सूर्यदर्शन सहकारी ठगी कान्ड : रास्वपा सभापति लामिछानेविरुद्ध अनुसन्धान सुरु

कास्की । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दर्ता भएपछि प्रहरीले थप व्यक्तिहरुविरुद्ध अनुसन्धान सुरु गरेको हो ।

कास्कीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाका अनुसार प्रहरीका पूरक जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको हो ।

सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, लेखनाथका व्यवसायी नेत्रपाणि बास्तोला, सहकारीकै पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन लगायतविरुद्ध जाहेरी परेको छ । पीडितहरुले १४ संस्थाहरुविरुद्ध पनि जाहेरी दिएका छन् ।

सहकारीका सञ्चालक जिबी राईको समूहले गैरकानुनी तवरले सूर्यदर्शनबाट अरु विभिन्न संस्थामा रकम पठाउने, ऋण दिने गरेकाले ती संस्थाविरुद्ध पनि अनुसन्धान गर्नुपर्ने माग छ ।

पोखरा महानगरको सहकारी शाखाको प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारी ठगी कान्डमा यसअघि नै १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । महानगरको सहकारी शाखाको प्रतिवेदनले सभापति लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको औंल्याएको छ ।

काठमाडौंमा रहेको ग्यालेक्सी टिभीका अध्यक्ष रहेका जीबी राईसहितको समूहले सूर्यदर्शनको एक अर्ब ३५ करोड हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यसअघि नै जाहेरी परेका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा चार जना प्रक्राउ परेका छन् भने बाँकी फरार छन् ।

सूर्यदर्शनका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र सञ्चालक समिति सदस्य भविश्वर अर्याल अहिले पुर्पक्षका लागि थुनामा छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपियाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका पूर्वअध्यक्ष जीबी राई लगायतको विरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ । इन्टरपोलले माघ १२ गते सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी गरिसकेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक बदल रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस रहेको थियो । विभागले दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन्। चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन्। चन्दले राजीनामा दिएपछि प्रहरी महानिरीक्षक कुँवरले उनलाई छलफलका लागि बोलाएका थिए। आईजी कुँवर निकट स्रोतका अनुसार आइजीसँगको छलफल पछि चन्दले राजीनामा फिर्ता लिएका हुन् । आईजी कुँवर र डिआईजी चन्द्र ब्याजी हुन् ।

आपतकालीन सेवाका लागि एकीकृत प्रणाली विकास गरिने

काठमाडौं। अफ्ठेरोमा परेका व्यक्तिले मोवाईल वा टेलिफोनबाट सूचना पठाएपछि सो सूचना केन्द्रीय प्रणालीमा पुग्ने र आवश्यक आपतकालीन सेवा लिन सक्ने गरी एकीकृत प्रणाली विकास गरिने भएको छ। सो प्रणाली अन्तरगत एम्बुलेन्स, दमकल, प्रहरी सेवा, प्रारम्भिक स्वास्थ्य जस्ता सेवा एकीकृत रुपमा उपलब्ध गराइने छ। तर तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी सेवा समावेश गरिने छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा आज गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले आपतकालीन सहायता सेवा प्रवाहका सम्बन्धमा १५ दिन भित्र अवधारणापत्र र कार्ययोजना पेश गर्न एक कार्यदल गठन गरेको छ। विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा गठन गरिएको ११ सदस्ययीय कार्यदलमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरीका एक-एक र नेपाल प्रहरीका दुईजना प्रतिनिधी रहेका छन। सूचना तथा संचार विज्ञ विजय गौतम समेत कार्यदल सदस्य छन्। अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बरहरू प्रयोगमा छन्। तर नयाँ सेवा सुरु भएपछि सबै नागरिकले एउटै नम्बर प्रयोग गरेर आफूलाई परेको समस्या केन्द्रीय प्रणालीमा पठाउन सक्नेछन्। केन्द्रीय सूचना प्रणालीले प्राप्त सूचनालाई तत्कालै सम्बन्धित निकायमा पठाउने छ। आपतकालीन सेवा प्रवाहका लागि विभिन्न उपप्रणालीहरू समेत प्रयोगमा ल्याइने गृहमन्त्रालयले जनाएको छ ।

