फनपार्कको जग्गा कांग्रेस सांसदका अाफन्तलार्इ

काठमाडौं, भदौ २५ ।  समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाडौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन् । जग्गा तथा घरटहरा भाडामा दिएको १४ वर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारी तैं चुप मै चुप गरी बसिरहेका छन् ।

राज्यमन्त्री समेत भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरूङका परिवारका सदस्यहरु पाल्देन गुरुङ र रविन्द्र गुरुङलाई पालैपालो १४ वर्षदेखि परिषद् बोर्ड र कार्य समितिका सदस्यसँगको मिलेमतोमा विधि र प्रक्रियामा नगराई सो जग्गा कौडीको मोलमा भाडामा दिएर परिषद्ले करोडौं रुपैयाँ नोक्सान हुँदा सबै मौन बसेका छन् ।

फनपार्कले ६४ रोपनी जग्गा २०५७ सालमा मासिक चार लाख ७५ हजार रुपियाँ बुझाउने सर्तमा चार वर्षका लागि सम्झौता गरेको थियो । त्यसपछि फनपार्कले २०६१ सालमा ५ वर्षका लागि मासिक २ लाख २ हजार ४ सय रूपैयाँमा र २०६९ सालमा १५ वर्षका लागि मासिक ५ लाख ५५ हजार रूपैयाँमा सम्झौता गरेको थियो। २०५७ पछि ५ वर्षका लागि जग्गा भाडामा दिँदा २ लाख ७२ हजार ६ सय रूपैयाँ कम दाममा जग्गा भाडामा दिइयो ।

जबकि भृकुटीमण्डप सञ्चालन कार्यालयलाई ३ रोपनीमा फैलिएको तरकारी बजारले मासिक ९ लाख ९० हजार रूपैयाँ बुझाउँछ भने ३० रोपनीमा फैलिएको निम्न ब्यापार संघले मासिक ७ लाख रूपैयाँ भाडा बुझाउने गरेको छ । –नेपाल समाचारपत्रबाट 

बाढी पीडितकाे पक्षमा काम गर्ने प्रचण्डकाे प्रतिवद्धता

सिमरा, भदौ २४ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले तराई मधेशका बाढी पीडितका पक्षमा काम गर्ने प्रचण्डकाे प्रतिवद्धता जनाएका छन् । शनिबार बिहान सिमरा-२३ मा अायाेजित चुनावी सभामा बाेल्दै प्रचण्डले भने, “म चुनावी अभियानमा मात्र छैन, बाढी पीडितकाे अवस्था, क्षति, राहत र पूनर्स्थापनाका लागि पनि क्रियाशील छु। तपाईहरुकाे यहाँकाे अवस्था पनि म निरीक्षण गर्नेछु। हामीले बाढी पीडितका लागि प्याकेज बनाउन मैले सरकारलाई भनिरहेकाे छु, यसका लागि माअाेवादी केन्द्रले विशेष भूमिका खेल्नेछ।” “माअाेवादी केन्द्र मात्रै देशकाे मुक्तिकाे एक मात्र पार्टी हाे, अार्थिक विकास र समृद्धिकाे पार्टी हाे”, प्रचण्डले भने, “मधेशकाे मुक्ति चाहने पार्टी माअाेवादी नै हाे। मेराे मधेश र मधेशी जनतासँग प्रेम थियाे। तर, बीचमा भिलेन अाएर मेराे प्रेमिकालाई झुक्याउन खाेज्याे। प्रेमिका भ्रममा परिनँ। अहिले भिलेनकाे भ्रम खत्तम भएकाे छ। मधेश र मधेशी जनताकाे प्रेमी प्रचण्ड र माअाेवादी नै हाे भन्ने जनताले बुझेका छन्।”

