ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु,

गोरखा, भदौ ११ । गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग१त ३७१६ नंको ट्र्याक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ ।

सहचालक पालुङ्टार नगरपालिका–९ का १९ वर्षीय सुजन परियार गम्भीर घाइते भएका छन् ।

चालक गुरुङलाई उपचारका लागि गोरखा अस्पतालतर्फ ल्याउँदै गर्दा गएराति बाटोमै मृत्यु भएको थियो भने सहचालकको उपचार भइरहेको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

सिरानचोक पुगेर पालुङ्टार फर्कदै गर्दा ट्र्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

नेपाली नागरिकता त्याग्ने बढे

काठमाडौं, भदौ ११ ।  विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्नेको संख्या बढेको छ । बेलायती सेनाका सेवानिवृत्तलाई उतै स्थायी बसोबाससहितको सुविधा उपलब्ध भएपछि देश छाड्ने क्रम तीव्र छ । कास्कीमा २०६६ बैशाखयता नेपाली नागरिकता त्याग गर्नेको संख्या दुई सय ५३ पुगेको छ ।  त्यसैगरी गोरखामा २०७० यता ३७ जनाले नेपाली नागरिकता त्यागेका छन् ।

फिल्मि शैलिमा दिल्लीमा बेचिएकी चेलीको ग्राहकले गरे उद्धार

दोलखा, भदौ ११ । वैवाहिक घरजम गरेर सुन्दर भविष्य बनाउने सपनाको प्रलोभनमा परी दुई वर्षअघि गाउँकै भाउजुले चिनाइदिएको युवकसँग भाग्दा भारतको नयाँ दिल्लीस्थित एक कोठीमा बेचिएकी युवती नेपाल फर्किन सफल भएकी छिन् । दिल्लीमा आफ्नी दिदीसँग मिलेर व्यापार गरिरहेको र उतै घरजम गर्ने भनी युवासँग नेपालगञ्ज हुँदै दिल्ली पु¥याइएकी ती किशोरीलार्य दिल्ली पुगेको अर्कोदिन त्यहीँ छाडेर युवक बेपत्ताा भएका थिए । बाबुआमाले स्कुल पढ्दापढ्दै विवाह गरिदिएपछि माइतै बसेर पडिरहेकी उनले माइतीमै एसएलसी गरेकी थिइन् । सोहीबेला उनी नाताले भाउजु पर्ने गाउँकै सिता नेपालीसँग सम्पर्कमा आइन् । सोहीक्रममा सितामार्फत नजिकिएका निरकुमार नेपालीले किशोरीलाई ललाईफकाई बिहे गर्ने बहानामा दिल्ली पु¥याएका थिए । दिल्लीमा निरकुमारले उनलाई एक लाख ३५ हजार रुपैयाँमा बेचेका थिए । जबर्जस्ती वेश्यावृत्ति गर्न बाध्य रहेकी उनले नियमित ग्राहक बनेर आएका एक भारतीय युवकमार्फत घरका अभिभावकलाई सम्पर्क गरी आफू दिल्लीको वेश्यालयमा पुगेको जानकारी दिएकी थिइन् । आफूसँग नजिकिएका युवक दिन प्रतिदिन नजिकिँदै गएपछि उनी ती युवकको सहयोगमा वेश्यालयबाट निस्कन सफल भएकी थिइन् ।,नागरिक दैनिकबाट

चीनमा तीन नेपाली पक्राउ

बेइजिङ , भदौ ११ । दोलखाका कुमार तामाङ, घ्याम्चो लामा र गंगाबहादुर तामाङ मंगलबार चीनको सानतोङ प्रान्तको चिनानबाट नेपाल फर्कन विमान चढे । झन्डै तीनमहिनापछि नेपाल फर्कन पाएकामा उनीहरु खुसी थिए । तर उनहरुको खुसी लामो समय रहेन । चिनानबाट छन्दु पुगेपछि उनीहरु चिनियाँ प्रहरीको नियन्त्रणमा परे । छन्दुबाट काठमाडौंका लागि उड्नविमानस्थलको काउन्टर पुगेका उनीहरुलार्य बोर्डिङ पास दिनुपर्नेमा काउन्टरका कर्मचारीले प्रहरी बोलाएर पक्राउ गराए । छन्दु प्रहरीले उनीहरुलाई दुई साताका लागि डिटेन्सन (हिरासत)मा राखेको छ । दलालमार्फत काम गर्न भनेर यहाँ आएका उनीहरु भिसा सकिएको ५६ दिनसम्म अवैध बसेका कारण प्रहरीले डिटेन्सनमा राखेको हो । त्यतिका दिनसम्म बिनाभिसा अवैध बसेकाले जरिवाना बुझाउन नसक्नेलाई चीनको सार्वजनिक सुरक्षा ब्युरोले पक्राउ गरी हिरासतमा राख्ने गर्छ । चिनियाँ प्रहरीले उनीहरुलाई दुई राता डिटेन्सनमा राखेर अनुसन्धान गरी प्रक्रिया पु¥याएर नेपाल फर्काइदिनेछ ।, – कान्तिपुरबाट 

जनसत्ताका लिखत पास गर्न १५ दिने अल्टिमेटम

रुकुम , जनसत्ताले पास गरेका घर जग्गा वैधता दिई सो अनुरुप मालपोत कार्यालयबाट पास गर्न गराउन जग्गाधनीलाई बाँफिकोट गाउँपालिकाले १५ दिने अल्टिमेटम (समयावधि) दिएको छ । जग्गा लिने दिने दुवै पक्षसँग छलफल गरी उसले यस्तो अल्टिमेटम दिएको हो । ‘१५ दिनभित्र जग्गा पास नभए पुनः छलफल गर्छौं,’ गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले भने, ‘त्यसपछि पनि भएन भने गाउँपालिकाबाट पाउने सम्पूर्ण सविधा कटौती गर्छौं ।’ गाउँपालिकाको निर्णय कार्यान्वयनमा नआए कडा निर्णय गर्ने उनले चेतावनी दिए ।-नागरिक दैनिकबाट

