क्यानडासँग नेपाल ए ४ विकेटले पराजित

काठमाडौं, १० फागुन । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाल ए लाई ४ विकेटले हराएको छ । यो जितसँगै क्यनाडाले तीन म्याचको सिरिज २–१ ले जितेको छ ।

सिरिज जित्न नेपाल ए ले दिएको १८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

७१ रन जोड्दा महत्वपूर्ण विकेट गुमाएको क्यानडाको पारी किर्तोनले सम्हाले । उनले पाँचौं विकेटका लागि निखिल दत्तसँग २९ रनको साझेदारी गरे । दत्त १४ रनमा आउट भए । त्यसपछि किर्तोनले नवदित दलिवालसँग छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरे । ३९औं ओभरको दोस्रो बलमा बसिर अहमदले दत्ताई ३८ रनमा आउट गरेका थिए ।

तर पाँचौं बलमा किर्तोनले चौका हान्दै क्यानाडालाई सिरिज दिलाए । उनी ५८ रनमा अविजित रहे । आरोन जोनसनले ३६ रन जोडे ।

नेपालका साहब आलमले ४ विकेट लिए भने शेर मल्ल र बसिर अहमदको नाममा एक विकेट रह्यो ।

यसअघि मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन ।

अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९र१९ रनमा आउट भए ।

क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २ २ विकेट लिए ।

गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित

काठमाडौं । बिहान ११ बजेदखि जारी गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुखले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई ‘राजनीतिक दल सम्बन्धधी विधेयक’माथिको विरोधको सूचना राख्न दिए । विरोधको सूचना फिर्ता लिनका लागि समय दिए । तर, सुवालले विरोधको सूचना फिर्ता लिएनन् । त्यसपछि सभामा उक्त सूचना स्वीकृत अस्वीकृतका लागि निर्णयार्थ प्रस्तुत गर्दा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपुरक संख्याको विषय उठाए । गणना गर्दा २७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव गर्दा आवश्यक संख्या एक चौथाइ ६९ आवश्यक भएकोमा ६५ जना मात्रै उपस्थित रहेको थाहा लाग्यो । त्यसपछि सभामुख घिमिरेले गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरे । अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

महासमिति सदस्यहरु भन्छन् –‘बैठक गठबन्धनमा केन्द्रीत भयो’

