डोल्पावासी प्रतिकेजी २५० रुपैयाँको चामल खान बाध्य

काठमाडौं, भदौ १७ ।

शुल्क बढाएको भन्दै ठेकेदारले ढुवानी नगरेपछि दुई वर्षदेखि उपल्लो डोल्पावासीले सहुलियतको चामल र नुन खान पाएनन्-

जिल्लाको उत्तरी क्षेत्रका जनताले दुई वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् । केरुङ नाकाबाट तिब्बतको बाटो हुँदै खाद्यान्न लगिने गरेकोमा कर बढाइएको भन्दै ठेकेदारले खाद्यान्न ढुवानी गरेका छैनन् ।

उपल्लो डोल्पाका लागि आर्थिक वर्ष ०७२-७३ देखि छुट्याइएको ३८ सय क्विन्टल चामल र तीन हजार क्विन्टल नुन काठमाडाैँकै गोदाममा थन्किएको ठेकेदार विजय रोकाले बताए । पछिल्लो समय केरुङ नाकामा भन्सार दर बढाएपछि खाद्यान्न ढुवानी गर्न नसकेको ठेकेदार रोकाको भनाइ छ । ‘केरुङ नाकामा भन्सार दर बढाइएको छ, त्यसकारण खाद्यान्न ढुवानी गर्न सकिएन,’ रोक्काले भने ।

उपल्लो डोल्पामा तिब्बतको बाटो हुँदै खाद्यान्न पुर्‍याइन्छ । रसुवाको केरुङ नाकाबाट तिब्बत प्रवेश गरी ट्रकले उपल्लो डोल्पाको सीमासम्म खाद्यान्न पुर्‍याउँछन् । त्यहाँबाट खच्चरमार्फत नेपालतर्फ खाद्यान्न ढुवानी हुन्छ । सरकारले त्यहाँ वर्षको एकपटक मात्र खाद्यान्न पुर्‍याउने गरेको थियो ।

प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्य संकट हुन्छ । खाद्य संकट हुन नदिन सरकारले पठाएको सहुलियतको खाद्यान्न काठमाडौंमै थन्किँदा स्थानीय मारमा परेका छन् । सरकारले विगत वर्षमा छोटो समय र कम ढुवानी रकममा उपल्लो डोल्पाका से–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पो बुद्ध गाउँपालिकामा खाद्यान्न पुर्‍याउने गरेको थियो ।

पहिला तातोपानी नाकाबाट तिब्बत हुँदै खाद्यान्न लैजाने गरिएको थियो । भूकम्पले सो नाका अवरुद्ध भएपछि केरुङ नाकाबाट ढुवानी गर्ने गरेको साल्ट कर्पोरेसन डोल्पाका प्रमुख प्रकाशबहादुर धामीले जानकारी दिए । ‘जनताको दुःखपीडा बुझेर पनि हामी केही गर्न सक्दैनौँ,’ उनले भने, ‘अर्काको देश हुँदै खाद्यान्न ढुवानी गर्दा विभिन्न कठिनाइ हुन्छ, त्यसैले समयमा पुर्‍याउन नसकिएको हो ।’

माथिल्लो डोल्पामा चामल लैजान सयभन्दा धेरै ट्रक आवश्यक पर्ने ठेकेदार विजय रोक्काले बताए । तर, केरुङ नाका जान रसुवाकै चालक हुनुपर्ने व्यवस्था छ । अन्य चालक जान नपाउने भएपछि चामल र नुन ढुवानीमा समस्या भएको ठेकेदार रोकायले बताए ।

उता खाद्य संस्थान डोल्पाका प्रमुख हरिप्रसाद जोशीले भने खाद्यान्न पठाउन थालेको दाबी गरे । उनले हरेक दिन १२ देखि १५ वटासम्म ट्रक लोड गरेर पठाउने गरेको बताए । अबको एक साताभित्र गतवर्षदेखिको सञ्चित चामल र नुन उपल्लो डोल्पा पुगिसक्ने उनको भनाइ छ।

एक केजी चामलको २५० !
उपल्लो डोल्पामा ज्यादै कम खाद्यान्न उत्पादन हुन्छ । त्यहाँका स्थानीयले वर्षको एकपटक तल्लो डोल्पाबाट चौँरी र खच्चडमा खाद्यान्न ढुवानी गर्छन् । तल्लो डोल्पाबाट चामल उपल्लो डोल्पा पुर्‍याउँदा प्रतिकेजी २५० रुपैयाँसम्म पर्छ । त्यही चामल खाद्य संस्थानले भने प्रतिकेजी ६० रुपैयाँसम्ममा बेच्ने गरेको छ । तर, सरकारले वर्षको एकपटक मात्र चामल उपल्लो डोल्पा पुर्‍याउँछ । पछिल्लो समय भने दुई वर्षदेखि चामल लगेको छैन ।

