जन्मबारका आधारमा थाहा पाउनुस् तपाईको भाग्य र स्वभाव

त्यसो त एकै दिन हजारौं मानिसहरु जन्मिने गर्दछन् । त्यसैले संसारभरिका मानिसहरुको स्वभाव र भाग्य बारका आधारमा थाहा हुन्छ भन्ने कुरा पत्याउन गारो पर्छ । तर ज्योतिषशास्त्रले भने मानिसको स्वभाव र जन्मबारका बीच आपसी सम्बन्ध रहेको बताउँछ ।
तपाई कुन बार जन्मिनुभयो त ? भन्ने कुराले तपाईको मूल स्वभाव थाहा हुने ज्योतिषशास्त्रको दावी छ । यहाँ पढ्नुस र तपाईका लागि त्यो कुरा मिल्यो या मिलेन जान्नुस् ।
आइतबार

१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् । २. अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । ३. निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् । ४. चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा अत्याधिक हुन्छन् । ५. अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुन्छन् नै तर चाँडै रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरु रिसाउने गर्दछन् । ६. पैसावाल हुन्छन् र आफ्नो बलबुतामा नै पैसा कमाउने कोसिस गर्छन् । ७. कनै पनि कुरामा सम्झौता गर्दैनन् । ८. सौन्दर्यलाई मन पराउँछन्, त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् । ९. अाइतबार जन्मनेहरुले रुपरंगमा आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ । १०.आफ्नो सम्बन्धलाई निकै सम्मान गर्छन्, त्यसकारण झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु छोड्न चाहन्नन् ।

सोमबार

१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । २. मृदुभाषी हुन्छन् तर निकै मुडी हुन्छन् । ३. निकै संवेदनशील हुन्छन्, त्यसकारण निकै छिटाे निराश हुन्छन् । ४. आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ । ५. सम्बन्धहरुले निकै महत्व राख्नेछ । ६. पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्नेछन् । ७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र हेरचाहा गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् । ८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ । ९. आफ्नो सौन्दर्यमा निकै ध्यान दिन्छन् र साेमबार जन्मने मान्छेकाे सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ । १०. हुन त सबैलाई सम्मान गर्छन् तर मुडी स्वभावले तनाव दिने गर्दछ ।

मंगलबार

१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र क्रियाशील हुने गर्दछन् । २. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । ३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । ४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । ५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । ६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन्, जसकारण आफ्नो बलबुतामा नै सफलता हाँसिल गर्ने गर्दछन् । ७. सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् । ८. यस्ता व्यक्तिहरुले सजिलैसँग कसैलाई माफी दिँदैनन् । ९. निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् । १०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । ११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो । १२. एकाेहाेराे हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन्, तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार

१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र विजनेश माइन्डका हुने गर्दछन् । २. जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् । ३. यिनीहरु सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् । ४. नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ । ५. कुरा गर्ने तरिका निकै प्रभावशाली छ । ६. कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण यिनीहरुकाे जीवन निकै सन्तुष्ट हुन्छ । ७. सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने गर्नाले निकै सफलता हात पार्छन् । ८. धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ । ९. कसैलाई पनि सजिलै माफी दिदैनन् । कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैनन् । १०. खर्चिलो स्वाभावको हुन्छन र आफ्नो निर्णय आफैँ लिन्छन् । ११. वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने आफ्नो पार्टनरको निकै हेरविचार गर्छन् । १२. तीब्र बुद्धि हुने भएकाकारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

बिहीबार

१. बिहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । २. मानिसहरुलाई निकै इज्जत गर्छन्, त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुन्छन् । ३. सफा र स्वच्छ विचारधाराका हुन्छन् । ४. भित्र नेतृत्व गर्ने गुण हुन्छ, त्यसकारण जुन क्षेत्रमा काम गर्छन्, त्यहाँको उच्च पद अवश्य हाँसिल गर्छन् । ५. निकै मेहनत गर्छन् र आफ्ना सामान हरु अाफैले भनेकाे ठाउँमा हाेस् भन्ने चहान्छन् । ६. स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न चाहन्छन् । ७. चाँडै नै मानिसहरुलाई विश्वास गर्छन् जसकाे प्रतिफल भोग्न पर्छ । ८. धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् । ९. स्टेट फरवार्ड हुन्छन् र सुन्दरताको प्रिय हुन्छन् । १०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनीहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुनेछ । ११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन्, जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई । १२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

शुक्रबार

१. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । २. धेरैजसो रचनात्मक क्षेत्रमा देखिन्छन् । ३. संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । ४. मधुर स्वरमा बाेल्छन् र मनमोहक मुस्कानका मालिक हुनेगर्छ । ५. निकै भावुक हुन्छन् जसकाकारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ । ६. यदि पुरुष भए महिलाहरुमा र महिला भए पुरुषहरुमा लोकप्रिय हुन्छन् । ७. आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ । ८. निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् । ९. रिस निकै कम आउँछ, तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ । १०. राम्रा गुणहरु नै यिनीहरुका लागि नराम्रो साबित हुन्छ । ११. धनको कमी हुँदैन तर तपाईं त्यसलाई वचत गर्न सक्दैनन् । १२. प्रत्येक कुराहरुमा सफलता निकै ढिलाे पाउँछन् तर जब पाउँछन् स्थायी रुपकाे हुन्छ, अर्को शब्दमा भन्नुपर्दा मेहनती र लगनशील हुन्छन् ।

शनिबार

१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । २. निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन् । अर्को शब्दमा भन्ने हो भने हरेक कुरामा परफेक्ट हुन्छन् । ३. हाइक्लास वस्तुहरु मनपराउँछन् । लगाउने लुगादेखि जुत्तासम्मले हाईक्लास पर्सनालिटी झल्काउँछ । ४. हुन त सफा मनको हुन्छन् तर कहिले काँही स्पष्ट वक्ताको रुपमा आलोचना पनि हुने गर्दछ । ५. कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुने स्वभाव हुन्छ। ६. पैसावाला हुन्छन्, तर छिट्टै पैसा खर्च गर्दैनन् । ७. संगीत र खेलमा रुची हुन्छ । ८. रिस उठेपछि नराम्रो सँग उठ्छ, भने गलत कुराहरुलाई सहन सक्दैनन् । ९. जिद्दि गर्छन् र आफूले भनेकोजस्तै हुनुपर्छ भन्ने विचार राख्छन् । १०. कसैलाई पनि ठेस पुर्याउन चाहदैनन् । ११. वैवाहिक जीवन सुखमय हुन्छ ।

निरन्तर विद्युत् भार कटौतीका कारण उदयपुर सिमेन्ट उद्योग घाटामा

उदयपुर, असोज १० । पन्ध्र दिन यतादेखि निरन्तर विद्युत् भार कटौतीका कारण नियमित उद्योग सञ्चालन नहुँदा नाफामा रहेको उदयपुर सिमेन्ट उद्योग फेरि घाटामा जान थालेको छ । शुरुका दिनमा नियमित विद्युत् आपूर्तिका कारण नाफामा रहेका सिमेन्ट उद्योग असोजको पहिलो हप्ता विद्युत् आपूर्ति नियमित नभएपछि १५ दिनमा मात्र झण्डै रु दुई करोडभन्दा बढी घाटा ब्यहोर्नुपरेको उद्योगको सिमेन्ट उत्पादन प्लान्ट विभाग प्रमुख नवलकिशोर साहले बताउनुभयो । गत वर्षमात्र उद्योगले रु २५ करोड मुनाफा गरेको र यस वर्ष पनि झण्डै रु १० करोडभन्दा माथि नाफा गरिरहेका बेला अहिले निरन्तर विद्युत् भार कटौतीका कारण रु दुई करोडभन्दा माथि घाटा भइसकेको उद्योग प्रशासनको भनाइ छ । नियमित विद्युत् आपूर्तिका लागि आफूहरुले सम्बन्धित निकायमा पटकपटक अनुरोध गरे पनि अझै दैनिक विद्युत् भार कटौती हुन नछाडेपछि अब उद्योग ओरालो लाग्ने अवस्थामा आएको समेत उद्योगका कर्मचारी बताउँछन् ।

