जग्गा प्राप्तिका लागि निवेदन दिन सुकुम्बासीलाई आग्रह (सूचनासहित)

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरेको छ । निवेदन ३५ दिनभित्र दिनुपर्नेछ ।

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रयोजनका लागि निवेदन दिन आह्वान गरेको हो ।

आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी आजदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत् पेस गर्नु पर्नेछ ।

अख्तियारमा भ्रष्टाचारका उजुरी दर बढ्यो, फर्छ्योट दर घट्यो

काठमाडौं । सरकारी निकायमा हुने भ्रष्टाचार तथा अनियमितताको अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो समय उजुरी बढेको छ भने ती उजुरीको फर्छ्योट दर भने निकै सुस्त देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म १२ हजार ७२ उजुरी फर्छ्योट हुन बाँकी रहेको अख्तियारले आफ्नो ३३ औँ स्थापना दिवसका अवसरमा आज आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । आयोगका अनुसार २०८०–८१ को दोस्रो त्रैमासिकसम्म भ्रष्टाचारसम्बन्धी ४ हजार ८ सय ५९ वटा उजुरी परेका छन् । पहिलो त्रैमासिकमा ८ हजार र गत आवबाट जिम्मेवारी सरी आएका ९ हजार २६८ गरी यस अवधिसम्ममा २२ हजार १२७ उजुरी रहेको अख्तियारले जनाएको छ । चालु आवको पुस मसान्तसम्म १० हजार ५५ उजुरी फर्छ्योट भएको र १२ हजार ७२ उजुरी छानबिनको क्रममा रहेको आइतबार राजधानीमा आयोजित अख्तियार स्थापना दिवसमा जानकारी दिइयो । आयोगले पुस मसान्तसम्ममा ९३ जनालाई प्रतिवादी बनाई २८ वटा आरोपपत्र विशेष अदालतमा दायर गरेको छ । उनीहरुसँग ३१ करोड ६७ लाख रुपैयाँ मागदाबी लिइएको छ । प्रतिवेदनअनुसार यस अवधिमा १३७ वटा उजुरी विस्तृत अनुसन्धानमा गएका छन् भने १ हजार ३४५ वटा उजुरी कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको छ । यस्तै, ९४५ वटा उजुरी सम्बन्धित अन्य उजुरीमा गाभिएको र २ हजार ७२९ वटा उजुरी तामेलीमा पठाइएको छ । विभिन्न क्षेत्र अनुसार यस्तो छ मुद्धाको विवरण संघ, प्रदेश र स्थानीय तहका उजुरी संघ ३६ प्रतिशत प्रदेश १३ प्रतिशत स्थानीय तह ५१ प्रतिशत प्रदेशगत आधारमा उजुरी (प्रतिशतमा) कोशी १०.८४ मधेश १५.८८ बागमती १६.६७ गण्डकी १०.५ लुम्बिनी १४.६१ कर्णाली १४.७० सुदूरपश्चिम १७.२५

भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा सरकारकाे विरोध गरियो : कानुनमन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा सरकाको विरोध मात्रै हुने गरेको बताएका छन् । नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आइतबार चितवनमा गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले भने, “न्यायालय स्वतन्त्र हुनुपर्छ । स्वतन्त्र रहेको भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न पाउनु हुँदैन ।” वर्तमान गठबन्धनको सरकार भएपछि मुलुक अफ्ठ्यारो अवस्थाबाट ट्रयाकमा आउन खोजेको पनि बताए । वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण रहेपनि वर्तमान सरकार भएपछि मुलुक अफ्ठ्यारो अवस्थाबाट ट्रयाकमा आउन खोजेको तर पूरै राम्रो भने भइसकेको छैन, उनले भने । उनले सहकारी पीडितका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन गरिरहेको बताउँदै राजनीतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुट दिने नगर्ने स्पष्ट पारे । कांग्रेसका उपसभापति मन्त्री गुरुङले समुदायमा कांग्रेस अभियानका क्रममा देखिएको निराशाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

