नेकपा माओवादी केन्द्र चितवनले सहिद सप्ताह मनाउदै

भरतपुर । नेकपा माओवादी केन्द्र चितवनले सहिद सप्ताह मनाउने भएको छ । केन्द्रले २०८० फाल्गुन १४ देखि २१ गतेसम्म विविध कार्यक्रम गर्दै सहिद सप्ताह मनाउन लागेको माओवादी केन्द्र चिवनले जनाएको छ ।

जिल्ला संयोजक रामचन्द्र अधिकारी (आर.स)को अध्यक्षतामा फाल्गुन ११ गते जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सप्ताहको पहिलो दिन फाल्गुन १४ गते अखिल नेपाल खेलकुद महासंघद्धारा पुरुष तर्फ ५ किलोमिटर एवं  महिला तर्फ ३ किलोमिटर दुरिको 'शहिद स्मृर्ती रोड रेस प्रतियोगिता' र  शहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम गर्ने, फाल्गुन १६ गते  'जेल (हिरासत) बसेका योध्द्धाहरुलाइ सम्मान' कार्यक्रम गर्ने, फाल्गुन १७ गते   'जेष्ठ कम्युनिष्ट सदस्य सम्मान कार्यक्रम  गर्ने, फाल्गुन १९ गते  'जनयुद्ध जनआन्दोलनका घाईते योध्द्धा सम्मानू कार्यक्रम गर्ने, फाल्गुन २० गते  बृहत् खुल्ला 'रक्तदान कार्यक्रमू कार्यक्रम  गर्ने माओवादी केन्द्र चिवनले जनाएको छ । भने फाल्गुन २१ गते अन्तिम दिन 'बलिदान राष्ट्रका लागी अन्र्तक्रिया' कार्यक्रम गर्ने जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । 

भरतपुर महानगरको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को शुभारम्भ पनि यसै सहिद सप्ताहकैबीच  हुन लागेको हुँदा फाल्गुन १८ गते हुन गैरहेको भरतपुर भ्रमण बर्ष २०२४ को शुभारम्भ कार्यक्रममा सहभागी हुँदै पाहुनाहरुको स्वागत सम्मानमा सम्पूर्ण पार्टी पंक्ति लाग्ने समेत निर्णय गरीएको माओवादी केन्द्र चितवनले जानकारी दियो ।

सहिद सप्ताहलाई सफल बनाउन सम्मान पत्र लेखन समिति, मंच व्यवस्थापन समिती तथा आर्थिक व्यवस्थापन समिति गठन गरी काम अगाडि बढाइएको जिल्ला सचिव द्रोणबाबु सिवाकोटीले जानकारी गराए ।

ओलीलाई प्रधानमन्त्री प्रचण्डले दिए जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फोनवार्ता भएको छ । प्रधानमन्त्रीको स्वकिय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्रीले ओलीलाई जन्मदिनको शुभकामना दिन फोन गरेका हुन् । उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जन्मदिनको अवसरमा सुस्वास्थ्य तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।’ ओली आज ७२ वर्ष पुगेका छन् ।

आमा बनिन् अभिनेत्री रेखा थापा

काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । अमेरिकाको कोलोराडोको एक अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अभिनेत्री थापाले यसबारे जानकारी दिएकी हुन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।

टिआरसी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र(का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन् ।  शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताए प्रधानमन्त्री प्रचण्डले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको बताए । उनले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने बताए। उहाँले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताए । प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवस शान्ति प्रक्रिया पूरै टुंग्याएपछि पुनः मनाइने र बिदा दिइने दाबी गर्नुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएकै कारण अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको बताए । प्रधानमन्त्री प्रचण्डले अदालतले बिदा नदिएपनि आफूहरुले जनयुद्ध दिवस मनाएको बताए ।