सडक कालोपत्र गरिने

भद्रपुर, असोज १० । भद्रपुर नगरपालिका क्षेत्रमा ३१.५ किमी कालोपत्रे सडक सञ्जाल विस्तार हुने भएको छ । लुम्बिनी गजुरमुखी–एपेक्स(जेभी) का निर्देशक प्रकाशमान कडरियाका अनुसार भद्रपुर नगर क्षेत्रमा सडक तथा ढल निकासका लागि सडकको दुवैतर्फ पक्की नालाका साथै जनता चोकको कल्भर्टबाट मेची नदीसम्म तीन मिटर चौडाइको १.५ किमी लामो पक्की नालासमेतका लागि भ्याटबाहेक रु ६६ करोडको ठेक्का भइसकेको र दुई वर्षमा काम सम्पन्न गर्नुपर्ने कुरा उल्लेख छ । भद्रपुर साइट अफिसका इञ्जिनियर सुदर्शन थापाकाअनुसार भद्रपुर नगरपालिकाको नयाँ बजार–अमलडांगी–तारानगर–डांगीबारी–पाण्डेचोक–आँपगाछी चोकबाट किचकबध हुँदै भैसाबाडीसम्म १४.६ किमी, धनुषमोडबाट चन्द्रगढी टी–स्टेट हुँदै देउनियासम्म ३.६ किमी, साईमार्गबाट कौवाखाडीको ५१७ मिटर, देवीबस्तीबाट धुलाबारी जोड्ने सडक दुई किमी, मेची हस्पिटल चोकबाट घोडमारा पैनीसम्म १.१ किमी र शिवमन्दिर–चैतुबारी–डांफे चोकसम्म २.८ किमी सडकखण्डमा नौ मिटर चौडा सडकको भागबीच चार मिटरको कालोपत्रे हुने र दुवैतर्फ १.३ मिटर चौडाइको पक्की नाला बन्ने सम्झौता भएको छ । यस्तै चारआली सामुदायिक वन कार्यालय दक्षिणबाट देउनियासम्मको चार किमी पक्की नालासहित कालोपत्रे सडक बन्ने बताइएको छ । यसबाहेक दक्षिण–पूर्वी झापको पाठामारीबाट बनियानी हुँदै बालवाडीसम्म ३.१७ किमी कालोपत्रे सडक बन्ने भएको छ । दमकडिभिजन सडक कार्यालयबाट स्वीकृत भएको सो निर्माण कार्य गजुरमुखी निर्माण कम्पनीले इञ्जिनियर थापाले बताउनुभयो ।

करेन्ट लागेर मृत्यु

चरीकोट, असोज १० । करेन्ट लागेर दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जगमा ४५ वर्षीय भूपबहादुर खत्रीको मृत्यु भएको छ । यही असोज १ गते नेपाल विद्युत् प्राधिकरण दोलखाले राखेको टान्सफर्मर पड्केर जलेपछि आज अर्काे टान्सफर्मर राख्न खोज्दा करेन्ट लागेर उनको मृत्यु भएको र पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । अहिले घटनास्थलमा प्रहरी गएको छ ।

“दशैँमा आउँछु भन्थ्यो आएन”

धादिङ, असोज १०  । नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष भयो । विदेशबाट धन कमाएर ल्याई परिवारलाई सुख दिन्छु भनेर विदेश गएका लम्सालको छोरो कृष्णप्रसाद १२ वर्षदेखि मलेसियामा बेपत्ता छ । सिद्धलेक गाउँपालिका–६ की देवकी पण्डितका छोरा दामोदर विदेश गएको लामो समय भयो कहाँ भन्ने अत्तोपत्तो नभएपछि यस वर्षको दशैँ पनि अरु वर्षमा जस्तै बाटो हेरेर बित्ने भएको छ । “छोरा घर आउला र छिमेकीको घरमा जस्तै रमाइलो गरुँला” भन्ने उनको आशा निराशामा परिणत भएको छ । सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका–२ की अस्मिता पौडेल “घर आउँछु” भन्ने छोराको यादमै बित्ने पक्का भएको छ । चार वर्षअघि कुवेत गएका उनका छोरा सम्पर्कमा छैनन् । दशैँमा आउँछु भनेर फोन गरे पनि केही वर्षदेखि उनी कता हराए भन्ने कसैलाई थाहा छैन । साथीभाइले पनि पत्ता लगाउन सकेका छैनन् । आर्थिक अवस्था सुधार गर्नका लागि विदेशिएका व्यक्ति धमाधम बेपत्ता हुनु र चाडबाडमा समेत सम्पर्कमा नआउँदा घरमा रहेका परिवार आत्तिने गरेको मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले बताउनुभयो । वैदेशिक रोजगारीमा सुरक्षित तरिकाले जाने लगायतको सूचना तथा परामर्श उपलब्ध गराउँदै आएको सिर्ड्स धादिङले विदेश जाँदा अपनाउनुपर्ने विषय र अन्य सुरक्षित वैदेशिक रोजगारसम्बन्धी विविध विषयमा जानकारी उपलब्ध गराउँदै आए पनि विदेश गएर बेपत्ता भएकाको संख्या कम छैन । सिड्र्स धादिङका कार्यक्रम संयोजक गंगा सुवेदीले विदेश गएर बेपत्ता भएकाको खोजी गरिदिनका लागि निवेदन दिनेको संख्या धादिङ जिल्लामा ४५ जना रहेको जानकारी दिनुभयो । धादिङबाट विदेश गएकामध्ये मलेसियामा २५, कतारमा तीन, साउदी अरब र युएइमा चार चार, भारत र कुवेतमा तीन तीन, जर्जियामा दुई र इराकमा एक जना बेपत्ता भएको सूचना तथा परामर्श केन्द्र धादिङले जनाएको छ । जिल्लाको उत्तरी भागबाट बढी मानिस विदेशमा बेपत्ता छन् । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, कुम्पुर, त्रिपुरेश्वर, बसेरी, जोगीमारा, थाँक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटारलगायत क्षेत्रबाट धेरै मानिस हराएको सूचना प्राप्त भएको छ । बेपत्ता हुनेको हकमा खोजी गर्नका लागि सरकारबाट कुनै पनि निश्चित संयन्त्र नहँुदा विदेशमा बेपत्ता भएकालाई खोजी गर्न अप्ठ्यारो परिरहेको छ । यद्यपि सूचना तथा परामर्श केन्द्रले विभिन्न छापा र अनलाइनमार्फत सूचना सार्वजनिक गरेर खोजी गरिरहेको छ । यही कारण यस वर्ष ४५ बेपत्तामध्ये १४ जना सम्पर्कमा आएको सुवेदीले जानकारी दिनुभयो ।

पाँच सय वर्ष पुरानो मन्दिरमा भक्तजनको भीड

बागलुङ, असोज १० । दशैंँको नवरात्र शुरु भएसँगै प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा पूजाआजाका लागि देशका विभिन्न भूभागबाट भक्तजन यहाँ आउने गरेका छन् । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार दशैँं अवधिभर हजारौँ भक्तजनले मन्दिरको दर्शन गर्छन् । समितिका अध्यक्ष राजु खड्काले घटस्थापनादेखि नै भक्तजनको संख्या बढेको बताउनुभयो । दशैंँको पाँचौँं दिन सोमबारसम्म भक्तजनले चढाएको भेटीबाट रु पाँच लाखभन्दा बढी संकलन भएको उहाँको भनाइ छ । देशमै पवित्र धार्मिकस्थलका रुपमा परिचित सो मन्दिरमा बडादशैँं र चैतेदशैँंका बेला विशेष मेला लाग्ने गरेको छ । मन्दिरको मुख्य आम्दानी हुने समय पनि यिनै हुन् । बडादशैँंलाई लक्ष्य गरी पूजाआजालाई विशेष रुपमा व्यवस्थापन गरिएको अध्यक्ष खड्काले बताए । मन्दिरको सुरक्षार्थ खटिएका प्रहरीसहित अतिरिक्त प्रहरी खटाइएको छ । स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी अहोरात्र खटिएका छन् । ‘पूजाआजा कार्यलाई सहज बनाउन सबै उपाय अपनाइएको छ’, खड्काले भने, “दशैँंको बेला मन्दिरका तीन वटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ।” सुरक्षा, खानेपानी, शौचालयदेखि अन्य व्यवस्थापकीय काममा पनि कुनै कमी हुन नदिएको उहाँको भनाइ छ । पाँच सय वर्ष पुरानो सो मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत देवीको पूजा आराधना गरिन्छ । काठमाडौँं, पोखरादेखि विभिन्न ठाउँबाट मन्दिर दर्शनका लागि वर्षेनी भक्तजन आउने गरेका छन् । पछिल्लो समय कालिकाको दर्शनका लागि भारतबाट समेत दर्शनार्थी आउन थालेका छन् । बडादशैँ विशेषगरी नवरात्रभर बिहान ३ बजेदेखि नै भक्तजन मन्दिरमा लाम लाग्ने गरेका छन् । सो मन्दिरमा पूजाआजा गर्नाले शक्ति प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ । “बागलुङ कालिकालाई देशकै प्रसिद्ध शक्तिपीठको रुपमा लिइन्छ” संस्कृतिकर्मी प्राज्ञ प्रेम छोटाले भने, “दशैँंको नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको धूमधाम पूजा गरिन्छ ।” पछिल्लो समय मन्दिरको गरिमा झन् बढ्दै गएको उनको बुझाइ छ । महाष्टमी र महानवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने चलन छ । मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ । मन्दिरको समग्र विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना बनाएर काम गरिरहेको छ ।

