एकै दिन २४ फरार दोषी पक्राउ

इनरुवा, भदौ २२ । जिल्ला प्रहरी कार्यालय आज एकै दिन २४ फरार दोषीलाई पक्राउ गर्न सफल भएको छ ।

जिल्ला अदालत सुनसरीबाट कैद सजाय पाई फरार रहेका कुटपिट मुद्दाका १२, लुटपाट मुद्दा– केही सार्वजनिक अपराध मुद्दा– लागुऔषध ओसारपसार मुद्दा– लेनदेन मुद्दाका एक एक, जालसाजी मुद्दाका चारलाई पक्राउ गरिएको हो ।

त्यस्तै अंश मुद्दा, गाली बेइज्जती मुद्दा, परीक्षाभंग मुद्दा र जारी मुद्दाका एक एक जनालाई पनि पक्राउ गर्न सफल भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । सबै दोषीलाई आवश्यक कारवाहीका लागि आजै अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

पूर्वअध्यक्ष रानामाथि भारतीयद्वारा हमला

कञ्चनपुर, भदौ २३ । कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहीबार हमला र लुटपाट गरेका छन् । भारतीय बजारबाट उपचार गरी फर्कने क्रममा नगरा नजिक तीनजना भारतीय लुटेराले हमला र लुटपाट गरेका हुन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका रानासँग रहेको मोबाइल सेट र भारतीय रुपैयाँ रु ३६ हजार लुटेराले लुटेर लगेका छन् । लुटेराको आक्रमणका कारण रानाको पिठ्यूँ, टाउको, खुट्टा र हातमा चोट लागेको छ । पूर्वअध्यक्ष रानाले लुटेराले मोटरसाइकल रोकेर लुटपाट र आक्रमण गरेको बताए । इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीका प्रहरी निरीक्षक मोहन साउदले भारतीय प्रहरीसँग समन्वय गरी आक्रमण र लुटपाटमा संलग्नहरुको खोजी भइरहेको बताए । रासस

हराएकी बालिका फेला परिन्

नवलपरासी, भदौ २३ । गत मंगलबारदेखि हराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारी बस्ने एक बालिका फेला परेकी छिन् । आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता गुरुङ गत मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीहरुसँग दिउँसो १२ बजेको समयमा पौडी खेलिरहेको अवस्थामा हराएकी थिइन् । तीनजना साथी घर फर्के तर अस्मिता भने दाइको ससुराली सर्दी जान्छु भनी हिँडेको तर त्यहाँ नपुगेको र घर पनि नफर्केको अवस्थामा बिहीबार नवलपरासीको दाउन्नेपारि पोलटारी भन्ने ठाउँमा बसिरहेको अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

