म्याग्दीको विकासमा प्रभावकारी बन्दै सञ्चारमाध्यम

म्याग्दी, भदौ १५ । क्षेत्र नं ४ अन्तर्गतको पहाडी जिल्ला म्याग्दीको समग्र विकास र जनचेतना विस्तारमा यहाँ सञ्चालित सञ्चारमाध्यम प्रभावकारी र परिणाममुखी बन्दै गएका छन् ।

सञ्चारमाध्यमको विकास र विस्तार सँगसँगै जिल्लामा विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन र आर्थिक क्षेत्रका गतिविधिमा जनचासो र निगरानी बढ्दै जान थालेको छ । लैंगिक र जातीय विभेद, घरेलु हिंसा, भ्रष्टाचार, सामाजिक कुरीति र अन्धविश्वासजस्ता कुरा निरुत्साहित हुँदै गएका छन् । ग्रामीण क्षेत्रका कृषकले सञ्चार माध्यमबाट प्राप्त गरेका सूचना र समाचारबाट उत्प्रेरित भई व्यावसायिकरुपमा तरकारी, फलफूलखेती र पशुपालन गर्न थालेका कारण आयआर्जन गर्न पनि सफल भएका छन् ।

विसं २०६२-७३ सालअघिको तुलनामा म्याग्दीमा अहिले ५० औँ गुणा बढी सञ्चार माध्यम सञ्चालनमा आएका र ग्रामीण क्षेत्रसम्मको पहुँचका कारण अहिले समाजमा परिवर्तनको सकारात्मक संकेत देखिन थालेको छ ।

सञ्चार अब म्याग्देली जनताको ढुकढुकी नै बनिसकेको छ । सरकारी सञ्चार माध्यमसँगै निजी सञ्चार माध्यमको पनि लोकप्रियता बढ्दो छ ।

लाहुरेको जिल्ला भनेर चिनिने यहाँ पछिल्लो समयमा विप्रेषण र कारोबारका कुराभन्दा पनि घटना, सरोकार, विकास र वातावरणसम्बन्धी कुराको चर्चा बढी छ । जिल्लामा एफएम रेडियोको सुरुवातसँगै जनतामा समाचार सुन्ने, विश्लेषण गर्ने, आफ्नो गाउँठाउँमा भएका खबर सार्वजनिक गर्ने र सामाजिक कामप्रति अग्रसर हुने प्रवृत्ति बढ्नुमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको जिल्ला समन्वय समितिका अधिकृत हरिकृष्ण आचार्य बताउनुहुन्छ ।

देशमा भएको राजनीतिक परिवर्तनसँगै म्याग्दी जिल्लामा पनि सञ्चारको विकास भएको हो । म्याग्दीमा विकास भएको सञ्चारजगत्ले समाज परिवर्तनका लागि राम्रै भूमिका निर्वाह गरेको छ । त्यसो त पत्रकारिताको विषयलाई लिएर कहिलेकाहीँ जिल्लामा टीकाटिप्पणी पनि नहुने होइनन् तर ती टीकाटिप्पणीको आशय पनि जिल्लामा स्वतन्त्र पत्रकारिताको विकास र तटस्थ सञ्चारमाध्यमको भूमिकामा नै केन्द्रित हुने गरेको पाइएको सांसद रेशमबहादुर बानियाँको भनाइ छ ।

म्याग्दीकोे पत्रकारिता एकदमै फस्टाउँदो अवस्थामा छ । अहिले सदरमुकाम बेनीबजारमा दुई दैनिक, चार साप्ताहिक पत्रिका, दुईवटा एफएम रेडियो र पाँचवटा अनलाइन पत्रिका सञ्चालनमा छन् । रुप्से दैनिक, रिखार दैनिक, बेनी साप्ताहिक, समृद्ध साप्ताहिक, म्याग्दी सञ्चार साप्ताहिक, नवविकल्प साप्ताहिक, म्याग्दीकाली एफएम, रेडियो म्याग्दी, बेनी अनलाइन, म्याग्दी अनलाइन, नव विकल्प अनलाइन, रुप्से अनलाइन र पश्चिम म्याग्दी अनलाइन सञ्चालन हुँदै आएका हुन् ।

