नेदरल्याण्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य
काठमाडौं, १६ फागुन । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाल सामु एक सय ८५ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा जारी खेलमा निर्धारित २० ओभरमा नेदरल्याण्डस्ले चार विकेट गुमाएर एक सय ८४ रन बनाउन सक्यो ।
नेदरल्याण्डस्का लागि मिचेल लेभिटले ५४, स्याब्रान्ड एंगेलब्रेक्टले ४९, स्कट इडवार्डस्ले ३३, तेजा निडामानिरुले ३१ र म्याक्स ओडोउडले चार रनको योगदान गरे । नेपालका करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए भने अन्य दुई खेलाडी रन आउट भएका थिए ।
पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।
संवैधानिक नियुक्ति सम्बन्धी रिटको सुनुवाइ आज
काठमाडौं, १६ फागुन । अध्यादेश मार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न माग सहित दर्ता गरिएको रिटको बुधबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ । बुधबारको संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइका लागि साप्ताहिक पेसी तोकिएको हो । बुधबारको संवैधानिक फाँटको पहिलो सूचीमा संवैधानिक नियुक्तिसम्बन्धी रिट माथिको सुनुवाइ रहेकाले बुधबारबाट उक्त रिटमा निरन्तर सुनुवाइ हुन सक्ने रिट निवेदक मध्येका ओमप्रकाश अर्यालले जानकारी दिए । २०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइका लागि बुधबार साप्ताहिक पेसी तोकिएको हो । यसअघि लगातार तीन पटक उक्त मुद्दा हेर्न नभ्याउनेमा परेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेश मार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेका ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति बदरको माग गर्दै रिट परेको थियो । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठी, समृत खरेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतले दायर गरेको रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो । त्यसैगरी २०७९ साउन ११ गतेको पेसीमा म्याद बुझाउन नसकिएका पदाधिकारीलाई म्याद बुझाउने आदेश भएको थियो भने २०७९ फागुन ३ गते उक्त रिट हेर्न नभ्याउनेमा परेको थियो । त्यसपछि २०८० भदौ २७ र मङ्सिर २० गतेको पेसीमा पनि ती रिटहरू हेर्न नभ्याउनेमा परेको थियो । रिटमा संवैधानिक नियुक्ति लिएका ५२ जना, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्का सदस्य आदिलाई विपक्षी बनाइएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासमेतलाई विपक्षी बनाई दायर रिटमा प्रधानन्यायाधीशले नै हेर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा समेत रिट परेपछि सो मुद्दा पछाडि धकेलिएको थियो । संवैधानिक इजलासले अध्यादेशमा संशोधन गरी गरिएको नियुक्ति संविधानसम्मत नभएको ठहर गरेमा नियुक्ति लिएका सबै पदमुक्त भई नयाँ प्रक्रियाको थालनी हुनेछ ।
नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौं, १६ फागुन । नेपालले त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ । पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ रोज्दै ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो । जान निकोल लोफ्टी एटनले ३६ बलमा १०१ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए । उनले ३३ बलमै शतक हान्दै टी–२० आई इतिहासकै छिटो १ सय रन पूरा गरेका थिए । कुशल मल्ललको ३४ बलको कीर्तिमान तोडेका थिए । सुरुआत कमजोर गरेपनि अन्तिम ९ ओभरमा नामिबियाले १४० रन बनाउँदै विशाल योगफल बनाएको थियो । नेपालले यस कमजोरीलाई ध्यान दिनुपर्छ । डेथ ओभरमा उत्कृष्ट बलिङ आवश्यक देखिन्छ । नेपालको डेथ ओभर स्पेलिष्ट अभिनाश बोहरा चोटबाट फर्किएका छन् । पहिलो खेलमा अभिनाशले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका थिए । कुशल भुर्तेल नामिबियाविरुद्ध पहिलो बलमै आउट भएका थिए । भूर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उता नामिबियाका ओपनर म्याक्स ओडाउड र माइकल लेभिट दुई प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको विकेट समयमै लिन सके नेपालले खेलमा दबाब बढाउन सक्छ । अन्यथा लेभिट र ओडाउडले आफ्नो आक्रामक क्रिकेटमा विशाल योगफलको आधार तय पार्न सक्छन् । लगातार विश्वकप खेल्दै आएको डच टोली दबाबमा खेल्न जानेको छ । टी–२० को लागि मात्रै दुई तीव्र गतिका बलर फर्द क्लासेन र टिम भान डर गुग्टेन टोलीमा जोडिएका छन् । नेदरल्यान्ड्समा तेजा निडाामानिरु, बास डि लिडे र स्कट एडवार्ड्सले मध्यक्रम ब्याटिङ सम्हाल्ने छन् । बास डि लिडे, म्याक्स ओडाउड र फर्द क्लासेन प्रमुख हतियार हुन् । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी–२० आई खेलमा ९ खेल भएका छन् । समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए । नेपाल फाइनलसहित दुई खेलमा विजयी भएको थियो । बास डि लिडेले ८१ रनको अविजित इनिङ खेलेपछि २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।
लघुवित्त पीडितका माग तत्काल सम्बोधन गर्नुपर्छ : माओवादी केन्द्रका जनसंगठन
काठमाडौं । माओवादी केन्द्र निकट जनसंगठनले लघुवित्त पीडितका माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्रका ४ जनसंगठनले आज एक विज्ञप्ति जारी गर्दै लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिले गरेको संघर्षको पक्षमा ऐक्यबद्धता जाहेर गर्दै सो कुरा बताएको हो । आज दिउँसो काठमाडौंमा बसेको माओवादी केन्द्र निकट संगठनहरु अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले लघुवित्तीय संस्थाहरूको शोषण र अत्याचारबाट पीडित जनसमुदायको संघर्षबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का अध्यक्ष जगतबहादुर सिम्खडा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाइली र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष अमर परियारको संयुक्त हस्ताक्षर विज्ञप्तिमा सरकार समक्ष विभिन्न माग समेत राखिएका छन् । यस्ता छन् माग १. लघुवित्त पीडितहरूका मागहरू यथाशीघ्र सम्बोधन गरियोस् । गिरफ्तार गरिएका लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति नेपालका सम्पूर्ण अभियन्ताहरूलाई बिनाशर्त अविलम्ब रिहाइ गरियोस् । २. मणिराम ज्ञवालीसहित आमरण अनसनमा बसेका लघुवित्तीय संस्था पीडितहरूसँगको वार्तापश्चात नेपाल सरकारले गठन गरेको तर समस्या समाधानमा कुनै पहल नगरेको असक्षम, गैरजिम्मेवार र अकर्मण्य वार्ता समिति तत्काल भंग गरी नयाँ उच्चस्तरीय वार्ता समिति गठन गरियोस् । ३. नेपाल सरकारले लघुवित्त सम्बन्धी समस्या समाधान गर्न गठन गरेको वार्ता समितिमा आफ्नो प्रतिनिधि समेत नपठाउने र लघुवित्तहरूलाई नियमन नगरी लाखौँ जनतालाई पीडित बनाई हजारौँ जनतालाई सडकमा आउन वाध्य बनाउने नेपाल राष्ट्र बैंकका गभर्नर र अन्य पदाधिकारीलाई अविलम्ब बर्खास्त गरियोस् । ४. राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार गर्ने जनपक्षीय र गरिबमुखी मौद्रिक नीति जारी गरियोस् । ५. लघुवित्तहरूले लगाउने ब्याजदर १ अंकमा झारियोस् । लघुवित्तहरूले चक्रिय ब्याज र हर्जानाको नाममा मासिक ३६% भन्दा बढी ब्याज लगाउने कार्य अविलम्ब रोकियोस् र लघुवित्तको नाममा चलाइएको संस्थागत मिटरब्याजको धन्दा बन्द गरियोस् । ६. लघुवित्तहरूबाट कालो सूची (कर्जा सूचना केन्द्र)मा नाम राखिएका सबैको नाम तत्काल हटाई धितो लिलामी प्रक्रिया रोकियोस् । ७. लघुवित्तबाट लिएको ऋणको कोरोनाकालदेखि हालसम्मको सम्पूर्ण ब्याज र हर्जाना मिनाहा गरियोस् । बाँकी साँवा चुक्ता गर्न बढीमा ५ वर्षको अवधि दिई ऋणको पुनर्तालिकीकरण (नयाँ किस्ता जारी) गरियोस्। ८. नेपाल राष्ट्र बैंकको निर्देशिका पालना नगर्ने लघुवित्तहरूलाई अविलम्ब कडा कारबाही गरियोस् ।
भरतपुर भ्रमण वर्ष : उद्घाटनको तयारी अन्तिम चरणमा, ५० हजार जना सहभागी हुने
