बडा दशैंको आज पाँचौं दिन आज देवी स्कन्दमाताको पूजा गरिदैं

काठमाडौं, असोज ९ । बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरिरहेका छन् ।

भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।

चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन् ।

सौर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ ।

यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिस्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् ।

आ–आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि गर्दैछन् ।

अब सवारी लाइसेन्स नपाइने

काठमाडौं, असोज ८ । दशैंका लागि ट्राफिक प्रहरी फिल्डमा खटिनुपर्ने भन्दै यातायात ब्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण बन्द गरेको छ । लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रयाल रोकिए पनि आजसम्म विभागले सवारीको ट्रायल भने लिइरहेको यातायात कार्यालय उकान्तकुनाले जानकारी दिएको छ । विभागले यही असोज २२ गतेसम्मका लागि लाइसेन्स वितरण रोक्का गरेको हो । नयाँ लाइसेन्सको वितरण रोकिएपनि सरकारी कार्यालय खुल्ने दिनसम्म नवीकरण भने नरोकिने यातायात व्यवस्था विभाग, सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुनाले जनाएको छ ।

महेश्वरी पीठको मर्मत

भक्तपुर, असोज ८ । भक्तपुर नगरपालिका क्षेत्रको ऐतिहासिक एवं धार्मिक महत्व रहेको महेश्वरी पीठमा सम्पदा निर्माण एवं मर्मत गरिएको छ। नगरपालिकाको सहयोगमा हरियाली तथा वातावरण सुधार अन्तर्गत बगैंचा निर्माण गरिनाका साथै ढुंगेधारा निर्माण, खँचा पोखरी मर्मत तथा सरसफाइ गरिएको छ । नगरपालिकाले बगैंचा निर्माणमा रु.नौ लाख ७८ हजार ९२२, खँचा पोखरी मर्मत तथा सरसफाइमा रु एक लाख १८ हजार १३० र महेश्वरीमा पानी निकास व्यवस्थापनमा रु ५० हजार ३०९ खर्च भएको महेश्वरी ध्वाका मर्मत तथा ढुंगेधारा निर्माण समितिका अध्यक्ष रामेश्वर प्रजापतिले जानकारी दिए । सम्पदा संरक्षण निर्माण तथा मर्मतमा चासो दिँदै आएको नगरपालिकाले हराउँदै गएका सम्पदाको संरक्षणलाई तीव्रता दिने नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