त्यसैगरी काठमाडौँ, पोखरा, कुश्मा र बागलुङबाट प्रकाशित र प्रसारित हुने पत्रपत्रिका, रेडियो र टेलिभिजनको समेत म्याग्दीमा राम्रो पहुँच छ । धौलागिरिको पहिलो एमएम रेडियो, धौलागिरि एफएम र धौलागिरि टेलिभिजनले पनि म्याग्दीको समाज परिवर्तनमा उल्लेख्य भूमिका निर्वाहा गरेका छन् । म्याग्दीमा रहेका सञ्चार माध्यम विशेष गरी सामाजिक जागरण र आर्थिक समृद्धितर्फ अग्रसर देखिएका नेपाल पत्रकार महासङ्घ जिल्ला अध्यक्ष तारानाथ शर्मा बतावउनुहुन्छ ।

समाजमा विद्यमान कुरीतिदेखि लिएर जनजीविका, संस्कार र संस्कृति संरक्षण, लागुपदार्थ सेवन र यसको असरदेखि लिएर जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, राजनीतिलगायतका क्षेत्रमा यहाँका सञ्चारकर्मीले बढी कलम चलाएका कारण पनि अहिले जनतामा चेतनाको विकास हुँदै गइरहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्य उल्लेख गर्नुुहन्छ । दाइजो प्रथा, बहुविवाह र बालविवाह कानूनको हिसाबले दण्डनीय रहेछ भत्रे कुरा सञ्चार माध्यमबाटै यहाँका आमनागरिकले थाहा पाएका हुन् ।

महिलामाथि हुँदै आइरहेको सामाजिक अपराध र घरेलु हिंसाका समाचारसमेत यहाँका सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन र प्रसारण गर्न थालेपछि जिल्लामा घरेलु हिंसाका घटनामा कमी आएको छ । यहाँका पत्रकारले परोपकारी पत्रकारिताको अभ्यास गरिरहेका र परोपकारको क्षेत्रमा म्याग्दीका सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको म्याग्दीको परोपकारी संस्था ‘ओमकुमारी शान्ति कोष’ का उपाध्यक्ष एवं जिल्लाका सक्रिय पत्रकार हरिकृष्ण गौतमले बताउनुभयो ।

महिला पीडित भएमा प्रहरीलाई उजुरी दिनुपर्छ भत्रे चेतनाको विकास राम्रैसँग भएको पाइएको र यसमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको महिला अधिकार रक्षक सञ्जालका अध्यक्ष एवं म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी बताउनुहुन्छ ।

पत्रपत्रिकाको तुलनामा यहाँका एफएम रेडियो बढी नै आमजिल्लावासीको घर दैलोमा पुग्छन् । तर यहाँका सञ्चार माध्यम खासगरी रेडियोले यस जिल्लाका नागरिकको जति मन जित्नु पर्ने हो त्यति जित्न भने सकेको नपाइएको स्थानीय बुद्धिजीवीले बताएका छन् ।