सामाजिक सुरक्षा भत्तासँगै चाडपर्व खर्च

बुटवल, असोज १० । बुटवल उपमहानगरपालिकाले नगरभित्र बसोबास गर्ने ज्येष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई सम्मानस्वरुप चाडपर्व खर्च उपलब्ध गराएको छ । उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन हुने गरी प्रतिव्यक्ति रु दुई हजारका दरले उक्त रकम उपलब्ध गराइएको हो । नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउँदै आएका ७५ वर्ष पुगेका ज्येष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई यस किसिमको रकम उपलब्ध गराउने निर्णयबमोजिम रकम वितरण कार्य शुरु गरिएको कार्यबाहक प्रमुख गुमादेवी आचार्यले जानकारी दिए । उक्त रकम उपमहानगरका १९ वटै वडा कार्यालयबाट वितरण गरिएको र वडा कार्यालयमा आउन नसक्ने व्यक्तिलाई घरमै पुगेर रकम उपलब्ध गराउने व्यवस्थासमेत गरिएको उनले बताए । बुटवल उपमहानगरपालिकाभित्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका सात हजार २७४ जनामध्ये नगरभित्र ३५२ एकल महिला, २५६ अपांग र पाँच हजार ९६६ जना ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक रहेको नगरपालिकाको सामाजिक शाखाले जनाएको छ । यही तथ्यांकका आधारमा बुटवल उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट बजेट विनियोजन गरेर चाडपर्व खर्च वितरण गरेको हो । यसका लागि उपमहानगरपालिकाको साउन ३२ गतेको प्रथम नगरसभाले रु एक करोड ४५ लाख ४८ हजार बजेट विनियोजन गरेको थियो । उपमहानगरपालिकाले यसरी चाडपर्वको बेला रकम उपलब्ध गराएकामा उक्त समूहका जनता निकै खुशी भएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १७ का अध्यक्ष रामप्रसाद रेग्मीले बताए । उनले जनताका प्रतिनिधिले ज्येष्ठ नागरिक, अपांग र एकल महिलाको सम्मानस्वरुप चाडपर्वका बेलामा सम्झनास्वरूप सो रकम दिइएको बताए । अहिले रकम बुझ्न नआएकालाई पनि दशैँपछिसम्म रकम दिइनेसमेत वडाध्यक्ष रेग्मीले जानकारी दिए ।

वडाध्यक्ष ‘बेल्चा र कुचो’ लिएर सडकमा निस्किएपछि

उदयपुर, असोज १० । सिमसिमे पानीको कुनै प्रवाह नगरी त्रियुगा नगरपालिका वडानं ११ का वडाध्यक्ष विश्वराज भट्टराई सोमबार झण्डै तीन घण्टा, उदयपुरको सदरमुकाम गाईघाट बजारमा झाडु बोकेर बढार्दै हिडे । नगरपालिकाको अगुवाईमा सुरु भएको ‘त्रियुगाको रहर, स्वच्छ, सफा र सुन्दर नगर’ अभियानमा वडाध्यक्ष भट्टराईले बजारबासीले फालेको कागज, पलाष्टिक टिप्दै झाडुले फोहोर बढारे । नगर प्रमुख बलदेव चौधरी नै उपस्थिति हुने यो कार्यक्रममा नगरप्रमुख काठमाण्डौँ जानु परेपछि वडाध्यक्ष भट्टराईले कार्यक्रमको नेतृत्व गरेका थिए । आफ्नै वडा भएर पनि होला भट्टराईले तीन घण्टासम्म कहिले झाडु त कहिले वेल्चा लिएर सरसफाइमा जुटे । वडाध्यक्षको त्यो काम प्रनि बजारबासी कोही पसल त कोही घरको झ्याल र छतबाट रमित हेर्दै थिए केही सरसफाइ अभियानमा साथ दिन पनि निस्किए । जनप्रतिनिधिहरुको त्यो काम देखेर कतिपय सर्वसाधरण त चकित भए । उनीहरु सवालजवाफ गर्दै थिए कि अब केहि होला, वास्तवमा जनप्रतिनिधि भनेको जनप्रतिनिधि नै हुदो रहेछ, हिजोसम्म कुरुप सहर विस्तारै परिवर्तन हुँदैछ । त्यसक्रममा वडाध्यक्ष भट्टराईले, ‘वडानं ११ अव सफा, हरित र उज्यालोयुक्त वडा हुनेछ ।’ त्यसअघि थपे, ‘नगरपालिकाको मुटु वडाबाट यो अभियान सुरु भएको छ, १६ वटै वडालाई नमुना बनाई नमुना नगरपालिका बनाउँछौ ।’ नगरपालिकाले सफा, सुन्दर, हरियाली, उज्यालो र समुन्नत त्रियुगा बनाउन नगरका सबै वडामा सरसफाइ, बृक्षारोपण र सोलार जडान कार्य सुरु गरिसकेको छ । त्यसो त उज्यालो र सफा दशै बनाउन नगरपालिकाले ‘उज्यालो र सरसफाइयुक्त दशै’ अभियान नै सञ्चालन गरिसकेको छ । वडा र नगरस्तरीय योजनामा सरसफाइ, हरित, उज्यालो र समृद्ध सहर बनाउने योजना प्राथामिकतामा राखेको मेयर बलदेव चौधरीले बताए । नगरपालिकाले वडानं ६, १०, ११, १२ मा सबैभन्दा बढि सरसफाइ र उज्यालो अभियान चलाउने बताएको छ । यो अभियानमा नगरपालिकाले कालो पलाष्टिक मात्र नभई सेतो पलाष्टिकसमेत प्रतिवन्ध लगाउने मेयर चौधरीले बताए । नगरपालिकाले फोहोरमैला व्इवस्थापनअन्र्तगत कुहिने र नकुहिने फोहोर छुट्याउने ल्याण्डफिल बनाउने तयारी गरिरहेको छ । यसकासाथै नगरपालिकाले छुट््टै वद्यशाला, हरियाली नगरपालिकाका लागि प्रत्येक घरले एक वटा विरुवा अनिवार्य रोप्नु पर्ने व्यवस्था गरेको छ । त्यसैगरी दुई वटा बर्सपार्क, ढलको व्यवस्थापन, पार्क, सार्वजानिक शौचालय, पार्किङ, लामखुट्टे युक्त सहर लगायतका योजना अघि सारेको चौधरीले बताए ।

