आजदेखि देशभरका सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौं । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् ।

सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।

सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।

शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुला रहने गृहमन्त्रालयले जनाएको छ। सरकारले दिउँसो साढे १ देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ।

उच्च अदालत पाटनका हृदयघातबाट न्यायाधीश मरासेनीको मृत्यु

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण मृत्यु भएको छ । हृदयघात भएपछि अस्पताल पुराइएका मरासेनीको अस्पतालमै मृत्यु भएको हो । उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनीलाई बिहान ८ः३० बजे हृदयघात भएको थियो । हृदयघात पछि कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरी र अध्यागमन कर्मचारी कुटाकुट प्रक्ररण : प्रतिवेदन बुझाउँदै समिति

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटाकुट घटनाको छानबिन गर्न गठित समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वको तीन सदस्यीय समितिले प्रतिवेदन बुझाउने तयारी गरेको हो । घटनाको छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन मन्त्रालयले समितिलाई भनेको थियो । गएको शुक्रबार बनाइएको समितिले शनिबारदेखि काम थालेको थियो । समितिको कार्यावधि सोमबार नै सकिएको थियो । तर, समितिले थप एक दिनको समयावधि मागेको थियो । आज साँझसम्म प्रतिवेदन बुझाउने गरी काम भइरहेको समितिका एक सदस्यले बताए । समितिमा नेपाल प्रहरीका डीआईजी राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन् । शुक्रबार विमानस्थलमा ‘चेकिङ’का क्रममा अध्यागमन अधिकृत छायालाल मोक्तान र प्रहरीका असई सञ्जय तामाङ र एक प्रहरी जवानबीच कुटाकुट भएको थियो ।

एनआरएनको नयाँ नेतृत्व चयनविरुद्ध परेको रीट खारेज

काठमाडौं । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि गत असोजमा भएको निर्वाचनविरुद्ध परेको निवेदन खारेज गरेको छ । जर्मनीको ह्याम्बर्ग बस्ने दीपेश खत्रीले दायर गरेको निषेधाज्ञाको निवेदनमाथि सोमबार भएको सुनुवाईपछि उच्च अदालतका न्यायाधीशद्वय श्यामजी प्रधान र कृष्णराम कोइरालाको इजलासले रीट खारेज गरिदिएको हो । विधिसम्मत तरिकाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा निवेदकको माग दाबी नपुग्ने ठहर इजलाशले गरेको छ । गत असोज आखिरीदेखि कात्तिक पहिलो सातासम्म काठमाडौंमा आयोजित महाधिवेशनबाट एनआरएनको अध्यक्षमा डा। बद्री केसी निर्वाचित हुनुभएको थियो । नेतृत्व चयन गर्न विद्युतीय मतदान गरिएकोमा मतदान प्रविधि ह्याक गरेको दाबी गर्दै प्रतिष्पर्धी उम्मेदवारले परिणाम अस्वीकार गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै अध्यक्षका पराजित उम्मेदवार आरके शर्माले समानान्तर समिति घोषणा गरेका थिए । सोही समूहले निर्वाचनको निष्पक्षतामा प्रश्न उठाएपछि सरकारले छानबिन समिति गठन गरेको छ भने परराष्ट्र मन्त्रालयले एनआरएनको नयाँ कार्यसमितिको नवीकरण रोकिरहेको छ ।

नेपालगन्जबाट पहिलोपटक श्री एयरलाइन्सले गर्‍यो कैलाश पर्वत र मानसरोवरको पर्वतीय उडान

काठमाडौं । श्री एयरलाइन्सले कैलाश पर्वत तथा मानसरोवरको पर्वतीय उडान गरेको छ। नेपालको इतिहासमै पहिलो पटक एयरलाइन्सको सीआरजे ७०० ९एन विमानले ‘माउन्टेन फ्लाइट’ गरेको हो। नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि गरिएको पर्वतीय उडान सफल भएको कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए। कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको नेपाल तर्फबाट पहिलो पटक हो। नेपालगन्जबाट नेपाली, भारतीयसहित विदेशी धार्मिक पर्यटक आकर्षित गर्न सकिने एयरलाइन्सले जनाएको छ। सोमबार भएको उडानमा श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्टिालिटी ग्रुप नेपालगञ्ज र पाथहिल होलिडेज काठमाडौंको सहकार्यमा २७ हजार फिट उचाइबाट उडान गरिएको छ। उक्त उडानमा क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना रहेका थिए। ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न सकिन्छ। श्रीएयरलाइन्सले नेपालगन्जबाट कैला तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याई पशुपति समेत दर्शन गराउने योजना बनाएको छ।