देश विदेशमा भइरहेका घटनाक्रमलाई म्याग्दीका ग्रामीण भेगका नागरिकले रेडियो सुनेर नै थाहा पाउने गर्छन् । सदरमुकाम बेनी बजारमा विभित्र टेलिभिजन प्रसारणमा आउने भए पनि ग्रामीण भेगमा नेपाल टेलिभिजनसमेत राम्रोसँग नआउने जिल्लावासीको गुनासो छ । केबलबाट सञ्चालित टिभी गाउँमा नपुग्ने भएकाले पनि र सदरमुकाम बेनीबजारबाट प्रकाशित हुने पत्रपत्रिका समेत गाउँमा नपुग्ने भएपछि म्याग्दीका ग्रामीण भेगका नागरिकका लागि रेडियो नै एकमात्र सञ्चार माध्यम बनेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसरी समाज परिवर्तनका लागि विभित्र पत्रपत्रिका र एफएम म्याग्दीमा क्रियाशील भए पनि यहाँका सञ्चारजगत् राज्यबाट प्रदत्त सुविधाबाट भने ठगिएका छन् । यहाँबाट प्रकाशन हुने प्रायः सबै पत्रिका र एफएम लोककल्याणकारी विज्ञापन पाउनबाट वञ्चित छन् । सरकारी कार्यालयका सूचना तथा विज्ञापनहरु समानुपातिकरुपमा एकद्वार प्रणालीबाट वितरण नगरिँदा एक दुई सञ्चारमाध्यमले मात्र फाइदा लिइरहेका छन् भने अरु मर्कामा परेका छन् ।

अर्जुन मावि भकुण्डेचौरका प्रधानाध्यापक शिवकुमार खत्री भन्नुहुन्छ, “रेडियो र पत्रपत्रिकामा नाम आउँछ भनेर पनि कति मानिस सार्वजनिक काममा सरिक हुन थालेका छन् भने सङ्घसंस्थामा नेतृत्व लिन पनि तँछाडमछाड गर्न थालेका छन् ।

बालिका बलात्कारीहरु पक्राउ

काठमाडौं, भदौ १५ । बालिकालाई पटक पटक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ का १८ वर्षीय सुवास सुनार र भीमफेदीका १९ वर्षीय सरोज सुनार रहेका छन् । मकवानपुर घर भई चन्द्रागिरि नगरपालिकामा बस्दै आएकी ११ वर्षीया बालिकालाई धम्क्याउँदै पटक पटक बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय अगाडि विद्यार्थीमाथि खुकुरी प्रहार

धादिङ, भदौ १५ । धादिङको जिल्ला प्रहरी कार्यालय अगाडि नै एक विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ । जिप्रको कार्यालय अगाडि रहेको नीलकण्ठ क्याम्पसमा कक्षा १२ मा अध्यायनरत सुमन तामाङमाथि बिहीबार क्याम्पस गेटमै खुकुरी प्रहार भएको हो । तामाङलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताए । तामाङलाई उनका साथी स्यान्जेन तामाङले खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ । घटनाको कारण भने खुल्न सकेको छैन ।

बाढीपीडितलाई राहत वितरण

लहान, भदौ १५ । बाढीका कारण डुबानमा परेका सप्तरीको तिरहुत गाउँपालिकास्थित भेडिया र मैनाकडेरीका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । बाढीबाट अति प्रभावित मैनाकडेरी र भेडियाका एक सय २५ परिवारलाई कारितास नेपालको सहयोगमा जिल्लास्थित श्रीपुर्राज सामुदायिक विकास केन्द्रले राहतस्वरुप पाल, पोषणयुक्त खानेकुरा र सरसफाइ तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । यस्तै बाढी प्रभावित उक्त बस्तीका १५ जना सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त खानेकृुरा वितरण गरिएको केन्द्रका कार्यक्रम संयोजक विनोदानन्द चौधरीले बताउनुभयो । त्यसैगरी बाढी प्रभावित सोही बस्तीका एकसय बालबालिकालाई स्कुल ब्याग एक थान, कापी एक दर्जन, पेन्सील, कटर, एलेजर र कलम १० थानका दरले वितरण गरिएको थियो । रासस लागु औषधसहित युवक गएराति भारतीय सीमावर्ती क्षेत्र सिरहाको माडरबाट एक युवकलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका– १७ स्थित माडरबाट लागुऔषध लुकाइछिपाइ बोकेर आइरहेको अवस्थामा सिरहाको मिर्चैया नगरपालिका– ६ निवासी १९ वर्षीय बलमेन्द्र साहलाई पक्राउ गरेको हो । पक्राउ परेका साहको साथबाट नाइट्रोभेट ६० ट्याब्लेट र स्पास्मो प्रोक्सिवान ४५ ट्याब्लेट समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढी र डुबानले एघार करोड क्षति