बैतडीको पाटन विमानस्थल कालोपत्रे हुँदै

बैतडी, भदौ २४ । बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम सुरु भएको छ । विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्य सहित कटिङको काम तीव्र गतिमा भइरहेको हो । गत वर्षको बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरि पुनः सुचारु गर्ने गरी बजेट विनियोजन गरेको थियो । सोही अनुसार गत मंसिरमा विमानस्थल सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारिएको थियो । सोही डिपीआर अनुसार विमानस्थललाई स्तरोन्नति गरि पुनः सुचारु गर्न ठेक्का आह्वान गरेर स्तरोन्नतिको काम शुरु गरिएको हो । करिब १३ करोडको लागतमा ५८० मिटर लम्बाई २० मिटर चौडाई क्षेत्रफलमा कालोपत्रे गरिने नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श्रेष्ठले जानकारी दिए । यस विमानस्थलमा टुईनेटर विमान अवतरण गर्ने सक्ने र दुई विमान पार्किंग गर्न सकिने उनले बताए । गाल्वा च्याङमिला जगदम्बा जेभी निर्माण कम्पनीले विमानस्थललाई कालोपत्रेका साथै घेरबार गर्ने जिम्मेवारी पाएको कम्पनीका प्रतिनिधि दानसिंह रावलले जानकारी दिए । उनले भने, ‘अहिले कटिङको काम भइरहेको छ, यसपछि फिलिङ गरेर विमानस्थललाई कालोपत्रे गरिनेछ ।’ लगातारको बर्षाका कारण स्तरोन्नतिको काम २ महिना ढिला भएको छ । समयमै सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको कम्पनीका प्राविधिक पुरनदेव रावलले जानकारी दिए । लामो समयदेखि बन्द रहेको विमानस्थल सुचारु गर्ने हिसाबले काम शुरु भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । बन्द रहेको विमानस्थल सञ्चालनका लागि काम शुरु भएपछि आफूहरु खुशी भएको स्थानीय उत्तम भण्डारीले बताए । विमानस्थल सञ्चालनमा आए यस क्षेत्रको विकासले फड्को मार्ने उनको भनाइ छ । पाटन विमानस्थल सञ्चालनमा आए यो क्षेत्रमा पर्यटकको आगमन हुने स्थानीय लवदेव जोशीले बताए । पाटन देशका १० नमूना शहरमध्ये एक हो । ‘७ नम्बर प्रदेश पर्यटन सम्भावना बोकेको क्षेत्र हो,’ उनले भने । पाटन विमानस्थल सञ्चालनमा आए भारतको उत्तराखण्डबाट नेपाल आउने पर्यटक बैतडी भएर आउने उनको भनाइ छ । पाटन विमानस्थल सुचारु भएमा पत्तालभूमेश्वर लगायत बैतडीका धार्मिक पर्यटकीय क्षेत्र, दार्चुलाको अपी हिमाल, बझाङको सैपाल हिमाल र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटकहरु भित्र्याउन सजिलो हुने विश्वास लिइएको छ । यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गतको पाटन नमूना शहर भएकाले पनि विमानस्थल सुचारु हुनुपर्ने धेरैको भनाइ छ । वि. सं. २०६९ सालमा तत्कालिन पर्यटन तथा नागरिक उडड्यन मन्त्री लोकेन्द्र बिष्ट मगरले पनि विमानस्थल सुचारु गर्ने प्रतिबद्धता जनाएका थिए । तर त्यो प्रतिबद्धता कार्यान्वयनमा आउन सकेको थिएन । २०७२ सालमा तत्कालीन अर्थराज्यमन्त्री दामोदर भण्डारीको पहलमा गतसालको बजेट भाषणमा पाटन विमानस्थलका लागि बजेट छुट्याइएपछि स्तरोन्नतिको काम शुरु भएको हो ।