एमालेद्वारा ४ मन्त्रीको राजीनामा माग

काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत पुस ११ गते बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवा मारिएको घटनामा गरिएको छानबिन प्रतिवेदन संसदमा प्रस्तुत गर्न माग गरेको छ । शुक्रवार प्रतिनिधिसभा बैठकको सुरुमा सभामुखको ध्यानाकर्षण गराउँदै एमाले सांसद योगेश भट्टराईले बालकुमारी घटनामा सरकारको प्रत्यक्ष संलग्नता रहेको बताउँदै छानबिन समितिको प्रतिवेदन संसदमा प्रस्तुत गर्न माग गरे ।  सो घटनाको कारक भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला रहेको बताउँदै उनलाई तत्काल सरकारबाट हटाउन माग गरे । भट्टराईले भने– ‘बालकुमारीमा दुई युवाको हत्या भएको भनेर फागुन ६ गतेको संसद् बैठकमा प्रधानमन्त्री स्वयंले भन्नुभएको छ । त्यो हत्या कसले गरेको हो । त्यहाँ कुनै नागरिक तहबाट एक अर्कामा झडप भएर हत्या भएको होइन ।  सुरक्षाकर्मीको गोलीबाट हत्या भएकोले त्यसमा सिङ्गो सरकार जिम्मेवार छ भन्ने कुरा हामी जोड दिएर भन्न चाहन्छौँ । एकजना भौतिक पूर्वाधार मन्त्रीको लापरबाहीले सो घटना भयो । सरकारले नै बनाएको बालकुमारी घटना छानबिन आयोगले नै मन्त्री दोषी छ भनेपछि त्यो मन्त्री फेरी पदमा बहाल हुने भन्ने कुरा नैतिक हिसाबले हुँदै हुँदैन । प्रधानमन्त्रीले नै हत्या भने पनि सुरक्षा निकायलाई कमान्ड गर्ने गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’  उनले सो घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत नैतिक जिम्मेवारी लिनुपर्ने उनले बताए । यस्तै टेरामेक्स काण्डमा संलग्न रहेको भनेर स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग अख्तियारले बयान लिएको बताउँदै उनले मुद्दा प्रभावित पार्न सक्ने भन्दै उनलाई पनि सरकारबाट हटाउन माग गरे ।  यस्तै गौतम बुद्धको अस्तु धातु भएको रामग्राम प्राइभेट कम्पनीलाई ९९ वर्षसम्मलाई भाडामा दिने प्रक्रियामा पर्यटन मन्त्री सुदन किराँती संलग्न रहेको बताउँदै नैतिकताको आधारमा उनी पनि सरकारमा बस्न नहुने एमालेको माग छ ।

राष्ट्रपति र राष्ट्रियसभाका अध्यक्ष बीच भेटवार्ता

काठमाडौं, ११ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ।

हिमपातले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित

बाग्लुङ, ११ फागुन। बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ। बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो। हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ। हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन्। हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए। हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनी बताउँछन्। यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ। ‘बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो ९बिहीबार० दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन’ अदैले भने, ‘एक साता जति गर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मंसिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ।’ गत मंसिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो। तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन्। ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन्। बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए। हिमपातले जनजीवनमा सामान्य असर परेको उनले जानकारी दिए।

मोटरसाइकलले च्यापिएको अवस्थामा मृत फेला

चितवन, ११ फागुन । चितवनको खैरहनी नगरपालिका–१० कठारस्थित भित्री सडक खण्डमा मोटरसाइकलले च्यापेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान पौने ६ बजे ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलले खुट्टा च्यापिएको अवस्थामा खैरहनी–१० बस्ने ३४ वर्षीय दिलिप चौधरी मृत फेला परेका हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

संघीय संसद्का कानून तथा मानवअधिकार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को एक समितिको बैठक बस्दै छ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । सो बैठक बिहान ८ बजे बोलाइएको छ । आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला मन्त्रालय र निकायहरूसँग छलफल’ गरिने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ। साथै, उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको थियो ।  तर, बैठक सञ्चालनका लागि आवश्यक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो । गृहमन्त्री श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न सभामुख देबराज घिमिरेसँग माग गरेका थिए ।  त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए । गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा हिजोको बैठकमा ६५ जना मात्र उपस्थित देखिए पछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका थिए । यसैगरी, सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘खाध्ध स्वच्छता तथा गुणस्तर विधेयक सबन्धी समितिको प्रतिवेदन २०८०’ पेश गर्ने छिन् । अर्थ मन्त्री प्रकाशशरण महतले ‘भन्सार विधेयक २०८०’ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संसोधन० विधेयक २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