तीन तहकै सरकारमा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी बढे : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीयता कार्यान्वयनपछि तीन तहकै सरकारमा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य संख्यामा उजुरीहरू परेको बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३औँ स्थापना दिवसको अवसरमा बोल्दै आयोगका अध्यक्ष प्रेमकुमार राईले यस्तो बताएका हुन् । उनले देशमा सुशासनको अवस्थामा अपेक्षित सुधार हुन नसकेको गुनासो जनताको तहमा व्याप्त रहेको बताए । संघीयता कार्यान्वयनपश्चात हालसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्नेसम्बन्धी उल्लेख्य संख्यामा उजुरीहरू आयोगमा पर्ने गरेको बताए । उनले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अबण्डा रकम राखी आर्थिक वर्षको बीचमा बाँडफाँट गर्ने, मिलेमतोमा आयोजना छनौट गर्ने, कार्यक्रम सञ्चालन नगरी भुक्तानी लिने÷दिने, आफूलाई तोकिएको कार्य समयमै पूरा नगर्ने, जिम्मेवारी र जवाफदेहिता नलिने, निर्णय नगरी थन्काएर राख्ने जस्ता प्रवृत्तिहरू देखिएको पनि बताए ।

फोटोपत्रकार वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन

काठमाडौं । गोरखा घरभइ काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरुको सस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवशनले पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् । यस्तै, सुदिप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव वि।क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन् । आजको अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए । नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले बरिष्ठ पत्रकारहरु रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुसिल अर्याललाइ पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । आजको बैठकले गोर्खाली पत्रकारहरुको क्षमता अभिबृद्धीका लागि गम्भिर रुपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रहरुको उजागर गर्नको लागि मद्धत गर्ने निर्णय पनि गरेको छ । यसअघि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बरिष्ठ पत्रकार दाहालले एकताबद्ध भएर काम गर्न सके सस्थाले गोर्खाका पत्रकारहरुको लागि धेरै योगदान पु¥याउन सक्ने धारणा राखे । यस्तै उनले अबको समय पत्रकारिताको मात्रै नभएर खोज पत्रकारिताको भएको भन्दै अध्ययनशिल बन्न पत्रकारहरुलाइ सुझाब दिए । अर्का बरिष्ठ पत्रकार सुसिल अर्यालले गोर्खाली पत्रकारहरुले गोरखाका ऐतिहासिक, सास्कृतीक पहिचान स्थापित हुने खालका समाचारहरु खोज्ने तथा लेख्नुपर्नेमा जोड दिए । गोरखाका अग्रज पत्रकारहरु बद्री पोखरेल, भरत ढकाल, बिबेक रेग्मी, अमृत दाहाल लगाएतले गोरखाको समग्र बिकास र गोरखाका पत्रकारहरुको क्षमता अभिबृद्धीमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वन्तले गोरखामा रहेका तथा काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका सबै पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नमा आफूले सक्दो कोशिश गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कुनै पनि दल तथा बैचारिक बिचारधारमा बिभाजित नभइ गोरखा र गोरखाको पत्रकारिताको विकासका खातिर जुटेर लागिरहने बचन दिँदै एक भएर अघि बढ्न सबैलाइ आह्वान समेत गरे । गोरखा पत्रकार समाज गोरखाबाट काठमाडौं आएर बिभिन्न सञ्चार माध्यममा आबद्ध भइ पत्रकारिता गरिरहेकाहरुको सस्था हो । सस्था २०७७ सालमा दर्ता भएर क्रियाशिल रुपमा अघि बढिरहेको छ ।

