आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो: नेता केसी

विराटनगर, भदौ ३० । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आचारसंहितालाई पालना गर्नु दललगायत सबैको कर्तव्य भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले राज्यका सम्पूर्ण संयन्त्रले निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने र निर्वाचन आयोगलाई पनि पारदर्शिताका साथ कार्य गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।

संविधानलाई कार्यान्वयन गर्नुपर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य केसीले हिमाल, पहाड र तराईलाई संयोजन गरी सबैलाई राष्ट्रको मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संविधान गतिशील दस्तावेज रहेकाले समयानुकूल संविधानको संशोधन भइरहने स्पष्ट पार्दै उहाँले नेपाली काँग्रेस मधेशको आधुनिकीकरण र विकासका लागि निरन्तररुपमा संघर्ष गर्दै आइरहेको जानकारी गराउनुभयो ।

सरकारको सय दिन पूरा भएको सन्दर्भमा उहाँले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको, तेस्रो चरणको निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराएको भन्दै समष्टिगतरुपमा सय दिनको कार्यकाललाई सफल ठान्नुपर्छ ।

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले संविधानलाई कार्यान्वयन गर्नुपर्ने र सबैलाई समेटेर लैजानुपर्ने भएकाले बाध्यात्मक परिस्थितिमा सरकार विस्तार भएको स्पष्ट पार्नुभयो ।

उक्त कार्यक्रम नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाललार्इ अमेरिकाकाे ५१ अर्ब सहयोग प्राप्त

काठमाडौं, भदौ ३० ।  नेपालमा आर्थिक वृद्धिलाई गति दिन र गरिबी निवारण गर्न अमेरिकी सरकारले करिब साढे ५१ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) अनुदान दिने भएको छ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र नेपाल सरकारको संयुक्त लगानीमा सञ्चालन हुने नेपाल कम्प्याक्ट कार्यक्रमका लागि सो सहयोग खर्च हुने छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका प्रमुख कार्यकारी अधिकृत जोनाथन नासबीच विहीवार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘५० करोड अमेरिकी डलर लागतको यस कम्प्याक्ट कार्यक्रममा नेपाल सरकारले समेत १३ करोड डलर योगदान गर्ने प्रतिबद्धता गरेको छ । आउँदा वर्षहरूमा यस कार्यक्रमले नेपालको दिगो विकासमा दीर्घकालीन प्रभाव पार्नेछ,सम्झौतापछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने। अमेरिकी सहयोग र नेपाल सरकारको कुल ६३ करोड अमेरिकी डलर (६४ अर्ब ८४ करोड रुपैयाँ) लगानीमा नेपाल कम्प्याक्ट कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा अमेरिकाले करिब साढे ५१ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) र नेपाल सरकारले १३ अर्ब ३५ करोड (१३ करोड अमेरिकी डलर) लगानी गर्नेछन् । सो कार्यक्रमलाई १ भदौमा एमसिसीको सञ्चालक समितिले स्वीकृत गरेको थियो । एमसीसी सञ्चालक समितिको अध्यक्ष अमेरिकी विदेशमन्त्री र उपाध्यक्ष अर्थमन्त्री रहन्छन् । कम्प्याक्ट कार्यक्रम एमसिसीको दक्षिण एसियामै पहिलो कम्प्याक्ट हो । कार्यक्रमअन्तर्गत प्रसारण लाइन निर्माण तथा सडक मर्मत परियोजनाहरू सञ्चालन गरिने अमेरिकास्थित नेपाली दूतावासका इकोनोमिक काउन्सेलर कैलाशराज पोखरलले बताए । कम्प्याक्ट कार्यक्रमअन्तर्गत उच्च भोल्टेज विद्युत् प्रसारण लाइन विस्तार र सबलीकरण गर्दै नेपालको विद्युत् क्षेत्रलाई सुधार गरिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताए । परियोजनाअन्तर्गत ५ वर्षमा करिब ३०० किलोमिटर लामो उच्च भोल्टेज प्रसारण लाइन निर्माण गरिनेछ । भारतसँग विद्युत् व्यापार वृद्धि गर्नका लागि दोस्रो सीमापार प्रसारण लाइन थप गरिनेछ । त्यस्तै, ३०० किलोमिटरसम्मको सडक मर्मतसम्भार गरिने पनि नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ । डिसेम्बर २०१४ मा एमसिसीको सञ्चालक समितिले नेपाललाई कम्प्याक्ट कार्यक्रमका लागि योग्य देशका रूपमा छनोट गरेको थियो । विधिको शासन र लोकतान्त्रिक निकायको स्थापना गर्ने दिशामा मुलुकले गरेका प्रयत्न र एमसिसीको नीतिगत स्कोरबोर्डमा नेपालको सशक्त कार्यक्षमता प्रदर्शनको कदर स्वरूप बृहत् आकारको लगानीका लागि योग्य ठहराइएको बताइएको छ । तीन सय किमि प्रसारण लाइन निर्माण गरिने कम्प्याक्ट कार्यक्रमअन्तर्गत उच्च भोल्टेज विद्युत् प्रसारण लाइन विस्तार गरिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताए । परियोजनाअन्तर्गत ५ वर्षमा करिब ३०० किलोमिटर लामो उच्च भोल्टेज प्रसारण लाइन निर्माण गरिने उनले बताए । भारतसँग विद्युत् व्यापार वृद्धि गर्नका लागि दोस्रो सीमापार प्रसारण लाइन थप गरिनेछ । त्यस्तै, ३०० किलोमिटरसम्मको सडक मर्मतसम्भार गरिने पनि नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न क्षेत्रगत शासन सुधारका क्रियाकलाप पनि सञ्चालन गरिनेछन् । तर्जुमा गरिएका सडक मर्मतसम्भारसम्बन्धी परियोजनासमेत सञ्चालन हुनेछ ।

