सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम कति ?
काठमाडौं । सेयर बजारको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ।
सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन। आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेको थियो। सो दिन ३ अर्ब ७७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा खरिदबिक्री भए। आज सामान्य अंकले घटेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले वृद्धि भएको हो।
३१ करोड ७३ लाख ७० हजार ९९८ रुपैयाँको कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। यसैगरी साना किसान विकास वित्तीय संस्थाले १२ करोड,जोशी हाइड्रोपावरले ८ करोड,नगदी ग्रुपले ६ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
१३ उपसमूहमध्ये पाँच उपसमूहको मात्रै सूचक बढ्यो।डेभलपमेन्ट बैंक,फाइनान्स,इन्भेस्टमेन्ट , मनु एण्ड प्रो र अदर्श उपसमूहबाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएका हुन्। कारोबारमा आएका कम्पनीमध्ये ९० वटाको मूल्य बढ्दा १५० को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।
निर्देशक नवल खड्काद्वारा ‘काँडेतार’ लाई एकल प्रदर्शनको माग
काठमाडौं, ८ फागुन । अभिनेता तथा निर्देशक नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’को एकल प्रदर्शनको माग गर्दै चलचित्र विकास बोर्डमा पत्र बुझाएका छन्। चलचित्र विकास बोर्डको नियम अनुसार नै फिल्म प्रदर्शन गर्न लागेको हुँदा अन्य फिल्म प्रदर्शन नगराइदिन उनको माग छ। उनको पत्रमा गत वैशाख ११ गते ‘काँडेतार’ले प्रदर्शन स्वीकृति लिएको र सोही समयमा फागुन २५ गतेलाई रिलिज मिति तोकिएको उल्लेख छ। चलचित्र विकास बोर्डबाट फिल्म ‘काँडेतार’को कथा पहिलो पटक कथा लेखन प्रतिस्पर्धामा चुनिएर पुरस्कृत भएको विषय समेत खड्काले बोर्डलाई लेखेको पत्रमा स्मरण गराएका छन्। बोर्डलाई चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ स्मरण गराउँदै उनले कानुन पालना गराउन सम्बन्धित निकायलाई निर्देशन दिन समेत माग गरेका छन्। उनको पत्रमा भनिनएको छ, ‘चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डले चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रमा सोही नियमावलीको नियम ३ को खण्ड ग बमोजिम अनुसुचि ७ बमोजिम इजाजत दिने र उक्त इजाजतपत्रको प्रकरण नं. (च४) प्रदर्शकले स्वदेशी वा विदेशी चलचित्र प्रदर्शन गर्दा चलचित्र जाँच समितिबाट जाँचपास भएको मितिलाई आधार मानि सबैभन्दा पहिले जाँचपास भएको तत् तत् चलचित्रलाई प्रदर्शनको मौका दिनुपर्ने तर कुनै चलचित्रको प्रकृति विशेष किसिमको भई त्यस्तो चलचित्र तत्काल प्रदर्शन गर्न उचित छ भन्ने लागेमा बोर्डले त्यस्तो चलचित्र अगाडिनै प्रदर्शन गर्न स्वीकृत दिन सक्नेछ र सोही इजाजतको प्रकरण नं. (च५) प्रदर्शकले एक दिनमा स्वदेशी र विदेशी चलचित्र प्रदर्शन गर्न नपाउने स्पष्ट ब्यवस्था गरि इजाजत दिएको हुन्छ।’ यहि फागुन २५ गते अभिनेत्री तथा निर्मात्री रेखा थापाको फिल्म ‘उपहार’ र दयाहाङ राई अभिनित ‘रंगेली’ पनि प्रदर्शनमा आउँदैछन्। यो फिल्मको प्रदर्शन रोक्नका लागि नवलले बोर्डलाई पत्र लेखेका हुन्। खड्काले नियम अनुसार अघि बढेको हुनाले आफ्नो फिल्म एकल प्रदर्शनमा आउनुपर्ने जिकिर गरे । ‘देशभक्तिपूर्ण फिल्म काँडेतार आउने भएकाले फागनु २५ गते एक जुगमा एक दिन एक चोटी आउँछ भनेजस्तै हो,’ उनले भने, ‘देशप्रेमीहरू फिल्म हेर्न सलबलाइरहेका छन्। देशविरोधी तत्वहरू चाहिँ सलबलाएर यो फिल्म निस्तेज पार्न, कमजोर पार्न लागि परेका छन्।’
