चुनाव केन्द्रित बाटो बनाउँदै नेपाली सेना

काठमाडौँ, भदौ २८ । गत साउन महिनामा परेको अविरल वर्षापछि प्रदेश नम्बर २ का बाढीबाट प्रभावित आठ जिल्लाका सडक, पुल, कलभर्ट तथा बाटोहरू मर्मत कार्य सम्पन्न भएको छ ।

आगामी असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानीय निर्वाचनको क्रममा सर्वसाधारण जनतालाई मतदान केन्द्रहरूसम्म पुग्ने पहुँच मार्ग तथा सडकहरू सुरु गर्न स्थानीय निकायहरूसँगको सहकार्यमा नेपाली सेनाले मर्मत तथा स्तरोन्नति कार्य आजबाट सम्पन्न गरेको जनाएको छ ।

सेनाले पर्सा जिल्लाका चार स्थानमा एक किलोमिटर सडक र एउटा कल्भर्ट, बाराको पाँच स्थानमा सात किलोमिटर सडक, रौतहटको फतुवा, महेशपुर र राजपुर नगरपालिकाको विभिन्न स्थानमा चार किलोमिटर सडक र एउटा पुल, सर्लाहीको चक्रघट्टा गाउँपालिका, बलरा नगरपालिकाको विभिन्न १४ स्थानमा १५ किमि सडक र तीनवटा कल्भर्ट, महोत्तरीको लोहरपट्टि गाउँपालिकाको चार किमि सडक, दुईवटा पुल र तीनवटा कल्भर्ट, धनुषाको जनकपुर उपमहानगरपालिका र ककनपट्टिको विभिन्न १० स्थानमा ७२७ मिटर सडक र तीन कल्भर्ट, सिरहा जिल्लाको विष्णुपुर, बरियापट्टि गाउँपालिका तथा गोलबजार र सुखीपुर नगरपालिकाको विभिन्न २० स्थानमा तीन किमि सडक र १० वटा कल्भर्ट, र सप्तरीको शंखरापुर, तिगाढी–कोइलाढी, रुपनी, तिरहुत, खडक, डाक्नेश्वरी र राजविराज नगरपालिकाको आठ स्थानमा पाँच किमी सडक मर्मत तथा स्तरोन्नति सकिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

हत्यामा संलग्न भएको अभियोगमा दोषीलार्इ कारबाही

चितवन, भदौ २८ । भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेला परेको जानकारी दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो, प्रादेशिक ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गर्दा हत्यारा पत्ता लगाउन सफल भएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । अनुसन्धान जारी रहेकाले हत्याको कारण भने खुलाइएको छैन । अभियुक्तले १८ वटाभन्दा बढी फेसबुक आइडी खोलेर नायकको फोटो राख्दै महिलालाई प्रभावित पार्ने गरेको अनुसन्धानबाट खुलेको छ । निजलाई म्याद थप गरी कर्तब्य ज्यान मुद्दा चलाउने तयारी गरिएको छ । त्यसैगरी जबरजस्ती करणी गरेको अभियोगमा चार वर्षअघि बालिका बलात्कार गरी फरार रहेका माडी नगरपालिका–८ का चोकनारायण श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । निजले २०७० माघ ११ गते स्थानीय चार वर्षीया बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पत्रकारसम्मेलनमा बालकलाई अप्राकृतिक मैथुन गराउने एक युवकलाई पनि पक्राउ गरेको जानकारी दिइएको छ । भरतपुर महानगरपालिका–१ का २२ वर्र्षीय विवेक खतिवडालाई सात र चार वर्र्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ गरिएको हो । पक्राउ परेका खतिवडालाई मुलुकी ऐन जबरजस्ती करणीको महलअन्तर्गत अनुसन्धान कारबाही भइरहेको सो अवसरमा जानकारी दिइयो । सो अवसरमा दिइएको जानकारीअनुसार प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न नवलपुरको गैंँडाकोट नगरपालिका–१ का ३४ वर्षीय खुमराज सापकोटालाई नारायणगढबाट पक्राउ गरिएको छ । प्रहरीले महिलालाई होटलमा राखेर वेश्यावृत्ति गराएको अभियोगमा खैरहनी नगरपालिका–११ का ३८ वर्षीय रमेश थापालाई भरतपुर बसपार्कबाट पक्राउ गरेको छ । निजले भरतपुर बसपार्कमा रहेको थापा गेष्टहाउसमा महिलालाई राखी वेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले जनाएको छ । २१ जना जुवाडे पक्राउ चाडपर्व नजिकिँदै गर्दा प्रहरीले जुवा, तास नियन्त्रण अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत मंगलबार राति ११ बजे भरतपुर ओरालोको थकाली भान्साघर तथा गेष्टहाउसमा कौडा खेलिरहेको अवस्थामा अमेरिकी डलर एक सय र भारतीय रुपैयाँ ५० सहित १२ लाख ३७ हजार ३१० रुपैयाँसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जुवा ऐन २०२० अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कारबाही भइरहेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

