सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी
काठमाडौं । विशेष अदालतले तत्कालीन संविधान सभाका सदस्य, एमाले नेता इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गरेको हो ।
सो मुद्दामा अदालतले तामाङ पत्नी सिर्जना, केशवलाल श्रेष्ठ र मीनाकुमारी श्रेष्ठलाई पनि दोषी ठहर गरेको छ । प्रतिवादी बनाइएका इच्छाराजकै छोरीहरू प्रतिष्ठा तामाङ र प्रतीक्षा तामाङलाई भने अदालतले सफाइ दिएको छ ।
सिभिल सहकारीका अध्यक्षसमेत रहेका इच्छाराज तामाङलाई यसअघि नै थुनामा पठाएको थियो । सहकारी ठगीको मुद्दा भने जिल्ला अदालतमा विचाराधीन छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज तामाङसहित छ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो । विभागले सबै प्रतिवादीसँग गरी झन्डै पाँच अर्ब रुपियाँ बिगो दाबी गरेको थियो । उनीहरूका नाममा रहेको जग्गा र अन्य सम्पत्ति जफतको दाबी पनि विभागले गरेको थियो ।
गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती, छोरीसमेतका नाममा राखेको आरोप तामाङमाथि विभागले लगाएको थियो । श्रीमतीका नाममा अचल सम्पत्ति रहेको जिकिर विभागको थियो । यस्तै छोरीहरूको नाममा घरजग्गा र सेयरसमेत रहेको दाबी विभागले अभियोगपत्रमा लिएको थियो ।
विभागले इच्छाराज तामाङसँग तीन अर्ब ३१ करोड रुपियाँ बिगो दाबी गरेको थियो । यस्तै श्रीमती सिर्जनासँग एक अर्ब तीन करोड, छोरीहरू प्रतीक्षासँग छ करोड २२ लाख र प्रतिष्ठासँग एक करोड ८९ लाख रुपियाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो । अदालतले दुवै छोरीलाई भने अभियोगबाट सफाइ दिएको छ । यस्तै विभागले सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलालसँग २६ करोड रुपियाँ बिगो दाबी गरेको थियो ।
२०७९ भदौ १६ मा दायर मुद्दामा विशेष अदालतले तामाङलाई थुनामै राख्न आदेश गरेको थियो । पछिल्लो समय विशेष अदालतमा अध्यक्ष र नयाँ सदस्यको पदस्थापनपछि मुद्दालाई सुनुवाइको प्राथमिकतामा राखिएको थियो । विशेषले पुस १ गतेदेखि मुद्दाको नियमित सुनुवाइ प्रारम्भ गरेको थियो । पुस २ गतेदेखि मुद्दाको सुनुवाइ निरन्तर गरिएको थियो ।
अखिल (क्रान्तिकारी)सिन्धुपाल्चोकको अध्यक्षमा निश्चल निर्वाचित
चौतारा । नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको २० औँ सम्मेलनले निश्चल संजेल को नेतृत्वमा ६५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित अध्यक्ष तत्कालिन संगठनको जिल्ला सहसचिवको जिम्मेवारीमा रहेका थिए । संगठनको नेतृत्वका लागि संगठनका तत्कालिन उपाध्यक्ष हरि पौडेल, प्रविण चौलागाईं, दिपक दनुवार र सचिव सुबास गौतमको समेत दावि रहेको थियो । अध्यक्षमा संजेल संगै उपाध्यक्षमा प्रदिप पराजुली, सुदिप श्रेष्ठ र कमल न्यौपाने निर्वाचित भएका छन् । यस्तै सचिवमा चौताराका प्रल्हाद विश्वकर्मा निर्वाचित भएका छन् भने सह-सचिवमा उमेश लामिछाने, हितबहादुर तामाङ र रुपा न्यौपाने निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा मञ्जु नेपाल निर्वाचित भएकी छिन् । ‘शिक्षा स्वास्थ्य रोजगारको लागी हाम्रो अभियान, सामाजिक न्याय सहित आर्थिक समृद्विको पक्षमा २० औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ जिल्लाको सदरमुकाम चौतारामा सम्पन्न भएको सम्मेलनको हो ।
संसद्मा ठग व्यक्ति चाहिँदैन भन्दै नेविसंघले जलायो रवि लामिछानेको पुतला
