प्रदेश एआईजीलाई व्यवसायिक ढंगले काम गर्न गृहमन्त्री शर्माको निर्देशन

काठमाडौं, भदौ १० ।  गृहमन्त्री जनार्दन शर्माले प्रदेशमा खटाइएका एआईजीहरुलाई संघीय प्रहरी ऐन नबन्दासम्म व्यवसायिक ढंगले काम गर्न निर्देशन दिएका छन् । एआईजीहरुलाई शुक्रबार मन्त्रालयमै बोलाएर गृहमन्त्रीले लामो समयसम्म ठाउँ ओगटेर बसेका अधिकृत र घुमुवा प्रहरीलाई तत्काल परिवर्तन गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

 ‘गुन्डागर्दी नियन्त्रण गर्नुस् । तपाईंहरु आफू पनि आथिक अनुशासन कायम गरेर बस्नुस्’, गृहमन्त्रीको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘कुनै गैरव्यावसायिक त्रियाकलाप गरेको प्रमाण पाएँ भने कडा कारबाही गर्छु ।’

गृहमन्त्री शर्माले मंसिर १० गतेको केन्द्र र प्रदेशसभाको चुनाव सकिएपछि प्रदेशमा महानिरीक्षक (आईजीपी) खटाइने बताएका थिए । गाउँपालिकामा इन्स्पेक्टर, नगरपालिकामा डीएसपी, उपमहानगरमा एसपी र महानगरमा एसएसपीको दरबन्दी राख्ने जानकारी पनि उनले त्यहाँ दिएका थिए । – अन्नपूर्ण पोस्टबाट

समस्या भए म कहाँ आउनुस, जनताले अशान्ति भो भन्न नपाउन- मन्त्री श्रेस्ठ

रामेछाप । गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले हरेक नागरिकहरुलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले कुनै पनि नागरिकले असुरक्षित भएको महशुस गर्न नपर्ने बताएका हुन् । गृहराज्य मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला राामेछापमा आएका उनले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई निर्देशन दिदै जनतालाई केन्द्रमा राखेर सेवा सुविधा प्रवाह गर्न निर्देशन दिए । ‘म देशकै गृहराज्य मन्त्री हुँ । शान्ति सुरक्षाको प्रत्याभूति रामेछापमा भएन भने अन्यत्र हुन सक्दैन’, उनले भने,‘हरेक नागरिकहरुले शान्ति सुरक्षाको अनुभूति गराउन सरकार प्रतिबद्ध छ ।’ आफूलाई सांसददेखि गृहराज्य मन्त्री बनाउन रामेछापवासीको ठूलो भूमिका रहेको स्मरण गर्दै उनले रामेछापवासीको वलिदानी र पसिनाको कारण आफू मन्त्री बन्न सफल भएको बताए । उनले भने,‘म जहाँ जन्मिए जहाँ हुर्किए यो भूमिको विकास गर्ने मन बचन र कर्मबाट काम गर्छु ।’ सबै क्षेत्रको सहयोग र समन्वय भए मात्र लक्ष्य प्राप्त गर्न सहज हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले कानुनी जलिटलता फुकाउनको लागि सरकार तयार रहेको बताए । ‘विपद व्यवस्थापन ऐन बनाउन सहमतिको लागि कानुन मन्त्रालय पठाइएको छ, अध्यायगमन विभागकमा रहेका समस्या समाधान गर्न पनि ऐनकै खाँचो छ’, उनले भने,‘शान्ति सुरक्षा कायम गर्न संरचनागत रुपमा रहेका जटिलाहरु समाधान गर्न सरकार गम्भीर रुपमा लागेको छ ।’ मन्त्री आउने जाने क्रम चलिरहन्छ, स्थायी शक्ति भनेको कर्मचारीहरु नै हुन, नीतिगत रुपमा व्यवस्था गर्न सक्यौ भने मूलुक सञ्चालन गर्न सहज हुन्छ, उनले भने । नेपालमा भित्रिने सबै पर्यटक मात्र नहुने बताउदै उनले आतङककारी गतिविधिमा संलग्न र हत्या हिंसाको गतिविधिमा संलग्न पनि पस्न सक्ने भएकाले सर्तक हुनुपर्नेमा जोड दिए । रामेछाप जिल्ला ऐतिहासिक भूमि रहेकाले रामेछापमा आउने कर्मचारीहरु पनि भाग्मानी रहेको बताउदै गृहराज्य मन्त्री श्रेष्ठले आफू सहकार्य गरेर काम गर्ने पक्षमा रहेको बताए । ‘समस्या छन भने म आफ्नो ठाउँबाट गांठो फुकाउन तयार छु,संवाद र सहकार्य हुनुपर्छ’, उनले भने,‘गृहमन्त्रालय र राष्ट्रसेवक कर्मचारीहरु एउटै परिवार हौ ।’ उनले आगामी तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

राजधानीसम्मै पेट्रोलियम पाइपलाइन !