मिथिलाञ्चलमा झिझियाको रौनक

महोत्तरी, असोज ८ । हिन्दूको घरआँगनमा बडादशैँ आएलगतै मिथिलाञ्चल क्षेत्रमा रात्रि समयमा झिझिया नृत्यको रौनक छाएको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत मिथिलाञ्चलको धर्ती दशैँ अवधिभरि नै झिझियाका लोकगीतले चल्बलाउन थाल्छ । महिलाहरु समूह बनाएर झिझिया नृत्यमा सहभागी हुन्छन् । राति खाना खाएर महिलाहरु ग्रामीण देवता (ब्रह्मबाबा) को मन्दिरमा जम्मा भई झिझिया नृत्य शुरु गर्छन् । ब्रह्मबाबालाई सलामी (एउटा सुपारी) राखेर शुरुवात गरिने सो नृत्यमा युवतीदेखि लिएर वृद्धासम्मका महिला सहभागी हुन्छन् । नृत्यमा सहभागीमध्ये एकजनाले टाउकामा एउटा घैंटो राखेको हुन्छ जसमा साना साना प्वाल पारिएको हुन्छ । सोभित्र अलिकति गोबर राखी दियो बालिएको हुन्छ । वर्षांैदेखि चल्दैआएको धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्नका लागि महिलाहरु संलग्न भइरहेको महोत्तरी भरतपुरकी शिक्षिका सुनिता महतोले बताए । “पछिल्लो समयमा आएर विभिन्न किसिमका आन्दोलनले गर्दा राति घरबाट निस्किने वातावरण नभएकाले नृत्यको रौनकमा केही कमी आएको छ”, उनले भने । घटनास्थापनादेखि शुरु भएको झिझिया नृत्य दशैँ अवधिभरि चल्छ । घर घरमा इष्टदेवको पूजापाठ बडादशैँको आवागमनसँगै घरघरमा विशेष आराधनापूर्वक इष्टदेवको पूजापाठ गरिँदैआएको छ । प्रत्येक वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म हरेक व्यक्तिले आआफ्ना इष्टदेव एवं कुलदेवतालाई विशेष रुपमा पूजाआजा गर्ने प्रचलन छ । दशैँ अवधिभरि कुलदेवता प्रायः घरघरमा बसोबास गर्ने धार्मिक विश्वासका कारण सो अवधिमा दिनरात पूजापाठ भइरहेको गौशाला नगरपालिकाका मोहन ठाकुरले बताए । वर्षभरि गरिएको भाकल पूर्ण भएपछि दशैँ अवधिमा विशेष पूजाआजा गरी भाकल चढाउने गरेकाले पूजापाठ गर्नेको संख्यामा वृद्धि भएको विजलपुराका विजय सिंहले बताए । दशैँ अवधिमा कोखियागुहायर (सन्तान प्राप्तिका लागि गरिने विशेष पूजा) र बोक्सीको उपद्रवबाट बच्नका लागि धामी–झाँक्रीको माध्यमबाट उपचार गराउनेको भीड लागेको छ । पीडितले धामीझाँक्रीलाई आफ्नै घरमा राति आमन्त्रण गरी पूजापाठ गराउने गरेको किसाननगरका प्रगास चौधरीले बताए । यसैगरी महोत्तरीका विभिन्न धार्मिक देवस्थलमा भक्तजनको भिड लागेको छ । दशैँको शुरुआतीसँगै सोनामाइस्थित सोनामाई मन्दिर, जलेश्वरस्थित त्रिशूलीदेवी मन्दिर, बर्दिबासस्थित पञ्चधुरामाई मन्दिर, गौशालास्थित जल्पामाई मन्दिर, पडौलस्थान, कारिकस्थानलगायत धार्मिक एवं प्राचीन मन्दिरमा दिनरात भक्तजनको भिड लागेको छ । सो स्थानमा टाढाटाढाबाट श्रद्धालु भक्तजन आउने गरेका छन् । त्यस्तै गाउँगाउँमा बनाइएका दुर्गाको मन्दिरमा समेत बिहान र बेलुकी पूजाआरती गर्ने भक्तजनको भीड लाग्ने गरेको छ ।

तारा तालको अस्तित्व संकटमा

कञ्चनपुर, असोज ८ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जैविक विविधताले भरिपूर्ण तारा ताल (खैकन्द्रा) को अस्तित्व संकटमा परेको छ। तालको ७० प्रतिशत भाग पुरिई बेसरम नामको झारले ढाकेपछि तालको अस्तित्व खतरामा परेको हो । राजहंस कमलको फूलका लागि प्रख्यात ताल लोप हुने अवस्थामा पुगे पनि संरक्षणको प्रयास हुन सकेको छैन । ताल पुरिने क्रमसँगै मुख्य आकर्षणका रूपमा रहेको कमलसमेत लोप हुन लागेको ताल नजिकैको क्षेत्रमा बस्दै आएका नरिभान ढुंगेलले बताए। “ताल सुकेपछि कमलको जरा नै उखेलेर जंगली बँदेलले खाने गरेकाले कमल लोपोन्मुख अवस्थामा पुगेको छ”, उनले भने । भदौ, असोजका महिना तालमा ढकमक्क कमल फुलेको टाढैबाट देखिन्थ्यो तर आजभोलि ताल क्षेत्रमा बेसरम झारमात्रै देखिने गरेको छ । तालमा बस्दै आएका रैथाने प्रजातिका जलपक्षी, गोही र विभिन्न प्रजातिका माछासमेत लोप हुने संघारमा पुगेका छन् । गोही, विभिन्न प्रजातिका माछा, सेतो प्रजातिको बकुल्ला र कालो हाँसको प्रमुख वासस्थानका रूपमा रहेको तारा तालमाथि अतिक्रमण हुन थालेपछि ती जलचर र पक्षीसमेत देखिन छाडेका छन् । तालको पूर्वतर्फको पूरै भाग पुरिएको छ । तालको डिल भत्किँदा खोलामा परिणत भएको छ । निकुञ्जले संरक्षणका लागि कार्य अगाडि नबढाउँदा तालको अस्तित्व नै लोप हुने संघारमा पुगेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । दश बिगाहा क्षेत्रफलमा फैलिएको तालमा हाल एक बिगाहा क्षेत्रमा मात्रै पानी रहेको छ ।

