गैरसरकारी संस्था महासंघद्वारा ३१ बुँदे नागरिक घोषणापत्र सार्वजनिक
काठमाडौं, ६ फागुन । गैरसरकारी संस्था महासंघ नेपाल (गैसस) ले ३१ बुँदे नागरिक घोषणापत्र जारी गरेको छ। महासङ्घको २९ औ वार्षिक साधारण सभाबाट नागरिक घोषणा पत्र २०८० जारी गरेका हो। काठमाडौँ पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणापत्र सार्वजनिक गरेको हो।
वर्तमान समयमा नागरिकहरूले सामाजिक न्याय, विकास र समृद्धिको अनुभूति गर्न पाउनुको साटो नागरिकहरूमा असन्तुष्टि बढ्दै गएको, सुशासनमा बेथिति बढेको साथै आम नागरिक तथा नागरिक सङ्घ सङ्गठनहरूले भोग्नु परेको कठिनाइलाई मध्यनजर गर्दै नागरिक स्वतन्त्रता, देशको प्रणालीगत सुधार र सुशासनको स्थितिलाई सम्बोधन गर्नका लागि महासङ्घले घोषणापत्र जारी गरेको हो।
२९ औँ वार्षिक साधारण सभामा ७७ जिल्ला र ७ प्रदेशबाट सामाजिक अभियन्ता तथा नागरिक अगुवाहरूको उपस्थिति रहेको थियो । नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूलाई सबै तहका नागरिकहरूले अनुभूत हुने गरी ऐन कानुन निर्माण गरी कार्यान्वयनका लागि गैसस महासङ्घ नेपाल माग गरेको छ ।
संविधानले व्यवस्था गरेका तीनै तहका सरकारका एकल तथा साझा अधिकार कार्यान्वयनमा पर्याप्त तथा स्पष्ट कानुन नबन्दा अन्यौल सृजना भई नागरिक सङ्घ सङ्गठनका अभियानमा प्रत्यक्ष प्रभाव परेकोले सोको तत्काल सम्बोधन गर्न माग गरिएको महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले बताए।
आगामी बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्छौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न तथा जलवायु अनुकुलित विकास प्रक्रियालाई अवलम्बन गर्न सरकारले राष्ट्रिय अनुकुलन योजना २०२१–२०५० र पेरिस सम्झौता बमोजिम राष्ट्रिय रुपमा निर्धारित योगदान तर्जुमा गरी लागू गरिरहेको बताए। जलवायु परिवर्तन र जैविक विविधता संरक्षणको विषय सोह्रौ योजनामा विशेष रुपमा सम्बोधन गरिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले वन्यजन्तु संरक्षणका लागि २० वटा संरक्षित क्षेत्रमार्फत विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको जानकारी गराए । आगामी आर्थिक वर्षमा वन्यजन्तु संरक्षणका लागि विशेष प्राथमिकताका कार्यक्रमहरु सञ्चालन गरिने बताउँदै उनले प्रदेश सरकार तथा स्थानीय तहहरूलाई पनि वन्यजन्तु संरक्षण तथा सिमसार व्यवस्थापनका क्षेत्रमा अतिरिक्त कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गरिने नीति लिइने बताए ।
काङ्ग्रेस महासमिति बैठक सोमबार सुरु हुँदै
काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक भोलि (सोमबार) देखि सुरू हुँदैछ । काङग्रेस सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा सोमबार दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने भएका छन्। महासमितिका लागि तयारी अन्तिम चरणमा पुगेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। उनले महासमिति बैठकबारे जानकारी दिन आइतबार दिउँसो साढे २ बजे गोदावरीमै पत्रकार सम्मेलनको आयोजना गरिएको पनि बताए । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव पेश हुनेछ। खड्काले नीति, थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव महासमिति बैठकमा छलफलका लागि पेश गर्नेछन्। महासमिति बैठकका लागि विधान अनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ११ जनाका दरले प्रतिनिधि सहभागी हुनेछन् । यस्तै, पदाधिकारी, केन्द्रीय सदस्यहरू, निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, जनसम्पर्क समितिबाट प्रतिनिधिहरू सहभागी हुन्छन्। कांग्रेसले केन्द्रीय समितिबाट भएको निर्णय अनुसार महासमिति सदस्य नरहेका प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरू पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा भाग लिन पाउँछन्। महासमिति सदस्यले केन्द्रीय कार्यालय सानेपामा फोटो र तीन हजार रुपैयाँ बुझाएर प्रवेश पत्र लिनुपर्ने व्यवस्था गरिएको छ । महासमिति बैठकमा उपस्थित हुनेहरूलाई कांग्रेसले खाना र खाजाको व्यवस्था गरे पनि आवासको व्यवस्थापन नगरिएको विश्वकर्माले बताए । सोमबार महासमिति बैठक सुरु हुने भएपनि कम्तीमा २५ क्षेत्रमा अझै महासमिति सदस्य छान्न भने बाँकी छ । छानेका काठमाडौं क्षेत्र नम्बर ३, दोलखा र ओखलढुंगामा विवाद कायम छ। कांग्रेसको महासमिति बैठक नीति बनाउन केन्द्रित रहने बताइएको छ। २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको कांग्रेसले नीति अधिवेशनको समेत काम गर्ने गरी अहिले महासमिति बैठक गर्न लागेको हो । काङ्ग्रेसको विधान अनुसार महाधिवेशन भएको वर्ष बाहेक वर्षेनी महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ।
समाजवादी मोर्चाको संयोजकमा विप्लव
काठमाडौं, ६ फागुन । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् । आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो । बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेकपाका महासचिव विप्लवले अब मोर्चाको नेतृत्व गर्ने बताए । नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले र त्यसपछि माधव कुमार नेपालले सम्हालेका थिए । उनले भने, ‘मोर्चाको संयोजक चार–चार महिनामा रोटेसन गर्ने, आलोपालो गर्ने कार्यविधि बनेको अवस्थामा अहिलेसम्म दुई टर्म कमरेड माधव कुमार नेपालले नेतृत्व गर्नुभयो । अबको टर्म चाहिँ नेकपाको महासचिव कमरेड विप्लवले नेतृत्व गर्ने भन्ने कुरा भएको छ । आज संयोजक परिवर्तन गर्ने निर्णय भएको छ ।’
तनहुँमा जीप दुर्घटना : एकजनाको मृत्यु, सात घाइते
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना–६ बस्ने १९ वर्षीय रुपक गुरुङ, भरतपुर महानगरपालिका–२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ । जीप चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
सरकारले जनतामा आशा जगाउने गरी काम गरेको छ : उपमहासचिव पुन
कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने गरी काम गरेको बताएका छन् । पोखरामा आज प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्ग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गरे । “नेतृत्वले पहल गर्दा जनतामा आशा जगाउन सकिन्छ, जनतालाई प्रोत्साहित गर्न सकिन्छ भन्ने सन्देश पैदा भएको छ”, नेता पुनले भने । सरकारले हुण्डी, क्रिप्टोकरेन्सीलगायतको कारोबारमा कडाइ गरेपछि औपचारिक च्यानलबाट विदेशबाट पैसा आउँदा विदेशी मुद्रा सञ्चिति बढेको उनले उल्लेख गरे। पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता पुनले भने, “अहिले देशमा एक वर्षलाई धान्ने विदेशी मुद्रा सञ्चित भएको छ । विगतमा विदेशी मुद्रा छैन भनेर हाहाकार मच्चाइयो । ठूला पुँजी र आयोजनामा आयातका लागि जम्मा भएको पैसा लगानी गर्नुपर्दछ । अर्थतन्त्र चलायमान गराउनुपर्छ ।” नेता पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणअघि लागि समाजका सबै तह र तप्कामा व्यापक छलफल गरी प्राथमिकता निर्धारण गरिने बताए । “यस पटक खुला छलफल गरी बजेटको प्राथमिकता निर्धारण गर्ने काम भइरहेको छ । जनताको सहभागिता र सरोकारमा बजेट बनाइने छ”, नेता पुनले भने । नेता