गाईथुने घाटमा पक्की पुल बनाउन माग

पर्वत, भदौ २८ । दक्षिण पर्वतको बिहादी गाउँपालिका र बागलुङको जैमिनी नगरपालिका जोड्ने गाईथुने घाटमा कालीगण्डकी नदीमाथि पक्की पुल बनाउन स्थानीयबासीले माग गरेका छन् । कालीगण्डकी करिडोर र कालीगण्डकी राजमार्ग जोडिने र यसले त्यस क्षेत्रका धेरै जनता लाभान्वित हुने भन्दै बिहादीको बाच्छाका बासिन्दाले यस्तो माग गरेका छन् । बाच्छाका स्थानीयले गाउँमा आमभेला राखेर पुल निर्माणका लागि जनप्रतिनिधिदेखि राजनीतिक दलका नेतालाई बुझाएका हुन् । चुनावअगावै जसले पुल निर्माणमा सहयोग गर्छ, उसैको पक्षमा मत जाने भन्दै स्थानीयले जनताको अत्यावश्यक कामको छिटो सम्बोधन हुनुपर्ने बताए । “आम भेलाको निर्णय सडक डिभिजन कार्यालय, जिल्ला समन्वय समिति र सांसदसमक्ष पु¥याएका छाँै” बाच्छाका सेवकनाथ आचार्यले भन्नुभयो । उहाँले राजनीतिक तहकै पहलमा पक्की पुलको योजना पर्न सम्भव रहेको भन्दै जसले सहयोग गर्छ उसैको पक्षमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत जाने बताउनुभयो । यो पुल निर्माणपछि विशेषगरी बागलुङको दक्षिणी भेगका बासिन्दालाई पोखरा, काठमाडौँ, बुटवल जाने बाटो छोटिनेछ । पुल बनेपछि बिहादी गाउँपालिकाको बाच्छा क्षेत्रमा चहलपहल बढ्ने आचार्यले बताउनुभयो । “बागलुङको जैमिनी नगरपालिकास्थित छिस्ती र बिहादी गाउँपालिकाको बाच्छामा पक्की पुल तत्काल आवश्यक देखिएको छ” उहाँले भन्नुभयो– “पुलले कालीगण्डकी करिडोर र राजमार्गलाई समेत जोड्नेछ ।” बाच्छाका स्थानीय भीमबहादुर खड्काले पक्की पुल निर्माणका लागि सांसद अर्जुनप्रसाद जोशी र सडक डिभिजन कार्यालयमा निर्णयसहित माग गरिएको जानकारी दिनुुभयो । खड्काले कालीगण्डकी वारी र पारी पारिवारिक सम्बन्धदेखि धेरै काम हुने भएकाले पक्की पुल नहुँदा गाडीमा १० मिनेटमा पुगिने ठाउँमा घुमेर घण्टौँ लगाउनुपर्ने उहाँले बताउनुभयो । यो पुलले बिरामी भएका व्यक्तिलाई तत्काल अस्पताल पु¥याउन समेत सहज हुने बाच्छाका शिक्षक राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

जलेश्वरमा प्रमुख दलको प्रतिबद्धताः नमूना सहरदेखि रिङरोडसम्म

गौशाला, भदौ २८ । स्थानीय तहको निर्वाचनमा होमिएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदातालाई दिने गरेको प्रतिबद्धतालाई हेर्दा चाँडै यस नगरपालिकाको कायापलट हुने देखिन्छ । जलेश्वर नगरपालिकाबाट नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार अशोककुमार साहले यस नगरलाई नमूना सहर बनाउने प्रतिबद्धता जनाउँदै आफूलाई भोट मागिरहेका छन् । उनले नेपाली काँग्रेस विकासप्रेमी पार्टी भएको भन्दै विकासलाई पहिलो प्राथमिकतामा राखेर जलेश्वरलाई नमूना सहर बनाउने भन्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । त्यस्तै, यस नगरपालिकाबाट नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार माधव मण्डलले जलेश्वरमा रिङरोड बनाउने प्रलोभन दिँदै जनतासँग भोट माग्न व्यस्त देखिएका छन् । उनले जलेश्वरमा बाटोघाटोको समस्या रहेको र ठूल्ठूला गाडी सहजरुपमा नगरभित्र आउन नसक्ने तथा पैदलयात्रीलाई समस्या हुने गरेको भन्दै एमालेले जितेमा पहिलो काम रिङरोड बनाउने प्रतिबद्धता प्रकट गरेका छन् । त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार कौशलेन्द्र शर्माले जलेश्वरनाथ महादेवको नगरी यस जलेश्वर नगरपालिकालाई पर्यटकीय रुपमा देश विदेशमा चिनाउने गरी यसको विकास गर्ने प्रतिबद्धता जनाउँदै जनतासँग भोट मागिरहेका छन् । उनले जलेश्वरमा पर्यटनको ठूलो सम्भावना रहेको तर यसको व्यापक प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको भन्दै माओवादी केन्द्रले जिते जलेश्वरलाई देश विदेशसम्म पहिचान कायम हुनसक्ने गरी पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता प्रकट गरेका छन् । पछिल्लो मधेश आन्दोलनको परिणामस्वरुप जन्मेको राष्ट्रिय जनता पार्टीका जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवार रामशंकर मिश्रले राजपाले जलेश्वर क्षेत्रका जनताको पहिचान, स्वाभिमान र सम्मानको रक्षा गर्ने तथा जलेश्वर नगरको विकासमा सबैसँग सहकार्य गरेर अगाडि बढाउने प्रतिबद्धता प्रकट गर्दै भोट माग्न व्यस्त देखिएका छन् । त्यसैगरी, संघीय समाजवादी फोरम नेपालका प्रमुख सुरेन्द्रप्रसाद सिंह र नेपाल लोकतान्त्रिक फोरम जलेश्वर नगरका प्रमुख पदका उम्मेदवार सुरेश साह सोनारले पनि जलेश्वर नगरपालिकाको विकासमा आफूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै आ–आफ्ना भोट मागिरहेका छन् ।