काठमाडौं । सहकारीको रकम घोटाला प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछनेलाई कारबाही माग गर्दै नेविसंघले राँको जुलुससहित उनको पुतला जलाएको छ । नेविसंघले शनिबार राति ९ः१५ बजे बानेश्वर संघीय नेपाल कमर्श क्याम्पस संसद् भवन सडक खण्ड अगाडि सहकारी ठगिमा मुछिएका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध मसाल जुसुलसहित पुतला दहन गरेको हो । नेविसंघले यसअघि सहकारी विभागमा उजुरी दर्ता गरेर कारबाही माग गरेको छ । प्रदर्शनको क्रममा नेविसंघले सांसद लामिछनेविरुद्ध नाराबाजीसमेत गरेको थियो । उनीहरुले रवि लामिछानेविरुद्ध उजुरी दर्ता गर, ३६ हजार जनताको पैसा फिर्ता गर, जनताको पैसा लुट्न पाइँदैन, दोषी जोगाउन पाइँदैन,विभेद र पूर्वाग्रह मानिँदैन, ठग व्यक्ति संसद्मा चाहिँदैन जस्ता नारा लगाएका थिए । नेविसंघका नेताहरुले कोणसभामा घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको बताए । बिहीबार नेविसंघले सांसद लामिछाने सहितले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लगाउँदै छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेको हो । संघले सहकारी विभागलाई सहकारी घोटालाबारे छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न चेतावनी दिएको छ ।
‘वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्छ’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सत्ता गठबन्धन सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति वाग्मती प्रदेशबाट उमेदवारी दिएका गठबन्धनका उमेदवार र मतदाताबीच शनिबार भएको अन्तरक्रियामा उनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन नेतृत्वको सरकार कसैले चाहेर पनि विघटन गर्न नसक्ने दाबी गरे । उपमहासचिव पुनले भने, “संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको वर्तमान गठबन्धन सरकार मुलुकको अहिलेको आवश्यकता हो । विश्व भू–राजनीतिक प्रभावको सामना गर्न लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबीच सहकार्यको विकल्प छैन ।” वर्तमान सरकार कुनै नेता र पार्टीगत स्वार्थले नभई मुलुकको आवश्यकतानुसार बनेको उनको भनाइ थियो । १२ बुँदे सहमतिदेखि संविधान निर्माणमा सहकार्य गरेका प्रमुख शक्तिहरुको गठबन्धन भएकाले यसलाई आजको यथार्थतामा बुझ्न जरुरी रहेको उनले बताए । ‘हाम्रो यो गठबन्धन चुनावी जितहारका लागि वा नेताहरुको स्वार्थका लागि नभई निश्चित राजनीतिक उद्धेश्यका लागि बनेको हो’, पुनले भने, ‘शान्ति प्रक्रियाका केही कामहरु बाँकी छन् । संविधान कार्यान्वयनमा विभिन्न खालका अवरोधहरु खडा गरिए । ती अवरोधहरु पन्छाउँदै संविधानका व्यवस्थाअनुसार जनताका अधिकार सुनिश्चित गर्नु गठबन्धनको उद्देश्य हो ।’ पुनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा मात्र संघीयता सफल बनाउन सकिने भएकाले साझा अधिकार सूचीअनुसार तीनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिए । राष्ट्रियसभा सदस्य निर्वाचनमा सातवटै प्रदेशको समानुपातिक प्रतिनिधित्व हुने भएकाले त्यसको बनोट विशिष्ट र मौलिक रहेको उनले बताए । ठूलो जनसंख्या भएको मधेस र वाग्मती तथा कम जनघनत्व भएका कर्णाली र सुदूरपश्चिम प्रदेशको राष्ट्रियसभामा बराबर आठजनाको प्रतिनिधित्व हुने भन्दै उनले त्यसले प्रदेशको स्वार्थको प्रतिनिधित्व गर्ने उल्लेख गरे । राष्ट्रियसभा सदस्य निर्वाचन यही माघ ११ हुँदै छ ।
खुल्यो बीपीका उपकुलपतिको कार्यालयमा लागेको ताला