प्रज्ञा–प्रतिष्ठानमा नेपाल–चीन साहित्यिक अन्तरक्रिया

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले आइतबार संयुक्तरूपमा ‘चिनियाँ साहित्यकारको स्वागत तथा नेपाल–चीन साहित्यिक अन्तक्र्रिया’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ‘चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्था’का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तरक्रियामा भाग लिएको थियोे । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले अनुवादको माध्यमबाट मात्रै कुनै पनि देशको भाषा, साहित्य, संस्कृति र भूगोललाई बुझ्न सकिने भएकाले चिनियाँ साहित्यलाई नेपाली भाषामा तथा नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विश्वव्यापी प्रभावबाट नेपाली साहित्यजस्तै चिनियाँ साहित्य पनि प्रभावित भएको बताए । नेपाली साहित्य र चिनियाँ साहित्यको प्रवृत्ति कतिपय मिल्दोजुल्दो रहेको कुलपति राईको भनाइ थियो । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले चिनियाँ साहित्यबारे आफू परिचित भएको बताए । तत्कालीन चिनियाँ समाजको विकृति र विसङ्गतिबारे व्यङ्ग्यात्मक ढङ्गले चीनका महान् साहित्यकार लुसुनको लेखनबाट आफू प्रभावित भएको उनले चर्चा गरे । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कविताबाट नेपाली साहित्यबारे चर्चा गरे । नेपाली साहित्य वीरधारा, भक्तिधारा, ऋङ्गारधारा र आधुनिक धारासम्म आइपुगेको उनले बताए । नेपालमा गणतन्त्र आएपछि भौगोलिक, सांस्कृतिक र जातीय पहिचानको महत्वलाई आत्मसात् गरेर नवीनतम् साहित्य सिर्जना हुने गरेको सदस्य सचिव सुवेदीको भनाइ थियो । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत, डा. कौशिला रिसाल, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली ‘अगिव’, हंसावती कुर्मी र प्राज्ञसभा सदस्य डा. बालाकृष्ण अधिकारीले अन्तरक्रियामा आ–आफ्नो धारणा राखे । नेपाली र चिनियाँ साहित्यकारबीच दोभासे तथा सहजीकरणको भूमिका निर्वाह गरेका अरनिको समाजका प्रथम उपाध्यक्ष डा.सर्वोत्तम श्रेष्ठले अनुवादका माध्यमबाट मात्र सम्बन्धित भाषासँग जोडिएको देश, साहित्य, संस्कृति र समाजलाई बुझ्न सकिने बताए । चिनियाँ प्रतिनिधिमण्डलका नेतृत्वकर्ता तथा चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्थाका उपाध्यक्ष चाउ यान्पियाउले चीन सरकारद्वारा अनुदानप्राप्त स्मारक र भौतिक पूर्वाधारको अवलोकनका साथै नेपाली भाषा, साहित्य र संस्कृतिबारे बुझ्ने अवसर प्राप्त भएको बताइ । उनले कतिपय साहित्यकार साहित्य सिर्जनाको माध्यमबाट चीनमा पनि आत्मनिर्भर हुने अवस्था नरहेको उल्लेख गर्दै चिनियाँ साहित्यको प्रवृत्ति र लेखन परम्पराबारे प्रष्ट पार्दै नेपाली साहित्यिक कृतिलाई चिनियाँ भाषा र चिनियाँ भाषाका साहित्यिक कृतिलाई नेपाली भाषामा अनुवाद गर्न एकापसमा तत्पर रहनुपर्ने बताए । उनले नेपाल र चीन जोड्ने सिल्करोड अर्थात् रेसमी मार्ग अङ्कित मायाको चिह्न कुलपति राईलाई उपहारस्वरूप प्रदान गर्दै आफ्नो ‘रेसमी साहित्यिक यात्रा’ नेपालबाट सुरु भएको बताए । प्रतिनिधिमण्डलमा सहभागी चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्थाका सदस्य हान् यामेइ, चीन लेखक सङ्घका सदस्य नीङ् यान्ता, चीन लेखन अध्ययन संस्थाका सदस्य लेउ चिएच्थ्वीन्, चीन लेखक सङ्घका सदस्य छियौ स्युलि, चीन रिपोर्ताज अध्ययन संस्थाका सदस्य ची सुहुवा, पेइचिङ पुस्तक व्यवसायी तथा स्क्रिप्ट लेखक व्हा सियाउख र पेइचिङ् हान्थ्विन कम्पनीका उपमहाव्यवस्थापक चाङ् चियान्फिङ्ले ‘नेपाल–चीन साहित्यिक अन्तरक्रिया’ कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।

ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्

काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी हुन् । लडिरहेको अवस्थामा भेटिएको भन्दै खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीको टोली भर्खरै घटनास्थलमा पुगेर जाँच सुरु गरेको छ ।उनको टाउकोमा चोट देखिएको छ ।मृत्युको कारण खुलिसकेको छैन ।