ललितपुर, १० फागुन। नेपाली कांग्रेसको महासमिति बैठकको चौँथो तथा अन्तिम दिन विभिन्‍न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ। बैठकमा धारणा राख्ने महासमिति सदस्यहरुले नै महासमिति बैठक नै गठबन्धन गर्न हुन्छ कि हुँदैन भन्ने कुरामा केन्द्रीत भएको गुनासो गरेका छन् । बोल्ने अधिकांश सदस्यहरुले गठबन्धनमा बढि बैठक केन्द्रीत भएको बताइरहेपनि आफुहरु पनि सोही विषयमा धेरै अल्झिएको देखिएको छ ।  भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताउनु भयो। उहाँले गठबन्धन हुनु या नहुनुले के फरक पर्छ भन्दै प्रश्न गर्नु भयो। अहिले उहाँले आफू गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको बताउँदै पाँच वर्ष गठबन्धन हुनुपर्ने बताउनु भयो।  उहाँले भन्नु भयो, ‘नैतिकताको आधारमा राजीनामा दिएपछिमात्र गठबन्धन छोड्छु । पाँच वर्ष गठबन्धन गर्नुपर्छ । पार्टी पूर्ण रुपमा सभापतिय प्रणालीमा जानुपर्छ । पदाधिकारी कति छन् गन्न पनि सक्दिन । जति पदाधिकारी भए पनि केही हुने रहेनछ । दुईजना महामन्त्री भए पनि केही हुने रहेनछ । यो महासमिति बैठकले कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने वातावरण बनाओस् ।’ महासमिति सदस्य गोपाल विश्वकर्माले भने गठबन्धन नगर्ने विषय केन्द्रीय समितिबाट अनुमोदन गराउन आग्रह गर्नु भयो। उहाँले भन्नु भयो, ‘गठबन्धन नगर्ने कुरा केन्द्रीय समितिबाट अनुमोदन गराउनुस् । गौतम बुद्ध जन्मेको देशमा हिन्दु राष्ट अभियान चलाउने कि नचलाउने केन्द्रीय समितिबाट निर्णय गराएर आउनुस् ।’ उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीको घोषणा पत्र कार्यान्वयन गराउन ध्यानाकर्षण पनि गराउनु भयो। ‘पार्टीले घोषणा गरेको घोषणापत्र किन कार्यान्वयन भएन सभापति ज्यू ? पार्टी पदाधिकारी, मन्त्री र केन्द्रीय सदस्य सबैले जिम्मा लिनुपर्छ,’ उहाँले भन्नु भयो, ‘यदि यो कार्यान्वयन भएको भए व्यवस्था विरोधि आन्दोलन हुने नै थिएन ।’ महासमिति सदस्य भीमसेनदास प्रधानले तल्लो तहमा छलफल गरेर महासमिति बैठक गर्ने वातावरण आगामी बैठकहरूमा मिलाउन आग्रह गर्नु भयो ।  स्याङ्जाका महासमिति सदस्य युवराज पाण्डेले समस्या पहिचान गरेर मात्र नछोड्न आग्रह गर्नु भयो। उहाँले समस्या समाधानको उपाए खोज्न पनि नेतृत्वलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो,  ‘समस्याको पहिचान गरेर हामीले छुट पाउदैनौ समाधान पनि गर्नपर्छ । सरकारमा उपप्रधानमन्त्री हुनुहुन्छ, केके गर्ने केके गरियो खाका खोई ? हामी कहाँ पुग्ने ? दशक पछिको योजना खोई ? हामी पछि पर्नुको कारण गठबन्धन हो । मेरो ठाउँमा मैले संगठन गर्ने चुनाव लड्न नपाउने ? एक्जिक्ट पोलिसी हुनैपर्छ ।’ काठमाडौँकी महासमिति सदस्य गीता दवाडीले गठबन्धनका कारण कांग्रेसीले कांग्रेसकै उम्मेदवारलाई भोट हाल्न नपाएको भन्दै गुनासो गर्नु भयो। ‘हामीले गठबन्धन बनाएर अरु पार्टीलाई भोट हाल्न पर्यो । हाम्रा सन्तानले तपाईहरुले अरु पार्टीलाई भोट हाल्न नपर्ने बनाएर आउनु भनेर पठाउनुभएको छ, उहाँले भन्नु भयो,  ‘७७ जिल्लामा १ जना महिला सभापति खोई ? हामी महिला पुरुषहरुले जे भन्यो त्यसमा सहिछाप गछौं ।’ मकवानपुरकी महासमिति सदस्य पवित्रा विकले समानुपातिक र प्रत्यक्षतर्फ एक एक पटक मात्रै चुनाव लड्ने व्यवस्था मिलाउन आग्रह गर्नु भयो।  काठमाडौँका अर्का महासमिति सदस्य सुशील भट्टले पार्टीको विधान युवाप्रतिनिधित्व कति हुने हो तोक्नुपर्ने बताउनु भयो। उहाँले भन्नु भयो, ‘विधानमा युवा प्रतिनिधित्व कति हुने हो तोकियोस् ।’ सिन्धुलीबाट आउनु भएका गोविन्द पहाडीले गठबन्धन बेकारको विषय भएको बताउनु भयो। उहाँले भन्नु भयो, ‘गठबन्धन बेकारको विषय हो यो आवश्यक छैन । राष्टियता लोकतन्त्र प्रति हाम्रो दृष्टिकोण के हो ? यो स्पष्ट हुनुपर्छ ।’ धादिङका महासमिति सदस्य बालकृष्ण सापकोटाले गठबन्धनको विषयमा तत्कालीन समयमै निर्णय गर्नेबारे ध्यान दिन भन्नु भयो।  त्यस्तै नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्षसमेत रहेका महासमिति सदस्य देवेन्द्रकुमार शेरचनले कांग्रेसले आफ्नो नीतिमा खेलकुदलाई पनि समेट्नुपर्ने बताउनु भएको छ।  