काठमाडौँ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा माघ १ गतेदेखि लागेको ताला खुलेको छ । उपकुलपति प्रल्हाद कार्कीले राजनीति गरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ताला लगाएका थिए । उच्च अदालत विराटनगरको आदेशपछि उनले शुक्रबार आफ्नो सचिवालयका कर्मचारीलाई खटाएर ताला खोलेका हुन् । तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालतले अस्ति बिहीबार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश दिएको थियो । नगरप्रमुख साम्पाङले माघ १ गते शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ताला लगाएका थिए । कायममुकायम उपकुलपति प्रा।डा। प्रह्लाद कार्कीले प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सकको बढुवा प्रक्रिया रोकेको भन्दै कर्मचारी आन्दोलित बनेका थिए। अदालतको आदेशपछि साम्पाङले धराशायी प्रतिष्ठानमा सर्वसाधारणको दुःख सम्बोधन गर्न खोज्दा अदालतले आफूलाई अपराधी करार गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
अधिकांश चालक लापसे र मापसे गरेर गाडी चलाउछन्
काठमाडौं । ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागू पदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट अझै पनि परीक्षणका क्रममा लापसे गरेर सवारी चलाउने चालक पक्राउ पर्ने क्रम जारी रहेको बताउँछन् । “यसरी सवारी चालउँदा आफू त जोखिममा पर्छन् नै उनीहरुका कारण यात्रु पनि जोखिममा पर्ने हुन्छ”, भट्टले भने, “गाडी चलाउँदा मापसे, लापसे वा अन्य कुनै पनि नशालु पदार्थ लिनुहुन्न भन्ने सन्देश पुगेर पनि यो क्रम रोकिएको छैन ।” लामो समयदेखि जाँच अभियान तीव्र पारिए पनि नशाको तालमा गाडी चलाउन नरोकिनु दुःखद् विषय भएको प्रहरीको भनाइ छ । काठमाडौँको नागढुङ्गामा गरिएको जाँच अभियानका क्रममा लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका सात जना चालकलाई शुक्रबारमात्रै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि पनि पटकपटक चालकलाई नियन्त्रणमा लिएर कारबाही भएको थियो । तर यो क्रम रोकिएको छैन । बा२ख ४०१७ नम्बरका माइक्रो चालक कास्कीको पोखरा महानगरपालिका–१७ का २४ वर्षीय मिलन गिरी, ग१ख २९७३ नम्बरका माइक्रो चालक पोखरा महानगरपालिका–१ का ३५ वर्षीय मीनबहादुर तामाङ, बा३ख २१९५ नम्बरका माइक्रो चालक गोरखाका ३० वर्षीय हिमाल कोइराला लागू पदार्थ लिएर गाडी चलाइरहेका बेला पक्राउ परेका छन् । यस्तै बा५ख २३७ नम्बरका बस चालक गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय भुवन सुर्खेती, ना७ख १३८६ नम्बरका ट्रक चालक खोटाङ घर भएका ३२ वर्षीय कटकबहादुर मगर र लु२ख ३३५२ नम्बरका ट्रक चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ का ३३ वर्षीय पवन थापा र ना५ख ७७७५ नम्बरका ट्रक चालक धादिङको धुनिबेँसी नगरपालिका–८ का ३० वर्षीय प्रजय कार्की पनि पक्राउ परेका भट्टले बताए । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ । पछिल्लो समयमा नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागू औषध नियन्त्रण ब्यूरोले उक्त अभियान चलाइरहेको छ । यात्रु बोक्नेजस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक नारायण अधिकारी बताउँछन् । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुको जीवनसमेत जोखिममा पर्छ । त्यसैले आफू सवार सवारी साधनका चालकले लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।
भूकम्पपीडितहरूले पाए पहिलो किस्ताको राहत