सप्तरीका २०७ मतदान केन्द्र अतिसंवेदनशील

सप्तरी, भदौ २३ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ । यसैक्रममा सुरक्षा समितिले गोप्य सूचना र विश्लेषणपछि जिल्लाका २९५ मतदानस्थललाई दुई तहमा विभाजन गर्दै सुरक्षा प्रबन्ध मिलाएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि २०७ मतदानस्थललाई अति संवेदनशील र ८८ मतदानस्थललाई संवेदनशील भन्दै सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको हो । अतिसंवेदनशील मानिएका मतदानस्थल केही नगरपालिका र केही भारतीय सीमासँग जोडिएका गाउँपालिका रहेका छन् । जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका रहेका छन् । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सबै मतदानस्थलको भ्रमण, पछिल्ला घटनाक्रम र सुरक्षा चुनौती विश्लेषणपछि सुरक्षा व्यवस्था सोही अनुसार गरिएको बताए । नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र नेपाली सेनासमेत निर्वाचन सुरक्षामा खटिने उनले जानकारी दिए । निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले चार हजार प्रहरी र अधिकारीलाई आवश्यक उपकरण र हातहतियारसहित निर्वाचनस्थल र क्षेत्रमा खटाउने तयारी गरिसकेको छ । आवश्यक परे छिमेकी सुनसरी, मोरङ, झापा लगायतका जिल्लाबाट समेत थप प्रहरी झिकाउने योजनासमेत बनिसकेको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । उनले सुरक्षामा कुनै कमजोरी नहुने दाबी गरे । उनका अनुसार जिल्लाको विकट मानिएका क्षेत्रसहित नगरको चौक चौकमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी सचेत छ । बहिष्कारको पक्षमा रहेका सिके राउत र अघिल्लो दिन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का संयोजक जयकृष्ण गोइतले विज्ञप्तिमार्फत निर्वाचन बिथोल्ने र उम्मेदवारलाई जनकारबाही गर्न दिएको चेतावनीलाई पनि सुरक्षा चुनौतीका रुपमा लिँदै प्रहरीले विशेष योजना बनाएको छ । ‘विभिन्न नामधारी सशस्त्र समूहबाट निर्वाचन बहिष्कार र बिथोल्ने प्रयास हुनसक्ने सम्भावनालाई पनि ध्यानमा राख्दै योजना बनेका छन्,’ उनले भने, ‘यस्ता व्यक्ति र समूह हाम्रो निगरानीमा छन्, कुनै गडबड हुन नदिन हामी लागिपरेका छौँ ।’ उनले थपे, ‘मतदाता ढुक्क भएर मतदानका लागि आउनोस् हल्लाले सुरक्षा व्यवस्था बिथोलिँदैन ।’ उनले खुल्ला सीमा भएका कारण सीमावर्ती भारतीय क्षेत्रका स्थानीय सुरक्षा अधिकारीसँग पनि समन्वय गरी सुरक्षा निगरानी बढाइएको बताए । नाका क्षेत्रमा जाँचमा कडाइ तथा निगरानी बढाइएको बताउँदै उनले निर्वाचनको २४ घण्टाअघि देखि सीमा सिल गर्ने जानकारी पनि दिए । यता जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले जिल्लाका १८ स्थानीय तहको ८५६ पदका लागि हुने निर्वाचनका लागि जिल्लामा २९५ मतदानस्थलको चयन गरी आवश्यक सम्पूर्ण कार्य अघि बढिसकेको जानकारी दिए । सप्तरी जिल्लामा एक लाख ७० हजार ४५५ पुरुष तथा एक लाख ६० हजार ६८६ महिला गरी कुल तीन लाख ३१ हजार ४६२ मतदाता छन् ।

कञ्‍चनपुरमा गोली चल्दा दुई भारतीय नागरिक घाइते

महेन्द्रनगर,भदौ २३ । कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ। गोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्र्तगत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन्। चौहानको पाखुरामा र सिंहको पिठ्युमा गोली लागेको छ। घाइते दुवैजनालाई राति नै उपचारका लागि भारत पठाइएको छ। करिब राति १० बजेको समयमा भीमदत्त नगरपालिका ११ भुजेला पुल नजिकै गोली चलेको थियो। महेन्द्रनगरबाट क्यासिनो खेलेर घरतर्फ गइरहेका ती भारतीय नागरिकलाई नेपाली पक्षबाट गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलबाट घरतर्फ जादैँ गरेका दुवैजना भारतीय नागरिकलाई पछाडिबाट पिछा गर्दै आइरहेको मोटरसाइकलमा सवार दुई जनाको समूहले गोली प्रहार गरेको बताइएको छ। कञ्चनपुरकै भुजेलाका २१ वर्षीय विक्रम नाथ र १८ वर्षीय करण भण्डारीले गोली प्रहार गरेको भन्दै प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरु बन्दुकसहित पक्राउ परेका छन्। गोली चलेको खबर पाउनासाथ पुगेको प्रहरीको टोलीले तत्काल छापा मारेर गोली प्रहार दुवैजना पक्राउ गर्न सफल भएको हो। गोली के कति कारणले चलाइएको भन्नेबारे केही खुलेको छैन्। प्रहरीले क्यासिनोबाट फर्किरहेका हुनाले उनीहरुसँग भएको रकम लुट्नका लागि गोली प्रहार गरेको हुन सक्ने आशंका गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेठीले घटनाबारे अनुसन्धान भइरहेकोले विस्तृत विवरण पत्रकार सम्मेलन गरी जानकारी दिइने बताए।

