दुग्ध किसान र सरकारबीच आज वार्ता

काठमाडौं । दुधको मूल्य पाउनुपर्ने माग राख्दै आन्दोलनरत दुग्ध किसान र  सरकारबचि वार्ता हुने भएको छ । वार्ता कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा शनिबार (आज) दिउँसो १ बजे हुने छ ।  दुध किसानको प्रतिनिधिमूलक संस्था राष्ट्रिय दुग्ध सहकारी संघ र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच वार्ता हुन लागेको हो । 

संघ अध्यक्ष अमर कुँवरले मन्त्रालयमार्फत दिउँसोलाई वार्तामा बोलाइएको बताउँदै संघका पदाधिकारी र विभिन्न जिल्लाका किसान प्रतिनिधि सहभागी हुने बताए ।कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले किसानसँग शनिबार १ बजे वार्ताको तयारी मन्त्रालयका तर्फबाट गरिरहेको जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र डिडिसीका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालय बोलाएर दुधको मूल्य तत्काल भुक्तानी गर्न निर्देशन दिए पनि देशभरका दुग्ध किसानहरुले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र निजी उद्योगलाई दुध बिक्री गरेको ६ अर्ब रुपैयाँभन्दा बढी रकम पाउन नसकेको भन्दै १४ फागुनदेखि गरेको आन्दोलन जारी राखिरहेका थिए ।

चितवन र भरतपुर भ्रमण गर्न केपी ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरलाई रमाइलो जिन्दगी बिताउने ठाउँ भएको उल्लेख गर्दै  चितवन र भरतपुर भ्रमण गर्न  आह्वान गरेका छन् ।शुक्रबार भरतपुर महानगरपालिकाको भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।  सम्बोधनका क्रममा अध्यक्ष ओलीले आफुले भरतपुर महानगर लगायत चितवनको एक वर्षभित्र व्यापक रुपमा भ्रमण गर्ने सोच बनाएको बताउँदै अरुलाई पनि चितवन भ्रमण गर्न आह्वान गरेका हुन् । ‘अरुलाई पनि म आह्वान गर्न चाहन्छु, भरतपूर आउनुस्, भरतपुरको आनन्द लिनुस्,’ । ‘यहाँ त रमाइलोसँग जीन्दगी बिताउने ठाउँ हो,’ ओलीले भने। उनले कार्यव्यस्तता हुँदाहुँदै पनि निम्तो अस्वीकार गर्न नसकेर भरतपुर पुगेको बताए।भरतपुरमा शुभकामना दिन पाउँदा आफुलाई खुसी लागेको उनले बताए। सम्बोधनको क्रममा अध्यक्ष ओलीले भरतपुर महानगर प्रमुख रेनु दाहालको सक्रियता र कामको खुलेर प्रशंसा गरेका थिए । 