पुनले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताए । निर्वाचन प्रणालीले गठबन्धन अनिर्वाय गरेकाले राजनीतिक स्थायित्वका लागि गठबन्धन कायमै रहने उनले उल्लेख गरे । “देश, स्थिरता र समृद्धिका लागि गठबन्धन गर्न सकिन्छ । निश्चित ‘म्यान्डेट’सहित अहिले काम गरेकाले अहिले गठबन्धन तलमाथि हुँदैन”, उनले भने । पार्टीको हालै सम्पन्न विधान अधिवेशनले वडा तहसम्म छलफल गरेर सुझावसहित विधानमा परिमार्जन गरिएको बताए । अब विधानअनुसार पार्टी सञ्चालनको वातावरण बनाएको नेता पुनले बताए । रासस
वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैन : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास भइरहेको बताएका छन्। चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले भने, ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौं ।’ समाजमा गलत सन्देश दिएर, भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सफल नहुने स्पष्ट पारे । उनले भने, ‘त्यो प्रवृत्तिलाई राज्यले सहन सक्दैन, म खबरदारी गर्छु । बचतकर्ता, लगानीकर्ता र समग्र अर्थतन्त्रलाई नै विचलनतर्फ लैजाने प्रयास हो, यो सम्भव छैन ।’ लघु वित्तलाई कसरी स्वस्थ्य बनाउने भन्ने विषय अहिले सबैको चासोको विषय रहेको मन्त्री डा.महतले उल्लेख गरे । पछिल्लो समय लघु वित्तमा देखिएको विचलन र समस्याबाट फाइदा उठाएर राजनीतिक उद्देश्य पूर्ति गर्ने प्रयास भइरहेको छ । लघु वित्त र सहकारीबाट ऋण लिएकाहरुलाई उपयोग गर्न खोजिएको छ । यो एकदमै खतरनाक प्रवृत्ति रहेको मन्त्री डा.महतले उल्लेख गरे । ‘यो खतरनाक प्रवृत्ति सरकारले हेरेर बस्दैन र लघु वित्तमा जोडिएको सबै बचतकर्ताहरु मिलेर यसको प्रतिवाद गर्नुपर्छ’ मन्त्री डा। महतले भन्नुभयो, सँगसँगै लघु वित्तलाई स्वस्थ्य, पारदर्शी र गरिब र विपन्नलाई केन्द्रित हुनुपर्छ । लघु वित्तले मूल उद्देश्य छोडेर जानु हुँदैन ।’ लघु वित्तलाई नाफा कमाउने औजारको रुपमा उपयोग गर्नुहुँदैन । फाइदा उठाइ हालौं भन्नेहरुलाई निरुत्साहित गर्न मन्त्री डा. महतले आग्रह गरे। उनले दुःख सुख गरेर सानो सानो लघु वित्तमा बचत गरेको हुन्छ, ती बचतकर्ताको निक्षेप सुरक्षा गर्नु हामी सबैको कर्तव्य भएको बताए । ‘ऋण लिएपछि फिर्ता गर्नुपर्ने दायित्व पूरा गर्नुपर्छ । लघु वित्तको सञ्चालक बनेर जसले उद्देश्यविपरित काम गरेको छ, दुरुपयोग गरेको छ, अपारदर्शी ढंगबाट व्यक्तिगत फाइदा उठाउन खोजेका छन् भने त्यसलाई तपाईंहरु सबै मिलेर निरुत्साहित गर्नुपर्छ’ मन्त्री डा. महतले भने। ०४६ सालको परिवर्तनपछि नै लघु वित्त फस्टाएको हो । गरिबी निवारणमा लघु वित्त र सहकारीको भूमिका महत्वपूर्ण छ । उद्देश्यभन्दा टाढा गएकाले सहकारीमा समस्या आएको हो । तर राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा भएकाले लघु वित्तलाई पुरानै लयमा फर्काउन काम सुरु भएको छ । लघु वित्तलाई विपन्न नागरिक र महिलाको सशक्तिकरण र उत्थान गर्ने माध्यमको रुपमा हामीले अगाडि बढाउनुपर्छ । लिएको ऋण तिनुपर्ने आवश्यकता छैन, सबै हामी मिलाइदिन्छौं, हामीलाई सहयोग गर भनेर आश्वासन दिइएको छ । ऋणीको भावनामा खेल्ने प्रयास भइरहेको छ । यसलाई चिर्न जरुरी छ, मन्त्री डा. महतले भने, ‘बचतकर्ताको लगानी खोसेर ऋण माफी हुन सक्दैन । अबौं अनुदान दिन सक्ने अवस्था राज्यसँग छैन । त्यसकारण बेलैमा सचेत भएर जे दायित्व हो, त्यो पूरा गर्नैपर्छ । राज्यले ऋण तिर्न समय थप गर्ने र ब्याज कम गर्नका लागि सहजिकरण गर्न सक्छ । राष्ट्र बैंकले पनि त्यस किसिमको नीति ल्याएको छ । तर, तिर्नैपर्दैन भन्ने जुन प्रवृत्ति छ, यो प्रवृत्तिको जुन मनसाय छ, त्यसलाई हामीले पर्दाफास गर्नुपर्ने मन्त्री डा.महतको भनाइ थियो ।