दसैँमा एकजनालाई २७ हजार नयाँ नोट

काठमाडौं, भदौ २३ । नेपाल राष्ट्र बैंकले दसैँमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकले आफ्ना आठवटा कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत नयाँ नोट सटही सुविधा दिने भएको हो । आगामी २८ भदौदेखि सर्वसाधारणले नयाँ नोट लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । ‘राष्ट्र बैंकले उपत्यकामा थापाथली र उपत्यकाबाहिरका सात प्रदेशमा रहेका क्षेत्रीय कार्यालयमार्फत नयाँ नोट उपलब्ध गराउनेछ,’ उनले भने, ‘यसपालिलाई एकजना व्यक्तिले २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछ ।’ राष्ट्र बैंकले सरकारी स्वामित्व रहेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका केही शाखामार्फत नयाँ नोट सटही सुविधा दिने उनले जानकारी दिए । नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर शाखामा नयाँ नोट पाइनेछ । त्यस्तै, वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार र नक्साल शाखामा नयाँ नोट सटही सुविधा उपलब्ध हुनेछ । कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट समेत नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यी शाखाबाट भने प्रतिव्यक्ति २० हजार रुपैयाँबराबरको मात्रै नयाँ नोट साट्न सकिने उनले बताए । ‘सर्वसाधारणलाई सहज होस् भनेर सरकारी स्वामित्वका बैंकका शाखामार्फतसमेत नयाँ नोट सटही सुविधा दिने व्यवस्था गर्ने भएको हो,’ उनले भने, ‘यसले गर्दा नयाँ नोटका लागि भिडभाड हुने र लामो लाइन बस्नुपर्ने अवस्थालाई घटाउनेछ ।’ यस वर्ष सर्वसाधारणलाई ५, १०, २०, ५० र १ सय दरका नयाँ नोट उपलब्ध गराइने केन्द्र बैंकले जनाएको छ । नयाँ नोट सटही सुविधा १० दिन अर्थात् ७ असोजसम्म लिन सक्नेछन् । यस वर्ष करिब ४० अर्ब रुपैयाँको नयाँ नोट सटही हुने अनुमान गरिएको प्रवक्ता पौडेलले बताए । उनका अनुसार अघिल्लो वर्ष करिब ३२ अर्ब रुपैयाँ नयाँ नोट सटही भएका थिए । राष्ट्र बैंकले ३ वर्षका लागि अनुमानित नयाँ नोट मौज्दात गर्ने गरेको छ । सोही मौज्दातबाट दसैँका वेलामा नयाँ नोट सटही सुविधा दिने गरेको छ । सरकारी निकायलाई २१ भदौदेखि राष्ट्र बैंकले संवैधानिक निकाय, सरकारी निकाय, संस्थान, प्रहरी, सेना, सशस्त्र प्रहरी र अन्य संघसंस्थालाई पत्रको आधारमा २१ भदौदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । त्यस्ता निकाय, कार्यालय तथा संघसंस्थाले भने राष्ट्र बैंकको थापाथली कार्यालयबाट सटही सुविधा लिनुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट केन्द्र बैंकले दसैँलाई नै लक्षित गरेर बैंक तथा वित्तीय संस्थाहरूलाई समेत नयाँ नोट उपलब्ध गराउने गरेको छ । सबै वर्गका बैंक तथा वित्तीय संस्थालाई निश्चित कोटा नै छुट्याएर नयाँ नोट उपलब्ध गराउँदै आएको उनले बताए । ‘खासगरी बैंक तथा वित्तीय संस्थाका कर्मचारी र ग्राहकलाई लक्षित गरेर नयाँ नोट दिइन्छ,’ उनले भने, ‘त्यहाँबाट समेत सर्वसाधारणले नयाँ नोट प्राप्त गर्छन् ।’ उनले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने नयाँ नोटको परिमाणका बारेमा भने निर्णय भइनसकेको बताए ।