रामेछापलाई उज्यालो बनाउने मन्त्री श्रेष्ठको घोषणा

रामेछाप । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले अध्याँरो रामेछापलाई उज्यालो बनाउने बताएका छन् । उनले रामेछापमा विद्युतीकरण हुन बाँकी क्षेत्रको लागि१ अर्ब २० करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेकाले अब रामेछापवासीले अध्याँरोमा बस्न नपर्ने बताएका हुन् । मन्थली नगरपालिका–४ सालु वडा कार्यालयको उदघाटन गर्दै गृहराज्य मन्त्री श्रेष्ठले संविधान अनुसार जनताको हक अधिकार स्थानीय तहमा नै ग्यारेन्टी गरिएको बताए । सरकारले जनतालाई प्रदान गर्ने सेवा सुविधालाई प्राथमिकता राखेर काम थालेको बताउदै उनले जनतालाई सहज ढंगले सेवा सुविधा प्रदान गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिए । संविधानसभाबाट जारी भएको संविधानको अधिकारले जनतालाई अधिकार सम्पन्न बनाएको बताउदै अब देशको समृद्धिको सुरुवात स्थानीय तहबाट हुने मन्त्री श्रेष्ठले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सिंहदरवार केन्द्रीत अधिकार गाउँगाउँमा ल्याउन विगतमा ठूलठूला आन्दोलन भएको स्मरण गर्दै गृह राज्यमन्त्री श्रेष्ठले संविधानसभाबाट जारी भएको संविधान मार्फत गाउँगाउँमा सिंहदरवार ल्याउन सफल भएको बताए । स्थानीय तहको निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेर संविधानलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । उनले रामेछापवासीले सांसददेखि मन्त्रीसम्म बनाउन भूमिका खेलेको भन्दै जिल्लाको विकास निर्माणको काममा प्रतिबद्ध भएर लाग्ने बताए । रामेछापमा हाल गरेको मुख्य सडकहरुलाई कालोपत्रे गर्ने, भौतिक पूर्वाधार निर्माण गर्ने, खानेपानीको समस्यालाई समाधान गर्ने लगायतको कामलाई आफूले प्राथमिकतमा राखेर काम गर्ने बताउदै गृह राज्यमन्त्री श्रेष्ठले भने,‘गृह राज्यमन्त्रीको हैसितमा जिल्लाको विकासको नेतृत्व गर्न चाहन्छु, मलाई रामेछापवासी जनताको साथ र सहयोगको खाँचो छ ।’

रिङरोडको अतिक्रमण हटाइयो

काठमाडौं, भदौ १० । चक्रपथ सफाइको २० औँ हप्तामा आज चक्रपथको नारायण गोपाल चोकदेखि गोंगबु नयाँबसपार्कसम्मको मूल सडकका दायाँ बायाँ बनाइएका टहरा भत्काइएको छ । यो क्षेत्रको दायाँ बायाँ बालुवा, गिटी, ढुंगा, रडलगायत निर्माण सामग्री थुपारिएको थियो । टहरा भत्काउन महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्रनाथ खनाल, पूर्व श्रम तथा यातायात मन्त्री रबिन्द्र खनाल, काठमाडौँ महानगरपालिका–३ का अध्यक्ष दीपक केसी, संयुक्त राष्ट्र संघका लागि पूर्व नेपाली स्थायी प्रतिनिधि डा जयराज आचार्य, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन लगायत ८ सयभन्दा बढी अभियन्ताको सहभागिता थियो । चक्रपथ क्षेत्रको आजको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइ कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनालले राजधानी शहर काठमाडौँलाई सुन्दर बनाउन भाषण भन्दा काम गर्ने समय आएको बताए । आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २२४ औँ हप्तामा आज पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, न्यानो स्पर्श, पहिलो पाइला, नेपाल नदी संरक्षण संस्था, जीवन विज्ञान, हलेसी डेकोर, युरेसिया रेयुकाई, गायत्री परिवार, नेपाल विज्ञापन संघ, साया समूह, कुपण्डोल फ्रेण्ड्स् क्लब, प्राकृतिक प्रकोप नियन्त्रण, भूकम्प तथा दैवी प्रकोप संरक्षण संस्था, गुण हाउजिङ, ब्लु क्रस अस्पताल एम्बुलेन्स सहित लगायत २० संस्थाका प्रतिनिधिको सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मतीका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठ, वाग्मती अभियन्ताहरु अर्जुन धरेल, टंकराज आचार्य, नारायणकुमार श्रेष्ठ, हेमराज कार्की, मेघ आलेलगायत ५०० जनाको सफाइमा सक्रियता थियो । गुह्येश्वरी माथिको वाग्मतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले १८५ औँ हप्ताको सफाइ गोठाटार पहेँलो पुलमुनि र हनुमान वाटिका क्षेत्रमा गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० भन्दा बढीको उपस्थिति थियो । रुद्रमती सफाइको १८३ औँ हप्तामा आज रातोपुलदेखि शहिद मार्ग हुँदै सानो गौचरण–ज्ञानेश्वर हुँदै पुनः रातोपुलसम्म सफाइसहित जनचेतनामूलक घरदैलो कार्यक्रम गरियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, वडा सदस्यसहित १५० भन्दा बढीको सहभागिता थियो । विष्णुमती सफाइको १५५ औँ हप्तामा आज मनमैँजु पुलमा जम्मा भई तारकेश्वर मन्दिरसम्म जनचेतनामूलक अभियान गरी मन्दिर परिसरमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ४०० भन्दा बढी सहभागी थिए । यसैबीच सकारात्मक मातृशक्ति आवाजले आलोकनगर मीनभवन क्षेत्रमा गरेको २० औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । तिलगंगास्थित वाग्मती नदी किनारमा तिलगंगा महिला समूहले आयोजना गरेको सफाइमा करिब एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । अर्को शनिबार २२५ औँ हप्ताको वाग्मती सफाइ सिनामंगल पुलस्थित वाग्मती नदी किनारमा गरिने सफाइ अभियन्ता नारायणकुमार श्रेष्ठले जानकारी दिए । रासस