पिङ खेल्ने संस्कृति लोप हुँदै

सिन्धुली, असोज १० । हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैँमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ । जिल्लाका हरेक गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको हो । “वर्षमा एक दिन धर्ती छाड्नुपर्छ” भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन विगतमा थियो । हिजोआज भने आधुनिक जीवनशैलीसँगै नेपाली यस्ता संस्कृति विस्तारै हराउँदै गएका छन् । संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो नदेखाएको स्थानीयवासी बताउँछन् । पिङ किशोर, युवादेखि वयस्कसम्म सबै लिङ्गका मानिसको रुचिको विषय हो । एउटा पिङले भएन भनेर छ सात वर्षअघिसम्म टोलटोलमा पिङ हाल्ने चलन थियो तर अहिले एउटा पिङ पनि बल्लबल्ल मिलेर बाटेको कमलामाई नगरपालिका–३ जलकन्याका युवा रमेश बुढाथोकीले बताए । “आफ्नो गाउँमा पिङ हाल्ने र खेल्ने शैली अब गीतमा मात्र सुन्न पाउने भयो”, उनले भने । उनका अनुसार विगतमा तीज तथा दशैँतिहारमा हाल्ने गरेका पिङ अब वर्षेनी लोप हुँदै गइरहेका छन् । “युवा भेला भई हरियो खर काटेर बलियो पिङ बनाउने प्रतिस्पर्धा गर्ने चलन रहेकामा अहिले युवा गाउँमा छैनन्, अग्रजले पनि यसमा चासो नदेखाएको जस्तो लाग्छ” उनले भने । पछिल्लो समयमा खरले बाटेका पिङ पनि लोप हुँदै गइरहेका छन् पछिल्लो पुस्ता त काठेपिङसमेत देख्न पाएनन् । साविकका गाविसका प्रत्येकजसो वडामा पिङ बाट्ने चलन थियो, तिजमा मात्र हैन दशँै र तिहारको अवसरमा पिङ राख्ने प्रचलन पनि अहिले आएर लोप भएको छ । विगतको समयमा समुदायका सबै जना जुटेर पिङ लगाएर मच्चाउँदै रमाइलो गरिने भए पनि आजभोलि लिंगे पिङ तथा रोटे पिङ लोप हुने अवस्थामा पुगेको स्थानीयवासी मेखबहादुर अधिकारीले बताए । “पिङ खेल्ने रहर धेरै छ, आफू मात्र भएर भएन, रहर भएर मात्र के गर्नू, पिङ हाल्ने जनशक्तिसमेत गाउँमा पाउन छाडिसके” उनले गुनासो गरे । तीन पाटन गाउँपालिका–१ बेलघारीका नवराज दाहाल सानामा चच हुई चच हुई गरी मच्चाएको सम्झना गर्छन् । । कमलामाई नगरपालिका–४ साङ्बालेका ६७ वर्षीय खम्बबहादुर ढकालले भने, “आफूलाई पिङ खेल्ने रहर धेरै छ आफू बूढो भइयो सकिँदैन रहर भएर मात्र के गर्नू रु ” उनीसँग सानो छँदा काठले बनाएको चर्खे ९रोटे० पिङ खेलेको अनुभव छ । उनले साथीभाइसँगै लाम लागेर चर्खे पिङ खेलेको अनुभव बताउँदै पछिल्लो २० वर्षयता भने त्यस्तो पिङ खेल्ने त परैको कुरा देख्नसमेत नपाएको बताए । पछिल्ला पुस्ताका युवाले परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना गर्नुभन्दा पनि आधुनिक मनोरञ्जनका विकल्प रोज्नाले पिङजस्तो मौलिक मनोरञ्जनको साधन ओझेलमा परेको हो । दशैँ र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने युवालाई चर्खे पिङ बनाउने फुर्सद र सीप पनि छैन । पिङ लोपोन्मुख भएकामा बूढापाका भने चिन्ता व्यक्त गर्छन् । नेपाली मौलिक परम्परा तथा संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा आफैँले संस्कृतिको लोप भएको देख्नुप¥यो भनी बूढापाका भन्छन् । बेरोजगारीका कारण युवा गाउँमा नबस्दा पिङ बनाउने संस्कृतिसँगै बडादशैँक बेला गाउँका बाटा, पाटी पौवा, सार्वजनिकस्थल सरसफाइ गर्ने परम्परासमेत हराउँदै गएको छ ।

प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड़ने घोषणा गर्दै (भिडियाे)

चितवन, असोज १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी केन्द्रीय व्यवस्थापिका संसदको निर्वाचन चितवन क्षेत्र नं. ३ बाट लड्ने प्रचण्डको घोषणा गरेका छन् । प्रेस सेन्टर नेपाल चितवन साखाले आज भरतपुर विमानस्थलमा गरेको कार्याक्रममा प्रचण्डले आउँदो चुनावमा आफु क्षेत्र नम्बर ३ बाट उठ्ने घोषणा गरेका हुन । पार्टीको बैठकले गरेको निर्णय अनुसार आफु क्षेत्र नम्बर ३ बाटै उठ्न लागेको उनले जानकारी दिए ।  

