संयुक्तरुपमा लगेर राहत वितरण गरिँदैछ । अविरल वर्षात्कै कारण गत साउन २७ गते फालेलुङ गाउँपालिका वडा नम्बर १, ३ र ४ मा पहिरोले किचेर दुईजनाको मृत्यु भयो भने दुईजना अहिले पनि बेपत्ता छन् । वडा नम्बर १ का त्रिलोचन विक र वडा नम्बर ३ का विष्णुभक्त राईकी नातिनी प्रियाको शव भेटिए पनि अहिलेसम्म विष्णुभक्त राई र उनकी छोरी गंगाको भने शव भेटिएको छैन ।

भदौ १६ देखि सुपथमूल्यका पसल, खाद्यान्नदेखि खसीसम्ममा छुट

काठमाडौं, भदौ ७ । आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म सुपथमूल्यका पसल सन्चालन गर्ने जनाएको छ । चाडपर्वलक्षित सुपथमूल्यका पसल उपत्यकासहित देशका विभिन्न स्थानमा गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । चाडपर्वकाबेला चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुन प्रतिकिलो २, बास्मती चामल र फापरको पिठो प्रतिकिलो १० रुपैयाँ, अन्य चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने आपूर्ति मन्त्रालय संस्थान शाखा प्रमुख उर्मिला केसीले जानकारी दिइन् । यस्तै, खसी–बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिने जनाइएको छ । साल्ट ट्रेडिङले उपत्यकाका विभिन्न ११ स्थानसहित देशभर ३६ स्थानमा सुपथमूल्यका पसल सन्चालन गर्ने केसीले जानकारी दिइन् ।

बाढी प्रभावित जिल्लामा आवश्यक औषधिसहितको टोली पठाइयो

काठमाडौं, भदौ ७ । स्वास्थ्य सेवा विभागको विपद् व्यवस्थापन समितिले बाढी पहिरो प्रभावित स्थानमा उपचारका आवश्यक औषधिसहितको टोली पठाएको छ । आपूर्ति व्यवस्था महाशाखाबाट माग गरिएअनुसार बाढी प्रभावित जिल्लामा औषधिसहितका उपचार, जनचेतना सामग्री भएको दुई ट्रक मंगलबार (आज) पठाइएको हो । विभागका उपमहानिर्देशक तथा विपद् व्यवस्थापन समितिका संयोजक चुडामणि भण्डारीले प्रभावित स्थानहरूमा प्रजनन् स्वास्थ्य शिविर सन्चालन गर्ने र शिविरमार्फत न्यानो झोला, महिलाले प्रयोग गर्ने स्वास्थ्यसम्बन्धी सामग्री वितरण गर्ने व्यवस्था गरिएको जानकारी दिए । विभागका अनुसार बाढी पहिरोका कारण महोत्तरी, सप्तरी, रौतहटलगायतका जिल्लाका १५ बर्थिंग सेन्टर चल्न सकेका छैनन् । समितिले ती सेन्टरलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा टेन्टबाट सेवाहरू सुचारु गर्ने निर्णय गरेको छ । संयोजक भण्डारीले बाढी प्रभावित जिल्लामा महामारी फैलन नदिन जनचेतनाका लागि स्वास्थ्य शिक्षा र अन्य सामग्रीसहितको टोली पनि प्रभावित जिल्लामा पठाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सन्चार केन्द्रबाट १६ ओटा हाते माइक, स्वास्थ्य सन्देशसहितका विभिन्न पम्प्लेट र बाढी पहिरोपछि फैलने महामारी रोकथामसम्बन्धी २५ हजार बाढी सामग्री पहिरो प्रभावित स्थानमा मंगलबार पठाइएको संयोजक भण्डारीले जानकारी दिए । प्रभावितहरू अस्थायी तथा अव्यवस्थित बसोबास गरिरहेकाले कीटजन्य रोगको उच्च सम्भावना रहेकाले रोग निदानको लागि प्रयाप्त परिमाणमा तत्काल उपचार सामग्रीको व्यवस्था गरेको विभागले जनाएको छ ।