जवानदेखि निरीक्षकसम्म ११७२ जनालाई प्रहरीमा रोजगारीको अवसर

काठमाडौं, भाद्र १० । नेपाल प्रहरीले प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म १ हजार १ सय ७२ जना जनशक्तिका लागि योग्यता पुगेका युवाहरूबाट दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीले पनि ठूलो संख्यामा प्रहरी जवान तथा परिचरहरूका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्रले प्रहरी जवानमा २ हजार ३ सय पदका लागि आवेदन माग गरेको छ भने परिचरका विभिन्न विधामा २ सय युवाका लागि अवसरको ढोका खोलेको छ । यसका साथै नेपाल प्रहरीको अस्पताल, कम्प्युटर र सञ्चार आवास तथा परियोजना, सवारी साधन तथा केन्द्रीय विधि विज्ञान प्रयोगशाला गरी प्राविधिकतर्फ विभिन्न ९७ पदका लागि पनि आवेदन खुलेको छ । नेपाल प्रहरीको मानव स्रोत विकास विभागबाट प्राप्त जानकारीअनुसार ९१ जना प्रहरी निरीक्षकका लागि आवेदन खुला गरिएको छ, जसमध्ये ४९ पदमा खुला, २ पदमा अमर प्रहरी परिवार, १२ पदमा आदिवासी जनजाति समुदाय, १२ पदमा मधेसी समुदाय, ८ पदमा महिला, ५ पदमा दलित तथा २ पदमा पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । प्रहरी निरीक्षकका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको छ । त्यसैगरी फौजदारी अभियोगमा सजाय नपाएको, मानवअधिकार र मानवीय कानुनको उल्लंघनमा सजाय नपाएको, राजनैतिक दलको सदस्य नरहेको, आतंककारी संगठनको सदस्य नरहेको हुनुपर्नेछ । शैक्षिक योग्यतासँगै फारम भर्दाको अन्तिम मितिसम्म २० वर्ष पुगेर २५ वर्ष नकटेको नेपाली नागरिकतावाहक युवा प्रहरी निरीक्षकको उम्मेदवार हुन सक्ने नेपाल प्रहरीका प्रवक्ता पुस्कर कार्की बताउँछन् । प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको, आँखा माइनस प्लस २ भन्दा बढी कमजोर नभएको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त पदको उम्मेदवार हुन पुरुषको हकमा घाँटीसम्मको उचाइ ५ फिट २ इन्च, छाती नफुलाउँदा ३१ इन्च र फुलाउँदा ३३ इन्च हुनुपर्ने तथा तौल कम्तीमा ५० किलोग्राम हुनुपर्नेछ । महिलाको हकमा घाँटीसम्म ५ फिट उचाइ तथा तौल ४२ किलोग्राम हुनुपर्नेछ । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षकका लागि पनि आवेदन खुला गरेको छ । यस पटकका लागि ३ सय १४ जना युवाले उक्त पदमा अवसर पाउनेछन्, जसमा १ सय ६९ पदका लागि सबै क्षेत्रका युवाहरूले आवेदन दिन सक्छन् । ३ सय १४ मध्ये ४४ पदमा आदिवासी जनजाति, ३९ पदमा मधेसी, २८ पदमा महिला, २१ पदमा दलित, ७ पदमा पिछडिएको क्षेत्र तथा ६ पदमा पद अमर परिवारको सदस्यका लागि छुट्याइएको छ । प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष उमेर पूरा भै २४ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यो पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्छ । अन्य योग्यता भने प्रहरी निरीक्षककै बराबर छ । सबैभन्दा बढी दरखस्त नेपाल प्रहरीका लागि खोलिएको छ । देशभरबाट जम्मा ७ सय ६७ जना प्रहरी जवान माग गरिएको छ जसमा ४ सय १४ पदमा खुला, १५ पदमा अमर तथा अपांग प्रहरी परिवार, १ सय ८ पदमा आदिवासी जनजाति, ९४ पदमा मधेसी, ६८ पदमा महिला, ५१ पदमा दलित र १७ पदमा पिछडिएको क्षेत्रका लागि दरखास्त माग गरिएको छ । कक्षा ८ उत्तीर्ण गरेका १८ वर्ष पूरा भै २३ वर्ष ननाघेका युवाहरूले उक्त पदका लागि दरखस्त दिन सक्छन् । अन्य योग्यता भने प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षककै बराबर छ । कहाँ–कहाँ पाइन्छ फारम यी सबै पदका लागि असोज २ गतेसम्म फारम भरी