काठमाण्डौ, भदौ ९ । पेट्रोलियम पाइपलाइन राजधानीसम्मै ल्याउने विषयमा औपचारिक छलफल सुरु भएको छ । तराईसँग जोड्ने द्रुत राजमार्ग (निजगढ फास्ट ट्रयाक) निर्माण गर्ने जिम्मेवारी पाएको नेपाली सेनाको युनिट र सरोकारवाला निकायबीच यस विषयमा छलफल सुरु भएको हो । सेनाको मुख्यालयमा यसैसाता भएको ‘मल्टिपर्पस’ छलफलमा फास्ट ट्र्याकसम्बन्धी जिम्मेवारी पाएको नेपाली सेनाको युनिट, नेपाल आयल निगम, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, बाहिरी चक्रपथ आयोजना, रेल विभाग, सस्पेन्सन ब्रिजलगायत बहुसरोकारवाला निकायको सहभागिता थियो । छलफलमा सेनाले फास्ट ट्र्याकको रुटसँगसँगै अन्य आवश्यक परियोजनालाई पनि एकीकृत रूपमा अघि बढाउन सकिने सहभागीलाई जानकारी गराएको थियो । ‘सेनाको युनिटले फास्ट ट्र्याक निर्माणसँगै अन्य अत्यावश्यक वस्तुको पनि काम एकीकृत रूपमा व्यवस्थापन गर्न सकिन्छ की भनेर छलफलमा जिज्ञासा आएको थियोु, छलफलमा सहभागी आयल निगमका एक अधिकारीले भने, ‘हामीले निजगढबाट फास्ट ट्र्याकसँगै पेट्रोलियम पाइपलाइन राजधानीसम्मै ल्याउन सकिन्छ भनेर सुझाव दियौं ।ु सानो प्राविधिक कारणले पनि बाटो अवरुद्ध हुँदा उपत्यकामा इन्धनको ठूलो हाहाकार हुन्छ । उपभोक्ता इन्धनको चरम अभाव बेहोर्न बाध्य हुन्छन् । यस्तो अवस्थामा फास्ट ट्रयाकसँगै राजधानीसम्म पेट्रोलियम पाइपलाइन ल्याउन पाए दीर्घकालीन रूपमै इन्धनको समस्या समाधान हुने छलफलले निचोड निकालेको छ । छलफलमा पथलैया डिपोदेखि राजधानीसम्म फास्ट ट्र्याकसँगै पेट्रोलियम पाइपलाइन ओछ्याउन करिब आठ अर्ब रुपैयाँ लाग्ने अनुमानित लागत निकालिएको थियो । निजगढ(काठमाडौंको दूरी ७६ किलोमिटर छ । यो रुटबाट पाइपलाइन ल्याउने विषय टुंगो लाग्नासाथ पथलैयास्थित क्षेत्रीय डिपोमा ब्रान्च स्टेसन खडा गरी निजगढसम्म पाइपलाइन पुर्‍याउनुपर्छ । पथलैयाको डिपोदेखि निजगढस्थित फास्ट ट्र्याक विन्दुसम्मको दूरी २० किलोमिटर छ । छलफलमा सेनाले फास्ट ट्रयाकको परियोजनालाई पनि एकीकृत रुपमा अघि बढाउन सकिने सहभागीलाई जानकारी गराएको थियो ।

मोटरसाइकल दूर्घटनामा चारको मृत्यु

रुपन्देही, भदौ ९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह १० भलुहीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जनाको ज्यान गएको छ । लु २३ प १०२८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको लु ३३ प, ७०८३ नम्बरको मोटरसाइकल आज विहान एकापसमा ठोक्किएका थिए । दुर्घटनापछि दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीको पर्रोहा बस्ने २१ वर्षीय खेमराज थापा, नवलपरासीको रामग्रामका २५ वर्षीय सुरज चौधरी, नवलपरासी सुनवलका २४ वर्षीय दिवाकर यादव र बुटवल १६ का २४ वर्षीय सुमन कुँवर रहेका छन् । मोटरसाइकल चालकद्वय खेमराज र सुरजको घटनास्थलमा नै मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार २ जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीले बगाएको गैँडा भारतमा भेटियो