भित्रिन थाल्यो प्रतिबन्धित भारतीय नाेट

काठमाडौं, भदौ ३० । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए । ‘प्रतिबन्धपछि भारतबाट नेपालमा यस्ता नोट आउने क्रम बढेको छ’, उनले भने, ‘नेपालमा साटिन्छ भन्ने सोचले यस्ता नोट आएका छन् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २३ कात्तिकमा गैरकानुनी कारोबार रोक्न भारतीय मुद्रा पाँच सय र एक हजारको नोटमाथि प्रतिबन्धको घोषणा गरेका थिए । त्यस क्रममा ५० दिनसम्म सर्वसाधारणसँग भएको नोट बैंकमा जम्मा गर्ने सुविधा दिइएको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलमार्फत नेपालमा रहेका भारु पाँच सय र एक हजार दरका नोट साट्ने पहल गरेको थियो । पटक-पटक भारतीय रिजर्भ बैंकमार्फत प्रतिबन्धित नोट साट्न पहल गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन ।बैंकिङ च्यानलमार्फत पैसा जम्मा गर्दा वैध आर्जनको बाटो खोजिने भएकाले कतिपय भारतीय व्यापारीले यस्तो पैसा आपूmसँग राख्दै आएका छन् । ८ जेठ ०७४ मा भारत हरियाणा प्रदेश रोहतक डिस्ट्रिक्ट, थाना पोस्ट अफिस रोहतक ८१३ वडा २, इन्द्रा कोलोनी घर भएका अनिलकुमार सोनी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । उनीको साथबाट प्रहरीले ५० लाख ५० हजार रुपैयाँको प्रतिबन्धित नोट बरामद गरेको थियो । अनुसन्धानका क्रममा सोनीले उक्त रकम दिल्लीको चाँदनी चोकका होलसेल व्यापारी रामकुमार अग्रवालले पठाएको बताए । डेराबाट पक्राउ परेका उनी ४ जेठमा नेपाल एयरलाइन्सको उडानमार्फत दिल्लीबाट काठमाडौं आएका थिए । उनले आफू काठमाडौंमा पुराना टायर मर्मतको काम गर्दै आएको बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ०७४ वैशाखपछि प्रतिबन्धित नोटसँग सम्बन्धित पाँच घटना विभागको जिम्मा लगाएको छ । पाँच घटनामा तीन करोड ३९ लाख प्रतिबन्धित नोट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पठाएको विवरणका आधारमा थप अनुसन्धान गरेर विभागले मुद्दा दर्ता गर्दै आएको छ । दुई करोड १६ लाख प्रतिबन्धित भारुसहित पक्राउ परेका अंकुर अग्रवाल र दिनेश अग्रवालले काठमाडौंंमा सटही हुने सुनेकाले भारतबाट विमल मेहतासँग मागेर ल्याएको बयान दिएका छन् । नेपाली र भारतीयसहित १४ जनाको समूह मिलेर भारतबाट ल्याएको नोट गैरीघाटस्थित कमला भण्डारीको डेराबाट बरामद भएको थियो । १५ असार ०७४ मा प्रहरीले सुरक्षा जाँच गर्दा बुद्धनगरबाट पाँच लाख भारुसहित गणेश घिमिरे र तीर्थ पोखरेल पक्राउ परेका थिए । नेपालमा कस्मेटिक सामान आयात गर्दै आएका उनीहरूले भारतमा सस्तो मूल्यमा पाएका कारण भारु ल्याएको बताएका थिए । नेपालमा साट्न सकिन्छ भन्ने सोचका साथ उनीहरूले भारु ल्याएका थिए । विभागका सूचना अधिकारी थपलिया अहिले पनि नेपालमा साटिन्छ भन्दै प्रतिबन्धित भारु ल्याउने क्रम जारी रहेको बताउँछन् । -अन्नपूर्णबाट