जाजरकोट । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । ४२ हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका जम्मा पीडित छ हजार छ सय ३४ मध्ये चार हजार छ सय ४२ ले पहिलो किस्ताको रकम पाएका छन् । नलगाड नगरपालिकाका जम्मा आठ हजार ९७ जना पीडितमध्ये सात हजार एक सय ५० जनाले पहिलो किस्ता रकम प्राप्त गरेको जानकारी गराएको छ । छेडागाडमा आठ हजार दुई सय पाँचमध्ये दुई हजार एक सय ८८ जनाले मात्र रकम पाएको उल्लेख गरिएको छ । बारेकोटमा पाँच हजार पाँच सय ८६ मध्ये चार हजार छ सय ८७ जनाले पहिलो किस्तावापतको रकम पाएका छन् । कुशे गाउँपालिकाका पाँच हजार दुई सय ८७ परिवारमध्ये चार हजार एक सय ५४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् । त्यस्तै जुनिचाँदे गाउँपालिकामा पाँच हजार चार सय छमध्ये एक हजार एक सय १३ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको छ । शिवालय गाउँपालिकामा तीन हजार तीन सय नौ जनामध्ये तीन हजार एक सय ४७ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको जानकारी दिइएको छ । बयालीस हजार पाँच सय २४ पीडितमध्ये हालसम्म २७ हजार ९१ परिवारले रकम बुझेको प्रशासनको विज्ञप्तिमा जनाएको छ । दश हजार एक सय ५९ परिवार मात्र अहिलेसम्म अस्थायी टहरा निर्माण गरेर बसिरहेको समेत उल्लेख गरिएको छ । हालसम्म ३२ हजार तीन सय ६५ परिवार अझै त्रिपालमा बसिरहेका छन् । जम्मा भूकम्पपीडितको सङ्ख्या ४२ हजार पाँच सय २४ रहेको छ । हालसम्म जुनिचाँदे गाउँपालिकामा कुनै पनि अस्थायी आवास निर्माण नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गठबन्धन अझै पाँच वर्ष अगाडि बढ्छ : धनराज गुरुङ
स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धनलाई अझै कसिलो बनाउन सके पाँच वर्ष अगाडि बढाउने बताएका छन् । सत्तापक्षीय गठबन्धनका साझा उमेदवारहरूको परिचय एवं मतदाता भेटघाट कार्यक्रमलाई आज स्याङ्जामा सम्बोधन गर्दै उनले गठबन्धनको महत्त्व अझै बढ्ने गरी सरकारलाई पाँच वर्ष अगाडि बढाउने बताए । “गठबन्धन चानचुने ढंगले अगाडि बढेको छैन,” उनले भने, “यो गठबन्धनलाई देख्दा अरूलाई ईर्ष्या, जलन भएको होला, यतिमामात्रै सीमित हुँदैन यो पाँच वर्षसम्म झनै कसिलो भएर अगाडि बढ्छ ।” गठबन्धन सरकारले मुलुकलाई अप्ठ्यारो स्थितिबाट सहजतातर्फ ल्याएको दाबी गर्दै उनले मुलुकको समृद्धि र सुशासनका लागि पनि गठबन्धनले निरन्तरता पाउने बताए । “कुनै पनि साथीले मत नबिगार्नुहोला, मत हाल्न जानिन भन्न पाइने छैन, त्यसो गरेमा जानीजानी नियत खराब भएर बिगारेको भन्ने बुझिन्छ,” उनले भने, “गठबन्धनका साथीहरूलाई मत दिएर विजयी बनाउनुहोला, एकमतले पनि तलमाथि भएमा केही न केही विचलन ल्याउँछ ।” यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार र नेकपा ९माओवादी केन्द्र०बाट मनरूपा शर्मा उमेदवार छन् ।
जनताको करबाट पार्टीको भवन बनाएकाे भन्दै माओवादी केन्द्रद्धारा तमानखोला गाउँपालिका कार्यालयमा ताला
बागलुङ । नेपाली काग्रेस बागलुङको भवन निर्माणका लागि १० लाख छुट्याउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्र तमानखोला गाउँ कमिटीले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ। गाउँपालिकाको दोस्रो गाउँ सभाको चौथो अधिवेसनबाट नेपाली कांग्रेसको पार्टी कार्यालय बागलुङका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तमानखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष छवि श्रीपालीका अनुसार नेपाली कांग्रेसको पार्टी कार्यालय विपी स्मृति भवनको लागि गाउँपालिकाले १४ लाख वजेट विनियोजन गर्नु लाजमर्दो र तमानबासी गरिव,दुखी र आम नागरिक माथि गरिएको प्रहार भन्दै माओवादी केन्द्रबाट निर्वाचित सदस्यले असहमति जनाएका थिए । बिहिबारको गाउँसभाले विपी स्मृति भवनको लागि एकल बहुमतबाट बजेट विनियोजन गरेको हो । माओवादी केन्द्र तमानखोलाका सचिव छवि श्रीपालीको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला बन्दी गर्दै जनताको रगत पसिनाको रकम एउटा पार्टीको भवन निर्माणमा लगाउनु कदापी स्वीकार्य नहुने बताए । तमानखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष थमबहादुर रोका, तमानखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नारायण सुनार, वडा नं ४ का वडा अध्यक्ष छवि श्रीपालीलगायत माओवादी केन्द्रका ११ जना गाउँसभा सदस्य तालबन्दीमा उत्रिएका थिए ।