शेरचनले अन्य पार्टीहरुले खेलकुदलाई मूल नीतिका रुपमा अबलम्बन गर्नुपर्ने बताउनु भयो।  उहाँले भन्नु भयो, ‘महासमिति बैठकमा खेलकुदको विषयमा जति चर्चा हुनुपर्ने हो त्यति हुन सकेको छैन। नेपालमा फुटबल र क्रिकेटको राम्रो सम्भावना भए पनि कांग्रेसले त्यसलाई आफ्नो प्राथमिकता दिन सकेको छैन। अब यसलाई सच्याएर जानुपर्छ।’  नेपाली विद्यार्थी संघबाट प्रतिनिधित्व गरेका दुजाङ शेर्पाले २०८४ को मिसन भन्दा पनि जनताका मुद्दा सम्बोधनमा कांग्रेस केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले गठबन्धन रणनीतिक विषय भएको पनि बताउनुभयो ।  महासमिति सदस्य भारती जोशीले तीनवटै प्रतिवेदन राम्रो भएको उल्लेख गर्नै गठबन्धनको विषयलाई कूटनीतिक र रणनीतिक रुपमा निर्णय गरेर अघि बढ्नुपर्ने बताउनुभयो । रोल्पाका महासमिति सदस्य मनोजमणि आचार्यले जनताको निराशालाई सम्बोधन गर्ने गरी कांग्रेसले निर्णय गर्नुपर्ने बताउनुभयो । महासमिति सदस्य भानुभक्त ढकाल महासमिति बैठकले जनताका मुद्दालाई सम्बोधन गरी दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।  रुपन्देहीका महासमिति सदस्य दीपक पौडेलले गठबन्धन रहन नभएर बाध्यता भएको र यो बाध्यता अन्त्य गर्न कांग्रेसले पहल चाल्‍नुपर्ने बताउनुभयो । गुल्मीका महासमिति सदस्य भगवती काफ्लेले गठबनधन रणनीतिक विषय भएको उल्लेख गर्नुभयो । जनसम्पर्क समिति जापानबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य रोशन केसीले गठबन्धनको विषयलाई अहिले हतार गरेर निर्णय गर्न आवश्यक नभएको बताउनुभयो । नवलपारसीका महासमिति सदस्य अनिता शर्माले भ्रष्टाचार अन्त्य गर्न कांग्रेसले काम गर्नुपर्ने बताउनुभयो ।  रुपन्देहीका महासमिति सदस्य सुन्दरराम गहतराजले महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदन राम्रो भए पनि ती प्रतिवेदनलाई कार्यान्वयन गर्नुमा जोड दिनुपर्ने बताउनुभयो । गुल्मीका महासमिति सदस्य पार्वती कुवँरले भातृसंस्थाको नियमानुसार समयमा नै अधिवेशन गरेर संगठनलाई चलायमान गर्नुपर्ने बताउनुभयो ।  महासमिति सदस्य सञ्‍जय शेर्पाले कांग्रेसले गठबन्धन जनतासँग गर्नुपर्नेमा जोड दिँदै पार्टीसँगको गठबन्धनलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । महासमिति सदस्य शशिकुमार केसीले भातृसंस्थाको समयमा नै निर्वाचन हुनुपर्ने सुझाव दिनुभयो । जिल्ला र स्थानीय तहका नेताहरु मात्र नभएर कांग्रेस केन्द्रका नेताहरु मात्र नभएपनि गाँउगाउँ जानुपर्ने बताउनुभयो ।  महासमिति सदस्य शान्ता भण्डारी अर्घाखाँची महामन्त्रीको प्रतिवेदनको प्रशंसा गर्दै यसको पालना गर्नुपर्नेमा जोड दिनुभयो । महासमिति सदस्य राजेन्द्र खत्रीले सांस्कृतिक संघलाई शुभेच्छुक नभई भातृसंस्था बनाउनुपर्ने बताउनुभयो । अर्घाखाँचीका महासमिति सदस्य निर्मला क्षेत्रीले महासमितिले पारित गरेका प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । महासमिति सदस्य एकबहादुर पुनले नेपालीलाई नेपालमै बस्‍ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।  कागेश्वरी मनोहरा नगरपालिकाका मेयरसमेत रहेका महासमिति सदस्य उपेन्द्र कार्कीले गठबन्धनको विषयमा छलफल गर्नु राम्रो भए पनि यसलाई अहिले नै निर्णय गर्नु नहुने बताउनुभयो ।  गोरखाकी महासमिति सदस्य  शोभा अधिकारीले  आर्थिक विकासका लागि बागमती र गण्डकी प्रदेश कृषि, पर्यटन, जडिबुटी, पशुपालन, उद्योग, कलकारखाना, व्यापार व्यवसाय, हाइड्रो आदी सम्भावना भएको क्षेत्र भएको बताउँदै यसमा राज्यले ध्यान दिनुपर्ने बताउनु भयो।   उहाँले विकासका लागि आन्तरिक र बाह्य लगानीको वातावरण सिर्जना गरी नेपाली कांग्रेसले कृषकले उत्पादन गरेका कृषिजन्य सामग्रीलाई सरकार आफैँले खरिद गरेर बजार व्यवस्थापन गर्न पहल गरोस् भन्दै ध्यानाकर्षण गराउनु भयो।  पार्टीमा ३३ प्रतिशत निर्वाचन क्षेत्र महिलालाई मात्रै छुट्याउने र महिला महिलाबीच मात्रै प्रतिस्पर्धा गराउन पनि उहाँले सुझाव दिनु भयो। उहाँले न्यू मिडिया र सञ्चार क्षेत्रमा भएको दुरुपयोगलाई नियन्त्रण गर्न सञ्चार नीति परिमार्जन गर्न पनि आग्रह गर्नु भयो। 