सवा अर्ब लगानीमा औषधि उद्योगको स्थापना
काठमाडौं, ८ फागुन । गैरआवासीय नेपालीको लगानीमा सुरु भएको औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ । गैरआवासीय नेपालीबाट सवा अर्ब लगानीमा सञ्चालन गरिएको औषधि उद्योगको उत्पादन स्थल चितवनमा रहेको छ । काठमाडौंमा गरिएको विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्योगको औपचारिक शुभारम्भ गरेका छन् । नेपाली उपभोक्ताका लागि युरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धताप्रति सभामुख घिमिरेले खुसी व्यक्त गरे । औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताउँदै सभामुख घिमिरेले नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गरे । दुई साताअघि मात्रै प्रतिनिधि सभाबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित भएको बताउँदै उनले विधेयकका कतिपय दफा व्यवसाय प्रवर्द्धनसँग पनि सम्बन्धित रहेको सभामुखको भनाइ छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको बताए । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्नुलाई प्रमुख दायित्व ठानेको बताए । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ ।
नेपालीले अब भारतीय सीमकार्ड पनि पाउने
काठमाडौं । ८ फागुन । नेपालीहरुले भारतमा भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले यस्तो जानकारी गराएका हुन् । भारतीय सञ्चार मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् । यसअघि नेपाली नागरिकहरुले भारतीय सिमकार्ड पाउँदैनथे । भारत पुगेका नेपालीहरुले भारतीय नागरिक वा आधार कार्ड भएका नेपालीहरुको नाममा लिएको सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो । यसरी सिमकार्ड सहज रुपमा उपलब्ध हुँदैनथ्यो भने प्रयोगमा पनि जोखिम थियो । भारतमा चिनजान केही नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरुले त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नुपरेको छ । ‘लाखौं नेपालीले भारत भ्रमण गर्छन्। विगतमा सिमकार्ड नपाउँदा धेरै समस्या परिरहेको थियो,’ राजदूत शर्माले भने । यो व्यवस्थाले भारत भ्रमण गर्ने नेपालीहरूलाई निकै नै सजिलो हुने उनको भनाइ छ । यो समस्या समाधानका लागि भारतका लागि नेपाली राजदूत डा. शर्माले पहल गरेका थिए । ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा. शर्माले एक्समा लेखेका छन् । भारतको सञ्चार मन्त्रालयले पनि सूचना जारी गरी नेपाली र भुटानी नागरिकहरुलाई भारतीय सिमकार्ड उपलब्ध गराउने निर्णय भएको जानकारी गराएको छ । तर त्यो सिमकार्ड भारत बसाइको अधिकतम् अवधिभन्दा बढीको हुने छैन । सो सिमकार्डको वैधता पनि एक महिनादेखि तीन महिनासम्म मात्र हुने छ । ती सिमकार्डबाट भारतभित्र मात्र फोन गर्न मिल्ने छ ।