चालकको लापरबाहीले नारायणगढ–मुग्लिन सडकखण्डमा बढी सवारी जाम

नारायण अधिकारी चितवन, भदौ २९ । नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएरभन्दा पनि चालकको लापरबाहीले गर्दा धेरै समय जाम हुने गरेको छ। बीच बाटोमा गाडी रोकिँदा यात्रुले लाममा बसेर यात्रा गर्न बाध्य हुनु परेको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाले राम्रो नबनाए र प्रहरीले जाम नहटाए यो सडकखण्ड सहज बन्न नसक्ने देखिन्छ। चालकले सावधानी अपनाउन नसक्दा र नियमको पालना नगर्दा बढी मात्रामा जाम हुने गरेको हो। पहिरो र सडकका खाल्टाखुल्टीका कारणभन्दा धेरै गुणा चालकको लापरबाहीका कारण यो सडकमा सवारी चाप बढ्ने गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त चालकले बेवास्ता गरिदिँदा सवारी जाम बढ्ने गरेको बताउँछन् । चालकले जहाँ पायो त्यहीँ उछिन्ने, दुई सवारी बीचको दूरी थोरै राख्ने, गाडी रोकेर धुने, खाना खाने, आराम गर्ने, रातको समयमा सुत्ने, सडक नजिक घर भएका चालकले सडककै छेउमा गाडी राखेर घर जानेजस्ता कारणले आवागमनमा निकै ठूलो समस्या पर्ने गरेको उनले बताए। यो सडकखण्डमा १८ वटा पुल रहेका छन् जसको चौडाइ छ मिटर मात्र छ। पुलको दुवै मुखमा ठूला सवारी रोकिँदा दुवैतर्फ सवारी जाम हुने गर्छ। चालकले यसतर्फ कम ध्यान दिँदा पनि सवारी आवागमनमा समस्या आउने गरेको पन्तको भनाइ छ। यो सडक छिर्नुअघि चालकले सवारीको स्वरुप र यान्त्रिक स्थितिका बारेमा ध्यान नदिँदा पनि सडकको बीचमा सवारी बिग्रने र समस्या बन्ने गरेको छ। पन्तले भने,‘यो सडकमा दैनिक १० भन्दा बढी सवारी साधन बिग्रने गर्छन् र त्यस्ता सवारीलाई पन्छाउन लाग्ने समयभर यातायात एकतर्फी मात्र सञ्चालनमा आउँछ। कतिपय ठाउँमा दुईतर्फी सडक नै अवरुद्ध हुने गर्छ ।’ सडक एकतर्फी सञ्चालन भइरहँदा लाममा बसेका सवारीमध्ये कतिपयले उछिनेर अघि जाने र ती सवारी हटाउन नसक्दा दुईतर्फी नै सवारी आवागमन रोकिने पन्तको भनाइ छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापा सडक राम्रो भएर प्रहरीसमेत परिचालन हुँदा पनि चालकले लापरबाही गरिदिँदा यो सडकमा समस्या आउने गरेको बताउँछन्। जथाभावी उछिनी सवारी आवागमनलाई भद्रगोल बनाइँदा पनि समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ। ‘लाइफलाइन’ सडकका रुपमा रहेको यो सडक हुँदै दशैँ तिहारको समयमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आउजाउ हुन्छ जसमध्ये ७५ प्रतिशत यात्रुबाहक रहने गर्छन्। त्यसमा २५ प्रतिशत ढुवानीका साधन हुने गर्छन् । यिनीहरुले तराई र भारतबाट दैनिक उपभोग्य सामान ओसार्ने गर्छन्। राजधानी काठमाडौंका जनतालाई पाल्ने र त्यहाँ जाने आउने जनता आवतजावत गर्ने मुख्य मार्ग भएकाले यो सडकलाई सरकारले लाइफलाइन सडकका रुपमा प्राथमिकतामा राखेको छ। नारायणगढबाट ३६ किलोमिटर लामो यो सडकको सात किलोमिटर क्षेत्र मात्र कालोपत्रे भएको छ भने अन्य क्षेत्रका सडकमा खाल्टाखुल्टी रहेका छन्। हाल यो सडकका चार ठाउँमा बेसक्याम्प निर्माण गरी तत्काल उद्धार र पुनः मर्मतमा खटिने टोली तयारी अवस्थामा राखिएको छ। ठूला उपकरणसहित प्रहरीको नेतृत्वमा मुग्लिनमा, मुग्लिनबाट तीन किलोमिटर पर कालीखोला, मुग्लिनबाटै नौ किलोमिटर पर नारायणगढतर्फ र १२ किलोमिटर सेतीदोभानमा क्याम्प निर्माण गरी सवारी आवागमन सहजीकरण गर्ने काम भइरहेको प्रहरी उपरीक्षक थापाले बताए। नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार ठेकेदारले आ–आफ्नो क्षेत्रमा खाल्टाखुल्टी पुर्ने, धुलो उडेका ठाउँमा पानी छर्कने, पहिरो खसेका ठाउँमा पहिरो पन्छाउने, सम्भव भएका ठाउँमा कालोपत्र गर्ने काम गरिरहेका छन्। यो सडकको हालसम्म ५५ प्रतिशत काममात्र सम्पन्न भएको भए पनि प्रदेश नं २ को निर्वाचन, दशैँ, तिहार र छठलाई ध्यानमा राखेर यातायात सहज बनाउने काममात्र भइरहेको छ। रासस

‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’