गरिबलाई परिचयपत्र वितरण गरिँदै

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरुको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताएकी छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको बताइन् । मन्त्री चौधरीले भनिन्, ‘गरिब पहिचान गर्दै परिचयपत्र वितरणको काम भइरहेको छ । यसलाई अझै प्रभावकारी रुपमा अघि बढाइने छ । गरिबी निवारणका लागि सरकारले प्रभावकारी रुपमा काम गरिरहेको छ ।’ भूमि आयोगबाट हुनुपर्ने काम भइरहेको बताउँदै उनले सुकुम्बासीहरुलाई चाँडै नै जग्गा उपलब्ध गराइने जानकारी दिइन् ।

रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन

काठमाडौँ । पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन् । यसैगरी कन्सुलर सेवा विभागमा करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन् । यसबाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन । मन्त्रालयले हालसम्म गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गङ्गाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी प्राप्त भएको जनाएको छ । यसैगरी, रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन् । यस्तै, रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ । रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए । साथै उनले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको बताए । मन्त्रालयले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारलाई अनुरोध गरेको छ । गत महिना युगाण्डाको कम्पालामा सम्पन्न ‘नाम’ सम्मेलनमा भेट भएका रुसका सहायक विदेश मन्त्रीसँग नेपाल सरकारका प्रतिनिधिले रुसी सेनामा नेपालीलाई भर्ना रोक्न र स्वदेश फर्काउनका लागि कुरा गरेको मन्त्रालयले जनाएको छ । नेपाली युवा रुसी सेनामा भर्ना भएका भन्ने सूचना सार्वजनिक भएपछि मन्त्रालयले गत साउन १६ गते पहिलो पटक प्रेस विज्ञप्तिमार्फत परम्परागत रुपमा रहेको सम्झौताअन्तर्गत केही मित्र राष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेको थियो । त्यसैगरी मन्त्रालयले सरकारी कामकाज, रुस सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने ‘नो अब्जेक्सन लेटर’ ९एनओसी० लिएर मात्र यात्रा गर्न अपिल गरेको छ । कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन मन्त्रालयले अनुरोध गरेको छ । उपरोक्त व्यवस्थालाई विस्तार गरी हाल भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, कतार, ओमान र बहराइनबाट समेत रुस यात्रा गर्नुपरेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरुबाट जारी गरिने ‘एनओसी’ लिएर मात्र यात्रा गर्न मन्त्रालयले अपिल गरेको छ । नेपाल सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको सङ्ख्या, घाइते नेपालीको सङ्ख्या तथा उनीहरुको अवस्थाका बारेमा रुस सरकारबाट आधिकारिक रुपमा यथाशीघ्र जानकारी गराउन स्पष्ट अडान राखे पनि हालसम्म यस सम्बन्धमा यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन् । हाल परराष्ट्रमन्त्री एनपी साउद अष्ट्रेलिया र न्यूजिल्याण्डको भ्रमणमा रहेको र उनी स्वदेश फर्केलगत्तै यस विषयमा कार्यक्रम गर्ने योजना रहेको प्रवक्ता राईले जानकारी दिए । पछिल्लो समय रुस–युक्रेन युद्ध चर्किदै गएपछि र ‘रेडजोन’मा पठाउन थालेपछि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकले आत्तिएर आफन्तमार्फत उद्धारको याचना गर्ने गरेका छन् । यही वर्षको दशैँलगत्तै रुसी सेनामा भर्ना हुन गएका एक नेपालीका आफन्तले कहिले सम्पर्क हुने र कहिले नहुने गरेको दुःखेसो पोख्दै उद्धारका लागि आग्रह गरेका छन् । सन् २०२२ फेब्रुअरी २४ देखि रुस र युक्रेनबीच युद्ध जारी छ ।