पर्यटकको पर्खाइमा भरतपुवासी, खुले दर्जनौं होमस्टे
चितवन, माघ ५ । भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा भएसँगै पर्यटकीय पूर्वाधारहरु निर्माण हुने क्रम बढेको छ ।भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल घुमाउन र सँस्कृति प्रस्तुती देखाउन भरतपुरबासी तयारी अवस्थामा बसेका छन् । भ्रमण वर्षमा यहाँको रैथाने खाना पस्कन भरतपुरबासीले आवश्यक वस्तुहरुको उचित भण्डारण गरी राखेका छन् ।भरतपुर–२४ का स्थानीय नविन श्रेष्ठले पर्यटकलाई कोदोको र फापरको रोटी, गहतको दाल र पिडालुको तरकारी पस्कन खाद्ययान्नलाई प्रशोधन गरी भण्डार गरेको बताए । यस्तै भरतपुर २८ गोलाघाटका सानु चौधरीले ३ सय वटा हाँसको चल्ला पाल्न सुरु गरेको जानकारी दिए । चौधरीले एक दिनमा १०० जना पर्यटकलाई पुग्ने गरी घुंगीको सेट पस्कन सक्ने गरी तयारी पनि गरेको बताए । भ्रमण वर्षमा आउने पर्यटकलाई राख्ने गरी पछिल्लो समय दर्जनौ होमस्टेहरु खुलेका छन् । दर्जनौ होमस्टे थप भएसँगै महानगरको मेघौली गोलाघाट, पटिहानी जगतपुर लगायतका पर्यटक गन्तव्यमा करिब २०० बेड क्षमताको होमस्टेमा आवसको सुविधा रहेको छ । भरतपुर महानगरपालिकामा दैनिक ७ हजार पर्यटकलाई आवस सुविधा दिन सकिने व्यवस्था रहेको छ भने गैँडाकोटा र सौरहालाई समेट्दा १५ हजार ७ सय पर्यटक राख्न सकिने तथ्याङक छ ।भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा जीप सफारीको संख्या वृद्धि गरिएको छ । पर्यटकको मुख्य रोजाई जंगल सरफारी हुने अनुमानका साथ जीप सफारी गाडी थप गरिएको हो । भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ सल्लहाकार विश्वराज सुवेदीले यस अघि एक दर्जनमात्र जीप सरफारी रहेकोमा अहिले तेब्बर जीपहरु थप गरिएको बताए । जीप सफारी गर्न चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । भरतपुरका राप्ती र नारायणी नदीको तटिय क्षेत्रमा बनेका होटलहरुले आफ्नै जीप सफारी सञ्चालन गर्दै आएका छन् भने अब जीप सफारीको छुट्टै व्यवस्था गर्न लागिएको छ । कसराबाट १ घण्टादेखि ४ घण्टासम्म जीप सफारीको प्याकेज रहेको छ । यस्तै राप्ती तथा नारायणीमा डुङ्गा थप गर्ने तयारी पनि भइरहेको पर्यटन विज्ञ सुवेदीले जानकारी दिए । भरतपुरमा वार्षिक ३० हजार बाह्य पर्यटक आउने तथ्याङ्क रहेकोमा भ्रमण वर्ष २०२४ मा २ लाख बाह्य पर्यटक र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरपालिकाले लक्ष्य लिएको छ । पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जीप सफारीका लागि पर्यटक आउने गरेका छन् । भ्रमण वर्षमा पर्यटकलाई बाघ देखाउने गरी भरतपुर ६ देवनगरमा निर्माण गरिएको बाघको केज निर्माण भईसेको छ । अबको केही दिनमा चितवन राष्ट्रिय निकुञ्जको उद्दार केन्द्रमा रहेको बाघलाई यहाँ स्थान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए । यही स्थानमा गैँडा पनि राख्न मिल्ने गरी तारबारको काम पनि अघि बढाईएको छ ।
पर्वत र म्यादी रिटर्नी सेन्टर नेपालको जिल्ला भेला सम्पन्न