बुझाउन सकिने छ । प्रहरी निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी र ५ वटै क्षेत्रीय कार्यालयहरूबाट फारम लिन र बुझाउन सकिने छ । त्यसैगरी प्रहरी सहायक निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी, सबै अञ्चल प्रहरी कार्यालय, जुनियर प्रहरी शिक्षालय भरतपुर, सबै क्षेत्रीय तालिम केन्द्रबाट फारम लिन र बुझाउन सकिनेछ । प्रहरी जवानका लागि उपत्यकाका तीनवटै परिसर, पाँचै क्षेत्रीय प्रहरी तालिम केन्द्र एवं ७२ वटै जिल्ला प्रहरी कार्यालयबाट फारम लिन तथा बुझाउन सकिनेछ । शारीरिक तन्दुरुस्ती परीक्षा उपरोक्त सबै पदका लागि सुरुमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तनदुरुस्ती परीक्षा लिइनेछ । प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म यो परीक्षा सबैका लागि एउटै हुन्छ, जसमा पुरुषले ५६ सेकेन्ड र महिलाले ६७ सेकेन्डभित्रमा ३ सय मिटर दौड पूरा गर्नुपर्नेछ । त्यसैगरी पुरुषले १८ मिनेटभित्र र महिलाले २२ मिनेटभित्र ३ दशमलव २ किलोमिटर दौड, पुरुषले ३ फिटमाथि र महिलाले २ फिटमाथि हाइजम्प, पुरुषले कम्तीमा १२ पटक र महिलाले कम्तीमा ४ पटक सिटअप गर्नुपर्नेछ भने पुरुषले ५ पटक र महिलाले ३ पटकसम्म पुसअप गर्नुपर्ने हुन्छ । कस्तो हुन्छ लोकसेवा परीक्षण शारीरिक तन्दुरुस्ती परीक्षा उत्तीर्ण भैसकेपछि लोकसेवा आयोगबाट लिखित परीक्षा लिइन्छ, जसमा प्रहरी निरीक्षकका लागि चारवटा समूहमा सय पूर्णाङ्कको प्रश्न सोधिन्छ । समूह १ मा नेपाली रचना र अंग्रेजी ५०र५० पूर्णाङ्क, समूह २ मा सेवासम्बन्धी १ सय पूर्णाङ्क, समूह ३ मा सामान्य ज्ञान र बौद्धिक प्रश्न गरी १ सय पूर्णाङ्क तथा समूह ४ मा नेपालको विद्यमान ऐन–कानुन र संविधानका विषयमा प्रश्नहरू सोधिने छ । लोकसेवाबाट लिइने परीक्षा पनि उत्तीर्ण गरेपछि नेपाल प्रहरी अस्पतालबाट विशेष स्वास्थ्य परीक्षण गरीन्छ र अन्त्यमा प्रहरी प्रधान कार्यालयको अन्तर्वार्ता पनि उत्तीर्ण गरेपछि प्रहरी निरीक्षक तालिमका लागि योग्य भइन्छ । प्रहरी सहायक निरीक्षकका लागि भने ३ सय पूर्णाङ्कको प्रश्नपत्र तयार गरिएको छ, जसमा नेपाली रचना ५०, अंग्रेजी ५०, सामान्य ज्ञान एवं बौद्धिक १ सय तथा सेवा एवं कानुनलाई जोडेर १ सय पूर्णाङ्क बनाइएको छ । प्रहरी जवानका लागि प्रारम्भिक स्वास्थ्य तथा शारीरिक परीक्षणपछि लोकसेवाले लिने परीक्षामा नेपाली, अंग्रेजी, गणित तथा सामान्य ज्ञान गरी १ सय पूर्णाङ्कको प्रश्न सोधिनेछ । कस्ता व्यक्ति अयोग्य हुन्छन् ? नेपाल प्रहरी तथा सशस्त्र प्रहरी दुवैका लागि देहायका शारीरिक खोट भएका व्यक्तिहरू सेवाका लागि अयोग्य मानिएका छन् । अंगभंग नभएकोरकुरुप नदेखिने, हात–खुट्टा बाङ्गो र औंला ठीक नभएको, घुडा खुम्चिन नसक्ने, पैताला धेरै चेप्टो नभएको, प्रस्ट बोली नबोल्ने, लठेब्रो, ढाड कुप्रो भएको, शरीर पूरा झुकाउन नसक्ने, जीउ कोल्टे परेको ९बाङ्गो०, दुबी भएको, कपाल झरेको, फुलेको वा रंगाएको, धेरै दुब्लो ९पुरुष ५० किलोग्राम र महिला ४२ किलोग्रामभन्दा कम०, आँखा डेढो भएको, एउटा आँखा मात्र चिम्लन नसक्ने, उचाइअनुसार अत्यधिक तौल भएको, मोटो शरीर तर हातखुट्टा झिनो देखिने, अनुहारमा अस्वभाविक दाग भएको, शरीरको बाहिरी देखिने भागमा ट्याटु खोपेको, दुईवटाभन्दा बढी दात कीराले खाएको वा झरेको, भेरिकोच वा नशा फुल्ने समस्या भएका व्यक्ति । सशस्त्रमा पनि अवसर नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीले पनि प्रहरी जवान र परिचर पदका लागि दरखास्त आह्वान गरेको छ । २ हजार ३ सय युवालाई सशस्त्र प्रहरी