प्राधिकरणले माग्यो १० औँदेखि चौथो तहसम्मका लागि दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्राधिकरण रिक्त पदका लागि दरखास्त मागेको हो ।  दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । २१ दिन भित्र आवेदन दिनु पर्नेछ । 

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । शुक्रबार राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा दिलकुमारी थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

आजको मौसम  देशका यी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।  दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशको पहाडी भू-भागका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका तराई भु-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(बभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नेपालको लगातार दोस्रो जित, इराकविरुद्ध सावित्राको पाँच गोल

काठमाडौं । सावित्रा भण्डारीको पाँच गोलप्रेरित नेपालले पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा इराकविरुद्ध ५–० को फराकिलो जित निकालेको छ । बिहीबार साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन्न खेलमा सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन् ।  लगातार दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो । लगातार दोस्रो हार बेहोरेको इराक भने समूह चरणको अन्तिम खेलअगावै बाहिरिने निश्चिन बनेको छ । इराकले यसअघि पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० का हार बेहोरेको थियो ।  नेपालले अब शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ ।

क्रिकेटर लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न अनुमति

काठमाडौं, १० फागुन । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो । त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।

हिन्दु राष्ट्रका लागि १०६३ हस्ताक्षर देउवालाई

ललितपुर, १० फागुन । हिन्दु राष्ट्रका लागि भन्दै नेपाली काङ्ग्रेसका एक हजार ६३ जना महासमिति सदस्यहरुको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रका लागि संकलन गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाएका हुन । बिहीबार गोदावरीस्थित महासमिति बैठकमा एक हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर देउवालाई बुझाएको भण्डारीले बताए। भण्डारीले महासमिति बैठकको बन्दसत्रमै सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन्। सबै धर्मलाई सम्मान गर्दै नेपाल हिन्दु राष्ट्र बनाउनुपर्ने उनले बताए। उनले धर्म निरपेक्ष खारेज गरी हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने बताए। कांग्रेसको ०७५ मा भएको महासमिति बैठकमा पनि हिन्दु राष्ट्र घोषणा माग गर्दै हस्ताक्षर अभियान चलाइएको थियो।  त्यतिबेला ७१७ जना महासमिति सदस्यले हस्ताक्षर गरेका थिए। तर पार्टीले आधिकारिकता दिएको थिएन। कांग्रेसमा झण्डै २३ सय महासमिति सदस्यहरू छन्। महासमिति सदस्यहरूले हिन्दु राष्ट्रका बारेमा हस्ताक्षर गरेर बुझाए पनि कांग्रेसले यसअघि नै यसले आधिकारिकता नपाउने बताएको थियो।  फागुन ३ र ४ गते सानेपामा बसेको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यले महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको पक्षमा उभिन माग गर्दै पुरक प्रस्ताव ल्याएका थिए।  शंकर भण्डारी, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, शुक्रराज शर्मा, पुष्प भुसाल, शारदा पौडेल, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, डिला संग्रौला सहितले पुरक प्रस्ताव पेश गरेका थिए। महासमिति सुरू हुनुअघि गोदावरीमा पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले एकल धर्म राज्यको शासन नेपाली कांग्रेसलाई स्वीकार्य नभएको बताएका थिए।  ‘नेपाली कांग्रेस कुनै पनि एकल विचारको पक्षमा छैन। त्यसैले हामीले बहुलवादमा आधारित बहुदल भन्यौं। एकल धर्मको राज्य, एकल वंशको शासन, एकल जातीय शासन, एकल विचारको शासन नेपाली कांग्रेसका लागि स्वीकार्य छैन,’ महासमितिस्थल ललितपुरको गोदावरीमा पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भनेका थिए।  उनले कांग्रेस जातीय, क्षेत्रीय, धार्मिक, साम्प्रदायिक पार्टी नभएको बताएका थिए। फागुन ७ गतेदेखि सुरू भएको महासमिति बैठक आज समापन गर्ने तयारी छ। उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्‍वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत लगायतले पेश गरेका प्रस्तावमाथि चार समूहमा छलफल भएको थियो । महासमितिमा प्रदेश सभापतिहरूले छलफल गरेपछि समापन कार्यक्रम सुरू हुनेछ।