दाङ, भदौ १५ । बाढी र डुबानका कारण कृषि तथा पशु चौपायातर्फ रु.१० करोड ७५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले दिएको जानकारीअनुसार एक हजार ११५.७४ हेक्टर क्षेत्रफलको धान मकै बगाउँदा रु आठ करोड २६ लाख ६२ हजार बराबरको क्षति भएको छ । यस्तै, बाढीले १०२.४ मेट्रिक टन सञ्चित खाद्यान्न बगाउँदा रु ५१ लाख ५२ हजार, १० मेट्रिक टन सञ्चित बीउ बगाउँदा रु नौ लाख ८८ हजार र एउटा च्याउ फार्म बगाउँदा रु २० लाख बराबरको क्षति भएको आपत्कालीक कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी खिलानाथ दाहालले जानकारी दिनुभयो । पशु चौपायाको गोठ बगाउँदा रु ३७ लाख २३ हजार र १३ वटा माछा पोखरी बगाउँदा रु ५० लाख ८० हजारको नोक्सानी भएको छ । जिल्लामा बाढीले २८ गाईगोरु, दुई भैँसी, ९४ भेडाबाख्रा, दुई सुँगुर, स्थानीय कुखुरा र हाँस गरी २१७ तथा ब्रोइलर तीन हजार १५० बगाएको छ ।

सवारी दुर्घटनामा टिपर चालकको मृत्यु

पोखरा, भदौ १५ । पोखरा–लेखनाथ महानगरपालिका–२६ सुन्दरबजारस्थित पृथ्वी राजमार्गमा बुधबार साँझ मिनि ट्रिपर र ट्रक एकआपसमा ठोक्किँदा टिपर चालकको मृत्यु भएको छ । पोखराबाट तालचोकतर्पm गइरहेको ग १ ख ३६०९ नम्बरको मिनि टिपर र विपरीत दिशाबाट पोखरातर्पm आइरहेको ना ६ ख २३८० नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा टिपर चालक ५० वर्षीय शेषकान्त अधिकारी सख्त घाइते भएका र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा रातिनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–६ गोथेडाँडा घर भई पोखरा लेखनाथ–७ जिरो किलोमिटरमा डेरा गरी बस्ने मृतक अधिकारीले सडकमा परेको खाल्टो छल्न खोज्दा टिपर ट्रकसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