११ वर्षदेखि फरार दोषी पक्राउ

चौतारा, भदौ २८। नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ । बिक मेलम्ची गाविस –७ हाल मेलम्ची नगरपालिका–११ बस्ने तत्कालीन गाविसका उपाध्यक्ष कुमार पाण्डेलाई कारागार लगिएको जिल्ला अदालत सिन्धुपाल्चोकका स्रेस्तेदार महेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । दोषी पाण्डेले सरकारी छाप दुरुपयोग गरी कीर्ते दस्तखत गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयले २०६३ सालमा जाहेरी दिएपछि अदालतले एक वर्ष कैद र रु ५० जरिवाना गर्ने भनी २०६४ साल माघ १५ गते फैसला गरेको थियो । त्यसैगरी कीर्ते नागरिकता तथा राहदानी बनाएको आरोपमा जिप्रकाले २०६३ सालमा छुट्टै जाहेरी गरेको थियो । सो मुद्दामा अदालतले ११ महिना कैद तथा रु एक हजार जरिवाना गर्ने भनी २०६४ साल वैशाख १३ गते फैसला गरेको थियो । पाण्डेलाई दुवै मुद्दामा २०७६ साउन २८ गतेसम्म कैद तोकिएको छ ।

कांग्रेस–माओवादी गठबन्धनविरुद्ध एमाले पर्ख र हेर, पछि आक्रामक हुने

काठमाडौं, भदौ २८ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एमालेले तत्काल ‘आक्रामक प्रतिवाद’ नगरी ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको छ । सत्ता सहकार्यसँगै एक वर्षदेखि सुरु भएको गठबन्धनलाई दुई दलले स्थानीय निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समेत निरन्तरता दिने गृहकार्य गरिरहेका वेला एमालेले ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको हो । यद्यपि, चुनाव सकिएपछि भने आक्रामक प्रतिवाद गर्ने एमालेको तयारी छ । एक वर्षअघि वाम गठबन्धन टुटेपछि एमाले र माओवादी केन्द्रका नेताहरूले तिक्तता पोखिरहेका छन् । तर, माओवादी केन्द्रले कांग्रेससँगकै गठबन्धन रुचाए पनि एमालेले भने उसका विरुद्ध तत्काल आक्रामक प्रतिवादमा नजाने नीति अख्तियार गरेको हो । उदार पुँजीवादी कार्यक्रम बोकेको कांग्रेस र समाजवादी कार्यक्रमको नीति अख्तियार गरिरहेको माओवादी केन्द्रको दुई परस्परविरोधी नीति र दलको गैरराजनीतिक गठबन्धन भएकाले कुनै पनि वेला तिक्तता बढ्ने र सरकारको कार्यशैलीले गठबन्धन भत्किन सक्ने आसमा एमाले देखिएको छ । विदेशी शक्तिको इसारामा आफूविरुद्ध दुई दलले मधेसकेन्द्रित दललाईसमेत मिलाएर निर्वाचनलक्षित बृहत् मोर्चाबन्दीको प्रयास गरिरहेको बुझाईमा एमालेले कार्यकर्तालाई एकताका साथ सामना गर्ने गरी तयारी थाल्न निर्देशन दिँदै आएको छ । ‘एक साताकै बीचमा प्रचण्डका विभिन्न खाले अभिव्यक्तिहरू आइरहे पनि हामी प्रतिक्रियात्मक हुने पक्षमा छैनौँ । आवश्यकता परे चुनावी प्रक्रिया सुरु भएपछि जवाफ दिन्छौँ,’ एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘माइन्डसेट नै अर्कै भएकाले आफ्ना कर्मका निम्ति माओवादी साथीहरूले भित्तामा बेस्सरी टाउको ठोक्काएर नोक्सानी नबेहोरुन्जेल गठबन्धनमा पुर्नविचार गरिहाल्नुहोलाजस्तो पनि देखिन्न ।’ उनले माओवादी केन्द्र सोचमा पुनर्विचार गर्न तयार नभएसम्म सहकार्यका लागि एमाले औपचारिक संवाद गर्ने पक्षमा पनि नरहेको स्पष्ट पारे । एक्लै प्रतिस्पर्धा, तालमेलको ढोका खुल्ला कांग्रेसलाई मुख्य चुनावी प्रतिस्पर्धी ठानिरहेको एमालेले ऊबाहेकका दलसँग स्थानीय, प्रदेश र प्रतिनिधिसभामा हुन सक्ने तालमेलको ढोका खुल्ला राखेको छ । ‘हामी मूलतः आफ्नै खुट्टामा उभिएर प्रतिस्पर्धा गर्छौं । तर, स्थानीय आवश्यकताअनुसार तालमेलकोे ढोका खुल्लै राख्छौँ,’ ज्ञवालीले भने, ‘तालमेलबाटै चुनाव जित्ने र कुनै दलविरुद्ध मोर्चाबन्दी गर्ने हाम्रो नीति छैन ।’ गठबन्धनको धरातलमाथि प्रश्नै–प्रश्न एमालेले माओवादी केन्द्रलाई चिढ्याइहाल्ने नीति नलिए पनि सत्तापक्षको गठबन्धनको सैद्धान्तिक पक्षमाथि भने दर्जनौँ प्रश्न उठाउँदै प्रचार गर्ने नीति अख्तियार गरेको छ । विदेशीको दबाबमा राष्ट्रिय हित र लोकतन्त्रविरुद्ध दुई दलको गठबन्धन बनेको, अपवित्र गठबन्धनमार्फत माओवादी केन्द्रले सैद्धान्तिक, वैचारिक धरातल समाप्त पारेकोजस्ता प्रश्न उठाएर एमालेले प्राथमिकताका साथ प्रचार गरिरहेको छ । एमालेले आफूविरुद्ध लक्षित बृहत् मोर्चाबन्दीले कुनै पनि दलसँग एक्लै निर्वाचन लड्ने सामथ्र्य नरहेको प्रचार गरेर कार्यकर्ता र जनताको ‘सेन्टिमेन्ट’ जित्ने प्रयासलाई प्राथमिकता दिएको छ । विदेशी शक्ति, सत्ता, संसद्, संवैधानिक अंग, प्रशासनिक संयन्त्र आफूविरुद्ध रहेको जनाएर कार्यकर्तालाई मिहिनेतका साथ खट्न एमालेले उत्साहित गरिरहेको छ । -नयाँ पत्रिकाबाट