ठगी प्रकरणमा बैंकर पक्राउ गरेकोमा निजी क्षेत्रको विरोध

काठमाडौं, १८ फागुन । देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई धितो मूल्यांकनको दोब्बर ऋण दिने बैंकरहरु पक्राउ परेको घटनामा निजी क्षेत्रका तीन प्रतिनिधिमूलक संस्थाहरुले विरोध जनाएका छन् । जनता र बैंकको करिब ७ अर्ब अपचलन गर्ने चौलागाईंलाई मिलेमतो गरी कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने, सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमलगायत १० जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा निजी क्षेत्र उत्रिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेकै आधारमा पक्राउ गरेको दाबी गरेका छन् । विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैंकरलाई निजहरुले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको जारी विज्ञप्तिमा उल्लेख छ । घटनामा प्रत्यक्ष संलग्न नभएकालाई पक्राउ गर्दा बैंकरहरुको कार्यदक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवम् मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्न सक्ने उनीहरुले बताएका छन् । अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ । ‘बैंकिङ क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा भइरहेको पछिल्ला गतिविधिले सकारात्मक परिणाम दिने भन्दा नकारात्मक असर बढी पार्नसक्नेतर्फ सचेत हुन सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । बैक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन एवम् नेपाल राष्ट्र बैंकले समय समयमा जारी गरी आएका नियामकीय निर्देशनभित्र रहेर बैंकिङ कारोबार गर्दै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्बन्धी निर्णय गर्दा सबै कर्मचारी तथा सञ्चालक समितिले तोकिएको सिद्धान्त, विधि एवम् नियमकै पालना गरी असल नियतबाट कार्य गर्ने गरेको बुझाइ रहेको विज्ञप्तिमा उल्लेख छ । ‘व्यवसाय बिग्रिएको अवस्थामा कर्जाको जोखिम बढ्ने सामान्य कुरा हुने र त्यस्तो अवस्थालाई दृष्टिगत गरी बैंक वित्तीय संस्थाहरुले नियामकीय निर्देशानुसार नै जोखिम व्यवस्थापन वापत रकम छुट्याउँदै आएका छन् । सो संसारभरिकै सर्वमान्य बैंकिङ सिद्धान्त तथा कार्यविधि रही आएको छ,’ विज्ञप्तिमा उल्लेख छ । नेपाल राष्ट्र बैंकको नियमनमा रहेको र बैंक वित्तीय संस्थाले प्रवाह गरेका कर्जाको मूल्यांकन सोही अनुसार नै हुनुपर्ने ती संस्थाहरूको माग छ । ‘राष्ट्र बैंकले समय समयमा बैंक तथा वित्तीय संस्थाहरुको स्थगगत तथा गैरस्थलगत निरीक्षण गर्ने लगायत वित्तीय विवरण प्रकाशित गर्न छुट्टै स्वीकृति दिने कार्यविधिसमेत बनाई कम्पनीहरुको वित्तीय अवस्थालाई नियमन गर्दै आएको छ । नियामक संस्थाले आफ्नो जिम्मेवारी उचित तरिकाले निर्वाह गरी बैंक तथा वित्तीय संस्थाहरुलाई उचित मार्गदर्शनसमेत दिइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । यद्यपि, मानवीय त्रुटि वा कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सो कार्यमा संलग्न पदाधिकारीलाई प्रचलित कानुन बमोजिम कारवाही हुनुपर्छ भन्नेमा निजी क्षेत्र स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ । देउराली सहकारीका अध्यक्ष चौलागाईं र उनका कम्पनीलाई ऋण दिँदा बैंकिङ कसुर गरेको आरोपमा १५ फागुनमा नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोले १० जना बैंकरलाई पक्राउ गरेको थियो । त्यसअघि १८ असोजमा देउरालीका अध्यक्ष चौलागाईंलाई पक्राउ गरिएको थियो । सहकारी ठगीको अनुसन्धान गर्दै जाँदा बैंकहरुले समेत मिलेमतोमा चौलागाईंलाई धितो मूल्यांकनभन्दा अत्यधिक धेरै कर्जा प्रवाह गरेको देखिएकाले बैंकरहरु पक्राउ गरेको प्रहरीको दाबी छ । सहकारीको घोटाला छानबिन गर्दै जाँदा वाणिज्य बैंकका सीईओहरु नै पक्राउ परेको घटना नेपालमा पहिलो हो । हाल प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकले रविन्द्र चौलागाईं, उनका आफन्त र कम्पनीलाई १ अर्ब १४ करोड मूल्यको धितोमा २ अर्ब ११ करोड कर्जा प्रवाह गरेको सीआईबीले जनाएको छ । यो धितो मूल्यांकनभन्दा ९७ करोड बढी हो । राष्ट्र बैंकको नियमअनुसार कर्जा प्रवाह गरेको भए करिब ४५ करोडमात्रै कर्जा प्रवाह हुनसक्ने अवस्था देखिन्छ । यसरी सेञ्चुरी बैंकले धितोअनुसार कर्जा दिनसक्ने सीमाभन्दा करिब ५ गुण बढी ऋण दिएको देखिएको र यसरी अनियमित रुपमा कमसल धितोमा कर्जा प्रवाह बैंकका सीईओ तथा कर्मचारीहरुको मिलेमतो स्पष्ट रुपमा देखिएकाले उनीहरुलाई पक्राउ गरेको सीआईबीको दाबी छ ।

सम्पत्ति शुद्धीकरण विधेयक दुबै सदनबाट पारित

काठमाडौं, १८ फागुन । राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरण अर्थात मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो । यो विधेयक यसअघि २४ माघ २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । २७ माघ २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक शुक्रबार राष्ट्रिय सभाबाट समेत पारित भएसँगै संघीय संसदको दुबै सदनबाट पारित हुन पुगेको छ । अब राष्ट्रिय सभाबाट पारित भएको सन्देश प्रतिनिधि सभामा जानेछ । राष्ट्रिय सभामा भएको संशोधन प्रतिनिधि सभाबाट स्वीकार भएको खण्डमा सभामुखबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ जान्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुने व्यवस्था छ ।  