एमाले विजयी नगरपालिकाले फ्याँक्याे सहीद लखन थापाको शालिक

असोज १० । पाेखरा लेखनाथ नगरपालीकाले नेपालका प्रथम सहिद लखन थापाको सालिक उखेलेर फ्याँकिदिएकाे छ । बाटो फराकिलो बनाउने नाममा सालिक उखेलेर फ्याँकिनु गलत भन्दै विराेध सुरु भएका छन् । याे नगरपालीमा एमालेले जितेकाे हाे । नगरपालीकाले चोकमा रहेको सहिदको सालिक बाटो फराकिलो बनाउने भन्दै उखेलेकाे हाे । जथाभावी नक्सा पास गर्दै सडक मिचेर घर बनाउन अनुमती दिने नगरले बहाना बचाएर सालिक उखेलेर फ्याँकेकाे अाराेप लागेकाे छ । स्थानीय प्रशासनले यसबारे अाैपचारिक टिप्पणी गरेकाे छैन् । यस्ताे छ प्रथम सहिद लखन थापाकाे वास्तविकता सन् १९१४ मा भारत स्वतन्त्रता आन्दोलनमा अंग्रेज शासनविरुद्ध सैनिकले ठूलो विद्रोह गर्यो। त्यसलाई दबाउन र अंग्रेजलाई सहयोग गर्न जंगबहादुरको नेतृत्वमा २५ नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन थापामगर, जयसिं चुमी रानामगर, कालीबहादुर गणका श्रीपत गुरुङलगायत लखनउ पुगेका थिए। विद्रोही आन्दोलन दबाउने क्रममा त्यहाँका जनतालाई अत्याचार गरी निर्मम तरिकाले हत्या गरेका दृश्य, नबाब अलि साहको दरबारको सम्पत्ति लुटपाट, भारतलाई स्वतन्त्रता दिलाउन बलिदानी दिने सहिदको संघर्षलाई नजिकबाट नियालेका लखनको हृदयमा नेपालमा जंगबहादुरको अत्याचारविरुद्ध आन्दोलन गर्ने ऊर्जा प्राप्त भयो। प्रजातान्त्रिक आन्दोलनका लागि पहिलोचोटि निरकुंश जहानियाँ राणाशासक जंगबहादुर राणाविरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह गरेका लखन थापाले देशका लागि बलिदान दिएका थिए। उनको बलिदानी राज्यले स्वीकार्न १३९ वर्ष लाग्यो। राजा–महाराजाले ‘मेरा देशका लाटागाँडा जनताहरु’ भनेर सम्बोधन गरिने समयमा जनता पूर्ण अशिक्षित, धर्मकर्ममा बढी चासो राख्ने भएकाले जातीय देवीदेवताका शक्तिका नामबाट जनचेतना जगाउँथे लखन। नेपालको राजनीतिक इतिहासअनुसार ‘जंगेले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेको छ, जातपात, छुवाछुत झन् चर्काएको छ। जंगेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ। नेपालमा सत्ययुग फिराऊ, मनकामना देवीले मलाई बरदान दिएकी छन्। भाइ हो! तयार होऔं’ भनेर गाउँलेलाई ठाउँठाउँमा भेला गराएर चेतना फैलाउँदै उनी संगठित हुन आह्वान गर्थे। उनी नेपालमा बेलायतको जस्तो संसदीय प्रणाली लागू गर्न उत्प्रेरित थिए भने अंग्रेजको साम्राज्यवादी नीतिका कट्टर विरोधी। मृत्युदण्ड सन् १८७६ मा लखन थापाको नेतृत्वमा २ हजारजति युवाको सैनिक संगठनले गोरखाको बुङकोट काहुले भंगारमा ठूलो किल्ला, तीनतले दरबार, पिटी, परेड खेल्ने टुँडिखेल बनाई आवश्यक हातहतियार जम्मा गरे। त्यतिबेला जंगबहादुरले आफू श्री ३ बाट श्री ५ बन्न युवराज सुरेन्द्रलाई हातमा लिइसकेका थिए। तर, पछि विद्रोह हुँदा श्री ५ हुन उनी असफल भए। चन्द्रागिरि भञ्ज्याङमा घाट लगाएर जंगबहादुरलाई मार्ने योजना लखन थापाले बनाए तर उक्त योजनाको पोल टीकादत्त जैसी (कसैकसैले बोर्लाङका थापाक्षत्रीहरु भन्छन्) ले खोलेकाले ४०–५० दिनको सिकार खेल्ने कार्यक्रम १६ दिनमै स्थगित गरेर जंगबहादुर काठमाडौं फर्के। काठमाडौं फर्किनासाथ क्रोधित स्वरमा देवीदत्त बटालियनलाई जंगबहादुरले आदेश दिए, ‘लखनलाई मनकामना बाराहीकै छेउमा झुन्ड्याई मार्नू!’ जङ्गबहादुरले पठाएको देवीदत्त बटालियनका सैनिकसँग बुङकोटमा घमासान लडाइँ गर्दागर्दै गोलीगट्ठा र रासनपानी सकिएपछि लखन थापाले आत्मसमर्पण गरे। जयसिं चुमी रानामगर र उनका सहयोगीलाई जंगबहादुरको सैनिकले पक्री बाँसको पिँजडामा बाँधेर निर्ममतापूर्वक काठमाडौं पुर्यामए। लखनले आफ्नै दरबारमा मृत्युवरणको इच्छा राखे पनि उनी र विशेष सहयोगीलाई त्यहीँ झुन्ड्याई मार्ने आदेश दिनासाथ जंगबहादुरकी रानी मूर्च्छा परिन्। जंगबहादुरले ठूलो भूल भएको प्रायश्चित गर्दै केही सैनिकलाई लखन थापालाई नमार्नू भन्ने आदेश पठाए तर जैसी र थापाक्षत्रीले सुइँको पाउनासाथ बेनीघाटमा घाटेहरुलाई डरधम्की देखाई केही रकम दिएर आफ्नो पक्षमा पारे। तीन दिनपछि सैनिक पुग्दा १९३३ फागुन २ गते दरबारअगाडिको खिर्राको बोटमा उनलाई झुन्ड्याइएको थियो। सन्त ज्ञान दिलदास र कालु लम्साललाई बाहुन भएकाले मृत्युदण्ड दिइएन भने सुकदेव गुरुङलाई गोरखाको जेलमा यातनापूर्ण ढंगले हत्या गरियो। अन्य ५० जना सहयोगीलाई बाँसको पिँजडामा राखी काठमाडौं ल्याई टुँडिखेलको रुखमा झुन्ड्याइयो। लखन थापालाई मारेको खबर पाउनासाथ जंगबहादुरको मन बेचैनीले छटपटाउन थाल्यो। उनी स्वयं बुङकोट गई लखन थापाको लाससँग क्षमा मागी पत्थरघट्टाको बाटो हुँदै फर्किंदा जंगबहादुरको पनि बाटैमा रहस्यमय मृत्यु भयो। स्थानीय जनविश्वास ‘म मरेको सात दिनभित्र त्यो जंगे पनि मर्नेछ। मलाई झुन्ड्याइएको बेला कोही पनि नरुनू र पीर नगर्नू, मेरो शरीर कुहेर भुइँमा खस्यो भने लखन थापा मरेर गएछ भनेर जान्नू। यदि त्यसै सुकेर सानो–सानो भई झुन्ड्याएको डोरीमा शरीर बिलाएमा लखन थापा जिउँदैछ भनेर बुझ्नू। मलाई झुन्ड्याइएको डोरी सुरक्षित राख्नू, म एकदिन फर्केर आउनेछु,’ राणाका सेनाले बलिदानी दिनुअघि लखनले जनसमुदायलाई सम्बोधन गरेका थिए्। स्थानीय गाउँलेलाई घटना गुपचुप राख्न कागजमा सहीछाप गराई राणाहरुले रुपैयाँ बाँडेका थिए। गाउँलेले उक्त रुपैयाँ आफूसँग नराखी सामूहिक रुपमा गोरखा दरबार परिसरमा लखन थापाको नाममा ठूलो घन्टा किनेर चढाएका थिए। लखन र उनका सहयोगीलाई मारेपछि उनको शरीर डोरीमा विलीन भएको र अन्यको कुहेर भुइँमा झरेकाले स्थानीय बासिन्दामा उनी मरेका छैनन्, देउतामा परिणत भएको विश्वास छ। केही वर्षअघिसम्म लखनलाई झुन्ड्याइएको डोरी पेट दुख्ने र अन्य उपचारका लागि प्रयोग गर्दा सकिएको स्थानीय समुदायले बताएका थिए। सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यावहारिक हिसाबले पनि कठिनाइ पर्ने’ व्यहोराको पत्र सरकारले थमाएको थियो। उनको मृत्यु हिंसात्मक ढंगबाट भएकाले उनले पनि भयाँर पूजा (मगर जातिले सामूहिक रुपमा हिंसात्मक घटनामा मृत्युवरण भएकाहरुको स्मृतिमा गरिने पूजा) गर्ने गरेको हुँदा गोरखा, बुङकोट, काहुले भंगारमा प्रत्येक वर्ष पुस महिनाको पहिलो पञ्चमीका दिन भयाँर पूजालाई ‘लखन्या पूजा’ भन्ने गरिन्छ। प्रथम सहिद घोषणा नेपालको राजनीतिक इतिहासमा निरकुंश जहानियाँ राणाशासनका प्रवर्तक जंगबहादुर राणाविरुद्ध जनतामाझ पहिलोचोटि जनस्तरबाट विद्रोह गरेका लखन थापाले प्रजातान्त्रिक आन्दोलन देश र जनताका निमित्त १९३३ फागुन २ गते आहुति दिएका थिए। उनले सहादत पाएको १२५ वर्षपछि २०५६ फागुन ११ गते राज्यले लखनलाई सहिद घोषणा गर्यो । प्रथम सहिदचाहिँ भनेन। सहिद घोषणा प्रक्रियामा असन्तुष्ट बनेका मगरहरुको साझा संस्था नेपाल मगर संघले २०६२ माघ १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा लखन थापालाई प्रथम सहिद घोषणा गर्नुपर्ने माग थियो। ‘प्रथम सहिद घोषणा गर्न ऐतिहासिक प्रामाणिक तथ्य एवं अन्य विवरण आवश्यक पर्ने र निज अघि नेपालमा अन्य कुनै व्यक्तिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय जीवनका अन्य क्षेत्रहरुमा योगदान दिँदै प्राण आहुति गरेका छैनन् भन्ने यकिन प्रमाणित तथ्य तथा विवरण आवश्यक पर्ने भएकाले श्री ५ को सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यावहारिक हिसाबले पनि कठिनाइ पर्ने’ व्यहोराको पत्र सरकारले थमाएको थियो। नेपाल मगर संघ र प्रथम सहिद लखन थापामगर स्मृति प्रतिष्ठानले निरन्तर सरकारलाई कडा चेतावनीसहित ज्ञापनपत्र बुझाउँदै इतिहासकार, बुद्धिजीवीसँग गोष्ठी, अन्तर्त्रि्कयामार्फत दबाब दिइरह्यो। मगर सभासद समूह र समर्थक सभासदको हस्ताक्षरसहित सभासद शिवलाल थापा मगरले संविधानसभा व्यवस्थापिका संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै ‘जंगबहादुर राणाको जहानियाँ शासनविरुद्ध जनविद्रोह गर्ने पहिलो व्यक्ति लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस् भन्दै निवेदन दिए। व्यवस्थापिका संसदमा सोही कुरालाई जोड दिँदै ‘प्रथम सहिद घोषणा गर्ने आधार र अकाट्य प्रमाण हुँदा पनि अझसम्म घोषणा नगरिएकाले प्रथम सहिदप्रति अपमान भएको ध्यानाकर्षण गरेपछि बाध्य भएर २०७२ असोज ३ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले ‘लखन थापा मगरलाई नेपालको प्रथम सहिद घोषणा गरिएको व्यहोरा जानकारीका लागि निर्देशानुसार गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ। सामान्य ज्ञानदेखि इतिहासकारबीच एकमत भए पनि जनस्तरमा परिचित लखन थापालाई भूमिगत रुपमा संविधान जारी गरिएको दिन १३९ वर्षपछि मात्र प्रथम सहिद घोषणा गरिएको छ। जनताबाट पहिले सम्मानित राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय अन्य विषय र क्षेत्रमा ठूलो योगदान दिँदै प्राण आहुति गरेको व्यक्तिलाई सहिद भनिए पनि प्रजातान्त्रिक आन्दोलनका लागि पहिलोचोटि निरकुंश जहानियाँ राणाशासक जंगबहादुर राणाविरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह गरेका लखन थापाले देशका लागि बलिदान दिएका थिए। उनको बलिदानी राज्यले स्वीकार्न १३९ वर्ष लाग्यो। तर, त्योभन्दा पहिल्यै इतिहासकारले उनी नेपालका प्रथम सहिद हुन् भनी दाबीसाथ लेखेका थिए। सैनिकसँग बुङकोटमा घमासान लडाइँ गर्दागर्दै गोलीगट्ठा र रासनपानी सकिएपछि लखन थापाले आत्मसमर्पण गरे।  उनै प्रथम सहिद लखन थापाको आहुतिलाई सम्मान गर्दै उनलाई झुन्ड्याइएको स्थानमा सालिक स्थापना गरिएको छ। २०६२/६३ को जनआन्दोलनले राजा, महाराजाको फोडिएको सालिकको स्थानमा बुटवल, पाल्पा, पोखरा र धादिङमा लखन थापा मगरको सालिक स्थापना गरिएको छ। घोराही, दाङमा निर्माणाधीन सहिदपार्क, अन्य ठाउँमा सडक, चोक आदिको नामकरण प्रथम सहिद लखन थापाबाट गरिएको छ। नेपाल मगर संघ र प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मगर संघ, हङकङ, अमेरिका, अस्टे्रलिया, क्यानाडा, बेल्जियम, कतार, साउदी अरब, मलेसिया, ओमान, बहराइन, जापानले प्रथम सहिद लखन थापा मगरको स्मृतिमा विविध कार्यक्रम गरी प्रथम सहिद घोषणा गर्न दबाब दिँदै आएका थिए। मगर संघ युकेले हरेक वर्ष लखन थापा मगर फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। – नागरिक दैनिकबाट