मानव तस्करको सेटिङमा खेलाडीका रुपमा रुस जान लागेका १४ जना फिर्ता

काठमाडौं, भदौ ७ । मानव तस्करको सेटिङमा फसेर खेलाडीका रुपमा रसिया हिँडेका १४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काइदिएको छ । काठमाडौंस्थित रसियाली दूतावासबाट भिसा पाएका उनीहरुलाई विमानस्थल अध्यागमन कार्यालयले साउन २५ मा फिर्ता (अफलोड) गरेको हो । मानव तस्करले जनही कम्तीमा ३ लाख लिई ती युवालाई मस्को पु¥याउन सेटिङ गरेको स्रोतले बतायो । मस्को पुगेपछि उतैका मानव तस्करलाई थप रकम दिएर अन्य युरोपेली देश छिराउने सर्त थियो । अध्यागमनले ती युवासँग राष्ट्रिय खेलकुद परिषदको पत्र नभएपछि अफलोड गरेको हो ।,अन्नपूर्ण पोस्टमा खबर छ ।

बोक्सीको आरोपमा ५५ वर्षिय महिलामाथि निर्घात कुटपिट

पर्सामा एक वृद्धालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । जगरनाथपुर गाउँपालिका–३ बीजबनिया गाउँको खलुचई टोलका ५५ वर्षिय इम्बानी खातुनलाई बोक्सीको आरोपमा कुटपीट गरिएको हो । कुटपीटबाट खातुन गम्भिर घाईते भएकी छन् । उनको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ । खातुनलाई छमेकीहरुले बोक्सीको आरोप लगाउँदै निघार्त कुटपिट गरेको स्थानीय बासिन्दाले जनाएका छन् । घटनामा छिमेकी जोखु मियाको परिवारका सदस्यहरुको संलग्नता रहेको आरोप लागेको छ । जोखुको एक वर्षको नातिलाई ज्वरो आएपछि इम्बानीले नै बोक्सीमन्त्र गरेर बिरामी बनाइदिएको आरोप उनीहरुले लगाएका थिए । जोखु, उनका छोरा नूर, अली हसन तथा बुहारी नूर कलीमा र रोबिनाले सोमाबार दिउँसो इम्बानीकै घरमै आएर गालीगलौज गर्दै कुटपिट गरेको पिडित परिवारको गुनासो छ । इम्बानीका पति अममद गद्धीका अनुसार, इम्बानीलाई उपचारका लागि सेढवा स्वास्थ्य चौकीमा लगिएको थियो । अवस्था गम्भिर देखेपछि त्यहाँका स्वास्थ्यकर्मीले वीरगञ्जका लागि रिफर गरिदिएका थिए । राति नै एम्बुलेन्समा राखेर नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याइएको गद्धीले बताए । बोक्सीको आरोपमा इम्बानीलाई कुटपिट गर्ने जोखु र उनका परिवारका सदस्यहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको छ । feature image symbolic only

कोरियाद्वारा दुई करोड चालीस लाख सहयोग

काठमाडौं, भदौं ६ । दक्षिण कोरियाले बाढी पहिरो पीडितको सहयोगार्थ मानवीय सहायतास्वरुप रु दुई करोड ४० नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । नेपाल सरकारको अनुरोधमा कोरिया सरकारले उक्त रकम प्रदान गर्न लागेको काठमाडौंमा रहेको कोरियाली राजदूतावासले जनाएको छ । उक्त रकमबाट नेपाल सरकारलाई आपत्कालीन राहतका लागि केही सहयोग पुग्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नक्कली गहना बेच्ने पक्राउ