नेपाल ए ले क्यानडालाई दियो १८२ रनको लक्ष्य

काठमाडौं । तीन म्याचको सिरिज जित्न नेपाल एले क्यानडालाई १८२ रनको लक्ष्य दिएको छ । क्यानेडाले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ । मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमायो । नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट भए । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन । अर्जुन कुमाल २७ रनमा आउट भए भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९र१९ रनमा आउट भए । क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २/२ विकेट लिएका छन् ।

बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद अवरोध गरेसँगै सभामुख घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । पुस १३ गते दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको भन्दै सांसदहरुले मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेका थिए । संसद अवरोधपछि सभामुख घिमिरेले भने, ‘‘यि विषय यसअघिको बैठकमा पनि उठेको छ, पर्याप्त रुलिङ पनि भएको छ । मान्य सदस्यहरु कुरा राखिसकेको छु, मैले ६ गतेको बैठकमा यहाँ उठेका विषयलाई लिएर रुलिङ गरेको छु । आज पनि त्यही विषयमा मान्यज्यूहरुले मुलतः विषय उठाउनुभएको छ । प्रतिनिधि सभाको नियमावली, २०७९ को नियम १५ मा रहेको व्यवस्थातर्फ सरकारको ध्यान आकर्षण गराउँछु । शुन्य, आकस्मिक र विशेष समयमा उठेका सवालहरुमा राज्यले उपयुक्त ढंगबाट जवाफ दिनुपर्छ ।’’

उपकुलपतिका लागि सिफारिस समितिले ‘मेरिटोक्रेसी’ को मापदण्ड पालना गरे/नगरेको अध्ययन गर्दै प्रधानमन्त्री

काठमाडौं।  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने क्रममा सिफारिस समितिले योग्यताप्रणालीको मापदण्ड पालना गरे नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरिरहेका छन्।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको मेरिटोक्रेसीका विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गरिरहेका हुन् । सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डसमक्ष चित्रबहादुर बुढाथोकी, केशरजङ्ग बराल र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।  दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणमा दिइएको अङ्कका विषयमा प्रधानमन्त्रीले अध्ययन गरेर मात्रै नियुक्ति दिने मनसायमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  रासस

कांग्रेस पदाधिकारीको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बोलाइएको छ ।  महासमिति बैठकको विषयकेन्द्रित छलफलका लागि बिहीबार नै बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारी बैठक कांग्रेसले बोलाएको हो ।  ललितपुरको गोदावरीमा गत सोमबारदेखि कांग्रेस महासमिति बैठक बसिरहेको छ । बिहीबार महासमिति बैठक समापन गर्ने कांग्रेसको तयारी छ ।