जित्नैपर्ने खेलमा नेपाल दबाबमाः गुम्यो दुई विकेट

१८ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँगविरुद्ध सुरुमै दबाब झेलेको छ ।  दोस्रो ओभरमै आशिफ सेखको विकेट गएको नेपालका लागि चौथो ओभरमा कम्तान रोहित पौडेल पनि पेभिलियन फर्किएका छन् ।  १.१ ओभरमा ओपनर आसिफ शेख बेन शिकोंगोको बलमा बोल्ड भएका छन् । दोस्रो बल फेस गरेका उनी व्यक्तिगत १ रनमा आउट भएका हुन् । कप्तान रोहित पौडेल दुई चौका सहित दश रन जोड्दा ३.४ ओभरमा ज्याक ब्रासेलको बलमा जेजे स्मिथबाट क्याच आउट हुन पुगे ।  नेपालको टिममा आज ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । उनीहरुको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा छन् ।

सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्‍यो : सीईओ सापकोटा

भक्तपुर । नेपाल बचत तथा  ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवजी सापकोटाले सहकारीको विश्वसनीयता फर्काउन काम गर्नुपर्ने बताएका छन् । बुधबारबाट भक्तपुरमा आयोजित ‘बागमती प्रदेश साकोस समिट २०८०’ को दोस्रो दिन ‘सहकारीको वर्तमान आवश्यकताः साझा अभियानका लागि साझा सञ्जाल’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारीलाई जिम्मा लिने संस्था एकिन गरेर बचतकर्ताको विश्वास जगाउनुपर्ने बताए ।  ‘सहकारीको जिम्मा यी निकायले लिएको छ, सहकारी सुरक्षित छ भन्ने सन्देश सबैले दिनुपर्ने देखिएको छ । सदस्यको बचतको सुरक्षाको प्रतयाभूति दिलाउने र सदस्यको जीवन परिर्वतनका लागि काम गर्नुपर्छ’, उनले भने, ‘सहकारीलाई पैसा किन्ने र बेच्ने आरोप लाग्ने गरेको छ । सहकारीको काम त्यति मात्र हैन’ उनले भने । सहकारी बैंक तथा वित्तीय संस्थाभन्दा फरक रहेको र सदस्यमा आधारित संस्था हुनुपर्नेमा सापकोटाले जोड दिए । सहकारीहरुले नाफालाई प्राथमिकता दिँदा पनि समस्या उत्पन्न भएको उनको भनाइ छ । ‘सहकारीले नाफालाई प्राथमिकतामा राख्दा समस्या आएको छ । संस्थाले कति कमाउने र कति लाभांश दिने भन्ने मान्यता राख्दा पनि समस्या आएको छ’, उनले भने, ‘सहकारी संस्थाले सदस्यले जम्मा गरेको पैसा जस्ताको तेस्तै मागेको दिन नै फिर्ता गर्नुपर्छ ।’ ज्ञान, सिप र क्षमताका लागि सहकारी अरुको भर परे पनि संस्था सञ्चालन गर्न अरुको भर पर्न नहुँने उनको भनाई छ । वित्तीय कारोबार गर्दा व्यवस्थापन पक्षले त्यसको निगरानी र मनिटर गर्नुपर्ने उनी बताउँछन् ।  ‘समस्या पर्दा अरुले संस्था चलाउँछ भन्ने मान्यता छ, भने सहकारी नचलाए हुन्छ । सहकारीले ज्ञान तथा सीपमा अरुको भर पर्नुपर्छ । समस्या पर्दा वित्तीय सहयोग अरुबाट गर्न हुँदैन’, उनले भने, ‘सहकारीले समयमा प्रतिवेदन तयार गर्ने, साकोसका असल अभ्यासलाई बाहिर ल्याउने र वित्तीय अनुशासन पालना गर्न गुर्नपर्छ ।’ सहकारीको ऐन धेरै भएको र सहकारी सदस्यबाट टाढा रहेर सदस्यमा आधारित संस्था हुनुपर्छ भन्ने कुरा बिसर्दा समस्या आएको उनले प्रष्ट पारे ।  त्यस्तै सीईओ सापकोटाको कार्यपत्रमा टिप्पणी गर्दै बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले सहकारीको सुदृढीकरणमा ध्यान दिनुपर्ने बताए । उनले सदस्य मिलेर संस्था बनाउने र संस्था संघमा जाने वातावरण मिलाउनुपर्ने बताए । ‘सहकारीमा पुँजी निर्माण संस्थाले गर्ने र बचतकर्तालाई बचत गर्न सिकाउनुपर्छ । आम्दानीबाट बचत गरेपछिमात्र अन्य कामतिर लाग्नुपर्छ’ उनले भने, ‘संस्था÷संघमा अहिलेसम्म उत्पादनमुलक सम्बन्ध छ त ? सहकारीमा उत्पाह भएन । ज्ञान र चेतनाको कमीले गर्दा पनि समस्या आएको हो ।’ सोही कार्यपत्रमाथि टिप्पणी गर्दै सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीका मूल्य मान्यता असाध्यै असल भएको भन्दै यसको जगमा सहकारी बस्न सके समस्या नआउने बताए । पैसाको कारोबार गर्ने संस्था जोखिमय हुने भएकाले त्यसमा व्यवस्थापक र सञ्चालकले दीर्घकालीन रुपमा सोचेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।  