हिन्दु धर्मको संरक्षण आवश्यक: नेता कण्डेल

नवलपरासी , असोज १० । नेपाली कांग्रेसका नेता एवंम् पूर्वगृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले धार्मिक संहिशुढता नेपालीको पहिचान भएकोले यसको संरक्षण गर्नुपर्ने बताएका छन् । नवलपरासीको पाल्ही नन्दन गाउंपालिकामा निर्मित दशैमर्तिको एक समारोह बिच अनावरण गर्दै नेता कण्डेलले यस्तो बिचार ब्यक्त गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले सो अवसरमा बिश्वमा एक मात्र हिन्दु राष्ट्र नेपालको धार्मिक संहिसुढताको जगेर्ना गर्नु आजको आवश्यका रहेको जिकिर गरे  । हरेक जाती र वर्ण को बसोबास रहेको नेपालमा आम नेपालीको भावना अनुरुप हिन्दु धर्मको संरक्षण र प्रबद्र्धनमा हामी सबै लाग्नुपर्ने आवश्यक रहेको कण्डेलले बताउनुभयो ।

एनसेलले टावर राखेबापत भाडा तिरेन,जग्गाधनीद्वारा मोबाइल नेटवर्क अवरुद्ध

कैलाली, असोज १० । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले टावर राखेबापतको भाडा नतिरेपछि कैलालीको गौरीगंगा नगरपालिका राजीपुरमा जग्गाधनीले मोबाइल नेटवर्क अवरुद्ध पारेका छन् । एनसेलले १६ महिनादेखि भाडा नबुझाएको दाबी जग्गाधनीको छ । घरधनीले टावरमा जाने बिजुली रोकेपछि नेटवर्क बन्द हुँदा त्यस क्षेत्रका हजारौं एनसेल उपभोक्ता मारमा परेका छन् । करिब १० वर्षअघि स्थापित एनसेलको टावरले यसअघि पनि भाडा नदिएको भन्दै जग्गाधनी राजीपुरका गौरीशंकर सापकोटाले पाँचपटक नेटवर्क अवरुद्ध गरेको बताए । यसपटक पनि सोही समस्या दोहोरिएको उनको भनाइ छ । जग्गाधनी सापकोटाले ५ हजार रुपैयाँका दरले १६ महिनाको करिब ८० हजार रुपैयाँ एनसेलले आफूलाई नदिएको दाबी गरेका छन् । भाडा तिर्नका लागि पटक–पटक आग्रह गर्दापनि एनसेलले कुनै वास्ता नगरेकाले नेटवर्क अवरुद्ध गर्न बाध्य भएको सापकोटाको भनाइ छ । एक हप्तादेखि एनसेलको नेटवर्क अवरुद्ध हुँदा कतिपयले नमस्तेको सिमको जोहो गर्न थालिसकेको बताएका छन् ।

म्याग्दीमा जिप दुर्घटना, १२ जना घाइते

म्याग्दी, असोज १० । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जिप दुर्घटना हुँदा घाइते भएका छजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि राति नै पोखरा लगिएको छ । एकजनाको बेनी अस्पतालमा उपचार भइरहेको र पाँचजना उपचारपछि घर गएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–७ की ३० वर्षीया लक्ष्मी गर्बुजा, २५ वर्षीया ममता पुर्जा, करिना फगामी, चालक ध्रुव थजाली र सवारी धनी तुलबहादुर फगामीको रिजनल हस्पिटल र लालदेवी गर्बुजाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । बाह्र वर्षीया वर्षा फगामीको बेनी अस्पतालमा उपचार भइरहेको छ भने पाँचजना उपचारपछि राति नै घर फर्किएको प्रहरीले जनाएको छ । सडकबाट करिब ४० मिटर तल जिप खसेर दुर्घटना हुँदा घाइते भएकाहरुलाई स्थानीयवासी, प्रहरी र यातायात व्यवसायीले उद्धार गरेर राति नै बेनी ल्याएका थिए । साँघुरो, घुमाउरो र उकालो जीर्ण सडकमा क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । (रासस)