कांग्रेस महासमिति बैठकमा सहभागिताबारे उत्पन्न विवाद समाधान
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागिताका विषयमा उत्पन्न विवाद समाधान भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विवादको समाधान निकालिएको हो । महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा अहिले बैठकमा सहभागी गराउने निर्णय गरिएको छ । “१४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवश टुंगो लाग्न नसकेको संघीय निर्वाचन क्षेत्रका हकमा फागुन ७–१० का लागि आयोजित महासमिति बैठकमा भाग लिने गरी योपटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा बैठकमा सहभागी गराउने निर्णय गरियो । ती स्थानहरूमा निर्वाचन समितिले यथाशीघ्र महासमिति टुंग्याउनेछ,” बैठकको १ नम्बर निर्णयमा उल्लेख छ । महासमिति बैठकमा आमन्त्रण गरिने निर्वाचन क्षेत्र र जिल्लाहरू– १.बारा क्षेत्र नम्बर–३ २.पर्सा क्षेत्र नम्बर–१ ३.सोलुखुम्बु ४.खोटाङ ५.धादिङ क्षेत्र नम्बर–१ ६.दोलखा ७.ओखलढुंगा ८.काठमाडौं क्षेत्र नम्बर–५ ९.दाङ क्षेत्र नम्बर–३ १०.कञ्चनपुर क्षेत्र नम्बर–१ ११.बागलुङ क्षेत्र नम्बर–२ १२.सिन्धुली क्षेत्र नम्बर–२ यस्तै, नेतृत्व परिवर्तन भएका भ्रातृसंघ र शुभेच्छुक संस्थाका अध्यक्षसहित तीनजनालाई महासमिति सदस्यका रूपमा सहभागी गराउने निर्णय गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भ्रातृसंस्थाहरू– १.नेपाल विद्यार्थी संघ २.नेपाल महिला संघ ३.नेपाल तरुण दल ४.नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ ५.नेपाल लोकतान्त्रिक खेलकुद संघ ६.नेपाल किसान महासंघ ७. नेपाल थारु संघ ८.राष्ट्रिय लोकतान्त्रिक अपांग संघ ९.नेपाल प्रजातन्त्र सेनानी संघ १०.नेपाल दलित संघ ११.नेपाल भूतपूर्व सैनिक संघ १२.नेपाल मुस्लिम संघ शुभेच्छुक संस्थाहरू– १.नेपाल ट्रेड युनियन कांग्रेस २.नेपाल शिक्षक संघ ३.नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन ४.सेन्टर फर डेमोर्क्याटिक इन्जिनियर्स नेपाल ५.प्रजातन्त्रवादी चिकित्सक संघ ६.नेपाल प्रेस युनियन “नेपाली कांग्रेसको १४औँ महाधिवेशनपश्चात् अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गर्दछ,” बैठकको ३ नम्बर निर्णयमा उल्लेख छ । ललितपुरको गोदावारीमा सोमबार उद्घाटन गरिएको महासमिति बैठकमा आज पाँच प्रतिवेदन प्रस्तुत गरिँदै छ । प्रतिवेदनमाथि आजैदेखि छलफल सुरु गरिनेछ ।
क्यानडा–११ विरुद्ध फिल्डिङमा नेपाल कप्तानी गर्दै सन्दीप
काठमाडौं । क्यानडा–११ सँगको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले पहिला बलिङ गर्ने भएको छ । मंगलबार मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर नेपाली टिमका कप्तान सन्दीप जोराले फिल्डिङको निर्णय गरेका हुन् । उनले पाहुना टिमलाई ब्याटिङको निम्तो दिए । आज नियमित कप्तान विनोद भण्डारी प्लेइङ–११ मा नभएपछि नेपालको नेतृत्व सन्दीपले गर्दै छन् । तीन खेलको शृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । शृंखलामा पहिलो खेलको नतिजा क्यानडाले आफ्नो पक्षमा पारेको थियो । आइतबार मूलपानी मैदानमै भएको खेलमा नेपाल ‘ए’ विरुद्ध क्यानडा–११ ले चार विकेटको जित निकालेको थियो ।