भरतपुरका ४ वटा वडामा ३ किमी मेसजाली निर्माणको कार्य सुरु

चितवन । वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका ४ वटा वडामा मेसजाली निर्माणको कार्य सुरु भएको छ । निर्माण कार्यको शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको शिलान्यास गरेकी हुन् । भरतपुर वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउन मिल्ने स्थानमा सुरुवाती चरणमा मेषजाली निर्माण काम हुनेछ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संघ र महानगरको २÷२ करोड गरी रु ४ करोडको परियोजना अन्तर्गत पहिलो चरणमा रु २ करोड ७९ लाखको काम सुरु भएको बताइन् । ‘घटिघटावबाट अब रु १ करोड ८० लाख रुपैयाँ छ,उनले भनिन् ,‘छुटेको स्थानमा तत्काल सर्भे गरी नयाँ टेण्डर खुल्छ । मेषजाली निर्माणले वन्यजन्तुको जोखम अन्त्य हुने विश्वास लिएका छौ।’ प्रमुख दाहालले भरतपुरका वडा नम्बर ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको बताइन् । यी वडा मध्ये सबैभन्दा उच्च जोखिम रहेको वडाबाट कामको थालनी गरिएको प्रष्ट पारिन् । वन क्षेत्र नजिक भएका वडामा वन्यजन्तुसँगै बाढीको पनि उतिकै जोखिम रहेको भएपनि नारायणी र राप्तीको तटबन्धन निर्माण भएसँगै यहाँको प्रमुख समस्याहरु समधान भएर जाने उल्लेख गरिन्। प्रमुख दाहालले पश्चिम चितवनवासीको माग अनुसार मेघौली विमानस्थलको स्तरोन्तीको कार्य पनि सुरु भइसकेको र विमानस्थलको क्रमिक रुपमा व्यवस्थापनको कार्य अगाडि बढाइने बताइन् । मेसजाली निर्माणको कार्यका लागि ४ वटा वडाको दक्षिणतर्फ जंगलको सिमानामा २ करोड ७९ लाख २ हजार सरचालिस रुपैयाँमा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यले जानकारी दिए। मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण गर्न चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीसँग जोडिएको खुला क्षेत्रमा पहिलो चरणमा करिब ३ किलोमिटर मेषजाली निर्माण गरिने ईन्जिनियर आचार्यले जानकारी दिए। गोले सनसाईन जेभि सुकेधारा काठमाडौँले २०८१ असार १५ गतेभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ ।पश्चिम चितवनका तटिय क्षेत्रसँग जोडिएको वस्तीमा हात्ती, गैँडा, बदेललगायतका जनवारले वर्षेनी ठुलो जनधनको क्षति पुराउदै आएको छ ।

राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका हु्न् । सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्याल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गरेका छन् ।

चितवनमा बस दुर्घटना २० जना घाइते, दुईको अवस्था गम्भीर

भरतपुर । चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए । रासस

नयाँ दलले लोकरिज्याइँको राजनीति गर्दै संविधानमाथि प्रहार गरे : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलबाट संविधानमाथि प्रहार भइरहेको आरोप बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले निर्वाचनमा भाग लिएको जस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनलाई मेटाउने काममा लागेको बताए। उनले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिज्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए । उनले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझेलमा पार्ने काममा लागेको बताए । महामन्त्री थापाले नेपाली कांग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताए । अहिले सुशासनलाई मन्त्र बनाएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