बर्दिया, भदौ २९ । बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो । सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल र सवारी चालक देवेन्द्र शाही थिए । दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ । जगत रिजालले एक्कासि बाघ लस्केको देख्नुभयो । ‘टाइगर, टाइगर’, रिजालले संकेत गर्दै गाडी रोक्न भन्नुभयो । घना झाडीमा विश्वकै दुर्लभ मानिएको भाले पाटेबाघ आराम गरेर बसिरहेको थियो । बाघ आफ्नै सुरमा थियो । उसलाई नबिथोलेसम्म मान्छेलाई आक्रमण गर्दैन भन्ने सबैलाई थाहा थियो । सबै जनाले बाघको तस्वीर कैद गरे । “दुई घण्टाको अन्तरालमै बाघ भेटिनु ठूलो उपलब्धि हो,” वन्यजन्तुको फोटो खिच्दै आउनुभएका ‘आई क्लिक फर कन्जरभेसन’का संस्थापक सागर गिरीले भन्नुभयो, “बर्दिया बाघ अवलोकनका लागि उत्कृष्ट गन्तव्य हो ।” सन् २०१३ को बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु पाटेबाघ ५० वटा भेटिएको थियो । गत साल मात्रै गरिएको आन्तरिक गणनामा बाघको सङ्ख्या बढेर ६२ पुगेको बताउनुहुन्छ, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा । निकुञ्जस्थित गेरुवा नदी तटीय क्षेत्रमा बाघका लागि व्यवस्थित बासस्थान छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत थापा भन्नुहुन्छ, “गेरुवा तटीय क्षेत्रमा पानी, आहारा र बासस्थानको सम्मिश्रण छ । त्यसैले यहाँ बाघ सधैँ हुन्छ ।” बाघले उक्त तटीय क्षेत्रमा आफ्नो टेरिटोरी ९क्षेत्र० बनाएर मिलेर बसेको थापाको बताउनुहुन्छ । बर्दिया निकुञ्जको ९६८ वर्ग किलोमिटर क्षेत्र मध्य बबई उपत्यका, तीनकुने, लालमाटे, धनेशताल, बाल्कुने, भेल्लर ट्री, किङफिसरलगायत क्षेत्रमा बाघ पाइन्छ । यी मध्ये अधिकांश समय तीनकुने र बाल्कुनेमा बाघ देखिने संरक्षणकर्मी जगत रिजाल बताउनुहुन्छ । हुन त नेपालमै सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा छ । नेपालमा १९८ बाघ पाइएकामा १२० बाघ चितवन निकुञ्जमा छ । बर्दियामा ५०, बाँकेमा चार, पर्सामा सात र शुक्लाफाँटामा १७ वटा बाघ रहेको राष्ट्रिय तथ्याङ्क छ । पाटेबाघ विश्वमा दुई हजार ५०० को हाराहारीमा रहेको तथ्याङ्क छ । नेपाल, भारत, भुटान र बंगलादेशमा यो बाघ पाइन्छ । नेपालमा आगामी मंसिर, पुसबाट राष्ट्रिय रुपमा बाघको गणना हुन लागेकाले बाघ अझै बढ्ने अनुमान गरिएको छ । तर चितवनमा भन्दा बर्दियामा बाघ सहज रुपमा अवलोकन गर्न सकिन्छ । मुख्यगरी चितवनमा हात्तीलाई समेत ढाक्ने घाँस छ । त्यसमा बाघ सजिलै लुक्ने भएकाले मुस्किलले देखिन्छ । “बर्दियामा पानीको मुहान र उसको क्षेत्र निश्चित छ, त्यही क्षेत्रमै ऊ धुमिरहने हुँदा केही घण्टा कु¥यो भने भेटिन्छ,” आई क्लिक फर कन्जरभेसनका सागर गिरी भन्नुहुन्छ, “चितवनमा घना जंगल छ, बासस्थान धेरै छन्, जसले गर्दा बाघ देख्न मुस्किल पर्छ ।” जहाँ बाघ छ, त्यहाँको पर्यावरण स्वस्थ हुन्छ, अरू धेरै वन्यजन्तुको पनि बासस्थान राम्रो हुन्छ । जीवजन्तुको उच्च स्थानमा हुन्छ बाघ । कसैकसैले जंगलको राजा भनेर भन्ने गर्छन् । बाघ पारिस्थितिक प्रणालीको उच्च प्रजाति भएको उल्लेख गर्नुभयो बर्दिया निकुञ्जका प्रमुख रमेश थापा । बाघको सङ्ख्या बढाउन उसको बासस्थानसँगै आहारा प्रजातिसमेत जोगाउन कार्यक्रम केन्द्रित गरेको थापा बताउनुहुन्छ । बर्दियामा हरेक वर्ष बाघ र आहारा प्रजातिको अध्ययन अनुसन्धान गर्ने गरेको र समुदायसँग मिलेर संरक्षणका काम गर्ने गरिएको छ । यस वर्ष ‘स्वस्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित बाघ दिवससमेत मनाइएको छ । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ । सन् २००९ मा १२१ रहेको बाघ सन् २०१३ को गणनामा १९८ पुगेको छ । अब लक्ष्य पूरा गर्न नेपालमा २४२ बाघ बनाउनुपर्ने चुनौती छ । अहिलेकै अवस्था रहने हो भने सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पार्ने लक्ष्य पूरा हुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । बाघ कम भए पनि राम्रो बासस्थान र घनत्व निश्चित ठाउँमा भएकाले बर्दियामा देख्न सहज हुने अर्याल बताउनुहुन्छ । बाघ जोगाउने अभियानमा मुख्य समस्या चोरी तस्करी हो । त्यसपछि वन विनाश, मिचाहा प्रजातिका झार, अतिक्रमण, भौतिक पूर्वाधार, जैविक मार्गका सडकलगायत समस्या छन् । मानव वन्यजन्तु द्वन्द्व र बासस्थान खण्डीकरणले पनि बाघ संरक्षणमा चुनौती थपिरहेको छ । मुख्यगरी बासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षणसँगै तस्कर नियन्त्रण, घाँसेमैदान र पानीपोखरी व्यवस्थापन जरुरी हुन्छ । हालै चितवनमा एउटा विज्ञ समूहले गरेको अध्ययनमा पाँच प्रतिशत बाघले मानवीय जोखिम बढाएको देखाएको छ । यसलाई हेर्दा पनि मानिसलाई कुनै कारण बिना बाघले आक्रमण गरिहाल्दैन । आफ्नो क्षेत्र निर्धारण गर्न नसकेका बाघले अन्यत्र जान खोज्दा मान्छे भेटेमा मात्रै आक्रमण गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख तथा बाघ विज्ञ डा चिरञ्जीवी पोखरेल बताउनुहुन्छ । बाघको आनिबानीबारे डा पोखरेलले भन्नुभयो, “मान्छेले नै उसको क्षेत्र बिगारेकाले समस्या आएको हो । अब हामीले नै ऊ हिँड्ने बाटोलाई सहज पारिदिनुपर्छ ।” सिमसार घाँसेमैदान व्यवस्थापन र स्थानीयवासीसँगको समन्वय तथा समुदायमा आधारित युवा परिचालन अभियान बर्दियामा नमूना रहेकाले पनि बाघको संरक्षण राम्रो रहेको वन मन्त्रालयका वातावरण शाखा प्रमुख डा महेश्वर ढकाल बताउनुहुन्छ । कर्णाली नदीको पानी ढलोसँगै घाँसेमदान र आहारा बढी प्रजाति पाइने भएकाले पछिल्लो समयमा तुलनात्मक रुपमा अन्तभन्दा बर्दियामा बाघ सहज देखिने ढकाल बताउनुहुन्छ ।