अरुण चौधरीसहित तीनजनालाई थप तीन दिन हिरासत राख्न अदालतको अनुमति

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका उद्योगपति अरुण चौधरीसहित तीनजनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सीआईबीले थप अनुसन्धानका लागि समय माग गरेका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले चौधरीलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको चौधरीका पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए । सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा।लि।का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । बाँसबारी छालाजुत्ता उद्योगको जग्गा प्रक्ररणमा पक्राउ परेका तीनैजना स्वास्थ्यको कारण देखाई ग्रान्डी अस्पतालमा छन् । प्रहरीले उनीहरूलाई सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको रोहवरमा बयान गरेको थियो ।

इच्छाराज तामाङको जफत एक अर्ब ७२ करोड रकम सहकारी पीडितको बचत खातामा फिर्ता गरिने

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्धामा दोषी ठहर भएका पूर्वसांसद एवं सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय हुने भएको छ। ७ माघमा सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका तामाङलाई आइतबार विशेष अदालतले तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवानाको सजाय सुनाएको हो। उनले सवा तीन अर्ब रुपैयाँभन्दा धेरै सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर छ। अदालतको फैसलाबमोजिम उनीहरूको सम्पत्ति जफत भएमा त्यो सम्पत्ति सहकारीका पीडितहरू बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग हुने भएको छ । इच्छाराजसँगै दोषी ठहर भएका उनकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठको पनि अदालतले सजाय निर्धारण गरेको छ। सिर्जना शाक्यलाई एक अर्ब तीन ३ करोड रुपैयाँभन्दा बढी जरिवाना र १ वर्ष ६ महिना कैद तथा श्रेष्ठको हकमा २५ करोड ६५ लाख रुपैयाँभन्दा बढी जरिवाना र १ वर्ष ६ महिना कैद हुने ठहर भएको छ। इच्छाराज तामाङ, सिर्जना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न विशेष अदालतले आदेश गरेको छ। इच्छाराजका छोरीहरू प्रतीक्षा र प्रतिष्ठाले भने अदालतबाट सफाइ पाइसकेका छन्।

सामाजिक सुरक्षा कोषमा मधेस प्रदेशका ४७ स्थानीय तह आवद्ध

धनुषा । मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आइतबार समझदारीपत्रमा हस्ताक्षर गरे । मन्त्री भण्डारीले संविधानमा व्यवस्था भएको जनताको रोजगारीसम्बन्धी हक कार्यान्वयन गर्न र जनतालाई रोजगारी तथा स्वास्थ्य सेवासम्बन्धी न्यूनतम अधिकार सुनिश्चित गर्न स्थानीय तहहरुले सामाजिक सुरक्षा कोषसँग समझदारी गरेर अघि बढेको बताए । उनले कोषको दायरा फराकिलो पार्न जनकपुर क्षेत्रमा कोषको सम्पर्क कार्यालय तत्काल स्थापना गर्न लागिएको जानकारी दिए । रासस

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्ने दौडमा २५ जना (नामावलिसहित)

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्ने दौडका प्रतियोगी २५ जना पुगेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १४ माघमा खुलाएको दरखास्त आह्वानको अन्तिम दिन आइतबारसम्म कूल २५ जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ । यसरी आवेदन दिनेमा मैनेजरप्रसाद कानू, रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय लगायत छन् । त्यस्तै, साझा प्रकाशनका पूर्व जिएम डोलेन्द्रप्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरेन्द्र राज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी र श्रीकृष्ण सुवेदीले पनि अध्यक्ष बन्न इच्छा जाहेर गरेका छन् ।साथै, आवेदन दिनेमा भुपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनाल पनि छन् । तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्न २४ पुसमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा समिति गठन भएको थियो । हाल प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी बोर्ड सदस्य नवराज अधिकारीलाई दिइएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ : यस्तो छ तयारी