चितवन, भदौ ९ । अविरल वर्षापछिको बाढीले बगाएर भारतको वाल्मीकी टाइगर रिजर्भमा पु¥याएको अर्को एक वयस्क गैँडा भेटिएको छ । बाढीले नै रिजर्भ क्षेत्रमा पु¥याएको एक गैँडालाई नियन्त्रणको प्रयास गरिरहेका बेला थप अर्को गैँडा भेटिएको हो । गैँडाको उद्धारका लागि गतसातादेखि नै त्यस क्षेत्रमा रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार एउटा गैँडा नियन्त्रणको प्रयास गरिरहेका बेला बिहीबार अर्को गैँडा पनि फेला परेको हो । पहिला फेला परेको गैँडालाई डार्ट (बन्दुकबाट लठ्याउने सुई लगाउने काम) गरेर ल्याउने प्रयास भइरहेको बताए । बाढीले बगाएपछि दच्किएको गैँडा भागेकाले डार्ट गर्न कठिन भएको उनले बताए । भारतीय अधिकारीहरुसँगको समन्वयमा डार्ट गरेर बेहोस बनाएर गैँडा ल्याइन्छ । जसका लागि प्राविधिकसहित नेपाली ४० जना र वाल्मीकि टाइगर रिजर्भका २०० जना कर्मचारी परिचालन गरिएको छ । गैँडालाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको नवलपरासीस्थित दिव्यपुरी र लामिचौरबाट तीनवटा हात्ती रिजर्भमा लगिएको छ । हात्तीले घेरा हालेर गैँडालाई डार्ट गर्ने गरिन्छ । यसअघि भारतबाट चारवटा गैँडाको उद्धार गरी निकुञ्ज ल्याइएको थियो । भारतबाट ल्याइएका गैँडामध्ये दुईवटा पोथी माउ थिए भने एक भाले र एक पोथी बच्चा थिए । बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैँडा पु¥याएको र दुई गैँडा मृत अवस्थामा भेटिएका थिए ।

मेडिकल कलेज सम्बन्धनबारे गगन थापाद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, भदौ ९ । प्रस्तावित चिकित्सा शिक्षा विधेयक र प्रा डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत काठमाडौँको नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिएको विषयमा सांसद गगन थापाले आज संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। संसद् सचिवालयमा आज दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमा सांसदद्वय श्यामकुमार श्रेष्ठ (काभ्रेपलाञ्चोक) र रुक्मिणी चौधरीको समर्थन रहेको छ। प्रस्तावमा गुणस्तरीय स्वास्थ्य प्राप्त गर्ने नागरिकको अधिकार र भविष्यमाथि नै खेलबाड गरिएको उल्लेख छ। ‘आधारभूत मापदण्डसमेत पूरा नगरेको मेडिकल कलेजलाई सम्बन्धन दिएर जनस्वास्थ्यमा खेलबाड भएकाले’ संसद्ले सरकारको निर्णय सच्याउन र थप समस्या आउन नदिन आवश्यक हस्तक्षेप गर्न माग गरिएको छ। प्रस्तावमा भनिएको छ, ‘न चिकित्सक, न बिरामी न पूर्वाधार, यसरी मापदण्ड नपुगेकालाई सम्बन्धन दिँदै गर्दा त्यसबाट उत्पादन हुने चिकित्सकबाट कस्तो गुणस्तरीय स्वास्थ्य सेवा प्रदान होला रु के हामीले प्रदान गर्न खोजेको गुणस्तरीय स्वास्थ्य सेवा यस्तै हो ?’ सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई बेवास्ता गर्दै पुरानो निर्णयलाई आधार बनाएर सम्बन्धन दिनु अदालतको फैसलाको प्रतिकूल र त्यसको अपव्याख्या भएको प्रस्तावकको तर्क छ। सम्बन्धन दिने त्रिविको निर्णयले सरकारको पटक पटकको प्रतिबद्धताको बर्खिलाफ गरेको भन्दै सदनले हस्तक्षेप गरी निर्णय रोक्नुपर्ने प्रस्तावमा उल्लेख छ। सो विषयमा संसद्ले सरकारलाई अविलम्ब निर्देशन दिन अपरिहार्य देखिएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको प्रस्तावमा उल्लेख छ। विगतका सरकारले पटक पटक ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने र काठमाडौँमा १० वर्षसम्म मेडिकल कलेज नखोल्ने’ समझदारी गरेको प्रस्तावमा स्मरण गराइएको छ। काठमाडौँमा धेरै मेडिकल कलेज खोल्न दिने हो भने दुर्गममा चिकित्सक पुगेनन् भनेर चिन्ता गर्नाको अर्थ नहुने प्रस्तावक थापाको भनाइ छ। एउटा भवनलाई देखाएर जालझेल गर्दै पूर्वाधार पुग्यो भनेर मेडिकल कलेज चलाउन सम्बन्धन दिँदा गुणस्तरीय चिकित्सकको उत्पादन हुन नसक्ने भएकाले संसद्ले तत्काल सो विषयमा ध्यान दिनुपर्ने प्रस्तावमा उल्लेख छ। रासस