यसकारण गएन चामल
उपल्लो डोल्पाका लागि आर्थिक वर्ष ०७२-७३ देखि छुट्याइएको ३८ सय क्विन्टल चामल र तीन हजार क्विन्टल नुन काठमाडाैँकै गोदाममा थन्किएको छ । ठेकेदारले केरुङ नाका हुँदै तिब्बतको बाटोबाट लैजान्छन् । तर, केरुङमा भन्सार दर बढाएको भन्दै ठेकेदारले ढुवानी गर्न मानेका छैनन् ।

भूकम्पअघि तातोपानी नाकाबाट खाद्यान्न लैजाने गरिएको थियो । सो नाका बन्द भएपछि रसुवाको केरुङ नाकाबाट लैजानुपर्छ । तर, केरुङ नाका जान रसुवाकै चालक हुनुपर्ने व्यवस्था भएपछि ढुवानी गर्न समस्या भएको ठेकेदार विजय रोकाले बताए ।

जहाँ तिब्बतको बाटो भएर खाद्यान्न लैजानुपर्छ

उपल्लो डोल्पामा तिब्बतको बाटो भएर खाद्यान्न ढुवानी गर्नुपर्छ । भूकम्पले क्षति गर्नुअघि तातोपानी नाकाबाट तिब्बत हुँदै खाद्यान्न ढुवानी गर्ने गरिएको थियो । अहिले केरुङ नाकाबाट तिब्बत हुँदै खाद्यान्न लगिन्छ ।

काठमाडौंबाट खाद्यान्न लोड गरिएका ट्रक रसुवाको केरुङ नाकाबाट तिब्बत छिर्छन् । तिब्बतको सडकबाट नेपालको सिमाना क्याटु र मोरिङला नाकासम्म लगिन्छ । त्यहाँबाट उपल्लो डोल्पाको सालडाङ र किन्जी हुँदै विभिन्न स्थानमा पुर्‍याइन्छ ।

खाद्य संस्थानले तिब्बतको सीमासम्म मात्र खाद्यान्न पुर्‍याइदिन्छ । त्यहाँबाट उपल्लो डोल्पाका स्थानीयले नै याक र चौँरीमा खाद्यान्न लिएर जान्छन् । उनीहरू खाद्यान्न लिन पाँच दिनसम्म हिँडेर सीमा पुग्ने गर्छन् । -नयाँ पत्रिकाबाट

नयाँ नियुक्ति, सरुवा र विदा नदिनु : आयोग

काठमाडौं, भदौ १६ । निर्वाचन आयोगले कर्मचारीको नियुक्ति, सरुवा–बढुवा र विदा नदिन सरकारलाई सचेत गराएको छ । शुक्रबार आयोगले पत्रकार सम्मेलन गरी निर्वाचन आचारसंहिता कडाईका साथ पालना गर्न पनि सरकार आग्रह गरेको छ। सरकारको तलब खाने सेना, प्रहरी, निजामति कर्मचारी र अर्धसरकारी निकायका कर्मचारी विदामा बसेको पाइएमा उजुरी गर्न पनि आयोगले सबैमा आग्रह गरेको छ। आयोगका आयुक्तले कर्मचारी विदामा बसेको पाइएमा आयोगको नजिकको कार्यालय वा केन्द्रीय कार्यालयमा उजुरी दिन भनेको छछन । आचारसंहिता लागु भइसकेपछि पनि सरकारले धमाधम कर्मचारी सरुवा गरेको भन्ने सूचना आयोगमा आएको भन्दै आयोगले तत्काल रोक्न आग्रह गरेको छ। त्यस्तै प्रदेश नम्बर २ मा बाढी पीडितलाई राहत वितरण गर्दा कुनै नारा र राजनीतिक कार्यक्रम नगर्न पनि राजनीतिक दलहरुलाई आयोगले आग्रह गरेको छ। आयोगले बिहीबार सरकारलाई ७ बुँदे निर्देशन दिँदै आचारसंहिता पालना गर्न स्मरण गराएको थियो ।

सुर्खेत–काठमाडौं आधुनिक एयर बस सेवा अाजदेखि सुरु

सुर्खेत, १६ भदौ । सुर्खेतमा पहिलोपटक शुक्रवारदेखि आरामदायी बस सेवा एयर बस सञ्चालनमा आएको छ । १० वर्षअघि सुर्खेतबाट यातायात सेवा सुरु गरेको काँक्रेविहार यातायात बस व्यवसायी समितिले आधुनिक एयर बस सञ्चालन गर्न थालेको हो । यात्रुहरुको बदलिएको चाहना र मागलाई ध्यानमा राखी आरामदायी यात्राका लागि एयर बस संचालन गर्न लागेको समितिले जनाएको छ । यी नयाँ बसहरुमा यात्रा गर्न अरु गाडीभन्दा आरामदायी हुने दाबी समितिको छ ।४० सिटे एयर बस को सुर्खेत–काठमाडौं भाडा १ हजार ६ सय रुपैयाँ तोकिएको समितिका सचिव रमेश सापकोटाले बताए । आफूहरुले सञ्चालनमा ल्याउन लागेको गाडी सुर्खेतकै नयाँ भएको सापकोटाको दाबी छ । समय अनुसार यात्रुहरुको चाहनालाई ध्यान दिएर एयर बस सञ्चालन गरिएको र आउँदा दिनमा सेवालाई थप्दै जाने सचिव सापकोटाको जानकारी दिए । समितिले हाल सुर्खेत–काठमाडौं दिवा तथा रात्रि सेवा सञ्चालन गरिरहेको जनाएको छ । त्यसैगरी, सुर्खेतदेखि नेपालगञ्ज, दैलेख, जुम्ला, जाजरकोटलगायतका ठाउँमा पनि यातायात सेवा दिइरहेको सापकोटाले बताए । अहिले काक्रेविहार यातायात बस व्यवसायी समितिसँग रहेका १ सय ६७ वटा विभिन्न थरीका गाडीहरुले यात्रुहरुलाई सेवा दिँदै आएको सचिव सापकोटाले जानकारी दिए । अनलाइनखबरबाट