पर्यटक लोभ्याउने तिम्बुङ पोखरी प्रचार–प्रसारको पर्खाइमा

ताप्लेजुङ, भदौ २९ । साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर त कसैले प्लास्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् । झ्वाट्ट सुन्दा बर्खे झरीमा दुई-तीन दिन सम्मको पैदल यात्रापछि पुगिने तिम्बुङ पोखरी सम्मको यात्रा धेरै कठिन झैँ लाग्छ । तर एक पटक पुगेपछि फेरि जाउँ जाउँ लाग्ने, पुगेर उतै रहुँजस्तो लाग्ने धार्मिक, जैविक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण तिम्बुङ पोखरीमा वर्षेनी साउनदेखि असोज महिनासम्म आन्तरिक पर्यटकको लर्को लाग्ने गर्छ । मुलुकका थुप्रै सिमसारमध्ये तिम्बुङ पोखरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाअन्तर्गत साबिकको कालीखोला गाविसमा पर्ने धार्मिक एवं सास्कृतिक महत्व बोकेको क्षेत्र हो । उक्त पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै गरी आवाज आउने गरेको बताइन्छ । समाजसेवी गजेन्द्रप्रसाद तुम्याहाङले लिम्बू भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको बताउनुभयो । उहाँका अनुसार ते भनेको बन्दुक र बुङ भनेको पड्किएको आवाज भन्ने बुझिन्छ । केहीले भने लिम्बू भाषामा तिम्बु भनेको टिलपिल भरिएको भन्ने अर्थ रहेकाले तिम्बुङ पोखरी नामाकरण भएको पनि बताउने गरेका छन् । वर्षौं पहिले अङ्ग्रेजले भारतमा शासन गर्दा पोखरीमा बहुमूल्य धातु हुन सक्ने भन्दै तल्लो भागबाट कुलेसो बनाएर पानी फाल्दा त्यहीँ मृत्यु भएको जनश्रुति पनि छ । उक्त पोखरीमा टिलपिल भएर पानी भरिएको वर्ष अन्नपात उत्पादनमा वृद्धि हुने स्थानीयवासीको विश्वास रहेको पाइन्छ । अर्कातिर पोखरीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने र भए÷गरेका पापबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ । चार हजार ४८१ मिटरको उचाइमा रहेको पोखरी ४६६ मिटर उत्तर–दक्षिण लम्बाइ र १४५ मिटर पूर्व–पश्चिम चौडाइ रहेको जानकार बताउँछन् । पहाडको टाकुरामा रहेको यो पोखरीलाई जति हेरे पनि हेरिरहुँ लाग्ने गरेको सिरिजङ्घा निवासी मोहन भट्टराईले बताउनुहुन्छ । मनसुनी समयमा प्राकृतिक सौन्दर्यमा रमाउन चाहने धेरै मानिस वर्षेनी यो पोखरीमा पुगेर फर्किन्छन् । वर्षेनी नागपञ्चमी र जनै पूर्णिमाको दिन भने निकै भीड लाग्ने गरेको छ । हिमाली क्षेत्रको चट्टाने डाँडाकाँडा पार गर्दै गइसकेपछि ठाउँ ठाउँमा ढकमक्क फुलेका हिमाली फूलले मन नै फुरुङ्ग भएर आउँछ । हिमाली क्षेत्रमा पाइने विभिन्न प्रकारका फूलले अनकन्टार डाँडाकाँडाको स्वरुप नै बदलिएको पाइन्छ भने चट्टानको थुप्रोभित्र छङ्छङ् आवाजमा बग्ने स–साना खोल्सीको आवाजले छुट्टै आनन्द प्रदान गर्छ । विश्व संरक्षित सूचीमा रहेको रेड पाण्डा, बहुमूल्य जडीबुटी क्याञ्जो, पाँचऔँले, विखमा, पदमचाल, चिराइते, यार्सागुम्बा, कुड्की, बुढो ओखती लगायतका जडीबुटी पनि यही क्षेत्रमा पाइन्छ । फाट्टफुट्ट रहेका गोठमा पाइने न्यानो आतिथ्य, चौँरीको दूध र गोठालासँग गोठमै बास बस्नुको मज्जा बिर्सन सकिँदैन । ठूलो समूहमा बास बस्दा आफैँ खाना पकाएर खानुपर्छ, नत्र एक÷दुईजना गए गोठाला आफैँले पनि खाना पकाइदिन्छन् । यो पोखरीमा पुग्नलाई पाँचथर वा ताप्लेजुङका दुईवटा फरक रुट रहेका छन् । जताबाट गए पनि दुईदेखि तीन दिनसम्मको पैदल यात्रा गर्नुपर्छ । पाँचथरको फलैँचा हुँदै र ताप्लेजुङको सिरिजङ्घास्थित खेवाङ हुँदै त्यसतर्फ जान सकिन्छ । यो पोखरीको आसपासमा अरू पनि स–साना थुप्रै पोखरी रहेका छन् । हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयूर पोखरी, नीर पोखरी लगायतका दर्जनौँ पोखरी रहेका छन् । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जेलिङ लगायतका ठाउँसमेत देख्न सकिन्छ । प्रचार–प्रसारको खाँचो तिम्बुङ पोखरी पर्यटकीय दृष्टिकोणले प्रशस्त सम्भावना बोकेको क्षेत्र भए पनि यसको संरक्षण र प्रचार–प्रसारको भने खाँचो रहेको छ । धार्मिक क्षेत्रका रुपमा समेत आफ्नो पहिचान बनाएको यो पोखरीको संरक्षण र प्रचार–प्रसार गर्न सके आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई समेत भित्र्याउन सकिने स्थानीयवासीको भनाइ छ । सिरिजङ्घा–७ खेवाङका उमापति दाहालले यस क्षेत्रका बारेमा कमैलाई मात्र जानकारी भएको भन्दै सबैले मिलेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । भारतको सीमा क्षेत्रमा रहेको तिम्बुङ पोखरी जैविक विविधताले भरिपूर्ण रहे पनि यसको संरक्षणमा हालसम्म कसैले चासो नदिएकामा स्थानीयवासीले गुनासो गरेका छन् । बहुमूल्य जडीबुटी, लोपोन्मुख वन्यजन्तु पाइने क्षेत्र भएकाले पनि राज्यले विशेष ध्यान दिन आवश्यक भएकामा स्थानीयवासीको जोड छ ।

नहरमा डुबेर बालक बेपत्ता

मोरङ, भदौ २९ । मोरङको बूढीगंगा गाउँपालिका–६ घेराबारी टोलमा बुधबार साँझदेखि नहरमा डुबेर एक बालक बेपत्ता भएका छन् । सोही ठाउँका देउमान लिम्बूका पाँचवर्षीय छोरा आर्यन लिम्बू खेल्ने क्रममा साँझ घेराबारी टोलस्थित चतरा मूलनहरमा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता बालकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । लागुऔषधसहित युवक पक्राउ यसैबीच, मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले गएराति लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान–१६ बस्ने २० वर्षीय सोरेन विश्वकर्मा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले राति ९ बजे पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट शरीरको विभिन्न भागमा लुकाएर ल्याएको लुपिजेसिक ८ एम्पुल, डाइजेल्याप ८ एम्पुल, एभिल ८ एम्पुल गरी जम्मा २४ एम्पुल बरामद गरेको छ । पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय निमुवामा राखेर थप अनुसन्धान भइरहेको छ ।