सप्तरीमा बाढीपछि सात सयमा कुपोषण, छ सयको अवस्था गम्भीर

सप्तरी, भदौ ९ । हालै आएको भीषण बाढी र पहिरोका कारण खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन्। बाढीले घरमा रहेको अन्नपात बगाएको, घाँसपातको कमीले गाई–भैँसीले दूध दिनमा कमी गरेको र आर्थिक अभाव भएका कारण जिल्लाका ६१२ जना गम्भीर कुपोषणको शिकार भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। सर्वेक्षणअनुसार सप्तरीका ५८ गाविसमा कुपोषण अत्यधिक देखिएको बताइएको छ। सप्तरीका दिघवा, लोनिया, तिलाठी, सकरपुरा, विषहरिया, डुमरी, मैनाकडेरी, देउरी भरुवा, हरिपुर, मुसहरनिया, फर्सेठ, कोइलाडी, बसाइन, बर्दाही, बनैनियालगायतका बाढीपीडित ग्रामीण क्षेत्रमा कुपोषितको संख्या बढी पाइएको छ। खासगरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धामा स्वच्छ खानेपानी, पौष्टिक आहारबाट वञ्चित हुँदा समस्या देखिएको हो। बाढीपीडितका लागि सरकारी तथा गैरसरकारीतर्फबाट आउने राहतमा पौष्टिक तत्व नहुने र जीवन धान्ने खालको मात्र राहत आउने गरेको बताइएको छ। सप्तरीका बाढीपीडितको खाद्य सुरक्षासम्बन्धी जिल्ला कृषि विकास कार्यालयमा आयोजित खाद्य सुरक्षा कार्यदल बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयका पदाधिकारीले कुपोषणको सम्बन्धमा जानकारी गराएका थिए। बैठकमा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवले बाढीपहिरोले सप्तरीमा करिब १८ करोड रुपैयाँ बराबरको धानबाली, माछा र तरकारी नष्ट भएको जानकारी दिए। उनका अनुसार सप्तरीको कुल खेतीयोग्य जमिनमध्ये १३ हजार हेक्टर जमिन क्षतिग्रस्त भएको, अधिकांश बालुवाले पुरिएको, खेत बगरमा परिणत भएको र नहरहरु क्षतिग्रस्त भएको छ। रासस

भारतीय हिरासतमा रहेका नेपाली मुक्त

काँकडभिट्टा (झापा), भदौ  ९ । भारत पश्चिम बंगालको सिलगढीमा पक्राउ परेर भारतीय प्रहरीको हिरासतमा राखिएका नेपाली नागरिक उदय फागो १७ दिनपछि बिहिबार राति मुक्त भएका छन्। इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० फिक्कल घर भएका उहाँलाई गत साउन २३ गते दिउँसो भारतको सिलगढी नगरस्थित फेमिली क्लिनिकमा आमाको उपचार गराउन गएका बेला भारतीय प्रहरीले पक्राउ गरी दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोप लगाएको थियो । सिलगढीस्थित भारतीय अदालतबाट उनी तारेखमा रिहा भएर काँकडभिट्टा अाएका हुन् । रिहा भएर स्वदेश अाएका फागोले भारतीय हिरासतमा रहँदा मानसिक यातना व्यहोर्नु परेको र आफू बाँचेर आएको प्रतिक्रिया दिए । आफूले कुनै गैरकानूनी काम नगरेको उल्लेख गर्दै उनले भारत सरकारले अनाहकमा आतंकवादीको जस्तो व्यवहार गरेकोमा दुःख व्यक्त गरे । राष्ट्रिय मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापाले मानवाधिकारवादी, नेपाली पत्रकार र परिवारजनको पहलमा उनको रिहाइ भएको बताए । रा