केपी ओलीका प्रधानमन्त्री हुँदाका ७ गफ 

केपि शर्मा अाेली प्रधानमन्त्री हुदा खुपै ठुला गफ लगाए पानीजाहाज देखि पेट्रेल को खानी सम्म को कुरा तर ओलि ले घोषणा गरेको एउटै काम पनि पूरा गरेनन । अाेलीले घोषण गरेको तर कामै नगरेका कामका शुचि १:घोषण नम्बर  २४ असोजमा प्रधानमन्त्रीमा निर्वाचित ओलीले अर्को दिन शपथग्रहणपछि सिंहदरबार पुगेर कार्यभार पनि लिएका थिए । प्रधानमन्त्रीका रूपमा कुर्सीमा बस्नासाथ उनले गरेको पहिलो निर्णय थियो– देशका सबै नदीलाई तुइनमुक्त बनाउने । ओलीले देशभरका तीन सय ८५ वटा तुइन विस्थापित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । प्रधानमन्त्रीको सो निर्णयलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार यसका लागि तीन अर्ब ७७ करोड छुट्याइएको थियो । तर काम… प्रधानमन्त्रीको सो निर्णयपछि मात्र सरकारले अध्ययन गर्‍यो । देशमा तीन सय ८५ होइन एक सय ७१ वटा मात्रै तुइन रहेको प्रमाण फेला पर्‍यो । प्रधानमन्त्रीले दुई वर्षभित्र तुइनमुक्त नदी बनाउने भनेका थिए, तर एक वर्षमा १२ वटा तुइन हटाएर झोलुंगे पुल बनाउने स्थानीय विकास मन्त्रालयको योजना छ।घोषणा २ : एक वर्षभित्र लोडसेडिङ अन्त्य पदभार ग्रहण गरेको करिब एक महिनापछि २२ कात्तिकमा पाँचथरको रविमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले भने, ‘एक वर्षभित्रै सरकारले लोडसेडिङ अन्त्य गर्नेछ ।’ २९ कात्तिकमा देशवासीका नाममा सम्बोधनका क्रममा पनि ओलीले यसलाई दोहोर्‍याए । त्यतिवेला दैनिक करिब आठ घन्टा लोडसेडिङ थियो । तर काम प्रधामनन्त्रीको घोषणापछि लोडसेडिङ दिनमा १४ घन्टासम्म पुग्यो र उनले घोषणा गरेको एक वर्षभित्र अर्थात् कात्तिकसम्म लोडसेडिङ उस्तै रहनेछ । एक वर्षभित्र निजी क्षेत्रका करिब दुई सय मेगावाटका आयोजना निर्माण सम्पन्न हुने अनुमान गरिएकोमा करिब एक सय ५० मेगावाट मात्रै आपूर्ति हुने भएको छ । भारतबाट विद्युत् आयात बढाउन नेपालतर्फको प्रसारण लाइन क्षमता छैन । नेपाल विद्युत् प्राधिकरणका अनुसार हरेक वर्ष विद्युत् माग १० प्रतिशत बढिरहेको हुन्छ । तर, उत्पादन कम छ । घोषणा ३ : हावाबाट तीन हजार मेगावाट प्रधानमन्त्री ओलीले आफैँ अध्यक्ष रहेको लगानी बोर्डबाट हावाबाट बिजुली निकाल्ने प्रस्ताव कार्यान्वयन गर्ने निर्णय गराए । ५ पुसको बोर्ड बैठकले हावाबाट बिजुली निकाल्न प्रस्ताव पेस गर्ने दी गोर्खाज युकेसँग काम अगाडि बढाउन बोर्ड कार्यालयलाई निर्देशन दिएको थियो । तर काम बेलायतनिवासी व्यवसायी वसन्त भुजेलले हावाबाट बिजुली निकाल्ने प्रस्ताव पेस गरेका आधारमा प्रधानमन्त्रीले प्रफुल्लित भएर योजना सुनाएका थिए । भुजेलको कम्पनी दी गोर्खाज युकेले पहिलो चरणमा तीन सय र तीन वर्षमा तीन हजार मेगावाटसम्म वायु ऊर्जा उत्पादन गर्ने आसयको निवेदन लगानी बोर्डमा दिएको थियो । तर, प्रस्ताव माग गरिएको चार महिना पुग्न लागे पनि सो कम्पनीले न प्रस्ताव पेस गरेको छ न कम्पनीका सञ्चालक वसन्त भुजेल नै सम्पर्कमा छन् । घोषणा ४ : पाइपमार्फत घरघरमा ग्यास प्रधानमन्त्री केपी ओलीले २४ पुसमा एमाले राजधानी विशेष समन्वय कमिटीको भेलामा सम्बोधन गर्दै पाइपलाइन जोडेर घरघरमा ग्यास पुर्‍याइदिने घोषणा गरेका थिए । ग्यासको सिलिन्डर बोकेर सडकमा दौडने युगको अन्त्य गरिदिने उनको दाबी थियो । ‘स्विच अन’ गर्नासाथ पाइपबाट घरमै ग्यास आउने महत्त्वाकांक्षी योजना उनले सुनाएका थिए । तर काम प्रधानमन्त्रीको घोषणालगत्तै उद्योगमन्त्री सोमप्रसाद पाण्डेले खानी तथा भूगर्भ विभागलाई काठमाडौं उपत्यकामा रहेको ग्यासखानी उत्खनन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । उनी स्वयं खानीस्थल इमाडोल र टेकुमा पटक–पटक पुगे । तर, दुवै ठाउँबाट ग्यास उत्खनन सफल हुन सकेन । मन्त्री पाण्डेले तीन वर्षभित्र अध्ययन र अन्वेषण सक्ने र त्यसपछि व्यावसायिक उत्खनन गर्नेगरी काम भइरहेको दाबी गरे । टेकुको पचलीमा पनि ग्यास उत्खनन गर्न खोजिएको थियो । त्यहाँको कुवामा गाडिएको पाइप बीचमा अड्किएपछि ग्यास उत्खनन हुन सकेन । अन्वेषणले उपत्यकाको २६ वर्गकिलोमिटरभित्र ३१ करोड ६० लाख क्युबिक मिटर मिथेन ग्यास रहेको देखाएको थियो । ग्यास उत्खननका लागि पाँचपटक अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिए पनि कुनै कम्पनीले इच्छा देखाएनन् । घोषणा ५ : काठमाडौंमा मेट्रो रेल प्रधानमन्त्री केपी ओलीले पदभार सम्हालेपछि देशवासीका लागि गरेको सम्बोधनमा काठमाडौंमा मेट्रो रेल चलाउने घोषणा गरे । भारतको अघोषित नाकाबन्दी चलिरहेका वेला गरिएको सम्बोधनमा ओलीले भने, ‘भारतको अघोषित नाकाबन्दीले नेपाल कुनै एक मुलुकप्रति कति परनिर्भर रहेछ भनेर आँखा खोलेको छ । मुलुक अब आत्मनिर्भरतातर्फ अघि बढ्नेछ । यसका लागि काठमाडौंमा मेट्रो रेल चलाइनेछ । आवश्यक तयारी तत्काल अघि बढाइनेछ ।’ तर काम काठमाडौंमा मेट्रो रेल चलाउने प्रधानमन्त्रीको सपनाबारे रेल विभाग भने पूर्ण रूपमा अनभिज्ञ छ । किनकि काठमाडौंमा मेट्रो रेल चलाउने विषयमा विभागमा कुनै छलफल नै भएको छैन । रेल विभागका उपमहानिर्देशक राजेश्वरमान सिंहले भने, ‘मेट्रो रेल सञ्चालनका विषयमा कुनै योजना बनेको छैन । आउँदो आर्थिक वर्षका लागि पनि कुनै योजना प्रस्ताव गरिएको छैन । कुनै विमर्श नै भएको छैन ।’ घोषणा ६ : नेपालको आफ्नै पानीजहाज अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठक मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अरू देशले पानीजहाज खरिद गरेर सञ्चालन गर्न सक्छन् भने नेपालले किन सक्दैन ? पानीजहाज प्रयोग हुने बन्दरगाह प्रयोग गर्ने मात्र होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालले आफ्नो पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउनुहुँदैन भन्ने केही छैन । आफ्नै पानीजहाजमा हामी सामान ल्याउँछौँ, आफ्नै रेलमा सामान तीन दिनमा काठमाडौं आइपुग्छ ।’ तर काम प्रधानमन्त्रीले मञ्चमा भाषण गरे, छाडे । यो विषयमा सरकारको कुनै पनि निकायलाई थाहा छैन । बरु पञ्चायत कालमा दरबारिया कम्पनीको नाममा हिन्द महासागरमा पानीजहाज चलाउने योजना बनाइएको थियो । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रको नेतृत्वमा लगानी गरेर एउटा ब्रिटिस जहाज किनिएको पनि थियो । तर, नेपाली कम्पनीले पैसा तिर्न नसकेपछि जहाज डुबेको जानकारी आयो । जहाज डुब्यो कि डुबेन थाहा छैन । तर, नेपालको राजपरिवारको पैसा डुब्यो । त्यसयता सरकारबाट कुनै पहल भएको छैन । घोषणा ७ :दुई वर्षमा आफ्नै पेट्रोल प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो दाबी हो– दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन गर्ने । बिहीबार प्रेस चौतारी नेपालको आठौँ अधिवेशन उद्घाटन गर्दै उनले पेट्रोलियम अन्वेषण तथा उत्खननको काम सुरु भइसकेकाले अबको दुई वर्षपछि पेट्रोलमा छिमेकी देशको भर पर्नुनपर्ने बताए । तर काम नेपाली प्राविधिकसहितको ६ सदस्यीय चिनियाँ टोलीले मोरङको बाहुनीमा पेट्रोल खानी अन्वेषण सुरु गरेको छ । तर, त्यहाा तेल छ कि छैन अझै यकिन भइसकेको छैन । तीन वर्षभित्र अन्वेषणको काम पूरा हुने चिनियाँ टोलीले जनाएको छ । सकेसम्म छिटो प्रारम्भिक अध्ययन सकेर व्यावसायिक उत्खननको सम्भाव्यता अध्ययन हुने चिनियाँ टोलीले जनाएको छ । यसअघि चिनियाँ टोलीले दैलेख, धनगढी, नेपालगन्ज, लुम्बिनी, चितवन, वीरगन्ज, मलंगवा, जनकपुर, राजविराज र मोरङमा खानी अन्वेषण सम्भाव्यता अध्ययन गरेको थियो । अन्वेषण पूर्ण नहुादै प्रधानमन्त्री ओलीले दुई वर्षभित्र नेपालको आफ्नै तेलखानी हुने अभिव्यक्ति दिए । -नयाँ पत्रिकाबाट