सगरमाथा आरोहीका लागि अनलाइन चिकित्सक सेवा सुरु

सोलुखुम्बु, भदौ २९ । तपार्इं सगरमाथा क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ र उच्च हिमाली क्षेत्रमा जाँदा स्वास्थ्य समस्या आउँछ कि भनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब तपाईंको चिन्तालाई अनलाइनमा रहेका चिकित्सकले समाधानको बाटो देखाउने भएका छन् । सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा प्रदान गरिरहेको एभरेस्ट लिङ्क नामक कम्पनीले लुक्लाबाट माथि लागेपछि सगरमाथा आधार शिविरसम्मकै बाटोमा वाइफाइ सेवा सञ्चालन गरी त्यसमा अनलाइन चिकित्सकको समेत व्यवस्था गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत छिरिङ ग्याल्जेन शेर्पाका अनुसार पर्यटकीय मौसमका बेला राजधानीका दुई र खुम्बुको एक गरी तीनवटा अस्पतालसँगको सहकार्यमा यस्तो सेवा निः शुल्क रुपमा शुरु गरिएको हो । तीन वर्षअघि बाट सगरमाथाको आधार शिविरसम्म नै तीव्र गतिको र भरपर्दो इन्टरनेट शुरु गरेको एभरेस्ट लिङ्कको राउटरसँग जोडिने बित्तिकै लग इन पेजमा इमरजेन्सी कलको संकेत आउने र त्यसमा कल गर्दा अस्पतालका चिकित्सकको मोबाइलमा भिडियो कल पुग्ने कार्यकारी अधिकृत शेर्पाले बताउनुभयो । चिकित्सकको मोबाइलमा भिडियो कल पुगेपछि चिकित्सकसँग आफूलाई भएको स्वास्थ्य समस्याका बारेमा भन्ने र चिकित्सकले सल्लाह सुझाव दिने व्यवस्था गरिएको छ । उच्च हिमाली क्षेत्रमा लेक लागेका कारण यात्रुको स्वास्थ्यमा विभिन्न समस्या देखापर्न सक्छन् । यस्तो अवस्थामा के गर्ने र के नगर्ने भन्ने सुझाव पाएमा मात्र पनि धेरैको ज्यान जोगाउन सहज हुने पर्यटक गाइड भूपाल मगरले बताउनुभयो । वर्षमा औसत ३५ हजार विदेशी र स्वदेशी समेत गरी एक लाखको हाराहारीमा पर्यटक पुग्ने सगरमाथा क्षेत्रमा चार हजार मिटरभन्दा बढी उचाइमा पुगेपछि धेरैलाई स्वास्थ्यमा समस्या देखिने गर्छ । यस्तो अवस्थामा त्यहाँका स्थानीय, धेरैपटक गएका भुक्तभोगी आदिको अनुभवका आधारमा उपचार तथा व्यवहार गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा अनलाई चिकित्सकबाट निःशुल्क सेवा पाउँदा धेरैको ज्यानको जोखिम घट्ने स्याङ्बोचेमा व्यवसाय गर्ने डिल्ली मगरले बताउनुभयो । यदि बिरामी अति जोखिममा परेको छ भने हिमालयन उद्धार सङ्घसँग सहकार्य गरी तत्काल उद्धारको व्यवस्थासमेत एभरेस्ट लिङ्क कम्पनीले नै गर्नेछ । इन्टरनेट व्यवसायसँगै सामाजिक उत्तरदायित्व पूरा गर्नका लागि सगरमाथा क्षेत्रमा अनलाइन चिकित्सकको व्यवस्था गरिएको कम्पनीको भनाइ छ । कम्पनीले सगरमाथा क्षेत्रका २१५ होटल, लज तथा अन्य व्यवसायमा सेवा दिइरहेको छ । डाटा खरिदको व्यवस्था रहेको सो इन्टरनेट विदेशीले प्रति १०० एमबी कार्डको रु २०० तिर्नुपर्छ भने स्वदेशीलाई ५० प्रतिशत छुटको व्यवस्था छ । सो क्षेत्रमा नेपाल टेलिकम तथा एनसेलको सेवा भरपर्दो नभएकाले एभरेस्ट लिङ्ककै प्रयोग बढी हुन्छ । कम्पनीले अहिले सोलुखुम्बुको अति विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा पनि सेवा विस्तार गरिरहेको छ ।