२ वर्षसम्मका लागि राजधानीमा निशुल्क इन्टरनेट

काठमाडौं, भदौं ९ । सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड ईन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सो क्षेत्रमा आगामी २ वर्षसम्मका लागि निःशुल्क ईन्टरनेट उपलब्ध गराउने गरी सरकारी योजना अगाडि बढाएको छ । सिंहदरबार क्षेत्र र पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको खवर आजको नागरिक दैनिकले छापेको छ । ‘सो क्षेत्रमा बोर्डब्याण्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढेको छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद आचार्यले भने,‘ सो क्षेत्रमा नेटवर्क विस्तारका लागि इच्छुक कम्पनीबाट आवेदन मागिएको छ ।’ प्राधिकरणले उक्त स्थानमा ब्रोडब्याण्ड इन्टरनेट नेटववर्क बिस्ताका लागि इच्छुक कम्पनीले २ असोजसम्म आवेदन दिनसक्ने गरी ४ भदौमा सूचना निकालेको छ ।

क्रान्तिकारीको नेतृत्व निर्वाचनबाटै चयन हुने

काठमाडौंँ, भदौ ९ गते । अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व चयन निर्वाचनबाट हुने भएको छ । सीमित पदका लागि आकाङ्क्षी धेरै भएका कारण निर्वाचनबाटै नेतृत्व चयनको अवस्था सिर्जना भएको छ । बुधबारबाट सुरु भएको सम्मेलनमा नेतृत्वमा सर्वसम्मत हुने सम्भावना निकै कम भएको सहभागीहरूले बताएका छन् । निर्वाचन भएमा माओवादी र यसका भातृ संस्थाभित्र यस्तो अभ्यास पहिलोपटक हुनेछ । माओवादीको अन्तरपार्टी सङ्गठनभित्र अहिलेसम्म कुनै पनि सङ्गठनमा निर्वाचनमार्फत् नेतृत्व चयन भएको छैन । निर्वाचन गर्न क्रान्तिकारीले यसअघि नै सङ्गठनका पूर्व अध्यक्ष रमेश मल्लको संयोजकत्वमा पूर्व अध्यक्षहरू रत्न ढकाल, सन्तोष विष्ट र विष्णु खनाल रहेको निर्वाचन समिति गठन गरिसकेको छ । ‘अहिले एक सय जनाभन्दा बढी पदाधिकारी छन् । उनीहरू सबैको आकाङ्क्षा सम्बोधन हुन गाह्रो छ,’ सम्मेलन आयोजक समितिका सदस्य दिपेश पुनले भन्नुभयो, ‘निर्वाचनमार्फत नेतृत्व निर्वाचित हुने सम्भावना बढी छ । ” सम्मेलनले एक हजारभन्दा धेरै सदस्य रहेको कमिटीलाई घटाएर सानो बनाउने बताइएको छ । सम्मेलनमा दुई हजार ७६ प्रतिनिधि सहभागी छन् ।  अध्यक्ष पदका लागि रञ्जित तामाङ, अनिल शर्मा, आरसी लामिछाने, वीरेन्द्र बस्नेत, सुरेन्द्र बस्नेत र पञ्चा सिंहले इच्छा व्यक्त गर्नुभएको छ । सङ्गठनको महासचिव पदमा कम्तीमा १२ जना आकाङ्क्षी भएको बताइएको छ । सङ्गठनभित्र उमेर हदको प्रसङ्ग पनि उठाइएको छ । यद्यपि सङ्गठनको नेतृत्वमा दाबी गरिरहेकाहरू धेरैको उमेर ३० वर्षभन्दा माथि भएकाले उमेर हद लागू हुने सम्भावना कमै देखिएको छ । सम्मेलनले ३३ पदाधिकारीसहित २४३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