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । भ्रमण वर्षको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा अहिले ल्याण्ड फिलिङ गरी दुबो लगाउने काम भइरहेको छ । किनारमा सरसफाईको थप आर्कषक बनाउन सरसफाई पनि गरिएको छ । भ्रमण वर्षलाई लक्ष्ति गर्दै पुलचोक गोन्द्राङ ६ लेन सडकको निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइएको छ । निर्माण कम्पनीले एक पत्रे कालोपत्रे सम्पन्न हुने गरी कार्यलाई युद्धस्तरमा काम गरिरहेको छ । भ्रमण वर्षमा भरतपुर आउने पाहुनालाई स्वागत गर्न विभिन्न ५ वटा पोइन्टमा स्वागतद्धारा निमार्ण गर्न लागिएको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिए। यस्तै उद्घाटन समारोहका लागि आर्कषक स्टेज निर्माण गरिने महानगरले जनाएको छ । फागुन १८ गते अर्थात् कार्यक्रम उद्घाटन हुने दिन करिब ५० हजार जना नारायणी किनारमा ल्याउने तयारी गरिएको छ । कार्यक्रमको प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन्। विभिन्न जात जाति, सँकृति, भेषभुषा, बाजा गाजासहितको ¥याली पनि निकाल्ने कार्यक्रम तय भएको छ। यसका लागि वडागत रुपमा पत्रचार पनि गरिएको छ । सबैभन्दा बढी सहभागी ल्याउने वडालाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । भरतपुरका २९ वटा वडामा सरसफाई तथा वृक्षरोपणका लागि पत्रचार पनि गरिएको छ । यसअघि भ्रमण वर्ष सफल बनाउन मुल समितिसहित २९ वटा उपसमितिहरु गठन गरिएको छ ।भरतपुर भ्रमण वर्षमा आउने पर्यटकको मुख्य रोजाई चितवन राष्ट्रिय निकुञ्जमा जङगल सफारी, हात्ती सफारी, जीप सफारी, डुङ्गा सफारी, प्याराग्लाईडिङ, धार्मिक स्थलमा पुजापाठ हुने अनुमान गरिएको छ । यसका लागि सम्बन्धी ठाँउमा पूर्वाधारहरु तयार पारिएको छ । भ्रमण वर्षमा जङ्गल सफारी जाँदा बाघ र गैँडा देख्न नसकेका पर्यटकलाई भरतपुर ६ को देवनगरमा ओपन जु अर्थात बाघ र गैँडालाई प्रत्यक्ष अवलोकन गर्न मिल्ने व्यवस्था मिलाइएको छ । यस्तै भरतपुरको आँपटारीमा रहेको शीतकालिन दरबार दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला गर्न लागिएको छ । दरबारको स्तरोन्नती गर्न बोलपत्र आह्वान भई फागुनको पहिलो साताभित्र काम सक्ने लक्ष्यका साथ काम अघि बढेको छ । भ्रमण वर्षमा राप्ती र नारायणीको तटिय क्षेत्रमा बास बस्न मन पराउने पर्यटकका लागि नयाँ १०० वटा भन्दा बढी होमस्टेहरु सञ्चालनमा आइसकेका छन् ।भ्रमण वर्षलाई थप मनोरञ्जनात्मक बनाउन निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न साँकृतिक कार्यक्रमहरु आयोजना हुने छन् । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने महानगरले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भरतपुरतर्फ ध्यान केन्द्रीत गराउन नेपाल सरकारको मन्त्रिपरिषदको एउटा बैठक भरतपुरमा बसाउन पहल भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्। यस्तै भ्रमण वर्षलाई थप चुस्तदुरुस्त बनाउन सुरक्षा निकायसँग पटक पटक छलफल गरिएको छ । पर्यटकको बसाँईलाई स्मरणीय तथा यादगर बनाउन चितवनका होटल व्यवसायीलाई गुणस्तरी सेवा प्रवाह गर्नुका साथै प्याकेजको व्यवस्था गर्न अनुरोध गरिएको छ ।

ठमेलमा चिनियाँ नागरिक मृत फेला, के होला कारण ?