बसको अग्रिम टिकट बुकिङ अनिश्चित

काठमाडौं, भदौ २३ । दसैँ, तिहार, छठलगायत चाडपर्वको अवसरमा घर जाने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ । सरकारले आज (बिहीबार) देखि अग्रिम टिकट बुकिङ खुलाउने घोषणा गरेको भए पनि यातायात व्यवसायीले गरेको असहयोगको कारण अग्रिम टिकट बुकिङ खुला भएन । व्यवसायीले आफ्ना चार माग पू्रा नभएसम्म अग्रिम टिकट खुला नगर्ने बताएका छन् । अग्रिम टिकट खुला नहुँदा टिकट लिन नयाँ बसपार्क, कलंकी, कोटेश्वरलगायतका टिकट काउन्टरसम्म पुगेका यात्रुहरू रित्तो हात फर्कनुपरेको छ । यातायात व्यवसायीसँग १६ भदौमा भएको सहमतिअनुसार बिहीबारदेखि अग्रिम टिकट खुला गर्ने घोषणा गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए । ‘विभागले व्यवसायीको मनपरीविरुद्ध कानुनी कारबाही अघि बढाउनेछ,’ उनले भने । तर, यातायात व्यवसायीले आफ्ना मुख्य चारवटा माग पूरा नभएसम्म टिकट बुकिङ नखुल्ने जानकारी दिएका छन् । ‘बिहीबारदेखि बुकिङ खुलाउने सरकारको प्रस्ताव हो । माग पूरा नभएसम्म हामी टिकट बुकिङ खुला गर्दैनौँ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबाहक अध्यक्ष डोलनाथ खनालले भने । व्यवसायीले हरेक वर्ष चाडपर्व नजिकिँदै गर्दा सरकारसँग विभिन्न माग राखेर पूरा गर्न दबाब दिने गरेका छन् । ‘यात्रुलाई दैनिक रूपमा टिकट काटेर भने पठाउने नियमित व्यवस्थालाई निरन्तरता दिनेछौँ,’ महासंघका महासचिव सरोज सिटौलाले भने । पाँच हजार जरिवानाको तयारी विभागले तोकिएको सयममा अग्रिम टिकट खुला नगरेको भन्दै कानुनअनुसार व्यवसायीलाई जरिवाना गर्ने तयारी गरेको छ । ‘व्यवसायीले आफ्ना भाडाका सवारीसाधन ग्यारेजमा राखेर बसे भने केही गर्दैनौँ, टिकट काट्न गएका यात्रुलाई टिकट नदिए, बढी भाडा असुल गरे, कन्डिसनको सवारीसाधन नचलाए, सही सूचना नदिए प्रत्येकपल्टको पाँच हजार रुपैयाँ जरिवाना गर्नेछौँ,’ महानिर्देशक भट्टराईले भने । व्यवसायीले कानुनको पालना गर्नुपर्ने र कुनै पनि कमजोरी भेटिए कडा रूपमा प्रस्तुत हुने विभागको भनाइ छ । त्यस्तै, चाडपर्वका वेला यातायात क्षेत्रलाई व्यवस्थित र सुचारु राख्न तथा ठगी हुन नदिन विभागले १२ वटा अनुगमन टोली गठन गरेको छ । ती टोलीले कमीकमजोरी फेला पारेमा तत्काल कारबाही गर्ने गरी विभागले योजना बनाएको छ । भाडा तिरेर अधिकतम २० लाख मानिस बाहिरिने अनुमान यस वर्ष अधिकतम २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था विभागले प्रक्षेपण गरेको छ । विगतमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका थिए । त्यस्तै, निजी सवारीसाधनबाट पनि पाँचदेखि सात लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । तर, यति नै संख्यामा चाडपर्वमा यात्रु बाहिरिन्छन् भन्ने तथ्यांक न त विभागसँग छ न यातायात व्यवसायीसँग नै । बाहिरिने यात्रुमध्ये सबैभन्दा धेरैले कलंकी, नागढुंगा, मुग्लिङ, नारायणघाट हुँदै पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्नेछन् । यसबाहेक राजधानी जोड्ने अरनिको, सिन्धुली–बर्दिबास, पासाङह्लामु राजमार्ग पनि व्यस्त हुनेछन् । सबैभन्दा बढी व्यस्त हुने मुग्लिङ–नारायणघाट खण्डमा चाडपर्वको वेला खाल्डा पुर्ने, यातायात सञ्चालनको अवधि वृद्धि गर्ने र कुनै समस्या आए तत्काल खुलाउने गरी तयारी गरिएको नारायणगढ–मुग्लिङ सडक आयोजना प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । अग्रिम टिकट खुलाउन ढिलाइ सामान्यतः दसैँ सुरु हुनुभन्दा एक महिनाअघि अग्रिम टिकट बुकिङ खुला गर्ने चलन छ । यस वर्ष भने दसैँ (५ असोज घटस्थापना) सुरु हुन १३ दिन बाँकी रहँदा पनि अझै टिकट बुकिङ खुलाइएको छैन । टिकट बुकिङ ढिलाइ भएको गुनासो आमनागरिकबाट आउन सुरु भए पनि यातायात व्यवसायीले भने सुरक्षित र व्यवस्थित रूपमा घर पु¥याउने भन्दै नआत्तिन आग्रह गरेका छन् । यातायात व्यवसायीका चार माग -लामो यात्राका सवारीसाधनले ५० किलोमिटरभन्दा बढी दूरीमा नियमित सडकमा कठिनाइ भएका कारण घुमेर वा अर्को सडक प्रयोग गरेर जानुपर्दा जति दूरी घुमेको हो, त्यति नै दूरीको थप भाडा यात्रुबाट लिन पाउनुपर्ने । -यात्रुबाहक बसमा सामान राख्ने प्रयोजनका लागि छत (क्यारियर) राख्न पाउनुपर्ने । -भाडा समायोजन तत्काल हुनुपर्ने, समायोजनमार्फत वृद्धि भएको नयाँ भाडादर चाडपर्वपछि मात्र कार्यान्वयनमा ल्याउन तयार । -देशभरका सबै सडकमा तत्काल सम्भव भएका खाल्डाखुल्डी पुर्नुपर्ने । नयाँ पत्रिकाबाट