भाइको हत्या गरि दाजुले गरे आत्मसर्पण

काठमाडौं, भदौ ९ । बुधबार दिउँसो ३ बजे ४६ वर्षीय गौतम मानन्धर झोँछेस्थित आफ्नो घरको चौथो तलामा सुतिरहेका थिए। गौतमका दाजु राजु रन्थनिँदैं भाइको कोठाभित्र छिरे। अनि, निदाइरहेका गौतमको टाउकोमा हम्मरले अन्धाधुन्द प्रहार गरे। भाइ मरेको निश्चित भएपछि कोठा बन्द गरी आफू पनि मर्न निस्किए। पोखरामा गएर मर्ने योजना बनाएका थिए। तर, त्यसपछि आफू कता गइरहेको छु भन्ने समेत मेसो पाएनन्। घुम्दाघुम्दै एयरपोर्ट पुगेपछि मात्र थाहा पाए, उनी काठमाडौंमै रहेछन्। यसपछि उनको मुड फेरियो र प्रहरीसँग आत्मसमर्पण गर्ने निधो गरे। आफ्नै भाइको हत्या अभियोगमा बुधबार राति १० बजे पक्राउ परेका ५१ वर्षीय राजुले दिएको प्रारम्भिक बयानका आधारमा जनसेवा प्रहरी वृतका डीएसपी सन्तोष आचार्यले घटनाको वेलिविस्तार यसरी लगाए। एयरपोर्टमा आइपुगेपछि राजीवले झोंछेकै एक स्थानीयलाई फोन गरी ‘जसरी पनि भेट्नु छ’ भन्दै बोलाएका थिए। राजीवले ती स्थानियलाई भेटेर घटनाबारे जानकारी गराए। ती स्थानीयले आत्तिँदैं विशाल बजारस्थित जनसेवा वृतलाई खबर गरे। जतिबेला राजु सोही क्षेत्रमा पुगिसकेका थिए। ‘भाइको हत्यापछि उनी विक्षिप्त अवस्थामा पुगेछन्’, जनसेवा वृतका डीएसपी आचार्यले भने। गौतम अविवाहित हुन्। उनी आमा र दाजु भाउजूसँगैं बस्दै आएका थिए। परिवारका दुई सन्तानमध्ये गौतम कान्छा हुन्। प्रहरीका अनुसार गौतमले परिवारलाई लामो समयदेखी ‘टर्चर’ दिँदै आएका थिए। ‘सम्पत्तिको विवाद भन्दा पनि दाजुका हरेक काममा असन्तुष्टी राख्ने, किचकिच गर्ने , दाजु भाउजू र आमालाई धम्काउने गर्दा रहेछन्। आफूले भनेजस्तो हुनुपर्ने उनको माग हुँदो रहेछ’ , डीएसपी आचार्यले भने। आठ, दश वर्षयता दाजुभाइको सम्बन्ध नराम्रो भए पनि बुधबारको घटना हुनु केही घन्टा अघि भने सम्पत्तिकै विवाद देखिएको थियो। प्रहरीका अनुसार, गौतमले जग्गा किन्न भन्दै एक जनासँग आठ लाख रुपैयाँ लिएका थिए, जुन राजीवलाई थाहा थिएन। तर पैसा दिने मान्छे पैसा माग्दै राजीवसँग आएपछि भाइप्रती थप रुष्ट बनेका थिए। डीएसपी आचार्यले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ। त्यसैले थप कुराहरु खुल्दै जालान्।’ राजुले आफ्नै घरमा कफी सप र किराना पसल सञ्चालन गर्दै आएका थिए। यता गौतमको ज्ञानेश्वरमा एक्युरियम पसल थियो। राति १० बजेमात्र घटना बाहिर गौतम लागु औषध दुव्र्यसनी थिए। उनी प्राय दिउँसो १२-१ बजेमात्र उठ्थे र दुई बजेतिर पसलतिर जाँन्थे। उनी सुत्ने कोठामा समेत हतपती कोही छिर्दैन थियो। उनको कुनै ठेगान नहुने भएकाले परिवारले उनी सुत्ने कोठाबाहिर रहेको टेबलमा बिहान बेलुकाको खाना लगेर राखिदिन्थ्यो। त्यसैले गौतम के गर्छन्, कता जान्छन्, परिवारले वास्ता गर्दैन थियो। प्रहरी बुधबार राति १० बजे घरमा पुगेपछि मात्र राजुको परिवारका अन्य सदस्यले गौतमको हत्या भएको चाल पाएका थिए। प्रहरी राजुको घरमा पुग्दा परिवारका अन्य सदस्य मस्त सुतिरहेका थिए। अन्नपुर्ण पाेष्टमा खबर छ ।

मालपोत कार्यालयको मनपरी, पुँजीगत लाभकर उठाउँदा करोडौं राजस्व छुट

काठमाडौं, भदौ ९ । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका मालपोत कार्यालयहरुले घरजग्गा दर्ता गर्दा करोडौं राजस्व हिनामिना गरेको खुलासा भएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले विभिन्न मालपोत कार्यालयमा यससम्बन्धी छानबिन थालेको थियो । छानबिनका क्रममा पुँजीगत लाभकर उठाउँदा साढे दुई करोड रुपैयाँभन्दा बढी छुट दिएर हिनामिना गरेको देखिएपछि मन्त्रालयले त्यससम्बन्धी सम्पूर्ण फाइल अनुसन्धानका लागि अख्तियार दृुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । गत आर्थिक वर्ष देशभरबाट २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसमध्ये पँुजीगत लाभकरबाट ४ अर्ब ६२ करोड मात्र उठेको थियो । मन्त्रालयले पुँजीगत लाभकर बढी उठाउनुपर्नेमा कम भएपछि अनियमितता भएको आशंका गर्दै छानबिन थालेको अन्नपूर्ण पोस्टमा खबर छ ।

भारत–नेपाल ग्यास पाइपलाइनको अध्ययन हुँदै

काठमाडौं, भदौ ९ । भारतको मोतिहारीबाट चितवनसम्म ग्यासको पाइपलाइन ओछ्याउने विषयमा शुक्रबारदेखि दुई मुलुकको प्राविधिक टोली संयुक्त रुपमा पहिलो चरणको अध्ययन सुरु गर्दैछन् । आइओसीको दिल्लीबाट दुई, पटनाबाट एक र मोतिहारीस्थित युनिट कार्यालयबाट एक गरी चार सदस्यीय टोली ग्यास पाइपलाइन अध्ययन गर्न अमलेखगन्ज आइपुगेका छन् ।,अन्नपूर्ण पोस्टमा खबर छ । मोतिहारीबाट ल्याइने पेट्रोलियम र ग्यासको पाइपलाइन सडकको दायाँ र बायाँ ओछ्याउने विषयमा पहिलो चरणको सम्भाव्यता अध्ययन गर्न टोली आएको हो । मोतिहारीदेखि चितवनसम्म ग्यासको पाइपलाइनको दुरी एक सय ३० किलोमिटर हुनेछ । 

एमाले अध्यक्ष ओली उपचारका लागि शुक्रबार थाइल्याण्ड जाने

काठमाडौं, भदौं ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि शुक्रबार थाइल्याण्डको बैंकक जाने भएका छन । थाइएयरबेजका विमानबाट ओली शुक्रबार दिउँसो १ बजे नियमित स्वास्थ्य उपाचारका लागि बैंकक जान लागेका हुन । ओलीका साथमा श्रीमति राधिका शाक्य पनि बैंकक जादैं छन । ओली नियमित स्वास्थ्य परीक्षणका लागि ६/६ महिनामा बैकक जाने गरेका छन ।

ट्रकको ठक्करबाट दुईको मृत्यु

चितवन, भदौ ८ । भरतपुरको वाइपास रोडमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना ६ ख ३४२५ नंको ट्रकले गणेशस्थान चोकमा ना ३ प ७२३९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको मृत्यु भएको हो । एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका–११ की ४२ वर्षीया आशमाया थापा र उनका श्रीमान् मोटरसाइकल चालक ४६ वर्षीय मानबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया सानुमाया बुढाथोकी सामान्य घाइते भएकामा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री देउवा र मोदीबीच ‘वान टु वान’ वार्ता सकियो, संयक्त पत्रकार सम्मेलन जारी

काठमाडौं, भदौं ८ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टु वान’ भेटवार्ता सकिएको छ । अहिले दुई प्रधानमन्त्री बीच भएका सम्झौताका बारेमा जानकारी गराउन हैदरावाद हाउसमा संयक्त पत्रकार सम्मेलन जारी छ । पत्रकार सम्मेनमा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरी सकेका छन भने प्रधानमन्त्री देउवाले सम्बोधन गरी रहेका छ । नेपाल र भारत बीच आठ वटा सम्झौता पत्रमा हस्ताक्षर भएको  जानकारी पत्रकार सम्मेलन मा गराइएको छ ।