बीस प्रजातिका जडीबुटी निर्यात

बागलुङ, भदौ २९ । जिल्लाबाट आर्थिक वर्ष २०७३-७४ मा बीस प्रजातिका जडीबुटीको कारोबार भएको छ । साधारण च्याउ, सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिसलगायत जडीबुटीको कारोबार भएको हो । पच्चीस हजार ४९० किलो जडीबुटीबाट रु दुई लाख ७५ हजार राजश्व संकलन भएको छ । सबैभन्दा बढी ६७ हजार ३९० किलो सल्लाको खोटोको कारोबार भएको सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिनुभयो । सातवटा सामुदायिक वनमा भएको खोटो संकलनबाट उपभोक्ता समूहले रु आठ लाख ९० हजार आम्दानी गरेका छन् । खोटो संकलन र त्यसको कारोबारबाट रु एक लाख २७ हजार राजश्व संकलन भएको विकले बताउनुभयो । यस्तै जिल्ला समन्वय समिति करबापत रु ३६ हजार प्राप्त भएको छ । जिविसले खोटोमा प्रतिकिलो ५० पैसाका दरले कर लगाउने गरेको छ । खोटोको कारोबारको लागि रुपन्देहीको माउन्ट रोजिन, कपिलवस्तुको कपिलवस्तु रोजिन र सुनसरीको हिमाली रोजिन एण्ड टर्पेण्टाइन कम्पनीसँग सम्झौता गरिएको छ । ती कम्पनीले आव २०६७÷६८ देखि जिल्लामा खोटो संकलन गर्दै आएका छन् । जिल्लामा ९० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदावर सूचीकृत छन् । “संकलन र प्रशोधन अभावमा बहुमूल्य जडीबुटी त्यसै खेर गइरहेका छन्,,” विकले भन्नुभयो– “यहाँको जंगलमा जडीबुटी प्रशस्त छ, अनुसन्धान, पहिचान र संकलन हुन सकेको छैन ।” उपयुक्त सीप, उपकरण र प्रशोधन केन्द्रको अभावमा जडीबुटीको बजारीकरण हुन सकेको छैन । आव २०७२÷७३ मा बाह्र प्रजातिका ११ हजार ८७९ किलो जडीबुटीको कारोबार हुँदा रु एक लाख २८ हजार राजश्व संकलन भएको थियो । इजाजत पत्र लिएपछि वन कार्यालयले संकलनका लागि एक महिनाको अवधि दिने गरेको छ । जडीबुटी खेती कार्यक्रमअन्तर्गत वन कार्यालयले टिमुर, सुगन्धवाल, अमृसो, लौठसल्ला रोपण गर्दै आएको छ ।

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

राजविराज, भदौ २९ । राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ । साथै, सोही दुर्घटनामा परी १४ वर्षीय नीरज यादव र १९ वर्षीय सञ्जीव यादव समेत गम्भीर घाइते भएका छन् । राजविराजबाट भारदहतर्फ गइरहेको बिआर ८८०५ नम्बरको भारतीय मालबाहक ट्रकले र विपरीत दिशाबाट आउँदै गरेको को ६ प ३५०२ नम्बरको यादव सवार मोटरसाइकललाई ठक्क्र दिएको थियो । घाइतेको उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र ठक्कर दिने मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मिठाई पसलमा आगलागी यसैबीच, सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा एउटा मिठाई पसलमा बुधबार आगलागी हुँदा रु तीन लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय गंगाराम साहको मिठाई पसलमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा रु तीनलाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । त्यस्तै, सोही ठाउँमा रहेका छिमेकी रामनाथ साहको मिठाई पसलमा समेत आगलागीबाट क्षति भएको पीडितले जनाएका छन् । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

फेसन डिजाइनरबीच प्रतिश्पर्धा गराइँदैं

काठमाडौं, भदौ २९ । नेपाली फेसन डिजाइनरहरुबीच शुक्रबार राजधानीमा उत्कृष्ट कलाका लागि प्रतिश्पर्धा हुने भएको छ । अन्नपूर्ण होटलमा हुने प्रतियोगितामा विभिन्न डिजाइनरका सिर्जना प्रस्तुत गरिनेछ । फेसन डिजाइनरबीच प्रतिश्पर्धा गराउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रम ‘भोयज अफ क्रिएसन’को तेस्रो संस्करण अन्तर्गत शुक्रबार ३१ डिजाइनरले प्रतिश्पर्धा गर्ने भएका छन् । रोजिन शाक्यको कोरियाग्राफी रहने प्रतियोगिता पुरस्कारका लागिमात्र सीमित नरही फेसन डिजाइनको गुणस्तर, सिर्जनात्मक क्षमता तथा व्यावसायिकता अभिवृद्धिका लागिसमेत कोसेढुंगा हुने आयोजकको दावी छ । प्रतियोगितामा उत्कृष्ट हुने डिजाइनरलाई ‘डिजाइनर अफ दि इयर’ घोषणा गरिने छ ।

आईएमईका सेवाग्राही पर्ब बहादुरले पाए ६ लाखको जीवन बीमा

काठमाडौं, भदौ २९ ।  यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्ब बहादुर राईले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउनु हुने राई भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता राईले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ । यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ९०० सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भैसकेका छन् । मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छ । आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

राष्ट्रिय बाल दिबशको पूर्वसन्ध्यामा दिप प्रज्वलन

काठमाडौं, भदौ २९ । राष्ट्रिय बाल दिबश २०७४को पूर्वसन्ध्यामा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले दिप प्रज्वलन गरेको छ। काठमाडौंको सिनामंगल स्थित पार्कमा रहेको वाल स्तम्भमा बुधवार वेलुकी दीप प्रज्वलन गरिएको हो। नेपालमा एक दशकसम्म भएको द्धन्द्धको समयमा र अन्य बिबिध कारणले ज्यान गुमाउन पुगेका बालबालिकाहरुको सम्झनामा गरिएको हाे । दीप प्रज्वलन कार्यक्रममा बोल्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले बिभिन्न समयमा ज्यान गुमाउन बाध्य बालबालिकालाई श्रद्धाञ्जली दिर्इन । आउने दिनमा कुनै पनि बालबालिकालाइ अकालमा ज्यानै जानसक्ने अबस्थाको अन्त्य गर्दै यसका लागि राज्यले सोही अनुरुपको नीति बनाउने उनकाे अाश्वाशन छ । नेपालमा २०२२ सालबाट राष्ट्रिय बाल दिबश मनाउन शुरु गरिएको थियो। नेपालले गणतन्त्र स्थापना पछि भने बालअधिकार सम्बन्धी महासन्धीलाइ अनुमोदन गरेको मिती १९९० सेप्टेम्बर १४ दिनलाई राष्ट्रिय बालदिवशका रुपमा मनाउँदै आएको छ। अाज बिहिवार को बिहान ११ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा एक कार्यक्रम गरी राष्ट्रिय बालदिवश मनाइने मन्त्रालयले र बालकल्याण समितीले जनाएको छ।