जवानतर्फ आवेदन खोलिएको छ भने २ सय परिचरतर्फ दरखास्त आह्वान गरिएको छ । भदौ २८ गतेसम्म १८ वर्ष पूरा भै २२ वर्ष ननाघेका युवाहरूले सशस्त्र प्रहरी बलका विभिन्न स्थानबाट दरखास्त दिन सक्छन् । दरखास्त दिँदाका बखत कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने सशस्त्र प्रहरी बल मानव स्रोत विकास विभागले जनाएको छ । इच्छुक योग्य एवं दक्ष उम्मेदवारले सशस्त्र बल प्रधान कार्यालय हलचोक, पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल बराह बाहिनी पकली, सुनसरी, मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल रुद्र बाहिनी पथलैया, बारामा फारम भर्न सक्छन् । त्यस्तै मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल, महेश्वरी बाहिनी सुर्खेत सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल, मुख्यालय बैधनाथ बाहिनी कैलाली नेपाल तालिम महाविद्यालय लामापाटन, पोखरा, नेपाल युक्ति तालिम महाविद्यालय बर्दघाट, नवलपरासी, नेपाल तालिम केन्द्र नौबस्ता, बाँकेबाट पनि फारम भर्न सकिनेछ । सशस्त्र प्रहरी जवानतर्फ मागिएको आवेदनमा १ हजार २ सय १९ खुला, २ सय ७ महिला, ३ सय ३१ जनजाति, २ सय ९० मधेसी, १ सय ५५ दलित, ५२ पिछडिएको क्षेत्र र ४६ पद अमर तथा अपांग प्रहरी सन्ततिका लागि छुट्याइएको छ । त्यसैगरी परिचरतर्फका २ सय पदका लागि १ सय ५ भान्से, २५ केश कर्तक, १५ सूचीकार, २० चर्मकर्मी तथा ३५ कुचीकार छन् । पाँच तहको परीक्षा प्रारम्भिक परीक्षामा उचाइ तौल र छातीको विवरण लिइन्छ, जसमा पुरुषको उचाइ ६२ इन्चभन्दा माथि र महिलाको ६० इन्चमाथि हुनुपर्छ, पुरुषको तौल कम्तीमा ५० किलोग्राम र महिलाको ४२ किलोग्राम हुनुपर्छ । पुरुषको छाती फुलाउँदा ३२ इन्च र नफुलाउँदा ३० इन्च अनिवार्य हुनैपर्छ । दोस्रो चरणमा लिइने शारीरिक सहिष्णुता परीक्षणमा पुरुष ३ सय मिटर दौड कम्तीमा ५० सेकेन्डभित्र पूरा गर्नुपर्ने हुन्छ भने २ माइल दौड १६ मिनेटभित्र पूरा गरिसक्नुपर्छ । त्यसैगरी न्यूनतम सिटअप १५ पटक, पुसअप १० पटक तथा चिनअप ५ पटक गर्नैपर्ने हुन्छ । महिलाको हकमा भने ३ सय मिटर दौड कम्तीमा २५ सेकेन्डभित्र पूरा गरिसक्नुपर्छ । त्यस्तै दुई माइल दौड २५ मिनेटभित्र, सिटअप ५ पटक तथा पुसअप ५ पटक अनिवार्य गर्नैपर्छ । जति कम समयमा बढी सिटअप–पुसअप गर्न सक्यो त्यति नै नम्बर बढ्दै जाने विभागको पाठ्यक्रममा उल्लेख छ । तेस्रो चरणमा विस्तृत स्वास्थ्य परीक्षण हुन्छ । जसमा सामान्य शारीरिक जाँच, छातीको अवस्था, आँखा, रगतको अवस्था, रक्तचाप, मधुमेह, नाक, कान, घाँटीको समस्या एवं महिलाको हकमा गर्भवस्था जाँच पनि गरिन्छ । चौथो चरणमा लिखित परीक्षा लिइन्छ, जसमा नेपाली ३० पूर्णाङ्कमा व्याकरण, अनुवाद, निबन्ध र चिठी सोधिन्छ भने अंग्रेजीको २० पूर्णाङ्कमा ग्रामर तथा अनुवादसम्बन्धी प्रश्नहरू हुन्छन् । गणितमा जोडघटाउ, गुणा, भागसम्बन्धी समस्या समाधान गर्नुपर्ने हुन्छ भने सेवासम्बधी ३० पूर्णाङ्कभित्र सशस्त्र प्रहरीको संगठन ढाँचा, प्रहरी ऐन र प्रहरी नियमावलीसम्बन्धी विषयवस्तु सोधिन्छ । यी सबै परीक्षा उत्तीर्ण गरिसकेपछि पुनस् विशेष स्वास्थ्य परीक्षण गरिन्छ जसमा एचआईभी, हेपाटाइटिस बी र लागूऔषध प्रयोगकर्ता होरहोइन भनेर जाँच गरिन्छ । यी सबै प्रक्रिया पूरा भएपछि छैटौं चरणमा अन्तिम अन्तर्वार्ता लिइन्छ । सशस्त्र प्रहरी परिचरका लागि पनि ६ वटै चरणमा परीक्षा हुने भए पनि लिखित अन्तर्वार्ता भने हुँदैन । यो पदका लागि आवश्यक विशेषज्ञद्धारा व्यवहारिक परीक्षा लिइन्छ । (साप्ताहिकबाट साभार)