उपत्यकामा दसैँका लागि नयाँ नोट सटहीदेखि काठमाडौं बाहिरिने गतिविधि बढ्दै

काठमाडौं, भदौ २३ । दसैँका लागि ४५ हजार खसी, बोका र च्याङ्ग्रा व्यवसायीले दसैँका लागि उपत्यकामा ४५ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने जनाएका छन् । चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले मागअनुसार ल्याउन आफूहरू तयार भएको बताए । हाल साप्ताहिक रूपमा पाँच हजार खसी, बोका आयात र खपत भइरहेको छ । प्रतिकिलो पाँच सय : हाल जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ४५० रुपैयाँ छ । दसैँँमा आयात बढाउनुपर्ने भएकाले मूल्य बढ्ने अध्यक्ष पाठकले बताए । हाल काटेको खसीको मासु प्रतिकिलो ८५० देखि ९ सयसम्म पर्छ । व्यवसायीले करिब ३ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेका छन् । हाल प्रतिकिलो ७ सय छ । दसैँमा केही बढ्ने अनुमान छ । एकजनालाई २७ हजारबराबरका नयाँ नोट नेपाल राष्ट्र बैंकले दसैँमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकले आफ्ना आठवटा कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत सुविधा दिनेछ । आगामी २८ भदौदेखि सर्वसाधारणले नयाँ नोट लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । ४० अर्ब नयाँ नोट साटिने : यस वर्ष करिब ४० अर्बको नयाँ नोट सटही हुने अनुमान गरिएको छ । उनका अनुसार अघिल्लो वर्ष करिब ३२ अर्ब नयाँ नोट सटही भएका थिए । राष्ट्र बैंकले ३ वर्षका लागि अनुमानित नयाँ नोट मौज्दात गर्ने गरेको छ । सोही मौज्दातबाट दसैँका वेलामा नयाँ नोट सटही सुविधा दिने गरेको छ । बसको अग्रिम टिकट बुकिङ अनिश्चित यातायात व्यवसायी भन्छन्, चार माग पूरा नभई बुकिङ खुल्दैन चाडपर्वमा घर जाने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ । सरकारले बिहीबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने घोषणा गरे पनि व्यवसायीले असहयोग गरेपछि खुल्न सकेन । विभागले तोकिएको समयमा अग्रिम टिकट खुला नगरेको भन्दै व्यवसायीलाई जरिवाना गर्ने तयारी गरेको छ । चाडपर्वलाई दैनिक सात हजारसम्म सवारी नेपाल यातायात व्यवसायी महासंघका अनुसार यात्रुको चाप बढेपछि चाडपर्वको समयमा दैनिक सात हजारसम्म सवारीसाधन काठमाडौंबाट बाहिर जानेछन् । अन्य समयमा काठमाडौंबाट दैनिक बाहिरिने भाडाका सवारीसाधनको संख्या २८ सयदेखि तीन हजारसम्म रहेको छ । हवाई टिकटमा चाप आन्तरिक उडानमा दसैँलक्षित टिकट बुकिङ अत्यधिक रहेको वायुसेवा कम्पनीहरूले बताएका छन् । विशेषगरी घटस्थापनादेखि दशमीसम्मका सबैजसो टिकट बिक्री भइसकेको सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले बताए । उनका अनुसार नियमित उडानका टिकट सबैजसो बिक्री भएपछि वायुसेवा कम्पनीले माग हेरेर अतिरिक्त उडान थप्ने गर्छन् । सामान्यतः एक महिनाअघि नै टिकट होल्ड गरेर राख्ने प्रवृत्तिका कारण आन्तरिक उडानमा चाडबाड र पर्यटकीय मौसममा हवाई यात्रा कठिन हुने गरेको छ । सुपथ पसलमा १० रुपैयाँसम्म छुट सरकारले १६ भदौदेखि उपत्यकाका ९ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उपत्यकाबाहिर साल्ट टे«डिङ कर्पोरेसनका २२ कार्यालयमा समेत सुपथ पसल सञ्चालनमा आएका छन् । खाद्य संस्थानले पनि छुट मूल्यमा चामल, फापर बिक्री गरिरहेको छ । उपत्यका र बाहिर २२ वटा घुम्ती पसल सञ्चालनमा छन् । सुपथ पसलमा एउटा परिवारले चामल ३० किलो र नुन ६ किलो खरिद गर्न पाउने व्यवस्था गरिएको छ । नुनमा २ र चामलमा ५ रुपैयाँ तथा घिउ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट गरिएको छ । उपत्यकाबाट बाहिरिने सबै नाका सुचारु छन्  रमेशकुमार सिंह, सहप्रवक्ता, सडक विभाग काठमाडौंबाट बाहिर जाने सबै राजमार्ग अहिले सुचारु छन् । कलंकी–नारायणघाट सडकका खाल्डाखुल्डी पुर्ने र सवारी आवतजावतलाई सहज बनाउने काम भइरहेको छ । मुग्लिङ–नारायणघाट खण्डमा सवारीसाधन सञ्चालन हुने समय वृद्धि गरेर यातायात सुचारु राख्ने तयारी भइरहेको छ । बसको छतमा बसेर दसैँमा घर जान पाउनुहुन्न सर्वेन्द्र खनाल, प्रमुख, महानगरीय ट्राफिक टिकट फिर्ता नलिने र ठग्न खोज्नेलाई तत्काल कारबाही हुन्छ । सवारीसाधन बिग्रिएर रोकिँदा पनि ढिलाइ हुने गरेको छ, त्यसलाई समाधान गर्न यातायात व्यवस्था विभागसँग क्रेनको माग गरेका छौँ । बसको छतमा बसेर यात्रा गर्न दिइन्न । नियमनमा कडाइ गर्दै छौँ। -नयाँ पत्रिकाबाट