वाल्मीकि टाइगर रिजर्भमा अझै कम्तीमा पाँच गैँडा

चितवन, भदौ १६ । नेपालबाट बाढीले बगाएर लगेका एकसिंगे गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा अझै कम्तीमा पाँचवटा रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । रिजर्भका डिपुटी डाइरेक्टर अमितकुमारका अनुसार रिजर्भका विभिन्न ठाउँमा ती गैँडा पुगेका छन् । रिजर्भबाट बिहीबार सातौँ गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्ज ल्याउने क्रममा सँगै आउनुभएका अमितकुमारले कम्तीमा पाँचवटा गैँडा विभिन्न क्षेत्रमा देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार सीमा क्षेत्रबाट करिब ७० किमी पर उत्तर प्रदेशको पिप्रासीमा एउटा, वाल्मीकि नगर क्षेत्रमा दुईवटा, सीमाबाट ४० किमी पर मदनपुरमा अर्काे एउटा गैँडा भेटिएको छ । यसबाहेक नेपालको नर्सहीबाट गण्डक नहर पार गरेर दुईवटा गैँडा भारततर्फ पुगेका छन् भने अन्य स्थानमा पनि गैँडा भएको हुनसक्ने उहाँले बताउनुभयो । ती दुई गैँडा भने सीमा वारपार गरिरहेका छन् । तीबाहेक नै कम्तीमा पाँच गैँडा भारतमा रहेको अनुमान गरिएको छ । ती गैँडालाई २०० सुरक्षाकर्मी र कर्मचारीले सुरक्षा दिइरहेका छन् । उहाँका अनुसार २० वटा गाडी, दुईजना डिपुटी डाइरेक्टर र पाँचजना रेञ्जर गैँडाको सुरक्षामा खटिएका छन् । उहाँले भन्नुभयो, “संरक्षणको क्षेत्रमा इतिहासमा पहिलोपटक नेपाल र भारतको संयुक्त प्रयासमा यो काम भइरहेको छ ।” गैँडा नियन्त्रणमा लिन अरु १५० जना भारतीय कर्मचारी र सुरक्षाकर्मी दिनहुँ खट्ने गरेको पनि उहाँले बताउनुभयो । रिजर्भका अन्य क्षेत्रमा पनि गैँडा रहेको आशंकामा खोजी कार्यलाई तीव्रता दिइएको छ । एक दिन भारततर्फ देखिने र अर्काे दिन नेपालतर्फ आइपुग्ने हुँदा यकिन कति गैँडा भारतमा छन् भन्न नसकिएको पनि अमित कुमारले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बिहीबार एउटा पूर्ण वयस्क पोथी गैँडा निकुञ्जमा ल्याइएको छ । वाल्मीकि टाइगर रिजर्भमा डार्ट गरेर उक्त गैँडा ल्याइएको हो । यो गैँडासहित भारतबाट उद्धार गरी ल्याइएका गैँडाको संख्या सात पुगेको छ । नेपाल–भारतको सिमानाभन्दा १५ किमी टाढा भारतको भेडीपारिमा पुगेको गैँडाको उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो । गैँडाको उद्धारका लागि तीनवटा हात्तीसहित ३० जना नेपाली प्राविधिक टोली परिचालन गरिएको छ । वाल्मीकि टाइगर रिजर्भ नेपाली सीमा क्षेत्रको भारतको आरक्ष हो जहाँ दुर्लभ वन्यजन्तु गैँडा भने पाइँदैनन् । वनको संरचनाको हिसाबले त्यो ठाउँ गैँडाका लागि उपयुक्त मानिँदैन । बाढीपछिको १५ दिनमा चितवन राष्ट्रिय निकुञ्जबाट बगाएका १० वटा गैँडाको उद्धार गरिएको छ । जसमध्ये सात भारतबाट र तीन नेपालका त्रिवेणी क्षेत्रबाट उद्धार गरिएको हो । बाढीकै कारण दुईवटा गैँडा मृतावस्थामा भेटिएका थिए । चितवन निकुञ्जको आसपास हँुदै बग्ने राप्ती, रियु र नारायणी नदीले गैँडालाई बगाएको थियो । उद्धार गरिएका गैँडालाई चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरबाट छाडिएको छ ।