ललितपुरका सरकारी कार्यालयले नै बुझाएनन् विद्युत् महसुल

ललितपुर,भदौ २८ । अरुलाई नियमन गर्ने निकाय आफैंँले नियमको पालना नगरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणको ६० दिनभित्र महसुल तिर्नुपर्ने नियम भए पनि विभिन्न सरकारी निकायले लाखौँं रुपैयाँ महसुल तिर्न बाँकी राख्दै आएका छन् । गत आवको असारसम्ममा ललितपुरका सबै सरकारी कार्यालयको बाँकी बक्यौता रकम रु १२ करोड २६ लाख ८९ हजार रहेको छ । बजेट नआएको भन्दै कार्यालयले वर्षमा एक पटक मात्रै बिल तिर्ने गरेका विद्युत् प्राधिकरण केन्द्रका प्रमुख वीरेन्द्रकुमार सिंहले बताए । उनले महेन्द्र युवालय र पुरातत्व विभागअन्तर्गतको केन्द्रीय रसायन संरक्षण शाखाको लाइन काटिएको बताए । कार्यालयलाई पत्राचार गर्दा बेवास्ता गरेकाले लाइन काटिएको उनको भनाइ छ । मिटर जाँच भएको ६० दिनसम्म पनि महसुल नतिरे लाइन काट्ने व्यवस्था छ । सबै ग्राहकका लागि एउटै नियम भए पनि कार्यालयले सरकारी कार्यालयलाई महसुल तिर्न पहिले पत्राचार गर्दै आएको छ । सिंहले भने, “त्यसपछि पनि नतिरे लाइन काट्ने गरेका छौँ ।” महिनानैपिच्छे नतिर्दा यी कार्यालयको महसुल र जरिवाना गरेर धेरै रकम तिर्नुपर्ने हुन्छ । सोमबार र बिहीबार कार्यालयले महसुल नतिर्ने ग्राहकको लाइन काट्ने गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा सरकारी कार्यालयको बाँकी बक्यौता रु १२ करोड ११ लाख ४५ हजार थियो । प्राधिरकणको लगनखेस्थित केन्द्र र तीन वटा उप–केन्द्रअन्तर्गतका ग्राहक छन् । गृह मन्त्रालयअन्र्तगतका कार्यालयको रु तीन लाख ५२ हजार बक्यौता छ । कृषि मन्त्रालयको बाँकी बक्यौता रु एक लाख २८ हजार रहेको केन्द्रले जनाएको छ ।