नेतृ नमुनाको पहलमा अाठ सय बाढी प्रभावितलाई १५ लाखको राहात

नेपालगञ्ज, भदौ २४ । बाढीबाट प्रभावित बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ६ र ७ का ८ सय बाढी प्रभावित परिवारलाई १५ लाख बराबरको विभिन्न राहात सामग्री वितरण गरिएको छ । माओवादी केन्द्रकी नेतृ नमुना केसीको पहलमा रोटरी ईन्टरनेशनल क्लब गोंगबु काठमाडौंको नेतृत्वमा राजधानीका विभिन्न ८ वटा रोटरी क्लबहरुले राप्तीसोनारी गाउँपालिकामा पुगेर बिहिबार सो राहात वितरण गरेका हुन् । सो अवसरमा झुल, भुईंमा ओछ्याउने म्याट, कम्बल र बालबालिका तथा महिलाहरुलाई लगाउने लुगाहरु वितरण गरिएको थियो । रोटरी क्लबहरुको टोलीले कमैयाँडाडामा रहेको विद्यालयको समेत निरिक्षण गरेर त्यहाँ रहेका विद्यार्थी लागि पोशाक, विद्यालयलाई आवश्यक फर्निचर, खानेपानीको ब्यबस्था र शौचालय निर्माण गराउने प्रतिवद्धता समेत जनाएको नेतृ केसीले जानकारी दिइन् । केसीलाइृ अहिले मातृशोक परेको छ । तर, उनी आफ्नो भन्दा जनताको समस्या ठूलो भएको भन्दै  राहत वितरणमा लागेकी छिन् । उनी प्रचण्ड सरकारको पालामा प्रचण्डको सचिवालय सदस्य थिइन् ।

सुन तस्करीकाे कारण खुल्याे ?

सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेको बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो । यसकाे कारण के हाेला ! चासाे रहनुस्वभाविक नै हाे । लामो समेदेखि निर्वाचन चर्चामै समेटिएको थियो । गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरू भयो । यहीबीच राजधानीमा भटाभट तस्करीका सुन बरामद हुन थाल्यो । सुरक्षा निकाय र निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेकै बेला पुस १३ गते थानकोटमा ७ किलो सुन फेला पर्‍यो । सो सुनको अनुसन्धान सकिएकै थिएन । पुस २१ मा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन विमनस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन फेला पार्‍यो । त्यसले राम्रै तरङ्ग ल्यायो । सरकारले आयोगलाई २०७४ वैशाख अन्तिमसम्म निर्वाचन गर्नेगरी तयारी थाल्न निर्देशन दियो । सुन बरामद हुने क्रम रोकिएन । माघ १ गते चमतीमा १५ किलो सुन बरामद भयो भने फागुन ८ मा विमानस्थलबाट डेढ किलो र चैत ७ मा रसुवामा ७ किलो सुन बरामद भयो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भई तेस्रो चरणको निर्वाचनको तयारीकै बेला भदौ १५ गते  १५ किलो र १९ मा ८८ किलो सुन फेला पर्यो । प्रहरी अधिकारीहरू तस्करी भएको सुन मुस्किलले १० प्रतिशत मात्रै बरामद हुने स्वीकार्छन् । ९० प्रतिशत उनीहरूको पहुँच बाहिरै रहन्छ । राजनीतिक दलका लागि निर्वाचन सुबैभन्दा खर्चिलो समय हो । ‘पैसा खर्च हुने राजनीतिक गतिविधिसँगै सुन तस्करीका घटना बढ्छन् । यसलाई चुनाव खर्चसँग जोडेर हेर्नुपर्छ ।’ -मणिकरत्न शाक्य, सुन व्यवसायी ‘नेपाली बजारमा मागहनुसार सुन ल्याउन नदिने नीति कतै न कतै राजनीतिक प्रभावमा आएको देखिन्छ ।’ -हेमन्त मल्ल, पूर्वएआइजी -नागरिकबाट

गएराती जनकपुरमा मेयर उम्मेदवारको घरमा बम विस्फोट

जनकपुर, भदौ २४ । राप्रपाको तर्फबाट धनुषाधाम नगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएकी प्रेक्षा मल्लको घरको प्रांगणमा बिहीबार राति सुतलीबम विस्फोट भएको छ । धनुषाको सहरसास्थित घरमा राति करिब १० बजे बम विस्फोट भएको हो । कसले विस्फोट गराएको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । विस्फोटबाट मल्लको घरको पर्खालमा सामान्य क्षति पुगेको जनकपुर अञ्चलका वरिष्ठ प्रहरी उपरीक्षक सुभाषचन्द चौधरीले जानकारी दिए । उम्मेदवारहरूलाई तर्साउन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराएको हुन सक्ने उनले बताए । यता राप्रपाका केन्द्रीय सदस्य मनोजप्रताप मल्लले घटनाको निन्दा गरेका छन् । लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लड्ने सबै पार्टीको अधिकार भएकाले उम्मेदवारलाई तर्साउनु गलत रहेको उनको भनाइ छ निर्वाचन कार्यक्रमअघि नै नेकपाले अवरोध पुर्याउने चेतावनी दिँदै आएको थियो । चुनावमा खटेका कर्मचारी तथा उम्मेदवारलाई भौतिक कारबाही गर्नेसमेत नेकपाले चेतावनी दिएको थियो । उम्मेदवारको सुरक्षाका विषयमा सुरक्षा निकाय गम्भीर रहेको वरिष्ठ प्रहरी उपरीक्षक चौधरीले बताए । उनले भने, ‘अहिलेसम्म कुनै उम्मेदवारले सुरक्षासमबन्धी कुनै उजुरी दिएका छैनन्, हामी उहाँको सुरक्षामा गम्भीर छौँ ।’ सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।

राजधानीको फोहोर फाल्न नयाँ ठाउँ खोजिदैं

काठमाडौं, भदौ २४ । सरकारले फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाको विकल्प खोज्न थालेको छ । नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटका स्थानीयवासीले पटकपटक अवरोध खडा गरेपछि ओखरपौवाबाट २ किमि दूरीमा पर्ने बञ्चरे डाँडामा विकल्प खोजेको हो । उक्त ठाउँमा ल्यान्ड फिल्ड साइट बनाउन सके सरकारको ढुवानी खर्च कम हुने छ । त्यहाँ मानव बस्ती पनि छैन । शुक्रबार नुवाकोट ओखरपौवावासी र सम्बन्धित सरकारी निकायबीच भएको वार्ता निश्कर्षमा पुग्न सकेन । वार्ताका लागि ललितपुर र काठमाडौं महानगरपालिकाका प्रतिनिधि नुवाकोटमै पुगेका थिए । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले सिसडोलबाट फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाबाट २ किलोमिटर दूरीमा पर्ने बन्चरे डाँडाबाहेक अर्को विकल्प नभएको बताए । – कान्तिपुर दैनिकबाट

भारतमा कार दुर्घटनामा सात नेपालीसहित आठ जनाको मृत्यु

भदौ २३ । भारतको महाराजगञ्ज जिल्ला पुरन्दरपुर क्षेत्रको देउपुरमा आज भएको सवारी दुर्घटनामा सात जना नेपालीसहित आठ जनाको मृत्यु भएको छ। गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा मृतक कारका चालक सुनौली कोतवालीका ३८ वर्षीय हाफिज रहेको भारतीय संचारमाध्यमले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो । ट्यांकर चालक भने फरार रहेका छन् । दुर्घटनामा दुई बच्चा, एक महिलासहित आठ जनाको मृत्यु भएको हो । मृत्यु हुने नेपालीहरुको सनाखत भने भएको छैन । ठक्करबाट कार क्षतविक्षत भएको छ। दुर्घटनास्थल नेपाली सीमाबाट करिब ३५ किलोमिटर टाढा पर्दछ।

राज्यमन्त्रीको गाडीले ठक्कर दिदा दुई जना घाइते

काठमाडौं, भदौ २३ । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन ।उनी घटनापछि गाडी नरोकि त्यहाँबाट हिडेका थिए । शुक्रबार दिउँसो राजधानीको नयाँ बानेश्वर चोकमा सूचना तथा सञ्चार राज्यमन्त्री विष्ट चढेको गाडीले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका हुन । राज्य मन्त्री विष्ट संसद भवनतर्फ आउँदा उनको गाडीले बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मन्त्रीको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलवीरेका सहदेव श्रेष्ठ र अञ्जु श्रेष्ठ घाइते भएका छन्। उनीहरुको नयाँ वानेश्वरको एभरेष्ट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। बानेश्वर चोकमा खटिएका ट्राफिक प्रहरीले दुर्घटनापछि मन्त्री विष्टको गाडीलाई संसद भवनतिर जान दिएका थिए भने मोटरसाइकललाई चोकमा नै राखेका थिए।

रुक्मांगत कटुवालले गराए पाँचसय बाढीपीडितलाई सामूहिक भोजन !

सप्तरी, भदौ २३ । पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालद्वारा सञ्चालित ‘शिरीषको फूल’ नामक सामाजिक संस्थाले त्रिपालमा बसेका बाढीबाट प्रभावित सप्तरीको मैनाकडेरीका बाढीपीडितलाई चार दिनसम्म सामूहिक भोजन गराएको छ । चार दिनदेखि निरन्तररुपमा आयोजना गरेको सामूहिक भोजन कार्यक्रममा मैनाकडेरीका ५०० जनालाई प्रत्येक दिन दैनिक बेलुकाको खाना खुवाइएको सो संस्थाले जनाएको छ । गत असार र साउनको अन्तिम सातामा वर्षासँगै आएको भीषण बाढी र पहिरोका कारण त्यहाँका ५०० घरपरिवार डुबानमा परेका थिए भने २०० जना परिवार विस्थापित भएका थिए । सो क्षेत्रमा पुनः बाढी आउने डरले एक महिनादेखि त्यहाँका बासिन्दा पालमुनि बस्दै आएका छन् । रासस

निर्वाचन लक्षित सप्तरीमा छ हजार सुरक्षाकर्मी परिचालन !

राजविराज, भदौ २३ । प्रदेश नं २ मा अगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण र धाँधलीरहित बनाउनका लागि सप्तरीमा करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार निर्वाचन अवधिभर जिल्लाभरिमा चार हजारभन्दा बढी जनपथ प्रहरी परिचालन गरिएको बताएका छन् । त्यस्तै दुई हजारभन्दा बढी सशस्त्र प्रहरी निर्वाचनमा खटाइएको सीमा सुरक्षा सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादवले जानकारी दिए । प्रत्येक मतदान केन्द्रमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात/सातजना सशस्त्र