फेसबुकबाट त्रिचालीस लाख ठग्ने महिला प्रहरी फन्दामा

काठमाडौं, भदौ १६ । विदेशी गिरोहसँग मिली दर्जनौँ नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छन् । सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । शेर्पालगायत व्यक्तिले विदेशबाट महँगो पार्सल पठाएको भन्दै फोन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् । हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ । शेर्पा एक सहकारीमा काम गर्थिन् । उनले पार्सलका लागि भनेर विभिन्न व्यक्तिले पठाएका पैसा लिएर विदेश पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सो घटनामा धेरैजसो महिला पीडित भएका छन् । फेसबुकमा विदेशी नाममा फ्रेन्ड रिक्वेस्ट पठाउने र चिनजान गरी सम्बन्ध विस्तार गरी उनीहरूले ठगी गर्दै आएका थिए । आफू धनी व्यक्ति भएको भ्रममा पारी गिफ्ट पठाइदिने लोभमा फसाएर ठगी गरेका हुन् ।

बयालीस वर्षपछि सडक स्तरोन्नति

उदयपुर, भदौ १६ । बयालीस वर्षपछि गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति गर्न थालिएको छ । जिल्लाकै सबैभन्दा पुरानो र सदरमुकाम गाईघाटलाई सप्तरीलगायत बाहिरी जिल्लासँग जोडने सो सडक विश्व बँैकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको हो । गाईघाट–फत्तेपुर (सप्तरी) सडक खण्डको २०२४ सालमा उदयपुरगढीसम्म यातायात सञ्चालन गर्ने उद्देश्यले ट्र््याक खोलिएको थियो । करिब ३० किलोमिटर लामो सो सडक खण्डको १० किलोमिटरमा अहिले स्तरोन्नति गर्न थालिएको छ भने बाँकी २० किलोमिटरमा माटो काट्ने, पुर्ने, ग्राभेल गर्ने, पक्की नाली बनाउने, ह्युम पाइप राख्ने, स्ल्याब कल्भर्ट निर्माणलगायतको काम भइरहेको छ । बाहै्रमहिना सडक सञ्चालन सुचारु हुनेगरी स्तरोन्नति गर्न लागिएको स्थानीय विकास अधिकारी गणेश दाहालले बताउनुभयो । राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत करिब रु पाँच करोडको लागतमा १० किलोमिटर सडक कोलोपत्र तथा बाँकी भागमा ग्राभेल गरिने उहाँले बताउनुभयो । अघिल्लो वर्ष ग्राभेल गरिएको त्रियुगा नगरपालिका–७ मोतिगढादेखि जोगिदहको हाटखोलासम्म सडक स्तरोन्नति गरिनेछ । बाँकी भागको स्तरोन्नतिका लागि रु पाँच करोड ९८ लाखमा ठेक्का दिने प्रकृया शुरु भएको छ । कालोपत्र गरिने खण्डमा दायाँबायाँ दुबैतर्फ १०÷१० मिटरको चौडाइमा कालोपत्र गरिने जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । सडक स्तरोन्नति गरिएपछि जिल्लाको पूर्वी क्षेत्रका ग्रामिण भेगका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने हडियाका अर्जुन दाहालले बताउनुभयो । सदरमुकाम गाईघाट पूर्वका ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको कृिष उपजले बजार समेत पाउने छ । “सडक स्तरीय नहुँदा कृषि उपज वर्षौँदेखि खेतबारीमै कुहिने गरेको छ,” उहाँले भन्नुभयो । गाईघाट–फत्तेपुर सडक सञ्चालन भएपछि गाईघाटदेखि धरान, विराटनगरलगायतका पूर्वका विभिन्न शहरसम्म यातायात सेवा सहज हुनेछ । सडक सञ्चालन नहुँदा सदरमुकाम गाईघाटपूर्वका यात्रु सिरहा र सप्तरी भएर लामो बाटो प्रयोग गर्न बाध्य छन् ।

नेपालका दुई रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ, भदौ १६ । साहसिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएबापत नेपालका दुई रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन् । सिंगापुरको एसिया लिडिङ रिसोर्ट इकले सातौँं पटक आयोजना गरेको कार्यक्रममा दुबै रिसोर्टलाई उक्त अवार्ड प्रदान गरिएको हो । यद्यपि, रिभरले एडभेञ्चर विधामा अवार्ड पाएको हो भने बेगनाथ लेक रिसोर्टको अवार्डको शीर्षक भने खुलाइएको छैन । रिभरफनका सञ्चालकद्वय शंकर अधिकारी र राजन सिंखडाले यही भदौको पहिलो साता सो अवार्ड लिनुभएको थियो । रिसोर्टका निर्देशक राजन सिंखडाले अन्तर्राष्ट्रियस्तरको अवार्ड पाउनु नेपालकै गर्वको विषय रहेको बताउँदै यसले नेपालको पर्यटनलाई विश्व बजारमा थप प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अवार्डले व्यावसायिक जिम्मेवारी बढाएको र सेवालाई गुणस्तरीय र सुविधायुक्त बनाउन प्रेरणाका साथ लागिपर्ने उहाँले बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकासका लागि राज्यले विशेषगरी पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने व्यवसायी सिंखडाको भनाइ छ ।