सात दिनभित्र ग्राहकले मिटर नपाए कर्मचारीमाथि कारबाही

काठमाडौं, भदौ १० । नेपाल विद्युत् प्राधिकरणको मिटर सात दिनभित्र ग्राहकलाई उपलब्ध नगराइए सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाही हुने भएको छ । ऊर्जा मन्त्रालयले प्राधिकरण र मुलुकभरका प्राधिकरणका सबै शाखा कार्यालयलाई यही भदौ ८ गते एक निर्देशनात्मक परिपत्रमार्फत साधारण मिटर माग गर्ने ग्राहकलाई सात दिनभित्र मिटर उपलब्ध गराउन निर्देशन दिएको छ । मिटर नपाएका कारण ग्राहकले विद्युत् बाल्नकै लागि हुकिङ गर्ने गरेको भन्ने चर्को गुनासो आएपछि ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ग्राहकले माग गर्ने बित्तिकै मिटर उपलब्ध गराउन र उपलब्ध हुन नसके चित्त बुझ्दो कारणसहित प्राधिकरणलाई जानकारी गराउन तथा त्यसको सूचना मन्त्रालयलाई समेत उपलब्ध गराउन निर्देशन दिए । ग्राहकले मिटर पाए÷नपाएको जानकारी लिन मन्त्रालयले इञ्जिनियर आकाश शाहको संयोजकत्वमा एक अनुगमन समितिसमेत बनाएको छ । मन्त्रालयको पछिल्लो निर्देशनअनुसार साधारण मिटर सात दिनभित्र, थ्री फेज मिटर १५ दिन भित्र र उद्योगमा जडान हुने ‘टिओडी मिटर’ ३० दिनभित्र ग्राहकलाई उपलब्ध गराउनैपर्नेछ । सो अवधिभित्र उपलब्ध नगराइए तथा चिक्त बुझ्दो कारण पेश नगरे सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाहीको दायरामा ल्याइनेछ । प्राधिकरणकाअनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी मिटर माग हुनेमा कुलेश्वर वितरण केन्द्र, बालाजु वितरण केन्द्र, महराजगञ्ज वितरण केन्द्र र बानेश्वर वितरण केन्द्र रहेका छन् । यस्तै बारा, पर्सा, रौतहट, सप्तरी, सर्लाहीजस्ता जिल्लामा पनि बढी मात्रामा मिटरको माग हुने गरेको छ । प्राधिकरणको क्षेत्रीय कार्यालयले मिटर परीक्षण नभएको भन्दै समयमा नै वितरण केन्द्रलाई उपलब्ध नगराउने र उपभोक्तालाई हुकिङ गर्न मद्दत गर्ने गरेको गुनासो बढी आएपछि मन्त्रालयले कडाइका साथ निर्देशन दिएको ऊर्जामन्त्री शाहीको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि वितरण केन्द्रमा मिटर अभाव हुन नदिइएको माग आउने बित्तिकै उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनुहुन्छ । कुनै ग्राहकले मिटर पाइन भनेर खबर मात्रै ग¥यो भने सम्बन्धित वितरण केन्द्रका कर्मचारी कारबाहीको दायरामा आउने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । प्राधिकरणको जिन्सी व्यवस्था महाशाखाका प्रमुख नुतनदेव भट्टराईका अनुसार साधारण मिटर दुई लाख थान मौज्दात रहेको छ । उनका अनुसार विराटनगर क्षेत्रीय कार्यालयमा २८ हजार ५००, जनकपुर २८ हजार ५००, हेटौँडा १५ हजार, बुटवल १५ हजार, पोखरा १५ हजार, नेपालगञ्ज २० हजार, अत्तरिया क्षेत्रीय कार्यालयमा १५ हजार थान मिटर उपलब्ध छन् । यस्तै काठमाडौँका लागि मात्रै २३ हजार मिटर उपलब्ध गराइएको छ । यस्तै केन्द्रीय कार्यालय मातहत ४० हजार मिटर मौज्दात छ । प्राधिकरणका अनुसार थ्री फेज मिटर १३ हजार ५०० र ‘टिओडी मिटर’ तीन हजार ३०० मौज्दात छ । बालाजु वितरण केन्द्रका प्रमुख किरणराज तिमल्सेनाका अनुसार दैनिक दश वटासम्म मिटरको माग हुने गरेको जानकारी दिए । ग्राहकले माग गर्ने बित्तिकै कागजात पुगेका ग्राहकलाई तत्काल नै मिटर दिने गरिएको र कुनै गुनासो नरहेको बताए । मन्त्रालयले मिटर उपलब्ध गराउन प्रभावकारी कदम चाले पनि प्राधिकरणका कर्मचारीले दुःख दिएको र घूस मागेको भन्ने गुनासो पनि आउने गरेको इञ्जिनियर शाहले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको हेल्लो सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मिटर नपाएको र कर्मचारीले घूस मागेको भन्दै दैनिक सरदर तीनवटा उजुरी पर्ने गरेका छन् । ग्राहकको उजुरीलाई लिएर सम्बन्धित कर्मचारीलाई कडा कारबाही नहुँदा समस्या जहाँको तही रहनेछ । उर्जा मन्त्रालयले नै मिटर नदिए सम्बन्धित कर्मचारी कारबाहीको भागिदार हुने भन्दै कडा निर्देशन दिएपछि मिटर वितरणमा सुधार आउने विश्वास लिइएको छ । चौबिसै घण्टा कर्मचारी राख्न निर्देशन ऊर्जामन्त्री शाहीले प्राधिकरणका सबै कार्यालयमा चौबिसै घण्टा कर्मचारी रहने व्यवस्था गर्नसमेत निर्देशन दिएका छन । नो लाइटमा फोन नउठेको, ग्राहकले फोन गर्दा राम्रोसँग सम्बोधन गरेको नपाइए समेत सम्बन्धित कर्मचारी कारबाहीको भागिदार बन्नेछन् । रासस