प्रदेश नं. २ मा ३६ हजार बढी उम्मेदवार, कुन दलले के चुनाव चिह्न पाए ..

काठमाडौं, भदौ २३ ।   प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेको संख्या उत्साहजनक देखिएको छ । निर्वाचित हुने पदभन्दा ६ गुना बढी उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार १३६ स्थानीय तहका ६६ सय २७ पदका लागि ३६ हजार ७३ जनाले उम्मेदवारी दिएका छन् । गाउँ–नगरको प्रमुखमा १७ सय ८३ र उपप्रमुखमा ११ सय ३० ले उम्मेदवारी दिएका छन् । त्यसैगरी, वडाध्यक्षमा आठ हजार १८ जना, खुला दुई सदस्यमा १३ हजार ७७, महिला सदस्यमा ६३ सय ६० र दलित महिला सदस्यमा पाँच हजार ७०५ जनाले उम्मेदवारी दिएका छन् । ९१ दललाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन चिह्न प्रदान निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाका लागि विभिन्न राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगको बिहीबार बसेको बैठकले ९१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको हो । आयोगले दुई वा दुईभन्दा बढी दलहरू संयुक्त भई एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग चाहेका हकमा समेत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न प्रदान गर्ने निर्णयसमेत गरेको छ । राजपालाई छाता आयोगले राजपालाई चुनाव चिह्न छाता दिएको छ । छाता चुनाव चिह्न पहिले जनशक्ति नेपाल पार्टीले दाबी गरेको थियो, तर उसले गोलाकारभित्र छाता निर्वाचन चिह्न पाएको छ । लोहनीको पार्टीलाई आयातकारभित्र हलो निर्वाचन आयोगले प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादी पार्टीलाई आयातकारभित्र हलो निर्वाचन चिह्न दिएको छ । लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीले राप्रपाको पुरानो निर्वाचन चिह्न हलो दाबी गरेको थियो । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई भने गोलाकारभित्र हलो निर्वाचन चिह्न दिएको छ । राणाको पार्टीले पनि हलो चिह्न नै दाबी गरेको थियो । संयुक्त निर्वाचन चिह्न निर्वाचन आयोगले संयुक्त रूपमा चारवटा निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगका अनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को निर्वाचन चिह्नमा समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टी सहभागी हुनेछन् । त्यसैगरी, पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी नेपाल र आधुनिक पार्टी नेपालले पनि निर्वाचन चिह्न संयुक्त रूपमा प्रयोग गर्नेछन् । नेकपा माले र जनसमाजवादी पार्टीले न मालेको निर्वाचन चिह्न संयुक्त रूपमा प्रयोग गर्नेछन् । राष्ट्रिय शिवसेना र राष्ट्रिय नागरिक पार्टीले पनि संयुक्त रूपमा निर्वाचन चिह्न प्रयोग गर्ने आयोगले जनाएको छ ।