नेदरल्याण्ड्समाथि शानदार जित हासिल गरेकोमा नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेदरल्यान्डसमाथि ९ विकटले विजय हासिल गर्न सफल नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमलाई बधाई ज्ञापन गरेका छन् । नेपालले पहिलो खेल नामिबियासँग गुमाएको थियो । नेदरल्याण्ड्सलाई हराउँदै नेपालले लिग टूको तालिकामा २ अंकको खाता खोलेको छ ।
कांग्रेसमा गगनको तेस्रो धार, अन्य दुई धार अत्यन्तै घातक भएको उल्लेख (पूर्णपाठ)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको दुई धार सङ्गठनका लागि घातक भएको भन्दै तेस्रो धार निर्माण गर्ने प्रतिवेदन ल्याएका छन् । पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने सांगठनिक प्रतिवेदनमा उनले पहिलो आत्मनिन्दा र दोस्रो आत्मश्लाघा रहेकोसमेत उल्लेख गरेका छन् । यी दुवै अतिवादी प्रवृति सङ्गठनका निम्ति अत्यन्तै घातक रहेको उनको प्रतिवेदमा उल्लेख छ । उनको प्रतिवेदमा भनिएको छ, ‘पाटीले जे गरिरहेको छ वा जे भइरहेको छ ठीक भइरहेको छैन भन्ने ठहर्छ । अब पनि केही हुँदैन कि भन्ने भय र चिन्ताले उसको आत्मविश्वास खस्किएको छ । विगतमा पार्टीले गरेका निर्णय र पछ्याएको बाटोका सन्दर्भमा पनि उसमा भएको लघुताभासका कारण प्राप्त उपलब्धिको समेत अपनत्व लिन ऊ धकाइरहेको छ । यो पङ्क्ति एकदमै द्विविधा, निराशा र आत्मनिन्दाले ग्रसित छ ।’
लोकसंगित सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री
काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै भाषा, जातिमा र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको बताए । “लोकसाहित्य युगौँदेखि जनसाधारणको मौखिक परम्पराका रूपमा व्यक्त हुँदै आएको छ । लोक साहित्यअन्तर्गत प्रमुख विधाको रूपमा लोकगीत सबैभन्दा सम्पन्न भएको विधा हो,” प्रधानमन्त्रीले भने, “नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोकगीतले प्रस्तुति गरेको छ । नेपालको मेचीदेखि महाकालीका साथै नेपालबाहिर समेत फैलिएर रहेको लोकगीत यहाँका हरेक संस्कृति, प्राकृतिक सौन्दर्य, जनजीवनका हरेक घटना, दुःख–सुखका सम्पूर्ण भोगाइहरू नै लोक गीतको प्रमुख विषयवस्तु भएर आउने गर्दछ ।” बहुजाति, बहुभाषी तथा बहुसंस्कृतिको धनी देश नेपालको राष्ट्रिय पहिचानको महत्त्वपूर्ण आधारस्तम्भ लोकदोहोरीको मौलिकताको रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले लोकगीतले भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता बनाउनुपर्नेमा जोड दिए । “हरेक देशको आफ्नै लोक संस्कृति हुन्छ । छुट्टै पहिचान, महत्त्व र कार्य हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ । विविधतापूर्ण संस्कृति भएका विश्वका मुलुकहरूमध्ये नेपाल त्यस्तो देश हो, जहाँ जातीय, भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता छ ।” हिमाल, पहाड र तराई–मधेशको जीवनपद्धति आ–आफ्नै हुने गरेको बताउँदै प्रधानमन्त्रीले जीवनपद्धतिका आधारमा संस्कृतिको विकास हुँदै जाने उल्लेख गरे । उनले भने, “हामीकहाँ सांस्कृतिक विविधताको प्रमुख आधार पनि जातीय, भाषिक, सामुदायिक र भौगोलिक विविधता नै हो । यसको सम्मान गरेर मात्र हामीले सही अर्थमा राष्ट्रिय संस्कृतिको विकास गर्न सक्छौँ ।” लोक प्रतिभाहरूलाई आफूभित्र अन्तरनिहित प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्न देशभित्र र विदेशमा लोक तथा दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने गराउने कार्य सराहनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकसङ्गीतको संरक्षणका निम्ति लोक वाद्य सामग्रीहरूको प्रयोगमा जोड दिए । सबै नेपालीहरूमा राष्ट्रियता र नेपाली मौलिकताको भावना जगाउन क्रियाशील हुनुपर्ने उल्लेख गर्दै उनले आफ्नो उद्देश्यमा प्रतिष्ठान एकताबद्ध प्रयासका साथ अग्रसर हुने विश्वास व्यक्त गरे ।