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदी किनारमा भव्य समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ । करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ । महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् ।‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिती तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ । यस्तै, महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु संलग्न सल्लाहकार समिति, विभिन्न ३० वटा विषयगत उपसमितिहरु गठन गरी कार्य विभाजनसहितको जिम्मेवारी प्रदान गरिएको छ । भ्रमण वर्षको तयारीका सन्र्दभमा विभिन्न राजनीतिक, दल, बुद्धिजिवी, समाजसेवी, निजी क्षेत्रलगायत सरोकारवाला सबैसँग पटकपटक छलफल तथा अन्तरक्रिया गरिसकेको महानगरले जनाएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रर्वधक नेपाल पर्यटन बोर्ड रहेको छ । महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधी वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगरपालिका प्रमुख दाहालले बताइन्। भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ । पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा राखिएको उपप्रमुख अधिकारीले बताइन् । भरतपुरलाई चिनाउँदै यहाँको आर्थिक सम्भावनाको खोजी, लगानीको वातावरण निर्माण गर्न पनि भ्रमण वर्र्ष कोशेढुंगा सावित हुने अपेक्षा गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए । भ्रमण वर्षमा आउने पाहुनाहरुलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्र होटलहरुमा ७ हजार ५ सय बेड र सौराहादेखि गैंडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए। भ्रमण वर्षमा आउने पाहुनाहरुलाई लक्षित गरी होटल तथा रेष्टुरेन्टहरुले छुट सुविधा यसअघि नै घोषणा गरेका छन्। भ्रमण वर्ष भरी सञ्चालन गरिने विविध गतिविधिहरुले समग्र चितवनलाई नै पर्यटकीय तथा आर्थिक हबका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि लिइएको छ । भ्रमण वर्षको उद्घाटन समारोहलाई सफल बनाउन घरघरबाट सहभागी हुन चितवनवासीलाई भरतपुर महानगरपालिकाले अनुरोध गरेको छ ।
सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छिन् । नेपाल उद्योग परिसंघको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीजका पदाधिकारीसँगको भेटमा उनले यस्तो आग्रह गरेकी हुन् । लगानी सम्मेलनमा अन्य क्षेत्रको जस्तै सूचना प्रविधि क्षेत्रको लगानी प्रस्तुत गर्न आवश्यक रहेकाले आवश्यक परियोजना भए लिएर आउन आग्रह गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा परियोजना बैंक बनाउनुपर्ने बताइन् । उनले सरकारको नीति तथा कार्यक्रम र बजेटका सवालमा पनि सूचना प्रविधिमा के गर्न सकिन्छ सरकारलाई लिखित सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरिन् । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरेदेखि नै डिजिटल रुपान्तरणलाई रणनीतिको रुपमा राखिए पनि नेपालमा सूचना प्रविधिलाई साझा दृष्टिकोण नै बन्न नसकेकाले यसमा आवश्यक लगानीको वातावरण नबनेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारी, निजी क्षेत्र र जनस्तर सबैतिर सूचना प्रविधि प्रतिको साझा बुझाई आवश्यक रहेको बताइन् । ‘अब सूचना प्रविधि क्षेत्रमा लगानीकर्ता र जनशक्तिको पहिचान गर्न ढिलाई गर्नुहुँदैन’– उनले भनिन्– ‘डिजिटल रुपान्तरणको माध्यमबाट मुलुकको समृद्धि कायम गर्न निजी क्षेत्रले सहयोग गर्न आवश्यक छ ।’ निजी क्षेत्रले लगानी गर्दा आफ्नो मुनाफा हेर्नु स्वभाविक भए पनि अर्थतन्त्र चलायमान बनाउने र रोजगारी सिर्जना गर्नेतिर बढी ध्यान केन्द्रित गर्न आवश्यक रहेको उनले स्पष्ट गरिन् । सरकार सूचना प्रविधि र साइबर सुरक्षालगायतका आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको पनि उनले जानकारी दिइन् । छलफलमा नेपाल उद्योग परिसंघको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीजका पदाधिकारीहरुले नेपालमा ठूला लगानीकर्ताले सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका थिए । नेपालमा सूचना प्रविधिको राम्रो संभावना भएकाले सरकारले कानुन र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनीहरुले निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताएका थिए । पछिल्लो समय सरकारले सूचना प्रविधि क्षेत्रमा राम्रो पहल अघि बढाए पनि सूचना प्रविधि, स्टार्टअप लगायतका क्षेत्रमा सरकारी निकायहरुबीच नै साझा बुझाई आवश्यक रहेको बताउनुभयो ।