३ वटा सवारी ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

विराटनगर, १८ फागुन । मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । शुक्रबार बिहान पूर्व –पश्चिम लोकमार्गको बेलबारी नगरपालिका १ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो । बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलाई पनि ठक्कर दिएको प्रहरीको भनाई छ । दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका २ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोमा सवार झापाको कमल गाउँपालिका(२ ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुष गम्भीर घाइते छन् । न्युरो अस्पताल विराटनगरमा उनीहरुको उपचार भइरहेको छ । घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएकोमा २ जनाको बाटो मै  मृत्यु भएको हो । दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा  क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका(७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।

नेपालसामु नामिबियालाई हराउनै पर्ने दबाब

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने आवश्यकता छ । आजको खेलमा पराजित भए नेपाल औपचारिक रुपमै फाइनल प्रतिस्पर्धाबाट बाहिरिनेछ । नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।  नेपाललाई पहिलो खेलमा हराउन नामिबियाका जान निकोल लोफ्टी एटनले ३६ बलमा ८ छक्का र ११ चौकासहित  १०१ रनको शतकीय इनिङ खेलेका थिए । बिहीबार माइकल लेभिटले १३५ रनको शतकीय इनिङ खेलेपछि नेदरल्यान्ड्सले नामिवियाविरुद्ध २४७ रन बनाएको थियो । रुबेन ट्रम्पलम्यान नामिवियाका प्रमुख बलर हुन् । पावर प्लेमा उनको बलमा बच्न सके नेपालले राम्रो योगफल बनाउन सक्छ । नेपालका भरपर्दा ब्याट्समेन कुशल भुर्तेल दुवै खेलमा शून्यमा आउट भएका छन् । नेपाल दुवै खेलमा फिनिसिङमा कमजोर देखिएको छ । नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल फाइनलमा पुग्न दुवै खेलमा जित आवश्यक छ ।

आज भरतमोहन अधिकारीको पाँचौं स्मृति दिवस मनाइँदै

काठमाडौं, १८ फागुन । आज वामपन्थी नेता दिबंगत भरतमोहन अधिकारीको पाचौं स्मृति दिवस मनाइँदैछ । ‘भरतमोहन अधिकारी स्मृति फाउण्डेशन’ ले आज काठमाडौंको चन्द्रागिरिमा एक कार्यक्रम आयोजना गरेको छ । अधिकारी पुत्री एवं फाउण्डेशनकी सदस्य लीमा अधिकारीका अनुसार स्मृति दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिका १३ स्थित कंकाली माविका छात्रछात्रालाई सिपमूलक प्राविधिक तालिम आयोजना गरिएको छ । विद्यालयका कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी विषय विज्ञहरुबाट अंग्रेजी भाषा सिकाईका साथै आत्मनिर्भर बनाउन इलेक्ट्रिक, इलेक्ट्रोनिक, प्लम्बिङ, कम्प्युटर र डिजिटल मार्केटिङसम्बन्धी एक महिने तालिम दिन लागिएको लीमाले बताइन् । नेपालको शिक्षा कामसँग नजोडिएका कारण शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो जस्तो बनेकाले विद्यालय उमेरमै सिप सिकाउन सकिए युवा पलायन रोक्न सकिने विश्वास आफूहरुले लिएको उनको भनाइ छ। स्मृति दिवसमा नेता आउने, बुबाको योगदानको र व्यक्तित्वको चर्चा गर्ने र गए पछि बिर्सने जस्तो नहोओस् भन्ने आफूहरुको चाहना रहेको अधिकारीले उल्लेख गरिन् । कार्यक्रमको पहिलो दिन रास्वपा नेता रमेश प्रसाईंले ‘नेपालमै सम्भव छ’ शीर्षकमा विद्यार्थीहरूलाई मोटिभेसनल तालिम दिने पनि प्रतिष्ठानले जनाएको छ । विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा जन्मिएका भरतमोहनको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते काठमाडौंमा निधन भएको थियो । अधिकारीले वामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन् । अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातकसम्मको अध्ययन गरेका अधिकारी पञ्चायतकालीन समयमा चर्चित अधिवक्ता थिए । २०४७ सालको संविधान मस्यौदा समितिमा रहेर उनले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री थिए । उनले नै ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत हरेक स्थानीय तहमा सीधै रकम पठाउने कामको सुरुआत गरेका थिए । तत्कालीन अर्थमन्त्रीका रुपमा बजेटमार्फत अधिकारीले मासिक एक सय रुपैयाँ वृद्धभत्ता र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुआत गरेका थिए ।