काठमाडौँ । काठमाडौँको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् ।काठमाडौँ–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, १० माघदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका उनी शनिबार मृत अवस्थामा फेला परेका हुन् । प्रहरी स्रोतका अनुसार, हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण देखिएको छैन । उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको छ ।

जुम्लामा हिउँ पर्यो : किसानले लगाएको हिउँदे बालीनालीलाई राहत

जुम्ला । आज बिहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको स्थानीयहरुले बताएका छन् । तर हिउँ पर्न थालेपछि बढेको अत्यधिक जाडोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । निजी विद्यालयमा पठनपाठन बन्द भएको छ । अहिले लगातार हिउँ परेको छ । सरकारी कार्यालय खुलेपनि सेवाग्राही सेवा लिन नआएको तिला गाउँपालिकाले जनाएको छ । जिल्लाको तापक्रम ‘माइनस’ मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिउँ परेपछि सदरमुकाम खलङ्गाको बजार बन्द भएको छ । यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन् । हिमपातका कारण हिउँदे बालीलाई निकै राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका एक कृषि प्राविधिकले बताए । स्याउका नयाँ बिरुवा लगाउने समय पनि भएकाले हिउँ पर्दा सहज भएको उनको भनाइ छ । हिमपातपछि कर्णालीको हवाई सेवा अवरुद्ध भएको छ

आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा महानगरले चलायो डोजर

काठमाडौँ । सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । काठमाडौँ महानगरपालिका-१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरीका अनुसार १४ वटा टहरा भत्काइरहेको छ । अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्छाका सामान, फर्निचर लगायत सामानहरू हटाएर डोजर चलाउने काम भएको बताइएको छ।

सभामुख र प्रमुख सचेतकहरूबीच छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूबीच छलफल जारी छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा कानुनमन्त्री धनराज गुरुङ र उपसभामुख इन्दिरा राना पनि सहभागी छन्। बैठकमा संसद्को हिउँदे अधिवेशनको बिजनेस, क्यालेन्डर, प्रि–बजेटलगायतका विषयमा छलफल हुन लागेको बताइएको छ।

चौधरीलाई पक्राउ गर्नुअघि तीन महिना अनुसन्धान गरेको सीआईबीद्धारा जानकारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन महिनाको अनुसन्धानपछि व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको जानकारी गराएको छ । व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला सीआईबीको यस्तो प्रष्टोक्ति आएको हो । बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीहरुले आपत्ति जनाएका थिए । उनीहरुलाई बिनाअनुसन्धान पक्राउ गरेको भन्दै व्यवसायीले आपत्ति प्रकट गरेका थिए । तर, शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरी र थापासहितलाई पक्राउ गरेको जनाएको हो । पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले तीन महिनाको अनुसन्धानपछि बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिएका हुन् । च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत सेयर अरुण चौधरी समूहले खरिद गरेको पाइएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर अरुण समूहले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको थियो ।

रास्वपाको संसदीय दल बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन् । संसदको हिउँदे अधिवेशन माघ २२ गतेका लागि आह्वान भएको छ । उक्त अधिवेशनबारे छलफल गर्नको लागि संसदीय दलको बैठक बोलाइएको उपसभापति अर्यालले बताए । यसैबीच रास्वपाले माघ २१ गतेबाट अलपत्र योजनामा दबाब यात्रा गर्ने पनि तयारी गरिरहेको छ । यस विषयमा पनि संसदीय बैठकमा छलफल हुने छ ।

मध्यपहाडी लोकमार्ग हिउँले अवरुद

रुकुमपूर्व । हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि परेको हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन् । मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना क्षेत्रको झण्डै १९ किलोमिटर सडकमा बाक्लो हिउँ जमेको छ । बिहीबार दिनभरिजसो हिमपात भएपछि सडक खुलाउन सकिएन । आज सडकमा जमेको हिउँ पन्छाउने तयारी भइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । सडक अवरुद्ध भएपछि बिहीबार काठमाडौँबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिएका छन् । अलपत्र परेका यात्रुलाई प्रहरी र प्रशासनको गाडीमार्फत उद्धार गरेर रुकुमकोट ल्याइएको छ । हिउँ परेपछि शहीदमार्ग पनि अवरुद्ध भएको छ । भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकाको सिमाना रिकालेकदेखि हुकामसम्मको सडकखण्ड अवरुद्ध छ । हिउँ परेपछि पुथा उत्तरगङ्गा गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ । यस क्षेत्रमा फोन सेवासमेत ठप्प छ ।