गृहमन्त्री श्रेष्ठले गरे ट्राफिक सप्ताहको उद्घाटन

नेपालगन्ज। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर  र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह( २०८० को उद्घाटन गरेका छन् । 'सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि' आजबाट ट्राफिक सप्ताह सुरु भएको हो। त्यसक्रममा लुम्बिनी प्रदेश र बाँके जिल्लाका प्रहरी तथा स्थानीय निकायहरूको संयुक्त आयोजनामा प्रभात फेरी गरिएको थियो। प्रभात फेरीमा यातायात र शैक्षिक क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो। प्रभातफेरीलाई संक्षिप्त सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ट्राफिक सचेतनाका लागि सबै पक्षले सहयोग गरेको र चासो देखाएकोमा आभार व्यक्त गरे। सचेतनाले दुर्घटना र ट्राफिक जामलाई न्यूनीकरण गर्ने मात्रै नभएर चालक, यात्रु सबैलाई ज्ञान दिने उनले बताए ।

प्रकाश ज्वालालाई बर्खास्तग गर्न एमालेको माग

काठमाडौं, १० फागुन । नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गर्ने भएको छ । एमालेका सचेतक महेश बर्तौलाका अनुसार एमालेले संसदमा समय लिएर ज्वालाले राजिनामा नदिएपछि बर्खास्तगी गर्न सरकारको ध्यानाकर्षण गर्न लागेको हो । यसअघि नै एमालेले मन्त्री ज्वालाको राजीनामा मागिसकेको छ । माघ ६ गते बसेको बैठकमा एमालेका सचेतक बर्तौलाले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए । जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए । तर, अझैसम्म सरकारी छानबिन समितिले दोषी देखाएका व्यक्ति कारबाहीमा नपरेको भन्दै एमालेले पुनः सरकारको ध्यानाकर्षण गर्न लागेको हो । प्रतिनिधि सभाको बैठक शुरु भए लगत्तै समय लिएर बोल्ने एमालेको तयारी छ । एमालेको तर्फबाट सांसद रघुजी पन्तले सरकारको ध्यानाकर्षण गर्नेछन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागीमा प्रकाश ज्वाला ललितपुरको बालकुमारी घटनापछि निकै विवादित बने । गत पुस १३ गते दक्षिण कोरियाको इपीएस परीक्षामा भाग लिन पाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाइदिएपछि प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । यो घटनापछि सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो । पूर्वडीआईजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई आयोगका सदस्य थिए । आयोगले एक महिनाभन्दा बढी समयपछि तयार पारेको प्रतिवेदनमा मन्त्री ज्वालासमेत दोषी रहेको देखाइएको छ । प्रदर्शनीस्थलमा मन्त्री ज्वाला सवार झण्डावाल गाडी पुगेपछि स्थिति तनावग्रस्त बन्न पुगेको छानबिन समितिको निष्कर्ष रहेको बताइन्छ । आयोगको प्रतिवदेनपछि एमालेले मन्त्री ज्वालाको राजीनामा माग्दै आएको छ । नैतिकताका आधारमा मन्त्री ज्वालाले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने पनि उनीहरुको माग छ । माघ ६ गतेको प्रतिनिधिसभामा आकस्मिक समय लिएर एमाले सचेतक बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।

क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’

काठमाडौं । क्यानडा–११ विरुद्ध एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ ले ब्याटिङ गरिरहेको छ । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस जितेर क्यानडाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । सिरिजको निर्णायक खेलमा आज जित निकाल्दै दुवै टोली नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । यसअघिका दुई खेलमा नेपाल र क्यानडाले १–१ को बराबरी खेलेका छन् । पहिलो खेलमा क्यानडा चार विकेट विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले दुई विकेटको जित निकालेको थियो ।

मोटरसाइकलमा गुडिरहेका दुई युवालाई बाघले झम्टिएपछि.....