सशस्त्रका विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त खुलाएको छ । रिक्त रहेका पदपूर्तिका लागि सशस्त्र प्रहरी बलले आवेदन माग गरेको हो।  रिक्त रहेका प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्म (स्वास्थ्य) तर्फका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको हो।  दरखास्त चैत १८ गते सम्म दिन सकिनेछ। अनलाइनमार्फत तोकिएको समयभित्र दरखास्त दिन सकिनेछ। 

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १२ः ९ बजे बस्नेछ ।  प्रतिनिधिसभाको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहको छ । परराष्ट्र मन्त्रीले ‘विमस्टेक वडापत्र’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची रहेको छ ।  त्यसैगरी आजको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ‘२२६क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले “निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्यांकनको प्रतिवेदन, २०८०” पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको छ । 

नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव, मौसम मुख्यत सफा रहने

काठमाडौं । नेपालको मौसमा हाल  पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, १७ फागुन । आफूलाई सामाजिक अभियान्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको हो ।  शर्मिला सहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडा (म्याकुरी) ले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो । घरायसी विवादमा शर्मिलाले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए । पक्राउ परेपछि आफूले कुटपिट नगरेको वाइबाले दाबी गरेकी छन् । उनीविरुद्ध अन्य केही अन्य व्यक्तिले पनि मौखिक रुपमा थप उजुरी दिएको एक अधिकृतले बताए । जाहेरी परे उनी विरुद्ध ठगी सम्बन्धी कसुरमा पनि अनुसन्धान हुनसक्ने ती अधिकृतको भनाई छ । 

मिटरब्याज पीडितद्वारा काठमाडौंमा सिट्ठी जुलुस

काठमाडौं, १७ फागुन । मिटरब्याज पीडितहरूले बिहीबार राजधानीमा सिट्ठी जुलुस प्रदर्शन गरेका छन् । पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी बजाउँदै जुलुस निकालेका हुन् । ‘मिटरब्याज विरुद्ध न्याय मार्च’ गर्दै हिँडेरै काठमाडौँ आइपुगेका पीडितहरुले विभिन्न ६ बुँदे माग अघि सारेका छन् ।  उनीहरूको माग सम्बोधनको प्रयास स्वरुप सरकारसँग वार्ता भएपनि सहमति जुट्न सकेको छैन।  माग पूरा नभए पछि पीडितहरूले आन्दोलन जारी राखेका छन् । मिटरब्याज पीडितले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् । 