नेपालगञ्ज, भदौ ६ । नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह बिक्रीको प्रयास गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलनको गरेर नक्कली गहनासहित बाँकेका मंगलप्रसाद थारू, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सार्वजनिक गरेको हो । नेपालगन्जस्थित एक होटलबाट भदौ ३ गते पक्राउ गरिएका ती अभियुक्तबाट प्रहरीले पहेँलो धातुको जलप लगाएको दुई किलो ३०५ ग्राम नक्कली गहना बरामद गरेको थियो । बाँके प्रहरी उपरीक्षक टेकबहादुर तामाङले पक्राउ परेका अभियुक्तमध्ये पूर्णबहादुर विक यसअघि पुराना बहुमूल्य धातु चोरी गरेको अभियोगमा पक्राउ परिसकेका व्यक्ति भएको बताए । “हामीले अभियुक्तबाट कोही ठगिएका छन् भने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न सूचना जारी गरेका छौँ, प्रहरीले पनि यस सम्बन्धमा थप अनुसन्धानसमेत गरिरहेको छ”, उनको भनाइ थियो । रासस

बाढीपीडितलाई पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था मिलाउन माग

काठमाडौँ, भदौ ६ । व्यवस्थापिका–संसद्को शून्य समयमा बोल्ने अधिकांश सांसदले तराईमा भएको डुबान र कोशी बाँधका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारत भ्रमणका क्रममा गम्भीर छलफल गर्न ध्यानाकर्षण गराउनुभएको छ । तराई–मधेशमा हालै भएको डुबानबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी मर्कामा परेकाले उनीहरुलाई पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था तत्काल मिलाउन पनि उहाँहरुले माग गर्नुभयो । ‘नेपाल–भारतको सीमामा ६४ ठाउँमा भारतले सिमाना मिचेको हुँदा’ प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा कुरा उठाउन, तराईको डुबानग्रस्त क्षेत्रमा सरुवा रोगबाट महामारी फैलन सक्ने भएको हुँदा समयमै चिकित्सक टोली खटाउन र स्वास्थ्यसम्बन्धी संयन्त्र खडा गर्न सांसदले सुझाव दिनुभयो । आजको शून्य समयमा केशवप्रसाद बडाल, केदार सञ्जेल, केशरी घर्ती मगर, अनिता देवकोटा, अफिलाल उखेडा, अम्बरबहादुर थापा, अमनलाल मोदी, अम्बिका खवास राजवंशी, अमृतकुमार बोहरा, काशीनाथ अधिकारी, अष्टलक्ष्मी शाक्य, आशा यादव, कमलाकुमारी घिमिरे र कल्पना शर्मा जोशीले भाग लिनुभएको थियो । बैठकमा सभामुख ओनसरी घर्तीले मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर सुनाउनुभयो । बैठकमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सदनसमक्ष पेश गर्नुभयो । बैठकमा पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले “नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन विधेयक, २०७२ फिर्ता लिन अनुमति माग्ने प्रस्ताव स्वीकृत भएको छ । वाण्ज्यिमन्त्री मीनबहादुर विश्वकर्माले “वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक, २०७४ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची भए पनि मन्त्री विश्वकर्मा अनुपस्थित भएकोले सो कार्य रोकियो । सोही विषयमा आपत्ति जनाउँदै सासंद विकास लम्सालले संसद्मा विधेयक प्रस्तुत हुँदा सरकारका प्रतिनिधि नहुने घटनाले आश्चर्यचकित तुल्याएको भन्दै यस्तो अवस्थामा सदन कसरी चल्छ भनी प्रश्न गर्नुभएको थियो । त्यसपछि सभामुखले सो कार्यसूची बैठकबाट हटाउँदै अर्को बैठक यही भदौ १२ गते अपराह्न १ बजे बस्ने जानकारी दिनुभयो ।