टेरामक्स खरिद प्रकरण अनुसन्धानको रिजल्ट छिट्टै आउँछ : अख्तियार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणमा बयान लिने काम सकिएको बताएका छन् । उनले केही समयमा नै आयोगले मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिए । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले टेरामक्स खरिदको विषय अन्तिम चरणमा पुगेको बताएका हुन् । टेरामक्स प्रकरणमा तत्कालीन सूचना तथा संचार प्रविधिमन्त्री बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन संचारमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीसँग बयान लिएको थियो । अख्तियार प्रमुख राईले आयोगमा २८ हजार उजुरी रहेको जानकारी दिए ।
सलामीसहित भक्तराज आचार्यको अन्त्येष्टि
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सलामिसहित अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा छोरा स्वरूपराज आचार्य र सत्यराज आचार्यले दागबत्ती दिएर उनको अन्त्येष्टि गरिएको हो । पशुपतिस्थित आर्यघाटमा उनलाई गायक, संगीतकार, कलाकारदेखि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । भजन शिरोमणिका रुपमा सुप्रसिद्ध आचार्यको शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि हिजो मेडिसिटी अस्पताल लैजाने क्रममा ८१ वर्षको उमेरमा निधन भएको थियो ।
नेपालविरुद्ध इटोनको कीर्तिमानी शतक, नामिबियाबाट २०७ रनको लक्ष्य प्राप्त
काठमाडौं । जान निकोल लोफ्टी–इटोनको कीर्तिमानी ब्याटिङ गरेसँगै नामिबियाले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इटोन विस्फोटक रूपमा प्रस्तुत भएपछि टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनायो । नामिबियाका ब्याटर जान निकोल लोफ्टी इटनले कुशल मल्लको कीर्तिमान तोडे । मंगलबार नेपालविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा इटनले कुशल मल्लको सबैभन्दा छिटो शतकको कीर्तिमान तोडेका हुन् । इटनले ३३ बलमा ११ चौका र ८ छक्कासहित १०० रन बनाए ।
निजगढ विस्फोट : थप २ घाइतेको मृत्यु, घटनामा संलग्नको आरोपमा २ जना पक्राउ
बारा । बाराको निजगढस्थित सहिद चोकमा रहेको वर्कसपमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । मंगलबार उपचारका क्रममा थप २ घाइतेको मृत्यु भएको हो । प्रहरीका अनुसार भारत गवई घर हुने ३५ वर्षीय राकेश जयसवाल र वीरगन्ज-९ का २० वर्षीय रीतु रजतको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार उपचारका क्रममा रोहित वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम पुलामी मगरको मृत्यु भएको थियो । लेथ ग्यास वेल्डिङ गर्दै गर्दा एक्कासि विस्फोट भएपछि मगर घाइते भएका थिए । उनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोमबार सिलिन्डर ग्याँस विस्फोट भएको थियो । विस्फोट भएको वस्तु यकिन अहिलेसम्म नभएको प्रहरीको भनाइ छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा कवाडी सामान बेच्ने निजगढ-९ का टीकाराम पाख्रिन र कवाडी सञ्चालक राज भनिने रमेश जयसवाललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।
नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा संगीतकार आचार्यलाई अन्तिम श्रद्धाञ्जली
जन्म : वि.स.२००० माघ १२ मंगलबार, निधन : वि.स. २०८० फागुन १४ सोमबार
नामिबियाविरुद्ध नेपाल फिल्डिङमा
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाल आज नामिबियाविरुद्ध पहिले फिल्डिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाका कप्तान जेजे स्मिथले ब्याटिङको निर्णय गरे । नेपाललाई फिल्डिङको निम्तो दिए । जारी खेलको पहिलो ओभर सकिँदा नामिबियाले विकेट नगुमाई नौ रन बनाएको छ । त्रिदेशीय शृंखलामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्स सहभागी छन् ।
सफल भयो महेन्द्र प्रयास, सुनथरालीमा विमान अवतरण ।