काठमाडौंमा तीन दिने ल्होछार मेला हुने

काठमाडौं, १७ फागुन । राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको आयोजनामा तीन दिने बृहत ल्होछार मेला तथा विविध सांस्कृतिक कार्यक्रमको हुने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत आगामी फागुन २४, २५ र २६ गते हायत होटलको प्राङ्गनमा कार्यक्रम हुने जानकारी गराइएको हो ।  राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दाबा फिन्जोले ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । सबै पर्वहरुलाई उत्तिकै सम्मान गर्न आवश्यक रहेको उनले बताए ।  ल्होछार समारोहको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गर्ने बताइएको छ । कार्यक्रमको दोस्रो दिन प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ र खेलकुद मन्त्री कार्यक्रममा सहभागी हुने उनले बताए ।  अन्तिम दिन बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन कार्यक्रमा उपस्थित हुने उनको भनाइ छ । बागमती प्रदेशभित्रका जिल्लाहरुमा रहेको कला र संस्कृतिको उत्थानका लागि ल्होसार मेला आयोजना गरिएको उनले बताए ।  कार्यक्रममा स्थानीय उत्पादनको इस्ट्रलसमेत राखिने बताइएको छ । रसुवाको मार्सी चामलदेखि नुवाकोटको स्टेवरी, ककनीको ट्राउट माछा लगायतका स्ट्रल रहने बताइएको छ ।  राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष प्रकाश कटुवाल र नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले ल्होछार महोत्सव सफलताको शुभकामना ब्यक्त गरे ।  कार्यक्रममा युथ क्रियसन नेपालका संस्थापक अध्यक्ष कलाकार रवि लामा तामाङ, सगुन इभेन्ट म्यानेजमेन्ट, राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका महासचिव दिनेश तामाङ, महासचिव अमृत खाती लगायतको उपस्थिति रहेको थियो । 

किर्तिमानी खेलमा नेदरल्यान्ड्ससँग नामिबिया पराजित

काठमाडौं, १७ फागुन । छक्का र चौकाको वर्षा भएको त्रिकोणात्मक टी २० आई सिरिजमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हराएको छ । पहिलो खेलमा नेपाललाई २ रनले हराएको नेदरल्यान्ड्सले माइकल लेभिटको शतकमा लगातार दोस्रो जितका साथ फाइनल सम्भावना बलियो बनाएको छ । त्रिवि क्रिकेट मैदानमा जितको लागि २४८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो । नामिबियाका जान फ्रेलिंकले २७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए । विकेटकिपर जेन ग्रीनले २० बलमा ४ चौका र ३ छक्कासहित ४२ रनको अविजित इनिङ खेल्दै हारको अन्तर घटाए । जेपी कोट्जी १५ बलमा ३ चौका र २ छक्कासहित २६, कप्तान जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले १९–१९ रन बनाए । नेदरल्यान्ड्सका भान डर गुग्टेनले २, भिभियन किंग्मा, फर्द क्लासेन, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट र रोलेफ भान डर मर्वे १–१ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको थियो । यो नेदरल्यान्ड्सको टी(२० आईको उच्च योगफल हो । नेदरल्यान्ड्सको यसअघि टी–२० आईमा उच्च योगफल २०२१ मा नेपालविरुद्ध २०९ रन थियो । नेदरल्यान्ड्सको जितमा ओपनर माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रनको शतकीय इनिङ खेले । नेपालविरुद्ध डेब्यू गरेका लेभिटले आफ्नो दोस्रो खेलमै नेदरल्यान्ड्सबाट टी(२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाए । २०२१ मा म्याक्स ओडाउडले मलेसियाविरुद्ध टीयूमा नै १३३ रनको शतकीय इनिङ खेलेका थिए । साइब्रान्ड एंगेलब्रेक्ट ४० बलमा ७ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए । दोस्रो विकेटका लागि लेभिट र एंगेलब्रेक्टले १९३ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । यो टी–२० आईमा दोस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । स्कटल्यान्डका हरिस र ब्रेन्डन म्याकुलेनले २०२३ मा इटालीविरुद्ध दोस्रो विकेटका लागि गरेको १८३ रनको साझेदारी तोडेका थिए । तेजा निणामानिरु ३ बलमा ३ छक्कासहित १८ रनमा नट आउट रहे । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । बेन सिकोंगो र जान फ्रेलिंकले १–१ विकेट लिए । दुवै इनिङ्ग्समा गरी कुल ४३५ रन बनेको खेलमा कुल ३० छक्का प्रहार भएका थिए। जसमा नेदरल्यान्ड्सले १८ छक्का हिर्काएको थियो। यस्तै खेलमा ३३ चौका समेत प्रहार भयो। जसमा नेदरल्यान्ड्सले मात्र २० चौका प्रहार गरेको थियो। खेलमा चौका र छक्काबाट मात्र कुल ३१२ रन बन्यो। नामिबियाले नेपाललाई २० रनले हराएको थियो । नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको थियो । नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल्न नेपाललाई दुबै खेल जित्नुपर्ने दबाब छ ।