रक्तचन्दन तस्कर नै सुन तस्करीमा सक्रिय

काठमाडौं, भदौ २३ । विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ । काठमाडौंमा गत सोमबार बराबद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भित्र्याउन सत्रिय देखिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार चीनबाट सुन पठाउन र केरुङ नाकाबाट भन्सार छलेर काठमाडौंसम्म ल्याउन चिनियाँ नागरिक सक्रिय छन् । काठमाडौंमा भण्डारणमा समेत चिनियाँ नागरिककै संलग्न रहेको र काठमाडौंको बजारमा तस्करीको सुन फैलाउन र भारत पुर्‍याउन नेपाली नागरिक संलग्न रहेको प्रहरी स्रोतले जानकारी दियो । २०६२/०६३ को आन्दोलनसँगै भारतमा रहेको रक्तचन्दन चीनको तिब्बत पु¥याउन नेपालको स्थलमार्गको प्रयोग बढेको थियो । चन्दन तस्करीमा भरिया फेला पारे पनि मूल नाइके जोगिएका थिए । २०६५पछि चन्दन तस्करीमा संलग्न समूह नै तातोपानी नाका हुँदै नेपालमा सुन भित्र्याउन सक्रिय थिए । भूकम्पपछि खासा नाका बन्द भएसँगै चन्दन र सुन तस्करी केरुङतर्फ सरेका हुन् । –नागरिक दैनिकबाट

राजपाले छाता, नयाँ शक्तिले आँखा, कुन दलले के चुनाव चिन्ह पाए त ?

काठमाडौं, भदौ २३ ।   निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका पार्टीहरुलाई बिहीबार निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगको बिहीबार बसेको बैठकले निवेदन दिने दलहरुको चिह्न निक्र्यौल गरेको हो । मंसिर १० र २१ गते हुने उक्त चुनावका लागि ९५ वटा दलहरुले दल दर्ताको निवेदन आयोगमा बुझाएका थिए । हाल संसदमा रहेका राजनीतिक दलहरुले यसअघि प्रयोग गर्दै आएका चुनाव चिह्न नै पाएका छन् । नयाँ दलहरुले पनि आफूले माग गरेअनुसारकै चुनाव चिह्न पाएका छन् । स्थानीय चुनावका बेला आफूले भने अनुसार चिह्न नपाएका राजपा, नयां शक्ति लगायतका दलहरु अब उनीहरुले चाहेकै चुनाव चिह्नमा चुनाव लड्न पाउने भएका छन् । आयोगले माग अनुसार नै राजपालाई छाता र नया शक्तिलाई आंखा चुनाव चिह्न दिएको छ । स्थानीय तहको चुनावमा आफूले भने अनुसारको चिह्न नपाएपछि राजपाले साईकल चुनाव चिह्न प्रयोग गरेको छ भने नया शक्तिले संघीय समाजवादी फोरमको चुनाव चिह्न प्रयोग गरेको थियो । नया शक्तिले तेस्रो चरणको स्थानीय तहको चुनावमा फोरमले आफ्नो चिह्न प्रयोग गर्न नदिएपछि स्वतन्त्र चिह्न लिएर प्रतिस्पर्धा गर्दैछ । त्यस्तै विवेकशिल साझा पार्टीले तराजु चिह्न पाएको छ । केही राजनीतिक दलको चुनाव चिह्न भने मिल्दोजुल्दो छ । राप्रपाबाट हालै छुट्एिको राप्रपा प्रजातान्त्रिकले ‘गोलाकारभित्र हलो’ चिह्न पाएको छ । तर राप्रपाबाट यसअघि नै छुट्एिको प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा राष्ट्रवादी पार्टीले पनि मिल्दोजुल्दो चिह्न ‘आयातकारभित्र हलो’ पाएको छ । झट्ट हेर्दा दुबै चिह्न उस्तै लाग्छन् । त्यस्तै राजपाले पाएको छाता चिह्नसंग मिल्दोजुल्दो चिह्न अर्को पार्टीले पनि पाएको छ । जनशक्ति पार्टीलाई गोलाकारभित्र छाता चिह्न प्रदान गरिएको छ । -कांतिपुरबाट साभार

बालिका अपहरण गरी बलात्कार गर्ने अभियुक्त पक्राउ

हेटौंडा, भदौ २२ । बालिका अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बालिकालाई अपहरण गरी जंगलमा लगेर बलात्कार गर्ने मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–८ घर भइ हाल हेटौंडा–९ लामसुरे बस्ने २९ वर्षीय श्रीराम कार्कीलाई बिहीबार सार्वजनिक गरेको हो । कार्कीले गत भदौ ३ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ लामसुरेबाट एक बालिकालाई फकाइ–फुलाइ अपहरण गरी जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । अभियुक्त कार्कीले अपराध स्वीकार गरिसकेकाले उनलाई आवश्यक कारबाहीका लागि अदालतमा पेस गरिने बिहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी गराएको छ ।