भारतीय सेनाको तीन सदस्यीय सैनिक टोली बुधबार नेपाल आउने

काठमाडौ २७ भदौ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कूलमा सञ्चालन भइरहेको नेपाली सेना र भारतीय सेनाको गणस्तरको संयुक्त अभ्यास सूर्यकिरण–बाह्रौँ संस्करणको अवलोकन एवं समापन समारोहमा सहभागी हुन भारतीय सेनाको लेफ्टिनेन्ट जनरल जगदीपकुमार शर्माको नेतृत्वमा तीन सदस्यीय सैनिक टोली बुधबार नेपाल आउने भएको छ । उक्त उच्च तहको सैनिक टोलीले हाल सञ्चालन भई रहेको संयुक्त अभ्यासको अवलोकन गर्ने र यही भदौ ३१ गते हुने समापन समारोहमा समेत सहभागी हुने जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त सैनिक टोली आगामी असोज १ गते स्वदेश फर्कन बताइएको छ । यस अभ्यासबाट दुवै देशका सैनिकहरु बीच सयुंक्त रुपमा प्रतिव्रिदोह तथा प्रतिआतंकवादसम्बन्धी युद्धकलाको साथै बिपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । रासस

बारामा ४ गतेसम्म रक्सी बन्द

बारा, भदौ २७ । नजिकिँदो तेश्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै बारामा आगामी असोज ४ गतेसम्मका लागि रक्सी खान र बिक्री वितरण गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । मंगलबारदेखि कसैले पनि मदिराजन्य पदार्थ बेच्न खान नपाइने प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निर्णय गरेको हो । इजाजत पत्र लिएका पसल, होटल, रेष्टुरेन्ट समेतमा रक्सी बिक्री वितरण र सेवनमा पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

मन्त्रिपरिषदमा पुग्यो गोपाल खड्कालाई कारवाही गर्ने प्रस्ताव

काठमाडौं,भदौ २७।  काठमाडौं । आपूर्ति मन्त्री शिवकुमार मण्डलले पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता भएको ठहर गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि कारवाहीका लागि मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी भएको खुलासा गरेका छन् । सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा आपूर्ति मन्त्री मण्डलले मन्त्रालयको छानविनले जग्गा खरिद गर्दा अनियमितता भएको देखाएको बताए । उनले छानविनका क्रममा देखिएका तथ्यहरूसहितको प्रतिवेदन तयार गरी सोमवार प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको जानकारी दिए । मन्त्रालयले गरेको छानविनका आधारमा कारवाहीका लागि त्यसको प्रस्ताव आगामी मन्त्रीपरिषद्को बैठकमा लाने तयारी भएको मन्त्री मण्डलले बताए । उनले निगम नेतृत्वलाई कारवाही गर्न मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी गरिएको संकेत गरे ।‘जग्गा खरिदका क्रममा देखिएका विषयमा सोधिएका प्रश्नको उत्तरसहितको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पठाइसकेका छौं,’ उनले भने । प्रतिवेदनमा देखिएका तथ्यको आधारमा दोषीमाथि कारवाही गरिने उनले बताए । ‘आगामी मन्त्रिपरिषद बैठकले आयल निगमका सम्बन्धमा ठोस निर्णय लिन्छ,’ मन्त्री मण्डलले भने । निगमको जग्गा खरिद अनियमिततामा असहयोग गरेकोले अघिल्ला आपूर्ति सचिव प्रेमकुमार राईको सरुवा गरिएको उनले बताए । दोषी देखिएका कसैले पनि उन्मुक्ति नपाउने उनले प्रष्ट  पारे । संसदीय समितिहरूले दिएको प्रतिवेदनलाई पनि मन्त्रालयले गम्भीर रुपले हेरिरहेको उनले बताए । सोमबारमात्र संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निगमको जग्गा खरिदमा घोटाला भएको भन्दै त्यसमा संलग्न मन्त्रालयको तत्कालिन मन्त्री, सञ्चालक समिति र निगम अधिकारीमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबारदेखि नारायणगढ–मुग्लिन सडक चौबीसै घण्टा सञ्चालनमा

चितवन, भदौ २७ । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको छ । मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ । मौसममा सुधार आएसँगै चाडपर्वलाई ध्यानमा राखी रात समयमा पनि सडक खुला गर्ने निर्णय गरिएको प्रजिअ नारायणप्रसाद भट्टले बताउनुभयो । यात्रुवाहक सवारी साधनको चाप हुने समयमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ सडक पार गराइने पनि उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबरटारमा रोकिने भएको छ । यसबाट यात्रुवाहक सवारी साधनलाई रातका समयमा सडक पार गर्न सहज हुने छ । राति पनि पहिरो खस्न सक्ने भएकाले तत्काल सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधिलाई तयारी अवस्थामा राखिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यावदका अनुसार सडकमा ग्रेडर लगाएर खाल्डाखुल्डी पुर्ने, धुलो उड्ने स्थानमा पानी छर्कने, गाडी बिग्रिएमा तत्काल हटाउने, पहिरो खसेमा पन्छाउने लगायत तयारी गरिएको छ । सोका लागि प्रहरीसमेत परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सो सडकमा मात्र तत्काल परिचालन हुनका लागि ५० नेपाल प्रहरी परिचालन गरिएको छ । मुग्लिनमा प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय तथा सिमलताल, जुगेडी र रामनगरमा प्रहरी चौकी छन् । सडक जाम हुँदा छिटो खुलाउनका लागि चार मोटरसाइकलमा आठ प्रहरी परिचालन गरिएको छ । समग्र सडकको अवस्थाबारे अनुगमन गर्न नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी सम्मिलित टोलीसमेत गठन गरिएको थापाले बताउनुभयो । कुरिनटारमा रहेको सशस्त्र प्रहरीले पनि सडकको सुरक्षाका साथै आवश्यक परेमा उद्धार गर्न तयारी हालतमा टोली राखेको छ । राजधानीबाट दशै‌ँ, तिहारसहितका चाडपर्वमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । अधिकांशले यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