थापाखोला जलविद्युत्को परीक्षण उत्पादन शुरु

टुकुचे (मुस्ताङ), भदौ १५ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन शुरु गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस्थापक सुदीप खड्काले बताउनुभयो । “बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि परीक्षण उत्पादन शुरु गरेका हाँै” खड्काले भन्नुभयो “भदौ अन्तिममा केन्द्रीय लाइनमा बिजुली जोड्ने तयारी छ ।” आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारण लाइन र दुईवटा सवस्टेशन बनाएको छ । कोवाङ र दानामा सवस्टेशन बनाएको हो । यो आयोजना धौलागिरि क्षेत्रमा हालसम्म सञ्चालन भएकामध्ये दोस्रो ठूलो हो । चार वर्षमा आयोजना निर्माण पूरा भएको हो । टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको एक हजार ८३३ मिटर सुरुङ र ७५० लामो पाइपमार्फत पानीलाई टर्बाइनमा खसालिएको छ । बेनी–जोमसोमसडकको टुकुचेखण्डभन्दा करिब ५०० मिटरभित्र आयोजनाको विद्युत्गृह छ । आयोजना निर्माणस्थल भौगोलिकरुपमा विकट क्षेत्रमा अवस्थित छ । रु दुई अर्ब ५६ करोडको लागतमा आयोजना निर्माण भएको प्रबन्ध निर्देशक भरत खड्काले जानकारी दिनुभयो । भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरेकोभन्दा रु १२ करोड लागत बढेको कम्पनीले जनाएको छ । भूकम्प, नाकाबन्दी र बैसरीको पहिरो तथा बेगखोलाको बाढीका कारण निर्माण सामग्री आपूर्तिमा समस्या हुँदा निर्माण अवधि एक वर्षपछि धकेलिएको प्रबन्ध निर्देशक खड्काले बताउनुभयो । आयोजनाले सर्वसाधारणका लागि रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ । शेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्ससँग सम्झौता गरेको छ । थापाखोलाबाट उत्पादित विद्युत् म्याग्दी हँुदै केन्द्रीय प्रसारण लाइनमा जोडिने भएकाले म्याग्दीमा भइरहेको अनियमित विद्युत् आपूर्तिको समस्या समाधान हुने अपेक्षा गरिएको छ । मिलनचोक सवस्टेशनको क्षमताले माग धान्न नसकेर तथा पर्वत—बागलुङ क्षेत्रमा प्रसारण लाइनमा खराबी आउँदा विद्युत् कटौती हुने समस्या थापाखोला जोडिएपछि समाधान हुने नेपाल विद्युत् प्राधिकरण बेनी शाखाले जनाएको छ । हाल चार एमभिए क्षमताको ट्रान्सफर्मर रहेको मिलनचोक सव स्टेशनमा आठ एमभिए क्षमताको ट्रान्सफर्मर जडानको तयारी भइरहेको बताउँदै केन्द्रका प्रमुख सीताराम शाहले थापाखोलाको विद्युत् केन्द्रीय प्रसारणमा जोडिएपछि म्याग्दीमा विद्युत् आपूर्ति सहज हुने जानकारी दिनुभयो ।

इन्जिनियर नआउँदा भूकम्पपीडितको आवास निर्माण प्रभावित

म्याग्दी, भदौ १५ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ । प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन् । जिल्ला समन्वय समिति म्याग्दीले गत आव २०७३÷७४ मा जिल्लामा ८६८ भूकम्पपीडितको पहिचान गरी पहिलो किस्ताबापत पहिलो चरणमा ६४५ पीडितलाई रु ५० हजारका दरले निजी आवास निर्माणका लागि रु तीन करोड २२ लाख ५० हजार अनुदान वितरण गरेको थियो । अहिले पहिलो किस्ता लिन बाँकी रहेका र प्रक्रिया पुगेका लाभग्राहीका लागि भन्दै जिससलाई थप रु तीन करोडको अख्तियारी आए पनि नापजाँच गर्ने इन्जिनियर प्राधिकरणले पठाउन सकेको छैन । बेनी नगरपालिका–१० का भीमराज दर्जीले घर बनाउनका लागि पहिलो किस्ताबापतको अनुदान रकम पाए पनि घर बनाउने कामका लागि प्राविधिक सहयोग नपाएको गुनासो गर्नुभयो । जिससका अनुसार, गत आवमा बेनी नगरपालिका क्षेत्रमा ३५९, रघुगंगा गाउँपालिकामा ३४, अन्नपूर्णमा ७३, मंगलामा १२६, मालिकामा ३५ र धौलागिरिमा १८ जना पीडितलाई अनुदान उपलब्ध गराइएको छ । लाभग्राहीलाई पायक पर्ने बैंकमार्फत अनुदान वितरण गरिएको थियो । अझै रघुगंगामा १११, अन्नपूर्णमा ४१, बेनी नगरपालिकामा ५८ र धौलागिरिमा १२ जना लाभग्राहीले पहिलो किस्ताबापतको अनुदान बुझ्न बाँकी छ । जिससका सूचना अधिकारी पदम भण्डारीले इञ्जिनियर खटाउन प्राधिकरणलाई पत्रमार्फत ध्यानाकर्षण गरिएको बताउनुभयो । जिससले सबै नगर तथा गाउँपालिकामा छुटेका भूकम्पपीडितको नाम समावेश गर्न वडा कार्यालयमार्फत काम गरिरहेको जनाएको छ ।