काठमाडौं । बाराको पथलैया जंगलमा मोटरसाइकलमा यात्रा गरिरहेका दुई युवालई जितपुर सिमरा उपमहानगरपालिका १६ भद्रकाली भन्ने ठाउँमा बाघले झम्टिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया-निजगढ सडकखण्डमा पर्ने पिलुवा नजिकैको जंगलमा बुधबार साँझ मोटरसाइकलमा सवार दुई युवालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेका अनुसार बाघको आक्रमणबाट घाइते भएका दुई युवाको सामुदायिक अस्पताल निजगढमा उपचार भइसकेको छ। घाइते हुनेमा रौतहटको बौधीमाई नगरपालिका-३ का राजु साह र सोही ठाउँका कृष्ण साह छन्। राजुले चलाएको ना३६प ५०११ नम्बरको मोटरसाइकलको पछाडि कृष्ण बसेर पथलैयाबाट निजगढतिर जाँदै गर्दा बाघको आक्रमणमा परेका हुन् । एक्कासी जंगलबाट निस्केको बाघले आफूलाई हातमा टोकेर लडाएको घाइते राजुले बताएका छन्। मोटरसाइकल लडेपछि भने बाघले थप आक्रमण नगरेको घाइते युवाहरुले बताएका छन्।  मोटरसाइकल लड्दा दुबै युवा सामान्य घाइते भएका छन्। उनीहरुका अनुसार मोटरसाइकलबाट आफूहरु लडेपछि बाघ केही पर सरेको थियो। त्यहीबेला पश्चिमबाट आउँदै गरेको बसका यात्रुले होहल्ला गरेपछि बाघ जंगलतिर भागेको थियो।   पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र विस्तार भएसँगै पथलैया-निजगढ सडकखण्डमा बाघ र हात्तीको चहलपहल बढ्न थालेको स्थानीयले बताएका छन्। 

भ्रमण वर्ष सफल पार्न पर्यटन बोर्ड र महानगरबीच सम्झौता

भरतपुर। नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो ।  भरतपुर भ्रमण वर्ष अभियान सञ्चालनमा लाग्ने कूल खर्च तीन करोड ७० लाखमध्ये बोर्डले ७० लाख व्यहोर्ने छ । पर्यापर्यटन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्याशाला, ‘ब्रसर, स्टिकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड,’ वैदेशिक पर्यटन प्रवद्र्धन, विभिन्न सहरमा प्रचारात्मक कार्यक्रम, ‘नेचर गाइड’ तालिमलगायत कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौतापत्रमा उल्लेख छ ।  त्यस अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्ड गरेको सहयोगको प्रशंसा गरिन् ।  देशमा भइरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निराशालाई उत्साहमा परिवर्तन भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी रहेको प्रमुख दाहालले बताइन् ।  कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । भ्रमण वर्षको आयोजना भरतपुर महानगरपालिकाले गरेको भए पनि निजी क्षेत्रले ल्याउने प्याकेज, सेवासुविधा, तत्परताले अभियान सफल हुने वरिष्ठ निर्देशक ऐरले बताए । रासस

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा विधान अधिवेसनका निष्कर्ष र समसामयीक राजनीतिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफलका निष्कर्ष सुनाइँदै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आज निष्कर्ष सुनाइनेछ । समूहगत छलफलबाट आएका निष्कर्ष आजको बैठकमा सुनाउने कार्यक्रम छ ।  बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा हिजो समूहगत छलफल भएको थियो । छलफलका लागि नौवटा समूह बनाइएको छ ।  छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम छ  ।  छलफलमा आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने एमालेले जनाएको छ  । 

कांग्रेसले महासमिति बैठक आज समापन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले जारी महासमिति बैठक आज समापन गर्ने भएको छ । तेस्रो दिन (बुधबार) नेताहरूले राखेका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले मंगलबार प्रस्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरूले समूह बनाएर छलफल गरेका थिए ।  बुधबार बन्दसत्रमा धारणा राख्न बाँकी महासमिति सदस्यहरूले बिहीबार (आज) धारणा राख्नेछन् ।  सोमबारबाट सुरु भएको महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।  बैठकमा संस्थापन इतरले आगामी चुनावमा गठबन्धन नगर्ने धारणा जोडसँग राखेको छ भने संस्थापन पक्षले अहिले नै त्यो विषय किन चाहियो  भन्ने धारणा राखेको छ ।  आज बिहान ८ः३० बजेदेखि सबै महासमिति सदस्यहरू एउटै हलमा रहनेछन् । सातै प्रदेशमा सभापतिहरूले समूहबाट निस्केको निष्कर्ष राख्नेछन् । दिउँसो साढे २ बजेदेखि महासमिति बैठकको समापन समारोह हुनेछ ।