कलाकार ‘भाइरल’ होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको सङ्गीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए । विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, "दर्शक–स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर, पछिल्लोसमय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ ।" ‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रीय हुनु एउटै कुरा नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार हो, जुन राम्रो कुरा होइन भने। सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता गतिविधि निरूत्साहित गर्न आग्रह गरे । पछिल्लो अधिवेशनबाट तपाईहरूको प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याहरूको सामना गरिरहेको विषयसमेत आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले संस्थाहरू विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताए । उनले बढीभन्दा बढी सहमतिका साथ एकतावद्ध हुन र अन्य विषयहरूभन्दा लोकसंगीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रह समेत गरे ।
प्रकृति संरक्षण साझा चासो र चुनौती : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानव जातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् । शनिबार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एकदिवसीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको विश्व जलवायु परिवर्तनलगायत वातावणीय चुनौतीहरू शिखरमा उभिएको बताए । राष्ट्रपति पौडेलले वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र अभिरुचीसमेत बढिरहेको दाबी गरे । उनले वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका विद्यमान चुनौती तथा अवसरलाई सुक्ष्म विश्लेषण गरेर नीतिगतदेखि कार्यान्वयन तहसम्म जानु पर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले वन्यजन्तुको बढ्दो संख्याले निम्त्याएको उचित व्यवस्थापनको समस्या, वन्यजन्तुमैत्री भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताए ।
धादिङमा बस र ट्रक ठोक्किँदा २० जना घाइते
मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । काठमाडौंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए । बसमा ३० जना तीर्थयात्री सवार थिए । रासस
आमाको आत्मदाह प्रयासमा पाँच वर्षीया छोरीको मृत्यु
झापा । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । आज बिहान छोरी वर्षाको मृत्यु भएको र आमा मायाको अवस्था चिन्ताजनक रहेको गिरीले जानकारी दिए। मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थल नजिकै उनको ‘सुसाइट नोट’ फेला परेको उनले बताए। उक्त नोटमा रम्तेलले उनका पति परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख गरेको प्रहरीको भनाइ छ । प्रहरीले ज्याला मजदुरी काम गर्दै आएका मायाका पति राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गिरीले बताए। पति राजन काममा गएको र घरमा ८१ वर्षीया सासूआमा सुन्तलीमाया खाती मात्र रहेको अवस्थामा मायाले छोरीलाई सलले आफ्नो शरीरमा बाँधेर आत्मदाह गरेकी थिइन् ।
काठमाडौँतराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’