सुनसरीबाट एघार फरार अभियुक्त पक्राउ

इनरुवा, भदौ १५ । जिल्ला प्रहरी कार्यालयले बुधबार एघार फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र माताहतबाट खटिएको प्रहरीे टोलीले जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय पाई फरार रहेका कुटपिट र लुटपाट मुद्दाका तीनजना, जालसाजीका दुईजना, लेनदेनका दुईजना, गाली बेइज्जतीका एकजना, ज्यान मार्ने उद्योगका एकजना, बहुविवाहका एकजना र चोरी मुद्दाका एकजना गरी जम्मा ११ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । पक्राउ परेका सबै जनालाई आज जिल्ला अदालतमा उपस्थित गराइएको गराइएकोे छ ।

दूरसञ्चार कर्मचारी सङ्घको परिषद् बैठक चितवनमा हुने

चितवन, भदौ १५ । नेपाल दूरसञ्चार कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठक शुक्रबार र शनिबार चितवनमा हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी देशभरबाट २५० जना पार्षद् र करिब २५० जना नै अतिथि तथा पर्यवेक्षक बैठकमा सहभागी हुने जनाएको छ । सङ्घका महासचिव यादवप्रसाद पनेरुले समितिको मध्यवर्ती समीक्षा, बाँकी अवधिका लागि रणनीतिक कार्ययोजना र विधान संशोधन विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो । समसामयिक अवस्थामा कम्पनीका ग्राहकलाई सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउँदै कम्पनीलाई दूरसञ्चार क्षेत्रको प्रतिस्पर्धात्मक बजारमा अब्बल सावित गर्न संस्थाले तय गर्नुपर्ने व्यावसायिक कार्ययोजना र रणनीति सम्बन्धमा गहन छलफल गरी कम्पनीलाई ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो ।

आसमान नेपालद्वारा तीनहजार बाढीपीडितलाई राहत

राजविराज, भदौ १५ । सप्तरीमा हालै आएको बाढीबाट विस्थापित एवं प्रभावित क्षेत्रमा आसमान नेपालले तीन हजारभन्दा बढी बाढीपीडितलाई राहत वितरण गरेको छ । वल्डवाईड कनसल्ट तथा पिपुल इन निडको सहयोगमा आसमान नेपालले सप्तरीकोे हनुमानगर कंकालनी नगरपालिकाको वडा नं ५, ६, ७, ८, ९ र वडा नंं २ सकरदही, राजविराज नगरपालिकाको वडा नं ९ मलेठ र तिलाठी कोइलाडी गाउँपालिकाको सकरपुरालगायतका ठाउँमा करिब तीनहजार २०० बाढीपीडितलाई विभिन्न खाद्यान्न सामग्रीसहित राहत वितरण गरिएको आसमान नेपाल सप्तरीका संयोजक श्रवणकुमार देवले जानकारी दिनुभयो । उनीहरुमा प्रतिपरिवारलाई ३० केजी चामल, पाँच केजी दाल, एक केजी नुन, दुई केजी खानेतेल, दुई केजी चिनी, एक÷एक थान बाल्टिन र मग तथा एक थानका दरले झुल, दुई÷दुई थानका दरले नुहाउने साबुन र लगाउने साबुन तथा एकथान सेनिटरी प्याडलगायतका सामग्री वितरण गरिएको बताइएको छ । यस्तै, दलित जनजागरण सेवा समितिले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका गर्भवती तथा प्रसूति महिलालाई राहत वितरण गरेको छ । दलित जनजागरण सेवा समितिको आयोजना तथा वातावरणीय कृषि तथा विकास केन्द्र (केड) काठमाडौँको सहयोगमा कोइलाडी बसाईन चौकीमा आयोजित कार्यक्रममा सो गाउँपालिका वडा नम्बर १ देखि ९ का गर्भवती तथा सुत्केरी महिलालाई एक बोरा मुरही (भुजा) वितरण गरिएको छ । त्यस्तै, एकथान प्लाष्टिक, एकथान बाल्टिन, एक थान सुपानेट झुल, एकथान साबुन, एक थान ब्रस र पेष्ट र बदामको सत्तु आधा किलो तथा एक थान तन्ना, एक थान गम्छा बच्चाको भोटो एक थान, बेबी ब्ल्यांकेट एक थान तथा १३ घरधुरी दलित परिवारलाई छ बोरा चामलसमेत वितरण गरिएको बताइएको छ । तिलाठी कोइलाडीका १३१ जना गर्भवती र ४० जना सुत्केरी महिला तथा एकजना अपांग बालिका गरी १७२ जनालाई राहत वितरण गरिएको दलित जनजागरण सेवा समितिका अध्यक्ष जितु रामले जानकारी दिनुभयो ।