प्राधिकरणका कर्मचारीले दुःख दिए ११५१ मा फोन गर्नुस्

काठमाडौँ, १६ भदौ । नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन । महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगर्ने प्रवृत्ति कायमै छ । त्यस्तो व्यवहार गर्नेलाई कारबाही नभएको अनुभव धेरैसँग छ । तर अबको केही दिनपछि तपार्इंको गुनासो सम्बोधन नगर्ने र नोलाइट शाखामा फोन नउठाउनेलाई उपभोक्ताले सिधै गुनासो गर्ने र कारबाहीको दायरामा ल्याउने संयन्त्र सञ्चालनमा आउने भएको छ । ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले निःशुल्क ११५१ टेलिफोन नम्बर सञ्चालनमा ल्याउन लागेको छ । प्राधिकरणका कर्मचारीले दुःख दिए, गुनासो सम्बोधन गरेनन् वा कुनै सेवा लिँदा घुस मागे भने तपार्इंले पैसा नलाग्ने सो नम्बरमा फोन गर्न सकिनेछ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त हटलाइन टेलिफोन नम्बर सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । नेपाल टेलिकमले प्राधिकरणका ग्राहकलाई सहजरुपमा गुनासो गर्न उक्त नम्बर प्रदान गरेको हो । प्राधिकरणले सो हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घन्टा कार्यरत रहनेगरी तीन÷तीनजनाका दरले कर्मचारी उपलब्ध गराउने भएको छ । मुलुकभरका वितरण केन्द्रका कर्मचारीले उपभोक्तालाई राम्रो व्यवहार नगरेको, मिटर लिँदा घुस मागेको, ट्रान्सफर्मर बिग्रेको लामो समय हुँदा पनि मर्मत नगरेको जस्ता गुनासा सिधै ११५१ नम्बरमा फोन गर्न सकिनेछ । ऊर्जामन्त्री शाहीले प्राधिकरण जनताको सेवामा क्रियाशील छ भन्ने सन्देश दिनका लागि हटलाइन सञ्चालनमा ल्याउन लागिएको र त्यसले प्राधिकरणका कर्मचारीलाई जिम्मेवार बनाउने विश्वास व्यक्त गर्नुभयो । सो नम्बरमा एकैपटक तीनजनाले फोन गर्न सक्नेछन् । जनगुनासो सुन्ने, ग्राहकलाई आवश्यक सूचना दिने, सेवाग्राहीसँग प्राधिकरणका कर्मचारीले भ्रष्टाचारजन्य गतिविधि गर्ने र पैसा मागे भने सिधै सो नम्बरमा टेलिफोन गर्न सकिने इन्जिनियर गणेश शाह बताउनुहुन्छ । प्राधिकरणका कर्मचारीले सेवाग्राहीलाई दुःख दिएको गुनासो आउनासाथ सम्बन्धित थलोमा नै कारबाही गर्ने प्रणालीसमेत विकास गर्न लागिएको बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीलाई सहजरुपमा सेवा दिन र कुनै गुनासो भए सिधै सम्पर्क गर्न सहज होस् भनेर टेलिफोन नम्बर सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो । यसअघि ऊर्जा मन्त्रालयले प्रक्रिया पुगेका सेवाग्राहीलाई सात दिनभित्र बिजुलीको मिटर उपलब्ध गराउन प्राधिकरणका सबै जिल्ला कार्यालय, वितरण केन्द्र र क्षेत्रीय कार्यालयलाई निर्देशन दिइसकेको छ । मिटर पाइएन, जडान गर्न कर्मचारीले अटेर गरे तथा पैसा नदिई काम गरेनन् भने पनि सिधै सो नम्बरमा फोन गर्न सकिनेछ । मुलुकभर विद्युत्भार कटौती अन्त्य गरेपछि प्राधिकरणप्रति जनताको विश्वास बढ्दै गएको अवस्थामा कर्मचारीलाई थप जिम्मेवार बनाउन प्रविधिको सहयोग लिन लागिएको हो । मोबाइल एप्स आउँदै प्राधिकरणले ‘एनइए अफिसिएल’ नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याउन लागेको छ । प्राधिकरणको आइटी विभागले तयार पारेको सो एप्लिकेसनमा प्राधिकरणका सबै गतिविधि उपलब्ध हुनेछ । ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन् । यस्तै गुनासो पनि सोही एप्लिकेसनमार्फत गर्न सक्नेछन् भने कुन स्थानमा विद्युत् काटियो, त्यसको कारण केहो, कति समयमा आउँछ भन्ने सूचना तथा जानकारी लिन सक्नेछन् । प्राधिकरणका प्राविधिक विभाग प्रमुख सञ्जय उपाध्यायका अनुसार एप्स केही दिनपछि सञ्चालनमा आउनेछ । सो एप्स गुगल प्ले स्टोर एप र उपस्टोरबाट डाउनलोड गन सकिनेछ ।

राप्रपा अध्यक्ष थापा पत्रकार सम्मेलन

नेपालगन्ज, भदौ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्ति र आत्मसमर्पणवादी शक्तिको टकराव नेपालको राजनीतिमा अझै अन्त्य हुन नसकेको बताउनुभएको छ । सो दलको बाँके जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो— “दुई चरणमा हुने भनिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई आप्mनो दलले उच्च महत्व दिएको छ ।” पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले पार्टी फुट्नु दुःखद भए पनि यसलाई अवसरका रुपमा लिएका छौँ, पार्टीभित्रको आन्तरिक विवादलाई बहाना बनाएर पार्टी फुट्दै जाने हो भने कुनै पार्टी पनि टिक्न सक्दैनन् भन्नुभयो । अध्यक्ष थापाको थप भनाइ थियो—“आफ्नो दलले हिन्दू राष्ट्र र राजतन्त्रको नारालाई नछाडेको र यही एजेण्डाका आधारमा पार्टी संगठन विस्तार गरिनेछ ।”

करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

झापा, भदौ १६ । झापाको मेचीनगरमा करेन्ट लागेर एक भारतीय नागरिएको मृत्यु भएको छ । मेचीनगर– १० स्थित ओम शिव सेलर राईस मिलको उपकरण बनाउने क्रममा बिहीबार साँझ करेन्ट लागेर भारत किशनगञ्जका ४० वर्षीय सोम हास्दाको मृत्यु भएको काँकरभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ करेन्ट लागेर गम्भीर घाइते हास्दालाई उपचारका लागि बिर्तामोडतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टंक भट्टराईले बताउनुभयो ।

भीमसेन थापाको जन्मथलो बन्यो पर्यटकीय केन्द्र

गोरखा, भदौ १६ । नेपालका दोस्रो प्रधानमन्त्री भीमसेन थापाको जन्मथलो गोरखाको फिनाम पीपलथोक पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । गोरखा नगरपालिकाको सहयोगमा भीमसेन उद्यान’ निर्माण गरेपछि आन्तरिक पर्यटक पीपलथोक पुग्न थालेका छन् । विसं १८३२ मा थापाको जन्म पीपलथोकमा भएको थियो । पीपलथोकमा थापाको पूर्णकदको सालिक राखेर उद्यानमा स्वदेशी र विदेशी पर्यटकको गन्तव्यस्थल बनाउने तयारी गरिएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताउनुभयो । भीमसेन उद्यान नजिकै थापाकै पालामा बनेको जर्नेल धारा पनि रहेको छ । ऐतिहासिक महत्व बोकेको पीपलथोकबाट मनास्लुलगायत हिमशृंखलाको अवलोकनका साथै पर्यटकीय केन्द्र अजिरकोट, सिरानचोक, लिगलिगकोटको दृश्यावलोकन गर्न सकिन्छ । यस्तै भीमसेन उद्यान निर्माण गर्न स्थानीय बासिन्दा मकर गुरुङले दुई रोपनी क्षेत्रफलको जग्गा दान गर्नुभएको छ । सोही जग्गामा एक रोपनी थपेर उद्यान निर्माण गरिएको हो । आव २०७२-७३ मा गोरखा नगरपालिकाअन्तर्गत वातावरणमैत्री स्थानीय शासन कार्यक्रमबाट उद्यान निर्माण गर्न रु पाँच लाख, आव २०७३÷७४ मा जिल्ला वन कार्यालयले एक नगर एक उद्यान कार्यक्रमअन्तर्गत रु आठ लाख र गोरखा नगरपालिकाले रु तीन लाख बजेट लगानी गरी उद्यान निर्माण गरेका हुन् । उद्यानमा धुपीलगायत विभिन्न जातका बोटबिरुवा हुर्काइएको छ । फूलबारी बनाइएको छ भने आराम गर्न मिल्ने प्रतीक्षालयहरु बनाइएको गोरखा नगरपालिकाका वातावरणविद् ध्रुवप्रसाद घिमिरेले जानकारी दिनुभयो । वडाध्यक्ष खोपबहादुर अधिकारीका अनुसार भीमसेन उद्यान पुग्ने सडक स्तरोन्नतिका लागि यसवर्ष रु ३० लाख बजेट विनियोजन भएको छ । सदरमुकामबाट गोरखा दरबार हुँदै पीपलथोक पुग्ने सडक कच्ची हुँदा बर्खायाममा पर्यटक पुग्न कठिन छ । यसवर्ष सडक सुधार गरी बर्खामा पनि सवारी चल्न सक्ने बनाउने उहाँले बताउनुभयो । भीमसेन उद्यान निर्माण समितिका अध्यक्ष मकर गुरुङले आन्तरिक पर्यटक उद्यानमा आए पनि विदेशी पर्यटक ल्याउन नसकिएको बताउनुभयो । उद्यान आसपासका क्षेत्रमा होमस्टे निर्माण गर्ने, सडक स्तरोन्नति गर्ने र भीमसेन उद्यानको प्रचारप्रसार गर्न सक्ने हो भने पर्यटकीय केन्द्रका रुपमा पीपलथोक विश्वसामु चिनिने उहाँले बताउनुभयो । गोरखा नगरपालिका प्रमुख पन्तले छेवेटारस्थित दरौँदी नदीमा ¥याफ्टिङ गर्न आउने पर्यटकलाई पश्चिमकाली, चिल्ड्रेन पार्क हुँदै पीपलथोकस्थित भीमसेन उद्यानसम्म ल्याउन सकेमा यस क्षेत्रका बासिन्दाको जीवनस्तर थप उकासिने बताउनुभयो । छेवेटारदेखि पीपलथोकसम्म पदमार्ग र स्तरीय सडक निर्माण गर्न नगरपालिकाले अर्थ लगानी गर्ने उहाँको भनाइ छ ।

विमानको ९० प्रतिशतभन्दा बढी बुकिङ्ग

पोखरा, भदौ १६ । दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ भनेर नखुलाउने वायुसेवा कम्पनीले दसैँ आउनु तीन साताअघि नै लगभग सीट बुकिङ सकिएको जनाएका छन् । एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका प्रवक्ता घनश्याम आचार्यका अनुसार दशैँका लागि ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको छ । लामो गन्तव्यका बुद्ध, यति, तारा, सौर्य, श्रीलगायत एयरलाइन्सको अधिकांश टिकट सकिएको छ । “दशैँका लागि गाडीजस्तो विमानको अग्रिम बुकिङ हुँदैन, जुनसुकै समयमा टिकट बुकिङ हुनेहुँदा चाडैँ टिकट सकिएको हो । सेवाग्राहीको मागअनुसार वायुसेवा कम्पनीले दशैँमा उडान थप गर्नेछन्”–उहाँले भन्नुभयो । सामान्य अवस्थामा १०० वटा उडान हुने गर्थे भने दशैँमा १५ देखि २० प्रतिशत उडान थपिने प्रवक्ता आचार्यको भनाइ छ । उहाँले दशैँमा यात्रु चाप बढी हुने भए पनि एकतर्फी मात्रै यात्रु भरिने हुँदा विमान कम्पनीले थोेरै मात्र उडान थप्ने गरेको बताउनुभयो । विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएका यति एयरलाइन्सको दशैँका लागि ७० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएको छ । कम्पनीका व्यवस्थापक भीमराज राईले दशैँका लागि करिब करिब टिकट बुकिङ सकिएको र मागअनुसार उडान थप्ने योजना रहेको बताउनुभयो । यतिले एक एटीआर र छ जेटस्ट्रिम विमानबाट उडान भर्दै आएको छ । बुद्ध एयरकी बजार व्यवस्थापक बिनिता थापाका अनुसार कम्पनीको पनि अधिकांश टिकट बुकिङ भइसकेको छ । बुद्धले एटीआर ४२-३२० र एटीआर ७२-५०० सहित नौ वटा विमानले विभिन्न १० गन्तव्यमा उडान भर्दै आएको छ । तुम्लिङटार, जनकपुर, सिमरा, भरतपुरमा शत प्रतिशत र विराटनगरलगायत छोटा गन्तव्यमा ७० प्रतिशतको हाराहारीमा टिकट बुकिङ भएको बुद्ध एयरले जनाएको छ । केही महँगो भए पनि सुलभ र छिटो यातायातका रुपमा रहेको विमान चढेर गन्तव्यमा पुग्ने यात्रुको औधी चाहना हुन्छ, धेरैको त बाध्यता नै पर्छ । तर, दशैँको मुखमा विमानबाटै गन्तव्यमा जानुपर्ने बाध्यतामा रहेका यात्रुले टिकट पाउन सास्ती हुने गरेको छ, यो नयाँ समस्या भने हैन । हरेक वर्ष दशैँका बेला यस्तै समस्या आउने गरेको व्यवसायी तथा सेवाग्राही बताउँछन् । वायु सेवा जस्तै सडक यातायातका साधनको पनि समस्या उही छ । अहिले हेलिकोप्टरसहित २० वटा निजी वायुसेवा कम्पनीले अन्तरिक उडान भर्दै आएका छन् ।

क्रान्तिकारीको अध्यक्षमा रन्जित २४ मतले अगाडी, हेराैँ अन्यत्र कसले कहाँ जिते

काठमाडौं,भदौ १६ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नयाँ नेतृत्वको लागि मतगणना जारी रहेको छ । पछिल्लाे मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार रन्जित तामाङ अगाडी  छन्।  ७१७ मत गन्दा अध्यक्षमा रन्जितकाे ३४८ र अनिल शर्माकाे ३२४ मत रहेकाे छ । यस्तै उपाध्यक्षतर्फ तिलक भण्डारीकाे २२२, पुरन केसीकाे २५७, सुरेन्द् बस्नेतकाे ३२२,उद्धव भट्टरार्इकाे २४२,विजय गाैत्तमकाे १८७  मत अाएकाे छ । बुधबार राति मतदान सम्पन्न भएको थियो । नयाँ नेतृत्वको लागि ३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति चयन गर्नका लागि यही भदौ ७ गतेबाट काठमाडौँमा अधिवेशन भएको थियो । सहमतिबाट नेतृत्व चयन नभएपछि क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन हुदैछ । दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले मतदान गरेका थिए । अध्यक्ष न्यौपानेका अनुसार शुक्रबार साँझसम्म मतगणना सकिने छ ।

गोपाल किराती एक नम्बर प्रदेशको मुख्यमन्त्री उम्मेद्वार 

विराटनगर ,कादौ १६ । माओवादी केन्द्र एक नम्बर प्रदेशको बैठकले गोपाल किरातीलाई प्रदेशको मुख्यमन्त्री उम्मेद्वार बनाउन सिफारिस गर्ने निर्णय गरेको छ । माओवादी केन्द्य्रको मंगलबार सम्पन्न प्रदेश सचिवालय बैठकले प्रदेश इन्चार्ज रहेका नेता किरातीलाई मुख्यमन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश निर्वाचनका लागि घोषणापत्र पनि पारित गरेको छ । यसैगरी नेता किरातीको संयोजकत्वमा सुरेश राई, शिवकुमार मण्डल, मुक्साहाङ मेन्याङबो र १४ जिल्लाका इन्चार्ज रहेको निर्वाचन परिचालन समिति पनि गठन गरेको प्रदेश संयोजक सावित्रीकुमार काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार सचिवालय बैठकले प्रदेशको पार्टी संगठन विभाग, जनवर्गीय संगठन विभाग र मोर्चा संगठन विभाग गठन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको सचिवालयको आगामी १६ र १७ भदौमा बस्ने बैठकपछि थप उपसमिति निर्माण गर्दै पूर्ण रपले निर्वाचनमा होमिने संयोजक काफ्लेले बताए ।-नयाँ पत्रिकाबाट 

निर्वाचित वडा सदस्य कारागार चलान

काठमाडौं, भदौ १६ । पोखरा–लेखनाथ महानगरपालिका–८ का वडा सदस्य पुष्पराज सिग्देल बिहीबार कारागार चलान गरिएका छन् । बहुविवाहको मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका उनी फरार सूचीमा थिए । सिग्देल आफैं अदालत उपस्थित भएका हुन् । उनी वैशाखमा भएको स्थानीय निर्वाचनमा वडा सदस्य चुनिएका थिए । तहसिलदार भोलाराज रेग्मीले सिग्देल निवेदनसहित आफैं अदालतमा आएपछि कारागार पठाइएको बताए । फैसलाको झण्डै १६ वर्ष पुग्दा पनि पोखरा–८ सिमलचौरका सिग्देललाई प्रहरीले पक्रेको थिएन । जेठी पत्नी सुशीलाको जाहेरीपछि कास्की जिल्ला अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले २०५८ पुस १० मा सिग्देललाई एक महिना कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । फैसलापछि जरिवाना रकम धरौटीबाट असुलउपर भएको थियो भने चार दिन हिरासतमा बसेकाले २६ दिन कैद असुल हुन बाँकी रहेको अदालतले जनाएको छ । – कान्तिपुरबाट

१५ किलो अबैध सुनसहित ७ पक्राउ

काठमाडौं, भदौं १५ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १५ किलो अबैध सुनसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो गरी १५ किलो सुन नियन्त्रणमा लिएको हो । बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले सुनसँगै काठमाडौ टोखाका पेम्बा दोर्जे शेर्पा, भक्तपुर सूर्यविनायकका दीपेन्द्र थापा, राजेन्द्र खत्री, रवीन खत्री, काठमाडौं बानेश्वरका सरोज थापा, काभ्रे पाँचखालका विष्णु गौतम र धनुषा जनकपुरका दीपककुमार साहसहित ७ जना पक्राउ परेका जानकारी दिएको छ । प्रहरीले सुन तस्करहरुको साथबाट बा १० च ४१ १३ भएको सेतो रंगको गाडी, एकथान स्कुटर, ६ सय अमेरिकी डलर र ११ सय ९९ चिनियाँ मुद्रा युयान पनि बरामद गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । चीनबाट रसुवा हुँदै काठमाडौं भित्र्याउने क्रममा सुन समातिएको प्रह्रीले जानकारी दिएको छ । चीनबाट २२ किलो सुन भित्रिएपनि १५ किलो बरामद भएको छ । दुई केजी काठमाडौंमै बेचेको र अरु सुन केही भारत निकासी भइसकेको प्रहरीको आशंका छ ।