उपत्यकाबाट दैनिक दुई लाख यात्रु बाहिरिँदै

काठमाडौँ, असाेज १० । षष्ठी, सप्तमी र अष्टमीमा सडक वर्षभरिकै सबैभन्दा बढी व्यस्त हुने – -१२ लाख मानिसले काठमाडाैँ छाडिसकेको यातायात विभागको भनाइ -काठमाडौंदेखि बाहिरिने सबै सडक–नाका सुचारु -स्तरोन्नतिको अभावमा स्थानीय सडक समस्यामा -यात्रुबाहकलाई नारायणघाट–मुग्लिङ सडक २४ घन्टा खुला मंगलबारदेखि निरन्तर तीन दिन (१०–१२ गतेसम्म) राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त हुँदै छन् । यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् । ‘काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले यो वर्षको दसैँमा घर जाने ‘पिक आवर’ सुरु हुँदै छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । बिहीबारसम्म सबै यात्रुको यात्रा सफल बनाउन सकेको खण्डमा यो वर्षको दसैँ सफल भएको मानिने व्यवसायीको भनाइ छ । ‘त्यसका लागि यात्रुबसको व्यवस्थापनमा खटिरहेका छौँ,’ सिटौलाले भने । मंगलबारसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएकामध्ये ११ लाख गन्तव्य (घर) मा पुगिसकेको र करिब १ लाख मानिस यात्रारत रहेको महासंघले जानकारी दिएको छ । यात्रुबाहक बस तथा अन्य सवारीसाधन बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म गन्तव्यतर्फ लागिरहेका छन् । ग्रामीण क्षेत्रतर्फ गएका सवारीसाधन भने सडकको दुरावस्थाको कारण समयमा फर्कन नसक्दा ढिला भइरहेको यातायात व्यवसायीले जानकारी दिएका छन् । राजमार्गमा भने तुलनात्मक रूपमा यात्रा सहज रहेको छ । ग्रामीण भेगको यात्रा कष्टकर, ठूला सहर र सदरमुकाममा सहज यो वर्ष देशभरका अधिकांश ग्रामीण भेगमा सडकको दुरावस्थाको कारण यात्रुलाई सास्ती भइरहेको छ । कतिपय स्थानीय सडक गाडी गुडाउनसमेत कठिन हुँदा दसैँ, तिहार तथा छठलगायतका चाड मनाउन घर हिँडेकालाई समयमै गन्तव्यमा पुग्न समस्या भइरहेको विभिन्न गन्तव्यमा यात्रारत र घर पुगेका यात्रुको गुनासो छ । यातायात व्यवसायीले पनि मुख्य राजमार्ग छोडेर स्थानीय सडकलाई छुनेबित्तिकै सडक समस्या बनेको बताएका छन् । ‘यसको कारण लामो दूरीका सवारीसाधन गन्तव्यसम्म पुग्न समस्या परिरहेको छ भने फर्केर आउन पनि ढिलाइ भइरहेको छ,’ महासंघका महासचिव सिटौलाले भने । समयमा बस छुट्ने वा गन्तव्यमा नपुग्दा वृद्धा, बालबालिका, सुत्केरी, बिरामीलगायतका यात्रुको बिचल्ली हुने गरेको छ । यात्रा गर्न सहज  काठमाडौंदेखि अधिकांश जिल्ला सदरमुकाम, पोखरा, नेपालगन्ज, बुटवल, कैलाली, दीपायल, विराटनगर, हेटौँडा, मन्थली, सिन्धुली, विराटनगर, इलाम, जनकपुरलगायत सहरी क्षेत्र । यात्रा गर्न असहज  काठमाडौंदेखि अधिकांश जिल्लाका सदरमुकाम र सहरी क्षेत्रबाहेकका ग्रामीण क्षेत्र, जोमसोम, जुम्ला, अर्घाखाँची, नुवाकोट, खोटाङ, सोलुखुम्बु, जाजरकोट, संखुवासभालगायत । स्तरोन्नतिको अभावमा स्थानीय सडक समस्यामा अहिलेसम्म ५७ हजार ९९७ किलोमिटर (किमि) ग्रामीण सडक निर्माणको चरणमा छ । यस सडकमध्ये जम्मा २ हजार ४ किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ । यो भनेको कुल स्थानीय सडकको ४ प्रतिशत मात्र हो । यसकारण अधिकांश सडक अझै कालोपत्रे भएका छैनन् । केही ठाउँमा पानी परिरहेको कारण धुले सडकमा समस्या आएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको भनाइ छ । विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठ सडकलाई स्तरोन्नति गरेर कालोपत्रे गर्न सकेको खण्डमा बाह्रै महिना यात्रा सहज हुने बताए । विभागको पछिल्लो तथ्यांकअनुसार देशभरमा ग्राभेल स्तरमा रहेको स्थानीय सडक १२ हजार ८२३ किलोमिटर रहेको छ । यो कुल स्थानीय सडकको २२ प्रतिशत हो । त्यस्तै, धुले (ट्र्याक मात्र खोलेको) सडक ४२ हजार ८ सय ५ किलोमिटर रहेको छ । यो कुल सडकको ७४ प्रतिशत हो । सडक इन्जिनियर तथा यातायात व्यवसायीका अनुसार यो धुले सडक नै सबैभन्दा समस्याग्रस्त सडक हो । काठमाडौंदेखि बाहिरिने सबै सडक–नाका सुचारु यो वर्ष भाडा तिरेरै अधिकतम् २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विगतमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका थिए । त्यस्तै, निजी सवारीसाधनबाट पनि पाँचदेखि सात लाख मानिस उपत्यकाबाट बाहिरिने निश्चितजस्तै भएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । तर, चाडपर्वमा बाहिरिने यात्रुको अध्ययनमा आधारित यकिन तथ्यांक विभाग र यातायात व्यवसायी दुवैसँग छैन । बाहिरिने यात्रुमध्ये सबैभन्दा धेरैले कलंकी, नागढुंगा, मुग्लिङ नारायणघाट हुँदै पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्नेछन् । यसबाहेक राजधानी जोड्ने अरनिको, सिन्धुली–बर्दिबास, पासाङल्हामु राजमार्ग पनि व्यस्त हुनेछन् । सबैभन्दा बढी व्यस्त हुने मुग्लिङ–नारायणघाट खण्डमा चाडपर्वको वेला खाल्डा पुर्ने काम गरिएको छ । यो वर्ष अरनिको राजमार्ग भने अन्यको तुलनामा व्यवस्थित छैन । भारतीय सहयोगमा सडक स्तरोन्नतिको काम भइरहेकाले रोकिँदै जानुपर्दा समयमै नपुग्ने समस्या रहेको अरनिको राजमार्ग बस सञ्चालन गरिरहेका रमेश बस्नेतले जानकारी दिए । यात्रुबाहकलाई नारायणघाट–मुग्लिङ सडकमा २४ घन्टा खुला नजिकिँदो चाडपर्व र मौसममा देखिएको सुधारसँगै यात्रुबाहक र साना सवारीसाधनलाई २४ घन्टा नै छोडिने भएको छ । चाडपर्वमा यात्रुबाहक सवारीसाधनको बढ्दो चाप र ती सवारीलाई प्राथमिकता दिँदै सवारी व्यवस्थापन चुस्त बनाउन मालबाहक ठूला सवारीसाधनलाई भने प्रत्येक दिन राति ८ बजेदेखि १२ बजेसम्म रोकिने भएको छ । ती सवारीसाधनलाई नारायणघाटतर्फबाट आउनेलाई भतेरी जंगल इलाकामा, काठमाडौंतर्फबाट आउनेलाई लेवाटार इलाकामा र पोखरातर्फबाट आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजना कार्यालयले जानकारी दिएको छ । -नयाँ पत्रिकाबाट