संविधानमा ‘हिन्दू राष्ट्र र बुद्धको जन्मभूमि’ लेख्न माग

काठमाडौँ, भदौ १५ । राष्ट्रिय शिव सेना पार्टीले मुलुकलाई वैदिक सनातन हिन्दूराष्ट्र र बुद्ध जन्मभूमि घोषणा गर्न माग गरेको छ । यहाँ बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष विक्रमबहादुर बमले नेपाललाई वैदिक सनातन हिन्दूराष्ट्र र बुद्धको जन्मभूमि भनेर संविधानको प्रस्तावनामा समावेश गर्नुपर्ने माग गर्नुभयो । मुलुकको विद्यमान राजनीतिक अस्थिरता र अन्योललाई दलहरुले निकाश दिन नसकेमा मुलुकको अस्तित्व नरहने बताउँदै उहाँले देश विभाजन, विखण्डन र विघटन हुनसक्ने खतरा औँल्याउनुभयो । अध्यक्ष बमले भन्नुभयो– “देशको राष्ट्रियता, स्वाभिमान जोगाउन जनताले चाहेमा संवैधानिक राजसंस्थालाई आलंकारिक रुपमा निरन्तरता दिनुपर्छ ।” यही भदौ २८ गते भष्ट्राचारका विरुद्धमा काठमाडौँमा विभिन्न दबाबमूलक कार्यक्रम गरिने बताइएको छ । विभिन्न पार्टी परित्याग गरी सो पार्टीमा करिब ४० जना प्रवेश गरेका थिए ।

पाँचथरबाट ३० करोड रुपैयाँभन्दा बढीको तरकारी निर्यात

पाँचथर, भदौ १५ । गत आर्थिक वर्षमा पाँचथरबाट ३० करोड रुपैयाँभन्दा बढीको तरकारी निर्यात भएको छ । जिल्ला कृषि विकाश कार्यालय पाँचथरका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३० करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरको तरकारी निर्यात भएको हो । कार्यालयका कृषि प्रसार अधिकृत सागर विष्टले अघिल्लो आर्थिक वर्ष २०७२÷७३ को तुलनामा १२ प्रतिशतले ताजा तरकारी निर्यात भएको जानकारी दिए । जिल्लामा उत्पादित साग, काउली, गोलभेडा, काउली, मूला, करेलालगायतका तरकारी निर्यात भएको हो । २ हजार १ सय ७० हेक्टरमा लगाइएको तरकारी २ हजार ४ सय १५ मेट्रिक टन उत्पादन भएको थियो । पाँचथरमा उत्पादित तरकारी झापाको विर्तामोड, दमक, काँकडभिटा तथा काठमाडौंमा निर्यात हुने गरेको छ । किसानले व्यावसायिक तरकारी खेती गर्न थालेपछि निर्यात सम्भव भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरका कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिए । कार्यालयले किसानलाई व्यावसायिक तरकारी खेतीमा सहयोग गर्दै आएको छ ।