गुल्मी, भदौ २७ । अाज मङ्गलबार बिहान गुल्मीको रुरु गाउँपालिका–३ का निवासी २३ वर्षीय राजु सारु मोटरसाइकल दुर्घटना हुँदा  मृत्यु भएको छ । ना १७ प २४८१ नंको मोटरसाइकलमा सवार सारु सदरमुकाम तम्घासबाट रिडी जाने क्रममा आज बिहान रुरु गाउँपालिका–३ स्थित फलाटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताउनुभयो । दुर्घटनामा परी घाइते सारुको रुरु स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा उनीसँगै सवार रुरु गाउँपालिका–३ निवासी २१ वर्षीय ईश्वरी रावतसमेत घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्रगतिमा रहेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको थियो ।

दशै‌ँका लागि टिकट बुकिङ्गका लागि सर्वसाधारणहरुको भीड

काठमाडौं, भदौ २७ । आज मंगलबारदेखि दशैंका लागि लामो दूरीमा घर जाने यात्रुहरुका लागि टिकट बुकिङ्ग खुला गरिएको छ । बुकिङ खुला गरिएको पहिलो दिन राजधानीको नयाँ बसपार्क तथा पुरानो बसपार्कमा सर्वसाधरणको भीड लागेको छ । अघिल्ला वर्षहरुमा भन्दा एक साता ढिला गरी बुकिङ खुला भएको हो । सरकार र यातायात व्यवसायीबीचको विवादका कारण बुकिङमा ढिलाई भएको थियो। गत शुक्रबार यातायात व्यवसायीसँग भएको समझदारीपछि आजदेखि बुकिङ खुला भएको हो। बुकिङको पहिलो दिन यात्रुहरुको लाइन लागेको छ। टिकटका लागि सर्वसाधरणले कष्ट व्यहोर्नु परेको बताएका छन् । यातायात व्यवसायीहरुले दशैंको मौका पारेर यात्रुहरुबाट मनपरी भाडा असुल्ने प्रवृत्तिको नियन्त्रणका लागि यातायात व्यवस्था विभागले अनुगमन टोली नै खटाएको जनाएको छ । सवारीसाधनले विभिन्न बहाना बनाई यात्रुबाट लिने तोकिएभन्दा बढी भाडादरको निगरानीका लागि विभागले यस्तो संयन्त्र तयार गरेको हो । “दशैंको मौका पारेर मनपरी भाडा लिने सवारीसाधनको निगरानीका लागि हामीले अनुगमन टोली गठन गरी फिल्डमा पठाइसकेका छौं,” यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बाह्रखरीसँग भने, “सरकारले तोकेभन्दा बढी भाडा असुल्ने सवारीसाधनलाई रु। ५ हजारसम्म जरिवाना गर्नेछौं ।” यता ट्राफिक प्रहरी महाशाखाले यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने, यात्रुसँग दलाली गर्ने सवारीसाधन तथा टिकट काउण्टरको निगरानी अगाडि बढाएको छ । “विगत दुईदिन यता हामीले तोकिएभन्दा बढी भाडा लिने १६ सवारीसाधनलाई नियन्त्रणमा लिएका छौं,” महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने, “हामीले यस्तो मनपरीतन्त्र नियन्त्रणका लागि सादापोशाकमा समेत कर्मचारी खटाएका छौं ।” यस्ता छन् बस भाडाका मूल्यसूचीहरु-