त्रिशूली जलविद्युतको फ्युज शाखामा आगलागी

नुवाकोट, भदौ २९ । नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट)मा आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ । बुधबार राति १० बजे त्रिशूलीस्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुँदा विद्युत् वितरण सेवा अवरुद्ध भएको हो । विद्युत् वितरण गर्न जडित ‘इनकमर’ र फिडरमा आगो उत्पन्न भएलगत्तै विद्युतगृहका कर्मचारी, विद्युत् गृह सुरक्षार्थ रहेको श्रीनाथ गण, देवीघाटको नेपाली सेना, नुवाकोट प्रहरी, विदुर नगरपालिकाको दमकल र स्थानीयवासीले करिब आधा घण्टामा नै नियन्त्रणमा लिएको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको छ । फ्युज शाखामा आगलागी भएपनि केन्द्रको उत्पादन जारी रहेको केन्द्रका प्रमुख अशोककुमार पण्डितले जानकारी दिए । आगलागीले पुर्‍याएको क्षतिको लगत संकलन भइरहेकाले यकिन तथ्यांक आउन बाँकी रहेको केन्द्र प्रमुख पण्डितले जानकारी दिए । ‘प्रारम्भिक अध्ययन अनुसार इनकमर पूर्णरुपमा जलेर क्षति पुगेको छ,’ उनले भने, ‘सातमध्ये केही फिडरमा क्षति देखिएकाले त्यसको परीक्षणपछि मर्मतमा जुट्नेछौं ।’ आगलागीबाट पुगेको क्षतिको आज बिहानैदेखि नै मूल्यांकन भइरहेकाले लगतपश्चात् मर्मतको काम शुरु गरिने केन्द्रले तयारी गरेको छ । आगलागीले पूर्णक्षति बनाएको विद्युत् प्रवाह गर्ने इनकमरको रु १५ लाख र वितरण फिडरको रु १० लाख पर्ने भएकाले करिब रु एक करोडको क्षति भएको अनुमान गरिएको फ्युज शाखाका इञ्जिनियर रामबाबुकुमार दासले जानकारी दिए । दासका अनुसार मर्मतका लागि जिल्लामा प्राविधिक भए पनि उपकरण नै परिवर्तन गर्नुपर्ने देखिएकाले विद्युत् सेवा नियमित हुन कम्तीमा दुई दिन लाग्ने देखिएको छ । आगलागीले विद्युत् प्रशारणको इनकमर र वितरण फिडरमा क्षति पुर्‍याएकाले त्रिशूली जलविद्युत् केन्द्रमार्फत वितरण हुँदै आएको नुवाकोट, रसुवा र धादिङमा विद्युतसेवा अवरुद्ध भएको छ । केन्द्रमार्फत वितरण भएको नुवाकोटको सदरमुकाम विदुरसहित आसपासको क्षेत्र, लिखु गाउँपालिका, सूर्यगढी गापा, किस्पाङ गापा, मेघाङ गापा, रसुवाको कालिका गापा, उत्तरगया गापा, नौकुण्ड गापा र धादिङको नेत्रावती गापालगायतका स्थानमा विद्युतसेवा अबरुद्ध भएको छ ।

गाउँपालिकाका अध्यक्षले लगाए कार्यकारी अधिकृतको कार्यकक्षमा ताला

इनरुवा, भदौ २८। कोशी गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यकारी अधिकृत र लेखा अधिकृतले आफूखुशी गरेको गुनासो बढेपछि सुनसरीको कोशी गाउँपालिका कार्यालयको कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्य कक्षमा मंगलबार तालाबन्दी गरेको हो । कार्यालयमा बाहिरका व्यक्ति आएर तालाबन्दी नगरी गाउँपालिकाका कार्यकारी अधिकृत सञ्जीव राणा र लेखा अधिकृत खडानन्द घिमिरेको कार्यकक्षमा मानोमानी गरेको भन्दै गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफै तालाबन्दी गरेका हुन् । कार्यकारी अधिकृत राणाले आफूखुशी काम गरेको, जनताको काम नगरेको र अनियमितता गरेको, कतै जाँदा आफूलाई कुनै जानकारी नदिइ लुकिछिपी जाने गरेको, जनप्रतिनिधि आउनुभन्दा अगाडि आएको रु ५२ लाखको कुनै हरहिसाब नदेखाएका कारण उनीहरुको कार्यकक्षमा आफैँले तालाबन्दी गरेको अध्यक्ष अन्सारीले बताए । उनले काम चोर कर्मचारी र हिसाबसमेत नदेखाउने भ्रष्ट मानसिकताका कर्मचारीलाई कार्यालयमा बस्ने नैतिक आधार नभएकाले उनीहरुलाई कार्यालयबाट बाहिर निकालेर तालाबन्दी गरेको बताए । कर्मचारीले सामान्य मापदण्डसमेत पालना नगरेको र जननिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष आएको दुई महिना बित्दासमेत आफ्नो कार्यक्रम र योजना नदेखाएको तथा परिषद्मा समेत कुनै चासो नराखेकाले आरोप लगाइएको छ । कार्यकारी अधिकृत राणा भने सम्पर्कमा आउन नचाहनु अन्य कर्मचारी लुकिछिपी भागेको पाइएको छ । स्थानीयवासीले भने गाउँपालिकामा भएको घटनाले आफूलाई सशंकीत बनाएको प्रतिक्रिया दिएका छन् । रासस

मेगा बैंकका कर्मचारी मृत फेला

रसुवा, भदौ २८। मेगा बैंक स्याफ्रुबेँसीमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बैंक कर्मचारी अन्दाजी ३६ वर्षीय सुरभ अर्याल रहेका छन् । उनी आफ्नै डेरामा आज बिहान ११ः०० बजे मृत अवस्थामा फेला परेकाले शव परीक्षणका लागि जिल्ला अस्पताल धुन्चे ल्याइएको छ । कामनपा वडा नं ३४ पुरानो बानेश्वर घर भएका अर्यालको मृत्युको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस