विश्वकप क्रिकेट लिग–२ : नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङमा नेपाल

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा (अहिले) शनिबार बिहान नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा छ । 

यता नेदरल्यान्ड्स पनि जितसहित सिरिज सुरुवात गर्ने तयारीमा छ । नेदरल्यान्ड्सविरुद्ध नेपालले दीपेन्द्रसिंह ऐरी र देव खनाललाई मौका दिएको छ । करण केसी र पवन सर्राफलाई बेन्चमा राखेको छ । 

नेदरल्यान्ड्सविरुद्ध नेपाल-११ 

रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, गुलशन झा, सोमपाल कामी र ललित राजवंशी । 

शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन एमालेको भुमिका सकारात्मक रहन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन एमालेले सहयोगी भुमिका खेल्ने बताएका छन् । विश्व सामाजिक मञ्च २०२४को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अहिलेको संविधानमा सामाजिक न्यायसहितको अधिकार स्थापित गरेको भन्दै यसलाई सबै मिलेर कार्यान्वयन गरिने धारणा राखे । एमाले सरकारमा रहँदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको दाबी गरे । महिला अधिकार, शिक्षा, स्वच्छ खानेपानी र स्वास्थ्य बिमासहित सामाजिक सुरक्षाका क्षेत्रमा एमाले सरकारले धेरै काम गरेको उनले बताए ।

आउँदो आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब रुपैयाँ

काठमाडौं । आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफल गरेर बजेटको सिलिङ तोकेको उनले जानकारी दिए । अर्थमन्त्री महतले अर्धवार्षिक समीक्षामार्फत चालू आर्थिक वर्षको बजेटमा संशोधन गरिएको भन्दै यसलाई बजेट कटौती गरेको भन्न नमिल्ने जिकिर गरे । यसअघि अर्थमन्त्री महतले बजेटको मध्यावधि मूल्याङ्कन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटको लक्ष्य घटाएका थिए । उनले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएको दाबी गरे । उनले सरकारमाथि अस्वाभिवक दायित्व वृद्धिका कारण स्रोत व्यवस्थापनमा समस्या भएको बताए । अर्थमन्त्री महतले प्रधानमन्त्रीसँग कुनै विवाद नभएको र अर्थमन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनअनुसार काम गरिरहेको जिकिर गरे ।

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनलमा नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

काठमाडौं, ४ फागुन । । नेपालले एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ११६ रनको बलियो लक्ष्य दिएको छ । बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो । नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाइन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको आक्रामक इनिङ खेलिन् । नेपालले ओपनर सीता रानामगरलाई ६ रनमा गुमाएको थियो । महिराह इजाती इस्लामीको बलमा सीता एलबीडब्लू आउट हुँदा नेपाल ४ ओभरमा १०–१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । इन्दु एक रनको लागि नदौडिएपछि कविता रन आउट भएकी थिइन् । कविता ३१ बलमा २ चौकासहित २३ रन आउट भइन् । रुविना १८ बलमा २ चौकासहित २० रनमा आउट भइन् । मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् । यस खेलको विजेता टोलीले यसैवर्ष हुने महिला टी २० एसिया कप खेल्न पाउनेछ । पहिलो सेमिफाइनमा थाइल्यान्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि छनोट भइसकेको छ ।

नेपालले टस जित्यो, ब्याटिङ गर्ने निर्णय

काठमाडौं । एसीसी महिला प्रिमियर कप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले मलेसियाविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ । बायुमास ओभलमा हुने खेलका लागि कप्तान इन्दु वर्माले पहिलो ब्याटिङ गर्ने निर्णय लिँदा टोलीमा दुई परिवर्तन पनि भएको छ । स्पिनर संगीता राई र उपकप्तान विन्दु रावल टोलीमा आएका छन् । अश्मिना कर्माचार्य र पुजा महतोलाई बाहिर राखिएको छ । कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा, रुविना क्षेत्री, अप्सरी बेगम, डली भट्ट, कविता जोशी, काजल श्रेष्ठ, विन्दु रावल, रोमा थापा, संगीता राई नेपालले सेमिफाइनल जिते फाइनलमा यूएईको सामना गर्नेछ । आज सम्पन्न निकै रोमान्चक सेमिफाइनलमा यूएईले ४ रनको जित दर्ता गर्दै प्रिमियर कपको फाइनलमा स्थान पक्का गरेको हो । मलेसियाको बायुमास ओभलमा यूएईले प्रस्तुत गरेको ७१ रनको लक्ष्य पछ्याउने क्रममा थाइल्याण्ड ६६ रनमा अलआउट भयो । यूएईले २० ओभरमा ७ विकेट गुमाएर ७० रन जोडेको थियो । जवाफमा ७१ रनको लक्ष्य पछ्याउँदा थाइल्याण्ड ७.५ ओभरमा १५/५ को दयनीय स्थितिमा पुगेको थियो । तर छैटौं विकेटका लागि ३५ रनको साझेदारी हुँदा टोली खेलमा फर्कियो । अन्तिम ३ ओभरमा जितका लागि १४ रन आवश्यक हुँदा २ विकेट बाँकी रहेपनि थाइल्याण्ड पराजित हुन पुग्यो । अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा पहिलो बलमा १ रन जोडेपछि दोस्रो बलमा थाइल्याण्डले अन्तिम विकेट क्याच आउट हुँदै गुमायो । यससँगै थाइल्याण्डले सेप्टेम्बरमा हुने एसिया कप गुमाउने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आज पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।  बिहीबार शुरु भएको कार्यसमितिको बैठकको पहिलो दिन तीन वटा प्रस्ताव पेश भएको थियो। तिनै प्रस्तावमाथि शुक्रबार छलफल हुने पार्टी प्रवक्ता मीन विश्वकर्माले बताए ।  यसैबीच, कांग्रेसले महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेस गर्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेस गर्न लागिएको हो । यस्तै महासमितिमा छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रस्ताव पेस गर्नेछन् । महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेस गर्ने तयारी छ ।