लामो प्रतिक्षा पछि कालिकोटको सुनथराली विमान स्थल उद्घाटन भएको छ । कालिकोटको कोटवाडामा रहेको यो विमानस्थल उद्घाटन नभएरै अस्तित्ववाट हटाउने सम्भावना थियो । कर्णाली क्षेत्रमा सडक संजालको पहुँच नपुग्दै निर्माण कार्य थालिएको यो विमानस्थलले थुप्रै समस्या झेल्नु पर्यो । ०५८ सालमा यो विमानस्थल निर्माणमा खटिएका ३६ जना मजदुरको तत्कालीन शाही नेपाली सेनाले माओवादी भएको आरोप लगाई हत्या गरेको थियो । श्रमिकको सामुहिक हत्या भएपछि यसको काम स्थगित बन्न पुग्यो । २०६६ सालसम्म विमानस्थलको कुनै काम हुन सकेन । माओवादी शान्ति सम्झौता मार्फत खुला राजनीतिमा आएपछि यसको निर्माणमा चाँसो देखायो । युद्ध मनोविज्ञन सम्झाउने यो विमान स्थल ऐतिहासिक भएको भन्दै तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रि खड्क विश्वकर्माले काम अगाडी बढाउने प्रक्रिया गरेका थिए । तर काम हुन सकेन । २०७० मा कालिकोटबाट दोस्रो संविधानसभाका लागि निर्वाचित महेन्द्र बहादुर शाहीले यसको विशेष कार्ययोजना बनाई काम गरेको कालिकोट जिल्लाका माओवदी संयोजक लक्ष्मिप्रसाद चौंलागाईले बताए । २०७३ मा रन वे तयार भयो तर कालो पत्रे थिएन । त्यो बेलाका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रि जिवन वहादुर शाही सहितको टोली सवार तारा यएरले पहिलो पटक यो विमानस्थलमा परिक्षण उडान गरेको थियो । त्यसपछी ठप्प रहेको विमान स्थल महेन्द्र बहादुर शाही कर्णालीको पहिलो कार्यकालको मुख्यमन्त्री हुँदा निकै जोडका साथ विमानस्थल कालोपत्रे र व्यावस्थापकिय सुधारको लागि कदम चालेका थिए । संघीय सरकारलाई पटक पटक ध्यानाकर्षण गरेका थिए । उनको भनाई थियो विमानस्थल निर्माण भै सकेको छ, यसको सदुपयोग योजना बन्नु पर्छ र नियमित उडान हुनुपर्छ भन्ने उनको जोड रहेको स्थानिय बताउछन् । आज जहाजहरुले सफल रुपमा अवतरण र उडान गरेका छन् । हाम्मा माननीय महेन्द् बहादुर शाहीको प्रयास सफल भयो एक स्थानीयले खुसि व्यक्त गरे । विमानस्थल निर्माण र सफल परिक्षण भएको छ । अव यसको नियमित उडानलाई ध्यान दिन व्यावस्थापकिय र अन्य व्यापारिक पक्षमा जुट्नुपर्ने समय आएको कर्णाली प्रदेशको उपसभामुख यसोदा न्यौपानेले बताइन् । निर्माण सुरु भएको ३८ बर्षपछि सुनथराली विमान स्थल संचालनमा आए संगै माथिल्लो कर्णालीका पाँच वटै जिल्लामा विमान सेवा प्रयोगमा ल्याउन सकिने भएको छ । अव जुम्ला विमानस्थललाई विस्तार गरि फ्यूल र ह्याङ ्गर सुविधा सहितको नाइट स्टप सेवा विस्तार गरेमा कम बर्षा हुने माथिल्लो कर्णालीमा आन्तरिक हवाइ सेवा विस्तार मार्फत पर्यटकीय गतिविधिलाई व्यापकता ल्याउन सकिने पर्यटन व्यावसायिहरुको विश्वास रहेको पाइन्छ । यो विमान स्थललाई खुलालु हिल्सा सडकको विपत्त व्यवस्थापन र माथिल्लो कर्णालीमा पर्यटन पर्वद्धन गर्न प्रयोगमा ल्याउन सकिने जुम्लाकी सांसद कान्तिका सेजुवालले बताइन् ।
कालिकोटको सुनथराली विमानस्थल उद्घाटन
काठमाडौं । कालिकोटमा रहेको सुनथराली विमानस्थल उद्घाटन गरिएको छ।सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थल उद्घाटन गरेका हुन्। उनले कर्णालीमा चुनावी सभाहरूमा गरेका प्रतिबद्धताहरू पूरा हुँदै गएको बताए।निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले कालिकोटमा बोलेको कुरामध्ये एउटा काम पूरा भएको खड्काले बताए। सो बिमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्नेछ। कालिकोटका नागरिकलाई यातायातमा सहज हुने गरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री खड्काले बताए।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आइतबार पनि बस्दैछ। बैठक मंगलबार(आज) बिहान. ८:३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा माओवादीले चलाएको चार महिने रूपान्तरण अभियान, पाार्टीको आगामी कार्यक्रम र समसामयीक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
आठवटा संसदीय समितिको बैठक आज एकै दिन बस्दै
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका आज आठवटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतका पाँच र राष्ट्रियसभाअन्तर्गतका तीनवटा समितिको बैठक बस्न लागेका हुन् । प्रतिनिधिसभाअन्तर्गतका अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाएको संसदीय सचिवालयले जनाएको छ । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान साढे ११ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ ।