कटुवा पेस्तोल र गोलीसहित पक्राउ

कपिलवस्तु, असोज ८ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना आज पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित भरत चौधरीलाई पक्राउ गरेको हो । चौधरी आज बिहान ४ बजे बुटहनियामा आफ्नै मिलमा पक्राउ परेका छन् । गोप्य सुराकीका आधारमा प्रहरीको गस्ती टोलीले चौधरीलाई पक्राउ गर्न सफल भएकोे इप्रका बहादुरगञ्जका प्रहरी सहायक निरीक्षक दीपेन्द्र गिरीले बताए ।

काँग्रेसको विजय जुलुशमा एमालेद्धरा पुन: आक्रमण

रौतहट, असोज ८ । रौतहटको बृन्दाबन नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली काँग्रेसले जितेपछि निकालेको विजय जुलुशमा नेकपा एमाले कार्यकर्ताहरुले आक्रमण गरेका छन्। एमाले समर्थित कार्यकर्ताहरुको आक्रमणमा परी चारजना नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता घाइते भएका छन्। वृन्दावन नगरपालिकाको मेयर पदमा राम स्नेही यादव र उप मेयरमा नुर जहा खातुन शुक्रवार साँझ विजय भएका थिए। विजय पश्चात शनिवार नव निर्वाचित मेयर रामस्नेहीको घर भएको विश्रामपुरटोलवाट विजय जुलुश निकालेर नगरभरी परिक्रमा गर्ने कार्यक्रम थियो। नेपाली कांग्रेसका हर्षहाका कार्यकर्ताहरु जुलुश लिएर विश्रामपुरतर्फ जानेक्रममा एमालेका निकटदम प्रतिद्धन्दी विनोद पटेलको वडा नम्वर ५ स्थित हर्षाहाटोलमा रहेको घर नजिक भोजपुरी गीत बजाएर नाचगान गर्न थालेपछि दुवैपक्षबीच झडप भएको थियो। बाँसको भाँटा सहित घरेलु हतियारबाट एमाले कार्यकर्ताहरुको आक्रमणमा परी स्थानीय शेख खैरुल्लाह, शेख मेराजुल, शेख जाहिर र मोहम्मद सैमुल्लाह घाईते भएका छन्। घाईतेहरुको टाउकोमा गम्भीर चोट लागेर घाईते भएकाहरुको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भईरहेको नेपाली काँग्रेसका जिल्ला सभापति रामकृष्ण यादवले बताएका छन्। जनताले आफ्नो अमुल्य मत दिएर जिताएपछि निर्वाचित उमेदवारले खुशीयाली साटासाट गर्न बिजय जुलुस निकालेर आफना समर्थक माझ जाने क्रममा एमाले लगायतका अन्य हारेका दलहरुले विजय उत्सवको जुलुशमाथि आक्रमण गर्नु निन्दनीय कार्य रहेको बताउँदै सभापति यादवको विजय जुलुशमाथि आक्रमण गर्ने दोषि माथि कडा कारबाहीको माग गरेका छन्। यसैगरी गढीमाइ नगरपालिमा नेपाली काँग्रेसका मेयर श्याम यादव र उप मेयरमा सुभद्रा गुप्ता निर्वाचित भएपछि निकालिएको विजय जुलुशमा निकटदम प्रतिद्धन्दी राजपाका मेयरका पराजित उमेदवार अब्दुल कलाम अजादको कार्यकर्ताहरुले आक्रमण गरेका छन्। गढीमाइ नपाको वडा नम्बर ५ गम्हरीया टोलमा नेपाली काँग्रेसका पराजित वडा अध्यक्ष म रयाजुदीको घरमा सहानुभुति स्वरुप विजय जुलुश लिएर गएका कार्यकर्तामाथि राजपाका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । राजपाका मेयर उम्मेदवार र काँग्रेसका पराजित वडा अध्यक्षका उम्मेदवाबारको घर संगै जोडिएकोले काँग्रेसको विजय जुलुश आफ्ना कार्यकर्ताको घरमा पुगेपछि राजपाका कार्यकर्ताहरुले भोजपुरी फिल्म किन बजाएको र जुलुश किन ल्याएको भन्दै जुलुशमा डिजे बाजा बजाइरहेका धुपलाल साह, प्रदीप साह तथा सहभागि कार्यकर्ता प्रमोद साह, शेख जमदार, शेख मोमताज र शेख रुस्तमालाई निर्घात कुटपिट गरेका छन्। राजपाको कुटाइवाट डिजे बाजा बजाउने प्रमोद र धुपलालको अवस्था गम्भिर रहेकाले उनिहरुको हेल्थ लैण्ड अस्पतालमा उपचार भैरहेको गढीमाइ नपाका मेयर श्याम यादवले बताए । राजपाका कार्यकर्ताहरुले जुलुश माथि आक्रमण गर्दै नेपाली काँग्रेसका पराजित उम्मेदवार रयाजुदिनको घरमा समेत तोडफोड गर्न थालेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरुले राजपाका मेयर उमेदवार अब्दुल कलाम आजादको घरमा समेत तोडफोड गरेका छन् । घटना स्थलमा इलाका प्रहरी कार्यालय र सशस्त्र वेश क्याम्प समनपुरको टोलि परिचालन गरिएको छ। घटनाको विषयमा गहन रुपमा अनुसन्धान गर्न तथा आक्रमण गर्ने व्यक्तिहरुको खोजतलासको लागि प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उद्धव वहादुर थापाले बताए। -नागरिकन्युजबाट

