चितवनलाई भ्रष्ट्राचार मुक्त गर्ने प्रतिबद्धता

चितवन, भदौ २२ । निजामती सेवा दिवस–२०७४ को अवसरमा यहाँका राष्ट्र सेबक कर्मचारीले भ्रष्टाचार मुक्त चितवन, अबको अभियानसहितका पाँचबुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । भरतपुरमा आज आयोजित निजामती सेवा दिवस–२०७४ सम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहित सरकारी कार्यालयका प्रमुख र कर्मचारीले प्रतिबद्धता लेखिएको माइन्यूटमा हस्ताक्षर गरेका हुन् ।

राजश्वबाहेक कुनै पनि बहानामा कसैले पनि अतिरिक्त रकम नलिने र त्यस्तो रकमको अपेक्षा नगरी भ्रष्टाचार मुक्त चितवन अबको अभियानलाई सार्थक बनाउने, कार्यालयमा निःशुल्क फारामको व्यवस्था गरी बिचौलियाको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने, नागरिकमैत्री प्रशासन तथा वातावरणमैत्री कार्यालय बनाउने उल्लेख छ ।

त्यसैगरी नीतिप्रति प्रतिबद्ध र राजनीतिप्रति तटस्थ भन्ने सार्वजनिक प्रशासनको मूलभूत मान्यता बमोजिम पेशागत व्यावसायिकरुपमा परिचालन हुने र चितवन सेवा सुधार मार्गचित्र– २०७३ को पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रतिबद्धता जायर गरेअनुसार काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशी, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापा, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन चितवनका अध्यक्ष मंगलराम दराईंलगायतले प्रतिबद्धता जनाउनुभएको थियो । यसअघि भरतपुरको चौबीसकोठीबाट शुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

अाजबाट स्मार्ट लाइसेन्स पाइने

कैलाली, भदौ २२ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड (लाइसेन्स) वितरण गर्न थालेको छ । कार्यालयका प्रमुख कृष्ण भुसालले धनगढी उपमहानगरपालिका–४ का राजेन्द्र आमात्यलाई पहिलो स्मार्ट लाइसेन्स प्रदान गर्दै यो नयाँ प्रविधिबाट लाइसेन्स वितरणमा एकरुपता ल्याउनुका साथै यातायातलाई अझ बढी सुरक्षित, व्यवस्थित र भरपर्दो र विश्वसनीय बनाउन सहज हुने जानकारी दिए । उनले यस प्रकारको लाइसेन्सबाट गलत मान्छेले लाइसेन्स पाउने तथा गलत तरिकाले दुरुपयोग गर्ने सम्भावना कम हुने बताए । पोलिकार्बोनेटबाट बनेको क्रेडिट कार्ड साइजको यो विद्युतीय कार्ड टिकाउ र बोक्न सजिलो हुनाका साथै आगो र पानीबाट बिग्रिने समस्या नरहने बताए । हाल शुरुवाती चरणमा नवीकरण गर्नेलाई यो लाइसेन्स वितरण गरिने भए पनि केही सातामा नयाँ लाइसेन्स लिने सेवाग्राहीलाई पनि वितरण गरिने कार्यालयका प्रमुख भुसालले जानकारी दिए । यसको अवधि ५ वर्षको हुनेछ भने बनाउँदा पनि ५०० राजश्व तिर्नुपर्ने व्यवस्था छ । रासस

छोराको प्रेम सम्बन्धबारे बोलेकाे भन्दै भाला बोकेर लडाइमा, ११ घाइते

रुपन्देही, भदौ २२ । छोराको प्रेमसम्बन्धबारे गाउँमा कुरा गरिएपछि दुई छिमेकी परिवारबीच हानाहान भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको रोहिणी गाउँपालिका ६ विशुनपुराका मनौवर अलि शेख र छोटु यादव परिवारबीच भनाभन सुरु भएको थियो । छोटु यादवकी पत्नीले मनौरका छोरा उमरको प्रेम प्रसंगबारे गाउँमा बालेको भन्दै त्यस्तो किन बोलेको ? भन्नेबारे विवाद सुरु भएको थियो । झगडा बढ्दै जाँदा शेख परिवार भालासहित आक्रमणमा उत्रिएका थिए । छिमेकीले छुट्याउन जानेक्रममा शेख परिवार छिमेकीमाथि पनि जाइलागेका थिए । घटनामा ११ जना घाइते भएका छन् । शेख परिवारका ३ र यादव परिवारतर्फबाट ८ जना घाइते भएको प्रहरी चौकी पिप्रहवाले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेको युनिभर्सल मेडिकल कलेज भैरहवा र भीम अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उनीहरु मनौवर अलि शेख र उनका छोरा हुन् ।

बडादशैंको टीकाको साइत ११ः५५ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ । असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ । फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ । फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ । त्यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ । असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ । विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए। ‘राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीका ग्रहण गर्नुपर्छ, सर्व साधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीका प्रसादका रुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ,’ उनले भने । विजया दशीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजया दशमीकै दिन खड्गयात्रा समेत हुनेछ । असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ । असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैँ पर्व समापन हुन्छ । नेपाल राज्यभर दशैँ महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एक आपसमा जम्मा भई दशैँ मनाउने गर्छन् । यही पर्वका अवसरमा लामो समय सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइन्छ । रासस

भिक्षुले गरे बाढीप्रभावित मुसहरलाई सहयोग

काठमाडौँ, २२ भदौ । बौद्ध दर्शनको विकासमा सक्रिय रहेका भिक्षुले भिक्षा मागेर बाढीबाट प्रभावित मुसहर परिवारलाई सहयोग उपलब्ध गराएका छन् । चाबहिलस्थित चारुमती बुद्ध विहारका भिक्षुले त्यस आसपास क्षेत्रमा भिक्षाटन गरी संकलन गरेको स्रोतबाट इटहरीको टेङ्ग्रा खोला वरपर क्षेत्रका ३०० घर परिवारलाई सहयोग गरेको बुधबार जानकारी गराइएको छ । चारुमती बुद्धिष्ट मिसनको सहयोगमा भिक्षु तपस्सी धम्मको नेतृत्वमा त्यहाँका भिक्षुले सहयोगका लागि केही साता अगाडि भिक्षा मागेका थिए । उनीहरुले करिब रु पाँच लाख संकलन गरी चामल, तेललगायत खाद्य सामग्रीका साथै लत्ताकपडा पीडितलाई स्थानीय प्रशासनसँग समन्वय गरी उपलब्ध गराएको विहारले जनाएको छ । विहारका प्रमुख भिक्षु तपस्सी धम्मले विभिन्न समाचार माध्यममा बाढीबाट त्यस क्षेत्रका मुसहर प्रभावित भई केही दिनदेखि दुःख पाएको खबर आएपछि आफ्नो संस्थाले उनीहरुलाई मानवीय सहयोग जुटाएको जानकारी दिए । बौद्ध धर्मको प्रवद्र्धनमा लागिरहेका भिक्षुले सामाजिक सेवा तथा मानव कल्याणका लागि काम गर्न बौद्ध साहित्य तथा दर्शनको सन्देश समेत रहेको उहाँको भनाइ थियो । मुलुकमा सामाजिक रुपान्तरणका लागि दिगो शान्ति तथा सद्भाव कायम गर्न विभिन्न समयमा आध्यात्मिक कार्यक्रम गर्दै आएको सो विहारले अन्तरराष्ट्रिय दातृ संघ संस्थासँग सहयोग मागेर देशका विभिन्न स्थानमा गई भूकम्प प्रभावितलाई समेत सहयोग जुटाएको थियो ।

आज सार्वजनिक बिदा

काठमाडौँ, २२ भदौ । आज देशभरका निजामती कर्मचारीलाई सार्वजनिक बिदा दिइएको छ ।  १४ औँ निजामती सेवा दिवसका अवसरमा आज देशभरका निजामती कर्मचारीलाई सार्वजनिक बिदा दिइएको हाे । ‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनारामा साथ दिवस देशभरि मनाउने गरिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । दिवसकै अवसरमा आज स्वास्थ्य मन्त्र ालयमा रक्तदान कार्यक्रम गरिँदैछ । बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति पुर्याएकाले यो वर्ष हर्सोल्लासका साथ दिवस नमनाइएको उहाँले जानकारी दिए । मन्त्रालयले एक हप्तादेखि वृक्षारोपण, सरसफाइजस्ता कार्यक्रम गर्दै आइरहेको छ । दिवस मनाउनका लागि मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । नेपालमा २०६० सालदेखि निजामती दिवस मनाउँदै आइरहेको हो । नेपालमा करिब ८३ हजार निजामती कर्मचारी रहेका छन् । दिवसका अवसरमा आज देशभरका निजामती कर्मचारीलाई सार्वजनिक बिदा दिइएको छ । दिवसकै अवसरमा १० जनालाई उत्कृष्ट निजामती सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार दिइएको छ ।

पिके हाइड्रोमा ५ अर्बको रसियन लगानी स्वीकृत

काठमाडौं, भदौ २२ । सात महिनापछि औद्योगिक बोर्डको बैठक   नेपाल सरकारले पिके हाइड्रो पावर कम्पनीमा आएको झन्डै सवा ५ अर्ब रुपैयाँको विदेशी लगानीलाई स्वीकृति दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले पिके हाइड्रोमा आएको ५ अर्ब १० करोड रुपैयाँको रसियन लगानीलाई स्वीकृति दिएको हो । दोलखा, रामेछाप र ओखलढुंगाको सिमानामा पर्ने लिखु खोलामा निर्माण हुने पिके हाइड्रोपावरबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । रसिया र नेपालका व्यवसायीको साझेदारीमा बन्न लागेको आयोजनामा करिब ६० प्रतिशत विदेशी लगानीलाई बोर्ड बैठकले स्वीकृति दिएको बोर्डका सदस्यसचिव तथा उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । पिके हाइड्रोले ३ असार २०७० मा विद्युत् विकास विभागबाट जलविद्युत्को सर्भे लाइसेन्स लिएको थियो । उद्योगमा आउने २ अर्बदेखि १० अर्ब रुपैयाँसम्मको लगानीलाई औद्योगिक प्रवद्र्धन बोर्डबाट स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ । जलविद्युत्, होटेल, सिमेन्टलगायत सबैखाले उद्योगमा आएका लगनीको स्वीकृति, पुँजी वृद्धिको अनुमतिलगायतका निर्णय बोर्डले गर्छ । मंगलबार बसेको बोर्डको २२१औँ बैठकले पिके जलविद्युत्मा आएको लगानीलाई स्वीकृति गर्नुका साथै औद्योगीकरणका विषयमा नीतिगत छलफलसमेत भएको उनले बताए । सात महिनापछि बल्ल बैठक औद्योगिक प्रवद्र्धन बोर्डको बैठक सात महिनापछि बल्ल बसेको छ । उद्योगमन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवा हाल बोर्डको अध्यक्ष हुन् । उनले समय दिन नसक्दा बोर्डको बैठक बस्न सकेको थिएन । यसअघि बोर्डको २२१औँ बैठक पनि आठ महिनासम्म बस्न सकेको थिएन । तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले २०७२ जेठमा बोर्डको २२०औँ बैठक राखेका थिए । त्यसको आठ महिनापछि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले ११ माघमा बैठक राखेर नीतिगत निर्णय र लगानी स्वीकृति गरेका थिए । निजी क्षेत्र र सरोकारवालाले बारम्बार बोर्ड बैठक सयमै राख्न विभाग र मन्त्रालयलाई आग्रह गर्दै आएका छन् । उद्योगलाई नवीकरण गर्ने मौका नयाँ औद्योगिक व्यवसाय ऐन आएपछि स्वतः खारेजीमा परेका उद्योगले मौका पाएका छन् । करिब एक वर्षअघि ल्याइएको उक्त ऐनमा उद्योग दर्ता भएपछि तोकिएको समयभित्रै सञ्चालनमा आइसक्नुपर्ने व्यवस्था छ । तोकिएको समयमा सञ्चालनमा नआए स्वतः खारेजी हुने ऐनमा व्यवस्था छ । तर, ऐन आउनुअघि दर्ता भएका करिब १५ सय उद्योगको सञ्चालनमा आइसक्ने मिति गुज्रिसकेको छ । त्यस्ता उद्योगलाई समेत नवीकरणका लागि मौका दिइने भएको महानिर्देशक अर्यालले बताए । ‘हालैको मन्त्रिपरिषद्ले त्यस्ता उद्योगलाई नवीकरणका लागि ३ महिना समय थप गर्ने निर्णय गरिसकेको छ,’ उनले भने, ‘मंगलबारको बोर्ड बैठकमा समेत यसबारे छलफल गरेर कार्यान्वयनमा जाने निर्णय गरियो ।’ औद्योगीकरणमा प्रधानमन्त्रीको जोड सो बैठकमा प्रधानमन्त्री देउवाले मुलुकमा औद्योगीकरणका लागि विदेशी लगानीलाई प्रोत्साहन तथा स्वदेशी लगानीलाई प्रवद्र्धन गर्नुपर्ने बताए । यसका लागि नीतिगत तहबाट काम गर्न सबैलाई उनले आग्रहसमेत गरे । प्रधानमन्त्रीले उद्योग क्षेत्रको प्रोत्साहन तथा प्रवद्र्धनमा काम गर्नुपर्नेमा जोड दिएको महानिर्देशक अर्यालले जानकारी दिए ।   बैठक समयमा राख्नुपर्छ   भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ अहिले त उद्योगमन्त्री नै नभएका कारण बोर्ड बैठक नबसेको होला । तर, लगानी बोर्ड, औद्योगिक प्रवद्र्धन बोर्डलगायत यस्ता संस्थाको बैठक नियमित राख्नुपर्छ । लगानीलाई स्वीकृत दिने बैठक नै समयमा बस्दैन भने लगानी कसरी भित्रन्छ ? यसप्रति हामी सबै सचेत हुनुपर्छ । लगानीलाई आकर्षण गर्ने वातावरण बनाउनुपर्छ । बैठक अब छिटै बस्नेछ शंकर अर्याल, महानिर्देशक, उद्योग विभाग अहिले धेरै एजेन्डा पनि छैनन् । तत्कालै बैठक नबस्दा कुनै जटिलता उत्पन्न भएको छैन । यद्यपि, हामीले समयमै बैठक राख्ने प्रयास गरिरहेका छौँ । अहिले प्रधानमन्त्रीज्यूसँग समय मिलाउने काम भइरहेको छ । बोर्डको बैठक चाँडै बस्नेछ ।