त्रिवि उपकुलपति नियुक्तिको विषय टुङ्गो लाग्न बाँकि छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषय टुंग्गो लाग्न बाँकि रहेको बताएका छन् । सिफारिस समितिको सिफारिस प्राप्त भएपनि यसबारेमा थप निर्णय भइनसकेको प्रचण्डको भनाइ छ । ‘त्रिभुवन विश्वविद्यालको उपकुलपति नियुक्ति भइसकेको छैन । बधाई दिएर भ्रम फैलाउने काम भएको छ’, मंगलबार बिहान गोरखा–पत्रकार समाज नेपालको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन बालुवाटारमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘छिट्टै यसबारे निर्णय हुने नै छ । तर अहिलेसम्म केही भइसकेको छैन ।’ फागुन ६ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको थियो । सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको थियो । उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए। सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्तापछि विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्रीसमक्ष सिफारिस भएको थियो । यस्तै प्रधानमन्त्री प्रचण्डले अहिलेको लिडरसिप विश्वव्यापीरुपमा स्थापित हुँदा केही मान्छेलाई मन नपरेको जिकिर गरे । जसका कारण वर्तमान सरकार र नेतृत्वमाथि निरन्तर हमलाको प्रयास भइरहेको उनको भनाइ थियो । उनले गोर्खाको विकासमा अघिल्लो वर्ष त्यति ध्यान दिन नसकिएको स्वीकार्दै अब भने गति दिने धारणा राखे ।
पाँचवटा प्रतिवेदनहरूमाथि आजबाट समूहगत रूपमा छलफल सुरू हुने
काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा आज पाँचवटा प्रतिवेदन प्रस्तुत हुने भएको छ । प्रतिवेदनमाथि आजैबाट छलफल सुरू हुनेछ । बैठकमा नीति प्रस्ताव तयारी समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् । प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन तथा लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । ती प्रतिवेदनहरूमाथि समूहगत रूपमा छलफल हुनेछ । समूह विभाजन गरेर छलफल हुने कांग्रेसले जनाएको छ ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक दश गते बस्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयमा छलफल हुनेछ ।
आज बिहान १० बजेसम्मका लागि हटाइयाे वीरगन्जको कर्फ्यु
वीरगन्ज । सोमबार बेलुकादेखि वीरगन्जमा लगाइएको कर्फ्यु केही समयका लागि हटाइएको छ । रौतहटमा भएको झडपको विषयमा हिंसा भड्कन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि भन्दै वीरगन्जका केही भागमा कर्फ्यु लगाएको थियो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सोमबार बेलुका सूचना जारी गर्दै मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिएका छन् । १० बजेपछि भने कर्फ्यु यथावत रहने सूचनामा उल्लेख छ । प्रशासनले वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यु लाग्ने जनाएको छ । ती क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा र्याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ ।
कर्णाली उत्सवमा देश जान्याका कुरा !
सुर्खेत । वैदेशिक रोजगारको तथ्यांक हेर्ने हो भने दैनिक तीन हजार जना विभिन्न कारणले विदेश पलायन भइरहेका छन् । केही समय अघिसम्म रोजगारीका लागि खाडी मुलुक ताक्ने नेपालीको अहिले पहिलो रोजाइ युरोपियन मुलुक देखिन्छ । कर्णालीका ७० प्रतिशतभन्दा वढी नागरिक कालापहाड (भारत) जाने गरेका छन् । पछिल्लो समय रुकुम पश्चिम लगायतका ठाउँबाट गाउँनै रित्तो हुनेगरी चोरीबाटो भएर अमेरिका जानेहरूको तथ्यांक राज्यसँग छैन । खुला सीमाको उपयोग गर्दै रोजगारीका लागि कालापहाड जाने कर्णालीबासीको हालखबर राज्यलाई थाहा छैन । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा यही विषय वरिपरि रहेर ‘देश जान्या’ भन्ने विषयमाथि छलफल भएको थियो । उक्त सत्रमा वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल, नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी र पत्रकार चेतन अधिकारीलाई वक्ताका रूपमा बोलाइएका थिए । रोजगारीको अवसरको खोजीमा नेपालीहरू भौतारिँदै विदेशिने समस्या अहिलेको नभई २०० वर्ष पुरानो भएको पत्रकार अधिकारीले बताए । तर, अहिले त्यसको स्वरुप भने बदलिएको उनको बुझाइ छ । “वैदेशिक रोजगारीमा सन् १८०० देखि नै जाने गरेको पाइन्छ । गोर्खा आर्मी हुँदै नेपाली युवा पलायन सुरु भएको हो,” सत्रमा बोल्दै अधिकारीले भने “यसका सकारात्मक र नकारात्मक लक्षहरू छन् । दुवै पक्षलाई केलायर सुधारका काम गर्न आवश्यक छ ।” अहिले पनि ५० लाख नेपाली देशबाहिर भए पनि राज्यको तथ्यांकमा भने २२ लाख मात्रै रहेको उनले बताए । अवसर देखिरहेका नेपालीले विकसित देशहरूको लचकतासँगै अवसरको ढोका प्रयोग गरेको अधिकारी बताउँछन् । “हाम्रो युवा जनशक्तिलाई कस्ले प्रयोग गरिरहेका छन् ? भारतमा युवा छन्, गल्फ कन्ट्रिमा युवा छन्” उनले भने, “देशमा युवा हुनुको अवसर राज्यले गुमाई रहेको छ । कन्ट्रि अफ युथ नेपालले उपभोग गर्न पाएको छैन ।” उनले वैदेशिक रोजगारले बसाइँसराइमा समेत ठूलो समस्या निम्त्याएको र त्यसलाई राज्यले गम्भीरताका साथ हेर्नुपर्ने बताए । “बसाइँसराइका कारण गाउँका विद्यालयहरू रित्तिदै छन् । स्वास्थ्य सेवा बन्द हुन थालेका छन् । अन्य सार्वजनिक सेवा प्रवाह गर्ने ठाउँहरू खाली भएका छन्,” उनले भने, “माइग्रेसन फ्लो दोहोरो हुनुपर्छ । मस्तिक पलायन नेपालमा सबैभन्दा ठूलो समस्या भाएको छ । त्यतातिर हाम्रो ध्यान अझै पुग्न सकेको छैन ।” अवसरको खोजीमा विदेश गइरहेका नेपालीलाई फर्काउने रणनीति सरकारसँग नहुँदा समस्या भएको नेपाल श्रमिक आपूर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह बताउँछन् । “अहिले पनि ठूलो संख्यामा युवाहरू बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर जाँदै छन् । उनीहरू खाडी मुलुकमा गइरहेका छन्,” उनले भने, “विदेश गएकै संख्यामा नेपाल पनि फर्किएका छन् । तर, उनीहरूलाई कसरी नेपालमा राख्ने प्रश्न हो ।” वैदेशिक रोजगारबाट फर्केकाहरूको तथ्यांक समेत राज्यले राख्न नसकेको उनले बताए । “वैदेशिक रोजगारबाट