बागलुङमा जिप दुर्घटना: दुई प्रहरीको मृत्यु

बागलुङ, असाेज ८ । बरेङ गाउँपालिका–२ पेरिडाँडामा आज अपराह्न भएको जिप दुर्घटनामा परी दुई प्रहरीको घटनास्थलमै ज्यान गएको छ । सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ जाँदै गरेको ग १ ज १३४ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–३ घर भएका प्रहरी हबल्दार खिमबहादुर विष्ट र सोही जिल्ला हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीषको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पन्ध्र जना सवार उक्त जिप सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले बताए । दुर्घटनामा परी घाइते भएका अन्य १३ जनालाई थप उपचारको लागि धवलागिरि अञ्चल अस्पतालमा ल्याइएको छ । दुर्घटनामा ज्यान गुमाएका प्रहरी हवल्दार विष्ट इप्रका बरेङ र प्रहरी जवान श्रीष इप्रका बाटाकाचौरमा कार्यरत थिए । दुवै प्रहरी प्रदेश नं २ मा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएर कार्यक्षेत्रमा फर्कने क्रममा दुर्घटनामा परेका हुन् । साँघुरो र हिलाम्य सडकका कारण जिप दुर्घटना परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

बडा दशैंको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

काठमाडौं, असोज ८ । बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलतालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत्लगायतका ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