बेइजिङमा महरा द्विपक्षीय छलफलमा व्यस्त, केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलवे छिट्टै थाल्ने

काठमाडौं, भदौ २२ । राजनीतिक भ्रमणको क्रममा चीनमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राजनीतिक भेटघाट शुरु गरेका छन । मन्त्री महराले बिहीबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका हुन । भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा महराले अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउन नेपालका मुख्य राजनीतिक दलहरु सहमत भएको जानकारी दिएका थिए । यसअघि भएको नेपाल र चीनबीच व्यापार तथा पारबहन सम्झौताको प्रोटोकललाई छिट्टै टुंगाउने सहमति भएको छ । महराले भेटमा आफू र वाङ यीबीच केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलवेको सम्भाव्यता अध्ययन छिट्टै थाल्नेबारे छलफल भएको जानकारी दिए । साथै वान बेल्ट वान रेड अवधारणा अन्तर्गत नेपालमा भौतिक पूर्वाधारका साथै रेलवे र रोडसहित क्रस बोडर कनेक्भिटिभी, व्यापार, पर्यटन र लगानी बृद्धि हुने विश्वास नेपालले लिएको उनले बताए । भेटमा दुई देशबीच उच्चस्तरको भ्रमण आदान प्रदानबारे छलफल भएको उपप्रधानमन्त्री महराले बताए । साथै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण र चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनको प्रगतिको पनि समिक्षा भएको छ ।

१८ जनालार्इ टाेक्याे स्यालले

सुर्खेत, भदौ २२। पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँप खोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो । बुधबार साँझ नौजना र आज दिउँसोसम्म नौजनालाई टोकेको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले जानकारी दिए । घाइतेलाई रेबिजविरुद्ध दिइने खोप स्थानीयस्तरमा दिइएको प्रमुख वलीले बताए । स्यालले टोक्दा लगाउने इम्युनोग्लोमिन भ्याक्सिन काठमाडौँको टेकु अस्पतालमा मात्रै पाइने भएकाले उपचारमा समस्या भएको वलीले बताए । घाइतेलाई काठमाडौँ पठाएर उपचार गर्ने विषयमा गुर्भाकोट नगरपालिकाले निर्णय गरेको छ । आज बिहान नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए । विगतका वर्षहरुमा पनि यही समयमा गुर्भाकोटमा स्यालले टोक्दा दर्जनभन्दा बढी स्थानीयवासी घाइते भएका थिए । रासस

कृषिमा आठ करोड २६ लाखको क्षति

दाङ, भदौ २२ । यहाँ बाढीका कारण कृषिबालीमा रु आठ करोड २६ लाख बराबरको क्षति भएको छ । गएको साउन महिनाको अन्त्यतिर आएको बाढीले दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगपालिकामा सबैभन्दा बढी क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । एक हजार ११५ हेक्टर जमिनमा लगाइएको धानबाली र मकैबाली पूर्णरुपमा क्षति भएको र यसबाट एक हजार परिवार प्रभावित भएका छन् । उद्योग क्षेत्रमा पनि क्षति भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माले जानकारी दिनुभयो । तुलसीपुरको मदननगरमा रहेको गंगामाला च्याउखेतीमा क्षति हुँदा रु दुई लाख बराबरको नोक्सान भएको छ । त्रिपुर नगरपालिका बेलुवास्थित धर्मी कम्पोस्ट मल उल्पादन कारखानामा क्षति हुँदा रु ५० लाख बराबरको क्षति भएको छ । जिल्लामा आठ हेक्टर क्षेत्रफलमा गरिएको माछापालनमा वर्षाका कारण माछा पोखरी डुबानमा पर्दा रु ४० लाखको क्षति भएको छ । बबई, राजपुर र शान्तिनगर गाउँपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिकामा लगाइएको धानबाली र मकैबालीमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरेर कृषि मन्त्रालयमा पठाइसकेको शर्माले बताउनुभयो ।

ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन, भदौ २२ । पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका– १० शान्तिबजारको भित्री सडकखण्डमा ना६ख २३८९ नंको ट्रकले ना२०प ६८ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो । खैरहनी नगरपालिका–१० निवासी अन्दाजी ६५ वर्षीय न्यौपानेको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।