राष्ट्रिय परिचयपत्र मतदाता परिचयपत्र जस्तै

काठमाडौं, भदौ २२ ।  गृह मन्त्रालय आफैँले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक, आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो । तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा समेट्ने गरी निर्णय गरेका छन् । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्रमा डिजाइन गरिएअनुसारको विवरण प्रयोग नगर्ने गृहको निर्णयले परिचयपत्र कमजोर बन्ने दाबी गरेको छ । निर्वाचन आयोगले संकलन गरेको विवरण प्रयोग गरेर परिचयपत्रमा डिजाइनअनुसारको व्यक्तिगत विवरण, गुणस्तरीय फोटो र सुरक्षा प्रणाली राख्न नसकिने केन्द्रले जनाएको छ । आयोगले संकलन गरेको व्यक्तिगत विवरण अपूर्ण रहेको, व्यक्तिको फोटो स्पष्ट चिनिने र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नभएको केन्द्रको भनाई छ । छिमेकीको प्रभाव गृह मन्त्रालय स्रोतले छिमेकी मुलुकको दबाबमा सचिव रेग्मीले राष्ट्रिय परिचयपत्रलाई कमजोर पार्ने गरी निर्णय गरेको आरोप लगाएको छ । ‘राष्ट्रिय परिचयपत्रको फाइल सचिवले ६ महिनादेखि मन्त्रालयमै अल्झाएका थिए । अख्तियारले चासो देखाएपछि राष्ट्रिय परिचयपत्रको उद्देश्यअनुसार नहुने गरी निर्णय गरेर पठाएका छन्’, स्रोतले भन्यो । परिचयपत्र छाप्न भारतले चासो राखेको थियो । स्रोत अभाव थिएन केन्द्रले छुट्टै विवरण संकलनका लागि बजेट अभाव नभएको जनाएको छ । एसियाली विकास बैंकले राष्ट्रिय परिचयपत्रलाई आवश्यक पर्ने विवरण संकलनका लागि थप २६ करोड अनुदान दिने प्रस्ताव गरेकाले राज्यलाई आर्थिक भार नपर्ने केन्द्रको दाबी छ । तर, एडिबीको सहयोगको व्यक्तिगत विवरण संकलन गर्ने प्रस्ताव पनि सचिव रेग्मीकै कारण रोकिएको छ । के पुग्दैन आयोगको विवरणमा ? निर्वाचन आयोगले संकलन गरेको विवरणको फोटो गुणस्तरीय नभएको केन्द्रले जनाएको छ । व्यक्तिको फोटो स्पष्ट नचिनिने, धमिलो र अन्य मापदण्ड पूरा नभएको र औँठाछाप दुईवटा मात्र भएको केन्द्रको दाबी छ । परिचयपत्रको डिजाइनमा व्यक्तिको १० वटै औँठाछाप राख्ने उल्लेख छ । यस्तै आयोगले संकलन गरेको व्यक्तिगत विवरणमा व्यक्तिको तीनपुस्ते विवरण पूर्ण नभएको, नामावली नै त्रुटिपूर्ण भएको र व्यक्तिको शैक्षिक, आर्थिकलगायत विवरण उल्लेख नभएको केन्द्रले जनाएको छ । यस्ता कमजोरीका कारण पुनः विवरण संकलन गर्नुपर्ने केन्द्रको तर्क छ । किन भयो निर्णय ? राष्ट्रिय परिचयपत्रका लागि छुट्टै विवरण संकलनको प्रस्ताव केन्द्रले ६ महिनाअघि गृह मन्त्रालयमा पेस गरेको थियो । तर, सचिव रेग्मीले प्रस्ताव रोकेपछि अख्तियारले चासो राखेको थियो । अख्तियारले बुधबार राष्ट्रिय परिचयपत्र छपाइमा भएको ढिलाइको कारणबारे जानकारी लिन सचिव रेग्मीलाई बोलाएको थियो । अख्तियारको बैठकमा सहभागी हुनुपूर्व नै रेग्मीले निर्वाचन आयोगले संकलन गरेको विवरण नै प्रयोग गरेर राष्ट्रिय परिचयपत्र बनाउने गर्ने निर्णय गरे ।

संसदीय समितिकाे ठहर: तेब्बर मुल्य तिरेर निगमको जग्गा खरिद 

काठमाडौं, भदौ २२ । करिब डेढ महिनादेखि निरन्तर नेपाल आयल निगमको जग्गा खरिद घोटाला अध्ययन गरेको संसदीय समितिले चल्तीको भन्दा तेब्बर मुल्य तिरेर जग्ग किनेको ठहर गरेको छ । उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद स्थलगत अध्ययनपछि जग्गा खरिदमा अनियमितता भएको निष्कर्ष पुगेका हुन् । –नागरिकबाट 

मनोनयन गर्ने दिन माओवादीमा अाएका तीन जनाले टिकट पाए

काठमाडौं, भदौ २२ । माओवादीले अरु दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिइ प्रदेश नम्बर नम्बर २ का तहमा उम्मेदवार बनाएको छ । माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट प्रवेश गरेका सिद्धार्थ यादवलाई सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा टिकट दिइएको छ भने एमालेबाट प्रवेश गरेका रामभजु यादवलाई सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । राजपाबाट प्रवेश गरेका नरेन्द्र यादवलाई महोत्तरीको औरही नगरपालिकाको मेयरको टिकट दिएको छ । –नयाँ पत्रिकाबाट

दरबारमार्गका पसल बन्द

काठमाडौं, भदौ २२ । बुधबार दिउँसो करिब १ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा चार टोली अनुगमनका लागि तयार भए । त्यसमध्ये श्रीराम अधिकारीले नेतृत्व गरेको टोली दरबारमार्ग लाग्यो । सँगै मोहन पुडासैनी संलग्न रहेको टोली पनि क्रियाशील भयो । सुरुमा विभागको अनुगमन निरीक्षक मोहन पुडासैनी संलग्न रहेको टोली रिबुक ब्रान्डको सामान बिक्री गर्ने लेबल्स स्टोरतिर लग्यो । १ हजार ७ सय ५४ रुपैयाँमा खरिद गरेको टिसर्ट ३ हजार ७ सय ९० रुपैयाँ बिक्री मूल्य राखिएको थियो । त्यसमा ३० प्रतिशत छुट राखेर २ हजार ६ सय ५० रुपैयाँ बिक्री मूल्य तय गरिएको थियो । त्यस्तै, १ हजार ६ सय ४० रुपैयाँ खरिद मूल्य रहेको रिबुकको क्रस फिट जुत्ताको बिक्री मूल्य ७ हजार ६ सय १५ राखेको पाइयो । दुईवटा सामानको खरिद र बिक्री मूल्य हेर्दा अत्यधिक अन्तर देखिएपछि टोलीले उक्त पसलमा सिल लगायो । त्यसपछि बोसिनी ब्रान्डको सामान बिक्री गर्ने लाइन्स स्टाइल इन्टरप्राइजेजमा अनुगमन सुरु भयो । त्यहाँ ९ सय २५ रुपैयाँ खरिद मूल्य रहेको टिसर्टलाई १ हजार ८ सय ९९ रुपैयाँ बिक्री मूल्य राखेको भेटियो । त्यस्तै, १ हजार ६ सय ४५ रुपैयाँ खरिद मूल्य रहेको सर्टलाई ३ हजार ६ सय ९९ रुपैयाँ बिक्री मूल्य राखिएको भेटियो । दोस्रो पसलमा पनि खरिद र बिक्री मूल्य बढी भेटिएपछि टोलीले सिल गर्‍यो । तेस्रो नम्बरमा लिभाइज ब्रान्डको सामान बिक्री गर्ने लेबल्स स्टोरको अर्को पसलमा अनुगमन भयो । त्यहाँ अनुगमन सुरु हुँदै गर्दा पसलअगाडि ३–४ जना व्यवसायी मलीन अनुहारमा छलफल गरिरहेका थिए । उक्त पसलमा ५ हजार २५ मा खरिद गरेको पाइन्टमा ९ हजार ७ सय ९० बिक्री मूल्य राखेको भेटियो । अर्को पाइन्ट ३ हजार ५ सय ७० मा खरिद गरी ७ हजार ६ सय ९९ रुपैयाँ बिक्री मूल्य राखेको भेटियो । त्यसपछि विभागका निरीक्षकहरूले खरिद र बिक्री मूल्यमा ठूलो अन्तर आएको भेटिएपछि सिल लगाउने तयारी गरे । त्यसपछि पसलअगाडि १०–१२ व्यापारी जम्मा भए । अनुगमन टोली बाहिर आएर सटर लगाई सिल लगाउने तयारी गरिरहेको थियो । ‘अनुगमनमा प्राप्त कैफियतका आधारमा सिल गर्न खोज्दा अगाडि बसेका व्यवसायीले कुनै प्रतिक्रिया जनाएनन्, हामीले आफ्नो काम सुरुसुरु गर्‍यौँ । तर, पसल सिल गरेर जब अनुगमन टोली अर्को पसको अनुगमन गर्ने तयारी गर्दै थियो, एकपछि अर्को गर्र्दै सो क्षेत्रका पसलका सटर लाग्न थाले । व्यवसायी आफैँले पो सटर बन्द गर्न थालेको देखियो,’ पुडासैनीले भने । दरबारमार्गका व्यवसायीको संघ छ । सोही संघको निर्देशनमा टोलीलाई पसल अनुगमन गर्न दिनुको सट्टा सटर बन्द गराइएको थियो । अनुगमन निरीक्षक श्रीराम अधिकारीले करिब चार बज्न लागेपछि धमाधम सटर बन्द हुने क्रम बढेपछि अनुगमन रोकिएको जानकारी दिए । ‘पसल नै बन्द हुन थालेपछि अनुगमन गर्ने कुरा भएन । त्यसपछि हामी फर्कियौँ,’ उनले भने । उनले अनुगमनका क्रममा घडी बिक्री गर्ने सुलक्स सेन्टर र वाच एन्ड सीलाई बन्द गरिएको जानकारी दिए । मासिक ३ लाख भाडा दरबारमार्गस्थित ब्रान्डेड पसलधनीले मासिक तीन लाख रुपैयाँसम्म भाडा तिर्दै आएका छन् । बुधबार अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागसमक्ष बयान दिन आएका लेबल्स स्टोरका सञ्चालकले महँगो भाडा तिर्नुपरेकाले मूल्य बढी राख्ने गरेको बताएका छन् । एडिडास ब्रान्डको खेलकुद पोसाक र जुत्ता बिक्री गर्दै आएका पसलले बढी भाडा तिर्नुका साथै बिजुलीको धेरै बिल तिर्नुपरेका कारण मूल्य बढी राख्ने तर्क गरेको विभाग स्रोतले जानकारी दिएको छ । ‘एउटा पसलको तीन लाख भाडा तिर्ने, २४ सै घन्टा बिजुली प्रयोग गर्नुपर्नेलगायतका कारण बढी मूल्य लिने गरेको व्यवसायीले तर्क गरेका छन्,’ विभागका एक कर्मचारीले भने । उनले भाडा बढी तिर्नुपरेको र त्यसको भार उपभोक्ता मूल्यमा जोड्नुपर्ने तर्क जायज नभएकाले आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए । दैनिक लाखौँको कारोबार दरबारमार्गका पसलले दैनिक लाखौँको सामान बिक्री गर्ने गरेका छन् । द लेदर प्रालिले बेन्ट्ली ब्रान्डका सामान बिक्री गर्दै आएको छ । उक्त पसलको बिक्री बिल विभागले जफत गरी ल्याएको छ । उक्त बिलप्याडमा उल्लेख भएअनुसार १८ भदौमा उक्त पसलबाट २३ वटा सामान बिक्री भएका छन् । जुत्ता, चप्पल र पर्सलगायत १ लाख ५१ हजार ५ सय २४ रुपैयाँको सामान बिक्री भएको छ । ‘एकैदिन यति ठूलो कारोबार गर्नेले महिनामा तीन लाख रुपैयाँ पसल भाडा महँगो भयो भन्न सुहाउँदैन,’ ती कर्मचारीले भने, ‘महँगो पसल भाडालाई देखाएर उपभोक्ताबाट बढी मूल्य असुलेको प्रस्ट देखिन्छ ।’ सो पसलबाट चप्पल ८ हजार ९ सय १५, ज्याकेट १५ हजार ४४, वालेट २ हजार ४ सय ६९ रुपैयाँसम्मका बिक्री भएको देखिन्छ ।

दुई वर्षमा एटिम ह्याकिङ गर्ने १७ विदेशी पक्राउ

काठमाडौं, भदौ २२ । गत वर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एटिएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्‍यो । पटक–पटक पक्राउ गरेपछि एटिएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटिएममार्फत पैसा चोर्ने देशका रूपमा दुरुपयोग नगर्ने प्रहरीको विश्वास थियो । तर, मंगलबार फेरि एक टर्किस नागरिक नक्कली एटिएममार्फत पैसा चोरी गर्ने क्रममा पक्राउ परेका छन्। सिआइबीले ३० वर्षीय एकरेम ओरमान्चीलाई पक्राउ गरेको हो । नौ हजार सात सय १० अमेरिकन डलर, एक हजार दुई सय २५ युरो, ३३ हजार रुपैयाँसहित उनलाई ठमेलको रोयल पेन्गुइन होटेलबाट पक्राउ गरिएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् । नक्कली एटिएम कार्डमार्फत नेपालमै निकालिएको पैसा बरामद भएको उनले बताइन् । ३४ वटा नक्कली एटिएम, कार्ड स्किमर मेसिन र ल्यापटपसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले एटिएमबाट पैसा निकाली डलर र युरो साटेका थिए । नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग गरी उनले पटक–पटक नक्कली एटिएमबाट पैसा निकालेको सिआइबीले जनाएको छ । विदेशी नागरिकको विदेशी बैंकमा रहेको खाताबाट पैसा निकालिएको हो । भिसा तथा मास्टरकार्डहरू विश्वभरि चल्ने भएकाले नेपाल आएर उनीहरूले पैसा निकाल्ने गरेका हुन् । २ वर्षमा १७ जना पक्राउ पछिल्लो दुई वर्षमा सिआइबीले मात्र १५ जना विदेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले एकजना बुल्गेरियन तथा अपराध महाशाखाले एक भारतीयलाई नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा पक्राउ गरेको छ । सिआइबीले रोमानियन र बुल्गेरियन ४–४, तीनजना टर्किस तथा दुईजना भारतीयलाई पक्राउ गरिसकेको छ । विश्वभरि नै एटिएम ठगीमा टर्की, बुल्गेरिया तथा रोमानियाका नागरिकहरू कुख्यात छन् । जसको मुख्य नाइकेहरू भने टर्कीमा रहेको प्रहरी अधिकारीहरू बताउँछन् । कसरी हुन्छ ह्याकिङ ? प्रहरीको अनुसन्धानअनुसार तीन तरिकाबाट एटिएम ह्याकिङ हुने गरेको छ । सबैभन्दा धेरै ह्याकिङ सपिङ मलहरूमा हुने गरेको छ । सपिङ गर्ने क्रममा ग्राहकले कार्ड स्वाइप गर्दा पिओएस मेसिनमा अतिरिक्त डिभाइस जडान गरी डाटा ह्याक गरी नयाँ एटिएम बनाउने गरिएको छ । त्यस्तै एटिएम बुथमा गोप्य डिभाइस र गोप्य क्यामरा राखेर डाटा र पिन नम्बर नै चोरी हुने गरेको छ । उक्त डाटा खाली कार्डमा भरेर नक्कली एटिएम बनाई सोही पिन नम्बर बनाएर पैसा चोरी हुने गरेको छ । जुन अपराधको ट्रेन्ड पछिल्लो समय नेपालमा देखिएको छ । ग्राहककै मिलेमतोमा चोरी कतिपय अवस्थामा भने ग्राहककै मिलेमतोमा समेत चोरी हुने गरेको स्रोत बताउँछ । ग्राहकहरूले नै ह्याकरसँग मिलेर आफ्नो कार्डको विवरण दिई पैसा निकाल्न लगाउने र आफ्नो कार्ड ह्याक भएको भन्दै बैंकमा पैसा दाबी गर्दछन् । ह्याकरहरूले अर्काे देशमा गएर पैसा निकाल्ने भएकाले बैंकहरूले यस्तो बदमासी थाहा पाउँदैनन् । ह्याकरले निकालेको पैसा पनि बैंकले हालिदिने र ह्याकरहरूसँग पनि कमिसन खाने प्रवृत्तिसमेत देखा परेको छ । कतिपय देशमा बैंकका कर्मचारीहरू नै ह्याकरसँग मिल्ने गरेका छन् । बैंकहरूले पनि ग्राहकको पैसाको बिमा गर्ने गरेकाले बिमा कम्पनीबाट चोरी भएको रकम खातामा जम्मा गरिदिन्छन् । त्यसकारण यस्ता घटना बैंकले पनि गुपचुप राख्ने गरेका छन् । तर, एक गिरोहले त गोप्य क्यामरा र स्किमर मेसिन एटिएम बुथमा राखेर नेपाली ग्राहककै एटिएम ह्याक गरी पैसा चोरेका थिए ।  नेपाल किन आए ह्याकर ? बैंकहरूले सुरक्षामा लगानी गर्न हिच्किउँदा एटिएमप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ । विश्वका धेरै देशमा ‘फेजआउट’ भइसकेको मेग्नेटिभी स्ट्रिप प्रविधिको कार्ड नेपालमा प्रचलन छ । सुरक्षाका कारण विश्वभरि युएमभी चिप प्रविधिको कार्डहरू प्रयोग भइरहेका छन् । तर, युएमभी चिप प्रविधिका कार्ड जारी गर्न धेरै खर्च लाग्ने भएकाले बैंकहरूले त्यसलाई प्राथमिकता दिन सकेका छैनन् । ह्याकरहरू सक्रिय भएपछि मात्र हाल बैंकहरूले चिप प्रविधिमा जोड दिएका छन् । चिप प्रविधिका एटिएम कार्ड ह्याक गर्न कठिन हुन्छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकहरूलाई चिप प्रविधिमा जान फेरि निर्देशन दिएको छ । मास्टरकार्ड र भिसाकार्डले पनि अबको ६ महिनाभित्र अनिवार्य रूपमा चिपकार्ड जारी गर्न डेडलाइन दिइसकेको छ । अर्काेतर्फ नेपालको सुरक्षा संयन्त्र कमजोर ठानेर पनि ह्याकरले नेपाललाई एटिएमबाट पैसा चोर्ने गन्तव्य बनाएको हुन सक्ने प्रहरी आशंका छ । पूर्वी युरोपियन देशका नागरिकहरू पटक–पटक नेपालमा पैसा चोरेर जाने गरेको खुलिसकेको छ । यसमा अन्तर्राष्ट्रिय गिरोह भएको र नेपाल आउनेहरू उक्त गिरोहका लागि काम गर्ने सामान्य व्यक्तिहरू मात्र भएको प्रहरी अधिकारीहरू बताउँछन् । यसबारे प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनसँग समेत समन्वय गरेर अनुसन्धान गरिरहेको छ । -नयाँ पत्रिकाबाट

वास्तविक सुविधा सम्पन्न शहर बनाउँछु :  रहबर अन्सारी

काठमाडौं, भदौ २२  नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएका रहबर अन्सारीले विगतको समयमा विकास नगर्ने नेताहरुलाई युवा पिढी मिली हराउने बताएका छन्। आफू चुनाव जित्न मात्र आएको नभई वीरगञ्जलाई जिताउन समेत आएको चर्चा गर्दै उनले पहिले विकास अवरोध गर्ने खेलाडीहरुले चुनाव लडथे भने हाल विकास गर्ने खेलाडीहरुले चुनावमा भाग लिएपछि उनीहरु त्रसित बनेको बताए। युवा पिढीलाई लिएर वीरगञ्जलाई वास्तविक सुविधा सम्पन्न शहर बनाउने उनले सपना देखेको बताए। याे पनि पढाैँ  ३१ वर्षीय मेयर उम्मेदवार रहबरकाे संकल्प: विकसित वीरगञ्ज 

सामाजिक सेवा दिवसको बिशेष तयारी, राष्ट्रपति भण्डारी मुख्य अतिथि

काठमाडौं, भदौ २१ । बिगत दुई वर्षदेखि निरन्तरता पाउन नसकेको रास्ट्रिय सामाजिक सेवा दिवस यस वर्ष मानाईने भएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्री तथा परिषदका अध्यक्ष आशा कोईरालाकोनेतृत्वमा आगामी असौज ६ गते सामाजिक सेवा दिवस मनाउने निर्णय गरेको हो । परिषदले दिवस भव्यतापूर्वक मनाऊन मन्त्री कोईरालाको अध्यक्षतामा ५१ सदस्यीय मूल समारोह समितिको गठन गरेको छ । मूल समारोह समितिको आज बसेको बैठकले तयारीका लागि बिभिन्न उप समिति निर्माण गरेको छ । परिषद, बिभिन्न मंत्रालय, नेपाली सेना, नेपाल प्रहरी, अपांग, जेष्ठ नागरिक, बिभिन्न समुदायका छाता संस्थाहरू सम्मिलित मूल समारोह समितिले ६ गते बिहान प्रभातफेरी गर्ने र त्यासपछि औपचारिक कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । कार्यक्रमको मुख्य अतिथि सम्माननीय राष्ट्रपति बिध्यादेवी भण्डारी रहनु हुने छ । कार्यक्रममा सामाजिक सेवा पुरस्कार तथा तुलसी मेहर सामाजिक पुरस्कार समेत प्रदान गरिनेछ । तुल्सीमेहर पुरस्कार राशी एक लाख नगद र प्रमाणपत्रसहित देशभरिबाट सामाजिक क्षेत्रमा सेवा दिने सामाजिक संस्थालाई प्रदान गरिनेछ । सामाजिक सेवा पुरस्कार भने ७ जना व्यक्तिलाई प्रदान गरिने समितिले निर्णय गरेको छ ।

बाढीले करोडौंको केराखेती क्षती

राजविराज, भदौ २१ । केही अगाडि कोशी नदीमा आएको बाढीका कारण सप्तरीको भारदहमा लगाइएको करोडौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ । सप्तकोशी नदीको छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ स्थित भारदहमा लगाइएको केराखेती नष्ट भएको हो । करिब पाँच सय बिघामा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताए । विभिन्न नदी र खोलामा आएको बाढी र पहिरोका कारण खेतमा पानी पसेपछि यहाँ लगाइएका अधिकांश केराका बोट गलेर नष्ट भएका छन् । बाढीले भारदहको विभिन्न स्थानमा लगाइएको केरा खेतमा पानी जमेपछि अहिले केराको बोट सुक्न थालेको पीडित कृषक बैजु मण्डलले बताए । यहाँ एक बिघा जग्गामा केराखेती गर्न करिब रु तीन लाखभन्दा बढी खर्च हुन्छ । बाढीका कारण केराखेती नष्ट हुँदा कृषक मारमा परेका छन् । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ जोगिनियाँस्थित कोशी पलारमा लगाएको केराखेती समेत बाढीका कारण नष्ट भएको छ । त्यहाँ चारसय बिघामा केराखेती गरिएको थियो । सो क्षेत्रको अधिकांश केराखेती बाढीका कारण नष्ट भएको बताइएको छ ।

भूकम्पपीडितका नाममा विद्युत चोर्ने पक्राउ

काभ्रे, भदौ २१ । काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी हुने गरेको छ। जिल्लाको दाप्चा, कटुञ्जे, तीनघरे, रोहीणी, उग्रचण्डीनालाको घिमिरे गाँउ, मण्डनदेउपुर क्षेत्रमा टहरामा बस्नेले विद्युत् प्राधिकरणको अनुमति नलिई विद्युत् उपभोग गरेको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिए। मिटर जडान नगरी विद्युत् उपभोग गर्नु नै हुकिङ हो । विद्युत् चोरी बढेपछि पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरेको र उनीहरुले पनि विद्युत् चोरी हुन नदिन प्रतिबद्धता व्यक्त गरेको जनाउँदै वितरण केन्द्र प्रमुख यादवले पुनः निर्माण प्राधिकरणलाई समेत जानकारी दिइएको बताए। उनले भने, “चेतनाको कमीले कानुनी अपराध गरेको देखियो यसको अन्त्य जरुरी छ।” आर्थिक वर्ष २०७३÷७४ मा विद्युत् चोरीको आरोपमा विभिन्न क्षेत्रबाट ४९ जना पक्राउ गरेको उल्लेख गर्दै यादवले ग्रामीण क्षेत्रमा विद्युत् चोरी गर्दैनौँ भन्ने मानसिकताको विकास हुनुपर्ने बताए । केन्द्र प्रमुख यादवले विद्युत्लाई पनि मौलिक हकका रुपमा व्याख्या गर्नुपर्ने तर्क गर्दै मिटरबाट मात्रै चोरी भएका ग्राहकको सङ्ख्या ५१ पुगेको जानकारी दिए। उनले विद्युत् चोरीमा कडाइ गरेपछि हुकिङ घट्दो अवस्थामा देखिएको छ भने। यसैबीच नमोबुद्ध नगरपालिकाको भकुण्डेमा त्यस क्षेत्रका ग्राहकलाई लक्षित गरी विद्युत् प्राधिरकरणको काउण्टर स्थापना हुने भएको छ। त्यसका लागि सबै प्रक्रिया पूरा भइसकेको छ, तिहारसम्ममा सञ्चालन हुन्छ केन्द्र प्रमुख यादवले जानकारी दिए। त्यस्तै जिल्लाको दुर्गम क्षेत्र मानिने कोशीपारि क्षेत्रका लागि विद्युत् सबस्टेसन बनाउने तयारी भएको छ। त्यस क्षेत्रमा विद्युत् लाइन विस्तारको कामसमेत भएको बताइएको छ। ‘प्राविधिक हिसाबले विद्युत् वितरणको विषय यो जिल्लामा मिलेको छैन, त्यसको गम्भीरतालाई ध्यानमा राखेर काठको पोल हटाउने तयारी पनि भएको छु, केन्द्र प्रमुख यादवले भने । रासस