तीन महिनाभित्र सवै पत्रकारको हातमा नियुक्तिपत्र : गोविन्द आचार्य

काठमाडौँ, भदौ १० । नेपाल पत्रकार महासंघका नव–नर्वाचित अध्यक्ष गोविन्द आचार्यले अवको तीन महिनाभित्र सवै पत्रकारलाई नियुक्तिपत्र दिलाउन प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ नेपाल एफएम प्रतिष्ठान शाखाले आफ्नै सभाकक्ष लाम्पाटीमा गरेको ‘व्यावसायीक पत्रकारीताका चुनौती र महासंघको योजना’ विषयक अन्तक्र्रियामा उनले श्रमजीवि पत्रकारहरुको हक अधिकारका लागि महासंघले नेतृत्व लिने वाचा गरे । पत्रकारहरुको दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष आचार्यले भने ‘पत्रकार महासंघका सबै सदस्यहरुलाई तालिम दिउँ, दक्ष बनाऊँ, त्यसो भयो भने कामबाट निकालिनुपर्ने अवस्था नै रहँदैन ।’ सम्वन्धित सञ्चारमाध्यममै कार्यरत श्रमजीवि पत्रकारको स्वायत्ततासहितको ट्रेड युनियन गठन गर्नका लागि प्रोत्साहन गरेर श्रम ऐन अनुसार पारिश्रमिक जस्ता समस्या समाधानमा सहजीकरण गर्ने आचार्यको योजना छ । व्यबसायिक पत्रकारिता र पत्रकारहरुको पेशागत व्यबसायलाई सुरक्षित राख्न मिडियालाई पनि आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्ने भएकाले लोककल्याणकारी विज्ञापनलाई समानुपातिक रुपमा वितरण गरेर मात्रै नपुग्ने भएकाले विभिन्न छुटहरु दिन राज्यलाई सुझाव दिएको बताए । ‘मिडिया आत्मनिर्भर भएपछि मात्रै कर्मचारीका हक अधिकार सुरक्षित हुन्छ आचार्यले’ भने सञ्चारमाध्यमलाई सवारी साधन खरिदमा छुट, सञ्चार सामाग्री तथा विद्युतमा छुट दिन सकिन्छ ।’ पत्रकारहरुले पनि मनलाग्दी लेख्छन भन्ने धेरै सुन्ने गरिएको उल्लेख गदै उनले भने त्यसलाई कानुन बनाएर नियन्त्रण गर्न सकिन्छ, तर वैधानिक सञ्चारमाध्यमले सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिएर थुन्न पाईन्न । सवै सञ्चारमाध्यमलाई पनि आन्तरिक आचारसंहिता बनाएर लागु गर्न आग्रह गर्दै अध्यक्ष आचार्यले तीन वर्षे कार्यकालमा केहि नयाँ काम गर्ने योजनाका साथ आएकाले साथ दिन सबैलाई आग्रह गरे । श्रमजीवि पत्रकार ऐनमा पनि केहि अव्यबहारिक बुँदाहरु रहेकाले त्यसलाई हटाएर जाने योजना बनाएको उल्लेख गरे । कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रवन्धक तथा प्रतिष्ठान शाखाका केन्द्रीय सभासद गोविन्द रोका सचिनले नवनिर्वाचित अध्यक्षलाई घोषणा गरिएका लोकप्रिय योजना कार्यान्वयन गर्न आग्रह गर्दै पत्रकार महासंघलाई उभयलिङ्गीको संज्ञा दिए । आधा पत्रकार र आधार मिडिया मालिक हुनुपर्ने भएकाले महासंघलाई पुरै ट्रेड युनियनका रुपमा स्वीकार गर्न नसकिएको दावी गरे । निष्पक्ष पत्रकारिता विश्वकै चुनौती रुपमा देखा परेको चर्चा गर्दै उनले भने ‘स्वतन्त्र व्यक्तिलाई सञ्चालकका रुपमा पाउनु चुनौतीपूर्ण रहे पनि व्याबसायिक पत्रकारिताको अभ्यास गर्न छोड्न हुन्न ।’ पत्रकारितालाई करिअरको खोजीका रुपमा लिने गरिएको उल्लेख गर्दै रोकाले भने श्रमजिवि पत्रकारले कम्तिमा मेरो उदेश्य के हो प्रष्ट भएर अगाडि बढ्नुपर्छ । कार्यक्रमा सहभागीहरुले पत्रकार महासंघलाई ‘साहु’को संगठनवाट श्रमजीविको संगठनका रुपमा परिणत गर्न सुझाए दिए ।

दलीय सेटिङमा वनको निर्वाचन गराउन लागेको भन्दै आन्दोलन

प्रकाश उप्रेती झापा, भदौ १० । वन ऐन नियम विपरित दलीय सेटिङमा सामुदायिक वनको निर्वाचन गराउन लागेको भन्दै अन्य पार्टी आन्दोलनमा उत्रेका छन् । झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समितिको आगमी भदौ १६ गतेका लागि हुने भनिएको आसन्न निर्वाचनका लागि एमाले, कांग्रेस र माओवादी पार्टीको दलीय सेटिङमा पदाधिकारी मनोनित गरिएको भन्दै राप्रपा लगायतका दल आन्दोलनमा उत्रेका हुन् । वनमा राजनीति गर्न पाइदैन, बैज्ञानिक वनवारे स्पष्ट पार, तीन दलीय वनका लागि घातक छ लगायतका प्ले–कार्डसहित कार्यालय पुगेको संर्घष समितिले शुक्रबार वन कार्यालय घेराउ समेत गरेका थिए । वनको निर्वाचनमा सबैको प्रतिनिधित्व हुनुपर्नेमा मूख्य तीन दलको आफूखुसी निर्णयप्रति रुष्ट हुँदै राप्रपा नेपाल, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टी, र आदिवासी जनजाति महासंघले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रेको संघर्ष समितिले जनाएको छ ।