नेकपा कार्यकर्ताद्वारा सरकारी गाडीमाथि तोडफोड,

पोखरा, असोज ४ । नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले मंगलबार दिउँसो एक सरकार गाडीमाथि तोडफोड गरेका छन् । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ८ जनप्रियस्कूल नजिक रत्नचोकमा रोकी राखिएको बा१झ ९६२२ नं. को सरकारी गाडीलाई नेकपाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । सो गाडी कुन सरकारी कार्यालयको हो भन्ने बारेमा खुल्न सकेको छैन । नेपाल कम्युनिष्ट पार्टी कास्कीले आफ्नो पार्टीका कास्की जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी “जगन”, लगायत पाँच जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेर विष्फोटक पदार्थ ओसारपसार सम्बन्धि ऐन मुद्दामा मुद्दा चलाएको थियो । प्रहरीले पोखराको पृथ्वीचोकस्थित सस्तोबजारमा सिलिन्डर बम राखेको अभियोग उनीहरुलाई लगाएको छ । नेकपाका जिल्ला सेक्रेटरी नन्दलाल तिवारी, सदस्य सोमनाथ अधिकारी, वालकृष्ण अधिकारी, गोवीन्द ओलि लेकेन्द्र राइ र काशी पौडेल लगायतका पाँच जना नेता तथा कार्यकर्तालाई प्रहरी पक्राउ गरी झुट्ठा मुद्दा लगाएको आरोप लगाएको भन्दै आक्रोशित बनेको नेकपा गण्डक ब्यूरोले गिरफ्तारीमा परेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तुरुन्त रिहाईको माग राखेर पहिलो चरणको आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको थियो । पहिलो चरणमा बुधबारसम्म पोखरामा सरकारी सवारी साधनहरु चल्न नदिइने जनाइएको थियो । बिहीबारदेखि भने प्रदेश नं. ल ४ अन्तरगतका जिल्लाहरुमा सरकारी सवारी साधनहरु चल्नमा रोक लगाइने नेकपा गण्डक ब्यूरोले जानकारी दिएको छ ।

लोकसेवा आयोगकाे अाजकाे सूचना सार्वजनिक

काठमाडौं, ४ भदौ । लोकसेवा आयोगले आजको गोरखापत्र दैनिकमा प्रकाशित गरेको सूचनाहरु

स्नातक तह पहिलो वर्षको भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं, ४ भदौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको लागि भर्ना आह्वान गरेको छ । विश्वविद्यालयले बुधबार एक सूचना जारी गर्दै मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायअन्तर्गतका क्याम्पसहरुमा २०७४—०७५ को लागि भर्ना आह्वान गरेको हो । सूचनाअनुसार आवेदन फाराम असोज २२ देखि कात्तिक ३० गतेसम्म वितरण हुनेछ । यस्तै कक्षा सञ्चालन मंसिर १ देखि हुनेछ ।

कञ्चनपुरमा बँदेलको आक्रमणमा परी पाँचजना घाइते

कञ्चनपुर, असोज ४ । जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो । नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष २६ का सुरेन्द्र साउद, वर्ष ४५ की मनिता बोहरा, वर्ष २० का मानबहादुर साउद, वर्ष १८ का जानकी बोहरा र वर्ष ५८ का कल्याण बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए । घाइत पाँचैजनाको कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बँदेलका लागि थापेको पासोमा चितुवा यसैबीच, डडेल्धुराको परशुराम नगरपालिका– ५ परिगाउँस्थित बहादुरे बजार नजिकै खेतबारीमा बँदेललगायत अन्य जंगली जनावरबाट धानबाली बचाउनका लागि जंगलमा थापेको पासोमा चितुवा फसेको छ । मंगलबार स्थानीयले इलाका वन कार्यालय, इलाका प्रहरी, इलाका प्रशासनलाई जानकारी गराएपछि जोगबुडाबाट गएको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र इलाका वन कार्यालय जोगबुढाबाट चितुवाको उद्धारमा खटिएको टोलीको सहयोगमा पासोमा फसेको चितुवालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी गराए । चितुवालाई मंगलबार नै गाडीमा तारजालीभित्र सावधानीका साथ राखी बर्दिया राष्ट्रिय निकुञ्जमा छोड्नका लागि लगिएको इलाका वन कार्यालय, जोगबुडाका प्रमुख चिरिञ्जीवी थापामगरले बताए । थोरै संख्यामा रहेको लोपोन्मुख जनावर चितुवा हेर्नका लागि परिगाउँको बहादुरे बजार र जोगबुडाको लालढुंगा बजारमा निकै ठूलो संख्यामा सर्वसाधारणको भिड लागेको थियो । कृषकले जंगली जनावरबाट खेतबारी जोगाउनका लागि थापेको पासोमा सोमबार राति चितुवा परेको स्थानीयको भनाइ रहेको छ । मंगलबार बिहान स्थानीय बासिन्दाले पासोमा चितुवा परेको थाहा पाएपछि इलाका वन कार्यालय र प्रहरी कार्यालय तथा इलाका प्रशासन कार्यालय, जोगबुढालाई जानकारी गराएका हुन् ।

उपत्यकाबाट १० वर्षभित्र डिजेल र पेट्रोल गाडी हटाइने !