प्रहरीलाई खटाइएको छ भने गाउँपालिकामा प्रहरी निरीक्षकको नेतृत्वमा पाँच÷पाँचजना सशस्त्र प्रहरीलाई खटाइएको प्रहरी उपरीक्षक यादवले बताए । त्यस्तै नेपाल प्रहरीले पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रत्येक मतदान केन्द्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्लामा ४६२ मतदान केन्द्र र २९५ मतदान स्थल रहेको छ । जसमा सुरक्षाको दृष्टिकोणले २२४ अतिसंवेदनशील र २३८ संवेदनशील मतदान केन्द्र रहेको सप्तरीका प्रहरी प्रमुख सिंहले बताए । यता मतदान हुने दिन असोज २ गते सुरक्षा व्यवस्थाका लागि मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेरा बनाएर सुरक्षा दिने प्रहरी उपरीक्षक सिँहले भन्नुभयो । आवश्यकता परेकामा थप प्रहरी छिमेकी जिल्लाबाट ल्याउने उनले बताए । जिल्लाको १८ वटै स्थानीय तहका लागि ४६२ मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत खटाइने जिल्ला निर्वाचन कार्यालयका अधिकारी महेशकुमार ठाकुरले जानकारी दिए । जिल्लामा ९ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा १६५ वडा रहेका छन् । जिल्लामा तीन लाख ३१ हजार ७९ मतदाता संख्या रहेको छ । एक लाख ७० हजार ८८८ पुरुष र एक लाख ६० हजार ७७० महिला तथा २१ जना तेस्रोलिंगी मतदाता छन् । सप्तरीमा स्वतन्त्रसहित पाँच हजार ६८३ जना चुनावी मैदानमा असोज २ गते प्रदेश नं.२ मा हुने स्थानीय तह निर्वाचनका लागि सप्तरीमा स्वतन्त्रसहित कुल पाँच हजार ६८३ जना विभिन्न राजनीतिक दलका उमेदवारको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीकाअनुसार जिल्लामा रहेको १८ वटा स्थानीय तहमध्ये नौवटा नगरपालिकाको प्रमुखमा १०३ जना, नौवटा उप–प्रमुखमा ९२ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै ९ वटा गाउँपालिकाको प्रमुखमा ११४ जना र उपप्रमुखमा ७४ जनाले उम्मेदवारी दिएका छन् । कुल १६४ वटा वडाका लागि प्रमुखमा भने एक हजार २१७ जनाले उम्मेदवारी दिएको बताइएको छ । यस्तै वडा सदस्यका लागि ३२८ सदस्यमध्ये दुई हजार ३० जना र १६४ दलित महिला सदस्यका लागि ९८२ जना र १६४ महिला सदस्यका लागि एक हजार ७४ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । राजविराज नगरपालिकाको प्रमुखमा तीनजना स्वतन्त्रसहित १३ जना, उपप्रमुखमा नौ जना, वडाध्यक्षमा १२५ जना, सदस्यमा २०६ जना, दलित महिला सदस्य ८८ जना र महिला सदस्यमा १०६ जना गरी कुल ५४७ जनाको उम्मेदवारी परेको छ । रासस

२१ किलो चरेससहित दुई बृद्ध पक्राउ

बाँके, भदौ २३ । नेपालगन्ज प्रहरीले २१ किलो चरेससहित दुई जना बृद्धलाई पक्राउ गरेको छ । चरेस कारोबारमा संलग्न रहेका डुडवा गाउँपालिका २ नौरीगौरी बस्ने ७० वर्षीय मुरली अहिर र ५४ वर्षीय फेरन अहिरलाई संघीय प्रहरी इकाइ कार्यालय नेपालगञ्जले पक्राउ गरेको हो । उनीहरुले घरमा चरेस लुकाएको विशेष सूचना पाएपछि प्रहरीले भदौ २१ गते छापा मारेको प्रहरीले जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले चरेस र पक्राउ गरेका व्यक्तिलाई सार्वजनिक गरेको छ । उक्त चरेस भारत पठाउनका लागि त्यहाँ राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु प्रलोभनमा परी भरिया बनेको अनुमान छ । बरामद गरिएको चरेसको बजार मूल्य ३ लाख ६० हजार रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या

पर्वत, भदौ २३ । धन कमाउन विदेशिएका श्रीमान् र काखे छोरालाई एकैपटक मिर्गौला रोगले समातेपछि पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीकी सुकमाया दर्जी केही दिनयता पिरलोमा हुनुहुन्छ । कमाएर सातजना परिवारको गर्जो टार्न तीन महिनाअघि साउदी जानुभएकमा श्रीमान् नरबहादुर दर्जी त्यहाँ पुग्न नपाउँदै मिर्गौलामा खराबी देखिएको खबर आयो । श्रीमान् बिछोडिएको केही दिनमै खेल्दाखेल्दै घरनजिकैको रूखबाट लडेका नौ वर्षीय छोरा शक्तिमानलाई पोखराको मणिपाल अस्पताल पुर्याएपछि एउटा मिर्गौलाले काम गर्न छोडेको चिकित्सकले सुनाए । त्यो खबरले सुकमाया छाँगाबाट खसेजस्तै हुनुभयो । चिकित्सकले छोरालाई थप उपचारका लागि काठमाडौँ लैजान र त्यसका लागि करिव रु एकलाख खर्च हुने सुझाव दिए तर सुकमायाले आफूसंग काठमाडौँ जाने बस भाडासमेत नभएको गुनासो गर्नुभयो । “कमाउन जानुभएका श्रीमान् उतै अस्पतालमा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यता छोराको यो हालत छ ।” नरबहादुरले गाउँबाट रु एक लाख ५० हजार ऋण खोजेर साउदी पुग्नुभएको थियो । साउदी पुगेपछि काम शुरु गर्न नपाउँदै अस्पताल भर्ना हुनुभएका उहाँलाई त्यहाँ रहेका नेपालीको सहयोगमा मिर्गौलाको डायलासिस भइरहेको छ । “यता ऋणको ब्याज बढेको बढै छ”, सुकमायाले गहभरि आँसु पार्दै भन्नुभयो, “कमाइ खाने यो ज्यान पनि यसैलाई बोकेर यताउता गर्नु परेपछि अब मेरो के हालत होला ।” नरबहादुरलाई साउदीस्थित कम्पनीले उपचारका लागि नेपाल जान सुझाएको खबर आएको छ । “उता श्रीमान्लाई पनि कम्पनीले नेपाल फर्काउन लागेको छ”, उहाँले भन्नुभयो, “अब छोराको उपचार गर्ने कि श्रीमान्को ?” ३५ वर्षको उमेरमै पाँच सन्तानकी आमा बुन्नुभएकी सुकमायालाई सन्ततिलाई साँझ बिहानको गाँस जुटाउन उस्तै समस्या छ । सम्पत्तिका नाममा १० पाथी कोदो फल्ने बारी र एकतले खरको छाप्रोबाहेक अरू केही नहुँदा श्रीमान् विदेशिएपछि केटाकेटीलाई पेटभरि एकछाक खुवाउनसम्म नसकेको उहाँले बताउनुभयो । सरकारी अस्पतालमा विपन्नका लागि उपचार कोषको रकम हुने भए पनि सुकमायालाई त्यसबारे जानकारी छैन । “गरिबको कार्ड भए उपचारमा पैसा लाग्दैन भन्ने त सुनेको हो”, उहाँले गुनासो गर्नुभयो, “ हामीजस्तालाई कसले हेर्छ र ?” असार २९ गतेदेखि बिरामी परेका छोराको उपचारका लागि यताउता ऋण खोजेर सुकमायाले रु ३० हजार खर्च गरिसक्नुभएको छ । सुकमाया यतिबेला कसैको सहयोग पाउने आशमा छोरालाई काखी च्यापेर हारगुहार गरिरहनुभएको छ । विभिन्न सङ्घसंस्थाले आफूजस्तै दुःखी र पीडितलाई सहयोग गर्छन् भन्ने सुनेको छु खै मैले कहीँबाट सहयोग पाउन सकिनँ सुकमायाले  भन्नुभयो ।