निजगढ, फागुन ५ गते । राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ–तराई(मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिए। “ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ । केही खरिद प्रक्रिया टुङ्गिन बाँकी छन् । मुद्दा मामिलामा पनि गएका छन् । तर हामीले तोकिएको समय २०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ”, उनले भने । खरिद प्रक्रियालाई लिएर पाटन उच्च अदालतमा दायर भएको मुद्दाको चाँडो निरूपण भएर काम अघि बढ्न सके तोकिएको समयभित्रै काम सम्पन्न हुने उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजनामा आइपर्ने कानुनी, प्रशासनिक तथा अरू कठिनाइलाई प्राथमिकताका साथ चाँडो टुङ्ग्याउन सक्नुपर्ने पोखरेल बताउँछन् । करिब ७१ किलोमिटर लम्बाइ रहेको सो आयोजना काठमाडौँमा चार दशमलव छ, ललितपुरमा ९, मकवानपुरमा ४९ दशमलव ७० र बारामा सात दशमलव छ किलोमिटर पर्दछ । आयोजनाको कूल १३ निर्माण प्याकेज रहेकामा प्याकेज नम्बर १ देखि ७ र १० को खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा छ । प्याकेज नम्बर ८ (क), ८ (ख), ९ (क) र ९ (ख) को भने खरिद प्रक्रिया नै विवादित छ । पटक–पटक ठेक्का आह्वान गर्दा पनि यी चार प्याकेजको खरिद प्रक्रिया टुङ्गिन सकेको छैन । अहिले यसको मुद्दा पाटन अदालतमा विचाराधीन छ । त्यसैगरी, प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना क्षेत्रमा द्रुतमार्गको सुरु विन्दु निर्धारण, सो क्षेत्रको सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण विवाद समाधान गर्न बाँकी छ । यही कारणले सो क्षेत्रमा आयोजनाको खरिद प्रक्रिया सुरु हुन सकेको छैन । अहिले आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको आयोजनाको अपरेसन तथा कार्यान्वयन महाशाखा प्रमुख इन्दिवर गुरुङ बताए । खरिद प्रक्रियामा गइसकेका काममा मुख्यगरी सुरुङमार्ग र पुल निर्माणको काम धमाधम भइरहेका छन् । अहिले निर्माणाधीन तीन सुरुङमार्गको कुल लम्बाइ ६ दशमलव ४१५ किलोमिटरमध्ये चार दशमलव ३२५ किलोमिटर अर्थात् ६७ दशमलव ४३ प्रतिशत खन्ने काम सकिएको छ । लेनडाँडा सुरुङमार्ग आगामी वर्ष वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग आगामी वर्ष असोज तथा कात्तिकभित्र ‘ब्रेक थ्रु’ गरिसक्ने गरी काम भइरहेको आयोजनाका इन्जिनियर विनायक शर्माले जानकारी दिए । एउटा सुरुङमार्गमा हरेक दिन औसत तीन मिटर हाराहारी खन्ने काम भइरहेको उनको भनाइ छ । महादेवटार सुरुङमार्गको लम्बाइ तीन दशमलव ३५५ किलोमिटरमध्ये हालसम्म एक दशमलव ९४८ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ । त्यसैगरी, धेद्रे सुरुङमार्गको कुल लम्बाइ एक दशमलव ६३ किलोमिटरमध्ये हालसम्म एक दशमलव १७३ किलोमिटर सुरुङ खनिसकेको छ । लेनडाँडा सुरुङमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बमोजिम कुल लम्बाइ एक दशमलव ४३ किलोमिटर रहेकामा हालसम्म एक दशमलव २०४ किलोमिटर सुरुङ खनिएको छ । आयोजनाको ६ स्थानमा सुरुङमार्ग छन् । सबै सुरुङमार्गको कुल लम्बाई १० दशमलव ५५ किलोमिटर छ । यसमा देवीचौरी सुरुङ एक किलोमिटर, सिसौँटार सुरुङ शून्य दशमलव ३९, चन्द्राम भीर सुरुङ दुई दशमलव २५, महादेवडाँडा सुरुङ तीन दशमलव ३५५, धेद्रे सुरुङ एक दशमलव ६३० तथा लेनडाँडा सुरुङ एक दशमलव ४३० किलोमिटर छ । त्यसैगरी, आयोजनामा कुल ८९ पुल बन्नेछन् । यसको कुल लम्बाइ १२ दशमलव ८८५ किलोमिटर हुनेछ । बुदुनेमा दुई विश्रामस्थल बन्नेछन् भने खोकना, बुदुने र निजगढमा इन्टरचेञ्ज बन्नेछन् । त्यस्तै, टोलप्लाजा पनि खोकना, बुदुने