एमाले नेता ऐन महरले दिए केन्द्रीय सदस्यबाट राजीनामा

काठमाडौं । नेकपा (एमाले)का नेता ऐन महरले केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् । उनले केन्द्रीय सदस्यबाट दिएको राजीनामा आज बसेको सचिवालय बैठकले स्वीकृत गरेको हो । उनीसहित अर्का केन्द्रीय सदस्य सिराज अहमद फारूकीको राजीनामा पनि स्वीकृत भएको छ । गएको मंसिरमा महरको भनिएको ‘यौनसम्बन्धी विवाद’को एक अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, महरले अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराइका थोरै स्थानमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।  गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो । खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्यसूची अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको छ । त्यस्दै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ निर्धारण गरिएको छ । काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले फाल्गुन ८ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा राजनीतिक स्थिति समीक्षा गर्नुका साथै संगठनात्मक कामका बारेमा छलफल हुने महासचिव शंकर पोखरेलले जानकारी दिए ।  सचिवालय बैठकले केन्द्रीय कमिटीको एजेण्डा तयार गरेको उनले बताए । मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान लगायतका विषयमा पनि केन्द्रीय कमिटीमा छलफल हुने महासचिव पोखरेलले जानकारी दिए । बैठकले केही विभागहरूमा मनोनयन गर्ने निर्णय गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डबाट संश्लेषित विधान प्रस्तुत

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड लगायत उच्च पदस्थद्वारा वसन्त श्रवण (फोटो फिचर)

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वसन्त पञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन् । राष्ट्रपति लगायत उच्च पदस्थले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्ड लगायतले पूजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरे। वसन्तश्रवण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायतको उपस्थिति थियो । वसन्तपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।        

नेपाल प्रहरीका ७४ जना उपरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । ७४ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ०८० फागुनदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको बताइएको छ ।

आज वसन्त पञ्चमी : विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । बुधबार वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ। आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ। काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ।

पाँचबुँदे प्रतिबद्धतासहित सरकारलाई टिकटकको पत्र : फुकुवाका लागि आग्रह

काठमाडौं । टिकटकले प्रतिबन्ध फुकुवाका लागि पाँचबुँदे प्रतिबद्धतासहित नेपाल सरकारलाई पत्राचार गरेको छ । टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध हेर्ने प्रमुखले प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई लेखेको पत्र आइतबार दर्ता भएको छ । पत्र सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गरेर पत्र लेखिएको छ । नेपालीले टिकटकलाई देशभित्र र बाहिर अत्यधिक रुचाएको पनि उल्लेख गर्दै टिकटकले प्रतिबन्ध फुकुवाको आग्रह गरेको हो । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यस्ता छन् टिकटकका प्रतिबद्धता नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्धता जनाउँछौँ सामग्रीको विषयमा व्यक्त चिन्ताहरूलाई सम्बोधन गर्न डेडिकेटेड फोकलप्वाइट प्रदान गर्ने, जसमा ती सामग्रीका बारेमा सीधै रिपोर्ट गर्न सकिनेछ सामग्रीको ‘फिल्टरिङ’ र ‘मोडरेसन’अभिवृद्धिका लागि थप नेपालीभाषी स्रोत उपयोग गर्ने देशव्यापी रूपमा इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउनेछौँ हाई स्कुल र कलेज विद्यार्थीको प्राज्ञिक अवस्था सुधारका लागि शैक्षिक सामग्रीको डिजिटाइजेसनलाई जोड दिनेछौँ

विश्व म्याराथनका कीर्तिमानी खेलाडी किप्टमको सडक दुर्घटनामा मृत्यु

न्युयोर्क । विश्व म्याराथन रेकर्ड होल्डर केल्भिन किप्टमको सडक दुर्घटनामा मृत्यु भएको छ । २४ वर्षीय केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हकिजिमानाको कार दुर्घटनामा मृत्यु भएको हो । कार दुर्घटनामा केल्भिन किप्टम र प्रशिक्षक गेर्भाइस हाकिजिमानाको मृत्युको खबरले खेलकुद जगतमा शोकको लहर ल्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किष्टमले गत वर्ष लण्डनमा भएको विश्व म्याराथन २ घण्टा २५ मिनेटमा पूरा गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए । किप्टम र उनका प्रशिक्षक गेर्भाइस टोयोटा कारमा कतै जाँदै थिए। त्यतिबेला केल्भिनले किप्टमको कार चलाइरहेका थिए। जहाँ अचानक उनले कारको नियन्त्रण गुमाए र कार सिधै सडकबाट झरेर रुखमा ठोक्किन पुगेको थियो । किप्टम र गेर्भाइस बाहेक त्यस समयमा कारमा सवार महिला यात्रु शेरोन कोसगेई भने गम्भीर घाइते भएकी छिन् । उनको उपचार भइरहेको छ । शिकागोमा भएको विश्व म्याराथनमा केल्भिन किप्टमले नयाँ विश्व किर्तिमान बनाएका थिए । उनले २ घण्टा २५ म्याराथन पूरा गरेर सो विश्व कीर्तिमान बनाएका हुन् ।