भालुबाट बच्न जनप्रतिनिधिलाई दर्जनौं निवेदन

सोलुखुम्ब, भदौ १० । लामो समयको अन्तरालमा जनप्रतिनिधि पाएका नागरिकले जनप्रतिनिधिबाट कति धेरै अपेक्षा गर्छन् भन्ने कुरा सोलुखुम्बुका विभिन्न गाउँमा भालु नियन्त्रणका लागि स्थानीयवासीले दर्जनौँ निवेदन दिएको कुराबाट पुष्टि हुन्छ । यसबेला जिल्लाको विभिन्न वडा कार्यालयमा भालुलगायत जंगली जनावर नियन्त्रण गरिपाउँ भन्ने निवेदनको चाङ लाग्न थालेको छ । सोलु दूधकुण्ड नगरपालिका–३ मा भालु नियन्त्रण गरिपाउँ भन्दै झण्डै दुई दर्जन निवेदन दर्ता गरिएका छन् । वडा सदस्य धर्मबहादुर तामाङकाअनुसार स्थानीय २२ जना कृषकले यस्तो निवेदन दर्ता गराएका हुन् । कृषकको मकैबाली भालुले नष्ट गरेपछि कृषकले निवेदन दिएका हुन् । यस्तै वडा नम्बर– १० का वडाध्यक्ष मिङमार छिरी शेर्पा पनि भालु नियन्त्रणका लागि दर्जन बढी निवेदन आएका बताउनुभयो । त्यहाँ पनि मकै तथा स्याउमा भालुले क्षति पु¥याएपछि कृषकले निवेदन दिएका हुन् । सोलु दूधकुण्ड नगरपालिकाका विभिन्न बस्तीसँगै अन्य गाउँपालिकामा पनि भालु तथा बाँदर नियन्त्रण गरिपाउँ भनि कृषकले निवेदन दिने गरेका छन् । यसअघि जंगली जनावरले बालीनाली नष्ट गरेपनि चुपचाप बस्ने गरेका कृषक जनप्रतिनिधि आएपछि नियन्त्रण तथा क्षतिपूर्तिको मागसहित निवेदन दिने गरेका छन् । जंगली जनावरबाट मानिस घाइते तथा मानिस वा घरपालुवा जनावरको ज्यान गएमा जिल्ला वन कार्यालयमार्फत राहत तथा क्षतिपूर्ति दिने व्यवस्था भए पनि बालीनालीमा यस्तो व्यवस्था गरिएको छैन । अहिले अधिकांश कृषकले कि वन्यजन्तु नियन्त्रण गर्नुपर्ने वा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । यता मकै तथा स्याउ पाक्न थालेपछि कृषक रातभर ढ्याङ्ग्रो बजाएर बारिमै बस्न थालेका छन् । रातको समयमा एकैछिन मात्र सुनसान भएमा पनि भालुले बाली सखाप पार्ने भएकोले रातभर नसुतिकन बाली कुर्नुपरेको तामाखानीका कृषक मेन्दोमाला तामाङले बताए। रासस

होटल संचालकमाथि ग्राहकको हत्या गरेको आरोप

सुर्खेत, भदौ १० । सदरमुकाम वीरेन्द्रनगरमा एक होटल सञ्चालकले शुक्रबार साँझ ग्राहकको हत्या गरेको आरोप लगाइएको छ । वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामा–भाञ्जा होटलका सञ्चालक देवीप्रसाद ढकालले कालीकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको हत्या गरेको अभियोग छ । सोही होटलमै बसेर अध्ययन गर्दै आएका ३२ वर्षीय शाहीको बञ्चराले हानी हत्या गरेर अभियुक्त ढकाल फरार भएकामा प्रहरीले वीरेन्द्रनगरकै गणेश चोकबाट पक्राउ गरेको छ । अत्याधिक मादक पदार्थ सेवन गरेका ढकालले शाहीको किन हत्या गरे भन्नेबारे केही नखुलेको जिप्रका सुर्खेतका प्रहरी उपरीक्षक मोहन आचार्यले जानकारी दिए । यस घटनासँगै यहाँ पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ ।

अपाङ्गलाई प्रवासबाट डेढ लाख सहयोग

बाबियाचौर(म्याग्दी), १० भदौ । बेनी नगरपालिका–२ का अपाङ्गता भएका ३४ वर्षीय कृष्णबहादुर घिमिरेलाई शुक्रबार प्रवासबाट रु डेढ लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । २०६१ साल फागुनमा बाँसको रुखबाट लडेर घाइते भएपछि दाढदेखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जीवन बिताइरहनु भएका घिमिरेलाई दक्षिण कोरिया र अमेरिकाबाट रु एक लाख ६५ हजार सहयोग प्राप्त भएको हो । मंगलाघाटको बौद्ध युवा क्लबका सदस्य दिनेश केसीको पहलमा कोरियामा रहेका विकास हमालको नेतृत्वमा रु एक लाख ५५ हजार सहयोग संकलन भएको थियो । यसैगरी हाल अमेरिकामा रहनुभएका मोहन पुनले रु दश हजार सहयोग गर्नुभएको छ । कोरिया र अमेरिकाबाट प्राप्त भएको रकम बौद्ध युवा क्लबको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी घिमिरेलाई हस्तान्तरण गरिएको हो ।

श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमान्को घटनास्थलमै मृत्यु

चरीकोट, १० भदौ । दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमान्को घटनास्थलमै ज्यान गएको आरोप लगाइएको छ । ज्यान गुमाउनेमा मेलुङ गाउँपालिका–७ भेड्पुका ८३ वर्षीय कर्णबहादुर तामाङ छन् । उनलाई श्रीमती सञ्जीले लाठी प्रहार गरेको जिप्रका दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । प्रहरीका अनुसार शुक्रबार साँझ कर्णबहादुरले अत्यधिक मादक पदार्थ सेवन गरी घरमा आई बुहारी विपना थोकरसँग थप मादक पदार्थ मागेको र बुहारीले मादक पदार्थ दिन नमानेपछि बुहारीलाई कुटपिट गरेको देखेपछि उनकी श्रीमतीले पछाडिबाट टाउकामा लौरो हानेको प्रहरीको भनाइ छ । अभियुक्त सञ्जीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिप्रका दोलखाले जनाएको छ । रासस

हत्या आरोपमा श्रीमान र सासू पक्राउ

झापा, भदौ १० । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी एक महिलालाई हत्या गरेको आरोपमा उनका श्रीमान् र सासूलाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर घर भई सुरुङ्गामा डेरा गरी बस्ने २० वर्षीया शर्मिला माझीको हत्याको आरोपमा उनकै श्रीमान् २० वर्षीय सवीन र सासू ४० वर्षीया शारदालाई प्रहरीले पक्राउ गरी इप्रका बिर्तामोडमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए । शर्मिलाको शंकास्पद अवस्थामा शुक्रबार बिहान घर छेउकै बकाइनाको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । बिहान ५ बजे स्थानीयवासीले शर्मिला बकाइनोको रुखमा झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेको इप्रका बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताए । रासस