र निजगढमा बन्नेछन् । हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका पुलअन्तर्गत रहेका कुल दुई दशमलव ८०२ पाउन्डेसन फाइलमध्ये एक दशमलव ६६५ पाइल निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । द्रुतमार्गको सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर रहेको छ । आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने कुल १५ हजार चार सय १६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार दुई ४४ र व्यक्तिगत जग्गा पाँच हजार एक सय ७२ रोपनी रहेको छ । अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा पाँच हजार एक सय ७२ रोपनीमध्ये हालसम्म चार हजार सात सय ७७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । तीन सय ९५ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ । खोकना–बुङ्गमती क्षेत्रमा दुई सय १४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ भने एक सय ६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन सकेको छैन । यो क्षेत्रमा कुल तीन सय ७९ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ । आयोजनाका लागि हालसम्म कटान गरिएका रुखको बदलामा एक अनुपात २५ का दरले वृक्षारोपण गरिएको सेनाले जनाएको छ । आयोजनाका लागि कूल सात लाख चार हजार चार सय ४० बिरुवा रोप्नुपर्नेमा हालसम्म जम्मा सात लाख पाँच हजार पाँच सय ५२ बिरुवा रोप्ने कार्य सकिएको छ । मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्व बोकेको यो आयोजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी सेनाले पाएको थियो । आयोजनाको २०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गर्नुभएको थियो । विसं २०७४ साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई आयोजना हस्तान्तरण भएको थियो । सोही वर्ष मङ्सिरदेखि नेपाली सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रुतमार्गको ट्र्याक निर्माणको काम थालिएको थियो । गत वैशाखमा आयोजना सम्पन्न हुने समयावधि बढाएर २०८३ चैत मसान्तसम्म पुर्याइएको थियो । त्यस्तै, गत साउनमा आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएको थियो । यसबाट लागत घट्ने अनुमान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८० साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बमोजिम आयोजनाको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ । यो आयोजनाको प्रस्थान विन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो । विसं २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सम्झौता भई जेठ ३१ गतेदेखि निर्माण सुरु भएको हो ।गोरखापत्रबाट ।
सुप्रिम सहकारी बुटवलका अध्यक्ष र व्यवस्थापक पक्राउ
काठमाडौं । सुप्रिम सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । सो सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाइलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । दुवै जनालाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यो सहकारीका अध्यक्ष गितेन्द्रबहादुर (जीबी) राई हुन् । उनी नै यो सहकारीको संस्थापक अध्यक्ष थिए । उक्त सहकारीबाट एक अर्ब ७ करोड ८२ लाख हिनामिना भएको भन्दै बचतकर्ताहरुले उजुरी दिएका थिए । सोही सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड बढी रुपैयाँ ऋण लिएको छ । लुम्बिनी प्रदेशका डीआईजी कुवेरसिंह कडायतका अनुसार उनीहरु दुवै जनालाई बुटवलबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैको म्याद थप गरेर अनुसन्धान हुँदैछ ।