यी २२ कम्पनी परे कालोसूचीमा (सूचीसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुनेगरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । चारवटा कम्पानीलाई तीन वर्ष, एउटालाई साढे दुई वर्ष, चारवटालाई दुई वर्ष, पाँचवटालाई डेढ वर्ष र बाँकी आठवटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

कानुन अनुसार विकास निर्माणका योजनाको अनुगमन गर्न विधेयक : मन्त्री शर्मा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले कानुन अनुसार विकास निर्माणका योजनाको अनुगमन गर्न विधेयक ल्याइएको बताएकी छिन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री शर्माले विकास निर्माणका योजनाको मन्त्रिपरिषद् कार्यालय, योजना आयोग, सम्बन्धी मन्त्रालय लगाएतले अनुगमनका लागि कानुनी व्यवस्था गर्न विधेयक ल्याइएको बताएकी हुन् । राष्ट्रियसभाबाट संशोधनसहित पारित भइ समितिका आएको विधेयकमा तेश्रो पक्षले पनि अनुगमन गर्न सक्ने व्यवस्था राखिएको उनले बताइन् । मन्त्री शर्माले विधेयकमाथि छलफल हुँदा प्रदेश र स्थानीयका आयोजनाको अनुगमनका लागि संरचना समेत बनाइने जिकिर गरिन् । उनले बिकास आयोजनाको नियमित अनुगमन हुने र मूल्याङ्कनको आधारको मापदण्ड निर्धारण हुने धारणा राखिन् । बैठकमा समिति सदस्यहरुले विकास निर्माणका योजना छनौट प्रक्रिया र कार्यान्वयनलाई बढी पारदर्शी र जबाफदेही बनाउने गरि कानुन निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।

पुंगी खोला सौन्र्दयकरणको कार्य सुरु, प्रमुख दाहालद्धारा शिलान्यास

चितवन । भरतपुर वडा नम्बर ३ र ४ को सिमानामा पर्ने पुङ्गी खोलाको दोभानबाट सौन्दर्यकरण गर्ने कार्यको शिलान्यास गरिएको छ । आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको उद्घाटन गरेकी हुन् । भरतपुर महानगरपालिकाको गौरवको आयोजना समावेश भएको पुङ्गी खोला सौन्दर्यकरणको पहिलो चरणको निर्माण कार्य नारायणी र पुङ्गी खोलाको दोभानबाट सुरु भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले पुङ्गी र केरुङ् ड्रेन महानगरपालिकाको गौरबको आयोजना भएको बताइन्। भरतपुरलाई सुन्दर र हेर्न लायक सहर बनाउने उद्देश्यअनुसार यी दुई खोलालाई हरियालीसहितको सौन्दर्यकरण गर्न लागिएको प्रमुख दाहालले स्पष्ट पार्नुभयो। करिब ६ किलोमिटरमा रहेको पुङ्गी खोलाको १० महिनाअघि सिमाङ्कनको कार्य सुरु भएको थियो । भरतपुरको वडा नम्बर ११, २, ३ र ४ नम्बर भएर बघ्ने पुंगी खोलको हालसम्म ५ किमी सिमाङ्कन गर्ने काम सकिएको छ । बाँकी वडा नम्बर २ मा घर, टहरा परेकाले सिमाङ्कनमा सहज भएको छ । पहिलो चरणको निर्माण कार्यअन्र्तगत पुंगीको दोभानबाट ३५० मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिने छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन्। यसका लागि रु १ करोड ७५ लाख र महानगरपालिकाको रु २ करोड २२ लाख ७४ हजार गरी रु ३ करोड ९७ लाखको लागनीमा निर्माण कार्य हुन लागेको हो । निर्माण कम्पनी टिएसएन गिरवान जेभी जोरपाटी काठमाडौँले ११ महिनामा काम सक्ने गरी रु २ करोड ४९ लाख ठेक्का पाएको छ । पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना हो । भरतपुरका सहरी क्षेत्रमा आकासे पानी व्यवस्थापन गर्न यी दुई नदीलाई वार्षिक रुपमा बजेट विनियोजन गर्दै निर्माण कार्य पुरा गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, ४ नम्बर वडा अध्यक्ष अर्पण पोखरेल, ११ का अध्यक्ष कमल मल्ल र १२ नम्बर वडाका अध्यक्ष लेखराज पन्तले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम पुंगी खोला संरक्षण समितिका संयोजक विकास थापाको अध्यक्षतामा भएको थियो ।

स्वास्थ्य बिमाअन्तर्गतका सबै सेवा शुल्क परिमार्जन गरिने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले ‘सुविधा थैली’अन्तर्गतका सेवा शुल्क परिमार्जन गर्ने भएको छ । बोर्डले पहिलो चरणमा औषधिको मूल्यसम्बन्धी सुझाव माग गरेको छ । एक हजार २०८ औषधिको नयाँ मूल्यसूची प्रस्ताव गरी बोर्डले सरोकारवालाबाट सुझाव मागेको हो । स्वास्थ्य बिमा कार्यक्रम सुरु भएयता पहिलोपटक शुल्क समायोजन गर्न लागिएको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाऔं : प्रधानमन्त्री प्रचण्ड(भिडियाेसहित)

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए । स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।” प्रतिष्ठानले आम जनसमुदायलाई पुर्‍याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्ना सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट संक्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पुर्‍याएको स्मरण गरे । प्रधानमन्त्रीले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ लाग्न प्रतिष्ठानलाई निर्देशन दिए । 

जीबी राईविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

काठमाडौँ । पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । उनी विरुद्ध नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । जीबी राई सहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालय स्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । अन्य तीनजनाको हकमा भने डिफ्युजन जारी भएको छैन । अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । काठमाडौँ स्थित प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट जीबी विरुद्ध नोटिस जारी गरिएको हो । नोटिस जारी भएसँगै विश्वका जुनसुकै देशमा भेटिए पनि जीबीलाई इन्टरपोलले पक्राउ गरेर नेपालमा डिपोर्ट गर्न सक्छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ्ग घर भएका थान बहादुर बुढामगर, ओखलढुङ्गा घर भएका पूर्व अध्यक्ष भूपेन्द्र राई र पूर्व सदस्य शिव बहादुर गुरुङ विरुद्ध पनि डिफ्युजन जारी गर्न पत्राचार गरेको छ ।

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । सूचनाअनुसार ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेकालाई आवेदन दिन भनिएको छ । सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ । यसअघि एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरुषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

आजदेखि धरहरा र काठमाडौं टावरमा पार्किङ निःशुल्क

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ दिने भएको छ । महानगरपालिकाले न्युरोड सडकमा सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिन लागिएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार धरहरा क्षेत्रका साथै पुरानो बसपार्क (काठमाडौं टावर) क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । उहाँकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । न्युरोड क्षेत्रमा महानगरले पार्किङ निषेध गरेपछि विकल्पको रूपमा धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङको ब्यवस्था मिलाइएको हो । सो पार्किङ क्षेत्रमा पार्किङ गरे बापत कुनै शुल्क लाग्ने छैन ।

विद्यार्थीको गुनासो प्रत्यक्ष सुन्न भरतपुरका विद्यालयमा प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर–२७ मा रहेको जानकी माविका विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गरेकि छिन् । शुक्रबार विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रम अन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा,समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न प्रमुख दाहालसहितको टोली त्यहाँ पुगेको हो । भरतपुर महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको कार्यक्रममा यस आर्थिक वर्षमा केही नमुना विद्यालयमा विद्यार्थीसँग प्रत्यक्ष कुराकानी एवम् संवाद गरिने छ । कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । विद्यालयको सुधारका लागि प्रयाप्त मात्रमा भौतिक पूर्वाधारहरु निर्माण भइसकेकोले आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरु अगाडि बढाउने गरी यो कार्यक्रम ल्याइएको जानकारी दिइन् । विद्यार्थीसँग मेयर कार्यक्रममा विद्यार्थीहरुलाई आफ्ना जिज्ञासाहरु सहज रुपमा महानगरपालिका प्रमुखसँग राख्न सकिने व्यवस्था मिलाइएको थियो । शिक्षा क्षेत्रमा ठुलो लगानी गरी सकेको भरतपुर महानगरपालिकाले व्यवहारिक र प्राविधिक शिक्षालाई जोड दिदै आईरहेको थियो । जनकी माध्यमिक विद्यालयमा प्रमुख दाहालसँग जिज्ञासा राख्ने विद्यार्थीहरुले भएका पूर्वाधारलाई व्यवस्थित ढङ्गबाट प्रयोगमा नल्याइएको बताएका थिए । महानगरपालिकाले विद्यालयमा गर्दै आइरहेको बजेट विनियोजनमा सन्तुष्ट देखिएका छन् । विद्यालयमा देखिएका केही समस्यालाई तत्काल नै समधान गर्ने गरी विद्यालय व्यवस्थापन समितिसँग छलफल पनि गरिएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्थानीय पाठ्यक्रममा प्रमुख, उपप्रमुख, स्थानीय सरकार, जनप्रतिनिधिबारे उल्लेख गरेअनुरुप विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिन यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताइन् । यसले विद्यार्थीको नेतृत्व विकासमा ठुलो सहयोग पुराउने भएकाले भरतपुरका विद्यालयमा प्रमुख, उपप्रमुखहरु पुग्ने उनको भनाई थियो । कार्यक्रम महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले सञ्चालन गरिन् ।