तीन महिनापछि जुफाल विमानस्थल सञ्चालनमा

डोल्पा, भदौ २३ । डोल्पामा यातायातको एकमात्र विकल्पको रुपमा रहेको जुफाल विमानस्थलमा आजदेखि हवाई सेवा सुचारु भएको छ । स्तरोन्नतिका लागि झण्डै तीन महिनादेखि बन्द गरिएको जुफाल विमानस्थलमा ९० प्रतिशत कालोपत्रे गर्ने काम सम्पन्न भएपछि हवाई सेवा सुचारु गरिएको हो । हवाई बन्द भएपछि प्राकृतिक नाकाबन्दीको अवस्था खेपिरहेको डोल्पालीको समस्या र नजिकिँदो महान चाड दसैँको अवसरमा दैनिक उपभोग्य सामग्री ढुवानीका साथै आवतजावतमा हुने समस्यालाई मध्यनजर राख्दै बाँकी १० प्रतिशत काम जहाज चल्दै गर्दा समय व्यवस्थापन गर्ने सर्तमा विमानस्थल सुचारु गरिएको आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिनुभयो । विमानस्थलको जम्मा ५६० मिटर कालोपत्रेमध्ये धावन मार्गको ५५ मिटर र पार्किङको काम मात्र काम बाँकी रहेको शाहीको भनाइ छ । आयोजना प्रमुख शाहीका अनुसार धावन मार्गको ५५ मिटर कालोपत्रेको काम गर्दै गर्दा रुलर मेसिन बिग्रेकाले काम रोकिएको हो । मेसिन मर्मतपछि केही दिनमै काम सुचारु गरिने उहाँले बताउनुभयो । बिहानको जहाज आउने समयमा पार्किङको काम गर्ने र जहाज गइसकेपछि दिउँसो धावन मार्गको काम सञ्चालन गर्ने योजना रहेको छ ।

बलात्कार गरेको अारोपमा एक युवक प्रहरी नियन्त्रणमा

जुम्ला, भदौ २३ । महिलालाई जबर्जस्ती बलात्कार गरेको आरोपमा जुम्लाका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित महिलाको उजुरीका आधारमा गुठीचौर गाउँपालिका–३ जुम्लाका ३५ वर्षीय पारस बुढालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । पीडित महिलाको उजुरीअनुसार बुढाले यही भदौ १९ गते बेलुका घर पु¥याउने क्रममा उनलाई जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख भएको उहाँले बताउनुभयो ।

अाजदेखि भक्तपुरमा मूपात्र जात्रा शुरु

भक्तपुर, भदौ २३ । इन्द्रजात्राको अवसरमा भक्तपुरमा निकालिने धार्मिक तथा सांस्कृतिक महत्वको प्रसिद्ध परम्परागत मूपात्र जात्रा आजदेखि शुरु भएको छ । नेवार समुदायमा महत्वपूर्ण जात्राका रुपमा लिइने यो जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइन्छ । मूपात्र राक्षसको प्रतीक भएकाले यसलाई राक्षस जात्रा पनि भनिन्छ । जात्रामा मूपात्र प्रमुख राक्षस र धिःचा नामका अन्य दुई सहायक राक्षससहित तीनजनालाई राक्षसको भेषमा विभिन्न रङले सिङ्गारपटार गरेर तरबार समात्न लगाई भक्तपुर नगर पूरै परिक्रमा गराउने प्रचलन छ । मूपात्र जात्रा निस्कनुअघि सकुलान टोलका मानन्धरहरुले दत्तात्रयस्थित भीमसेन मन्दिरमा दुईवटा याँमता (आकाश दीप) बाल्छन् । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रमा गराइन्छ । देवीपुराण ग्रन्थमा उल्लेख भएअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको चाहिएकाले छोरा जयन्तले खोज्ने क्रममा दैत्यहरुको बगैँचामा देखेर सो फूल टिप्न लाग्दा राक्षसले जयन्तलाई पक्राउ गरी पछाडि दुई हात बाँधेर राखेकाले उनलाई छुटाउन देवता र राक्षसबीच भएको युद्धमा देवताहरुको जित भएपछि, राक्षसलाई जनतामाझ देखाउन शहर परिक्रमा गराइएकाले सोही संझना स्वरूप यो जात्रा चलाइएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । जात्राका क्रममा मूपात्रलाई नगर परिक्रमा गराउँदा टोल टोलमा ठड्याइएको यम्वोद्योलाई मूपात्रले तीनपटक घुमेर तरबारले हान्ने गरिन्छ । जुन दृष्यलाई इन्द्रका छोरा जयन्तसँग क्षमायाचना गरी जयन्तलाई बाँधिएको डोरी काटेको दृष्यका रुपमा व्याख्या गरिन्छ । यो जात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण तथा पद्यपुराण संकलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको संस्कृतिकर्मीहरु बताउँछन् ।