प्रहरीद्धारा ग्र्याभिटी क्वाइन ठगीमा सुरु

धादिङ, भदौ २७ ।  पत्रकारलाई धम्की  नेपाल प्रहरीले ग्र्याभिटी क्वाइनले ठगी गरिरहेको विषयमा अनुसन्धान सुरु गरेको छ । ‘ग्र्याभिटी क्वाइनमार्फत सर्वसाधारण ठगिइरहेको बारेमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि हामीले सोमबारबाटै अनुसन्धान सुरु गरेका छौँ,’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले बताए । क्रिप्टोकरेन्सी नेपालमा प्रतिबन्धित नेपाल राष्ट्र बैंकले नेपालमा बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सीहरू गैरकानुनी रहेको जनाएको छ । हालसम्म नेपालमा बिटक्वाइनलाई मुद्राका रूपमा कानुनी मान्यता प्राप्त नभएको अवस्थामा यदाकदा केही व्यक्तिले इन्टरनेटको माध्यमबाट बिटक्वाइनको कारोबार गरिरहेको भन्ने बुझिन आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बिटक्वाइनको कारोबार पूर्ण रूपमा गैरकानुनी रहेकाले कसैले पनि सोसम्बन्धी कारोबार नगर्न–नगराउन राष्ट्र बैंकले २९ साउनमा निर्देशन जारी गरेको छ । तर, मुलुकमा ग्र्याभिटी क्वाइनलगायतको कारोबारमार्फत ठगी भइरहेको सन्दर्भमा नयाँ पत्रिकाले जिज्ञासा राख्दा त्यो पूर्णतः गैरकानुनी भएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘यस विषयमा प्रहरी र स्थानीय प्रशासनले कारबाही गर्नुपर्छ । हामीसँग भएको तथ्यांक प्रहरीलाई उपलब्ध गराउँछौँ,’ उनले भने । यस विषयमा प्रहरी र राष्ट्र बैंकको नियमित संवाद भइरहेको पनि उनले जानकारी दिए । समाचार प्रकाशित भएपछि वेबसाइट बन्द सोमबार नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि इप्लानेटडटकमडटएवाई वेबसाइट बन्द भएको छ । मलेसियामा दर्ता कम्पनीको नेपाल र भारतमा शाखा रहेका छन् । इप्लानेटमा आबद्ध सफ्टवेयर इन्जिनियर कृष्ण झाले ग्र्याभिटी क्वाइन विकास गरेको स्रोतको भनाइ छ । त्यस्तै, इप्लानेटले बनाएको साइट पनि बन्द भएको छ । यो साइट जिपी पौडेलले आफ्नो लगइन साइट भएको बताएका थिए। नयाँ पत्रिकाकर्मीलाई ज्यान मार्ने धम्की ‘मैले ७५ जिल्लाका एसपी र डिएसपी चिनेको छु, तपाईंले आफ्नो काम गर्नुभो, अब म मेरो शक्ति देखाउँछु’ भन्दै धम्की दिएका थिए । नयाँ पत्रिका दैनिकमा सोमबार प्रकाशित समाचारलाई लिएर नयाँ पत्रिकाका पत्रकार जनार्दन बराल र उमेश पौडेलमाथि ज्यान मार्ने धम्की आएको छ । सोमबार प्रकाशित ‘ग्र्याभिटी करेन्सीका नाममा नेटवर्किङ बिजनेसबाट नयाँ ठगी’ शीर्षकको समाचारको विषयलाई लिएर ज्ञानप्रसाद (जिपी) पौडेलले मोबाइल नं. ९८५१०२०५८१ बाट र जितेन्द्र नाम र विप्लव माओवादीको कार्यकर्ता बताउने अर्का एक अपरिचित व्यक्तिले ९८००५८१४१३ नम्बरबाट धम्की दिएका हुन् । जिपी पौडेलले सोमबार बिहानै उमेश पौडेललाई फोन गरी ‘मैले ७५ जिल्लाका एसपी र डिएसपी चिनेको छु, तपाईंले आफ्नो काम गर्नुभो, अब म मेरो शक्ति देखाउँछु’ भन्दै धम्की दिएका थिए । त्यस्तै, जिपी पौडेलले पत्रकारलाई ठीक पार्नुपर्यो भनी उजुरी गरेको भन्दै विप्लव माओवादीका कार्यकर्ता बताउने व्यक्तिले ९८००५८१४१३ बाट बराललाई फोन गरी धम्की दिएका थिए । पत्रकारलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले विज्ञप्ति गरी निन्दा गरेको छ । महासंघले समाचारको विषयमा चित्त नबुझे कानुनी बाटो हुँदाहुँदै पत्रकारलाई धम्की दिइनु खेदजनक रहेको बताएको छ । धम्की दिनेविरुद्ध कानुनबमोजिम कारबाही गर्न र पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न स्थानीय प्रशासनसँग मागसमेत गरेको छ । नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखा र ललितपुर शाखाले पनि पत्रकारलाई दिइएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ग्र्याभिटी क्वाइन बेच्न अवैध नेटवर्किङ यसरी सञ्चालन हुन्छ नक्कली ग्र्याभिटी क्वाइन बिक्री गरी ठगी गर्नेहरूले हर्बो र युनिटीजस्तै नेटवर्क मार्केटिङका माध्यमबाट ठगी गरिरहेका छन् । ग्र्याभिटी क्वाइन बिक्री गर्दा विभिन्न प्याकेज र तह सिर्जना गरी उनीहरूले अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका हुन् । यसअघि हर्बो इन्टरनेसनलमा काम गरेका जिपी पौडेल, माधव खनाल, मुस्कान नेपालीसहितको टोलीले देश तथा विदेशमा रहेका नेपालीलाई नेटवर्क शैलीमा नक्कली क्रिप्टोकरेन्सी ग्र्याभिटी क्वाइन बिक्री गरिरहेका छन् । ग्राभिटी क्वाइनले १००, २००, ५००, २५०० र १५ हजार डलरको प्याकेज बिक्री गर्ने गरेको छ । प्याकेजअनुसार यिनीहरूले पैसा र बोनस क्वाइनको बाँडफाँड गर्ने गरेका छन् । हर्बो र युनिटीमा कुनै सदस्यअन्तर्गत अन्तिमसम्मै बनेका अन्य सदस्यबाट लिडरलाई बोनस आउँथ्यो । तर, ग्र्यााभिटी क्वाइनमा आफूमुनिका सात लेयरबाट मात्रै बोनस पाइने व्यवस्था छ । ग्र्याभिटी क्वाइन लगानीकर्तालाई विभिन्न ‘स्टार’मा वर्गीकृत गरिएको छ । ठगहरूले १ सय डलर लगानी गर्नेलाई सेमी स्टार भन्ने गरेका छन् । त्यसपछि क्रमशः स्टार, थ्री स्टार, फाइभ स्टार, सेभन स्टार, मेगा स्टार र गिगा स्टारमा लगानीकर्तालाई विभाजन गरेका छन् । ग्र्याभिटी क्वाइनमा जति धेरै रकम तिरेर सदस्य बन्यो पछि पाउने बोनसको दर पनि त्यति नै धेरै हुन्छ । उनीहरूले सामान्यतया सबैभन्दा कम २ सय डलरको प्याकेज बेच्छन्, त्यसमा सामान्यबाहेक बोनस पाइन्न । तर, सदस्य थप्दै जाँदा स्टार र बोनस थपिँदै जान्छ । २५ सय र १५ हजार डलरको नेटवर्क प्याकेज किन्दा भने आकर्षक बोनसको व्यवस्था छ । ग्राहकले २०० डलरको प्याकेजमा लगानी गरे ५ प्रतिशत बोनस रकम वा क्वाइन दिने गर्छन् । त्यस्तै, ५०० डलरको प्याकेजमा लगानी गर्दा १५ प्रतिशत बोनस र २५ सयको ग्राहक बन्यो भने ४० प्रतिशत रकम फिर्ता वा सो मूल्यबराबरको क्वाइन पाउँछन् भने १५ हजार डलरको ग्राहक बन्यो भने ६० प्रतिशत बोनस दिने बताउँछन् । यसरी ठूलो रकम लगानी गर्दा पहिलो तहमा ६० प्रतिशत बोनस पाउनेले त्यसपछिको सात तहसम्म बोनस पाउँछन्, तर तह घट्दै जाँदा दर पनि घट्ने गर्छ । सुरुवातमा लगानी गरेको व्यक्तिले लगानी गरेको रकमअनुसार पाँचदेखि १० जनालाई सिफारिस गर्यो भने उसको लगानी उठ्ने जिपी पौडेलले दाबी गरे । यसअघि हर्बो र युनिटीले पनि यसै किसिमको पिरामिड शैलीमा नेटवर्क सञ्चालन गरेका थिए । -नयाँ पत्रिकाबाट