कोशीमा चार मन्त्री र दुई राज्यमन्त्रीको शपथ सरकारले पायो पूर्णता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। मुख्यमन्त्री कार्कीले शुक्रबार नेपाली काँग्रेसबाट दुई मन्त्री तथा दुई राज्यमन्त्री र नेकपा (माओवादी केन्द्र) बाट दुई मन्त्रीलाई नियुक्त गरी सरकारलाई पूर्णता दिए। मुख्यमन्त्रीले नेपाली काँग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री नियुक्त गरे भने इन्दिरा थापा र सुनिताकुमारी गुरुङलाई राज्यमन्त्री नियुक्त गरे। यसैगरी नेकपा माओवादी केन्द्रबाट नारायणबहादुर बुर्जामगर र राजेन्द्रकुमार कार्की मन्त्री नियुक्त भए। नवनियुक्त मन्त्री सुनुवारलाई स्वास्थ्य मन्त्रालय, खत्रीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, बुर्जा मगरलाई सामाजिक विकास मन्त्रालय र कार्कीलाई खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यस्तै मुख्यमन्त्री कार्कीले समानुपातिक तर्फका सांसद इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनसरीका सांसद सुनिताकुमारी गुरुङ (राम)लाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले र राज्यमन्त्रीलाई मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ गराए। शुक्रबार विस्तारसँगै कोशी प्रदेशको मन्त्रिपरिषद १० सदस्यीय भएको छ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । माओवादीको स्थायी कमिटी बैठक शुरु भएको छ । आज र भोली (शनिबार) बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले जारी छ । मस्यौदा विधान २०८० माथि छलफल गर्न बैठक बोलाएको पार्टीका महासचिव देव गुरुङले बताए ।माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ । उनले भने, ‘दुई दिन स्थायी कमिटी बैठक बसेपछि फेरि आइतबार र सोमबार केन्द्रीय कमिटीको बैठक बस्ने छौँ । यसमा पार्टीले चलाएको जागरण अभियानबारे पनि छलफल हुन्छ ।’ बैठक राष्ट्रिय सभा गृहमा बस्ने पार्टी प्रवक्ता अग्नि सापकोटाको भनाइ छ । उनका अनुसार यो बैठकमा विधान सम्मेलनबारे छलफल हुने छ ।

बजेट निर्माण गर्दा उत्पादन वृद्धि र रोजगारी सृष्टिलाई प्राथमिकता दिन्छौं : प्रधानमन्त्री

नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पारे । राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताए । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भईरहेको बताए । “अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, प्रधानमन्त्रीले प्रचण्डले भने, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।” बजेट निर्माण प्रक्रिया अगाडि बढीको बताउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा नुवाकोटले प्राथमिकता पाउने विश्वास दिलाए । प्रधानमन्त्री प्रचण्डले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने उल्लेख गरे । उनले नुवाकोट दरबारको पुःननिर्माणमा सरकारले ध्यान दिने बताए। सो अवसरमा विभिन्न झाँकी प्रस्तुति गरिएको थियोे ।

ठग, भ्रष्टाचारीलाई समात्दा वक्तव्यबाजी र राजनीतिक दबाब आए : गृहमन्त्री श्रेष्ठ

काठमडाौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन् । शुक्रबार अध्यागमन विभागको ई–भिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुभारम्भ गर्दै उनले केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा रहेको बताए । उनले नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेकाले अब मन्त्रिपरिषद्‌बाट पास गरी संसद्‌मा दर्ता गर्ने तयारी मन्त्रालयले गरिरहेको पनि बताए । ०७६ सालमा पारित भएको प्रहरी समायोजन ऐनलाई केही संशोधन तथा परिमार्जन गर्न जरुरी छ र त्यसका लागि पनि विधेयक तयार भइसकेको छ, उनले भने । ०७६ मै पारित भएको नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय ऐनमा पनि केही संशोधन गर्नुपर्ने भएकाले त्यसलाई पनि संसद्‌मा पेस गर्न लागेको बताए । उपप्रधानमन्त्री श्रेष्ठले जालसाझी, ठगी, भ्रष्टाचार गर्नेहरूलाई समात्दा वक्तव्यबाजी गर्ने र राजनीतिक दबाब दिने काम नगर्न आग्रह गरे ।

आजबाट ई-भिसा लागू, गृहमन्त्रीले गरे शुभारम्भ

काठमाडौं । सरकारले आजबाट लागू हुने गरी ई भिसाको सुरुवात गरेको छ । आजबाट अध्यागमन विभागले शुक्रबारदेखि ई भिसा लागू गरेको हो । ईभिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागले जनाएको छ । यो सेवाको औपचारिक आरम्भ आज बिहान ११ बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन् । उक्त कार्यक्रमको सुरुवात भएसँगै सेवाग्राहीलाई सहज हुने बताइएको छ । अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हट्ने छ ।