बाढीपहिराबाट रु.पाँच करोडको क्षति

पोखरा, भदौ ३ । कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभान पात्लेमा गएको बाढीपहिराले १३ घरपरिवारको रु पाँच करोडभन्दा बढीको क्षति पुर्याएको छ । गत साउन २४ गते राति हुम्दी खहरे खोलामा आएको बाढीपहिरो गाउँमा पसेपछि देवीलाल लामिछानेको सबैभन्दा बढी रु एक करोडको क्षति पु¥याएको वडाध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिनुभयो । बाढीपीडित लामिछानेका घर र बिरुवाको नर्सरीमा पूर्ण क्षति पुगी एक गाई र ५०० कुखुरा बगाएको छ । बाढीले प्रवीण लामिछाने, गंगा आचार्य, रेशम लामिछाने, प्रह्लाद लामिछाने, सन्तुमाया लामिछाने, हिमाल भुसाल, गंगाबहादुर विक, प्रेमबहादुर विक, नरबहादुर विक, कमला परियार, डम्बरबहादुर विक र खेमकुमारी विकको रु चार करोड जतिको क्षति पुगेको छ । यसैबीच ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) ले त्यस ठाउँका बाढीपीडितलाई रु ५५ हजार ५५५ सहयोग गरेको छ । प्रजिअ तारानाथ अधिकारी र संस्थाका अध्यक्ष दीपकराज अधिकारी बाढीपहिरोस्थल रिभानमै पुगी वडाध्यक्ष गुरुङलाई राहत रकम हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै साबिक धिताल गाविस घर भई हाल दक्षिण कोरियामा बस्दै आउनुभएका सन्देश गुरुङले एक बोरा चामल, हेम्जा युनाइटेड क्लबले रु १० हजार, गाउँपालिकाको नवज्योति एकता युवा क्लब तथा आमा समूहबाट रु २० हजार र चित्रेस्वाँरा पाख्रीबोट युवा क्लब र आमा समूहले रु आठ हजार १२५ सहयोग गरेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

एथलेटिक्सका प्रशिक्षक रञ्जीतको निधन

पोखरा, भदौ ३ । एथलेटिक्सका प्रशिक्षक एभानकुमार रञ्जीतको आज बिहान ४५ वर्षका उमेरमा निधन भएको छ । केही दिनदेखि निमोनियाका कारण सख्त बिरामी पर्नुभएका रञ्जीतको पोखराको पूmलबारीस्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको हो । खेलकुद क्षेत्रमा अत्यन्तै क्रियाशील रञ्जीत एथलेटिक्स संघ कास्कीको कार्यसमिति सदस्य तथा तथा एभान टे«निङ सेन्टरका सञ्चालकसमेत हुनुहुन्थ्यो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ ।

सानुमायालाई दीपेशले गरे ५० हजार सहयोग

बिध्यार्थी नेता दीपेश पुनले इटहरीको बाढीमा बाबुआमा गुमाएका निशान र कमला राई तथा बूढीखोलाको बाढीमा १३ किलोमिटर बगेर बाँचेकी सानुमाया राईलाई नगद सहयोग गरेका छन् । कमला र निशानलाई एसओएसले जिम्मा लिएपछि दीपेशले सानुमायालाई औषधि उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले १५ हजार रुपैयाँ कमला र निशानलाई प्रदान गरेका छन् । अमेरिकाको जेकेलट्रिप एलएलसी कम्पनीका सीईओ हब खड्काले पठाएको ५० हजार नगद, सशस्त्र प्रहरीका एसपी गोपाल गुरुङले प्रदान गरेको ५ हजार नगद र दीपेशले १० हजार गरी ६५ हजार रुपैयाँ तीन पीडितलाई प्रदान गरेका हुन् ।

जिपको ठक्करबाट घाइते युवकको मृत्यु

लहान, ३ भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका– २ मा जिपको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ । सडक विभागको बा २ झ २९६६ नंको जिपले ज ८ प १२६८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषाको नानुपट्टी– ७ निवासी ३५ वर्षीय नवीन राईको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा छन् । यसैबीच विषालु सर्पको डसाइबाट सिरहाको सखुवानान्करकट्टी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा अचानक सर्पले डस्दा गाउँपालिका– १ निवासी पर्शुराम सदायका छोरा ११ वर्षीय भागवतको उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको प्रहरी चौकी सीतापुरले जनाएको छ । रासस