धादिङकाे घोप्टेभिरमा बस दुर्घटना, ३१ जना घाइते

धादिङ, भदौ २७ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारस्थित घोप्टेभिरमा यात्रुबाहक बस दुर्घटना हुदाँ ३१ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको लु १ ख ६६२३ नम्बरको बस सोमबार राती २ बजे तीब्र गतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा ४४ यात्रु सवार थिए ।

विश्वकै खतरनाक विमानस्थलमा मौसम पूर्वानुमान यन्त्रसमेत छैन

सोलुखुम्बु, भदौ २७ । विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् । विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै प्रतिवेदनहरुमा यो विमानस्थललाई खतरनाक विमानस्थलको सूचीमा राखिएको छ । तर यही खतरनाक विमानस्थलमा सुरक्षाका लागि आवश्यक पूर्वाधार तयार गरिएको छैन । छिनछिनमै मौसम बदली भइरहने लुक्ला विमानस्थलमा मौसमको अवस्था थाहा पाउने यन्त्र नै छैन । यस्ता यन्त्र विभिन्न रुटमा पनि राख्ने गरिन्छ तथापि लुक्लाको रुटमा कहीँ पनि यस्तो व्यवस्था छैन । यस्तै, लुक्ला विमानस्थलमा लाइट सिस्टम पनि छैन । मौसम खराब भई दृष्टि क्षमता कम भएको बेला विमानलाई अवतरण गराउनका लागि लाइट सिस्टम आवश्यक हुन्छ । लुक्ला क्षेत्रमा हवाईजहाज प्रवेश गरिसकेपछि मौसम खराब भएमा फर्कन सक्ने भौगोलिक अवस्था नभएकाले केही विकल्प नरहने विमान चालकहरु बताउँछन् । सगरमाथा क्षेत्रमा पर्यटक घुम्न आउने मौसममा दैनिक सयको हाराहारीमा विमान अवतरण हुने लुक्ला विमानस्थलमा मौसम खराबीका कारण समस्या दोहोरिरहने गरेको छ । वर्षेनीजस्तो विमान दुर्घटना भइरहने यो विमानस्थलमा प्रविधिको प्रयोग गरिएमा जोखिम घट्ने भएपनि त्यस्तो भएको छैन । नागरिक उड्डयन प्राधिकरण, लुक्लाले समस्या रहेको र त्यस्ता यन्त्र राख्न बारम्बार प्राधिकरणलाई अनुरोध गर्ने गरेको भएपनि पूरा नभएको बताएको छ । देशका अन्य जोखिमपूर्ण विभिन्न विमानस्थलमा पनि यस्तो समस्या रहेको बताइएको छ ।