काठमाडौं, असोज ४ । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई १० वर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्न प्रस्ताव पेस भएको छ । यी सवारी साधननै वायु प्रदुषणको मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसदमा संकल्प प्रस्ताव पेस भएको हो । वातावरणविदहरुका अनुसार काठमाडौंमा वायु प्रदुषणको करिब ६० प्रतिशत हिस्सा गाडीको धुँवाले ओगटेको छ । कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले संसदमा प्रस्ताव दर्ता गराएका हुन् । उनले काठमाडौं उपत्यकामा सन् २०२७ सम्ममा र नेपालबाटै सन् २०३१ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन पूर्ण रुपमा विस्थापित गरी विद्युतीय गाडी प्रयोगमा ल्याउने संकल्प घोषणा माग गरेका छन् । पछिल्लो समयमा धेरै मुलुकले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन निषेध गरिसकेका छन् । छिमेकी मुलुक भारतले समेत सन् २०३० सम्ममा आफ्नो मुलुकमा बिक्री हुने सम्पूर्ण साना सवारी साधन विद्युतीय हुने भनेर घोषणा गरिसकेको छ । –कान्तिपुर दैनिकबाट

माओवादी केन्द्रको पैयु–काठमाडौं सम्पर्क समिति गठन

काठमाडौं, असोज ४ । नेकपा (माओवादी केन्द्र) पैंयु–काठमाडौं सम्पर्क समिति गठन भएको छ। बुधबार काठमाडौंमा भएको भेलाले सम्पर्क समिति गठन गरेको हो। नवगठित सम्पर्क समितिको अध्यक्षमा चन्द्र थापा र सचिवमा पर्शुराम भूर्तेललाई चयन गरेको छ। २१ सदस्यीय समितिले छिटै बृहत भेलाको आयोजना गरेर काठमाडौंमा बसोबास गर्ने पैंयु क्षेत्रका माओवादीहरुलाई संगठित गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिए। भेलामा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका उपाध्यक्ष निलकण्ठ तिवारी, विद्यार्थी नेता यामनाथ गिरी, पर्वत–काठमाडौं गणतान्त्रिक मञ्चका अध्यक्ष नारायण काफ्ले, अशोक पौडेल लगायतका वक्ताहरुले भेलाको औचित्यमाथि प्रकाश पार्दै नवनिर्वाचित समितिलाई शुभकामना दिएका थिए।

रोल्पाभरी जनपरिषद गठन,थवाङमा पुनः जनसत्ता ! 

काठमाडौं, असोज ४ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले रोल्पाको थवाङमा जनसत्ता पुनः लागू गरेको छ । राज्यसत्ता दलाल र पूँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागू गरेको हो । गाउँ परिषद नाम दिइएको जनसत्ताको संयोजक किताब घर्तीलाई तोकिएको छ । त्यसमा १७ जना सदस्य छन् । अहिले सत्ताबाट न्याय सम्बन्धी सेवा बढी भइरहेको नेकपा माओवादी रोल्पाका सेक्रेटरी दलबहादुर खत्रीले जानकारी दिए । रोल्पा जिल्लाभरी नै जनपरिषद गठन गरिएको छ । तत्कालिन गाविसमध्ये थवाङ माओवादीको विशेष ठाउँ भएकाले यहाँ पुनः जनसत्ता लागू गरिएको बताइएको छ । थवाङमा हुने सबैखालका काममा जनसत्ताका प्रमुखसँग सहकार्य गर्नुपर्ने नेकपा माओवादीले जनाएको छ । –नागरिक दैनिकबाट