माओवादी केन्द्रको तेह्रथुम जिल्ला कमिटी विघठन

तेह्रथुम, भदौ १५ । नेकपा माओवादी केन्द्रको तेह्रथुम जिल्ला कमिटी भंग भएको छ । जिल्लादेखि केन्द्रीय कमिटीसम्म अस्वाभाविक लाग्ने गरी ठूलो र भद्दा कमिटी बनाउँदा पार्टीका गतिविधि र संगठन नै कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै माओवादीले जिल्ला कमिटीलाई विघठन गरेको हो । २ सय ५१ सदस्यीय जिल्ला कमिटी विघठन गरेर ५१ सदस्यीय नयाँ कमिटी गठन गरिएको इन्चार्ज दुर्गाप्रसाद चापागाईले जानकारी दिए । नवगठित जिल्ला कमिटीको संयोजकमा प्रकाश इम्सङ र सहसंयोजकमा गणेशकुमार सेनलाई चयन गरिएको माओवादीले जनाएको छ ।

प्रहरीलाई नै नक्कली सुन बेच्न खोज्दा… पक्राउ

  काठमाडौं ,भदौ १५ ।  प्रहरीलाई नै नक्कली सुन बिक्री गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । रामेछापका मोहनकुमार तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । महाशाखाका प्रहरी सुन्न किन्न ग्राहक बनेर गएका थिए । तामाङले सुनजस्तो पहेँलो धातु देखाउँदै एक किलो सुन रहेको र सस्तोमा बिक्री गर्ने भन्दै लोभ्याएका थिए । उनी नक्कली सुन देखाएर ठगी गर्ने व्यक्ति भएको सूचना पाएपछि प्रहरीले ग्राहक बनेर गई मंगलबार बाँसबारी गंगालाल अस्पतालअगाडिबाट उनलाई पक्राउ गरेको हो । सस्तोमा सुन तथा डलर बिक्री गर्ने भन्दै एकान्तमा बोलाई नक्कली सुन र नक्कली डलर दिएर ठगी गर्ने गिरोह राजधानीमा सक्रिय रहेको महशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । कतिपय त्यस्ता समूहले एकान्तमा भेट्न बोलाएर लुटपाटसमेत गरेकाले सचेत हुन प्रहरीले आग्रह गरेको छ । चोरेर भाग्दाभाग्दै पक्राउ  नागार्जुनमा चोरी गरेर भाग्दाभाग्दै दुई युवकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । दोलखा सैलुङका वीरबहादुर श्रेष्ठ र दावा तामाङलाई चोरी गरी भाग्दै गर्दा घर फुटाउन प्रयोग हुने औजारसहित मंगलबार पक्राउ गरिएको हो । नागार्जुनको देवनगरस्थित नवराज अधिकारीको घरको मूलगेटको लक र दुईवटा कोठाको ढोका फुटाई दराजमा रहेको सुनको गहना र ल्यापटप चोरी गरेर भाग्दाभाग्दै उनीहरू फक्राउ परेका हुन् । –नयाँ पत्रिकाबाट 

माओवादी मधेसी नेता चोर्दै

  काठमाडौं, भदौं १५ । मधेसवादी राजनीतिका जग हालेका नेपाल सद्भावना पार्टीका दुई जना नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने केहि नेताहरु प्रवेश गर्ने क्रममा छन् । निर्वाचनको मुखमा आएर आफ्नो र परिवारका राजनीतिक सुरक्षित गर्न दुवै जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नसपाका संस्थापक महामन्त्री अनिस अन्सारी मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रममा माओवादीमा प्रवेश गरेका छन् भने बुधबार सर्लाहीमा आयोजित कार्यक्रममा तत्कालीन नेसपाका नेता र हाल नेपाल लोकतान्त्रिकमा फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव माओवादीमा प्रवेश गरेका छन् ।-नेपाल समाचारपत्रबाट