फर्किएकाहरू कहाँ छन् ? उनीहरूले केही पैसा र सीप पनि ल्याएर फर्किएका छन् । तर उनीहरूको सीप हामीले उपयोग गर्न किन सकिरहेका छैनौँ ?” उनी राज्यलाई प्रश्न गर्छन् । वैदेशिक रोजगारमा जानेहरू एजेन्टबाटै ठगीएको उनले बताए । “राज्यले एजेन्टलाई चिन्दैन । तर, एजेन्टविना कुनै पनि युवा विदेश जाँदैनन्” उनले भने, “हुम्लाको एउटा युवा साउदी पुग्दासम्म लाखौँ रुपैयाँ खर्च गर्छ । राज्यले उनीहरूको व्यवस्थापन नै गर्न सकेको छैन ।” वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू ठगीमा पर्नुको मुख्य कारण बाहिरी गिरोह भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् । “आज गाउँनै रित्तो हुनेगरी रुकुमका मान्छेहरू अमेरिका गइरहेका छन् । उनीहरू म्यानपावर कम्पनीमार्फत गएका छैनन् । उनीहरू दलाली गिरोहबाट विदेश जाँदा समस्या भएको छ” उनले भने । राज्यले प्रष्ट कानुन नबनाउँदा एजेन्टहरू मौलाएको अध्यक्ष भण्डारीले बताए । “सरकारले फ्रि भिजा, फ्रि टिकट भनेपनि निश्चित मापदण्ड नबनाउँदा समस्या भएको छ । उनीहरूको टिकट, स्वास्थ्य परीक्षण, आवश्यक तालिम र राहदानी लगायतका विषयमा शुल्क लाग्ने गरेको छ,” उनले भने, “मिटरव्याजी ऋण गरेर विदेशिएका उनीहरू त्यस्कै पासोमा पर्ने गरेका छन् ।’ युवा वैदेशिक रोजगारमा जाँदैमा खत्तमै भयो भन्ने भास्य निर्माण गरिएको वैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल बताउँछन् । ”वैदेशिक रोजगारका लागि जानु नराम्रो हैन । तर जाने तरिका भने अनेक थरिका छन् । विदेशिनु नराम्रो हैन । तर विदेशिने बाटो नराम्रो भयो,“ उनले भने । सरकारले नचिन्ने बाटो अपनाउँदा युवाहरूले दुःख पाउने गरेको ढकाल बताउँछन् । “देशको एक चौथाई जीडीपी ओगटेको वैदेशिक रोजगारलाई राज्यले पर्याप्त लगानी गर्न नसकेको सत्य नै हो । त्यसमा सुधार आवश्यक छ,” उनले भने, “श्रम स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था छ । तर वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति नलिँदा समस्या भएको छ ।”
कर्णालीको विकास बिना देशको विकास सम्भव छैन : माओवादी उपमहासचिव शर्मा
काठमाडौं । कर्णाली उत्सव कुडा कर्णालीकाको पाचौं संस्करण सोमबार सम्पन्न भएको छ । शनिबारबाट सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यानमा सुरु भएको उत्सव सम्पन्न भएको हो । उत्सवको समापन गर्दै माओवादीका उपमहासचिव जर्नादन शर्माले कर्णाली उत्सवको पाचौं संस्करण सम्म आइपुग्दा यसले खेलेको भूमिका, महत्वपूर्ण विषयमा भइरहेको बहस र सबैलाई जागरुप र सचेत बनाउँने पहल कदमीको लागि संरक्षक केवल भण्डारी सम्पूर्ण आयोजक टिमलाई बधाई दिए । कर्णाली एक सभ्यता भएको उनले बताए । नेपाली भाषको जननी पनि कर्णाली भएके उनले बताए । कर्णालीले एैतिहासिक विरासत बोकेको बताए । पूर्व गृहमन्त्री समेत रहेका उनले भने , ‘कर्णालीमा बगेको प्रत्येक पानीको थोपा, कर्णालीका हरेक वनस्पतिका पात र जडा र बोक्राहरुलाई , यहाँका नदि ताल , हिमाल , पहाड , खोच , वेशी र भ्यालीहरुलाई जब हामी एउटा मूल्यमा बदल्छौं तब कर्णाली स्वाभीमानी र समृद्ध भएर देखिनेछ ।’ यहाँको विकास मोडेर यहिँ भएको र सबैको कार्यभार यहिँ बताए । उनले बताए । अब कर्णालीको परिभाषा फेर्न आवश्यक रहेको उनको भनाई थियो । कर्णालीको विकास बिना देशको विकास सम्भव छैन । उनले भने , ‘कर्णालीका दलितहरुको मुक्ती नभइकन कर्णालीको विकास हुदैँन । कर्णालीमा दलितहरुको बाहुल्यता छ । उनीहरुले सबैभन्दा बढी भोगिरहेको उत्पिडन भोगिरहेका छन् । यसको अन्त गरेर जात प्रथाबाट मुक्ति गरेपछि मात्र विकासको प्रारम्भ हुन्छ । ’ कर्णालीलाई सुनको डल्लोको रुपमा बुझेको बताउँदै उनले सुनको यो डल्लोलाई आवश्यक स्तरका गहनामा बदल्न र त्यसले सजाउनको लागि सक्षम कालिगढहरुको खाचो छ । बाटो बनाउँनु मात्र विकास नभएको उनले बताए । अब हाम्रो देशमा बाटो नभएको गाउँ कतै भेटिएला कि नभेटिएला भन्ने चिन्ता व्यक्त गरे । कर्णाली उत्सव संयोजक कमल लम्सालले विगतका चार वर्ष झैं यो वर्ष पनि बुलबुलेमा बसेर कुरा गरेको बताए । लोकतान्त्रिक ढंगले कुरामानी गर्नुले लोकतन्त्रलाई मजबुद बनाउँले बताए । कुरै गर्न नपाउने समाजमा कुरा हुनुनै ठूलो भएको यनले बताए । उत्सवलाई सहयोग सबैलाई उनले धन्यवाद पनि ज्ञापन गरे । उत्सवमा पहिलो दिन प्रकोप र पुननिर्माणका विषयमा छलफल भयो । दोस्रो दिन समाज , साहित्य र विकासका विषयमा छलफल केन्द्रित भयो । तेस्रो दिन लोकतन्त्र र सुशासनका विषयमा छलफल भयो । कर्णालीको बारेमा गन्थन , मन्थन र चिन्तन यो उत्सवमा हुने गरेको छ ।
आम आर आरको ७ औ संस्करणको फुटसल ललितपुरलाई उपाधि
झापा । झापाको बिर्तामोडमा हिजो सम्पन्न भएको आम आर आरको ७औ संस्करणको फुटसल प्रतियोगितामा फेरी पनि ललितपुरले उपाधि जित्न सफल भएको छ। यस प्रतियोगितामा १६ टिमको सहभागिता थियो। यो प्रतियोगिता सामाजिक संजालमा लोकप्रिय युवाहरुको समूह एम आर आरले आयोजना गरेको थियो। अघिल्लो ६ टौ संस्करणमा नवलपुरमा भएको प्रतियोगितामा पनि ललितपुरले उपाधि जितेको थियो। देशै भरका दाजुभाई एउटै ठाउँमा भेला हुने र आपसी भाइचारालाई अझ प्रगाड बनाउने उदेश्यले संचालन गरिएको यो फुटसल खेल लगातार ७ वर्ष देखि संचालन हुँदै आएको छ। काठमाडौँबाट २०१८ मा सुरुवात भएको यो प्रतियोगिता अहिले राष्ट्रिय प्रतियोगिता बनेको छ। यसले देशभरका खेलाडीहरुलाई एकै मंचमा ल्याउने र आपसी सहयोग र सम्बन्धलाई बलियो बनाउने एक उत्कृष्ट अवसर प्रदान गरेको छ।
ईशनाथ नगरपालिकाको विवाद : वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी
काठमाडौं । वीरगञ्ज महानगरपालिकाको केही स्थानमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले महानगरपालिकाको केही स्थानमा सोमबार बेलुका ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो । पर्सा प्रहरीका अनुसार पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा भएको विवादले झडपको रूप लिनसक्ने भन्दै कर्फ्यु जारी भएको हो ।
वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गरौँः गुरुङ