पोखरा । रिटर्नी सेन्टर नेपाल पर्वत र म्याग्दीको प्रथम जिल्ला भेला बुधबार सम्पन्न भएको छ ।पर्वत जिल्ला भेलाको उद्घाटन गर्दै माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा नगर अध्यक्ष शंकर गिरीले विदेशबाट फर्किएका युवाहरु विकास र परिवर्तनको मेरुदण्ड भएकोले जति सक्दो छिटो पालिका स्तरमा पुगेर उत्पादन कार्यमा जोड्न आग्रह गरे । पर्वत जिल्लाको प्रथम भेलाले राजु न्यौपानेको संयोजक र अभिनास गिरी सचिव हुने गरि पत्येक पालिकाबाट समावेश गरि ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । त्यस्तै आजै भएको म्याग्दी जिल्ला भेलाले नीलकण्ठ रेग्मी को संयोजकत्वमा रिटर्नी सेन्टर नेपाल म्याग्दी जिल्ला कमिटी गठन गरेको छ ।माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द पौडेलले खाना लाउन पुग्ने,सबै सहज हुंदाहुदै पनि अभिभावकले विदेश पठाईरहेको अवस्थामा विदेशबाट सिकेर आएको सीप,पुँजी र अनुभवलाई देशमै लगाउने गरि रिटर्नी सेन्टर नेपालले अभियान थाल्नु सुखद भएको बताए ।” अब गफ गर्न होईन उत्पादन मै जुट्नुपर्छ ।” पौडेलको आग्रह थियो । रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशका संयोजक ईश्वरी प्रसाद ढकाल , केन्द्रीय सचिवालय सदस्य बालकृष्ण मरासिनी , गण्डकि प्रदेशका सह(संयोजक भूवन गुरुङ, प्रदेश सदस्य हिरा बहादुर रेग्मी,रेशम केसी समेतको उपस्थितीमा भेला सम्पन्न भएको थियो । कार्यक्रम गण्डकि प्रदेश कमिटी संयोजक ईश्वरी प्रसाद ढकालको अध्यक्षमा सम्पन्न भएको थियो । रिटर्नी सेन्टर मुस्ताङको भेला भोलि पोखरामा गरिने रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशले जनाएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेर कारोबार भएको छ । छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको हालसम्मको भौतिक–वित्तीय प्रगति, समस्या र चुनौती, समस्याका कारण र भावी कार्ययोजना बारे छलफल हुनेछ । त्यस्तै मध्यान्ह १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा समितिगत विषयमा छलफल हुने जनाइएको छ ।
गायक योगेश वैद्यको निधन
काठमाडौं । अग्रज गायक योगेश वैद्यको निधन भएको छ । ‘सपना भुलाई सारा।।।’ लगायत दर्जनौं लोकप्रिय गीतका गायक वैद्यको गएराति ७७ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि उनी मिर्गौला र मधुमेहको रोगबाट पीडित थिए । उनको अन्तिम श्रद्धान्जलिका लागि तयारी गरिरहेको संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले जानकारी दिए ।
सरकारले बनायो हाइड्रोजन प्रयोगको नीति
काठमाडौं । सरकारले नेपालमा हाइड्रोजनको उत्पादन एवं प्रयोगका निम्ति नीति बनाएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शमाले हाइड्रोजन नीति, २०८९ स्वीकृत गरिएको जानकारी गराइन् । यस निर्णयबाट नेपालमा वैकल्पिक ऊर्जा शक्तिको विकास गर्न मार्ग प्रशस्त भएको छ । ग्रिन हाइड्रोजन उत्पादनको लहर विश्वमा चलेका बेला नेपाल सरकारले यो नीति ल्याएको हो । यो खनिज इन्धनको तुलनामा तीनचार गुणा बढी शक्तिशाली हुन्छ र यसले कार्बन उत्सर्जन गर्दैन । यसलाई हरित ऊर्जाका रुपमा लिइन्छ । नेपाल विद्युत प्राधिकरणले पनि हाइड्रोजन प्लान्ट स्थापना गर्ने योजना अगाडि सारिसकेको छ ।
बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ । बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रसाईं पक्षबाट सभा आयोजना गरिएको थियो । सभामा करिब २०० मानिस सहभागी थिए । सोही क्रममा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ । प्रसाईंमाथि हातपातको आरोपमा बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, गौतमले बागलुङ–२ स्थित धौलागिरि चोकमा जुत्ता पसल गर्दै आएका छन् । गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ गरिरहेको बागलुङ प्रहरीले जानकारी गराएको छ ।