काठमाडौं, ७ फागुन। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसका वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठकलाई सम्बोधन गर्दै नेता गुरुङले जनताको मन जित्ने हो भने कांग्रेसका वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । उनले त्यसो गर्ने हो भने आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्न सक्ने पनि बताए । ‘वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्ने प्रस्ताव यो महासमितिमार्फत पास गरौँ’, गुरुङको प्रस्ताव छ । त्यस्तै उनले क्रोनी क्यापिटलिजमका कारण आर्थिक सुशासन कायम हुन नसकेको पनि बताए । उपसभापति गुरुङले नेपाली राजनीतिमा देखिएको क्रोनी क्यापिटलिजमको प्रभाव नेपाली कांग्रेसमा समेत पर्दा सही बाटो पहिल्याउन नसकेको हो कि भन्ने आफूलाई लागेको बताएका छन् । ‘क्रोनी क्यापिटलिजमका कारण नेपालमा नेताहरु व्यापारी र व्यापारी नेताजस्ता देखिए’, गुरुङले भने, ‘अबका दिनमा हामीले क्रोनी क्यापिटलिजमको विरुद्धमा एक ठाउँमा उभिएर अघि बढ्न सक्नपर्छ ।’ कानुन मन्त्री समेत रहेका गुरुङले क्रोनी क्यापिटललिजमकै कारण आर्थिक सुशासन कायम गर्न नसकिएको स्वीकार गरे । उनले जबसम्म मुलुकमा भ्रष्टाचार रहन्छ तबसम्म भुइमान्छेलाई माथि उठाउन नसकिने भन्दै तलका मानिसलाई माथि उठाउन पनि नसकिने बताए ।
सेन्सर बोर्डको नाम प्रमाणिकरण बोर्ड राख्न प्रस्ताव
हेटौडा ७ फागुन । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार चार सेसनमा अन्तरसंवाद र एक फिचर लेखन कार्यशाला गरिएको छ । दोस्रो दिनको सेसनमा ‘फिल्म सेन्सर कि ग्रेडिङ ?’ विषयमा अन्तरसवांद सम्पन्न भयो । पत्रकार सञ्जोग बस्यालले सहजीकरण गरेको अन्तरसंवादमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल, फिल्म निर्देशक मनोज पण्डित, सेन्सर बोर्डका सदस्य निश्चल बस्नेत र चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी वक्ता थिए । बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालले सेन्सर बोर्डका कारण चलचित्र विकास बोर्डले अपजस खाइरहने बताए । ‘सेन्सर बोर्डलाई या त बोडकै अधिनमा ल्याउनु पर्यो, या त संसर बोर्डलाई सूचना तथा सञ्चार मन्त्रालयभन्दा बाहिर निकाल्नुपर्यो’, उनले भने, ‘सेन्सर बोर्डलाई प्रमाणिकरण बोर्ड नाम राखौं । अनि ग्रेडिङको पनि काम गरौं ।’ फिल्म निर्देशक मनोज पण्डितले राज्यको दायित्व जनता र दर्शकसँग हुनुपर्ने बताए । ‘राज्यको दायित्व फिल्मकर्मीलाई प्रोत्साहन गर्ने हो, लठ्ठी बोकेर थर्काउने होइन,’ सेन्सर बोर्ड सार्वजनिक गरेको पछिल्लो २० बुँदे कार्यविधि प्रति लक्षित गर्दै उनले भने, ‘यो विधि प्रति हाम्रो आपत्ति छ । फिल्मकर्मीलाई सेल्फ सेन्सरसिपको अधिकार दिनुपर्छ ।’ बोर्डका सदस्य रवि अधिकारीले विकास बोर्डले सेन्सरका लागि सिफारिस दिने गरे पनि सेन्सर पछि त्यसको गाली बोर्डले खाने गरेको स्मरण गरे । उनले सेन्सर बोर्डका सदस्यलाई तीनदेखि पाँच वर्षसम्म तालिम लिएर योग्य बनाई बोर्डमा नियुक्ति दिनुपर्ने बताए । सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले २०२६ सालमा बनेको ऐनमा टेकेर चलचित्र हिडिँ रहेकाले त्यसैमा रहेर नयाँ बुँदा थपिएको भन्दै सेन्सर बोर्डको बचाउ गरे । उनले अहिलेको अवस्थामा बनाइएका बुँदालाई परिवर्तन गर्न नसकिने बताए ।

